प्रत्यक्षतर्फ ६० जिल्लाको मतपत्र छपाइ सकियो, २५ जिल्लाको प्याकिङ सम्पन्न

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका ६० जिल्लाको मतपत्र छपाइको काम सम्पन्न गरेको छ । यसमध्ये डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र सुनसरी गरी २५ जिल्लाको मतपत्र छपाइसँगै प्याकिङ पनि सम्पन्न भइसकेको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छपाइ कार्य अन्तिम चरणमा पुगेको छ भने प्याकिङ पनि क्रमशः जारी छ । समानुपातिकतर्फ भने कुल २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ र रुजु सम्पन्न भई ढुवानीका लागि तयारी अवस्थामा छ ।

प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्नेमा माघ १६ गतेदेखि काम सुरु भएको थियो । यसैगरी, १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

टि ट्वेन्टी विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपालद्वारा क्यानडा ६ विकेटले पराजित

काठमाडौं । टी२० विश्वकप २०२६ का लागि भारतको चेन्नईमा जारी अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ । क्यानडाले टस जितेर पहिले ब्याटिङ गरेको खेलमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनायो । नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै क्यानडालाई रोके । सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २-२ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले १-१ विकेट हात पारे । जवाफमा नेपालले लक्ष्य १८ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ५८ रनको इनिङ खेल्नुभयो । उहाँको यो आक्रामक ब्याटिङले नेपाललाई सहज जित दिलाउन महत्वपूर्ण भूमिका खेलेको थियो । यसअघि नेपालले अभ्यास खेलमा यूएईलाई ७ विकेटले हराएको थियो । लगातार दोस्रो जितसँगै नेपालले विश्वकपअघि राम्रो लय कायम राखेको छ । यो अभ्यास खेलले नेपाल टिमलाई आगामी मुख्य प्रतियोगिताका लागि थप आत्मविश्वास प्रदान गरेको छ ।

डा. बाबुराम भट्टराईका बुवा भोजप्रसादको निधनमा नेकपा संयोजक प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।   उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गर्नुभएको स्टाटसमा भन्नुभएको छ, 'पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कम्युनिष्ट पार्टीका नेता शिव भट्टराई र पार्वती भट्टराईका बुवा तथा पूर्व मन्त्री हिसिला यमि र केन्द्रीय सदस्य दुर्गा भट्टराईका प्रातःस्मरणीय ससुरा बुवाको निधन भएको दुःखद खबरले म अत्यन्तै मर्माहत भएको छु।' उहाँले कीर्तिशेष बुवा भोजप्रसाद भट्टराईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। उहाँले यस दुःखद घडीमा सम्पूर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गर्नुभएको छ। भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

उदयपुर–२ का पाँचै पालिकामा नेकपाको निर्वाचन परिचालन समिति गठन, वडा तहसम्म संगठन विस्तार

उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र–२ अन्तर्गतका पाँचै पालिकामा निर्वाचन परिचालन तथा प्रचार–प्रसार समिति गठन गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठनात्मक गतिविधि तीव्र बनाएको हो । उदयपुर–२ अन्तर्गत कटारी नगरपालिका, रौतामाई गाउँपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा निर्वाचन परिचालन तथा प्रचार समिति गठन भइसकेको निर्वाचन क्षेत्र परिचालन समितिले जनाएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र परिचालन समितिका संयोजक मोहनबहादुर खत्री ‘दीपक’ का अनुसार पाँचै पालिकासँगै ४० वटै वडामा समेत निर्वाचन प्रचार–प्रसार समिति गठनको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ । “वडास्तरमा प्रचार समिति गठन र सम्पर्क कार्यालय स्थापना धमाधम भइरहेको छ । यो प्रक्रिया माघ २६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ,” उनले भने । समिति गठनपछि घरदैलो अभियानलाई व्यापक बनाइने तयारी गरिएको खत्रीले जानकारी दिए । यस निर्वाचन क्षेत्रमा नेकपाबाट प्रत्यक्षतर्फ सुरेशकुमार राई ‘हिमाल’ उम्मेदवार रहेका छन् । समानुपातिकतर्फ विनोद कटुवाल ‘दिवस’, रामणी पोखरेल, मेनुका गुरुङ राई उम्मेदवार छन् । उदयपुर–२ जनयुद्धकालीन आधार क्षेत्रका रूपमा चिनिने ऐतिहासिक निर्वाचन क्षेत्र हो । जसलाई क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको किल्लाका रूपमा समेत लिने गरिन्छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा हालका प्रतिनिधिसभा निर्वाचन क्षेत्र परिचालन समितिका संयोजक  मोहनबहादुर खत्री यही क्षेत्रबाट निर्वाचित भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका नारायणबहादुर कार्की निर्वाचित भएका थिए । त्यसैगरी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा हालका नेकपा उम्मेदवार सुरेशकुमार राई ‘हिमाल’ नेकपा माओवादी केन्द्रको तर्फबाट भारी मतकासाथ निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा नेकपा एमालेले जित हासिल गरेको थियो । यसपटक उदयपुर–२ मा नेकपाको जनआधार अझ सुदृढ बन्दै गएको राजनीतिक विश्लेषकहरूको आँकलन छ । संगठन विस्तार र सक्रिय चुनावी अभियानले नेकपाकाे जित शुनिश्चित बनाउँदै लगेकाे बताइन्छ । 

जेनजी युवाको हत्या गर्ने र नेपालका धरोहर जलाउनेहरूले देशको नेतृत्व गर्न सक्दैनन् : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेनजी युवाको हत्या गर्ने र नेपालका धरोहर जलाउनेहरूले देशको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ। पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीले मात्रै देशको सही नेतृत्व गर्न सक्ने  बताउनु भयो ।  उहाँले भ्रष्टाचारविरुद्ध, सुशासन र समृद्धिको पक्षमा दृढ रूपमा उभिने पार्टी नेपाली कम्युनिष्ट पार्टी नै भएको कुरा जनतामाझ स्पष्ट रूपमा बुझाउन सके पार्टी पहिलो स्थानमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रचण्डले भन्नुभयो, “जेनजी आन्दोलनका नाममा कलिला बालबालिकाको हत्या गर्ने, राष्ट्रिय धरोहर जलाउने र सुरक्षाकर्मीको क्रूर हत्या गर्नेहरूले देशको नेतृत्व गर्न सक्दैनन् । सच्चा नेतृत्व दिन सक्षम पार्टी नेपाली कम्युनिष्ट पार्टी मात्र हो ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले आफ्नो पार्टी संसद् पुनर्स्थापना वा सर्वदलीय सरकारको पछि नलागी सुरुदेखि नै निर्वाचनको पक्षमा उभिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले अन्य दलहरू पनि मन नलागे पनि चुनावमा होमिएका छन् । हामी भने सुरुदेखि नै यो अभियानमा थियौं । आम नागरिकको मत पनि चुनावकै पक्षमा छ ।” देशभर आयोजना गरिएका सन्देश सभामा जनताको उत्साहपूर्ण सहभागिता रहेको उल्लेख गर्दै उहाँले त्यसले पार्टीप्रतिको बढ्दो विश्वास झल्काएको बताउनुभयो । विगतका कमीकमजोरी सुधार्दै राष्ट्र बचाउने र देश विकास गर्ने चाहनालाई आत्मसात् गर्दै नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको उहाँको भनाइ थियो । प्रचण्डले पार्टीले कसैसँग पनि राजनीतिक समीकरण नगर्ने स्पष्ट धारणा रहेको बताउनुभयो । केही व्यक्तिहरूले पहिले नकार गरिएका पार्टी तथा व्यक्तिसँग नेपाली कम्युनिष्ट पार्टीको समीकरण बनेको भन्दै प्रचार गरिरहेको आरोप लगाउँदै उहाँले त्यसलाई असत्य र भ्रमपूर्ण भनेर खण्डन गर्नुभयो । पार्टी जनतामाझ आफ्नै कुरा राखेर अघि बढ्ने र कुनै समीकरणमा नजाने उहाँले स्पष्ट पार्नुभयो । विभिन्न भेटघाटका क्रममा नकारात्मक प्रचार भइरहेको र सामाजिक सञ्जालमा भ्रम फैलाइँदै आएको भन्दै उहाँले ती भ्रमलाई अस्वीकार गर्न तथा पार्टीका उम्मेदवारको पक्षमा सक्रिय रूपमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । देशभरबाट प्राप्त रिपोर्टका आधारमा नेपाली कम्युनिष्ट पार्टी नै सबैभन्दा बढी उत्साह र उमंगका साथ जनताको घरदैलोमा पुगेको तथा अहिले पार्टी एक नम्बरमा रहेको उहाँले दाबी गर्नुभयो । प्रचण्डले जेनजी आन्दोलनपछि जनतामाझ पुग्ने अभियानको सुरुवात नेपाली कम्युनिष्ट पार्टीले नै गरेको बताउनुभयो । जनताका मागलाई सम्बोधन गर्ने गरी पार्टीको घोषणापत्र अन्तिम चरणमा पुगेको तथा आजभोलिमै टुंगिने जानकारी पनि उहाँले दिनुभयो । उहाँले खुसी व्यक्त गर्दै विभिन्न पार्टी तथा नेताहरूसँग संवाद भइरहेको र उनीहरूको कुरा सुन्दा आम रूपमा सक्रियता नेपाली कम्युनिष्ट पार्टीकै देखिएको उल्लेख गर्नुभयो । जनताको साथ तारा चुनाव चिन्हमा रहेको तथा उभार पार्टीकै पक्षमा देखिएको उहाँले बताउनुभयो । अन्त्यमा, प्रचण्डले पार्टीका सबै तहका नेता–कार्यकर्तालाई जनताको घर–घरमा पुगेर यी विषयहरू स्पष्ट रूपमा बुझाउन निर्देशन दिनुभयो । पार्टीभित्र रहेका साना असमझदारी निर्वाचनपछि समाधान गर्ने उल्लेख गर्दै हालका लागि सबै विषय थाँती राखेर एकताबद्ध रूपमा निर्वाचनमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

नेपाली क्रिकेट टोलीले आज विश्वकपको तयारीका लागि दोस्रो वार्मअप म्याच क्यानडासँग खेल्ने

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को तयारीका क्रममा नेपालले आज आफ्नो अन्तिम वार्मअप खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । चेन्नईको प्रतिष्ठित एमए चिदम्बरम स्टेडियममा हुने यो खेल दिउँसो १:१५ बजे (नेपाली समयअनुसार सवा १ बजेपछि) सुरु हुनेछ । नेपालले यसअघिको वार्मअपमा यूएईलाई पराजित गर्दै सुखद सुरुवात गरेको थियो । त्यसअघि नेपालले मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ विरुद्ध दुवै अभ्यास खेल जितेको थियो भने श्रीलंकामा श्रीलंका ‘ए’ सँगको तीन खेलमध्ये एक मात्र जित हासिल गरेको थियो । फेब्रुअरी ७ (माघ २४) देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल ग्रुप सी मा छ । उसले पहिलो खेल फेब्रुअरी ८ (माघ २५) मा इंग्ल्यान्डसँग खेल्नेछ । नेपालको पूर्ण ग्रुप चरण तालिका यस प्रकार छ: फेब्रुअरी ८ (माघ २५): इंग्ल्यान्ड विरुद्ध (मुम्बई) फेब्रुअरी १२ (माघ २९): इटाली विरुद्ध (मुम्बई) फेब्रुअरी १५ (फागुन २): वेस्ट इन्डिज विरुद्ध (मुम्बई) फेब्रुअरी १७ (फागुन ४): स्कटल्यान्ड विरुद्ध (मुम्बई) यी वार्मअप खेलहरूले नेपाललाई विश्वकपमा बलियो सुरुवातका लागि महत्वपूर्ण आधार प्रदान गर्नेछन् । खेलको प्रत्यक्ष प्रसारण तथा अपडेट विभिन्न प्लेटफर्ममा उपलब्ध हुनेछ ।

दल र उम्मेदवारले २५ हजार माथिको नगद सहयोग लिन नपाइने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ स्वीकृत गरेको छ ।  आयोगले मङ्गलबार स्वीकृत गरेको यो कार्यविधि प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसार खर्चलाई नियन्त्रण, निगरानी र अनुशासित बनाउने उद्देश्यले ल्याइएको जनाइएको छ । कार्यविधिअनुसार अब निर्वाचनको प्रचारप्रसारका लागि राजनीतिक दल र उम्मेदवारले अनिवार्य रूपमा छुट्टै बैङ्क खाता खोल्नुपर्ने छ । त्यसका लागि राजनीतिक दलले आयोगको सचिवालयमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । निवेदनसँगै दलको आधिकारिक पत्र, उम्मेदवारको उम्मेदवारी निस्सा वा परिचयपत्र, सम्बन्धित बैङ्कको दस्तखत नमुना कार्ड र खाता सञ्चालकको नागरिकता प्रमाणपत्र पेस गर्नुपर्नेछ । आयोग वा निर्वाचन कार्यालयले कागजात जाँच गरी सिफारिस गरेपछि मात्र बैङ्क तथा वित्तीय संस्थाले खाता खोल्नेछन् । खाता खुलेको जानकारी आयोग, निर्वाचन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अनिवार्य रूपमा दिनुपर्नेछ । कार्यविधिअनुसार राजनीतिक दलको हकमा दलले तोकेका बढीमा दुई जना पदाधिकारीको संयुक्त दस्तखतबाट मात्र खाता सञ्चालन गर्न पाइनेछ । उम्मेदवारको हकमा भने उम्मेदवार स्वयं वा उसले अख्तियारी दिएको व्यक्तिको एकल वा बढीमा दुई जनाको संयुक्त दस्तखतबाट खाता सञ्चालन गर्न सकिनेछ । यस्तै, निर्वाचन प्रचार–प्रसारसम्बन्धी सबै आम्दानी र खर्च नेपाली मुद्रामै गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । स्वैच्छिक आर्थिक सहयोग, प्रचारप्रसारका क्रममा हुने खर्च, चेक, ड्राफ्ट, टिटी वा विद्युतीय माध्यमबाट गरिने भुक्तानी सबै बैङ्क खातामार्फत गर्नुपर्नेछ । राजनीतिक दल र उम्मेदवारहरूले रु २५ हजार भन्दा बढीको सहयोग नगदमा लिन पाइने छैन । यस्तो रकम सोझै बैङ्क खातामा जम्मा गर्नुपर्नेछ । रु २५ हजारभन्दा कम रकमका हकमा भने नगद रसिद वा भरपाई काटी खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । कार्यविधिले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार निषेधित निकाय र व्यक्तिबाट आर्थिक सहयोग लिन कडाइका साथ प्रतिबन्ध लगाएको छ । नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका निकाय, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाहरू, सार्वजनिक शेयर भएको पब्लिक लिमिटेड कम्पनी, सरकारी वा सामुदायिक शैक्षिक संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विदेशी सरकार वा व्यक्ति, नाम नखुलेका व्यक्ति वा संस्था तथा आयोगले तोकेका अन्य संस्थाबाट सहयोग लिन पूर्ण रूपमा निषेध गरिएको छ । कार्यविधिमा रु एक लाखभन्दा बढी सहयोग लिँदा सहयोग दिने व्यक्ति वा संस्थाको नाम, ठेगाना, पेसा, स्थायी लेखा नम्बर, रकमको स्रोत तथा करसम्बन्धी विवरण अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ । कार्यविधि लागू हुनुअघि खोलिएका निर्वाचन खर्चसम्बन्धी बैङ्क खातामा रहेको रकम अब नयाँ कार्यविधिअनुसार खोलिएको खातामा सार्नुपर्ने छ । “राजनीतिक दल वा उम्मेदवारले यो कार्यविधि लागू हुनुभन्दा अघि निर्वाचन प्रचारप्रसार गर्ने प्रयोजनका लागि बैङ्क खाता खोली प्राप्त गरेको रकम यस कार्यविधिबमोजिम खोलिएको बैङ्क खातामा सार्नुपर्नेछ”, कार्यविधिमा भनिएको छ । निर्वाचन सम्पन्न भएपछि दल र उम्मेदवारले निर्वाचन प्रचारप्रसार खर्चको विवरण सार्वजनिक गरी सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ । सो विवरणको प्रतिवेदन तयार भएको ३५ दिनभित्र बैङ्क खाता बन्द गर्न लगाइने छ, तर खाता विवरण भने छ वर्षसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ । दल खारेज भएमा वा उम्मेदवारी रद्द भएमा आयोगले जुनसुकै समयमा खाता बन्द गराउन सक्नेछ । कार्यविधिले राजनीतिक दल र उम्मेदवारले चुनावमा गरेको खर्च अनुगमनको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) प्रमुखलाई दिएको छ । निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा कोलेनिका प्रमुखले यस्तो निगरानी गर्नेछन् । अनुगमनमा सरकारी कर्मचारी वा सार्वजनिक सम्पत्तिको दुरुपयोग भए–नभएको, निषेधित निकायबाट सहयोग लिइएको–नलिइएको, खर्च सीमा नाघिएको–ननाघिएको, निषेधित कार्यमा खर्च गरिएको–नगरेकोलगायत विस्तृत विवरण संकलन गरिनेछ । बैङ्क खातासम्बन्धी कागजात र विवरणलाई प्रचलित कानुनबमोजिम गोप्य र अनतिक्रम्य मानिने व्यवस्था गरिएको छ, तर निर्वाचन आयोग वा आयोगले अधिकार दिएको अधिकारीले आवश्यक ठानेमा खाता जाँच वा परीक्षण गर्न सक्ने स्पष्ट प्रावधान राखिएको छ । यसअघिका निर्वाचनमा प्रचारप्रसार खर्चको स्रोत, परिमाण र प्रयोगबारे गम्भीर प्रश्न उठ्दै आएको थियो । स्वैच्छिक सहयोगको नाममा अपारदर्शी लेनदेन, नगद खर्च, निषेधित निकायबाट सहयोग लिने अभ्यास र खर्च सीमा नाघ्ने प्रवृत्तिले निर्वाचनको निष्पक्षता र सुशासनमा चुनौती थप्दै आएको थियो । यही सन्दर्भमा निर्वाचन आचारसंहिता, २०८२ को दफा १६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र निर्वाचनलाई व्यवस्थित तथा मर्यादित बनाउन आयोगले यो कार्यविधि लागू गरेको जनाएको छ ।

नाइजेरियामा हतियारधारी समूहको आक्रमण, १६२ जनाको ज्यान गयो

काठमाडौं । नाइजेरियाको क्वारा प्रान्तमा बन्दुकधारी समूहले अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा १६२ जनाको ज्यान गएको छ । घटनामा केही मानिस अझै बेपत्ता रहेको रेड क्रसले जनाएको छ । रेड क्रसको क्वारा प्रान्तीय कार्यालयका सचिव बाबाओमो अयोदेजीका अनुसार हालसम्म १६२ जनाको मृत्यु पुष्टि भइसकेको छ भने खोज तथा उद्धार कार्य जारी छ । घाइतेहरूको संख्या यकिन हुन बाँकी रहेको जनाइएको छ । घटना जनवरीको अन्त्यतिर नाइजेरियाली सेनाले आतंकवादी समूहविरुद्ध सफल सैन्य अभियान सञ्चालन गरेको क्षेत्रमा भएको हो । स्थानीय सुरक्षास्थितिमा सुधार आएको दाबी गरिएको केही समयमै यस्तो ठूलो आक्रमण भएको हो । काईआमा क्षेत्रका स्थानीय नेता सैदु बाबा अहमदले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार आक्रमणकारीबाट जोगिन धेरै स्थानीयवासी नजिकैका झाडी तथा वन क्षेत्रमा लुकेका थिए । उनका अनुसार फेब्रुअरी ३ को साँझ करिब ६ बजेतिर बन्दुकधारीहरू वोरो गाउँमा प्रवेश गरी पसलहरू तथा स्थानीय परम्परागत राजाको दरबारमा आगजनी गरेका थिए । परम्परागत राजाको अवस्था बारे हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन । यसअघि नाइजेरियाली सेनाले जनवरी ३० मा क्वारा प्रान्तमा सञ्चालन गरिएको कारबाहीमा करिब १५० जना आतंकवादी मारिएको दाबी गरेको थियो । सेनाका अनुसार बाँकी रहेका केही आतंकवादीहरू जंगलतर्फ भागेका थिए । नाइजेरियाका धेरै भू–भागमा हाल हतियारधारी समूहहरूको प्रभाव बढ्दै गएको छ । स्थानीय रूपमा ‘डकैत’ भनेर चिनिने यी समूहहरूले गाउँहरूमा लुटपाट गर्ने, सर्वसाधारणलाई अपहरण गरी फिरौती असुल्ने जस्ता आपराधिक गतिविधि गर्दै आएका छन् । यस्तै, देशको उत्तर–पूर्वी र उत्तर–पश्चिमी क्षेत्रमा जिहादी समूहहरूको गतिविधि पनि सक्रिय रहेको सुरक्षास्रोतले जनाएको छ ।

झापामा टिपर र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु

दमक । झापाको दमकमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ । बुधबार अपरान्ह टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपर र दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल दमक १ बरगाछीमा एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए ।  दुर्घटनामा परेर गम्भरी घाइते बन्नु भएका इलाम चुलाचुली गाउँपालिका –४ बस्ने २२ वर्षीय प्रवेश राई र सोही ठाउँ बस्ने १९ वर्षीय जनम राईको उपचारको क्रममा मृत्यु भएको खड्काले जानकारी दिए । स्थानीय दमक अस्पतालमा उपचारका लागि लगिएकोमा दुबै जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

श्रमिक परिवारलाई २० लाख बढी आर्थिक सहायता

काठमाडौं  । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध नभएका श्रमिकको आश्रित परिवारलाई सम्बन्धित रोजगारदाताबाट २० लाख भन्दा बढी आर्थिक सहायता दिलाएको छ ।  वीरगन्जस्थित एक टेक्सटाइलको व्यापार गर्ने कम्पनीमा कार्यरत श्रमिक रामानन्द साह कानुको निधनपछि परिवारलाई कोषले आश्रित परिवारले पाउनुपर्ने सबै सुविधाबापतको २० लाख ४३ हजार ६४५ रुपैयाँ पैसा दिलाएको हो । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले बुधबार मृतककी श्रीमती उमादेवीलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरे ।  श्रमिक कानुनको २०७९ साउन २७ गते मृत्यु भएको थियो । कानुको रोजगारदाता कम्पनी सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका कारण उनका परिवार सामाजिक सुरक्षाबाट वञ्चित भएको थियो ।  पीडित पक्षका तर्फबाट श्रीमती उमादेवीले २०७९ कात्तिक २५ गते आश्रित परिवार सुरक्षा सम्बन्धमा पाउनुपर्ने सबै सुविधा उपलब्ध गराइँ पाऊँ भनी निवेदन दिएकी छिन् ।  कोषले २०७९ मंसिर १५ गते उक्त विषयमा जानकारी गराउन रोजगारदातालाई पत्राचार गरेको थियो । रोजगारदाता र पीडितपक्षबीच मिलापत्र हुन नसकेपछि कोषले आश्रित परिवार सुविधाबापतको सुविधा दिन रोजगारदातालाई आदेश दिएको थियो ।  कोषको आदेश चित्त नबुझेपछि रोजगारदाताले उच्च अदालत पाटनमा पुनरावेदन गरेकामा २०८० चैत १२ गते उच्च अदालतबाट कोषको फैसला सदर भएको थियो ।  उच्च अदालतको फैसलालाई लिएर रोजगारदाता सर्वोच्च पुगेपनि सर्वोच्चले कोषकै फैसलालाई सदर गरेको थियो । अदालती प्रक्रिया टुंगिएपछि गत मंसिर २८ गते कोषले रोजगारदाताको बैंक खाता रोक्का राख्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।  सम्बन्धित रोजगारदाताका तर्फबाट आश्रित परिवारले पाउने रकम भुक्तानी गरेपश्चात उक्त खाता फुकुवा गरिएको कोषले जनाएको छ ।  कार्यक्रममा कोषका कार्यकारी निर्देशक अधिकारीले रोजगारदताले कोषमा आबद्ध नगराइदिएको अवस्थामा श्रमिकको निधनपछि आश्रित परिवार सुविधाबाट वञ्चित हुन नदिन सुविधा दिलाउने अधिकार कोषलाई भएको बताए ।   कोषमा हालसम्म औपचारिक क्षेत्रका ६ लाख ७३ हजार र वैदेशिक क्षेत्रका २१ लाख ६ हजार गरी  २७ लाख ८१ हजारबराबर योगदानकर्ता सूचीकृत भएका छन् । कोषले हालसम्म विभिन्न सुविधाबापत योगदानकर्तालाई १८ अर्ब ६३ करोड दाबी भुक्तानी गरिसकेको छ । 

आजकाे माैसम: तराईका भूभागका थोरै स्थानहरूमा तुवाँलो

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको हिमाली भूभागमा साधरणतया बदल लागेको छ र पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराईका भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ। आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकोले तत्काल वर्षाको  सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । 

लाखौँ रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नुवाकोटको तार्केश्वर गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने ३६ वर्षीया कुमारी तामाङ रहेकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । “निज तामाङले बेलायत पठाउने भन्दै सात लाख ९० हजार रकम लिइ लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो,” कार्कीले भने । उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरी आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

दुई जिल्लामा दुईजना मृत फेला

काठमाडौं । छुट्टाछुट्टै स्थानमा दुईजना मृत फेला परेका छन् । प्रहरीका अनुसार गुल्मी र अछाममा दुईजना मृत फेला परेका हुन् । गुल्मीको इस्मा गाउँपालिका-२, राजचौर बस्ने ४७ वर्षीय निम बहादुर कुमाल सोही गाउँपालिका-२ स्थित छल्दीपनाह खोलाको कुलोमा बुधबार मृत फेला परेका छन् । त्यस्तै, अछामको पञ्चदेवल बिनायक नगरपालिका-५, लयटी बस्ने ३६ वर्षीय तुला कामी सोही ठाउँस्थित बाटो छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा रहने छ । पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ७३ पैसा, स्विस फ्रयांक एकको खरिददर १८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०५ पैसा, सिंगापुर डलर एकको खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रीदर ११३ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २१ पैसा र बिक्रीदर नौ रुपैयाँ २५ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८० पैसा र बिक्रीदर २० रुपैयाँ ८९ पैसा तोकिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसामा विनिमय हुनेछ । साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९१ पैसा र बिक्रीदर नौ रुपैयाँ ९५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १० पैसा र बिक्रीदर १६ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा तोकिएको छ । हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४७४ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ ।  बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ६२ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ६५ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद

बागलुङ । बागलुङमा ठुलो सङ्ख्यामा भरुवा बन्दुक बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले ४० दिनको अवधिमा ११५ थान अवैध तवरबाट राखिएको भरुवा बन्दुक बरामद गरेको हो । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जङ्गलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट हालसम्मकै ठुलो सङ्ख्यामा भरुवा बन्दुक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट ६६ थान, इलाका प्रहरी कार्यालय गलकोटबाट ४५ र इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट ४ वटा भरुवा बन्दुक बरामद भएको छ । ढोरपाटन सिकार आरक्ष आसपास, विभिन्न सामुदायिक वनमा चोरी–सिकारी बढेको तथा गाउँघरमा आपसी विवाद र झै–झगडामासमेत भरुवा बन्दुकको दुरुपयोग हुने जोखिम बढेकाले इजाजत पत्र नलिईकन लुकाइछिपाइ राखिएका भरुवा बन्दुक सङ्कलन गरी बरामद गरिएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय र मातहतका एकाइबाट भएका गस्ती तथा स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा गोठ, जङ्गल, खोलाखोल्सा तथा बसोबास नभएका खाली घरमा लुकाएर राखेको अवस्थामा अवैध बन्दुक बरामद भएको प्रहरी उपरीक्षक भारतीले बताए । “हामीले केही समय अगाडिदेखि अवैध हातहतियार सङ्कलन र बरामद गर्ने अभियान चलाएका थियौँ, हाम्रो सबै प्रहरी युनिटबाट खटिएका प्रहरीले यी हातहतियार नियन्त्रणमा लिएका हुन्”, प्रहरी उपरीक्षक भारतीले भने, “चुनावलाई लक्षित गरेर लाइसेन्सवाला हतियार पनि प्रहरीमा बुझाउन आग्रह गरेका छौँ ।” उनका अनुसार बरामद भएका धेरैजसो भरुवा बन्दुक स्थानीयस्तरमै बनाइएको र चालु अवस्थामै रहेको भेटिएको छ । इजाजत पत्र नलिईकन भरुवा बन्दुक प्रयोग गरेमा पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

निर्वाचन प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौँ । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ । आयोगको यही माघ २० गते बसेको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ र दफा ५०, निर्वाचन आचारसंहिता, २०८२ को दफा १६, आयोगको माघ ८ को निर्णय तथा नेपाल राष्ट्र बैङ्कले माघ १२ मा जारी गरेको निर्देशनका आधारमा यो कार्यविधि ल्याइएको आयोगले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले बैङ्किङ कारोबार गर्न इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूलाई जारी गरेको निर्देशनअनुसार निर्वाचनसम्बन्धी आर्थिक कारोबारलाई पारदर्शी र अनुशासित बनाउने लक्ष्य राखिएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले प्रचार–प्रसारका लागि प्राप्त गर्ने आर्थिक सहयोग, चन्दा तथा सम्पूर्ण खर्च यही विशेष बैङ्क खातामार्फत गर्नुपर्नेछ । नगद कारोबारलाई निरुत्साहित गर्दै सबै आम्दानी–खर्चको स्पष्ट अभिलेख राख्न यो व्यवस्था गरिएको जनाइएको छ । कार्यविधिअनुसार राजनीतिक दलहरूले निर्वाचन प्रचार–प्रसारका लागि बैङ्क खाता खोल्न निर्वाचन आयोगको सचिवालयबाट सिफारिस लिनुपर्ने छ भने उम्मेदवारहरूको हकमा सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट सिफारिस गरिने व्यवस्था गरिएको छ । सिफारिसका आधारमा मात्र तोकिएका बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न पाइनेछ । खाता सञ्चालन, कारोबारको सीमा, विवरण पेस गर्ने प्रक्रिया तथा अनुगमनसम्बन्धी प्रावधानहरू पनि कार्यविधिमा समेटिएका छन् । निर्वाचन आयोगले मातहतका सबै निर्वाचन कार्यालय, बैङ्क तथा वित्तीय संस्थाहरूलाई कार्यविधिअनुसार आवश्यक काम कारबाही गर्न निर्देशन दिएको छ । साथै, राजनीतिक दल, तिनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूलाई समेत यस व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्रिय सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरिएको छ । आयोगले निर्वाचन प्रचार–प्रसार खर्चलाई आधुनिक बैङ्किङ प्रणालीसँग जोडेर सुसंस्कृत व्यवहारको थालनी भएको उल्लेख गर्दै यसले निर्वाचन प्रक्रियाप्रति जनविश्वास बढाउने दाबी गरेको छ । आयोगको यो कदमलाई निर्वाचन खर्च व्यवस्थापनमा सुधारतर्फको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ । विगतका निर्वाचनमा प्रचार–प्रसार खर्चको यथार्थ विवरण नआउनु, नगद कारोबार बढी हुनु र खर्चको सीमा उल्लङ्घनसम्बन्धी गुनासो बढ्दै गएको सन्दर्भमा नयाँ कार्यविधिले पारदर्शिता र उत्तरदायित्व बढाउने अपेक्षा गरिएको छ । बैङ्किङ प्रणालीमार्फत हुने कारोबारले स्रोतको पहिचान, खर्चको ‘ट्र्याकिङ’ र पछि हुने लेखापरीक्षणलाई सहज बनाउने आयोगको विश्वास छ ।