आजकाे माैसम: दिउँसो काठमाडौंमा पानी पर्ने

काठमाडौं । देशका केही स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण केही स्थानमा वर्षा भइरहेको हो । 

गण्डकीदेखि पश्चिमका केही स्थानमा बिहान वर्षा भइरहेको छ । पश्चिमबाट वर्षा गराउने प्रणाली क्रमशः पूर्वतर्फ सरिरहेको छ । यो प्रणाली अहिले गण्डकीसम्म आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागले दिउँसो देशको उच्च पहाडी तथा हिमाली भूभागमा पूर्णतया बादल लाग्ने बताएको छ । बाँकी पहाडी र तराईका भूभागमा साधारणतया बादल लाग्नेछ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनेछ । 

वाग्मती, मधेस र कोसी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा  र कोसी प्रदेशको तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

काठमाडौंमा दिउँसो २/३ बजेपछि हल्का वर्षाको सम्भावना रहेको छ । राति १/२ बजेसम्म काठमाडौं छिटपुट वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ । 

विभागका अनुसार राति पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम  मुख्यतया सफा रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । 

आज राति १/२ बजेसम्म वर्षा गराउने प्रणाली सक्रिय रहनेछ । त्यसपछि क्रमशः कमजोर हुँदै जाने र भोलि (बिहीबार) देशका अधिकांश भूभागम मौसम सफा रहने विभागको पूर्वानुमान छ । 

आट्विनको टोलीद्वारा महिला हिंसा र मानव बेचबिखनका एजेण्डा घोषणापत्रमा समेट्न आग्रह

काठमाडौँ । महिला हिंसा र मानव बेचबिखनविरुद्धका एजेण्डालाई आगामी निर्वाचन घोषणापत्रमा समेट्न माग गर्दै आट्विनको टोलीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ। भेटका क्रममा आट्विनको टोलीले महिला तथा बालिकामाथि हुने हिंसा, मानव बेचबिखन, सुरक्षित आप्रवासन, पीडितको संरक्षण तथा न्याय सुनिश्चिततासम्बन्धी विषयमा स्पष्ट नीतिगत प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै लिखित सुझावपत्र संयोजक प्रचण्डसमक्ष बुझाएको थियो। भेटमा बोल्दै संयोजक प्रचण्डले प्रतिनिधित्व, समावेशीकरणलगायत संविधानले सुनिश्चित गरेका अधिकारहरू आफूहरूले नेतृत्व गरेको संघर्षकै उपलब्धि भएको बताए। उनले यी अधिकारलाई कागजमै सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्न पार्टीले अझ सशक्त रूपमा संघर्ष जारी राख्ने विश्वास दिलाउँनुभयो । महिला अधिकार, समानता र सामाजिक न्याय नेपाली कम्युनिष्ट पार्टीको मूल एजेण्डा रहेको उल्लेख गर्दै संयोजक प्रचण्डले आट्विनले उठाएका विषयहरूलाई पार्टीको नीति, कार्यक्रम तथा घोषणापत्रमा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आट्विनसँग आबद्ध महिला अधिकारकर्मी तथा अभियन्ताहरूको समूहले संयोजक प्रचण्डलाई पार्टी कार्यालय पेरिस डाँडामै पुगी भेट गरेको हो ।

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य महोदत्त अधिकारी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । नेकपा (एमाले) परित्याग गरेका गण्डकी प्रदेश कमिटी सदस्य महोदत्त अधिकारी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोतीका स्थायी बासिन्दा अधिकारीलाई नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूले पार्टीमा भव्य स्वागत गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सशक्त बनाउने क्रममा अधिकारीको प्रवेशले थप ऊर्जा प्रदान गरेको बताएका छन् । यसअघि पनि विभिन्न पार्टी परित्याग गरी नेकपामा नेता–कार्यकर्ताहरू समाहित भएका छन् । अधिकारीको प्रवेशले गण्डकी प्रदेशमा नेकपाको संगठन विस्तारमा सहयोग पुग्ने विश्वास पार्टीले लिएको छ ।

बद्री न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित

काठमाडौँ— बद्री न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ। नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित विशेष कार्यक्रममा दुवै पार्टीका नेताहरूबीच औपचारिक सहमति भएको हो। नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले ४ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सहमतिपत्रको पहिलो बुँदामा चुरे भावर पार्टी नेकपामा पूर्ण रूपमा समाहित हुने उल्लेख छ। यससँगै चुरे भावरका नेता तथा कार्यकर्ताहरू नेकपाको संगठनमा समायोजन हुनेछन्। सहमतिका अन्य बुँदाहरूमा चुरे क्षेत्रको संरक्षण, तराई–मधेसका जनताको अधिकार र राष्ट्रिय एकताको सवाललाई नेकपाले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। कार्यक्रममा प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सशक्त बनाउने क्रममा यो समाहित महत्वपूर्ण कदम भएको बताए। यसअघि पनि नेकपामा विभिन्न साना कम्युनिस्ट समूहहरू समाहित हुँदै आएका छन्। चुरे भावर पार्टीको यो कदमले तराई क्षेत्रमा नेकपाको प्रभाव बढाउने अपेक्षा गरिएको छ।

वैद्य नेतृत्वको पार्टीबाट भीम चापागाइँसहितको बिद्रोह, नेपाली कम्युनिष्ट पार्टीमा समाहित

काठमाडौँ — मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (एकता पक्षधर समूह) बाट विद्रोह गरी पोलिटब्युरो सदस्य भीम चाँपागाईँको नेतृत्वमा एक समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई पार्टीमा हार्दिक स्वागत गरेका छन्। यो समाहितले नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध र बलियो बनाउने विश्वास पार्टीले लिएको छ। पछिल्लो समय विभिन्न क्रान्तिकारी धारका समूहहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने क्रम जारी रहेको छ। यसअघि पनि विप्लव नेकपा र वैद्य समूहका केही कार्यकर्ताहरू मुख्यधारको कम्युनिस्ट पार्टीमा समाहित भइसकेका छन्।

उदयपुर प्रतिनिधिसभा–२ का उम्मेदवार सुरेशकुमार राई को हुन् ? के छन् उनका एजेन्डा

उदयपुर । उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका सुरेशकुमार राई उर्फ हिमाल यतिबेला चुनावी मैदानमा सक्रिय छन् । उदयपुरको बेलका नगरपालिका–रामपुरका स्थायी बासिन्दा राई प्रतिनिधिसभा–२ बाट दोस्रो कार्यकालका लागि संसद् बन्ने लक्ष्यसहित जनतामाझ मत मागिरहेका छन् । २०४९ सालदेखि खम्बुवान मुक्ति मोर्चाबाट राजनीतिक यात्रा सुरु गरेका राई जनयुद्धकालीन कमाण्डरसमेत हुन् । २०६० सालमा माओवादीको केन्द्रीय सदस्य बनेका राई हाल पनि नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य छन् । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पार्टीलाई चुनाव जिताउने कमाण्डरका रूपमा परिचित राई २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उदयपुर क्षेत्र नं.–२ बाट उम्मेदवार बने पनि पराजित भएका थिए । त्यतिबेला उदयपुरमा तीन निर्वाचन क्षेत्र रहेका थिए । २०७४ सालदेखि उदयपुर दुई संघीय निर्वाचन क्षेत्रमा विभाजन भएपछि राई तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ मा उम्मेदवार बनेर फराकिलो मतान्तरले विजयी भएका थिए । उक्त निर्वाचनमा राईले २२ हजार ५५१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वीले १५ हजार ४५५ मत मात्रै पाएका थिए । २०७९ सालको निर्वाचनमा उम्मेदवार नबनेका उदयपुरका लोकप्रिय नेतामध्ये एक राई अहिले २०८२ को निर्वाचनमा पुनः जनताको मत मागिरहेका छन् । उनी भन्छन्, “२०७४ मा सांसद हुँदा सुरु गरेका र त्यसपछि सरकार बनेपछि अघि बढाइएका धेरै काम अझै अपुरा छन् । ती अधुरा काम पूरा गर्नकै लागि फेरि जनताको साथ चाहिएको हो ।” राईले २०७४ मा सांसद हुँदा गरेका प्रमुख कामहरू – सिद्धिचरण लोकमार्गको मर्मतसम्भारका लागि कटारीमा मिर्चैया–कटारी–घुर्मी सडक योजनाको कार्यालय स्थापना, जसबाट वार्षिक करिब एक अर्ब रुपैयाँ बजेट विनियोजन हुने व्यवस्था । – प्रतिनिधिसभा क्षेत्र–२ अन्तर्गतका पाँच पालिकाका ४० वटै वडामा विद्युत् विस्तार । – निर्वाचन क्षेत्रभर ग्रामीण सडक तथा ट्र्याक खोल्ने र निर्माण भएका सडकको मर्मतसम्भार । – कटारी नगरपालिका–१ अन्तर्गत तिम्नाइ–सिस्नेरी ग्रामीण सडक निर्माण । – बेतेनी–राउतखर्क–ओख्ले–मादले–रुपाटार–ठाँनागाउँ–खोलागाउँ–लिम्चुङबुङ–बाराह–ताम्लीछा–बलम्ता–जाँते–लाफागाउँ–भुटार–मुकुर्ची सडकको ट्र्याक खोल्ने तथा स्तर उन्नति (निर्वाचन क्षेत्रस्तरीय रिङरोड)। – मुकुर्ची–नेपालटार–कटारीबजार हुँदै बेतेनी जोड्ने सडक सुधार। – डिल्लीबर–मार्झखर्क–बराह हुँदै हलेसी जोड्ने सडकको स्तर उन्नति। – सामरिक महत्त्वको मुकुर्ची–रौतामाई सडकको स्तरोन्नति। – ओख्लेको शाहीडाँडा हुँदै माझखर्क जोड्ने सडकको स्तरोन्नति। – कटारी देउलीकुना–बाहुनीटार–बर्रे–जरुवा हुँदै रुन्चेभञ्ज्याङ सडकको नयाँ ट्र्याक खोल्ने र स्तरोन्नति। – मदन भण्डारी लोकमार्गको उदयपुर खण्ड समयमै सम्पन्न गर्न सहजीकरण। – निर्वाचन क्षेत्रभर गुम्बा, मन्दिर, साकेला थान र चर्च निर्माणमा सहयोग। – सुनकोशी लिफ्टिङ खानेपानी आयोजना (ताप्ली–लिम्चुङबुङ–रौतामाई–उदयपुरगढी), जसबाट करिब २६ हजार घरधुरी लाभान्वित। – सुनकोशी लिफ्टिङ खानेपानी आयोजना लेखानी, जहाँ १२ हजार घरधुरी लाभान्वित। – करिब पाँच दर्जन विद्यालय भवन निर्माण तथा नमूना विद्यालय स्थापना। – दर्जनौँ सिँचाइ आयोजना। – दर्जनौँ स्वास्थ्य चौकी भवन निर्माण। राईले अघि सारेका प्रमुख एजेन्डा – प्रतिनिधिसभा क्षेत्र–२ मा सिँचाइ व्यवस्थालाई थप मजबुत बनाउने। – सुरु भइसकेका खानेपानी योजनालाई पूर्णता दिने र आवश्यक स्थानमा नयाँ आयोजना सुरु गर्ने। – टोलबस्तीका मुख्य सडक पक्की बनाउने। – बेतेनी–राउतखर्क–ओख्ले–मादले–रुपाटार–ठाँनागाउँ–खोलागाउँ–लिम्चुङबुङ–बाराह–ताम्लीछा–बलम्ता–जाँते–लाफागाउँ–भुटार–मुकुर्ची सडकलाई पूर्ण रूपमा पक्की बनाउने। – चारवटै पालिकामा १४–१४ शय्याको अस्पताल निर्माण तथा ४० वटै वडाका स्वास्थ्य चौकीलाई व्यवस्थित गर्दै दक्ष जनशक्ति व्यवस्थापन। – कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन र बजार व्यवस्थापनमार्फत रोजगारी सिर्जना। – जडीबुटी प्रशोधन केन्द्र स्थापना। – साना तथा मझौला घरेलु उद्योग प्रवर्द्धन। – सरकारी नीतिअनुसार चुनढुंगा खानी क्षेत्रलाई व्यवस्थित रूपमा सञ्चालन गरी स्थानीय जनतालाई लाभान्वित बनाउने तथा त्यसका लागि आवश्यक नीति निर्माणमा पहल।

तीन राजनीतिक दलका प्रभावशाली नेताहरु आज नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने

काठमाडौं । तीनवटा फरक–फरक राजनीतिक दलका प्रभावशाली नेताहरू आज नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेदेखि सञ्चालन हुने समायोजन कार्यक्रममा ती नेताहरू आफ्ना केन्द्रीय सदस्यसहित नेकपामा समाहित हुन लागेका हुन्। पहिलो चरणमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीबाट विद्रोह गरेका नेताहरू दिउँसो १ः०० बजे नेकपामा समायोजन हुने कार्यक्रम तय गरिएको छ। उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू समेत सहभागी भई औपचारिक रूपमा नेकपामा प्रवेश गर्नेछन्। यसैगरी दोस्रो चरणमा मोहन वैद्य ‘किरण’ नेतृत्वको पार्टीबाट विद्रोह गरेका नेताहरू दिउँसो १ः३० बजे नेकपामा समायोजन हुनेछन्। उनीहरू पनि आफ्ना केन्द्रीय सदस्यसहित नेकपामा प्रवेश गर्न लागेका हुन्। त्यसैगरी तेस्रो चरणमा चुरे भावर पार्टी नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुने कार्यक्रम दिउँसो २ः०० बजे आयोजना गरिएको छ। चुरे भावर पार्टीको समायोजनसँगै नेकपाको संगठन थप सुदृढ हुने पार्टी नेताहरूको दाबी छ। नेकपाले विभिन्न राजनीतिक धारका शक्तिहरूलाई एकताबद्ध गर्दै अघि बढ्ने रणनीतिअन्तर्गत आजको समायोजन कार्यक्रम आयोजना गरिएको जनाएको छ। पार्टी नेतृत्वले यस कदमले कम्युनिष्ट आन्दोलनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

पश्चिमबाट सक्रिय हुँदै वर्षा प्रणाली, आज र भोलि देशभर पानी र हिमपातको सम्भावना

काठमाडौँ । हिउँदका झन्डै दुई महिना सुक्खा बितेपछि वर्षा र हिमपात गराउने प्रणाली फेरि सक्रिय बन्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (मंगलबार) पश्चिम नेपालबाट सुरु हुने वर्षा प्रणाली भोलि (बुधबार) देशभर फैलिने सम्भावना छ । गत शुक्रबार र शनिबार पश्चिम नेपालमा वर्षासँगै मध्यम हिमपात भए पनि यसपटक भने सबै प्रदेशमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरिएको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय बन्दै पूर्वतर्फ सर्ने क्रममा रहेको छ । उनले भने, “पश्चिमी न्यूनचापीय प्रणालीसँगै अरब सागरबाट समेत सहयोग भइरहेको छ । त्यसैले दुई दिन देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना देखिएको हो ।” विभागको तथ्यांकअनुसार १६ मंसिरदेखि १२ माघसम्म देशभर औसत ३.५ मिलिमिटर मात्र वर्षा मापन भएको छ, जुन हिउँदको औसत वर्षाको करिब ५.८ प्रतिशत मात्र हो । हिउँदमा सामान्यतया औसत ६०.१ मिलिमिटर वर्षा हुनुपर्ने भए पनि यस वर्ष हालसम्म निकै कम वर्षा भएको विभागले जनाएको छ । यद्यपि, १६ फागुनसम्म हिउँद अवधि बाँकी रहेकाले आगामी दिनमा वर्षाको मात्रा थपिन सक्ने आकलन गरिएको छ । यस वर्षको पहिलो उल्लेखनीय हिमपात माघ महिनामा देखिन थालेको हो । हिउँद सुरु हुनुअघि कात्तिकमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भए पनि त्यसपछि लामो समयसम्म हिमपात हुन सकेको थिएन । आज र भोलिको मौसम पूर्वानुमान विभागका अनुसार मंगलबार दिउँसोदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा तथा ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ । मंगलबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने अनुमान छ । त्यसैगरी, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा तराईका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने देखिएको छ । मौसमविद् अधिकारीका अनुसार न्यूनचापीय प्रणाली मंगलबार रातिदेखि पूर्वतर्फ सर्ने भएकाले बुधबार धेरै ठाउँमा वर्षा र हिमपात हुनेछ । “बुधबार मधेश र कोशी प्रदेशमा भने हल्का वर्षा मात्र हुने देखिन्छ,” उनले बताए । बुधबार देशभर बादल लाग्ने र सबै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा अन्य क्षेत्रमा हल्का वर्षा हुने पूर्वानुमान छ । विभागका अनुसार बिहीबारदेखि भने मौसम क्रमशः सुधार हुँदै जानेछ ।

प्रत्यक्षतर्फको मतपत्र छाप्न सुरु

काठमाडौं । फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।  जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जनाएको हो । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएपछि प्रत्यक्षतर्फको सुरु भएको जानकारी दिए ।  उनका अनुसार केन्द्रले सोमबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको छ ।  केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको थियो । ती मतपत्र मतदाता सचेतना तथा अन्य कामका लागि प्रयोग भइरहेका छन् । 

पाल्पामा छ महिनामा थपिए सात कुष्ठरोगी

पाल्पा । पछिल्लो छ महिनामा पाल्पामा सात जना नयाँ कुष्ठरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सात जना नयाँ कुष्ठरोगी भेटिएका हुन् । सबैभन्दा बढी रामपुर नगरपालिका दुई र निस्दी गाउँपालिकामा दुई जना कुष्ठरोगी रहेका उनले जानकारी दिए । पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिकामा एकरएक जना कुष्ठरोगी रहेका उनले बताए । जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल र अन्य स्वास्थ्य संस्थामा बिरामीको उपचार भइरहेको छ । रम्भा गाउँपालिका, तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र माथागढी गाउँपालिकामा भने कुष्ठरोगी नरहेका निमित्त प्रमुख पोखरेलले बताए । नयाँ सात बिरामी फेला परेसँगै चालु आवको पुस मसान्तसम्ममा कुष्ठरोगीको सङ्ख्या १७ पुगेको उनले जानकारी दिए । ७३औँ कुष्ठरोग दिवसका अवसरमा स्वास्थ्य कार्यालय पाल्पाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालयका निमित्त प्रमुख पोखरेलले रोगको अवस्थाबारे जानकारी गराउँदै अहिले रहेका १७ मध्ये १० पुरुष र सात जना महिला रहेका उल्लेख गरे । बिरामी सबैको उपचार भइरहेको छ । गत आवमा पाल्पामा २१ कुष्ठरोगी फेला परेका थिए । सोही अवधिमा १८ जना नयाँ बिरामी थपिएका हुन् । उक्त आर्थिक वर्ष सबैभन्दा बढी रामपुर नगरपालिकामा पाँच जनामा कुष्ठरोग देखिएको पोखरेलले बताए । उनका अनुसार पूर्वखोला गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकामा एकरएक जना, तानसेन नगरपालिकामा तीन जना, तिनाउ गाउँपालिका, निस्दी गाउँपालिकामा चाररचार जना र माथागढी गाउँपालिकामा दुई जना कुष्ठरोगी भेटिएका थिए । सरकारले १६ वर्षअघि नेपालमा कुष्ठरोग निवारण घोषणा गरे पनि पाल्पासहित कतिपय जिल्लामा अझै पनि कुष्ठरोगी छन् । विगतको तुलनामा कुष्ठरोगीको सङ्ख्यामा केही कमी भने आएको पोखरेलले बताए । उनले भने, “पाल्पा अहिले कुष्ठरोग निवारणको चरणमा छ । यहाँ कुष्ठरोग अन्त्य पनि भएको छैन तर विकराल समस्याका रूपमा पनि छैन ।” अहिले पनि ग्रामीण क्षेत्रमा कुष्ठरोग लागेमा लुकाउने प्रचलन रहेकाले त्यसलाई समयमा उपचार नहुँदा समस्या बढेको भन्दै उहाँले कुष्ठरोगको सङ्का लागेको उपचार गर्न सबैलाई आग्रह गरे । कार्यालयका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेका अनुसार कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्री जीवाणुले गर्दा हुने दीर्घरोग हो । यो रोगले मुख्यतः छाला, आँखा र स्नायुमा असर गर्ने उनले जानकारी दिए । चिकित्सकको सल्लाहबमोजिम नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुने जनाउँदै उनले समयमा उपचार भएमा अङ्गभङ्ग हुनबाट बच्न सकिने बताए । यो रोगको औषधि नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा निःशुल्क पाइन्छ ।

आज कुन विदेशी मुद्राकाे काराेबार कतिमा हुँदै छ ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ६५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ११ पैसा र बिक्रीदर २१ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१  पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाईभाट एकको खरिददर चार रुपैयाँ ७२ पैसा र बिक्रीदर चार रुपैयाँ ७४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३० पैसा र बिक्रीदर २३ रुपैयाँ ३९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ २७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८  पैसा छ । ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

बागलुङकाे ‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुने गरी तीव्र गतिमा निर्माण भइरहेको हो । यसअघि बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा रु ७० लाख खर्च गरिसकेको छ । आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारको दृश्यले बागलुङको डोयलाई पर्यटकीय केन्द्र बनाउनका लागि नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेको थियो । ब्लु हिललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउनका लागि पूर्वाधार निर्माण गत वर्षदेखि थालिएको हो । रु २५ करोडको पूर्वाधार बनाउने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख गरिएको छ । गत वर्ष पहिलो चरणअन्तर्गत रु ७० लाखको र चालु आवमा दोस्रो चरणअन्तर्गत रु दुई करोड ५० लाखको काम भइरहेको बागलुङ–९ तित्याङका वडाध्यक्ष राजु थापाले जानकारी दिए । उनका अनुसार अहिले ब्लु हिलमा निर्माण गर्ने २० फिट शिवको मूर्ति राख्नका लागि आवश्यक दुईतला पक्की भवन बनाउने काम भइरहेको छ । डोयको निलो पहाडलाई ब्लु हिलका रूपमा परिणत गर्न नगरपालिकाले बजेट विनियोजन गरी लगानी गरिरहेको छ । यस वर्ष रु दुई करोड ५० लाखको पूर्वाधारसहित शिवमूर्ति निर्माण गर्न निर्माण कम्पनी क्वालिसट रिन्युयबल इनर्जीले तीव्रताका साथ काम गरिरहेको छ । प्राकृतिक क्षेत्रमा धार्मिक पूर्वाधार बनाएर पर्यटक भित्र्याउने उद्देश्य राखिएको बागलुङ नगरपालिकाले जनाएको छ । पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले गत वर्षदेखि नगरकै गौरवको योजनाका रूपमा डोयको पहाडलाई ब्लु हिल नामकरण गरेर पर्यटकीय पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर काम अघि बढाएको थियो । मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेपछि नगरपालिकाले लगानी गरिरहेको बागलुङ–९ का वडाध्यक्ष थापाले जानकारी दिए । “नगरकै ठुलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक पर्यटक र प्रकृतिप्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ, ठुलो पूर्वाधार बने पनि स–साना पूर्वाधार पछि बन्दछन्”, उनले भने, “पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले प्राथमिकता पाउनेछन्, त्यहाँ पुग्ने सडक भने सुधारको आवश्यक छ ।” ब्लु हिल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न रु २४ करोड ५६ लाख २२ हजारको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको थियो । गत वर्ष जग्गा सम्याउने, पर्खाल लगाउने, सत्तल निर्माण गर्ने र शौचालय बनाउने काम सम्पन्न भएको थियो । यस क्षेत्रमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकन स्थल, जिमहल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गर्ने डिपिआरमा उल्लेख छ । दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पुर्‍याउन नगरपालिकाको ठुलो लगानी भइरहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरपालिकाको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले आन्तरिक बजेटबाट ठुलो लगानी गरिरहेको बताउँदै ब्लु हिलमा थामिन सक्नु धार्मिक पर्यटक भित्रने उनले विश्वास व्यक्त गरे । “नगरपालिकाभित्रको पर्यटकीय सम्भावना बोकेको डोय प्राकृतिक रूपमा सुन्दर र हरियाली छ । आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ । प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउने गरी पक्की संरचना निर्माणले गति लिएको छ । अहिले एकसाथ १६ वटा खम्बा खडा गरिएको छ”, नगरप्रमुख श्रेष्ठले भने, “ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरी नामकरण गरेका छौँ । मौसम खुलेको समयमा यहाँ आउने जो–कोहीले हरियाली पहाडबाट धौलागिरि, माछापुच्छ्रे, निलगिरी अन्नपूर्णलगायत दुई दर्जन हिमालसँगै बागलुङ बजार देख्न सकिन्छ ।” समुन्द्री सतहबाट करिब दुई हजार २०० मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालेपछि ब्लु हिलले चर्चा पाउन थालेको छ । विस्तृत परियोजना प्रतिवेदनका अनुसार योजनाले पूर्णता पाउन भने समय लाग्नेछ ।

एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत

मोरङ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकडभिट्टाबाट लौकही सडक खण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुगीबाट पश्चिम सडक पहिलो चरणको एकलेन कालोपत्र सुरु भएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए । निर्माण सम्झौता भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको उनले जानकारी दिए । प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकडभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको उनले उल्लेख गरे । हालसम्म दुवैखण्डमा गरी करिब २० किलोमिटर एकतर्फी सडकमा पहिलो चरणको कालोपत्र सकिएको छ । आयोजना पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनीलबाबु पन्तका अनुसार पूर्वीखण्डमा पनि करिब ३५ प्रतिशत काम सम्पन्न भएको बताए । निर्माण सामग्री उपलब्धतामा सहजता भएमा कामले तीव्रता पाउने पन्तले बताए। पूर्वी खण्डमा बिजुलीका खम्बा सार्ने काम करिब ८० प्रतिशत सकिएको जनाउँदै उनले पश्चिम खण्डमा करिब ४० प्रतिशत मात्र काम भएको बताए । बजार क्षेत्रका खम्बा सार्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । कार्यालयका अनुुसार पूर्वी खण्डका ठूला पुल निर्माणमा २३ प्रतिशत प्रगति भएको छ भने पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको छ । एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मा, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एसियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सडक निर्माण काम सुरु भएको हो । यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ ।

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैङ्कले एक पत्रमार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो । आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरिएको छ । आमनिर्वाचन अभियान समूहका नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्न सक्ने गरी खाता खोल्ने व्यवस्था गरिएको छ । प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक एवं प्रत्यक्ष उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोली सञ्चालनको व्यवस्था मिलाउन केन्द्रीय बैङ्कले सूचनामार्फत आग्रह गरेको छ ।

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौँ । देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च जोखिममा रहेका हुन् । यस्तै, अछाम, अर्घाखाँची, बारा, डडेलधुरा, डोटी, गोरखा, जाजरकोट, कपिलवस्तु, मकवानपुर, नवलपुर, प्युठान, सिन्धुली र उदयपुर भने मध्यम जोखिममा छन् । प्राधिकरणले वन डढेलो पूर्वानुमान, निगरानी तथा चेतावनीलाई प्रभावकारी बनाउने, पूर्व तयारी र वन व्यवस्थापनका उपायलाई अवलम्बन गरी वन डढेलोको जोखिम कम गर्ने कार्य योजना तय गरेको छ । सङ्घ, प्रदेश, तथा स्थानीय तहका जिम्मेवार निकाय तथा सरोकार भएकाहरूका बीचमा समन्वय गरी डढेलो नियन्त्रणका प्रयासलाई थप प्रभावकारी र परिणाममुखी बनाउने प्राधिकरणले कार्य योजना तय गरेको छ । वन डढेलो नियन्त्रण गरी जनधन तथा पर्यावरणीय स्रोतको हानि नोक्सानी न्यूनीकरण गर्नु कार्य योजना तय गरिएको छ । जनचेतना अभिवृद्धि तथा नियमनलाई प्रभावकारी बनाई वन डढेलोको जोखिमबारेको बुझाइलाई स्पष्ट पार्ने रणनीति तय गरिएको छ । वन डढेलोको आँकलन, वन क्षेत्र एवं वनजन्य इन्धन व्यवस्थापन गरी आगलागीको जोखिम न्यूनीकरण गरिनेछ । मौसम पूर्वानुमान एवं पूर्वसूचनालाई सुदृढ र सबल बनाई वन डढेलोजन्य विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने रणनीति तय गरिएको छ । प्रविधिको प्रयोग एवं मानवसंशाधन परिचालनमार्फत आगलागी जोखिम क्षेत्रको निगरानी, अनुगमन, पहिचान तथा पूर्वचेतावनीलाई प्रभावकारी प्रभावकारी बनाउने, सरोकारवाला निकायबीच समन्वय, सञ्चार कायम गर्दै सचेतनामूलक अभियान, तालिम र कृत्रिम अभ्यासमार्फत पूर्व तयारी तथा डढेलो नियन्त्रण कार्यलाई सुदृढ तुल्याउने रणनीति प्राधिकरणले तय गरेको छ । यसैगरी, वन डढेलोबाट प्रभावित वर्ग, क्षेत्र र समुदायको उद्धार, उपचार राहत तथा पुनः स्थापनासम्बन्धी कार्यलाई प्रभावकारी तुल्याउने, अनुगमन र तथ्याङ्क व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाई पृष्ठपोषण र अध्ययन तथा अनुसन्धानको आधार तयार पार्ने प्राधिकरणको रणनीति छ ।

४५ वर्षदेखि भाँडाको भारी बोकेर व्यापार गर्दै सिन्धुपाल्चोकका व्यापारी

म्याग्दी । सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ विसं २०३७ देखि भाँडाको भारी बोकेर म्याग्दीका गाउँमा पुगी पुराना भाँडासँग साट्ने तथा बिक्री गर्ने काम गर्दै आएका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का फूलबहादुरसहित अन्य तीन जना व्यापारीले भाँडा बिक्री गर्न ४५ वर्षदेखि घुमन्ते जीवन बिताइरहेका हुन् । धादिङका चेतबहादुर विक र विसु गुरुङ पनि तामाङसँगै पिठ्यूँमा डोकाभरि भाँडा बोकेर बिक्री गर्न म्याग्दीको सदरमुकाम बेनीसहित यहाँका छ वटै स्थानीय तह सबै बस्तीमा पुग्ने गरेका विसु गुरुङले बताए । उनीहरूले पर्वतको अर्मादीमा भाँडाभण्डारण गरेर राखेका छन् । गाउँमा तीन छोरा र श्रीमती भएका तामाङलाई आफ्ना पुर्खाले कहिलेदेखि घुमन्ते व्यापार गर्न थालेका हुन् भन्ने यकिन छैन । तर, पनि बाबुबाजेको पालादेखि यही पेसा गर्ने गरेकाले आफूले पनि निरन्तरता दिएको फूलबहादुरले बताए । पहिलो पटक १४ वर्षको उमेरमा बाबासँग भाँडा बोकेर व्यापारमा निस्केका तामाङ अहिलेसम्म पनि त्यही पेसामै छन् । गुरुङ मङ्सिरको अन्तिम साता धादिङबाट पर्वतको अर्मादी आएका थिए । आफ्नो समूहले चैतको पहिलो सातासम्म यही क्षेत्रमा व्यापार गरेपछि पुनः गाउँ फर्केर अर्को ठाउँमा व्यापारका लागि हिँड्ने योजना बनाउने गरेको उनले जानकारी दिए । डोकोमा नयाँ भाडा ल्याएर गाउँमा गएर कोही बेच्ने कोही साट्ने गर्ने सिन्धुपाल्चोकका व्यापारीको पुस्तैनी काम हो । “आफ्नो नयाँ सामान र ग्राहकसँगको पुरानो सामानको पनि मूल्य निर्धारण गर्छौँ र बराबर मूल्य परेमा पुरानो लिएर नयाँ सामान दिन्छौँ । यदि मूल्य नयाँको कम परेमा आफूहरूले दिने र पुरानोको कम भएमा ग्राहकसँग रकम लिएर साट्ने गरिन्छ”, उनले भने । गुरुङले व्यापार पहिला जस्तो नभएकाले आम्दानी पनि घटेको बताए । वर्षमा एकपटक पर्वत, बागलुङ, म्याग्दीलगायत क्षेत्रमा व्यापारका लागि आउने जनाउँदै उनले सबै खर्च कटाएर मासिक रु २० देखि २५ हजारसम्म जोगिने उल्लेख गरे । आधुनिक प्रविधिको विकाससँगै मानिस छिटो र भरपर्दो सेवाको प्रयोगमा लाग्छन् । आफ्ना आवश्यकता परिपूर्ति गर्न आधुनिक स्रोतसाधनको प्रयोग बढेको छ । सडक यातायातको विकासले गाउँघरमै सुविधा पाएपछि ग्रामीण क्षेत्रका स्थानीय बासिन्दा आफैँ बजार झरेर नयाँ भाँडा किन्ने गर्छन् । केही वर्ष अघिसम्म पुराना भाँडा सबैका घरघरमा देखिन्थे । भाँडा साटफेर गर्नेहरू गाउँगाउँमा भाँडा साट्दै हिँड्ने गर्दथे । आजभोलि गाउँघरतिर डोकोमा भाँडो बोकेर हिँडेको बिरलै भेटिन्छन् ।