गण्डकीको मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिट सर्वोच्च अदालतमा न्यायाधीश सपना मल्ल प्रधान र शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।

सभामुखको समेत समर्थन लिएर एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएको र यो संविधान विपरीत हुने भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले २९ चैतमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले खगराज नेतृत्वको सरकारलाई दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि यो मुद्दामा विपक्षीहरुसँग ७ वैशाखभित्र लिखित जवाफ माग्दै सर्वोच्चले १० वैशाखदेखि नियमित सुनुवाइ गर्ने आदेश दिएको थियो ।

सोही अनुसार सोमबारदेखि यो मुद्दामा सुनुवाइ सुरु भएको हो ।

चैत २५ गते एमाले संसदीय दलका नेता अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गर्दा आफ्नो दल र माओवादी संसदीय दलको नेताको समर्थन पेश गरेका थिए । माओवादी संसदीय दलमा हाल सभामुख रहेका धितालको समेत गणना गरिएको र यो संविधान विपरीत हुने कांग्रेसको दावी छ ।

शिक्षक महासंघको महाधिवेशन आज सुरु हुँदै

काठमाडौं। नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आज सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासंघको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले भने भाग नलिने घोषणा गरेको छ । महासंघको विधानविपरीत एक पक्षीय ढंगले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै संगठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो । महासंघको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले आरोप लगाए । महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने विभिन्न चरणमा वार्ता र संवाद गर्दा पनि संगठन आफूसमेत सहभागी बैठकका निर्णयबाट पछि हटेको जिकिर गरे ।

सम्पर्कविहिन १६ प्रहरीबारे आयो यस्तो सूचना

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्क विहीन भएका १६ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन सूचित गरेको छ।  सोमबार सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर रहेका प्रहरी नायव निरीक्षक, हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म १६ जनालाई सम्पर्कमा आउन भएको हो।  सूचनामा आफूखुसी गैर हाजिरीमा रहनुको स्पष्ट र सन्तोषजनक स्पष्टीकरणसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन भनिएको छ। अन्यथा सेवाबाट हटाएर कारवाही गरिने चेतावनी समेत प्रहरी प्रधान कार्यालयले दिएको छ। 

नेपाल पौडी संघको अध्यक्षमा जगतमान श्रेष्ठ, उपाध्यक्षमा गंगालाल सिंगार निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल पौडी संघको ५औँ राष्ट्रिय अधिवेशनबाट जगतमान श्रेष्ठको प्यानल विजयी भएको छ । शनिबार भएको अधिवेशबाट पौडीले नयाँ कार्यसमिति पाएको हो । यो सँगै पौडीमा अशोकरत्न बज्राचार्यको कार्यसमितिको ४२ वर्षदेखिको विरासत तोडिएको छ । नयाँ कार्यसमितिमा अध्यक्षमा श्रेष्ठ निर्विरोध हुँदा वरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई, तीन उपाध्यक्षमा गंगालाल सिंगार,जुनाकुमारी कठायत र चित्रराज भट्ट निर्वाचित भएका हुन् । महासचिवमा ईश्वर कार्की, सचिवमा क्रमशः रञ्जन भट्टराई र गंगालाल गोले, कोषाध्यक्षमा दिलीप वैद्य, सहकोषाध्यक्षमा योगेन्द्रमान श्रेष्ठ रहे । सदस्यता दीपकसागर सिंह, विकास शर्मा, कुमार गिरी, उमेश प्रधान, डम्बरबहादुर तामाङ, भरत तामाङ, बिष्णुप्रसाद न्यौपाने, पञ्चा सिंह, टेकबहादुर थापा, जनक थापा, रूपेशमान सिंह, हरेन्द्र यादव, अनिश महर्जन तथा शिरीष गुरुङ रहेका छन् ।

प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

काठमाडौँ । नेसनल सेन्ट्रल ब्युरो (एनसीबी)काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् । उनी इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् । हेड अफ एनसिबी कन्फरेन्समा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुनेछ। साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिका विषयहरूमा छलफलको लागि मित्रराष्ट्रहरू भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम समेत रहेको छ।  हरेक वर्ष हुने हेड अफ एनसिबी कन्फरेन्स यस वर्ष वैशाख ११ देखि १३ गते सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ। कन्फरेन्समा प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह समेत सहभागी हुनेछन्। प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।

सेनाका तालिमरत अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.१२ हायर कमाण्ड तथा म्यानेजमेन्टका तालिमरत ३५ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको आइतबार अवलोकन भ्रमण सम्पन्न भएको छ।अवलोकन भ्रमणमा सहभागीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले स्वागत गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराए।  सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्राहलय समेतको अवलोकन गरे। अवलोकन पश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै नेपाली सेनासँग नेपाल प्रहरीको आत्मीय सम्बन्ध रहेको उल्लेख गरे। विभिन्न कालखण्डमा नेपाल प्रहरीले नेपाली सेनासँग सहकार्य गर्दै आएको चर्चा गर्दै उनले समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवम् आउँदा दिनमा समेत अझ प्रभावकारी ढंगले यसको निरन्तरता हुने बताए। सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र नेपाली सेनाका सहायक रथी दिपेश जंग शाहले कृतज्ञताको चिनो आदान प्रदान गरे। कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय र सहकार्यको क्षेत्र, प्रदेश समायोजनाका समस्या लगायतका विषयमा प्रस्तुतीकरण गरेका।  साथै उनले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरूपण समेत गरेका थिए। उक्त कार्यक्रममा महासेनानी सूर्य बहादुर थापाले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गरे।  तालिमरत अधिकृतहरूमा ३ जना महिला र ३२ जना पुरूषको साथै ६ जना प्रशिक्षक अधिकृतहरूको सहभागिताको रहेको थियो ।

क्रिकेटर लामिछानेको पुनरावेदनमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । यसअघि वैशाख ३ गते न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो। साथै, जन्ममिति सम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश समेत गरेको थियो । उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको वडा नम्बर २ ले विवरण पठाइसकेको छ।जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामिछाने पुनरावेदनका लागि उच्च अदालत गएका थिए। लामिछानेले नेपाल सरकारलाई विपक्षी बनाई गत फागुन १० गते उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन्।जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको छ।सो आदेश बदर गर्न लामिछानेले माग गरेका छन् ।

यस्तो हुनेछ आजको मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कोशी र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।मधेस प्रदेशको तराई भूभागका केही स्थानका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ। आज राती भने कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ । मधेस र कोशी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

ललितपुरमा इनारभित्र खसेका व्यक्तिको उद्दार

काठमाडौं । ललितपुरमा इनारभित्र खसेका व्यक्तिको प्रहरीले सकुशल उद्दार गरेको छ । उद्दार गरिएका व्यक्ति सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ घर भएका ४१ वर्षीय बुघ लामा तामाङ छन् । शनिबारराति सवा १ बजेतिर ललितपुर महानगरपालिका–५ को सडक छेउमा रहेको सार्वजनिक इनारभित्र  पुरुष खसेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय लखनखेल र प्रहरी वृत्त सातदोबाटोको टोली उद्दारमा खटिएको थियो । करिब ३० फिट गहिरो इनारमा खसेका तामाङलाई उद्दार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले बताए । उनलाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर पठाइएको उनले जानकारी दिए ।

रेशमको रिट आज पनि ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको वैधानिकता विवादमा परेको रिट आज पनि ‘हेर्न नभ्याईने’ सूचीमा परेको छ ।  पार्टीका नेता रेशम चौधरीले सर्वोच्च अदालतमा हालको रिटमाथि आज पनि सुनुवाइ हुन नसकेको हो । न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि  ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि रिटमा सुनुवाई हुन सेकन । निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्ष बनाउने गरी भएको टीकापुर महाधिवेशन अवैधानिक ठहर गरी नाउपाको नवगठित कार्यसमितिको लगत अद्यावधिक गर्न अस्वीकार गरेपछि रेशम चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। दलको सदस्य बन्नै अयोग्य रहेकाले उनी रहेको महाधिवेशन आयोजक समिति, उक्त आयोजक समितिले गराएको महाधिवेशन र महाधिवेशनबाट निर्वाचित कार्यसमिति अवैधानिक रहेको निर्वाचन आयोगको ठहर छ । आयोगको यस निर्णयपछि रञ्जिता श्रेष्ठ अध्यक्षको हैसियतमा पार्टी सञ्चालनका काममा फर्किएकी छन्। रञ्जिता पार्टीमा सक्रिय हुन थालेपछि रेशमले समानान्तर शक्ति अभ्यास गरिरहँदा विवाद बढेको छ । पतिपत्नी रहेका रेशम र रञ्जिताबीचको द्वन्द्वकै कारण सुदूरपश्चिम प्रदेश सरकार गठनको प्रक्रियासमेत जटिल बन्न पुगेको थियो । अहिले पनि सुदूरपश्चिममा नाउपाका सांसदहरू सत्ता र प्रतिपक्ष गरी दुईतिर छन्। संघीय व्यवस्थापिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने विषयमा पनि नाउपामा विवाद हुँदा एउटा बैठकमा कुटाकुटसमेत भएको थियो । तर, विश्वासको मत दिँदा सबै सांसदहरूले प्रधानमन्त्री प्रचण्डको समर्थनमा उभिएका थिए । रञ्जिताको अध्यक्षतामा नाउपा गठन भई सञ्चालन हुँदा रेशम टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका थिए।  रेशम राष्ट्रपतिबाट कैद मिनाहा पाएर रिहा भएपछि दलका गतिविधिमा हात हालेका हुन् । निर्वाचन आयोगले पुरानै कार्यसमिति ब्युँताइदिएपछि गत चैत २३ गते रेशमले दायर गरेको रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो ।

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले पार्टीको जिम्मेवारी त्यागिन

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । आइतबार विज्ञप्ति जारी गर्दै घिमिरेले आफू पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्न पार्टीको जिम्मेवारीबाट अलग भएको बताएकी हुन् । घिमिरेले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानून र राष्ट्रिय सभा नियमावलीले निर्देशित काम तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । २८ चैत्रमा घिमिरे नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । आइतबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरूसँग भेटघाट गर्दै उपाध्यक्ष घिमिरेले महिला सांसदहरूले बोलेको कुरामा विभिन्न टिकाटिप्पणी र हतोत्साहित गर्न नहुने बताइन् । उनले महिला सांसदहरूको क्षमतामाथि समेत प्रश्न उठाइने गरेको भन्दै त्यसो गर्नु नहुने धारणा राखिन् । घिमिरेले भनिन्, ‘व्यक्तिको बोल्ने तरिका फरक–फरक हुन्छ । कतिपय महिला सांसदहरूले बोलेको कुरालाई भावमा बुझ्न म आग्रह गर्छु ।’

भुटानी शरणार्थी प्रकरणको मुद्दामा सर्वोच्चमा सुनुवाइ जारी

काठमाडौँ ।भुटानी शरणार्थी प्रकरणको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। निलम्बित सचिव टेकनारायण पाण्डे सहितका प्रतिवादीहरुको निवेदनमाथि न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको हो। पाण्डेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट पनि दर्ता गराएका छन् । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सभाषद् आङटावा शेर्पा, डा.इन्द्रजित राई, शमशेर मियाँ, केशव दुलाल र सानु भण्डारी सहितका १० जनाले उच्चको आदेशविरुद्ध सर्वोच्चमा अपिल गरेका हुन्। 

६० जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५१ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउनुपर्ने बताए ।  आर्थिक प्रलोभनमा नपरी अनुशासित एवम् मर्यादित भई तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप प्रयोग गर्न प्रशिक्षार्थीहरुलाई उनले निर्देशन दिए ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर थापाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन १० गतेदेखि संचालित तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १० जना र प्रहरी जवान ४८ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिए ।

सुनको मूल्य उच्च विन्दुमै स्थिर,  चाँदीको २० रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उच्च विन्दुमा पुगेर स्थिर भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ३९ हजार ३ सय र तेजाबी सुन १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ।  यो मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको अघिल्लो कारोबार मूल्य बराबर हो । आइतबार चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले बढेको छ।  शुक्रबार १ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको सेतो धातु आइतबार उक्त दरले बढेर १ हजार ७ सय ४० रुपैयाँ पुगेको हो।  अन्तर्राष्ट्रिय बजारमा चाँदी २८.६७ र सुन २ हजार ३ सय ९०.८६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले बताएका छन् । 

गुल्मीमा आगलागी हुँदा २८ घरगोठ जले

गुल्मी । गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा क्षति भएको छ।   इस्मा गाउँपालिका–१ की वसुन्धरा कुँवरको घरगोठ पूर्ण रूपमा जलेको छ। स्थानीय रमेश थापाको घरगोठ, होमबहादुर मल्लको गोठ, लीलाबहादुर थापाको घरगोठ, टीकाबहादुर रायमाझीको घरगोठ एवं रामबहादुर थापाको घरगोठ जलेका हुन्। त्यसैगरी चन्द्रबहादुर कुँवरको घरसहित कुटानी–पिसानी  मिल, किराना पसल र गोठ, गोपालबहादुर थापाको किराना पसल, धर्मराज थापाको घरगोठ र मिल तथा इन्द्रबहादुर थापाको किराना पसल र तीनवटा गोठ नष्ट भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शङ्करप्रसाद पोख्रेलले जानकारी दिए। शनिबार दिउँसोदेखि इस्मा गाउँपालिका–२ स्थित सिन्दुखाको रानी सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलिएको थियो।  त्यसबाट हस्तीचौरका १५ जनाको घरगोठ जल्नुका साथै दर्जनौँ पशुचौपायको मरेका प्रहरीले जनाएको छ । इस्मा गाउँपालिका–४ को हुल र कोटकोटेरीमा लागेको आगोले टोकली बस्नेतको गोठ, सूर्यबहादुर र गुञ्जबहादुरको गोठ जलेको प्रहरी प्रवक्ता पोख्रेलले बताए। इस्मा गाउँपालिका– १ मा लागेको आगोका कारण ट्रयाक्टरचालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन्।  उनीहरूको हातखुट्टा र अनुहार जलेको छ । घाइतेको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । डढेलोका कारण लु४त ६५३५ नम्बरको ट्रयाक्टर जलेको छ। शुक्रबार नजिकैको वनबाट फैलिएको डढेलोले गुल्मीदरबार गाउँपालिका–४ वीरवासको विद्युत् सबस्टेसन जलेको छ।  सबस्टेशनलाई पूर्ण रूपमा क्षति हुनबाट रेसुङ्गा नगरपालिकाको दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले बचाएका छन् । आगोबाट  रु दुई करोड बराबरको क्षति भएको छ।  नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार कन्डक्टर, केवललगायत सामग्री जलेकाले रु दुई करोडको क्षति भएको अनुमान गरिएको छ। डढेलोले धेरै क्षति भएको इस्माका तीन स्थानमा राहतका काम सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

एमाले परिषद् बैठकमा नेता भीम रावललाई ‘नो इन्ट्री !’

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा देशभरका प्रतिनिधि जम्मा हुँदा नेता भीम रावल भने सहभागी छैनन् ।  गोदावरीको सनराईज हलमा जारी बैठकमा एमालेका महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरू,केन्द्रीय निकायमा मनोनयन गरेका परिषद् सदस्य तथा केन्द्रीय पदाधिकारी गरी २ हजार ५४५ जना सहभागी हुँदा नेता रावल भने परिचयपत्रको अभावमा घरमै बसेका छन् ।  गत २०७८ मङ्सिरमा भएको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली विरुद्व अध्यक्षमा उम्मेदवारी दिएका रावललाई कार्यक्रमबारे पार्टी कमिटीले कुनै औपचारिक जानकारी समेत दिएन ।  स्रोतका अनुसार पार्टी र नेतृत्वबारे सकारात्मक नबनेको भन्दै रावललाई परिषद बैठकमा सहभागीताका लागि आग्रह नगरिएको हो ।  रावलले गोदावरी बैठकमा प्रबेशका लागि व्यवस्था गरिएको परिचय पत्र (पास) बारे सोधखोज गर्दा आफ्नो परिचयपत्र नै नबनेको थाहा पाएपछि घरमै बसेका छन् । ‘गेटमा गएर अनुनय विनय गर्न मन लागेन’, रावलले भने । परिषद् बैठकको पहिलो दिन हिजो अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गरेका छन् । प्रतिबेदनहरुमाथि आज समूहगत छलफल जारी छ ।