गण्डकीमा चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद्‌मा जिम्मेवारी बाँडफाट गरेका छन्।

उनले चैत २५ गते बिनाविभागीय मन्त्री बनाएका माओवादी केन्द्रमा हरिबहादुर चुमान अर्थ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक योजना मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

शनिबार बिहान बसेको गण्डकी मन्त्रिपरिषद्‌को बैठकले यो निर्णय गरेको हो । 

शुक्रबारलाई डाकिएको संसद बैठक कांग्रेसले बहिष्कार गरेपछि मुख्यमन्त्री अधिकारीले यो निर्णय लिएका हुन् ।

सभामुख कृष्ण धिताललाई समेत जोडेर बहुमत पुर्‍याएका मुख्यमन्त्रीको नियुक्ति नै अवैधानिक भएको भन्दै कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । 

हाललाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न भनेको सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीविरुद्धको मुद्दा सुनुवाइ गर्ने यही वैशाख १० गतेलाई पेसी तोकेको छ ।

भारतले रोक्यो नेपाली चियाको निर्यात, नेपाली उद्यमीलाई के पर्छ असर ?

झापा। भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ। नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया आज भारतले रोकेको हो ।  चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिए। मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताए।  भारतीय नाकामा नेपाली चिया रोकिएको जानकारी आएपछि पानीटङ्कीस्थल भन्सार कार्यालयका समकक्षीसँग आज भेटेर समस्या समाधानका लागि आग्रह गरेको भन्सार प्रमुख रेग्मीले बताए। मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईले नेपाली चियाको निर्यात रोक्न भारत सरकारले गुणस्तर परीक्षणको नयाँ बखेडा झिकेको प्रतिक्रिया दिए। तत्काल यसको समाधान नखोजिए नेपाली चिया उद्योग सङ्कटमा फस्ने उनको भनाइ छ । चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि अग्रवालका अनुसार पानीटङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयले हरेक ट्रकमा नेपाली चियाको अलग–अलग गुणस्तर परीक्षण गरिनुपर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको हो । “यसअघि एउटा कम्पनीले एउटा नमूनाको गुणस्तर जाँचपास गराएको ‘रिपोर्ट’ले १५ दिनसम्म चिया निर्यात गर्दा पनि मान्यता पाउँथ्यो,” व्यवसायी अग्रवालले भने, “अहिले पानीटङ्कीको भारतीय भन्सारले हरेक गाडीको छुट्टाछुट्टै नमूनाको गुणस्तर जाँचपास रिपोर्ट ल्याउनुपर्ने अड्को थापेको छ ।” पानीटङ्की भन्सारमा गोदामको सुविधा नभएकाले नेपालबाट चिया ‘लोड’ भएर गएका १७ वटा ट्रक खुला सडकमा अलपत्र परेको उनले बताए। त्रिपालले छोपेर सडकमा अलपत्र अवस्थामा चिया राखिएको ट्रकमा राति चोरी  हुनसक्ने जोखिम छ । अलपत्र ट्रकहरुमध्ये नेपाल चिया विकास निगमको छवटा ट्रक छन् भने अन्य सामान हिमालयन रेञ्जलगायत चिया उद्योगका हुन् । सिटिसी र अर्थोडक्स गरी दुवै प्रकारका चिया भारत निर्यात हुँदैआएको छ। नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ। निर्यात हुने चियाको ९२ प्रतिशत काँकडभिट्टा नाका भएर भारत जाने गरेको छ। चिया व्यवसायीका अनुसार भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिएको छैन ।  भारतको पानीटङ्की भन्सारमा समेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन । भारतको कोलकाता, दिल्ली, पटनालगायत स्थानका प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई भारतीय भन्सारले मान्यता दिने हुँदा यसबाट नेपाली चिया निर्यातमा संलग्न व्यवसायीले झन्झट भोग्दैआएका छन् । रासस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौं।नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबार(आज)देखि सुरु हुँदैछ। बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्य, आयोजक र परिषद् सदस्य गरी दुई हजार ४५४ जना सहभागी हुनेछन्।  पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले परिषद् बैठकको औचित्यबारे जानकारी गराए। उनले बैठकबाट पार्टीको समग्र कामको समीक्षा र आगामी कामको दिशानिर्देश लिइने बताए।  आगामी दिनमा पार्टीलाई विकसित एमालेका रूपमा अघि बढाउन स्पष्ट मार्गनिर्देश गर्नका साथै राष्ट्रिय राजनीतिलाई पनि सही दिशामा अघि बढाउन परिषद् बैठक महत्त्वपूर्ण हुने उनको भनाई थियो । बैठकमा ६ वटा प्रतिवेदनमाथि छलफल हुनेछ । परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यो बाहेक केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् । ती सबै दस्ताबेज मोबाइल एपबाट सहभागीहरूले अध्ययन गर्न सक्नेछन् । बैठकमा एमालेले २०८० मा चलाएको मिसन ग्रासरुट र झुलाघाट चिवाभन्ज्याङ संकल्पयात्राको समीक्षा समेत गर्ने बताइएको छ।त्यसैगरी पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजन अनसारको कामको मुल्याङ्कन समेत बैठकमा हुनेछ ।  दुई राष्ट्रिय महाधिवेशनको बिचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने एमालेको विधानमा उल्लेख छ । एमालेको महाधिवेशन २०७८ साल मङ्सिरमा सम्पन्न भएको थियो । पाँच पाँच वर्षमा हुने एमाले महाधिवेशन आउन अव २ वर्षमात्र बाँकी छ ।

परासीको पाल्हीनन्दनमा आगलागी हुँदा जले १० घर

परासी । पश्चिमनवलपरासीको पडरी गाउँमा आगलागी भएको छ । पाल्हीनन्दन गाउँपालिका–६ स्थित पडरी गाउँमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका हुन् । आगलागीमा ८ वटा बाख्रा पनि मरेको परासीका डिएसपी रेशम बोहोराले जानकारी दिएका छन्।आगलागीबाट मानवीय क्षति भने नभएको र अन्य क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दिउँसो ४ बजेतिर लागेको आगो प्रहरी, नेपाली सेना, स्थानीय, रामग्राम र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा साँझ पौने ६ बजेतिर नियन्त्रणमा आएको थियो । गर्मी लागेसँगै पछिल्लो समय आगलागीका घटना बढेको छ ।

पाँचवटा प्रदेशका केही भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहे पनि भारी वर्षाको सम्भावना भने नभएकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ।                                               पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।  कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना छ। विभागले राति कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।  

विद्युत प्राधिकरण तम्घास शाखा कार्यालयमा आगलागी

काठमाडौं । तम्घासमा रहेको विद्युत प्राधिकरणको शाखा कार्यालयमा आगलागी भएको छ ।विद्युत प्राधिकरणको सव स्टेसन र गोदाममा आगलागी भएको हो। गुल्मी जिल्लाको तम्घास नजिकै रहेको सल्लाघारीको जंगलमा लागेको डडेलो विद्युत प्राधिकरणको जिल्ला कार्यायलमा पसेको हो । अहिलेसम्म क्षतीको विवरण आएको छैन्।  आगो भने भखर्रै निणन्त्रणमा आएको प्राधिकरणका कर्मचारी विष्णु न्यौपानेले जानकारी दिए।आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी लगायत स्थानीय समेत जुटेका थिए ।

'४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो'

काठमाडौँ । सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनलाई रुपन्देही अदालतले ४ लाख धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार अदालतले धरौटीमा रिहा गर्न  आदेश दिएपनि दीपेश भने कारागार चलान भएका छन् ।दीपेश पुनलाई साथी एंव ज्वाँइ भन्दै मनोज घर्तिले अर्ब ठगीको आरोप लागेको भए पनि आफुहरुसँग ४ लाख तिर्नसक्ने पैसा नभएका कारण खुल्ला आकाशमा स्वागत गर्न नसकेको बताएका छन् । मनोजले यस्तो लखेका छन् मेरो बाल्यकालको साथी, नाताले जेठान, जनक्रान्तिका सहयोद्धा दीपेश पुनलाई हामीले रुपन्देही जिल्ला अदालतबाट कारागारतर्फ बिदा गर्यौँ। उहाँलाई सुप्रिप सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले चार लाख धरौटी माग गर्‍यो। हामीले उक्त रकम जुटाउन सकेनौँ। आरोप अर्ब ठगी, धरौटी माग चार लाख, हामी त्यो पनि तिर्न सकेनौँ। एक साथी, आफन्तको नाताले पश्चात्ताप पनि लागिरहेको छ। कसैले पत्याए भने हामी ऋण, सापट गरेर धरौटी बुझाउने छौँ । र, खुल्ला आकाशमा स्वागत गर्नेछौँ ।

आन्दोलनमा भएको क्षतिको जरिवाना तिर्न राप्रपालाई महानगरको पत्र

काठमाडौं । आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएको दाबी गर्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई जरिवाना तिर्न पत्र पठाएको छ । शुक्रबार राप्रपाको कार्यालय धुम्बाराहीमा पत्र पठाइएको काठमाडौं महानगरपालिका स्रोतले जानकारी दिएको हो । जसमा ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले मर्मत गर्न लाग्ने शुल्क रु.२२२ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम रु.५ हजार जरिवाना तिराउने निर्णय भएको भन्दै महानगरले पत्र पठाएको छ । २७ चैतमा राप्रपाको प्रदर्शनबाट ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम २२२ रुपैयाँ मर्मत सम्भारका लागि तिराउने निर्णय भएको महानगरपालिका स्रोतले जनायो। पत्रमा महानगरपालिकाले एनआईसी एसिया बैंकमा रहेको खातामा रकम दाखिला गर्न भन्दै खाता नम्बर समेत उल्लेख गरेको छ।

पेमेन्ट गेटवे खरिद प्रकरण सुनिल पौडेल दोषी ठहर

काठमाडौँ ।विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन उपनिर्देशक एवं कार्यकारी निर्देशक सुनिल पौडेललाई दोषी ठहर गरेको छ । नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार गरेको भन्दै उनलाई शुक्रबार दोषी ठहर गरेको हो भने सोही प्रकरणमा आठ जनाले भने सफाइ पाएका छन् ।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रष्ठको संयुक्त इजलासले पौडेललाई दोषी ठहर गरेको हो। उनको सजाय निर्धारणको लागि वैशाख २५ गतेका लागि पेसी तोकिएको छ। 

पेमेन्ट गेटवे प्रकरण : सचिव मधु मरासिनीलाई सफाइ

काठमाडौं। पेमेन्ट गेटवे प्रकरणमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीले विशेष अदालतबाट सफाइ पाएका छन् ।  शुक्रबार अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सचिव मरासिनीसहित ८ जनालाई सफाइ दिएको हो। अदालतले उक्त प्रकरणमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गरेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोजमा सचिव मरासिनीसहित ९ जनामाथि भ्रष्टाचार मुद्दा चलाएको थियो । अख्तियारले मरासिनीसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकहरू सञ्जय शर्मा, प्रणिता उपाध्याय र सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठलाई समेत मुद्दा चलाएको थियो । त्यस्तै रमेश पोखरेल, रामबहादुर बुढा, रामशरण गायक, नीमबहादुर ओलीविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

नेसपाले बझाङको उपनिर्वाचनमा भोट नहाल्ने

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले बझाङमा हुने प्रदेश सभाको निर्वाचनमा भोट नहाल्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले १५ वैशाखमा हुने उपनिर्वाचनमा बझाङ प्रदेश सभा क्षेत्र नं १ को हकमा ‘राइट टू नो भोट’को नीति अपनाउँदै भोट नहाल्ने निर्णय गरेको हो । नेसपाले यसअघि इलाम–२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा पहिचान पक्षधरलाई समर्थन गर्ने निर्णय गरेको थियो । बैठकले मुद्दा मिल्ने शक्तिहरूसँग राजनीतिक संवाद र सहकार्य गर्नको लागि पार्टी प्रवक्ता कृष्ण शर्मा, सोनामसिं स्याङतान र मानुषी यमी भट्टराई रहेको राजनीतिक संवाद समिति गठन पनि गरेको छ । सचिवालय बैठकले आगामी भदौसम्म पार्टी महाधिवेशन तयारीका लागि संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

गण्डकीको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा । गण्डकी प्रदेशको प्रदेश सभा बैठक स्थगित भएको छ । राष्ट्रियगानको धुन सुनाएर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।  कांग्रेस र राप्रपाका सांसदले सभा बैठक बहिस्कार गरेका थिए । बैठकमा राष्ट्रियगानको धुनसँगै सहिदप्रति एक मिनेट मौन धारण गरिएको छ भने प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए । आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन गर्ने विधेयक टेबुल गर्ने कार्यसूची थियो ।  कांग्रेसले औपचारिक रुपमै बैठकमा सहभागी नहुने जानकारी गराएको थियो भने राप्रपाले विना जानकारी अनुपस्थित भएको हो ।

अवैध लागूऔषध सहित स्याङ्जामा २ जना पक्राउ

स्याङ्जा । अवैध लागूऔषध सहित स्याङ्जामा २ जना पक्राउ परेका छन् ।  स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ११ सुम्रेखोलामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले संकास्पद अवस्थामा फेला पारी चेकजांच गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रबक्ता प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।  उनका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको भिरकोट नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३२ का अनिल क्षेत्री र सोही ठाउँका २२ वर्षका शिव दर्जी रहेका छन् ।  उनीहरुको साथबाट नुर्फिन १४ एम्पुल ,फेनरागन  १२ एम्पुल ,डाईजेपाम १३ एम्पुल  गरी जम्मा ३९ एम्पुल बरामद भएको प्रहरीको भनाई छ । उनीहरुलाई आजै स्याङ्जा जिल्ला अदालतबाट दिन १० को म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रबक्ता रानाले जानकारी दिए ।

कोशीका मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन सुझाव

विराटनगर । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश सभा संसदीय दलका नेता राजेन्द्रकुमार राईले सरकार अल्पमतमा सञ्चालन हुन नसक्ने बताएका छन्। उनले उपधारा ५ बाट बनेको सरकार अजम्मरी पनि नहुने बताए। प्रदेश सभामा प्रस्तुत सङ्कल्प प्रस्तावमाथिको छलफलका क्रममा उनले सरकार अजम्मरी नहुने कुरा यसअघि नै मुख्यमन्त्रीलाई जानकारी गराएको बताउँदैसरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनैपर्ने जिकिर गरे । ‘संविधानको धारा १८३ को उपधारा (३) बमोजिमको अधिवेशनको दोस्रो बैठकको सङ्कल्प प्रस्तावमाथिको छलफलमा सरकार हट्ने कि रहने भन्ने मूल छलफलको विषय रहेकाले सरकार हट्दा पनि कानून सङ्गत र बस्दा पनि कानूनसम्मत रूपमा प्रक्रिया पुर्‍याएर हुनुपर्छ’, दलका नेता राईले भने। उनले मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन कसरत गर्न सुझाव दिए। उनले भने, ‘३० दिनभित्र विश्वासको मत लिन कोसिस गर्नुस्, सक्नुभएन भने मार्ग प्रशस्त गर्नुस् । मुद्दामामिलातिर नलाग्नुस् ।

कोशीका मुख्यमन्त्री कार्कीले भने -'मेरै नेतृत्वमा सर्वदलीय सरकार बनाऔं'

विराटनगर ।कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू पार्टीको लेटरप्याड र झण्डामा मुख्यमन्त्री नबनेको बताएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा संकल्प प्रस्तावमाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उनले आफूले ‘रिस्क’ लिएकै कारण कोसी प्रदेशमा संवैधानिक संकट टरेको दाबी समेत गरेका छन्। संविधानको धाराअनुसार सरकार चल्ने र आफू त्यसभन्दा पर नजाने कार्कीले बताए। “म मुख्यमन्त्री बन्दा मेरो पार्टीको बहुमत फरक थियो । एक तिहाइले मात्र सही गरेको हो । एकबाट ८ र ८ बाट ४७ अनि त्यो बढेर ८६ भएको हो । मलाई मुख्यमन्त्री बनाउँदा र समर्थन दिँदा बहुमत खोजिएन । सिंगो १६८ को उपधारा ५ को व्याख्या गरियो । राजीनिक स्थिरताको लागि प्रदेशको संरचना बढाउन सर्वसम्मतिको सर्वदलीय सरकार बनाऔं”, मुख्यमन्त्री कार्कीले भने । आफूलाई मध्यावधि रोक्नकै निम्ति मुख्यमन्त्री प्रस्ताव गरिएको र त्यही विषयमा अहिले सदनमा छलफल गर्नु उपयुक्त नभएको जिकिर कार्कीले गरेका छन्।   

८५० ग्राम सुन सहित त्रिभुवन विमानस्थलबाट भारतीय महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ । शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो । उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर साथमा राखेकी थिइन् ।