माटो मिसिएको गिट्टी प्रयोग गरेपछि ढलान भत्काइयाे
म्याग्दी । धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् ।
दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएको हो । योजना अनुगमनका लागि सोमबार झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन), धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरले ढलान भत्काएर पुनर्निर्माण गर्न लगाएका हुन् ।
स्थानीयवासीले गुनासो गरेपछि पूर्वाधार विकास कार्यालयका प्राविधिक टोलीसहित पुग्दा उक्त ठाउँमा पिसिसी ढलानका क्रममा माटो मिसिएको गिट्टी प्रयोग भएको भेटिएपछि तत्कालै भत्काएर पुनर्निर्माण गर्न लगाएको प्रदेशसभा सदस्य जुग्जालीले बताए ।
“निर्माणस्थलमा तयार पारिएको मसला (सिमेन्ट, गिट्टी र बालुवा) को मिश्रणमा सडक ग्राभेल गर्न कुटेको बेस हालेको भेटिएपछि थुपारेको मसला फाल्न र गरेको ढलान भत्काउन लगाइएको हो”, उनले भने, “निर्माण कम्पनीका कर्मचारीले कमजोरी स्वीकार गरेर आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् । निगरानी र अनुगमनमा कडाइका लागि पूर्वाधार विकास कार्यालयका प्राविधिकहरूलाई निर्देशन दिएका छौँ ।”
स्थानीयवासी विश्वास कुमाईले पिसिसी ढलानमा प्रयोग भएको निर्माण सामग्रीको गुणस्तरमा शङ्का लागेपछि व्यवसायीलाई सचेत बनाउँदा अटेर गरेपछि भिडियो खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक र जनप्रतिनिधिहरूलाई जानकारी गराएको बताए ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न २०८१ साल जेठ २० गते रामसागर बिके एस केबीएस धवलागिरि जेभीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो ।
निर्माण कम्पनीका कर्मचारी मेक थापामगरले मजदुरहरूले लापरबाही गर्दा ग्राभेलका लागि तयार पारेको बेस पिसिसीमा प्रयोग भएको स्वीकार गर्दै कमजोरी सुधार गरिएको र गुणस्तर तथा मापदण्डमा संवेदनशील हुने प्रतिबद्धता जनाए। पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर घनश्याम रोकाले ह्युम पाइप राख्ने ठाउँमा बनाउने संरचना र निर्माण सामग्रीको गुणस्तरको विषयमा लिखित रूपमा स्पष्ट निर्देशन दिए पनि कमजोरी देखिनु ठेकेदारको कमजोरी भएको बताए।
गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित यस आयोजना म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त हो । हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको यस योजनाको ताकम खण्डमा करिब छ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी भएको छ । ठेकेदारले संरचना निर्माण सकेर बेस र सबबेस बिछ्याएको छ ।
छ किलोमिटर दूरीमा सडकलाई फरालिको बनाउने, नाली र पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ । धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाका पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो ।
आठ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुुगेको सडक चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो ।
यो सडक आयोजनाअन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५२ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण सुरु भएको छ ।
गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको छ । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको छ । धवलागिरिको केन्द्र मुनादेखि खोरिया, मरेनी जलजला हुँदै ढोरपाटन हालै सडक सञ्जालमा जोडिएको छ ।
डाक्टर र इन्जिनियरको नेतृत्वमा रौतहट र पर्साका दजनौँले रोजे नेपाली कम्युनिष्ट पार्टी
काठमाडौं । रौतहट र पर्साका तीन दर्जनभन्दा बढी महत्त्वपूर्ण व्यक्तिहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले उनीहरुलाई स्वागत गरेका छन् । डाक्टर सोहैल तैयब, इन्जिनियर साहनवाज, इन्जिनियर मिनाज, डाक्टर नैतिक श्रीवास्तव, डाक्टर आइशा सोहैल र रोशन सोहैलको नेतृत्वमा आएका उनीहरूलाई पार्टीका सहसंयोजक नेपालले पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित विशेष कार्यक्रममा स्वागत गरेका नेकपाले जनाएको छ । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम, राजेन्द्र श्रेष्ठलगायतका नेताहरूको उपस्थिति रहेको थियो । नवप्रवेशीहरूले पार्टीमा आएर समाजवादी विचारधारा र राष्ट्रिय हितका लागि योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
टी-२० विश्वकप २०२६ का लागि नेपालको नयाँ जर्सी सार्वजनिक
काठमाडौं । आइसिसी पुरुष टी-२० विश्वकप २०२६ का लागि नेपालले लगाउने जर्सी सार्वजनिक गरिएको छ । सोमबार साँझ काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ जर्सी अनावरण गरेको हो । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने यो प्रतियोगिताको दशौं संस्करण फेब्रुअरी ७ देखि मार्च ८ सम्म चल्नेछ । २० टिम सहभागी हुने यो प्रतियोगितामा कुल ५५ खेल हुनेछन् । भारतका पाँच र श्रीलंकाका तीन मैदानमा खेलहरू आयोजना हुनेछन् । नेपाल समूह ‘सी’ मा परेको छ । यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् । नेपालका सबै समूह चरणका खेल मुम्बईको वानखेडे स्टेडियममा हुनेछन् : फेब्रुअरी ८ : नेपाल विरुद्ध इंग्ल्यान्ड फेब्रुअरी १२ : नेपाल विरुद्ध इटाली फेब्रुअरी १५ : नेपाल विरुद्ध वेस्ट इन्डिज फेब्रुअरी १७ : नेपाल विरुद्ध बंगलादेश प्रतियोगिताका मुख्य मैदानहरूमा भारततर्फ नरेन्द्र मोदी स्टेडियम (अहमदाबाद), एमए चिदम्बरम स्टेडियम (चेन्नई), अरुण जेटली स्टेडियम (नयाँ दिल्ली), वानखेडे स्टेडियम (मुम्बई) र इडेन गार्डन्स (कोलकाता) तथा श्रीलंकातर्फ आर. प्रेमदासा स्टेडियम (कोलम्बो), सिङ्गालीज स्पोर्ट्स क्लब (कोलम्बो) र पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम (क्यान्डी) रहेका छन् ।
राष्ट्रिय एकता र आत्मनिर्भरता बिना देश बलियो हुँदैनः डा. भीम रावल
उदयपुर । देशको राष्ट्रिय एकता कमजोर हुँदा नेपाल विदेशी शक्तिहरूको प्रयोगशाला बनेको दाबी गर्दै नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले अब त्यस्ता प्रयोगहरू रोक्न बामपन्थी एकता भएकाे बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी उदयपुरगढी गाउँपालिकाद्वारा आज आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै डा. रावलले २००७ सालदेखि विदेशी शक्ति र देशभित्रका प्रतिक्रियावादी समूहको मिलेमतोमा नेपालमाथि एकपछि अर्को प्रयोग भएको बताए । ‘अब नेपाली कम्युनिस्ट पार्टीले देशलाई प्रयोगशाला बन्न दिने छैन,’ उनले भने । नेपालमा जलविद्युत्, जडीबुटी, पर्यटन, उद्योगधन्दा र मेहनती जनशक्ति जस्ता अपार सम्भावना हुँदाहुँदै पनि राष्ट्रिय हितअनुसार ती स्रोतको उपयोग हुन नसकेको उल्लेख गर्दै उनले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण पार्टीको प्रमुख लक्ष्य भएको उनकाे भनाइ छ । उत्तरमा चीन र दक्षिणमा भारत रहेको भूराजनीतिक अवस्थालाई सन्तुलनमा राख्दै देशलाई समृद्ध बनाउनु अपरिहार्य रहेको उल्लेख गर्दै उनले प्राकृतिक स्रोत–साधनको राष्ट्रिय स्वामित्व र सदुपयोगमार्फत समृद्धिको आधार तयार गरिने बताए । डा. रावलले प्रत्येक नेपाली नागरिकले रोजगारी, उद्यम, शिक्षा, स्वास्थ्य तथा गाँस–बाँसको समान अधिकार पाउने गरी समाजवाद निर्माण गर्ने योजना पार्टीसँग रहेको दाबी गरे । उनले भदौ २३ र २४ गते सिंहदरबार, उच्च अदालत र संसद् भवन जलेर खरानी बनेको घटनालाई स्मरण गर्दै राज्यका केन्द्रीय संरचना र अर्बौंको राष्ट्रिय सम्पत्ति नष्ट भएको बताए । ‘अबका दिनमा देश फेरि खरानी हुन नदिने गरी राष्ट्रिय शक्ति मजबुत बनाइनेछ,’ उनले भने । उदयपुर जिल्ला कृषि, पशुपालन, पर्यटन र खनिज स्रोतको ठूलो सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै उनले ती सम्भावनाको उपयोग, सप्तकोशी, त्रियुगा र तावाको कटान नियन्त्रण तथा स्वास्थ्य, शिक्षा र रोजगारी क्षेत्रमा सुधार पार्टीको प्राथमिकतामा रहेको बताए । ‘हाम्रो देश मातृभूमि हो, साझा घर हो,’ उनले भने, ‘देश बलियो भए मात्र नेपाली बलिया हुन्छन् । देश कमजोर हुँदा मधेसी, तामाङ, मगर, ब्राह्मण, क्षेत्री, राई—कोही पनि सुरक्षित हुँदैन । त्यसैले राष्ट्रिय एकता नै आजको मुख्य आवश्यकता हो ।’
सर्वोच्च अदालतले एकीकृत समाजवादीको दर्ता खारेज माग गर्ने ओलीको रिट खारेज गर्यो
काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) को दर्ता खारेज हुनुपर्ने माग अस्वीकार गरेको छ । न्यायाधीशद्वय डा. मनोज कुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट निवेदन खारेज गरेको हो । माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको समूहले एमाले विभाजन गरी निर्वाचन आयोगमा एकीकृत समाजवादी दर्ता गराएलगत्तै ओलीले पार्टी दर्ता खारेज हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट निवेदन खारेज गरे पनि सर्वोच्च अदालतले केही निर्देशनात्मक आदेश जारी गरेको जनाइएको छ ।
जेनजी आन्दोलनपछि अन्तरिम सरकार ओलीकै सिफारिसमा बनेको हो : संयोजक प्रचण्ड
नयाँ दिल्ली। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा भएको दाबी दोहोर्याउनु भएको छ । नयाँ दिल्लीमा आयोजित एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताउनु भएको छ । प्रचण्ड सो कार्यक्रममा सहभागी हुन आइतबार भारत जानु भएको थियो । सोमबार उक्त कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रचण्डले भन्नु भएको छ, "२६ गते राति म र कमरेड माधवकुमार नेपाल, हामी दुईजनालाई राष्ट्रपति निवासमा बोलाएपछि हामीले रातभर धेरै मिहिनेत गरेर यो संशयको वातावरणलाई निवारण गर्ने र देशलाई विस्तारै सामान्य अवस्थातिर फर्काउन मिहिनेत गर्यौं ।" प्रचण्डले भन्नुभयो, "अन्ततः अन्तरिम सरकार गठन गर्ने भयो । त्यतिबेला पनि कामचलाउ प्रधानमन्त्री केपी ओली नै थिए, उनकै सिफारिसमा सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउने समझदारी भयो ।" त्यसपछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा संसद् विघटन भएको प्रचण्डले बताउनु भएको छ । उनले भन्नु भएको छ, "तर संसद् विघटन गर्ने सहमति भएको थिएन । आ–आफ्ना सोच थिए । राष्ट्रपतिले परिस्थितिलाई हेरेर सुशीला कार्कीको सरकारको सिफारिसमा संसद् विघटन गरेर चुनावको मिति घोषणा गर्ने काम भयो ।" नेपाली समाज भारतको आयोजनामा भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीस्थित लाजपत भवन अडिटोरियम, लाजपत नगर (मूलचन्द मेट्रो स्टेशन नजिक) मा जनवरी ५, २०२६ मा “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल सरकारका सम्माननीय पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । उहाँले प्रवासी नेपालीका साझा मुद्दा, आगामी निर्वाचनको महत्व तथा नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा स्पष्ट, तथ्यपरक र दूरदर्शी विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता नेपाली समाज भारतका अध्यक्ष रामबहादुर डागीले गर्नुभएको थियो भने सञ्चालन महासचिव आर.बी. खड्काले गर्नुभएको थियो । नेपाली समाज भारतका केन्द्रीय उपाध्यक्ष नारायण बञ्जाडेले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो । विशेष अतिथिहरूमा नेपाली समाज भारतका उपाध्यक्ष उषा थापा, उपमहासचिव राजु केसी, नागेन्द्र ढकाल, रवि कुमार, सचिवहरू कमला शर्मा, नारायण बीके, नवराज सेडाई, सोभाराम रसाली, कोषाध्यक्ष मानु श्रेष्ठ, सहकोषाध्यक्ष ठाकुर भुसाल, प्रवासी नेपाली एकता मञ्चका उपाध्यक्ष वेदप्रकाश भण्डारी तथा केन्द्रीय नेता नबल केसी, अर्जुन दयाल, बेल पून, राधा आर्यललगायत रहनुभएको थियो । यसबाहेक नेपाली समाज भारतका केन्द्रीय नेता–कार्यकर्ता, विभिन्न संघ–संस्थाका प्रतिनिधि, कलाकार, पत्रकार तथा नेपाली–भारतीय भाइचाराको प्रवर्द्धनमा संलग्न व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा भारतका विभिन्न राज्यबाट आएका एक हजारभन्दा बढी प्रवासी नेपालीको उत्साहजनक उपस्थिति रहेको थियो । सहभागीहरूले प्रवासी नेपालीका अधिकार, सम्मान, एकता, संगठन सुदृढीकरण तथा भविष्यका कार्यदिशाका विषयमा गहन छलफल गर्नुभएको थियो । नेपाली समाज भारतले यस्ता कार्यक्रममार्फत प्रवासी नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपाल–भारत मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
नयाँ दिल्लीमा रहेका संयोजक प्रचण्डले आज एकता सन्देश सभालाई सम्बोधन गर्ने
नयाँ दिल्ली । नयाँ दिल्लीमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज नेपाली समाज भारतले आयोजना गरेको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । दिउँसो एक बजे लाजपतनगरमा आयोजित कार्यक्रमलाई संयोजक प्रचण्डसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाली समाज भारतले कार्यक्रमलाई संयोजक प्रचण्डसहितका नेताले सम्बोधन गर्ने जनाएको छ । कार्यक्रममा विभिन्न पार्टीमा आवद्ध नेताहरु नेपाली कम्युनिष्ट पार्टी निकट नेपाली समाज भारतमा प्रवेश गर्ने तयारी छ । पार्टी एकताको सन्देश प्रवाहका लागि नेपाली समाज भारतले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड हिजो बेलुकी नयाँ दिल्ली आइपुग्नु भएको थियो । आज नेपाली समाज भारतले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेर प्रचण्ड बेलुकी काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।
जाडो बढेसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको लर्को
विराटनगर । तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थालेसँगै अस्पतालहरूमा टाउको दुखाइको समस्या लिएर पुग्ने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। तापक्रममा आएको गिरावट र चिसो हावाका कारण मानिसहरूको दैनिक जीवन मात्र प्रभावित भएको छैन, यसले स्वास्थ्यमा समेत प्रत्यक्ष असर पारेको छ। विराटनगरस्थित कोशी अस्पतालमा मात्रै पछिल्लो समय टाउको दुखाइका बिरामीहरूको चाप बढ्दै गएको चिकित्सकहरूले बताएका छन्। कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार जाडो मौसममा शरीरको तापक्रम सन्तुलन बिग्रनु र रक्तसञ्चार प्रणालीमा आउने अवरोधले टाउको दुख्ने समस्या निम्त्याउँछ। चिसोका कारण रक्तनलीहरू खुम्चिने हुँदा टाउकोतर्फ हुने रक्तप्रवाहमा कमी आउँछ, जसले गर्दा मानिसले टाउको भारी भएको वा च्यापिएको जस्तो महसुस गर्छन्। जाडोमा तिर्खा कम लाग्ने भएकाले मानिसले पानी कम पिउने गर्छन्, तर शरीरमा हुने पानीको अभाव (डिहाइड्रेशन) नै टाउको दुखाइको प्रमुख कारण बन्ने गरेको छ। विशेषगरी मोटरसाइकल चालक, राति चिसोमा सुत्नेहरू र लामो समय एउटै आसनमा बसेर काम गर्ने व्यक्तिहरू यो समस्याबाट बढी पीडित छन्। चिसो हावाले घाँटी र काँधको मांसपेशी कडा बनाउँदा टाउकोको पछाडिको भागबाट दुखाइ सुरु भएर अगाडिसम्म फैलिने गर्छ। यसबाहेक साइनसको समस्या भएका व्यक्तिहरूमा नाक बन्द हुने, आँखाको वरिपरि दुख्ने र अनुहार भारी हुने लक्षण देखिन्छन्। माइग्रेनका बिरामीहरूका लागि त यो मौसम झनै चुनौतीपूर्ण छ, जहाँ चिसो हावा र निद्राको गडबडीले दुखाइलाई थप तीव्र बनाउँछ। चिकित्सकहरूका अनुसार जाडोमा घाम कम ताप्दा हुने भिटामिन 'डी' को कमीले पनि मांसपेशी दुखाइ र थकान बढाउँछ। उच्च रक्तचाप भएका व्यक्ति, वृद्धवृद्धा र मोबाइल-कम्प्युटरमा बढी समय बिताउनेहरू यो जोखिमको अग्रपङ्क्तिमा छन्। डा. खड्काले सामान्य टाउको दुखाइ भनेर बेवास्ता नगर्न चेतावनी दिएका छन्। यदि औषधि खाँदा पनि निको नभएमा, दृष्टि धमिलो भएमा वा ज्वरोसँगै टाउको दुखेमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ। यो समस्याबाट बच्नका लागि प्रशस्त पानी पिउने, न्यानो कपडाले घाँटी र कान छोप्ने, बिहानको घाम ताप्ने र हल्का व्यायाम गर्ने बानी बसाल्नुपर्छ। खानपान र जीवनशैलीमा सानो सुधार ल्याउन सके जाडोमा हुने यस्ता स्वास्थ्य समस्याबाट सजिलै जोगिन सकिन्छ।
देशभर पश्चिमी वायुको प्रभावट्ठ: वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । यस्तै, राति तराई भू–भागका धेरै स्थानमा हुस्सु रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ ।
काठमाडौंमा चिसो बढ्यो, तापक्रम ३ डिग्री सेल्सियस
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला केही दिनयता जाडो उल्लेख्य रूपमा बढेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकामा चिसोको असर बढ्दै गएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश भू–भागमा तापक्रम घटेको छ । काठमाडौंमा आज यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको विभागले जनाएको छ । तापक्रम घटेपछि बिहान र बेलुका चिसो बढ्नुका साथै कुहिरो र बादलको प्रभाव पनि देखिन थालेको छ । मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंको विमानस्थल आसपास क्षेत्रमा ३.७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ भने ललितपुरको सानेपा क्षेत्रमा न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियसमा झरेको छ । यसले उपत्यकामा चिसोको अनुभूति अझ तीव्र बनाएको छ । आइतबारदेखि काठमाडौं उपत्यकामा घाम पनि कम देखिन थालेको छ । घाम नलाग्दा चिसो अझै बढेको अनुभूति हुने गरेको सर्वसाधारणले बताएका छन् । बिहान र साँझको समयमा चिसो हावासँगै जनजीवन प्रभावित हुन थालेको छ । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो बढ्दै गएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले अनावश्यक काममा बाहिर ननिस्किन, न्यानो कपडा प्रयोग गर्न तथा आगो बाल्दा सावधानी अपनाउन सुझाव दिएको छ । जाडोको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अरूको तुलनामा बढी स्वास्थ्य समस्या देखिन सक्ने भएकाले विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ । मौसमविद्हरूका अनुसार केही दिन अझै चिसो कायम रहने सम्भावना रहेकाले आवश्यक तयारी र सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
श्रमिकको लागत रोजगारदाताले बेहोर्ने गरी साउदीसँग श्रम समझदारीको तयारी हुने
काठमाडौं । नेपाल सरकारले साउदी अरब जाने नेपाली श्रमिकको सम्पूर्ण लागत खर्च रोजगारदाताले बेहोर्ने व्यवस्था सहित श्रम समझदारीपत्र (एमओयु) गर्ने तयारी गरेको छ । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र साउदी अरब सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयबिच आगामी जनवरी २५ र २६ तारिखमा साउदी अरबमा आयोजना हुने ग्लोबल कन्फ्रेन्सका अवसरमा श्रम समझदारी गर्ने तयारी अन्तिम चरणमा पुगेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदीसँग चरणबद्ध वार्ता गरी तयार पारेको श्रम समझदारीको मसौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरेको थियो । गत साता बसेको मन्त्रिपरिषद् बैठकले मसौदा स्वीकृत गरेसँगै साउदीसँग औपचारिक श्रम सम्झौता गर्न बाटो खुलेको मन्त्रालयले जनाएको छ । नेपाली श्रमिकको प्रमुख गन्तव्य देश रहे पनि साउदी अरबसँग लामो समयदेखि श्रम समझदारी हुन सकेको थिएन । सन् २०१० देखि नै प्रयास भए पनि सम्झौता निष्कर्षमा पुग्न सकेको थिएन । श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार साउदी अरब र नेपालबिच श्रम समझदारीका लागि प्रायः सबै तयारी पूरा भइसकेको छ । उनले यसपटक जसरी पनि सम्झौता हुने विश्वास व्यक्त गरे । साउदीसँगको यो समझदारीले नेपाली श्रमिकलाई अन्तर्राष्ट्रिय मानव अधिकारका सिद्धान्तअनुसार अधिकार सुनिश्चित गर्नेछ । साथै रोजगारदाताले नै सम्पूर्ण लागत बेहोर्ने ‘इम्प्लोयर पे पोलिसी’ लागू हुने प्रवक्ता घिमिरेले जानकारी दिए । मन्त्रालयले यसअघि भएका श्रम समझदारीपत्रको विस्तृत समीक्षा गर्दै श्रमिक शोषण र मानव अधिकार उल्लङ्घनप्रति शून्य सहनशीलताको सरकारी नीतिअनुरूप सम्झौताको तयारी गरेको जनाएको छ । सन् २०३४ मा हुने फिफा विश्वकपको तयारीस्वरूप साउदी अरबले पछिल्ला वर्षहरूमा श्रम नीतिमा सुधार गर्दै आएको छ । ‘मोडर्न डे स्लेभरी’का रूपमा आलोचित कफाला प्रणालीमा सन् २०२१ को मार्चदेखि सुधार गरिएको छ भने श्रम ऐन संशोधन गरी आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधाको सुनिश्चितता गरिएको छ । यसअघि साउदी फन्डको सहयोगमा नेपालमा अन्तर्राष्ट्रियस्तरको तालिम उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानसँग साझेदारीसमेत भइसकेको छ । प्रवक्ता घिमिरेका अनुसार यस चरणमा घरेलु श्रमिकसम्बन्धी समझदारीलाई थाती राखी सामान्य तथा सिपयुक्त श्रमिकको सिप प्रमाणीकरणसम्बन्धी श्रम समझदारी गरिनेछ । मन्त्रिपरिषद्बाट पारित श्रम समझदारीपत्र साउदी अरब पठाउने तयारी भइरहेको र दुवै पक्षको सहमतिमा ग्लोबल कन्फ्रेन्सकै क्रममा हस्ताक्षर हुने उनले बताए । गत जेठको अन्तिम साता जेनेभामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र साउदी अरबका अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबिच घरेलु श्रमिकको विषयलाई पछि राखी सामान्य श्रम समझदारी गर्ने सहमति भएको थियो । सम्झौतामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) का मापदण्डअनुसार श्रमिक अधिकार, व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा, रोजगारदाता परिवर्तन, न्यायोचित भर्ना प्रक्रिया लगायतका विषय समेटिएका छन् । साथै चर्को लागत शुल्कको अन्त्य, दोहोरो करारपत्र निषेध, न्यूनतम तलबको सुनिश्चितता र मृत्यु भएका श्रमिकको शव छिटो स्वदेश ल्याउने व्यवस्था पनि समावेश गरिएको मन्त्रालयले जनाएको छ । हाल साउदी अरबमा करिब चार लाख नेपाली श्रमिक कार्यरत छन् । तीमध्ये अधिकांश निर्माण र सेवा क्षेत्रमा संलग्न छन् । पछिल्ला १० वर्षमा साउदीमा १३ लाख ५२ हजार आठ जना नेपालीले श्रम गरिसकेका छन् । तीमध्ये एक लाख ११ हजार महिला श्रमिक रहेका छन् । आर्थिक वर्ष २०८१/८२ मा मात्र पुनः श्रम स्वीकृतिसहित एक लाख ५२ हजार नेपाली साउदी गएका थिए । श्रम समझदारी नहुँदा साउदीमा कार्यरत नेपाली श्रमिकले न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा तथा अन्य श्रमिक अधिकारका विषयमा समस्या भोग्दै आएका थिए ।
आजका लागि विदेशी मुद्राको विनिमयदर ताेकियाे
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ०२ पैसा र बिक्रीदर १४४ रुपियाँ ६२ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ७९ पैसा र बिक्रीदर १६९ रुपियाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपियाँ ८५ पैसा र बिक्रीदर १९४ रुपियाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपियाँ ७७ पैसा र बिक्रीदर १८२ रुपियाँ ५३ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ४० पैसा र बिक्रीदर ९६ रुपियाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ९१ पैसा र बिक्रीदर १०५ रुपियाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ९६ पैसा र बिक्रीदर ११२ रुपियाँ ४३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १८ पैसा र बिक्रीदर नौ रुपियाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ५९ पैसा र बिक्रीदर २० रुपियाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ४० पैसा र बिक्रीदर ३८ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ४० पैसा र बिक्रीदर ३९ रुपियाँ ५७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५७ पैसा र बिक्रीदर चार रुपियाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ २१ पैसा र बिक्रीदर ३९ रुपियाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ५३ पैसा र बिक्रीदर ३५ रुपियाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९८ पैसा र बिक्रीदर १० रुपियाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६२ पैसा र बिक्रीदर १५ रुपियाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६० पैसा र बिक्रीदर २२ रुपियाँ ६९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४८ पैसा र बिक्रीदर १८ रुपियाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपियाँ ४६ पैसा र बिक्रीदर ४७० रुपियाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपियाँ ०२ पैसा र बिक्रीदर ३८३ रुपियाँ ६१ पैसा , ओमनी रियाल एकको खरिददर ३७४ रुपियाँ ०७ पैसा र बिक्रीदर ३७५ रुपियाँ ६३ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
कालोपत्रे गरेको महिना दिनमै सडक भत्कियो, ठेकेदारले फेरि बनाउने
म्याग्दी । कालोपत्रे गरेको एक महिना पनि नबित्दै म्याग्दीको एउटा सडक भत्किएपछि सरोकारवाला निकाय र ठेकेदारले फेरि मर्मत गर्ने प्रतिबद्धता जनाएका छन्। ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत करिब २३ करोड ३२ लाख लागतमा बनेको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक महिना दिनमै उप्किएर खाल्डैखाल्डा भएपछि चौतर्फी आलोचना भएको थियो। सडकको गुणस्तरमा गम्भीर प्रश्न उठेपछि आइतबार जिल्ला समन्वय समितिले सरोकारवालाको बैठक डाकेको थियो। जिससकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीको अध्यक्षतामा बसेको बैठकमा सडक डिभिजन कार्यालय बागलुङ र निर्माण व्यवसायीले गल्ती स्वीकार गर्दै सुधार गर्ने बताएका छन्। बैठकले सडक डिभिजन कार्यालयले निर्माण कार्यको गुणस्तर सुनिश्चित गर्नुपर्ने र अहिलेसम्म भएका कामको अनुगमन गरी त्रुटि सच्याउने निर्णय गरेको छ। उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको साढे चार किलोमिटर सडकमा हालै दोस्रो चरणको कालोपत्रे सकिएको थियो। तर, सडकमा बिछ्याइएको चिप्स (गिटी) अलकत्राले नसमातेपछि कालोपत्रे उप्किएको हो। वडा नम्बर २ का अध्यक्ष यामबहादुर कार्कीका अनुसार सडकको बेसमा भएको धुलोका कारण अलकत्रा राम्रोसँग जम्न नपाउँदा कालोपत्रे भत्किएको हो। यसअघि पुस ४ गतेको सार्वजनिक सुनुवाइमा पनि स्थानीयले सडकको गुणस्तरलाई लिएर चर्को विरोध गरेका थिए। गजेन्द्र–नयाँबाटो जेभीले ठेक्का लिएको यो सडकमा नौ मिटर फराकिलो बनाएर सात मिटरमा डिबिएसडी प्रविधिको कालोपत्रे गर्ने सम्झौता छ। सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीले चिसोका कारण अलकत्रा जमेको र गर्मी बढेपछि पग्लिएर चिप्स समात्ने दाबी गरे। यद्यपि, गर्मीयाममा पनि सडकको अवस्था नसुध्रिए ठेकेदारलाई पुनः गुणस्तरअनुसार बनाउन लगाएर मात्र आयोजना बुझ्ने उनले बताए। निर्माण कम्पनीका प्रतिनिधि अरुण सेढाइँले पनि गर्मी बढेपछि बिटुमिन सेट हुने दाबी गर्दै त्यसो नभए सडक मर्मत गरेर मात्र हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।
सिरहामा सात सय विपन्न परिवारलाई सिरक वितरण
सिरहा । यहाँको लहान नगरपालिकाले चिसो र शीतलहरबाट प्रभावित करिब सात सय विपन्न दलित परिवारलाई न्यानो फाइबर सिरक वितरण गरेको छ । नगरप्रमुख महेश चौधरीका अनुसार नगरपालिकाले हालसम्म विभिन्न वडाका करिब सात सय परिवारलाई सिरक वितरण गरिएको छ । नगरप्रमुख चौधरीको नेतृत्वमा आज वडा नं १२, १७, १८ र २३ का अतिविपन्न तथा दलित बस्तीमा पुगेर सिरक हस्तान्तरण गरिएको छ । लहान नगरपालिका—१८ का ८० परिवार र वडा नं २३ का डोम समुदायका २३ परिवारलाई सिरक प्रदान गरियो । यस्तै, वडा नं १७ स्थित बलानसेर सदाय बस्तीका ५२ परिवारले पनि न्यानो सिरक प्राप्त गरेका छन् । त्यसैगरी, लहान नगरपालिका–१२ मा नगरप्रमुख चौधरी र वडाअध्यक्ष बद्रीनारायण चौधरीले ३० जनालाई सिरक प्रदान गरे । त्यस अवसरमा वडाअध्यक्ष चौधरीले आफ्नो वडाका थप ७० जना लक्षित व्यक्तिहरूलाई छिट्टै सिरक वितरण गरिने जानकारी दिए । नगरप्रमुख चौधरीले विपन्न समुदायका नागरिकको सुरक्षा र सेवाका लागि नगरपालिका सधैँ प्रतिबद्ध रहेको बताए । उनले यो अभियान अन्य वडा र बस्तीहरूमा पनि निरन्तर जारी रहने जानकारी दिए ।
भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक स्थापना
गुल्मी । लाहुरेहरूको गाउँका रूपमा परिचित यहाँको सत्यवती गाउँपालिका–८ भार्सेमा प्रथम विश्वयुद्धका वीर गोर्खा सैनिक तथा भिक्टोरिया क्रस प्राप्त कर्नबहादुर रानाको सालिक स्थापना गरिएको छ । प्रथम विश्वयुद्धका क्रममा जर्मन सेनाविरुद्ध बहादुरी प्रदर्शन गरेवापत बेलायत सरकारले रानालाई सर्वोच्च सैनिक सम्मान भिक्टोरिया क्रस प्रदान गरेको थियो । लाहुरेहरूको इतिहास जीवित राख्ने उद्देश्यसहित निर्माण गरिएको भार्से ग्यालरी परिसरमा राानको सालिक स्थापना गरिएको हो । जिल्लाको कालीगण्डकी गाउँपालिका–७ फोक्सिङ निवासी कर्नबहादुर रानाको जन्म सन् १८९८ मा भएको थियो । उहाँले १९ वर्षको कलिलो उमेरमै सन् १९१९ मा बेलायतका राजा जर्ज पाँचौँबाट भिक्टोरिया क्रस प्राप्त गरेका थिए । रानाको सन् १९७३ मा ७४ वर्षको उमेरमा निधन भएको थियो । रानाको सालिक स्थापनाले दिवङ्गत तथा जीवित सम्पूर्ण लाहुरेहरूको सम्मान भएको सालिकका परिकल्पनाकार लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले बताए । इतिहास संरक्षणका लागि व्यक्तिगत अग्रसरतामा सालिक स्थापना गरिएको भन्दै स्थानीयवासीले बुढाथोकीप्रति आभार प्रकट गरेका छन् । Shivam Cement भार्से भूपू सङ्घको नेतृत्वमा करिब रु १६ लाख लागतमा सालिक निर्माण गरिएको हो । गुल्मेली मूर्तिकार यमबहादुर थापाले एक वर्षभन्दा बढी समय लगाएर रानाको सालिक निर्माण गरेका हुन् । नेपाल सरकारका तर्फबाट कुनै औपचारिक सम्मान नपाएकाले व्यक्तिगत लगानीमार्फत उक्त सालिक निर्माण गरिएको भार्से भूपूसङ्घका कोषाध्यक्ष नरबहादुर बुढाथोकीले जानकारी दिए । प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण भार्सेमा भूपूगोर्खा ग्यालरी र भार्से ग्यालरी स्थापना गरिएको छ । ग्यालरीमा प्रथम विश्वयुद्ध लड्ने ८४ र दोस्रो विश्वयुद्ध लड्ने १७८ जनाको फोटो र सङ्क्षिप्त इतिहास सङ्कलन गरिएको छ । भूपूगोर्खा ग्यालरीमा हालसम्म पहिलो र दोस्रो विश्वयुद्ध लडेका ३४ जना दिवङ्गत व्यक्तिहरूको तस्बिर तथा विवरण राखिएको छ । ग्यालरीमा कम उमेरमा विश्वकै प्रतिष्ठित पदक भिक्टोरिया क्रस प्राप्त गर्ने कर्नबहादुर राना, भारतीय सेनामा नेपालबाट पहिलो कर्नेल श्रीप्रसाद बुढाथोकी तथा उनका पिता गिरीप्रसाद बुढाथोकीको तस्बिरसमेत राखिएको छ । भार्सेमा जन्मिए र हाल हङकङमा रहनुभएका लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीको नेतृत्वमा ग्यालरी स्थापना गरिएको हो । उनले ग्यालरी निर्माणका लागि अहिलेसम्म करिब रु ५७ लाखभन्दा बढी रकम व्यक्तिगत रुपमा लगानी गरिसक्नुभएको छ । ग्यालरीमा हाल भारतीय, बेलायती र नेपाली सेना, प्रहरी तथा राष्ट्रसेवक कर्मचारीहरूको चार सयभन्दा धेरै तस्बिरहरु राखिएको छ ।
खाेटाङमा श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ
खोटाङ । यहाँको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको छ । गाउँपालिकाको ‘श्रम साकेला अभियान’ अन्तर्गत वडा कार्यालय रतन्छाको अगुवाइमा गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका राई, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको सहभागितामा सरसफाइ गरिएको हो । लामो समयदेखि संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस गुफाको धार्मिक तथा पर्यटकीय विकासका लागि वर्तमान जनप्रतिनिधि र साकेला गाउँपालिकाले चासो देखाएका छन् । आगामी दिनमा गुफासम्म पुग्ने व्यवस्थित पैदलमार्ग निर्माण, गुफा वरिपरि आकर्षक संरचना निर्माण, गुफाभित्र उज्यालोका लागि बत्ती जडान तथा भित्री भागसम्म पुग्न सिँढी निर्माण गर्ने कार्य अघि बढाइने गाउँपालिकाले जनाएको छ । रतन्छाका स्थानीयवासीको अनुसार धन्नेश्वरी गुफाको सुरुङ दायाँ–बायाँ करिब सयौँ मिटरभन्दा बढी फैलिएको अनुमान गरिएको छ । गुफाभित्रका ठूलाठूला नागका आकृति एवं विभिन्न देवी–देवताका आकृतिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ । परापूर्वकालमा भगवान शिवजी राक्षसबाट बच्न धन्नेश्वरी गुफामा लुकेर बसेको र पछि त्रिधार्मिकस्थल हलेसी गएर बसोबास गरेको भन्ने किम्बदन्ती छ । रामनवमी, बालाचतुर्दशी, तीज तथा एकादशी जस्ता महत्त्वपूर्ण पर्वहरूमा यहाँ मेला लाग्ने गर्दछ । गाउँपालिका प्रमुख रविप्रकाशले धार्मिक तथा पर्यटकीयस्थलहरुको विकासका लागि गाउँपालिका दीर्घकालीन योजनाका साथ लागि परेको जानकारी दिँदै धन्नेश्वरी गुफालाई व्यवस्थित धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे । “हामी निर्वाचित भएर आएपछि जनजीविकाको कामसँगै गाउँपालिकाभित्रका सबै धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नति गरिरहेका छौँ । हाम्रो पालिका आफैँमा पर्यटकीयस्थल हो”, उनले भने, “यहाँ रहेका पर्यटकीय गन्तव्यहरूको स्तरोन्नति गर्दै पर्यटन प्रवर्द्धनको काम गरिरहेका छौँ ।” गुफाको सौन्दर्यीकरणका लागि चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारले रु १० लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

