ओखलढुंगामा स्वतन्त्र उम्मेदवारी फिर्ता, नेपाली कम्युनिष्ट पार्टीका गुरुङलाई समर्थन
ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुङ्गाबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सन्त तामाङले उम्मेदवारी फिर्ता लिएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार अमिरबाबु गुरुङलाई समर्थन गरेका छन् ।
नेकपाभित्र टिकटको दाबेदार रहेका तामाङ एमालेबाट विद्रोह गरेर नेकपामा प्रवेश गरेका गुरुङलाई टिकट दिएपछि असन्तुष्ट बनेका थिए र स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर पछि गुरुङले यसअघि जनप्रतिनिधि तथा मन्त्री हुँदाको कामबाट प्रभावित भएर जिल्लाको विकासका लागि गुरुङको योगदान महत्वपूर्ण हुने विश्वास गर्दै उम्मेदवारी फिर्ता लिएको तामाङले बताएका छन् ।
उनले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी फिर्ताको निवेदन पेस गरिसकेका छन् । यसले ओखलढुङ्गाको चुनावी मैदानमा नेकपा उम्मेदवार गुरुङको स्थिति बलियो बनाएको छ ।
सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी
भादगाउँ । भक्तपुरकाे मध्यपुरथिमि–२ स्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबिच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो । आपसमा झडप भएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोलीले सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । प्रहरी टोलीलाई झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेको थियो स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए । मध्यरातमा भक्तपुर र काठमाडौँका वारुणयन्त्रले आगो निभाएका थिए । सुधारगृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ । उक्त गृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् । अहिले स्थिति नियन्त्रणमा आएको भए पनि त्यहाँ बाक्लो सङ्ख्यामा उपस्थित सुरक्षाकर्मीले निगरानी गरिरहेका छन् ।
बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस्तित्व संकटमा परेको छ । वर्षौँदेखि चलिआएको सीमा विवादका कारण तालको संरक्षण हुन नसक्दा यो प्राकृतिक सम्पदा अतिक्रमणको चपेटामा परेको हो । कुनै समय २२ बिगाहा क्षेत्रफलमा फैलिएको यो विशाल ताल अहिले करिब पाँच बिगाहामा मात्र सीमित भएको छ । संरक्षणको अभावमा तालको ठुलो हिस्सा पुरिँदै गएको छ भने बाँकी भागमा मानवीय अतिक्रमण तीव्र बनेको छ । स्थानीय लालसिंह बोहराका अनुसार ताल कुन पालिकाको भूगोलमा पर्छ भन्ने प्राविधिक टुङ्गो नलाग्दा ताल संरक्षणमा अवरोध सृजना भएको छ । ताल कृष्णपुर नगरपालिका–२ मा पर्छ कि लालझाडी गाउँपालिका–५ मा भन्नेमा दुवै पालिकाको आ–आफ्नै दाबी छ रहँदै आएको स्थनाीयको भनाई छ । स्वामित्वका लागि छिनाझपटी गर्ने तर संरक्षणमा सिन्को नभाँच्ने प्रवृत्तिका कारण तालको अस्तित्व नै मेटिन लागेको छ स्थानीयको गुनासो छ । तालको पूर्वतर्फको जग्गामा ५० भन्दा बढी परिवार बसोबास गरिरहेका छन् । अतिक्रमण गरिएको तालको जग्गामा खेतीपातीको कार्य गरिदै आएको छ । विसं २०५४ साल पछि ताल वरिपरि बस्ती बाक्लिँदै जाँदा अतिक्रमणको श्रृङखला सुरु भएको स्थानीयको भनाइ छ । स्थानीय गोपालसिंह महराका अनुसार तालको जग्गा मिचेर खेती गर्ने क्रम बढेपछि ताल पुरिने कार्य तीव्र भएको छ । “पहिले यो ताल निकै गहिरो र सफा थियो, अहिले त खेतजस्तै देखिन थालेको छ”, महराले दुःख व्यक्त गरे । तालको क्षेत्रफल घट्दै जाँदा यसले आसपासको भूमिगत जलस्तरमा समेत नकारात्मक प्रभाव पारेको छ । प्राकृतिक तालको विनाशसँगै यहाँको जैविक विविधता पनि लोप हुने अवस्थामा पुगेको छ । सिमसार क्षेत्रमा आश्रित जलपक्षी र अन्य जीवजन्तुको वासस्थान संकटमा परेको छ । स्थानीय भजनी रानाका अनुसार केही वर्ष अघिसम्म हिउँदको समयमा तालमा देखिने गरेका विभिन्न प्रजातिका चराचुरुङ्गीहरू अहिले बस्तीका कारण देखिन छाडेका छन् । पानीको स्रोत सुक्दै जाँदा ताल वरपरको पारिस्थितिक प्रणाली नै खलबलिन पुगेको छ । देश संघीय संरचनामा जानुअघि तत्कालीन जिल्ला विकास समिति कञ्चनपुरले यो ताललाई ठेक्कामा लगाएर आम्दानी गर्दै आएको थियो । प्राकृतिक स्रोतहरू स्थानीय तहको मातहतमा आएपछि दुवै पालिकाले यसलाई आफ्नो आयस्रोत को माध्यम बनाउन खोजे पनि जिम्मेवारी लिन भने आनाकानी गरिरहेका छन् । सीमा विवाद सुल्झाउन जिल्ला समन्वय समिति कञ्चनपुरले पटक–पटक पहल गरे पनि ठोस उपलब्धि हुन सकेको छैन । जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराका अनुसार दुवै पालिकाका जनप्रतिनिधिहरूसँग पटक–पटक बैठक बसे पनि कार्यान्वयनको पक्ष फितलो देखिएको छ । “दुवै कार्यपालिकाबाट प्रतिनिधि तोकेर जग्गा नापजाँच गर्ने र विवाद टुङ्ग्याउने सहमति गराएका थियौँ,” प्रमुख बोहराले भने, “तर सहमतिमा हस्ताक्षर गर्ने तर कार्यान्वयन नगर्ने परिपाटीले गडविजुला ताल सङ्कटमा परेको छ ।” कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले गाउँ विकास समिति हुदा देखिनै गडविजुला ताल क्षेत्र नगरपालिकाको स्वामित्वमा रहँदै आएको बताए । “पहिले त्यस क्षेत्रमा वन क्षेत्र थियो, मानवीय बसोबास थिएन,” उनले भने, “आरक्ष विस्थापितको बस्ती ताल वरपर बसेपछि लालझाडी गाउँपालिकाले आधा ताल हाम्रो हो भनेर दाबी गर्न थालेपछि विवाद देखिएको छ ।” तालमा दुवै पालिकाले दाबी रहेपछि नापी विभागबाट नापी टोली बोलाएर सीमा यकिन गरी समस्या समाधान गर्ने सहमति भएको उनले बताए । क्षेत्रफलका हिसाबले ठुलो र प्राकृतिक रूपमा सुन्दर गडविजुला ताललाई संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके दुवै पालिकाका लागि यो ठुलो आम्दानीको स्रोत बन्न सक्थ्यो । ताललाई पुनर्जीवन दिन सके कञ्चनपुरको पर्यटनमा नयाँ आयाम थपिने स्थानीयको विश्वास छ । वर्तमान अवस्थामा यो ताल केवल दुई पालिकाको सीमा विवादको शिकार बनेको छ । यदि समयमै प्राविधिक टोलीमार्फत सिमाना रेखाङ्कन गरी अतिक्रमण नहटाउने हो भने केही वर्षभित्रै गडविजुला ताल केवल नक्सामा मात्र सीमित हुने देखिएको छ ।
एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो
काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ । कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाई गर्नुपर्ने केन्द्रले जनाएको छ । त्यसैगरी, कुल ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भएको छ । पछिल्लो २४ घण्टामा मात्र एक हजार २२६ बाकस प्याकिङ भइसकेको केन्द्रले जनाएको छ । केन्द्रले एक करोड ९८ हजार २०० थान नमुना मतपत्र आयोगमा पठाएको छ ।
शून्य लागतमा ८ सय श्रमिक मलेसिया जाँदै
काठमाडौं । मलेसियाको विस्ट्रोन टेक्नोलोजी एसडिएनबिएचडी नामक बहुराष्ट्रिय कम्पनीले नेपालबाट शून्य लागतमा आठ सय श्रमिक लैजाने भएको छ । आकर्षण इन्टरनेसनल र लालधनुष इन्टरनेसनल सर्भिसेज प्रालिमार्फत छ सय महिला र दुई सय पुरुष गरी आठ सय नेपाली श्रमिकलाई न्यायोचित भर्ती प्रणालीअनुसार रोजगारीमा लैजान लागिएको हो । कम्पनीले राहदानी, श्रम स्वीकृति, आवत–जावत टिकट, स्वास्थ्य परीक्षण, बिमा, सामाजिक सुरक्षा तथा पूर्वप्रस्थान अभिमुखीकरण तालिमलगायत सम्पूर्ण खर्च व्यहोर्ने आकर्षण इन्टरनेसनलका सञ्चालक विष्णु केसीले जानकारी दिए । उनका अनुसार प्रतिश्रमिक करिब एक लाख २० हजार रुपियाँ बराबरको खर्च कम्पनीले नै वहन गर्दै आएको छ । सन् २०१८ मा नेपाल र मलेसियाबीच श्रम सम्झौता भएपछि उत्पादन, सेवा र अन्य क्षेत्रमा नेपाली श्रमिक वैधानिक रूपमा रोजगारीमा जाने क्रम बढ्दै आएको छ । शून्य लागत प्रणालीमार्फत विदेश गएका श्रमिकले ऋण नलिई काम गर्न पाउने र औपचारिक माध्यमबाट विप्रेषण पठाउन सक्ने केसीको भनाइ छ । मलेसियामा हाल न्यूनतम तलब एक हजार सात सय रिङ्गिट रहेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीका अनुसार हाल करिब १० प्रतिशत नेपाली श्रमिक शून्य लागतमा विदेश गइरहेका छन् । श्रमविज्ञ रामेश्वर नेपालले बहुराष्ट्रिय कम्पनीमा श्रमिकको कार्यस्थल, सेवा सुविधा र सुरक्षा तुलनात्मक रूपमा राम्रो हुने बताए ।
आजकाे माैसम: कर्णाली र सुदूरपश्चिममा वर्षासँगै हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा शुक्रबार मौसममा बदली हुने पूर्वानुमान गरेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । तराईका अधिकांश भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहने पूर्वानुमान छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका साथै गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । यसैगरी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम हिमपात हुने सम्भावना छ । साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमी परिवर्तनका प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवाका साथै हवाई तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४६ रूपियाँ ३२ पैसा र बिक्रीदर १४६ रूपियाँ ९२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रूपियाँ १७ पैसा र बिक्रीदर १७१ रूपियाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपियाँ ३२ पैसा र बिक्रीदर १९७ रूपियाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८४ रूपियाँ ४६ पैसा र बिक्रीदर १८५ रूपियाँ २१ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९९ रूपियाँ ५३ पैसा र बिक्रीदर ९९ रूपियाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपियाँ ८४ पैसा र बिक्रीदर १०६ रूपियाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रूपियाँ ९८ पैसा र बिक्रीदर ११४ रूपियाँ ४५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रूपियाँ २२ पैसा र बिक्रीदर नौ रूपियाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपियाँ ९८ पैसा र बिक्रीदर २१ रूपियाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रूपियाँ ०२ पैसा र बिक्रीदर ३९ रूपियाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ४० रूपियाँ १५ पैसा र बिक्रीदर ४० रूपियाँ ३१ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपियाँ ६७ पैसा र बिक्रीदर चार रूपियाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपियाँ ८४ पैसा र बिक्रीदर ४० रूपियाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपियाँ २२ पैसा र बिक्रीदर ३६ रूपियाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपियाँ ९७ पैसा र बिक्रीदर १० रूपियाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपियाँ १५ पैसा र बिक्रीदर १६ रूपियाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपियाँ ९२ पैसा र बिक्रीदर २३ रूपियाँ ०१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपियाँ ७६ पैसा र बिक्रीदर १८ रूपियाँ ८४ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रूपियाँ ७२ पैसा र बिक्रीदर ४८० रूपियाँ ६८ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रूपियाँ ०९ पैसा र बिक्रीदर ३८९ रूपियाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रूपियाँ ०८ पैसा र बिक्रीदर ३८१ रूपियाँ ६४ पैसा रहेको छ । यस्तै, भारतीय रूपियाँ एक सयको खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले शुक्रबार दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । यस्तै आजै दिनको १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगका अनुसार अपराह्न ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो । त्यस दिन बिहान १० देखि दिउँसो ३ बजेसम्मका लागि समय तोकिएको छ । सोही दिन दिउँसो ३ बजेदेखि बिहीबार बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो । कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन् ।
यी हुन् नेपाली कम्युनिष्ट पार्टीको प्रत्यक्षतर्फका १३ महिला उम्मेदवार
काठमाडौं — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ विभिन्न १३ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार उठाएको छ। पार्टीले देशका विभिन्न क्षेत्रबाट महिलाहरूलाई उम्मेदवार बनाएर लैङ्गिक समावेशीतर्फको सन्देश दिएको छ। उम्मेदवारहरूको सूची यस प्रकार छ : झापा २ : धर्म शिला चापागाईँ संखुवासभा १ : सरिता खड्का थापा सुनसरी २ : रामकुमारी चौधरी रौतहट ३ : पूनम देवी काठमाडौं १ : मेनका भण्डारी काठमाडौं ५ : कल्पना शर्मा काठमाडौं १० : रुपा महर्जन चितवन ३ : रेनु दाहाल मनाङ १ : यशोदा सुवेदी गुरुङ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ : डा. सिन्धु जलेसा कञ्चनपुर १ : विना मगर सप्तरी ४ : रुबी कुमारी कर्ण काभ्रे २ : वसुन्धरा हुमागाईँ
जेनजी आन्दोलनका घटना छानबिन आयोगको म्याद २० दिन थप
काठमाडौं — मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद २० दिन थप्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले यो जानकारी दिएका हुन्। यो आयोगको म्याद दोस्रोपटक थपिएको हो। यसअघि पुस ३ गते एक महिना थपिएको थियो। सरकारले गत असोज ५ गते आन्दोलनमा भएको बलप्रयोगलगायत घटनाको छानबिन गर्न तीन सदस्यीय आयोग गठन गरेको थियो।
गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी
काठमाडौं — मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ। यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रतिनिधिसभा चुनावका लागि राजीनामा दिएपछि यो पद रिक्त भएको थियो। खरेल ललितपुर-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बनेका छन्।
आज कति अमेरिकी डलरको मूल्य ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७२ रुपैयाँ २१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ४० पैसा र बिक्रीदर १९२ रुपैयाँ २१ पैसा, स्विस फ्रयांक एकको खरिददर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७० पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३४ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ११ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ३ पैसा र बिक्रीदर २१ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५ पैसा र बिक्रीदर ३९ रुपैयाँ २१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ६ पैसा र बिक्रीदर ४० रुपैयाँ २२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७३ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ३ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ७ पैसा र बिक्रीदर १६ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१२ रुपैयाँ ९६ पैसा र बिक्रीदर २३ रुपैयाँ ०५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, कुवेती दिनार एकको खरिददर ४७९ रुपैयाँ २० पैसा र बिक्रीदर ४८१ रुपैयाँ १७ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ९५ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ८९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना हुँदै
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणनाको तयारी गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । बाघको गणनाका लागि पाँचवटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीनवटा ‘कम्प्लेक्स’ बनाइएको छ । हाल चितवन–पर्सा कम्प्लेक्स तथा बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघ गणना भइरहेको छ । यहाँ गणना सकिएपछि तेस्रो कम्प्लेक्समा रहेको शुक्लाफाँटामा सुरु हुने निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । त्यसका लागि निकुञ्ज कार्यालयको जनशक्ति तयारी अवस्थामा रहेको उनले बताए । सूचना अधिकार वाग्लेले भने, “बाघ गणनाका लागि निकुञ्जका तर्फबाट सबै तयारी पूरा भइसकेको छ । चितवनमा बाघ गणना सकिएपछि प्राविधिक सामग्री यता आइपुग्छन् अनि माघ अन्तिमतिर गणना सुरु हुन्छ ।” पछिल्लो समय यहाँ बाघको सङ्ख्या बढ्दै गएको छ । सन् २०२२ मा गरिएको राष्ट्रिय गणनाअनुसार शुक्लाफाँटामा ३६ वटा बाघ रहेकामा निकुञ्ज कार्यालयको आन्तरिक अनुगमनमा यस वर्ष ४३ बाघ फेला परेका जनाइएको छ । शुक्लाफाँटा सानो क्षेत्रफल रहेको भए पनि बाघको आहारा प्रजातिको घनत्व पर्याप्त रहेकाले यहाँ बाघको सङ्ख्या बढेको संरक्षणकर्मीहरू बताउँछन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आहारा प्रजातिको घनत्व १४६ प्रतिवर्गकिलोमिटर रहेको छ । वन्यजन्तु र दुर्लभ वनस्पतिका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु
बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गाउँनजिक आफ्नो खेतबारीमा तोरी काटिरहेको समयमा चितुवाले आक्रमण गर्दा बारबर्दिया नगरपालिका ११ बेलभारकी करिब ५५ वर्षीय खिदनी थारूको मृत्यु भएको हो । साँझ करिब साढे ५ बजेको समयमा तोरी काटिरहेको अवस्थामा चितुवाले एक्कासी आक्रमण गरेको स्थानीयले बताएका छन् । अरु किसानहरू पनि खेतमा भए पनि एक्लै आफ्नो खेतमा तोरी काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामगोपाल थारूले बताए । पछिल्लो समय बर्दियामा चितुवा र वन्यजन्तुको आक्रमणका घटना बढ्दै गएका छन् । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार गत साउन यता पाँच जनाको चितुवाको आक्रमणबाट, एक जना पाटेबाघको आक्रमणबाट र दुई जनाको जंगली हात्तीको आक्रमणबाट ज्यान गएको छ ।
मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका
मुस्ताङ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद जिल्ला बाहिरबाट उल्लेख्य सङ्ख्यामा युवायुवती निर्वाचन प्रहरीमा भर्ना हुन आएका छन् । यसअघि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त कार्यविधि २०८२ अनुसार यहाँ निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको थियो । जिल्ला प्रहरी कार्यालयमा माघ २ गतेसम्म आवेदन खुल्ला गरिएकामा आवश्यक सङ्ख्या नपुगेपछि थप दुई दिन समय थपिएको थियो । यहाँ नेपाल प्रहरीलाई २६६ जना र सशस्त्र प्रहरी बल नेपाललाई ४६ जना गरी ३१२ जना निर्वाचन प्रहरी सङ्ख्या माग गरिएकामा ३२३ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए । यहाँ आवेदन दिन म्याग्दी, बागलुङ, पर्वत, धादिङ, रुकुम, रोल्पा र गोर्खालगायत जिल्लाबाट आएका उनले बताए ।
सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमुना महिला सामुदायिक वनमा सालका रूखहरू सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला लागेका जस्ता देखिने गरेका छन् । दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनका करिब १० प्रतिशत सालहरू पातविनाका छन् । यस्तै, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाका केही सामुदायिक वनमा पनि सालका रूखमा यस्तै समस्या छ । यहाँका सामुदायिक वनमा सालका रूख यसरी सुकेको जस्तो देखिँदा स्थानीयहरू चिन्तित छन् । “विगतका वर्षहरूमा यस्तो समस्या थिएन, यस वर्ष सालका रूख सुकेका जस्ता छन्”, तुलसीपुर–३ का वडाध्यक्ष वीरबहादुर विकले भने, “यसले हामीलाई चिन्तित बनाएको छ । किन यस्तो भयो होला भनेर बुझ्दै छौँ ।” डिभिजन वन कार्यालय दाङका वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले यस वर्ष रूखमा यस्तो महामारी देखिएको बताए । “दाङका वनमा सालका रूखमा यस्तो महामारी देखिएको छ । रूखहरू डढेलो लागेको जस्तो देखिएका छन्, यसलाई नियन्त्रण गर्न निकै कठिन पनि छ”, उनले भने । वरिष्ठ वन अधिकृत चौधरीका अनुसार ‘मथ’ पुतलीले पात खाइदिँदा समस्या आएको हो । यसले रूखलाई पनि असर गर्ने उनको भनाइ छ । “यहाँका रूखमा चैत–वैशाखमा झैँ पात झरेको जस्तो देखिएका छन्, पानी पर्यो भने त पलाउँछ”, उनले भने, “पटक–पटक यस्तै भइरह्यो भने साना रूखहरू सुक्छन्, ठुला रूखमा पनि वृद्धिमा ह्रास आउँछ ।” महामारीका रूपमा समस्या देखिएपछि समाधानका लागि विभागमा चिट्ठी पठाइएको चौधरीले बताए । “जिल्लाले नियन्त्रण गर्न सक्ने अवस्था छैन । हामीसँग त्यस्तो विज्ञता, क्षमता, साधन स्रोत पनि छैन”, उनले भने, “विभागमा चिट्ठी लेखेर पठाएका छौँ, त्यहाँबाट पनि केही प्रतिक्रिया आएको छैन ।” एउटा पुतलीले एकै दिनमा ३०० जति फुल पार्ने र त्यसबाटै दिनानुदिन बढ्दै जाने भएकाले पनि नियन्त्रणभन्दा बाहिर रहेको चौधरीले बताए । उनले ड्रोन वा हेलिकप्टरबाट औषधि छर्किए पनि त्यसले अन्य पशुपक्षी तथा जनावर र वरिपरिको मानव बस्तीमा पनि असर गर्ने भएकाले नियन्त्रणमा समस्या रहेको उनको भनाइ छ । जलवायु परिवर्तनको एउटा असरका रूपमा यसलाई लिन सक्ने वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले बताए । यसअघि नारायणपुर क्षेत्रको वनमा पनि यस्तै समस्या देखिएकामा पछि बिस्तारै हराउँदै गएकाले यो समस्या पनि हराउन सक्ने उनको विश्वास छ । जिल्लामा दुई लाख हेक्टरमा वन रहेको छ । तीमध्ये सघन वन क्षेत्र एक लाख ९२ हजार ६८२ रहेको छ भने बुट्यान क्षेत्र आठ हजार ४३ रहेको छ । जिल्लामा ३६९ सामुदायिक वन रहेका छन्, जसबाट ८० हजारको हाराहारी घरपरिवार लाभान्वित छन् । यहाँ १५३ हेक्टर क्षेत्रफलमा फैलिएका छ वटा धार्मिक वन हेका छन् । यस्तै ११२ हेक्टर क्षेत्रफलमा फैलिएका २४० वटा निजी वन छन् । हाल यहाँका १५/२० वटा सामुदायिक वनमा यस्तो समस्या देखिएको छ ।

