पर्यटकको रोजाइमा सुनसरीकाे रास ताल

सुनसरी । जिल्लामा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर तीमध्ये सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीको घेराबन्दीमा शान्त रूपमा फैलिएको यो तालमा दैनिक रूपमा पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

अरु तालभन्दा फरक विशेषता बोकेको रास तालमा मनोरम दृश्यावलोकनसँगै दिनभर फिसिङ (माछा मार्ने) सुविधा उपलब्ध हुनु यहाँको मुख्य आकर्षण हो । यही कारणले यहाँ दैनिक रूपमा धरान, इटहरी, विराटनगर, धनकुटा, वीरगन्ज तथा भारतका विभिन्न स्थानबाट समेत पर्यटक यहाँ पुग्ने गरेका छन् ।

विशेषगरी वनभोजका लागि उपयुक्त मानिएको यस क्षेत्रमा एकै पटक १४५ समूहसम्मलाई व्यवस्थापन गर्न सकिने संरचना तयार गरिएको छ । पिकनिक सिजनमा दैनिक आठदेखि १० हजारभन्दा बढी पर्यटक आउने गरेका छन् भने अफसिजनमा पनि अहिले दैनिक दुईतीन सयभन्दा बढी पर्यटकको आवतजावत हुने गरेको रास ताल व्यवस्थापन समितिका सचिव भीमबहादुर माझीले बताए । धेरैजसो पर्यटक मङ्सिर, पुस साथै वैशाख जेठ महिनामा आउने गरेका छन् ।

सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्ने ६१ हेक्टर क्षेत्रफलमध्ये करिब आठ हेक्टरमा फैलिएको ताललाई राष्ट्रिय विभूति इमानसिंह चेम्जोङसँग जोडेर २०७१ सालदेखि स्थानीय पहलमा पर्यटकीय नमुना क्षेत्रका रूपमा विकास गर्न थालिएको हो । कोशी प्रदेश पर्यटन मन्त्रालयले २०७७/७८ को बजेटअन्तर्गत विनियोजित रु ८० लाखबाट यहाँ भ्यूटावर, इमानसिंह चेम्जोङको सालिक निर्माण तथा २९ हेक्टर क्षेत्रमा तारबार गरिएको समितिले जनाएको छ । साथै, यहाँ एक सयभन्दा बढी जातजातिको प्रतिनिधित्व हुने नमुना मठमन्दिर, सांस्कृतिक झाँकीसहित मेला लाग्ने तथा सङ्ग्रहालयसमेत निर्माण गरिएको छ ।

समितिका सचिव माझीका अनुसार यहाँ रु तीन सय शुल्क तिरेपछि बिहान ६ः०० देखि बेलुका ६ः०० बजेसम्म माछा मार्न पाइन्छ । पर्यटकले दिनभरमा समातेको माछा आफैँ लैजान पाउँछन्, कतिपयले १० केजीसम्म माछा समातेका छन् । तालमा कमलकार, ग्रास, रहु, नौनीलगायत सात प्रजातिका माछा पाइन्छन् ।

यस तालमा घुम्न आउने पर्यटकले बोटिङको सुविधा लिन सक्नेछन् भने चिडियाघरमा खरायो, हुचिल, चिल, बाँदर, अजिङ्गरलगायत जीवजनावर अवलोकन गर्न सक्ने सचिव माझीले जानकारी दिनुभयो । यस क्षेत्रलाई थप आकर्षक बनाउन तालको बिचमा करिब रु १५ लाख लागतमा टापु निर्माण गरिएको छ भने तीन वटा काठका पुलमार्फत वारपार गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै, तराई क्षेत्रमा दुर्लभ मानिने सल्ला तथा सिरिसका बिरुवा रोपेर वातावरणीय सौन्दर्य थपिएको छ । करिब रु २५ लाख लागतमा मुख्य प्रवेशद्वार तथा ट्री हाउससमेत निर्माण गरिएको छ, जहाँबाट सम्पूर्ण तालको दृश्यावलोकन गर्न सकिन्छ ।

पिकनिक तथा बोटिङबाट वार्षिक रूपमा रु छदेखि सात लाखसम्म आम्दानी हुने गरेको समितिको भनाइ छ । उक्त आम्दानीले ताल संरक्षण तथा पूर्वाधार विकासमा खर्च गरिँदै आएको छ । स्थानीय व्यापारीका अनुसार पर्यटकको आगमनसँगै आसपासका खाजा, नास्ता पसल तथा अन्य व्यवसायसमेत चलायमान भएका छन् । बजेट अभावका कारण केही पूर्वाधार निर्माण अझै अधुरो रहेकाले प्रदेश तथा स्थानीय सरकारबाट लगानी आवश्यक रहेको स्थानीयको भनाइ छ । महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित रास ताललाई आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्न सकिने सम्भावना रहेकाले समिति संरक्षणमा जुटिरहेको छ ।

कस्ताे रहला आजकाे माैसम ?

काठमाडौं । नेपालमा हाल पश्चिमी न्युन चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ र बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार, शुक्रबार (चैत १३) दिउँसो देशको हिमाली भू–भागमा अधिकांश बादल, पहाडी भू–भागमा साधारणतया बादल र तराई भू–भागमा  आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका धेरै स्थानहरूमा, बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । राति देशको हिमाली भू–भागमा अधिकांश बादल तथा कोसी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । विभागले कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै तथा तराई भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको जनाएकाे छ ।

चितवनमा कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आएनन्

चितवन । कोभिड महामारीका कारण बन्द भएका यहाँका १६ इँटा उद्योग अझै सञ्चालनमा आउन सकेका छैनन् । कोभिडका कारण बन्द भएका उद्योगमध्ये दुई मात्र सञ्चालनमा आएका छन् । चितवन इँटा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार कोभिडपछि बन्द भएका दुई उद्योग मात्र पुनः सञ्चालनमा आएका हुन् । रत्ननगरको पिठूवास्थित नवदुर्गा इँटा उद्योग र राप्तीको चैनपुरस्थित अनमोल इँटा उद्योग पुनः सञ्चालनमा आएका हुन् । वि.सं. २०४० तिरबाट जिल्लामा व्यावसायिक इँटा उत्पादन थालिएको जनाइएको छ । उनले भने, “कुनै बेला जिल्लामा ४० वटासम्म इँटा उद्योग थिए ।” कोभिडपछि बन्द भएका उद्योगमध्ये गत वर्ष नवदुर्गा र यस वर्ष अनमोल पुनः सञ्चालनमा आएको हो। अध्यक्ष सापकोटाका अनुसार पूर्वबाट यहाँ आउने इँटाको अस्वस्थ प्रतिस्पर्धा, माटो, कोइला र जनशक्तिको अभावलगायतका कारण उद्योग बन्द भएका हुन् । उनले भने, “बाँकी उद्योग कतिपयले भाडाको जग्गा सम्याएर छाडेका छन् । कतिपयले जग्गा बिक्री गरेर ऋण तिरे । अब उद्योग खुल्दैन ।” अहिले पूर्वबाट आउने इँटाको भरमा यहाँ भौतिक पूर्वाधार निर्माणका कामहरु भइरहेका छन्।

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा उत्पादित महको अन्तर्राष्ट्रिय रूपमा बजारीकरण हुन थालेपछि यहाँका किसान उत्साहित हुनाका साथै मौरीपालनतर्फ थप आकर्षित हुन थालेका हुन् । सूर्य नेपाल प्रालिको हिमालयन ट्रेजरले यहाँ उत्पादित मह किसानसँग खरिद गरी बजारीकरण गर्न थालेको छ । प्रारम्भिक चरणमा दुई हजार १०० किलो मह प्रतिकिलो रु दुई हजारका दरले खरिद गरिएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत किसानलाई कफीका बिरुवा वितरण गर्दै बहुआयामिक कृषि प्रणालीलाई प्रोत्साहन गरेपछि यसले किसानको आयस्रोत विविधीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । थप्रेकका किसान सुरज वाग्लेले आफूहरूले उत्पादन गरेको महले विश्व बजारमा प्रवेश पाएपछि निकै उत्साह थपिएको बताए । उनले भने, “हाम्रो उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रवेश पाउनु खुसीको कुरा हो । थप बजार विस्तार भएमा कृषकलाई यही पेसामा टिकिराख्न सहयोग पुग्नेछ ।” वाग्लेका अनुसार यस ठाउँमा पाँच सयभन्दा बढी किसान मौरी पालनमा आबद्ध छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (यसअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना) अन्तर्गत सञ्चालित मौरी पालन कार्यक्रमले यस क्षेत्रमा व्यावसायिक मौरी पालन विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । सुरुमा १० जना किसानबाट सुरु भएको कार्यक्रम हाल पाँच सय जनामा पुगेको छ । वाग्लेसँग मात्र हाल २५ वटा मौरी घार छन् । आगामी दिनमा घारको सङ्ख्या दुई सयसम्म विस्तार गर्ने योजना रहेको उनले सुनाए । “महको मूल्य र बजार दुवै राम्रो हुँदै गएको छ, त्यसैले थप लगानी गरेर उत्पादन बढाउने सोचमा छु” उहाँले भने । महको गुणस्तर सुनिश्चित गर्न सूर्य नेपाल प्रालिले प्रत्येक महिना विभिन्न फूलको स्रोतबाट सङ्कलित महको परीक्षण गर्दै आएको छ । यस क्रममा कात्तिक महिनामा कटुस वनबाट सङ्कलित मह उच्च गुणस्तरको देखिएको र विदेशी बजारका लागि उपयुक्त ठहरिएको जनाइएको छ । अगुवा किसान नन्दुथापा मगरले यहाँ उत्पादित मह विदेशमा बजारीकरण हुनु किसानका लागि ठुलो खुसीको कुरा भएको बताए । उनले भने, “यहाँ उत्पादित महको माग विदेशमा राम्रो छ । किसानको आम्दानीको मुख्य स्रोत नै मौरी पालन हो, हरेक घरमा मौरीका घार छन् । बजारीकरणले थप किसानलाई आकर्षित गर्नेछ ।” राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र नं १ का सांसद डा स्वर्णिम वाग्लेले तनहुँमा उत्पादन भएको ‘कटुस’ महलाई अन्तर्राष्ट्रिय बजारमा पुगेको उल्लेख गर्दै यसलाई नेपालको आर्थिक सम्भावनाको महत्त्वपूर्ण उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त मह ‘मरानी चेष्टनट हनी’ ब्रान्डमा विश्व बजारमा बिक्री सुरु भएको जानकारी दिँदै नेपाली उत्पादनलाई उच्च मूल्यमा विश्वस्तरमा स्थापित गर्न सकिने सम्भावना उजागर भएको बताए । वाग्लेले नेपाली उत्पादनलाई विशिष्ट प्रशोधन, गुणस्तरीय परीक्षण, आधुनिक प्याकेजिङ तथा प्रभावकारी बजारीकरणमार्फत विश्व बजारमा पुर्‍याउन सूर्य नेपालअन्तर्गतको ‘हिमालयन ट्रेजर’ ब्रान्डको भूमिकाको प्रशंसा गरेका छन् ।

सुनसरीमा चैते धानकाे रोपाइँ धमाधम

सुनसरी । सुनसरीका किसान यति बेला चैते धान रोप्न व्यस्त छन् । पर्याप्त सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई हाल धान रोपाइँ गर्न भ्याइनभ्याइ छ । जिल्लामा चैते (हिउँदे) र बर्खे गरी दुई पटक धान उत्पादन हुने गरेको छ । मकैभन्दा धानबाट राम्रो उत्पादन हुने र दुई पटक धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षण छ । सुनसरीको रामधुनी नगरपालिका–६ का किसान भावना माझीका अनुसार एउटै खेतमा वर्षमा तीन पटकसम्म बाली लगाउन सकिन्छ । चैते धान समयमा रोपाइँ गर्न सकियो भने उत्पादन पनि राम्रो हुन्छ । एउटै खेतबारीमा बर्खे धान, चैते धानका साथै फापर/तोरी लगाइने गरेको उनले बताइन् । जिल्लामा हाल चार हजार ६०० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ । गत वर्ष चार हजार छ हेक्टरमा गरिएको चैते धान खेतीबाट २३ हजार १६० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले जानकारी दिए । उनले भने, “चैते धानमा बर्खे धानको तुलनामा रोग तथा कीरा कम लाग्ने र उत्पादन पनि राम्रो हुने भएकाले किसानको आकर्षण बढ्दो छ । जिल्लामा विशेष गरी चैते–१, चैते–५ र हर्दिनाथ–३ जातको धान बढी रोप्ने गरिएको छ । चैते धानको उत्पादन राम्रो हुने र बजार मूल्यसमेत अनुकूल रहने भएकाले किसानले चैते धान खेती गर्न रुचाउने गरेका छन् ।” सुनसरीको बराहक्षेत्र नगरपालिका–५, ६ र ७, रामधुनी नगरपालिका–६, ७ र ९, भोक्राहा तथा इटहरीलगायत क्षेत्रमा चैते धान रोपाइँ बढी हुने गरेको छ । नहर तथा पैनी सिँचाइ सुविधा पुगेका र तरकारी खेती कम हुने क्षेत्रमा यस्तो धान खेती बढी हुने गरेको सूचना अधिकारी श्रेष्ठले बताए । रामधुनी–७ का किसान डम्बर माझीले चैत महिनाभित्र रोपाइँ सके राम्रो उत्पादन हुने भएकाले हाल आफूहरू धान रोपाइँमा व्यस्त रहेको बताए । “चैत २० देखि २२ गतेभित्र रोपिसक्नुपर्छ, चैत महिनापछि रोपाइँ हुँदा उत्पादन कम हुन्छ”, उनले भने ।

आज अमेरिकी डलरको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (चैत १२)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ बढेको छ ।  निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८७ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ ११ पैसा, स्विस फ्र्यांक एकको खरिददर १९० रुपैयाँ २३ पैसा र बिक्रीदर १९० रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रुपैयाँ २ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८० पैसा र बिक्रीदर १०९ रुपैयाँ २४ पैसा, सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७६ पैसा र बिक्रीदर २१ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ र बिक्रीदर ४० रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार, थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४१ रुपैयाँ २ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रुपैयाँ, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०२ पैसा र बिक्रीदर १० रुपैयाँ ६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १५ पैसा र बिक्रीदर १६ रुपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३१ पैसा र बिक्रीदर २३ रुपैयाँ ४० पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ५८ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ७ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौं । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् । यस अवधिमा ४७९ जनाको निधन भएको छ भने ३८ जना घाइते भएका छन् ।  प्राधिकरणले दिएको जानकारीअनुसार यस अवधिमा तीन हजार ४८० वटा आगलागीका घटना भएका छन् । यस्तै, बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षा ४४२, चट्याङ ४०६ र सर्पदशका ६०० घटना भएका छन् ।   यसैगरी, वन डढेलो २७९, हुरीबतासका ४५१, जनावर आक्रमणका ५०४, लेक लागेका १२३ र हिउँपहिरोका पाँचवटा घटना भएका प्राधिकरणले जनाएको छ ।  यस्तै, भूकम्पका सात, असिना, डुंगा पल्टेका दुई /दुई घटना हुँदा असिनासहित हुरी, शीतलहरका एक/एक घटना घटेका छन् ।  यसैगरी, यही चैत १० गते बिहानदेखि ११ गते बिहानसम्म २६ वटा विपद्‌का घटना भएका प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । एकै दिन नौ जिल्लाका १३ स्थानमा आगलागीका घटना भएका र विपद्‌मा परी १० जना घाइते भएका छन् 

आज प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथ आज (चैत १२) हुँदै छ । सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा दिउँसो २ बजे शपथको कार्यक्रम आयोजना गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।  संसद् सचिवालयका अनुसार, ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् । 

आज यस क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भाग तथा वाग्मती प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ र तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, बिहीबार (चैत १२) देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । राति, देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोसी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भाग तथा बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

कोशीमा बर्डफ्लुको कहर: ५५ हजारभन्दा बढी कुखुरा नष्ट, पोल्ट्रि उद्योग संकटमा

विराटनगर । पहिल्यै आर्थिक संकटसँग जुधिरहेको कोशी प्रदेशको पोल्ट्रि व्यवसाय यतिबेला बर्डफ्लु संक्रमणका कारण गम्भीर सङ्कटमा परेको छ। झापा, मोरङ र सुनसरी जिल्लाका १२ वटा पोल्ट्रि फार्ममा संक्रमण पुष्टि भएसँगै हालसम्म ५५ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ। कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार संक्रमित फार्महरूमा तीव्र गतिमा रोग फैलिन सक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि ‘रेपिड रेस्पोन्स टिम’ परिचालन गरी कडा निगरानी थालिएको छ। पशुपन्छी विकास महाशाखाकी वरिष्ठ पशु चिकित्सक डा. दिपा दिवालीका अनुसार हालसम्म ५३ हजार ९ सय ९० लेयर्स, ५ सय ५० ब्रोइलर र ६ सय ६ स्थानीय जातका कुखुरा नष्ट गरिएको छ। यससँगै १ लाख ९ हजार ४ सय २१ वटा अण्डा र १७ हजार ३ सय ५० केजी दाना समेत नष्ट गरिएको छ। उर्लाबारीस्थित एक फार्मबाट ७ वटा हाँस पनि नष्ट गरिएको जनाइएको छ। विराटनगर र कटहरीका थप दुई फार्मको प्रतिवेदन आउन बाँकी रहेकाले क्षतिको दायरा अझै बढ्न सक्ने अनुमान गरिएको छ। हालसम्म मोरङको उर्लाबारी र झापाको दमक क्षेत्र संक्रमणको मुख्य केन्द्र बनेका छन्। उर्लाबारी–८ स्थित एक फार्ममा मात्रै १८ हजार कुखुरा नष्ट गरिएको छ भने दमकका दुई फार्ममा क्रमशः करिब १५ हजार र १३ हजार कुखुरा नष्ट गरिएको छ। मोरङबाट सुरु भएको संक्रमण झापा र सुनसरीका विभिन्न क्षेत्रमा फैलिएको पुष्टि भएको छ। सरकारी निकायले संक्रमण फैलनुको मुख्य कारण अवैध कुखुरा ओसारपसारलाई ठहर गरेको छ। किसानहरूले घाटा कम गर्न संक्रमित कुखुरा सस्तोमा बजार पठाउने प्रवृत्तिले रोग अन्य क्षेत्रमा फैलिने जोखिम बढाएको अधिकारीहरूको भनाइ छ। प्रशासनले भेटेरिनरी प्रमाणपत्र बिना कुखुरा ओसारपसार नगर्न कडाइ गरेको छ भने प्रभावित क्षेत्रमा निगरानी बढाइएको छ। कृषकहरूलाई फार्ममा कडाइका साथ जैविक सुरक्षा अपनाउन आग्रह गरिएको छ। बाह्य व्यक्तिको प्रवेश नियन्त्रण गर्ने, नियमित सरसफाइ गर्ने र शंकास्पद लक्षण देखिएमा तत्काल सूचना दिन आग्रह गरिएको छ। पोल्ट्रि क्षेत्रमा अर्बौं लगानी र हजारौँ रोजगारी जोडिएको अवस्थामा यो संक्रमणले व्यवसाय धराशायी हुने जोखिम बढाएको छ। लेयर्स कुखुरापालक संघ मोरङ–सुनसरीका अध्यक्ष होम बास्कोटाका अनुसार ऋण लिएर फार्म चलाएका किसान बिक्रीको समयमा नै बर्डफ्लुका कारण ठूलो घाटामा परेका छन् र धेरैजना सडकमा पुग्ने अवस्था आएको छ। नेपालमा पहिलो पटक २०६५ माघमा झापाको काँकडभिट्टाबाट बर्डफ्लु देखिएको थियो। त्यसयता छिटफुट रूपमा संक्रमण देखिँदै आए पनि यस वर्षको संक्रमण पछिल्ला केही वर्षकै सबैभन्दा गम्भीर मानिएको छ। बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका कुखुरा तथा सामग्रीको क्षतिपूर्ति सरकारले उपलब्ध गराउने व्यवस्था रहेको छ। डा. दिवालीका अनुसार क्षतिको मूल्याङ्कन जिल्ला दररेट निर्धारण समितिले गर्नेछ र सोही आधारमा संघीय सरकारले राहत उपलब्ध गराउनेछ। प्रक्रिया पूरा हुन भने केही समय लाग्ने जनाइएको छ। हाल सम्बन्धित निकायले नष्ट गरिएका सम्पूर्ण विवरण संकलन गरी संघीय सरकारलाई सिफारिस गर्ने तयारी गरिरहेको छ।

७७ जिल्लामा एसइई प्रश्नपत्र, १९ चैतदेखि परीक्षा सुरु

काठमाडौं । १९ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि प्रश्नपत्र र उत्तरपुस्तिका देशका सबै ७७ जिल्लामा पुगेका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार ती सामग्री जिल्ला प्रहरी कार्यालयमार्फत परीक्षा केन्द्रमा पु¥याइनेछ। यस वर्ष देशभर (जापानमा एकसहित) १,९९१ परीक्षा केन्द्र तोकिएका छन् भने कुल ५ लाख ९ हजार ९६१ विद्यार्थी सहभागी हुँदैछन्। तीमध्ये ४ लाख ४६ हजार ५७६ नियमित र ६३ हजार ४८५ ग्रेडवृद्धितर्फका छन्। परीक्षा १९ देखि २९ चैतसम्म बिहान ८ बजेदेखि सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी, त्यसपछि नेपाली र गणित लगायत विषयको परीक्षा हुनेछ। प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रले छापेको हो। परीक्षा मर्यादित र सुरक्षित बनाउन करिब १२,५०० सुरक्षाकर्मी परिचालन गरिनेछ भने परीक्षा केन्द्रमा मोबाइललगायत डिभाइस निषेध गरिएको छ। अधिकांश केन्द्र सामुदायिक विद्यालयमा छन् र केन्द्राध्यक्ष विद्यालय साटासाट गरेर खटाइनेछ। परीक्षाको नतिजा असार तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ।

महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा

महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ अध्ययनसम्बन्धी परामर्श कार्यक्रममा यस्तो तथ्य सार्वजनिक गरिएको हो । एलायन्स एसिया नेपालको आयोजना एवं हेल्प लजिस्टिक र वल्र्डभिजन इन्टरनेसनलको सहकार्यमा भएको उक्त कार्यक्रममा जलेश्वर, मटिहान, मनराशिस्वा, लोहारपट्टी नगरपालिका र एकडारा, सोनमा, सम्सी, महोत्तरी तथा पिपरा गाउँपालिका बाढीको उच्च जोखिममा रहेको जनाकारी दिइएको हो । यस्तै, बलवा, भङ्गहा, औरही र रामगोपालपुर गरी चार नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने बर्दिबास र गौशाला नगरपालिका बाढीको कम जोखिममा रहेका छन् । कार्यक्रममा एलायन्स एशिया नेपालका अध्ययन प्रमुख रोहितकुमार यादवले बाढीको बेला पीडितसमक्ष तुरुन्त राहत सामग्रीको आपूर्ति, भण्डारण, व्यवस्थापन र ढुवानीका आवश्यक विकल्पबारे सोच्नुपर्ने बताए । कार्यक्रममा अन्य प्राकृतिक प्रकोपका बेला पनि महोत्तरीमा तुरुन्तै राहत सामग्री पुर्‍याउन तथा उद्धार कार्यका लागि के कस्ता नीति, नियम र उपाय अपनाउन सकिन्छ भन्नेबारे परामर्श माग गरिएको थियो। जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले बाढीबाट सबैभन्दा बढी प्रभावित १५ स्थानीय तहमा विपद् पूर्वतयारीका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले पालिकाभित्रका उच्च जोखिम भएका स्थानको पहिचान गरी जनचेतनाका साथै विपद् न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति दीपककुमार मिश्र, वल्र्डभिजन इन्टरनेशनलका प्रमील अधिकारी, सेभ द चिल्ड्रेनका दीपक गुरुङ, रतौली युवा क्लबका राजेशकुमार पाण्डेय, नेपाल पत्रकार महासङ्घ महोत्तरीका पूर्वअध्यक्ष कमलेश मण्डललगायतले आफ्ना धारणा राखेका थिए । 

नेपालमा ४२ प्रतिशत क्षयरोगका बिरामी उपचार बाहिर

काठमाडौँ । नेपालमा ४२ प्रतिशत क्षयरोगका बिरामी उपचार बाहिर रहेको पाइएको छ । मंगलबार विश्व क्षयरोग दिवस मनाइरहँदा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा भुवन पौडेलले नेपालमा बर्सेनि ६७ हजार क्षयरोगका नयाँ बिरामी भेटिने गरेकामा ४२ प्रतिशत उपचार बाहिर रहेको बताए । उनले उपचारको दायराभन्दा बाहिर रहेका बिरामीलाई उपचारमा ल्याउन चुनौती रहेको बताए । नेपालमा २०८१/०८२ मा औषधि संवेदनशील क्षयरोगका बिरामी ३९ हजार १५१ जना पहिचान गरिएको थियो । तीमध्ये ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला र पाँच दशमलव छ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका थिए । उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोसम्बन्धी क्षयरोग र २८ प्रतिशत फोक्सोबाहेकका अङ्गका क्षयरोग देखिएका थिए । यस्तै, औषधि प्रतिरोधी क्षयरोगका बिरामी ६२५ जना रहेका थिए । केन्द्रका निर्देशक डा पौडेलले औषधि संवेदनशील क्षयरोगमा ९२ प्रतिशत र औषधि प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत उपचार सफलता पाइएको बताए । उनका अनुसार क्षयरोगका कारणले ५१ प्रतिशत बिरामी र तिनका परिवारले आर्थिक भार बेहार्नुपरेको छ । समाजमा क्षयरोगीलाई लाञ्छना र सामाजिक भेदभाव पनि समस्याका रूपमा रहेको उनले उल्लेख गरे । नेपालमा हरेक वर्ष १६ हजारको क्षयरोगका कारण मृत्यु हुने गरेको जनाइएको छ । यस रोगबाट मृत्यु दर प्रतिएक लाखमा ५३ जना रहेको छ । निर्देशक डा पौडेलले नियमित औषधि सेवन गरे ९२ प्रतिशत क्षयरोग निको हुने बताए । “नियमित छ महिना औषधि खाएका सय जनालाई हामीले परीक्षण गरेका थियौँ । तीमध्ये ९२ प्रतिशतको उपचार सफल भएको पाइयो”, उनले भने,“यस कारण समयमा र नियमित उपचार गर्न यो रोग लागेकाहरूलाई आग्रह गर्दै आएका छौँ ।” सरकारले सन् २०५० सम्म क्षयरोगलाई निवारण गर्ने लक्ष्य लिएको छ । सन् २०५० मा १० लाखमा एक जना क्षयरोगका बिरामी झार्ने लक्ष्य रहेको जनाइएको छ । केन्द्रका निर्देशक डा पौडेलका अनुसार सन् २०३५ मा एक लाखमा १० जनाभन्दा कममा क्षयरोगको सङ्क्रमण झार्ने लक्ष्य रहेको छ । आज ‘हो हामी क्षयरोग अन्त्य गर्छौँ । राष्ट्रिय अभियान हाम्रो योगदान’ भन्ने नाराका साथ दिवस मनाइएको छ ।

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा ‘बेञ्चिङ’ विधिबाट पहिरो रोकथाम थालिएको छ । भिरालो जमिनमा सिँढी जस्तो तहको ढाँचारमा स्थिर बनाएर पहिरो नियन्त्रण गर्ने विधिलाई प्राविधिक भाषामा ‘बेञ्चिङ’ भनिन्छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले सिरुबारीमा वर्खायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्याको अस्थायी समाधानका लागि अल्पकालीन रूपमा कम खर्चमा पहिरो रोकथाम गर्न सकिने उक्त विधि अपनाएको हो । आयोजना प्रमुख तेजस्वी शर्माले अस्थायी रूपमा सिरुबारीको पहिरो रोकथाम गरेर आगामी वर्खामा बेनी–जोमसोम–कोरला सडकमा नियमित यातायात सञ्चालन गरिने जानकारी दिइन् । “सिरुबारीको ३०० मिटर दुरीको पहिरोको दीर्घकालीन समाधानका लागि आवश्यक रु ६० करोड बजेटको स्रोत सुनिश्चितता हुन नसकेपछि आयोजनाले आन्तरिक स्रोतबाट अस्थायी रूपमा पहिरो रोकथाम सिरु गरेको हो”, उनले भनिन्, “भिरालो पाखाको पहिरोलाई सिधै सडकमा खस्न नदिनका लागि डोजर परिचालन गरेर काम थालिएको छ ।” सिरुबारीमा सडकदेखि एक किलोमिटर माथिसम्मको जमिन पहिरोमा परिणत भएको छ । सडकभन्दा तल कालीगण्डकी नदी छ । पछिल्लो तीन वर्षयता वर्खायाममा सिरुबारीको सडकमाथिबाट पहिरो खसेर दैनिक जसो बेनी–जोमसोम सडक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध हुँदा कोरला नाकाबाट नेपाली बजारमा सामान ल्याएर आउने कन्टेनर, मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र स्थानीयहरू बीच बाटोमै रोकिएर अलपत्र पर्ने समस्या छ । बेनी–जोमसोम सडकको अन्य ठाउँका ठूला पहिरो नियन्त्रणका लागि काम थालिए पनि सबैभन्दा ठुलो सिरुबारीको पहिरो रोकथामका लागि बजेट अभावमा काम हुन सकेको थिएन । सडकभन्दा माथि बीच भागमा दुई ठाउँमा डोजरले सम्माएर पहिरोलाई सिधै खस्न नपाउने गरी सम्माइएको छ । करिब १७ मिटर फराकिलो पारिने सडकको डिलतर्फ सात मिटर छाडेर कुनातर्फको १० मिटरमा पर्खाल लगाएर पहिरो थुप्रिने ठाउँ बनाइने आयोजना प्रमुख शर्माले बताइन् ।

आज दासत्व पीडितहरूको स्मृति दिवस: संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा विशेष स्मृतिसभा हुँदै

काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस, मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ । यस अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ । सन् २००६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले दास व्यापार र दासत्वलाई मानव इतिहासको सबैभन्दा गम्भीर मानवअधिकार उल्लङ्घन मानेर एक प्रस्ताव पारित गरेर सन् २००७ मार्च २५ लाई यसको द्विशतवार्षिकीका रूपमा मनाउने घोषणा गरेको हो । त्यसपछिको वर्ष सन् २००८ देखि हरेक वर्ष मार्च २५ लाई दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाउन प्रारम्भ भएको हो । सन् १८०७ मा यही दिन बेलायतले दास व्यापार उन्मूलन ऐन पारित गर्दै अफ्रिकाबाट दास खरिद, बिक्री, साटासाट तथा स्थानान्तरणलाई गैरकानुनी घोषणा गरेको थियो ।

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर । बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बर्सेनि बढेको छ । बाँदरबाट अन्नबाली जोगाउन नसक्ने अवस्था भएपछि किसानहरू खेतीपाती छाड्न बाध्य भएका छन् भने कतिपय परिवारले वैकल्पिक रोजगारी र सुरक्षित बसोबासको खोजीमा बसाइसराइ रोजेका छन् । बाँदरको दुःख कम नभएपछि ग्रामीण बस्तीहरू क्रमशः सुनसान बन्दै गएका छन् । स्थानीय कृषकका अनुसार बाँदर समूहमा आउने र पाक्नै लागेको बाली लक्षित गरी आक्रमण गर्ने गर्छन् । खेत वरिपरि कराउँदै हल्ला गरे पनि केही समयपछि पुनः फर्किने भएकाले नियन्त्रण गर्न झन् कठिन भएको छ । कतिपयले डर देखाउने आकृति बनाएका छन् । खेतबारीको डिलमा कटेरा बनाएर पालैपालो खेत कुर्ने प्रयास गरे पनि दीर्घकालीन समाधान हुन सकेको छैन । विशेष गरी मानेभञ्याङ क्षेत्रअन्तर्गत पर्ने रामप्रसादराई गाउँपालिका–५ (साविक वडा नं. ८ र ९० मा बाँदरको समस्या ठुलो छ । स्थानीय जगतबहादुर तामाङका अनुसार यस क्षेत्रका करिब ९८ प्रतिशत बासिन्दा बसाइँ सरेपछि गाउँ रित्तो जस्तै भएको छ । “पहिले खेतबारीमा चहलपहल हुन्थ्यो, अहिले घरका ढोका बन्द छन्, आँगनमा झार उम्रिएको छ”, उनले भने । अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरियालगायतका बस्तीहरूमा अहिले अधिकांश घरहरू जीर्ण र खाली अवस्थामा छन् । एक समय हराभरा देखिने खेतबारी बाँझै छाडिएका छन् । खेतका कान्ला र पाखाहरू झाडीले ढाक्न थालेका छन् भने कतिपय स्थानमा बारी नै जङ्गलमा परिणत हुन थालेको छ । उत्पादनमुखी जमिन उपयोगविहीन बन्दै जाँदा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर परेको छ । किसानहरूका अनुसार मकै, कोदो, फापर, गहुँ, आलु तथा तरकारी जस्ता अन्नबाली बाँदरले नष्ट गरिदिने गरेको छ । “बाँदरले लगाएको बाली छिनभरमै सखाप पारिदिन्छ”, तामाङले गुनासो गरे, “दिनभरि खेतबारी कुरेर बस्न सकिँदैन । मेहनत गरेर लगाएको बाली जोगाउन नसक्दा धेरैले खेती छाडे । कतिपयले त गाउँ नै छाड्नुपरेको छ ।” जिल्लाका अन्य स्थानीय तहहरूमा बाँदर समस्या उस्तै गम्भीर रहेको कृषकहरूको गुनासो छ । कृषि नै मुख्य आम्दानीको स्रोत रहेको ग्रामीण परिवारहरू आर्थिक रूपमा मारमा परेका छन् । युवापुस्ता रोजगारीका लागि बाहिरिएपछि बचेका ज्येष्ठ नागरिक र महिलामाथि खेतबारीको जिम्मेवारी थपिएको छ, तर बाँदर आतङ्कका कारण उनीहरू पनि निरुत्साहित भएका छन् । स्थानीय सरोकारवालाहरूका अनुसार वन क्षेत्र नजिकका बस्तीहरूमा समस्या चर्को छ । मानवीय बस्ती घट्दै जाँदा बाँदर बाँकी रहेका बस्ती केन्द्रित बनेका छन् । दीर्घकालीन रूपमा समस्या समाधान नगरे गाउँ रित्तिँदै जाने तथा खेतीयोग्य जमिन पूर्ण रूपमा बँझिने खतरा बढ्दै गएको किसानहरूको भनाइ छ । बाँदर नियन्त्रणका लागि प्रभावकारी नीति निर्माण, वैज्ञानिक व्यवस्थापन, सामूहिक बाली सुरक्षा प्रणाली, क्षतिपूर्ति व्यवस्था तथा वैकल्पिक खेती प्रविधिको विकास आवश्यक रहेको स्थानीयको भनाइ छ । साथै, स्थानीय तह र सम्बन्धित निकायबिच समन्वय गरी ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने किसानहरूको माग छ ।