उपत्यकाका १४२ वटा ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित १४२ वटा ड्राइभिङ्ग इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीले छापा मारेको छ । छापा मारेर ट्रायल सेन्टरमा प्रयोग गरिएका सवारी साधनका शंकास्पद कागजात बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

प्रशिक्षार्थीलाई सिकाउन प्रयोग गरिएका २१ वटा गाडी प्रहरीको अनुसन्धानको दायरामा आएको छ । ती गाडीहरूमध्ये १६ वटाको कागजात फेला परेको छ। ५ वटा गाडीको ब्लुबुक नवीकरण नभएको भेटिएको छ।

ट्रायल सेन्टर र ड्राइभिङ्ग इन्स्टिच्युटमा भेटिएका २० वटा मोटरसाइकल र ७ वटा स्कुटर अनुसन्धानको दायरामा आएको छ । १५ वटा मोटरसाइकल नवीकरण फेला भएको र ५ वटाको कागजात नभएको अवस्थामा भेटिएको एसपी रेग्मीले जानकारी दिए ।

इन्स्टिच्युट सञ्चालकहरूले ३ वटा स्कुटरको कागजात देखाउन सकेका छैनन् । ४ वटा स्कुटर नवीकरण नगरेको अवस्थामा भेटिएको छ । शंकास्पद कागजातबारे अनुसन्धान भइरहेको एसपी रेग्मीले जानकारी दिए। 

महालेखापरीक्षकको कार्यालयलाई संघीयता अनुरुप पुनर्संरचना गर्छौं : राया

काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको कार्यालयलाई संघीय शासन प्रणाली अनुरुप पुनर्संरचना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। मंगलबार संसदीय सुनवाई समितिको बैठकमा प्रस्तावित महालेखापरीक्षक रायाले आफ्नो भावी कार्ययोजना प्रश्तुत गर्दै सो कुरा बताए। रायाले लेखा संपरीक्षणको कामलाई सहज बनाउन, पारदर्शी बनाउन र कम खर्चिलो बनाउन पनि महालेखापरीक्षकको कार्यालय संगठन संघीय ढाँचा अनुरुप अघि बढाउन आवश्यक रहेकाले आफूले सो कामलाई पहिलो प्राथमिकतामा राख्ने बताए उनले सार्वजनिक लेखा परीक्षणलाई गुणस्तरीय, जवाफदेही र निष्पक्ष बनाई नीतिगत आधारहरु तय गर्ने र लेखा परीक्षणका लागि विद्यमान रणनीतिक योजनाको कार्यान्वयनमा जोड दिने पनि बताए। वित्तीय अनुशासन पालना गर्न, गराउन सरोकारवाला सबै पक्षसँग अन्तरक्रिया, समन्वय, सहकार्य र सम्बन्ध विस्तार गर्ने, पूर्व महालेखापरीक्षक एवं पूर्व कर्मचारीहरुसँग अनुभवको आदानप्रदान तथा सुधारका विभिन्न पक्षहरुमाथि निरन्तर छलफल चलाउने र प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने पनि प्रस्तावित महालेखापरीक्षक रायाको कार्ययोजना रहेको छ । प्रस्तावित महालेखापरीक्षक रायाले गुणस्तरीय लेखापरीक्षण प्रतिवेदन तयार पार्दा पनि विज्ञहरुसँग परामर्श लिएर अघि बढ्ने पनि बताए।

मधेस प्रदेशसभामा जनमत पार्टीको अवरोध

काठमाडौं । मधेस प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । जनमत पार्टीले नाराबाजी गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् ।  मंगलबारको बैठक मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको थियो । सप्तरीको राजविराजमा मधेस कृषि विश्व विद्यालयको शिलान्यासका क्रममा भएको घटनाको जवाफ माग गर्दै जनमत पार्टीले बैठक अवरोध गरेको हो । माघ ८ गते सप्तरीको राजविराजमा मधेस कृषि विश्व विद्यालयको शिलान्यास कार्यक्रममा क्याबिनेट मन्त्रीसहित सांसदमाथि भएको घटना छानबिन हुनुपर्ने माग जनमतले राखेको छ । सो कार्यक्रममा भएको झडपमा महेश यादवलगायत तीन सांसद प्रहरीको बल प्रयोगबाट घाइते भएका थिए ।  

बस दुर्घटनामा अछामका एक युवकको मृत्यु

मंगलसेन। भारतको पुना (पुणे)बाट नेपालको धनगढी आउँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । पुणेबाट बसमा घर आउन लागेका कमबलजार नगरपालिका–२ बजुडाका ४० वर्षीय लालबहादुर खड्काको निधन भएको हो । बसमा सवार रहेका २३ जना घाइते भएका र उनीहरुको पुणेको मालीगाउँका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइतेहरुको विवरण खुल्न सकेको छैन । धनगढी आउँदै गरेको यात्रुवाहक बस भारतको नासिकस्थित मालीगाउँमा सोमबार बिहान करिब ९ बजे दुर्घटना भएको थियो । आइतबार पुणेबाट सुदूरपश्चिमका यात्रु ल्याएर आएको उक्त बसमा एकसय १० जना यात्रु रहेको र अर्को सवारी साधनभन्दा अगाडि जाने बेलामा दुर्घटना भएको बताइएको छ ।

‘हिमालयको रहस्य’ र ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी सुरु

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर आइतबारबाट ‘हिमालयको रहस्य’ र ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी सुरु भएको छ । प्रतिष्ठानको आयोजनामा भएको सो प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एक समारोहका बीच उद्घाटन गरे । कार्यक्रममा कुलपति हार्तम्छालीले प्रतिष्ठानले प्रदर्शनीमार्फत दुई फरक विषयलाई समेट्न खोजेको बताए । उनले ‘हिमालयको रहस्य’ प्रदर्शनीमार्फत नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भिर असरलाई उजागर गर्न खोजेको जनाए । उनले ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ का राष्ट्रिय ललितकला पुरस्कार विजेताहरूलाई हौसला प्रदान गर्न गरिएको जानकारी गराए । कुलपति हार्तम्छालीले उनले भने, ‘वातावरण परिवर्तनले हिमालमा परेको प्रभावलाई कलाकारले कलामार्फत कलात्मक रुपले प्रस्तुत गर्नुभएको छ । हिमाल बचाउने अभियानमा कलाकारको पनि विशिष्ट भूमिका रहनुपर्छ भन्ने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको हो ।’ उनले कलामार्फत हिमालमाथि भइरहेको दोहनलाई प्रस्तुत गरिएको विचार व्यक्त गरे ।  कुलपति हार्तम्छालीले नेपालको मौलिक पहिचानसँगै पर्यटनमार्फत सांस्कृतिक अर्थ–समृद्धि मात्रै होइन हिमवत्खण्ड साथै विश्व वातावरण र जैविक विविधताको सार सन्तुलनको मुख्य आधार पनि हिमालय रहेको जिकिर गरे । उनले मानवको प्रकृतिसँग सम्बन्ध, विरासतदेखि आधुनिक समय तथा भविष्यसम्मको सन्तुलन, नियमितता र शान्तिपूर्ण जीवनमोक्षका साथै पुस्ता हस्तान्तरणार्थ जगाधारको बिम्बसार पनि हिमाललाई नै मान्न सकिने झलकहरू कलाकारका चित्रकलामा विभिन्न रेखा, आकार र रङको ढङ्गहरूले देखाउने प्रयास गरिएको जनाए । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले हिमाल जीवन र जगतसँग जोडिएको विषय भएको बताए । उनले हिमाल भए पानी हुने र पानी भए जीवन हुने भन्दै जलवायु परिवर्तनले नेपाललगायतका पर्वतीय देशहरूमा परेको असरलाई गम्भिर रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । उपकुलपति लामाले भने, ‘हिमाल बचाउन यसका बारेमा सबैले आ–आफ्नो ठाउबाट सचेत ढंगले लाग्नु पर्दछ । कलाकारले चित्रमार्फत यो अभियानलाई उजागर गर्ने कोसिस गरेका छन् ।’  प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रदर्शनीमा जलवायु परिवर्तनले पारेको प्रभाव र कालोपत्थर बन्दै गइरहेका हिमालका विषयलाई कलाकारले कलात्मक रुपमा उधिनेको धारणा राखे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २८ औँ जलवायु परिवर्तनसम्बन्धी  ‘कोप २८’ सम्मेलनमार्फत उठाएको एजेन्डालगायतका विविध विषय कलामा समेटिएको बताए । सदस्य सचिव थुम्केलीले प्राणीजगतको जीवनसँग हिमाल जोडिएकाले पछिल्लो समय जलवायु परिवर्तनले यसमा पारेको गम्भिर असरबारे सम्बद्ध सबै सचेत हुनेपर्ने विचार व्यक्त गरे । उनले भने, ‘हिमाल बचाउन विश्वको ध्यान आकृष्ट गर्न कला प्रदर्शनी गरिएको हो ।’ ‘हिमालयको रहस्य’ प्रदर्शनीमा अनिता भट्टराई, एन्जिला जोशी, अर्पिता पराजुली, अरुणा हिङमाङ, बिआर श्रेष्ठ, भिमकुमार श्रेष्ठ, भिम सुब्बा तामाङ, बिक्कुकुमार थापा, विनोदकुमार गुप्ता, विपना महर्जन, दामोदर बराल, डिबी भण्डारी, देवेन्द्र थुम्केली, दिनेश थापा मगर, दिनेश्वर महतो, दिपेश नेपाली, गजेन्द्रमान श्रेष्ठ, गणेश लामा, गौरवरत्न बज्राचार्य तुलाधर, गौतमरत्न बज्राचार्य तुलाधर, इन्दु पन्त, जुजुकाजी श्रेष्ठ, ज्योति खड्का श्रेष्ठ, केशव राज खनाल, किशोर नकर्मी, किशोर रानाभाट, कृष्ण लामा, लालकाजी लामा, लिलाधर के.सी., महेश आचार्य, माइला दोङ, मोहन शिवाकोटी, नरबहादुर बि.के., नारदमणि हार्तम्छाली, नेमबहादुर तामाङ, ओमप्रकाश गुरुङ, प्रदिप अधिकारी, प्रकाश मिजार, प्रमिला बज्राचार्य, प्रितम थापा, रविन्द्र मानन्धर, राजप्रकाशमान तुलाधर, राजन महर्जन, राजकुमार राना मगर, रामबहादुर ठाडा, रमेशनाथ खनाल, रिनु श्रेष्ठ, रोशन खत्री, रूवी महर्जन, रुद्रबहादुर पुन, रूपक राई, रुशा बज्राचार्य, सम्झना राजभण्डारी, संगी श्रेष्ठ, संजय वान्तवा, सरुना देवी महर्जन, सौरगंगा दर्शनधारी, श्रेया हाडा श्रेष्ठ, सिकन्दर चौधरी, सुवास ‘क्षितिज’ श्रेष्ठ, सुदन श्रेष्ठ, सुमन श्रेष्ठ, सुरक्षा वाग्ले, सुरेम देशार, सुश्मा श्रेष्ठ, सुस्मिता कुँवर, क्षितेन शेर्पा, छिरिङ फोन्जो गुरुङ, उसिना महर्जन लगायतका कलाकार सहभागी छन् । यस्तै, ‘सिर्जनावृत्ति’ कला प्रदर्शनीमा उद्धव रिमाल (समसामयिक चित्रकला), विनय रिमाल (प्रतिस्थापन कला), रिसिता खत्री (समसामयिक मूर्तिकला), नम्रता सिंह (लोककला) र राजप्रकाश मान तुलाधर (परम्परागत चित्रकला) ले सहभागिता जनाएका छन् । ‘हिमालयको रहस्य’ प्रदर्शनीको संयोजन कलाकार केशव राज खनाल र क्युरेटिङ प्राज्ञसभा सदस्य प्रदीप शाक्यले गरेका छन् ।  ‘कोप २८’ अर्थात २८औँ विश्व जलवायु सम्मेलन २०२३ नोभेम्बर ३० देखि १२ डिसेम्बरसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न भएको थियो । संयुक्त राष्ट्र सङ्घको आयोजनामा भएको सो सम्मेलनमा नेपालको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए । सम्मेलनबाट फर्किएपश्चात् प्रधानमन्त्रीले विमानस्थलमा पत्रकारसँग जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप २८’  प्रभावकारी भएको  र नेपालले यस पटक आफ्ना एजेन्डा प्रभावकारी र वस्तुनिष्ठ ढङ्गले प्रस्तुत गरिएको बताएका थिए । यस्तै, उनले जलवायु परिवर्तनको असर भोगेको नेपालले त्यसबापतको क्षतिपूर्ति पाउनुपर्ने र त्यसको प्राथमिकता प्राप्त देशको सूचीमा नेपाललाई समावेश गरिएको जानकारी संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिया गुटेरसले आफूलाई गराएको बताएका थिए । यस सम्मेलनमा नेपालले आफ्नो अधिकारको बारेमा प्रष्ट रूपमा आफ्नो धारणा राखेको थियो । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरस २०८० कार्तिक १२ गते नेपालको चारदिने भ्रमणका लागि आएका थिए । यसक्रममा उनले सगरमाथा आधार शिविर, अन्नपूर्ण बेसक्याम्पलगायतका क्षेत्रको भ्रमण गर्दै नेपाललगायतका देशको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गम्भीर असर गरेको बताएका थिए । उनले भनेका थिए, ‘अहिले म हिमालको काखमा छु, यहाँ व्यापक रूपमा हिमालहरू पग्लिएका छन् ।’ महासचिव गुटेरसको नेपाल भ्रमणले विश्वमञ्चमा नेपाललगायतका देशको हिमाली क्षेत्रमा परेको असर र प्रभावबारे आवाज प्रभावकारी रूपमा उठेको थियो । यसअघि वि.सं २०६६ मंसिर १९ गते सगरमाथा क्षेत्रको आधार शिविरमा औपचारिक रूपमा मन्त्रिपरिषद् बैठक गरेर १० बुँदे घोषणापत्र जारी गर्दै नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरका बारेमा विश्वको ध्यानाकर्षण गरेको थियो । यस बैठकपश्चात् (मङ्सिर २२ गते–पुस ३ गते सम्म) डेनमार्कको कोपनहेगनमा सम्पन्न ‘कोप १५’ मा नेपाललगायतका पर्वतीय देशका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको विषयलाई औपचारिक रूपमा उठाएको थियो । माथि उल्लेख गरिएका विविध विषयलाई उठान गरेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले वैशाख २ गतेबाट ७ गतेसम्म ‘हिमालयको रहस्य’ चित्रकला प्रदर्शनी गरेको जनाएको छ । कलाकारले आफ्ना कलाकृतिमार्फत जलवायु परिवर्तन र यसले नेपालका हिमालमा पारेको असरलाई उठाएका छन् । वैशाख ७ गतेसम्म चल्ने यस प्रदर्शनीमा ६९ कलाकारका कलाकृति समावेश गरिएको छ ।  

गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा खतिवडा नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा श्रीकान्त खतिवडा नियुक्त भएका छन् । तनहुँका एमालेनिकट खतिवडालाई मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका छन् । उनी गत चैत २७ गतेकै मन्त्रिपरिषद् निर्णयअनुसार नियुक्त भएका थिए । मुख्यमन्त्री खगराजले सदस्यमा माओवादी कोटाबाट फेरि पनि सुवास अधिकारीलाई नै नियुक्त गरेका छन् । सरकार फेरबदल हुँदा अधिकारी चौथोपटक सदस्य पदमा नियुक्त भएका हुन् ।

प्रज्ञा स्मृति प्रतिष्ठानले बागमती प्रदेश पालिकास्तरीय भलिबल प्रतियोगिता गर्ने

काठमाडौं । बागमती प्रदेश पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा यही बैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बाग्मती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना हुने भएको हो । प्रतियोगिताको सह-आयोजककमा ललितपुर जिल्ला खेलकुद विकास समिति रहेकाे छ । प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको आयोजक कमिटीकी संयोजक डोल्मा माया गोलेले जानकारी दिइन्। प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाल माविको प्रांगणमा हुने छ। प्रतियोगितामा बागमती प्रदेशमा रहेका ११९ पालिकाका ८० भन्दा बढी टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ । यस प्रतियोगिता नेपालमा भलिबलको खेलको विकासमा सहयोगी हुने आयोजकको अपेक्षा गरिएको छ ।

प्रहरीका १९ जना डीएसपीहरुको पदस्थापन, कसको जिम्मेवारी कहाँ ?

काठमाडौँ । प्रहरीको जनपदतर्फ इन्स्पेक्टरबाट डीएसपीमा बढुवा नियुक्ति भएका १९ जनालाई पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले उनीहरूलाई पदस्थापन गर्ने निर्णय गरेका हुन् ।  पदस्थापन भएका जनार्दन घिमिरेलाई साइबर ब्युरोमा काज सरुवा गरिएको छ । भिषणबाबु राईलाई अख्तियार र रूपकबहादुर खड्कालाई प्रहरी प्रधान कार्यालय स्थित कानुन शाखामा काज सरुवा गरिएको छ ।

सुनको भाउले रेकर्ड राख्ने क्रम जारी, आज १७ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नँया नयाँ रेकर्ड कामय राख्ने क्रम जारी छ । प्रतितोला १७ सय रुपैयाँले भाउ बढेर आज पनि रेकर्ड राखेको छ  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार २सय निर्धारण भएको छ । सोमबार छापावाला सुन प्रतितोला शुक्रबार प्रतितोला १ लाख ३७ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला र एक लाख ३८ हजार ५०० मा निर्धारण भएको हो । तेजाबी सुन सोमबार भने एक लाख ३६ हजार ८ सयमा कारोबार भएको थियो। यसैगरी, चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार ७ सय ५०निर्धारण भएको छ।

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिन लागेका छन्। विश्वासको मत लिने प्रयोजनका लागि मधेश प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुखको कार्यालयले जनाएको छ ।  केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । सरकारबाट बाहिरिएपछि कांग्रेसले गत चैत ९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । मुख्यमन्त्री यादवले १५ महिनाको अवधिमा चौथो पटक विश्वासको मत लिन लागेका हुन् । १०७ सदस्यीय मधेश प्रदेशमा बहुमतका लागि ५४ सदस्यको समर्थन आवश्यक छ ।

पर्यटन बोर्डमा उपाध्यक्षको जिम्मेवारी राम प्रसाद सापकोटा ‘कमल’लाई

काठमाडौं ।नेपाल पर्यटन बोर्डको उपाध्यक्षको जिम्मेवारी रामप्रसाद सापकोटा कमललाई दिइएको छ ।सोमबार बसेको नेपाल पर्यटन बोर्डको ३६८ औं बैठकले केही समय अघि मात्र बोर्ड सदस्य चयन भएका सापकोटालाई सो पदमा नियुक्त गरेको हो । लामो समय देखि पर्यटन क्षेत्रमा सकृय रुपले व्यवसायी गर्दै आएका उनी, गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटोफ)को अध्यक्ष समेत बनेका थिए । उनलाई पाँच वर्षका लागि सो पदमा नियुक्ति गरिएको छ । केही समय अघि चन्द्र रिजालको कार्यकाल सकिएपछि उक्त पद रिक्त भएको थियो । यसैगरी सो अवसरमा नवनियुक्त अन्य बोर्ड सदस्यद्वय ऋषिराम भण्डारी र राजेन्द्र लामालाई पनि प्रदर्शनी मार्गस्थित नेपाल पर्यटन बोर्डको कार्यालयमा स्वागत गरिएको थियो ।

एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को तयारी तिब्र

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी तीव्र पारेको छ ।महाधिवेशन यही वैशाख ८ र ९ गते लतिपुरको गोदावरी हुने तय गरीएको छ । नेकपाको ७५औँ स्थापना दिवसका अवसरमा विशेष कार्यक्रमसहित महाधिवेशन प्रतिनिधि परिषद् बैठक हुन लागेको हो । सो कार्यक्रमका लागि उपमहासचिव विष्णु रिमालका संयोजकत्वमा गठित व्यवस्था समितिले बैठक र छलफल गरेर व्यवस्थापकीय तयारी गरेको छभने पार्टीको सचिवालयले बैठकले सोका लागि साङ्गठनिक, विधान र राजनीतिक प्रतिवेदनसँग सम्बन्धित काम गरिरहेको छ । समितिको पहिलो बैठकमा पार्टीका महासचिव शङ्कर पोखरेलले तयारीका काम चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ । व्यवस्थापन समितिमा नेताहरु लालबाबु पण्डित, काशिनाथ अधिकारी, डा राजन भट्टराई, राजेन्द्र गौतम, विनोद श्रेष्ठ, माधव ढुङ्गेल, डा भीष्म अधिकारी, गगन विष्ट, विनोद पाण्डे, लोकबहादुर भण्डारी, अश्गर अली, महेन्द्र श्रेष्ठ र राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन् ।

ई.अर्याल र डा. गुरुङ डिआईजीपी विशेष पदमा बढुवा सिफारिस

काठमाडौँ। नेपाल प्रहरीको प्राविधिक समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय ई.नवीन्द्र अर्याल र डा.देउती गुरुङ प्रहरी नायव महानिरीक्षक (डिआईजीपी) पदमा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले नेपाल प्रहरीको साइबर ब्युरो प्राविधिक सहायता शाखा काठमाडौँमा कार्यरत ई.अर्याल र केनाइन कार्यालय महाराजगञ्जमा कार्यरत डा. गुरुङलाई विशेष पदमा बढुवा सिफारिस गरेको हो।  उनीहरूलाई बढुवा गर्न २२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फ डिआईजीपीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको थियो। पदावधिका कारण अवकाश हुन लागेसँगै विशेष पद सिर्जना गरेर थमौती गरिएको थियो ।

जोशी र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ दुईजनालाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समिति सचिवालयले उमेर हदका कारण अवकाश भई रिक्त हुने दुई प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि बढुवा गर्न सिफारिस गरेको हो।  बढुवाका लागि सिफारिस हुनेमा उमेशराज जोशी र भिमप्रसाद ढकाल छन्।  यही वैशाख ५ गतेबाट एआईजी सन्दीप भण्डारी र ७ गते मिरा चौधरी उमेर हदका कारण अवकाशमा जाने भएकाले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरिएको हो । 

गण्डकीमा आज सार्वजनिक बिदा

कास्की। गण्डकी प्रदेश सरकारले यही वैशाख ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।  चैत्र शुक्ल अष्टमी ९चैते दसैँ० का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो । मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले जानकारी दिए। 

यस्तो हुनेछ आजको मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको । आज बिहान सूर्योदय ५ बजेर ३८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २९ मिनेटमा हुनेछ ।