आयुक्तमा प्रस्तावित प्रधानको संसदीय सुनुवाइ आज

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ आज हुने भएको छ ।

प्रधानको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । 

सरकार ठाडो आदेशको बाटो हिंड्न थाल्यो : सांसद वस्नेत

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् शक्ति बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई दिएको निर्देशनतर्फ इङ्गीत गर्दै वर्तमान सरकार ठाडो आदेश दिँदै गलत कर्मको बाटोमा हिँडेको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै वस्नेतले कुरा सुशासन र विधिको गर्ने, नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने भन्दै सरकार गलत बाटो हिडेको बताएका हुन्। उनले अमुक उद्योगमा काटिएको विधुत लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको भन्दै आपत्ति जनाए। विवाद विधुत काट्ने वा जोड्ने कुराको मात्र नभएर महसुल असुल गर्ने कि नगर्ने विषयमा केन्द्रित रहेको उनको भनाई छ ।

५ हजार घुस प्रकरण : मन्त्री र प्रधानमन्त्रीसँग जवाफ माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले एउटा पूर्वमन्त्री र बहालवाला सांसदले सर्टिफिकेट प्रमाणित गर्न ५ हजार रुपैयाँ घुस दिनुपरेको विषयबारे सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले तीन दिनभित्र संसद्मा जवाफ दिनुपर्ने माग गरेका छन्।  मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले संसद्मा विषय उठेपछि जवाफका लागि सभामुखले रुलिङ गर्नुपर्नेमा नगरेको भन्दै यति संवेदनशील विषयमा संसद्ले नजरअन्दाज गर्न नमिल्ने बताए।  ‘एकजना मित्र, पूर्वमन्त्री र सांसदले पाँच हजार घुस प्रकरण अघि सार्नुभएको छ।उहाँले आफ्ना छोरोको प्रमाणपत्र प्रमाणित गर्नका लागि मैले स्वयं ५ हजार दिएँ र त्यसपछि मात्र काम भयो भनेर रोष्ट्रमबाट भन्नुभयो’, उनले भने, ‘यस विषयमा सभामुखबाट रुलिङ हुनेछ भन्नेमा आशारत थिएँ, तर हुन सकेन।’ सांसद केसीले सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्नँ’ भनेको स्मरण गर्दै पाँच हजार घुस दिएको कुरा के हो ? भनेर प्रश्न गरे । ‘यो भ्रष्टाचार हो कि होइन? पाँच हजार घुस खाएको कुरा संवेदनशील हो यसलाई नजरअन्दाज गर्न मिल्दैन’, उनले भने, ‘आम जिज्ञासा छ कि एउटा मन्त्री र सांसदले घुस दिनुपर्ने हो भने सर्वसाधारण जनताको अवस्था के होला?’  उनले घुस काण्डमा हाउस स्तब्ध भएर बसेको भन्दै यसबारे तीन दिनभित्र सरकारले जवाफ दिनुपर्ने बताए।सोमबारको प्रतिनिधि सभा बैठकमा पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले केही दिन अघिमात्र छोराको प्रमाणपत्र प्रमाणित गर्न ५ हजार घुस दिनुपरेको बताएका थिए।

सुनचाँदीको मूल्य स्थिर, कारोबार कतिमा भैरहेको छ ?

काठमाडौं । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार सुन तोलाको एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार पनि सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय रहेको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै,आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी आज प्रतितोलाको १७९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमिसनको प्रभावमा प्रधानमन्त्री ओलीले २२ अर्ब राजश्व छुट दिन लागे  : सांसद दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले कमिसनको खेलमा लागेर उद्योगहरूलाई २२ अर्ब राजश्व छुट दिन लागेको बताएका छन् । सोमवार संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्री ओलीले कमिसनमा लागेर उद्योगहरूको विद्युत् महसुल मिनाहा गर्न लागेको बताएका हुन् । उनले विद्युत् प्राधिकरणले कानुनसम्मत रुपमा बक्यौता नतिर्ने उद्योगहरूको विद्युत् काटेको भन्दै प्रधानमन्त्रीको ठाडो आदेशमा बक्यौता नतिरीकन विद्युत् जोड्नु नहुने बताए । उनले राज्य राजस्वमा चल्ने भन्दै २२ अर्ब रुपैयाँ राजश्व छुट दिनु नहुने बताए । उनले महसुल नतिर्ने उद्योगहरूलाई मिनाहा गर्ने हो भने महसुल तिरेका उद्योगहरूको पनि महसुल फिर्ता गर्नुपर्ने बताए । उनले भने – ‘विद्युत् प्राधिकरणको तर्फबाट लगातार लिखित पत्र पठाउँदा, ताकेता गर्दा पनि उहाँहरुले विद्युत् महसुल तिर्न अस्वीकार गरिसके पछि लाइन काटिएको हो । यही सन्दर्भमा प्रधानमन्त्रीले ठाडो आदेश लाइन जोड्नु, विद्युत् महसुल मिनाहा गरिदिनु भन्ने भयो । मैले भने, प्रधानमन्त्रीज्यू तपाई त कमिसनमा चल्नुहुन्छ । तर राज्य राजश्वमा चल्छ । त्यसकारणले २२ अर्ब राजश्व मार्ने छुट तपाईँलाई छैन भन्ने सन्दर्भमा मैले प्रश्न उठाएको थिएँ । त्यही सन्दर्भमा प्रधानमन्त्रीले उत्तेजित अलि उत्तेजित भएर जवाफ दिनुभयो । उहाँले तैँले बोल्न पाउँदैनस् भन्ने सेन्समा रोष्टमबाटै उहाँले प्रतिवाद गर्नुभयो । मेरो अहिले पनि मान्यता के छ भने उहाँहरू त कमिसनमा चल्नुहुन्छ । तर अर्बौँ राजश्व मार्न पाइँदैन । ६१ वटा भन्दा बाहेक पनि अरु उद्योग छन् । अरु उद्योगले समयमै विद्युत् महसुल तिर्छन् । यदि ६१ वटा उद्योगका विद्युत् महसुल उहाँहरुले मिनाहा गर्ने हो भने अरु उद्योगको पनि महसुल फिर्ता गर्नुपर्छ भन्ने मान्यता मेरो हो ।' सांसद दाहालले प्रधानमन्त्री ओलीले बिचौलियाको दबाब र प्रभावमा परेर विद्युत् जोड्न आदेश दिएको भन्दै विद्युत् प्राधिकरणले प्रधानमन्त्रीको आदेशको अवज्ञा गर्नुपर्ने बताए । उनले विद्युत् प्राधिकरणले प्रधानमन्त्रीको निर्देशनको उल्लंघन गर्नुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीको आदेशले ऐन, कानुन मार्न पाइँदैन । ऐन, कानुनले के भन्छ ? मन्त्रिपरिषद्ले के भन्यो रु अदालतले के भन्यो रु सार्वजनिक लेखा समितिले के भनेको छ । यत्रो पर्याप्त प्रमाणहरू चाहीँ उहाँलाई प्रमाण नहुने । बिचौलियाको भाषा बोलेर, बिचौलियाहरूको दबाब र प्रभावमा परेर, कमिसनको प्रभावमा परेर उहाँले ठाँडो आदेश दिन मिल्छ रु उहाँको फर्मान विद्युत् प्राधिकरणले उल्लंघन गर्नै पर्छ । उहाँको फर्मानको अवज्ञा गर्नैपर्ने हुन्छ । कानुनसम्मत २२ अर्ब बक्यौता विद्युत् महसुल राज्यको खातामा नआउन्जेल उद्योगीहरूको लाइन काट्नै पर्छ । यो मिनाहा गर्न सकिँदैन ।’

डीआईजी जोशी एआईजी बढुवाका लागि सिफारिस

काठमाडौँ  नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको सोमबार बसेको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरिएको  बढुवा सिफारिस समितिका सदस्यसचिव समेत रहेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जनाएका छन् ।

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन ८ गते मंगलबार सन् २०२४ जुलाई २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५६ पैसा र बिक्री दर १३४ रुपैयाँ १६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ ३९ पैसा र बिक्री दर १४६ रुपैयाँ ०५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ७३ पैसा र बिक्री दर १७३ रुपैयाँ ५१ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ विदेशी मुद्राको विनिमय दर 

मिडिया काउन्सिल विधेयकबारे छलफल गर्न विधायन समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने जनाइएको छ । आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, केही मन्त्रीले मौखिक जवाफ दिने कार्यतालिका

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समिति तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । यस्तै, बैठकमा केही मन्त्रीले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिने कार्यक्रम रहेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या, बन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ । यसैगरी, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकमा सांसद प्रतिमा गौतमले डेङ्गुको प्रकोपबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । महाशाखाका अनुसार अहिले बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । अबको २४ घण्टामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ५ बजेर २२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५८ मिनेटमा हुनेछ ।

परीक्षा तालिका हेरफेरविरुद्ध काठमाडौं विश्वविद्यालयमा विद्यार्थी आन्दोलित

काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ र साइन्सको परीक्षा तालिका अस्वभाविक र गैरजिम्मेवारीपूर्ण तरिकाले हेरफेर गरेको भन्दै के.यू. का विद्यार्थीले परीक्षा बोर्डका अध्यक्ष तथा रजिस्ट्रार प्रा.डा. अच्युत वाग्ले समक्ष माग पत्र बुझाएका छन्। विद्यार्थीहरुले के यू को परीक्षा प्रणाली जटिल रहेको भन्दै अस्वभाविक तालिका हेरफेरले विद्यार्थीलाई मार पर्ने बताएका छन् । आन्दोलनरत विद्यार्थी सन्तोष बुढाथोकी अनुसार-'यहाँ ड्रप सिस्टम रहेको छ अर्थात दुई लगातार २ सेमेस्टरमा विषय लागेमा र कटाउन नसकेको विषयहरुको क्रेडिट हाल सेमेस्टरको जम्मा क्रेडिटको आधी भन्दा बढी भएमा सो विद्यार्थीले पैलाकै सेमेस्टर दोहोर्‍यानु पर्ने हुन्छ। यस्तो सम्वेदनशिल प्रणालिमा समयमा परीक्षा नतिजा नआउदा विद्यार्थीमाझ अन्योलता निम्त्याउने गर्छ। पछिल्लो चरणमा परीक्षाका हरेक गतिविधि अस्वभाविक मात्रै नभै आम विद्यार्थीको भविष्य नै धोस्त पार्न तर्फ अग्रसर रहेको देखिन्छ।कहिले परीक्षा प्रश्नपत्र बाहिरिनु ,कहिले रिचेकिङ मार्फत १०० विद्यार्थी पास गर्दिने त कहिले मनपरी परीक्षा तालिका हेरफेर गर्ने गरेको हुदा हामी विद्यार्थीहरुले परीक्षाको मर्यादा कायम गर्ने माग सहित ज्ञापनपत्र तथा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छौँ। १४ दिनको पूर्व तयारीको समय सहित सार्वजनिक भएको तालिका एक हप्ता पछि अस्वभाविक रुप हेरबदल गरियो।' यस्ता छन् विद्यार्थीका मागहरू  १.काठमाडौँ विश्वविद्यालयको एक चिनारी परीक्षाको मर्यादा हो , यो चिनारी जीवन्त राखियोस्।  २.परीक्षा तालिका सार्वजनिक गरिएको १५ दिन पछि मात्र परीक्षा सञ्चालन हुने बेहोरा परीक्षा कानुनमा यथाशीघ्र उल्लेख गरियोस्।  ३ क्रेडिट(Credit hour ) साथसाथै विषयको सामग्री अध्ययन गरी न्यायोचित ढङ्गले  परीक्षा तयारी बिदा दिइयोस् । ४.मनपरी तरिकाले परीक्षा तालिका सार्वजनिक गर्ने र परिमार्जन गर्ने  गैरजिम्मेवारपुर्ण गतिविधि रोकियोस्। ५.कुनै खण्डमा भवितव्य त्रुटि आइपरे,परीक्षा तालिका सार्वजनिक भएको ३ दिन विभिन्न परिमार्जन गरी  सार्वजनिक गरियोस्।  ६.परीक्षा कसैको  निजी सम्पत्ति होइन, कुनै सङ्कायलाई परीक्षा सम्बन्धी  समस्या आए , सबै संकायको प्रतिनिधि राखी गहन छलफल र समन्वय गरी मात्र कहीँ निर्णय गर्ने  । ७.कम्पार्ट परीक्षाको तालिका ७ दिन अगाडि सार्वजनिक गरियोस् ।

दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

काठमाडौं । इजरायलले दुई हजार नेपाली श्रमिकलाई ‘केयरगिभर’का रूपमा रोजगारी दिन सहमति जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग सोमबार नेपालका निम्ति इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायल नेपाली श्रमिकको संख्या वृद्धि गर्न सहमत भएको हो । हाल छनोटका चरणमा रहेका ५०० मुख्य र ३०० वैकल्पिक उमेदवार गरी यसअघि कुल ८०० नेपाली श्रमिक इजरायल लैजाने भनिएको थियो । उक्त संख्या बढाएर एक हजार मुख्य र एक हजार वैकल्पिक उमेदवार गरी कुल दुई हजारसम्म नेपाली लैजान सकिने गरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए । द्विपक्षीय श्रम सम्बन्धका विविध पक्षका साथै ‘जीटुजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रूपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाबारे समेत भेटमा छलफल गरिएको थियो । आउँदा दिनमा कृषिलगायत अरू क्षेत्रमा समेत नेपाली श्रमिक इजरायल लैजान सकिने बारेमा कुराकानी गरिएको प्रवक्ता रिजालले जानकारी दिए । त्यसक्रममा मन्त्री भण्डारीले नेपाल–इजरायलबीचको श्रम सम्बन्धका बारेमा सन्तोष व्यक्त गरेका थिए । इजरायल–प्यालेस्टाइन द्वन्द्वमा हराइरहेका नेपाली विपीन जोशीको खोजतलास एवं वास्तविक अवस्थाबारे जानकारी र सकुशल फिर्ता गराउने विषयमा थप पहल लिन उनले अनुरोध गरेका थिए । 

किताब जात्राको छैठौं संस्करण हुँदै

काठमाडौं । ‘किताब जात्रा’को छैठौं संस्करण श्रावण १८ र १९ गते आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौंमा हुने भएको छ । किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्रा यस वर्ष भौतिक रूपमा दुई दिन हुन लागेको हो । ‘किताब जात्राको छैठौं संस्करण घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं’ फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने, ‘हामी दुई वर्षपछि फेरि भौतिक रूपमै फेस्टिभल गर्दैछौं । प्रतिकूल अर्थतन्त्रका कारण २०८० को संस्करण हामीले गर्न नसकेपनि किताब जात्राको यात्रालाई यो वर्ष फेरी नयाँ आयामका साथ निरन्तरता दिँदैछौं ।’ जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कलालगायतका क्षेत्रका समसामयिक विमर्श सञ्चालन हुनेछन् । फेस्टिभल कोअर्डिनेटर विकेश भट्टराईका अनुसार जात्रामा विमर्शका साथै काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइक, कला प्रदर्शनी, क्यालिग्राफी, रक्तदानजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधि हुनेछन् । जात्रामा मिस्टिक नेपाल अवधारणामा आधारित रहेर संगीत र कला क्षेत्रका विशिष्ट प्रस्तुति रहने उनले बताए । लेखक र पाठकबीच अन्तरङ्ग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिंगलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश हुने १५ वटा सेसन रहने डाइरेक्टर ऋषिराम अधिकारीले जानकारी दिए । साथै  ‘संगम श्रुति’ ब्यान्डको सांगीतिक प्रस्तुति पनि रहने उनले बताए ।   पठनसंस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’को यो संस्करणमा विविध क्षेत्रका पुस्तकहरूको विशेष प्रदर्शनी रहने किताब यात्रा प्रा।लि।का सिइओ विकेश भट्टराईले जानकारी दिए । पुस्तक प्रदर्शनीको संयोजन अनलाइन पुस्तक बिक्रेता किताब यात्राले गर्दैछ । किताब जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिनेछ । सर्लाही जिल्लाका शिक्षासेवी स्व। प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिन्छ । गत वर्ष साहित्यकार ध्रुवचन्द्र गौतमलाई उक्त सम्मान प्रदान गरिएको थियो । जात्राका अवसरमा ‘किताब यात्रा’ले आफ्नो प्लेटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिनेछ । गत वर्ष लेखक गिरिश गिरि लिखित ‘सत्यमोहन’लाई उक्त अवार्ड प्रदान गरिएको थियो । किताब जात्रा कै अवसरमा एक जनालाई खुला आवेदनको आधारमा किताब जात्रा पश्चात सीए अध्ययनका लागि ुप्रेम प्रसाद मेमोरियल स्कलरशीपु प्राइम सिएको सहकार्यमा छात्रवृति प्रदान गरिनेछ।

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।  सुनको मूल्य एक सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार प्रतितोला एक लाख ४६ हजार २०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।  तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै, चाँदी सोमबार प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य एक हजार ८ सय दश रुपैयाँ रहेको थियो ।

पृथ्वीराजमार्गमा पहिरो, दुईतर्फी सडक अवरुद्ध

काठमाडौं ।पृथ्वीराजमार्गमा पहिरो गएको छ। राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३, फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको हो। एक्साभेटरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। बिहान ५ बजे खसेको पहिरोका कारण  मुग्लिन–काठमाडौं सडक दुईतर्फी अवरुद्ध बनेको छ।

प्रधानमन्त्री ओलीसँगको पहिलो प्रत्यक्ष प्रश्नोत्तर आज

काठमाडौं ।आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदै छ।प्रश्नोत्तर कार्यक्रमका लागि आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ। प्रतिनिधिसभा निमयावली बमोजिम उक्त कार्यक्रम तय भएको हो। नियमवालीमा प्रत्येक महिना प्रश्नोत्तरको कार्यक्रम हुने उल्लेख छ। आजको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रियसभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।