उदयपुर–२ मा फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडक
उदयपुर । जता हेर्यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालिका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा बित्छ, अनि मनमा आक्रोश उत्पन्न हुन्छ । बेतिनीमा चिया पसल गरेका तामाङले दुई दशकदेखि एउटै सपना देखिरहे—घरअगाडिको सडक कालोपत्रे भएको । त्यो सपना भने अझै पूरा भएको छैन । फेरि यस पटक चुनावी माहौल छ, चुनावमा सपनाहरू बाँड्न सुरु भइसकेको छ, तर विसं २०६४ देखि हालसम्म चार वटा चुनावमा भोट मागेका कसैले पनि ती सपना पूरा गर्न सकेका छैनन् । त्यही कारण उनले भोट हालेका कोही पनि दोहोरिएर आएका छैनन् ।
उम्मेदवार फेरिए, तर तामाङले धुलोबारे गुनासो गर्नुपर्ने र समस्या भोग्नुपर्ने नियति फेरिएको छैन । “यो हाम्रो विडम्बना नै भन्नुपर्छ, जुन सडक कालोपत्रे गर्ने आश्वासन बोकेर नेताहरू चुनाव जितेर गए, आज पनि त्यही सडक उस्तै जीर्ण, धुलाम्मे र जोखिमपूर्ण अवस्थामा छ । हाम्रा दुःख उस्तै छन्”, उनले भने ।
हाल फेरि उदयपुर–२ मा चुनावी सरगर्मी बढेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रमा एक स्वतन्त्रसहित १३ जना उम्मेदवारहरू छन् । उनीहरू यहाँका ९६ हजार १२२ मतदाताको घरदैलोमा पुग्न कस्सिइरहेका छन् । टोल–टोलमा पार्टीका सम्पर्क कार्यालय खुलेका छन् । क्षेत्रको केन्द्र मानिने कटारी बजारमा सबै प्रमुख दलहरूले क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेर उम्मेदवारको दौडधुप बढाइरहेका छन् । घरदैलो कार्यक्रम पनि जारी छ, तर मतदाताको मनमा भने उत्साह होइन, आक्रोशको ‘हुरी’ चलिरहेको छ । प्रश्न उही छ— के यो पटकको चुनावपछि सिद्धिचरण राजमार्गको मिर्चैया—कटारी—घुर्मी खण्डले नयाँ रूप पाउला ? कि अर्को चुनावमा पनि यो सडक फेरि ‘भोट माग्ने मुद्दा’ मात्रै बन्ला ?
बेदबहादुरका लागि यो सडक केवल आवतजावतको गर्ने आधार मात्रै होइन, यो दुई दशकदेखिको यहाँको राजनीति र राज्यले दिएको निरन्तरको धोका हो । आफ्नो पसलको तखतामा जमेको धुलोको बाक्लो तह देखाउँदै उनी भन्छन्, “चुनाव आउँदा नेताका चिल्ला कुराले मनै लोभ्याउँछ, तर जितेर गएपछि उनीहरूले उडाएको धुलोले हाम्रो आँखा मात्र होइन, भविष्य नै धमिलो पारिदिन्छ । २० वर्षअघि पनि यही सडक बन्छ भनेर भोट मागियो, आज पनि त्यही भन्दैछन् । हामी त केवल भोट हाल्ने मेसिन मात्र भयौँ, केवल भोट बैङ्क ।”
तामाङको स्वरमा आक्रोश मात्र होइन, राज्यप्रतिको चरम अविश्वास पनि झल्किन्छ । उनी भन्छन्, “यदि कसैलाई यो गफ मात्रै हो भन्ने लागिरहेको छ भने एक पटक मोटरसाइकल चढेर कटारीदेखि घुर्मीसम्म पुगेर हेरोस् । धुलोले अनुहार नचिनिने भएर फर्किँदा मात्रै हाम्रो पीडा थाहा हुन्छ । नेताहरू त गाडिभित्र सिसा थुनेर हिँड्छन्, उनीहरूलाई बाहिरको धुलोले के पो छुन्थ्यो र !”
तामाङको यो आक्रोश केवल एउटा व्यक्तिको मात्र होइन, सिङ्गो उदयपुर–२ को साझा आवाज हो । त्यही आवाजका कारण आफ्नो सपना पूरा गरिहाल्छन् कि भनेर यहाँका मतदाताले पछिल्लो दुई दशकमा हरेक निर्वाचनमा प्रतिनिधि फेरिरहन्छन् । यो विकास नभएपछिको एक प्रकारको ‘मौन जनविद्रोह’ पनि हो भन्नेहरू धेरै छन् । यस सडक खण्डको रूप फेर्ने आशासहित यहाँका जनताले पालैपालो सबै मुख्य दललाई जिम्मेवारी दिए, तर त्यो कसैले पनि पूरा गर्न नसकेको स्थानीयको गुनासो छ ।
विसं २०६४ मा तत्कालीन नेकपा (माओवादी) का मोहनबहादुर खत्री, विसं २०७० मा नेपाली कांग्रेसका नारायणबहादुर कार्की, विसं २०७४ मा नेकपा (एमाले)— माओवादी गठबन्धनबाट सुरेशकुमार राई र पछिल्लो पटक २०७९ सालमा एमालेका अम्मरबहादुर रायमाझीलाई निर्वाचित गराएर यहाँका बासिन्दाले ठुलो भरोसा राखेका थिए । जो प्रतिनिधि चुनिए पनि सिद्धिचरण राजमार्ग एवं हलेसी जोड्ने यो मार्ग केवल चुनावी भाषण र आश्वासनको सस्तो विषय मात्र बन्यो । “जुन पार्टीका नेता आए पनि हाम्रो पीडा कसैले बुझेनन्”, कटारी—११ कटुन्जेका स्थानीय युवा बिजेन्द्र रानामगर आक्रोश पोख्दै भन्छन्, “नेताहरू त चिल्ला गाडीको सिसा थुनेर धुलो उडाउँदै हिँड्छन्, हामी भने त्यही धुलोबाट रोग र भोकसँग लड्न बाध्य छौँ ।”
बहत्तर किलोमिटर लामो सिद्धिचरण राजमार्ग माथिल्लो सगरमाथाका तीन जिल्लाहरू—सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङलाई कोशी प्रदेशको राजधानी विराटनगरसँग जोड्ने ‘लाइफलाइन’ हो । यही लाइफलाइन अहिले जीर्ण हुँदा मृत्यु रेखा जस्तै बनेको छ ।
विसं २०३४ मा मिर्चैया–कटारी ‘ट्र्याक’ खुलेपछि २०४८ मा स्व बलबहादुर राईको पहलमा कटारी–ओखलढुङ्गा सडक निर्माण सुरु भयो । विसं २०५८ देखि राजमार्गको कटारी–घुर्मी खण्ड ९४६ किमी० मा यातायात सञ्चालन भए पनि दुई दशकसम्म यसको अवस्था फेरिएन । घुर्मी–ओखलढुङ्गा खण्ड कालोपत्रे भइसक्दा मिर्चैया–कटारी–घुर्मी (७२ किमी) खण्ड भने अझै उपेक्षित छ । त्यसैले, दुई घण्टाको दूरी भएको सडकमा पाँच घण्टाभन्दा बढी समय लगाएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।
यो सडक खण्ड रणनीतिक रूपमा पनि उत्तिकै महत्त्वपूर्ण छ । कटारी–घुर्मी खण्ड दक्षिणमा मदन भण्डारी लोक मार्ग र महेन्द्र राजमार्गलाई जोड्छ भने उत्तरमा घुर्मी पुगेर मध्य पहाडी लोक मार्ग हुँदै बिपी राजमार्गमार्फत काठमाडौँसम्मको सम्पर्क सूत्र हो । यति महत्त्वपूर्ण सडक सञ्जालको स्तरोन्नति नहुँदा सिङ्गो पूर्वी पहाडको अर्थतन्त्र र जनजीवनलाई नै पछाडि धकेलेको छ ।
पूर्वको पशुपतिनाथ मानिने प्रसिद्ध धार्मिकस्थल हलेसी जाने मुख्य मार्ग यही हो । तराई–मधेसदेखि हलेसी जाने तीर्थयात्रीहरू कैयौँ पटक यहाँ दुर्घटनाको सिकार भएका छन् । जोखिमपूर्ण यात्राकै कारण पर्यटकहरू यो बाटो प्रयोग गर्न हिचकिचाउँछन् । यस सडकका ‘सुपरभाइजर’ कुमार प्याकुरेल भन्छन्, “एक पटक यो बाटो प्रयोग गरेका यात्रुहरू दोहोरिएर आउन चाहँदैनन् । साना सवारीसाधनलाई ४६ किलोमिटर पार गर्न तीन घण्टा लाग्छ भने ठुला सवारीसाधनलाई छदेखि सात घण्टा । त्यसैले यात्रुहरू वैकल्पिक घुमाउरो सिन्धुली–खुर्कोट–घुर्मीको बाटो प्रयोग गर्न बाध्य छन् ।”
सडक नबन्दा सबैभन्दा बढी मार व्यापार र स्थानीयको दैनिकीमा परेको छ । यहाँका नागरिकलाई लत्ताकपडा, खाद्य सामग्री मात्र होइन, खेतबारीको अन्नबाली र तरकारी जोगाउन पनि कठिन भएको छ । कटारी बजार आफैँमा ऐतिहासिक छ । तेञ्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथा चढ्न जाँदा यहीबाट पैदल हिँडेर गएको इतिहास छ । त्यसैले यसलाई ‘सगरमाथाको प्रवेशद्वार’ भनिन्छ, तर यही प्रवेशद्वारका व्यवसायीहरू पलायनको बाटो रोजिरहेका छन् ।
विदेशबाट फर्किएर स्वदेशमै केही गर्ने सपना बोकेका धेरै युवाको सपना पनि यही सडकले कुल्चिएको छ । पाँच वर्ष कतारमा पसिना बगाएर फर्किएका अमर मोक्तानले आफ्नै ठाउँमा केही गरौँ भनेर बेतिनीमा किराना पसल खोले, तर १४ वर्षदेखिको धुलोले उनलाई अहिले निराश बनाएको छ । “सामान राख्नै गाह्रो छ । धुलोबाट जोगाउनै मुस्किल छ”, उनी भन्छन् “धुलोले सामान बिग्रिन्छ, ग्राहक आउँदैनन् । अनि कसरी चल्छ व्यवसाय ?”
व्यवसायीहरूको यो पीडा अमर मोक्तानमा मात्र सीमित छैन । गहुँबारीका युवा व्यवसायी कुमार श्रेष्ठको अनुभवमा पनि सडकको यो दुरावस्था व्यापारका लागि ‘पासो’ बनेको छ । जीर्ण बाटोकै कारण सेवाग्राही नआउँदा व्यवसाय थप धराशायी बन्दै गएको उनको भनाइ छ ।
यही सडकको धुलोले सपनाहरू यसरी उडाइदियो कि, हर्देनीमा करिब रु पाँच लाख लगानी गरेर होटल सुरु गरेका धिरज भुजेलले छ महिनाअघि आफ्नो थातथलो मात्र छोड्नन्, वैदेशिक रोजगारीका लागि मरुभूमि भासिन बाध्य भए । यस्तै, कटारी–११ गहुँबारीका सञ्चिव बस्नेतले त छ वर्षसम्म गरेको सङ्घर्षलाई तिलाञ्जली दिँदै व्यापार नै बन्द गरे । धुवाँ र धुलोले पसलका सामान मात्र होइन, सपना नै चौपट पारेपछि उनी फेरि पुर्ख्यौली पेसा खेती किसानीमै फर्किएका छन् ।
“धुलो खाएर व्यापार गर्नुभन्दा बरु माटो खनेर कृषिकर्ममै लाग्नु ठीक लाग्यो, यसैबाट जीविकोपार्जन त चलेको छ”, बस्नेत भन्छन्, “यदि यो सडक बनेको भए यहाँको बजारमा अर्कै चहलपहल हुने थियो । महाभारत क्षेत्रको यो शीतल हावापानीमा गर्मी छल्न तराईका सिरहा र सप्तरीदेखिका मानिसहरू आउने थिए । प्रकृतिले दिएको यो स्वर्ग जस्तो ठाउँलाई सडकको बेवास्ताले नर्क जस्तै बनाइदियो ।”
शिक्षा र स्वास्थ्यको क्षेत्रमा यो सडकले पारेको प्रभाव त झन् भयावह छ । सडकको धुलो केवल पसलका तखतामा मात्र होइन, विद्यालयका कक्षाकोठा र कलिला बालबालिकाको फोक्सोसम्म पुगेको छ । कटारी–११ हर्देनीस्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश रायमाझीको प्रश्नले राज्यको लाचारीलाई गिज्याइरहेको छ । उनी भन्छन्, “हाम्रा विद्यार्थीहरू विद्यालय आउँदा बाटोभरि दिनकै एक मुठी धुलो खाएर कक्षामा छिर्छन् । एकछिन उभिएर हेर्नुस् त, ती बालबालिकाले लगाएको कपडाको रङ धुलोले चिन्नै नसकिने भएको हुन्छ । यो केवल सडकको कुरा होइन, यो त बालबालिकाको स्वास्थ्य र उनीहरूको भविष्यमाथि गम्भीर खेलबाड हो । उनीहरूको यो बिग्रँदो स्वास्थ्यको जिम्मेवारी अब कसले लिने ?”
उनका अनुसार धुलोका कारण विद्यार्थीहरूमा निरन्तर खोकी लाग्ने, आँखा चिलाउने र श्वासप्रश्वासको समस्या बढ्दै गएको छ । सिद्धिचरण राजमार्गको यो दुरावस्थाले यहाँको वर्तमान मात्र होइन, आउँदो पुस्तालाई समेत गम्भीर समस्यामा पारेको छ ।
यही सडक स्तरोन्नतिका लागि कटारीस्थित मिर्चैया–कटारी–घुर्मी सडक योजना कार्यालय स्थापना भएको पाँच वर्ष भएको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर वीरेन्द्रप्रसाद महतोका अनुसार मिर्चैयादेखि कटारीसम्मको २६ किलोमिटर सडक स्तरोन्नतिको चरणमा छ, तर मरुवा खोलादेखि घुर्मीसम्मको अवस्था नाजुक छ ।
चालु आर्थिक वर्ष २०८२/८३ मा रु एक अर्ब तीन करोड विनियोजन भए पनि विभिन्न आन्दोलन र वातावरणीय प्रभाव मूल्याङ्कन जस्ता प्रक्रियागत कारण ठेक्का प्रक्रिया अगाडि बढ्न सकेको छैन । कुल रु १० अर्बको लागत अनुमान गरिएको आयोजनामा यस वर्षको बजेट ‘फ्रिज’ हुने डर उत्तिकै छ । “२०८२ को मापदण्डबमोजिम बहुवर्षीय फाइल अगाडि बढाइएको छ, तर स्रोत सुनिश्चित नभएकाले ठेक्का प्रक्रिया अन्योल छ”, महतो भन्छन् ।
सडक स्तरोन्नतिका लागि यहाँका स्थानीयले अब हारगुहार गर्न बाँकी कुनै ठाउँ छैन । स्थानीय तहदेखि प्रदेश र सङ्घीय संसद्का प्रतिनिधिसम्म, मन्त्रालयका कोठादेखि सडकको चक्काजामसम्म सबै उपाय अपनाइसके । “आश्वासनका फाइल बोकेर मन्त्रालय धाउँदा–धाउँदा कतिपयका जुत्ता फाटे, तर सडकको अवस्था फेरिएन । अब त गुनासो गर्ने ठाउँ पनि छैन”, स्थानीयले भन्ने गरेका छन् ।
हाल फेरि चुनावी उत्सव छ । आगामी फागुन २१ पछि उदयपुर निर्वाचन क्षेत्र २ ले फेरि नयाँ प्रतिनिधि त पाउला, तर के जीर्ण सडकले नयाँ रूप पाउला ? कि अर्को चुनावमा पनि यही सडक फेरि ‘भोट माग्ने मुद्दा’ र ‘राजनीतिक नारा’ मात्रै बन्ला ? धुलोले अनुहार नचिनिने भएका नागरिकहरू अब भन्न थालेका छन्, “हामीलाई आश्वासन मात्र दिने नेता होइन, कालोपत्रे सडक चाहियो ।”
विश्वभर हरेक वर्ष दश लाख मानिसको मृत्यु
काठमाडौँ । आज विश्व क्यान्सर दिवस, यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ । सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यक्रमका साथ मनाउन प्रारम्भ भएको हो । विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेएको छ । धूमपान, तमाखु सेवन, अस्वस्थ जीवनशैली यो रोगका प्रमुख कारण हुन् ।
समानुपातिकमा महिलाको संख्य बढी, खर्च नियन्त्रणमा आयोगको कडाइ
काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत महिला उम्मेदवारको सङ्ख्या पुरुषभन्दा उल्लेख्य रूपमा बढी देखिएको छ । निर्वाचन आयोगले मङ्गलबार सार्वजनिक गरेको बन्दसूचीको अन्तिम नामावली अनुसार कुल ११० सिटका लागि कायम तीन हजार १३५ उम्मेदवारमध्ये एक हजार ७७२ महिला छन् भने पुरुष उम्मेदवार एक हजार ३६३ मात्र रहेका छन् । यसले समानुपातिक निर्वाचन प्रणालीमार्फत संसद्मा महिला सहभागिता विस्तार हुने संकेत गरेको छ । पुस १३ र १४ गते राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएपछि आयोगले अन्तिम नामावली सार्वजनिक गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सबै प्रक्रिया पूरा भएपछि उम्मेदवारको अन्तिम सूची प्रकाशन गरिएको जानकारी दिए । समानुपातिकतर्फ ६३ राजनीतिक दल सहभागी छन् भने एकल तथा संयुक्त गरी ५७ चुनाव चिह्न कायम भएका छन् । यद्यपि मतपत्रमा भने ५८ चिह्न समावेश छन् । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबिच एकता भएपछि सूची संशोधन गरिएकाले चिह्नको सङ्ख्या घटाइएको आयोगले जनाएको छ । उम्मेदवार सङ्ख्याका हिसाबले नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (माले) बाट ११०–११० जना उम्मेदवार कायम छन् । नेकपा (एमाले) का १०९, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका १०८–१०८ तथा जनमत पार्टीका १०६ उम्मेदवार सूचीमा समावेश छन् । यसैबीच निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले आर्थिक सहयोगसम्बन्धी कडा व्यवस्था लागू गरेको छ । अब प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार वा राजनीतिक दलले स्वैच्छिक सहयोगस्वरूप पाउने २५ हजार रुपैयाँभन्दा बढी रकम अनिवार्य रूपमा बैङ्क खातामार्फत मात्रै लिनुपर्नेछ । निर्वाचन आयोगले पहिलो पटक तयार पारेको ‘प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८२’ मङ्गलबार सार्वजनिक गर्दै तुरुन्त लागू गरेको हो । आयोगका अनुसार यस व्यवस्थाले चुनावी खर्चको निगरानी, पारदर्शिता र सुशासन कायम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । लैङ्गिक समावेशिता विस्तार र आर्थिक अनुशासन सुदृढ गर्ने यी दुई कदमलाई आगामी निर्वाचनको महत्वपूर्ण सुधारका रूपमा हेरिएको छ ।
छुट्टाछुट्टै स्थानमा दुईजना मृत फेला
काठमाडौं । छुट्टाछुट्टै स्थानमा दुईजना मृत फेला परेका छन् । प्रहरीका अनुसार उनीहरू मंगलबार मृत फेला परेका हुन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-२ जिङ्ग्रा वडारस्थित गोरेटो बाटोमा कैलाली धनगढी उपमहानगरपालिका-६ घर भएका ३५ वर्षीय सागर चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका-४ रोहुवास्थित बाटो छेउमा रामनगर गाउँपालिका-५ बृताटोल बस्ने सुरेन्द्र ठाकुर मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
निर्वाचनकाे समयमा मुस्ताङमा हिमपातको डर
मुस्ताङ । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका सबै मतदान केन्द्र तथा मतदानस्थल सुरक्षा दृष्टिकोणले सामान्य रहेको छ । मुस्ताङमा निर्वाचनका लागि यहाँ सबै मतदान केन्द्र तथा मतदानस्थलमा सुरक्षा चुनौती सामान्य रहे पनि हिमपातले मतदान कार्यक्रमलाई असर पुर्याउन सक्ने आकलन गरिएको छ । हिमपात भएको अवस्थामा मतदाता गन्तव्यमा पुगेर मतदान गर्न असहज हुने भएकाले त्यसको पूर्व तयारी पनि थालिएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित साङ्ता मतदान केन्द्र जाने मुस्ताङ–डोल्पा सडकमा बाक्लो हिउँ जमेका कारण एक महिना अघिदेखि सडकमा यातायात सेवा अवरुद्ध छ । मुस्ताङमा फागुन/चैत महिनामा हिमपात भएको विगतका अनुभवहरू छन् । हिमपात भएमा मतदाता र मतदानमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई समस्या सृजना हुनसक्ने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताइन् । निर्वाचन कार्यतालिका अनुसार मतदान गर्ने दिनको केही दिन अगाडि साङ्ता मतदान केन्द्रमा जाने सडकको हिउँ डोजर परिचालन गरी पन्छ्याएर सडक सहज बनाउने योजनामा रहेको प्रजिअ शर्माको भनाइ छ । यसपालि जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा लोमान्थाङ गाउँपालिका–२ समजुङ मतदानस्थललाई सोही वडाको छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालय छोसेरमा गाँभिएको छ । यसैगरी लोघेकर दामोदरकुण्ड–ताङ्ग्याका मतदाताहरू सहजताका लागि थप अर्को एक मतदानस्थल थपिएको छ । हाल थासाङ गाउँपालिकामा–८ वटा, घरपझोङ गाउँपालिकामा–६ वटा, लोघेकर दामोदरकुण्डमा–१० वटा, वारागुङ मुक्तिक्षेत्रमा–९ वटा र लोमान्थाङ गाउँपालिकामा छ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम गरिएको छ । मुस्ताङका प्रजिअ शर्माका अनुसार मुस्ताङका सबै मतदान केन्द्रमा सडकको पहुँच, विद्युत्, टेलिफोन र इन्टरनेटको सुविधा छ । मुस्ताङमा एक लाख १३ हजार २८ जना मतदाता छन् । जसमध्ये पुरुष पाँच हजार ५५९ जना, महिला पाँच हजार ७६८ र अन्य एक जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए । मुस्ताङको घरपझोङमा दुई हजार ४९२, थासाङमा दुई हजार ९०८, लोघेकर दामोदरकुण्डमा एक हजार ५४२, बारागुङ मुक्तिक्षेत्रमा दुई हजार ३७६ र लोमान्थाङ गाउँपालिकामा दुई हजार ११ जना मतदाता छन् । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट २६६ जना र सशस्त्र प्रहरी बल नेपालबाट ४६ जना निर्वाचन प्रहरी छनौट गरी निर्वाचन प्रहरीका लागि अनुशिक्षण तालिम आइतबारदेखि सञ्चालन भइसकेको छ । निर्वाचनका नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, उज्यालो नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गानाइजेशन र आमजनता पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।
आजदेखि निर्वाचन सुरक्षाका लागि ८० हजार सेना परिचालन
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि नेपाली सेना परिचालन गरिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारद्वारा स्वीकृत प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ अनुरूप चारवटै सुरक्षा निकाय आजदेखि एकीकृत रूपमा परिचालित भएका हुन् । निर्वाचनका क्रममा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई एकीकृत ढङ्गले परिचालन गरिएको हो । एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि सुरक्षामा खटिनेछन् । सुरक्षा व्यवस्थापनअनुसार नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् भने दोस्रो तहको जिम्मेवारी सशस्त्र प्रहरी बलले सम्हाल्नेछ । सो बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्दै सुरक्षा व्यवस्था मिलाउनेछ । नेपाली सेना भने बाहिरी सुरक्षा घेरामा रही निर्वाचन सुरक्षाको महत्वपूर्ण जिम्मेवारीमा रहनेछ । नेपाली सेनाका अनुसार आजदेखि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा सेना परिचालित गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका थिए । निर्वाचन सुरक्षालाई केन्द्रमा राख्दै आवश्यकताअनुसार सेनाका ‘बेस’ खडा गरिने तथा संयुक्त गस्ती सञ्चालन गरिने नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि करिब ८० हजार सैनिक जनशक्ति परिचालन गरिएको छ । एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचनभन्दा एक महिना अघिदेखि नै सेना फिल्डमा खटिएको हो । सेनाले निर्वाचन सुरक्षामा तीन चरणमा काम गर्नेछ । निर्वाचनपूर्व मतपत्र छपाइ र ढुवानी, मतदानस्थल सुरक्षा, मतपेटिका ढुवानी तथा मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी सेनाले सम्हाल्नेछ । साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा पनि सेनाले गर्नेछ । मतदानका दिन नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीलाई पूर्ण सुरक्षा प्रत्याभूति दिलाउनेछ । आसन्न निर्वाचनमा ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम छन् । देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीतर्फ ७७ हजार जनशक्ति परिचालन गरिनेछ । विद्यमान जनशक्तिले अपुग हुने भएकाले थप १ लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ । मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरेर सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २ हजार ८४५ मतदानस्थल सामान्य, ४ हजार ४४२ संवेदनशील र ३ हजार ६८० मतदानस्थल अतिसंवेदनशील सूचीमा छन् । सोहीअनुसार नियमित प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । सशस्त्र प्रहरी बल नेपालतर्फ ३४ हजार ५७६ जना र १५ हजार ११० निर्वाचन प्रहरी गरी कुल ४९ हजार ६८६ जनशक्ति परिचालित हुनेछन् । निर्वाचनका क्रममा कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र आवश्यकता परे १० मिनेटभित्र घटनास्थलमा पुग्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
आजकाे माैसम: तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ । आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम हिमपातसहित वर्षाको सम्भावना सम्भावना रहेकोले ती भूभागहरूमा चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा , स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
निर्वाचनका लागि बागलुङमा चार हजार जनशक्ति खटाइने
बागलुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङमा दुई हजार बढी कर्मचारी परिचालन गरिने भएको छ । बागलुङमा निर्वाचन प्रहरी र नेपाल प्रहरी गरी दुई हजार नै सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको छ । निर्वाचनमा नेपाली सेना र सशस्त्र प्रहरी आवश्यकताका आधारमा खटिने तयारी भइरहेको छ । बागलुङमा कायम रहेको १०७ मतदानस्थल र २३० मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरू गरी दुई हजार ६० जना कर्मचारी खटाउने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । बागलुङमा २३० मतदान अधिकृत, २३० सहायक मतदान अधिकृतसँगै एउटा मतदान केन्द्रमा अन्य सात जनाका दरले एक हजार ६१० कर्मचारी परिचालन गरिने तयारी भएको निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए । निजामती कर्मचारीबाट मतदान अधिकृत र सहायक मतदान अधिकृतमा प्राथमिकता दिइएको र अपुग कर्मचारीलाई शिक्षकबाट ल्याउने तयारी गरिएको छ । बागलुङमा ६३७ नेपाल प्रहरी र एक हजार २९८ निर्वाचन प्रहरी परिचालन गरिने तयारी भएको बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनले पहिलो घेरा र मतपेटिकाको सुरक्षामा नेपाल प्रहरी खटिने भए पनि बाहिरी घेरामा आवश्यकताका आधारमा सशस्त्र प्रहरी र नेपाली सेना समेत खटिने भारतीले जानकारी दिए । उनले सशस्त्र र नेपाली सेनाको सङ्ख्याको तथ्याङ्क सार्वजनिक गर्न नमिल्ने बताए । “मोबाइल टोली भन्ने प्रहरीको छुट्टै संयन्त्र हुन्छ जहाँ समस्या हुन्छ, त्यस स्थानमा तुरुन्तै पुग्छ”, नेपाली सेना र सशस्त्र प्रहरी मतदान केन्द्रको बाहिर अलर्ट हुन्छ, जनताले निर्धक्क आफ्नो मत जाहेर गर्न सक्छन्”, भारतीले भने । बागलुङमा निर्वाचन र नेपाल प्रहरी गरी एक हजार ९३५ सुरक्षाकर्मी र दुई हजार ६० कर्मचारी गरी तीन हजार ९९५ जनशक्ति परिचालन गरिने भएको छ । जसमा नेपाली सेना र सशस्त्र प्रहरी बल अलग्गै खटिने छन् । बागलुङमा सुरक्षा संवेदनशीलता, मतदाताको सङ्ख्या घटबढ, तथा पायक पर्ने स्थानलगायत कारण एक मदतानस्थल थप गरेको र एक मतदना केन्द्र घटाएर १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको हो । दुई मतदानस्थललाई स्थानान्तरण गरिएको छ । १० स्थानीय तह र दुई प्रतिनिधिसभा सदस्य रहेको कूल एक लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् । यस पटक दुई प्रतिनिधिसभा सदस्यका लागि २३ जना चुनावी मैदानमा छन् । क्षेत्र नं. १ मा नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, मङ्गोल नेशनल अर्गनाइजेशनका गुमाकुमारी बुढा रानामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्का, नेपाल कम्युनिस्ट पार्टी एमालेका हीराबहादुर केसी, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाली कांग्रेसका भीमबहादुर श्रीस राना चुनावी मैदानमा छन् । त्यसैगरी नेशनल रिपब्लिक नेपालका सहविर थापा, राष्ट्रिय जनमोर्चा पार्टीका कृष्णप्रसाद शर्मा अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिस्ट पार्टी माओवादीका टेकबहादुर केसी मैदानमा छन् । क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट टेकराज पौडेल, नेकपा (एमाले) बाट मन्जु शर्मा चालिसे, नेपाली कम्युनिस्ट पार्टीबाट ज्ञामनाथ गैरे, राष्ट्रिय स्वतन्त पार्टीबाट सोम शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता अञ्चल शाही, श्रम संस्कृति पार्टीका हर्कबहादुर पुन, नेकपा (माओवादी) का लोकेन्द्र घिमिरे मैदानमा छन् भने प्रगतिशील लोकतान्त्रिक पार्टीका पदम कुँवर, नेपाल मानवतावादी पार्टीका टेकप्रसाद कामी, मङ्गोल नेशलन अर्गनाइजेशनबाट जुनबहादुर थापामगर, जनता समाजवादी पार्टीका पूर्णबहादुर घर्ती र नेशनल रिपब्लिक पार्टीका नरबहादुर बुढा चुनावी मैदानमा छन् ।
मितेरी परम्परा जोगाउँदै धार्चे, २० जोडीले लगाए मित
गोरखा । हराउँदै गएको मितेरी साइनो लगाउने परम्परालाई जिल्लाको धार्चे गाउँपालिकाले भने आजसम्म जोगाएको छ । सोमबार सम्पन्न त्यहाँको चार दिने ‘तातोपानी मेला’मा मितेरी साइने लगाउने परम्परालाई निरन्तरता दिइएको थियो । सो अवसरमा २० जोडीले मित लगाएका थिए । मेलामा गोरखासँगै धादिङ, लमजुङ, कास्की, तनहुँ लगायतका जिल्लाहरूबाट आएका अवलोकनकर्ताले एक आपसमा मित लगाएका हुन् । उनीहरूले परम्परागत तरिकाले टाउको ठोक्काएर मित लगाएको मेला आयोजक समितिका संयोजक प्रदीप खत्रीले बताए । “दुवैतर्फको चेलीबेटीले टीकाटाला गरी खादामाला लगाइदिन्छन् । अनि दुवै जनाले परस्पर बाहाँ जोडेर टीका लगाने, पैसा साँटासाँट गर्छन्”, खत्रीले भने, “चेलीबेटीले तीनपटकसम्म टाउको ठोक्काइदिएपछि मित हुने चलन छ ।” मित लगाएपछि दुवै पक्षका साथीभाइ रमाइलो गरी नाचगान गर्ने चलन रहेको उनको भनाइ छ । उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ खोर्लावेशीमा ‘ऐतिहासिक तातोपानी मेला–२०८२’ सम्पन्न भएको छ । लार्के मनास्लु युवा क्लबको आयोजनामा यही माघ १६ गतेबाट सुरु भएको तातोपानी मेला सोमबार सम्पन्न भएको हो । मेलाको अवसरमा मित लगाउने परम्परालाई यो वर्ष पनि निरन्तरता दिएको आयोजक लार्के मनास्लु युवा क्लबका अध्यक्ष धनकुमार गुरुङले बताए । मेला अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम एवं रैथाने खाना महोत्सवलगायत विभिन्न कार्यक्रमहरू भएका थिए । मेलामा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको साङ्गीतिक प्रस्तुतिसमेत रहको थियो । दश हजार बढीले मेला अवलोकन गरेको आयोजकको भनाइ छ । आयोजक लार्के मनास्लु युवा क्लबका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षता एवं धार्चे गाउँपालिकाको अध्यक्ष लक्षमण गुरुङको प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबीच मेलाको समापन भएको छ ।
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८५ रुपैयाँ २५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ०२ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८२ पैसा, सिंगापुर डलर एकको खरिददर ११३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ७७ पैसा र बिक्रीदर २० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४१ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १० पैसा र बिक्रीदर १६ रुपैयाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ८३ पैसा कायम गरेको छ । बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ३९ र बिक्रीदर ३७५ रुपैयाँ ९५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका नेता श्रीप्रसाद मुखियाको निधन
रौतहट। नेपाली कम्युनिस्ट पार्टीका नेता तथा यमुनामाई गाउँपालिकाका पूर्व अध्यक्ष श्रीप्रसाद मुखिया (चन्द्रिका) को असामयिक निधन भएको छ । नेपाली कम्युनिस्ट पार्टीका नेता मातृका प्रसाद यादवले दिएको जानकारीअनुसार, मुखियाको २०८२ साल माघ १९ गते राति करिब १२ बजे हृदयघातका कारण निधन भएको हो । उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो । श्रीप्रसाद मुखिया रौतहट जिल्लाका पुराना कम्युनिस्ट नेता थिए । उनी जनयुद्धकालमा रौतहट जिल्ला सेक्रेटरीका रूपमा सक्रिय रहेका जनयुद्धका योद्धा थिए । तत्कालीन नेकपा (माओवादी केन्द्र) को प्रदेश सदस्य समेत रहेका उनी यमुनामाई गाउँपालिकाको प्रथम अध्यक्षका रूपमा पनि निर्वाचित भएका थिए । जनताको हकअधिकारका लागि निरन्तर संघर्षरत रहँदै सरल स्वभाव, इमानदारी र दृढ प्रतिबद्धताका साथ पार्टी संगठन विस्तार तथा जनसेवामा समर्पित उनलाई मधेश प्रदेशको राजनीतिक क्षेत्रमा अनुभवी तथा दूरदर्शी नेतृत्वको रूपमा चिनिन्थ्यो । उनको निधनले यमुनामाई गाउँपालिका मात्र होइन, समग्र मधेश प्रदेशको कम्युनिस्ट आन्दोलन, पार्टी पंक्ति र आम जनताले एक समर्पित तथा संघर्षशील नेतृत्व गुमाएको छ । जनताको सुख–दुःखमा सधैं अग्रपंक्तिमा उभिने उनको योगदान सदा स्मरणीय रहनेछ ।
कास्कीको सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक पुगे
गण्डकी । सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पाँच हजार ५३ स्वदेशी एवं विदेशी पर्यटकको आगमन भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२६को सुरुवाती दिनदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवं वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा पर्यटक सूचना केन्द्र सञ्चालनमा ल्याइएकामा उक्त केन्द्रमा जनवरी १ देखि ३१ गतेसम्मको पर्यटक सङ्ख्या अभिलेखीकरण गरिएको हो । एक महिनामा भित्रिएका कूल पाँच हजार ५३ पर्यटकमध्ये आन्तरिक पर्यटकको सङ्ख्या पाँच हजार २७ रहेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार त्यसमध्ये महिला दुई हजार २७६ जना छन् भने पुरुष दुई हजार ७५१ जना छन् । यस अवधिमा सिक्लेस आउने विदेशी पर्यटक २६ जना रहेकामा पुरुष १६ जना र महिला १० जना रहेको उनले जानकारी दिए । केन्द्रमार्फत पर्यटकको तथ्याङ्कसँगै यहाँ आउने पर्यटकलाई उक्त क्षेत्रको पर्यटकीय जानकारीका साथै यहाँस्थित होटेल तथा घरबासलगायत विषयमा जानकारी प्रदान गरिएको थियो । जङ्गलले घेरिएको बस्ती, ढुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका सिक्लेस गाउँ प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासका कारण प्रसिद्ध छ । यो नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रूपमा समेत परिचित छ । पोखराको काहुँखोलादेखि ३७ किलोमिटर दूरी र समुद्री सतहबाट करिब एक हजार ९५० मिटरको उचाइमा अवस्थित सिक्लेसदेखि गुरुङ सम्पदा पदमार्गअन्तर्गत कफुचे, कोरी, क्होलासोँथर, दूधपोखरीलगायत गन्तव्यहरुमा पदयात्रा गर्न सकिन्छ ।
झापामा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु
झापा । झापाको गौरादह नगरपालिका—४ मा सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । गौरादहबाट स्कुलचनतर्फ जाँदै गरेको प्र न १–०१–००१ त ९७२० नम्बरको ट्याक्टर अनियन्त्रित भई गौरादह–४ स्थित रामचन्द्रे खोलाको पुलबाट खोलामा खसेको थियो । दुर्घटनामा मोरङ रतुवामाई नगरपालिका–८ की ३८ वर्षीया स्वस्तिका मर्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि निम्स अस्पताल दमक पुर्याइएकामा चिकित्सकले मृत घोषित गरेको उनले बताए । दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेहरूको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । घाइतेको पहिचान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रत्यक्षतर्फको ४० लाख मतपत्र तयार
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार ३० जिल्लाको मतपत्र छपाइको काम सकिएको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ । मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।
बेलायतमा सप्तरीका एक विद्यार्थीको मृत्यु
लन्डन । बेलायतमा अध्ययनरत २२ वर्षीय नेपाली विद्यार्थी विवेकानन्द मण्डल (सप्तरी, हनुमाननगर-१०) को सन्डरल्याण्ड रोयल अस्पतालमा उपचारका क्रममा निधन भएको छ । एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीका अनुसार, कम्प्युटर साइन्समा स्नातक पढ्न २०२३ सेप्टेम्बरमा बेलायत आएका मण्डल केही महिनादेखि फोक्सो र श्वासप्रश्वास समस्या भोगिरहेका थिए । आइतबार समस्या बढेपछि छिमेकीको सुझावमा अस्पताल पुगे पनि सोमबार मृत्यु भयो । विश्वविद्यालयको बाँकी शुल्क नतिरेका कारण निष्कासित भएका उनी नेपाल फर्कने तयारीमा थिए । परिवारको आग्रहमा शव नेपाल पठाउने प्रक्रिया सुरु गरिएको छ । पुडासैनीले नेपाली विद्यार्थीहरूलाई स्वास्थ्यमा ध्यान दिन, समस्या भए तुरुन्त अस्पताल जान तथा जीपी दर्ता गर्न आग्रह गरेका छन् । उनले भने, “बेलायत हेर्दा राम्रो देखिन्छ तर आर्थिक अवस्था कमजोर भएकाहरूका लागि जीवन निकै कठिन छ । नयाँ वातावरण, जागिर अभाव र आर्थिक भारले धेरै विद्यार्थी मानसिक समस्या तथा आत्महत्याको जोखिममा छन् ।”
म्याग्दीकाे गलेश्वर, पुलाश्रम र जगन्नाथ जोड्ने सडक स्तरोन्नति सम्पन्न
म्याग्दी । बेनी नगरपालिकाका तीन प्रमुख धार्मिक स्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नति कार्य लक्ष्यभन्दा निकै अगाडि सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित यो योजना निर्माण व्यवसायीको सक्रियता र स्थानीयको समन्वयका कारण तोकिएको अवधिभन्दा पाँच महिनाअघि नै सकिएको हो। गण्डकी प्रदेश सरकारले स्रोत सुनिश्चित गरेको यस योजनाका लागि बिबिपीएल बिएसडीएस धवलागिरिसँग २०८३ असार १६ गतेसम्मको ठेक्का सम्झौता भएको थियो। तर, पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्रीको सही व्यवस्थापनले गर्दा निर्माण कार्य छिटो सकिएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए। धेरैजसो विकास आयोजनाहरु ढिलासुस्तीले थला परिरहेका बेला यस सडक खण्डले समयमै काम सक्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ। यस योजनाअन्तर्गत गलेश्वरदेखि काउलेगौडा हुँदै कोशेपानी खण्डमा ३०० मिटर ढलान र एक हजार १०० मिटर सडक फराकिलो बनाइएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख डा. महेन्द्र बानियाँका अनुसार पहिले चार मिटर मात्र चौडा रहेको सडकलाई अहिले सात मिटर बनाइएको छ। यसका साथै घुम्ती र ग्रेड सुधार, पर्खाल तथा नाली निर्माणको काम पनि सम्पन्न भएको छ। मुस्ताङ जाने तीर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथमा आकर्षित गर्न यो सडकले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। रामायणको पात्र रावणको जन्मभूमि मानिने पछै र शिखर शैलीको ऐतिहासिक जगन्नाथ मन्दिरसम्मको यात्रा अब सहज हुनेछ। बाँकी खण्डको स्तरोन्नतिका लागि पनि बजेट व्यवस्थापन गर्न प्रदेश सरकारसँग पहल भइरहेको छ। सडक सहज भएपछि स्थानीयको जनजीवन सहज हुनुका साथै धार्मिक पर्यटकको बसाइ लम्बिने अपेक्षा गरिएको छ।

