बाँकी विषयहरु थाँती राखेर निर्वाचनमा केन्द्रित हुन नेता–कार्यकर्तालाई अग्नि सापकोटाको आग्रह

काठमाडौँ — नेकपा नेता अग्नि सापकोटाले पार्टीभित्रका विवाद र बहसका विषयहरूलाई थाँती राखेर अब निर्वाचनमा केन्द्रित हुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवस कार्यक्रममा बोल्दै उनले फागुन २१ मा निर्वाचन केन्द्रित भएर अर्जुनदृष्टि लगाउनुपर्ने जोड दिए। सापकोटाले वामपन्थी शक्तिलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको भन्दै नेकपालाई थप एकताबद्ध बनाउनुपर्ने बताए।

उनले नेकपाको लोकप्रियता बढ्दै गएको दाबी गर्दै अन्य प्रियतावादहरू ‘पानीको फोका’ जस्तै फुट्ने उल्लेख गरे। साथै, कम्युनिस्ट दलहरूमाथि फैलाइएको भ्रमलाई व्यवस्थित रूपमा चिर्नुपर्नेमा जोड दिए।

आजकाे माैसम: यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा पूर्णतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा, गण्डकी प्रदेशको एक–दुई स्थान हल्का वर्षा भइरहेको छ। आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहने छ ।  कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ । आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहने छ ।   कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आचारसंहिता उल्लङ्घनमा कारबाही प्रक्रिया सुरु

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार तथा दलविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ । आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह, नेकपा (एमाले) का सचिव महेश बस्नेतसहित सात जनालाई एकैदिन स्पष्टीकरण सोधेको छ । आयोगका अनुसार माघ ७ देखि १४ गतेसम्म २१ जना उम्मेदवार, राजनीतिक दल तथा संस्थालाई आचारसंहिताविपरीत गतिविधि गरेको आरोपमा स्पष्टीकरण सोधिएको हो। माघ ५ गते मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागू भएपछि प्राप्त उजुरीका आधारमा कारबाही प्रक्रिया सुरु गरिएको आयोगले जनाएको छ । हालसम्म तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका दोलखाबाट प्रतिनिधिसभा उम्मेदवार जगदीश खरेलले मात्र जवाफ पेस गरेका छन् । दलको झन्डा प्रयोग र २५ जनाभन्दा बढीको जुलुससहित मनोनयन दर्ता गराएको उजुरीपछि स्पष्टीकरण सोधिएको थियो । खरेलले भने आचारसंहिता उल्लङ्घन नगरेको दाबी गरेका छन् ।  आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार प्राप्त जवाफ चित्तबुझ्दो भए कारबाही अघि नबढाइने र नबुझे थप निर्णय गरिनेछ । यसैबीच, आयोगले माघ १३ र १४ गते दुई दिनमा १३ जना उम्मेदवार तथा दललाई स्पष्टीकरण सोधेको छ । माघ १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई सामाजिक सञ्जालमा गरिएको टिप्पणीबारे जवाफ माग गरिएको हो । आयोगले उक्त टिप्पणी निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड ‘ठ’ अन्तर्गत पर्ने उल्लेख गरेको छ । त्यस्तै, भक्तपुर–२ बाट एमालेका उम्मेदवार महेश बस्नेतमाथि घृणास्पद तथा विभाजनकारी अभिव्यक्ति दिएको उजुरी परेको छ । नेपाल जनसेवा पार्टीका जानुका पाठक र अन्य उम्मेदवार तथा दलहरूलाई समेत सामाजिक सञ्जालमार्फत भ्रामक र द्वेषपूर्ण सामग्री प्रसारण गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । तोकिएको समयभित्र जवाफ नआए उजुरी स्वीकार गरिएको ठहर गर्दै थप कारबाही गरिने आयोगले चेतावनी दिएको छ । यसैगरी, निर्वाचन आचारसंहिता अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जिम्मेवारी तोकिएको छ । जिल्लास्तरमा प्रचार–प्रसार तथा निर्वाचन गतिविधि अनुगमन गरी आवश्यक कारबाही सिफारिस गर्ने अधिकार प्रदान गरिएको आयोगले जनाएको छ ।

आज युरोपियन युरोकाे मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ । स्विस फ्रयांक एकको खरिददर १९० रुपैयाँ ७२ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५०  पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४१ पैसा, सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ १७ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १० पैसा र बिक्रीदर २१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३९ रुपैयाँ २४  पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २१ पैसा र बिक्रीदर ४० रुपैयाँ ३८ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७३  पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९० पैसा र बिक्रीदर ४० रुपैयाँ ०७ पैसा तोकिएको छ ।  मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २४ पैसा र बिक्रीदर १० रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ ।  स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४९ पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८६ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ८९ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३९० रुपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रुपैयाँ ७० पैसा र बिक्रीदर ३८२ रुपैयाँ २६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

अब नयाँ संसद् बैठक नयाँ भवनमै बस्ने

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनपछि निर्वाचित हुने प्रतिनिधि सभा सदस्यको पहिलो बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमै बस्ने निश्चित भएको छ । यसअघि संसद् बैठक हुँदै आएको नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडपछि प्रयोगयोग्य नरहेपछि वैकल्पिक व्यवस्था खोजिएको हो । सहरी विकास तथा भवन विभागका महानिर्देशक रवीन्द्र बोहोराका अनुसार निर्वाचनपछि चैतको पहिलो हप्तामा बस्ने प्रतिनिधि सभाको पहिलो बैठक निर्माणाधीन संसद् भवनमै बस्ने गरी तयारी तीव्र पारिएको छ । “फागुनभित्र प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक कक्षको सम्पूर्ण तयारी पूरा गर्ने लक्ष्य छ,” उनले भने ।  सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक रोशन श्रेष्ठले संसद् भवनको काम दिनरात नभनी तीव्र गतिमा भइरहेको जानकारी दिए । “फागुन मसान्तसम्म संसद् भवन तयार पार्नुको विकल्प छैन,” उनले भने । हाल निर्माण स्थलमा ३५० जनशक्ति खटिएका छन् भने फर्निचर तथा इन्टेरियर निर्माणमा थप ५० जना काम गरिरहेका छन् । यसैबीच ठेकेदार कम्पनीले छैटौँ पटक म्याद थपका लागि सरकारसमक्ष निवेदन दिएको छ । निर्माण कम्पनीले नौ महिनाको समय थप माग गरेको हो । यसअघि तोकिएको म्याद पुस १६ गते सकिइसकेको छ । आयोजना कार्यालयका प्रवक्ता रञ्जनकुमार दासका अनुसार संसद् भवनको मुख्य संरचना सम्पन्न भइसकेको छ । तर आन्तरिक सजावट, एचभिएसी, एमइपी प्रणाली, सडक पूर्वाधार, सेनेटरी तथा वाटर ट्रिटमेन्ट प्लान्टजस्ता काम बाँकी छन् । सिंहदरबारको पुतली बगैँचास्थित १७३ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको संसद् भवन ‘हाइटेक’ आधुनिक इन्जिनियरिङ डिजाइनमा आधारित छ । भूकम्प र आगलागी जस्ता जोखिमलाई ध्यानमा राखी डिजाइन गरिएको यस भवनमा हरियाली क्षेत्र, पार्किङ र सडक पूर्वाधारलाई समेत समेटिएको छ । कुल पाँच अर्ब तीन करोड रुपैयाँ (भ्याटबाहेक) लागतमा निर्माण भइरहेको यस आयोजनाको ठेक्का नेपाली कम्पनी टुन्डी र चिनियाँ कम्पनी सेक (संयुक्त) ले पाएका छन् ।

निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन तथा  स्थानीय सामग्रीको प्रयोग र प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो ।  निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश र जिल्लाबाट खरिद भई प्रयोग गराउने गरी प्रबन्ध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।   केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद हुने र अधिकांश खरिदका लागि ‘जिटुजी’ अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई जिम्मेवारी दिइएको छ ।  निर्वाचनका लागि ६ करोड ७५ लाखको मात्र नयाँ सामग्री खरिद गरिएको र अन्य सामग्री पुरानै (स्टक)लाई पुनः प्रयोगमा ल्याइएको उनले बताए ।   आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उमेदवारीको मनोनयनपत्र दर्ता, दाबी विरोध र निर्वाचन चिह्न प्रदानको कार्यक्रम सम्पन्न भइसकेको छ । 

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ । माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा दुई फिट बढी हिउँ परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । यसैगरी यहाँको तल्लो मुस्ताङमा वर्षासँगै हिमपात भएको छ । माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बस्ती र उच्चलेंकमा भारी हिमपात भएको हो । एक्याप लोमान्थाङका कर्मचारी सलिना नेपालीले लोमान्थाङमा बस्तीमै दुई फिट हिउँ परेको बताइन् । “भारी हिमपातका कारण यहाँको जनजीवन निकै कष्ठकर छ, बस्तीभित्र बाक्लो हिउँ जमेकाले बाहिर निस्कन सक्ने अवस्था छैन”, कर्मचारी नेपालीले भने, “घरका धाराहरू सबै जमेका छन्, हिउँकै पानी तताएर खानेकुरा पकाएर खानुपर्ने अवस्था छ, पशु गोठाला र स्थानीय नागरिकलाई निकै ठूलो समस्या देखिएको छ ।” भारी हिमपातका कारण स्थानीय नागरिकको घर माथिको छतमाथि बाक्लो हिउँ थुप्रिएकाले यहाँका परम्परागत घर चुहिने भत्किने जोखिम बढेको सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए । कोरलास्थित सीमा सुरक्षाका लोमान्थाङ–२ न्हेचुङ छोसेरमा बसेका बिओपी सशस्त्र प्रहरीको सुरक्षाकर्मीको टोलीले स्थानीयवासीका केही घरमाथि थुप्रिएको हिउँ पन्छ्याइको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ । यसैगरी मङ्गलबार राति परेको भारी हिमपातका कारण जोमसोम–कोरला सडक र कागबेनी–मुक्तिनाथ सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । हिमपातका कारण सडक अवरुद्ध भएसँगै दर्जनौँ सवारी साधन मुस्ताङको कागबेनीमै राकिएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । यता जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना प्रकाशित गरी हिमपातका कारण यात्रा जोखिम हुने भएकाले उच्च सर्तकता अपनाउन यात्रुलाई अनुरोध गरेको छ । कोरला सडक, मुक्तिनाथ सडक अवरुद्ध भएको र मुस्ताङ–डोल्पा सडक, मनाङ मुस्ताङ पदमार्ग, मनाङ–मुस्ताङ सरिबुङ पदमार्ग, मुस्ताङ–मनाङ मेसोकोन्दो पदमार्ग, धौलागिरि पदमार्ग अन्तर्गत धम्पुस पिक पदमार्ग लगायतका स्थानमा तत्काल यात्रा नगर्न नगराउन हुन पदयात्रीलाई अनुरोध गरिएको छ ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त प्रसारण लाइन तत्कालै राष्ट्रिय प्रणालीमा समाहित गरिने जानकारी दिए । त्यसका लागि बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेत जिल्लाको सुब्बाकुनामा निर्माण भएको सबस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत् प्रवाह गरी यही माघ १६ गतेदेखि परीक्षण गरिने उनले बताए । प्रवक्ता ढकालका अनुसार परीक्षणपश्चात् प्रसारण लाइन सञ्चालनमा ल्याइने भएकाले सतर्कता अपनाउन आग्रहसमेत गरेको छ । त्यस क्रममा प्रसारण लाइनका टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावर वरिपरि नजान, गाईवस्तुलाई टावर नजिक जान नदिन, खतराका सङ्केत देखाइएका विद्युत्का संरचनालाई नछुन र बालबालिकालाई समेत टावर नछुन र नजिक जान नदिन आग्रह गरिएको उनले बताए । परीक्षणका क्रममा कुनै ठाउँमा झिल्का आएमा वा खतरा देखिएमा प्राधिकरण वा नजिकैको प्रहरीमा जानकारी दिन आग्रह गरिएको प्रवक्ता ढकालले बताए।

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाकाे सिमानामा कमला नदीमा अस्थायी ‘डाइभर्सन’

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भासिएको पुलको विकल्पमा ‘ह्युमपाइप’ राखेर डाइभर्सन बनाइएपछि साना–ठुला सबै प्रकारका सवारीसाधन सञ्चालनमा सहज भएको छ । हप्तादिन अघिदेखि नै सार्वजनिक सवारी चल्न थालेको जानकारी दिँदै सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले भने, “हाल सबै प्रकारका सवारीसाधनहरूको सहज आवत–जावत सुरु भइसकेको छ । यसले स्थानीय बासिन्दा र छोटो रुटबाट मधेस प्रदेशको राजधानी जनकपुर जाने यात्रुलाई ठूलो राहत मिलेको छ ।” गत मङ्सिर ५ गते निवर्तमान भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले पुलको स्थलगत अनुगमन गर्दै पुनर्निर्माणको काम तत्काल अघि बढाउन निर्देशन दिएका थियो । त्यस क्रममा उनले काम सन्तोषजनक नभए ठेक्का तोड्ने चेतावनी दिँदै तत्काल अस्थायी रूपमा आवत–जावतको व्यवस्था मिलाउनसमेत निर्देशन दिएका थिए । घिसिङको निर्देशनलगत्तै निर्माण कम्पनीले ह्युमपाइप राखेर डाइभर्सन तयार पारेको हो । यसअघि स्थानीय युवाले निर्माण गरेको बाँसको पुलबाट शुल्क तिरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । बर्खायाममा बाँसको पुल बाढीले बगाउँदा स्थानीयले डुङ्गाको सहारामा ज्यान जोखिममा राखेर नदी वारपार गर्दै आएका थिए ।  चौध वर्षपछि पुल निर्माण अन्तिम चरणमा विगत १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको यहाँको पुल निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हाल दैनिक ४० देखि ५० जना कामदार ‘फिनिसिङ’ र मर्मतको काममा खटिएका निर्माण कम्पनीले जनाएको छ । पप्पु लुम्बिनी जेभीले ठेक्का पाए पनि पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि हाल लुम्बिनी बिल्डर्सले यहाँ काम गरिरहेको छ । निर्माण कम्पनीका साइट इन्चार्ज सुदीप थापाले भने, “हामी बाँकी संरचनात्मक कामहरू द्रुत गतिमा गरिरहेका छौँ, असार मसान्तभित्र पुलबाटै सवारीसाधन सञ्चालन हुने गरी काम सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।” विसं २०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने भन्दै सुरु गरिएको पुल २०७८ साल असारमा आएको बाढीले दुईवटा पिलर भासिएर चारवटा स्ल्याबमा क्षति पुर्‍याएपछि समस्या भएको हो । पुल निर्माणमा ढिलाइ हुँदा सिरहा र धनुषाका स्थानीयवासी जोखिमपूर्ण अस्थायी बाटो प्रयोग गर्न बाध्य छन् । स्थानीय युवा सन्तोष यादवका अनुसार तत्कालीन मन्त्री घिसिङको पहलपछि पुल निर्माणले गति लिएको हो । उनले भने, “लामो समयसम्म काम हुन सकेन, तर नागरिक सरकारको पहलपछि काम सम्पन्न हुने चरणमा पुगेको छ । डाइभर्सनले तत्काललाई सजिलो बनाए पनि अब तोकिएको समयमै पुल निर्माण सम्पन्न हुनुपर्छ । त्यसमा सबै गम्भीर बन्नुपर्छ ।” हुलाकी राजमार्गको मेरुदण्ड मानिने यो पुल सम्पन्न भएपछि सिरहा र धनुषाका हजारौँ नागरिकको कष्टकर यात्रा अन्त्य हुनेछ ।

भाेजपुरमा बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुँदै पौवादुङका किसान

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यसहित बहुवर्षीय खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेपछि किसान यस प्रणालीमा जुट्न थालेका हुन् । गाउँपालिकाले बहुवर्षीय खेतीलाई प्रोत्साहन गर्न ‘एक घर एक फलफूल बगैँचा’ कार्यक्रम अघि सारेको छ । उक्त कार्यक्रमअन्तर्गत किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्दै बहुवर्षीय खेती प्रविधिमा जोड दिइँदै आएको छ । गाउँपालिका अध्यक्ष किरण राईले एकपटक बगैँचा विस्तार गरेपछि सामान्य हेरचाहका माध्यमबाट वर्षौंसम्म निरन्तर आम्दानी लिन सकिने भएकाले बहुवर्षीय खेती प्रणाली प्रभावकारी बन्दै गएको बताए । किसानको आवश्यकता र मागका आधारमा विभिन्न प्रकारका बहुवर्षीय खेतीका लागि सहयोग उपलब्ध गराइँदै आएको उनले जानकारी दिए । अध्यक्ष राईले भने, “हामीले बहुवर्षीय खेती प्रणालीलाई प्राथमिकतामा राखेका छौँ । एक घर एक फलफूल बगैँचा कार्यक्रममार्फत किसानलाई फलफूल खेतीमा जोडिरहेका छौँ । बगैँचा विस्तारका लागि बिरुवा वितरण गर्छौँ । यसअघि सञ्चालन गरिएको अकबरे खुर्सानी खेती कार्यक्रम किसानका लागि लाभदायक साबित भएपछि व्यावसायिक फलफूल खेती कार्यक्रमलाई थप विस्तार गरिएको छ ।” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बहुवर्षीय खेती प्रणालीको विकासका लागि विभिन्न कार्यक्रमलाई निरन्तरता दिइएको बताए । यस वर्ष आवेदन आह्वान गरेर ‘एक घर एक फलफूल बगैँचा’ कार्यक्रम सञ्चालनको तयारी भइरहेको र गाउँपालिकाले छवटै वडामा कार्यक्रम कार्यान्वयन गर्न करिब रु ४० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए । “विस्तृत कार्ययोजना तयार पारेर फलफूल खेती विस्तारको कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ । कार्यक्रमको मूल नारा नै ‘रोप्ने, हुर्काउने’ हो”, प्रशासकीय अधिकृत भट्टराईले भने, “प्राविधिकहरूले बिरुवा रोपनदेखि मल व्यवस्थापन, हेरचाह तथा रोग–किराबाट बचाउने उपायबारे किसानलाई स्थलगत रूपमा सेवा प्रदान गर्नेछन् ।” बहुवर्षीय बालीका रूपमा किसानलाई आँप, लिची, किबी, एभोकाडो, सुन्तलालगायतका खेतीमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । फलफूल खेतीको माध्यमबाट किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ योजनाबद्ध रूपमा कृषिका कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ । स्थानीय किसान नवराज घिमिरेले गाउँपालिकाको यस पहलले किसानको आम्दानी वृद्धि गर्नाका साथै व्यावसायिक र दिगो कृषि प्रणाली विकासमा टेवा पुग्ने बताए । बहुवर्षीय बाली खेतीमा किसानको आकर्षण रहेको र गाउँपालिकाले सञ्चालन गरिरहेका कार्यक्रमले किसानलाई प्रोत्साहन गरिरहेको उनको भनाइ छ । “मैले पनि विगत छ वर्षदेखि व्यावसायिक रूपमा कागती खेती गर्दै आएको छु । कागती खेतीबाट वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्दै आएको छु”, उनले भने,“अरू साथीहरूले पनि राम्रो काम गरिरहेका छन् । आम्दानी पनि ठिकै छ ।”

विप्लव पक्षलाई अझै अवसर बाँकी छ, वास्तविक घर यही हो, यताउता भौतारिएर केही हुँदैन: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) लाई आत्मसमीक्षा गर्दै बृहत् कम्युनिस्ट एकतामा सामेल हुन आग्रह गर्नुभएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेका नेताहरूलाई नेकपामा समायोजन गराउँदै प्रचण्डले बताउनुभयो, “कुनै आवेगमा नभई राष्ट्रको असाधारण परिस्थितिमा कम्युनिस्ट आन्दोलनका घटकहरूलाई एकता गरेर शक्ति आर्जनको प्रयास गरिएको हो ।” उहाँले समाजवादी मोर्चामा हुँदा विप्लवलाई पनि एकतामा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको तर जेनजी आन्दोलनपछि विप्लवको नेतृत्व वैचारिक अन्योलको भुमरीमा परेको बताउनुभयो । उहाँले थप्नुभयो, “जेनजी आन्दोलनपछि मुख्य नेतृत्व नै ठूलो भुमरीमा परेको जस्तो लाग्यो । हामीले पनि आत्मसमीक्षा गरेर एकताको बाटो रोज्यौं । विप्लव पक्षलाई अझै अवसर बाँकी छ । वास्तविक घर यही हो, यताउता भौतारिएर केही हुँदैन । आत्मसमीक्षा गरेर एकतामा आए स्वागत गर्न तयार छौं ।” प्रचण्डले अहिले देश असहज परिस्थितिमा रहेको र एकताबद्ध भएर देशव्यापी अभियानमा नगए अर्को दुर्घटनामा जान सक्ने भएकाले कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने जोड दिनुभयो । उहाँले अन्य कम्युनिस्ट घटकहरूलाई पनि एकतामा सामेल हुन आह्वान गर्नुभएको छ । कार्यक्रममा विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताहरूलाई नेकपामा प्रवेश गराइएको थियो ।

विप्लव निकट चर्चित नेता चिरञ्जीवी ढकाल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकट नेता तथा पूर्व विद्यार्थी संगठन अध्यक्ष चिरञ्जीवी ढकालले पार्टी छाडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उनीसँगै विप्लव माओवादीको विद्यार्थी संगठन अखिल (समाजवादी) का महासचिव प्रकाश झप्रेल, सचिवालय सदस्य लोकेश जोशी लगायतका नेताहरू पनि नेपाली कम्युनिस्ट पार्टीमा सामेल भएका हुन् । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित औपचारिक कार्यक्रममार्फत उनीहरूलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् । ढकालसँगै विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट आठ जना केन्द्रीय सदस्यहरू पनि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका ढकाल काठमाडौंका स्थायी बासिन्दा हुन् । उनी विप्लव र प्रकाण्ड दुवै नेताको नजिकका मानिन्थे । दाङमा सम्पन्न तत्कालीन अखिल (क्रान्तिकारी) को २१औं राष्ट्रिय सम्मेलनबाट उनी सर्वसम्मत केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए । एमसीसीविरुद्धको आन्दोलनलगायत विभिन्न संघर्षका क्रममा उनी पटक-पटक पक्राउ परिसकेका छन् ।

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य अभिव्यक्ति बन्द गराउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा घृणाजन्य अभिव्यक्तिले समाजमा घृणा फैलाउनुका साथै शान्तिसुरक्षामा समेत चुनौती सृजना गर्नसक्ने हुँदा शान्ति सुरक्षालाई थप मजबुत बनाउन आयोग नेपाल सरकारलाई आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, “कसैले पनि नेपालको संविधान, कानुन र मानवअधिकारका अन्तरराष्ट्रिय मूल्यमान्यताविपरीत घृणाजन्य अभिव्यक्ति नदिन, सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट एवं मर्यादित भएर एकअर्काप्रति मानव अधिकारमैत्री भाषाको प्रयोग गर्न, घृणायुक्त अभिव्यक्तिको प्रचारप्रसार नगर्न र निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न आयोग राजनीतिक दलका नेता, उम्मेदवार एवं सर्वसाधारणलाई आग्रह गर्दछ ।” आगामी फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा विगत केही दिनयता विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूबाट एकअर्काप्रति आक्षेप लगाउने, घृणाजन्य अभिव्यक्तिहरू दिने तथा एक अर्काप्रति गरिएको अमर्यादित आरोपप्रत्यारोपप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ । “यस प्रकारका घृणाजन्य अभिव्यक्तिले अराजकतालाई प्रश्रय दिने र निर्वाचनको समयमा शान्तिसुरक्षामा समेत असर पर्ने देखिन्छ”, विज्ञप्तिमा भनिएको छ, नेपालको संविधान र मानवअधिकारसम्बन्धी अन्तरराष्ट्रिय कानुनहरुले अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको प्रत्याभूति गरेको भए तापनि अरुको मर्यादामा चोट पुग्ने र शान्ति सुरक्षामा आँच पुग्न सक्ने विषयलाई विशुद्ध विचार र अभिव्यक्ति स्वतन्त्रताको मात्र विषय मान्न सकिँदैन ।” आयोगले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारमा पर्नसक्ने असरप्रति जिम्मेवार व्यक्तिले सधैँ ध्यान पुर्‍याउनुपर्नेमा जोड दिएको छ ।

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका भाँडाहरू भित्रिएसँगै आफ्नो पेसा सङ्कटमा परेको मालिका गाउँपालिका‐७ घमिरका नरबहादुर कार्कीले बताए । आधुनिक प्रविधिसँगै स्थानीय बजारमा सुपथ मूल्यमा आकर्षक देखिने आधुनिक किसिमका भाँडाकुँडाहरू प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको कार्कीले बताए । ग्रामीण क्षेत्रमा गिठीको काठबाट निर्माण गरिएका ठेका, आरी जस्ता भाँडाहरू दही र मही राख्नका लागि प्रयोग गरिन्छ । काठका भाँडामा राखेको दही र मही चाँडो नबिग्रिने हुँदा खानको लागि निकै स्वादिलो र राम्रो मानिन्छ । पछिल्लो समयमा बिस्तारै गाउँघरमा काठबाट निर्मित सामग्रीहरू बिस्तारै लोप हुँदै जान थालेको मुसिकोट नगरपालिका–२ का ज्ञानबहादुर नेपाली बताउँछन् । नयाँ पुस्ताहरू बिस्तारै गाउँ छोडेर सहर झर्ने, विदेश जाने र पुराना पुस्ताहरू बिस्तारै उमेरसँगै सकिँदै जान थालेपछि यस्तो समस्या आएको उनले बताए । परम्परागत पेसा र पुराना सामग्रीहरूको संरक्षण गर्नका लागि स्थानीय पालिकाहरूले खासै चासो देखाएका छैनन् । पालिकाले प्रस्तुत गर्ने वार्षिक नीति तथा कार्यक्रम र बजेटमा खासै प्राथमिकता नदिएको चुँदारा समुदायको गुनासो छ । परम्परागत पेसाको संरक्षण र त्यसको बजारीकरणमा खासै चासो नदिँदा गाउँघरमा बिस्तारै काठका भाँडाहरू लोप हुँदै जान थालेका हुन । बजारमा पाइने प्लास्टिकबाट निर्मित भाँडाहरू झट्ट देख्दा आकर्षक र राम्रा र चिटिक्क देखिने र मूल्य पनि काठका भाँडाको तुलनामा सस्तो पर्ने भएका कारण पनि यस्तो समस्या आएको गुल्मी उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष जनक पन्तले बताए । यस्ता प्रकारका परम्परागत सामग्री र वस्तुहरूको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धनका लागि पालिकाहरूले थप सहयोग पुर्‍याउनुपर्नेमा उनले जोड दिए । परम्परागत शैलीबाट निर्माण हुने सामग्रीहरूको उत्पादन गर्न समय धेरै लाग्ने र अलि खर्चिलो हुने बताइएको छ । परम्परागत रूपमा उक्त पेसा गर्दै आएका व्यवसायीहरूले पछिल्लो समयमा काठका भाँडा बनाउने पेसाबाट आफ्नो गुजारा चलाउन समेत गाह्रो भएको बताउँछन् । आफूले निर्माण गरेका सामग्री बिक्रीका लागि बोकेर गाउँगाउँमा डुलाउँदा कहिलेकाहीँ बिक्री नहुँदा त्यत्तिकै फर्कनु परेको छत्रकोट गाउँपालिका‐१ हुँगाका यमन सुनारले गुनासो गरे । काठबाट निर्मित भाँडाको महत्वको बारेमा जानकारी नभएका कारण पछिल्लो समयमा चुँदारा समुदायको पेसा सङ्कटमा परेको हो । गाउँघरमा गिठीको काठबाट निर्माण गरिएका ठेकाको मूल्य बजारमा आकारअनुसार रु ७०० देखि रु सात हजारसम्म पर्ने गर्दछ । जिल्लामा पछिल्लो समयमा आयोजना गरिने मेला महोत्सवलगायत सहकारी पसल र कोसेली घरमा भने फाट्टफुट्ट रूपमा यस्ता प्रकारका सामग्रीहरू बिक्रीका लागि राखिने गरिन्छ ।

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ । मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५ किसान व्यावसायिक रूपमा पशुपालन गरेर समाजमा नमुना कार्य गर्दै आएका हुन् । अहिलेको सुक्खायाममा दूध उत्पादन घट्नुपर्नेम वृद्धि हुँदै गइरहेको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिए । उनले भने, “थोरैमा मासिक रु १५ हजारदेखि दुई लाख बढीसम्म कमाउने दूध व्यवसायी यहाँ रहेका छन् ।” यसअघि दैनिक एक हजार ६०० लिटर दूध बिक्री हुँदै आएकोमा अहिले एक हजार ७०० लिटर दूध सङ्कलन भइरहेको छ । दूधबाट राम्रै आम्दानी हुने देखेपछि किसान उत्साहित भएर गाई थप्दै जाँदा बेमौसमी सिजनमा दूधको परिणाम बढेको उनले बताए । उत्पादित दूध बेलबास दुग्ध उत्पादक सहकारी संस्थामार्फत दमौली र पोखराको सुजल डेरी प्रालिमा बिक्री गर्ने गरिएको छ । उत्पादन गरिएको दूध बिक्रीका लागि बजारको कुनै समस्या नभएपछि यहाँका किसान पशुपालनतर्फ आकर्षित भएर लागेका हुन् । दमौली बजारमा सञ्चालनमा ल्याइएको दुई पसलबाट दैनिक ७०० लिटर दूध खपत हुने गरेको छ भने एक दिन बिराएर सुजल डेरीले दुई हजार लिटर दूध पोखरा लैजाने गरेको छ । यहाँका व्यासायिक पशुपालनले परिवारको मात्रै नभई सिङ्गो समाजको मुहारमा परिवर्तन ल्याएको संस्थाका सचिव मेघनाथ आचार्यले बताए । उनले भने, “आफूले दूध उत्पादन गर्नुका साथै पशुपालन गर्न चाहने किसानका लागि थप उत्प्रेरण जगाउने कार्य गरिएको आभास गर्न थालिएको छ ।” यस क्षेत्रका पशुपालन कृषकले अन्य व्यक्तिका लागि परिश्रम गर्न सकिए केही हुँदोरहेछ भन्ने गतिलो सन्देश दिएका छन् । दूध बिक्रीबाट आएको पैसाले लेनदेन व्यवहारका साथै दैनिक घर खर्च चलाउनमा सजिलो भएको पशुपालक किसान बताउँछन् । कृषकको खरिद मूल्यअनुरूप अहिले दैनिक रु एक लाख ३४ हजार मूल्यको दूध सङ्कलन हुने गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट प्रति लिटर रु तीन र व्यास नगरपालिकाबाट रु दुई अनुदान सहकारीमार्फत पाउने गरेका छन् । व्यावसायिक पशुपालन कृषकलाई राज्यले प्रोत्साहन गर्न दाना, चोकरको महँगी नियन्त्रण र उत्पादनका आधारमा अनुदानलाई प्राथमिकता दिन सके अझै प्रभावकारी हुन सक्ने संस्थाका अध्यक्ष केशवबहादुर थापाले बताए । गाउँमै दुग्ध सङ्कलन केन्द्र रहेकाले कृषकले दैनिक बिहान र बेलुका उत्पादन गरेका दूध बिक्री गर्न सहज भएको छ । नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्न उत्पादनका आधारमा अनुदान प्रदान गर्दै आएको वडाध्यक्ष वसन्तबहादुर आलेले बताए ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५  पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७६ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५८ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ७७  पैसा कायम गरिएको छ ।   अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५० पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा, सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १२ पैसा तोकिएको छ ।   जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०६ पैसा र बिक्रीदर २१ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३९ रुपैयाँ २२  पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ १९ पैसा र बिक्रीदर ४० रुपैयाँ ३५ पैसा कायम भएको छ ।   केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ७२ पैसा र बिक्रीदर चार रुपैयाँ ७४  पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४० रुपैयाँ ०४ पैसा तोकिएको छ ।  मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रुपैयाँ २१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ १९ पैसा कायम गरिएको छ ।  स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६ रुपैयाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २३ रुपैयाँ ४१  पैसा तोकिएको छ ।   राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ १२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।  बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९० रुपैयाँ ०५ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।