रेशम चौधरीले दायर गरेको मुद्दाको सुनुवाइ आज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दाको सुनुवाइको लागि आज पेशी तोकिएको छ ।

यस अघि अन्तरिम आदेश छलफलको लागि चैत्र ३० गतेको लागि पेशी तोकिएपनि बहस भएको थिएन। आज पनि बहस हुने वा नहुने भन्ने अनिश्चित छ । यस अघि तीन पटक सम्म चढेको पेशीमा एक पटक मात्रै बहस भएको छ।

टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिएको छैन । आयोगको निर्णयमा भनिएको छ, “अयोग्य व्यक्तिलाई योग्य व्यक्ति सरह मानी अधिकार प्रत्यायोजन गरी महाधिवेशन गरे गराएको भनी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को ५१ बमोजिम आयोगसमक्ष विवरणसहित जानकारी गराएको देखिँदा नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जीता श्रेष्ठलगायत सो पार्टीको केन्द्रीय समितिलाई अब उप्रान्त दलको विधान र प्रचलित कानुन प्रतिकूल कार्य नगर्नु नगराउनु भनी सचेत गराउने ।” 

निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका हुन् ।

नाउपामा आन्तरिक विवाद चुलिएपछि रेशम चौधरीले चैत्र २२ र २३ गते काठमाडौँमा आफु पक्षको बैठक आह्वान गरेका थिए । अध्यक्ष रन्जिताले उक्त बैठक आधिकारिक नभएको बताएपनि त्यही बैठकमा रेशम चौधरीले नागरिकता लगायतका प्रमाणहरू संकलन गरेर मुद्दा दायर गरेका थिए ।

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख ९ गते आइतबार सन् २०२४ अप्रिल २१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७३ पैसा र बिक्री दर १६६ रुपैयाँ ४७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

केही भू-भागमा हावाहुरीसँगै वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । आज राती भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानका साथै लुम्बिनी प्रदेशको तराई भू-भागका एकदुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

पुनः सञ्चालनमा आयो झुलाघाट नाका

बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको छ । भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका आजदेखि पुनः सञ्चालनमा हो।  यही वैशाख ७ गते उत्तराखण्ड राज्यमा भएको लोकसभा सदस्यको निर्वाचनलाई दृष्टिगत गर्दै वैशाख ४ गते साँझ ६ बजेदेखि वैशाख ७ गते निर्वाचन नसकिँदासम्मका लागि झुलाघाट नाका बन्द थियो ।

नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

काठमाडौं। एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको खेलमा नेपालले जितका लागि हङकङलाई एक सय ४० रनको मध्यम लक्ष्य दिएको छ। ओमानको अल अमरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३९ रन बनाउन सफल भयो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४४ रन बनाए। उनले २९ बलमा चार चौका र तीन छक्का प्रहार गरे । सन्दीप जोराले २२ रन बनाए। कप्तान रोहितकुमार पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२, गुलशन झाले ६ र आशिफ शेखले पाँच रन बनाए।  ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए। उनी यस प्रतियोगितामा लगातार तेस्रो पटक शुन्य रनमा आउट भए। यस्तै करण केसी तीन रन जोड्दै पेभेलियन फर्किए। ललित राजवंशीले अविजित दुई रन बनाए।  बलिङमा हङकङका आयुश शुक्लाले तीन विकेट लिए। अतिक्वी इकबल, यासिम मु्र्ताजा र इशान खानले एक एक विकेट लिए। एसिया कप छनोटबाट बाहिरिएको नेपालले हङकङलाई हराएमा एसीसी इमर्जिङ एशिया कपमा छनोट हुनेछ ।  इमर्जिङ एशिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र अफगानिस्तान ‘ए’ टोलीको सहभागिता रहनेछ । नेपालको एसिया कप खेल्न सपना संयुक्त अरव इमिरेट्स (युएई)ले चकनाचुर बनाएको थियो । शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो । हङकङ पनि घरेलु टोली ओमानसँग पाँच विकेटले पराजित भएपछि एसिया कपबाट बाहिरिएको थियो । यस प्रतियोगितामा नेपाल र हङकङ समूह चरणमा भिडिसकेका छन् । नेपालले समूह चरणको खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो । 

प्रधानमन्त्री प्रचण्ड र एनआरएनए अभियन्ताबीच भेट, कतारका अमिरको भ्रमणको विषयमा छलफल

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक उपाध्यक्ष देवकाजी डंगोलसहितका अभियन्ताहरु राजेन्द्रकुमार शर्मा (आरके) र खगेन्द्र न्यौपानेसँग भेट गरेका छन्। प्रधानमन्त्री निवासमा भएको भेटमा प्रचण्डसँग एनआरएनएका संस्थापक उपाध्यक्ष डा.डंगोलले प्रधानमन्त्रीको आसन्न भ्रमणमा उठाउनुपर्ने विषयको बारेमा छलफल गरेका थिए।डा.डंगोल कतारमा व्यवसाय गर्ने पहिलो नेपाली हुन्।यस्तै,कतारमा दुई दशकदेखि व्यवसायमा सक्रिय रहेका तथा गैरआवासीय नेपाली अभियन्ता आरके शर्माले अमिरसँग लगानीका विषयमा नेपालले उठाउनुपर्ने विषयमा छलफल गरेका थिए।  नेपाल र कतारबिच कुटनीतिक सम्बन्ध गासिएपछि पहिलो पटक कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका छन्।  “कतारका अमिरको भ्रमणमा नेपालले लगानीका क्षेत्रहरुमा विशेष पहल गर्नुपर्ने विषयमा सम्माननीय प्रधानमन्त्रीसँग छलफल भयो,”प्रधानमन्त्रीसँगको भेटपछि शर्माले भने,“प्रधानमन्त्रीज्यूले कतारले हासिल गरेको आर्थिक विकासको अनुभव नेपालको लागि सहयोगी हुने गरी अमिरको भ्रमणमा फलदायी हुने सम्झौता हुने जानकारी दिनुभयो।” यस्तै,प्रधानमन्त्रीले आसन्न लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई नेपाल आउने र लगानी सम्मेलन सफल बनाउन संस्थापक उपाध्यक्ष डंगोल तथा अभियन्ता शर्मा र न्यौपानेलाई अनुरोध गरेका थिए।  प्रधानमन्त्रीले लगानी सम्मेलन सफल बनाउन र नेपालमा लगानी भित्राउने भूमिकामा गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने हुँदा त्यो काम गर्न भनेका थिए।  भेटमा सहभागी एनआरएनए संस्थापक डंगोल,शर्मा र न्यौपानेले गैरआवासीय नेपालीहरु नेपालको आर्थिक विकासमा सहयात्री बन्न तयार सधै रहेको र सम्मेलन लगानी बढाउने विषयमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

म्याग्दीमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । शनिबार बिहान जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कबाट फर्कने क्रममा लु२ख ६११२ नम्बरको टिपर चिमखोलाको घैराबारीस्थित सडकबाट खसेर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका व्यक्ति सवारीसाधन र निर्माण उपकरणको मर्मत गर्ने मिस्त्री (कामदार) भएको खुले पनि नाम र ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । टिपर दुर्घटनामा घाइते भएका चालकसहित तीनजनाको चिमखोला स्वास्थ्यचौकीमा प्रारम्भिक उपचार गरिएको छ । थप उपचारका निम्ति घाइतेलाई हेलिकोप्टरमार्फत पठाउने तयारी भइरहेको रघुगंगा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिए । दुर्घटनामा परेको टिपर तुन्दी पावर कम्पनी जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्स्ट्रक्सनमा निर्माण सामग्री ढुवानी गर्ने रहेको खुले पनि मृतक र घाइतेको पहिचान नखुलेको वडाध्यक्ष पाइजाले बताए । दुर्घटनामा परेका घाइतेको स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी चिमखोला स्वास्थ्यचौकीमा उपचारका निम्ति पुर्‍याएका हुन् । रासस

छिन्नमस्तामा डिजिटल एग्रीकल्चर रूम स्थापना गरिने

राजविराज । कृषिलाई आधुनिकीकरण गरि उत्पादन बढाउने उदेश्यले छिन्नमस्ता गाउँपालिकाले कृषि सुचना तथा प्रशिक्षण केन्द्रको सहकार्यमा पालिकामा डिजिटल एग्रीकल्चर रूम स्थापना गर्ने भएको छ ।  कृषकहरूको समस्या समाधानको लागि डिजिटल भिलेज इन्टिएटिभ कार्यक्रम अन्तर्गत पालिकामा डिजिटल एग्रीकल्चर रुमको स्थापना गर्न लागेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।  ’यस रूममा पालिकाको कृषि विज्ञ, पशु विज्ञ तथा कार्यक्रम विज्ञ रहने छन्, उनीहरूले कृषकको बालीमा आइपरेको रोग, समस्याको समाधान गर्नेछन्,’ अध्यक्ष चौधरीले भने ।  यस कार्यक्रम अन्तर्गत किसानहरूको मोबाइल फोनमा टेली प्वाइन्ट डाक्टर नामको एप राखिने उनले बताए ।  ’कृषकहरूको मोबाइलमा यो एप राखिनेछ, जसबाट उनीहरूले आफ्नो बालीको फोटो खिचेर त्यसमा कुन किरा लागेको, के रोग हो थाहा पाउँछन् र त्यसको समाधान पाउँछन्, यो चौबिसै घण्टा प्रयोग गर्न सकिन्छ,’ अध्यक्ष चौधरीले भने, ’फोटो खिचेर एग्रीकल्चर रूममा रहेको विज्ञसँग समेत समाधान पाउन सक्छन् ।’ उनले पालिकामा कृषकहरुको सूचिकरण गरिने तथा सोलार वाटर पम्प समेत जडान गर्ने बताए । यसले कृषिमा कम लागतमा उत्पादन बढ्ने विश्वास व्यक्त गरे ।  त्यस्तै यसअघि पालिकाले डिजिटिल सोइल म्यापिङ्ग (कम्प्युटरमा आधारित माटो नक्सांकन) कार्यक्रम गर्न लागेको छ । जसले जग्गाहरूको फोसफोरस, पोटास, नाइट्रोजन, ओरगेनिङ्ग मेटर, टेक्सटल, जमिनहरुको किसिम लगायतको विषयबस्तुको डाटा पाउनेछन् ।  यसले जग्गाको अवस्था, जग्गामा मल खाद्यको लागि रणनिती बनाउन मदत गर्नेछ । जसले संतुलित मलखाद्यको प्रयोग र कृषि उत्पादन बढाउन तथा विषादीरहित उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास पालिकाले लिएको छ ।

सहकारी छानबिन आयोग भरपर्दो छैनः डा. आरजु देउवा

काठमाडौं । काङ्ग्रेस नेतृ तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानबिन आयोग भरपर्दो नरहेको आरोप लगाएकी छन् ।  शनिबार काठमाडौंमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफलमा उनले सहकारीका पीडितलाई न्याय दिलाउन गठित सरकारी छानबिन समिति भरपर्दो नरहेको दावी गरेकी हुन् ।  सभापति राणाले सहकारी संस्थाहरू आफैँसँग पनि गठीमा परेको रकम असुली गर्ने जनशक्ति नभएको र नेपाल प्रहरीले पनि त्यसमाथिको उजुरी सुनुवाइमा समेत चासो नदिएको टिप्पणी गरिन् ।  सहकारी संस्थाहरूले थुप्रै नागरिकको घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको र त्यस्ता खालको गतिविधि हुन नदिने आफूहरूले सम्बन्धित सहकारीलाई निर्देशन दिएको उनले बताइन् । सभापति राणाले २०७४ सालमा सहकारी जथाभावी खोल्न दिने ऐन बनेपछि सहकारी क्षेत्रमा समस्या भित्रिएको भन्दै त्यसको समाधान गर्नुको विकल्प नरहेको बताइन् ।  सभापति राणाले २० वटाभन्दा बढी सहकारी समस्याग्रस्त हुँदा पनि सो समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप पनि लगाईन ।

वर्तमान सत्ता गठबन्धन माघसम्मः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किने दाबी गरेका छन् । शनिवार इलाममा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।  उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गरे । उनले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको बताए ।  चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको बताए । उनले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताए । थापाले चुनाव अघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताए । इलामबाट नेपालमा चुनाव अघिको गठबन्धनको राजनीति चल्दैन भन्ने सन्देश दिन जरुरी रहेको बताए । ‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताका अघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज । अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईंहरुको बीचमा फेरि जवाफ दिन आउनेछु’ उनले भने, ‘चुनावको अगाडि गठबन्धन जनतालाई धोका र बेइमानी हो । चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन हो । त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ ।’  महामन्त्री थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई फोहोर बनाएको पनि टिप्पणी गरे ।

अर्थमन्त्री पुन आज स्वदेश फर्किँदै

काठमाडौँ।अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन आज स्वदेश फर्किदै छन्। मन्त्री पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त बैठकका लागि यही वैशाख ३ गते अमेरिका गएका थिए। ५ दिन अमेरिका भ्रमण सकेर मन्त्री पुन आज दिउँसो साढे ४ बजे नेपाल आइपुग्ने उनको सचिवालयले जनाएको छ। अमेरिका भ्रमणका क्रममा मन्त्री पुनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा सहभागिता जनाएका थिए। यसबाहेक अर्थमन्त्रीले अमेरिकी व्यवसायीसँग समेत अर्थपूर्ण भेट गरेका थिए। अमेरिका भ्रमणका क्रममा पुनले अमेरिकी व्यवसायीसँग नेपालमा लगानीका लागि आग्रह गरेका थिए । त्यसक्रममा अमेरिकी व्यवसायीले नेपालको कर प्रणालीको विषयमा चासो व्यक्त गरेका थिए। यसबाहेक अमेरिका बसाइका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डीएफआई)परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओसँग भेटेका छन्। यस्तै विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का सहायक प्रबन्ध निर्देशक बो–लीसँग समेत अर्थमन्त्री पुनले भेटघाट गरे। भेटघाटका क्रममा पुनले विश्वभरका लगानीकर्तालाई नेपालमा लगानीको आह्वान गरेका थिए। उनले नेपाल दक्षिण एसियामा नै वैकल्पिक ऊर्जा उत्पादनको केन्द्र बनेकाले विश्वका लगानीकर्ता यतातर्फ केन्द्रित हुनुपर्ने बताएका थिए।

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । बर्दियामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका ८ भगतपुर बस्ने २३ वर्षीय सन्तोष न्यौपानेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सन्तोषले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस्तै, दैलेखमा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुराँस गाउँपालिका ४ मुङग्रा बस्ने २१ वर्षीय धन बहादुर खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खड्काले ती महिलालाई डुङ्गेश्वर गाउँपालिका ६ लटालीस्थित बाटो मुनी लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट घोडाबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

बुवाको हत्या गरेको अभियोगमा पक्राउ

तनहुँ । आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ७६ वर्षीय बुवा राप बहादुर बिकलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा तनहुँको म्याग्दे गाउँपालिका ६ बस्ने २६ वर्षीय दिपक बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । तनहुँ शुक्लागण्डकी नगरपालिका ९ घारीस्थित छोरी रस्मी बिकको घरमा बस्दै आएका राप बहादुरलाई दिपकले चक्कु प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

म कसैको दाश बन्ने व्यक्ति होइनः माधव नेपाल

रौतहट। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति नभएको बताएका छन् । गृह जिल्ला रौतहटमा रहेका नेपालले आफूहरूलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी समेत दिए । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले आफू देशका ठुला हस्ती राजा वीरेन्द्रदेखि  ज्ञानेन्द्र, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि  प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न चेतावनी दिए । गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदीमा नवनिर्मित मधेस प्रदेशकै सबभन्दा दोस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गर्न अध्यक्ष माधव नेपालले त्यता गएका थिए । त्यस क्रममा उनले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मूल्यमान्यता र महत्त्व रहेकोले हल्का नलिन सुझाव दिए ।

६ नेपालीले मलेसिया सुपर वुमन्स कप खेल्ने

काठमाडौं । ६ जना नेपाली महिला खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने भएका छन् । राष्ट्रिय महिला क्रिकेट टीमका कप्तान इन्दु बर्मासहित ६ जनाले मलेसिया क्रिकेट एसोसिएसनले आयोजना गर्ने मलेसिया सुपर वुमन्स कप खेल्ने निश्चित भएको हो । बर्मा सहित रुबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसिया सुपर वुमन्स कप खेल्न लागेका बताइएको छ । मलेसिया सुपर वुमन्स कप अप्रिल २४ देखि मे ५ सम्म मलेसियामा सञ्चालन हुनेछ ।

तामाकोसीमा नुहाउन गएका दोलखाका २ युवा बेपत्ता

काठमाडौं । दोलखाको तामाकोसी नदीमा डुबेर दुई युवा बेपत्ता भएका छन् । स्थानीय गौरीशंकर गाउँपालिका ८ का २७ वर्षीय जयबहादुर तामाङ र २५ वर्षीय सिमबहादुर तामाङ तामाकोशी नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।  प्रहरीका अनुसार उनीहरु शुक्रबार दिउँसो ३ बजे नै नुहाउने क्रममा नदीमा बेपत्ता भएका हुन् । प्रहरीलाई भने यो खबर आज बिहान नौ बजे मात्रै दिइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक शरण महर्जनले बताए ।  खबर पाए लगत्तै प्रहरी टोली बेपत्ता युवाको खोजीमा परिचालन भएको उनले जानकारी दिए । स्थानीय मेलामा गएका उनीहरु नुहाउन भन्दै नदीमा गएका थिए। तर उनीहरु साँझसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा दुबैले लगाउने कपडा नदीको डिलमा फेला परेको छ ।