मतदान अधिकृतले के-के गर्न पाउँछन ?

काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो हुनु स्वाभाविक हो । त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ ।

आयोगले तय गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२’  अनुसार मतदान अधिकृतमा नियुक्त भएपछि निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा भाग लिन, निर्वाचन सामग्री रुजु गरी बुझिलिनुपर्नेछ ।

अधिकृतले मतदाता परिचयपत्र तथा मतदान केन्द्रसम्बन्धी अन्य निर्वाचन सामग्री रुजु लिई बुझिलिनेजस्ता काम गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । आफूलाई तोकिएको मतदान केन्द्रमा खटाइएका सहायक मतदान अधिकृत, अन्य कर्मचारी तथा सुरक्षाकर्मीसँग समन्वय गर्ने, मतदान केन्द्रमा पुग्नुपर्नेछ ।

तोकिएको समयमा पुगी मतदान केन्द्र निर्माण गर्ने, सुरक्षा, भौगोलिक कठिनाइ तथा अन्य कुनै मनासिव कारणले तोकिएको मतदान केन्द्रमा निर्वाचन गराउन नसकिने भई तत्काल अर्को मतदान केन्द्र स्थापना गर्नुपर्ने अवस्था भएमा त्यस्तो जानकारी तुरुन्त निर्वाचन अधिकृतलाई गराउने प्रबन्ध निर्देशिकामा गरिएको छ ।

मतदान केन्द्रमा गएर मतदान हुने दिनभन्दा अगावै मतदाता परिचयपत्र वितरण गर्नुपर्नेछ । मतदान केन्द्रमा खटाइएका कर्मचारी तथा स्वयंसेवकलाई कामको बाँडफाँट गरी मतदानको काममा लगाउनुपर्नेछ ।

मतदातालाई मतपत्र दिनुअघि मतपत्रमा हस्ताक्षर गर्ने, मतदान कार्यलाई प्रभावकारी तरिकाले अघि बढाउन चनाखो भई मतदान कार्यको निरन्तर अनुमगन गर्ने, मतदानको दिन मतदान कार्यको गतिविधिबारे समयसमयमा निर्वाचन अधिकृतलाई जानकारी गराउने व्यवस्था निर्देशिकाले गरेको छ ।

मतदानको दिन मतदान केन्द्रमा आउने विभिन्न घुम्ती टोली, पर्यवेक्षक, पत्रकार, अनुमगनकर्ता र सुरक्षाकर्मीलाई मतदानको अवस्थाका बारेमा जानकारी गराउने, निर्वाचन आचारसंहिताको पूर्ण रूपमा परिपालना गराउने, कुनै गैरकानुनी गतिविधि हुन नदिनेजस्ता काम मतदान अधिकृतले गर्नुपर्नेछ ।

मतदान हुनुअघि तथा मतदान सम्पन्न भएपछि मुचुल्का गराई शिलबन्दी मतपेटिका तथा अन्य निर्वाचन सामग्री सुरक्षित तरिकाले निर्वाचन अधिकृतलाई बुझाउनुपर्नेछ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिमको अधिकार प्रयोग गर्ने तथा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउनु मतदान अधिकृतको कर्तव्य हुने निर्देशिकामा उल्लेख छ ।

विप्लवले गरे मिराज ढुंगानासँग चार बुँदे सहमति

काठमाडौं — नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादी र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच बिहीबार कार्यगत एकताको सहमति भएको छ। दुवै नेताबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। सहमतिका मुख्य बुँदाहरूः सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, जेनजी विद्रोहका मागहरू पूरा गर्न संघर्ष गर्ने, आन्दोलन तथा जनचाहनाअनुसार संविधान संशोधन र स्थिर सरकार गठन गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन तथा राज्यको अग्रगामी पुनर्संरचना गर्न संघर्ष गर्ने।

कुलमानको पार्टीबाट को को बाहिरिए ?

काठमाडौं — रास्वपासँगको एकता भंग भएपछि ब्युँताइएको उज्यालो नेपाल पार्टीमा  केन्द्रीय समितिका करिब एक दर्जन नेताहरू फर्कन इन्कार गरेका छन्। निर्वाचन आयोगमा दर्ता हुँदा अनूप उपाध्यायको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय समिति पेस गरिएको थियो। एकता भंगपछि कुलमान घिसिङलाई अध्यक्ष बनाएर पार्टी पुनर्जीवित गरिए पनि डा. तारा जोशी, डा. विशाल भण्डारी, डा. अभिषेक सिंह, डा. सागर ढकाल, डा. घनश्याम पाण्डे, निर्देश सिलवाल, सञ्जीव भट्टराई र रिमा विश्वकर्मा लगायतका नेताहरू उज्यालो नेपालमा नफर्कने निर्णय गरेका छन्। डा. विशाल भण्डारीले वैकल्पिक शक्तिहरू एक ठाउँमा नआए अस्थिरता कायम रहने बताएका छन्।

शान्ति, सुशासन र समृद्ध नेपालको सपना साकार पार्न सबै मिलेर अघि बढ्नुपर्छ: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघी तथा मकर संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। माघ १ गते जारी गर्नुभएको विज्ञप्तिमा उहाँले थारु समुदायको मुख्य पर्व माघी र समस्त हिन्दू, मगर, छन्त्याललगायत विभिन्न समुदायले हर्षोल्लासका साथ मनाउने माघे संक्रान्तिले नेपाली समाजको विविधताभित्रको एकता झल्काउने उल्लेख गर्नुभयो।   प्रचण्डले माघी र माघे संक्रान्ति नेपालका बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानका जीवन्त प्रतीक भएको बताउनु भयो। यी पर्वहरूले आपसी सम्मान, भाइचारा र सामाजिक सद्भावको सन्देश बोकेको उल्लेख गर्नुभयो। उत्तरायणको सुरुवातसँगै दिन लम्बिँदै र रात छोटिँदै जाने जस्तै राष्ट्रिय जीवनमा पनि अन्धकार हटेर उज्यालो, प्रगति र समृद्धिको नयाँ युग सुरु होस् भन्ने कामना गर्नुभयो। विज्ञप्तिमा उहाँले आज तराईदेखि पहाड र हिमालसम्मका नेपालीहरूले परिवारसँगै बसेर खिचडी, घिउ, चाकु, तरकारीलगायत परिकार साटासाट गर्दै सुख–दुःख बाँडेर पर्व मनाइरहनुभएको बताउनु भयो। यस्ता आत्मीयता, एकता र सामूहिकताले समाजलाई थप सुदृढ र बलियो बनाउने उहाँको भनाइ छ। यो अवसरले अझ बढी मेहनत गर्न, एकजुट हुन र राष्ट्र निर्माणको महान् जिम्मेवारी इमानदारीपूर्वक वहन गर्न प्रेरणा दिने प्रचण्डले उल्लेख गर्नुभयो। उपलब्धिहरूको रक्षा गर्दै संविधानको पूर्ण कार्यान्वयन, राष्ट्रिय एकता, शान्ति, सुशासन र समृद्ध नेपालको सपना साकार पार्न सबै मिलेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

मनास्लु क्षेत्रमा ड्रोनमार्फत निगरानी

गोरखा । मनास्लु क्षेत्रमा बढ्दो आगलागी नियन्त्रण गर्न ड्रोनमार्फत निगरानी सुरु गरिएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले ड्रोनमार्फत निगरानी सुरु गरेको हो ।  चुमनुब्री गाउँपालिका–३ स्थित नाक्चेत, घट्टेखोलालगायत क्षेत्रमा वन डढेलो बढेपछि ड्रोनमार्फत निगरानी सुरु गरिएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका फिल्ड अफिसर भुवन ओझाले जानकारी दिए । डढेलोले संरक्षण क्षेत्रभित्रका वन्यजन्तु, जैविक विविधता, मानव स्वास्थ्य तथा वातावरणमै गम्भीर असर पुर्‍याउने भएकाले नियन्त्रण गर्न जरुरी रहेको उनले बताए ।  “केही समयदेखि सिर्दिबासलगायत आसपासको क्षेत्रमा दैनिकजसो आगलागीका घटना बढिरहेका छन् । त्यसैले हामीले ड्रोनको प्रयोग गरी निगरानी सुरु गरेका हौँ,” उनले भने, “यहाँ एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न तीनचार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । ड्रोनको प्रयोग गरेपछि एकठाउँमा बसेर आगलागी भएको क्षेत्र हेर्न मिल्ने भयो, त्यहाँको अवस्था बुझ्न पनि सजिलो भयो ।”  डढेलो लगाउने व्यक्ति पहिचान गर्ने तथा वन क्षेत्रमा आगो लगाउने क्रम नियन्त्रणमा ल्याउने उद्देश्यसहित ड्रोनमार्फत निग्रानी सुरु गरेको ओझाले बताए । कार्यालयले ड्रोनको प्रयोग सुरु गरेपछि स्थानीयहरूसमेत सचेत भएका र आगलागी न्यूनीकरण भएको उनको भनाइ छ ।  ड्रोनको सहायताले हालसम्म दुईवटा आगलागीको घटना नियन्त्रण गरिसकेको एमक्यापका फिल्ड अफिसर ओझाले जानकारी दिए । 

न्यूनतम तापक्रम २.३ डिग्रीमा झरेसँगै काठमाडौँमा यस वर्षकै उच्च चिसो

काठमाडौँ । काठमाडौँ उपत्यकामा पुसको अन्तिम दिन यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ। यसअघि पुस २५ गते न्यूनतम तापक्रम २.४ डिग्री पुगेको थियो। पुसको दोस्रो सातादेखि नै निरन्तर ओरालो लागेको तापक्रममा थप गिरावट आएसँगै उपत्यकाबासीले अत्यधिक चिसो महसुस गरिरहेका छन्। तापक्रम घटेसँगै काठमाडौँका चन्द्रागिरि लगायतका क्षेत्रमा बिहानपख तुसारो परेर जमिन सेताम्मे देखिन थालेको छ। दिउँसोको समयमा घाम लाग्दा केही राहत मिले पनि बिहान र बेलुकाको समयमा चिसोका कारण जनजीवन कष्टकर बनेको छ। मौसमविद्का अनुसार बढ्दो वायु प्रदूषणले पनि चिसोको प्रभावलाई थप बढाएको छ। विभागको अभिलेख हेर्दा पुसको सुरुवातदेखि नै तापक्रम क्रमिक रूपमा घट्दै गएको देखिन्छ। काठमाडौँ मात्र होइन, देशका अन्य भागमा पनि चिसोको प्रकोप बढ्दो छ। विभागका अनुसार जुम्लामा तापक्रम माइनस ५.९ डिग्री पुगेको छ भने जिरीमा माइनस १.६ डिग्री रेकर्ड गरिएको छ। त्यस्तै दिपायलमा २.२, जोमसोममा १.५ र सिमरामा ५.९ डिग्री न्यूनतम तापक्रम रहेको छ। हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी पहाडी तथा हिमाली क्षेत्रको मौसम सफा रहने सम्भावना छ। तराईका जिल्लाहरूमा भने बिहानपख लाग्ने बाक्लो हुस्सु र कुहिरोले गर्दा जनजीवन र यातायात क्षेत्र बढी प्रभावित भएको छ। हुस्सुका कारण हवाई र सडक यातायातका साथै स्वास्थ्य र पर्यटन क्षेत्रमा समेत प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। चिसो अझै केही दिन कायमै रहने भएकाले अद्यावधिक मौसमी सूचनाबारे जानकारी लिन विभागले सबैमा अनुरोध गरेको छ।

विभाजित कांग्रेस: वैधानिकतामा निर्वाचन आयोगको कठिन परीक्षा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व अब संगठनात्मक विवादको तह पार गर्दै वैधानिकता र अस्तित्वको प्रश्नमा प्रवेश गरेको छ । संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षले आ–आफ्ना निर्णय निर्वाचन आयोगमा बुझाएसँगै कांग्रेस औपचारिक रूपमा दुई शक्ति केन्द्रमा विभाजित देखिएको छ । संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गरेको निर्णयलाई वैधानिक ठहर गर्दै आयोगमा जानकारी गराएको छ । १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति नै एकमात्र वैधानिक निकाय भएको संस्थापन पक्षको दाबी छ । तर, विशेष महाधिवेशन पक्षले १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय समिति भङ्ग भइसकेको दाबी गर्दै नयाँ नेतृत्व चयन भइसकेको घोषणा गरेको छ । भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति चयन भएको घोषणा गर्दै नयाँ केन्द्रीय समिति गठन गरिएको जानकारी निर्वाचन आयोगमा बुझाइएको छ । अब के हाेला ? दुवै पक्षले आफूलाई वैधानिक दाबी गरेपछि अब कांग्रेसको आधिकारिक नेतृत्व, पार्टीको नाम, झन्डा र रुख निर्वाचन चिह्न कसको भन्ने प्रश्न निर्वाचन आयोगको निर्णयमा अड्किएको छ । आयोगले कुन पक्षलाई आधिकारिक मान्छ भन्ने निर्णयले कांग्रेस मात्र होइन, आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको समीकरणसमेत प्रभावित हुने देखिन्छ । विशेष महाधिवेशन पक्षले पार्टीभित्र लामो समयदेखि जमेको असन्तोष, ‘जेनजी आन्दोलन’ र संगठनात्मक जडताको परिणामस्वरूप विशेष महाधिवेशन अपरिहार्य भएको तर्क गरेको छ । उनीहरू कांग्रेसलाई रूपान्तरणको नयाँ चरणमा लैजाने दाबी गर्छन् । उता, संस्थापन पक्षले यसलाई पार्टी कब्जा गर्ने असंवैधानिक प्रयासको संज्ञा दिँदै विधान विपरीत गरिएका सबै निर्णय अमान्य हुने चेतावनी दिएको छ । संकट समाधानका लागि सभापति देउवा, विशेष महाधिवेशन पक्ष र डा. शेखर कोइराला पक्षबीच भएको त्रिपक्षीय संवाद सहमतिविहीन रूपमा टुंगिएपछि तत्काल निकासको सम्भावना कमजोर देखिएको छ । नेपाली कांग्रेस अहिले नेतृत्व, वैधानिकता र राजनीतिक भविष्यको निर्णायक मोडमा उभिएको छ । निर्वाचन आयोगको फैसला र आगामी निर्वाचन परिणामले कांग्रेस एकीकृत रूपमा अघि बढ्ने कि स्थायी विभाजनतर्फ जाने भन्ने स्पष्ट गर्नेछ ।

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना बढाउन मद्दत पुग्छ: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले भनेका छन्, “माघे सङ्क्रान्ति जस्ता पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्‍याउनाका साथै सम्पूर्ण नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।” माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्लासपूर्वक मनाउने गर्दछन् । विशेष गरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँछन् । यस्तै घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकारहरू खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहिआएको छ । राष्ट्रपति पौडेलले आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजाअर्चना गर्ने परम्परा रहिआएको पनि उल्लेख गरेका छन् । विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वहरूले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ । शुभकामना सन्देशमा भनिएको छ, “माघे सङ्क्रान्ति एवम् माघी पर्वबाट संस्कृतिको संरक्षण गर्दै सभ्य‚ सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।”

प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन हुने

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् ।   लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मंसिर ९ गतेदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मंगलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो । संघीय सरकारअन्तर्गतको गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा हरेक वर्ष प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै आएको छ । यस वर्षको प्रदेश सुरक्षा गोष्ठीमा आन्तरिक सुरक्षाका साथै निर्वाचन लक्षित सुरक्षाबारे बढी केन्द्रित भएको जनाइएको छ ।    मंगलबार जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले तोकिएको मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने बताए । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गराउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।   फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयमा ल्याएको छ ।  निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी कार्यविधि, २०८२ स्वीकृति भई कार्यान्वयनको चरणमा रहेको छ ।   सोहीअनुसार नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनोटको प्रक्रिया अघि बढेको छ । यसपटकको निर्वाचनमा ८८ हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी र ३४ हजारको हाराहारीमा सशस्त्र प्रहरी खटिँदैछन् ।   नेपाल प्रहरीले दुई हजार ८४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ वटा मतदानस्थललाई संवेदनशील र तीन हजार ६८० मतदानस्थललाई अति संवेदशनील मतदानस्थलका रूपमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध गरिएको जनाएको छ । 

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ ।      माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।  आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।  तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।  बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए ।  उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेद चिकित्सकको भनाइ छ ।  तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रुपमा समेत प्रयोग गरिन्छ ।  आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।  सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु शय्यामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको बताइन्छ । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ । माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।  यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस १९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजाआराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ । माघे संक्रान्तिका अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो ।

निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मङ्सिर ९ गतेदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो । सङ्घीय सरकारअन्तर्गतको गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा हरेक वर्ष प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै आएको छ । यस वर्षको प्रदेश सुरक्षा गोष्ठीमा आन्तरिक सुरक्षाका साथै निर्वाचन लक्षित सुरक्षाबारे बढी केन्द्रित भएको जनाइएको छ । मङ्गलबार जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले तोकिएको मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने बताए । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयनमा ल्याएको छ । यस्तै, निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी कार्यविधि, २०८२ स्वीकृति भई कार्यान्वयनको चरणमा रहेको छ । सोहीअनुसार नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनोटको प्रक्रिया अघि बढेको छ । यसपटकको निर्वाचनमा ८८ हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी र ३४ हजारको हाराहारीमा सशस्त्र प्रहरी खटिँदै छन् । नेपाल प्रहरीले दुई हजार ८४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ वटा मतदानस्थललाई संवेदनशील र तीन हजार ६८० मतदानस्थललाई अति संवेदशनील मतदानस्थलका रूपमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध गरिएको जनाएको छ ।

भारतको झारखण्डमा हात्तीको वितण्डा, नौ दिनमा लियो २० जनाको ज्यान

काठमाडौं । भारतको झारखण्ड राज्यमा जंगली हात्तीको आक्रमणमा परी पछिल्लो नौ दिनभित्र २० जनाको ज्यान लिएको छ । आक्रमणमा ज्यान गुमाउनेहरूमा बालबालिका र वृद्धवृद्धा छन् । एकजना माहुतेको पनि मृत्यु भएको छ । १५ जना घाइते भएका बताइएको छ ।  समाचार एजेन्सी एएफपीका अनुसार, यो हात्ती यही जनवरीदेखि नै हिंस्रक बनेको छ । जसले गर्दा सिंहभूम जिल्लावासीमा त्रास सिर्जना गरेको छ ।  वन विभागका कर्मचारीहरू यस्तो हात्तीको खोजी गरिरहेका बताएका छन् । वन विभागका अधिकारी आदित्य नारायणले भनेका छन्, “हामी उक्त हात्तीलाई खोजेर उद्धार गर्ने प्रयास गरिरहेका छौँ ।” हात्तीलाई खोज्नका लागि ड्रोनको प्रयोग भइरहेको भएपनि अहिलेसम्म अधिकारीहरूले यसलाई नियन्त्रणमा लिन नसकेको बताइएको छ । संसदीय तथ्यांकअनुसार, सन् २०२३–२४ को अवधिमा भारतमा हात्तीको आक्रमणमा ६२९ जनाले ज्यान गुमाएका थिए ।   

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ: उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिने विचार व्यक्त गरेकी छन् । माघी पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले देशका मौलिक संस्कृति जोगाउने कर्तव्य सबैको भएको उल्लेख गरेकी छन् । उपाध्यक्ष घिमिरेले भनिन् छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त सुन्दर मुलुक हो । नेपालको संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै सबै जातजाति, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्थाहरू गरेको छ, त्यसैले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृतिहरू हाम्रा मौलिक विशेषता हुन् ।” सूर्य धनु राशिलाई छाडेर मकर राशिमा प्रवेश गरेको तिथिलाई आधार मानेर सम्पूर्ण नेपालीहरूले नै आ–आफ्नो मौलिकतामा धूमधामका साथ मनाउने माघी पर्वको माध्यमबाट नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि हुँदै जाने कुरामा विश्वस्त रहेको उनको भनाइ छ । उपाध्यक्ष घिमिरेले शुभकामना सन्देश मार्फत भनिन्, “यस पर्वले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा गर्दै सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् ।”

कति पुग्यो अमेरिकी डलरको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६४ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८० रुपैयाँ ६९ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४१ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ०८ पैसा र बिक्रीदर नौ रुपैयाँ १२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६८ पैसा र बिक्रीदर २० रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६१ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४२ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७७ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५ रुपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ४५ पैसा निर्धारण गरेको छ ।  बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८४ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।                 राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ ।

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्‍याउँछ: अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक सद्भाव एक–अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । उनले थारु समुदायको माघी पर्व तथा मगर समुदायलगायत आ–आफ्नो ऐतिहासिक मान्यता र संस्कृतिअनुसार विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्तिको सुखद अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् । अध्यक्ष दाहालले यस पर्वले नेपालको आदिम समाज, मानव सभ्यताको ऐतिहासिक विकास प्रक्रिया र श्रम संस्कृतिप्रतिको सम्मानलाई उजागर गरेको पनि उल्लेख गरेका छन् । उनले विविधताबिच एकता कायम गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । जारी सन्देशमा भनिएको छ, “नेपाली जनताको ठुलो त्याग, बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा रहेको हाम्रो संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको राष्ट्रिय एकतालाई आत्मसात् गरेको छ, हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ, यही विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ ।”

नागरिक उन्मुक्ति पार्टी नेपाली कम्युनिष्ट पार्टीमा गाभिएको निर्वाचन आयोगको निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) आपसमा एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी गठन भएको छ । निर्वाचन आयोगले उक्त एकीकरणलाई मान्यता दिँदै राजनीतिक दल ऐन, २०७३ को दफा १०(४) बमोजिम नयाँ दल दर्ता गरेको छ । निर्वाचन आयोगका अनुसार माथि उल्लेखित चार दलले आपसमा एकीकरण गरी नयाँ पार्टी कायम गर्न आयोगसमक्ष निवेदन दिएका थिए । सो निवेदनका आधारमा आयोगले २०८२ असोज २५ गते एकीकरणलाई स्वीकृति प्रदान गर्दै नयाँ दल दर्ता गर्ने निर्णय गरेको हो । आयोगको निर्णयसँगै यसअघि आयोगमा दर्ता रहेको नागरिक उन्मुक्ति पार्टी लाई नेपाल कम्युनिष्ट पार्टीसँग गाभिएको मानिएको छ । साथै, नागरिक उन्मुक्ति पार्टी नामक राजनीतिक दललाई खारेज गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले संघीय संसद सचिवालयलाई उक्त निर्णयबारे जानकारी गराउँदै आवश्यक व्यवस्था गर्न अनुरोधसमेत गरेको छ ।