मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
मुस्ताङ । मुस्ताङमा तीन महिनामा ४३ हजार ६५ जना विदेशी पर्यटक भित्रिएका छन् । सन् २०२६ को जनवरीदेखि मार्चसम्म उक्त सङ्ख्यामा विदेशी पर्यटक मुस्ताङ भित्रिएको राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।
एक्याप जोमसोम कार्यालयका अनुसार सन् २०२६ को जनवरीदेखि मार्चसम्म सार्क राष्ट्रबाट ३७ हजार ९८९ जना र अन्य मुलुकबाट पाँच हजार ६७ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए ।
यसअघि सन् २०२५ को जनवरी, फ्रेब्रअरी र मार्च महिनामा कूल २८ हजार ७४४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको एक्यापको तथ्याङ्कमा उल्लेख छ । उक्त समयको तीन महिनामा सार्कतर्फ २४ हजार ८४७ जना र अन्य मुलुकबाट तीन हजार ८९७ जनाले मुस्ताङको भ्रमण गरेका थिए ।
सन् २०२५ को तीन महिनाको तुलनामा सन् २०२६ को जनवरीदेखि मार्च महिनामा सार्क राष्ट्रतर्फ १३ हजार १४२ जना अर्थात (३४.५९) प्रतिशत र अन्य राष्ट्रतर्फ एक हजार १७० जना अर्थात (२३.०९) प्रतिशत विदेशी पर्यटक वृद्धि भएको एक्याप प्रमुख गुप्ताले बताए ।
सन् २०२४ मा कूल एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । सन् २०२५ मा कूल एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्यापको तथ्याङ्कमा उल्लेख छ ।
सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्युरोको अनुरोध
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट तथा प्लेटफर्म सञ्चालन गरी कारोबार नगर्न/नगराउन पुनः सचेत गराएको छ । सरकारले यसअघि नै अनलाइन सट्टेबाजी अनलाइन तथा प्लेटफर्म बन्द गरिसकेको छ । ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार, गैरकानुनी क्रियाकलाप नगर्न/नगराउन सबैमा अनुरोध गरिएको छ । त्यस्तो गरिएको पाइए उपकरणसमेत जफथ हुने ब्युरोले स्पष्ट पारेको छ । प्रहरीले मुलुकी अपराधसंहिता, २०७४ बमोजिम फौजदारी कसुरमा प्रहरीले पक्राउ गरी अनुसन्धान गर्ने तथा सो कसुरमा संलग्न व्यक्तिलाई कैद वा जरिबाना वा दुवै सजाय हुनका साथ सट्टेबाजीबाट आर्जन गरिएको रकम वा प्रयोग गरिएका उपकरणसमेत जफत हुने ब्युरोले प्रष्ट पारेको छ । बन्द गरिएका कुनै पनि सट्टेबाजी अनलाइन एप वा प्लेटफर्ममा कुनै पनि कारोबार नगर्न तथा नगराउन, कहीँकतै त्यस्तो गरेको पाइए जानकारी गराउन ब्युरोले अनुरोध गरेको छ ।
आज विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (चैत २०)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनसार, अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । बिहीबार (चैत १९) अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ चार पैसा थियो । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९३ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ १३ पैसा र बिक्रीदर १९६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ तीन पैसा र बिक्रीदर १०२ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०७ रुपैयाँ २२ पैसा, सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ५५ पैसा र बिक्रीदर २१ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७८ पैसा र बिक्रीदर ४० रुपैयाँ ९४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५५ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४० रुपैयाँ ६४ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८० पैसा र बिक्रीदर नौ रुपैयाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५ रुपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९२ पैसा र बिक्रीदर २३ रुपैयाँ ०१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ४८६ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
आज सभामुखकाे लागि उमेदवारी दर्ता
काठमाडौं । प्रतिनिधिसभा सभामुखका निम्ति शुक्रबार (चैत २०) उमेदवारी दर्ताको समय दिइएको छ । संघीय संसद् सचिवालयले प्रकाशित गरेको तालिकाअनुसार सभामुख चयनका लागि आइतबार (चैत २२)मा निर्वाचन हुनेछ । तालिकाअनुसार, शुक्रबार बिहान ११ देखि २ बजेसम्म उमेदवारी दर्ताको समय तोकिएको छ । संघीय संसद् सचिवालय सिंहदरबारमा उमेदवारी दर्ता गर्न सकिने जनाइएको छ । दिउँसो २:३० बजे उमेदवारी दर्ताको नामावली प्रकाशन गरिनेछ । सदनमा १८२ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी उपसभापति डोलप्रसाद अर्याललाई सभामुख बनाउने निर्णय गरिसकेको छ । अल्पमतमा रहेका अरु दलले सभामुखको उमेदवारबारे धारणा सार्वजनिक गरिसकेका छैनन् ।
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि: अब कुनकाे कति ?
काठमाडौं । उपभोक्तालाई थप आर्थिक बोझ पार्नेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा बढाएको छ। बिहीबार (चैत १९) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ। नयाँ समायोजनअनुसार, पहिलो वर्गमा पेट्रोलको मूल्य १८४.५० रुपैयाँबाट बढेर १९९.५० रुपैयाँ पुगेको छ। त्यस्तै, दोस्रो र तेस्रो वर्गमा क्रमशः १८६ र १८७ रुपैयाँ रहेको पेट्रोलको मूल्य अब २०१ र २०२ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। डिजेल तथा मट्टितेलतर्फ पनि मूल्य वृद्धि गरिएको छ। यसअघि पहिलो, दोस्रो र तेस्रो वर्गमा क्रमशः १६४.५०, १६६ र १६७ रुपैयाँ रहेको मूल्य अब बढेर १७९.५०, १८१ र १८२ रुपैयाँ प्रतिलिटर पुगेको निगमले जनाएको छ। निगमका अनुसार मूल्य वृद्धि हुँदाहुँदै पनि पेट्रोलमा प्रतिलिटर ३४.३६ रुपैयाँ, डिजेलमा १२०.५४ रुपैयाँ र एलपी ग्यासमा प्रतिशिलिन्डर ४१६.३७ रुपैयाँ घाटा कायम रहेको छ। इन्धनको मूल्यमा भएको पछिल्लो वृद्धिले बजार भाउ, ढुवानी खर्च तथा दैनिक उपभोग्य वस्तुमा समेत थप दबाब पर्ने अनुमान गरिएको छ।
हिउँदमा पनि रोकिएन कर्णाली नदी कटानको जोखिम
कैलाली । टीकापुर–५ स्थित टीकापुर बृहत उद्यान कर्णाली नदी कटानको जोखिममा रहेको छ । चैतमा पनि कर्णाली नदीले उद्यानको पिकनिकस्थलतिर तीव्र कटान भइरहेको छ । कर्णाली नदीले पानीको धार परिवर्तन गर्दा टीकापुर बृहत् उद्यान क्षेत्रमा नदी कटान तीव्र भइरहेको स्थानीयले बताएका छन् । “बर्खा लागेमा नदी उद्यान हुँदै बस्तीमा पस्ने जोखिम बढेकाले समयमै नियन्त्रणका लागि काम गर्नुपर्ने देखिएको छ”, स्थानीय सिंहराज बुढामगरले भने, “चैतमा यसरी कटान गरिरहेको नदीले बर्खा लागेमा बस्ती जोखिममा पार्छ । नदीले सिधैँ पार्क क्षेत्र कटान गरिरहेको छ । यही हिसाबले कटान भए बर्खामा पार्क हुँदै बस्ती सखाप हुन्छ ।” पार्कको वनभोजस्थलदेखि पाँच सय मिटर उत्तरतर्फ कर्णाली नदीले बर्दियाको सिमानातर्फ ढुङ्गा, गिट्टी, बालुवा थुप्रिई टापुजस्तै बनाएको छ । नदीको बहाव टीकापुरतर्फ बगिरहेकोे र टीकापुरतर्फ नदीमा पक्की तटबन्धसमेत नभएकाले थुप्रेर रहेका ढुङ्गा, गिट्टी, बालुवा सफाइ नगरेमा यस वर्षको मनसुनमा टीकापुरतर्फ नदीले कटान गरी बस्तीमा नदी पस्ने उच्च जोखिम देखिएको प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल सुमन धितालले बताए । “पालिकाको आफ्नै स्रोत नभएकाले नदी सफाइ तथा पक्की तटबन्ध गर्न सक्ने अवस्था छैन । समस्या समाधान तथा बृहत उद्यान र बस्ती जोगाउनका लागि अहिले नै काम गर्नुपर्ने देखिन्छ”, धितालले भने, “आवश्यक व्यवस्था गरिदिन माग गर्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरी पठाएका छौँ ।” नगरपालिका बर्सेनि कर्णाली नदी कटानको जोखिम झेल्दै आएको छ । कर्णालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले नदी नियन्त्रणका लागि विभिन्न ठाउँमा तटबन्ध निर्माण गरेको छ । सिँचाइले निर्माण गरेका तटबन्ध तारजालीका भएकाले यसको दिगोपनामा पनि समस्या देखिएको छ । टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाका अनुसार टीकापुरको वडा नं ५ पार्क क्षेत्र, वडा नं ७ मा सत्ती कर्णाली सामुदायिक वन क्षेत्रलगायत ठाउँ बर्सेनि कटान भइरहेका छन् । सिँचाइ आयोजनाले विगतमा गर्ने तारजालीको तटबन्ध दिगो नभएपछि अहिले ठूला ढुङ्गा (बिग बोल्डर) हाल्ने गरेको छ । तर पछिल्ला दुई वर्षयता यहाँ लगानी छैन । नदी कटान बढ्दै गएको तर आयोजनाले लगानी गर्न छोड्दा नदी नियन्त्रण समस्या भइरहेको छ । सिँचाइ आयोजनाका सूचना अधिकारी रामकृष्ण घोरासैनीले विगतमा तारजालीबाट गरिने तटबन्ध दिगो नभएपछि अहिले तटबन्धको स्वरुप परिवर्तन गरिएको बताए । “विगतमा कर्णाली नदीमा दर्जनौँ ठाउँमा तटबन्धको काम भएको छ । विश्व बैंकको सहयोग नभएपछि तेस्रो ‘फेज’मा कर्णाली नदीमा खासै काम छैन, इन्टेकसहित तीन ठाउँमा तटबन्धको काम चलिरहेको छ”, उनी भन्छन्, “आयोजनासँग पनि बजेट कम छ । पुराना ठेक्का लागेका समयमै निर्माण व्यवसायीले काम नसकेका ठाउँमा निर्माण भइरहेको छ ।” सिँचाइ आयोजनाले सिँचाइ विस्तारका लागि कर्णाली नदीको चिसापानीमा इन्टेक र मुख्य नहर निर्माण, फिडर नहर निर्माण, जलविद्युत् निर्माण, डिभिजन बक्स र आउटलेट सुधार कार्य, सिञ्चित क्षेत्र बचाउ तथा सुरक्षा, सामाजिक सुरक्षा र पर्यावरण संरक्षण, पानी व्यवस्थापन, नयाँ शाखा नहर निर्माणका क्षेत्रमा काम गरिसकेकोे छ । कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले नदी स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय भई आएमा जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गरी आवश्यकताअनुसार जनधनको क्षतिबाट बस्ती जोगाउन पहल हुने बताए । “हामी सबै क्षेत्रसँग छलफल गरी उचित निकासका निर्णय गरेर पहल गर्छौँ, विपदबाट रोकथामका लागि सम्बन्धित निकायमा कार्यान्वयन गर्नेतिर पहल गर्छौँ”, उनले भने, “कैलालीका नदीहरूमा अहिले भइरहेका तटबन्धको दिगोपनाका लागि पनि संवेदनशील हुन अनुरोध गरेका छौँ ।” कर्णाली नदी कैलाली र बर्दियाको सीमामा भएकाले अन्तरजिल्ला समन्वय समितिबाट छलफल गरी आपसी समझदारीबाट विपद् व्यवस्थापनमा काम हुने प्रजिअ रेग्मीले बताए ।
चट्याङका कारण १२ वर्षमा एक हजारभन्दा बढीको मृत्यु
काठमाडौँ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा विगत १२ वर्षमा चट्याङका घटनाबाट ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ हाइड्रोलोजिस्ट राजेन्द्र शर्माका अनुसार विसं २०७० वैशाख १ गतेदेखि विसं २०८२ फागुन मसान्तसम्मको अवधिमा देशभर तीन हजार ३८६ वटा चट्याङका घटना दर्ता भएका छन् । ती घटनामा कुल एक हजार ७३ जनाको ज्यान गएको छ । तीमध्ये ४६० पुरुष, ३०३ महिला र ३१२ जनाको पहिचान खुल्न सकेको छैन । चट्याङबाट तीन ४०८ जना घाइते भएका छन् । तीमध्ये एक हजार ३१७ पुरुष, एक हजार ६३३ महिला छन् । चार हजार २९४ परिवार चट्याङका कारण प्रभावित बनेका केन्द्रले जनाएको छ । साथै एक सय चार घरमा पूर्ण र तीन सय ९० घरमा आंशिक रूपमा क्षति पुगेको छ । पूर्वाधारतर्फ एक सय १४ गोठमा क्षति पुगेको छ भने चार हजार ८४९ वटा पशुचौपायामा क्षति पुगेको छ । केन्द्रका अनुसार चट्याङका घटनाबाट कुल रु ११ करोड ८२ लाख १८ हजार २६० बराबरको अनुमानित आर्थिक क्षति भएको वरिष्ठ हाइड्रोलोजिस्ट शर्माले जानकारी दिए । के हो चट्याङ ? राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशन गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी हाते पुस्तकका अनुसार चट्याङ बादलदेखि जमिनमा बग्ने ठूलो मात्राको विद्युतीय करेन्ट हो । फरक उचाइमा रहेका र विपरीत चार्ज रहेका बादलहरू नजिक पुगेर एक्कासी विद्युत् प्रवाह हुँदा ठूलो मात्रामा शक्ति उत्पन्न हुँदा चर्को आवाज र आगोसहितको विद्युतीय तरङ्ग पृथ्वीको सतहमा आउँदा चट्याङको जोखिम हुन्छ । बस्ती, वन बुट्यान र भौगोलिक परिवेशले चट्याङका घटना र विपद् जोखिम निर्धारण गर्दछन् तापनि मूलतः यो एक दुर्घटना हो । चट्याङका कारण विशेषगरी खुला क्षेत्रमा काम गर्ने किसान, मजदुर र पशुपालकको ज्यान जाने गरेको छ । अग्ला भवन, विद्यालय, अस्पताल, सपिङ मल, विद्युत तथा टेलिफोन लाइनजस्ता भौतिक पूर्वाधार संरचनामा चट्याङ निवारक प्रविधि जडान गरेर जनधनको क्षति कम गर्न सकिन्छ । चट्याङबाट बच्न पूर्वतयारी र सावधानी अपनाउन आग्रह राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशन गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी हाते पुस्तकले चट्याङबाट हुने जोखिम घटाउन समयमा पूर्वतयारी र सचेतना अपनाउन सबैलाई आग्रह गरेको छ । प्राधिकरणले आधिकारिक निकायबाट जारी हुने पूर्वसूचना र जानकारीलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएको हो । हाते पुस्तकअनुसार चट्याङका बेला सुरक्षित स्थान र व्यवहारबारे अग्रिम जानकारी राख्नु आवश्यक छ । यसबारे घरपरिवार, छिमेकी तथा समुदायमा छलफल गरी सचेतना फैलाउनुपर्ने उल्लेख गरिएको छ । विद्यालय, कलेज तथा टोलस्तरमा समेत चट्याङबाट जोगिने अभ्यास सञ्चालन गर्न सुझव दिएको छ । घरवरिपरि रहेका अग्ला रुखहरू हटाउने वा होचो बनाउने साथै घरको विद्युतीय प्रणालीमा गुणस्तरीय अर्थिङ व्यवस्था गर्नुपर्ने जनाइएको छ । अर्थिङले चट्याङको करेन्टलाई जमिनमा सुरक्षित रूपमा प्रवाह गर्न मद्दत गर्दछ । चट्याङ सक्रिय हुने समयमा अनावश्यक रूपमा विद्युतीय उपकरण प्रयोग नगर्न र जोखिमयुक्त क्षेत्रमा भीड नगर्न पनि आग्रह गरिएको छ । घरबाहिर हुँदा अपनाउनुपर्ने सावधानी चट्याङ परिरहेका बेला बाहिर परेमा तत्काल सुरक्षित भवनभित्र पस्नुपर्ने सुझाव दिइएको छ । रुख, बिजुलीका पोल वा टावर नजिक बस्न नहुने, छाता प्रयोग नगर्नु पर्ने तथा खेतबारीमा काम गरिरहेको अवस्थामा काम रोकी सुरक्षित स्थानमा जानुपर्ने उल्लेख गरिएको छ । सुरक्षित ओत उपलब्ध नभएमा शरीरलाई सानो बनाएर घुँडा समातेर बस्नुपर्ने, समूहमा भए अलगअलग र टाढा बस्नुपर्ने बताइएको छ । खोला, पोखरी वा स्वीमिङ क्षेत्रमा रहेमा तुरुन्त बाहिर निस्कन र माछा मार्ने वा र्याफ्टिङजस्ता गतिविधि नगर्न पनि सचेत गराइएको छ । त्यस्तै, साइकल वा मोटरसाइकलमा यात्रा गरिरहेको अवस्थामा सवारी साधन रोकी ओर्लनुपर्ने र धातुका वस्तु नछुनुपर्ने सुझाव दिइएको छ । घरभित्र हुँदा के गर्ने ? प्राधिकरण वरिष्ठ हाइड्रोलोजिष्ट शर्माले घरभित्र रहँदा झ्यालढोका बन्द गरी सुक्खा स्थानमा बस्नुपर्ने, तारयुक्त टेलिफोन प्रयोग नगर्नुपर्ने तथा सकेसम्म मोबाइल फोनसमेत प्रयोग नगर्न सुझाव दिए । उनका अनुसार चार्जमा रहेका विद्युतीय उपकरणहरू हटाउने, टिभी, कम्प्युटरजस्ता उपकरण बन्द गरी प्लग निकाल्नुपर्छ ।
भारतमा जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढ्याे
काठमाडौँ । पश्चिम एसियामा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ । यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ । भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ) को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको भने अन्य प्रमुख सहरहरूमा पनि यस्तै वृद्धि गरिएको छ । एटिएफ हवाई सेवा सञ्चालनको प्रमुख लागत भएकाले यसको मूल्यवृद्धिले हवाई भाडामा समेत प्रभाव पार्न सक्ने बताइएको छ । मन्त्रालयले मध्यपूर्व युद्धका कारण विश्व ऊर्जा बजारमा असाधारण अवस्था सिर्जना भएको र विशेषगरी स्ट्रेट अफ होर्मुजमार्फत हुने तेल तथा ग्यास आपूर्ति प्रभावित भएको उल्लेख गरेको छ । यस्तो परिस्थितिमा एटिएफको मूल्य १०० प्रतिशतभन्दा बढीले बढ्ने अनुमान गरिएको थियो । तर सरकारले आन्तरिक हवाई यात्रामा प्रत्यक्ष असर कम गर्न ‘आंशिक र सीमित’ रूपमा करिब २५ प्रतिशत मात्र मूल्य समायोजन गरिएको जनाएको छ । यसैबीच अन्तर्राष्ट्रिय उडानतर्फ भने पूर्ण मूल्यवृद्धिको प्रभाव लागू हुने बताइएको छ, जसअनुसार विदेशी गन्तव्यमा उडान गर्ने विमानहरूले बढेको इन्धन लागत पूरै वहन गर्नुपर्नेछ । व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) को मूल्य पनि बढाइएको छ । दिल्ली, कोलकाता, मुम्बई र चेन्नईमा १९ किलोग्रामको ग्यास सिलिन्डरको मूल्य करिब २०० भारतीय रुपैयाँले वृद्धि गरिएको छ । भारत विश्वको चौथो ठूलो एलएनजी आयातकर्ता र दोस्रो ठूलो एलपिजी खरिदकर्ता हो, जसले मुख्य रूपमा मध्यपूर्वबाट आपूर्ति लिन्छ । यसैले त्यहाँको द्वन्द्वले भारतीय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । तर यसपटकको मूल्य समायोजनमा घरेलु प्रयोजनका एलपिजीको मूल्य भने यथावत राखिएको छ, जसले सामान्य उपभोक्तालाई तत्काल थप भार नपर्ने सङ्केत दिएको छ ।
रेन्वो ट्राउट माछापालनका लागि रसुवा वैज्ञानिक केन्द्र बन्दै
रसुवा । हिमाली जिल्ला रसुवा पछिल्ला वर्षमा वैज्ञानिक कृषि अभ्यासको थलोका रूपमा विकास हुँदै गएको छ। हिमाली चिसो पानीमा आधारित रेन्वो ट्राउट माछापालनले नयाँ आर्थिक सम्भावना खोलेको छ। धुञ्चे नजिक इमरुङस्थित मत्स्य अनुसन्धान केन्द्रबाट उत्पादित माछाका भुरा दार्चुलासहित २७ भन्दा बढी जिल्लामा पुगेका छन्। परम्परागत रूपमा तराईमा सीमित मानिएको माछापालन हिमाली क्षेत्रमा पनि सम्भव रहेको प्रमाणित भएको छ। २०७१ सालदेखि केन्द्रले व्यवस्थित रूपमा भुरा उत्पादन सुरु गरेको हो। अण्डा उत्पादन, भुरा वितरण र प्राविधिक तालिमसमेत उपलब्ध गराउँदै आएको केन्द्रले नागुङ, बोकेझुण्डा, सोले, ठुलोभार्खु, गतलाङलगायत क्षेत्रमा माछापालन विस्तार गरेको छ। ट्राउट माछापालनले स्थानीय युवालाई रोजगारीको अवसर दिएको छ। उत्पादित अण्डा र भुरा भुटानसम्म निर्यात हुन थालेका छन्। हाल ट्राउटको माग र मूल्य दुवै बढ्दै गएका छन्। ९–११ डिग्रीसेल्सियस पानीमा भुरा उत्पादन र १४–१८ डिग्रीसेल्सियसमा पालन उपयुक्त मानिन्छ। त्रिशूली नदीको पानी प्रयोग गर्दै केन्द्रमा ६९ वटा पोखरी निर्माण गरिएको छ। चालु आर्थिक वर्षमा एक लाख ११ हजारभन्दा बढी भुरा वितरण गरिएको छ। ट्राउट परिकारप्रति उपभोक्ताको आकर्षण बढ्दो छ। यो अभियानले कृषि विविधिकरण, रोजगारी सृजना र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा योगदान दिने अपेक्षा गरिएको छ।
आजका लागि विदेशी मुद्राको विनिमयदर कुनकाे कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (चैत १९)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ चार पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३६ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर १०२ रुपैयाँ ४० पैसा, स्विस फ्र्यांक एकको खरिददर १९१ रुपैयाँ नौ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ २१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा, सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ आठ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ तीन पैसा र बिक्रीदर २२ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४० रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७० पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार, थाई भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७६ पैसा, साउथ कोरियन वन १०० को खरिददर दश रुपैयाँ ६ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १३ पैसा र बिक्रीदर १६ रुपैयाँ १९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २३ रुपैयाँ ६० पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९४ रुपैयाँ ९६ पैसा रहेको छ । भारतीय एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
आजको मौसम: पहाडी र हिमाली भू–भागमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा
काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, हाल कोसी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी भू–भागमा आंशिक बादल लागेको छ । बिहीबार (चैत्र १९) दिउँसो हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भू–(भागमा आंशिक बादल लाग्नेछ । बाँकी पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
आजदेखि एसईई परीक्षा, पाँच लाखबढी परीक्षार्थी
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (चैत १९)देखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुनेछ । यही चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन् । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् । परीक्षा दिनेमा छात्राको संख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सातजना परीक्षामा सहभागी हुनेछन् । जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन् । परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षा नियन्त्रण कार्यालयले सातै प्रदेशका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रश्नपत्र सम्बन्धित केन्द्रमा पठाइसकिएको छ । परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ । परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ ।
किमाथाङ्का अरुण जलविद्युत् आयोजना प्रभावितलाई १८ करोड मुआब्जा वितरण
सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड बढी मुआब्जा वितरण गरिएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण भइरहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई चैत ९ गतेदेखि मुआब्जा वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत घाङ्री लामाले बताए । हालसम्म आयोजना प्रभावित क्षेत्रका २६ जना जग्गाधनीले रु १८ करोड मुआब्जा पाइसकेको आयोजनाका प्रबन्धक अशोक पण्डितले बताए । प्रभावित स्थानीयलाई करिब ४५ करोड मुआब्जा वितरण गर्नुपर्ने किमाथाङ्का अरुण जलविद्युत् आयोजनाले जनाएको छ । उक्त रकम जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकाहरूले पाउनेछन् । जिल्ला प्रशासन कार्यालयको २०८२ पुस ८ गते बसेको बैठकले प्रतिरोपनी ६ लाख ९० हजारसम्म जग्गाको मूल्याङ्कन गरेको थियो । आयोजना निर्माणस्थल क्षेत्रमा साविक भोटखोला–१,३,४ र ६ नम्बर वडामा पर्ने ७०० रोपनी क्षेत्रका १५० घरधुरी प्रभावितले मुआब्जा पाउनेछन् । किमाथाङ्का अरुण जलविद्युत् आयोजना विद्युत् उत्पादन कम्पनी लिमिटेडले निर्माणको जिम्मा लिएको छ । भोटखोला–२ चेपुवामा अरुण नदीको पानी ६ किलोमिटर सुरुङ मार्ग निर्माण गरेर विद्युत् गृहस्थल लिङ्गमा लगिने छ । उक्त आयोजनाको लागत करिब रु ९३ अर्ब ८० करोड खर्च हुने अनुमान गरिएको छ । आयोजनामा ५१ प्रतिशत लगानी नेपाल सरकारको र ४९ प्रतिशत लगानी सर्वसाधारणको रहने व्यवस्था गरिएको छ । आयोजनाले निर्माण सुरु भएको मितिदेखि पाँच वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ ।
सुनदहलाई विशेष गन्तव्य बनाउन पहल
काठमाडौँ । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको वृत्तचित्र सार्वजनिक गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा मंगलबार भएको सार्वजनिक समारोहमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनदहलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै विशेष गन्तव्यका रूपमा विकास गरिनै पर्ने बताएका छन् । उनले पूर्वाधार निर्माण, प्रभावकारी प्रचारप्रसार र समन्वयात्मक पहल आवश्यक रहेको समेत जोड दिए । कार्यक्रममा उनले सुनदहको वृत्तचित्रको प्रस्तुति र छायाङ्कनको प्रशंसा गर्दै भने ‘सुनदहको वास्तविक सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।” उनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र स्थानीय तहबिच सहकार्य बढाएर सुनदहको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । रुकुम पूर्वजस्तो हिमाली जिल्लामा पर्यटन विकासका लागि भौतिक पूर्वाधार निर्माण अपरिहार्य रहेको उल्लेख गरे । आगामी बजेटमार्फत पुराना योजनालाई निरन्तरता दिने र रुकुम पूर्वका पर्यटकीय गन्तव्यको प्रबद्र्धनका लागि बजेट व्यवस्थापनका लागि पहल गर्ने उनको भनाइ थियो । लुम्बिनी प्रदेश सांसद दिलकुमारी बुढाले सुनदहलाई स्वर्गबाट चोइटिएर खसेको टुक्राको संज्ञा दिँदै आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमण गर्न आग्रह गरिन् । उनले यसको प्रवर्द्धनमा आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारिन् । त्यसैगरी नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सुनदहलाई विशिष्ट भौगोलिक विशेषता बोकेको गन्तव्य रुपमा उल्लेख गरे । उनले सुनदहसहित रुकुम पूर्वका पर्यटकीय गन्तव्यहरूको ब्रान्डिङ गर्नुपर्नेसमेत बताए । पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष वमबहादुर बुढाले स्वागत मन्तव्य दिँदै सुनदहको पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्न सरोकारवालाहरूसँग अनुरोध गरे । कार्यक्रमका अध्यक्ष तथा पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले सुनदहमा अपार पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै यसको प्रवर्द्धनका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको बताए । समुद्री सतहबाट चार हजार ४३५ मिटर उचाइमा रहेको सुनदह प्राकृतिक, जैविक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण स्थलका रूपमा चिनिन्छ । यहाँ रेड पान्डा, कस्तुरीलगायत दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गी, यार्सागुम्बाजस्ता बहुमूल्य जडीबुटी पाइने भएकाले जैविक विविधताको दृष्टिले समेत यसको उच्च महत्त्व रहेको छ ।
हवाई इन्धनको मूल्य बढ्यो, पेट्रोल-डिजेलको कति ?
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ । आज राति १२ बजेपछि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखी हवाई इन्धनको मूल्य बढाइएको निगमले जनाएको छ । निगमका अनुसार हवाई इन्धन (आन्तरिकतर्फ) हाल १२७ रुपैयाँ प्रतिलिटर रहेकोमा बढाएर प्रतिलिटर २५१ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर ९६६ डलर रहेकोमा १७८५ डलर, पोखरामा ८०१ डलर रहेकोमा १७३२ डलर र भैरहवामा ७८९ डलर रहेकोमा १७१६ डलर कायम गरिएको छ ।
कम्बोडियाबाट १२ नेपालीको उद्दार
काठमाडौं । कम्बोडियामा गैरकानुनी गतिविधिमा संलग्न गराइएका १२ जना नेपाली नागरिकको उद्दार गरिएको छ। विभिन्न प्रलोभनमा पारेर उनीहरूलाई अनलाइन ठगीलगायत अवैध काममा लगाइएको पाइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियाली सरकारसँग समन्वय गरेर उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काएको जनाएको छ। दूतावासका अनुसार कम्बोडियामा अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपाली नागरिकको उद्दार तथा स्वदेश फिर्तीका लागि पनि पहल भइरहेको छ। कम्बोडियामा रहेका केही नेपालीलाई जबर्जस्ती स्क्यामिङ (ठगी) केन्द्रहरूमा काम गर्न बाध्य बनाइएको र उनीहरूको राहदानी कम्पनीले जफत गर्ने गरेको गुनासो आएको दूतावासले जनाएको छ। केन्द्र परिवर्तनका क्रममा राहदानी हराएको समस्या पनि धेरैले भोगिरहेका छन्। यस्तो अवस्थामा रहेका नेपाली नागरिकलाई थाइल्याण्डस्थित नेपाली दूतावास वा कम्बोडियास्थित गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरिएको छ। दूतावासले समस्यामा परेका नेपालीलाई स्वदेश फर्कनका लागि बिना शुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउँदै आएको पनि जनाएको छ।

