इरानसँगको युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर

एजेन्सी । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले इरानसँगको युद्ध सञ्चालनका लागि २०० अर्ब डलरभन्दा बढी बजेट माग गरेको छ ।

इरानसँगको युद्ध सुरु भएको तेस्रो साता लाग्नै लाग्दा पेन्टागनले २०० अर्ब डलरभन्दा बढीको बजेट माग गर्दै ह्वाइट हाउसमा प्रस्ताव पेस गरेको अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले जनाएको छ । ह्वाइट हाउसले उक्त प्रस्तावलाई कांग्रेसमा पठाउने तयारी गरेको छ ।

पेन्टागनले माग गरेको यो रकम हालसम्मको सैन्य कारबाहीमा भएको खर्चभन्दा धेरै ठूलो रहेको बताइएको छ । अमेरिका र इजरायलले गत फेब्रुअरी २८ गतेदेखि इरानका विभिन्न क्षेत्रमा आक्रमण गर्दा प्रयोग भएका हतियार तथा सैन्य सामग्रीको पुनः उत्पादन र मर्मतका लागि यो बजेट आवश्यक परेको पेन्टागनले उल्लेख गरेको छ ।

यद्यपि ह्वाइट हाउसले कांग्रेसमा बजेट प्रस्ताव पठाउँदा पेन्टागनले माग गरेको परिमाणमा नै पठाउने वा नपठाउने भन्ने निश्चित भइसकेको छैन । एक अधिकारीका अनुसार, पेन्टागनले प्रस्ताव गरेको बजेट कांग्रेसबाट स्वीकृत हुने सम्भावना कम रहेको छ ।

अमेरिकाले महँगा तथा ठूला हतियारहरू प्रयोग गर्दा इरान युद्धमा ठूलो खर्च भएको अनुमान गरिएको छ, तर यकिन विवरण भने सार्वजनिक भएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको सपथ ग्रहण गर्दा विदेशमा अमेरिकी सैन्य संलग्नता घटाएर ठूलो रकम जोगाउने घोषणा गरेका थिए । तर कार्यान्वयनमा उनीले भनेको भन्दा फरक देखिएको छ । यसअघि रूससँगको युद्धमा युक्रेनलाई सहयोग गर्न कांग्रेसले झन्डै १८८ अर्ब डलर स्वीकृत गरिसकेको छ । इरान युद्ध चर्किँदै जाँदा रक्षा खर्च थप बढ्दै गएको छ ।

पेन्टागनमा यो प्रक्रिया उपरक्षा सचिव स्टेभेन फिनबर्गको नेतृत्वमा अघि बढाइएको छ । उनी लामो समयदेखि अमेरिकी रक्षा उद्योग तथा हतियार उत्पादन बढाउने विषयमा सक्रिय छन् । युद्धका कारण विशेष गरी सटीक हतियारको भण्डार तीव्र रूपमा घटेको बताइएको छ ।

अमेरिकी संसदमा यो प्रस्ताव पारित गर्न सजिलो नदेखिएको छ । डेमोक्र्याट नेताहरूले युद्धको आलोचना गरिरहेका छन् भने रिपब्लिकनहरूले समर्थन जनाए पनि स्पष्ट रणनीति सार्वजनिक गरेका छैनन् । सिनेटमा ६० मत आवश्यक पर्ने भएकाले प्रस्ताव पास गर्न चुनौतीपूर्ण देखिन्छ ।

सिनेट गुप्तचर समितिका अध्यक्ष टम कटनले अन्तिम बजेट प्याकेजमा गुप्तचर निकायका लागि थप रकम समावेश गर्नुपर्ने बताएका छन् ।

विशेषज्ञहरूका अनुसार, यो बजेट प्रस्तावले युद्धप्रति अमेरिकी जनताको समर्थन कत्तिको छ भन्ने परीक्षण गर्ने अवसर बन्नेछ ।

कैलालीमा श्रीमानद्वारा गोली हानेर श्रीमतिको हत्या, श्रीमान् पनि घाइते

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा एक युवकले आफ्नी श्रीमतीको हत्या गरेका छन् । अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला आफ्नी २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार, श्रीमतीसँग विवाद भएपछि रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुकबाट गोली हानी संजिताको हत्या गरेका हुन् । श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफैंलाई पनि गोली हानेका थिए । घाइते रामबहादुरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मृतक संजिताको शव घटनास्थलमै रहेको छ । माइती पक्ष आएपछि शव उठाइने प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको डीएसपी तिमिल्सिनाले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसका सभापति गगन थापाले सभापति पदबाट राजीनामा दिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाडौं–४ बाट लगातार निर्वाचित हुँदै आएका थापा यसपालि सर्लाही–४ बाट उम्मेदवार बनेका थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंहले पराजित गरेका थिए । रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट मात्र जितेको छ । चुनावी नतिजापछि थापाले राजीनामाको तयारी गरेका थिए । पार्टीका विभिन्न तहका नेताहरूले उनलाई राजीनामा नदिन सुझाव तथा दबाब दिँदै आएका थिए । थापा निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । उनले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय गर्नेछ । केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ ।

बागलुङमा बोलेरो जिप दुर्घटना: ७ जना घाइते

बागलुङ । गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारतर्फ जाँदै गरेको बोलेरो जिप (लु ३ च ५१५०) बुधबार बागलुङ नगरपालिका–४ रातमाटामा दुर्घटनामा परेको छ । दुर्घटनामा परी सात जना घाइते भएका छन् । घाइतेहरूमा जिप चालक २५ वर्षीय यादव खत्री, ७३ वर्षीया दिलकुमारी सहनी, ५६ वर्षीय देवबहादुर केसी, २६ वर्षीया शारदा खत्री, २४ वर्षीय रोशन थापा र २२ वर्षीय करण सहनी रहेका छन् । उनीहरू सबै गलकोट नगरपालिकाका विभिन्न ठाउँका बासिन्दा हुन् । घाइतेहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूलाई उपचारका लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक वसन्त पाण्डेले जानकारी दिएका छन् ।

समानुपातिक सांसदहरूलाई बिहीबार प्रमाणपत्र, राष्ट्रपतिलाई प्रतिवेदन हस्तान्तरण

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक प्रणालीबाट निर्वाचित ११० सांसदहरूलाई बिहीबार बिहान प्रमाणपत्र वितरण गर्ने भएको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार, बिहीबार बिहान ११ बजे आयोगको कार्यालयमा समानुपातिक सांसदहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ । दलगत सिट बाँडफाँडअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टीले ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४/४ सिट प्राप्त गरेका छन् । प्रमाणपत्र वितरणपछि बिहीबार दिउँसो ४ बजे आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शीतलनिवासमा बुझाउने कार्यक्रम रहेको छ । त्यसपछि साँझ साढे ५ बजे निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी निर्वाचनको सम्पूर्ण विवरण सार्वजनिक गर्ने जनाएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण नतिजा आयोगले पहिले नै सार्वजनिक गरिसकेको छ ।

निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रचण्डसहित नेकपा नेतालाई प्रधानमन्त्रीको धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूलाई हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफल पार्न खेलेको सहयोगी भूमिकाका लागि धन्यवाद दिएकी छन् । आज बालुवाटारमा प्रधानमन्त्रीको निमन्त्रणामा पुगेका नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायत नेताहरूसँगको भेटमा निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । प्रधानमन्त्री कार्कीले निर्वाचनमा सकारात्मक वातावरण बनाउन र मुलुकलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक निकास दिन नेकपाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै निर्वाचित सांसदहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, नेकपा संयोजक प्रचण्डले यो निर्वाचन नभए मुलुक ठूलो दुर्घटनामा पर्न सक्ने अवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको साहस, मेहनत र दृढताको प्रशंसा गरे । उनले सुरुदेखि नै आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको स्मरण पनि गराए । नेताहरूले अस्तव्यस्त अवस्थामा रहेको मुलुकलाई छ महिनाभित्रै चुनाव गराउनु निकै चुनौतीपूर्ण काम भएको तर प्रधानमन्त्रीको इमानदारिता र छविका कारण सफल भएको बताए । यसअघि प्रधानमन्त्री कार्कीले नेपाल कम्युनिस्ट पार्टी (एमाले) लगायत अन्य दलका नेताहरूलाई पनि भेटेर निर्वाचन सफलतामा सहयोग गरेकोमा धन्यवाद दिइसकेकी छन् ।

ट्रम्पका आतङ्कवादविरोधी केन्द्र निर्देशक जो केन्टको राजीनामा: इरान युद्धको विरोध

वासिङ्टन । ट्रम्प प्रशासनको आतङ्कवादविरोधी केन्द्रका निर्देशक जो केन्टले इरानविरुद्ध युद्धको नीति र प्रक्रियाप्रति असहमति जनाउँदै पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा उनले इरान अमेरिकाका लागि तत्काल खतरा नभएको स्पष्ट पारेका छन् । उनले यो युद्ध इजरायल र अमेरिकी लबीको दबाबमा सुरु भएको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न आग्रह गरेका छन् । केन्टले लेखेका छन्, “इरान ठूलो खतरा हो भन्ने कुरा झूट थियो । यसले ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिलाई कमजोर बनाएको छ ।” उनले सन् २०२५ को जुनसम्ममा युद्धले अमेरिकी जीवन र सम्पत्तिको ठूलो क्षति पु¥याउने चेतावनी दिएका छन् । ४५ वर्षीय केन्ट अमेरिकी सेना र सीआईएका अनुभवी विशेष बलका पूर्वसदस्य हुन् । उनले ११ पटक विदेशमा तैनाथी भोगिसकेका छन् । उनकी पत्नी शैनन केन्ट सन् २०१९ मा सिरियामा आत्मघाती आक्रमणमा मारिएकी थिइन् । श्रीमतीको मृत्युपछि सरकारी जागिर छाडेका केन्ट गत वर्ष जुलाईदेखि यो पदमा नियुक्त भएका थिए । उनले आफ्नो सैन्य सेवा र पत्नीको बलिदानलाई उद्धृत गर्दै भनेका छन्, “अर्को पुस्तालाई अनावश्यक युद्धमा पठाउन समर्थन गर्न सकिँदैन ।” ट्रम्पको दोस्रो कार्यकालमा यो राजीनामा उल्लेखनीय भए पनि समग्रमा पद छोड्ने दर पहिलो कार्यकालको तुलनामा निकै कम रहेको छ ।

सिन्धुलीका सांसद धनेन्द्र कार्कीको शपथ रोक्न सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सिन्धुली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित धनेन्द्र कार्कीलाई सांसदको शपथ ग्रहण गराउन नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का प्रभातकुमार कटवाल क्षेत्री (केसी) ले मंगलबार यो रिट दायर गरेका हुन् । रिटमा कार्की कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको व्यक्तिले उम्मेदवार नै हुन नपाउने कानुनी व्यवस्था हुँदाहुँदै निर्वाचन आयोगले उनलाई निर्वाचित घोषणा गरेको भन्दै आयोगलाई पनि विपक्षी बनाइएको छ । प्राप्त मतपरिणामअनुसार कार्कीले १६ हजार ६५९ मत प्राप्त गरी विजयी भएका थिए भने कटवालले १५ हजार ८७५ मत ल्याएर दोस्रो स्थानमा रहेका थिए । यो रिटमा कार्कीको सांसद पद र शपथ ग्रहण प्रक्रियामाथि अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा छिट्टै सुनुवाइ हुने अपेक्षा गरिएको छ ।

मौसम अपडेट: हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भूभागमा सामान्य बदली रहने र पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली हुने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहनेछ । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी/हिमाली क्षेत्रमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ ।

रविविरुद्धका सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध मुद्दा संशोधनसम्बन्धी रिट हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लागेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ पूरा नभएपछि सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारबाट सुरु भएको बहस मंगलबारसम्म जारी रहे पनि एक जनाको जवाफी बहस बाँकी रहेकाले मुद्दालाई बिहीबारका लागि हेर्दाहेर्दैमा तोकिएको छ । बिहीबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जवाफी बहस गरेपछि अदालतले फैसला सुनाउने अपेक्षा गरिएको छ । रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमनकुमार श्रेष्ठ तथा अधिवक्ताहरू दीपेन्द्र झा, नारायणदत्त कडेल लगायतले बहस गरेका थिए । उनीहरूले महान्यायाधिवक्ताको निर्णयलाई कानुनी रूपमा उचित ठहर्‍याएका थिए । जवाफी बहसमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतका कानुन व्यवसायीहरूले रिट जारी हुनुपर्ने माग गर्दै महान्यायाधिवक्ताले कानुनी अधिकारको दुरुपयोग गरेको, अभियोगपत्र संशोधन नभई मुद्दा फिर्ता भएको जस्ता तर्क प्रस्तुत गरेका थिए । महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते सदर गरेको ७ पृष्ठ लामो 'टिप्पणी र आदेश' मा रवि लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगीसँग सम्बन्धित मुद्दामा मात्र अभियोग कायम राख्ने तथा सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी गम्भीर आरोपहरू हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिइएको थियो । उक्त निर्देशनअनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा निवेदन पेस भइसकेको छ तर सर्वोच्च अदालतमा यो मुद्दा विचाराधीन रहेकाले ती प्रक्रिया अघि बढ्न सकेका छैनन् । यसैगरी काठमाडौं र पर्सा जिल्लाका सरकारी वकिल कार्यालयले भने अभियोगपत्र संशोधनका लागि जिल्ला अदालतमा निवेदन दिएका छैनन् । यो रिट निवेदन महान्यायाधिवक्ताको निर्णयले गम्भीर आर्थिक अपराधका आरोपहरूलाई कमजोर बनाउने तथा कानुनी प्रक्रियामा हस्तक्षेप गर्ने भन्दै दायर गरिएको हो । अदालतको अन्तिम फैसलाले लामिछानेमाथिका मुद्दाहरूको भविष्य निर्धारण गर्नेछ ।

नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन परिणामको गम्भीर समीक्षा सुरु गर्‍यो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको विस्तृत तथा गम्भीर समीक्षा सुरु गरेको छ । पार्टीका नेताहरूका अनुसार, निर्वाचन परिणाम प्राप्त भएपछि हिजोबाटै यो समीक्षा प्रक्रिया थालिएको हो । समीक्षाको मुख्य उद्देश्य निर्वाचनमा प्राप्त परिणामको विश्लेषण गर्नु, निर्वाचन अवधिमा पार्टीका तर्फबाट भएका कमजोरी तथा त्रुटिहरू पहिचान गर्नु र आगामी दिनहरूमा अपनाइने रणनीति तथा कार्ययोजना तयार पार्नु रहेको छ । यो समीक्षा बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूको सक्रिय सहभागिता छ । विभिन्न तहका नेताहरू तथा विज्ञहरूसमेतलाई समेटेर गरिएको यो छलफलले पार्टीको आन्तरिक कमजोरी, चुनावी रणनीतिको प्रभावकारिता, मतदातासँगको सम्बन्ध तथा बाह्य परिस्थितिका कारणहरूको गहन विश्लेषण गर्ने अपेक्षा गरिएको छ । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामअनुसार नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट जितेको छ । कुल १७ सिट प्राप्त गर्दै पार्टी चौथो स्थानमा रहे पनि अपेक्षाभन्दा कमजोर प्रदर्शन भएको मूल्यांकन नेताहरूले गरेका छन् ।   पार्टीका विभिन्न कमिटी तथा तहबाट प्राप्त प्रतिवेदनहरूको आधारमा समीक्षा अघि बढाइएको छ । यो प्रक्रियाले आगामी स्थानीय तथा अन्य निर्वाचनहरूका लागि पार्टीको संगठनात्मक सुदृढीकरण, नीतिगत स्पष्टता र जनतासँगको सम्बन्धलाई मजबुत बनाउने दिशामा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।

नेकपाबाट समानुपातिकतर्फ ९ जना सांसद निर्वाचित, निर्वाचन आयोगद्वारा नामावली प्रकाशित

काठमाडौं। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित ९ जना सांसदको नामावली सोमबार प्रकाशित गरेको छ। यी ९ सांसदमध्ये ४ जना महिला र ५ जना पुरुष छन्। आयोगले प्रकाशित गरेको सूचीमा समानुपातिक सांसदहरूको आधिकारिक नामावली समावेश गरिएको छ।  

सामाजिक सञ्जालको एल्गोरिदम: यसले कसरी काम गर्छ र निर्वाचन परिणाममा यसको प्रभाव

डा. भिष्म थापा  नेपालले आफ्नो इतिहासकै सबैभन्दा डिजिटल-प्रभावित संसदीय निर्वाचन सम्पन्न गर्‍यो। परम्परागत र्‍याली र घरदैलो अभियान अझै थिए, तर मुख्य युद्धक्षेत्र अनलाइन थियो।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मात्र चार वर्षमा २७५ सदस्यीय प्रतिनिधिसभा मध्ये १८२ सिट (१२५ प्रत्यक्ष + ५७ समानुपातिक) जितेर ऐतिहासिक बहुमत हासिल गर्‍यो — ६८ वर्षपछि पहिलो पटक कुनै एक दलले यति ठूलो जनादेश पाएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै क्षेत्र झापा-५ मा हराउने बालेन शाह (बालेन्द्र शाह) को नेतृत्वमा यो जित केवल राजनीतिक होइन, एल्गोरिदमिक क्रान्ति थियो। तर “एल्गोरिदम” भनेको के हो? यो कसरी काम गर्छ र यसले नेपालको निर्वाचनलाई कसरी बदलिदियो? तथ्य, आँकडा र वास्तविक उदाहरणसहित पूर्ण गहिरो विश्लेषण। सामाजिक सञ्जालको एल्गोरिदम कसरी काम गर्छ? एल्गोरिदम भनेको “स्मार्ट सिफारिस मेसिन” हो जसले तपाईंको फिडमा देखिने हरेक पोस्ट, रिल, भिडियो वा तस्बिरलाई “तपाईंलाई कति लामो समय एपमा राख्न सकिन्छ” भन्ने एकमात्र आधारमा छान्छ। यो मेसिन लर्निङ (ML) र आर्टिफिसियल इन्टेलिजेन्स (AI) मा आधारित छ। प्लेटफर्मले अरबौं प्रयोगकर्ताको डाटा ट्रेन गरेर हरेक सेकेन्डमा लाखौं सामग्रीबाट तपाईंका लागि मात्र १०–२० वटा “सर्वोत्तम” छान्छ। यो प्रक्रिया तीन मुख्य चरणमा हुन्छ: १. सामग्री विश्लेषण (Content Analysis) हरेक पोस्ट अपलोड भएपछि AI ले तुरुन्तै स्क्यान गर्छ — शब्द (NLP), भावना (Sentiment Analysis), भिडियो/तस्बिर (Computer Vision), लम्बाइ, संगीत, टेक्स्ट ओभरले। उदाहरण: काठमाडौंका एक युवा क्रिएटरले रवि लामिछानेको १५ सेकेन्डको रिल अपलोड गर्नुभयो। शीर्षक: “रवि दाइले कांग्रेसलाई हराउँछन्!” भिडियोमा उत्साहजनक संगीत र “जनता जाग!” लेखियो। एल्गोरिदमले तुरुन्तै उच्च स्कोर दियो — विषय “रास्वपा + राजनीति”, भावना “सकारात्मक + क्रोध/उत्साह”, लम्बाइ “युवा मनपर्ने छोटो”। यो रिल “उच्च सम्भावना” सूचीमा राखियो। २. प्रयोगकर्ताको रुचि मिलान (User Interest Matching) एल्गोरिदमले तपाईंको व्यक्तिगत प्रोफाइल बनाउँछ र हरेक सेकेन्ड अपडेट गर्छ — पूरा हेरेको प्रतिशत, लाइक/कमेन्ट/शेयर/सेभ, पज/रिवाइन्ड/स्किप, एप खोल्ने समय। उदाहरण (२०२६ निर्वाचनबाट): १८ वर्षीय सरिता (काठमाडौं) ले टिकटकमा बालेन शाहको “काठमाडौं सफाइ” क्लिप पूरा हेर्नुभयो, लाइक गर्नुभयो र “Balen for PM” कमेन्ट गर्नुभयो। एल्गोरिदमले प्रोफाइल अपडेट गर्‍यो: “रुचि = रास्वपा + युवा नेता + स्थानीय विकास”। त्यसपछि सरिताको फिडमा स्वतः रवि लामिछानेको लाइभ, RSP निलो घण्टी AI तस्बिर, बालेनले ओलीलाई हराएको समाचार आउन थाल्यो। सरिताले कहिल्यै “रास्वपा” सर्च गर्नुभएन, तर ३ दिनमा ४०+ RSP सामग्री देख्नुभयो! ३. र्‍याङ्किङ र वितरण (Ranking & Distribution) एल्गोरिदमले भविष्यवाणी गर्छ — “यो पोस्ट देखाउँदा प्रयोगकर्ता कति समय बस्छ?” र स्कोर दिन्छ। मुख्य सिग्नलहरू: Watch time/Completion rate (सबैभन्दा शक्तिशाली), Engagement velocity (पहिलो ५ मिनेटमा लाइक/कमेन्ट), Relevance score, Shares & Saves। उदाहरण: RSP पोस्टले पहिलो घण्टामा १०,००० लाइक र २,५०० कमेन्ट पायो → स्कोर ९८/१०० → ५ लाख युवाको “For You” मा पहिलो स्थान। कांग्रेसको भाषण भिडियोले ५०० लाइक मात्र → स्कोर ४२/१०० → लगभग अदृश्य। फिडब्याक लूप (Feedback Loop) — सबैभन्दा खतरनाक तपाईंले RSP हेर्नुभयो → थप RSP देखाइयो → थप हेर्नुभयो → फिड पूरै RSP ले भरियो। चुनावअघि RSP सामग्रीले ५४.१% exposure पायो किनकि यो लूप युवामा चल्यो। परम्परागत दलको engagement कम भएकाले लूप नै सुरु भएन। प्लेटफर्मअनुसार फरक: टिकटक: ९०% “For You” पेज एल्गोरिदमबाट, मुख्य Watch time। फेसबुक: Meaningful interactions (कमेन्ट/शेयर)। इन्स्टाग्राम: Saves र Send to friend। एल्गोरिदमको एकमात्र लक्ष्य: तपाईंलाई एपमा राख्नु। सत्य वा लोकतन्त्र होइन। नेपालको सामाजिक सञ्जाल परिदृश्य २०२६: आँकडा नेपाल पूर्ण डिजिटल लोकतन्त्र बनेको छ: जनवरी २०२६ सम्म १७.३१५ मिलियन फेसबुक प्रयोगकर्ता (जनसंख्याको ५३.९%)। फेसबुकको बजार हिस्सा (फेब्रुअरी २०२६): ८७.५८% (YouTube ५.२९%, Twitter/X ५.४७%)। कुल सामाजिक सञ्जाल प्रयोगकर्ता: १४.८ मिलियन (अक्टोबर २०२५) बाट बढ्दै १७ मिलियन नजिक। मेसिन्जर: करिब १५.९ मिलियन। देशको आधाभन्दा बढी जनता अनलाइन छ। जेन जेड (१८–२४ वर्ष) ले टिकटक र इन्स्टाग्राम रिल्समा दैनिक २–३ घण्टा बिताउँछन्। एल्गोरिदम निर्वाचनको सबैभन्दा शक्तिशाली हतियार बन्यो — सस्तो, छिटो र लक्षित। एल्गोरिदमले नेपालको निर्वाचन परिणामलाई कसरी प्रभावित गर्‍यो? निर्वाचनअघिको महिनामा प्रमुख नेपाली फेसबुक पेजहरू (कुल ६० लाख फलोअर) को स्वतन्त्र विश्लेषणले देखायो: कुल २,४४७ राजनीतिक पोस्टमध्ये रास्वपाको सामग्री ५४.१% थियो — कांग्रेसको भन्दा ९ गुणा र कांग्रेस+एमालेको कुल भन्दा दोब्बर बढी। फेसबुक एल्गोरिदमले रास्वपा पेज, बालेन शाह, रवि लामिछाने र निलो घण्टी चिन्हलाई सक्रिय रूपमा बढावा दियो — प्रायः AI-जनरेटेड तस्बिरसहित। परम्परागत दलहरू लगभग अदृश्य भए। टिकटक र युट्युबमा पनि युवा मतदाताले बिना खोजी RSP क्लिप र लाइभ पाए। रेडिटमा एक युवाले सुझाव दिए — “आमाबुबाको एल्गोरिदम बदल्नुहोस्: पुराना दल ब्लक गरेर RSP फलो गर्नुहोस्”। यो काम गर्‍यो किनकि एल्गोरिदम सिक्छ। गलत सूचना र डिपफेक विस्फोट भयो। पुराना भिडियो हालका घटनासँग जोडेर फैलाइयो। मिडिया विश्लेषकहरूले भने — एल्गोरिदमले सत्य होइन, engagement बढाउने सामग्रीलाई प्राथमिकता दिन्छ। परिणाम: रास्वपाले जेन जेडको डिजिटल सीप (टिकटक, रिल्स, डिस्कोर्ड) प्रयोग गरेर “युवा सुनामी” ल्यायो। बालेन शाहले ओलीलाई हराए, RSP ले १८२ सिट जित्यो र समानुपातिकमा पनि दुई-तिहाइ नजिक पुग्यो। परम्परागत दलहरूको दशकौंको संगठन एल्गोरिदमसँग हार्‍यो। नेपालका लागि यो किन महत्त्वपूर्ण छ? एल्गोरिदम तटस्थ हुँदैन। यसले संलग्नता बढाउने डिजाइन गरिएको छ — सत्य, सन्तुलन वा लोकतन्त्र होइन। २०२६ निर्वाचनमा यसले इको चेम्बर बनायो, एक दललाई असन्तुलित बढावा दियो र कम मिडिया साक्षरता भएकालाई AI प्रोपागान्डाको सजिलो शिकार बनायो। डा. भट्टराईले चेतावनी दिए — अबका निर्वाचन भूगोल र कार्यकर्ताले होइन, एल्गोरिदमलाई कसले राम्रो बुझ्छ त्यसले जित्छ। “डिजिटल युद्धक्षेत्र” स्थायी भइसकेको छ। नेपाली नागरिक, क्रिएटर र राजनीतिज्ञका लागि एल्गोरिदम बुझ्नु अब वैकल्पिक होइन — यो लोकतन्त्रको रक्षा गर्न आवश्यक छ। अर्को निर्वाचन नीतिले मात्र होइन, एल्गोरिदमलाई के दिन्छ त्यसले जित्छ। समय आएको छ — हामीले एल्गोरिदमलाई नियन्त्रण गर्नुको साटो यसलाई बुझ्ने र सही तरिकाले प्रयोग गर्ने हो। अन्यथा, लोकतन्त्र सामाजिक सञ्जालमा अपलोड हुने फिडको “For You” पेजमा मात्र सीमित हुनेछ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: पहाडी र हिमाली क्षेत्रमा मध्यम वर्षा,हिमपातको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लाग्ने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी/हिमाली क्षेत्रमा सामान्य बादल लाग्ने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका केही स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ, असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्छ। रातिको अवस्था: कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी/हिमाली भाग तथा अन्य प्रदेशको हिमाली भागमा सामान्य बादल लाग्ने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमको हिमाली भागका थोरै स्थानमा तथा बाँकी हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्छ। समग्रमा, हिमाली तथा पहाडी क्षेत्रमा वर्षा/हिमपातको प्रभाव बढी रहने देखिन्छ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमणबाट आगलागी

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा सोमबार ड्रोन आक्रमण भएको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थल (DXB) नजिकै रहेको इन्धन ट्याङ्कीमा ड्रोनले आक्रमण गर्दा आगलागी भएको दुबई मिडिया अफिसले जनाएको छ। दुबई सिभिल डिफेन्स टोलीहरूले आगो नियन्त्रणमा लिएका छन्। घटनामा कुनै पनि मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन्। सुरक्षा कारण देखाउँदै विमानस्थलका उडानहरू अस्थायी रूपमा स्थगित गरिएको छ। सारजहाँ ट्वान्टी फोर अनलाइनका अनुसार विमानस्थल नजिक दुईवटा ड्रोन खसेका थिए। फेब्रुअरी २८ देखि अमेरिका–इजरायल र इरानबीचको युद्ध सुरु भएपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण बढेका छन्। यस अवधिमा खाडीका अरब मुलुकहरूले २ हजारभन्दा बढी यस्ता आक्रमणको सामना गरेका छन्, जसका लक्ष्यमा तेल पूर्वाधार, विमानस्थल, बन्दरगाह, होटल तथा आवासीय भवनहरू परेका छन्। इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेको यूएई सबैभन्दा बढी प्रभावित भएको छ, यद्यपि अन्य खाडी मुलुकहरू पनि इरानको आलोचना गर्दै प्रभावित भएका छन्।

डा. हेमराज शर्मा नेतृत्वमा एनआरएनएको नयाँ नेतृत्व सर्वसम्मत चयन

काठमाडौं । विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) डा. हेमराज शर्माको नेतृत्वमा पुनः एकीकृत भएको छ। काठमाडौंमा शनिबारदेखि जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले आइतबार मध्यरात सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। महाधिवेशनको नारा ‘एकता, लगानी र गौरव’ रहेको थियो। विगतमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई अलग-अलग समूह सक्रिय थिए। गत जेनजी आन्दोलनपछि पूर्वअध्यक्षहरूको प्रयास र मंसिरमा भएको १०-बुँदे सहमतिपछि एकता महाधिवेशन सम्भव भएको हो। अध्यक्ष पदमा डा. शर्मा सर्वसम्मत चुनिएका छन्। रोविन शेरचनले वरिष्ठ उपाध्यक्ष र रविन बज्राचार्यले उपाध्यक्षमा उम्मेदवारी फिर्ता लिएपछि एकताको बाटो खुलेको थियो। अन्य प्रमुख पदहरूमा विभिन्न देशबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरू निर्विरोध/सर्वसम्मत चयन भएका छन्। केही प्रमुख पदाधिकारी: वरिष्ठ उपाध्यक्ष: रोविन शेरचन उपाध्यक्षहरू: खगेन्द्र न्यौपाने, रामशरण सिम्खडा, प्रवीन गुरुङ, रोजिना प्रधान राई लगायत महासचिव: गंगाधर गौतम र डा. चिरञ्जीवी खड्का कोषाध्यक्ष: कृष्णप्रसाद तिमल्सिना विधान संशोधनपछि सोमबार नयाँ कार्यसमितिको औपचारिक घोषणा गरी महाधिवेशन सम्पन्न हुने कार्यक्रम छ। यसले एनआरएनएमा लामो समयदेखिको विभाजन अन्त्य गरेको छ।