जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

झापा । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । 
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका ११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती किशोरीलाई सोही नगरपालिका ११ सालबारीस्थित होटलमा बुधबार जबजरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

राष्ट्रिय वाणिज्य बैंकले माग्यो सीईओ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)पदका लागि आवेदन माग गरेको छ। एक सार्वजनिक सूचना जारी गर्दै बैंकले खुला प्रतिस्पर्धात्मक माध्यमबाट सीईओ छनोट गर्न दरखास्त माग गरेको हो। इच्छुक, योग्यता पुगेका नागरिकले २१ दिनभित्र आवेदन दिन सक्नेछन्। व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, लेखा, गणित, प्रशासन तथा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका, सम्बद्ध क्षेत्रमा १० वर्षको कार्यानुभव भएको, राष्ट्र बैंकले तोकेका मापदण्ड पूरा गरेका व्यक्तिले आवेदन दिन सक्ने बैंकले जनाएको छ। राजनीतिक दलको सदस्य नभएको, बैंकसँग ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी कारोबारमा संलग्न भएको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणजस्ता अभियोगमा कसुरदार नरहेका, कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेकाजस्ता शर्तहरु पालना हुनुपर्नेछ। इच्छुक आवेदकले दरखास्तका साथ व्यावसायिक कार्यायोजना समेत पेश गर्नुपर्नेछ। बैंकको वेबसाइटमा फारम उपलब्ध रहेको बैंकले जनाएको छ।

पेस्तोल र गोलीसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।  काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका ५ नयाँबस्तीस्थित पहेंलो पुलबाट सेमी अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलको गोली ४ राउण्डसहित सोही नगरपालिका ६ नयाँवस्ती बस्ने काभ्रेपलान्चोक रोसी गाउँपालिका ५ घर भएका ३८ वर्षीय मिमसिंह लामालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत बौद्ध र प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले बा १८ च ८३६१ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा स्कारपियोमा सवार उनलाई उक्त पेस्तोल र गोलीसहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

लागूऔषधसहित ७ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ७ जना पक्राउ परेका छन् । प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।  झापाको मेचिनगर नगरपालिका ६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ८० मिलिग्रामसहित बुद्दशान्ती गाउँपालिका १ बस्ने २३ वर्षीय रत्न बहादुर राइलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।   यसैगरी झापाकै मेचिनगर नगरपालिका १३ चारआली ईलाम रोडस्थित हिमालयन क्याविन वाईट्स होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचिनगर नगरपालिका १२ बस्ने २२ वर्षीय नेत्र बहादुर राई र अर्जुनधारा नगरपालिका(१० बस्ने २२ वर्षीय बिशाल लिम्बु रहेका छन् । उक्त होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधरमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले होटलको क्याविनबाट दुवै जनालाई ५÷५ सय मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस्तै झापाकै मेचिनगर नगरपालिका ६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्रामसहित सोही नगरपालिका १० बस्ने २४ वर्षीय बिक्रम राजवंशीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  त्यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ ढलान रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ५० मिलिग्रामसहित मोरङ केराबारी गाउँपालिका(१० केराबारी बस्ने ३७ वर्षीय राजु मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटीएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को।३६ प ५९१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मगरलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यसैगरी बाँकेको कोहलपुर नगरपालिका १३ सिम्री बस्ने १९ वर्षीय सोम बहादुर नेपालीलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्रामसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस्तै, पर्साको वीरगंज महानगरपालिका १६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पर्दाथ १ ग्राम ५ सय मिलिग्रामसहित भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी बस्ने २४ वर्षीय हैदर अलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक अलीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सत्ता समीकरण परिवर्तन हुँदैनः झलनाथ खनाल

मोरङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने आवश्यकता महशुस भएर नै नयाँ समीकरण बनेको भन्दै यो परिवर्तन नहुने स्पष्ट पारे । उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नु सामान्य भन्दै भएको छलफलकै आधारमा सत्ता गठबन्धनमा कुनै समस्या नपर्ने बताए । उनले भने, “वामपन्थीहरुको एकताबाट मुलुकमा समृद्धिका लागि कम्युनिस्टबिच एकता जरुरी छ । यो आजको आवश्यकता पनि हो । यसमा कुनै दुईमत छैन ।” उनले कोशी प्रदेशलगायत अन्य प्रदेशमा नयाँ सरकार निर्माण सुरु भइसकेको समेत बताए ।  नेता खनालले पार्टीले कोशी प्रदेशमा मुख्यमन्त्री पदको माग नगरेको उल्लेख गरे ।   कोशी प्रदेश सरकारमा अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिनु केही राजनीतिक र संवैधानिक समस्या भएको उनले बताए । उनले यो सङ्क्रमणको समय भएकाले छिट्टै समाधान हुनेमा विश्वास व्यक्त गरे । उनले निर्वाचन प्रणालीमा परिमार्जन गर्नुपर्ने धारणा समेत राखे । 

इरानमा इजरायली आक्रमणको ओमानद्धारा निन्दा

तेहरान । मध्यपूर्वमा शान्ति स्थापनार्थ मध्यस्थता गरिरहेको ओमानले इरानमा भएको आक्रमणको निन्दा गरेको छ । ओमानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय इरानमा बारम्बार इजरायली सैन्य हमलाहरू को निन्दा गरेको बिबिसिले जनाएको छ । ओमानले मध्यपूर्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको र अवस्थालाई तनावपूर्ण नबनाउन प्रयास गरिरहेको छ। फ्रान्सले पनि मध्यपूर्वमा यस क्षेत्रमा तनाव कम गर्न आह्वान गरेको छ । फ्रान्सका उप विदेश मन्त्री जीन नोएल ब्यारोटले संयमता अपनाउनका लागि आह्वान गरेका छन् ।

सोमपालले लिए नेपालका लागि पहिलो विकेट

काठमाडौं । नेपालका सोमपाल कामीले युएईको पहिलो विकेट लिएका छन् । एसीसी प्रिमियर कप टी २० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा जवाफी व्याटिङ गरेको युएईको दोश्रो ओभरमा सोमपालले मोहम्मद वासिमलाई बोल्ड गरे । जितका लागि १२० रनको लक्ष्य पछ्याएको युएईले २ ओभर सकिदा एक विकेटको क्षतिमा १५ रन बनाएर खेलिरहेको छ । यसअघि कमजोर व्याटिङ प्रदर्शन गरेको नेपालले युएईलाई १२० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।  नेपालका आठ खेलाडीले दोहोरो अंक जोड्न नसकेको खेलमा २० ओभर खेल्दा नौ विकेट गुमाएर नेपालले ११९ रन बनाउन सक्यो ।   नेपालका लागि सन्दिप जोराले ५० रन बनाए भने गुल्सन झाले २० रन तथा करण केसीले १७ रनको योगदान गर्दा अन्य खेलाडीले विर्सनलायक प्रदर्शन गरे ।   

नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौं । कमजोर व्याटिङ प्रदर्शन गरेको नेपालले एसीसी प्रिमियर कप टी २० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।  नेपालका आठ खेलाडीले दोहोरो अंक जोड्न नसकेको खेलमा २० ओभर खेल्दा नौ विकेट गुमाएर नेपालले ११९ रन बनाउन सक्यो ।   नेपालका लागि सन्दिप जोराले ५० रन बनाए भने गुल्सन झाले २० रन तथा करण केसीले १७ रनको योगदान गर्दा अन्य खेलाडीले विर्सनलायक प्रदर्शन गरे । 

एमालेले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे बिशेष पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।  पत्रकार सम्मेलनमा शनिबारबाट सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी, सहभागी हुने पाहुना, कार्यक्रमको फरम्याट लगायतका विषयमा जानकारी दिने बताइएको छ ।  यस्तै, प्रदेश सरकार गठनका विषयमा पनि एमालेले पत्रकार सम्मेलनमा आफ्नो धारण राख्ने भएको छ ।

नेकपा एसले पार्टी सदस्यता परीक्षण गरी प्रमाणीकरण गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरूको सदस्यताका साथै प्रतिनिधिको संगठित सदस्यको सदस्यता परीक्षण गरी प्रमाणिकरण गर्ने भएको छ। पार्टी मातहतका कमिटीले प्रदान गरेको सदस्यता एवं नवीकरणका सबै प्रक्रियाको प्रमाणीकरण गर्न लागिएको महासचिव घनश्याम भुसालले जानकारी दिए। यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली विवरण केन्द्रमा पठाउन सबै कमिटी, विभाग, फाँटलाई निर्देशन दिएको उनको भनाई छ । भुषालले भने, ‘१५ गतेपछि प्रदान गरिएका र नवीकरण गरिएका सङ्गठित सदस्यलाई आसन्न १० औँ महाधिवेशनका लागि समावेश गरिने छैन ।’ पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको समय सीमा अगावै सिफारिस गरेका नामावलीलाई पार्टी केन्द्रीय सङ्गठन विभागले वैशाख ३० गतेसम्म प्रमाणीकरण गरी सम्बन्धित निकायमा विवरण पठाउने उनले जानकारी दिए। तल्लो तहबाट प्रमाणीकरणका आधारमा प्रतिनिधि चयन गरिने र त्यसो गर्दा सबै कमिटीले सम्बन्धित नेताहरूको संगठनमा गरेको योगदान तथा कार्यसम्पादनको मूल्यांनका आधारमा प्रतिनिधिको सिफारिस गर्ने उनले बताए । भुषालले पार्टीको महाधिवेशन समीकरणमा आएको परिवर्तन, आन्तरिक तयारीको कमी, आसन्न उपनिर्वाचनलगायत कारणले सरेको स्पष्ट पारे। जेठको दोस्रो साताका लागि तय भएको नेकपा समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने तय भएको छ।

यूएईको दबदबा रहेको खेलमा अर्धशतक बनाउँदै सन्दिप आउट

काठमाडौं । एसीसी इमर्जिङ कपको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) दबाब दिइरहेको खेलमा नेपालका सन्दिप जोराले अर्धशतक प्रहार गरेका छन् । खराब अवस्थामा रहेको नेपालका लागि सन्दिपले अर्धशतक हानेका हुन् । उनले ३९ बलमा चार चौका र दुई छक्का सामेल गरी अर्धशतक बनाए । त्यसलगत्तै उनी आउट भएका छन् । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालका लागि अन्य कुनै पनि खेलाडीले दोहोरो अंक बनाएका छैनन् ।  पहिलो पावर प्लेको समाप्तिमा दुई विकेट गुमाएको नेपाल त्यसपछि पनि लगातार दबाबमा परेको छ ।  नेपालले आसिफ सेखलाई आठ रनमा गुमाउँदा कुशल भुर्तेल गोल्डेन डकभए । जारी खेलको १४.४ ओभरमा नेपालले ६ विकेट गुमाएर ८० रन बनाएको छ । 

यूएईविरुद्ध ब्याटिङमा नेपालको खराब सुरुआत

काठमाडौं । एसीसी इमर्जिङ कपको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले पहिलो पावर प्लेको समाप्तिमा दुई विकेट गुमाएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले पहिलो ब्याटिङ पावर प्ले (६ ओभर)समाप्त हुँदा दुवै ओपनरलाई गुमाएको हो। नेपालले आसिफ सेखलाई आठ रनमा गुमाउँदा कुशल भुर्तेल गोल्डेन डकभए । जारी खेलको ६ ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर ३० रन बनाएको छ । हाल क्रिजमा रहेका कप्तान रोहितकुमार पौडेल चार र सन्दीप जोरा १६ रनमा खेलिरहेका छन् ।

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईसँग टस हारेर पहिले ब्याटिङमा नेपाल

काठमाडौं।  आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन् ।  आज पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् । यस खेलमा युएईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ, जसमा पछिल्लो खेल खेलेका प्रतिश जिसीको ठाउमा सोमपाल कामी प्लेइङ ११ मा रहेका छन् ।    नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन् । यी दुई बीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ । नेपाल र युएईबीच अहिलेसम्म टी २० खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ ।  त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन् । यो खेल आजै अपराह्न ४ः१५ बजेदेखि शुरु हुने छ । यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन् । 

सुनको मूल्यमा फेरि रेकर्ड, तोलामा ७०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।  यो मूल्य हालसम्मकै उच्च हो । छापावाला सुनको यसअघिको उच्च मूल्य प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँ थियो । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला एक हजार ७२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा करोबार भएको थियो ।  

सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु भएका तीनमध्ये दुईजनाको सनाखत

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटनामा परी मृत्यु भएका तीनमध्ये दुई जनाको सनाखत भएको छ । दुर्घटनामा परी निधन हुनेमा दोलखाको भीमेश्वर नगरपालिकाका शिव श्रेष्ठ र सोही ठाउँका मानबहादुर थामी रहेका छन् । मृतक एकको भने सनाखत हुन बाँकी छ । दोलखाबाट जन्ती बोकेर आएको बा४ख ५६१६ नम्बरको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, धारावतीमा शुक्रबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा परी ५२ जना घाइते भएका छन् । सिन्धुपाल्चोकका विभिन्न अस्पताल एवं स्वास्थ्य केन्द्रमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज सुशासन समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।