सारङ्गी रेट्दै गीत गाउँदै परिवार पाल्दै
सुनसरी । सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष भयो । उनकै लयमा सुजन गन्धर्वले सारङ्गीको धुनमा गीत गाउँदै हिँडेको आठ वर्ष भयो ।
उनीहरू हाल दैनिक जसो धरानस्थित श्रम संस्कृति पार्कमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सारङ्गी र मादलको साथमा गीत गाउँदै आएका छन् । एक जनाले मादल बजाउने र अर्काले सारङ्गी रेट्दै गीत गाउने उनीहरूको दैनिकी बनेको छ ।
सारङ्गीको मधुर धुनमार्फत उहाँहरूले पार्क घुम्न आउने सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्नुहुन्छ । अहिले उनीहरूको जीविकोपार्जनको माध्यम यही बनेको छ । सर्वसाधारण साथै पर्यटकले स्वेच्छाले रकम दिन्छन् ।
सुवास गन्धर्वले बाउबाजेदेखि चलिआएको पेसालाई निरन्तरता दिएको बताउँदै यही पेसाबाट परिवार पाल्दै आएको बताए । “बाउबाजेले सारङ्गी रेटेरै हामीलाई हुर्काउनुभयो, मैले त्यही परम्परा समातेको हुँ”, उनले भने ।
“पहिला पहिला गाउँमा यातायातको सुविधा थिएन । कैयौँ दिन हिँडेर टाढा–टाढा पुगेर गीत गाउने चलन थियो । अहिले सवारीसाधनले सजिलो भएको छ”, उनले भने । नेपालको पूर्वदेखि पश्चिमसम्मका विभिन्न सहर तथा भारतको सिक्किम र दार्जिलिङसम्म पुगेर गीत गाएको उनको अनुभव छ । गाडी तथा सार्वजनिक स्थानमा गीत गाएर सर्वसाधारणबाट प्राप्त हुने स्वैच्छिक सहयोग नै आम्दानीको आधार भएको उनको भनाइ छ ।
सुवास गन्धर्वका अनुसार उनी ‘भ्वाइस अफ नेपाल’ मा समेत सहभागिता जनाउँदै ब्याटल चरणसम्म पुग्नुभएको थियो भने ‘इन्द्रेणी’ कार्यक्रममा गीत गाएका छन् । उनले भने, “धेरै कार्यक्रमहरूमा सहभागी भएर गीत गाउँदै पनि हिँडियो तर त्यहाँबाट अपेक्षित आम्दानी नभएपछि पुन सारङ्गी बजाएरै जीविकोपार्जन गर्न थालेको हुँ ।” उनले काठमाडौँदेखि पोखरा जस्ता सहरका धेरै गल्लीमा सारङ्गी बजाइसकेका छन् ।
सुजन गन्धर्वले लामो समय भारतको दार्जिलिङमा रोजगारी गरेर गाउँ फर्किएपछि आठ वर्षदेखि सारङ्गी बजाउँदै गीत गाएर आम्दानी गरी जीविकोपार्जन गर्दै आएका छन् । उनले परम्परागत पेसा जोगाउने उद्देश्यले यसलाई निरन्तरता दिएको बताए ।
उनले भने, “सारङ्गी बजाएर गीत गाउनु गन्धर्व समुदायको पुर्ख्यौली पेसा हो, हाम्रो संस्कृति र पहिचान पनि यही हो”, उनले भने, “पछिल्लो समय नयाँ पुस्ता अन्य पेसातर्फ आकर्षित हुँदै जाँदा यस्तो मौलिक कला सङ्कटमा पर्दै गएको छ ।”
आधुनिक प्रविधिको विकाससँगै मनोरञ्जनका माध्यम परिवर्तन भइरहेका बेला गन्धर्व समुदायको परम्परागत पेसा जोगाउन चुनौती थपिएको उनको भनाइ छ । स्वास्थ्यले साथ दिएसम्म आफूहरू यो पेसालाई निरन्तरता दिने उनले सुनाए ।
नेपालमा लोपोन्मुख जातिका रूपमा रहेको गन्धर्व जातिको मुख्य बाहुल्यता भोजपुर, कास्की ,तनहुँ, लमजुङ, गोरखा, चितवन, बागलुङ, पाल्पा, दैलेख, सुर्खेतलगायतका जिल्लामा छ । नेपाली लोकसङ्गीत र रङ्गमञ्चको क्षेत्रलाई परापूर्वकालदेखि संरक्षण, सम्वर्द्धनसँगै विकास गर्दै आएका लोक जीवनका संवाहक गन्धर्व जाति र तिनको वाद्यवादन साराङ्गी मादल पनि एक हो । आज आएर गन्धर्वले लोकगीतलाई स्थानीय गीत स्थायित्व गराई पेसाको रूपमा अपनाउँदै आएका छन् ।
आज कस्ताे रहला देशभरकाे माैसम ?
काठमाडाैं । केही प्रदेशमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बाँकी तराई क्षेत्रका भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ/हावाहुरी/असिनासहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । साथै नेपालको दक्षिणतिर अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यूनचापीय रेखाको समेत प्रभाव रहेको छ । त्यसैले केही दिनदेखि मौसममा बदली र वर्षा भइरहेको छ ।
काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन् । पेट्रोलियम पदार्थ आयातबाट चालु आवको नौ महिनामा सात अर्ब ४४ करोड ७८ लाख १८ हजार राजस्व संकलन भएको उनले जानकारी दिए । कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा सात अर्ब ७५ करोड ९४ लाख मूल्यबराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात भएको छ । त्यसैगरी, पाँच अर्ब ८७ करोड १८ लाख मूल्यबराबरको ५५ हजार २४ किलोलिटर डिजेल आयात भएको छ । त्यसैगरी, एक अर्ब ९० करोड ५९ लाख मूल्यबराबरको १९ हजार १३६.६९३ मेट्रिक टन एलपी ग्यास, ५७ करोड ५१ लाख मूल्यबराबरको पाँच हजार ९८८ किलोलिटर एटीएफ तथा ७० करोड १२ लाख मूल्यबराबरको ३४ हजार ५२४.४९० मेट्रिक टन कोइला आयात भएको सूचना अधिकारी हुमागाईंले बताए ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २०७ रुपैयाँ २१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ०५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ७४ पैसा र बिक्रीदर १११ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६ रुपैयाँ ४८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८४ पैसा र बिक्रीदर २३ रुपैयाँ ९४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४२ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ०४ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९४ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९५ रुपैयाँ २० पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस्: राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस्’ भनी शुभकामना दिएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ का अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, “स्वतन्त्र पत्रकारितामार्फत सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही तथा सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनु पर्दछ ।” प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूर्ण रहेको राष्ट्रपति पौडेलले उल्लेख गरे । प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै महत्त्वपूर्ण हुने र प्रेस जति निष्पक्ष, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था पनि त्यति नै सुदृढ हुँदै जाने उनको भनाइ छ । राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ, “प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै पत्रकारलाई सञ्चार कार्य गर्नका लागि सुरक्षित वातावरण हुनु पर्दछ, हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको छ । सूचना संकलनदेखि प्रवाह गर्ने प्रक्रियासम्म स्वतन्त्र एवं निर्वाध रूपमा संलग्न भई समाचार सम्प्रेषण गरी सबै वर्ग एवं समुदायको आवाज मुखरित हुनुपर्दछ ।” बढ्दो सामाजिक सञ्जालको प्रयोग तथा यसका माध्यमबाट प्रवाहित हुनसक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा विद्यमान प्रणालीलाई कमजोर बनाउने चुनौती रेहेको उनले उल्लेख गरेका छन् । त्यस्ता चुनौतीको सामना गर्दै जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न आजको दिनले नेपाली प्रेस जगत्लाई थप ऊर्जा, हौसला र उत्प्रेरणा देओस् भन्ने कामना उनले गरेका छन् ।
माैसम पूर्वानुमान: आज पनि सातै प्रदेशमा असिना पानीको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागको नजिक रहेको छ। जसको प्रभावले आज आइतबार (वैशाख २० गते) कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा चट्याङ्ग हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।
हुम्लामा भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् । शनिबार प्रहरीले वडा सदस्य रोकायाले घरमा लुकाएर राखेको भरुवा बन्दुक फेला पारेको थियो । उनलाई बन्दुकसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताए । वडा सदस्य रोकायाको घरमा भरुवा बन्दुक एक थान, फलामको रडको गोली १२ थान र बारुद ११० ग्राम लुकाइछिपाइ राखेको अवस्थमा फेला पारेको खड्काले बताए । वडा सदस्य रोकायाबारे जिल्ला प्रहरी कार्यालय सिमकोटले थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।
रोल्पाको जेलवाङमा निःशुल्क संयुक्त स्वास्थ्य शिविर, ३३२ जना लाभान्वित
खुमबहादुर सुनार रोल्पा । “स्वास्थ्य नै ठूलो धन हो” भन्ने नारासहित रोल्पाको दुर्गम क्षेत्र जेलवाङमा एकदिने निःशुल्क संयुक्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। विकट भेगका गरिब, असहाय तथा स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई लक्षित गर्दै शनिबार शिविर सञ्चालन गरिएको हो। नेपाली सेनाको सूर्यदल गण, लिबाङ ब्यारेकको अगुवाइमा स्थानीय तह तथा विभिन्न स्वास्थ्य संस्थाहरूको समन्वयमा शिविर आयोजना गरिएको आयोजकले जनाएको छ। दुर्गम भौगोलिक अवस्था, विशेषज्ञ चिकित्सकको अभाव तथा सामान्य उपचारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यतालाई ध्यानमा राख्दै शिविर सञ्चालन गरिएको हो। सुनछहरी गाउँपालिका–७, जेलवाङमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। सेवाग्राहीको भीड व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिएको थियो। शिविरमा नेपाली सेनाको सूर्यदल गण, नं. १९ फि.ए. गुल्म दाङ, सुनछहरी गाउँपालिका, वडा नं. ७ कार्यालय, रोल्पा अस्पताल रेउघा, स्वास्थ्य कार्यालय रोल्पा, स्वास्थ्य चौकी जेलवाङ, नेपाल रेडक्रस सोसाइटी रोल्पा, तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र लिबाङ तथा अनमोल डेण्टल क्लिनिक लिबाङको सहभागिता रहेको थियो। विशेषज्ञ चिकित्सकद्वारा आँखा, दाँत, स्त्रीरोग तथा सामान्य स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो। साथै मधुमेह परीक्षण, पाठेघर जाँच लगायत अन्य स्वास्थ्य सेवाहरू पनि उपलब्ध गराइएको थियो। परीक्षणपछि आवश्यक औषधि निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ। सूर्यदल गणका प्रमुख सेनानी ईश्वर थापाले नेपाली सेना सधैँ जनताको सुख–दुःखमा साथमा रहने उल्लेख गर्दै दुर्गम क्षेत्रमा घरदैलोमै स्वास्थ्य सेवा पुर्याउनु नै शिविरको उद्देश्य रहेको बताए। स्वास्थ्य सचेतना अभिवृद्धिमा यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो। शिविरबाट कुल ३३२ जनाले सेवा लिएका छन्। दन्त सेवातर्फ ६१ जनाको परीक्षण गरिएकोमा २२ जनाको दाँत निकालिएको छ। आँखासम्बन्धी सेवामा २४४ जनाले उपचार पाएका छन् भने १६ जनामा मोतिविन्दु परीक्षण गरिएको छ। सामान्य स्वास्थ्य परीक्षणअन्तर्गत २३२ जनाले सेवा लिएका छन्। पाठेघर जाँच ५५ जना र सुगर परीक्षण ४० जनामा गरिएको छ। शिविरमा पुरुष ११५, महिला १६८ र बालबालिका ३१ जना सहभागी भएका थिए, जसले महिला तथा बालबालिकाको उल्लेखनीय सहभागिता देखाएको छ। यसैबीच, जनचेतनामूलक तालिमअन्तर्गत फायर फाइटिङ, बाढी–पहिरो तथा खोज तथा उद्धारसम्बन्धी तालिम पनि प्रदान गरिएको थियो। उक्त तालिममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीय गरी करिब ७५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि, पत्रकार, शिक्षक, विद्यार्थी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। करिब ३५० जनाको समग्र सहभागिता रहेको आयोजकले जनाएको छ। बहुपक्षीय सहकार्यमा सम्पन्न शिविरले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ। यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता स्थानीय सरोकारवालाहरूले औँल्याएका छन्।
तीन दिनमा तीन अर्ब १५ करोड राजस्व सङ्कलन
पर्सा । उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा लगातार तीन दिनसम्म सहभागी नहुँदा पनि वीरगञ्ज भन्सार कार्यालयले तीन दिनमा पेट्रोलियम पदार्थको भन्सार जाँचपास गरेर रू तीन अर्ब १५ करोड राजस्व सङ्कलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयले आयातीत एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न गत वैशाख १५ गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन् । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले उद्यमी–व्यवसायीले भन्सार जाँचपासको प्रक्रियामा लगातार तीन दिन सहभागि नहुँदा पनि पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल जन्यवस्तुको भन्सार जाँचपास हुँदा तीन दिनमा करिव तीन अर्ब १५ करोड राजस्व सङ्कलन भएको बताए । वीरगञ्ज भन्सार कार्यालयका अनुसार वैशाख १५ गते रू ३५ करोड राजस्व सङ्कलन भएको थियो । त्यस्तै वैशाख १६ गते एक अर्ब ९० करोड राजस्व सङ्कलन भयो । त्यस्तै वैशाख १७ गते पनि ९० करोड राजस्व सङ्कलन भएको सूचना अधिकारी विष्टले जानकारी दिए । “पेट्रोलियम पदार्थको भन्सार जाँचपास भएकाले पनि सो रकम राजस्व सङ्कलन भएको हो,” उनले भने । आर्यातकर्ता तथा स्वदेशी उद्यमले चौथौ दिन पनि भन्सार जाँचपास प्रक्रियामा सहभागि भएका छैनन् । आयातकर्ता भन्सार जाँचपास गर्न फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका प्रक्रियागत कार्यमा सरिक नहुँदा भन्सार जाँचपास रोकिएको हो । सूचना अधिकारी विष्टका अनुसार आयात–निर्यातकर्ताले जाँचपासको फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका काममा सरिक नहुँदा जाँचपास रोकिएको हो । सरकारको हालैको निर्णयअनुसार भन्सार विन्दुमा आएका सबै किसिमका उत्पादनमा अनिवार्य रूपमा एमआरपी लागू गर्ने निर्णय गरेको थियो । वीरगन्ज भन्सार कार्यालयले दैनिक रु ५० देखि ६० करोडसम्म राजस्व सङ्कलन गर्दै आएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले आज पनि भन्सार जाँचपासको प्रक्रिया अघि बढ्न नसकेको बताए ।
पर्साकाे सिमरा सेजको ४९० बिघा जमिन अतिक्रमित
पर्सा । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण मातहत रहेको ४९० बिघा जमिन अतिक्रमण भएको छ । सेजको सो जग्गामा अहिले करिब छ सयभन्दा धेरैले घरटहरा निर्माण गरेर अस्थायी रूपमा बसोबास गरिरहेका छन्। विशेष आर्थिक क्षेत्र प्राधिकरण मातहत ८३३ बिघा जग्गा भए पनि अहिले ३४३ बिघा क्षेत्रफलअन्तर्गत विभिन्न ब्लकमा उद्योग तथा कलकारखना सञ्चालन एवं केही उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् । तर, बाँकी रहेको अन्य जग्गामा अतिक्रमण गरेर खेतीपाती तथा घरटहरा निर्माण गरेर बसिरहेका छन्। सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणका साइट इन्चार्ज तथा इन्जिनियर पप्पु गिरीले ४९० विघा क्षेत्रफलमा किसानले खेतीपाती गरेर अतिक्रमण गर्दै आइरहेकाले अब हटाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए। प्राधिकरणले गत वैशाख ९ गते पत्र लेखेर जितपुरसिमरा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बारालाई पत्र लेखेर जग्गा अतिक्रमण हटाउनका लागि आवश्यक समन्वय र सहजीकरण गर्नका लागि अनुरोध गरिएको छ। “विशेष आर्थिक क्षेत्रको जग्गा अतिक्रमण गरी बनेका घरटहरा हटाउन, लगाइसकेका बालीनाली उठाउन तथा नयाँ बालीनाली नलगाउन स्थानीयलाई जानकारी गराएर अतिक्रमित जग्गा खाली गराउनका लागि अनुरोध भइसकेको छ,” सेजका साइट इन्चार्ज गिरीले भने, “सरकारी निकायसँग आवश्यक समन्वय गर्ने काम भइरहेको छ ।” विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमराका सबइन्जिनियर अजयकुमार चौधरीले वीरगञ्ज चिनी कारखाना बन्द भएपछि सो कारखानामा काम गर्ने ९३ जना कामदारलाई अस्थायी रूपमा बसोबास गर्न र खनजोत गर्नका लागि प्रतिपरिवार छ कट्ठाका दरले जग्गा उपलब्ध भएको जानकारी दिए। “हामीले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउनका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेका छौँ,” उनले भने, “जितपुर सिमरा उपमहानगरपालिका र स्थानीय प्रशासनबाट सहयोग गर्ने प्रतिबद्धता पाइसकेका छौँ ।” प्राधिकरणका अनुसार अहिले यहाँ अस्थायी रूपमा घरटहरा बनाएर करिब छ सयभन्दा धेरै बसोबास गर्दै आइरहेको जनाएको छ । प्राधिकरणअन्तर्गत पाँच वटा ब्लक रहेका छन्। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणको अतिक्रमित जग्गा र घरटहरा हटाउनका लागि आवश्यक शान्तिसुरक्षा दिनका लागि तयार रहेको बताए। “प्राधिकरण र गृहमन्त्रालय दुवै निकायबाट अतिक्रमित जग्गा हटाउन आवश्यक समन्वय र सहजीकरण गर्न अनुरोध आएको छ,” उनले भने, “प्राधिकरणले मिति तोकेर हटाउन भनेपछि हामीले आवश्यक शान्तिसुरक्षा उपलब्ध गराएर सहजीकरण गर्न तत्पर रहेका छौँ ।” ‘ए’ ब्लकमा ३४३ बिघा जग्गा रहेको छ । जहाँ अहिले आधा दर्जनभन्दा धेरै उद्योग चालु अवस्थामा रहेका छन् भने एक दर्जन उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् । त्यस्तै, ‘बी’ ब्लकमा १२८ बिघा क्षेत्रफल रहेको छ । जहाँ ७० प्रतिशतभन्दा धेरै जग्गा प्राधिकरण मातहत नै छ । त्यस्तै ‘सी’ ब्लकमा भने ४९ दशमलव ५ बिघा जग्गा रहेको छ । त्यस्तै ‘डी’ ब्लकमा १३३ बिघा र ‘इ’ ब्लकमा १७८ दशमलव ५ बिघा जग्गा रहेको छ।
भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि
नयाँदिल्ली । इरान युद्धबाट आपूर्तिको दबाब बढ्दै जाँदा भारतले खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य बढाएको छ । भारत आयातित ऊर्जामा धेरै निर्भर छ । भारतले तरलीकृत एलपिजी ग्यास लगभग ६० प्रतिशत विदेशबाट ल्याउँछ । विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या रहेको भारतको ठूलो हिस्साले खाना पकाउन प्रयोग गर्ने इन्धन ग्यास हो । फेब्रुअरीको अन्त्यमा मध्यपूर्व युद्ध सुरु भएदेखि नै आयातमा अवरोध आइरहँदा नयाँ दिल्लीले घरपरिवार र अत्यावश्यक क्षेत्रहरू पर्याप्त मात्रामा आपूर्ति भएको सुनिश्चित गर्न कदम चालेको छ, जसले धेरै रेस्टुरेन्ट, निर्माता र पावर प्लान्टहरूलाई अलपत्र पारेको छ। सरकारले भारतले समग्र इन्धनको अभाव नरहेको बताउँदै आएको छ । सरकारी कम्पनी इन्डियन आयल कर्पोरेसन लिमिटेड (आइओसिएल) ले भनेको छ, “धेरै मात्रा र व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपिजी सिलिन्डरको मूल्य संशोधन गरिएको छ ।” आइओसीएलको मूल्य तालिकाअनुसार व्यावसायिक प्रयोगका लागि बनाइएको १९ केजीको ग्यास सिलिन्डरको मूल्य ९९३ भारतीय रूपैयाँ (१०.५० अमेरिकी डलर) कायम भएको छ । यो भनेको राजधानी नयाँ दिल्लीमा ग्यासको मूल्यमा झण्डै ४८ प्रतिशतले वृद्धि भएको छ । स्थानीय करका कारण दरहरू शहर अनुसार फरक हुन्छन्। तीव्र वृद्धिले रेस्टुरेन्टहरूलाई विशेष गरी कडा असर पार्नेछ, मध्य पूर्व युद्धको समयमा धेरैले पहिले नै सेवाहरू घटाएका छन् । अन्तर्राष्ट्रिय विमान सञ्चालनका लागि जेट इन्धनको मूल्य पनि समायोजन गरिएको भारतीय इन्धन कम्पनीले जनाएको छ । आइओसीएलको तालिकाअनुसार दिल्लीमा हवाई इन्धन (एटिएफ) करिब पाँच प्रतिशतले बढेको छ ।
वल्खु, बंशीघाट र शंखमूलका सुकुम्बासीका सयौं संरचना ध्वस्त
काठमाडौं । सरकारी अभियानले तीव्र रूप लिँदै गर्दा काठमाडौं उपत्यकाका नदीकिनारमा बसाइँ जमाएर बसेका अतिक्रमित बस्तीमाथि डोजर चलेको छ। शुक्रबार (वैशाख १८) वल्खु, बंशीघाट र शंखमूल क्षेत्रमा व्यापक रूपमा संरचना भत्काइएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, वल्खु क्षेत्रमा मात्रै ४०१ घर, टहरा र छाप्रा एकैपटक ध्वस्त पारिएका छन्। बंशीघाटमा रहेका १९३ मध्ये १०० भन्दा बढी बस्ती हटाइएका छन् भने शंखमूलका सबै १५० पक्की घर पूर्ण रूपमा भत्काइएको छ। सरकारको कडा कदमपछि प्रभावित ३२३ परिवार सम्पर्कमा आएका छन्। तीमध्ये ८० परिवारलाई खरिपाटीमा सारिएको जनाइएको छ, बाँकीको व्यवस्थापन अन्यत्र गरिने तयारी छ। सरकारले दोस्रो चरणको अभियानअन्तर्गत वाग्मती र यसका सहायक नदी किनारका जोखिमयुक्त तथा अतिक्रमित बस्ती खाली गराउने कार्यलाई आक्रामक रूपमा अघि बढाएको हो। यसअघि थापाथली, सिनामंगल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती पनि हटाइसकिएको छ। नदी किनार अतिक्रमणमुक्त बनाउने लक्ष्यसहित सुरु गरिएको यो अभियान अब थप कडा रूपमा विस्तार हुने संकेत सरकारले दिएको छ।
कञ्चनपुरको दोधारा चाँदनी टिपरको ठक्करबाट एकजनाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा शुक्रबार (वैशाख १८) टिपरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, सुपप्र०२–००१ख ०५९८ नम्बरको टिपरले भारतीय यूके०६एएस ७९३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय १४ वर्षीय दिवस चुनराको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बसेका चुनाराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय नरेश लुहार घाइते भएका छन् । उनलाई उपचारका लागि भारतको खटिमातर्फ लगिएको प्रहरीले जनाएको छ । घाइते चुनाराको बायाँ खुट्टामा चोट लागेको छ । अवस्था मध्यम रहेको छ । टिपर चालक भने फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
म्याग्दीमा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगमा शुक्रबार (वैशाख १८) पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिएको थियो । डोजर पुरिँदा रघुगंगा गाउँपालिका–२, भगवतीका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा रहेका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले अन्य डोजर र ब्याकुहोलोडर परिचालन गरेर पहिरोमा पुरिएका कार्कीको शव निकालेर परीक्षणका लागि प्रदेश अस्पताल बेनीमा पठाएको जानकारी दिए । उनका अनुसार, कार्की उक्त डोजरका चालक हुन् । सडकको मार्ग खनिरहेको अवस्थामा माथिबाट सुक्खा पहिरो खसेर डोजर र चालकलाई पुरेको थियो । प्रहरी र स्थानीयवासीले करिब चार घण्टाको प्रयासपछि पहिरोबाट कार्कीको शव निकालेका थिए ।
आजकाे माैसम: बदलीसहित हावाहुरी, असिना तथा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । बदलीसहित हावाहुरी, असिना तथा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान भिागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती, गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रको थोरै स्थानमा मेघगर्जन/चट्याङ हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल बादल लाग्ने बताएको छ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा र बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मौसमविद् विनोद पोखरेल अबको एक हप्ता हरेक दिनजसो वर्षाको सम्भावना रहेको बताउँछन् । “अबको आठ दिन हरेक दिन वर्षा हुने सम्भवना छ । केही ठाउँमा मेघगर्जन र भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान छ,” मौसमविद् पोखरेल सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “वर्षा रोकिने संकेत देखिएको छैन ।” हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको विभागले जनाएको छ ।
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: अमेरिकी डलरको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ १० पैसा र बिक्रीदर २०५ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६० पैसा र बिक्रीदर १०९ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ९६ पैसा र बिक्रीदर १११ रुपैयाँ ४० पैसा, सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ २६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४३ पैसा तोकिएको छ । मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३३ पैसा कायम गरिएको छ । स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७७ पैसा र बिक्रीदर २३ रुपैयाँ ८६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ०४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९५ रुपैयाँ २० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

