निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले हान्यो पानीको फोहोरा, राप्रपाको भिड तितरबितर

काठमाडौं । राप्रपाको प्रदर्शन निषेधित क्षेत्र तोड्दै सिंहरदबारको मूलगेटतर्फ अघि बढेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। पानीको फोहोरापछि प्रदर्शनकारीको भिड तितरबितर भएको छ।

राप्रपाले व्यवस्था परिवर्तनको माग गर्दै मंगलबार काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन गरेको थियो। त्यसक्रममा भद्रकालीबाट सिंहदरबारतर्फ जुलुस लम्केपछि प्रहरीले पानीको फोहोरा हानेको हो। राप्रपाको प्रदर्शनका कारण मंगलबार काठमाडौं उपत्यकाको सवारी साधन आवागमन प्रभावित भएको छ ।

प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

आन्दोलनकारीलाई प्रहरीविरुद्ध उक्साउने,ढंग्गा हान्न लगाउने काम गरेपछि शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न आग्रह गर्दै मुठभेड निम्त्याउने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए ।

यूएईमा श्रीमान् श्रीमती विवाद : भवनबाट खस्दा श्रीमतीको मृत्यु, श्रीमान् फरार

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा एक नेपाली महिलाको मृत्यु भएको छ। अर्घाखाँची घर भएकी श्रीमती राधा न्यौपाने र कैलाली घर भएका श्रीमान् नेत्रप्रसाद न्यौपानेबीच विवाद हुँदा यूएईको अजमानस्थित चाइना मलको भवनबाट खसेर उनको मृत्यु भएको बताइएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)नेपाल एसोसिएसनका अध्यक्ष विकास शाहीले घटनाको पुष्टि गर्दै थप बुझ्ने काम भइरहेको बताए।केही दिनअघि दुई जनाबिच विवाद भएको र सोही क्रममा भवनबाट खसेर उनको मृत्यु भएको बताइएको छ। घटनापछि श्रीमान न्यौपाने फरार भएका छन्।  नेत्रले राधासँग दोस्रो बिहे गरेको र पहिलो बिहे उनले गुपचुप राखेको थापा पाएपछि मदिरा पिएको बेला उनीहरुबीच विवाद भएको बताइएको छ। विवादकै क्रममा नेत्रले धकेल्दा यो घटना भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै संघले जनाएको छ। मलबाट खसेकी राधाको शव क्षतविक्षत अवस्थामा फेला परेको बताइएको छ । उनको शव स्थानीय अस्पतालमा राखिएको छ ।  उनीहरु दुबै जनाको यूएईमा रेसिडेन्ट कार्ड भएको र यूएईमा काम गर्दै बस्दै आएको खुलेको छ । यसबारे दूतावासमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

पौडी खेल्ने क्रममा आँधीखोलामा किशोर बेपत्ता

पोखरा । स्याङ्जाको आँधीखोलामा १ जना बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा गल्याङ नगरपालिका २ गराङ्दि घर भएका १४ वर्षीय किशोर युनिक राना बेपत्ता भएका हुन् । मंगलवार बिहान ७ जना साथीहरू पौडी खेल्न गएका थिए । राना खेल्दा खेल्दै बेपत्ता भएका हुन् । उनी बेपत्ता भएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

सुन प्रतितोला एक लाख ३६ हजार ३०० रुपैयाँ

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँ बढेर कारोबार भएको हो ।  छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।  तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी आज प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।  

राष्ट्रपति पौडेल सप्तरीमा, छिन्नमस्ताको पूजा गर्ने

राजविराज । राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुगेका छन् ।सप्तरीमा उनी छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुनेछन्।  राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए।  राष्ट्रपति पौडेलको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उनले बताए । 

विष्णुदेवीलाई राष्ट्रियसभा उपाध्यक्षको उमेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्ष उमेदवार बनाउने भएको छ । आज बसेको संसदीय दलको बैठकले पुडासैनीलाई निर्णय गरेको हो । माघमा भएको राष्ट्रियसभा निर्वाचन महिला क्लस्टरका सात जनामध्ये वाग्मती प्रदेशबाट पुडासैनी निर्वाचित भएकी हुन् । २०३३ सालमा पद्मकन्या क्याम्पसमा पढ्दादेखि नै उनी राजनीतिमा सक्रिय भएकी थिइन् । २०४९ सालमा काठमाडौंको तत्कालीन भद्रबास गाविसको अध्यक्षमा पनि निर्वाचित भएकी  उनी ७३ वर्षकी भइन् ।  

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिदै

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको आयोगले त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तयारी गरेको हो। आगामी वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१)मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि इलाम-२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

कर्णालीको मुख्यमन्त्रीमा गठबन्धनका यामलाल कँडेलले दाबी पेश गर्दै

काठमाडौँ । कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद मंगलबार सकिँदै छ । सत्ता गठबन्धनबाट एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन् ।  तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए।  पहिले नै कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनमा सहमति भइसकेको छ। एमाले संसदीय दलका नेता कँडेलले माओवादी केन्द्रको समर्थनमा सत्ता गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् ।  ४० सदस्यीय प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सांसद छन् ।  त्यसैगरी नेपाली काँग्रेसका १४, राप्रपा र स्वतन्त्रबाट १र१ जना सांसद रहेका छन् । 

राष्ट्रियसभा उपाध्यक्षमा मनोनयन दर्ता आज

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । उपाध्यक्षका लागि बुधबार निर्वाचनको मिति तोकिएको छ। त्यसका लागि मंगलबार संसद् सचिवालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको हो। संसद् भवनको ल्होत्से हलमा मनोनयन दर्ताका लागि स्थान तोकिएको छ । संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला र फरक–फरक दलको हुनुपर्ने व्यवस्था छ । जसअनुसार राष्ट्रिय सभाको अध्यक्षमा पुरुष निर्वाचित भइसकेकाले अब उपाध्यक्षमा महिलाले मात्रै उम्मेदवारी दिन पाउनेछन् ।  राष्ट्रिय सभामा हाल ५८ सदस्य छन् । जसमा नेकपा माओवादी केन्द्रका १७, नेपाली काँग्रेसका १६, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एकरएक तथा दुई जना मनोनीत सदस्य रहेका छन् । सत्ता गठबन्धन दलले गठबन्धन गरेर एउटा मात्रै उम्मेदवार उठाउने सहमति गरेपनि अहिले एमाले र एकीकृत समाजवादी दुवैले दाबी गरिरहेका छन् ।यद्यपी सत्ता गठबन्धनबाट एमालेकी उम्मेदवार बिमला आचार्य उपाध्यक्षको उम्मेदवार बन्ने करिब टुंग्गो लागेको छ । राष्ट्रिय सभामा गठबन्धन दलको मत ३७ छ । मंगलबार दर्ता भएको मनोनयन बुधबार निर्णयार्थ पेश हुनेछ । 

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ समय र कार्यसूची

काठमाडौं । तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठक बस्दैछ । बैठकमा राष्ट्रियसभाबाट पारित भएका संकल्प प्रस्तावहरूको बारेमा सम्बन्धित प्रस्तावकहरूसँग छलफल हुनेछ । त्यस्तै, बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको कार्य क्षेत्रका विषयमा विज्ञहरुरूसँग छलफल हुनेछ । त्यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषयहरूमा छलफल हुनेछ ।

प्रतिनिधिसभामा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै छ ।बैठक प्रतिनिधिसभा बैठक बस्नु अघि बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ । बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने जनाइएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम सहकारी प्रकरणमा जोडिएपछि उनीमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।हिजो सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले पुरानै अडान कायम राखेको छ । आज पनि प्रतिनिधिसभा बैठक बस्दै छ । आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति तय गर्न बैठक बालाइएको नेताहरुले छन् ।

सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताएका छन् । अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिसँग सोमबार मन्त्रालयमा भएको भेटमा उनले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गरिरहेको बताए ।  लगानी सम्मेलनको वातावरण बनाउन लगानीसम्बन्धी ऐनका दर्जन प्रावधानमा संशोधन गर्न लागिएको र उक्त संशोधन वैदेशिक लगानी आकर्षित गर्न मात्र नभई आन्तरिक लगानीको वातावरण निर्माणका लागिसमेत भएको मन्त्री पुनको भनाइ थियो ।  मुलुकमा तीव्र आर्थिक विकासका लागि आन्तरिक श्रोत परिचालन मात्र पर्याप्त नहुने भएकाले बाह्य लगानी आकर्षित गर्नैपर्नेमा अर्थमन्त्रीले जोड दिए।  नेपालमा लगानीको वातावरण बनाउनुपर्छ भन्नेमा राजनीतिक दलहरुबीच मतैक्य रहेको पनि मन्त्री पुनले स्पष्ट गरे । ‘सरकारले निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमै राखेर काम गर्ने हो’, मन्त्री पुनले भने, ‘सरकार र निजी क्षेत्रबीच आपसी साझेदारी र विश्वासका साथ काम गरौं भन्नेमै सम्माननीय प्रधानमन्त्री र मेरो जोड छ ।’ लगानी वातावरणका लागि नीतिगत निरन्तरता र स्थायित्व हुनुपर्नेमा सरकार स्पष्ट गरेको चर्चा गर्दै उनले पछिल्लो डेढ देशकमा जलविद्युत र सिमेन्ट उद्योगको विकासमा भएको प्रगतिको कारण नीतिगत स्थायित्व भएको उल्लेख गरे ।

राप्रपाले आज काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज संवैधानिक राजतन्त्रको पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै काठमाडौँमा वृहत प्रदर्शन गर्ने भएको छ ।प्रदर्शनमा विभिन्न धार्मिक सङ्घ, सङ्गठनहरूको पनि सहभागिता रहने जनाइएको छ। प्रदर्शन आज दिउँसो भृकुटीमण्डपबाट सुरु भएर काठमाडौँका विभिन्न स्थानको परिक्रमा गरी जनसभामा परिणत हुने राप्रपाले जनाएको छ । राप्रपाले आजको प्रदर्शनमा ५० हजार बढी मानिसलाई सडकमा उतार्ने दाबी गरेको छ । राप्रपाले प्रदर्शन शान्तिपूर्ण हुने भन्दै सुरक्षाको उचित प्रवन्धका लागि सरकारको ध्यानाकर्षण समेत गराइसकेको छ । यस्तै, राप्रपाले निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनमा अवरोध गर्न खोजे प्रतिवाद गर्ने चेतावनीसमेत दिएको छ । राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको थियो । जसमा संवैधानिक राजसंस्था पुर्नस्थापना हुनुपर्ने लगायतका माग रहेका छन् ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कायसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आज को बैठकमा  प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् । यस्तै, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अन्तराष्ट्रिय सौर्य गठबन्धन ९आईएसए०को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि छलफल गरी अनुमोदन गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी, उप प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सबन्धी (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । साथै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

कतै मेघगर्जनसहित वर्षा, कतै हावाहुरीको सम्भावना

काठमाडौं ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ । त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आज राती भने पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ५ बजेर ४५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २६ मिनेटमा हुनेछ ।

नेपाल नेत्रज्योति संघको अध्यक्षमा पुनः प्रा.डा.पन्त

नेपाल नेत्रज्योति संघको अध्यक्षमा प्रा.डा चेतराज पन्त निर्वाचित भएका छन् । भरतपुरको चितवनमा सम्पन्न २८ औँ केन्द्रीय सभा तथा अधिवेशनले प्रा.डा. पन्तलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । नेपाल नेत्रज्योति संघ चितवन शाखाको आतिथ्यतामा चैत्र २३ र २४ गते चलेको अधिवेशनले प्रा.डा. पन्तको नेतृत्वमा आगामी ४ बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । संघको विधान बमोजिम २७ सदस्यीय कार्यसमितिमध्ये १ जना अध्यक्ष, १२ जना खुला सदस्य र २ जना महिला सदस्य गरी १५ सदस्य अधिवेशन मार्फत निर्विरोध निर्वाचित भए । त्यस्तै सदस्यहरुमा कृष्ण कुमार गिरी, चिज कुमार मास्के, दिव्य प्रसाद पन्त, द्रोणप्रसाद गुरागाई, डा. नन्द श्रेष्ठ, नर वहादुर रोकाया, पद्म नारायण चौधरी, बिष्णुदत्त जोशी, श्यामकुमार पोखरेल, भरत बहादुर चन्द, भागवत राउत, वरिष्ठ अधिवक्ता हरि प्रसाद शर्र्मा, मन्जु कण्डेल र प्रा.डा. सविना श्रेष्ठ निर्विरोध निर्वाचित भए । निर्वाचित सदस्यहरुमध्ये बाट नै पदाधिकारीहरुको कार्यविभाजन गर्ने व्यवस्था बमोजिम अधिवेशन लगत्तै बसेको केन्द्रिय समिति बैठकले संघको बरिष्ठ उपाध्यक्षमा श्यामकुमार पोखरेल, महासचिवमा भरतबहादुर चन्द र कोषाध्यक्षमा चिजकुमार मास्केलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै संघका सातवटै प्रदेशका प्रदेश सभापतिहरु केन्द्रिय कार्यसमितिको पदेन उपाध्यक्ष रहने व्यवस्था बमोजिम कोशी प्रदेश सभापति श्याम सुन्दर उदास, मधेश प्रदेश सभापति रबिन्द्रलाल चौधरी, वाग्मती प्रदेश सभापति ऋषिराम पौडेल, गण्डकी प्रदेश सभापति प्रा.डा.दिलबहादुर क्षेत्री, लुम्बिनी प्रदेश सभापति सागरप्रताप राणा, कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्ल र सुदुरपश्चिम प्रदेश सभापति चक्र बहादुर सिंह केन्द्रिय कार्यसमितिको उपाध्यक्षमा चयन हुनु भएको छ भने बाँकी सदस्यहरु केन्द्रीय समितीले मनोनित गर्नेछ । संघ अन्तरगत देशभरमा २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखाहरु संचालनमा छन् । स्थापना देखि हालसम्म संघको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरु गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । त्यस्तै सभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन पारित गर्नुको साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षक नियुक्तिको प्रस्ताव समेत पारित गरिएको छ ।