मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना
काठमाडौं । कतै तातो दिन हुँदा आज केही स्थानमा वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिममा केही भूभागमा तातो दिन हुनेछ भने अन्य प्रदेशका केही स्थानमा वर्षा हुनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको तराईमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना छ ।
विभागले राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने जनाएको छ । पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (वैशाख ११)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८० पैसा र बिक्रीदर २०३ रुपैयाँ ६१ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ११ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११० रुपैयाँ ३७ पैसा, सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११८ रुपैयाँ १४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९९ पैसा र बिक्रीदर २२ रुपैयाँ सात पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ सात पैसा र बिक्रीदर ४० रुपैयाँ २३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ सात पैसा कायम गरिएकोे छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २६ पैसा र बिक्रीदर १६ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४९ पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा तोकिएको छ । यसैगरी हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १९ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ १५ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३९० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ८९ पैसा तोकिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
आज कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका निम्ति आज (वैशाख ११) निर्वाचन हुँदै छ । दलको नेता चयन प्रक्रिया सञ्चालनका लागि गठन गरिएको समितिले बिहीबार निर्वाचन तालिका हेरफेर गरेको छ । निर्वाचन तालिकाअनुसार, उमेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ । ४:३० सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको छ । मतदान प्रक्रिया साँझ ५ बजेपछि सुरु गरिने तालिका तय गरिएको छ । प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसलाई दलको नेता टुंगो लगाउन सकस भएको छ । धेरैले आकांक्षा राखेपछि सर्वसम्मतको प्रयास भइरहेको सांसद बासना थापाले बताइन् । कांग्रेसको संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, निश्कल राई र बासना थापाको नाम चर्चामा छ ।
आज लोकतन्त्र दिवस: ऐतिहासिक जनआन्दोलनको स्मरणमा देशभर विविध कार्यक्रम
काठमाडौं । आज वैशाख ११, नेपाली राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण मोडको रूपमा स्थापित दिन—२०औँ लोकतन्त्र दिवस—देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। लोकतन्त्र, जनअधिकार र जनआन्दोलनको विजयको प्रतीकका रूपमा यो दिनलाई विशेष महत्वका साथ स्मरण गरिन्छ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र विरबिक्रम शाहदेवले आन्दोलनरत राजनीतिक दलहरूको मार्गचित्र स्वीकार गर्दै विसं २०५९ जेठ ८ गते विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने घोषणा गरेका थिए । यही ऐतिहासिक निर्णयले निरंकुश राजतन्त्रको अन्त्यतर्फको यात्रालाई तीव्र बनाउँदै लोकतन्त्र पुनर्स्थापनाको ढोका खोल्यो। त्यसपछि जनताको विजयको उत्सवस्वरूप विसं २०६४ देखि प्रत्येक वर्ष यस दिनलाई लोकतन्त्र दिवसका रूपमा मनाउन थालिएको हो। जनयुद्व, अस्थिरता र आन्दोलनको पृष्ठभूमि विसं २०५९ मा संसद् विघटन भएपछि देश गम्भीर राजनीतिक संकटमा फस्यो। देशमा जनयुद्ध चर्किँदै गएपछि नियमित निर्वाचन हुन सकेन। परिणामस्वरूप सत्ता अस्थिर बन्दै गयो र राजदरबार केन्द्रित शासन प्रणाली हाबी हुन थाल्यो। यस अवधिमा राजा ज्ञानेन्द्रले पटक–पटक प्रधानमन्त्री नियुक्त र बर्खास्त गर्दै सत्ता सञ्चालनकाे अभ्यास गर्दै आइरहेका थिए । यसले राजनीतिक अस्थिरता झन् गहिरिँदै गयो। अन्ततः विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले सम्पूर्ण शासनसत्ता आफ्नै हातमा लिएपछि लोकतन्त्र पक्षधर शक्तिहरू एकजुट हुन बाध्य भए। यही क्रममा सात राजनीतिक दल र संघीय लाेकतान्त्री गणतन्त्रकाे माग राखेर जनयुद्ध गरिरहेकाे नेकपा (माओवादी)बीच ऐतिहासिक १२ बुँदे समझदारी भयो, जसले आन्दोलनलाई निर्णायक मोडमा पुर्यायो। जनआन्दोलनको उत्कर्ष विसं २०६२ फागुनदेखि गिरिजाप्रसाद काेइरालाकाे नेतृत्वमा सुरु भएको जनआन्दोलन विस्तारै देशव्यापी बन्यो। चैत महिनासम्म आइपुग्दा आन्दोलनले उग्र रूप लियो र नयाँ वर्षसँगै लाखौँ नागरिक सडकमा उत्रिए। काठमाडौंको चक्रपथ क्षेत्र मानवसागरले भरिएपछि राजसंस्थामाथि अभूतपूर्व दबाब सिर्जना भयो। अन्ततः आन्दोलनरत दलहरूको मस्यौदाअनुसार राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा मात्र गरेनन्, संसद् बैठकसमेत आह्वान गरे। यही ऐतिहासिक क्षणलाई लोकतन्त्र दिवसका रूपमा चिनिन्छ। गणतन्त्रको आधार निर्माण लोकतन्त्र पुनर्स्थापनापछि विसं २०६३ जेठ ४ गते बसेको संसद् बैठकले राजदरबारका अधिकारहरू कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो। साथै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र संविधानसभा निर्वाचनमार्फत नयाँ संविधान बनाउने ऐतिहासिक संकल्प प्रस्ताव पारित गरियो। यसलाई नेपाली “म्याग्नाकार्टा” का रूपमा समेत व्याख्या गरिन्छ। यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो। त्यसपछि २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले करिब २४० वर्ष लामो राजतन्त्रको औपचारिक अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। संविधान निर्माणदेखि कार्यान्वयनसम्म पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि महत्वपूर्ण आधार तयार गर्यो। त्यसपछि विसं २०७० मंसिर ४ गते दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भयो। दोस्रो संविधानसभाले २०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्यो। संविधान जारी भएसँगै संघीय, प्रादेशिक र स्थानीय तहमा निर्वाचन सम्पन्न भई तीनै तहका सरकारहरू गठन भएका छन्। हाल यही संविधानअनुसार शासन सञ्चालन भइरहेको छ, जसले लोकतान्त्रिक उपलब्धिहरूलाई व्यवहारमा रूपान्तरण गरेको छ। लोकतन्त्र दिवसको सन्देश लोकतन्त्र दिवस केवल एउटा उत्सव मात्र होइन, जनसंघर्ष, त्याग र बलिदानको स्मरण गर्ने अवसर पनि हो। यस दिनले नेपाली जनताको सार्वभौमसत्ता, अधिकार र स्वतन्त्रताको रक्षा गर्ने प्रतिबद्धतालाई पुनः स्मरण गराउँछ। देशभर आज सरकारी तथा गैरसरकारी निकायहरूद्वारा प्रभातफेरी, सभासमारोह, अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी लोकतन्त्रको महत्वबारे जनचेतना फैलाउने कार्य भइरहेको छ। वैशाख ११ केवल एउटा मिति होइन—यो जनताको शक्तिले इतिहास मोडिएको दिन हो, जसले नेपाललाई राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रतर्फ डोर्याउने निर्णायक प्रवेशद्वारका रूपमा स्थायी स्थान बनाएको छ।
जुम्लाका तीन स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
जुम्ला । जुम्लाका आठमध्ये तीनवटा स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएका छन् । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने भन्दै यहाँको कनकासुन्दरी, सिञ्जा र तातोपानी गाउँपालिकाले आइतबार पनि नियमित पठनपाठन जारी राख्ने सार्वजनिक सूचनामार्फत जनाएका छन् । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइँका अनुसार, पालिकाभित्रका २९ वटै सामुदायिक विद्यालय वैशाख १५ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउनेछ । सिञ्जा गाउँपालिकाले वैशाख ८ गतेदेखि पालिकाभित्रका सबै विद्यालयमा नियमित पठनपाठन सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । जिल्लाको कनकासुन्दरी गाउँपालिकाले वैशाख ७ गतेदेखि नियमित पठनपाठन सुरु गरेको गाउँपालिकाका कावाध्यक्ष प्रेमकली बुढाको भनाइ छ । नेपाल सरकारले शैक्षिकसत्र २०८३ का लागि वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने निर्णय गरे पनि यहाँका कनकासुन्दरी, सिञ्जा र तातोपानी गाउँपालिकाले भने आफ्नै शैक्षिक क्यालेन्डरअनुसार शैक्षिकसत्र कार्यक्रम सुरु गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १२ गतेको बैठकले शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले गत चैत २६ गते ७७ वटै जिल्लामा सरकारले दिएको निर्देशन पालना गर्न पत्राचार गरेको थियो ।
कस्ताे रहला देशभरकाे माैसम ?
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (वैशाख ११) पनि 'तातो दिन' र 'तातो हावाको लहर'को पूर्वानुमान गरेको छ । विभागका अनुसार, नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ तथा तराई भूभागमा मौसम मुख्यतया सफा छ । आज दिउँसो मधेसलगायत वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा 'तातो दिन' हुने सम्भावना विभागले गरेको छ । त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावाकाे लहरको सम्भावना देखिएको विभागले जनाएको छ । साथै, कोसी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोसी प्रदेशको तराईको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । राति, देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । काठमाडौं, मोरङ र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–११ बबरमहलमा बुधबार राति बा १९ प ४५४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार रामेछापकी ३० वर्षीया सम्झना श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। नरदेवी बस्दै आएकी श्रेष्ठ गम्भीर घाइते भएपछि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा उपचारकै क्रममा उनको निधन भएको हो। दुर्घटनामा मोटरसाइकल चालकसहित अन्य दुई जना घाइते भएका छन्। चालकको उपचार ट्रमा सेन्टरमै भइरहेको छ भने एकजनाको टिचिङ अस्पताल र अर्का एकजनाको केएमसी अस्पताल, सिनामंगलमा उपचार भइरहेको छ। प्रहरीका अनुसार मोटरसाइकलले रोकिराखेको बा ९१ प २६७९ नम्बरको स्कुटरमा ठक्कर दिँदा अनियन्त्रित भई प्र.३–०२–००९ प ३९२८ नम्बरको अर्को मोटरसाइकलमा समेत ठोक्किँदा दुर्घटना भएको हो। यस्तै, मोरङको बुढीगंगा गाउँपालिका–७ सिसवनीमा बुधबार साँझ सिटी सफारीको ठक्करबाट साइकलयात्री ६९ वर्षीय बलराम विश्वासको मृत्यु भएको छ। गम्भीर घाइते भएका विश्वासको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसैगरी, धनुषाको विदेह नगरपालिका–६ एकराही टोलमा बिहीबार बिहान नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६० वर्षीय मौधरी मण्डल खत्वेको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल, जनकपुरमा उपचारका क्रममा निधन भएको हो। घटनापछि फरार मोटरसाइकल र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
भारतीय तीर्थयात्री सवार जीप प्युठानमा दुर्घटना हुँदा एकको मृत्यु, २० जना घाइते
काठमाडौं । प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री सवार एउटा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २० जना घाइते छन् । बिहीबार (वैशाख १०) दिउँसो प्युठान नगरपालिका–४, टाकुरा सडकखण्डमा लु१ज ३१७५ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डीएसपी नरहरि अधिकारीले जानकारी दिए । उक्त जीप प्युठानको भिंग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै थियो । दुर्घटनामा परेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घाइते अधिकांशको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका निम्ति बुटवल पठाइएको छ । जीपमा पाँच बालबालिकासहित सबै भारतीय तीर्थयात्री सवार थिए । जीपका चालक भने नेपाली नागरिक हुन् । उनी पनि घाइते छन् ।
उदयपुरमा २७ किलोग्राम गाँजासहित एकजना पक्राउ
उदयपुर । उदयपुरको बेलका नगरपालिका–७, कोठुबाट २७ किलो गाँजासहित एकजना पक्राउ परेका छन् । सवारी साधनहरू चेकजाँच गर्ने क्रममा अटोमा ल्याउँदै गरेको २७ किलोग्राम लागूऔषध गाँजासहित चालक सोही स्थानका अशोक राईलाई आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी निरञ्जन थापाले जानकारी दिए । उनले भने, ‘पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखी थप अनुसन्धान भइरहेको छ ।’ यता, गएको बुधबार राति बेलका नगरपालिका–१, आम्बासीस्थित रुपनगर–चतारा सडकखण्डमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । सप्तरीको फत्तेपुरबाट पैतालिस चोकतर्फ आउँदै गरेका सवारी साधनहरू चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार चालक आर्जु राई र पछाडि सवार श्यामकुमार कार्कीको साथबाट १५५ मिलिग्राम तौलको ब्राउन सुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो ।
रवि लामिछानेविरुद्ध आरोपपत्र संशोधन विवाद: रिट आज पूर्ण इजलासमा सुनुवाइ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दामा आरोपपत्र संशोधनसम्बन्धी निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ आजका लागि तोकिएको छ। सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर जोडिएको मुद्दामा आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध परेको रिट आज सर्वोच्च अदालत को पूर्ण इजलासमा पेशीमा राखिएको हो। यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासले २०८२ चैत १५ गते आदेश जारी गर्दै उक्त विवादमा गम्भीर संवैधानिक तथा कानुनी व्याख्या आवश्यक देखिएको भन्दै पूर्ण इजलासमा पठाएको थियो। संयुक्त इजलासले ‘थप प्रमाण’को व्याख्यामा अस्पष्टता र गलत अर्थ लाग्ने सम्भावनालाई औँल्याउँदै यस विषयमा विस्तृत व्याख्या आवश्यक रहेको जनाएको छ। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार ‘थप प्रमाण फेला परेमा’ मात्र अभियोग संशोधन गर्न मिल्ने व्यवस्था छ। तर, यस प्रकरणमा प्रतिवादी स्वयंले दिएको निवेदन वा स्वघोषणालाई ‘थप प्रमाण’का रूपमा मान्न मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुनी प्रश्न उठाइएको छ। त्यसैगरी, जिल्ला अदालतको क्षेत्राधिकारभित्र पर्ने विषयमा सर्वोच्च अदालतले हस्तक्षेप गर्न मिल्ने वा नमिल्ने भन्ने प्रश्नसमेत उठेको छ। आरोपपत्र संशोधनको अन्तिम अनुमति दिने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुने भएकाले, जिल्ला अदालतले निर्णय नगर्दै सर्वोच्च अदालतबाट हस्तक्षेप गर्न मिल्छ कि मिल्दैन भन्ने प्राविधिक तथा संवैधानिक विषयमा पनि पूर्ण इजलासले टुंगो लगाउने अपेक्षा गरिएको छ।
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा तातो लहरको चेतावनी
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखा ले हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। यसको असरका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित अन्य हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ। आज दिउँसो देशका हिमाली भूभागमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यसैगरी, मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यका र खोँचहरूमा तापक्रम बढी तातो दिन रहने सम्भावना देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्ने चेतावनीसमेत दिइएको छ। आज राति कोशी प्रदेशको हिमाली तथा पहाडी भूभागसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही पहाडी तथा हिमाली स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कुवेती दिनार एकको ४९० रुपैयाँ ७२ पैसा, अन्य मुद्राको कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंक ले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारण गरिएको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा कायम गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा तोकिएको छ। युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०३ रुपैयाँ १६ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ २० पैसा र बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११० रुपैयाँ ११ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११८ रुपैयाँ १० पैसा कायम गरिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा तोकिएको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २२ रुपैयाँ ०४ पैसा रहेको छ। त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४० रुपैयाँ १० पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४१ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ। केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४ रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ७८ पैसा र बिक्रीदर ४० रुपैयाँ ९४ पैसा कायम गरिएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८ रुपैयाँ ०५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ। यसैगरी स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६ रुपैयाँ ४० पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५४ पैसा र बिक्रीदर २३ रुपैयाँ ६३ पैसा तोकिएको छ। हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा कायम गरिएको छ। कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४९० रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ८९ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३९० रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार यी विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।
सत्तामा बस्दा हामीभित्र धेरै विकृति जमेको थियो, जनताले नुहाईधुवाई गरेर फर्कनु भन्ने सन्देश दिएका हुन् : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू सत्तामा रहँदा गरेका कमजोरी र विकृतिको परिणामस्वरूप जनताले निर्वाचनमार्फत सजाय दिएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले जनताले आफूहरूलाई अस्वीकार नगरेको, बरु सुध्रिने अवसर दिएको उल्लेख गरे। प्रचण्डले सत्तामा रहँदा पार्टीभित्र विभिन्न विकृति र कमजोरीहरू थुप्रिँदै गएको स्वीकार गरे। उनले जनताले घृणा गरेको नभई ती कमजोरीलाई सच्याएर नयाँ ढङ्गले अघि बढ्न चेतावनी दिएको बताए। उनले भने, “अहिले कम्युनिस्ट आन्दोलनले क्षणिक रूपमा धक्का खाएको जस्तो देखिन्छ। तर, यस्ता धक्काबाट हामीले शिक्षा लिनुपर्छ। यी धक्का हाम्रो भित्र जम्मा भएका फोहोरमैला सफा गर्ने अवसर पनि हुन्। सत्तामा बस्दा, कुर्सीमा रहँदा हामीभित्र धेरै विकृति जमेको थियो। जनताले हामीलाई घृणा गरेका होइनन्, नुहाईधुवाई गरेर फर्कनु भन्ने सन्देश दिएका हुन्।” उनका अनुसार हालको राजनीतिक परिस्थितिलाई गम्भीर आत्मसमीक्षा गर्दै सुधारको अवसरका रूपमा लिन आवश्यक छ। यी अनुभवबाट पाठ सिकेर अघि बढ्न सके कम्युनिस्ट आन्दोलन अझ सुदृढ र प्रभावकारी बन्ने उनको विश्वास छ।
अब तलदेखि माथिसम्म युवा तथा गतिशील नेतृत्वलाई अघि बढाउने गरी छलफल भइरहेको छ: प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी असोज महिनाभित्र पार्टीको महाधिवेशन सम्पन्न गर्ने बताएका छन्। नेकपा स्थापना दिवसका अवसरमा बुधबार पेरिसडाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टी एकताको छ महिनाभित्र महाधिवेशन गर्ने लक्ष्य राखिएको र सोहीअनुसार तयारी भइरहेको जानकारी दिए। गत कात्तिक महिनामा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लगायत १० वामपन्थी घटकबीच एकता भई नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो। प्रचण्डले आगामी महाधिवेशनमार्फत पार्टी नेतृत्वमा युवालाई प्राथमिकता दिने स्पष्ट पारे। उनले भने, “अब तलदेखि माथिसम्म युवा तथा गतिशील नेतृत्वलाई अघि बढाउने गरी छलफल भइरहेको छ। पुरानो पुस्ताले पनि आफ्नो अनुभवलाई नयाँ ढङ्गले प्रस्तुत गर्नेछ।” उनका अनुसार पार्टी अहिले आत्ममन्थनको चरणमा रहेको छ। बैठकहरूमा आफ्ना धारणा खुलस्त रूपमा राख्दै पार्टीका कमजोरी सच्याएर पुनर्गठनको प्रक्रिया अघि बढाइएको उनले बताए। “पहिले आफ्नै कमीकमजोरी सुधार गरेर पार्टीलाई पुनर्गठन गर्ने, सकेसम्म असोजभित्र महाधिवेशन सम्पन्न गर्ने र नयाँ ढाँचामा अघि बढ्ने तयारी भइरहेको छ,” उनले भने। प्रचण्डले बदलिएको जटिल राजनीतिक परिस्थितिमा वामपन्थी तथा कम्युनिस्ट आन्दोलनको समग्र रूपान्तरण र पुनर्गठन आवश्यक रहेको उल्लेख गरे। त्यसका लागि देशभर छरिएका विभिन्न कम्युनिस्ट घटकहरूलाई एउटै केन्द्रमा ल्याउने पहल आफूले सुरु गरिसकेको पनि उनले बताए।
ढुङ्गा ढुङ्गामा कोरिँदै मूर्तिकला
मुस्ताङ । घरपझोङ गाउँपालिकाले पन्ध्र दिने घरपझोङ मूर्तिकला कार्यशाला शुभारम्भ गरेको छ । घरपझोङ गाउँपालिकाको आयोजना तथा ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँको सहकार्यमा मूर्तिकला कार्यशाला आयोजना गरिएको हो । मुस्ताङ जिल्लाको समग्र धार्मिक तथा सांस्कृतिक सम्पदा एवं यहाँको मौलिकता, रहनसहन, जैविक विविधतालाई झल्काउने गरी मूर्तिकलामार्फतबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मूर्तिकला कार्यशाला गरिएको हो । कालिगण्डकी नदीमा पाईने विशाल ढुङ्गालाई बाहिर निकालेर मूर्तिकारहरूले यहाँको मौलिकता झल्किने सृजनालाई मूर्तिकलाको स्वरूपमा बदल्ने भएका छन् । कालगण्डकी नदीमा पाइने ढुङ्गालाई छनौट गरी मूर्तिकला कुद्न दर्जनौँ ढुङ्गामा जोमसोममा एकक्रित गरी सङ्कलन गरिएको छ । सीमित स्रोत मात्रै उपलब्ध भएकाले अपेक्षा गरे अनुरुपका ढुङ्गाहरु सङ्कलन गर्न सकिएको छैन । घरपझोङ गाउँपालिकाले सङ्कलन गरी राखेका कालिगण्डकी विशाल ढुङ्गामा विभिन्न प्रकारका मूर्तिहरुको आकृति कोरिने योजना रहेको छ । घरपझोङ मूर्तिकला कार्यशालाका लागि ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा २१ मूर्तिकार र एक दर्जन बढी सहयोगी मूर्तिकार मुस्ताङ आई पुगेर काम सुरु गरिसकेको ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले जानकारी दिए । कालिगण्डकी नदीका ढुङ्गाहरूमा यहाँको जीवन्त मौलिक कलासंस्कृतिलाई मूर्तिकलामार्फत उजागर गरिने प्रमुख महतोले बताए । यहाँको मौलिक पहिचान र कलाकारको सृजनालाई मूर्तिकलाको माध्यमबाट मूर्त रूप दिइने छ । धार्मिक तथा पर्यटकीय जिल्लाको रूपमा रहेको मुस्ताङलाई यहाँको पर्यटन विकासमा योगदान पुग्ने गरी १५ दिने कार्यशालाले ठुलो टेवा पुर्याउन सक्ने प्रमुख महतोको भनाइ छ । घरपझोङ मूर्तिकला कार्यशाला २१ वैशाखसम्म चल्ने छ । ढुङ्गामा कुदिने मूर्तिकलाबाट यहाँको भगवान विष्णुको स्वरुप शालिग्राम, भगवान नारायण,बुद्ध र गुरु पद्मसम्भव अर्थात गुरु रिन्पोर्छे, घरपझोङको पहिचान घरपझोङ किल्लाको आकृति कोरिने बताइएको छ । यसैगरी कालिगण्डकी नदीका ढुङ्गाहरूमा यहाँको धर्मसस्कृति, रहनसहन, हिउँ चितुवा, याकचौरीलगायतका यहाँको पर्यावरणको सम्पूर्ण प्रतिनिधित्व झल्काउने गरी मूर्तिकारहरूले आफ्नो सृजना पस्किने प्रमुख महतोले उल्लेख गर्नुभयो । यहाँको मूर्तिकला कार्यशालामा कार्य अवधिभर २१ ठूला आकारका ढुङ्गामा मूर्तिकला सृजना प्रस्तुत हुनेछन् । यसका अलावा तोकिएको अवधिभन्दा अघि नै ढुङ्गामा मूर्तिकलाको काम सकिएमा थप अरू ढुङ्गाहरूमा क्रमशः मूर्तिकला कुद्ने लक्ष्य राखिएको छ । घरपझोङ मूर्तिकला कार्यशालाले मुस्ताङको पर्यटन प्रवर्द्धनमा ठुलो योगदान पुर्याउने गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए । मुस्ताङको कालिगण्डकी नदीमा पाइने सबै ढुङ्गाहरु स्वतः शालिग्राम रहेको उल्लेख गर्दै अध्यक्ष लालचनले पर्यटकहरूको घुमफिर गर्ने बसाइ लम्बाउने उद्देश्यले मूर्तिकला कार्यशाला चलाइएको बताए । मुस्ताङमा अधिकांश धार्मिक पर्यटक हिन्दू धर्मालम्बीको रहेकाले यहाँको पवित्र ढुङ्गा (शीला) मा हिन्दू तथा बौद्ध धर्मको समान अस्तित्व रहने गरी मूर्तिकारले आफ्ना सृजना कोर्ने कार्यक्रम रहेको छ । कोरला नाका, उपल्लो मुस्ताङ र मुक्तिनाथ दर्शन गरी फर्किने पर्यटकहरू सिधै गन्तव्यतर्फ प्रस्थान गर्ने भएकाले मूर्तिकलाको प्रस्तुतिले पर्यटकहरूको बसाइ लम्बाउन सहयोग पुग्ने विश्वास गरिएको छ । घरभफोङ गाउँपालिका कार्यालय नजिकैको खुला प्राङ्गणमा मूर्तिकला सुरु गरिएको छ । यसका लागि घरपझोङ गाउँपालिकाले ढुङ्गा र विद्युत् व्यवस्थापन मिलाएको छ । काठमाडौँकी मूर्तिकार अनमारी तामाङले मुस्ताङको उच्च उचाइको स्थानमा पहिलो पटक मूर्तिकला प्रस्तुत गर्न आइपुगेको जानकारी दिइन् । तराई र पहाडका क्षेत्रमा मूर्तिकला कोर्ने अनुभवभन्दा यहाँको मूर्तिकला अनुभव केही फरक रहेको बताइन् । यहाँको हावाहुरी र चिसोका कारण मूर्तिकला कुद्न केही असहज हुने मूर्तिकार तामाङले उल्लेख गरिन् । घरपझोङ मूर्तिकला कार्यशालामा कोरिएका ढुङ्गालाई जोमसोम बजारको कालीगण्डकी नदीको दायाँबायाँ किनारामा पार्क निर्माण गरी प्रतिस्थापन गर्ने जनाइएको छ । सोमबारदेखि सुरु गरिएको मूर्तिकला कार्यशालामा अहिले मूर्तिकारहरूले यहाँको ढुङ्गाहरुको अध्ययन गर्ने र मूर्तिकलाका लागि सेफ तयार गर्ने लगायतका काम गरेको बताइएको छ । ढुङ्गामा कोरिएका मूर्तिकलाबाट समग्र मुस्ताङ जिल्लाको पहिचानलाई झल्काउने कार्यशालाको मूल उद्देश्य रहेको छ ।
झापामा सवारी दुर्घटना : एकजनाको मृत्यु, ६ जना घाइते
झापा । झापाको कनकाई नगरपालिका-३ नयाँबस्तीमा मंगलबार दिउँसो भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–३ की ६८ वर्षीया मन्जुधरी ढकाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्व–पश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुंगातर्फ जाँदै गरेको प्र १–०१–००१ ह८२५२ नम्बरको अटो अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको मे ५ प ६६२० नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना हुँदा ढकालसहित सातजना घाइते भएका थिए । घाइते सबैलाई बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका लागि लगिएकोमा ढकालको अपराह्न ४:३५ बजे मृत्यु भएको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । घाइते हुनेहरूमा हल्दिवारी–३ का ५७ वर्षीय जीवन ढकाल, ५० वर्षीया हरिमाया ढकाल, ३५ वर्षीया भिमा ढकाल र १३ वर्षीय रोजन ढकाल रहेका छन् । यस्तै, अटोमै सवार १३ वर्षीय प्रदीप नेपाल र मोरङ मिक्लाजुङ–६ का ३७ वर्षीय मोटरसाइकल चालक चन्द्रबहादुर खत्री घाइते भएका छन् । चालक र सवारी नियन्त्रणमा इलाका प्रहरी कार्यालय सुरुंगाको टोलीले अटो, मोटरसाइकल र अटो चालक हल्दिवारी–३ बस्ने ४६ वर्षीय खेमराज गौतमलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

