खानेतेलको मूल्य वृद्धिले उपभोक्ता मारमा
काठमाडौं । भटमास र सूर्यमुखी खानेतेलको मूल्य पछिल्लो एक सातायता अस्वाभाविक रूपमा बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार प्रतिलिटर खानेतेलको भाउ एकै सातामा ४० रुपियाँसम्म बढेको हो ।
माघको पहिलो सातासम्म खुद्रामा प्रतिलिटर २४० रुपियाँमा बिक्री हुँदै आएको खानेतेल हाल २८५ देखि २९० रुपियाँसम्म पुगेको छ । मूल्यवृद्धिले उपभोक्तासँगै खुद्रा व्यापारीसमेत समस्यामा परेका छन् । नेपाल खुद्रा व्यापार सङ्घका कोषाध्यक्ष वसन्त महर्जनले दिनदिनै बढ्ने भाउका कारण कारोबार गर्न कठिन भएको गुनासो गरे ।
“सानो पुँजी लगानी गरेर उपभोक्ताको घरदैलोमा सेवा दिँदै आएका हामी व्यापारीले दैनिक भाउ बढ्यो भनेर उपभोक्तासँग कसरी कारोबार गर्ने ?” उनले प्रतिप्रश्न गरे । सङ्घका वरिष्ठ उपाध्यक्ष नरेश खड्गीले अस्वाभाविक मूल्यवृद्धिले खुद्रा व्यापारी दोहोरो मारमा परेको बताए ।
“थोकमा किन्दा महँगो तिर्नुपर्छ, उपभोक्ताले महँगो भयो भनेर गुनासो गर्छन्, अर्कोतिर सरकारी नियमनकारी निकायले पसलमै अनुगमन गरेर कारबाही गर्छ,” उनले भने ।
खुद्रा व्यापारी थोक व्यापारी, उपभोक्ता र सरकारबीच ‘तगारो’ बनेर काम गर्न बाध्य भएको उनको भनाइ छ ।
यता, नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले नेपालमा उत्पादन भएको खानेतेल भारत निर्यात हुन थालेपछि मूल्य बढेको बताए । “भारतमा खानेतेलको भाउ बढेपछि नेपालका तेल उत्पादक उद्योगीले ठूलो मात्रामा भारत निर्यात गर्न थाले, त्यसको असर स्वाभाविक रूपमा नेपालमा देखिएको हो,” उनले भने ।
खुला बजार अर्थतन्त्रमा सीमित उत्पादन र बढ्दो मागका कारण मूल्य बढ्नु अस्वाभाविक नभएको उनको तर्क छ ।
तेल उत्पादक उद्योगीहरूले भने अमेरिकी डलरको मूल्यवृद्धिका कारण कच्चा पदार्थ महँगो भएको र त्यसकै असर खुद्रा मूल्यमा परेको स्वीकार गरेका छन् । कच्चा पदार्थकै भाउ बढेपछि तेलको मूल्य बढ्नु स्वाभाविक भएको उद्योगीहरूको दाबी छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालबाट करिब ६० अर्ब रुपियाँ बराबरको भटमास र सूर्यमुखी तेल निर्यात भएको छ । देशमै पर्याप्त उत्पादन हुँदाहुँदै उद्योगीले तेल भारत पठाउँदा नेपाली उपभोक्ता महँगीको मारमा परेको उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ ।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले डलर र कच्चा पदार्थको बहानामा तेलको भाउ बढाउनु उद्योगीको बदमासी भएको आरोप लगाए । “कच्चा पदार्थ महँगिन सक्छ भन्ने हल्ला आउनासाथ नेपालमा मूल्य बढाइन्छ, तर सरकारी नियमनकारी निकाय मुकदर्शक बनेका छन्,” उनले भने ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीले खानेतेलको मूल्यवृद्धिबारे आएका गुनासोका आधारमा बजार अनुगमन भइरहेको जानकारी दिए ।
वीरगन्ज हुँदै छ महिनामा १२ अर्बको खाद्यान्न आयात
पर्सा । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा रु २१ करोड मूल्यको गिरावट आएको छ । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको बताए । जबकि गत आवको छ महिनामा भने रु ११ अर्ब ७८ करोड मूल्य पर्ने १६ थरिका खाद्य पदार्थको आयात भएको थियो । चालु आवको छ महिनामा रु पाँच अर्ब ६८ करोड मूल्य पर्ने १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने रु छ अर्ब नौ करोड मूल्यको धान आयात भएको थियो । चालु आवको छ महिनामा रु तीन अर्ब ४१ करोड मूल्य पर्ने मकै आयात भएको छ । त्यस्तै चालु आवको छ महिनामा रु एक अर्ब ६१ करोड मूल्य पर्ने चामल र रु ३३ करोड मूल्य पर्ने माल्ट आयात भएको छ । त्यस्तै रु २३ करोड ७३ लाख मूल्य पर्ने फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ ।
निर्वाचन आचारसंहिता उल्लघंन गर्ने २१ उम्मेदवारलाई स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुमगन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म राजनीतिक दल, उमेदवार र संस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको थियो । त्यसमध्ये पाँच वटाको मात्रै जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ । आचारसंहिताको उल्लंघन हुने गरी मिथ्या एवं भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनीकार्य गर्ने व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउन पहल भइरहेको आयोगले जनाएको छ । आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवर्द्धन इकाइ पूूर्णरूपमा क्रियाशील रहेको आयोगले जनाएको छ । सो इकाइले पत्ता लगाएका कूल ३०२ हानिकारक सूचना निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रिोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्वद्ध निकायमा पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठाउने गरी कुनै गतिविधि भएमका आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश/जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुमगन अधिकृतसमक्ष लिखित, मौखिक एवं विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले प्रष्ट पारेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ । सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १३ पैसा र बिक्रीदर २१ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४० रुपैयाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा ताकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रुपैयाँ २३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ०९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
रुकुम पूर्वबाट उम्मेदवारी दिनुको कारण खोल्दै प्रचण्डले भन्नुभयो, 'चुनवाङ बैठकले गणतन्त्रको ढोका खोल्यो'
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम (पूर्व)लाई समाजवाद निर्माणको सन्देश दिने उपयुक्त थलोका रूपमा लिएर आफू उम्मेदवार बनेको बताउनुभयो । शुक्रबार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले रुकुम (पूर्व) नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्वी रुकुमको चुनवाङ बैठकबाटै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निष्कर्ष निकालिएको थियो । त्यस बैठकले महिला, जनजाति, मधेशी, थारु लगायत उत्पीडित समुदायलाई पहिचानसहितको अधिकार दिने उद्घोष गरेको थियो ।” उहाँले थप्नुभयो, “देश विशेषगरी जेनजी आन्दोलनपछि भदौ २३ र २४ गतेको विध्वंसपछि असाधारण जटिल परिस्थितिबाट गुज्रिएको छ । राष्ट्र निकै ठूलो अफ्ठ्यारोमा परेको छ । त्यसैले राष्ट्रलाई एकताबद्ध गर्ने, आन्दोलनलाई नयाँ उचाइ दिने र देशभरि समाजवाद निर्माणको नयाँ सन्देश दिने उपयुक्त ठाउँ कुन हुन सक्छ भनेर हाम्रो पार्टी र मैले रुकुम पूर्वलाई नै रोजें । किनभने रोल्पामा त म पहिल्यै चुनाव लडिसकेको थिएँ ।” चुनवाङ बैठक नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै परिचित रहेको उहाँको भनाइ थियो । उहाँले रुकुमपूर्वकै लावाङ बैठकमा पार्टीभित्र ऐतिहासिक विचारधारात्मक बहस भएको पनि स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “रुकुम पूर्वको विशेषता यो हो कि यहाँबाटै नेपालमा गणतन्त्र अब कसैले रोक्न सक्दैन भन्ने निष्कर्ष निकालियो र त्यो घोषणा गरियो । चुनवाङ बैठकप्रति हामी सबैलाई गर्व छ । त्यो बैठकले नेपालमा मात्र होइन, संसारभरि संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खोलिदियो ।” राष्ट्रलाई एकताबद्ध गर्ने, कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ दिने र देशभर समाजवाद निर्माणको सन्देश फैलाउने थलोका रूपमा रुकुम पूर्व उपयुक्त रहेको उहाँले दोहोर्याउनुभयो ।
नेकपा रुकुम पूर्व-काठमाडौं सम्पर्क समन्वय समितिकाे कार्यकर्ता भेला प्रशिक्षण कार्यक्रम सम्पन्न (फाेटाे)
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पूर्व-काठमाडौं सम्पर्क समन्वय समितिकाे कार्यकर्ता भेला प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । आज पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डकाे प्रमुख आतिथ्यमा रुकुम पूर्व-काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे हाे । फाेटाे
उपलब्धिको जगमा टेकेर समुन्नत समाज निर्माणको दिशामा अघि बढ्ने प्रतिबद्धता गरौँ : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद दिवसको अवसरमा सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शुभकामना व्यक्त गर्नुभएको छ । प्रचण्डले जारी गर्नुभएको सन्देशमा नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको उल्लेख गर्दै लखन थापा, बाँकाबीरदेखि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, भीमदत्त पन्त, जनयुद्ध, जनआन्दोलन, मधेस–थारू आन्दोलन तथा पछिल्लो जेन–जी आन्दोलनसम्मका सहिदहरूको बलिदानको साझा उद्देश्य सामन्तवाद, उत्पीडन र विभेदको अन्त्य गरी लोकतन्त्र, समानता, न्याय तथा सुशासन स्थापना गर्नु रहेको बताउनुभयो । उहाँले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतासम्मको उपलब्धि सहिदहरूकै अमूल्य बलिदानको परिणाम भएको उल्लेख गर्दै भने, “तर सहिदहरूको सपना अझै पूर्ण भएको छैन । सामाजिक न्याय, आर्थिक समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र राष्ट्रिय स्वाधीनताको संघर्ष जारी छ ।” प्रचण्डले सहिद दिवसलाई आत्मसमीक्षा, जनताको पक्षमा दृढ रहने र अधुरा सपना पूरा गर्ने नयाँ संकल्प गर्ने अवसरका रूपमा लिन आह्वान गर्नुभयो । उहाँले उपलब्धिहरूको जगमा टेकेर समुन्नत समाजवादी नेपाल निर्माणको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न सबैलाई आग्रह गर्नुभएको छ । “आउनुहोस्, उपलब्धिहरूको जगमा टेकेर समुन्नत समाजवादी नेपाल निर्माणको दिशामा अघि बढ्ने प्रतिबद्धता गरौँ,” प्रचण्डको सन्देशमा भनिएको छ ।
गोरखापत्र संस्थानमा विभिन्न पदमा जागिरको अवसर
काठमाडौँ । गोरखापत्र संस्थानले लोक सेवा आयोगबाट स्वीकृत पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका अनुसार रिक्त विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला तथा समावेशी समूहमा प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न इच्छुक नेपाली नागरिकहरूले संस्थानको वेबसाइटबाट दरखास्त फारम डाउनलोड गरी ए४ साइजको कागजमा प्रिन्ट गर्नुपर्नेछ । फारममा हालसालै खिचिएको पासपोर्ट साइजको ३ प्रति फोटो टाँसेर सम्पूर्ण विवरण भरी गोरखापत्र संस्थान, केन्द्रीय कार्यालय, धर्मपथ, काठमाडौँमा बुझाउन सकिनेछ ।
मुग्लिन–नारायणगढ सडकमा बस पल्टिँदा ३८ घाइते
चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको घुमाउने स्थानमा आज बिहान करिब ३:१० बजे दाङबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस पल्टिँदा ३८ जना यात्रु घाइते भएका छन्। प्रहरीले घाइतेहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा पुर्याएको छ। मौलाकालिका अस्पताल भरतपुरमा १५, पुरानो मेडिकल कलेजमा १३, नयाँ मेडिकल कलेजमा ४ र जनता केयर अस्पताल मुग्लिनमा ६ जनाको उपचार भइरहेको छ। बस पल्टिएपछि अवरुद्ध भएको सडक अहिले सुचारु भइसकेको छ।
माथिल्लो मुस्ताङमा भारी हिमपात : कोरला नाकाबाट आयात–निर्यात ठप्प, सडक अवरुद्ध
काठमाडौं — मंगलबार राति माथिल्लो मुस्ताङमा परेको भारी हिमपातका कारण नेपाल–चीन सीमानाका कोरला पूर्ण रूपमा प्रभावित भएको छ। मुस्ताङ भन्सार कार्यालयका अनुसार बुधबारदेखि यो नाकाबाट हुने सबै आयात–निर्यात कारोबार ठप्प छ। जोमसोम–कोरला सडकमा दुई फिटभन्दा बढी हिउँ जमेका कारण सडक अवरुद्ध भएको छ। यसले भन्सार कार्यालयको नियमित कामकाजसमेत प्रभावित भएको छ। चीनबाट मालवस्तु ल्याउन गएका एक दर्जन कन्टेनर छोसेरस्थित भन्सारमा थन्किएका छन् भने केही कन्टेनर चिनियाँ पक्षमै रोकिएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कागबेनी–कोरला सडकको करिब ९० किलोमिटर खण्डमा हिउँ जमेकाले सडक सञ्चालनमा केही दिन लाग्न सक्छ। कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले आजदेखि वारागुङ मुक्तिक्षेत्र–३ छुसाङबाट हिउँ पन्छाउने उपकरण परिचालन गरिने बताएका छन्। हिमपातपछि माथिल्लो मुस्ताङमा माइनस २० डिग्री र तल्लो मुस्ताङमा माइनस १२ डिग्रीसम्म तापक्रम झरेको छ। अत्यधिक चिसोले जनजीवन कष्टकर बनेको छ भने पशुचौपाया तथा गोठालालाई पनि समस्या परेको छ। कोरला नाकामा पाल टाँगेर बसेका स्थानीय व्यापारीहरू पनि घर फर्किएका छन्। यो वर्ष माथिल्लो मुस्ताङमा यो तेस्रो पटकको हिमपात हो।
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर बढेको बढ्यै
काठमाडौं — नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विभिन्न विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४४ पैसा कायम गरिएको छ। यो विनिमय दर आजका लागि आधिकारिक रूपमा लागू हुने छ। राष्ट्र बैंकले आवश्यकता अनुसार यो दरलाई जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंक तथा विनिमय केन्द्रहरूले भने यो दरको आधारमा थप स्प्रेड (मार्जिन) राखेर आफ्नो दर निर्धारण गर्छन्, जसले गर्दा व्यावहारिक दर फरक हुन सक्छ। अद्यावधिक तथा पूर्ण जानकारीका लागि नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट (www.nrb.org.np) हेर्न सिफारिस गरिएको छ। आजका प्रमुख मुद्राको विनिमय दर (राष्ट्र बैंकद्वारा निर्धारित) मुद्रा (Currency) एकाइ (Unit) खरिददर (Buy) बिक्रीदर (Sell) भारतीय रुपैयाँ (INR) १०० १६०.०० १६०.१५ अमेरिकी डलर (USD) १ १४६.८४ १४७.४४ युरोपियन युरो (EUR) १ १७५.४५ १७६.१७ बेलायती पाउन्ड स्टर्लिङ (GBP) १ २०२.५४ २०३.३६ स्विस फ्रांक (CHF) १ १९१.०६ १९१.८४ अष्ट्रेलियन डलर (AUD) १ १०३.३३ १०३.७५ क्यानेडियन डलर (CAD) १ १०८.३३ १०८.७७ सिङ्गापुर डलर (SGD) १ ११६.०६ ११६.५३ जापानी येन (JPY) १० ९.५७ ९.६१ चिनियाँ युआन (CNY) १ २१.१४ २१.२३ साउदी अरेबियन रियाल (SAR) १ ३९.१५ ३९.३१ कतारी रियाल (QAR) १ ४०.२९ ४०.४६ थाई भाट (THB) १ ४.७० ४.७२ युएई दिरहम (AED) १ ३९.९८ ४०.१४ मलेसियन रिङ्गेट (MYR) १ ३७.३९ ३७.५४ दक्षिण कोरियन वन (KRW) १०० १०.२२ १०.२७ स्वीडिस क्रोनर (SEK) १ १६.६१ १६.६७ डेनिस क्रोनर (DKK) १ २३.५० २३.५९ हङकङ डलर (HKD) १ १८.८१ १८.८९ कुवेती दिनार (KWD) १ ४८१.८४ ४८३.८१ बहराइन दिनार (BHD) १ ३८९.३४ ३९०.९३ ओमनी रियाल (OMR) १ ३८१.४३ ३८२.९९ यी दरहरू नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको आधिकारिक दर हुन्। अन्तर्राष्ट्रिय बजारमा मुद्रा मूल्यमा हुने उतारचढावका आधारमा यो दर दैनिक परिवर्तन हुन सक्छ।
देशभर विभिन्न कार्यक्रमसहित आज सहिद दिवस मनाइँदै
काठमाडौं — देश र जनताको हित तथा प्रजातन्त्र स्थापनार्थ जीवन बलिदान गर्ने सहिदहरूको सम्झना गर्दै आज देशभर सहिद दिवस विभिन्न कार्यक्रमको आयोजनासहित मनाइँदैछ। प्रजातन्त्र स्थापना, पुनर्स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रता र अधिकारका लागि जीवन आहुति दिने ज्ञात–अज्ञात सहिदहरूको सम्मानमा यो दिवस मनाइने गरिन्छ। नेपालमा प्रजातन्त्र स्थापनाका लागि राणा शासनविरुद्ध आवाज उठाएका चार अमर सहिद—शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द—को विशेष स्मरण गरिन्छ। विसं १९९७ मा राणा शासकहरूले उनीहरूलाई क्रमशः मृत्युदण्ड दिएका थिए: शुक्रराज शास्त्रीलाई माघ १० गते टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा, तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा गोली हानी हत्या गरिएको थियो। यी सहिदहरूको बलिदान र प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो। प्रत्येक वर्ष माघ १६ गते मनाइने यो दिवस विसं २०१२ देखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा सुरु भएको हो। हाल काठमाडौं महानगरपालिका तथा शहीद दिवस मूल समारोह समितिले माघ १० देखि १६ गतेसम्म 'सहिद सप्ताह' का रूपमा विविध कार्यक्रम आयोजना गर्दै आएको छ। यस अवधिमा प्रभातफेरी, श्रद्धाञ्जलि अर्पण, स्मृति सभा, रक्तदान तथा अन्य कार्यक्रमहरू सञ्चालन हुने गर्छन्। आजको मुख्य कार्यक्रममा शान्तिवाटिका (रत्नपार्क) देखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी आयोजना हुने छ। प्रधानमन्त्री, मन्त्रीहरू, उच्च पदाधिकारी, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी हुने यो प्रभातफेरीपछि सहिद स्मारकमा ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिनेछ। सहिद दिवसले नेपालीहरूलाई स्वतन्त्रता, प्रजातन्त्र र राष्ट्रियता प्रति थप जागरूक बनाउने तथा सहिदहरूको बलिदानबाट प्राप्त प्रेरणालाई जीवन्त राख्ने अवसर प्रदान गर्दछ। देशभरका विभिन्न स्थानहरूमा स्थानीय तह, राजनीतिक दल, सामाजिक संस्था तथा नागरिक समाजले पनि श्रद्धासुमन अर्पण गर्दै कार्यक्रमहरू आयोजना गरिरहेका छन्।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव : तराईमा हुस्सु, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
काठमाडौं — मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु (पश्चिमी न्यूनचापीय प्रणाली) को आंशिक प्रभाव रहेको छ। यस प्रभावले कोशी प्रदेश र मधेस प्रदेशका थोरै स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहने छ। देशभर आंशिक बादल लाग्नेछ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि तराई भूभागका केही स्थानहरूमा हुस्सु रहने तथा देशको उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लाग्ने छ। बाँकी भूभागमा आंशिक बादल लाग्ने अनुमान छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना कायमै रहेको छ। महाशाखाका अनुसार यो प्रणालीको प्रभाव क्रमशः कम हुँदै गए पनि तराईमा हुस्सु/कुहिरोका कारण दृश्यता कम हुने र उच्च क्षेत्रमा चिसो बढ्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ। यात्रुहरूले मौसमको जानकारी हेरेर यात्रा योजना बनाउन सुझाव दिइएको छ।
अमेरिकी भिसाको दुरुपयोग नगर्न नेपाली दूतावास अमेरिकाको अनुरोध
न्यूयोर्क— संयुक्त राज्य अमेरिकामा रहेका नेपाली नागरिकहरूलाई अमेरिकी सरकारले प्रदान गर्ने सहुलियतपूर्ण स्वास्थ्य उपचार, आवास, परिवार सहायता, शैक्षिक सहायता जस्ता सुविधाहरू अवैधानिक रूपमा वा गलत विवरण पेश गरी प्रयोग नगर्न नेपाली दूतावासले अत्यन्त जरुरी सूचना जारी गरेको छ। यस्तो कार्यले भिसा वा ग्रिनकार्ड स्टाटस रद्द हुन सक्ने तथा नेपालप्रति अमेरिकी भिसा नीति थप कडा हुन सक्ने चेतावनी दिइएको छ। दूतावासका अनुसार, अमेरिकी अधिकारीहरूबाट प्राप्त जानकारीअनुसार विभिन्न प्रयोजन (अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय वा परिवार भेटघाट) का लागि अमेरिका पुगेका नेपालीहरूले गैरकानुनी तवरले वा झूटा विवरण दिएर यस्ता सहुलियत सुविधा लिँदा प्रत्यक्ष रूपमा आप्रवासन स्टाटसमा असर पर्ने र रद्द समेत हुन सक्छ। सन् २०२४ मा अमेरिका गएका नेपालीहरूको तथ्यांकले नै नेपालीहरूलाई अमेरिकी सरकारी सहायता लिनेहरूको उच्च सूचीमा राखेको उल्लेख गर्दै दूतावासले यो चेतावनी दिएको हो। यसै सन्दर्भमा अमेरिकी सरकारले हालै नेपाली नागरिकहरूका लागि आप्रवासी (इमिग्रेन्ट) भिसा जारी गर्न स्थगित गरेको छ। जनवरी २१, २०२६ देखि लागू हुने गरी उच्च दरमा सार्वजनिक सहायता (पब्लिक बेनिफिट्स) प्रयोग गर्ने जोखिम भएका ७५ देशहरू (नेपालसहित) का नागरिकहरूका लागि इमिग्रेन्ट भिसा जारी गर्न पूर्ण रूपमा रोकेको छ। यद्यपि, आवेदन दिन र अन्तर्वार्ता दिन सकिन्छ तर भिसा जारी गरिने छैन। यो निर्णय अमेरिकी करदाताको खर्चमा सहायता लिने जोखिम उच्च भएका राष्ट्रियताहरूको समीक्षा गर्नका लागि गरिएको हो। थप कडाइस्वरूप, बी१/बी२ (पर्यटक/व्यवसायिक) भिसाका लागि नेपाली आवेदकहरूलाई जनवरी २१, २०२६ देखि लागू हुने गरी अमेरिकी डलर ५,००० देखि १५,००० सम्मको रिफन्डेबल भिसा बन्ड (धरौटी) राख्नुपर्ने प्रावधान लागू गरिएको छ। यो पाइलट कार्यक्रमअन्तर्गत उच्च ओभरस्टे दर भएका देशहरूमा लागू भएको हो, जसमा नेपाल पनि समावेश छ। योग्य ठहरिएका आवेदकहरूलाई अन्तर्वार्ताको समयमा कन्सुलर अफिसरले बन्डको रकम निर्धारण गर्छन् र भिसा जारी हुनुअघि Pay.gov मार्फत भुक्तानी गर्नुपर्छ। यदि समयमै अमेरिका छोडेमा यो रकम फिर्ता हुन्छ। दूतावासले बी१/बी२ भिसामा ओभरस्टे गर्ने, तोकिएको भन्दा फरक काम (जस्तै रोजगारी) गर्ने जस्ता दुरुपयोगका घटनाहरू बढेको उल्लेख गर्दै यसले नेपालको छविमा गम्भीर नकारात्मक असर पार्ने र भविष्यमा अमेरिका जान चाहने नेपालीहरूलाई भिसा प्राप्ति अझ कठिन हुने बताएको छ। दूतावासको अनुरोध : संयुक्त राज्य अमेरिकामा रहेका सबै नेपाली नागरिकहरूलाई गैरकानुनी रूपमा वा गलत सूचना दिएर कुनै पनि सहुलियत सुविधामा निर्भर नहुन/नगराउन तथा बी१/बी२ भिसाको दुरुपयोग नगर्न हार्दिक अनुरोध गरिएको छ। यस्ता कार्यले व्यक्तिगत आप्रवासन स्टाटस मात्र होइन, समग्र नेपाली समुदाय र मुलुकको प्रतिष्ठामा पनि दीर्घकालीन असर पार्न सक्छ।
विभिन्न ठाउँमा चुनावी सभा गर्ने नेकपाको तयारी, संयोजक प्रचण्डसहित शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई प्रभावकारी रूपमा सफल बनाउन अर्को हप्तादेखि देशव्यापी चुनावी अभियानलाई तीव्रता दिने भएको छ। पार्टीले यो निर्वाचनलाई जसरी पनि सफल बनाउनुपर्ने अडान राख्दै आएको छ । नेपाली कम्युनिष्ट पार्टीले जेनजी आन्दोलनपछि सबैभन्दा पहिले सार्वजनिक कार्यक्रम गरेको थियो । पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का अनुसार, नेपाली कम्युनिष्ट पार्टी जेनजी आन्दोलनपछि सबैभन्दा सक्रिय र जनमुखी अभियान चलाउने शक्ति बनेको छ। नेकपाले जेनजी आन्दोलनपछि अन्य राजनीतिक दलभन्दा पहिले सार्वजनिक अभियान नै सञ्चालन गरेको थियो । पार्टीले चुनावी सभाहरूको तयारी तीव्र पारेको छ, जसमा प्रमुख शहर तथा जिल्लाहरूमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रमहरूको तयारी गरिएको नेताहरुले बताएका छन् । त्यसरी सभा गर्दा निर्वाचन आचारसंहितालाई पूर्ण पालना गरिने नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ । यी सभाहरूमा संयोजक प्रचण्ड, सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठ 'प्रकाश' लगायतका शीर्ष नेताहरूले प्रत्यक्ष रूपमा जनतासँग जोडिने गरी अभियान सञ्चालन गर्नेछन्। पार्टीले फागुन २१ को निर्वाचनलाई सुरुदेखि नै ुजसरी पनि गर्नुपर्छु भन्ने मान्यता राख्दै आएको छ। हालैका दिनहरूमा देशभर पार्टी एकता, विभिन्न कम्युनिस्ट घटकहरूको समायोजन, समाहित तथा नयाँ कार्यकर्ता तथा समर्थकहरूको पार्टी प्रवेशको लहर चलेको छ। यो लहरले पार्टीको संगठनात्मक विस्तार र जनआधारलाई थप मजबुत बनाएको छ। पार्टीका सहसंयोजक माधवकुमार नेपालले हालैका कार्यक्रमहरूमा जनताले नेकपालाई पहिलो पार्टी बनाउन चाहेको बताउँदै मेचीदेखि महाकालीसम्म अभियान चलिरहेको जिकिर गरेका छन् । फागुन २१ मा हुने यो निर्वाचनले नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। नेकपाले यो अवसरलाई सदुपयोग गर्दै जनताको विश्वास जित्ने र निर्वाचनमा निर्णायक भूमिका खेल्ने लक्ष्य राखेको छ।
प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवस: तीन पत्रकार सम्मानित
काठमाडौँ- प्रेस सेन्टर नेपालले आफ्नो २२औँ स्थापना दिवसको अवसरमा तीन जना पत्रकारलाई नगदसहित सम्मान गरेको छ। काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा नेपालगन्जका नरेन्द्रजंग पिटरलाई कृष्ण सेन इच्छुक स्मृति पुरस्कार, सिरहाका मणिलाल विश्वकर्मा लाई शक्ति तारा स्मृति पुरस्कार र ललितपुरकी रुवी श्रेष्ठलाई बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार प्रदान गरियो। प्रत्येकलाई सम्मानपत्रसहित २५ हजार रुपैयाँ नगद दिइएको छ। कार्यक्रमका प्रमुख अतिथि नेकपाका नेता तथा पूर्वसभामुख अग्नी सापकोटाले पुरस्कार वितरण गरेका थिए। प्रेस सेन्टरका अध्यक्ष कमल गिरीले जानकारी दिएअनुसार कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बलराम थापा, आईसीटी फोरमका अध्यक्ष निर्मल ज्ञवाली, महासचिव मनोज घर्तीमगरलगायतले मन्तव्य राखेका थिए।

