चितवन क्षेत्र नम्बर ३ मा रेनु दाहालले गरिन उम्मेदवारी दर्ता
चितवन । नेकपाबाट चितवन क्षेत्र नम्बर ३ मा रेनु दाहालले उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएकी हुन् । भरतपुर महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर उनी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भएकी हुन् ।
रेनुले भरतपुर महानगरमा दुई कार्यकाल नेतृत्व गरेकी थिइन् । यसअघि दोस्रो संविधानसभामा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी उनी पराजित भएकी थिइन् ।
पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा यज्ञजित शाहले एमाले परित्याग गरे
बुटवल । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा यज्ञजित शाहले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन्। उमेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले पार्टीबाट राजीनामा दिएको बताएका हुन् । रुपन्देही–३ मा वासुदेव घिमिरेलाई उमेदवार बनाइएपछि शाह असन्तुष्ट बनेका थिए। यसअघि सम्पन्न उपनिर्वाचनमा पनि उनी उमेदवारीका आकांक्षी थिए। कांग्रेस र मधेसवादी दल हुँदै नौ वर्षअघि केपी शर्मा ओली र विष्णु पौडेलसँग भेट गरी उनी एमाले प्रवेश गरेका थिए । राजीनामापत्रमा उनले पार्टीबाट आफूलाई कुनै अवसर नदिइएको उल्लेख गरेका छन्। उपनिर्वाचनमा अन्य पार्टीहरूले आकांक्षीमध्येबाटै उमेदवार चयन गर्दा आफू भने पटक–पटक उपेक्षित भएको भन्दै पार्टीमा बस्नुको औचित्य नरहेको उनको भनाइ छ । शाहले पार्टीभित्र अवसरवादी प्रवृत्ति हाबी भएकाले एमालेमा बसिरहन नसकिएको पनि बताएका छन्। २०३८ सालदेखि रुपन्देहीमा बस्दै आएका शाह २०४३ सालदेखि विभिन्न निर्वाचनमा उमेदवार बन्दै आएका छन्। कांग्रेसबाट पटक–पटक पराजित भएका उनी एकपटक भने मधेसवादी दलबाट निर्वाचित भएका थिए ।
आज उम्मेदवारी दर्ता : मनोनयनका लागि के–के कागजात चाहिन्छ ?
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। सम्बन्धित जिल्ला तथा निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयले तोकेको स्थानमा आज मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। मनोनयनका लागि उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। साथै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक पर्ने आयोगले स्पष्ट पारेको छ। आयोगले अन्य आवश्यक सरकारी कागजातसमेत साथमा ल्याउन आग्रह गरेको छ। राजनीतिक दलको तर्फबाट उम्मेदवारी दिएको भए, उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकारप्राप्त दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिको पदाधिकारीले जारी गरेको प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोनयनको औपचारिक पत्र अनिवार्य हुनेछ। एकल चुनाव चिह्न लिएर संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा भने प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र पनि पेस गर्नुपर्नेछ। प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारले रु १० हजार धरौटी रकम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरेको रसिद वा भौचर पनि बुझाउनुपर्नेछ। महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक रूपमा विपन्न उम्मेदवारको हकमा उक्त धरौटी रकममा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। आर्थिक रूपमा विपन्न उम्मेदवारले सम्बन्धित स्थानीय तहबाट आर्थिक विपन्न भएको सिफारिस पत्र पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ। साथै, उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको स्वघोषणा पत्र पनि बुझाउनुपर्नेछ। उम्मेदवारले आफ्नो चल तथा अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेका खाता, धितोपत्र, सेयर, ऋणपत्र, कसैलाई दिएको वा लिएको ऋणसम्बन्धी सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा सम्पत्ति विवरण पेस गर्नुपर्नेछ। वैयक्तिक विवरण फाराम पनि भर्नुपर्ने व्यवस्था छ। यसैगरी, उम्मेदवारले निर्वाचित, मनोनीत वा नियुक्त भएको कुनै निकायबाट कुनै प्रकारको पेस्की लिएको भए सो पेस्की फछ्र्योट गरेको निस्सा उपलब्ध गराउनुपर्नेछ। लेखा परीक्षणबाट उम्मेदवारको नाममा किटानीसाथ असुल उपर गर्नुपर्ने बेरुजु कायम भएको भए त्यसको फछ्र्योटको निस्सा पनि अनिवार्य गरिएको छ। उम्मेदवारी मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएको छ। निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ता प्रक्रिया सञ्चालन गरिरहेको जनाएको छ।
सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षारोपण गरिने
सोलुखुम्बु । विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वर्ल्ड पिस फोरमले यहाँस्थित पत्तालेमा ‘सगरमाथा–लुम्बिनी जलवायु पहल–२०२६’ को शुभारम्भ गरेको छ । नेचासल्यान गाउँपालिकासँगको सहकार्यमा आइतबार सो कार्यक्रम औपचारिक शुभारम्भ गरिएको संस्थाका अध्यक्ष वासु गौतमले जानकारी दिए । उनका अनुसार यस पहलअन्तर्गत सन् २०२७ भित्रमा आठ हजार ८४८ बोट फलफूलको बिरुवा जिल्लाको विभिन्न भागमा रोपिने छ । वातावरणीय सरसफाइ, वृक्षारोपण तथा जलवायु परिवर्तनसम्बन्धी सामुदायिक सचेतना कार्यक्रम समेटिएको एक वर्षे जलवायु कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ । कार्यक्रम नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईको अध्यक्षतामा सम्पन्न भएको थियो । लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक तथा अध्यक्ष वासु गौतमले सन् २०१९ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको दश लाख बिरुवा वृक्षारोपण तथा संरक्षण पहलमार्फत वातावरण संरक्षण र जलवायु सन्तुलनका लागि दीर्घकालीन दृष्टिकोणका साथ काम गर्दै आएको उल्लेख गरे । फोरमका अनुसार सन् २०१९ यता देशभर दुई लाखभन्दा बढी फलफूलका बिरुवा रोपण भइसकेको छ । संस्थाले सन् २०३० सम्म १० लाख बिरुवा रोपण तथा संरक्षण गर्ने लक्ष्य लिएको जनाएको छ । जसले संयुक्त राष्ट्रसङ्घीय सत विकास लक्ष्य हासिल गर्ने राष्ट्रिय प्रयासलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ । यसै पहलअन्तर्गत आगामी फेब्रुअरी २ मा विश्व सिमसार दिवसको अवसर पारेर लुम्बिनीमा पनि समान प्रकृतिको वृक्षारोपण तथा वातावरणीय सचेतना कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण
मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ । हिमाली जिल्ला मनाङमा मतदाता थपिएका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन् । विसं २०७९ मङ्सिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६ हजार ७७९ मतदाता रहेकामा अहिले बढ्को प्रमुख निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए । उनका अनुसार आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा २२१ मतदाता बढेको छ । महिला तीन हजार ६२३ र पुरुष तीन हजार ३७७ मतदाताले २९ मतदान केन्द्रमा मतदान गर्ने प्रमुख कुँवरले बताए । उनले भने, “सुरक्षा र मतदातालाई सहज बनाउने उद्देश्यले कारागारमा एउटा मतदान केन्द्र थप भएको छ ।” नासोँ गाउँपालिकामा नौ, चामेमा एक अस्थायीसमेत गरी ६, नार्पाभूमिमा पाँच र मनाङ ङिस्याङमा नौ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ । भौगोलिक दृष्टिले मनाङमा निर्वाचन जोखिमपूर्ण रहेको छ । यस समयमा पनि हिमपात हुनसक्ने र विकटतालाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनको कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका संयोजक नवराज पौड्यालले जानकारी दिए। “सडकसमेत नपुगेको र भौगोलिक विकटता रहेको नार्पाभूमिमा जोखिम रहेको छ । निर्वाचनको तयारी भने भइरहेको छ”, उनले भने । भौगोलिक रूपमा विकट, मौसमका हिसाबले संवेदनशील र पूर्वाधारको दृष्टिले चुनौतीपूर्ण मानिने यस जिल्लामा निर्वाचन सम्पन्न गर्नु आफैँमा एउटा ठूलो व्यवस्थापकीय काम हो । त्यसैले निर्वाचन आयोग, जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच आवश्यक समन्वय गर्दै निर्वाचनको तयारीलाई प्राथमिकतामा राखिएको छ ।
नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए
नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएको जानकारी दिए । “गत वर्षको पक्षी गणनामा ४१ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका पक्षी भेटिएका छन्”, उनले भने, “गत वर्षकोभन्दा यस वर्ष चराको सङ्ख्या र प्रजाति वृद्धि भएको छ ।” चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको नारायणी नदी र आसपासको सिमसार क्षेत्रमा गत वर्षभन्दा बढी चरा फेला परेका छन् । नारायणी नदी र आसपासका क्षेत्रमा विज्ञ समूहले गरेको चरा गणनाको एकीकृत तथ्याङ्कअनुसार यस वर्ष नारायणी क्षेत्रमा ४२ प्रजातिका १२ हजार ८८७ चरा भेटिएको संयोजक चौधरीले जानकारी दिए । “सन् २०२४ मा ४१ प्रजातिका नौ हजार ५४८ र सन् २०२४ मा ४१ प्रजातिका १० हजार २५७ चरा गणना गरिएको थियो”, उनले भने, “यस वर्ष विगत केही वर्षको तुलनामा थप एक प्रजातिको चरा भेटिएको छ भने सङ्ख्या धेरै देखिएको छ ।” नेपालमा ९०३ प्रजातिका पक्षी सुचीकृत भएका छन् । तीमध्ये जल क्षेत्रमा १६२ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नारायणी नदी क्षेत्रमा यस वर्ष उक्त प्रजाति फेला परेका संयोजक चौधरीले बताए । नवलपरासी (बर्दघाट सुस्तापूर्व) तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा पाँच समूह बनाएर चरा गणना गरिएको थियो । सिघ्रौलीबाट अमलटारी, सिघ्रौलीबाट पिठौली, पिठौलीबाट अमलटारी र अमलटारीबाट त्रिवेणी गण्डक ब्यारेजसम्म गरी पाँच समूहमा चरा गणना गरिएको हो । गत वर्षको तुलनामा यस वर्ष चराको समग्र सङ्ख्या तीन हजार ३३९ ले बढेको प्रारम्भिक अनुमान गरिएको संयोजक चौधरीले जानकारी दिए । उनका अनुसार साइबेरियालगायत उत्तरी गोलार्द्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा बढी सङ्ख्यामा खोया हाँस देखिएका छन् ।
माैसम पूर्वानुमान: कस्ताे रहला माैसम ?
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ सम्पन्न
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार मतपत्र छपाइ भएको हो । निर्वाचन आयोगले उपलब्ध गराएको समानुपातिकतर्फको कूल दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्नेछ । केन्द्रले हालसम्म ५० प्रतिशत मतपत्रको छपाइ गरिसकेको छ । यस्तै, केन्द्रले आयोगलाई कूल १० लाख ९८ हजार २०० थान मतपत्र उपलब्ध गराइसकेको छ । केन्द्रले पछिल्लो २४ घण्टामा एक हजार ४३१ बाकस मतपत्रको प्याकिङसमेत सम्पन्न गरेको छ । कूल सात हजार ८४१ बाकस मतपत्र प्याकिङ भइसकेको र १२ हजार ९८९ बाकस भने बाँकी छ । प्रत्यक्षतर्फको मतपत्र भने उम्मेदवारको मनोनयन, दाबी विरोधको प्रक्रिया सम्पन्न भई अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिसकेपछि सुरु हुने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।
झलनाथ खनाल र वामदेव गौतमले फागुन २१ को चुनाव नलड्ने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेताद्वय झलनाथ खनाल र वामदेव गौतमले आगामी फागुन २१ को प्रतिनिधिसभा चुनाव नलड्ने भएका छन् । पूर्वप्रधानमन्त्री खनालले इलाम–१ बाट लड्दै आएको क्षेत्र युवाहरूलाई छाडेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले इलाममा युवाहरूलाई छाडेँ । अन्यत्र पनि उम्मेदवार नलड्ने संयोजकलाई भनिसकेको छु । उमेर र कतिपय अरू कारणले म यसपटक उम्मेदवार नबन्ने भएँ ।’ खनाल २०४८ सालदेखि इलाम–१ बाट निरन्तर उम्मेदवार बन्दै आउनुभएको थियो । उहाँ २०५६ र २०७९ मा पराजित हुनुभएको थियो तर त्यसयता निरन्तर विजयी हुँदै आउनुभएको थियो । नेकपाले इलाम–१ मा रणबहादुर राई र इलाम–२ मा ओमबहादुर गुरुङलाई उम्मेदवार बनाउने भएको छ । यस्तै, नेता वामदेव गौतम पनि उम्मेदवार नबन्ने भएका छन् । उहाँ यसअघि बर्दिया र प्यूठानबाट चुनाव लड्ने गर्नुहुन्थ्यो । नेकपाले बर्दिया–१ मा विष्णुप्रसाद थारू, बर्दिया–२ मा सुरेश पन्त र प्यूठानमा कृष्णध्वज खड्कालाई उम्मेदवार बनाएको छ ।
नेकपाले बारा–४ बाट बास्केटबलका अन्तर्राष्ट्रिय खेलाडी अजय कुशवाहालाई उम्मेदवार बनायो
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बारा क्षेत्र नम्बर ४ बाट अन्तर्राष्ट्रिय बास्केटबल खेलाडी तथा युवा नेता अजय कुशवाहालाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनाएको छ । अजय कुशवाहा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बास्केटबल खेल्दै आएका चर्चित खेलाडी हुन् । नेकपाले उनलाई बारा जिल्लाको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको लागि टिकट दिएको हो । यसअघि खेल क्षेत्रमा सक्रिय कुशवाहा पछिल्लो समय राजनीतिमा पनि सक्रिय थिए । पार्टीले युवा पुस्तालाई प्राथमिकता दिँदै उनलाई उम्मेदवार बनाएको जनाइएको छ ।
यी हुन् नेपाली कम्युनिष्ट पार्टीका प्रत्यक्ष तर्फका उम्मेदवार (सूचीसहित)
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा निर्वाचन अन्तरगत सबैजसो निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । एक दुईबाहेक केन्द्रीय कार्यालयमा बाँकी उम्मेदवार टुंगो लगाइएको नेकपाका नेताहरुले बताएका छन् । एक दुई ठाउँको पनि वितरण मात्र बाँकी रहेको नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय स्रोतले एभरेष्ट दैनिकलाई जानकारी दिएको छ ।
नेकपाले सल्यानमा युवा नेता रमेश मल्ललाई टिकट दियो
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सल्यान क्षेत्रबाट युवा नेता रमेश मल्ललाई उम्मेदवारी टिकट दिएको छ । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष मल्ल पहिलोपटक चुनाव लड्न लागेका हुन् । यसअघि सोही क्षेत्रबाट निर्वाचित प्रकाश ज्वालाले दाबी छोडेपछि मल्लले टिकट पाएका हुन् । जिल्लाबाट मल्लसहित पूर्वमन्त्री प्रकाश ज्वाला र टेकबहादुर बस्नेतको नाम सिफारिस भएको थियो तर पार्टीले दुई पूर्वमन्त्रीलाई छोडेर मल्ललाई छनोट गरेको हो । २०७९ को निर्वाचनमा गठबन्धनबाट ज्वाला विजयी भएका थिए । उनी अहिले पनि नेकपाकै नेता छन् । मल्ल यसअघि पार्टी संयोजक प्रचण्डको स्वकीय सचिव भएर काम गरेका थिए । नेकपाले अन्य क्षेत्रमा उम्मेदवार टुंगो लगाइसकेको भए पनि सल्यानलगायत केही क्षेत्रमा ढिलो निर्णय गरेको थियो ।
चुनाव सामान्य लिनुपर्छ, कार्यसम्पादनको हिसाबले जनताले मूल्यांकन गर्छन् : रेनु दाहाल
काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारी गरेकी छिन् । उनी सामान्य चुनावमा आफू नडराउने बताएकी छिन् । सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मेयर दाहालले भन्नुभयो, ‘कसै न कसैसँग त भिड्नैपर्छ । हिजो पनि काठमाडौं–१ मा हेभिवेट प्रकाशमान सिंहसँग भिडेरै आएको हो । पराजित भएँ तर भिड्नसँग डराउँदिन । सामान्य चुनावमा डराउने कुरा होइन ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोही क्षेत्रबाट नेतृ सोबिता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको चर्चा चलिरहेका बेला दाहालले भन्नुभयो, ‘सोबिता कि रेणु भन्ने कुराहरू आइरहेका छन् । यहाँका दुई नारीलाई यसरी भिडाउन नहुने भन्ने कुरा पनि आएका छन् । सबै जना तरंगित भएजस्तो देखिन्छ तर म चाहिँ कत्ति पनि तरंगित छैन । कार्यसम्पादन र कर्मको हिसाबले जनताले मूल्यांकन गर्ने हो ।’
विप्लव नेतृत्वको माओवादीका शीर्ष नेताहरु चुनाव नलड्ने
काठमाडौँ । नेकपा (माओवादी) का शीर्ष नेताहरूले आगामी चुनाव नलड्ने निर्णय गरेका छन् । सोमबार बिहान बसेको स्थायी कमिटीको भर्चुअल बैठकले शीर्ष नेताहरू चुनाव नलड्ने निर्णय गरेको एक नेताले बताउ । ती नेताका अनुसार एक सिट पनि सहज तरिकाले जित्ने आधार नभएपछि चुनाव नउठ्ने मनस्थितिमा पार्टी पुगेको हो । अब सचिवालयबाहेकका नेताहरु चुनाव लड्ने भएका छन् । रोल्पामा एमालेले साथ नदिएपछि पार्टी महासचिव विप्लव पनि चुनाव नउठ्ने भएका छन् ।
सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलामा २ लाख ८२ हजार पुग्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ पुगेको छ । महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ७७० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा २ लाख ७७ हजार ८०० रुपैयाँ थियो । एकै दिनमा सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले बढेको महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँ पुगेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ९८१ रुपैयाँ तोकिएको छ । आइतबार चाँदी तोलामा ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, डलरको उतारचढाव र लगानीकर्ताको बढ्दो आकर्षणका कारण नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको महासंघको भनाइ छ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड आज रुकुम पूर्व जाने, स्वागतको भव्य तयारी
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड आज साँझ रुकुम पूर्व प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन दर्ता गर्न रुकुम पूर्व जाँदै हुनुहुन्छ । नेकपा रुकुम पूर्वका इन्चार्ज तेजबहादुर वलीले बताउनुभयो, प्रचण्डको कार्यतालिका तय भइसकेको छ । उहाँले भन्नुभयो, ‘सोमबार उहाँ रुकुम पूर्व पुग्दै हुनुहुन्छ र मंगलबार तामझामका साथ उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ ।’ प्रचण्ड मंगलबार मनोनयन दर्ता गरेपछि बुधबार मात्र काठमाडौं फर्कदै हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘यसबीचमा उहाँ जिल्लाका नेता–कार्यकर्तासँग विशेष राजनीतिक छलफल तथा परामर्श पनि गर्दै हुनुहुन्छ ।’ यसअघि २०७९ को निर्वाचनमा गोरखा–२ बाट विजयी हुनुभएका प्रचण्ड यसपटक जनयुद्धको आधार इलाका मानिने रुकुम पूर्वबाट उम्मेदवारी दिँदै हुनुहुन्छ । पार्टीका अनुसार उहाँको स्वागतका लागि रुकुम पूर्वमा सबै तयारी पूरा भएको छ ।

