जुनार कृषकहरू मूल्य कहिले पाइएला भन्ने चिन्तामा

रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिले पाइएला भन्ने चिन्तामा छन् ।

विगतको तुलनामा यस वर्ष जुनार उत्पादनमा केही कमी आए पनि बेमौसममा बिक्री गर्दा राम्रो मूल्य आउने आशामा उनीहरू छन् । उनीहरुले अझै जुनार र सुन्तला बोटमै राखेका छन् । मुख्य गरी मङ्सिरदेखि माघको पहिलो हप्ताभित्र जुनार टिपिसक्ने मौसम हो, तर केही जुनार कृषकले जुनार बिक्री गरिसके पनि ओख्रेनीका अधिकांश किसानले राम्रो मूल्य पाइन्छ कि भन्ने आशामा बगैँचामै राखेका हुन् ।

करिब पाँच सय बोटमा फलेको आफ्नो बगैँचाको जुनार राम्रो भाउ पाएपछि बिक्री गर्ने योजनामा अहिलेसम्म नटिपेको स्थानीय जुनार कृषक हिमाल तामाङले बताए । उनले भने, “हामीलाई अहिले चुनावको रौनकभन्दा बोटैमा पाकेको जुनारको मूल्य कहिले पाइएला भन्ने चिन्ताले सताएको छ ।”

यस वर्ष गत असोज र कात्तिकमा परेको लगातारको वर्षाका कारण उत्पादनमा केही गिरावट आएको छ । गत मङ्सिर पुसतिर बगैँचाबाट बिक्री गर्दा ५० रुपैयाँ किलो मात्र पाएकोमा अब बेच्दा भने जुनार दानाको आकार हेरेर ६० देखि ९० रुपैयाँ प्रतिकिलो बिक्री हुने स्थानीय कृषक दिलमाया तामाङले बताइन् । उनले भनिन्, “आफूले जति पछि बेच्यो त्यति बढी पैसा आउने आशाले अहिलेसम्म पनि जुनार बोटमै राखेका छौँ, तर अब प्रतिकिलो ६०–७० मा बिक्री गर्ने तयारी छ ।”

जुनारले बिरुवा रोपेको दुईदेखि तीन वर्षदेखि उत्पादन दिन सुरु गर्छ । जुनार बगैँचाभित्र भटमास, लसुन, प्याज, काउली, बन्दालगायतका कोसे तथा तरकारीबालीहरु पनि लगाएका कृषकले दोहोरो आम्दानी लिने गरेका छन् । आफूले पनि सिजन अफ भएपछि बिक्री गर्दा राम्रो मूल्य पाइने आशामा जुनार बिक्री नगरेको अर्का कृषक गिरीराज तामाङले बताए ।

जुनारबाट जाम, जुस र अन्य पेय पदार्थसमेत बनाएर बिक्री गर्ने गरिएको छ । जुनारको बजारको समस्या भने खासै नभएको रामेछाप नगरपालिका–७ सुकाजोरका कृषक रामकुमार कार्कीको भनाइ छ । बेमौसममा मूल्य पाइनु स्वाभाविक भए पनि माघ महिनाको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म जुनार फुल्ने भएकाले मूल्य आउने आशामा बोटमै राख्न राम्रो नहुने जुनार जोन समन्वय समितिका प्राविधिक बताउँछन् । जुनारमा फूल फुल्ने बेलासम्म बोटमै जुनार राख्दा अर्को वर्षका लागि फुल्ने फूललाई असर गर्ने भएकाले समयमै टिपेर बरु चिस्यान घरमा राखेर बिक्री गर्दा कृषकहरूलाई फाइदा हुने जुनार जोन समन्वय समितिका अध्यक्ष गुञ्जबहाहुर कार्कीको सुझाव छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ रामेछापले भने मन्थली, रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकालाई जुनार जोनका रूपमा विकास गर्न विभिन्न कार्यक्रमहरू कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा ५८० हेक्टरमा जुनार खेती भएकामा चालु आवमा रामेछाप, मन्थली नगरपालिका र लिखु तामाकोशी गाउँपालिकासहित ६८० हेक्टर क्षेत्रफलमा जुनार खेती गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ रामेछापकी नायब प्राविधिक सहायक भवानी बस्नेतले जानकारी दिए । उनले भने, “प्राविधिक हिसाबले माघ फागुनसम्म जुनार बोटमा राख्नु राम्रो हैन ।”

हरेक जुनार उत्पादन हुने टोलमा शीत भण्डारको व्यवस्था गरी सिजनमा त्यहाँ राख्ने र बेमौसममा जुनार बिक्री गर्ने व्यवस्था मिलाउन सकेमा कृषकहरूलाई फाइदा पुग्ने स्थानीय लोकेन्द्र श्रेष्ठ बताउँछन् ।

वाइसिएलको अर्ध सैन्य संरचना एक्टिभ : शान्तिपूर्ण निर्वाचन गराउन सहयोग गर्ने

काठमाडौं – योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) ले आफ्नो अर्ध सैन्य संरचना पुनः ब्यूँताएको छ। वाईसीएल नेपालको भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समिति बैठकले यो महत्वपूर्ण निर्णय गरेको हो। बैठकपछि वाईसीएलका अध्यक्ष पुष्प ओलीले दिएको जानकारीअनुसार, देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेदवारको सुरक्षा सुनिश्चित गर्न स्पेसल टास्क फोर्स (एसटीएफ) क्याम्पिङ गरी राखिने छ। यसका लागि आवश्यक तयारी तीव्र पारिएको छ। यसैगरी बैठकले अन्तरपार्टी युवा, विद्यार्थी तथा जेनजी युवा संयोजन गर्न विशेष समन्वय संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ। सबै प्रदेशमा एकतामा आएका युवा संगठनका नेताहरू सम्मिलित कमाण्ड सेन्टर स्थापना गर्ने पनि तयारी छ। वाईसीएलले निर्वाचन लक्षित थप रणनीति पनि बनाएको छ।  प्रत्येक मतदान केन्द्र (बुथ) मा एक सय युवा खटाइने, सामाजिक सञ्जालको अधिकतम प्रयोग गरी प्रचार प्रसार गर्ने, सम्बन्धित मतदान क्षेत्रका युवालाई नै सोही क्षेत्रमा परिचालन गर्ने। बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फ्याक्सन इन्चार्ज दीपशिखाले आगामी निर्वाचनलाई सफल बनाउन वाईसीएलले विशेष भूमिका निर्वाह गर्नुपर्ने निर्देशन दिएका थिए। 

सुनको मूल्य प्रतितोला १८ हजार ८ सय रुपैयाँले घट्यो

काठमाडौं – नेपाली बजारमा आज आइतबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ मा झरेको छ। आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५७ हजार २ सय रुपैयाँ तोकिएको छ। यसैगरी, चाँदीको मूल्य पनि तोलामा १ हजार ५ सय ६५ रुपैयाँ ले घटेर ५ हजार ५ सय रुपैयाँ मा कायम भएको छ। आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ७ सय १६ रुपैयाँ निर्धारण गरिएको छ। यो मूल्य घटबढ अन्तर्राष्ट्रिय बजारको प्रभावसँग जोडिएको छ। लगानीकर्ता तथा उपभोक्ताले स्थानीय सुनचाँदी पसल वा महासंघको आधिकारिक स्रोतबाट पुन: पुष्टि गर्न सिफारिस गरिन्छ, किनकि बजार दैनिक रूपमा परिवर्तन हुन सक्छ।

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ८८ पैसा र बिक्रीदर १४७ रुपियाँ ४८ पैसा तोकिएको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ १२ पैसा र बिक्रीदर १७५ रुपियाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपियाँ ९४ पैसा र बिक्रीदर २०२ रुपियाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपियाँ ०९ पैसा र बिक्रीदर १९१ रुपियाँ ८७ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ७९ पैसा र बिक्रीदर १०३ रुपियाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ५१ पैसा र बिक्रीदर १०८ रुपियाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ८४ पैसा र बिक्रीदर ११६ रुपियाँ ३१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ ५३ पैसा र बिक्रीदर नौ रुपियाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ १३ पैसा र बिक्रीदर २१ रुपियाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ १६ पैसा र बिक्रीदर ३९ रुपियाँ ३२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ३० पैसा र बिक्रीदर ४० रुपियाँ ४७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६८ पैसा र बिक्रीदर चार रुपियाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ९९ पैसा र बिक्रीदर ४० रुपियाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ २६ पैसा र बिक्रीदर ३७ रुपियाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १९ पैसा र बिक्रीदर १० रुपियाँ २३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ५९ पैसा र बिक्रीदर १६ रुपियाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४५ पैसा र बिक्रीदर २३ रुपियाँ ५५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ८१ पैसा र बिक्रीदर १८ रुपियाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपियाँ ९७ पैसा र बिक्रीदर ४८३ रुपियाँ ९४ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपियाँ ५९ पैसा र बिक्रीदर ३९१ रुपियाँ १८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपियाँ ५३ पैसा र बिक्रीदर ३८३ रुपियाँ ०९ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

आजदेखि राष्ट्रपति पौडेलकाे जापान भ्रमण सुरु हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दै छन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान जान लागेका हुन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल आइतबार राति साढे ११ बजे जापान प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  राष्ट्रपति पौडेलको जापान भ्रमण माघ १८ देखि २१ गतेसम्म (चार दिन) हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय भेटवार्ता गर्ने कार्यक्रम तय छ। राष्ट्रपति पौडेलसँग माघ २० गते नै टोकियोमा जापानका प्रधानमन्त्री ताकाइची सानेले भेटवार्ता गर्ने कार्यक्रम छ। यसअघि माघ १९ गते राष्ट्रपति पौडेल जापान सरकारका तर्फबाट जापानका विदेश राज्यमन्त्री होरी इवाओले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउन आयोजना गरेको विशेष समारोहमा सहभागी हुनेछन्। माघ १९ गते नै जापानका विदेश राज्यमन्त्रीले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा राष्ट्रपति पौडेलसँग जापानी व्यापारिक समुदायले पनि भेटघाट गर्ने कार्यक्रम छ। राष्ट्रपति पौडेल टोकियोस्थित नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन्। जापान भ्रमणमा राष्ट्रपतिका साथमा उनकी श्रीमती सविता पौडेल, उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन्। राष्ट्रपति पौडेलको माघ २१ काठमाडौं फर्कने कार्यक्रम छ।

आँखारोगीको खोजी गर्दै भाेजपुरकाे पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । गाउँघरमै पुगेर सेवा प्रवाह गर्ने लक्ष्यसहित गाउँपालिकाले सबै वडामा शिविर सञ्चालन गर्न लागेको हो । गाउँपालिकाको समन्वयमा नवदृष्टि आँखा अस्पताल प्रालि खाँदबारी–१ तुम्लिङटार तथा सगुन आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिने भएको छ । स्थानीय बासिन्दालाई घरनजिकै गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडावडामा शिविर आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए । अध्यक्ष राईका अनुसार यही माघ १८ देखि २३ गतेसम्म शिविर सञ्चालन गरिनेछ । गाउँघरमा रहेका आँखा रोगीको पहिचान गरी समयमै उपचार सुनिश्चित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो । “स्थानीय सरकारको सेवालाई गाउँस्तरसम्म सहज रूपमा विस्तार गर्दै आँखारोगीको पहिचान र उपचार गर्न शिविर सञ्चालन गर्न लागेका हौँ । सबै वडामा शिविर सञ्चालन गरेर नागरिकलाई घरनजिकै सेवा प्रदान गर्नेछौँ”, अध्यक्ष राईले भने । यही माघ १८ गते वडा नं ५ सानोदुम्मा, माघ १९ गते वडा नं ४ बास्तिम, माघ २० गते वडा नं ६ ठूलोदुम्मा, माघ २१ गते वडा नं २ तिवारीभञ्ज्याङ, माघ २२ गते वडा नं १ श्यामशिला र माघ २३ गते वडा नं ३ च्याङ्ग्रेमा शिविर सञ्चालन गरिनेछ । शिविरमा निःशुल्क आँखा तथा चश्मा जाँच, औषधि वितरणलगायत सेवा उपलब्ध गराइनेछ । मोतियाविन्दुका कारण आँखा नदेख्ने बिरामीको नवदृष्टि आँखा अस्पताल तुम्लिङटारमा निःशुल्क शल्यक्रिया गरिने अध्यक्ष राईले बताए । मोतियाविन्दुको शल्यक्रियामा ‘फोल्डेबल लेन्स’ प्रयोग गर्न चाहेमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यसैगरी, शल्यक्रिया गर्नुपर्ने बिरामीको निःशुल्क ल्याब परीक्षण, आँखामा मासु (प्टेरिजियम) पलाएको अवस्थामा शल्यक्रियामा २० प्रतिशत छुट तथा सहुलियत दरमा चश्मा उपलब्ध गराइने छ । गाउँपालिकाले सबै वडावासीलाई तोकिएको स्थानमा उपस्थित भई निःशुल्क सेवा लिन आग्रह गरेको छ । 

कुल १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ । मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा जारी छ । डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । त्यसैगरी,  दैलेख निर्वाचन क्षेत्र नं १ र २, सुर्खेतको १ र २, रुकुमपश्चिम, बाजुरा र अछामको क्षेत्र नं १ र २, कैलाली क्षेत्र नं १, झापा क्षेत्र नं ५ र सुनसरीको क्षेत्र नं १ को प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० छपाइ सम्पन्न भएर निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ । समानुपातिकतर्फको दुई करोड आठ लाख ३० मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

देशभर १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौँ । पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२ वटा आगलागी र डढेलोका रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ती घटनामा परेर तीन जना महिला घाइते भएका छन् भने जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् । प्राधिकरणकी प्रवक्ता शान्ति महतले पछिल्लो समयमा आगलागीका घटना बढिरहेका बताइन् । विद्युत् सर्ट हुने, आगो ताप्दा कपडामा सल्किनेलगायत घटना भइरहेका उनको भनाइ छ । पछिल्लो २४ घण्टाको अवस्था हेर्दा असावधानीका कारण आगो लाग्दा तीन जना घाइते भएका महतले उल्लेख गरिन् । प्राधिकरणका अनुसार झापा, मोरङ, धनकुटा, सोलुखुम्बू, खोटाङ, सर्लाही, बारा, कपिलवस्तु, कैलालीमा आगलागीका घटना भएका छन् भने सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको एक भीरमा डढेलो लागेको छ । प्राधिकरणबाट प्राप्त २४ घण्टाको विवरणमा सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बस्ने ६७ वर्षीया महिलाको आगो ताप्ने क्रममा सारीमा आगो सल्किएर पेट भन्दा तल्लो भागमा जली घाइते भएकी छिन् । शरीरको ३० प्रतिशत भाग जलेकी निजको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ की ६८ वर्षकी महिला आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी छिन् भने निजको ललितपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । कैलालीको धनगढी उपमहानगरपालिकाकी ८९ वर्षीया महिला आगो ताप्ने क्रममा पछाडि कपडाबाट आगो सल्किएर घाइते भएकी प्राधिकरणले जनाएको छ । निजलाई उपचारका लागि निसर्ज अस्पतालमा लगिएको छ । ती आगलागीबाट आठ वटा पशुचौपाय क्षति भएका छन् भने ३७ लाखभन्दा बढीको भौतिक क्षति भएको प्राधिकरणकी प्रवक्ता महतले जानकारी दिइन् । मोरङ र अछाममा भने जनावरको आक्रमणका घटना भएका छन् । अछाममा जनावरको आक्रमणबाट एक जना घाइते भएका प्राधिकरणले जनाएको छ । यसैबिच, प्राधिकरणले आगो ताप्ने क्रममा कपडामा सल्किएर शरीर जल्ले र ज्यानै जाने घटना भइरहेकाले विशेष ध्यान दिन र सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

कर्णालीका ४४१ मतदान केन्द्र अति संवेदनशील

सुर्खेत । प्रहरीले कर्णाली प्रदेशका १० जिल्लामा ३५१ मतदानस्थलका ४४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश प्रहरी कार्यालयले प्रदेशका एक हजार ४३७ मतदान केन्द्रमध्ये ३०१ सामान्य र ६५१ संवेदनशील सूचीमा राखेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रामप्रकाश शाहले जानकारी दिए । उनका अनुसार निर्वाचन सुरक्षाका लागि प्रदेशभर १४ हजार ७१९ जना प्रहरी परिचालन गर्ने तयारी गरिएको छ । कर्णालीका कतिपय स्थानमा सडकको अवस्था राम्रो नहुँदा निर्वाचन गराउन र मतपेटिका ल्याउन हुन सक्ने समस्यालाई मध्यनजर गरी सोहीअनुसार तयारी गरिएको पनि शाहले जानकारी दिए ।

निर्वाचन:सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ । सामाजिक सञ्जालदेखि चिया पसल, चौतारी र बस्तीसम्म ‘यसपालि कसलाई मत हाल्ने’, ‘कस्तो प्रतिनिधि रोज्ने’ भन्ने विषयमा बहस भइरहेका छन् । राजनीतिक दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरू पनि औपचारिक प्रचार सुरु नहुँदै मतदाता भेटघाटमा व्यस्त देखिन थालेका छन् । तर झापाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत पर्ने दक्षिणी सीमावर्ती कचनकबल गाउँपालिकाका केही बस्तीमा भने निर्वाचन नजिकिँदै गर्दा पनि अपेक्षित चुनावी गतिविधि देखिन सकेको छैन । भारतसँग सिधा जोडिएको यो सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय मतदाताले निर्वाचन हुँदैछ भन्ने जानकारी त पाएका छन्, तर ‘को–को उम्मेदवार छन्’ भन्ने विषयमै अन्योल रहेको बताएका छन् । कचनकबल गाउँपालिका–५ का पूर्णकुमार गणेश भन्छन्, “समाचार र सामाजिक सञ्जालबाट चुनाव हुँदैछ भन्ने त थाहा छ, तर यहाँबाट को उम्मेदवार उठेका छन् भन्ने जानकारी छैन । पहिलेपहिले चुनाव लडेर गएका नेताहरूको नाम त थाहा छ, तर यसपालि नयाँनयाँ को आउँदै छन् भन्ने थाहा छैन ।” उनका अनुसार अहिलेसम्म न त पुराना दलका उम्मेदवार पुगेका छन्, न त स्वतन्त्र उम्मेदवारी दिएका कुनै व्यक्ति नै स्थानीय बस्तीमा आइपुगेका छन् । “भोट माग्न त चुनाव नजिकिँदा आउलान् भन्ने आशा छ”, उनी भन्छन्, “तर अहिलेसम्म त कोही देखिएका छैनन् ।” कचनकबल–५ कै इद्रिस मियाँ, जमालुद्दिन मियाँ र सोर्जु हजाम पनि यही गुनासो दोहोर्‍याउँछन् । उनीहरूका अनुसार राष्ट्रियस्तरमा चर्चामा रहेका राजनीतिक दल, तिनका शीर्षनेता र समग्र राजनीतिक घटनाक्रमबारे दुर्गम बस्तीका मतदातासमेत जानकार देखिए पनि, आफ्नै निर्वाचन क्षेत्रका उम्मेदवारसँग भने सम्पर्क हुनसकेको छैन । स्थानीय इद्रिस मियाँ भन्छन्, “रेडियो, मोबाइल र फेसबुकबाट काठमाडौँलगायत चर्चामा रहेका निर्वाचन क्षेत्रमा नेता के गर्दै छन् भन्ने थाहा हुन्छ । तर यहाँबाट चुनाव लड्ने मान्छे को हो भन्ने नै थाहा छैन । उम्मेदवार आफैँ नआउँदा कसरी चिन्ने ?” सीमावर्ती क्षेत्रका मतदातामा राजनीतिक दल र उम्मेदवारप्रति देखिएको यो दूरीको मुख्य कारण भने निर्वाचनमा देखिँदै आएको पुरानै प्रवृत्ति भएको उनीहरूको बुझाइ छ । “चुनावका बेलामा मात्रै बाचा गर्छन्, भोट माग्न आउँछन्, जितेपछि फर्केर हेर्दैनन्”, जमालुद्दिन मियाँको गुनासो छ । उनका अनुसार स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार, स्वच्छ खानेपानी, सिँचाइ र रोजगारीजस्ता आधारभूत समस्या वर्षौैँदेखि उस्तै छन् । कचनकबल गाउँपालिका झापाको दक्षिणी सीमामा पर्ने दुर्गम क्षेत्र मानिन्छ । यहाँका धेरै बस्ती भारतसँग जोडिएका छन् । सीमापारिका भारतीय बजारमा दैनिक उपभोग्य सामग्री सस्तो पाइने भएकाले स्थानीयले नेपालतर्फ महँगो मूल्य तिर्नु परिरहेको समस्या पनि उठाएका छन् । “भारतमा राशन कार्ड, सस्तो खाद्यान्न र स्वास्थ्य सुविधा छ । नेपालमा त्यस्तो सुविधा नहुँदा यहाँका गरिब जनता झन् समस्यामा छन्”, स्थानीय सोर्जु हजाम बताउँछन् । यस क्षेत्रका मतदाताहरूले चुनावी उम्मेदवारसँग ठूला भाषणभन्दा पनि आफ्ना दैनिक जीवनसँग जोडिएका यथार्थ समस्या समाधानको अपेक्षा गरेका छन् । तर अहिलेसम्म उम्मेदवारहरू नै गाउँ नपुगेकाले आफ्नो आवाज कसरी राख्ने भन्ने अन्योल उनीहरूमा देखिन्छ । यद्यपि, केही मतदाता भने मतदानको दिन अझै समय बाँकी रहेकाले उम्मेदवारहरू ढिलोचाँडो आइपुग्ने विश्वास व्यक्त गर्छन् । “अहिले औपचारिक प्रचार सुरु भएको छैन । समय आएपछि उम्मेदवार आउने नै छन्”, पूर्णकुमार गणेश भन्छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारलाई आगामी फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म औपचारिक प्रचारप्रसारको समय निर्धारण गरिसकेको छ । आयोगका अनुसार उक्त अवधिमा मात्र सभा, जुलुस, घरदैलो कार्यक्रम, पोस्टर–पम्पलेटलगायत गतिविधि गर्न पाइनेछ । हाल भने उम्मेदवारहरूलाई मतदाता तथा कार्यकर्ता भेटघाट गर्न अनुमति दिइएको छ, तर त्यसका लागि पनि आचारसंहिताले के गर्न पाइने र के नपाइने स्पष्ट रूपमा तोकेको छ । झापाको निर्वाचन क्षेत्र नं ३ मा यसपटक १७ उम्मेदवारबिच प्रतिस्पर्धा हुँदैछ । नेपाली कांग्रेसबाट राजेन्द्रकुमार घिमिरे, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट हरिबहादुर राजवंशी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट डिल्लीराम घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्रप्रसाद लिङ्देन, जनता समाजवादी पार्टी नेपालबाट कर्णलाल राजवंशी, जनमत पार्टीबाट हरसलाल राजवंशी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट सन्तोष कटुवाल उम्मेदवार छन् । त्यसैगरी, उज्यालो नेपाल पार्टीबाट श्यामकृष्ण पाठक, जनता समाजवादी पार्टीबाट विनिताकुमारी राजवंशी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रकला सावा, नेसनल रिपब्लिक पार्टीबाट जयेन मगर, श्रम संस्कृति पार्टीबाट दीपक तिम्सिना, नेपाल मजदुर किसान पार्टीबाट धर्मलक्ष्मी दुवाल (लघु), मङ्गोल नेसनल अर्गनाइजेसनबाट यामकुमार श्रेष्ठ उम्मेदवार रहेका छन् । साथै अभय राजवंशी र मानप्रकाश सङ्ग्रौला स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । उम्मेदवारको सङ्ख्या धेरै भए पनि सीमावर्ती कचनकबल क्षेत्रसम्म उनीहरूको प्रभावकारी पहुँच पुग्न सकेको छैन । सरकार तथा निर्वाचन आयोगको तर्फबाट मतदाता शिक्षासम्बन्धी कार्यक्रम अहिलेसम्म सुरु नहुँदा निर्वाचन प्रक्रिया र सहभागितामाथि प्रश्न उठ्न थालेको छ । स्थानीय तहमा प्रत्यक्ष संवादको अभावका कारण मतदाता र उम्मेदवारबिचको दूरी झन् बढ्ने जोखिम देखिएको छ । निर्वाचन नजिकिँदै गर्दा झापाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका सीमावर्ती बस्तीमा उम्मेदवार र राजनीतिक दलको सक्रिय उपस्थिति कति देखिन्छ, त्यसले मतदाताको धारणा र मतदान व्यवहारमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको केन्द्रमा रहने देखिन्छ ।

आजकाे मैसम: यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ । आज तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गोरखा आरुघाटका २०० भन्दा बढी युवा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौँ  । गोरखा जिल्लाको आरुघाट गाउँपालिकाका २०० भन्दा बढी युवाले नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरू आज नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका, माला र खादा लगाएर औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका हुन् । पार्टी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार राजन गुरुङको संयोजनमा एकै गाउँपालिकाबाट २०० भन्दा बढी युवालाई पार्टी संयोजक प्रचण्डले स्वागत गरेका छन् । प्रवेश गर्ने युवाहरूले प्रगतिशील लोकतान्त्रिक पार्टी, नेकपा (एमाले) तथा नेपाली कांग्रेस जस्ता दलहरू परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका हुन् । पार्टी प्रवेश गर्नेहरूमा भुजन गुरुङ, रोनिस बराम, दीपक तामाङ, इन्द्रबहादुर गुरुङ, सुपेन्द्र गुरुङ, सञ्जीव गुरुङ, टेकबहादुर बराम, गणेश बरामलगायत २०० जना युवा रहेका छन् । कार्यक्रममा बोल्दै पार्टी संयोजक प्रचण्डले गोरखाको आरुघाट क्षेत्रमा कमजोर रहेको पार्टी अब यी युवाहरूको प्रवेशले सशक्त बन्ने विश्वास व्यक्त गरेका छन् ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको एकता पक्षधर समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित

काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको एकता पक्षधर समूहले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । धनकुमारी सुनारको नेतृत्वमा रहेको उक्त एकता पक्षधर समूहलाई आज पार्टी कार्यालय पेरिसडाँडामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीमा समायोजन गरेका छन् । उक्त समूह र नेपाली कम्युनिस्ट पार्टीबीच ८ बुँदे सहमति पनि भएको छ । यो समायोजनले वामपन्थी एकतालाई थप सुदृढ बनाउने उद्देश्य राखिएको बताइएको छ ।

पत्रकार विजय कुशवाह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौँ  । मधेस प्रदेशका स्थापित पत्रकार तथा विजयपथ डटकमका प्रधान सम्पादक विजय कुशवाहले माघ १७ गते पार्टी कार्यालयमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा औपचारिक प्रवेश गरेका छन् । नेपाली कांग्रेस निकट प्रेस युनियनका केन्द्रीय सदस्य, मधेस प्रदेश अध्यक्ष तथा जनता टेलिभिजन र हिमालय टेलिभिजनका मधेस ब्यूरो प्रमुखसमेत रहनुभएका कुशवाहलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका छन् । 

जेन–जीको एजेन्डा नेकपासँगै छ, युवाकै नेतृत्वमा परिवर्तन सम्भव: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी पुस्ताले उठाएका परिवर्तनका एजेन्डा नेकपासँगै रहेको दाबी गर्दै देश रूपान्तरणको नेतृत्व अब युवाले लिनुपर्ने बताउनु भएकाे छ । सोलुखुम्बुमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले आफू ७२ वर्ष पुगे पनि अझै सक्रिय रहने अठोट व्यक्त गर्दै युवालाई आत्मविश्वासका साथ अघि बढ्न आह्वान गर्नुभयाे । “म ७२ वर्ष चलिराखेको छु, अझै केही वर्ष भिड्छु भन्ने जोश छ भने तपाईंहरू ४० वरिपरिका युवासँग त प्रशस्त समय र अवसर छ,” उहाँले भन्नुभयाे, “नेतृत्व तपाईंहरूको हातमा जानैपर्छ ।” प्रचण्डले जेन–जी पुस्ताले उठाउँदै आएका सुशासन, रोजगारी, समानता र परिवर्तनका मुद्दा नेकपाको राजनीतिक एजेन्डासँग पूर्ण रूपमा मेल खाने बताउनु भएकाे छ । “जेन–जी आन्दोलनका एजेन्डा नेकपासँग छन्, त्यसैले युवाको साथ हामीसँग छ,” उहाँले दाबी गर्नु भयाे ।  सोलुखुम्बु संसारकै सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको जिल्ला भएकाले यहाँको निर्वाचनमा विश्वको ध्यान केन्द्रित हुने प्रचण्डको भनाइ छ । “सोलुखुम्बुमा कसले जित्छ भन्नेमा संसारको चासो हुन्छ,” उहाँले भन्नुभयाे, “त्यसैले यहाँको नतिजाले अन्तर्राष्ट्रिय सन्देश पनि दिन्छ ।” उहाँले विगतमा सोलुखुम्बुलाई विशेष प्राथमिकतामा राखेर हेरेको उल्लेख गर्दै भविष्यमा पनि जिल्लाको विकासमा निरन्तर ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयाे । प्रचण्डले सोलुखुम्बुबाट नेकपाका उम्मेदवार युवा पुस्ताका आशालाग्दा नेता असिम राई भएको उल्लेख गर्दै मतदातालाई जिताउन आग्रह पनि गर्नुभयाे । “अब नेतृत्व युवा पुस्तामा जानुपर्छ, असिम राई त्यसको प्रतिनिधि हुन्,” उहाँले भन्नुभयाे ।  हालको निर्वाचन व्यवस्थाको रक्षा गर्दै जनताको अवस्था परिवर्तन गर्ने उद्देश्यका साथ नेकपासँग २३ दल एकताबद्ध भएको जानकारी दिँदै प्रचण्डले यो चुनाव सत्ता केन्द्रित नभई परिवर्तन केन्द्रित रहेको स्पष्ट पार्नु भयाे । “यो चुनाव पद र शक्तिका लागि होइन, जनताको जीवन बदल्ने अभियान हो,” प्रचण्डले भन्नुभयाे ।  सोलुखुम्बुको चुनावमा विश्वकै ध्यान पर्ने भएकाले लोकतन्त्र, परिवर्तन र युवाको भविष्यका लागि नेकपालाई विजयी गराउन उहाँले मतदातासँग अपिल गर्नुभयाे । 

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समुह नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल परित्याग गरी केन्द्रदेखि जिल्ला तहसम्मका नेतृत्त्वसहितका एकता पक्षधर नेता–कार्यकर्ताको एकता पक्षधर समुह नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन्। आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना हुने कार्यक्रममा उहाँहरू औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनुहुने छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा कार्यालय एवं सचिवालय सदस्य धनकुमारी सुनारको नेतृत्वमा, केन्द्रीय प्रबुद्ध समिति सल्लाहकार सदस्य गणेश रसाइली, केन्द्रीय सदस्य तथा महिला संगठन सुदूर प्रदेश संयोजक यसोदा बराल, कैलाली जिल्ला पार्टी सदस्य तथा जात व्यवस्था उन्मूलन मोर्चा जिल्ला संयोजक विक्रम सुनारलगायत नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँनुहुने छ । यसैगरी तुलशी परियार, प्रिया बराल, दिपा राना, हेमा सुनार, संगीता सिजापति, करीता सिजापती, सुमित्रा खाति, शर्मिला जिजार, कमला पिसी र कञ्चनपुर जिल्ला महिला संगठन संयोजक रीता नेपालीसहितका नेता–कार्यकर्ता पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने कार्यक्रम रहेको छ ।उहाँहरूलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले स्वागत गर्नुहुने छ।