ईपीएस भाषा परीक्षामा सहभागी ४० हजार ५८० मध्ये ६ हजार ३२१ जना उत्तीर्ण

काठमाडौं । पहिलो चरणको ईपीएस भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। गत ७ फागुनदेखि २४ चैतसम्म भएको भाषा परीक्षामा उत्पादनमुलकतर्फ सहभागी ४० हजार ५८० मध्येबाट ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका हुन्।

वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार उत्तीर्ण भएकाहरूले अब सीप परीक्षा दिनु पर्नेछ।

‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास भएपछि मात्रै उनीहरू कोरिया जान पाउने श्रमिकको सूची (रोस्टर)मा सूचीकृत हुने विभागले जनाएको छ।उनीहरुको सिप परिक्षण आगामी ९ वैशाखदेखि १५ वैशाखसम्म तय गरेको छ ।

उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा ३१ वैशाखदेखि १६ साउन २०८१ सम्म हुँदैछ। त्यस्तै तेस्रो चरणको परीक्षा २६ कात्तिकदेखि २ पुस २०८१ सम्म हुने तालिका छ। 

भोलि इद पर्वको सार्वजनिक बिदा

भोलि इद पर्वको सार्वजनिक बिदा काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले जारी गरेको सूचनामा भोलि इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)को अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख छ । “मिति २०७९ चैत २ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद-उल-फित्र (ईद)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८० साल चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा भनिएको छ ।  

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ५०० रुपैयाँ बढेको छ । आज छापावाल सुन तोलामा एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।  तेजावी सुन तोलामा एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।  चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हाम्रा युवाको सपना खाडीमा खेर जान नदिऔँ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मुलुकको अर्थतन्त्र बाह्य भन्दा पनि आन्तरिक कारणले कमजोर बनेको टिप्पणी गरेका छन् ।नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभामा उनले सो कुरा बताएका हुन् । “किनभने यस अवधिमा भारत बंगलादेशलगायतका मुलुकको वृद्धिदर उच्च छ । विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालु वर्षमा ३।३ प्रतिशतमात्र हुने अनुमान सार्वजनिक गरेको छ । जब कि बंगलादेशको ५.६ प्रतिशत र भारतको ७.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ,” उनले भनेका छन् । उनले नेपालका युवाहरुका सपना खाडीमा खेर जान नदिन प्रतिवद्ध हुनुपर्ने, उद्यमीको मोहरलाई रुपैयाँ बनाउन अवसर दिनुपर्ने, रित्तिएका पहाड हराभरा बनाउन नेपालको निजी क्षेत्रलाइ थप हौसला थप्नुपर्ने बताए । सम्बोधनको पूर्णपाठ उद्योग वाणिज्य दिवस एवं नेपाल उद्योग वाणिज्य महासंघको यस ५८ औं बार्षिक साधारणसभाको उदघाटन कार्यक्रममा   यहाँहरु   सबैलाई   हार्दिक   स्वागत गर्दै उपस्थितिका लागि आभार व्यक्त गर्दछु  ।   म  लगायत  नयाँ  कार्यकारिणी  समितिले कार्यभार सम्हालेको एक बर्ष पूरा भएको छ । म र यो कार्यसमिति मुलुकको निजी क्षेत्रेको यो छाता संस्थाको नेतृत्वमा आइरहँदा मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा थियो ।  मैले  महासंघको  नेतृत्व गर्नुपूर्व  म  एक्लै, अरु एकदुइ जना साथीभाइ र परिवारबाट शुरु भएको मेरो व्यवसायमा  करिब २० हजारको परिवार  बनेकोे छ । महासंघमा जोडिएसंगै करिब ६ लाख व्यवसायी सहितको परिवार बन्यो । हामीसंग विविध कारणले  सदस्य  नभएका  वा  हुन  नपाएका व्यवसायी  पनि  यो  परिवारका  सदस्य  हुन् । यसको अर्थ महासंघ परिवार  सम्पूर्ण निजी क्षेत्रका सदस्यहरुको हो ।    हाम्रो वृहत परिवार यो सिंगो मुलुक हो । निजी क्षेत्र यो वृहद परिवारको आय आर्जन गर्ने  सदस्यहरु  हुन्  । हामी  निजी  क्षेत्र  र  सर्वसाधारणलाई  आवश्यक  सेवा  र सुरक्षा दिन निर्माण भएको संरचना सरकार हो । सरकारले दिने सेवा र सुरक्षा विना हामी काम  गर्न  सक्दैनौ  ।  हामीलाई  सेवा  र  सुरक्षा  दिए  वापत  हामी राज्यलाई कर  बुझाउँछौं  ।     अहिले  परिवारमा  आम्दानी  र खर्चबीच  तालमेल मिलेको  छैन  ।  मुलुकको  खर्च  धान्ने निजी क्षेत्र पंखेटा पिंmजाएर थप आर्जन गर्न खोजिरहेको छ तर त्यसका लागि आवश्यक सेवा  र  सुरक्षा  पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट थोरै  मात्र भए पनि प्रोत्साहन चाहेको छ ।    म युवाहरुको सपनाको बारेमा कुरा गर्न चाहन्छु । म उद्यमशीलताको कुरा गर्न चाहन्छु ।  उद्यमशीलता एउटा कठीन तपस्या हो । कुनै पनि नयाँ काम गर्न नवीन सोच र आइडिया चाहिन्छ । त्यसलाई कार्यान्वयन  गर्न रकम चाहिन्छ ।  यस्तो रकमको जोहो घरवार  धितो  राखेर नै गर्नुपर्छ ।  अब  त्यो  आइडियालाई  समाजले  स्वीकार  गर्ने  गरि  तयार  पार्नुपर्यो  ।  राजनीतिक तहबाट  त्यसलाई  अपनत्व  ग्रहण  गरिदिनुपर्यो  ।  कानुनी  अडचन  हुनु  भएन  र वातावरणीय रुपमा दिगो हुनुपर्यो । यी सबै आधारभूत बिषय पुरा गरेपछिमात्रै एउटा परियोजना वा व्यवसाय बन्छ । यति मिहिनेत गरेर तयार पारेको व्यवसाय वा परियोजना एउटा सरकारी नीति, एउटा अधिकारीको लहड अनि भीडले एकैछिनमा भताभुंग पारिदिन सक्छ ।   तर यति हुँदा हुँदै पनि म  आज यहाँ  निराशामात्र व्यक्त गर्न चाहन्न ।  म यो सम्भावना नै सम्भावना भएको मुलुकको रुपमा देख्छु । यी सम्भावनालाई यथार्थमा परिणत गर्न राजनीतिक नेतृत्वको  भूमिकाको  बारेमा पनि कुरा गर्छु ।  सम्भावना पहिल्याउन अहिलेको वास्तविक चित्रण आवश्यक छ । अहिले विदेशी मुद्राको संचिति हालसम्मकै उच्च छ । अर्थात करिब साढे १२ महिनाको वस्तु  तथा  सेवा  आयात  गर्न  पर्याप्त  छ  । बैंकहरुमा  पनि  तत्काल  कर्जाका  रुपमा  दिन सकिने  करिब  ६  खर्ब  रुपैया  छ  ।  उद्यमी  व्यवसायीले व्यवसाय विस्तार गर्न नसक्दा कर्जाको माग न्युन छ ।     भुक्तानी सन्तुलन र चालु खाता समेत बचतमा हुँदा सकारात्मक सन्देश जान्छ । तर यस  अवधिमा  एक  खर्ब  रुपैयाको  निर्यात  हुँदा  ८० अर्ब  रुपैया  त  विद्यार्थीहरु  विदेश जाँदा  बाहिरिएको  छ  ।  नेपाल विश्व व्यापार संगठनको सदस्य बने यता निर्यात तीन गुणासम्म बढेको छ भने आयात १० गुणा बढेको छ ।   वैदेशिक लगानी  कुल  गार्हस्थ्य  उत्पादनको  शुन्य  दशमलब २ प्रतिशत हाराहारीमात्रै छ ।   वैदेशिक अनुदान निरन्तर घट्दो छ । वित्तीय  व्यवस्थापन  खर्च  पूँजीगत  खर्च  भन्दा  झण्डै  दोब्बर  भएको  छ  ।  आन्तरिक स्रोत बढाउन सकिएन भने नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढने सम्भावना देखिएको छ ।  निर्यात लगानी, सहायता सबै कम हुँदा पनि वाह्य क्षेत्र सबल हुनुको कारण रेमिट्यान्स हो । रेमिट्यान्स मात्रै मुलुक धान्न आधार बनेको दशकौँ भैसकेको त हामीलाई विदितै छ ।  रेमिट्यान्सले मात्रै निरन्तर अर्थतन्त्र धान्न सक्ने सम्भावना न्युन हुन्छ ।  विगतमा  बढदो  रेमिट्यान्सले  माग  बढाउँदा  सरकारको  राजश्व  पनि  बढेको  थियो  । राजश्व अपेक्षित रुपमा बढन सकेको छैन् । न्युन पूँजीगत खर्च हुँदा पनि सरकार घाटामा रहनुले आगामी दिन थप जटिल हुने देखिन्छ । सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरु   यी माथिका तथ्यांकहरु मैले हाम्रो अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा जानकारीका लागि प्रस्तुत गरेको हुँ । किनभने अर्थतन्त्रमा अझै समस्या छ भन्ने तथ्यलाई स्वीकारेर मात्र यसको निकास खोज्न सजिलो हुन्छ भन्ने मलाई लाग्दछ ।    करिब दुइ बर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान  नगर्दा  समस्या झन् बल्झिँदै गएको हो । निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरेकै हो । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिन नसक्दा हामी आज यो मोडमा आइपुगेका छौँ ।    यसपटकको बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रको साझा सुझाव पेश हुदा पनि सुधारका उपाय अवलम्बन हुन सकेनन् ।    श्रीलंका बन्न सक्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरिए । यसबाट हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ ।  भने यसै अवधिमा श्रीलंकाको आर्थिक वृद्धि माइनस ७।८ प्रतिशतबाट करिब दुइ प्रतिशत सकारात्मक भएको छ ।    नेपालको अर्थतन्त्र कमजोर हुनुमा वाह्य भन्दा आन्तरिक कारण नै प्रमुख हुन ।  किनभने यस अवधिमा भारत बंगलादेश लगायतका मुलुकको वृद्धिदर उच्च छ । विश्व  बैंकले  नेपालको  आर्थिक  वृद्धि  चालु  वर्षमा  ३.३  प्रतिशत  मात्र  हुने  अनुमान सार्वजनिक गरेको छ । जब कि बंगालादेशको ५.६ प्रतिशत र भारतको ७.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ । गत बर्ष पनि नेपालको वृद्धि दुइ प्रतिशत भन्दा कम हुँदा भारत र बंगलादेशको अर्थतन्त्र ६ प्रतिशत भन्दा बढिले विस्तार भएको थियो ।   भारतमात्रै होइन हाल निक्कै उच्च दरमा वृद्धि हासिल गरिरहेका बंगलादेश, क्याम्बोडिया, लाओस, रुवाण्डा र इथियोपिया जस्ता मुलुकको बिकासको मुख्य आधार निजी  क्षेत्रले  डोर्याएको  वृद्धि  नै  हो  ।  कुनै  समयका  द्धन्दग्रस्त  र  निक्कै  गरिब मुलुकहरुको पछिल्लो एक दशकको औसत वृद्धिदर ६ प्रतिशत माथि छ । नेपालको भने औसत ४ प्रतिशत छ ।   पछिल्लो  दुइ बर्षमा  न्युन  आर्थिक  वृद्धि  हुनुको  कारण  निजी क्षेत्रले काम  गर्न नपाउँदा हो । यस बर्ष पनि उत्पादनमुलक क्षेत्रको वृद्धिदर शुन्य दशमलब ४ प्रतिशतले ऋणात्मक छ ।   सम्माननीय   प्रधानमन्त्रीज्यू,   दलका   प्रमुखज्यू   लगायत   उच्च   नेतृत्व   वर्ग   ।      म व्यक्तिगत रुपमा हरेक क्षेत्र र प्रयासलाई सकारात्मक रुपमा हेर्ने व्यक्ति हुँ । मैले सकेसम्म होइन, छैन र हुँदैन भन्ने शब्द प्रयोग पनि गर्दिन । हामी आफैँमा सम्पन्न र सक्षम छौँ । हाम्रो अर्थतन्त्र सानो भएकाले रिकभर हुन सजिलो पनि छ । त्यसैले हाम्रा रणनीतिहरु कुनै बाहिरी प्रभाव भन्दा पनि हाम्रो माटो र हाम्रो स्थिति परिस्थिति सुहाउँदो हुनुपर्छ भन्ने मेरो धारणा हो । त्यसैले आज पनि म भन्छु, हामीले लिने साना तर सकारात्मक प्रयासहरुले पनि हामीलाई ठूलो प्रतिफल दिनेछन् । यसका लागि सबैको सकारात्मक सोच र सत्प्रयास आवश्यक छ ।       हाम्रा युवाहरुका सपना खाडीमा खेर जान नदिऔँ । उद्यमीको मोहरलाई रुपैया बनाउने अवसर दियौँ । रित्तिएका पहाड र बस्तीको माटो हराभरा बन्न सक्छ । यसका लागि पनि नेपालको निजी क्षेत्रलाई थप हौसला प्रदान गर्नुपर्छ । हामी भुकम्पपछि कसरी उठ्यौं रु अनि कोभिड पछि कसरी तंग्रियौं रु यी दुख बाट पनि हामीले प्रेरणा लिन सक्छौँ । मुलुकको निजी क्षेत्र बिकास र समृद्धिको नेतृत्व लिन तयार छ, मात्र वातावरणको खाँचो छ ।   सबै मिलेर यही वातावरण निर्माण गरौँ र आजैदेखि अर्थतन्त्रलाई सबल बनाऔँ भनेर हामीले आजको यस गरिमामय सभामा यहाँहरु सामु पाँच बुँदे प्रतिवद्धतापत्र  पेश  गरेका  छौ  । यसमा हामी यहाँहरुको प्रतिबद्धताको अपेक्षा गरेका छौँ ।    अहिले  निराशा  र  अविस्वास  बढेका  बेला  यहाँहरुले  यी  प्रतिवद्धता  जनाइदिनुभएमात्रै पनि सकारात्मक सन्देश जाने मैले अपेक्षा गरेको छु । यहाँहरु समक्ष यसका लागि हार्दिक अनुरोध गर्दछु ।   नेपाल उद्योग वाणिज्य महासंघले राख्दै आएको द्धिपक्षीय लगानी सम्झौता बीआईए को खाका मन्त्रीपरिषदबाट पारित भएको छ । म यसका लागि सम्माननीय प्रधानमन्त्रीज्यु प्रति आभार व्यक्त गर्दछु ।  अब छिट्टै नै हामीले सुधारका लागि तयार पारेको १२ कानुन एवं नियमावली पनि पारित हुने अपेक्षा गरेका छौ ।    आजको यस कार्यक्रममा मुलुकभरबाट करिब एक हजार भन्दा बढि उद्यमी व्यवसायी भेला भएका छौं । व्यवसायी र आम सर्वसाधारणको मुहारमा मुस्कान छर्न राजनीतिक नेतृत्व र हामीले धेरै काम गर्नुछ । यो निराशालाई आशामा परिणत गर्नुछ ।  अबको दुइ दिनपछि नयाँ बर्ष २०८१ शुरु हुँदैछ । सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरु, नेतृत्व वर्ग नयाँ बर्षमा हामी व्यवसायीहरुले यहाँहरुबाट के सन्देश लिएर जाने अब यो यहाँहरुको हातमा छ ।    नयाँ वर्ष २०८१ को शुभकामना ।

डढेलो निभाउन जाँदा ३ जना नेपाली सैनिकको निधन

काठमाडौँ । डढेलो निभाउन जाँदा ३ जना नेपाली सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिन परिचालित ३ जना नेपाली सैनिकको मृत्यु भएको हो ।  डडेलोले टिप्दा घाइते भएका ४ जना सैनिकमध्ये ३ जना नेपाली सैनिकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एक जनाको जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको छ भने थप २ जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो । एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।  देशका विभिन्न स्थानहरूमा भइरहेका आगलागी नियन्त्रणका निमित्त करिब ८ सय स्थानमा १२ हजार ५ सय जना सकलदर्जा परिचालित भएको जनाइएको छ ।  

साझामा १.१ मेगावाटको चार्जिङ स्टेसन, गुड्छन् ४० विद्युतीय बस

काठमाडौं । साझा यातायात सहकारी संस्था लिमिटेडको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ ।मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन गरेका हुन्। साझा यातायातले पहिलो पटक ललितपुरको पुल्चोकमा नेपालकै सबैभन्दा बढी पावर भएको चार्जिङ स्टेसनको शुरुवात गरेको हो । चार्जिङ स्टेसनसहित मंगलवार नै ४० वटा विद्युतीय बस पनि औपचारिक रुपमा सञ्चालनमा आएका छन् । साझा यातायातले आउँदो दिनमा डिजेल गाडीलाई रूपान्तरित बिजुली गाडी बनाएर परीक्षण गर्न लागेको साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले जानकारी दिए । उनले अहिले सञ्चालनमा आउने बसमा २६ सिट रहेको र ४५ मिनेटमा बस पूर्ण चार्ज (फुल चार्ज) हुने बताए। अध्यक्ष दिक्षितले एक पटक फुल चार्ज गरेपछि साझा यातायातका विद्युतीय सवारी २ सय किलोमिटरसम्म गुड्नसक्ने बताए । उनले १.१ मेगावाट क्षमताका २४ वटा समानान्तर चार्जिङ पोइन्ट रहेको बताए । उनले अब आउने विद्युतीय साझा बसको लागि साझासँग स्थान नभएको बताए। कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साझा यातायातमा काठमाडौं महानगरपछि ललितपुर महानगरपालिकाको धेरै लगानी भएको बताए। उनले ललितपुर महानगरको बाहिर क्षेत्रमा साझाका बस चल्ने र भित्रि कोर क्षेत्रमा सटलबस चलाउन साझालाई रकम दिइसकेको बताए। उनले ४५ सिट भएका सटलबस पुल्चोक, पाटनदबार, महाबौद्ध र लगनखेल क्षेत्रमा चलाउन गइरहेको बताए। सटलबस सञ्चालनमा लाग्ने खर्च बिइपीमा हुनुपर्ने नभए ललितपुर महानगरपालिकाले सहयोग गर्ने उनको भनाई छ । साझाले २०७९ असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेर बस नेपालमा ल्याएको थियो । साझा यातायातले आफ्नै जग्गामा चार्जिङ स्टेसन बनाएको हो ।

सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गरेका छन् ।  सार्कका महसचिवलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै महासचिव गुटेरेसले विश्व जनसंख्याको ठूलो हिस्सा ओगटेको सार्क क्षेत्रसँग संयुक्त राष्ट्रसंघले सहकार्य गर्न चाहेको बताए । उनले सार्कसँग साझेदारी गर्न आफू तयार रहेको बताउँदै निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।   सार्क सचिवालयका अनुसार महासचिव सरवारले राष्ट्रसंघबाट सार्कलाई निरन्तर सहयोग एवं समर्थनप्रति प्राप्त भएकामा कृतज्ञता व्यक्त गरेका थिए । सार्क संयुक्त राष्ट्रसंघको पर्यवेक्षक संस्था हो । सन् २००४ मा राष्ट्रसंघले सार्कलाई उक्त दर्जा प्रदान गरेको हो ।  राष्ट्रसंघका महासचिव गुटेरेससँगको भेटमा महासचिव सरवारले दुवै संस्थाबीच सम्बन्ध विस्तारका साथै जलवायु परिवर्तन, खाद्य सुरक्षा, नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग बढाउनेबारेमा छलफल गरेको सार्क सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सार्कले राष्ट्रसंघीय विकास कार्यक्रम, खाद्य संगठन, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को०, स्वास्थ्य संगठन, जनसंख्या कोषलगायत १२ वटा राष्ट्रसंघीय निकायसँग समझदारीपत्रमा हस्ताक्षर गरेको जानकारी दिँदै महासचिव सरवारले बदलिँदो परिवेशमा ती निकायसँग गरिएका समझदारीलाई अद्यावधिक गर्न आवश्यक भएको बताए ।  राष्ट्रसंघ र सार्कबीचको साझेदारीलाई परियोजनामा आधारित गराउन काठमाडौंस्थित सार्क सचिवालयमा राष्ट्रसंघ र सार्कले संयुक्त बैठक गर्नुपर्नेमा जोड दिए । उनले पारस्परिक सहयोगका नयाँ परियोजना पहिचान गर्नुपर्ने बताए । उनले सचिवालयका पदाधिकारीलाई क्षमता अभिवृद्धिलगायत अवसरको व्यवस्थाका लागि महासचिव गुटेरेससँग अनुरोध गरे ।  महासचिव गुटेरेसले सार्क महासचिवको प्रस्तावको स्वागत गर्दै राष्ट्रसंघ र सार्कबीचको सहकार्य अभिवृद्धिमा जोड दिए ।  सार्कसँगको क्षेत्रगत साझेदारीका लागि उनले सम्बद्ध निकायका अधिकारीलाई सार्क सचिवालयका पदाधिकारीसँग तत्काल सम्पर्क एवं समन्वय गर्न निर्देशन दिए । उनले दुई संस्थाबीचको विद्यमान सम्बन्धलाई अझ सुदृढ बनाउन र निकट सम्पर्कमा रहेर काम गर्दै सार्कलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

हिजो स्थगित प्रतिनिधिसभा आज बस्दै , यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले जवाफ दिने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस  गर्ने सम्भावित कार्यसूची छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८०’ पेस गर्ने तथा अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  मंगलबार (हिजो)को प्रतिनिधिसभा बैठक नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको थियो । संसद् बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरूले बैठक अवरुद्ध गरेका थिए ।  त्यसपछि सभामुखले १५ मिनेटपछि बस्ने गरी बैठक स्थगन गरेका थिए । तर, दलहरूबीच सहमति नहुँदा बुधबार (आज) बस्ने गरी बैठक स्थगन गरिएको थियो ।  सहकारीको रकम ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको विषयमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । त्यसमा सहमति हुन नसक्दा संसद् बैठक अवरुद्ध भएको हो ।  गृहमन्त्री रवि लामिछानेले संसदमा आफुले धारणा राख्न पाउनुपर्ने बताउँदै आएका छन् भने कांग्रेसले आफुहरुले प्रधानमन्त्रीलाई सुनिसकेकोले अब कसैलाई नसुन्ने संसदीय छानबिन समिति गठन आफ्नो बटमलाईन भएको बताएको छ । सत्ता पक्षले भने सहकारीको रकम ठगीमा रवि लामिछानेको संलग्नता नरहेकोले संसदीय छानबिन समिति गठन आवश्यक नरहेको बताउदै आएको छ । दलहरुबीच सहमतिको वातावरण नबने आज पनि संसद अवरुद्ध हुने सम्भावना रहेको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मिति २०८० चैत २८ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा कायम गरिएको छ। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ ५६ पैसा र बिक्रीमा १४५ रुपैयाँ २१ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५० पैसा तोकिएको छ।  यस्तो छ विनिमय दर

राष्ट्रियसभा उपाध्यक्ष निर्वाचन आज: घिमिरे र पुडासैनी मैदानमा

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि दुईजनाले मंगलबार उमेदवारी दर्ता गराएका हुन् । सत्ता गठनबन्धनको तर्फबाट नेकपा (एमाले)की विमला घिमिरे र नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उमेदवारी दर्ता गराएका हुन् ।  सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने छिन् । समर्थकमा नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामी रहेका छन् । उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । उनको कार्यकाल दुई वर्ष बाँकी छ ।राष्ट्रियसभाको उपाध्यक्ष उनी नै निर्वाचित हुने पक्कापक्कि नै रहेको छ । कांग्रेसकी उमेदवार पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् । पुडासैनी गएको माघमा भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् । महिला क्लस्टरका सातजनामध्ये वाग्मती प्रदेशबाट उनी निर्वाचित भएकी हुन् । पुडासैनी ७३ वर्षीया सांसद हुन् ।

यस्तो हुनेछ आजको मौसम

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण आज बिहान पहाडी भू–भागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।  कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान साथै बाँकी पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।  कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

कृषि अनुदानमा भ्रष्टचार : ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसहित आठजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। उनीहरुलाई कृषि निर्देशनालय गण्डकी प्रदेशबाट प्राप्त अनुदान रकममा भ्रष्टाचार गरेको अभियोग लागेको छ।आयोगले निमित्त कार्यालय प्रमुख पोखरेलविरुद्ध रु २८ लाख, ३७ हजार दुई सय १७ बराबरको बिगो दाबी गरेको छ। यसैगरी,कृषि इन्जिनीयर विश्वनाथ पौडेल, कृषि विकास अर्थविज्ञ भानुभक्त भट्टराई, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने तिमिल्सिना, सचिव परशुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ र गल्याङ नगरपालिका–३ का श्रीप्रसाद श्रेष्ठविरुद्ध पनि रु २८ लाख ३७ हजार दुई सय १७ बराबरको बिगो दाबी गरिएको छ।

राष्ट्रियसभा अध्यक्ष दाहाल र इजरायली राजदूत गोदारबीच शिष्टाचार भेट

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र नेपालस्थित इजरायली राजदूत हानान गोडर गोल्डबर्गरबीच शिष्टाचार भेट भएको छ।आज (मंगलबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो। भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल(इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुगिसकेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध थप मजबुत र घनिष्ट हुने विश्वास व्यक्त गरे। नेपाल शान्तिको पक्षधर राष्ट्र भएको भन्दै अध्यक्ष दाहालले भने “हामी सधैं मध्यपूर्वमा शान्ति, अमन चयन र स्थिरताको पक्षमा छौं,” उनले थपे, “संयुक्त राष्ट्रसंघ लगायतका बहुपक्षीय मञ्चहरुमा नेपाल र इजरायलबीच हुने गरेका आपसी सहयोगले दुई देशको सम्बन्ध थप मजबुत बनाएको छ।” लामो द्वन्द्वपछि नेपालमा शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाल अब आर्थिक समृद्धिको बाटोमा लागेको र त्यसका लागि इजरायल सरकारको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताए ।  अर्न एण्ड लर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपालीहरुमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले हालसम्म बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि तीव्र पहल गरिदिन आग्रह गरे।  अध्यक्ष दाहालले अहिले पनि करिब ४ हजार नेपाली श्रमिकहरु इजरायलमा रहेको उल्लेख गर्दै उनीहरुको सुरक्षा र रोजगारीका विषयमा चासो व्यक्त गरेका थिए। इजरायलबाट नेपालमा उल्लेख्य पर्यटकहरु आउने गरेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा जतिसक्यो धेरै इजरायली नागरिकहरुलाई नेपाल भ्रमणका लागि पहल गरिदिन र नेपालको पर्यटन प्रवद्र्धन गर्नमा योगदान गरिदिन आग्रह समेत गरे।  सो अवसरमा इजरायली राजदूत हानन गोदारले इजरायल र नेपालको सम्बन्ध निकै घनिष्ट रहेको चर्चा गर्दै नेपालको कला, संस्कृति, परम्परा र पर्यटकीय स्थलहरुका हिसाबले निकै धनी रहेको बताउनु भयो। आफू लामो समय नेपालमा रहेर काम गर्ने मौका पाएको भन्दै राजदूतले सगरमाथा, लुम्बिनी, चितवन, पोखरा, रारा लगायतका नेपालका थुप्रै पर्यटकीय गन्तव्यहरुले विश्वमै नेपालको पहिचान दिएको बताए। लर्न एण्ड अर्न कार्यक्रम आफूले नै पहल गरेर शुरु गरेको उल्लेख गर्दै राजदूत गोदारले उक्त कार्यक्रमबाट थुप्रै नेपालीले इजरायलबाट सीप सिकेर नेपालमा राम्रो काम गरेको बताए । उनले दुर्भाग्यवस पछिल्लोपटक भएको घटनाबाट पीडितका घर घरमै पुगेर भेटेको बताए। इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई सानै भए पनि सहयोग गर्ने इजरायल सरकारले प्रतिबद्धता व्यक्त गरेको पनि उनले उल्लेख गरे। उनले विपिन जोशीको खोजीका लागि अहिले पनि प्रयास भइरहेको जानकारी दिए।

नैनीतालमा जीप दुर्घटना हुँदा मृत्यु हुने ७ जना बर्दियाका नागरिक

कञ्चनपुर । भारत उत्तराखण्डको नैनीताल जिल्ला अन्तर्गत बेतालघाट क्षेत्रमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेहरु बर्दिया बबईका भएको खुलेको छ। बेतालघाट थानाका इन्चार्ज अनिस अहमदकाअनुसार उनीहरु सबै बर्दियाका नागरिक हुन्।  उनीहरु बेतालघाट भन्दा १८ किलोमिटर पूर्वी क्षेत्रमा मल्लागाउँ उच्चाकोटमा खानेपानी आयोजनामा पाइप बिछ्याउने काम गरिरहेका नेपाली कामदारहरु थिए । जो दिनभर काम गरेर सोमबार साँझ घरतर्फ हिडेका थिए।  जीप ५ मिटर पनि हिड्न नपाउँदै दुर्घटना भएको थियो ।  २ जना भने गाडीमा चढेकै थिएनन् । थोरै हिड्ने बित्तिकै गाडि दुर्घटना हुन पुग्यो गाडीमा ९ जना कामदार र चालक  लुगाकपडा र भाडाकुँडासहित घर फर्किन लागेका थिए । गाडी भिरालोमा उभिएका कारण नियन्त्रण हुन नसकी दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।  दुर्घटनामा परि चालक सहित ८ जनाको मृत्यु भएको छ। जसमध्ये ७ जना नेपाली रहेका छन् । युके ०४ सीसी ०४९५ नम्बरको बाेलेरो जीपका चालक उच्चाकोट निवासी राजेन्द्र कुमारसँगै नेपाली कामदारहरु बिश्राम चौधरी, अन्तराम चौधरी, गोपाल बस्नेत, उदय चौधरी, विनोद चौधरी, तिलक चौधरी र धिरज चौधरी रहेका छन् ।  घाइते शान्ति चौधरी र छोटु चौधरीको तिवारी राजकीय अस्पताल हल्द्वानीमा उपचार भइरहेको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि डिएसबी अस्पताल नैनीतालमा राखिएको छ।

विदेशी सहयोगले राज्य चलाउने सोच अन्त्य गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, राजश्व र विदेशी सहयोगका आधारमा चलाउने सोच सरकारले राख्न नहुने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७३ औँ वार्षिक साधारणसभालाई मंगलबार काठमाडौंमा सम्बोधनका क्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, भन्सार राजश्व र विदेशी सहयोगका आधारमा चलाउने सोचले सरकार चल्यो भने मुलुकमा आर्थिक समृद्धि हुन नसक्ने बताएका हुन् । पुँजी बृद्धि, पुँजीगत खर्च कार्यान्वयन क्षमतामा बृद्धि र निर्यात प्रवर्धनसहित व्यापार घाटा कम गर्नुपर्ने अहिलेको आवश्यकता भएको श्रेष्ठको दाबी थियो । ‘पुँजी बृद्धि समस्या, पुँजीगत खर्च कार्यान्वयन गर्ने क्षमता विकासको समस्या र व्यापार घाटा कम गर्ने विषयलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने आवश्यकता छ । त्यसको लागि आर्थिक क्रियाकलापलाई असाधरण रुपले तीव्र बनाउनु, उत्पादन र रोजगारी बृद्धि गर्नु, आयात प्रतिस्थापन गर्ने र निर्यात प्रबर्धन गर्नुपर्ने आवश्यकता छ,' श्रेष्ठले भने, 'यो काम गर्नको लागि सरकारको नीति योजना र बजेट त्यही अनुसार हुनु पर्ने आवश्यकता हुन्छ । सरकारले परम्परागत रुपमा सोच्दै आएको ढंगले अर्थतन्त्रलाई गती दिन नसक्ने अवस्था हुन्छ । त्यसको लागि हामीले तीन वटा कुराबाट राज्य चलाउने विषयको अन्त्य गर्नुपर्छ । एउटा रेमिट्यान्सको आधारमा अर्थतन्त्र चलाउने सोच, भन्सार राजश्वको आधार मान्ने सोच र विदेशी सहयोगलाई केन्द्रबिन्दुमा राखेर देश चलाउँछु भन्ने सोच गलत हुन्छ ।’ श्रेष्ठले निजी क्षेत्र र सरकारपक्ष बसेर खुला छलफल र बहस गर्नुपर्ने बताए । उनले आर्थिक क्रियाकलापलाई गति दिन आवश्यक रहेको बताए । त्यसो नगरीमा कहिल्यै विकास हुन नसक्ने नसक्ने उनको भनाइ थियो ।  

शेयर बजारमा ९ अंकको वृद्धि

काठमाडौं । शेयर बजारमा ९ अंकको वृद्धि भएको छ । उतार चढावका बीच नेप्से ९ दशमलव १९ अंकले बढेर २०३६ मा पुगेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये दश वटा उपसमूह बढेका छन् भने तीन वटा उपसमूहको सूचक घटेको छ । मंगलबार फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २ दशमलव ७९ प्रतिशतले बढेको छ भने अन्य उपसमूहको सूचक २ दशमलव ४२ प्रतिशत र निर्जीवन बीमा उपसमूहको सूचक १ प्रतिशतले बढेका छन् । मंगलबार ९७ लाख ८९ हजार कित्ता शेयर ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । नेपाल फाइनान्स, जानकी फाइनान्स र पोखरा फाइएनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । तर विन नेपाल लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने महुली लघुवित्, सबैको लघुवित्त र समता लघुवित्तको शेयर मूल्य पनि ४ प्रतिशतभन्दा धेरै घटेको छ । कारोबार रकमका आधारमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक १८ करोड ८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।