पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला हुँदै

कास्की । गण्डकी प्रदेश राजधानी पोखरामा सूचना–प्रविधि तथा ‘स्टार्टअप’ व्यवसाय प्रदर्शनी हुने भएको छ । नवप्रवर्तनमार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्यका लागि युवापुस्ताका उद्यमीबाट उत्पादित प्रविधि तथा व्यवसाय प्रदर्शनका लागि मेला गर्न लागिएको हो ।

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा आगामी माघ अन्तिम साता प्रदर्शनी हुनेछ । मेलामा गण्डकी प्रदेशभित्रबाट छानिएका १५ वटा नवीन सोचमा आधारित उद्यम, वस्तु तथा सेवा वा प्रक्रियामा नवप्रवर्तनसँग सम्बन्धित व्यवसायको प्रदर्शनी गरिनेछ ।

सो प्रदर्शनी प्रतिस्पर्धात्मक हुने र पहिलो हुनेले रु ४० हजार, द्वितीयले रु ३० हजार तृतीय हुनेले रु २० हजार पुरस्कार प्राप्त गर्ने राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले जानकारी दिए । “प्रदर्शनीमा सहभागी हुन चाहनेहरूले अनलाइन फाराम भर्नुपर्नेछ । तीमध्ये छानिएकालाई मेलामा सहभागी गराइने, आवेदकको उमेर ४० वर्ष ननाघेको, उद्योग/व्यवसाय सञ्चालन गरेको १० वर्षभन्दा बढी नभएको तथा सरकारी कार्यालयमा दर्ता भएको एवं वार्षिक कारोबार रु १५ करोडभन्दा बढी नभएको हुनुपर्नेछ”, गौतमले भने ।

पोखराबाट सुरु गरिने यो प्रदर्शनी देशका सातवटै प्रदेशमा आयोजना गरिने छ भने अन्तिममा काठमाडौँमा हुने बृहत् प्रतिस्पर्धात्मक प्रदर्शनीमा समेत प्रदेशमा उत्कृष्ट रहेकालाई

प्रदर्शनीको तयारीको सन्दर्भमा युवा परिषद्ले पोखरामा अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरेको छ । कास्कीसहित स्याङ्जा, बागलुङ, तनहुँ, पर्वतका उद्योगी/व्यवसायीको सहभागिता रहेको सो अभिमुखीकरण कार्यक्रममा बोल्दै उद्यमशीलता विकास विज्ञ इन्जिनियर रमेश सुवेदीले नवप्रवर्तनमार्फत रोजगारी सृजना र युवा पलायन रोक्नका लागि मेला आयोजना गरिएको बताए ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले युवापुस्ताको पलायन रोकियोस्, देशमै रोजगारी सृजना होस् भन्ने निजी क्षेत्रको चाहना रहेको बताए । “गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा उद्योगी/व्यवसायीमाथि भएको आक्रमणका कारण निजी क्षेत्र हतोत्साही बनेको अवस्थामा यस्ता प्रदर्शनीले युवापुस्तालाई प्रोत्साहित गर्नेछ”, कार्कीले भने ।

पोखरा महानगरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीले उद्यमशीलता विकासका निम्ति पोखरा महानगरपालिकाले चालेका कदमहरूबारे जानकारी दिँदै युवा परिषद्ले आयोजना गर्ने कार्यक्रमले नयाँ सोचको विकास गराउने बताए ।

युवा परिषद्का उपसचिव तारापति खरेलले निजी क्षेत्र र खास गरी युवाहरूलाई सृजनात्मक व्यवसायमा सामेल गराउनका निम्ति मेला आयोजना गरिन लागेको बताए ।

प्रतिनिधिसभाको चुनाव लड्न पूर्वी रुकुममा आउने करिब निश्चित भएको छ : प्रचण्ड

रुकुमपश्चिम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले रुकुमपश्चिमको मुसीकोटमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा पूर्वी रुकुमबाट उम्मेदवारी दिने करिब करिब निश्चित भएको बताउनुभएको छ । सभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, “म अब रुकुम आउने करिब करिब निश्चित भएको छ । पूर्वी रुकुममा आउने करिब निश्चित भएको छ ।” उहाँले जनयुद्धको सिंगो त्याग र बलिदानलाई कायम राख्दै विकास निर्माणलाई नयाँ सिराबाट अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रचण्डले १७ वटा पार्टीको एकता कायम गरेर नयाँ इतिहास रचेको उल्लेख गर्दै पार्टी एकताको सन्देशलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यक्रममा ५ बजेसम्म धैर्यता कायम गरेर बसेका कार्यकर्ताहरूको प्रशंसा गर्नुभयो ।  जनार्दन शर्माप्रति लक्षित गर्दै प्रचण्डले भन्नुभयो, “भिरबाट खस्नेलाई रामराम मात्र भन्न सकिन्छ । काँध थाप्न सकिँदैन ।” उहाँले रुकुम क्षेत्रबाट नेकपाका उम्मेदवार गोपाल शर्मालाई अत्यधिक बहुमतले विजयी गराउन अपिल गर्दै भन्नुभयो, “पहिलेको भन्दा अत्यधिक बहुमत ल्याएर गोपाल शर्मालाई विजयी गराउन अपिल गर्दछु ।” सभामा सहसंयोजक माधवकुमार नेपाललगायत अन्य नेताहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा दश हजारभन्दा बढी कार्यकर्ताहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित यो सभा पार्टी एकताको सन्देश प्रवाह गर्न र संगठन सुदृढीकरण गर्न महत्त्वपूर्ण रहेको नेताहरूले बताएका छन् ।

माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको हालसम्म भएको प्रगतिका बारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ । निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले के कस्ता गतिविधि गर्न पाउने, राजनीतिक दल तथा सरोकारवालाहरूको भूमिका के कस्तो रहने भन्ने बारेमा आचारसंहितामा प्रष्ट व्यवस्था गरिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका सन्दर्भमा हालसम्म भएको तयारी, निर्वाचन सामग्रीको छपाई, जनशक्ति व्यवस्थापनलगायतका बारेमा प्रधानमन्त्रीलाई शुक्रबार जानकारी गराएका थिए ।  आचारसंहितालाई कडाइका साथ पालना गराउन सरकार, सरोकारवाला निकायको प्रमुख भूमिका रहनुपर्ने आयोगको बुझाइ छ ।

दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ

दार्चुला । जिल्ला अस्पतालको निर्माणाधीन ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भवन साढे चार वर्ष पुग्नै लाग्दासमेत जम्मा ५५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बैतडीबाट निर्माण भइरहेको उक्त अस्पताल भवन २०७८ असार २४ गते श्याम सुन्दर गोर्खा वाइआर जेभीसँग रु २६ करोड ४८ लाख २७ हजार लागतमा ठेक्का सम्झौता भएको थियो । विसं २०८१ असार २३ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि हालसम्म सो लक्ष्य पूरा हुन सकेको छैन । निर्माण कम्पनीका सब–इन्जिनियर गोकर्ण जोशीका अनुसार हाल अस्पताल भवनको तेस्रो तला ढलानको काम भइरहेको छ । “काम निरन्तर भइरहे जस्तो देखिए पनि उल्लेख्य भौतिक प्रगति देखिएको छैन”, उनले भने । गत वर्ष २०८२ मङ्सिर मसान्तसम्म म्याद थप गरिएको भए पनि उक्त म्यादसमेत सकिएको उनको भनाइ छ । अहिले पनि काम जारी छ । भवनको तेस्रो तला ढलान गरिएको छ । भवन निर्माणका लागि म्याद थपको प्रक्रिया चलिरहेको निर्माण कम्पनीले जनाएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बैतडीका इन्जिनियर विशाल श्रेष्ठ भवन निर्माणको लागि दोस्रो पटक म्याद थपका लागि प्रक्रिया अघि बढेको बताए । निर्माण कम्पनीबाट विभागमा म्याद थपका लागि फाइल गएको छ । “अहिलेको मितिमा म्याद थप गरिएको पत्र हामी कहाँ आइपुगेको छैन”, इन्जिनियर श्रेष्ठले भने । अस्पताल भवन निर्माणमा भएको ढिलाइका कारण सेवा प्रवाहमा समेत समस्या देखिएको अस्पताल प्रशासने जनाएको छ । जिल्ला अस्पताल दार्चुलाका डा रवीन्द्र भट्टराईका अनुसार भवन नहुँदा सेवा अझै व्यवस्थित रूपमा सञ्चालन गर्न कठिन भइरहेको छ । “यदि भवन समयमै निर्माण भएको भए सेवा सञ्चालन धेरै सहज हुने थियो”, उनले भने “अहिले अस्थायी संरचनामै बिरामीको उपचार गर्नुपरेको छ ।” डा भट्टराईका अनुसार एकै ठाउँमा व्यवस्थित भवन नहुँदा रेखदेख गर्नसमेत समस्या भइरहेको छ । चिसो मौसममा पक्की भवन नहुँदा बिरामीको उपचार प्रभावित भइरहेको छ भने जटिल अप्रेसन तथा आवश्यक जाँचमा समेत कठिनाइ हुने गरेको छ । दैनिक दुई सयभन्दा बढी सेवाग्राहीलाई सेवा दिँदै आएको जिल्ला अस्पतालमा भवन नहुँदा अन्तरङ्ग (इन्डोर) सेवा सञ्चालनमा समस्या देखिएको छ । अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार भवन अभावका कारण प्रसूति सेवा, आइसियू, भिडियो एक्स–रे र अल्ट्रासाउन्ड जस्ता सेवा सञ्चालनमा कठिनाइ छ । अहिलेकै अवस्थामा भवन निर्माण हुने हो भने अझै तीन वर्ष समय लाग्ने देखिएको छ । अहिलेको अस्पताल काम चलाऊ भवनमा सञ्चालन भइरहेको हो । चाँडै भवन निर्माण सकिएको भए जिल्ला अस्पतालको सेवा अझै प्रभावकारी हुने सूचना अधिकारी भट्टको भनाइ छ । साँघुरो कोठामा सञ्चालन भइरहेका अन्तरङ्ग सेवाका कारण बिरामीमा सङ्क्रमणजन्य रोग फैलिने जोखिमसमेत बढेको अस्पताल प्रशासनको भनाइ छ । सरोकारवालाहरूले निर्माण कार्य शीघ्र सम्पन्न गरी सेवाको गुणस्तर सुधार गर्न माग गरेका छन् । अस्पताल भवन निर्माणमा भएको ढिलाइप्रति नागरिक समाजले पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ । नागरिक समाजका संयोजक महेश भट्टका अनुसार निर्माण व्यवसायी फिल्डमा नै नदेखिने र काम गरेको जस्तो मात्र देखाउने प्रवृत्ति हाबी छ । अस्पताल जस्तो संवेदनशील ठाउँमा निर्माण कम्पनीले समेत लापरबाही गरेको प्रस्टै छ । “भवन जस्ताको त्यस्तै हुँदा जिल्लावासीले उपचारमा समस्या भोग्नुपरेको छ”, उनले भने, “समयमै काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गरी कालो सूचीमा राख्न दबाब दिनुपर्ने अवस्था आइसकेको छ ।” स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा निर्माण व्यवसायी र आयोजना कार्यालयले गम्भीर लापरबाही गरेको उनको आरोप छ । उनन्चालिस वर्षदेखि अस्पताल निमित्तकै भरमा जिल्ला अस्पताल स्थापनाको ३९ वर्ष बितिसक्दा पनि मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को दरबन्दी रिक्त छ । विसं २०४३ मा स्थापना भएको अस्पताल अहिलेसम्म निमित्तकै भरमा सञ्चालन हुँदै आएको हो । अस्पतालका निमित्त कार्यालय प्रमुख डा भट्टराईकाअनुसार अस्पतालमा दरबन्दीको जनशक्ति अभाव अझै छ । बाइस स्थायी दरबन्दीमध्ये हाल १३ जना मात्रै पदपूर्ति भएका छन् । मेडिकल सुपरिटेन्डेन्टदेखि रेडियोग्राफर, एचए, कार्यालय सहयोगीसम्मका पद रिक्त छन् । बिरामीको चापका कारण स्वीकृत १५ शय्याको जिल्ला अस्पताललाई हाल ३५ शय्यामा सञ्चालन गर्नुपरेको छ । भवन नहुँदा पनि जेनतेन काम चलाऊ व्यवस्थापन गरिएको छ । अहिले अस्पताल छात्रवृत्ति, करार, प्रदेश करार तथा विभिन्न संस्थाको सहयोगमा सञ्चालन भइरहेको उनले बताए । हाल अस्पतालमा ६३ दरबन्दीका लागि ९५ जना कार्यरत छन् । अहिलेको अवस्थामा हेर्दा एक जना डाक्टरले औसतमा २१५ बिरामी हेर्नुपर्ने बाध्यता रहेको छ । भारतसँग सीमा जोडिएको दार्चुलाको अस्पताल सुदृढीकरणका लागि सबै पक्षको सहयोग र समन्वय भयो भने अझै व्यवस्थित रूपमा सञ्चालन गर्न कुनै समस्या नहुने डा भट्टराईको भनाइ छ ।

सुनसरीमा जंगली हात्तीको आक्रमणबाट दुईजना घाइते

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका-३, नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जंगली हात्तीको आक्रमणबाट दुईजना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशवकुमार थेबेका अनुसार शुक्रबार दिउँसो बराहक्षेत्र-३ का ७२ वर्षीया मैया विक घाँस काट्न जंगलमा जाने क्रममा जंगली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएकी छन् । त्यस्तै, शुक्रबार दिउँसो बराहक्षेत्र-३ का ३४ वर्षीया पूजन विक जंगलबाट घाँस काटेर फर्किने क्रममा हात्तीको आक्रमणमा परी गम्भीर घाइने भएका उनले जानकारी दिए । पूजनलाई नडाहा–धरान रोडमा हात्तीले आक्रमण गरेको बताउँदै उनको निधार, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरी प्रमुख थेबेले उल्लेख गरे । प्रहरी प्रमुख थेबेका अनुसार घाइते दुवैलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दिवस कुँवरको कमाण्डमा खटिएको टोलीले उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्‍याएपछि उपचार भइरहेको छ । प्रहरीका अनुसार हात्ती अझै बराहक्षेत्र-३, कालिन्द्र सामुदायिक वन क्षेत्रमा रहेका छन् । यसैबीच, जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रशासनले स्थानीयलाई हात्तीबाट सुरक्षा अपनाउन सचेत गराउने तथा घटनास्थलमा सतर्कता कायम गर्न आग्रह गरेको छ । गए राति करिब ११ः४५ बजे धरान-१९ स्थित हरियाली सामुदायिक वनमा जंगली हात्ती देखापरेको थियो ।   

आज पनि तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने, अन्य भूभागमा कस्ताे रहला माैसम ?

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल मौसमको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु/कुहिरो रहनुका साथै बाँकी तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो  तराई भू–भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सुरकुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

आज कुन विदेशी मुद्राकाे विनिमयदर निर्धारण कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९० पैसा, स्वीस फ्रयांक एकको खरिददर १८० रुपैयाँ ०२ पैसा र बिक्रीदर १८० रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ८० पैसा र बिक्रीदर १०४ रुपैयाँ २३ पैसा, सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ९० पैसा र बिक्रीदर ११२ रुपैयाँ ३७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १३ पैसा र बिक्रीदर नौ रुपैयाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६२ पैसा र बिक्रीदर २० रुपैयाँ ७१ पैसा कायम छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४९ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४४ पैसा र बिक्रीदर २२ रुपैयाँ ५३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ०७ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५० पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको  छ । 

गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित

काठमाडौं। गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उहाँहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुनुभएको हो । काठमाडौंमा आयोजित स्वागत कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल तथा पार्टी नेता नारायणकाजी श्रेष्ठले खादामाला लगाएर स्वागत गर्नुभयो । समाहित हुनेहरूमा गिरिराज केसी (एमालेबाट प्रदेश सभाका उम्मेदवार), ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (पूर्व मेयर, घोराही नगरपालिका), आर.डी. यादव, पिताम्बर आचार्यलगायत हुनुहुन्छ । स्वतन्त्र वाम समूह मार्फत दाङलगायतका विभिन्न जिल्लाहरूमा क्रियाशील अन्य नेताहरूलाई काठमाडौंमा तथा बाँकी कार्यकर्ताहरूलाई जिल्लामा आयोजित कार्यक्रममार्फत स्वागत गरिने छ।

मुन्ना भाई एमबीबीएसमा उहाँको अभिनयको म सधैं प्रशंसक रहेको छु: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक  तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू बलिउड अभिनेता सञ्जय दत्तको प्रशंसक रहेको बताउनुभएको छ । दत्तसँगको भेटको फोटो सेयर गर्दै उहाँले कुराकानी निकै रमाइलो भएको बताउनुभएको छ । चर्चित बलिउड फिल्म ‘मुन्नाभाइ एमबीबीएस’मा दत्तको अभिनयको आफू सधैं प्रशंसक रहेको उहाँले बताउनुभएको छ । दत्तले बिहीबार बेलुका हात्तीवन पुगेर प्रचण्डलाई भेट्नुभएको थियो ।   प्रचण्डले लेख्नुभएको छ, ‘हिजो सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय रह्यो । मुन्ना भाई एमबीबीएसमा उहाँको अभिनयको म सधैं प्रशंसक रहेको छु । उहाँसँगको कुराकानी निकै रमाइलो भयो । मलाई आशा छ उहाँको नेपाल बसाइ सुखद र सुखमय रहनेछ ।’  

नेकपाको निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक : शिक्षा, रोजगार, सुशासन र समृद्धि प्राथमिकतामा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ । नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा रहेको मस्यौदा समितिको बैठकमा शिक्षा, रोजगार, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर घोषणापत्र तयार गर्ने विषयमा छलफल भएको छ । बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको उपस्थिति रहेको थियो । नेकपाले विज्ञहरूको सहभागितामा घोषणापत्र निर्माण गर्ने भएको छ । घोषणापत्रलाई कार्यान्वयनयोग्य बनाउने र देशलाई विकासको बाटोमा अघि बढाउने गरी तयार पारिने समितिले जनाएको छ ।

संयोजक प्रचण्डलाई भेट्न बलिउड सुपरस्टार दत्त हात्तीवन निवासमा

काठमाडौं — भारतीय बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निवासमै पुगेर भेट्नु भएको छ । हिजो बेलुकी काठमाडौं आएका दत्तले हात्तीवनस्थित प्रचण्ड निवास पुगेर भेटवार्ता गर्नु भएको हो ।  नेपाली राजनीतिमा संयोजक प्रचण्डको योगदान विशेष रहेको भन्दै प्रचण्डलाई भेट्न दत्त निवास पुग्नु भएको छ । दत्तले प्रचण्ड परिवारको सुखदुखमा साथ दिँदै आउनु भएको छ ।   सञ्चार माध्यमका अनुसार, सञ्जय दत्त केशरमहलस्थित होटल बाराहीमा रहेको बादशाह क्यासिनो उद्घाटन कार्यक्रममा सहभागी हुन नेपाल आउनु भएको हो ।  

नेकपा एमालेका प्रभावशाली नेता होम पाठकद्वारा पार्टी परित्याग, नेकपामा प्रवेश

दोलखा — नेकपा एमाले दोलखाका पुराना तथा प्रभावशाली नेता कमरेड होम पाठकले नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ। लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आउनुभएका पाठकको पार्टी परिवर्तनलाई दोलखाको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। उहाँको प्रवेशसँगै नेपाली कम्युनिस्ट पार्टीले जिल्लामा संगठन विस्तार र आन्दोलनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ। कमरेड पाठकले मुलुकको समसामयिक राजनीतिक अवस्था, कम्युनिस्ट आन्दोलनको दिशा तथा कार्यदिशाबारे गम्भीर सोचका साथ नयाँ यात्राको सुरुवात गरेको बताउनुभएको छ। पार्टी प्रवेश कार्यक्रमका क्रममा नेकपाका नेताहरूले उहाँको अनुभव र योगदानले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

असावधानीका कारण देशभर आगलागीका घटनामा वृद्धि

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का घटना घटे । त्यसमध्ये १५ वटा आगलागीका घटना भए । विपद्मा परेर कुल ४८ जना घाइते भए भने एक जनाको निधन भयो । विपद्का कारण कुल रु १० लाख १२ हजारबराबरको क्षति भयो । प्राधिकरणका अनुसार सुनसरी, सिरहा, सर्लाही, रौतहटका दुई स्थानमा आगलागी भएको छ । बारा, कैलाली, कञ्चनपुर, अछाम, डडेल्धुरामा आगलागी हुँदा सोलुखुम्बु, ओखलढुङ्गा, म्यादी, रुकुमपूर्व, कालीकोटमा वनमा डडेढो लाग्यो । उदयपुर, रौतहट, सुर्खेत र डोटीमा जनावरको आक्रमणमा घटना घटे । त्यसैगरी, पुस २२ गते बिहानदेखि २३ गतेसम्म देशभर १९ वटा विपद्मा घटना घटे । त्यसमध्ये १७ वटा आगलागीका घटना घटे । पुस २१ गते बिहानदेखि २२ गते बिहानसम्म देशभर कुल २४ वटा विपद्का घटना घटे । त्यसमा १८ वटा आगलागीमा घटना भएका छन् । हिउँदयाममा विभिन्न कारणले आगलागीका घटनामा वृद्धि भएको छ । सावधानी अपनाउन नसक्दा आगलागीको घटनामा वृद्धि भएको प्राधिकरणले जनाएको छ । विद्युत् सर्ट भएको, परालमा कुन्यूमा असावधानीवश आगो लागेको तथा गोठमा सामान्य सावधानी नअपनाइकन आगो बाल्दा क्षति भएको छ । सावधानी अपनाउन, आगो बालेपछि निभाउन तथा ज्वलनशील पदार्थ जथाभावी नराख्न प्राधिकरणले आग्रह गरेको छ ।

आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ सुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपत्र छपाइ शुक्रबारदेखि सुरु हुने भएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ प्रारम्भ गर्न लागिएको हो ।  समानुपातिक र प्रत्यक्षतर्फका नमुना मतपत्र छपाइ सम्पन्न भएपछि निर्वाचन आयोगले वास्तविक मतपत्र छपाइ प्रक्रिया सुरु गर्न लागेको हो । नेपाली सेनाको सुरक्षा घेराभित्र मतपत्र छपाइ कार्य सञ्चालन गरिने छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल मतदाताको संख्याभन्दा पाँचदेखि सात प्रतिशतसम्म बढी मतपत्र छापिने छ । सरदर दुई करोड मतपत्र समानुपातिक प्रणालीका लागि छापिने अनुमान गरिएको छ । फागुन २१ गते हुने निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सहभागी हुने आयोगले जनाएको छ । आयोगबाट स्वीकृत डिजाइनअनुसार समानुपातिक मतपत्र सेतो कागजमा कालो रङ प्रयोग गरी छापिने छ । समानुपातिक निर्वाचनमा सहभागी हुने गरी बन्दसूची पेस गरेका राजनीतिक दलका ५८ वटा निर्वाचन चिह्न मतपत्रमा समावेश हुने छन् । समानुपातिकतर्फ देशभर एउटै प्रकारको मतपत्र प्रयोग गरिने छ भने प्रत्यक्षतर्फ निर्वाचन क्षेत्रअनुसार फरक–फरक मतपत्र रहने छन् । समानुपातिकतर्फ राजनीतिक दलहरूले पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए । ती सूचीको जाँचबुझ गर्दा सबै दलका बन्दसूचीमा कुनै न कुनै त्रुटि फेला परेपछि आयोगले सच्याउनका लागि सम्बन्धित दलहरूलाई पत्राचार गरिसकेको छ । पुस २७ गतेसम्म बन्दसूची सच्याउन समय दिइएको छ भने पुस २८ गते उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिन चाहेमा निवेदन दिन सक्ने निर्वाचन कार्यतालिकामा उल्लेख छ । माघ ४ गते अन्तिम बन्दसूची सार्वजनिक गरिने आयोगले जनाएको छ । प्रत्यक्षतर्फको मतपत्र छपाइ माघ ९ गतेपछि सुरु गर्ने आयोगको तयारी छ । प्रत्यक्ष प्रणालीका लागि पनि करिब दुई करोड मतपत्र छापिने अनुमान गरिएको छ । समानुपातिक र प्रत्यक्ष दुवै गरी करिब चार करोड मतपत्र छपाइ हुने छन् । नमुना मतपत्र छपाइ सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि मतदाता शिक्षा प्रयोजनमा प्रयोग हुने नमुना मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमुना मतपत्र छपाइ कार्य सकिएको आयोगले जनाएको छ । नमुना मतपत्रमा समानुपातिकतर्फ सेतो कागजमा कालो रङ तथा प्रत्यक्षतर्फ रातो रङ प्रयोग गरिएको छ । समानुपातिक र प्रत्यक्ष दुवै तर्फ गरी १० लाख नमुना मतपत्र छपाइ गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

काठमाडौँ । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए । उनले भने, “निर्वाचनका लागि एकीकृत सुुरक्षा योजनाले मार्ग निर्देशन गरेअनुरुप निर्वाचनको एक महिना अघिबाट फिल्डमा सेना परिचालन हुनेछ ।” एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन र सेनाको परिचालनका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको छ । निर्वाचनका सिलसिलामा सेनाले तीन चरणमा काम गर्नेछ । निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ सुरक्षादेखि महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी सेनाले बहन गर्नेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले गर्नेछ । निर्वाचनका सिलसिलामा सेनाले चार वटै सुरक्षा निकाय र जिल्ला प्रशासनसँगको समन्वय, सहयोग र सहकार्यमा तल्लो तहसम्म निर्वाचनसँग सम्बन्धित एकीकृत तालिम र अभ्यास सञ्चालन गर्नेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सहज होस् भन्ने हेतुले उक्त तालिम र अभ्यास गरिने छ । मतदानका समयमा निर्वाचनस्थल र केन्द्रमा खटिने क्रममा नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने छ । विगतमा जस्तै आगामी निर्वाचनलाई लक्षित गरी सेनाले देशका विभिन्नस्थलमा सुरक्षा वेश स्थापना गर्ने तयारी गरेको छ । फागुन २१ गते मतदान सम्पन्न भएसँगै मत पेटिकाको ढुवानीदेखि मतगणनास्थलको सुरक्षालगायतका जिम्मेवारी सेनाले गर्नेछ । तोकिएको मितिमा निर्वाचन भयमुक्त वातावरणमा सम्पन्न गर्ने सिलसिलामा अहिले प्रदेशस्तरमासमेत सुरक्षा गोष्ठी सञ्चालन भइरहेका छन् । गोष्ठीमा प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्याङ्कन र विश्लेषण गरी सरकारले थप सुरक्षा प्रबन्ध मिलाउनेछ । सबै सुरक्षा फौज, स्थानीय प्रशासन र जनप्रतिनिधि सुरक्षाबीचका समन्वय र सहकार्यमा राज्यको प्राथमिक कार्यभारकारुपमा रहेको निर्वाचन सुरक्षा प्रदान गर्न आफूहरु तयार रहेको सेनाको भनाइ छ ।

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

बाँके । बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ । नयाँ वर्षको रूपमा लिइने माघीले थारू बस्तीमा रौनक बढाएको छ । थारू गाउँमा यतिबेला माघीको रौनक र चहलपहल बढेको बाँके राप्ती सोनारी गाउँपालिका–३ बैजापुर निवासी थारू अगुवा तुलसीराम थारूले बताए । “माघीका अवसरमा नाचिने माघीनाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाच थारू गाउँमा सुरु भएका छन्”, थारूले भने, “गाउँगाउँमा नाचसँगै माघीको चहलपहल सुरु भएको छ । माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणासमेत उठाउने चलन छ ।” थारू समुदायमा माघीलाई विशेष महत्वका साथ हेरिन्छ । माघीदेखि नै समुदायमा नयाँ कामको र नयाँ व्यवस्था लागू हुने भएकाले यसलाई विशेष रूपमा हेरिने गरेको बाँके बैजनाथका थारू अगुवा चन्द्रबहादुर चौधरीले बताए । माघीलाई थारू समुदायमा आआफ्नै तरिकाले मनाउने तर नीति व्यवस्था र गाउँ सञ्चालन प्रक्रिया भने एक वर्षलाई एउटै प्रकृतिको हुने हुँदा यसले रोचकता बढाएको चौधरीले बताए । “माघी आएसँगै थारूगाउँमा माघीको रौनक र चहलपहल छुट्टै बढेको छ”, थारू अगुवा चौधरीले भने, “नयाँ पुस्तामा संस्कृतिको संरक्षण र परिस्कृत गर्ने सोच पनि पलाएको छ ।” माघी थारू समुदायको चाडमात्र नभएर यस अवसरमा नयाँ रीतिथिति, नयाँ अगुवा (मतहवा, भल्मन्सा, मतहवा, बरघर) चुन्ने र नीतिनियम निर्माण गर्ने पर्वका रूपमा रहेको चौधरीको भनाइ छ । पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारू समुदायको बाक्लो बस्ती रहेकाले पनि माघीको यी जिल्लाहरूमा अझ विशेष महत्वकासाथ मनाउने परम्परा छ । गाउँको अगुवा कन्दारदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ? लेनदेन घर सल्लाहलगायत विषयमा छलफल हुने भएकाले यसलाई नयाँ आर्थिक वर्षका रूपमा पनि थारू समुदायले लिने गरेको राप्ती सोनारी–३ का जननिर्वाचित वडाध्यक्ष मीनकुमार थारूले बताए । “थारू समुदायमा विशेष गरेर पुसको अन्तिम दिनदेखि माघीको प्रभाव देखिने गर्दछ । अहिले थारू गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा सङ्कलन, पिसान कुटान, रङरोगन, जाँड बनाउने ढिक्री पकाउने तथा खानाका अन्य प्रकार निर्माण पूरा गरिएको छ”, उनले भने, “माघीकै अवसरमा विभिन्न ठाउँमा मेला महोत्सवकोसमेत आयोजना हुने गर्दछन् ।” उनका अनुसार थारू समुदायमा माघ १ गतेको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिसहरू एकठाउँमा जम्मा भएर गाउँको एक ठाउँमा आगो बाली रातभर आगो तापेर रमाइलो गर्दछन् । राति आगो ताप्ने, भाले बासेसँगै नदी, खोलामा नुहाउने गर्दछन् । नुहाएर आफूभन्दा ठूलासँग आशीर्वाद लिने र सानालाई स्नेह गर्ने चलन छ । माघ २ गते गाउँको भेला बोलाएर अगुवा छान्ने र नीतिनियम बनाउने चलन छ । त्यसपछि केही दिन नाचगान गरेर पर्व मनाउने चलन छ । माघीकै अवसरमा नाचिने माघीनाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाच नाचिने गरिन्छ । माघी पर्वसँगै थारू संस्कृति संरक्षण र रमाइलोको लागि मगौटा नाच गान सुरु भएको बाँके राप्ती सोनारी–२ कचनापुरका रामदास थारूले जानकारी दिए । भुवरभवानीमा माघी मेलाको तयारी बाँकेको राप्तीसोनारी गाउँपालिका–३ बैजापुरमा अवस्थित भुवरभवानी मन्दिरमा माघी मेलाको तयारी गरिएको छ । थारू समुदायको मुख्यपर्व माघीको अवसरमा यही पुस ३० गतेदेखि माघ ४ गतेसम्म भुवरभवानी माघी मेला सञ्चालनको तयारी गरिएको राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष एवं मेलाका संरक्षक मीनकुमार थारूले जानकारी दिए । उनका अनुसार यस वर्ष मेलालाई थप व्यवस्थित गर्दै मन्दिर संरक्षण तथा संवर्द्धन समितिले नै मेला सञ्चालन गर्ने भएको छ । मेलामा थारू समुदायको कला, संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति र स्थानीय उत्पादन व्यापारिक कक्ष राखिने छ । विसं २०१३ मा स्थापना भएको भुवरभवानी मन्दिर बाँके जिल्लाकै दोस्रो ठूलो मन्दिरका रूपमा परिचित छ । मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँ दर्शक तथा भक्तजन आउने गरेको राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारूले बताइन् । “भुवरभवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको अझ प्रचारप्रसार गर्नसके आस्थाको गन्तव्य बन्न सक्छ”, उपाध्यक्ष थारूले भुवरभवानी माघी मेलाबारे भनिन्, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।” उनले भुवरभवानी मन्दिर राप्तीसोनारीको प्रमुख ऐतिहासिक धार्मिक धरोहर रहेको बताउँदै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुका साथै मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरिन् ।