‘माटो सुधार नगरे अबको १० वर्षमा अन्न फल्दैन’

कैलाली । कैलालीमा परीक्षण गर्दा माटोमा छारेपन (नुन) को मात्रा अत्यधिक देखिएको छ । यसका साथै माटोमा नाइट्रोजन, फस्फोरस र पोटासको कमी देखिएको छ ।

सामुदायिक सहकारी संस्था सत्तीको आयोजनामा माटो परीक्षण गरिएको हो । बाली लगाउनुपूर्व माटोको अवस्थाबारे जानकारी लिन सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरको प्राविधिक सहयोगमा टीकापुरको सत्ती र भजनीमा माटो परीक्षण गरिएको हो ।

शनिबार र आइतबार गरिएको परीक्षणमा सत्तीमा ९१ र भजनीमा ३० किसानले आफ्नो बारीको माटो परीक्षण गराएका थिए । सहकारीका सेयर सदस्यलाई वातावरण र मानव स्वास्थ्यका लागि माटोको गुणस्तर जोगाउनुपर्छ भन्ने सचेतना फैलाउन र बाली संरक्षणका लागि माटो परीक्षण गरिएको सहकारीका सचिव कृत ठकुल्लाले जानकारी दिए ।

परीक्षण गर्दा माटोको अवस्था चिन्ताजनक देखिएको माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुर, कञ्चनपुरका सहायक माटो विज्ञान अधिकृत हमप्रसाद न्यूरेले बताए । ‘परीक्षण गरिएका सबै किसानको माटोको गुणस्तर खस्किएको पाइयो, १२१ किसानको माटो जाँच गर्यौँ, सबै माटोमा छारेपन उच्च देखियो’’, उनी भन्छन्, ‘माटोमा नाइट्रोजन, फस्फोरस पोटासको अवस्था कमजोर देखिएको छ, यसले बाली उत्पादन घटाउँदै लगेको छ ।’

माटो विज्ञ न्यूरेका अनुसार माटोको अवस्था यस्तै रहेमा अबको १० वर्षपछि यो माटोबाट उत्पादन लिन सकिदैन । ‘अब किसानको बारीको माटो परीक्षण होइन, सुधार गर्न कार्यक्रम राख्न सुझाव दिएको छु’, उनले भने, ‘स्थानीय सरकारले अब परीक्षणभन्दा सुधारका कार्यक्रम ल्याउनुपर्छ । बस्तु भाउ पाल्ने घट्दै जाँदा गोबर मल नपाइने भएकाले हरियो मल बढाउन ढैचा खेती अनिवार्य गर्ने, प्राङ्गारिक मल बढाउनुपर्छ ।’ 

परीक्षण प्रयोगशालाले सुदूरपश्चिमका जिल्लाका कृषि ज्ञान केन्द्र, स्थानीय तह, सङ्घसंस्था, सहकारीसँग समन्वय गरेर वर्षमा पाँच हजार बढी नमूना परीक्षण गर्ने र सुझाव दिने गरिएको जनाएको छ । यसबाहेक किसानले स्वयंले माटो परीक्षण गर्न ल्याउने गरेका छन् ।

‘किसानले आफैँ परीक्षणका लागि ल्याउँदा एउटा नमूनाको रु १०० लिने गरिएको छ । विभिन्न विश्वविद्यालयबाट आएका विद्यार्थीले जाँच गरेको रु २०० लिइन्छ । सहकारी तथा संस्थाले गरेका रु ४०० शुल्क तोकिएको छ’’, उनले भने, ‘यसबाहेक कृषि ज्ञान केन्द्रको अनुरोधमा सुदूरका नौ वटै जिल्लामा माटोको नमूना परीक्षण गछौँ ।’

माटो परीक्षणपछि किसानलाई माटो स्वस्थता प्रमाणपत्र उपलब्ध गराइएको छ । किसानलाई दिइने माटो स्वस्थता कार्डमा किसानको माटोको पिएच, प्राङ्गारिक पदार्थको अवस्था, नाइट्रोजन, फस्फोरस, पोटास, माटोको बनोट उल्लेख गरिएको छ । साथै माटो सुधारका लागि गर्नुपर्ने कार्यबारे कार्डमा उल्लेख गरिएको छ ।

कार्डको आधारमा बाली जोगाउन किसानलाई गोबर मल, हरियो मल जस्ता प्राङ्गारिक मल प्रयोग गर्न सिकाउनुपर्ने आवश्यकता रहेको छ । स्थानीय पालिकाहरुले हरियो मल, जैविक मलबारे किसानलाई शिक्षा दिइरहे पनि माटोमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले माटो र वातावरण बिग्रदै गएकाले किसान स्वयम सचेत हुनुपर्ने उनको सुझाव छ ।

दिगो माटो व्यवस्थापनमा सघाउका लागि कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी नियमावली २०८१ बनाएर लागू गरिसकेको छ । प्राङ्गारिक मल र प्राङ्गारिक विधिमा गरिने खेती किसानीमा जोड दिइरहेको छ ।

सङ्घ, प्रदेश र स्थानीय, तीनै तहका सरकारले यस विषयलाई प्राथमिकतामा राखेको कृषि प्राविधिक बताउँछन् । टीकापुर नगरपालिकाका कृषि प्राविधिक रविना चौधरी कृषि शाखामार्फत रासायनिक मल र विषादी दुवैको प्रयोग घटाउने र उत्पादन बढाउने उद्देश्यले माटोको गुणस्तरअनुसार खेती गर्ने काममा हौसला दिने काम भइरहेको बताउँछिन् ।

‘माटोको गुणस्तर बिग्रन नदिन किसानलाई हरियो मल उत्पादनबारे जानकारी दिने गरेका छौँ, ढैँचा (हरियो मल) खेती गर्न सल्लाह दिन्छौँ’, उनले भनिन्, ‘माटो स्वस्थ भएमा वातावरण स्वस्थ हुने भएकाले माटो सुरक्षामा किसानले ध्यान दिनुपर्छ ।’

उपत्यकाका चार स्थानमा एकहजार बढी घरटहरा ध्वस्त

काठमाडाैं । काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका एक २७२ घरटहरा भत्काइएको छ।  शनिबार र आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले थापाथली, गैरीगाउँ–बानेश्वर, जडीबुटी र भक्तपुरको मनोहरा क्षेत्रमा संरचना हटाएको हो। प्रहरीका अनुसार अझै केही पक्की घरसहित करिब ३६५ घरटहरा भत्काउन बाँकी छन्। थापाथलीमा १४३ घरटहरा हटाउँदा ३४ परिवार विस्थापित भएका छन् भने मनोहरा क्षेत्रमा पनि सयौँ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले जोखिमयुक्त बस्ती हटाउँदै प्रभावित नागरिकको व्यवस्थापन तथा भूमिहीनको पहिचान गरी बसोबासको दीर्घकालीन समाधान गर्ने जनाएको छ।

आज अमेरिकी डलरकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (वैशाख १४)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ सात पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४५ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०८ रुपैयाँ आठ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ११ पैसा र बिक्रीदर ११० रुपैयाँ ५५ पैसा, सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ एक पैसा र बिक्रीदर २२ रुपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १२ पैसा र बिक्रीदर ४० रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४१ रुपैयाँ १४ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रुपैयाँ २३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६१ पैसा र बिक्रीदर २३ रुपैयाँ ७० पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २१ पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ८७ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३९८ रुपैयाँ ६० पैसा र बिक्रीदर ४०० रुपैयाँ १९ पैसा, ओमनी रियाल एकको खरिददर ३९० रुपैयाँ ९० पैसा र बिक्रीदर ३९२ रुपैयाँ ४६ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

वाग्मतीसहित यी स्थानमा हुनेछ चट्याङसहित वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायूमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार, आज (वैशाख १४) दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । साथै, मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा  तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ । राति, देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागलगायत देशको बाँकी हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना छ । 

विनिमय दरको उतारचढाव: नदेखिने तर बढ्दो ऋण संकट

काठमाडौं । नेपालले लिएको वैदेशिक ऋण रकम स्थिर देखिए पनि वास्तविक दायित्व तीव्र रूपमा बढिरहेको छ । कारण हो—विदेशी मुद्राको मूल्यवृद्धि। चालू आर्थिक वर्षको नौ महिनामै विनिमय दरमा आएको परिवर्तनले मात्रै नेपालको सार्वजनिक ऋणभार एक खर्ब १५ अर्ब रुपैयाँले बढेको छ । यो वृद्धि नयाँ ऋण लिएको कारण होइन, बरु डलर, एसडिआर र युरोजस्ता मुद्राको भाउ बढ्दा पुरानै ऋणको नेपाली रुपैयाँमा मूल्य महँगिएको हो । अर्थात्, नेपालले लिएको ऋण रकम जति थियो, त्यति नै भए पनि तिर्नुपर्ने भार भने स्वतः बढिरहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चैत मसान्तसम्म कुल सार्वजनिक ऋण २९ खर्ब ३३ अर्ब रुपैयाँ नाघेको छ । यसमध्ये बाह्य ऋण मात्रै १५ खर्ब ४५ अर्ब रुपैयाँभन्दा बढी छ, जुन विनिमय दरको उतारचढावसँग प्रत्यक्ष रूपमा जोडिएको छ । गत असारयता डलर, एसडिआर र युरोको मूल्य ११ प्रतिशतभन्दा बढीले बढेको छ । यसको सीधा असर ऋणमा परेको छ । कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाका अनुसार, “विदेशी मुद्रा महँगिँदा अहिलेको हिसाबमा ऋणभार बढेको देखिन्छ, तर यो तत्काल तिर्नुपर्ने दायित्व भने होइन ।” तर यसले गम्भीर प्रश्न उठाएको छ—यदि भविष्यमा पनि विदेशी मुद्रा बलियो बन्दै गयो भने नेपालले तिर्नुपर्ने वास्तविक ऋणभार कति बढ्ला? नेपालले १७ दातासँग १० प्रकारका मुद्रामा ऋण लिएको छ, जसमा सबैभन्दा ठूलो हिस्सा एसडिआर (७२.६३%) र अमेरिकी डलर (१९.५३%) मा छ । यी मुद्राको मूल्यमा हुने सानो परिवर्तनले पनि अर्बौं रुपैयाँको असर पार्ने देखिएको छ । विश्लेषकहरूका अनुसार, यो अवस्थाले नेपालको ऋण व्यवस्थापन रणनीतिमा नयाँ चुनौती थपेको छ । ऋण लिँदा मात्रै होइन, त्यसको विनिमय जोखिम व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । पछिल्लो तथ्यांकले देखाउँछ—साउनदेखि चैतसम्म नेपालले ऋण लिने र तिर्ने प्रक्रियाबाट भन्दा बढी भार विनिमय दरकै कारण बढेको छ । प्राप्ति र भुक्तानीको हिसाबले करिब १ खर्ब ४४ अर्ब रुपैयाँ मात्रै ऋण बढ्नुपर्नेमा, विनिमय घाटा जोडिँदा कुल वृद्धि २ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ । यसले संकेत गर्छ—नेपालको ऋण संकट अब केवल “कति ऋण लियौं” भन्ने प्रश्नमा सीमित छैन, “कुन मुद्रामा र कस्तो जोखिममा ऋण लियौं” भन्ने प्रश्न अझ महत्वपूर्ण बन्दै गएको छ ।

सुकुमबासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते

काठमाडौँ । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुमबासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी घाइते भएका छन् । साँझ परेपछि सुकुमबासी बस्तीमा सुरक्षाकर्मीले डोजर प्रयोग गरी सात पक्की घर भत्काएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले मनोहरा सुकुमबासी बस्तीमा घर भत्काउने क्रममा सुरक्षाकर्मीमाथि ढुङ्गा, इँटा र बोतल प्रहार भएको जानकारी दिए । उनले भने, “मनोहराका ८० प्रतिशत सुकुमबासीले दिउँसै सामान लगिसकेका थिए, थापाथली र ग्रैह्रीगाउँको सुकुमबासी बस्ती हटाएर डोजरसहितको टोली मनोहरा ल्याएपछि यहाँका संरचना भत्काउन थालिएको हो, प्रहरीले कुनै बल प्रयोग नगरी सामान सार्नेलाई सहयोग गर्दै घर भत्काउने क्रम सुरु भयो, पक्की घर भत्काउने क्रममा रातिको समयमा सुरक्षाकर्मीमाथि एकसाथ ढुङ्गा, इँटा र बोतल प्रहार भयो ।” आक्रमणमा परी मध्यपुरथिमि प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित ११ प्रहरी घाइते भएका छन् । त्यसैगरी, आक्रमणमा सशस्त्र प्रहरी बल नं २२ दुवाकोटबाट खटिएका सशस्त्र प्रहरीका थप ११ जना घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक वासुदेव महतले जानकारी दिए । आइतबार बिहानैदेखि फेरि संरचना भत्काइने उनले बताए । मनोहरा सुकुमबासी बस्तीमा ७ सय ७७ घरटहरा रहेका छन् । बस्तीका सुनिल लामाले बस्ती छाड्दै गर्दा भने, “यहाँ अधिकांश घर भाडामा लगाइएका छन्, यहाँ सुरुमै टहरा बनाएर एक समूहले रु तीन लाखदेखि रु सात लाखसम्म तथा पक्की घर रु १८ लाखसम्ममा बिक्री गरेका छन् । हामी पनि टहरा किनेर बसेको १५ वर्ष भयो । सरकारले हामीजस्ता सुकुमबासीलाई उचित व्यवस्थापन गरोस्, त्यति भए पुग्छ ।” सुकुमबासी बस्तीका बासिन्दासँग भाडा उठाउन कहीँ व्यक्ति नियमित आउने गरेका बताइएको छ । बस्तीका धेरैले भाडा तिर्ने गरेका छन् ।

पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वत । पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार (वैशाख ११) साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको उपचारका क्रममा प्रदेश अस्पताल पर्वतमा शनिबार (वैशाख १२) मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार, घरभित्र बसिरहेको अवस्थामा एक्कासि चट्याङ पर्दा लामिछाने घाइते भई बेहोस भएकी थिइन् । उनलाई तत्काल उपचारका निम्ति प्रदेश अस्पताल लगिएको थियो ।

पाल्पामा खोलामा डुबेर मृत्यु

पाल्पा । पाल्पामा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । रामपुर नगरपालिका–१, बैदाका ३९ वर्षीय खिमबहादुर खाण्डको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार (वैशाख १२) दिउँसो रामपुर–३, कीर्तिपुरस्थित निस्दी खोलामा पौडी खेल्ने क्रममा उनी डुबेका थिए । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

विदेशी मुद्राको विनिमयदर निर्धारण: कुनकाे कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (वैशाख १३)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २३ पैसा र बिक्रीदर २०४ रुपैयाँ चार पैसा, स्वीस फ्रयांक एकको खरिददर १९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४० पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा, सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ एक पैसा र बिक्रीदर २२ रुपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १३ पैसा र बिक्रीदर ४० रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४१ रुपैयाँ १४ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ११ पैसा कायम गरिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६० पैसा र बिक्रीदर २३ रुपैयाँ ६९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २१ पैसा र बिक्रीदर १९ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ८७ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३९८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०० रुपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३९० रुपैयाँ ९० पैसा र बिक्रीदर ३९२ रुपैयाँ ४६ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

१२ दिनमा ४२२ विपद्का घटनामा परी २३ जनाको मृत्यु

काठमाडौं । वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपद्‌मा परेर २३ जनाको मृत्यु भएको छ । विपद्‌मा परेर ७३ घाइते भएका छन् । प्राधिकरणका अनुसार, सो अवधिमा आगलागीमा २१७, चट्याङ १४, हुरीबतासका २९ र लेक लागेर तीन घटना भएका छन् । त्यस्तै, डुंगा पल्टेर एक, डढेलो ११४, सर्पदंश २०, जनावर आक्रमण १६, पहिरो, भारी वर्षा, बाढी र असिनाका समान दुई–दुईवटा घटना घटेका छन् । विपद्‌मा परेर सो अवधिमा मात्रै ५२७ घटना घटेका छन् । यस्तै, यही वैशाख ११ गते बिहानदेखि वैशाख १२ गते बिहानसम्म २४ घण्टामा मात्रै ३२ वटा विपद्का घटना भएका छन् । कुल २७ जिल्ला विपद्का कारण प्रभावित भएका छन् । 

आज कहाँ–कहाँ पानी पर्छ हाेला ?

काठमाडौं । देशका केही भूभागमा आज (वैशाख १३) पनि वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा छ ।  दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन/हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ । राति, देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ । विभागका अनुसार, कोसी, मधेस, वागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

दक्षिण अफ्रिकामा १३ करोड २० लाख वर्ष पुराना डाइनोसरका पाइला भेटिए

काठमाडौं । दक्षिण अफ्रिकाको दक्षिणी तटीय क्षेत्रमा करिब १३ करोड २० लाख वर्ष पुराना डाइनोसरका पदचिह्न फेला परेका छन् । नाइस्ना नजिकैको सानो चट्टानी क्षेत्रमा भेटिएका यी पाइला दक्षिण अफ्रिकामा अहिलेसम्म फेला परेका सबैभन्दा कम उमेरका (सबैभन्दा पछिल्ला) डाइनोसर अवशेषका रूपमा लिइएका छन् । यसअघि वैज्ञानिकहरूले करिब १८ करोड २० लाख वर्षअघि भएको विशाल ज्वालामुखी विस्फोट र त्यसबाट निस्किएको लाभाले यस क्षेत्रका डाइनोसरका सबै प्रमाण मेटाएको विश्वास गरेका थिए । तर नयाँ खोजले त्यस विनाशकारी घटनापछि पनि यस क्षेत्रमा डाइनोसरहरूको अस्तित्व कायम रहेको देखाएको छ । नेल्सन मन्डेला विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले वेस्टर्न केपको समुद्री किनारमा करिब ४० मिटर लामो र ५ मिटर चौडा चट्टानी भागमा दुई दर्जनभन्दा बढी पदचिह्न फेला पारेका हुन् । यो क्षेत्र ज्वारभाटाको समयमा समुद्रमुनि डुब्ने भएकाले अध्ययन चुनौतीपूर्ण मानिएको छ । यति सानो क्षेत्रमा धेरै सङ्ख्यामा पाइला भेटिनुले त्यतिबेला यहाँ डाइनोसरहरूको बाक्लो उपस्थिति रहेको संकेत गर्छ । अनुसन्धानअनुसार, यी पदचिह्न विभिन्न प्रकारका डाइनोसरले छोडेका हुन् । तीमध्ये दुई खुट्टाले हिँड्ने मांसाहारी ‘थेरोपोड’, दुई खुट्टाले हिँड्ने शाकाहारी ‘अर्निथोपोड’ तथा चार खुट्टाले हिँड्ने लामो घाँटी र पुच्छर भएका विशाल ‘सौरोपोड’ प्रजाति समावेश छन् । वैज्ञानिकहरूको अनुमानमा आजभन्दा १३ करोड २० लाख वर्षअघि यो क्षेत्र अहिलेको जस्तो समुद्री किनार नभई नदीकिनार र घना वनस्पतिले ढाकिएको दलदले भूभाग थियो । यसअघि सन् २०१७ मा एक १३ वर्षीय बालकले यही क्षेत्रमा डाइनोसरको दाँत फेला पारेका थिए । पछिल्लो खोजले हड्डीभन्दा पदचिह्नको अध्ययनबाट पनि महत्वपूर्ण जानकारी प्राप्त गर्न सकिने देखाएको छ । अनुसन्धानकर्ताहरूका अनुसार वेस्टर्न केप र इस्टर्न केपका अन्य क्षेत्रमा अझै यस्ता अवशेषहरू लुकेका हुन सक्छन् । यस खोजले दक्षिणी गोलार्धमा डाइनोसरहरूको विकास र अन्त्यसम्बन्धी अध्ययनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनालाई विद्युत् खरिद सम्झौताका लागि लागि सम्पर्क गर्न आउन आग्रह गरेको छ । प्राधिकरणले स्थानीय तहको कम्तीमा ५१ प्रतिशत साझेदारीमा निर्माण हुने एक मेगावाटसम्म जडित क्षमता भएका सौर्य विद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता गर्न लागेको छ । प्राधिकरणको २०८२ कात्तिक १९ को बैठकबाट सौर्य विद्युत् आयोजनाको बिजुली खरिद बिक्रीको सम्झौता गर्ने निर्णय गरेको थियो । स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनाको प्रतियुनिट चार रुपैयाँ ९९ कायम गरिएको छ । त्यस्ता आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्री सम्झौता चालु आवको अन्त्यसम्म सम्पन्न गरिसक्ने निर्णय यसअघि नै भएको छ । प्राधिकरणको यही वैशाख २ गतेको निर्णयअनुसार, यसै महिनाको अन्तिमसम्म आवश्यक कागजातसहितको निवेदन दिन आग्रह गरिएको छ । आयोजनालाई प्राधिकरणको ३३/११ केभी क्षमताको ग्रीड वा वितरण सवस्टेशनमा जडान गरिनेछ । प्रवर्द्धकले अनुरोध गरेमा प्राधिकरणको ११ केभी वितरण लाइनमा आवश्यक व्यवस्थासहित जडान गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युत् खरिद सम्झौताका लागि निवेदन, कम्पनी दर्ताको प्रमाणपत्र, स्थानीय तहको कम्तीमा पनि ५१ प्रतिशत शेयर रहेको अद्यावधिक शेयर लगत विवरण, सञ्चालकको लगतसहितको विवरण पेस गर्नुपर्नेछ । कम्पनीको प्रबन्धपत्र, कम्पनीको नियमावली, कर चुक्ताको प्रमाणपत्र, बहाल रहेको विद्युत् सर्वेक्षणको अनुमतिपत्र, स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्र, आयोजना निर्माण गर्ने जग्गाको लिज सम्झौता वा भोगाधिकार वा कम्पनीको नाममा भएको प्रमाणसहितको कागजात पेस गर्नुपर्नेछ । त्यस्तै, विद्युत् खरिद सम्झौताको मस्यौदा तथा विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षरमा हस्ताक्षर गर्न कम्पनीको तर्फबाट हस्ताक्षर गर्ने आधिकारिक व्यक्तिको अख्तियारीनामा पत्र र आयोजनाको निर्माण तालिकासहितको विवरण पेस गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

वैशाख शुक्ल नवमी: आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठुलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रूपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएकाे वर्णनन् विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद् तोयराज नेपालले राससलाई जानकारी दिए । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएको थियो । पितृ आज्ञा पालना गर्न राम वनवास जाँदासँगै गएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको कथा पुराणमा उल्लेख छ । रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी सीताले महारानीको पद त्याग गरेर गर्भिणी भएपनि वनवास हिँडेकाले आदर्श नारीका रूपमा सम्झना गरिन्छ । अयोध्या त्याग गरे पनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव, कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपुण बनाइ अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् नेपाल बताउँछन् । अयोध्यामा आएका लव, कुशले रामायणको कथा एवं सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाएपछि प्रजाको मागअनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइएको थियो । दरबार आएकी सीताको धेरै अयोध्यावासीले स्वागत गरे पनि केहीले पवित्रताको विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भनी आह्वान गरी पृथ्वीभित्र लोप हुनुभएको वर्णन वैदिक ग्रन्थमा गरिएको छ । प्रश्न उठाउने प्रजाले सीतासँग माफी मागे पनि उनी धर्तीको कोखमा लुप्त भएको प्रसङ्ग रामायणलगायत धर्म ग्रन्थमा उल्लेख गरिएको छ । यसरी माटोबाट उत्पत्ति भएकी सीता माटोमै लुप्त भएकी थिइन् । सीता उत्पत्ति भएको आजको दिनलाई सीता जयन्तीका रूपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ । यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरेको छ । सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उहाँलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान दिएको छ । यसै अवसरमा आज बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको सीताको मूर्तिमा विशेष पूजा आराधना गरिँदै छ । श्रीरामचन्द्र मन्दिर व्यवस्थापन समिति यो वर्षको सीता जयन्ती मनाउन सबै तयारी भएको छ । यस अवसरमा नागार्जुन नगरपालिका–५ स्थित सीतापाइला मन्दिरमा बिहान ०९ बजेदेखि विशेष पूजा आराधनाको कार्यक्रम राखिएको महेश रिमालले जानकारी दिए ।

सुकुम्वासी समस्याको समाधान विधिको शासनअनुसार गर्न कांग्रेसकाे माग

काठमाडौं । नेपाली कांग्रेसले सुकुम्वासी समस्या राष्ट्रको साझा समस्या रहेकाले विधिको शासनको पूर्ण पालना गर्दै समाधान खोजिनुपर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले अदालतबाट भएका आदेशहरू तथा विगतका संसदीय समितिहरूका निर्णयहरूलाई मार्गदर्शक मान्दै सरकार अघि बढ्नुपर्ने जनाएको छ । बल प्रयोगभन्दा अघि समाधानको विवेकपूर्ण, न्यायोचित र मानवीय उपाय अवलम्बन गर्नु आवश्यक रहेको प्रवक्ता देवराज चालिसेले बताए । वास्तविक सुकुम्वासी को हुन् र को होइनन् भन्ने स्पष्ट पहिचान सुनिश्चित गरिनुपर्ने,  वास्तविक सुकुम्बासीलाई जमिन र आवास उपलब्ध गराउनु नीतिगत दायित्व मात्र नभई उनीहरूको मौलिक अधिकारको संरक्षणसँग जोडिएको संवैधानिक कर्तव्य रहेको कांग्रेसले जनाएको छ । संवेदनशीलता, कानुनी आधार र न्यायपूर्ण दृष्टिकोणका साथ यस समस्याको दिगो समाधानतर्फ अग्रसर हुन सरकारलाई कांग्रेसले आग्रह गरेको छ ।

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति

काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्व तयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याएका छन् । दसौँ भूकम्प स्मृति दिवसको सन्देश जारी गर्दै उनले भने, “हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्व तयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरुरी रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।” राष्ट्रपति पौडेलले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई विसं २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी ज्यान गुमाउनु हुने सबै दिदीबहिनी तथा दाजुभाइको स्मरण गर्दै उनीहरूप्रति श्रद्धासुमन पनि अर्पण गरेका छन् । सन्देशमा भनिएको छ, ‘भूकम्प एक प्राकृतिक विपत् हो । प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ, भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने आफूलाई जोगाउन सकिन्छ ।’ नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मित भौतिक संरचना भूकम्पीय जोखिमका प्रमुख कारण रहेकाले सुरक्षित निर्माण र सतर्कताका अभियानमा निरन्तर लागि रहनुपर्ने उनको भनाइ छ । नवनिर्मित एवम् पुननिर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग हुनु पर्ने उल्लेख गर्दै उनले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनः निर्माण तथा पुनः स्थापनाका कार्यमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सबैलाई सन्देशमा धन्यवाद दिएका छन् ।