यी प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशका केही भू–भागमा आज हावाहुरी चल्ने सम्भावना रहेको छ । लुम्बिनी, सुदूरपश्चिम, कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा हावाहुरीको सम्भावना रहेको हो । 

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ। 


लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान साथै कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

विभागले राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहने बताएको छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

हावाहुरीको सम्भावना रहेका क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

जुम्लाका स्याउ बगैँचा सेताम्मे

जुम्ला । जुम्लाका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा फूल लाग्न थालेपछि बगैँचो सेताम्मे भएका हुन् ।  कर्णाली राजमार्गमा रहेका स्याउका बगैँचा फूलले सेताम्मे भएपछि आन्तरिक पर्यटनका लागि फोटो तथा भिडियो खिच्ने र थकाइ मार्ने थलो बनेका छन् ।  तिला गाउँपालिका–१ का स्याउ किसान महेन्द्र बुढाले स्याउ बगैँचा फुलेर सेताम्मे भएपछि आकर्षक देखिएको बताए । स्याउका बोटमा राम्रोसँग फूल लागेपछि उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको उनको भनाइ छ । जिल्लैभरका स्याउका बगैँचा सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको छ । चैत–वैशाख स्याउका बोटमा फुल लाग्ने याम हो । यो स्याउ भदौसम्म पाकिसक्छ ।  तिला–१ स्थित रारामा रहेको पातिहल्ला स्याउ बगैँचा समूहका सचिव गोरीकला बुढाले बगैँचालाई आवश्यक मलको उचित प्रयोगदेखि सिँचाइ व्यवस्थापनमा किसान लागेको बताइन् । सामूहिकरूपमा स्याउ बगैँचा गर्दा सम्बन्धित निकायबाट अनुदान लिन सहज भएको उनको भनाइ छ ।  पातिहल्ला स्याउ बगैँचामा करिब चार हजार स्याउका बिरुवा छन् । अहिलेसम्म दुई हजार बिरुवाले फल दिन थालिसकेका छन् भने एक वर्षभित्र सबै बिरुवाले फल दिने समूहका सचिव रावतको भनाइ छ । जुम्लाका विभिन्न पालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ ।  माघदेखि स्याउ बिरुवाको रेखदेख, मलखाद व्यवस्थापनलगायतका काममा किसानलाई चटारो छ । स्याउका बिरुवा फुलेपछि बगैँचामा अधिकांश किसान सिँचाइ व्यवस्थापनमा लागेका छन् । स्याउ फुलेकाले यसवर्ष लटरम्म फल्ने आशा जुम्ली किसानको छ ।  जिल्लाका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउखेतीमा संलग्न छन् । कृषि विकास कार्यालयका अनुसार अहिले चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउखेती भइरहेको छ । कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले जानकारी जुम्लामा गोल्डेन, रेड, रोयल, जोनाथान र ओरेन्ज टिपिन, म्याकन्जलगायत जातका स्याउ उत्पादन हुने गरेको बताए ।

बसको ठक्करबाट एक तीर्थयात्रीको मृत्यु

भरतपुर ।पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक तीर्थयात्रीको मृत्यु भएको छ। राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट मृत्यु भएको हो।  उक्त बसले उनलाई ओर्लने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेजमा उपचारको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले बताए। ठक्कर दिने बस र त्यसका चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–१८ बस्ने वर्ष ४१ क कृष्ण सापकोटालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरिएको उनले जानकारी दिए। रासस

युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा अमेरिकी राष्ट्रपतिद्वारा प्रमाणिकरण

वासिङ्टन । वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बुधबार बताएका छन् । युक्रेनका लागि अति आवश्यक सैन्य सहायतालाई अनुमति दिनेसम्बन्धी विधेयकमा बुधबार हस्ताक्षर गरेपछि उनले किएभलाई नयाँ सहयोग पठाउन थाल्ने बताएका हुन् ।  इजरायल र ताइवानका लागि सहयोग र संयुक्त राज्य अमेरिकामा टिकटकमाथि सम्भावित प्रतिबन्ध लगाउने उपायसहित ९५ अर्ब डलरको प्याकेज पारित भएको छ, जुन महिनौँको ढिलाइपछि आएको हो । यसले युक्रेनी सेनालाई गोलाबारुदको अभाव र युद्धभूमिको असफलताको सामना गर्नुपरेको थियो ।  “मैले यसै साता प्रतिनिधि सभा र सिनेटले पारित गरेको राष्ट्रिय सुरक्षा प्याकेजमा हस्ताक्षर गरेको छु”, बाइडनले भने, “यससँगै अबको केही घण्टाभित्रै ढुवानी तत्काल सुरु हुने सुनिश्चित भएको छ ।” रुसले सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेको युक्रेनलाई कसरी आफ्नो रक्षा गर्न सकिन्छ भन्ने विषयमा सांसदहरूबिच महिनौँ लामो तिक्ततापूर्ण बहसपछि मात्र यो सहायता विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो । गत फेब्रुअरीमा सिनेटले यस्तै प्रकारको सहायता प्याकेज पारित गरेको थियो, तर रिपब्लिकन सभामुख माइक जोनसनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका कट्टरपन्थी सहयोगीहरूको आह्वानलाई ध्यान दिँदै बाइडेनसँग आप्रवासन नीतिमा छुटको माग गरेका थिए ।  संयुक्त राज्य अमेरिका युक्रेनको एक प्रमुख सैन्य समर्थक रहेको छ, तर अमेरिकी कङ्ग्रेसले लगभग डेढ वर्षसम्म किएभको लागि ठुलो मात्रामा अनुदान स्वीकृत गरेको थिएन र युद्धको वित्तपोषण नोभेम्बरमा हुने राष्ट्रपति चुनावअघि विवादको विषय बनेको छ । मस्कोले पूर्वबाट निरन्तर युक्रेनमाथि दबाब दिइरहेको र आगामी हप्ताहरूमा अग्रपङ्तीमा सेनाको अवस्था खराब हुने अपेक्षा गरिएको समय युक्रेनको सेनाले हतियार र भर्तीको लागि बजेटको गम्भीर अभावको सामना गरिरहेको छ । रासस/एएफपी

उद्योग समितिको बैठक बस्दै, के छ कार्यसूची?

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेट तथा कार्यक्रमको हालसम्मको प्रगति र कार्यान्वयनको अवस्थाका साथै मन्त्रालयबाट भए गरेका कामकारबाहीका सम्बन्धमा मन्त्रीसँग जानकारी लिने कार्यसूची रहेको छ ।

देशका यी क्षेत्रमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षा भइरहेको छ ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षाको सम्भवाना रहेको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटफुट वर्षादेखि हल्का हिमपातको सम्भावना छ ।लुम्बिनी प्रदेशका केही स्थानका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भागमा मौसम सफा रहने छ ।आज सूर्योदय बिहान ५ बजेर २९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३४ मिनेटमा हुनेछ ।

पोखरामा ‘एसिया कप ट्रायथोलन’गरिदै, प्रतिस्पर्धामा १५ देशका खेलाडी सहभागी हुने

पोखरा। देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५ गते  ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’ हुने भएको छ । खेलकुदको मेगा इभेन्ट रुपमा लिइएको  ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’को तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल ट्रायथोलन सङ्घले जनाएको छ। नेपाल ट्रायथोलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथोलन सङ्घको व्यवस्थापनमा पोखराको लेकसाइड क्षेत्रमा च्याम्पियनसिप हुनेछ । च्याम्पियनसिपमा विभिन्न १५ देशका ६४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटाले जानकारी दिए। देवकोटाका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताका लागि सहभागी खेलाडी तथा अफिसियलहरु पोखरा आउने क्रम सुरु भइसकेको छ । प्रतियोगितामा नेपाल सहित अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, बङ्गलादेश र उज्वेकिस्तानका खेलाडीले सहभागिता जनाउने छन् । यस वर्ष वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्ष मारिसोल कासादो र महासचिव एन्टोनियो आरामानी च्याम्पियनसिपमा सहभागी हुने भएकाले खेलकुद क्षेत्रका लागि ठूलो महत्व रहने उपाध्यक्ष देवकोटाले बताए । देवकोटाले भने,“विगतका कमीकमजोरीहरुलाई सच्चाएर यस वर्ष खेलकुदको मेगा इभेन्टका रुपमा च्याम्पियनसिपको तयारी गरेका छौँ । पहिलो पटक वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्षको उपस्थितिमा प्रतियोगिता हुँदैछ । नेपालको खेलकुद क्षेत्रका लागि यो ठूलो खुशीको कुरा हो । खेलकुद क्षेत्रका लागि यसको पछिसम्म ठूलो महत्व हुनेछ ।” ट्रायथोलनमा स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुनेछ । स्प्रिन्ट विधा अन्तर्गत सुरुआतमा फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ हुनेछ । साइक्लिङको समाप्तिपछि पाँच किलोमिटर दौड हुनेछ । पौडी फेवातालमा हुनेछ । दौड गौरीघाट–सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदै राष्ट्र बैंकचोक हुँदै गौरीघाटमा पुगेर समापन हुनेछ । पौडी, साइक्लिङ र दौड गरी तीनवटै प्रतिस्पर्धाको समयका आधारमा विजेत चयन हुनेछन् ।प्रतियोगिताले पोखराको अन्तर्राष्ट्रिय क्षेत्रमा थप प्रवद्र्धन तथा खेलकुद विकासमा मद्धत पुग्ने अपेक्षा गरिएको छ । च्याम्पियनसिपको दिनमा पोखराको लेकसाइड क्षेत्रको सडक खाली गराइने भएको छ । सहभागी खेलाडीको सुरक्षालाई मध्यनजर गरी प्रतियोगिताको रुटमा यातायात पूर्ण रुपमा बन्द गरिने नेपाल ट्रायथोलन सङ्घ गण्डकीका अध्यक्ष डिल्लीराज९शिशिर०सुवेदीले बताउनुभयो । प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, पोखरा पर्यटन परिषद्, होटल सङ्घ पोखरा लगायतका विभिन्न सङ्घ संस्थाले समेत अपन्त्व लिएकाले यस वर्ष भव्य हुने अध्यक्ष सुवेदीको भनाई छ । उहाँले भन्नुभयो,“एसिया कप ट्रायथोलन च्याम्पियनसिप पोखराको ब्राण्ड बनेको छ । यस वर्ष सरकारी तथा निजी सङ्घ संस्था पर्यटन क्षेत्र लगायतले स्वामित्व लिएकाले विगतमा भन्दा थप उत्कृष्ट हुने विश्वास लिएका छौँ ।”

डिस्कोर्स डबलीले काठमाडौंमा दुई दिने 'विचार उत्सव' आयोजना गर्ने

काठमाडौं । वैचारिक बहसको मञ्च डिस्कोर्स डबली सुरूवातको दश वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा दुई दिने विचार उत्सवको आयोजना हुने भएको छ । नेपाल ल क्याम्पस, रत्नराज्य क्याम्पस र विश्वभाषा क्याम्पसमा हुने विचार उत्सवमा वैशाख २२ र २३ गते बहसका विभिन्न सत्र सञ्चालन हुने कार्यक्रमका संयोजक तथा नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले जानकारी दिए ।  दुई दिन सञ्चालन हुने विचार उत्सवमा २० वटा सत्रमा नेपाल र भारतका करिब ८० जना वक्ता सहभागी हुनेछन् । समसामयिक राजनीति, विश्वविद्यालयका समस्या, युवा जनशक्तिको विदेश पलायन, सिनेमा, पर्यावरण,   साहित्य, संगीत, कला, शहरी सौन्दर्य लगायतका दुई दर्जन विषयमा बहस हुनेछ ।  कार्यक्रममा राजनीतिज्ञ, लेखक, विश्लेषक, प्राध्यापक, कलाकार, कवि, चलचित्र निर्देशक लगायतले आ(आफ्नो विषयमा बहस गर्नेछन् ।  कार्यक्रममा लेखक तथा विश्लेषक सिके लालले ुबौद्धिकताको कसीमा नेपाली समाजु शीर्षकमा मूलप्रवचन दिने छन् । यस्तै, भारतको बद्लिँदो राजनीतिबारे दिल्ली विश्वविद्यालयका सह(प्राध्यापक तथा विश्लेषक डा।सरोज गिरीले बहस गर्नेछन् ।  उत्सवमा वैचारिक बहसबाहेक नाटक प्रदर्शनी हुने छ । यस्तै, चित्रकला प्रदर्शनी, कार्टुन प्रदर्शनी र सांगितिक उत्सव पनि आयोजना गरिने ढुंगेलले बताए ।  डिस्कोर्स डबली २०७१ सालमा रत्न राज्य क्याम्पस, ल क्याम्पस लगायतका कलेजमा अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा सुरूवात भएको थियो । यसपछि मासिक रूपमा बहस शृङ्खला यो मञ्चले सञ्चालन गर्दै आएको थियो । दश वर्षमा करिब १०० वटा बहसका कार्यक्रम आयोजना गरिसकिएको डबलीका संस्थापक नरेश रेग्मीले बताए । विश्वविद्यालयमा वैचारिकक अध्ययन र बहसलाई प्रोत्सिहत गर्न ुविचार उत्सवु क्याम्पस परिसरमै गर्न लागिएको संयोजक ढुंगेलले बताए ।  

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं। एएसबीसी यू–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली बुधबार उज्वेकिस्तानको अस्ताना प्रस्थान गरेको छ।  अप्रिल २७ देखि मे ८ सम्म हुने प्रतियोगितामा एक पुरुष र दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। पुरुषको ४८ केजीमा लालप्रसाद उप्रेतीले प्रतिस्पर्धा गर्ने छन्। महिलाको ४८ केजीमा सुष्मा तामाङ तथा ५० केजीमा रमिशा श्रेष्ठले खेल्ने नेपाल बक्सिङ महासंघका महासचिव मनबहादुर भण्डारीले जनाएका छन्।  सुष्माले थाइल्यान्डमा भएको गत संस्करणमा रजत जित्दै इतिहास रचेकी थिइन् । नेपाल बक्सिङको इतिहासमा सुष्माले जितेको रजत एसियालीस्तरमा नेपालले प्राप्त गरेको एक मात्र पदक हो । प्रशिक्षकमा आइबा वान स्टार सुजित पुन मगर तथा निर्णायकमा आइबा दुई स्टार आरजे धनकुमार मैनाली छन्।  टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले लगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो : रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने जिकिर गरेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका उहाँले सहकारीहरु पीडितहरुको समस्या समाधान गर्न भने आफू तयार रहेको दोहोर्‍याए। बुधबार इलाममा आयोजित चुनावी सभामा बोल्दै उपप्रधानमन्त्री लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको बताए । उनले आफूहरु सहकारी पीडितहरुको समस्या समाधानका लागि सरकारमा गएको र त्यो समस्या समाधान गर्न तयार रहेको बताए। उपप्रधानमन्त्री लामिछानेले काँग्रेसले आफूलाई गलत देखाउन सहकारी गठी प्रकरणलाई उचालेको आरोप समेत लगाए। काँग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको उनको जिकिर थियो।उपप्रधानमन्त्री लामिछानेले विगतमा पुराना पार्टीहरुलाई मत दिएकाले देशको अवस्था बेहाल भएको पनि बताए

घुष लिएको आरोपमा रुसका उपरक्षा मन्त्री जेल चलान

काठमाडौं । रुसका एक उपरक्षा मन्त्रीलाई घुस लिएको आरोपमा मस्कोको एक अदालतले जेल चलान गरेको छ ।घुष लिएको आरोप अस्वीकार गरेको भएपनि अदालतले टिमुर इभानोभलाई विशेष गरी ठूलो मात्रामा घुस लिएको आरोपमा दोषी ठहर गरेको छ । पाँच वर्षको अनुसन्धान पश्चात उनलाई १ मिलियन रुबल भष्ट्राचार गरेको भन्दै दोषी ठहर गरिएको छ । तर उनी अदालले दोषी ठहर गर्नु पहिलेसम्म जिम्मेवारी मै थिए । सन् २०१६ मा रक्षा मन्त्रालयमा नियुक्त भएका ४७ वर्षीय इभानोभले रुसको सैन्य पूर्वाधार परियोजनाको जिम्मेवारी सम्हालेका थिए।रुसी जनताले लामो समयदेखि रूसमा हुने गरेको भ्रष्टाचारको विरोध गर्दै आएका छन् । यद्यपि, २०२२ मा रसियाले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेदेखि नै यस्ता उच्च प्रोफाइलका भ्रष्टाचार घटनाहरू विरलै सार्वजनिक भएका छन्। इभानोभलाई रक्षामन्त्री सर्गेई शोइगुको सहयोगी मानिन्छन् र धेरै वर्षदेखि उनीसँग काम गरेका व्यक्ति हुन्। उनी पहिले मस्को क्षेत्रका उपप्रधानमन्त्री थिए । जहाँ उनले शोइगुले छोटो समयका लागि गभर्नरको रूपमा सेवा गरेका थिए । २०२२ मा, भ्रष्टाचार विरोधी फाउन्डेसन (एसिएफ), दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नी द्वारा स्थापना गरिएको समूहले श्री इभानोभलाई रूसले कब्जा गरेको युक्रेनको क्षेत्रहरूमा निर्माणको क्रममा भ्रष्टाचार योजनाहरूमा भाग लिएको आरोप लगाइएको छ ।

भूकम्पको स्मृतिमा बारपाकमा सार्वजनिक बिदा

गोरखा । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । २०७२ वैशाख १२ गते गएको ७.८ रेक्टरस्केलको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । मंगलबार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको उनले बताए । त्यसअवसरमा बारपाकस्थित हिमालय माध्यामिक विद्यालयको खेल मैदानमा आज विशेष श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । गोरखा भूकम्पमा परी देशभर ८ हजार ९७९ जनाको ज्यान गएको थियो भने गोरखा जिल्लामा मात्रै ४ सय ७१ जनाको मृत्यु भएको थियो । त्यसमध्ये बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पले गोरखासहित १४ जिल्ला अतिप्रभावित र ३१ जिल्लामा क्षति पुर्‍याएको थियो ।

‘नेपाली भाषा र साहित्यको पृष्ठभूमि नै कर्णाली हो’

सुर्खेत।भाषा र साहित्यमा लामो समय अध्ययन गरेको अध्ययेताहरुले नेपाली भाषा र साहित्यको खास पृष्ठभूमि कर्णाली भएको बताएका छन्। नेपाली भाषाको उद्गम स्थल सिंजा रहेको कर्णाली क्षेत्र नेपाली साहित्यको पनि पृष्ठभूमि भएको उनीहरुको निश्कर्ष छ। मंगलबार सुर्खेतमा भएको कर्णाली लिट्रेचर फेस्टिभलअन्तर्गत ‘भाषा, साहित्य र शिक्षा’ विषयक बहस सत्रमा सहभागी अध्येयताहरुले नेपालमा बोलिने भाषाको मुल थलो कर्णाली भएको बताए। ‘नेपालमा अहिले बोलिने भाषाको मुल थलो खस सभ्यता कर्णाली हो, खस भाषा नै मातृभाषा हो।’ भाषा विज्ञ डा.प्रेम चौलागाईंले भने।उनले खस भाषाको उचित संरक्षण हुन नसकेको बताए। भाषा र संस्कृति दिएको सभ्यतालाई संरक्षणमा चासो नदिईएको उनले औंल्याए। उनले कर्णाली सभ्यताको ईतिहास लेख्नुपर्ने बताए। सहप्राध्यापक डा.महेन्द्रकुमार मल्लले कर्णाली आधुनिक साहित्यको पनि पृष्ठभूमिका रुपमा रहेको बताए। ‘खस भाषा नेपाली भाषा हो, खसबाट विकसित भएको नेपाली रुप हो,’ उनले भने, ‘कर्णाली क्षेत्रको भाषा, साहित्य र इतिहासको बारेमा योगी नरहरिनाथलाई जति जानकारी अरुलाई छैन।’ शिक्षाका बारेमा बोल्दै डा. मल्लले पछिल्लो राजनीतिक परिवर्तनपछि विद्यालय शिक्षामा सुधार ल्याउने कुरा योजनामै सिमित भएको बताए। शिक्षामा बालबालिको पहुँच विस्तार गर्ने, गुणस्तर सुधार गर्ने सरकारका योजना पूर्णरुपमा कार्यान्वयन हुन नसकेको उनले बताए।उनले कर्णालीका बारेमा लेख्नुपर्ने धेरै विषय भएपनि लेखनमा सक्रियता नहुँदा ओझेलमा परेको बताए। सत्रका अर्का वक्ता सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाख प्रमुख अनिता ज्ञवालीले कर्णालीमा सिकाई उपलब्धी ६० प्रतिशतभन्दा माथी जान नसकेको बताईन्। उनका अनुसार कर्णालीमा ७।८ प्रतिशत बालबालिकालाई शिक्षको पहुँचमा अहिले पनि ल्याउन सकिएको छैन। ‘अहिले पनि सामुदायिक विद्यालयमा भन्दा निजी विद्यालयमा विद्यार्थीको संख्या धेरै छ, कर्णालीको सिकाई स्तर वृद्धि गर्न र पठन संस्कृतिको विकास गर्न पहिलो कुरा बालबालिकालाई पहुँचमा ल्याउने कामबाट सुरु गर्नुपर्छ,’ उनले भनिन्, यहाँको शिक्षाको गुणस्तरमा पनि सुधार गर्नुछ, विद्यालयप्रति बढ्दो वितृष्णा कम गर्नुछ।’

कर्णालीको लोक संस्कृति दलित समुदायले बचाईदिएका छन्ः लेखक रिजाल

सुर्खेत।लेखक ओम रिजालले कर्णालीको लोक गीत र लोक साहित्य यहाँका दलित समुदायले बचाएको बताएका छन्। कर्णली लिट्रेचर फेस्टिभलको ‘किन लेख्ने, किन पढ्ने’ बहस सत्रमा वक्ताका रुपमा बोल्दै उनले कर्णालीको लोक गीत र साहित्य यहाँका दलित तथा दलित समुदायभित्रका दमाई जातीले बचाईदिएको बताए। यदि यहाँका दलित समुदायले आफ्नो संस्कृति छोडेको खण्डमा कर्णालीको संस्कृति पनि हराउने उनले बताए। ‘कुनैबेला गाउँमा साँझपख सबै परिवार जोडिएर बस्ने अनि बुबाआमाहरुले कथाहरु सुनाउने चलन थियो, यसले पछिल्लो पुस्तालाई ज्ञान बाँड्ने काम गथ्र्यो,’ उनले भने, ‘तर अहिले सामाजिक सञ्जालमा मानिसको ध्यान छ, सांस्कृतिक रुपमा हामीले धेरै राम्रा कुराहरु छोड्दै गएका छौँ।’रिजालले ‘रुँदै बग्दोछ मुगु कर्णाली’, ‘हटारु’ जस्ता कर्णालीका विषय समेटिएका पुस्तक लेखेका छन्। ‘म विगतदेखि नै कर्णाली पढीरहेको छु, लेखिरहेको पनि छु,’ रिजालले भने, ‘कर्णालीका लोकगाथाहरु अध्ययन गरिरहेको छु, अब दैलेखको देउलीगढ राज्य र मोरङको एक राज्यबिच भएको लडाइँको बारेमा लेखिरहेको छु।’ उनले पछिल्लो समय पठन संस्कृति नै कमजोर भएको बताए। त्यसमा पनि संस्कृतिसम्बन्धि आलेखहरु पढ्ने पाठकको संख्या कम रहेको उनको अनुभव छ। सत्रका वक्ता अर्का लेखक बुद्धिसागरले लेखनलाई गहिरो ढंगबाट हेरिनुपर्ने बताए।उक्त सत्रमा लेखक रमेश क्षितिज र बसन्ती शाही पनि वक्ताका रप्मा थिए।

गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा सोमबार सुनुवाइ भएको रिटमा सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो ।   सभामुखसहितको हस्ताक्षरमा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई गत चैत २५ मा मुख्यमन्त्री बनाइएको भन्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले चैत २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। 

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । आज २०८१ साल वैशाख १२ गते बुधबार सन् २०२४ अप्रिल २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८४ पैसा र बिक्री दर १६५ रुपैयाँ ५८ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर