सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम

म्याग्दी । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा पहिरो रोकथामका लागि ‘बेञ्चिङ’ बिधि अपनाइएको छ ।

सिरुवारीमा बर्खायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्याको अस्थायी समाधानका लागि भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाले अल्पकालिन रुपमा कम खर्चमा पहिरो रोकथाम गर्न सकिने ‘बेञ्चिङ’ बिधि अपनाएको हो । म्याग्दीका सडकमा पहिरो रोकथामका लागि ‘बेञ्चिङ’ बिधि पहिलो पटक सिरुवारी पहिरोमा प्रयोग भएको हो ।

अस्थायी रुपमा सिरुवारी पहिरो रोकथाम गरेर आगामी बर्खामा बेनी–जोमसोम–कोरला सडकमा नियमित यातायात सञ्चालनका लागि ‘बेञ्चिङ’ बिधि अपनाइएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।

“सिरुवारीको तीन सय मिटर दुरीको पहिरोको दिर्घकालिन समाधानका लागि आवश्यक पर्ने रु। ६० करोड बजेटको स्रोत सुनिश्चितता हुन नसकेपछि आयोजनाले आन्तरिक स्रोतबाट अस्थायी रुपमा पहिरो रोकथाम गर्न बेञ्चिङ गरेको हो,” उनले भन्नुभयो “भिरालो पाखाको पहिरोलाई सिधै सडकमा खस्न नदिनका लागि गह/गह बनाइएको छ ।”

गत चैत महिनाको पहिलो सातादेखि डोजर परिचालन गरेर शुरु गरिएको बेञ्चिङ गर्ने कार्य केही दिनअघि सकिएको हो । सिरुबारीमा सडकदेखि एक किलोमिटर माथिसम्मको जमिन पहिरोमा परिणत भएको छ । सडकतल कालीगण्डकी नदी छ । पछिल्लो तीन वर्षयता बर्खायाममा सिरुवारीको सडक माथिबाट पहिरो खसेर दैनिक जसो बेनी–जोमसोम सडक अवरुद्ध हुने गरेको छ ।

सडक अवरुद्ध हुँदा कोरला नाकाबाट नेपाली बजारमा सामान ल्याएर आउने कन्टेनर, मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र स्थानीयबासीहरु बिच बाटोमै रोकिएर अलपत्र पर्ने समस्या छ । बेनी–जोमसोम सडकको अन्य ठाउँका ठुला पहिरो नियन्त्रणका लागि काम थालिएपनि सबैभन्दा ठुलो सिरुवारीको पहिरो रोकथामका लागि बजेट अभावमा काम हुन सकेको थिएन ।

भिरालो जमिनलाई सिँढीजस्तो तह बनाएर स्थिर बनाएर पहिरो नियन्त्रण गर्ने विधिलाई प्राविधिक भाषामा ‘बेञ्चिङ’ भनिन्छ । सडक भन्दा माथि बिच भागमा दुई ठाउँमा डोजरले सम्माएर पहिरोलाई सिधै खस्न नपाउने गरी सम्माइएको छ ।

करिब १७ मिटर फराकिलो पारिएको सडकको डिलतर्फ सात मिटर छाडेर कुनातर्फको भागमा पहिरो थुप्रिने ठाउँ राखिएको छ । ढल्केको जमिनलाई सिढीजस्तो बनाएपछि प्रत्येक तहले माथिको माटोको भार सम्हाल्ने, पानी बग्ने गति घट्ने र माटो चिप्लने सम्भावना कम हुने बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी जेमकुमार बैठाले बताए । 

आज तराई क्षेत्रमा तातो दिन रहने, पहाडी र हिमाली क्षेत्रमा  वर्षा र हिमपातकाे सम्भावना

काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भूभागमा उच्च गर्मीको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।  कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।  लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको  सम्भावना छ ।  “मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको छ,” विभागले भनेको छ । विभागले राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । कोसी प्रदेशको पहाडी र तराईलगायत बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।  कोसी प्रदेशको पहाडी र हिमाली भूभागलगायत गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

आज वैशाखे कृष्ण औँसी : आमाको मुख हेर्ने पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज (वैशाख ४) देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई बताउँछन् । सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्त्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्त्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए । यस्तो महत्त्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ । दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाख कृष्ण औँसीका दिन दिवंगत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ । मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए । 

गैँडाको खागसहित सुनसरीबाट चारजना पक्राउ

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैँडाको खागसहित चारजनालाई नियन्त्रणमा लिएको छ ।  गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जानकारी दिए । झापाबाट गैँडाको खाग लिएर आइरहेको भनी आएको गोप्य सूचनाका आधारमा खागसहित बर्जु–६, ताल नजिकबाट चारजनालाई नियन्त्रणमा लिएको उनले बताए ।  पक्राउ परेकाको साथबाट एउटा खाग, दुईवटा मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले बताए । पक्राउ परेकाको नाम गोप्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ । यसको सञ्जाल ठूलो भएको र अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरेको उनले बताए ।

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (वैशाख ४)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा तोकिएको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्रीदर १७६ रुपैयाँ ११ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर २०२ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९० रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०७ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८२ पैसा, सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ दुई पैसा र बिक्रीदर ११७ रुपैयाँ ५० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८२ पैसा र बिक्रीदर २१ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ८२ पैसा र बिक्रीदर ४० रुपैयाँ ९८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर ४० रुपैयाँ ६८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ आठ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २२ पैसा र बिक्रीदर १६ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४७ पैसा र बिक्रीदर २३ रुपैयाँ ५७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ दुई पैसा र बिक्रीदर १९ रुपैयाँ नौ पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ दुई पैसा र बिक्रीदर ४८७ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३९४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९६ रुपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८८ रुपैयाँ १० पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

कस्ताे रहला देशभरकाे माैसम: तराईका भूभागमा आज र भोलि तातो दिन हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज र भोलि (शुक्रबार र शनिबार) तराई भूभागमा तातो दिन हुने जनाएको छ । देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य भागमा तातो दिन हुने पूर्वानुमान विभागले गरेको मौसमविद् विनु महर्जनले बताइन् । सो समयमा त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।  “तराईको भूभागमा ४० डिग्रीभन्दा बढी तापक्रम भयो भने तातो लहर चलेको भन्न सकिन्छ । हाल त्यसको आसपास तापक्रम छ, त्यसलाई तातो दिनका रूपमा भनिन्छ,” मौसमविद् महर्जनले भनिन् । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुराेध गरेकाे छ । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । आज (वैशाख ४) दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा तथा बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा  मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।  मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना छ । राति, कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा वाग्मती र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।  विभागका अनुसार, शनिबार (वैशाख ५) कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भभागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भूभागमा तातो दिन हुने पूर्वानुमान विभागले गरेको छ । 

हर्क साम्पाङद्वारा प्रधानमन्त्री बालेन र मन्त्रीहरूको सम्पत्तिको स्रोत खुलाउन माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनका मन्त्रीहरूसँग सम्पत्तिको स्रोत खुलाउन माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले प्रधानमन्त्री बालेन र सबै मन्त्रीहरूलाई सम्पत्ति विवरण मात्र नभई त्यसको स्रोत पनि सार्वजनिक गर्न आग्रह गरेका हुन् । उनले लेखेका छन्, “बालेन जी, अब धेरै बाचापत्र नल्याउनु है ! जति ल्याउनु भयो त्यो पूरा गर्नु पहिले अनि तपाईं लगायत सबै मन्त्रीहरूको सम्पत्तिको स्रोत खोलिदिनु । जनताले त्यही पर्खिरहेका छन् ।” गत आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत प्रधानमन्त्री बालेनसहितका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । युवा उमेरका केही मन्त्रीहरूको नाममा सुन, घरजग्गा, शेयरलगायत करोडौं रुपैयाँ बराबरको सम्पत्ति देखिएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । केही राजनीतिक दलका भ्रातृ संगठनहरूले सडक प्रदर्शनसमेत गरेका थिए । हर्क साम्पाङले सुरुदेखि नै यो विषयमा प्रश्न उठाउँदै आएका छन् । आफ्नो सम्पत्ति विवरणबारे यसअघि उनले भनेका थिए, “मेरो नाममा ४–५ तोला सुन र २–४ लाख रुपैयाँ बैंक ब्यालेन्स छ । आमाको नाममा खोटाङको केपिलासगढी–२ चोखाने गाउँमा केही पाखोबारी, खरबारी र उतिसघारीसहितको खेतबारी छ । त्यो पैतृक सम्पत्ति हो । मेरो नाममा अरू केही छैन ।”

बेलायती पाउण्ड २०२ नाघ्यो, अन्य मुद्रा कतिमा कारोबार ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १४९ रुपैयाँ १० पैसा र बिक्री दर १४९ रुपैयाँ ७० पैसा तोकिएको छ । मुख्य विदेशी मुद्राको विनिमय दर निम्नानुसार छ : मुद्रा (Currency) खरिद दर (Buy) बिक्री दर (Sell) INR (भारतीय रुपैयाँ) १०० १६०.०० १६०.१५ USD (अमेरिकी डलर) १ १४९.१० १४९.७० EUR (युरो) १ १७५.५९ १७६.२९ GBP (बेलायती पाउन्ड) १ २०१.९५ २०२.७६ CHF (स्विस फ्रांक) १ १९०.४८ १९१.२५ AUD (अष्ट्रेलियन डलर) १ १०६.४१ १०६.८३ CAD (क्यानेडियन डलर) १ १०८.१५ १०८.५९ SGD (सिंगापुर डलर) १ ११७.१७ ११७.६४ JPY (जापानी येन) १० ९.३८ ९.४२ CNY (चिनियाँ युआन) १ २१.८६ २१.९५ अन्य मुद्राहरू : SAR (साउदी रियाल) : ३९.७४ / ३९.९० QAR (कतारी रियाल) : ४०.९० / ४१.०६ AED (युएई दिराम) : ४०.५९ / ४०.७६ MYR (मलेसियन रिंगिट) : ३७.७० / ३७.८५ KRW (दक्षिण कोरियाली वन) १०० : १०.०९ / १०.१३ KWD (कुवेती दिनार) : ४८६.७० / ४८८.६६ BHD (बहरaini दिनार) : ३९५.२३ / ३९६.८२ OMR (ओमानी रियाल) : ३८७.२७ / ३८८.८३ राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरूले भने आफ्नै दर तोक्न सक्नेछन् । अद्यावधिक विनिमय दर नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने छ ।

देशका हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका हिमाली क्षेत्रमा सामान्यतया बदली छ भने पहाडी भेगमा आंशिक बदली रहेको छ । तराईका जिल्लाहरूमा भने मौसम मुख्य रूपमा सफा छ । कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ । आज बिहीबार कोशी प्रदेशको पहाडी भूभाग, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बदली रहने छ । अन्य प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा घाम लाग्ने र मौसम सफा रहने सम्भावना छ । महाशाखाले कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ । यसैगरी बागमती र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईमा मौसम स्थिर रहने भए पनि पहाडी र हिमाली क्षेत्रमा भने केही समय बदलीसँगै हल्का वर्षा र हिमपातको क्रम जारी रहने महाशाखाको पूर्वानुमान छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

काठमाडौँ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको छ । निगमका अनुसार डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ बढेर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेर २५६ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यअनुसार हिसाब गर्दा पनि निगमलाई अझै ठूलो घाटा रहेको छ । निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार लागत मूल्य बढी र बिक्री मूल्य कम हुँदा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा प्रतिलिटर ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको छ । निगमले पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा बेहोरिरहेको जनाएको छ ।

हुम्लाको विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्न डा. दीपेन्द्र रोकायाको ६४ बुँदे ज्ञापनपत्र

काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डा. दीपेन्द्र रोकायाले हुम्ला जिल्लाको समग्र विकासलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्न माग गर्दै सरकारलाई ६४ बुँदे ज्ञापनपत्र बुझाएका छन् । हुम्ला एक समय राज्यको केन्द्रमा रहेको ऐतिहासिक तथ्य स्मरण गराउँदै निरन्तरको उपेक्षाका कारण आज दुर्गमताको प्रतीक बनेको उनले उल्लेख गरेका छन् । “अब सामाजिक न्यायको आधारमा सबैभन्दा पछाडि परेको हुम्लालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,” उनले भनेका छन् । डा. रोकायाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हुम्लालाई ठोस र परिणाममुखी ढङ्गले सम्बोधन गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा यो ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा कर्णाली करिडोरअन्तर्गत पिलु–तुम्च, तुम्च–छार्या, छार्या–सिमकोट र सिमकोट–हिल्सा खण्डको स्तरोन्नति, प्रत्येक गाउँसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार र सबै पालिका केन्द्र हुँदै सीमावर्ती हिल्सासम्म अप्टिकल फाइबर पुर्‍याउने प्रस्ताव गरिएको छ । त्यस्तै, हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना, हिल्सामा क्वारेन्टाइन तथा यारीमा सुक्खा बन्दरगाह निर्माण गरी हुम्लालाई क्षेत्रीय व्यापार र आवागमनको केन्द्र बनाउने, कर्णाली–१ र कर्णाली–२ जस्ता ठूला जलविद्युत् आयोजनामा सहजीकरण गर्ने, साना जलविद्युत् आयोजनालाई राष्ट्रिय ग्रिडमा जोड्ने र सिमकोटलाई सौर्य ऊर्जामार्फत लोडसेडिङमुक्त बनाउने प्रस्ताव समेत अघि सारिएको छ । कैलाश–मानसरोवर दृश्यावलोकन केन्द्र निर्माण, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, नयाँ पदमार्ग तथा चलचित्र छायाङ्कन स्थल विकास गरी हुम्लालाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता दुईमध्ये एकको शव फेला, अर्काको खोजी जारी

पाल्पा  । पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुई जनामध्ये एकजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, नयाँ वर्षको दिन दिउँसो बगनासकाली गाउँपालिका–७ दैलातुङ्गस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा दुई जना युवा बेपत्ता भएका थिए । बेपत्ता भएका बगनासकाली–९ का ३९ वर्षीय शरण भुसाल र सोही ठाउँका २९ वर्षीय तोयनाथ बस्यालमध्ये तोयनाथ बस्यालको शव फेला परेको प्रहरीले जनाएको छ । खोजी अभियानका क्रममा बुधबार बिहान घटनास्थल नजिकै नदीको बीच भागमा बस्यालको शव भेटिएको हो । अर्का बेपत्ता शरण भुसालको खोजी कार्य भने अझै जारी रहेको प्रहरीले बताएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले खोजी अभियान थालेको थियो । पाल्पा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीका अनुसार बेपत्ता भुसालको खोजीका लागि सुरक्षाकर्मीको टोली निरन्तर खटिरहेको छ ।

वीरगञ्जमा प्रहरी जवानको हत्या, विवाहेतर सम्बन्धका कारण चार जनाको गिरफ्तारी

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–९ मा एक प्रहरी जवानको हत्या भएको छ । कालिकामाई गाउँपालिका–१ मुडली, सप्तरी घर भएका २८ वर्षीय विकास चौरसिया जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत थिए । उनको धारिलो हतियार र निर्घात कुटपिटबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार घटना रानीघाटस्थित भारतीय महावाणिज्य दूतावास पछाडि रहेको फिरोज मियाँको घरमा डेरा गरी बस्ने रौतहटका २६ वर्षीय सन्तोष साह र उनकी पत्नी २४ वर्षीया सोनी कुमारी साहको कोठामा भएको थियो । चौरसियालाई कोठामा बोलाएर आक्रमण गरिएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार विवाहेतर प्रेम सम्बन्धलाई लिएर सन्तोष साहले हत्या योजना बनाएका थिए । सोही योजनाअनुसार सन्तोष, उनकी पत्नी सोनी, बाराको महागढी नगरपालिका–७ का १९ वर्षीय विशाल साह र भारतको उत्तर प्रदेश अलीगढका २१ वर्षीय ओमवीर प्रजापतिले रड र धारिलो हतियार प्रयोग गरी चौरसियामाथि आक्रमण गरेका थिए । घटनापछि प्रहरी टोली पुग्दा चौरसिया अचेत अवस्थामा थिए । उनलाई अस्पताल पुर्‍याउने क्रममा बाटोमै मृत्यु भएको थियो । प्रहरीले घटनामा संलग्न चारै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । मृतकको शव पोस्टमोर्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको छ । घटनाको थप कारण र अन्य संलग्न व्यक्तिहरूबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ट्रम्पको इरान नाकाबन्दी योजनामा नेटो राष्ट्रहरूले साथ दिएनन्, युरोपेली देशहरूको अस्वीकार

एजेन्सी।  इरानका बन्दरगाह घेराबन्दी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा नेटो आबद्ध राष्ट्रहरूले साथ नदिने घोषणा गरेका छन् । युद्ध समाप्त भएपछि मात्र हस्तक्षेप गर्ने प्रस्ताव अघि सार्दै बेलायत, फ्रान्स लगायतका देशहरूले ट्रम्पको सैन्य अभियानमा सामेल हुन अस्वीकार गरेपछि पश्चिमी सैन्य गठबन्धनभित्र विवाद थप गहिरिएको छ । इरानसँगको ६ हप्ता लामो द्वन्द्व अन्त्य गर्नका लागि भएका वार्ता असफल भएपछि ट्रम्पले सोमबारदेखि नाकाबन्दी सुरु भएको घोषणा गरेका थिए । उनले नाकाबन्दी तोडेर आउने कुनै पनि इरानी जहाजलाई अमेरिकी सेनाले ध्वस्त पार्ने चेतावनी दिएका छन् । सुरुमा ‘स्ट्रेट अफ होर्मुज’ बाट आवतजावत गर्ने सबै जहाज रोक्ने बताए पनि पछि अमेरिकी सेनाले यो नाकाबन्दी इरानी बन्दरगाहमा आउने–जाने जहाजमा मात्र लागू हुने स्पष्ट पारेको छ । फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि इरानले विश्वको कुल तेल आपूर्तिको पाँच प्रतिशत हिस्सा ओगट्ने उक्त जलमार्गमा आफ्ना बाहेक अन्य जहाजलाई अवरोध गर्दै आएको छ । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत अन्य देशहरू पनि नाकाबन्दीमा सहभागी हुने दाबी गरेका थिए, तर नेटोका प्रमुख सदस्य राष्ट्रहरूले त्यसलाई ठाडै अस्वीकार गरेका छन् । बेलायती प्रधानमन्त्री केयर स्टार्मरले ठूलो दबाबका बाबजुद पनि इरानसँगको युद्धमा नपस्ने अडान लिएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युद्ध समाप्त भएपछि मात्र सो क्षेत्रमा सुरक्षित जलयात्रा सुनिश्चित गर्न छुट्टै बहुराष्ट्रिय मिसन परिचालन गर्ने योजना अघि सारेका छन् । नेटो राष्ट्रहरूको यो अडानले ट्रम्पलाई क्रुद्ध बनाएको देखिन्छ । ट्रम्पले यसअघि नै इरानमाथिको आक्रमणका लागि आफ्नो आकाश प्रयोग गर्न नदिने युरोपेली देशहरूबाट अमेरिकी सेना फिर्ता लैजाने र नेटोबाट बाहिरिने धम्की दिँदै आएका छन् । यसैबीच, फ्रान्सले बेलायत र अन्य करिब ३० देशसँग मिलेर होर्मुज जलमार्गमा ढुवानी सुरक्षा गर्न स्वतन्त्र मिसन बनाउने तयारी थालेको छ । यो मिसनले कुनै पक्षको समर्थन नगरी केवल ट्याङ्करहरूको सुरक्षा गर्नेछ । टर्कीका विदेशमन्त्री हाकान फिदानले कूटनीतिक माध्यमबाट मात्र समस्या समाधान गर्नुपर्ने भन्दै आगामी जुलाईमा अंकारामा हुने शिखर सम्मेलनमार्फत ट्रम्प र नेटोबीचको सम्बन्ध पुनः परिभाषित गर्नुपर्नेमा जोड दिएका छन् ।

देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली, तराईमा गर्मी बढ्ने

काठमाडौँ । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा बदली देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रसहित देशका हिमाली भू-भागमा सामान्यतया बादल लागेको छ । अन्य पहाडी इलाकामा आंशिक बदली छ भने तराईका जिल्लाहरूमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार मंगलबार पहाडी र हिमाली क्षेत्रमा मौसममा केही फेरबदल आउने सम्भावना छ । कोशी प्रदेशका पहाडी भू-भाग र देशका हिमाली क्षेत्रमा दिउँसोतिर बादल लाग्ने र केही स्थानमा मौसम बिग्रने सम्भावना छ । अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने छ भने तराईमा भने घाम लाग्ने र मौसम खुला रहने अनुमान गरिएको छ । हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । मौसमविद्हरूले पहाडी र हिमाली क्षेत्रमा हुने मौसमी परिवर्तनले तापक्रम र जनजीवनमा प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेका छन् । तराई क्षेत्रमा भने तत्काल वर्षाको सम्भावना नभएकाले गर्मी बढ्न सक्ने देखिएको छ ।

नयाँ वर्ष २०८३ को अवसरमा मिथिलामा जुडशीतल पर्व मनाइँदै

काठमाडौं । विक्रम संवत् २०८३ आजदेखि प्रारम्भ भएको छ । यससँगै मधेसको मिथिला क्षेत्रमा जुडशीतल पर्व हर्षोल्लासका साथ मनाइँदै छ । वैशाख १ गते अर्थात् नयाँ वर्ष प्रारम्भ भएको दिनदेखि दुई दिनसम्म मनाइने यो पर्वको पहिलो दिनलाई ‘सतुवाइन’ र दोस्रो दिनलाई ‘जुडशीतल’ भनिन्छ । मिथिलाञ्चलमा कूलदेवताको पूजा गरेर मनाइने यो पर्व जीवनमा शीतलता, आरोग्यता र सुखशान्तिको कामना गर्दै मनाउने परम्परा छ । महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका प्राचार्य हेमनारायण कर्णका अनुसार बढ्दो गर्मीमा शीतलता प्रदान गर्ने भावनाबाट यो पर्वको नामकरण भएको हो । पहिलो दिन चना, बदाम, जौ, मकै, कङ्गनी, गहुँ, चामल र मुँगदालसहित सातथरी खाद्यान्नको सातु र माटोको अँखरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाइन्छ । त्यसपछि कूलपुरोहित, ब्राह्मण र साधुलाई दान दिइन्छ । दोस्रो दिन परिवारका ज्येष्ठ सदस्यहरूले सानाहरूलाई शिरमा जल सिञ्चन गर्दै आरोग्यता, शीतलता र दीर्घायुको आशीर्वाद दिने चलन छ । पर्वमा चना, मुँग, बदामका परिकार, सोहिजनको तरकारी, बदामको पिठोबाट बनाइएका बरी र दहीको कढी खाने प्रचलन छ । मिथिला संस्कृतिका ज्ञाता ध्रुव रायका अनुसार यो पर्वले नयाँ वर्षमा जीवनमा शीतलता प्रदान गरोस् भन्ने मुख्य सन्देश दिन्छ । पर्वमा सहकालको कामना गर्दै एकआपसमा धुलोमाटो र हिलो छ्यापाछ्याप गर्ने परम्परा पनि छ । यो प्रतीकात्मक खेलले वर्षभरि खेतीपातीमा निरन्तरता र चिस्यानको कमी नहोस् भन्ने सन्देश दिन्छ । मिथिला क्षेत्रका विभिन्न जिल्ला तथा भारतको सीतामढी, झञ्झारपुर, शिवहर लगायतका क्षेत्रमा यो पर्व उल्लासका साथ मनाइन्छ । पर्वले आपसी सद्भाव, सहकार्य र समन्वयको सन्देश दिने बताइन्छ ।