अत्यावश्यक नपरी घरबाहिर ननिस्किन इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले इरानले गरेको आक्रमणलाई लक्षित गर्दै अतिआवश्यक नपरी घरबाहिर ननिस्कन नेपालीहरूलाई आग्रह गरेको छ । दूतावासले आज एक सूचना जारी इजरायलमाथि ईरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएको उल्लेख गरेको छ । 

 'आगामी सोमबार राती ११ बजे सम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठुलो स्तरको सभा-भेल नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाकारलागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछ,' सूचनामा भनिएको छ ।

कुनै समस्या परेमा दूतावासका  कुमारबहादुर श्रेष्ठ, द्वितीय सचिव (0528289300) र सञ्जयकुमार साह, सहचारी (054-5582077) लाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ । 

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेकका नेताहरुले बताएका छन् । यस्तै, सरकारले संसद्को चालु अधिवेशन आज रातिबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सन्दर्भमा छलफल हुने बताइएको छ ।

एमालेले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्ने नेताहरुले बताएका छन् । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा बस्दैछ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं ।आज पनि नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी  प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै र बाँकी पहाडी भू–भागको एक–दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ विभागले जनाएको छ । आज सूर्योदय बिहान ५ बजेर ४० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २८ मिनेटमा हुनेछ ।

तेस्रो त्रैमासकसम्म पुँजीगत खर्च ३२ प्रतिशत मात्र

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासक अवधिसम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२.२४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । चालु आवका लागि पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रुपैयाँ विनियोजन भएकामा चैत मसान्तसम्मको नौ महिनामा ९७ अर्ब ३७ करोड ७४ लाख रुपैयाँबराबर खर्च भएको छ । चालु आवका निम्ति सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँबराबरको बजेट विनियोजन गरेको थियो । हालसम्मको कुल बजेट खर्च वार्षिक विनियोजनको ५१।९३ प्रतिशत अर्थात् नौ खर्ब नौ अर्ब ३९ करोड १४ लाख रुपैयाँबराबर रहेको छ । चालुगत शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँबराबर विनियोजन भएकामा हालसम्म ५६.४१ प्रतिशत अर्थात् ६ खर्ब ४४ अर्ब दुई करोड ५४ लाख रुपैयाँबराबर खर्च भएको छ । यस्तै, वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख रुपैयाँबराबर विनियोजन भएकामा ५४.६४ अर्थात् एक खर्ब ६७ अर्ब ९८ करोड ८६ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । बजेट खर्चमा मात्र नभई राजस्व संकलनको अवस्था पनि कमजोर देखिएको छ । चालु आवका लागि कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँबराबर राजस्व संकलन गर्ने सरकारी लक्ष्य छ । चैत मसान्तसम्ममा वार्षिक लक्ष्यको ५२.५ प्रतिशत अर्थात् सात खर्ब ७३ अर्ब तीन करोड ६६ लाख रुपैयाँ असुली भएको छ । जसमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको ५१.४१ प्रतिशत अर्थात् ६ खर्ब ७१ अर्ब ११ करोड ५६ लाख र गैरकरतर्फ ६५.७१ प्रतिशत अर्थात् ७६ अर्ब ९२ करोड ५६ लाख रुपैयाँबराबर संकलन भएको छ । चालु आवका निम्ति सरकारले ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँबराबरको वैदेशिक अनुदान लिने लक्ष्य राखेकामा हालसम्म लक्ष्यको ५.५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख रुपैयाँबराबर अनुदान लिइएको छ । रासस

किसानलाई ऋणमा डुब्न दिन हुँदैन : कृषिमन्त्री साह

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले किसानलाई ऋणमा डुब्न दिन नहुने बताएकी छन्। शनिबार काठमाडौंमा देशभक्त युवा नेपालले आयोजना गरेको कार्यक्रममा उनले किसानलाई कुनै पनि हालतमा मर्कामा पर्न दिन नहुनेमा जोड दिएकी हुन् । सरकार ऋणमा डुबे पनि किसानलाई समस्या पर्न दिन नहुने उनले उल्लेख गरिन्। ऋण खोजेरै भए पनि दुग्ध किसानको बक्यौक्ता भुक्तानीका निम्ति पहल गरेको उनको भनाइ छ। सरकारले आउँदो बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिने उनले बताइन्। मन्त्री साहले एक लाख हेक्टर जमिनमा चैते धान उत्पादन गर्न सके धानको आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने सुनाइन् । त्यसतर्फ सरकारले आवश्यक योजना बनाइरहेको उनले जानकारी दिइन्। विदेश पलायन हुनबाट रोकेर देशमै रोजगारी सिर्जना गर्न सरकार योजना बनाउने काममा लागेको र त्यसले मुलुक आत्मनिर्भर हुन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरिन् ।कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

एसीसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हात पारेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनायो। यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै अविजित ६४ रन बनाए। दिपेन्द्रले १९ बलमा अर्धशतक पुरा गरे । दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरे।  त्यस्तै असिफ सेखले ५२ रन बनाए भने कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ सन्दीप जोराले ७ र गुलशन झाले ५ रन बनाए। त्यसैगरी कतारका बलर हिमांशु राथोड र मुसावर शाहले ३/३ विकेट लिए। यो जितपछि समुह ए मा रहेको नेपालको २ खेलमा ४ अंक जोडेको छ ।अब अर्को खेल नेपालले आगामी सोमबार हङकङसँग खेल्ने छ ।

विज्ञापनमा व्यस्त बनिरहेका बेला महानायक हमाल बने गोरेटोको ब्रान्ड एम्बास्डर

काठमाडौँ । अभिनेता राजेश हमाल पछिल्ला दिनमा देश विदेशमा हुने विभिन्न कार्यक्रम तथा म्यूजिक भिडियो र विज्ञापनहरुमा व्यस्त छन् । नयाँ वर्ष २०८४ मा फिल्ममा देख्न पाउने बताएका हमालले बुधबार बबरमहलमा घोडामा चढेर एउटा  ट्राफिक सचेतना मुलक टीभी बिज्ञापनमा अभिनय गरे ।   अभिनेता हमाल क्यानाडा अध्ध्ययनको लागि  गोरेटो कन्सल्ट्यान्सीको ब्राण्ड एम्बसेडर बनेसँगै उनले १ वर्षसम्म  गोरेटो कन्सल्ट्यान्सीका विभिन्न पेजेक्टमा काम गर्ने  प्रबन्ध निर्देशक धिरज कंडेलले जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तर्गत यो बिज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभाकारी हुनेमा राजेश स्वयम विश्वस्त देखिएका छन् ।  सामाजिक उत्तरदायित्व अन्तर्गत यो बिज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभाकारी हुनेमा आँफु विश्वस्त रहेको कंडेलले राजेश हमाललाई अहिलेसम्मकै उत्कृष्ट अवतारमा उतारेको पनि जनाएका छन्।   अभिनेता हमाल स्वयम पनि उच्च शिक्षाका लागि विदेशमा पढेका एक वौद्धिक व्यक्तित्व भएका कारण  उनको यो विज्ञापन प्रभावकारी बन्ने अर्का एड्भाइजर राम खड्काले बताए । खड्काले क्यानाडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताकोरुपमा परिचित भएको गोरेटो कन्सल्ट्यान्सीले बेलाबेलामा यस्ता सामाजिक सचेतनाका लागि विभिन्न कार्यहरु गर्ने बताए ।   त्यस्तै, गोरेटोका  चर्चित काउन्सेलर प्रकाश रेग्मी पनि निक्कै नै उत्साहित देखिएका छन्।क्यानाडाले हालसालै अन्तर्रराष्ट्रिय विद्धयार्थी लक्षित केहि  नीतिमा परिमार्जन गरेको र उक्त नीति विद्यार्थीहरुको क्यानाडा बसाइ राम्रो बनोस् भन्नको लागि नै बनाएको बताएका छन्, आँफु डेनमार्कमा अध्ययन गरेका रेग्मी अन्तर्रराष्ट्रिय अनुभव लिन र बदलिँदो विश्व परिवेशमा क्यानाडा जस्तो उत्कृष्ट गन्तव्यमा पढ्न र सकभर नेपाल फर्किएर देशको लागि केहि गर्नका लागि युवाहरुलाई अनुरोध गरेका छन्। महानायक हमालले १ वर्षसम्म  गोरेटोसँग जोडिएर काम गर्नेछन् ।

सिड्नीको सपिङ मलमा छुरा प्रहार गरी पाँच जनाको हत्या

काठमाडौँ । अष्ट्रेलियाको सिड्नीस्थित एक सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहारबाट पाँच जनाको हत्या गरिएको छ। चक्कु प्रहार गर्ने एक आक्रमणकारीलाई शनिबार सिड्नीको समुन्द्री किनारमा प्रहरीले गोली हानी मारेको प्रहरीले जनाएको छ । व्यस्त वेस्टफिल्ड बोन्डी जंक्शन शपिङ सेन्टरमा एक जना व्यक्तिले धमाधम नौ जनालाई आक्रमण गरेका थिए । आक्रमणकारीलाई एक प्रहरी अधिकारीले गोली हानेको प्रहरीले जनाएको छ। ‘त्यहाँ नौं जना पीडित मध्ये पाँच जना मरेका छन्,’ न्यू साउथ वेल्सका प्रहरी सहायक एन्थोनी कुकले पत्रकार सम्मेलनमा भनेका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार, व्यस्त मलमा किनमेलमा मग्नरहेका मानिसहरुमाथि चक्कु आक्रमण गरिएको थियो । यसअघि कसैले धम्कि नदिएको प्रहरीले बताएको छ ।  प्रहरीका अनुसार आक्रमण किन गरियो भन्नेबारे अनुसन्धान जारी रहेको छ । आक्रमणबाट घाइते भएका एक बालकसहित अन्यलाई अस्पताल लागिएको  छ।

स्मिता दाहाल र दिव्य कुमारको स्वरमा 'लुकाउने ठावै छैन्' सार्वजिनक (भिडियोसहित)

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसर पारेर भारतीय गायक दिव्य कुमार र गायिका स्मिता दाहालको स्वरमा रहेको नयाँ गीत लुकाउने ठावै छैन जाली रुमाल सार्वजनिक भएको छ।गीतमा सरोज ओलीको शब्द, दिपक शर्माको संगीत र रिकेश गुरुङ्गको एरेन्ज रहेको छ।   गम्भीर विष्टको निर्देशनमा तयार भएको भिडियोमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र सरोज ओलीले अभिनय गरेका छन् ।  नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।  रेनिश फागोले कलर गरेको भिडियो आर टि इन्टरटेन्मेन्ट युटुब मार्फत अपलोड गरिएको छ।

राष्ट्रिय दुग्ध विकास बोर्डले माग्यो कार्यकारी निर्देशक, दरखास्त आह्वान

काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डले कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ ।  बोर्डले शनिबार जारी गरेको सूचनाअनुसार खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको हो ।  इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।  

डोल्पा डढेलो अपडेट  : तीनै जना बालबालिकाको मृत्यु

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा लागेको डढेलोमा परेका तीन बालबालिकाको मृत्यु भएको छ । गत बिहीबार डढेलोमा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । आगलागीबाट घाइते दुईजनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको उनले बताए । उपचारको क्रममा १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौंमा आज निधन भएको प्रजिअ दाहालले बताए ।   आगलागीबाट घाइते १० वर्षीय सुलस बुढाको गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको थियो । गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएका थिए ।  यसअघि डोल्पामै गत मंगलबार ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा तीन सैनिकको मृत्यु भएको थियो । रासस

राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकाको सपनतीर्थमा पूजा अर्चना गरेका छन् । राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजार्चना गरेको उनको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेललाई काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डङ्गोललगायतले स्वागत गरेका थिए । आज सपनतीर्थमा स्नान मेला पनि सुरु भएको छ । यहाँ स्नान गर्न काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन आएका छन् । सपनतीर्थमा स्नान गरेपछि कुष्ठरोग निको हुने जनविश्वास छ । सपनतीर्थमा मेलासँगै टोखामा विस्का नखः (जात्रा) पनि सुरु भएको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिए । जात्रा वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ ।     

नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिवार नयाँ वर्षको अवसरमा काठमाडौँको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुसीयाली साटासाट गर्न पुगेका उनले यस्तो बताएका हुन्।  गृहमन्त्री लामिछानेले जनताका सबै किसिमका गुनासाहरू यथोचित ढङ्गबाट समाधान हुने प्रतिबद्धता जनाए। उनले कर्मचारीहरूमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि बताए। उनले काठमाडौँ सहरलाई चलायमान र क्रियाशील बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको बताए। उनले काठमाडौँ जिउँदो, जाग्दो सहर बनाउन आफूले काम गरिरहेको जिकिर गरे। उनले भने, ‘सबै गुनासाहरू यथोचित ढङ्गले सम्बोधन हुन्छ, म जानकार छु, यसमा सबै समस्या समाधान हुनेछन् । सेवा अवधि लगायत सबै विषयहरू एकमुष्ट रूपमा सम्बोधन हुन्छ । राष्ट्रसेवकहरूलाई कहीँ कतै अन्याय नपरोस्, सेवामा खटिएका सम्पूर्ण प्रहरी जवानदेखि माथिल्ला अफिसरसम्म कुनै अन्याय नहोस्, कसैमाथि पनि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह नहोस् । कसैले नेता चिन्नु पर्दैन, जनता चिने हुन्छ, नेताको चाकडी नभई जनताको सेवा गरे मात्रै सङ्गठन बलियो बन्छ भन्ने सुनिश्चितता हुनेछ । अतिरिक्त सुरक्षा व्यवस्था छ, व्यवस्थापन चुस्त बनाइएको छ । सबै जना सुरक्षित हुनुहुन्छ, त्यस कारण सहर जिउँदो छ, उज्यालो छ । सहरमा राति, बिहान, साँझ कतै जानुपर्दा सहरमा खुला ठाउँहरू छन्, सुरक्षित छन् भन्ने सन्देश हरेक देशले दिइरहेको छ, त्यो हुनुपर्छ, आजको बदलिँदो परिस्थितिमा सात, आठ बजे अँध्यारो हुने भन्ने हुँदैन, व्यापार व्यवसाय चलोस्, मानिसहरूको चहलपहल होस् । सुरक्षामा पनि बल मिल्छ, रातिको समयमा पेट्रोल हाल्ने ठाउँ पनि थिएन, हामीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पम्पहरू २४ सै घण्टा खुलेका छन् । अन्य पनि खुल्ने क्रममा छन् भन्ने सुनेको छु । त्यस कारणले चलायमान भए अर्थतन्त्र पनि चलायमान हुन्छ, रोजगारीका अवसर पनि हुन्छन् । यो सहर जिउँदो, जाग्दो सहर क्रियाशील सहर हो भन्ने कुरा महसुस गराउनुपर्छ । नियम र कानुनहरू कडाइका साथ पालना हुन्छन्, नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन । प्रहरीको मनोबल अझ बढाउन सकियोस्, सुधारको काम अझै गर्न सकियोस् ।’  गृहमन्त्री लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुसीयाली साटासाट गर्न आफू सडकमा आएको बताए।

नयाँ वर्षसँगै समृद्धिको मार्गमा अग्रसर हुनु पर्छ : सभापति देउवा

काठमाडौं । नयाँ वर्षसँगै दृढ सङ्कल्प र अठोटका साथ नवीन अवसरहरूको उपयोग गरेर मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको बताएका छन् । नयाँ वर्ष २०८१ को शुभकामना सन्देश दिनुहुँदै काँग्रेस सभापति शेरबहादुर देउवाले यस्तो बताएका हुन् । नेपाली जनताको लामो त्याग, सङ्घर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको एकजुट हुनु पर्ने उहाँले सन्देशमा उल्लेख गरे । सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरू मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक भएको उहाँले सन्देश मार्फत बताए ।  उनले नयाँ वर्ष २०८१ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरे ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  आज २०८१ साल वैशाख १ गते शनिबार सन् २०२४ अप्रिल १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा पुगेको छ।युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो आजको विदेशी मुद्राको विनिमय दर