चितवनको इन्टर आईटी कलेज फुटसल : आइएसमटी भरतपुरलाई हराउँदै हेटौंडा स्कुल विजयी

चितवन । चितवनमा अवसर एकेडेमीद्वारा आयोजित इन्टर आईटी कलेज फुटसल प्रतियोगिताको उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सले जितेको छ।

आज साँझ सम्पन्न फाइनल खेलमा आइएसएमटी कलेज भरतपुर ‘ए’ लाई २–१ ले हराउँदै हेटौंडा स्कुलले उपाधि हात पारेको हो। भरतपुर–१० स्थित प्रेसिडेन्सी कलेजमा आज बिहानबाट सुरु भएको प्रतियोगिताको फाइनल पनि आजै सम्पन्न गरिएको हो।

प्रतियोगितामा विजेता टिमले ४० हजार नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे भने दोश्रो हुने टिमले २० हजार नगदसिहत ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगितमा म्यान अफ द म्याच हेटौंडा स्कुलका खेलाडी सुजल लामा, उत्कृष्ट खेलाडी हेटौंडा स्कुलका विश्व लामा, उत्कृष्ट गोल किपर आइएसएमटी कलेजका सुरज गुरुङ बने भने सबैभन्दा बढी गोल गर्ने खेलाडी आइएसएमटी कलेजका देव तामाङ रहे । उनीहरु सबैले प्रतिव्यक्ति ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफि प्राप्त गरे ।

पुरस्कार वितरण समारोहमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ् प्रालिका प्रिन्सिपल यज्ञविलास पौडेले ‘वाइवी’ को प्रमुख उपस्थिति रहेको थियो भने पपुलर युनिसेक्सका सञ्चालक सुलभ सिग्देलको विशेष उपस्थिति रहेको थियो ।

सेन्ट्रल कलेजले खेलमा मुख्य भसहयोग गरेको थियो । यसका साथै प्रतियोगितालाई विभिन्न संघसंस्थाहरुले सहयोग गरेका थिए । खेलको मिडिया पार्टनरमा नारायणी अनलाइन, चितवन आज डटकम र टाइम्स अफ गोर्खा रहेका थिए ।

प्रतियोगितामा कुल १० टिम सहभागी भएका थिए । प्रति टिम दर्ता शुल्क २५०० लिइएको थियो ।
बिहानको उद्घाटन सत्रमा जिल्ला समन्वयन समिति चितवनका प्रमुख नारायण अधिकारी, बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदीको उपस्थिति रहेको थियो ।

सुरुवाती खेल पृथ्वीनारायण क्याम्पस पोखरा र बोस्टन इन्टरनेशनल कलेज भरतपुरबीच भएको थियो भने खेलमा पृथ्वीनारायण क्याम्पस विजयी भएको थियो ।

भरतपुरलाई आइटी हबको रुपमा चिनाउन योगदान पुर्याउन र आईटी विद्यार्थीहरुबीच एकआपसमा सम्बन्ध विस्तार गर्न यस फुटसल आयोजना गरिएको अवसर एकेडेमीका प्रबन्ध निर्देशक सौगात देवकोटाले बताए ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख १५ गते शनिबार सन् २०२४ अप्रिल २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५१ पैसा र बिक्री दर १६७ रुपैयाँ २६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

यस्तो हुनेछ आजको मौसम

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोसी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी र वाग्मती प्रदेशको पहाडी भू–भागमा  आंशिक बदली रही देशको बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।  लुम्बिनी  प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम, गण्डकी र कोसी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना छ।  विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।  लुम्बिनी, मधेस र कोसी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’को विकल्प नभएको बताएकी छन् । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँद्वारा आज आयोजित ‘डिजिटल एक्स्पो’को शुभारम्भ गर्दै उनले गुणस्तरीय इन्टरनेट सेवाको पहुँच देशव्यापी बनाउन सरकार क्रियाशील रहेको जानकारी दिइन् । सरकारले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जनाउँदै मन्त्री शर्माले यी उद्योगमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरिन् ।उनले आसन्न लगानी सम्मेलनमा सूचना प्रविधिसम्बन्धी तीन वटा परियोजना ‘शो केस’मा राखिएको जानकारी दिइन् । सूचना प्रविधिको विकाससँगै पछिल्ला समय अनलाइन व्यापार वृद्धि हुँदै गएको दृष्टान्त दिँदै उहाँले सूचना प्रविधिको प्रयोगलाई विश्वव्यापी बनाइनुपर्ने बताइन् । ‘डिजिटल व्यापारलाई थप व्यवस्थित बनाउँदै लैजानु आजको आवश्यकता हो, यसतर्फ सरकारले सोचिरहेको छु’, मन्त्री शर्माले भनिन् । मन्त्री शर्माले निजी क्षेत्रले भोग्दै आएको समस्या समाधान गर्न सरकार तयार रहेको बताइन् । मुलुकमा लगानीको वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउन सरकारले प्रक्रियागत र कानूनी सुधार थालनी गरेको जानकारी दिँदै उनले निजी क्षेत्र पनि उत्साहित भएर अघि आउनुपर्ने बताइन्। ‘सरकारले नीतिगत सुधार थालनी गरेको छ, निजी क्षेत्र पनि अगाडि आउनुपर्छ, सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी आवश्यक छु’, मन्त्री शर्माले भनिन्।

हप्ता दिन लगाएर धरौटी बुझाएपछि छुटे दिपेश पुन

बुटवल । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन धरौटीमा रिहा भएका छन् । उनी सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका कारण थुनामा थिए । जिल्ला अदालत रुपन्देहीको आदेशमा ४ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न भनिएको भएपनि उनी धरौटी जम्मा गर्न नसक्दा थुनामै थिए । हप्ता दिन लगाएर धरौटी जम्मा गरेर उनी शुक्रबार रिहा भएका हुन् । गत शुक्रबार जिल्ला अदालतमा थुनछेक बहसपछि पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो । पुनले ४ लाख धरौटी रकम नबुझाएका कारण उनी थुनामै थिए। रूपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको थियो । त्यस्तै सहकारीको भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डेय चापागाईंलाई १८ लाख, नवीन अछामीलाई १० लाख, नीता थापालाई २ लाख, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार र रोशनी गुरुङसँग २ लाख रुपैँयाँ धरौटी माग गरेको थियो । प्रहरीको झन्डै २ महिना लामो अनुसन्धानपछि वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । सहकारीमा नियमित बचत गरेको सर्वसाधरणको रकम ठगी गरेको भन्दै १ हजार ८ सय ३१ जनालाई प्रहरीमा उजुरी गरेका थिए । सहकारीमा जीबी राईसहितको समूहले सर्वसाधरणबाट बचत भएको १ अर्ब ३१ करोड रकममध्ये सहकारीका राई, पुन, गुरुङसहितका पदाधिकारी र कर्मचारीले ८६ करोड १८ लाख, २३ हजार अपचलन गरेको प्रतिवेदन प्रहरीले बुझाएको थियो । सहकारीमा १९ हजार ३ सय ९१ सदस्य थिए ।

३०० शैया अस्पताल र विराटनगर रिङरोड बनाउने घोषणाले हामी हर्षित छौं : सांसद आचार्य

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन्दरहरैँचा नगरपालिकाको गोठगाँउमा ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको काम यहि वर्ष सुरु गर्ने घोषणा गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मेडिकल कलेज संचालन गर्न ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको काम यहि आर्थिक वर्षमा सुरु गर्ने घोषणा गरेका हुन् । मोरङ जिल्ला निर्वाचन क्षेत्र ६ प्रदेशसभा १ का सांसद रहेका पूर्वमन्त्री जीवन आर्चायले विराटनगर क्षेत्रको मुहार फेर्न जनताका जनजिविकाका कामसँगै  त्यस क्षेत्रमा महत्वाकांक्षी योजना अगाडि बढाउने बताउँदै आएका थिए।  पूर्वमन्त्री आर्चायले निर्वाचनको दौरान त्यस क्षेत्रका जनतालाई भरोसा दिलाएका थिए र चुनावी सभामा प्रधानमन्त्री प्रचण्डले आफु प्रधानमन्त्री भए सो बाचा पुरा गरिदिने बताएका थिए। प्रचण्ड प्रधानमन्त्री बनेको केहि दिनमै पुर्वान्चल विश्वविद्यालयलाई मेडिकल कलेजको अनुमति दिएका थिए। यस सन्दर्भमा प्रदेश सभा सदस्य आचार्य भन्छन, “मेडिकल कलेजका लागि आफ्नै ३०० शैय्याको अस्पताल अनिवार्य छ त्यसैले हामीले निरन्तर प्रधानमन्त्री ज्यूलाई भनिरहेका थियौं।”  संसद आचार्यको पहलमा सो क्षेत्रमा ३०० शैयाको अस्पताल र विराटनगर रिङरोड निर्माणको अभियान नै चलेको थियो। सो अभियानलाई लिएर सांसद आचार्य अभियन्ताको भुमिकामा लामो समय देखि संघर्षरत थिए।अन्ततः आज दिक्षान्त समारोहमा बोल्दै काम सुरु गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री प्रचण्डले घोषणा गरेका ती योजनाले सुन्दरहरैँचा नगरपालिका र समग्र विराटनगरको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास सांसद आर्चायले व्यक्त गरेका छन् ।

छ जना एसएसपीको सरुवा

काठमाडौँ । आज ६ जना एसएसपीको सरुवा गरिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीसहित ६ जना एसएसपीको सरुवा गरेका हुन् । काठमाडौँ जिल्ला प्रहरी परिसरका कार्यरत एसएसपी खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ भने विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौँ प्रमुखको जिम्मेवारीमा ल्याइएको छ । उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषदमा सरुवा गरिएको छ भने परिषदमा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन् । प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा पठाइएको छ ।कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा सरुवा गरिएको छ ।

गण्डकी प्रदेश प्रहरी प्रमुखमा डिआइजी चन्द

गण्डकी प्रदेश प्रहरी प्रमुखमा डिआइजी चन्दकाठमाडौँ । डिआइजी दुर्गा सिंह चन्दको सरुवा गरेको गरिएको छ । गृह मन्त्रालयले गण्डकी प्रदेश प्रहरीको प्रमुख जिम्मेवारी चन्दलाई दिएको हो । चन्दले यसअघि पनि बाग्मती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेकी छन् ।गृहले डिआइजी चन्दसँगै ६ एसएसपीको पनि सरुवा गरेको छ ।

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईले आज शिष्टाचार भेट गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा।रुपक सापकोटाले जानकारी दिए। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीच रही आएको सम्बन्धले थप उचाइ लिँदै गएको र द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनमा गति पैदा भएको बताए ।  “नेपाल र चीनबीचका थप नाकाहरु सञ्चालनमा आएका छन्, यसले सीमा क्षेत्रका जनतालाई राहत पुगेको छ,” प्रधानमन्त्रीले भने, “नेपालमा हुन लागेको लगानी सम्मेलनमा पनि चिनियाँ लगानीकर्ताले चासो राखेको पाएको छु ।”  अध्यक्ष झाउहुईले चिनियाँ लगानीकर्ताले नेपालको विद्युत् प्रशारण लाइन निर्माण र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन लगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताए।  भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा।सापकोटा, चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका अधिकारी एवं नेपालका लागि चिनियाँ राजदूत छेन सङलगायतका अधिकारीहरू उपस्थित थिए। 

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँं । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।  अंकरास्थित राष्ट्रपति प्रासादमा बिहीबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको इस्लामावादस्थित नेपालको राजदूतावासले जनाएको छ । अधिकारी पाकिस्तानका निम्ति नेपालको आवासीय राजदूत हुन् ।  राष्ट्रपति एर्दोगानले राजदूत अधिकारीलाई टर्कीएको पनि कार्यभार सम्हालेकामा बधाई ज्ञापन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डप्रति शुभकामना व्यक्त गरे । उनले राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डका साथै नेपाली जनताको निरन्तर समृद्धिको कामना पनि गरे । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपति एर्दोगानसँग भएको शिष्टाचार भेटमा राजदूत अधिकारीले राष्ट्रपति  पौडेल र प्रधानमन्त्री प्रचण्डका तर्फबाट टर्कीका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै टर्कीका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए ।  राजदूत अधिकारीले नेपाल र टर्कीबीचको सम्बन्ध आपसी विश्वास र सहयोगमा आधारित रहेको उल्लेख गर्दै दुवै देशले साझा चासोका विषयमा संयुक्त राष्ट्रसंघलगायत अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै आएका बताए । उनले टर्कीसँगको सम्बन्ध विस्तारका निम्ति इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेको उक्त दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस

काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर

काठमाडौं। काठमाडौँ उपत्यकाको वायु प्रदूषणको दर उच्च तहमा पुगेको । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले काठमाडौँको प्रदूषण दर १९४ मापन गरिएको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ । विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तान र तेस्रो स्थानमा भारतको नयाँदिल्ली रहेको छ । पाकिस्तानको प्रदूषण तह १८६ र भारतको नयाँदिल्ली १७३ रहेको छ ।

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ४ जरुवा पानी नजिक रेल्वे ट्रयाकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लालबन्दी २ स्थित पुर्नवासतर्फबाट जब्दीतर्फ गइरहेको ज ११ प ७५४८ नम्वरको मोटरसाइकल निर्माणाधीन रेल्वे ट्रयाकबाट तल खस्दा चालक लालबन्दी नगरपालिका ३ जब्दी घर भएका ५० वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो। बिहीबार राति मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको र चौधरी लडिरहेको देखेपछि स्थानीय अटो चालकले उनलाई लालबन्दी बजारस्थित मोडेल अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक हरिबोल केसीले जानकारी दिनुभयो । दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।

बिदा स्वीकृत नगराई अनुपस्थित कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौँ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव बर्खास्तीमा परेका छन् । लगातार नब्बे दिन भन्दा बढी समय अनुपस्थित रहेकोले सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको हो ।  मन्त्रालयले आज प्रकाशित गरेको सूचनामा भनिएको छ–  बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार नब्बे दिन भन्दा बढी समय अनुपस्थित रहनु भएकोले निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड (ख) बमोजिमको कसुरमा सोही ऐन दफा ५९ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम (३)को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नेपाल सरकारको निर्णयअनुसार सेवाबाट हटाउने निर्णय गरिएको छ । 

नेपाली सेनाले माग्यो दरखास्त

काठमाडौं । नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ ।  आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो ।  रिक्त रहेका १४७ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ । नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ ।  आवेदन जेठ १२ गतेसम्म दिन सकिनेछ । 

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।  उनका अनुसार पार्टीको आसन्न  राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संघिय संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसद् सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ ।  संघीय संसद् सचिवालयका अनुसार आगामी बजेट २०८१/८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ ।