आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ।
कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भाेलिदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन हुँदै
काठमाडौँ । प्रतिनिधिसभा विघटनमा रहेको अवस्थामा माथिल्लो सभाका रूपमा रहेको राष्ट्रियसभाको हिउँदे अधिवेशन यही माघ ४ गतेदेखि सञ्चालनका लागि सङ्घीय सचिवालयले आवश्यक तयारी पूरा गरेको छ । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ । राष्ट्रिय सभाको १९औँ अधिवेशनको सञ्चालनका लागि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक र अधिवेशनका प्राथमिकताका सम्बन्धमा संसदीय दलका सम्बन्धित पदाधिकारीसँग छलफल गरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनले अधिवेशनको सबै तयारी पूरा भएको र आवधिक कार्यतालिकको क्यालेण्डर शनिबार सार्वजनिक हुने बताए । प्रवक्ता गिरीका अनुसार पहिलो बैठकमा अधिवेशन आह्वानको पत्र पढेर सुनाइने र हालै निधन हुनुभएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव पारित गरिने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबारका दिन ११ः०० बजे राष्ट्रियसभाको अधिवेशन आव्हान गरेका थिए । गत भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन अन्त्य भएको थियो । राष्ट्रियसभामा उत्पत्ति भएका सात विधेयकमध्ये अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण० विधेयक, २०८१ मा सैद्धान्तिक छलफल भइसकेको छ भने राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विधायन समितिको प्रतिवेदन सभामा पेस भइसकेको छ । यसैगरी हाल सभा मातहतको विधायन समितिमा विचाराधीन रहेका विधेयकमा पर्यटन विधेयक, २०८१, चलचित्र विधेयक, २०८१ र सामाजिक सञ्जाल विधेयक, २०८१ छन् । राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएका सात विधेयक प्रतिनिधिसभा विघटन भएका कारण निष्क्रिय भएका छन् । ती विधेयकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६, राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९, मिडिया काउन्सिल विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१, नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१, तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१ र पानीजहाज (सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ रहेका छन् । प्रतिनिधिसभामा उत्पत्ति भई राष्ट्रिय सभाबाट सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइएका जलस्रोत विधेयक २०८१, सङ्घीय निजामती सेवा विधेयक २०८० पनि निष्क्रिय भएको छ । दुवै सभाबाट पारित भई प्रमाणीकरणका लागि गएको तर राष्ट्रपति पुनः विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाइएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ पनि निष्क्रिय हुन पुगेको छ । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ विधेयक पनि निष्क्रिय भएका छन् । राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि रिक्त हुने २० सदस्यमध्ये १९ सदस्यका लागि यही माघ ११ गते निर्वाचन हुँदैछ भने एक सदस्य राष्ट्रपतिबाट मनोनयन हुनेछन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन भइसकेको छ भने सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई कार्यारम्भ भइसकेको छ । उक्त निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । सो बमोजिम निर्वाचन आयोगबाट प्रदेश सभा सदस्य ५४५ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ४९८ गरी दुई हजार ४३ जना रहेको मतदाता नामावली स्वीकृत भएको छ । ती मतदातामध्ये प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ । स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यमध्ये अदालतको आदेश बमोजिम पदमुक्त भएका एक र निलम्बनमा परेका चार गरी पाँच प्रदेश सभा सदस्य तथा स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एक र निलम्बनमा रहेका सात आठ जना स्थानीय तहका पदाधिकारीको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन । दुई सदनात्मक संसदीय व्यवस्था रहेको नेपालको संविधानबमोजिम राष्ट्रियसभाले विज्ञ सेवा प्रदान गर्ने, कानुन बनाउने, सरकारलाई उत्तरदायी बनाउने नियमन र निर्देशन गर्ने, संसदीय सुनुवाइ गर्ने मुख्य कार्य गर्दै आएको छ । गत भदौ २७ गते प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएको सन्दर्भमा राष्ट्रियसभा एक्लैले विधेयक तर्जुमा गरे पनि तल्लो सदनको तत्काल अभाव हुने भएकाले कानुन निर्माण या संशोधनका प्रक्रियाले हाल मूर्त रूपमा पाउने स्थिति भने देखिँदैन ।
सुदूरपश्चिम प्रदेशमा निर्वाचन सुरक्षा योजना कार्यान्वयन गरिँदै
सुदूरपश्चिम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्थापन चुस्त एवं सुदृढ पार्न लागिएको छ । भौगोलिक विकटता, सडक सञ्जाल, निर्वाचनस्थलको संवेदनशीलतालाई आधार मानेर निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्न लागिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । “निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाको रणनीतिसहित निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्न लागेका छौँ”, मिश्रले भने, “यसका लागि हातहतियार, गोलीगठ्ठा, सञ्चार सामग्री, जनशक्तिलगायत व्यवस्थापन हुँदैछ ।” निर्वाचनको सुरक्षाका लागि मतदानस्थल तथा केन्द्रको बहिरी घेरामा नेपाली सेना, मध्यम घेरामा, सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी परिचालनको व्यवस्था मिलाउन लागिएको उनले बताए । विगतका निर्वाचनको मतदानका क्रममा भएको अवाञ्छित एवं अस्वाभाविक गतिविधिलाई मध्यनजर गरेर सुरक्षा रणनीति बनाइएको छ । यसबाहेक सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान आआफ्नो सुरक्षा योजनाअनुसार निर्वाचनको सुरक्षामा परिचालित हुन लागेको जनाइएको छ । मिश्रले भने, “निर्वाचनस्थल तथा केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील निर्वाचनस्थलका रूपमा लिएर सुरक्षा व्यवस्था मिलाउँदै छौँ, प्रदेशको बाजुरा र अछाम जिल्लातिर बढी सुरक्षा संवेदनशीलताको आँकलन गरिएकाले सोही बमोजिमको सुरक्षा व्यवस्थापन मिलाइँदै छ ।” निर्वाचनको सुरक्षालाई दृष्टिगत गरेर प्रदेशका सबै नौ जिल्लामा गरी ३०० मतदानस्थललाई सामान्य, ३९५ लाई संवेदनशील र ४८१ लाई अतिसंवेदनशील निर्वाचनस्थल तोकिएको छ । प्रदेशभर एक हजार १७६ मतदानस्थल र दुई हजार १८६ मतदान केन्द्र कायम गरिएको छ । मतदानको दिन हिमपात भएमा बाजुरा, बझाङ र दार्चुला जिल्लाका हिमाली क्षेत्रका मतदानस्थलमा केही चुनौती थपिने देखिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मिश्रले बताए । निर्वाचनको तयारीका क्रममा सुरक्षाको व्यवस्थापन गर्न प्रदेशका जिल्लामा निर्वाचन प्रहरी भर्नाको काम अन्तिम चरणमा पुगेको छ । प्रदेशभरि सात हजार ५८ जना नेपाल प्रहरी र १३ हजार ६६९निर्वाचन प्रहरी परिचालन गर्न लागिएको उहाँले जानकारी दिए । कैलालीमा तीन हजार ५६७, कञ्चनपुरमा दुई हजार ३५, बाजुरामा ९६४ र दार्चुलामा ८८४, बझाङमा एक हजार४८४, डडेलधुरामा ९४४, बैतडीमा एक हजार २७९, दार्चुलामा ८८४ र अछाममा एक हजार ४६३ निर्वाचन प्रहरी भर्ना गर्न लागिएको छ । पहाडी क्षेत्रका कतिपय जिल्लामा तोकिएको समयभित्र आवश्यकता बमोजिमको निवेदन नपरेपछि निर्वाचन प्रहरीमा भर्ना हुने म्याद दुई दिन थपिएको छ । निर्वाचन कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि प्रदेशका सबै जिल्लामा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीको निर्वाचन क्षेत्र १ को टीकापुर, क्षेत्र २ को लम्की, क्षेत्र ३ को सुखड, क्षेत्र ४ को अत्तरिया र क्षेत्र ५ को धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुर निर्वाचन क्षेत्र १ को बेलौरी, क्षेत्र २ को झलारी र क्षेत्र ३ को भीमदत्तनगरमा र दुई निर्वाचन क्षेत्र रहेको अछाम क्षेत्र १ को साँफेबगर र क्षेत्र २ को मङ्गसैनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा भने सम्बन्धित जिल्ला सदरमुकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेशमा प्रतिनिधिसभा सदस्यका १६ निर्वाचन क्षेत्र छन् ।
आज काठमाडौँका यी स्थानमा बिजुली कटौती हुने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगन्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो । काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शीतल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य गरिरहेको छ । यस्तै, भूमिगतकार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक उपकरण जडानका लागि बिजुली कटौती हुन लागेको हो । प्राधिकरणका अनुसार पानीपोखरी फिडर साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानी पोखरीका विभिन्न क्षेत्र, महाराजगन्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुनेछ । यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुनेछ । सूचना अनुसार बालुवाटार, चुनदेवी, पञ्चकन्या आसपासका क्षेत्रसमेतमा सोही समयसम्म बिजुली कटौती हुनेछ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा त्यसभन्दा पहिले पनि बिजुली आपूर्ति हुन सक्ने प्राधिकरणले उल्लेख गरेको छ ।
कांग्रेसमा गुटबन्दी अन्त्य, गठबन्धन संस्कृतिको पनि अन्त : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित आफ्नो नेतृत्वलाई वैधता दिएसँगै पार्टीमा गुटगत भागबण्डा र गुटबन्दी अन्त्य भएको घोषणा गरेका छन्। सार्वजनिक अपील जारी गर्दै सभापति थापाले भुईं तहका सदस्य र केन्द्रीय सभापतिको हैसियत समान हुने तथा कार्यकर्ताको चाहनाअनुसार निर्णय लिइने स्पष्ट पारेका छन्। उनले विधि, विधान र पद्धति स्थापित भएको भन्दै निर्वाचन आयोगप्रति आभार व्यक्त गरेका छन्। अपीलमा उनले भनेका छन्, “पार्टी नेताको मात्र होइन, आम सदस्यको चाहनाले चल्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरा, मूल्य–मान्यता र आदर्शमा फर्किएको छ।” सभापति थापाले विशेष महाधिवेशनलाई जय–पराजयको विषय नबनाउन आग्रह गरेका छन् र सबैमा संयम, जिम्मेवारी र एकताको अपील गरेका छन्। उनले कांग्रेस नवीन ऊर्जा र एकतासहित रुपान्तरणको बाटोमा अगाडि बढेको तथा रिफर्मको यात्रा सुरु भइसकेको बताएका छन्। पूर्वसभापति शेरबहादुर देउवा लगायतका नेताहरूले यो प्रक्रियालाई सहज रूपमा ग्रहण गर्ने विश्वास व्यक्त गर्दै थापाले विगतका कमजोरीको आत्मआलोचना गर्दै कांग्रेस बदलिएको र बदलिने संकल्प गरेका छन्। लोकतान्त्रिक तथा जनमुखी पार्टी बनाउने प्रतिबद्धता जनाउँदै उनले कांग्रेसको मूल्य र सिद्धान्तविपरीत कुनै सम्झौता नगर्ने तथा चुनावी गठबन्धन नगर्ने स्पष्ट पारेका छन्। चुनावी तालमेललाई अप्राकृतिक गठबन्धन भन्दै गठबन्धन संस्कृतिको अन्त्य भएको घोषणा गरेका छन्।
निर्वाचन अयोगविरुद्ध आन्दोलन गर्न भन्दै देउवा पक्षीय केन्द्रीय समिति बैठक शनिबार बिहान
काठमाडौँ । निर्वाचन आयोगबाट आधिकारिकता नपाएपछि शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक माघ ३ गते बस्ने भएको छ । पार्टीका कार्यवाहक सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार केन्द्रीय कार्यसमितिको बैठक माघ ३ गते शनिबार बिहान ८ बजे बस्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थिति रहने पार्टीले जनाएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बैठकमा सहभागी हुन सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरिएको छ ।
प्रधानमन्त्री र मन्त्रीबाटै युवालाई जिताउनु पर्छ भन्ने विचार आउनु आपत्तिजनक : वर्षमान पुन 'अनन्त'
काठमाडौं । नेकपाका नेता वर्षमान पुन 'अनन्त'ले प्रधानमन्त्रीबाट आएको 'युवा पुस्ता (जेनजी) लाई निर्वाचनमा जिताउनुपर्छ' भन्ने अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभएको छ। शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी छलफल कार्यक्रममा बोल्दै नेता पुनले प्रधानमन्त्री तथा विभिन्न मन्त्रीहरूबाट सार्वजनिक रूपमा यस्ता अभिव्यक्ति आउनु आपत्तिजनक भएको बताउनुभयो। उहाँले निर्वाचनमा राज्यको शक्ति र स्रोतको दुरुपयोग हुन नदिन निर्वाचन आयोगलाई विशेष ध्यान दिन सुझाव दिनुभयो। साथै, आचारसंहिताको प्रभावकारी अनुगमनका लागि भरपर्दो संयन्त्रको व्यवस्था गर्न पनि उहाँले आयोगलाई आग्रह गर्नुभयो।
नेपाली काँग्रेस विभाजन हुनु राम्रो होइन्, तर विभाजनकै कारण चुनाव रोकिनु हुन्न : संयोजक प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेसको विभाजनका कारण आगामी निर्वाचनमा कुनै असर नपर्ने बताउनुभएको छ। शुक्रबार चितवनको भरतपुर महानगरपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले कांग्रेस विभाजनपछि निर्वाचन के होला भन्ने प्रश्न उठेको उल्लेख गर्दै चुनाव प्रभावित हुने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “निर्वाचनको मुखमा ठूलो पार्टीको विभाजन हुनु कसैका लागि पनि राम्रो होइन। तर यसैलाई देखाएर निर्वाचन रोकिने अवस्था छैन।” प्रचण्डले सरकारका प्रतिनिधि, निर्वाचन आयोग र सुरक्षा निकायसँग छलफल गर्दा कांग्रेसको विभाजनका कारण निर्वाचनमा असर नपर्ने जवाफ आएको जानकारी दिनुभयो। सबै दलहरू निर्वाचनमा केन्द्रित भइसकेकाले निर्वाचन हुनेमा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो। साथै, आफ्नो दलले प्रत्यक्षतर्फ उम्मेदवारको टिकट वितरण प्रक्रिया सुरु गरिसकेको पनि उहाँले बताउनुभयो। प्रचण्डले वर्तमान अवस्थामा निर्वाचनबाहेक अन्य कुनै विकल्प नभएको उल्लेख गर्दै अन्य विकल्पतर्फ सोच्न थालिए देशमा दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिनुभयो। सोही कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जीर्ण भवनबाट सेवाग्राहीहरूलाई सेवा दिन असहज भएकाले नयाँ भवन निर्माण गरिएको बताउनुभयो। महानगरपालिकाका अनुसार ६ तले यो प्रशासकीय भवन ५३ करोड ३२ लाख ४१ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।
भरतपुरको विकासबाटै 'विकास प्रेमी रेनु' को रूपमा जनताले नै स्थापित गरे : संयोजक प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले भरतपुर महानगरपालिका की प्रमुख रेनु दाहाललाई 'विकासवादी' वा 'विकास प्रेमी रेनु' को रूपमा जनताले नै स्थापित गरेको बताउनुभएको छ। चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले रेनु दाहालको विकासप्रतिको योगदान आफूहरूले नभई स्थानीय जनताले नै मान्यता दिएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “रेनुको नाम अब विकासवादी रेनु, विकास प्रेमी रेनु भनेर तपाईंहरूले नै स्थापित गर्नुभएको हो। मैले वा हामीले होइन, तपाईंहरूले स्थापित गरेको हो। यसलाई आदर्श मान्दै अगाडि बढ्न जरुरी छ।” प्रचण्डले सामाजिक सञ्जालमा हुने स्टन्टबाजीको कडा आलोचना गर्नुभयो र यसैको कारण गत २४ भदौमा राष्ट्र झन्डै खरानी हुन पुगेको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, “सोसल मिडियामा स्टन्ट गरेकै भरमा मानिसहरूको दिमाग भ्रमित पार्ने प्रक्रिया चलिरहेको छ। कहिलेकाहीँ यस्तो स्टन्टबाजीले मानिसहरूलाई भ्रममा पार्ने खतरा हुन्छ। हाम्रो राष्ट्र झन्डै २४ भदौमा खरानीजस्तै भएको थियो। यो कुनै विचार, सिद्धान्त वा आदर्शका कारण होइन, स्टन्टबाजहरूकै कारण भएको हो।” अहिले पनि सतर्क नभए देश दुर्घटनामा पर्न सक्ने चेतावनी दिँदै प्रचण्डले सिद्धान्तहीन, विचारहीन, आदर्शहीन र निष्ठाहीन होहल्लाको पछि नलाग्न सबैमा अपिल गर्नुभयो। उहाँले थप्नुभयो, “अहिले पनि हामी सबै सतर्क भएनौं र एकताबद्ध भएर सिद्धान्तहीन, विचारहीन, आदर्शहीन तथा निष्ठाहीन होहल्लाको पछि लाग्यौं भने देश दुर्घटनामा पर्न सक्छ। म चितवनकै नागरिक भएको नाताले पनि यो कर्तव्य सम्झन्छु र सबैलाई अपिल गर्छु।”
सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी
काठमाडाैँ । सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि खाद्यान्न भण्डारण समाप्त हुने संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ। यसले विश्वको सबैभन्दा ठूलो भोकमरी सङ्कटमा फसेका लाखौँ व्यक्तिको लागि चिन्ता बढाएको छ।
कञ्चनपुरकाे मौरीफाँटामा पाटेबाघको त्रास
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ मौरीफाँटामा पाटेबाघको त्रास छाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने बाघले पछिल्लो तीन दिनको अवधिमा आधा दर्जनबढी घरपालुवा जनावरलाई मारेको छ । निकुञ्जबाट डमरुसहित बस्ती छिर्ने बाघले साँझ नपर्दै स्थानीयका चौपायामाथि आक्रमण गर्न थालेको छ । स्थानीय किसान कासी लुहारले दुई महिनाअघि मात्रै रु ४० हजार ऋण लिएर किनेको दुधालु गाई बाघले मारेको बताए । त्यस्तै, अर्का स्थानीय नर्मा बोहराले आफ्नो दुधालु गाईलाई बाघले गोठबाट तानेर झण्डै १०० मिटर टाढा पुर्याई खाएको बताए । साँझ सात नबज्दै बाघ बस्ती छेउछाउमा देखापर्न थालेपछि स्थानीयलाई हिँडडुल गर्न समस्या भएको छ । स्थानीय महेश महराका अनुसार त्यस क्षेत्रका अधिकांश परिवारले गाईभैँसी र बाख्रापालनबाट जीविकोपार्जन गर्दै आएका छन् । “बाघले दिनहुँ घरपालुवा जनावर मार्न थालेपछि हाम्रो रोजीरोटी नै सङ्कटमा परेको छ”, महराले भने । साँझ नपर्र्दै बस्तीमा बाघ पस्ने गरेको र चौपाया मारेर निकुञ्ज जाने गरेको उनले बताए । बाघका कारण मौरीफाँटा क्षेत्रको जनजीवन त्रसित बनेको छ ।
कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने
कञ्चनपुर । कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको जलपन्छी गणना सम्पन्न भएको छ । सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जलपन्छीको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले सञ्चालन गरिएको गणना सकिएको हो । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) का वरिष्ठ चराविज्ञ हिरूलाल डगौंराका अनुसार विगतका वर्षको तुलनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको सिकारी ताल तथा निकुञ्ज बाहिरका पुरैनी ताल, नकैया सिमसारलगायत क्षेत्रमा जलपन्छीको सङ्ख्यामा सुधार आएको पाइएको छ । “कञ्चनपुरमा गणना कार्य पूरा गरी अहिले सङ्ख्या अद्यावधिक गर्ने, प्रजाति छुट्याउनेलगायतका काम भइरहेको छ”, उनले भने, “कैलालीका केही क्षेत्रमा गणना बाँकी रहेकाले आगामी माघ ४ गतेभित्र सबै तथ्याङ्क सार्वजनिक गरिनेछ ।” बिसिएनको अगुवाइ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको समन्वयमा जलपन्छी गणना गरिएको छ । गणनामा वाइनाकुलर, दूरबिन, क्यामेरा र जिपिएसजस्ता उपकरणको प्रयोग गरिएको थियो भने हिँडेर पुग्न नसकिने सिमसार क्षेत्रमा हात्तीको पनि प्रयोग गरिएको चराविज्ञ डगौंराले जानकारी दिए । गणनामा बिसिएन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छीविद् सङ्घ, कनेक्ट परियोजना, जेडएसएल, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमालय नेचर, नेचर गाइड एसोसिएसन तथा कञ्चनपुर पन्छी संरक्षण समूहका प्रतिनिधिहरूको संलग्नता थियो । निकुञ्जभित्रका सिकारी ताल, बाबा ताल, तारा ताल, रानी ताल, चौधर नदी, राधापुर सिमसार, झिलमिला र रतनपुर सिमसारमा गणना गरिएको छ । त्यसैगरी निकुञ्ज बाहिरका महाकाली नदी, पुरैनी ताल र बन्दा ताल क्षेत्रमा पनि जलपन्छीको अवस्थाबारे विवरण सङ्कलन गरिएको छ । चराविज्ञहरूका अनुसार सिमसार क्षेत्रमा बढ्दो अतिक्रमण, अवैज्ञानिक माछापालन, नदीजन्य पदार्थको दोहन, मानवीय गतिविधि र जलवायु परिवर्तनका कारण जलपन्छीको बासस्थान सङ्कटमा पर्दै गएको छ । गणनाका क्रममा पन्छीको सङ्ख्याका साथै बासस्थानमा देखिएका चुनौतीबारे पनि अध्ययन गरिएको बताइएको छ ।
उल्लेखनीय सुधार हुँदै मौसम, आज कस्तो रहला देशभर ?
काठमाडौँ । नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका तराई भूभागमा हुस्सुको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछि स्थानीय बेँसी झरे । अस्थायी रूपमा बसोबास गर्ने र व्यवसायीमात्र यहाँ छन् । पाँच वर्ष अगाडिसम्म हिउँदमा ढोरपाटन सुनसान नै हुन्थ्यो । तर यस वर्ष यो याममा पनि पर्यटकको चलहपहल छ । बाह्रै महिना यहाँको सुन्दरतामा कमी नआउने हुँदा पर्यटकको रोजाइमा ढोरपाटन परेको छ । गत वर्ष पनि यतिबेला ढोरपाटन सुनसान नै थियो । मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल हुने गरे पनि चैतसम्म सुनसान हुन्थ्यो । चिसो याममा पनि पर्यटक आउन थालेपछि होटल व्यवसायी उत्साहित छन् । अघिल्लो वर्षसम्म करिब चार महिना होटल बन्द हुने गरे पनि यसपालि एक दिन पनि खाली बस्न नपरेको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैले बताए । पछिल्लो पाँच वर्षमा ढोरपाटन आउने पर्यटकको सङख्या उल्लेख्य रहेको भन्दै हिउँद याममा पनि पर्यटकको चहलपहल भएको पहिलोपटक भएको उनको भनाइ छ । यो सिजनमा शुक्रबार र शनिबार करिब दुई सय र अन्य बेला ३०–५० जना पर्यटक ढोरपाटन आउने गरेको अध्यक्ष अदैले बताए । यहाँको बारेमा तीव्र प्रचारप्रसार हुँदा बुटवल, पोखरा, काठमाडौँ, चितवन, भैरहवालगायत देशैभरबाट पर्यटक आउन थालेको उनको भनाइ छ । “गत वर्ष यो बेला त सुनसान नै भएको थियो, तर यसपालि दैनिकजसो पर्यटक आइरहेका छन्, हिउँ पर्दा बुर्तिबाङ र त्यस आसपासबाट मान्छे हिउँ खेल्न आउँथे तर यसरी घुम्न आउने गर्दैनन्थे”, अध्यक्ष अदैले भने, “अब त विस्तारै सडक पनि राम्रो हुँदैछ, आगामी वर्षदेखि त ढोरपाटनमा बाह्रै महिना पर्यटकको चहलपहल हुने आशा जागेको छ ।” एक दशक अगाडिसम्म ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या न्यून थियो । तर अहिले तीव्र प्रचारप्रसारका कारण बर्खाको समयमा हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । ढोरपाटन उपत्यकासँगै बुकीपाटन र जलजला जानेको सङ्ख्या पनि उस्तै छ । होटल व्यवसायी धीरेन्द्र घर्तीमगरले खान र बस्नका लागि राम्रो सुविधा हुन थालेपछि जाडो याममा पर्यटक आउन थालेको बताए । टाढादेखि आउने पर्यटकले अग्रिम कोठा ‘बुकिङ’ गर्ने गरेको उनको भनाइ छ । नवलपुरदेखि घुम्न आएका आशिष पुरीले ढोरपाटनमा बढी चिसो भए पनि यहाँको सुन्दरताले लोभ्याएको बताए । जाडो बिदामा नौ जनाको समूह घुम्न आएको उनको भनाइ छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ढोरपाटनको मनमोहक तस्बिर तथा भिडियो देखेकाले घुम्न आएको उजले सुनाउनुभयो । यो सिजनमा ढोरपाटन आउँदा न्यानो भएर आउन उनले सुझाए । जाडोका कारण स्थानीय बोबाङ, अधिकारीचौर र निसीखोला झरेका छन् । उनीहरू अब चैत लागेपछि मात्र ढोरपाटन उक्लिने गर्छन् । पोहोर सालसम्म पर्यटकको आगामन कम हुँदा व्यवसायी फुर्सदिला हुन्थे । तर अहिले त्यस्तो अवस्था छैन । पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए । तर अहिले ढोरपाटन उपत्यकामा मात्र करिब ४० हाराहारी होटल सञ्चालनमा छन् ।
सिरहाको गोसाइ डाँडा ताल: पर्यापर्यटनको सङ्गम
सिरहा । चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै सूत्रमा बाँध्दै सिरहाको लहान नगरपालिका–१५ मा रहेको ‘गोसाइ डाँडा ताल’ अहिले आन्तरिक पर्यटकको नयाँ आकर्षण बन्दै गएको छ । झवाई खोल्सी क्षेत्रभित्र सामुदायिक वनको पहलमा निर्माण गरिएको यो तालले पर्यापर्यटनसँगै जलवायु अनुकूलन र स्थानीय आर्थिक उत्थानलाई एकैसाथ जोडेको छ । पानीमा देखिने दृश्य, चारैतिर फैलिएको हरियाली वन र तालमा डुङ्गा चढेर रमाइरहेका आन्तरिक पर्यटकहरूले झवाई खोल्सी क्षेत्रलाई अझ जीवन्त र आकर्षक बनाएको छ । पाँच वर्षअघि सामुदायिक वन उपभोक्ता समूहको पहलमा निर्माण गरिएको ‘गोसाइ डाँडा ताल’ अहिले लहान क्षेत्रकै प्रमुख आन्तरिक पर्यटकीयस्थलका रूपमा क्रमशः विकास हुँदै गएको झवाई खोल्सी चुरिया डाँडा सामुदायिक वनका अध्यक्ष लगनलाल चौधरी बताउँछन् । अध्यक्ष चौधरीका अनुसार हाल विशेषगरी शनिबार र सार्वजनिक बिदाका दिनमा यहाँ आन्तरिक पर्यटकको उल्लेख्य चहलपहल देखिन थालेको छ । “यस क्षेत्रको प्राकृतिक सौन्दर्यका कारण यहाँ आउने पर्यटकको सङ्ख्या निरन्तर बढ्दै गएको छ”, उनले भने, “यदि ताल क्षेत्रको थप सौन्दर्यीकरण गर्न सकियो, डुङ्गाको सङ्ख्या बढाइयो, बालबालिकाका लागि चिल्ड्रेन पार्क, पर्यटक विश्रामका लागि गोलघर तथा अन्य आवश्यक संरचना निर्माण तथा भएका संरचनाको स्तरोन्नति गर्न सकियो भने झवाई खोल्सीलाई निकट भविष्यमा मधेस प्रदेशकै नमुना पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना प्रबल छ ।” पूर्वपश्चिम राजमार्गअन्तर्गत लहान बजारबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित यो ताल झण्डै दुई बिघा क्षेत्रफलमा फैलिएको छ । तालको चारैतिर रहेका साना–ठूला पोखरीहरूले यस क्षेत्रको प्राकृतिक सौन्दर्य अझै बढाएको छ । चुरे क्षेत्रको सिमसार क्षेत्रलाई संरक्षण गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले ताल निर्माण गरिएको हो । चुरे क्षेत्रमा भूमिगत पानीको सतह घट्दै गएको सन्दर्भमा गोसाइ डाँडा तालले महत्त्वपूर्ण भूमिका खेलेको छ । विशाल तालको पानीले ‘वाटर रिचार्ज’को काम गर्नुका साथै सिमसार क्षेत्रको संरक्षणमा सहयोग पुगेको वडाध्यक्ष तेजुलाल चौधरीको भनाइ छ । उनले भने, “यस प्रकारका ताल र पोखरीले चुरे क्षेत्रको जलाधार संरक्षणमा दीर्घकालीन योगदान पुर्याउँछन् । त्यसैले यस्ता जलाधार क्षेत्रको संरक्षणमा हामीले विशेष ध्यान दिएका छौँ । स्थानीयलाई प्रोत्साहन गरेका छौँ ।” गोसाइ डाँडा तालको सिमसार क्षेत्रको पानीलाई सङ्कलन गरी आवश्यकताभन्दा बढी पानी सिँचाइका लागि प्रयोग गर्ने सम्भावनाको अध्ययनपछि भूसंरक्षण तथा सिँचाइ कार्यालयले यहाँ लगानी गरेको छ । झवाई खोल्सीको पानी प्रयोग गरी बानोगाउँका किसानले तरकारी, गहुँ, धानलगायत बाली उत्पादन गर्न थालेपछि थारु र मुसहर समुदायको जीवनस्तरमा सुधार आएको छ । यस क्षेत्रको विशेषता भनेकै स्थानीय थारु र मुसहर समुदायको सक्रिय सहभागिता हो । सामुदायिक वनको संरक्षण, तालको व्यवस्थापन र सौन्दर्यीकरणमा स्थानीयकै अग्रसरताले यो क्षेत्र उदाहरणीय बन्दै गएको छ । झवाई खोल्सी संरक्षण समितिका सचिव आनन्दलाल चौधरीका अनुसार खोल्सी दहमा माछापालन गरेर वार्षिक करिब रु दुई लाख आम्दानी भइरहेको छ भने वनको डालापात र दाउरा बिक्रीबाट थप रु पाँच लाख आम्दानी हुने गरेको छ । “यसले सामुदायिक वनको दिगो व्यवस्थापनसँगै स्थानीयको आयआर्जनमा ठोस टेवा पुगेको छ”, उनले भने । ताल क्षेत्रमा बोटिङ, विश्रामस्थल, घुम्ने बाटो, शौचालय, वनभोजस्थलजस्ता संरचना निर्माण भइसकेका छन् । यस सामुदायिक वनका अध्यक्ष चौधरीका अनुसार महादेव र हनुमान मन्दिर निर्माण अन्तिम चरणमा रहेको छ भने भविष्यमा भ्यूटावर निर्माण गर्ने योजना पनि रहेको छ । तालको बीचमा रहेको जमिनले यसलाई अझै आकर्षक बनाएको स्थानीय बताउँछन्, जसका कारण यहाँ आउने पर्यटकलाई पोखराको फेवातालको झल्को मिल्ने गरेको छ । स्थानीय बासिन्दा अशोक चौधरी भन्छन्, “तालको बीचमा देखिने यो जमिनले यहाँको दृश्य निकै फरक र सुन्दर बनाएको छ । धेरैले त पहिलोपटक देख्दा फेवातालजस्तै लागेको प्रतिक्रिया दिनुहुन्छ, यही कारण यहाँ आउने पर्यटक झन् आकर्षित भइरहेका छन् ।” लहान नगरपालिकाले झवाई खोल्सी डाँडामा शिव मन्दिर निर्माण, गाउँसम्म पुग्ने सडक ढलान तथा थारु परिकारमार्फत पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले थारु संस्कृति होमस्टे व्यवस्थापनसमेत सुरु गरिसकेको छ । यस क्षेत्रको थप विकासका लागि बाधक बनिरहेको बानो खोलामा पुल निर्माणको काम सुरु भइसकेको छ । पुलका लागि आवश्यक पिलर निर्माण भइसकेको र आगामी असार मसान्तसम्म बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार पुल निर्माणका लागि रु ३५ लाख बजेट विनियोजन गरिएको छ । झवाई खोल्सी क्षेत्रलाई प्राकृतिक पर्यटकीयस्थलका रूपमा विकास गर्न लामो समयदेखि पहल भइरहे पनि यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीले स्थलगत भ्रमण गरी बजेट विनियोजन गरेपछि मात्र स्थानीय र प्रदेश सरकारको ध्यान केन्द्रित भएको सामुदायिक वनका अध्यक्ष चौधरीले स्मरण गरे । उनका अनुसार लहानकै राजदेवी र हात्ती दहजस्ता प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल आउने पर्यटकलाई झवाई खोल्सी हुँदै गोसाइ डाँडा तालसम्म ल्याउने उद्देश्यका साथ काम भइरहेको छ । उनले भने, “पर्याप्त प्रचारप्रसार गर्न सके संरक्षण, पर्यटन र समृद्धिलाई एउटै सूत्रमा बाँध्दै अघि बढिरहेको गोसाइ डाँडा ताल अब केही वर्षभित्रै मधेस प्रदेशकै नमुना पर्यापर्यटन गन्तव्य बन्ने अपेक्षा गरेका छौँ ।”
म्याग्दीका एकै किसानले उत्पादन गरे १२० मुरी धान
म्याग्दी । यहाँका एक जना किसानले एक सय २० मुरी धान फलाएका छन् । मङ्गला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गरेका हुन् । खत्री सम्भवतः जिल्लामा सबैभन्दा धेरै धान फलाउने किसान भएको दाबी गरिएको छ । खत्रीको दुई तले घरमा राखिएका भकारी धानले भरिएका छन् । “एक सय रोपनी खेतमा एक सय ५० मुरी धान फलाउने लक्ष्य थियो”, उनले भने, “गत वर्षको तुलनामा २० मुरी बढी धान उत्पादन भए पनि मौसमले साथ नदिँदा लक्ष्यभन्दा कम भयो ।” सिमकाजी ब्रर्दश भेन्चर प्रालिमार्फत रैथाने गौरीया, जेठोबुढो धान, मकै र गहुँखेतीका साथै खत्रीले भैँसीपालन गरेका छन् । म्याग्दी नदीको किनारमा सिँचाइको सुविधा भएको उर्वरायुक्त सिम, सिमलचौर, बाबियाचौर, पोक, सातबिसे, सेरा, पिपलबोट, रणवाङ्ग र छिस्वाङको फाँट जिल्लाकै राम्रो खाद्य बाली हुने जमिन मानिन्छ । खत्रीका पुर्खाहरूले तीन सय वर्षअघि पोखराबाट आएर सिममा जग्गा किनेका थिए । “घरमा आवश्यक पर्ने २५ मुरी राखेर ९५ मुरी बिक्री गर्छु”, खत्रीले भने, “धान प्रतिपाथी रु चार सय र चामल प्रतिपाथी रु एक हजारका दरले बिक्री हुन्छ ।” बिक्री नहुने धानलाई चामल बनाउन घरमै विद्युत्बाट चल्ने मिल राखेका छन् । पकाउँदा घरबाहिरै छुट्टै किसिमको मगमग बास्ना आउने र खाँदा स्वादिलो हुने गौरीया जातको धान म्याग्दीको रैथाने बाली हो । सहरबजारका तारे होटलदेखि घरानिया व्यापारी, उच्च तहका नेता, कर्मचारीहरू गौरिया धानको चामलका उपभोक्ता हुन् । “गौरीया धान पाक्दा खेत नै बसाउँछ । भान्छा कोठामा गौरियाको भात पकाउँदा आँगनसम्मै बास्ना आउँछ”, खत्रीले भने, “गौरीयाको भात खाइरहेकालाई अरू धानको भात रुच्दैन, गौरीया नै खोज्छन् ।” स्थानीयवासीहरूका अनुसार चार पुस्ताअघिदेखि खेती हुँदै आएको गौरीयाको वैज्ञानिक र अङ्ग्रेजी नाम अझै पहिचान भएको छैन । म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरीखेतमा खेती हुने भएकाले गौरीया नाम राखिएको सिमका किसान राजाराम उपाध्यायले बताए । गौरीया धानको चामल भात, पुलाउ, खिर र सेल रोटी बनाउने पीठोका लागि उपयुक्त हुन्छ । न्यानो ठाउँमा हुने गौरीया धानको बोट अग्लो हुन्छ र सिँचाइका लागि धेरै पानी आवश्यक पर्छ । असारको १५ गते रोपिने गौरीया कात्तिक १५ आसपासमा पाकेर भित्र्याउने हुन्छ । गौरीया धानको दाना अरू जातको भन्दा सानो हुन्छ । अन्य जातको तुलनामा गौरीयाको उत्पादकत्व कम हुुन्छ । पकाउँदा भात बढी देखिने गौरीया उपभोग गर्दा आडिलो पनि हुने उपभोक्ताको अनुभव छ । सुत्केरी, किरिया बसेकाहरूलाई गौरीया धानको चामलको भात उपभोगी हुुने बताइन्छ । पोखराको घर जग्गा छोराछोरीको जिम्मा लगाएका खत्रीले सिममा खाद्यबालीको साथै भैँसीपालन र बेनी–दरवाङ सडक छेउमा किराना पसलसहितको रेष्टुरेन्ट सञ्चालन गरेका छन् । वार्षिक रु १० लाखभन्दा बढीको धान, चामल, दूध, खुसीबोका र कुखरा बिक्री हुने खत्रीले बताए । एकवटा स्थानीय लिमे–पारकोटे र दुईवटा उन्नत मुर्रा जातको भैँसीसँगै खत्रीले खसीबोका उत्पादन गर्न बाख्रापालान पनि गरेका छन् । हाल दैनिक १० लिटर दूध बिक्री गर्ने उनले भैँसीको सङ्ख्या बढाउने सोचमा छन् । खत्रीकी श्रीमतीले उनलाई खेतीपाती र व्यवसायमा साथ दिएकी छन् । एक जनालाई नियमित, खेती लगाउने र भित्र्याउने समयमा दैनिक ४० जना जनालाई रोजगारी दिएका छन् । वैदेशिक रोजगारको बढ्दो आकर्षणका कारण खेतबारीमा काम गर्ने जनशक्ति नपाउने, ज्यालाको मूल्य बढ्नु, तापक्रम वृद्धिका कारण खेतीपात्रो परिवर्तन हुनुलाई खत्रीले चुनौतीका रूपमा लिएका छन् । रोजगारीको सिलसिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका खत्रीका परिवारको बसोबास २०७६ सालअघि पोखरामा थियो । कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा उनका परिवार पोखराबाट जन्मथलो फर्किएका थिए । “हाम्रा हजुरबुबाका पाँच परिवार सन्तान हामीहरू विदेश र सहर पसेपछि यहाँको खेतीयोग्य जमिन कजाउन अरूलाई नै अधिया र बन्दकी दिएका थियौँ”, उनले भने, “कोरोनापछि गाउँ फर्किएर मेरो पुर्ख्यौली साथै दाजुभाइको एक सय रोपनी जग्गा भाडामा लिएर रैथाने जातको धान खेती गर्दै आएको छु ।” पुर्खाहरूले तीन सय वर्षअघि बनाएको घरमा ‘होमस्टे’ सञ्चालनको तयारी गरेका खत्रीले पाहुनालाई रैथाने गौरीया धानको भात, भैँसीको दूधदही, कुखुरा र खसीबोकाको मासुका परिकार चखाउने योजना बनाएका छन् । सिमलाई कृषि, पर्यटकीय गाउँका रूपमा विकास गर्ने सामाजिक गतिविधिमा पनि जोडिएका खत्रीको योजना छ । बेनीदेखि १२ दशमलव पाँच किलोमिटर पश्चिमतर्फ कालोपत्र सडकको पहुँच भएको सिम प्राकृति उपचारस्थल सिङ्गा तातोपानीदेखि चार दशमलव पाँच किलोमिटर नजिक छ । रोजगारी, अवसर र सुविधाका लागि धेरै नेपालीहरू सहरमा बसाइसराइ र बिदेसिने क्रम बढिरहेका बेला विदेश र बजारबाट गाउँ फिरेका खत्रीले सकारात्मक सन्देश दिनुभएको म्याग्दी उद्योग वाणिज्य सङ्घका सचिव समेत रहेका स्थानीयवासी मोतिलाल पौडेलले बताए ।

