प्रचण्ड र राष्ट्रपति पौडेलबीच समसामयिक परिस्थितिबारे छलफल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो राष्ट्रपति निवास शीतल निवासमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ।
भेटवार्ताका क्रममा दुवै नेताबीच समसामयिक परिस्थिति लगायतका विविध विषयमा गहन छलफल भएको बताइएको छ।
सुनको मूल्य २७ सयले घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २७ सय रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दायर अदालतको अवहेलनासम्बन्धी रिटमा पेसी आजका लागि तोकिएको छ। सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन नगरी प्रधानमन्त्री ओलीले कपटपूर्ण तरिकाले भूमि अध्यादेश जारी गरेको भन्दै गत माघ २८ गते अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । अर्यालले रिटमा प्रधानमन्त्री ओली र भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले सर्वोच्च अदालत, संवैधानिक इजलासबाट गत वर्ष माघ २४ गते जारी भएको परमादेशको कार्यान्वयनमा अवरोध सिर्जना गरेको जिकिर गरेका छन् । निवेदनमा थप आदेशका साथै प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न समेत माग गरिएको छ । अधिवक्ता अर्यालले यस्तो अवस्थामा पाकिस्तानमा प्रधानमन्त्रीलाई पदमुक्त गर्ने परमादेश भएको नजिर पेश गरेका छन् । संवैधानिक इजलासको परमादेशमा ‘शर्तबमोजिमको प्रयोजनमा जग्गाको प्रयोग वा उपयोग नगरी फरक प्रयोजनमा भए वा जग्गा खाली राखिएको अवस्थाका जग्गाको पहिचान गरी तत्काल र अनिवार्य रूपमा हदबन्दीभन्दा बढी देखिएको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम नेपाल सरकारको नाममा प्राप्त गर्न गराउन’ भनिएको थियो । अर्यालले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री अधिकारीलाई विपक्षी बनाएका छन् ।
नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड हुँदा १५ जनाको मृत्यु
नयाँ दिल्ली । शनिबार राति भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १० महिला र तीन बालबालिका सहित कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरुमा ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाका छन् । गंगा, यमुना र सरस्वती नदीको संगमस्थल ‘त्रिवेणी संगम’ मा पवित्र स्नान गर्नको लागि उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने रेलमा चढ्न रेलवे स्टेशनमा मानिसको भीड लागेको थियो । नयाँ दिल्ली रेलवे स्टेशनको एउटा प्लेटफर्ममा रेल आइपुगेको भ्रमपूर्ण समाचारका कारण भागदौड मच्चिएको थियो । प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा घटना भएको हो। मृतकको शव निकालिएको छ भने घाइतेहरूलाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानवीय क्षतिप्रति दुःख व्यक्त गरे ।
जसपाका पूर्व प्रदेश अध्यक्षसहित सयौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
फागुन । जसपा नेपाल प्रदेश नम्बर १ का पूर्व अध्यक्ष एवं सामाजिक अभियन्तान प्रविन चाम्लिङसहित विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । झापाको दमकमा भएको माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन उद्घाटन तथा खबरदारी सभामा दमक नगरपालिका विभिन्न वडाबाट सयौं नेता कार्यकर्ता प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश गर्नेहरुमा जसपाका दमक नगरका पूर्व अध्यक्ष खेम दाहाल, उपाध्यक्ष अनिल तामाङ, दीपक न्यौपान सहित पूर्व प्रदेश सदस्यहरु, याम लावतीसहितका जसपका विभिन्न तहका नेता कार्यकर्ता, एमाले पूर्वजिल्ला सदस्य मेघप्रसाद दाहालसहित दमक नगर सदस्यसहितका विभिन्न तहका नेता कार्यकर्ता, क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला सदस्य गोविन्द भट्टराईसहितका नेता कार्यकर्ता, राप्रपाबाट इन्द्रबहादुर तामाङसहितका नेता कार्यकर्ता, कांग्रेसबाट राजेश ठकुरीसहित विभिन्न तहका नेता कार्यर्ता, रास्वपाका प्रेमप्रसाद दाहाल सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । दमन नगरपालिका वडा नम्बर ४ बाट मात्रै १२९ जनासहित पाँच सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र दमक नगर समितिले जनाएको छ । उहाँहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराउनुभएको हो । अध्यक्ष प्रचण्डले केहीवेरमा खबरदारीसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । आजै उहाँले विराटनगरमा पार्टीको प्रदेश बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ
सत्ता पक्षीय दलको बैठक बालुवाटारमा जारी
काठमाडौँ । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले जारी रहेको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागी छन् । बैठकमा विचाराधीन विभिन्न अध्यादेशहरूलगायत विषयमा छलफल भएको छ । यसअघि शुक्रबार एमाले र काँग्रेसका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न थियो ।
महान जनयुद्ध: एक टिप्पणी
अर्धसामन्ती शोषण र अर्धऔपनिवेशिक उत्पीडनबाट पिल्सिएका नेपाली जनताको वर्गीय,जातीय, क्षेत्रीय र लैङ्गिक असमानता र विभेदका विरुद्धको सचेत र संगठित पहलकदमी थियो- जनयुद्ध। स्वतन्त्रता र मुक्तिको वकालत गर्ने नेपाली जनतामाथि थोपरिएको सामन्ती, दलाल र नोकरशाही वर्गीय अत्याचार, आतंक र निरंकुश दमनका विरुद्धको जनविद्रोह थियो- जनयुद्ध। रोल्पा, रुकुम लगायतका देशका दर्जनौं जिल्लामा वैचारिक आस्थाकै कारण वामपन्थी र कम्युनिस्ट क्रान्तिकारीहरुलाई समाप्त गर्ने उद्देश्यले शुरु गरिएको रोमियो अप्रेसन, कम्बिङ्ग अप्रेसन जस्ता जनदमन, झुट्ठा मुद्दा, जेलनेल, राज्यआतंक र निहत्था जनताको नरसंहारका विरुद्धको सशस्त्र जनप्रतिरोध थियो- जनयुद्ध। यो हिंसा थिएन- राज्यआतंक र नरसंहारका विरुद्धको जनप्रतिरोध थियो- जनप्रतिरोध !! जनयुद्ध नेपाली इतिहासमा नेपाली जनताको एक अद्दितिय त्याग, अकल्पनीय समर्पण र वलिदानको गौरवगाथा थियो- जसले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर बिहानीमा पुर्याउने मातृत्व प्रदान गर्यो। जनयुद्धले आफुलाई राजनीतिक परिवर्तनको आधार बनाउदै राजतन्त्रका विरुद्ध लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा ल्याउन सकारात्मक योगदान गर्यो। फलस्वरूप नेपाली जनक्रान्तिले मौलिक रूपमा आफुलाई संयुक्त जनआन्दोलनमा विकास गर्दै संविधानसभाको बाटोमा अघि बढ्यो। आज जनयुद्धले नेपालको क्रान्ति र शान्ति प्रक्रियाको विशिष्ट र मौलिक बाटो पार गर्दै संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र यसको कार्यान्वयनको चरणमा विकास गरेको छ। परिवर्तनको यो प्रक्रियामा जनयुद्धको भुमिकालाई सहि ढंगले बुझ्ने, बुझाउने र यसका आदर्शलाई राजनीतिमा आत्मासाथ गर्ने कुराले राजनीतिलाई स्वार्थसिद्धीको हतियार र नाफाको व्यापार बनाउनबाट बचाउछ। उद्देश्यमुलक यात्रा र निष्ठापुर्ण समर्पणको लागि तयार बनाउछ। त्यसले म भन्छु, आउ सबैले एकसाथ भनौं:- * महान् जनयुद्ध- जिन्दावाद ✊ * महान् सहिद तथा वेपत्ता योद्धाहरू- लाल सलाम ✊ * जनक्रान्तिका घाइते तथा अपांग योद्धाहरू र सम्पुर्ण क्रान्ति योद्धामा- लाल सलाम ✊ * सहिद तथा वेपत्ता योद्धाका परिवारजनमा- हार्दिक नमन 🙏 * गणतन्त्र नायक अध्यक्ष क. प्रचण्ड लाल सलाम
नयाँ शक्तिका केन्द्रीय कार्यसमिति सदस्य मल्ल माओवादी केन्द्रमा प्रवेश
सुर्खेत २९ माघ । बाबुराम भट्टराई नेतृत्वको नेसपा नेतृत्वको केन्द्रीय कार्यसमिति परित्याग गरी सुर्खेतमा भिमबहादुर मल्ल 'सुवास' माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ। मल्ललाई पार्टीको कर्णालि प्रदेश समितिको सातौं बैठकमा सहभागी हुन सुर्खेत आउनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा र माला लगाई पार्टीमा स्वागत गर्नुभएको छ । माओवादी केन्द्रमा प्रवेश गर्दै भिमबहादुर मल्लले भट्टराईले नयाँ बनाउने नाममा कम्युष्टि विचार छाडेको साथै उहाँले भन्ने गरेको नयाँ विकल्पको दिशाहिन राजनीतिको औचित्य समेत समाप्त भएकाले आफु सो पार्टी परित्याग गरेको बताउनुभयो । देश र जनतालाई माया गर्ने वास्तविक पार्टी माओवादी केन्द्र भएको अब आफु पुरानै घर फर्र्किएको बताउँदै माओवादी केन्द्रमा रहेर देश र जनताको पक्षमा काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
सुनको मूल्य एक लाख ७० हजार नाघ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले प्रतितोला एक लाख ७० हजार रुपैयाँ नाघेको छ । मंगलबार तोलामा ८०० रुपैयाँ बढेर एक लाख ७० हजार रुपैयाँमाथि पुगेको हो । सोमबार सुन प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९७५ रुपैयाँ थियो । आज ३० रुपैयाँले घटेर एक हजार ९४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।
नयाँशक्तिको उपाध्यक्षमा मानुषी निर्विरोध, यी नेता पनि भए निर्विरोध निर्वाचित
काठमाडौं । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ। दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएको पार्टीको प्रचारप्रसार विभागले जानकारी गराएको छ । उनीहरूसहित केही सदस्य पदमा पनि निर्विरोध निर्वाचित भएका प्रचारप्रसार विभागले जनाएको छ । नेसपा (नयाँ शक्ति) मा पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यमा निर्विरोध नेताहरू उपाध्यक्ष (महिला) – मानुषी यमि भट्टराई उपाध्यक्ष (दलित) – दुर्गा सोब कोसी प्रदेश केन्द्रीय सदस्य (खुला) – मणि राई कोसी प्रदेश केन्द्रीय सदस्य (महिला)– तारा बास्तोला दवाडी मधेस प्रदेश केन्द्रीय सदस्य (महिला) – बिबि समिना खातुन वाग्मती प्रदेश केन्द्रीय सदस्य (महिला) – वसुन्धरा सापकोटा गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुला) – चित्र सापकोटा गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला)– नारायणी अधिकारी लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुला)– कमल खनाल लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) – सुनीता काफ्ले कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुला) – लक्ष्मीप्रसाद भट्टराई कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) – मीराकुमारी मल्ल सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुला) – रतनबहादुर टमटा सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला)– सत्यदेवी चापागाईं भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुला) – लोकेन्द्रबहादुर सुनार केन्द्रीय सदस्य – खुला युवा महिला – निशा श्रेष्ठ आदिवासी जनजाति युवा महिला – मन्जुमाया तामाङ मधेसी महिला – अमृताकुमारी देवी दलित के।स। युवा – हिक्मत वि.क. थारु महिला – गीता थनेत यस्तै, नेसपाको अध्यक्ष पदमा डा.बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दिएका छन् ।
आजको मौसम : कोशी, गण्डकी र कर्णालीमा हिमपातको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले मंगलबार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ। दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ । यी तीन प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। हुस्सु कुहिरो र हिमपातका कारण पर्न सक्ने असरप्रति सचेतना अपनाउन महाशाखाले सुझाव दिएको छ।
पञ्चायतकी चर्चित पात्र नानीमैयाँ दाहालको निधन
काठमाडौं । पञ्चायत कालकी चर्चित पात्र राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ। निमोनियाँ रोगले पीडित दाहालको सोमबार दीर्घायु अस्पताल काठमाडौंमा निधन भएको हो ।पञ्चायतकालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन्। त्यसपछि उनी चर्चामा आएकी थिइन्। सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् । उनको पशुपति आर्यघाटमा आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
चितवन बस दुर्घटनामा २३ जना घाइते
चितवन । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनामा परेको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिए । उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले ४ प्रदेशको मौसम बदली
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला (बुधबार बिहान) बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराई भूभागका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम भने आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपात हुने सम्भावना छ। त्यसैगरी कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेकोले त्यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ।’
सत्ता पक्षका राजनीतिक दलहरुको बैठक बस्दै
काठमाडौं । सत्तारुढ दलहरुको बैठक आज बस्दैछ । बैठक आज सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा पछिल्ला समसामयिक राजनीति, सरकार सञ्चालन गतिविधि, संसद अधिवेशन लगायतका विषयहरुमा छल फल हुने बताइएको छ । यही माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन शुरु हुँदैछ ।
माओवादी र भ्रष्टहरू आमनेसामने हुने स्थिति बनेको छ : अध्यक्ष प्रचण्ड
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र भ्रष्ट तत्व आमनेसामने हुने स्थिति बनेको बताउनुभएको छ । शनिबार दाङमाको घोराहीमा माओवादीको नगर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले त्यसविरुद्ध माओवादीले शान्तिपूर्ण संघर्ष गर्ने समेत बताउनुभयो। ‘दलाल पूँजीपति, नोकरशाही, बिचौलिया, भूमाफिया र सबै जालीझेलीहरुका विरुद्ध आमनेसामने भएका छौं,’ प्रचण्डले भन्नुभयो, ‘यतिबेला सशस्त्र त होइन, शान्तिपूर्ण संघर्षको बेला हो।’ उहाँले थप्नुभयो, ‘शान्तिपूर्ण संघर्षमा एकतर्फ दलाल, बिचौलिया र भ्रष्ट तत्वहरु र अर्कोतिर माओवादी, सच्चा देशभक्तहरु आमनेसामने हुने स्थिति बनेको छ।’ प्रचण्डले गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिने समेत बताउनुभयो। ‘हामीले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिने छैनौँ भनेर विश्वसमुदायलाई अपिल गर्दै युद्धको मैदानबाटै समाजवादतिरको यात्रा आरम्भ गरेको संकल्प लिएका थियौँ। ती दिनलाई स्मरण गर्न र संकल्पअनुसार अघि बढ्न म विशेष रूपले अपिल गर्न चाहन्छु।’उहाँले भन्नुभयो ।