काठमाडौँ र ललितपुरमा निरन्तर बजार अनुगमन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुगमन तथा निरीक्षण गरेको छ ।

विभागले काठमाडौँको गैरीगाँउस्थित युवराज ट्रेड एण्ड सप्लायर्सलाई रु १० हजार जरिवाना गरेको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ ‘क’ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

विभागले अन्य १६ वटा फर्मलाई भने निर्देशनात्मक कारबाही गरेको छ । विभागले स्थानीय प्रशासन, जनप्रतिनिधिसहितको सहभागितामा बजारमा स्वच्छता कायम गर्न निरन्तर अनुगमन तथा निरीक्षण गर्दै आएको छ ।

भेनेजुएलामाथि अमेरिकी सैन्य हस्तक्षेपको नेकपाद्वारा कडा विरोध

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले भेनेजुएलामाथि अमेरिकाले हालै गरेको सैन्य कारबाही तथा हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको कडा विरोध गरेको छ । पार्टीले यस किसिमको कार्य अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको चार्टर तथा विश्व शान्तिका आधारभूत मान्यताहरूको ठाडो उल्लंघन भएको ठहर गरेको छ । पार्टीका कार्यालय सचिव गणेशमान पुनद्वारा जारी वक्तव्यमा कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अस्वीकार्य भएको उल्लेख गर्दै यस्ता सैन्य आक्रमणहरूले सम्बन्धित क्षेत्रमा मात्र होइन, सम्पूर्ण विश्वलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गर्ने चेतावनी दिइएको छ । वक्तव्यमा अमेरिकाद्वारा भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलस मादुरोलाई हिरासतमा लिनु भेनेजुएलाका जनताको आत्मनिर्णयको अधिकारमाथि गरिएको गम्भीर हस्तक्षेप भएको उल्लेख गरिएको छ । जनताबाट निर्वाचित नेतृत्वलाई बलपूर्वक अपदस्थ गर्ने, धम्की दिने वा हिरासतमा लिने कार्य लोकतान्त्रिक मूल्य, अन्तर्राष्ट्रिय मर्यादा तथा सभ्य विश्व व्यवस्थाका लागि पूर्णतः अस्वीकार्य रहेको पार्टीको ठहर छ । नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रपति मादुरोलाई बिना सर्त तत्काल रिहा गर्न जोडदार माग गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले भेनेजुएलाका जनतालाई आफ्नो राजनीतिक, आर्थिक तथा सामाजिक भविष्य आफैं तय गर्ने पूर्ण, अविच्छिन्न र सार्वभौम अधिकार रहेको स्पष्ट गर्दै बाह्य हस्तक्षेप, नाकाबन्दी, आर्थिक दबाब, सैन्य धम्की वा आक्रमणमार्फत कुनै पनि राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु साम्राज्यवादी सोचको निरन्तरता भएको जनाएको छ । पार्टीले साम्राज्यवाद तथा सबैखाले नव–उपनिवेशवादी हस्तक्षेपको सधैं विपक्षमा रहँदै आएको उल्लेख गर्दै विश्वका सबै शान्तिप्रेमी शक्तिहरू, उत्पीडित राष्ट्र, वर्ग र समुदायका प्रगतिशील आन्दोलनहरू तथा सार्वभौमिकताको पक्षमा उभिने राष्ट्रहरूलाई भेनेजुएलाका जनताको समर्थनमा एकजुट हुन आह्वान गरेको छ । वक्तव्यमा नेपाल आकारमा सानो राष्ट्र भए पनि सार्वभौमिकता, आत्मनिर्णय, समानता र विश्व शान्तिको पक्षमा पञ्चशीलका सिद्धान्तहरूमा सधैं दृढतापूर्वक उभिँदै आएको स्मरण गराइएको छ । नेपाली कम्युनिष्ट पार्टीले पनि यिनै मूल्य र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै भेनेजुएलामाथि गरिएको सबै प्रकारका हस्तक्षेप तत्काल रोक्न तथा कूटनीतिक र शान्तिपूर्ण समाधानतर्फ अग्रसर हुन अन्तर्राष्ट्रिय समुदायसँग जोडदार माग गरेको छ ।

उदयपुरमा श्रीमानद्वारा छुरा प्रहार गरी श्रीमतीको हत्या

उदयपुर । उदयपुरमा धारिलो छुरा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरी आत्महत्याको प्रयास गरेका छन् । आइतबार बिहान बेलका नगरपालिका- ३ किराँत चोकका खगेन्द्र राईले श्रीमतीको हत्या गरी आत्महत्याको प्रयास गरेका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार किराँत चोक बस्ने वर्ष ३० का खगेन्द्र राईले वर्ष २७ की श्रीमती भावना भन्ने गंगा राईलाई छुरा प्रहारी गरी आत्महत्याको प्रयास गरेका हुन् । डिएसपी दोङले भने, ‘श्रीमान् र श्रीमतीबिच एक–आपसमा झै-झगडा हुँदा श्रीमानद्वारा छुरा प्रहार भई गम्भीर घाइते भएकी श्रीमती गंगा राईको बिहान ९:५० बजे उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) धरानमा मृत्यु भएको छ ।’ उनका अनुसार छुरा प्रहार गर्ने श्रीमानले समेत श्रीमतीलाई गम्भीर घाइते बनाई आफ्नै शरीरमा समेत छुरा प्रहार गरी आत्महत्याको प्रयास गरेका थिए । स्थानीयले तत्काल उनलाई उपचारका लागि सोही अस्पताल लगेकाले हाल निजको उपचार प्रहरीको प्रत्यक्ष निगरानीमा भइरहेको छ । यस घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएकाे प्रहरी टोलीले थप अनुसन्धान गरिरहेकाे दोङको भनाइ छ ।

प्रचण्ड र ओलीबीच भेट वार्ता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डबीच भेटवार्ता भएको छ । स्राेतका अनुसार दुवै नेताबी देशकाे सामान्य राजनीतिक अवस्थाकाे बारेमा छलफल भएकाे हाे ।  नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा प्रमुख दलहरूबीच छलफल चलिरहेको अवस्था भेट भएकाे हाे । चुनावी तालमेलको प्रयासमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले छलफल तीव्र पारेका छन् । उनीहरुबीच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल जारी छ ।  राष्ट्रियसभा निर्वाचनमा प्रमुख तीन दल मिलेर चुनाव लड्ने संकेत देखिएकाे छ । 

आज प्रचण्ड दिल्ली जानुहुँदै, भाेलि नेपाली समाज भारतकाे एकता सन्देश सभालाई सम्बाेधन गर्नुहुने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । जेनजी आन्दोलनपछिको राजनीतिक एकताबाट एकीकृत समाजवादीसहितका दलहरू समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रामा लाग्नु भएकाे हाे ।  तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादीलगायत दलनिकट प्रवासी संगठनहरूको संयुक्त नेपाली समाज भारतकाे एक सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लाग्नुभएकाे जानकारी दिइएकाे छ । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उक्त कार्यक्रम एक महिनाअघि नै तय भएको थियो ।  भाेलि साेमबार उक्त सन्देश सभा कार्यक्रमलाई प्रचण्डले सम्बाेधन गर्नुहुने छ । कार्यक्रमलाई सम्बोधन गरेपछि प्रचण्ड सोमबार नै स्वदेश फर्किनुहुने  कार्यक्रम रहेको पनि आचार्यकाे भनाइ छ । ‘आज साँझ दिल्ली पुगेर भोलि साँझ फर्किने तालिका छ,’ उहाँले भन्नुभयाे ।  दिल्ली बसाइका क्रममा सन्देश सभाबाहेक अन्य कुनै औपचारिक राजनीतिक भेटघाटको कार्यक्रम नरहेको प्रचण्डको सचिवालयले स्पष्ट पारेको छ ।  

झापामा १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालन

झापा । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा रु चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ  ।कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कम्पनीले ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो । शिवसताक्षी नगरपालिका वडा नं ४ बुलुचोकमा झापा इनर्जीको १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालनमा छ । झापा इनर्जीले उत्पादन गरेको विद्युत् नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ । इनर्जीले २०८० साल माघ १० गतेदेखि विद्युत्को व्यावसायिक उत्पादन गर्दै आएको छभने त्यसअघि २०७८ साल मङ्सिर १२ गते प्राधिकरणले इनर्जीसँग विद्युत् खरिद बिक्रीको सम्झौता (पीपीए) गरेको थियो । बुलुचोकमा २२ बिघा जग्गा खरिद गरेर इनर्जीले परियोजना निर्माण गरेको छ । परियोजनास्थलमा २१ हजार ६०० वटा सौर्य प्यानल जडान गरिएका छन् । परियोजनाबाट उत्पादित सौर्य विद्युत्लाई एक किलोमिटरको दूरीभित्रै रहेको नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेशनमा पुर्याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । झापा इनर्जीले आव २०८०/८१ मा रु पाँच करोड २८ लाख ८४ हजार ७७७ मूल्यबराबरको सौर्य विद्युत् उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको थियो । आव २०८१/८२ मा बिक्री बढेर रु नौ करोड १० लाख ५९ हजार ४७५ पुगेको अध्यक्ष लिम्बूले बताए । 

कञ्चनपुरमा सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख हटाइने

कञ्चनपुर । डिभिजन वन कार्यालय कञ्चनपुरले सार्वजनिक क्षेत्रमा रहेका जोखिमपूर्ण रुख हटाउने प्रक्रिया अघि बढाएको छ । सम्भावित धनजनको क्षति न्यूनीकरण गर्न वन कार्यालयले त्यस्ता रुख हटाउन लागेको हो । वन क्षेत्रबाहेक जग्गाधनी प्रमाणपुर्जा भएका र नभएका सार्वजनिक सडक, सरकारी कार्यालय, समिति, संस्थान, विद्यालय, पानीका मुहान, धार्मिकस्थल तथा अन्य सार्वजनिक स्थानमा रहेका जोखिमपूर्ण रुख हटाउन वन कार्यालयले तीन दिने सार्वजनिक सूचना जारी गरेको छ । डिभिजनल वन अधिकृत सुरेशचन्द्र डिसीका अनुसार जग्गाधनी प्रमाणपुर्जा नभएका सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख तत्काल नहटाउँदा धनजनको क्षति हुनसक्ने देखिएमा वन नियमावली २०७९ को नियम ३६ बमोजिम हटाउन सकिने व्यवस्था छ । जग्गाधनी प्रमाणपुर्जा भएका सरकारी कार्यालय, समिति, संस्थान तथा अन्य कार्यालय परिसरभित्रका रुखका हकमा सम्बन्धित कार्यालयको अनुरोध र नियम ३६ को उपनियम ९१० बमोजिम समितिको सिफारिसका आधारमा डिभिजनल वन अधिकृतले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिको निर्णयअनुसार हटाउन सक्ने प्रावधान रहेको उनले बताए । “सोही कानुनी व्यवस्थाअनुसार जोखिमपूर्ण रुख हटाउन सूचना जारी गरेका हौँ”, उनले भने, “सूचना अनुसार निवेदन आउने क्रम जारी छ ।” निवेदन सङ्कलनपछि वन अधिकृतसहितको टोलीले स्थलगत अनुगमन गरी रुख जोखिमपूर्ण भए–नभएको मूल्याङ्कन गर्ने र त्यसको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिमा पेस गरिने उहाँले जानकारी दिनुभयो । समितिको निर्णयअनुसार तत्काल हटाउनुपर्ने ठहर भएमा रुख हटाइने उनको भनाइ छ । शुक्लाफाँटा नगरपालिका–६ स्थित वन समिति कसरौलतर्फ जाने कालोपत्रे सडकको दायाँबायाँ तथा बिच भागमा रहेका केही जोखिमपूर्ण रुखका कारण यसअघि मानवीय क्षतिसमेत भएको छ । रुखको हाँगा खसेर लाग्दा एक जनाको ज्यान गएको र एकपटक विद्यालयका विद्यार्थी बोकेको बसमाथि रुख खस्दा बस क्षतिग्रस्त भए पनि विद्यार्थीको ज्यान जोगिएको वडाध्यक्ष दानसिंह ऐरले बताए ।

सिरहामा जङ्गली हात्ती गाउँमा पसेर ६ वटा घरमा क्षति

सिरहा । सिरहाकाे लहान नगरपालिका-१६ आरिदमार टोलमा शुक्रबार राति जङ्गली हात्तीको समूह गाउँमा पसेर आतङ्क मच्चाउँदा छ वटा घरमा क्षति पुगेको छ । चुरे क्षेत्रको जङ्गलबाट बस्तीमा पसेका हात्तीले घर भत्काउनुका साथै भण्डारण गरिएको अन्नपात र तरकारी बाली नष्ट गरेका छन् । वडाध्यक्ष गडुलबहादुर जर्घा मगरका अनुसार हात्तीको समूहले भुपाल नाम्जेली मगर, जालबहादुर थापा मगर, भक्तबहादुर मगर, रामबहादुर थापा मगर, गोपाल थापा मगर र हरीबहादुर थापा मगरको घरमा तोडफोड गरेका हुन् । “हात्तीले घर मात्र होइन, अन्नपात र करेसाबारीमा लगाएको तरकारीसमेत नष्ट गरेका छन्”, उनले भने । उनका अनुसार करिब रु तीन लाख बराबरको क्षति भएको छ । स्थानीय हरीबहादुर मगरले हात्ती प्रवेश गरेपछि गाउँले त्रसित बनेका बताए । “चार वटा हात्ती साँझतिर गाउँ पसेपछि हामी सबै घर छाडेर जङ्गलतिर भाग्यौँ”, उनले भने, “हिजो राति जङ्गलमा बिताइयो, आज पनि घरमा बस्न सक्ने अवस्था छैन ।” उनका अनुसार ११ दिनको सुत्केरीले जाडोमा बच्चा च्यापेर रातभर जङ्गलमा बस्नुपरेको थियो । “जुनसुकै बेला हात्ती गाउँ पस्न सक्छ भन्ने डरले हामी निकै आत्तिएका छौँ”, उनले थपे । वडाध्यक्ष मगरका अनुसार क्षति पुर्याएपछि हात्तीहरू नजिकैको झाँडी क्षेत्रमा आज दिनभर बसिरहेका छन् । हात्ती धपाउन र थप क्षति हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय लहानको टोलीले निगरानी गरिरहेको छ । गाउँलेहरू पनि पालैपालो जाग्राम बसेर हात्तीको गतिविधि हेरेका छन् । डिभिजन वन कार्यालय लहानका अनुसार प्रायः हरेक वर्ष हिउँदयाममा जङ्गली हात्तीको समूहले सिरहाको लहान, धनगढीमाई, गोलबजार तथा मिर्चैयाको उत्तरी क्षेत्रमा पर्ने गाउँबस्तीमा पसेर तोडफोडसहित आतङ्क मच्चाउने गर्दछन् । कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले भने, “चुरे क्षेत्र जङ्गली हात्तीको प्राकृतिक करिडोर हो । वन क्षेत्र अतिक्रमण र प्राकृतिक बासस्थान नष्ट हुँदै जाँदा हात्ती बेलाबेला बस्तीमा पस्ने गरेका छन्”, उनले भने । यसैबीच, लहान नगरप्रमुख महेशप्रसाद चौधरीले पीडित परिवारलाई क्षतिको विवरणअनुसार तत्काल राहत उपलब्ध गराइने जानकारी दिए ।  

ऐतिहासिक पर्सागढीमा दुई सय एघारौँ विजय उत्सव मनाइयो

पर्सा । ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थल पर्सागढीमा २११औँ विजय उत्सव मनाइएको छ । पर्सागढी नगरपालिका कार्यालयदेखि पर्सागढीसम्म झाँकीसहितको पदयात्रा गरेर शनिबार यहाँ विजय उत्सव मनाइएको हो । पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौजबिच भएको युद्धले नेपाल मुलुक जोगाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले सोको स्मरणमा विजय उत्सव भव्य रूपमा मनाइएको जानकारी दिए । “अत्याधुनिक हातहातियारले सुसज्जित ब्रिटिस सेनालाई गोर्खाली सेनाले निकै चलाखीपूर्ण ढङ्गले युद्ध जितेको अवसरको सम्झनामा विजय उत्सव मनाएका हौँ” उनले भने, “इतिहासको उक्त गौरवमय क्षण सदा स्मरणीय योग्य छ ।” प्रमुख पाठकले नेपालका अन्य ठाउँका गढीहरू व्यवस्थित भए पनि पर्सागढी जग्गाको किचलोका कारण व्यवस्थित गराउन चुनौतीपूर्ण रहेको बताए । श्रीजङ्ग गण पर्साका प्रमुख सेनानी लोकेन्द्र कार्कीले ब्यान्डबाजासहित सेनाको ऐतिहासिक वेशभूषासहित पदयात्रा गरेर विजय उत्सव मनाइएको बताए । पर्सागढी मन्दिर व्यवस्थापन समिति, नेपाली सेनाको श्रीजङ्ग गण, पर्सागढी नगरपालिकाको सहकार्यमा विजय उत्सव मनाएको हो । सो उत्सवमा पर्सागढी नगरपालिकामा रहेका सामुदायिक विद्यालय तथा स्थानीय उपस्थिति थियो । पर्सागढी मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष वृजमोहन चौधरीले गोर्खाली सेनाले तत्कालीन ब्रिटिस सेनालाई हराएको ऐतिहासिक पर्सागढीको जङ्गललाई संरक्षण र प्रवर्द्धन गर्न तीनै तहका सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौज पर्सागढीमा युद्ध भएको थियो । अङ्ग्रेज फौजको नेतृत्व मेजर जनरल मार्लेअन्तर्गतका कप्तान सिब्लीले गरेका थिए भने नेपाली फौजको नेतृत्व भने रञ्जित चौधरीले गरेको जानकारहरू बताउँछन् ।

निर्वाचनमा बालबालिका प्रयोग गर्न नपाइने

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ । निर्वाचन आयोगले तय गरेको आचारसंहितामा कुनै पनि परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग हुने गरी कुनै पनि साधन तथा स्रोत उपलब्ध गराउन नपाइने व्यवस्था गरिएको छ ।  आयोगले सञ्चालन गर्ने निर्वाचन व्यवस्थापन र मतदाता शिक्षालगायत अन्य कार्यक्रममा कुनै किसिमले अवरोध हुने गरी कुनै कार्य गर्न वा निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाइने छैन । आचारसंहिताअनुसार कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन पाइने छैन ।  राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न गराउन नपाइने व्यवस्था गरिएको छ । घर वा जग्गाधनीको स्वीकृति नलिई कसैको निजी संस्था वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था आचारसंहितामा गरिएको छ । बालबालिकालाई निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नपाइने व्यवस्थासमेत आचारसंहितामा गरिएको छ ।  सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै प्रकारको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसमेत गर्न नपाइने व्यवस्था आचारसंहितामा गरिएको छ । सामाजिक सञ्जालमा गलत, भ्रामक, द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउनसमेत नपाइने व्यवस्था आचारसंहितामा गरिएको छ ।

माैसम पूर्वानुमान: पहाडी तथा हिमाली भूभागमा आंशिक बदली, हुस्सु लाग्ने

काठमाडौं । देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। कोशी,  गण्डकी प्रदेश र कर्णाली प्रदेश उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहनुको साथै तराई भूभागमा हुस्सुको समेत सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।  

प्राधिकरणले नयाँ बुटवल लमही प्रसारण लाइन निर्माण गर्दै

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही चार सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल एक सय ६१ किलोमिटर लामो सो प्रसारण लाइन पूर्वी नेपालको बिजुली पश्चिममा प्रवाह गर्न र गण्डकी कोरिडोरमा निर्माण भएका विद्युत् आयोजनाको बिजुली प्रवाहका लागि सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।  लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा प्राधिकरणले सो आयोजना कार्यान्वयन गर्न लागेको हो । प्रसारण लाइनको प्रभावित क्षेत्रमा वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण) प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दै आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरिएको छ । कुल चार सय केभी क्षमताको सो प्रसारण लाइनको ४६ मिटर क्षेत्राधिकार तोकिएको छ । प्रसारण लाइनको केन्द्रबाट २३ मिटर दायाँ र २३ मिटर बायाँ रहने गरी क्षेत्राधिकार तोकिएको छ । सो प्रसारण लाइनमा कुल चार सय पाँच वटा टावर रहनेछन् । यस्तै, दाङको लमही नगरपालिका वडा नं ९ स्थित रिहारमा ४००/२२०/१३२/ ३३/११ केभी क्षमताको सबस्टेशन निर्माण हुनेछ । प्राधिकरणले वातावरणीय अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा सो क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक, आर्थिक प्रणालीमा केकस्तो प्रभाव पर्दछ पनि यकिन गर्न लागिएको सूचनामा उल्लेख छ । त्यस क्षेत्रका आयोजनाका कारण पर्न जाने प्रभावका बारेमा आवश्यक जानकारी, सुझाव एवं सल्लाह दिन प्राधिकरणले आग्रह गरेको छ । वातावरणीय प्रस्तावका सम्बन्धमा आवश्यक राय, सुझाव र सल्लाह प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्ग र परामर्शदाता एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड ललितपुरमा उपलब्ध गराउन भनिएको छ ।

हरियाली बन्दै बाँके, बिरुवा वितरण र उत्पादनमा जोड

बाँके। बाँकेमा हरियाली फैलाउने, वातावरणीय सन्तुलन कायम राख्ने र किसानको आम्दानी बढाउने उद्देश्यले बिरुवा वितरण र उत्पादनमा जोड दिइएको छ । कुनै समय दाउरा र काठका लागि प्राकृतिक वनमै निर्भर रहँदै आएको बाँके अहिले बिस्तारै निजी खेतबारी र सार्वजनिक स्थानमा हरियाली फैलाउने दिशातर्फ उन्मुख हुँदै गएको छ । डिभिजन वन कार्यालयका योजना शाखाका वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार जिल्लामा हजारौँ बिरुवा उत्पादन गरी वितरण गरिएको छ । यसले यहाँको जमिनलाई हरियाली बनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले जिल्लाभरि नै ३० प्रजातिका पाँच लाख १३ हजार बिरुवा वितरण गरेको थियो । कार्यालयका अनुसार सो अवधिमा पाँच लाख ६१ हजार बिरुवा उत्पादन गरिएको थियो । ती बिरुवा किसानका निजी जग्गा, सामुदायिक वन, सडक किनार, धार्मिकस्थल तथा सार्वजनिक स्थानमा रोपिएका वरिष्ठ वन अधिकृत सुवेदी बताउँछन् । “बिरुवा वितरणको उद्देश्य केवल हरियाली बढाउनु मात्र होइन, स्थानीयस्तरमै काठ र दाउराको आवश्यकता पूर्ति गर्नु पनि हो र यसका साथै किसानको आयआर्जन बढाउनु पनि हो”, उनले भने । बाँकेका केही स्थानीय तहमा वन क्षेत्र अत्यन्त न्यून छ भने केहीमा त वन नै छैन । यही अवस्थाले पछिल्ला वर्षमा किसानलाई आफ्नै खेतबारीमा रुख रोप्न प्रेरित गरेको अधिकृत सुवेदीको भनाइ छ । “खेतको कान्ला, खाली जमिन र घरआँगनमा लगाइएका रुख अहिले किसानको दैनिकीको महत्त्वपूर्ण हिस्सा बन्दै गएका छन्”, उनले भने । किसान निजी खेतमा रुख रोप्न आकर्षित हुनुका पछाडि वातावरणीय चिन्तामात्र होइन, आर्थिक पक्ष पनि हो । छिटो बढ्ने र बजारमा माग हुने प्रजातिका बिरुवाबाट छोटो समयमा नै प्रतिफल पाइने भएकाले किसानको रुचि बढेको छ । किसान छिटो आम्दानी दिने प्रजातितर्फ आकर्षित देखिएका छन्, यसले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुगेको छ । विशेष गरी सागवान र युकालिप्टसजस्ता प्रजाति छिटो बढ्ने र सजिलै बिक्री हुने भएकाले यी बिरुवा नै किसानको पहिलो रोजाइमा परेका छन् । एक वर्षीय प्रजातितर्फ सागवान, युकालिप्टस र खयरको माग बढी रहेको र बहुवर्षीय प्रजातितर्फ श्रीखण्ड, कल्कीफूल, ज्याकराण्डा, गुलमोहर, धुपी र जामुनजस्ता बिरुवा लोकप्रिय बन्दै गएका छन् । वरिष्ठ वन अधिकृत सुवेदीका अनुसार नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र कोहलपुर नगरपालिका आसपास भेनियर उद्योग, प्लाइउड उद्योग, इँटा उद्योग तथा जडीबुटी प्रशोधन उद्योग सञ्चालनमा रहेकाले निजी खेतमा लगाइएका रुखको बजार सुनिश्चित हुँदै गएको छ । “यी उद्योगमा काठ र दाउराको खपत बढी भएकाले निजी खेतमा उत्पादन भएको काठ उद्योगमा कच्चा पदार्थका रूपमा प्रयोग हुँदा किसानको आम्दानी बढ्नुका साथै प्राकृतिक वनमा पर्ने मानवीय चाप पनि घटेको छ”, उनले भने । डिभिजन वन कार्यालयले बजारको मागसँगै वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणलाई पनि समान प्राथमिकतामा राखेको वरिष्ठ वन अधिकृत सुवेदीले बताए । “प्राकृतिक वन पुनर्स्थापना र स्थानीय पारिस्थितिक सन्तुलनका लागि साल, महुवा, खयर र सिसौजस्ता स्थानीय प्रजातिको उत्पादन तथा रोपणमा विशेष जोड दिइँदै आएको छ । बजारको माग र वातावरणीय सन्तुलन दुवैलाई ध्यानमा राखेर प्रजाति छनोट गरिएको छ ।” हाल कोहलपुर, मेहनमानपुर, अगैया, शम्शेरगञ्ज, नरैनापुर तथा केन्द्रीय नर्सरीमार्फत जिल्लाका विभिन्न पालिकामा बिरुवा वितरण हुँदै आएको र चालु आर्थिक वर्षमा छ लाखभन्दा बढी बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको वरिष्ठ वन अधिकृत सुवेदीले जानकारी दिए । “यसका लागि जिल्लाका आठ नर्सरीमा पोलिब्यागमा माटो भर्ने, ब्याड व्यवस्थापन, नर्सरी मर्मत तथा बिरुवाको गुणस्तर सुधारका काम तीव्र रूपमा अघि बढाइएका छन्”, उनले भने । नर्सरी व्यवस्थापन र बिरुवा उत्पादन कार्यमा स्थानीय महिलाको उल्लेखनीय सहभागिता देखिन थालेको वरिष्ठ वन अधिकृत सुवेदीले बताए । यसले हरियाली विस्तारसँगै रोजगारी सृजना, सीप विकास र आत्मनिर्भरता प्रवर्द्धनमा पनि योगदान पुर्‍याइरहेको छ । बाँकेमा वनप्रतिको सोच, किसानको जीविकोपार्जन र वातावरणीय जिम्मेवारीलाई एउटै धारमा जोड्ने काम गरेको छ । निजी खेतबारी हरियाली बन्दै जाँदा प्राकृतिक वनमाथिको दबाब घट्ने, ग्रामीण अर्थतन्त्र बलियो हुने र वातावरणीय सन्तुलन कायम रहने अपेक्षा गरिएको छ ।

सङ्घीयता रक्षाकाे लागि तोकिएकै मितिमा चुनाव हुनुपर्छ: नेपाल

धनकुटा । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री  माधवकुमार नेपालले अहिले सङ्घीयता रक्षाका तोकिएकै मितिमा चुनाव गराउनुपर्ने बताउनुभएको छ ।  नेपाली कम्युनिस्ट पार्टी धनकुटाले आयोजना गरेको एकता सभालाई सम्बोधन गर्दै उहाँले गणतन्त्रको रक्षा गर्ने सङ्घीयताको रक्षा गर्न चुनाव तोकिएकै मितिमा हुनुपर्ने बताउनुभयो । चुनावको विकल्प नरहेको बताउँदै सह–संयोजक नेपालले सङ्घीयताको रक्षाका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।  कुनै पनि पार्टीले विकास निर्माणमा काम गर्न नसकेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले अबको विकास आफ्नो पार्टीले मात्रै गर्न सक्ने बताउनुभयो । 

आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १२०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९६, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ९६, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु २७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ ।  यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ६५, बन्दा (लोकल) प्रतिकिलो रु ४५, बन्दा (तराई) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ५५, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो रु ७०, मकै बोडी प्रतिकिलो रु ६० कायम भएको छ ।  त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १५०, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु १६०, घिरौँला प्रतिकिलो रु ११०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकिलो ९०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ९० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ९०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४०० र कुरिलो प्रतिकिलो रु २,४०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ८०, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु १५०, गाँठकोभी प्रतिकिलो रु ८५, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ७००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ३००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु २००, कागती प्रतिकिलो रु ९०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु ११०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु ११०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ११०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लप्सी प्रतिकिलो रु ७५, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३५०, सरिफा प्रतिकिलो रु २०० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु ७५, अदुवा प्रतिकिलो रु ८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ४००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु ११०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु ४४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु २५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ । 

अमेरिकाद्वारा भेनेजुएलामा ठूलो सैन्य आक्रमण, राष्ट्रपति मादुरो र श्रीमती पक्राउ भएको ट्रम्पको दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ठूलो मात्रामा सैन्य आक्रमण गरेको र त्यहाँका राष्ट्रपति निकोलस मादुरो तथा उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्राउ गरी देशबाहिर लगिएको दाबी गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “संयुक्त राज्य अमेरिकाले भेनेजुएला र यसका नेता राष्ट्रपति निकोलस मादुरोविरुद्ध ठूलो मात्रामा आक्रमण सफलतापूर्वक सुरु गरेको छ । उनलाई उनकी श्रीमतीसहित पक्राउ गरी देशबाट बाहिर लगिएको छ । यो अपरेसन अमेरिकी कानुन प्रवर्तनसँगको सहकार्यमा गरिएको थियो । विवरण चाँडै जारी गरिनेछ । आज बिहान ११ बजे (स्थानीय समय) मार–ए–लागोमा पत्रकार सम्मेलन हुनेछ ।” अमेरिकी अधिकारीहरूले सीबीएस न्युजलाई बताएअनुसार मादुरो र उनकी श्रीमतीलाई अमेरिकी सेनाको विशेष डेल्टा फोर्सले पक्राउ गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शनिबार बिहानै काराकास, मिरान्डा, अरागुआ र ला गुएरा राज्यका सैन्य अड्डाहरूमा अमेरिकाले हवाई हमला गरेको थियो । यसैबीच भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति मादुरो र प्रथम महिला सिलिया फ्लोरेसको अवस्था अज्ञात रहेको भन्दै उनीहरू जीवित रहेको तत्काल प्रमाण दिन अमेरिकासँग माग गरेकी छन् । उनले भनिन्, “भेनेजुएला सरकार दुवै जना जीवित रहेको प्रमाण तत्काल दिन माग गर्छ ।” भेनेजुएलाका रक्षामन्त्रीले पनि देशभरि तुरुन्तै सैन्य बल तैनाथ गर्ने घोषणा गरेका छन् । अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले मादुरोविरुद्ध मुद्दा चलाइने बताएकी छन् । उनले एक्समा लेखेकी छन्, “निकोलस मादुरोलाई संयुक्त राज्य अमेरिकाविरुद्ध नार्को–आतंकवाद षड्यन्त्र, कोकिन आयात गर्ने षड्यन्त्र, मेसिन गन र खतरनाक उपकरण राख्ने षड्यन्त्रजस्ता अभियोग छन् । उनी चाँडै अमेरिकी भूमिमा अमेरिकी अदालतमा अमेरिकी न्यायको सामना गर्नेछन् ।” तर श्रीमती फ्लोरेसविरुद्धका आरोपबारे उनले स्पष्ट पारेनन् । ट्रम्पले यसअघि पनि मादुरोलाई लागुपदार्थ तस्करी र अपराधमा संलग्न भएको आरोप लगाउँदै आएका थिए । यो घटनाले दुई देशबीचको तनाव चरमोत्कर्षमा पुगेको देखिन्छ ।