१६ जना डीआईजीको सरुवा, हेर्नुहोस् सूची

काठमाडौँ । गृह मन्त्रालयले १६ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक९डीआईजी० को सरुवा गरेको छ । उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयबाट मंगलवार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुको सरुवा गरिएको हो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम १ को ९ख० अनुसार डीआईजीहरूको सरुवा गरिएको सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले जनाएको छ ।
हेनुहोस् सूची

चीनले हिल्सामा मितेरी पुल बनाइदिने

काठमाडौं । नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा कर्णाली नदीमाथि चीनले मितेरी पुल निर्माण गर्ने भएको छ। हिल्सामा आवतजावत सहजताका लागि चिनियाँ पक्षले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी पक्की मितेरी पुल निर्माण गर्न लागेको हो। प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले दुई देशको सिमाना हिल्सामा रहेको कर्णाली नदीमाथि पक्की मितेरी पुल चीन सरकारले निर्माण गर्ने भएको बताए। सोबारे जानकारी गराउन चिनियाँ पक्षले नेपाली पक्षलाई हिल्सामा बोलाएको थियो।  प्रमुख जिल्ला अधिकारी पोखरेलसहितको नेपाली टोली हिल्सामा गएको थियो। हिल्साबाट फर्केपछि उनले दुई देशका अधिकारीबिच भएको बैठकमा मितेरी पुल निर्माणबारे जानकारी चिनियाँ पक्षले दिएको बताए।  उनले पुलको निर्माण कार्य आगामी मेबाट सुरु गर्ने तयारी चिनियाँ पक्षले रहेको छ। पुल निर्माण कार्य सुरु भएको एक वर्षभित्र सम्पन्न गर्ने योजना रहेको छ। हिल्सामा पुल निर्माण गर्दा नेपालपट्टिको क्षेत्रमा चिनियाँ कामदार र प्राविधिक आउनुपर्ने भएकाले काम गर्ने वातावरण मिलाइदिन आग्रह गरिएको पनि उनले बताए।

समयमा काम नगर्ने ठेकदारलाई कारबाहि गर्न मन्त्रीसँग सांसद सापकोटाको माग

काठमाडौं। माओवादी केन्द्रका सांसद माधव सापकोटाले सडक पुल आयोजनाको ठेक्का लिएर काम नगर्ने कति ठेकेदारलाई कारबाही गरियो भन्दै प्रश्न गरेका छन्।  बिहीबार प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद सापकोटाले जिम्मेवारी लिएका ठेकेदारले समयमा काम नगर्दा आयोजना पछि परेको बताउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराएका हुन्।  उनले चीनसँग सिमा जोडिएको तातोपानी नाका पुग्ने र वार्षिक हजारौं पर्यटक हिँड्ने अरनिको राजमार्गमा वर्षातको बेला गाडी गुड्न नसक्ने अवस्था रहेको भन्दै ध्यानाकर्षण समेत गराए। उनले अरनिको राजमार्ग स्तरोन्नती गर्नुपर्ने बताए। यस्तै, निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई ध्यान दिन पनि आग्रह गरे।

विरेन्द्रतालमा हिमपहिरो खस्दा साम्दो जाने काठेपुल बगायो

गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँ स्थित विरेन्द्रतालमा हिमपहिरो जाँदा विरेन्द्र तालखोला स्थित काठेपुल बगाएको छ। आज विहान ८ बजे आएको हिमपहिरो पछि तालमा पानीको मात्रा बढ्न जाँदा सामागाउँ हुँदै साम्दो जाने विरेन्द्र तालखोला स्थित काठेपुल बगाएको हो। खोलामा पानीको मात्रा बढी हुँदा पुल बगाएको स्थानीय चोखे लामाले बताए। पानीको मात्रा त्यति धेरै नभएपनि वर्षातको जस्तो अवस्था देखिएको उनले बताए । तल्ला तटिय क्षेत्रका मानिसहरुलाई सावधानी अपनाउन सञ्चार गरिएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताए। 

प्रहरी महानिरीक्षक र इन्डोनेसियन प्रहरीका डिभिजन प्रमुखबीच भेटवार्ता

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजिपी कृष्ण मुर्तीबीच बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ। भेटघाटको क्रममा उनीहरू बिच आपसी सहयोग, सूचनाको आदान प्रदान तथा समन्वय लगायतका विषयमा छलफल समेत भएको हो। यसअघि आइजिपी कृष्ण मुर्ती समेत ६ सदस्यीय टोलीको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको साङ्गठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवम् अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्यसम्बन्धी विषयमा प्रस्तुतीकरण गरेका थिए। सो अवसरमा आइजिपी कृष्ण मूर्तिले इन्डोनेसियन नेशनल प्रहरीको काम, कर्तव्य बारेमा विस्तृत रूपमा जानकारी दिँदै सूचना आदान प्रदान, अन्तरदेशीय अपराध, साइबर अपराध, संयुक्त राष्ट्र संघीय मिसनमा सहभागिता लगायतमा नेपाल प्रहरीसँग सहकार्य गरिने बताए। सो क्रममा इन्डोनेसियन नेशनल प्रहरीका वरिष्ठ उपरीक्षक लियो एण्डी गुनावानले संयुक्त राष्ट्र संघीय मिसनमा इन्डोनेसियन नेशनल प्रहरीको सहभागिताबारे प्रस्तुतीकरण गरेका थिए।

ठोरी छोटी भन्सार पुनः सञ्चालनमा, अस्थायी सवारी पास सहजै पाइने

चितवन । ठोरी छोटी भन्सार बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। एक समारोहका बिच प्रदेश सासंद ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजी कुमारी महतो, ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गरे।    त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी–माडी–भरतपुर–रसुवागढी (केरुङ)को प्रवेश बिन्दु ठोरी नाका रहेको छ । भरतपुर भ्रमण वर्ष २०२४ का सन्दर्भमा भरतपुर महानगरपालिकाले नाका सञ्चालनमा पहल गरेसँगै लामो समय बन्द रहेको नाका सञ्चालनमा आएको हो । भरतपुरबाट सबैभन्दा छोटो दुरीमा भारत जोडिएको स्थान ठोरी हो । भरतपुरबाट ठोरी ७० किमी दुरीमा रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भन्सारलाई सहज, व्यवस्थित र नियमित रुपमा सञ्चालनमा ल्याउन ठोरी गाँउपालिकाको मुख्य भूमिका रहने उल्लेख गर्नुभयो । लामो समयको पहलपछि नाकालाई पुनः सञ्चालनमा ल्याउन सकिएको उनले प्रष्ट पारिन्। नाका सञ्चालनमा आएपछि भारतबाट ठोरी हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगञ्ज र भौरवहा नाकाबाट लिने अस्थायी पासको झन्झट हटेर गएको बताए। भन्सार विभागका महानिर्देशक डुण्डी प्रसाद निरौलाका अनुसार भारतीय नम्बर प्लेटको एउटा सवारीले एक वर्षभित्र ३० दिन नेपालमा अस्थायी पास लिएर सवारी चलाउन पाइने छ । भन्सारलाई थप स्तरोन्ती गर्न अहिले अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि थप निक्र्यौल निस्किने उनको भनाइ थियो। भन्सार सञ्चालनमा आएपछि ठोरीवासी हर्षित देखिएका छन् । भन्सार नहुँदा सवारी चढेर नेपाल आउने पर्यटक सिमानाबाट फिर्ता हुने गरेका थिए। अब अस्थायी पासको व्यवस्था भएसँगै निर्वाध रुपमा नेपाल आउन सक्ने छन् । ठोरीका पर्यटन व्यवसायी सुदिप थापाले भन्सार सञ्चालनमा आएसँगै राहत मिलेको बताउनुभयो । यसले भरतपुर भ्रमण वर्षलाई पनि टेवा पुग्ने विश्वास गरे। विदेशी पर्यटक नेपाल आउँदा समग्र राष्ट्रको आर्थिक विकासमा सहयोग पुग्ने भएकाले नाकाले सहज सेवा दिनुपर्ने उल्लेख गरे। भन्सार स्तरोन्नति गरी सञ्चालनमा ल्याउने सन्दर्भमा हालै संघीय मन्त्रीपरिषद् (क्याबिनेट)ले निर्णय गरेको थियो । पर्साको छोटी नाका मध्ये सबैभन्दा बढी चल्ती अवस्थामा रहेको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन करिब २ वर्ष अगाडी निर्माण गरी तयारी अवस्थामा थियो । यसअघि, गतबर्ष माघ २७ मै सो भन्सारको सेवा सुरुवात हुने भएपनि कतिपय प्रक्रिया पुरा नभएको भन्दै अन्तिम समयमा राकिएको थियो ।

आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी रहेको बताएका छन् ।  बिहीबार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कारोबारहरूलाई अनलाइनमाध्यमबाट गर्न सके कारोबार पारदर्शी हुने र सहज हिसाबले काम गर्ने वातावरण बन्ने बताए ।  उनले आईटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ लिइएको भन्दै नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरुमा आइटी पनि मुख्य लगानीको क्षेत्र बनेको बताए ।  उनले भने, “भर्खरै सम्पन्न लगानी सम्मेलनमा प्रधानमन्त्रीज्यूबाट र मान्य मन्त्रीज्यूबाट नेपालकै तर्फबाट जुन एउटा आईटी क्षेत्रलाई एकदमै प्राथमिकताका साथ राखिएको र नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरूमा आईटी पनि मुख्य लगानीको क्षेत्र हो भनेर प्राथमिकताका साथ राखिइएको छ यो महत्वपूर्ण छ। आइटीको क्षेत्रमा हेर्दा हामी कतिपय पूर्वाधार, ठूलो लगानी नभइकन विदेशी मुद्रा भित्र्याउनसक्ने सम्भावना रहेको छ । यसलाई सरकारले अझै प्राथमिकतामा राखेर यो क्षेत्रमा लाग्नुपर्छ । हामीले जति पनि कारोबारहरू हुन्छ, कारोबारहरु पारदर्शी गर्ने हिसावमा पनि निजी क्षेत्रको तर्फबाट एउटा फेसलेस भनौँ, डिजिटल माध्यमबाट जानसक्यो भने पारदर्शिता हुन्छ । सहज हिसावले काम गर्ने वातावरण बन्छ। डिजिटल सिग्नेचरको कुरा हामीले उठाइरहेका छौं, केही यसलाई अझै कार्यान्वनममा ल्याउन त्यत्तिकै महत्वपूर्ण छ ।” अध्यक्ष ढकालले डिजिटल हस्ताक्षरलाई कार्यान्वनममा ल्याउन आवश्यक रहेको बताए । 

सुनको मूल्य एकैदिन तोलामा दुई हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा दुई हजार रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन तोलामा एक लाख ३६ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  बिहीबार तेजाबी सुन तोलामा एक लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै, बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । यसदिन चाँदी तोलामा एक हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

मौसममा सुधार आएपछि पोखरामा नियमित उडान

पोखरा । मौसममा सुधार आएपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित हुन थालेको छ । डढेलोको धुवाँ, धूलो मिसिएको तुँवालोका कारण शुक्रबारदेखि पोखरा विमानस्थलमा उडान हुन सकेको थिएन् । विमानस्थल प्रशासनका अनुसार बिहीबार बिहानैदेखि पोखरामा रहेका दुवै विमानस्थल सञ्चालनमा आएका छन् । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पुरानो आन्तरिक विमानस्थलबाट तीन किलोमिटर दूरीमा सञ्चालित छ । पुरानो आन्तरिक विमानस्थलबाट हिमाली जिल्ला मुस्ताङ र मनाङमा उडान हुन्छन् । त्यहीबाट पर्यटकीय अल्ट्रा उडान र हेलिकोप्टर चार्टर उडान हुने गरेका छन् । बुधबार दिउँसो १२ः३० पछि केही सुधार हुँदै जाँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले उपकरणको सहायताबाट हुने उडान आंशिक रूपमा खुला गरेको थियो। 

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओटावामा बुधबार आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।   ओहोदाको प्रमाणपत्र पेस गरेपछि गभर्नर जनरलसँग भएको शिष्टाचार भेटमा राजदूत पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट उनको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै क्यानडाका मित्रवत् जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेको ओटावास्थित नेपाली राजदूतावासले आज जनाएको छ ।  राजदूत पौड्यालले नेपाल र क्यानडाबीचको मैत्रपूर्ण सम्बन्धबारे अवगत गराउँदै लोकतन्त्रको सुदृढीकरण, द्रुत आर्थिक विकासका निम्ति नेपाल सरकारले गरेका प्रयास तथा प्राथमिकताका सम्बन्धमा जानकारी दिएका थिए ।  नेपालको सामाजिक–आर्थिक विकास तथा विषम परिस्थितिमा क्यानडाले अविराम सहयोग गरेकामा कृतज्ञता ज्ञापन गर्दै राजदूत पौड्यालले द्विपक्षीय व्यापार, पर्यटन, लगानी, प्रविधि हस्तान्तरण, दुवै देशका जनताबीचको सम्बन्ध विस्तार तथा दुवै पक्षलाई लाभदायक हुने आर्थिक साझेदारी अभिवृद्धि गनै क्यानडा सरकार तथा निजी क्षेत्रसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू प्रतिबद्ध रहेको बताए । रासस

वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको चौथो खेल हुँदै

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको ट्वान्टी–२० शृंखलाको चौथो खेल आज हुँदै छ । खेल खेल दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  सुरु हुनेछ।  पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ले यसअघिको दोस्रो खेलमा घरेलु टिमलाई १० रनले र हिजो भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो । पहिलो खेलमा भने नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो । आजको खेलमा पराजित भए नेपालले एक खेल बाँकी छँदै सिरिज गुमाउनेछ । यी दुई टिमबीचको पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ ।

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस : विविध कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरिएको छ । दिवसका अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्दैछ । समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्द्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । सूचना प्रविधिको विकास र प्रयोगमार्फत मुलुकको सामाजिक–आर्थिक रुपान्तरण गर्ने योजनामा सरकार रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन् ।

जीबी राईको हत्या भैसक्यो भनेपछि पक्राउ परे डिल्लीराम खनाल

काठमाडौं । सामाजिक सञ्जालबाट भ्रम फैलाएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । जथाभाबी अन्तर्वार्ता दिएर भ्रम फैलाएको आरोपमा मंगलबार पक्राउ परेका खनाललाई प्रहरीले आज सार्वजनिक गरेको हो । झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय खनाललाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । खनालले जीबी राईको हत्या भएको र हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको अभिव्यक्ति दिएका थिए । उनलाई काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।  यही वैशाख ६ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा ९एमाले०, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री सोडारी प्रदेशसभामा चार सदस्य रहेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेता हुन् । प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री छन् । मुख्यमन्त्रीले प्रदेशसभामा प्रतिनिधित्व गरेको नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिसकेका छन् । मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, पर्यटन वन तथा वातावरण र आर्थिक मामिला मन्त्रालय आफैँसँग राखेका छन् । सत्ता समीकरण फेरिएसँगै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सोडारीलाई एमालेले तत्काल बाहिर बसेर समर्थन गरी सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । सत्ता साझेदार अर्को दल नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक किचलो साम्य हुन सकेको छैन । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११ सदस्यको प्रतिनिधित्व छ । बझाङमा भएको उपनिर्वाचनपछि एमालेको एक सदस्य थप भई ११ पुगेको छ । नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ । रासस

पुतलीसडकमा भ्यानसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–२८ पुतलीसडकमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती प्र०२–०२७ प ८२८० नम्बरको मोटरसाइकलका चालक २३ वर्षीय शाहिल देउला छन् ।देउला सवार मोटरसाइकल र बा २१ च ६४४८ नम्बरको पिकअप भ्यान मंगलबार राति पुतलीसडकमा ठोक्किएर दुर्घटना भएको थियो ।  त्यसपछि गम्भीर घाइते भएका देउलालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कानुन निर्माणको पूर्णतापछि सञ्चार क्षेत्रको पुनर्संरचना हुनेछ : मन्त्री शर्मा

काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले थालेका कानुन निर्माणले पूर्णता पाएपछि नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना हुने बताएकी छिन्।  नेपाल पत्रकार महासंघका पदाधिकारी तथा पूर्व अध्यक्षहरु, सञ्चार सम्बद्ध पेशागत तथा समावेशी संगठनका प्रमुखहरुसँग भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सम्बन्धी अन्तक्र्रियामा उहाँले यस्तो आफूले नीतिगत सुधारमा जोड दिएको बताइन् ।  ‘मैले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व गरेको एक वर्ष पूरा भइसकेको छ’– उनले भनिन्– ‘यो बीचमा नेपालको आम सञ्चार क्षेत्रलाई व्यवस्थित केही सुधारात्मक काम पनि भएका छन् तर मुख्यगरी हामीले कानुन निर्माणमा जोड दिएका छौं, हामीले थालेका कानुन निर्माण प्रक्रियाले पूर्णता पाएपछि नेपालको आम सञ्चार क्षेत्रको पुनर्संरचना हुने सरकारको विश्वास छ ।’ मिडिया काउन्सिल विधेयक संघीय संसदमा दर्ता भएको, आम सञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक मन्त्रिपरिषद्मा लैजाने तयारीमा रहेको उल्लेख गर्दै उनले विज्ञापन नीति लगायत अन्य नीति तथा कानुन परिमार्जनको क्रममा रहेको जानकारी दिइन्। सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित आधा दर्जन जति कानुन निर्माणको प्रक्रियामा रहेको मन्त्री शर्माले जानकारी दिइन् ।  नीति, कानुन र संरचनात्मक सुधारबाट अघि बढ्न सुरुमै विज्ञहरुको समिति बनाएर काम थालिएको उल्लेख गर्दै मन्त्री शर्माले विज्ञ र सरोकारवालाहरुको परामर्श लिएपछि मस्यौदा मन्त्रालयको वेबसाइटमा राखेर आम नागरिकको रायसुझाव लिने र त्यसपछि मात्रै बाँकी प्रक्रियामा लैजाने भएकाले विधेयकलाई अन्तिम रुप दिन समय लागेको पनि स्पष्ट पारिन् । ‘विधेयक ल्याउनु मात्रै ठूलो कुरा होइन, विवादरहित बनाएर पारित गर्नुपर्छ भन्नेमा हाम्रो जोड रहेको छ’– उनले भनिन्– ‘विगतमा यस्तै विधेयक आउँदा जुन जुन क्षेत्रमा सरोकारवालाको बिरोध आएको थियो, त्यसलाई सरोकारवालाकै सहमतिमा सच्याएर अघि बढाएका छौं ।’ उहाँले सरकारी स्वामित्वका सञ्चारमाध्यमको पनि समीक्षा जरुरी रहेकाले विज्ञहरुलाई आवश्यक राय सुझाव दिन आग्रह गरिन्। ‘हिजो जुनबेला सरकारी सञ्चारमाध्यम स्थापना भए, त्यतिबेला अन्य सञ्चारमाध्यम थिएनन् र राज्यको लोकतान्त्रिक चरित्र पनि कम थियो’– उनले भनिन्– ‘अहिलेको अवस्थामा सरकारी सञ्चारमाध्यमलाई सार्वजनिक सञ्चारमाध्यमको रुपमा कसरी स्थापित गर्न सकिन्छ, अघि बढाउन आवश्यक छ ।’ उनले अब सञ्चारमाध्यमको संख्यामा मात्र होइन, गुणस्तरमा जोड दिनुपर्ने समय आएकाले विषवस्तुको विविधतालाई ध्यान दिनुपर्ने बताइन् । मन्त्री शर्माले पत्रकारितालाई सँधै सत्ताको प्रतिपक्षको रुपमा लिनुपर्छ भन्ने धारणा पनि सही नभएको बताइन्। ‘सत्ता पक्ष होस् वा जोसुकै होस् मिडियाले खराबीको बिरोध गर्नुपर्छ तर हिजो जनविरोधी र निरंकुश व्यवस्था भएको बेलामा बनाइएको परिभाषा सँधै बोकेर हिड्नुपर्छ भन्ने छैन’–उनले भनिन्– ‘हिजो व्यवस्था र राज्य सञ्चालकको रवैयाविरुद्ध उत्रनु सही थियो तर अहिले नेतृत्वको खराब पक्षको आलोचना गर्नु सही नै भए पनि व्यवस्थाको रक्षाका लागि पत्रकारिता क्षेत्रले ध्यान दिनुपर्छ किनकि यो व्यवस्था परिवर्तनमा पत्रकारहरुको ठूलो भूमिका छ ।’ कार्यक्रममा अगुवा पत्रकारहरुले आगामी आर्थिक वर्षको कार्यक्रममा पत्रकार महासंघको भौतिक संरचनामा सहयोग गर्न, पत्रकार स्वास्थ्य विमा र तोकिएका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्न, मिडिया मर्जलाई प्रोत्साहन गर्न, आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न, पत्रकार आफैले चलाएका स्वरोजगारमूलक मिडियालाई थप सहयोग गर्न, पत्रकारिता संघसंस्था अनुदान बढाउन, शैक्षिक पाठ्यक्रममा मिडिया साक्षरता समावेश गर्न सुझाव दिएका थिए ।  कार्यक्रममा प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्य, सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, पूर्वअध्यक्षहरु धर्मेन्द्र झा, डा.महेन्द्र बिष्ट, शिव गाउँले, किशोर नेपाल र मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले धारणा राख्नुभएको थियो । त्यस्तै प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस यूनियनका उपाध्यक्ष नकुल अर्याल, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, फोनिजका अध्यक्ष गजुरधन राई, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडी, क्रियाशील पत्रकार महिलाका उपाध्यक्ष रामकला खड्का, लोकतान्त्रिक छापासञ्जालका अध्यक्ष दामोदर दवाडी, अकोराबका अध्यक्ष अर्जुन गिरी, बानका अध्यक्ष कुमार भट्टराई, निर्मला शर्मा, लाल ऐरी, फूलमान बललगायतले सुझाव दिनुभएको थियो । कार्यक्रम सहजीकरण मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले गरेका थिए ।