माघीको रौनक: थारू बस्तीमा ढिक्री बनाउने चटारो
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन् । माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्री बनाउने चटारो परेको हो ।
जानकी मात्र होइन, तुलसीपुर–१० बनकाउकी विझौनी थारू लगायत यतिबेला दाङका थारू बस्तीका हरेक घरमा महिलाहरू ढिक्री बनाउन भ्याइनभ्याइ अवस्थामा छन्। थारू समुदायले हरेक चाडपर्वमा ढिक्रीलाई मुख्य परिकारका रूपमा लिने गर्छन्, जसलाई विशेषगरी सुँगुरको मासु, माछा र घोँगीसँग स्वाद लिई खाने प्रचलन छ।
चामलको पीठोबाट तयार पारिने ढिक्री बनाउने आफ्नै मौलिक तरिका छ। चामलको पीठोलाई पानीले मुछेर विभिन्न आकार दिने गरिन्छ। माघीका लागि विशेषगरी लाम्चो आकारको ढिक्री बनाइने भए पनि दसैँमा गोलो र तिहारमा दियो जस्तो चेप्टो आकार दिने परम्परा छ। यसरी तयार पारिएको पीठोको आकारलाई पानीको बाफमा करिब आधा घण्टासम्म उसिनेपछि खानका लागि योग्य हुन्छ।
स्वास्थ्यका दृष्टिकोणले पनि ढिक्रीलाई निकै उत्तम परिकार मानिन्छ। तेल वा चिल्लो पदार्थ र चिनीको प्रयोग नहुने भएकाले यसले शरीरलाई हानि गर्दैन। उसिनेर तयार पारिने यो शुद्ध परिकार खाँदा मानिसको आयु बढ्ने पौराणिक मान्यता समेत थारू समुदायमा रहिआएको छ। माघी नजिकिँदै गर्दा गाउँघरमा ढिक्रीको बास्ना चल्न थालिसकेको छ भने यसले समुदायमा उत्सवको रौनक थपिदिएको छ।
रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने
रौतहट। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरीका लागि आवेदन लिन सुरु गरेको छ । आइतबारसम्ममा १५२ महिलासहित ९५२ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदिप बस्यालले जानकारी दिएका छन् । प्रनाउ बस्यालका अनुसार नेपाल प्रहरीतर्फ तीन हजार ४६६ र सशस्त्र प्रहरी बल नेपाल तर्फ ३८५ निर्वाचन प्रहरी भर्ना हुनेछन् । आवेदन दिएका आवेदकहरूका लागि आगामी माघ ४ गते सम्पर्क मिति तोकिएको छ भने माघ ५ गतेदेखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन गरिने जनाइएको छ । छनोट भएका उम्मेदवारहरूको अन्तिम नतिजा माघ १२ गते प्रकाशित गरिने र निर्वाचन प्रहरीले नियुक्ति भएको दिन देखि जम्मा ४० दिनको सेवा सुविधा प्राप्त गर्ने जनाइएको छ ।
ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै पदयात्रा
सुनसरी । ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ को अवसरमा धरानस्थित विजयपुरगढीबाट धनकुटाको साँगुरीगढीसम्म ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै नेपाली सेनाले आइतबार पदयात्रा सुरु गरेको छ । ‘निशान पदयात्रा’ नाम दिइएको यस यात्राले ऐतिहासिक गढी र किल्लाको महत्त्व स्मरण गर्दै पूर्वी नेपालको एकीकरण अभियान उजागर गर्ने जनाइएको छ । ऐतिहासिक गढीको सम्बन्ध र भूमिकालाई जोड्दै आयोजना गरिएको यस कार्यक्रम महत्त्वपूर्ण रहेको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र बिक्रम बेघाले बताए । “नेपाली सेनाले आयोजना गर्दै आएको यस कार्यक्रममा यस वर्ष धरान उपमहानगरपालिकाले पनि सहकार्य गर्न पाउँदा हामी खुसी छौँ”, उनले भने, “इतिहासमा हाम्रा अग्रजले कहाँ कसरी लडे, कसरी किल्ला खडा गरे र ती किल्लाको महत्त्व तथा भूमिका के थियो भन्ने कुरा पुनः स्मरण गर्ने अवसर यो कार्यक्रमले दिएको छ ।” संक्षिप्त इतिहास धरानस्थित विजयपुरगढी पूर्वी नेपालको रणनीतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण गढी मानिन्छ । गोरखाका राजा पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गर्ने क्रममा विभिन्न स्थानमा गढी, किल्ला र पदमार्ग प्रयोगमा ल्याएका थिए । कोशी प्रदेशमा पनि यी मार्ग र किल्ला महत्त्वपूर्ण रणनीतिक केन्द्रका रूपमा प्रयोग भएको इतिहासमा उल्लेख छ । विशेष गरी पूर्वमा हतुवागढी–भोजपुर, साँगुरीगढी–धनकुटा, विजयपुरगढी–सुनसरी, हेदङ्गनागढी–संखुवासभा, चौदण्डिगढी–उदयपुर, चन्द्रगढी–झापा र गढीथुम्का–इलामजस्ता मुख्य गढी ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिन्छन् । विजयपुरगढी क्षेत्र तत्कालीन मोरङ राज्यको राजधानी विजयपुरको रूपमा विसं १७२७ मा स्वतन्त्र भएको थियो । त्यसभन्दा पहिले यो क्षेत्र मकवानपुरको सेन राज्यको अधीनमा थियो । यहाँका पहिलो राजा इन्द्रसेन थिए र तत्कालिन समयमा लालकोट, माथिल्लोकोट, तल्लोकोट र साँगुरीगढीजस्ता बलिया किल्ला/गढी यहाँ अवस्थित थिए । विजयपुर त्यतिबेला पूर्वीक्षेत्रको प्रशासन, व्यापार र सैनिक शक्ति केन्द्र थियो र यहाँबाट सिक्किमसम्मको प्रशासन सञ्चालन हुने गरेको थियो । नेपाल एकीकरण अभियानका क्रममा राजा पृथ्वीनारायण शाहले किरात राज्यमाथि आक्रमण गर्न सरदार रामकृष्ण कुँवरलाई खटाएका थिए । सन् १७७२ मा रामकृष्ण कुँवरले दूधकोशी नदी पार गरी किरात क्षेत्रका राजा कर्ण सेनमाथि विजय हासिल गरेका थिए । त्यसपछि विजयपुर क्षेत्र नेपालमा समाहित भयो र पूर्वीसीमासम्म गोर्खाली विजय अभियान अघि बढेको बताइन्छ । विजयपुरगढी–साँगुरीगढी पदयात्रा सेनाले बर्सेनी आयोजना गर्दै आएको छ । साँगुरीगढीको ऐतिहासिक स्थलसँगै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । “पुराना गढी र किल्लाको संरक्षण, पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनासँग मिलेर हामीले यस कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौँ”, उनले भने, “यस वर्षको कार्यक्रम विशेष गरी धरान उपमहानगरपालिका–१४ मा रहेको विजयपुरगढी र साँगुरीगढीको ऐतिहासिक महत्वलाई जोडेर आयोजना गरिएको छ । गत वर्षसम्म साँगुरीगढी ‘रन’ कार्यक्रमको रूपमा मात्र सञ्चालन हुँदै आएको भए पनि यस वर्ष धरानको विजयपुरगढीदेखि साँगुरीगढीसम्मको पूर्ण दौड आयोजना गरिएको छ ।” विजयपुरगढी र साँगुरीगढीबीचको ऐतिहासिक सम्बन्ध उजागर गर्दै, भविष्यमा यी स्थललाई पर्यटनका लागि प्रवर्द्धन गर्ने, गढी–किल्लाको संरक्षण सुनिश्चित गर्ने र स्थानीय ऐतिहासिक भूक्षेत्रको महत्त्व स्थापित गर्ने अवसर प्रदान हुने विश्वास लिइएको छ । पदयात्राले केवल ऐतिहासिकस्थलको स्मरण मात्र नभएर राष्ट्रिय एकता र देशप्रेम प्रवर्द्धन गर्ने काम गर्नुका साथै आगामी पुस्तामा इतिहासप्रतिको चेतना जगाउने सेनाको भनाइ छ । पदयात्राको अवसरमा विजयपुरगढी–साँगुरीगढी दौड आयोजना गरिएको थियो । जसमा पाँच किलोमिटर दौड (महिला र पुरुष ) र १० किलोमिटर दौड (पुरुष/महिला) विधा समावेश गरिएको थियो । १० किलोमिटर खुल्ला दौडमा पुरुष २३६ जना र महिला ४० जना साथै पाँच किलोमिटर दौडमा छात्र ८० जना र छात्रा ३८ जनाको सहभागिता रहेको थियो । दस किलोमिटर दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश रु २५ हजार रु १५ हजार र रु १० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरियो भने पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुने महिला, पुरुषलाई क्रमशः रु १२ हजार, रु आठ हजार र रु पाँच हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै उत्कृष्ट १० भित्र पर्ने अन्य सहभागीलाई पनि प्रमाणपत्र प्रदान गरिएको नेपाली सेनाले जनाएको छ । हरेक वर्ष सञ्चालन हुँदै आएको यस कार्यक्रममा नेपाली सेना, पूर्वी पृतना हेड क्वार्टर इटहरी, श्री नं २ वाहिनी अड्डा, श्री भीमदल गण, श्री भगवतीदल गण, विभिन्न गण, धरान उपमहानगरपालिका, धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिकाको संयुक्त आयोजना हुने गरेको छ । ऐतिहासिक निशान पदयात्रा आगामी पुस ३० गते धनकुटाको पाख्रिबासमा पुगेर समापन गरिने सेनाले जनाएको छ । कार्यक्रममा धरान उपमहानगरपालिकाका नगर प्रमुखहर्कराज साम्पाङ्ग राई, श्री पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी श्री गौरवकुमार केसी, श्री नं २ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी श्री दिवाकर विक्रम राणा, सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, सुनसरी श्री भगवतीदल गणका प्रमुख सेनानी श्री राजन भूजु, धनकुटास्थित श्री भीमदल गणका गणपति गणेश थापालगायतको उपस्थिति थियो ।
नेकपा उदयपुरद्वारा प्रत्यक्षतर्फ लक्ष्मण १८ जनाको नाम सिफारिस
उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले प्रत्यक्ष निर्वाचन प्राणालीतर्फ जिल्लाबाट १८ जनाको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिसिभा निर्वाचनका लागि नेकपा उदयपुरले दुवै निर्वाचन क्षेत्रका लागि १८ जनाको नाम सिफारिस गरेको हो । नेकपा उदयपुरको उम्मेदवार सिफारिस कार्यदलका सदस्य विनोदकुमार खड्काका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा १० जना र प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा आठजनाको नाम वर्णानुक्रमअनुसार सिफारिस गरेको हो । उनले भने, ‘वर्णानुक्रमअनुसार प्रतिनिसभा १ मा अर्जुन तिल्सिना, किरण राई, जगनाथ खतिवडा, प्रवेश खड्का, बलदेव चौधरी, विशाल राई, मणि खम्बू किराँती, मनकुमार राई, रमण भट्टराई र सुरेशकुमार राई रहेका छन् ।’ यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा एविराज राई, जगनाथ खतिवडा, बलदेव चौधरी, भेषकुमारी राउत, मेजरकुमार राई, लक्ष्मण पौडेल, सुरेशकुमार राई र हेमराज दाहाल रहेका छन् । सिफारिस गरिएको नाममा जगनाथ खतिवडा, सुरेशकुमार राई र बलदेव चौधरीलाई दुवै निर्वाचन क्षेत्रबाट सिफारिस गरिएको नेकपा उदयपुरले जानकारी दिएको छ ।
आगामी निर्वाचनमा युवा तथा जेनजी पुस्तालाई प्राथमिकतामा राखेर उम्मेदवार बनाइन्छ:प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा युवा तथा जेनजी पुस्तालाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने बताउनुभएको छ । जेनजी रेडफोर्सले आइतबार आयोजना गरेको जेनजी जागरण तथा वृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले समानुपातिक सूचीमा पनि युवाहरूलाई प्राथमिकता दिएको र प्रत्यक्षतर्फ पनि जेनजी पुस्ताका नवयुवाहरूलाई उम्मेदवार बनाउने जानकारी दिनुभयो । पार्टीको केन्द्रीय समितिमा पनि युवाहरूको उपस्थिति बलियो बनाउने तयारी भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अहिले पार्टी निर्माणको क्रममा होस् वा चुनावमा, समानुपातिक लिस्ट तयार पार्दा होस् वा प्रत्यक्ष निर्वाचनमा पनि युवा र नवयुवा, जो जेनजी पुस्ताका युवाको रूपमा चिनिन्छन्, उनीहरूलाई उच्च प्राथमिकता दिने कोसिस गरेका छौं । हामीले जेनजी पुस्ताको मुस्कान खातुनलाई अगाडि सारेर हजारौं लाखौं युवाहरूलाई सम्बोधन गर्न खोजेका छौं । आउने दिनमा पनि प्रत्यक्ष वा समानुपातिकमा बढीभन्दा बढी युवाहरूलाई र केन्द्रीय समितिमा पनि युवाहरूलाई समेट्दै छौं ।” संयोजक प्रचण्डले जेनजी रेडफोर्सलाई भ्रातृ संस्थाको मान्यता दिने पनि बताउनुभयो । उहाँले भ्रातृ संस्थाहरूले कार्यक्रम आयोजना गर्दा पूर्वमाओवादी शैली नअपनाउन निर्देशन दिँदै अब माओवादी नभई नेपाली कम्युनिस्ट पार्टीको भावनामा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
निर्वाचनमा बहुमत ल्याएर नयाँ वामपन्थी क्रान्तिकारी सरकार बनाइन्छ : झलनाथ खनाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत प्राप्त गरेर देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार निर्माण गर्ने बताउनुभएको छ । जेनजी रेडफोर्सले आयोजना गरेको जेनजी जागरण तथा वृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले पार्टीको अबको मुख्य लक्ष्य निर्वाचनमा बहुमत हासिल गर्नु रहेको बताउनुभयो । बहुमत प्राप्त गरेपछि नयाँ वामपन्थी क्रान्तिकारी सरकार गठन गरेर देशलाई वैज्ञानिक समाजवादको दिशातर्फ अघि बढाउने उहाँले स्पष्ट पार्नुभयो । उहाँले सम्पूर्ण नेपाली जनताको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टीले गर्ने दाबी पनि गर्नुभयो । साथै, पार्टीका उम्मेदवारलाई विजयी गराउन देशभरि तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिनुभयो । “नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा दुई करोड ९२ लाख जनतालाई एकताबद्ध गरेर हामी अब नयाँ समाजवादी क्रान्तितर्फ अघि बढ्दैछौं,” उहाँले भन्नुभयो, “तर अहिले हामी निर्वाचन अभियानमा केन्द्रित छौं । यो निर्वाचनमा देशव्यापीरूपमा हाम्रा उम्मेदवारलाई विजयी गराएर आउने संसदलाई परिवर्तनकारी संसदमा रूपान्तरण गर्नेछौं । बहुमत प्राप्त गरेर नयाँ वामपन्थी क्रान्तिकारी सरकार निर्माण गर्नु नै आजको हाम्रो कार्यनीतिक लक्ष्य हो ।” कार्यक्रममा नेता खनालले युवाहरूलाई पार्टी नेतृत्वका लागि तयार पार्ने काममा आफूहरू लागिपरेको पनि जानकारी दिनुभयो ।
इरानमा सैन्य कारबाहीको तयारीमा अमेरिका, प्रतिवाद गर्ने इरानी सेनाको चेतावनी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा जारी प्रदर्शनकारीमाथिको दमनलाई रोक्न सम्भावित सैन्य कारबाहीका नयाँ विकल्पहरूबारे ब्रिफिङ दिइएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले पेन्टागनका वरिष्ठ अधिकारी, राष्ट्रिय सुरक्षा सल्लाहकार र अन्यसँग गोप्य छलफल गर्दै तेहरानका गैरसैनिक लक्ष्यहरू समेत निशाना बनाउने विकल्पहरूबारे जानकारी लिएका छन् । यद्यपि ट्रम्पले अझै सैन्य कारबाहीको अन्तिम निर्णय गरेका छैनन् । इरानमा आर्थिक संकटका कारण सुरु भएको प्रदर्शन दुई साता नाघ्दा देशव्यापी बनेको छ । बढ्दो महँगी, मुद्रा अवमूल्यन र सरकारको नीतिविरुद्ध सुरु भएको आन्दोलनमा दर्जनौं प्रदर्शनकारी मारिएका छन् भने हजारौं पक्राउ परेका छन् । सरकारले इन्टरनेट पूर्ण रूपमा बन्द गरेर प्रदर्शनको जानकारी बाहिर आउन रोकेको छ । सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सरकार पछि नहट्ने बताउँदै प्रदर्शनकारीलाई कडा कारबाहीको चेतावनी दिएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानी सरकारलाई चेतावनी दिँदै आएका छन् कि प्रदर्शनकारीमाथि गोली चलाए अमेरिका हस्तक्षेप गर्न तयार छ । उनले "लक्ड एन्ड लोडेड" अर्थात् तयार रहेको बताएका छन् । यसअघि जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो दम्पतीलाई अमेरिकी सेनाले पक्राउ गरेर नार्को–टेररिजम अभियोगमा मुद्दा चलाएको घटनापछि ट्रम्पको चेतावनीलाई इरानले गम्भीरतापूर्वक लिएको विश्लेषण गरिएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग टेलिफोन वार्ता गर्दै इरानको स्थितिबारे छलफल गरेको बताइएको छ । ट्रम्प प्रशासनले इरानमा सैन्य कारबाही गरे जनमत सरकारतर्फ जान सक्ने वा क्षेत्रीय प्रतिशोधको जोखिम बढ्ने चिन्ता पनि व्यक्त गरेको छ । यसबीच प्रदर्शन जारी रहेकाले स्थिति थप तनावपूर्ण बन्दै गएको छ ।
अमेरिकी नागरिकलाई भेनेजुएला तुरुन्त छाड्न आग्रह : सशस्त्र मिलिसियाको खतरा बढ्यो
एजेन्सी । अमेरिकी विदेश मन्त्रालयले भेनेजुएलामा रहेका आफ्ना नागरिकलाई तुरुन्त देश छाड्न आग्रह गरेको छ । सशस्त्र सरकार समर्थक मिलिसिया (कोलेक्टिभोस) ले सडकमा चेकपोस्ट राखेर अमेरिकी नागरिकको खोजी गरिरहेको रिपोर्ट आएपछि यो चेतावनी जारी गरिएको हो । अमेरिकी दूतावासको जनवरी १०, २०२६ मा जारी सुरक्षा अलर्टमा भनिएको छ, “भेनेजुएलाको सुरक्षा स्थिति अस्थिर छ । अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु भएकाले भेनेजुएलामा रहेका अमेरिकी नागरिकले तुरुन्त देश छाड्नुपर्छ ।” अलर्टमा थप भनिएको छ, “कोलेक्टिभोस नामका सशस्त्र मिलिसियाका समूहले सडकमा अवरोध खडा गरेर सवारीसाधनको खानतलासी गरिरहेका छन् र अमेरिकी नागरिक वा अमेरिका समर्थकको पहिचान खोजिरहेका छन् । सडक यात्राका क्रममा अत्यन्त सावधानी अपनाउनुहोस् ।” यो चेतावनी अमेरिकी सेनाले जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्राउ गरी अमेरिका लगेको एक साता पछि आएको हो । मदुरो दम्पतीविरुद्ध लागुऔषध तस्करी र हतियार सम्बन्धी अभियोगमा न्युयोर्क अदालतमा मुद्दा चलिरहेको छ । अहिले भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेज अन्तरिम राष्ट्रपति बनेकी छन् । अमेरिकी सरकारले भेनेजुएलालाई लेभल ४ ट्राभल एडभाइजरी (डु नट ट्राभल) मा राखेको छ, जसमा गलत हिरासत, यातना, अपहरण, अपराध र अशान्तिजस्ता जोखिम उल्लेख छन् । अमेरिकी सरकारले भेनेजुएलामा आपत्कालीन सहायता प्रदान गर्न सक्ने स्थिति नरहेको जनाएको छ ।
रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टीको अगुवा कार्यकर्ता भेला, संयोजक प्रचण्डद्वारा सम्बोधन
रुकुम पश्चिम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज बिहान रुकुम पश्चिमको आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीले देशको नेतृत्व गर्ने स्पष्ट पार्नुभयो । उहाँले रुकुममा एक–दुई जना नेताहरू पार्टीबाट बाहिरिए पनि विगतको महान जनयुद्धका क्रममा रुकुमका जनताले दिएको साथ, सहयोग र बलिदानलाई कहिल्यै नभुल्ने बताउनुभयो । "रुकुमका जनताले भगौडाको पछि नलागी पार्टीप्रति देखाएको निष्ठा प्रशंसनीय छ," उहाँले भन्नुभयो । साथै, सिंगो पार्टी एकताबद्ध भएर हरेक षडयन्त्रको भण्डाफोर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका केन्द्रीय नेताहरूले पनि सम्बोधन गर्नुभएको थियो । जिल्लाका सबै पालिका तहका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियाे । संयोजक प्रचण्डसहितका नेताहरु हिजो आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्न रुकुम पुग्नु भएको थियो । उहाँहरु आज नै रुकुम पश्चिमबाट फर्किने कार्यक्रम तय भएको छ ।
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
स्याङ्जा । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा रु दश करोड बढी भित्रिएको हो । वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग लिइएको तथ्याङ्कका आधारमा यस वर्षमात्रै ७ नं वडाबाट रु दश करोड बढीको सुन्तला बिक्री भएको वडाध्यक्ष ताराप्रसाद अर्यालले जानकारी दिए । वडाका जिमिरे, लोलुङ्गा, बलमाटा, तिलाहार, पाङसाङ, पासिन्डाँडा, कोलडाँडा, धोवादीलगायत टोलका स्थानीय सुन्तला व्यावसायी कृषकहरूले न्यूनतम रु एक लाखदेखि अधिकतम रु ३५ लाखसम्म आम्दानी गर्न सफल भएका उनले बताए । सुन्तला उत्पादक कृषकले ठेक्का तथा प्रतिकेजी किलोको रु ७० का दरले बोटबाटै बिक्री गरेका हुन् । “सुन्तला उत्पादक कृषकहरूले बिक्री गरेको परिमाण, मूल्यका आधारमा जानकारी लिँदा सुन्तला बिक्रीबाट रु दश करोड बढी आम्दानी भएको पाइयो”, उनले भने, “वडामा सुन्तलाको बगैँचा विस्तार गर्ने क्रम जारी रहेकाले आगामी वर्षहरूमा उत्पादन वृद्धि हुँदै जाँदा आम्दानी पनि स्वतः वृद्धि हुने छ ।” सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि कोदो, मकै हुने बारीहरूमा सुन्तला बगैँचा विस्तार गर्ने क्रम बढ्दै गएको छ । सुन्तलाको पकेट क्षेत्रको रूपमा रहेको भीरकोट–७ मा तीन वर्षअघि बगैँचा विस्तार गरिएको थियो । आम्दानीसित जोड्नका लागि थप ५०० रोपनी क्षेत्रफलमा पन्ध्र हजार ५०० बिरुवा रोपिएको थियो । यहाँका कृषकहरूलाई सुन्तलाखेतीप्रति थप आकर्षित गर्नका लागि सुन्तला बगैँचा व्यवस्थापन शिविर, उपकरण हस्तान्तरण, रोग कीरा नियन्त्रणसम्बन्धी सहजीकरण तथा परामर्श दिइएको उनले बताए। “यहाँ उत्पादन भएको सुन्तला काठमाडौँ, पोखरा, बुटवल, नारायणगढसहित स्थानीय बजारमा खपत हुने गरेको छ”, उनले भने, “ज्याला, ढुवानीसहित हाल प्रतिकेजी रु ७० का दरले बोटबाटै व्यापारीले लैजाने भएकाले बजारको कुनै समस्या छैन ।” भीरकोट–७ जिमिरेका सुन्तला कृषक देवीलाल अर्यालले यस वर्ष रु १५ लाख बढीको सुन्तला बिक्री गरे । उनले अहिले प्रतिकेजी रु ७० का दरले सुन्तला बगैँचाबाटै बिक्री गरिरहेका छन् । सोही वडाको लोलुङ्गाका ७१ वर्षीय लालप्रसाद कोइरालाले पनि यस वर्ष रु १५ लाख बढीको सुन्तला बिक्री गरे। यहाँका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट धेरैजसो सुन्तला बिक्री भइसकेको छ भने केही बिक्री हुनेक्रममा छन् । स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोड मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कूल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । स्याङ्जामा गत वर्षको तुलनामा यस वर्ष २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
शीतलहरले रित्तिँदै मौरीका घार : बाँकेका किसान ठूलो नोक्सानीको जोखिममा
नेपालगन्ज । तराईमा चलेको अत्यधिक शीतलहर र बाक्लो हुस्सुका कारण बाँकेका मौरीपालक किसानहरू चिन्तित बनेका छन्। चिसो सहन नसकेर घारभित्रै मौरी मर्न थालेपछि मह उत्पादनमा ठूलो गिरावट आउने संकेत देखिएको छ। नेपाल मौरीपालक महासङ्घ बाँकेका अनुसार प्रतिकूल मौसमका कारण कतिपय घारहरू रित्तिने अवस्थामा पुगेका छन्। नेपाल मौरीपालक महासङ्घ बाँकेका अध्यक्ष पुरमल बस्नेतका अनुसार चिसोका कारण घारका करिब दुई प्रतिशत मौरी मरिसकेका छन्। बाहिर निस्कँदा चराको आक्रमण र भित्र रहँदा शीतलहरको चपेटामा परेपछि मौरीका लागि अहिलेको समय 'सङ्कटकाल' जस्तै बनेको छ। बाँकेमा विशेष गरी युरोपबाट विकास गरिएको उन्नत जातको 'मेलिफेरा' मौरीबाट व्यावसायिक मह उत्पादन हुने गरेको छ। चरिचरनका लागि विभिन्न स्थानमा लैजाँदा मौरीलाई चिसोले झन् बढी सताउने गरेको छ। रैथाने जातका मौरी, भमरा र पुत्का समेत मर्न थालेकाले यिनीहरूको वासस्थान सुरक्षाका लागि विशेष कार्यक्रम आवश्यक देखिएको छ। कोहलपुरका अर्का किसान कृष्ण आचार्यको अनुभव झन् पीडादायी छ। उनले पालेका ७० घारमध्ये अत्यधिक चिसोले गर्दा करिब आधा मौरी मरिसकेका छन्। एउटा घारमा हुने १० वटा फ्रेममध्ये दुईदेखि तीन फ्रेम अहिले खाली भइसकेका छन्। चिसोका कारण रानीमौरीले अण्डा पार्न नसक्ने र कामदार मौरी आहारका लागि बाहिर निस्कन नसक्दा भोकै मर्ने अवस्था आएको छ। बाँकेमा करिब १२ जना व्यावसायिक किसानले मौरीपालन गर्दै आएका छन्। गत वर्ष जिल्लामा करिब दुई लाख ५० हजार क्विन्टल मह उत्पादन भएकोमा यस वर्ष त्यो संख्या निकै घट्ने अनुमान गरिएको छ। मौरीपालक किसानहरू अहिले चरिचरनका लागि बाँकेबाट दाङ, बर्दिया र सुर्खेतसम्म धाउने गर्छन्। तोरीको फूल सकिनु र शीतलहर बढ्नुले किसानलाई दोहोरो मार परेको छ। गत वर्ष कोहलपुर नगरपालिकाले मौरीपालकलाई पाँच लाख रुपैयाँ अनुदान दिए पनि यस वर्ष भने सरकारी स्तरबाट कुनै ठोस सहयोगका कार्यक्रम नभएको कृषि विकास शाखाले जनाएको छ। यस्तो अवस्थामा मौरीलाई बचाउन र किसानको लगानी सुरक्षित गर्न सरोकारवाला निकायले तत्काल ध्यान दिनुपर्ने देखिन्छ।
पश्चिमी वायुको प्रभाव: कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले विशेष गरी बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
गण्डकीका दुई ठूला औद्योगिक क्षेत्र अलपत्र, घोषणाको ८ वर्ष बित्दा पनि जग्गाकै सास्ती
पोखरा । गण्डकी प्रदेश सरकारले गौरवका आयोजनाका रूपमा अघि सारेका दुई ठूला औद्योगिक क्षेत्र निर्माण कार्य घोषणा भएको आठ वर्ष बितिसक्दा पनि सुरु हुन सकेको छैन। कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने भनिएका औद्योगिक क्षेत्रको जग्गा भोगाधिकार नपाउँदा निर्माण प्रक्रिया अनिश्चित बनेको हो। प्रदेश सरकार र सङ्घीय सरकारबीच जग्गा प्राप्तिको प्रक्रिया लम्बिएका कारण यी महत्वपूर्ण आयोजनाहरू कागजमै सीमित भएका छन्। गण्डकीका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालका अनुसार पुँडीटारमा अहिले रुख गणना र टाँचा लगाउने काम भइरहेको छ भने लोकाहाखोलाको प्रतिवेदन वन तथा भू–संरक्षण विभागमा पुगिसकेको छ। सङ्घीय मन्त्रिपरिषद्ले जग्गाको भोगाधिकार दिने निर्णय नगरेसम्म भौतिक संरचना निर्माणको काम अगाडि बढ्न सक्दैन। लोकाहाखोलाको जग्गा चुरे संरक्षण क्षेत्रभित्र पर्ने भएकाले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) मा धेरै समय लागेको छ। प्रदेश सरकारले पुँडीटारका लागि ५४ करोड र लोकाहाखोलाका लागि ७६ करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारिसकेको भए पनि भोगाधिकार नहुँदा लगानी बालुवामा पानी जस्तै भएको छ। जग्गाको भोगाधिकार प्राप्त भएपछि पुँडीटारमा ४५ सय रोपनी र लोकाहाखोलामा १४१ बिघा जग्गामा औद्योगिक क्षेत्र निर्माण हुनेछ। पुँडीटार औद्योगिक क्षेत्रले कास्की र तनहुँका केही भूभाग समेट्छ भने लोकाहाखोला नवलपुरको कावासोती र देवचुली क्षेत्रमा पर्छ। यता निजी क्षेत्रले भने प्रदेश सरकारको सुस्त कार्यशैलीप्रति आक्रोश व्यक्त गरेको छ। लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारीले औद्योगिक क्षेत्र निर्माणको घोषणाले उत्साहित बनेका लगानीकर्ताहरू यति लामो पर्खाइपछि निराश हुन थालेको बताएकी छिन्। आफैँ जग्गा खरिद गरेर उद्योग खोल्न महँगो हुने स्थितिमा सरकारले औद्योगिक क्षेत्र बनाइदिए लगानीकर्तालाई राहत मिल्ने उनको भनाइ छ। प्रदेश सरकारले औद्योगिक क्षेत्रसँगै २५ वटा औद्योगिक ग्राम निर्माणको घोषणा गरेको थियो, तर ती आयोजनाको अवस्था पनि उस्तै निराशाजनक छ। कतिपय औद्योगिक ग्राम घोषणामा मात्र सीमित छन् भने कतिपय बजेट अभाव र समन्वयको कमीले अलपत्र परेका छन्। स्थानीय साधन र स्रोतको उपयोग गरी रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको प्रदेश सरकारले सङ्घीय सरकारसँग प्रभावकारी समन्वय गर्न नसक्दा गण्डकीको औद्योगिक विकासको सपना वर्षौँदेखि अधुरै रहेको छ।
निर्वाचन: सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार आचारसंहितामा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कोही कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा नक्कली साइट खोल्न नपाइने व्यवस्था गरिएको छ । आचारसंहिताले सामाजिक सञ्जालमा ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) को प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यका साथ होच्याउने, दुष्प्रचार गर्ने काम गर्न नपाउने प्रबन्ध गरेको छ । त्यस्तै, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषणजस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नपाइने व्यवस्था आचारसंहितामा समावेश गरिएको छ । त्यसैगरी, कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग गरी वा नगरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी सामाजिक सञ्जालमा पोष्ट, रिपोस्ट, कमेन्ट प्रतिकमेन्ट, लाइभ स्टिमिङ, ट्याग वा मेन्सनलगायतका कार्य गर्न वा गराउन पाइने छैन । निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्ने गरी अवाञ्छित लाञ्छना लगाउन नपाइने प्रबन्ध आचारसंहितामा गरिएको छ । कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानि गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न, त्यस्ता सामग्री कुनै पनि माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नपाइने आयोगले तयार पारेको आचारसंहितामा समावेश छ । मतदाता र मतदाताको गोप्यता भङ्ग गर्न, निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित पार्ने कुनै पनि कार्य गर्नसमेत पाइने छैन । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
जनकपुरधाम । जनकपुरधाम नगरभित्र माग अनुसार खानेपानी वितरण तथा आपूर्ति नहुँदा यहाँका ८० प्रतिशत परिवार खानेपानीको पहुँच बाहिर छन् । दैनिक आवश्यकताभन्दा करिब ३५ लाख लिटर कम खानेपानी आपूर्ति गर्दै आएको खानेपानी संस्थान जनकपुरधाम उपभोक्ताको मागअनुसार वितरण गर्न सकिरहेको छैन । जनकपुरधाम नगर क्षेत्रमा दैनिक दुई करोड ५० लाख लिटर पानीको माग रहे पनि संस्थानले २० प्रतिशत घरमा मात्र पाइपमार्फत खानेपानी आपूर्ति गर्दै आएको जनाएको छ । कार्यालयका प्रमुख विष्णुदेव साहले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार हाल जनकपुरधाममा ४० हजार ४०९ परिवारमध्ये पाँच हजारमामा खानेपानीको धारासहित मिटर जडान गरिएको छ। उनका अनुसार तीमध्ये ४० प्रतिशत घरमा आंशिक रूपमा मात्र पानी आपूर्ति हुने गरेको छ । पछिल्लो समय यहाँ परिवारको सङ्ख्या पनि बढ्दै गएको उनको भनाइ छ । वडा नं १० तथा रामानन्द चोकमा निर्मित चार लाख ५० हजार लिटर क्षमताको दुईवटा ओभरहेड ट्याङ्कीमा छवटा डिपबोरिङबाट सङ्कलित भूमिगत पानीलाई प्रशोधन गरी वितरण भइरहेको प्रमुख साहले जानकारी दिए । करिब ३४ वर्ष पुरानो वितरण प्रणालीका कारण विभिन्न स्थानमा पाइप फुट्ने, चर्कने, जीर्ण संरचनालगायत समस्याले नियमित पानी वितरणमा चुनौती थपिएको उनको भनाइ छ । सीमित बजेटका कारण ३४ वर्ष पुरानो तथा जीर्ण पाइपबाट सबै वडामा खानेपानी आपूर्ति पुर्याउन समस्या भएको कार्यालयका प्रमुख साहले बताए । उनका अनुसार जीर्ण पाइपका कारण नियमित रूपमा ५० प्रतिशत मात्र पानी आपूर्ति भइरहेको छ । गत आर्थिक वर्षमा कार्यालय हाताभित्र रु एक करोड ३० लाख मूल्य बराबरको लागतमा थप पाँच लाख लिटर क्षमताको ट्याङ्की र रु चार करोडभन्दा बढीको लागतमा मुजेलिया प्रहरी चौकीबाट वडा नं ८ स्थित होटल सियाशरणसम्मको सडकको दायाँबायाँ आठ–आठ इन्चको पाइप बिछ्याएको थियो । सीमित स्रोत र साधनका बाबजुद त्यहाँबाट पाँच लाख लिटर पानी भण्डारण तथा धारा जडानको काम भइरहेको कार्यालय प्रमुख साहले बताए । यसैबिच, पटकपटक विद्युत् आपूर्ति बन्द हुँदा पानी वितरणमा समस्या हुने गरेको कार्यालयका कर्मचारीले गुनासो गरेका छन् । यहाँका अधिकांश परिवारले चापाकल तथा मोटर जडान गरेर खानेपानीसहित दैनिक प्रयोगका कार्य गरिरहेका छन् ।
आज कुन विदेशी मुद्राकाे खरिब/बिक्रीदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ०२ पैसा र बिक्रीदर १८० रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ८० पैसा र बिक्रीदर १०४ रुपैयाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९० पैसा र बिक्रीदर ११२ रुपैयाँ ३७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १३ पैसा र बिक्रीदर नौ रुपैयाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६२ पैसा र बिक्रीदर २० रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८७ पैसा र बिक्रीदर नौ रुपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४४ पैसा र बिक्रीदर २२ रुपैयाँ ५३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५० पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

