स्वच्छ र निष्पक्ष निर्वाचन भएमा आगामी निर्वाचनमा हाम्रो पार्टी पहिलो शक्ति बन्छ: संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई निष्पक्ष र स्वच्छ बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ।

काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले देशलाई संकटबाट मुक्त गर्न निष्पक्ष निर्वाचनमार्फत आफ्नो पार्टीलाई बलियो बनाउनुपर्ने बताउनुभयो।

“निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने आगामी निर्वाचनमा हाम्रो पार्टी पहिलो शक्ति बन्न सक्छ,” उहाँले भन्नुभयो, “अब पार्टीलाई बलियो बनाएर राष्ट्र र जनहित सुनिश्चित गरौं। जनवादी क्रान्तिपछि अब समाजवादी क्रान्तिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्छ।”

उहाँले पछिल्लो समय एमाले लगायत विभिन्न वामपन्थी दलका नेताहरू नेकपामा प्रवेश गर्ने क्रम तीव्र भएको उल्लेख गर्दै चुनावी अवाञ्छित गतिविधि रोकिए आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गर्नुभयो।

अमेरिकी डलरको मूल्य उच्च, अन्यकाे कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ ।                                      युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।   अस्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५० पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११५ रुपैयाँ २२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २१ रुपैयाँ १७ पैसा तोकिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ ।   केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७२  पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २७ पैसा र बिक्रीदर १६ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०७ पैसा र बिक्रीदर २३ रुपैयाँ १६ पैसा तोकिएको छ ।   राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २८ पैसा कायम गरेको छ ।  बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

मध्यवर्ती क्षेत्रमा पशुचौपाया जोगाउनै मुस्किल

बझाङ । गत बुधबार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएको चितुवाले थलारा गाउँपालिका–८ स्थित कोइरालकोटमा खडकबहादुर सिंहसहित स्थानीयका १० वटा बाख्रा मार्‍याे । डाँडाबाघ मध्यवर्ती सामुदायिक वनको ककनेडी घोडिबिन्ना हलाने वन क्षेत्रमा चर्दै गरेको सबै बाख्रा आधा घण्टामै चितुवाको सिकार बने । सोमबार पनि देवस्थली गाउँमा एकैठाउँमा चितुवाले तीन बाख्रा मारेको अवस्थामा फेला परे । घर नजिकै चरिरहेका बाख्रा छोडेको एक घण्टामै मारेको फेला परेका थिए । तीन सातामा अदुकाली, घोडादाउना, दुवाली, कोइरालकोट र देवस्थलीमा मात्रै चितुवाले दुई दर्जनभन्दा बढी पशुचौपाया नोक्सान गरेको थियो । राष्ट्रिय निकुञ्जबाट दशौँ किलोमिटर टाढाको कालापानी बिसौनामा गत वर्ष पनि ठूलो सङ्ख्यामा बाख्राको नोक्सान भएको थियो । थलारा गाउँपालिका–२ कफलकाँडा रवीन्द्र खातीका ११ वटा बाख्रा मध्यान्नतिर बाख्रा नोक्सान भएपछि रु दुई लाख घाटा बेहोर्नुपरेको थियो । सोही वर्ष थलारा गाउँपालिका–९ का जगत विष्टका १० बाख्रा मारेर गोठ रित्तो भएको थियो । १२ वर्ष भारतमा रोजगारी गरेर फर्केका विष्टले गाउँमै आत्मनिर्भर हुन बाख्रापालन गर्दा ठूलो क्षति व्यहोर्नुपरेपछि फेरि भारतकै यात्रा तय गर्न बाध्य हुनुपर्‍याे । खप्तड छान्ना गाउँपालिका–१ का रामप्रसाद जोशीका अनुसार थलारासँगै जोडिएको खप्तड छान्नाका लेकाली क्षेत्र काटागाउँ, अनेर्थ, तुना, बामिली, जुकेनालगायत लेकमा पनि पुसमै दर्जनभन्दा बढी गाई, गोरू, बाख्रा, कुकुरको क्षति पुर्‍याएको छ । मध्यवर्ती क्षेत्रमा हरेक महिना चितुवा र भालुले पशुचौपायाको नोक्सान गर्न थालेपछि जोगाउनै मुस्किल परेको खप्तडछान्ना गाउँपालिका–३ लोखाडाका सर्जन रावलले बताए । उनले भने, “गतवर्ष त चार महिनासम्म रातभर जाग्राम बस्नुपरेको थियो । साउनको पहिलो साता गोठबाटै चितुवाले बाख्रा लिएको दिनदेखि हरेक दिन चिन्ताजनक अवस्था भइरह्यो । चार महिनाको अवधिमा मात्रै पाँच गोरू र सात बाख्राको नोक्सान भएको छ ।” घाँस काटेर गोठमै चौपाया पाल्नेबाहेक चरिचरन गर्न जङ्गल पुर्‍याउनेले घरपालुवा जनावर जोगाउन नसकेको रावलले बताए। खप्तड राष्ट्रिय निकुञ्जको थलारा क्षेत्रमा पर्ने गाउँमा मात्रै बर्सेनि सयौँको सङ्ख्यामा घरपालुवा जनावर चितुवासहितका हिंश्रक वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् । मध्यवर्ती क्षेत्रमा मात्रै नभइ चितुवाले जिल्लाका विभिन्न सामुदायिक वनमा पशुपालक किसानलाई दुःख दिने गरेको छ । रावलले वन्यजन्तुले क्षति पुर्‍याएकाे तथ्य र तथ्याङ्क नहुँदा राहतमा पनि समस्या भएको बताए । “कुन जङ्गलमा चितुवाले नोक्सान गरेको छ भनेर थाहा हुँदैन । कहिलेकाहीँ घटनास्थल भेट्न हप्ता दिन पनि लाग्छ । त्यसको मुचुल्का गर्न बेलामा प्रहरी आउँदैनन् । वडा कार्यालयबाट पनि ढिलाइ हुन्छ । आफन्त भेटिँदैनन् । त्यसपछि घटना सेलाउँदै जान्छ, यसले राहतमा समस्या हुने गरेको छ ।” सङ्घर्ष गरिरहेमा भने ढिलाइ भए पनि राहत प्राप्त गर्न सकिने खप्तडछान्ना– ७ का फिट्टु खड्का बताउँछन् । उनले भने, “अघिल्लो वर्ष चितुवाले घोडा खाँदा निकै दौडधुप गरेर कागज जुटाएपछि रु तीस हजार पाएको थिएँ । पशु चौपाया नोक्सानवापत सरकारले आधा रकम दिने गर्छ । त्यो पनि ठूलो राहत हो ।” खप्तड राष्ट्रिय निकुञ्जले २०७६ सालयता सबै कागजात ल्याएर आउने पशुधनीलाई राहत दिँदै आएको जनाएको छ । राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पर्शुराम कडायतका अनुसार चार वर्षको अवधिमा चितुवाले ४६८ पशुधनको क्षति पुर्‍याएको कागजात आएपछि रु आठ लाख ९३ हजार ४६६ राहत दिएको बताए । उनले पशुधनको क्षति पुर्‍याएको तस्बिर, प्रहरी मुचुल्का, वडाको सिफारिस ल्याएपछि राहतका लागि विभागमा पत्राचार गर्ने र आएपछि वितरण गर्ने गरिएको बताए ।

सुनको मूल्य तोलामा तीन लाख नाघ्यो

काठमाडौं । निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य तोलामा तीन लाख रुपियाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपियाँ रहेको सुनको मूल्य शुक्रबार नौ हजार दुई सय रुपियाँले बढेर तीन लाख एक हजार चार सय रुपियाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ९५० अमेरिकी डलर पुगेको छ । रुस–युक्रेन युद्ध, अमेरिकाद्वारा भेनेजुएलामाथि गरिएको कारबाही तथा अन्य भूराजनीतिक तनावका कारण सुन सुरक्षित लगानीको विकल्प बनेसँगै मूल्य बढेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले बताए । सुनको मूल्य अस्वाभाविक रूपमा बढ्दा बजारमा माग घटेको छ । महासङ्घका अनुसार सुनको कारोबार करिब ९० प्रतिशतले घटेको छ । मूल्य बढेपछि व्यवसायीले पुराना गहना खरिद गर्नसमेत छाडेका छन् । महासङ्घका अनुसार पछिल्लो एक वर्षमा सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार चार सय रुपियाँले बढेको छ । गत वर्ष ९ माघमा प्रतितोला एक लाख ६० हजार रुपियाँ रहेको सुनको मूल्य हाल तीन लाख नाघेको हो । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला पाँच हजार ८७० रुपियाँ रहेको चाँदी शुक्रबार तीन सय २० रुपियाँले बढेर छ हजार एक सय ९० रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔँस ९८ अमेरिकी डलरमा कारोबार भएको छ ।

समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी

काठमाडौँ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ । मतपत्र छपाई कार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी रहेको छ ।  समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भए लगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ । प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम नामावली तय भइसकेको छ । मनोनयन पत्र दर्ता प्रयोजनका लागि एकप्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पुर्‍याइएको थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तीन हजार ४०६ जना उम्मेदवारको नामावली आयोगले सार्वजनिक गरेको छ । आयोगले शुक्रबार नै निर्वाचन चिन्हसमेत प्रदान गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीन हजार १७ पुरुष, ३८८ महिला र अन्यमा एक जना उम्मेदवार तय भएका छन् । उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्म निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले उल्लेख गरेको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको नामावली पनि प्रकाशित भइसकेको छ ।

चालु आवको पाँच महिनामा जुम्लामा  पुँजीगत खर्च न्यून

जुम्ला । जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक वर्ष (आव) को प्रथम पाँच महिना साउनदेखि मङ्सिरसम्म ९ दशमलव ४ प्रतिशत मात्र पुँजीगत बजेटको खर्च भएको छ । प्रदेश लेखा नियन्त्रण इकाई कार्यालय जुम्लाका लेखा अधिकृत मुनबहादुर रावलका अनुसार समीक्षा अवधिमा चालुतर्फ कुल बजेटको पाँच महिना अवधिमा १५ दशमलव १९ प्रतिशत खर्च भएको छ । कुल बजेटको पुँजीगततर्फ ९ दशमलव ४ प्रतिशत मात्र बजेटको खर्च भएको बताए । चालु आव २०८२–८३ का लागि पुँजीगततर्फ एक अर्ब ११ करोड ८७ लाख १३ हजारको बजेट विनियोजन भएको छ । चालु आवको पाँच महिनासम्म पुँजीगततर्फ १० करोड ११ लाख १५ अर्थात् ९ दशमलव ४ प्रतिशत मात्र विकासे बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण इकाई कार्यालय जुम्लाका लेखा अधिकृत मुनबहादुर रावलले जानकारी दिए । विनियोजित बजेटमध्ये सबैभन्दा बढी पूर्वाधार विकास कार्यालय जुम्लाको कुल बजेटको पुँजीगततर्फ ९ करोड ११ लाख ९४३ रुपैयाँ खर्च भएको छ । उक्त कार्यालयको समग्र वित्तीय प्रगति १९ दशमलव ३३ प्रतिशत भएको प्रदेश लेखा नियन्त्रण इकाई कार्यालय जुम्लाले जनाएको छ । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको छ । गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनीका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वयन हुन नसक्दा प्रदेश सरकारको खर्च कम देखिएको कर्णाली प्रदेश सरकारको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश सरकारको मातहतभित्र १२ वटा कार्यालय रहेका छन् ।

आजकाे माैसम: आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।  बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।  देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको बाँकी भूभाग एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको छ ।  आज राति देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

अन्नपूर्ण आधार शिविरमा विद्युत् र सञ्चार सुविधा विस्तारका लागि सर्वेक्षण

म्याग्दी । नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार र विद्युत् सुविधा विस्तारका लागि सर्वेक्षण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको नेतृत्वमा नेपाल टेलिकम र विद्युत् प्राधिकरणका प्राविधिक तथा स्थानीय उपभोक्ताको टोलीले यसै हप्ता चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा पुगेर सर्वेक्षण गरेर फर्किएको हो । सञ्चार र विद्युत् सुविधा विस्तारका लागि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ, अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङ लगायतको टोलीले गत महिना काठमाडौँमा सूचना तथा सञ्चार र ऊर्जा मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका थिए । वर्षेनी हजारौँ पर्यटक पुग्ने अन्नपूर्ण आधार शिविरमा सञ्चार र विद्युत्को अभावका कारण भोग्नुपरेको समस्यालाई अन्त्य गर्दै विद्युत् र फोर जी नेटवर्कसहितको सञ्चार सुविधा विस्तारका लागि पहल गरिएको गाउँपालिका अध्यक्ष पुनले बताए । गत शरदयाममा करिब २० हजार जनाले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका थिए । सञ्चार सुविधा नहुँदा अलपत्र परेका पर्यटकलाई उद्धारसमेत कठिनाइ भइरहेकाले पहिलो प्राथमिकता सञ्चार र विद्युत् रहेको गाउँपालिका अध्यक्ष पुनको भनाइ छ । गाउँपालिकाले विद्युत् र सञ्चारको सुविधा विस्तार भएमा पर्यटकलाई बस्न थप सहज हुने संरचना बनाउनसमेत पहल गर्ने जनाएको छ । समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा सञ्चार सुविधा नहुँदा पर्यटक तथा आरोहीलाई समस्या हुने गरेको छ । हुमखोलादेखि माथिल्लो क्षेत्रमा सञ्चार विच्छेदको अवस्थामा छ । नेपाल टेलिकमका इन्जिनियर जीवराज उपाध्यायले सर्वेसहितको प्रारम्भिक विवरण आएपछि थप योजना बनाउने बताए । सन् १९५० जुन ३ मा आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा पहिलो मानव पाइला परेको थियो । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथममा पहिलो आरोहण गरेर इतिहास रचेका थिए । उक्त आरोहण दलको नेतृत्व मौरिस हर्जोगले गरेका कारण नारच्याङदेखि नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम मौरिस हर्जोग नामकरण गरिएको छ । नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सञ्चारको सुविधा भए पनि हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीअन्तर्गत छोटेपा, हुमखोला, सन्धिखर्क, गुफाफाँट, भुसकेटमेला, धरमढुङ्गा र आधार शिविरमा सञ्चारविहीन हुँदा त्यस क्षेत्रको प्रचारप्रसारमा असर गरेको छ । असोज, कात्तिक, फागुनदेखि जेठसम्म अन्नपूर्ण बेसक्याम्पमा पर्यटकको घुइँचो लाग्छ ।

देशभर प्रतिनिधिसभा निर्वाचनमा तीन हजार ४०६ उमेदवार मैदानमा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति शुक्रबारसम्म देशभरबाट तीन हजार ४०६ उमेदवार रहेका निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको सूचीअनुसार, दर्ता गराएका उमेदवारमध्ये तीन हजार १७ पुरुष र ३८८ महिला रहेका छन् । उमेदवारमध्ये २५ देखि ४० वर्ष उमेर समूहका एक हजार ५६ जना छन् भने ४१ देखि ६० वर्ष उमेर समूहका एक हजार ९२५ छन् । त्यसैगरी ६१ वर्षभन्दामाथिका ४२५ जना छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका निम्ति गत माघ ६ गते देशभर मनोनयन दर्ता गरिएको थियो । देशभरका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८४ जनाको उमेदवारी दर्ता भएको थियो । आयोगले शुक्रबार (माघ ९) उमेदवारी फिर्ताको समय तोकेको थियो । सो समयमा ७८ जनाले उमेदवारी फिर्ता लिएका छन् । आयोगले उमेदवारलाई निर्वाचन चिह्न प्रदानसमेत गरिसकेकाे छ । 

राैतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट । रौतहटको गौर गंगापिपरा सडक खण्डको राजदेवी नगरपालिका–१  पथरा स्कुल नजिक भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रौतहटको दुर्गाभगवती गाउँपालिका–२ का ३० वर्षीय अशोक महतो र रौतहट राजदेवि नगरपालिका–२ का २९ वर्षीय अरविन्द महतोको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार हिजाे शुक्रबार गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र.२–०३–०१८ प ३३४६ नं.को मोटरसाइकल र विपरित दिशातर्फ बाट जाँदै गरेको बि आर ३० ए एफ  २३७०  नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।  दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो।    दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।  

नेकपाप्रति देशभर लहर चलेको छ, जनताले पहिलो पार्टी बनाउन चाहेका छन्: माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा जनताले आफ्नो पार्टीलाई विजयी गराएर पहिलो पार्टी बनाउन चाहेको दाबी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “चुनावमा जनताले जिताउन चाहेका छन् नेपाली कम्युनिस्ट पार्टीलाई । मेचीदेखि महाकालीसम्म एउटा अभियान चलिरहेको छ, लहर चलिरहेको छ ।” नेपालले युवा पुस्ता (जेनजी) को चाहना र जनताको भावनाअनुसार काम गर्ने भएकाले नेकपाप्रति जनलहर चलेको जिकिर गर्नुभयो । उहाँले ओखलढुङ्गाले यो लहरको अगुवाइ गर्नुपर्ने बताउँदै यो जिल्लाले हिमाल, पहाड र तराई सबैलाई तरंगित पार्ने र कीर्तिमान कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

एमालेको विभेदकारी,अहंकारी र निरंकुश प्रवृत्तिविरुद्ध भएको विद्रोहलाई देशभर फैलाउनुपर्छ : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका ओखलढुङ्गा एमालेका जिल्ला अध्यक्ष जीवी खड्कासहित ३८ जना नेता–कार्यकर्तालाई स्वागत गर्दै नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले नेतृत्वमा देखिएको विभेदकारी, अहंकारी र निरंकुश प्रवृत्तिविरुद्ध भएको यो विद्रोहलाई देशभर फैलाउनुपर्ने बताउनुभएको छ ।   शुक्रबार काठमाडौंमा आयोजित स्वागत कार्यक्रममा प्रचण्डले भन्नुभयो, “यो असन्तुष्टि टिकटको मात्र होइन, नेतृत्वमा देखा परेको विभेदकारी र अहंकारी प्रवृत्ति हो । एमालेमा देखा परेको विभेदकारी अहंकार र निरंकुशताको विरुद्ध तपाईंहरूले विद्रोह गर्नुभयो । तपाईंहरूलाई धेरै–धेरै धन्यवाद । यसलाई देशभर फैलाउनुपर्ने जिम्मेवारी आएको छ ।” प्रचण्डले आफू र माधवकुमार नेपालले सुरुदेखि नै चुनावको वातावरण बनाउन प्रयास गरेको स्मरण गर्दै भन्नुभयो, “आज देश चुनावमय भएको छ । देशलाई फेरि अर्को खालको अनिश्चिततातर्फ जान नदिने जिम्मेवारी हामीले लिनुपर्छ ।” उहाँले बामपन्थी, कम्युनिस्ट र समाजवादीहरूको एकतामा जोड दिँदै भन्नुभयो, “प्रतिक्रियावादीको षड्यन्त्रलाई रोक्ने एक मात्र उपाय देशभक्तिपूर्ण, क्रान्तिकारी र समाजवादीहरूको एकता नै हो ।” प्रचण्डले ओखलढुङ्गाको यो घटनालाई महत्वपूर्ण सन्देशको रूपमा व्याख्या गर्दै भन्नुभयो, “बिहानले दिउँसो देखाउँछ भनेझैं एमालेमा रहेका सच्चा क्रान्तिकारीहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्न सक्छन् भन्ने सन्देश ओखलढुङ्गाले दिएको छ ।” उहाँले नयाँ पुस्ताका युवाहरूले पनि नेकपाको एजेन्डालाई नै बोक्ने पार्टी ठानेर ठाउँ–ठाउँमा प्रवेश गरिरहेको उल्लेख गर्दै लाखौं जनताको सहभागितासहित पार्टी अघि बढिरहेको बताउनुभयो ।

यी हुन् नेपाली कम्युनिष्ट पार्टी प्रवेश गर्ने ओखलढुङ्गा एमालेका अध्यक्षसहित ३८ नेता–कार्यकर्ता

काठमाडौं । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष जीवी खड्कासहित उपाध्यक्ष, सचिव र कुल ३८ जना नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले एमाले छाडेको घोषणा गरेका हुन् । सोही दिन उनीहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपालले उनीहरूलाई स्वागत गरेका छन् । एमालेले ओखलढुङ्गाबाट प्रतिनिधिसभा निर्वाचनमा अस्मिता थापालाई उम्मेदवार बनाएपछि उनीहरू असन्तुष्ट बनेका थिए । यसअघि अम्बिरबाबु गुरुङले पनि एमाले छाडेर नेकपाबाट उम्मेदवारी दर्ता गराएका थिए । यो घटनाले ओखलढुङ्गाको चुनावी मैदानमा नेकपाको स्थिति थप बलियो भएको छ ।

सल्यानमा आजपाका उम्मेदवारको उम्मेदवारी फिर्ता, नेकपा उम्मेदवार रमेश मल्ललाई समर्थन

सल्यान । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानबाट उम्मेदवारी दिएका आम जनता पार्टीका उम्मेदवार मानसिंह कामीले उम्मेदवारी फिर्ता लिएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रमेशकुमार मल्ललाई समर्थन गरेका छन् । उम्मेदवारी फिर्तासँगै मल्ल र कामीबीच ३ बुँदे सहमति भएको छ । सहमति पत्रमा राजनीतिक स्थायित्व र आर्थिक क्रान्तिका लागि भ्रष्टाचार तथा वित्तीय शोषणको अन्त्य गर्न प्रतिबद्ध रहने, लघुवित्त पीडितहरूका माग सम्बोधन गर्न पहल गर्ने लगायतका बुँदाहरू समावेश छन् । यो समर्थनले सल्यानको चुनावी मैदानमा नेकपा उम्मेदवार मल्लको स्थिति बलियो भएको छ ।

एमाले ओखलढुंगाको अध्यक्षसहित सिंगो कार्यसमिति नेपाली कम्युनिष्ट पार्टीमा समाहित

काठमाडौं । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्षसहित सिंगो जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।  शुक्रबार दिउँसो नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा आयोजित विशेष कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपालले उनीहरूलाई स्वागत गर्दै पार्टीमा भित्र्याएका छन् ।  एमालेका जिल्ला अध्यक्ष जीबी खड्कासहित उपाध्यक्ष, सचिव लगायतका नेताहरू नेकपामा प्रवेश गरे । यसअघि पनि ओखलढुङ्गाबाट एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ नेकपामा प्रवेश गरिसकेका छन् । यो प्रवेशले ओखलढुङ्गाको चुनावी राजनीतिमा नयाँ तरंग ल्याएको विश्लेषण गरिएको छ । नेकपाले ओखलढुङ्गाबाट अम्बिरबाबु गुरुङलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ भने एमालेले अन्य नेतालाई अघि सारेको छ ।

कालीकोटमा जीवन बुढाको उम्मेदवारी फिर्ता, नेपाली कम्युनिष्ट पार्टीका शाहीलाई सहयोग गर्ने

कालीकोट । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालीकोट निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका जीवन बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्र बहादुर शाहीलाई पूर्ण समर्थन तथा सहयोग गर्ने घोषणा गरेका छन् । बुढाले कम्युनिस्ट आन्दोलनको एकता र जिल्लाको विकासका लागि यो निर्णय लिएको बताएका छन् । उनले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी फिर्ताको निवेदन पेस गरिसकेका छन् । महेन्द्रबहादुर शाही कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपाका प्रभावशाली नेता हुन् ।