कांग्रेस-एमालेको प्रस्ताव अस्वीकार गर्दै राष्ट्रियसभा चुनावमा नेकपाले गर्यो एकल उम्मेद्वारी दर्ता
काठमाडौं — राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धन प्रस्ताव अस्वीकार गर्दै नेपाली कम्युनिस्ट पार्टीले एकल रूपमा उम्मेदवारी दर्ता गरेको छ।
मतभारअनुसार सर्वसम्मत उम्मेदवारी नभए गठबन्धन नगर्ने पार्टी नीतिअनुसार नेकपाले आज उम्मेदवारी दर्ता गरेको हो।


तराईमा हुस्सु र कुहिरो कायम, यातायात र जनजीवनमा असर
काठमाडौं — देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा हुस्सु लागेको छ। आज दिउँसो: तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहने अनुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहने छ। आज राति: तराईका धेरै स्थानमा हुस्सु कायम रहनेछ। पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ। महाशाखाका अनुसार तराईमा हुस्सु तथा कुहिरोको कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन, हवाई तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलरको खरिददर १४३.९७ र बिक्रीदर १४४.५७
काठमाडौं — नेपाल राष्ट्र बैंकले आज (जनवरी ७, २०२६) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। प्रमुख मुद्राहरूको दर यस प्रकार छ: अमेरिकी डलर (१): खरिददर १४३.९७ रुपैयाँ, बिक्रीदर १४४.५७ रुपैयाँ युरोपियन युरो (१): खरिददर १६८.५७ रुपैयाँ, बिक्रीदर १६९.२८ रुपैयाँ युके पाउन्ड स्टर्लिङ (१): खरिददर १९४.७० रुपैयाँ, बिक्रीदर १९५.५१ रुपैयाँ स्वीस फ्र्यांक (१): खरिददर १८१.५४ रुपैयाँ, बिक्रीदर १८२.३० रुपैयाँ अष्ट्रेलियन डलर (१): खरिददर ९६.६८ रुपैयाँ, बिक्रीदर ९७.०८ रुपैयाँ क्यानेडियन डलर (१): खरिददर १०४.५५ रुपैयाँ, बिक्रीदर १०४.९९ रुपैयाँ सिङ्गापुर डलर (१): खरिददर ११२.४८ रुपैयाँ, बिक्रीदर ११२.९५ रुपैयाँ जापानी येन (१०): खरिददर ९.२० रुपैयाँ, बिक्रीदर ९.२४ रुपैयाँ चिनियाँ युआन (१): खरिददर २०.६१ रुपैयाँ, बिक्रीदर २०.७० रुपैयाँ साउदी रियाल (१): खरिददर ३८.३९ रुपैयाँ, बिक्रीदर ३८.५५ रुपैयाँ कतारी रियाल (१): खरिददर ३९.३९ रुपैयाँ, बिक्रीदर ३९.५५ रुपैयाँ थाई भाट (१): खरिददर ४.६० रुपैयाँ, बिक्रीदर ४.६२ रुपैयाँ युएई दिराम (१): खरिददर ३९.२० रुपैयाँ, बिक्रीदर ३९.३६ रुपैयाँ मलेसियन रिङ्गेट (१): खरिददर ३५.५७ रुपैयाँ, बिक्रीदर ३५.७२ रुपैयाँ साउथ कोरियन वन (१००): खरिददर ९.९४ रुपैयाँ, बिक्रीदर ९.९८ रुपैयाँ स्वीडिस क्रोनर (१): खरिददर १५.६६ रुपैयाँ, बिक्रीदर १५.७३ रुपैयाँ डेनिस क्रोनर (१): खरिददर २२.५६ रुपैयाँ, बिक्रीदर २२.६५ रुपैयाँ हङकङ डलर (१): खरिददर १८.४९ रुपैयाँ, बिक्रीदर १८.५६ रुपैयाँ कुवेती दिनार (१): खरिददर ४६८.४३ रुपैयाँ, बिक्रीदर ४७०.३८ रुपैयाँ बहराइन दिनार (१): खरिददर ३८१.९३ रुपैयाँ, बिक्रीदर ३८३.५२ रुपैयाँ ओमानी रियाल (१): खरिददर ३७३.९६ रुपैयाँ, बिक्रीदर ३७५.५२ रुपैयाँ यसैगरी, भारतीय रुपैयाँ (१००) को खरिददर १६०.०० रुपैयाँ र बिक्रीदर १६०.१५ रुपैयाँ तोकिएको छ। राष्ट्र बैंकका अनुसार यी दरहरू आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन हुन सक्छन्। वाणिज्य बैंकहरूले तोक्ने दरहरू फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
राष्ट्रियसभा निर्वाचनः आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता
काठमाडौं — राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदै छ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको छ। आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने तालिका सार्वजनिक गरेको छ। फागुन २० गतेदेखि राष्ट्रियसभाका १८ सदस्यको पदावधि सकिने भएकाले ती रिक्त पदहरूका लागि निर्वाचन हुन लागेको हो। निर्वाचन तालिका अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दर्ता, पुस २७ गते नाम फिर्ता तथा सोही दिन अन्तिम नामावली प्रकाशन र पुस २८ गते निर्वाचन चिह्न प्रदान गरिनेछ। माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। आयोगले राष्ट्रिय जनगणना २०७८ का आधारमा मतदाता नामावली र मतभार सार्वजनिक गरिसकेको छ। यस निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षहरू मतदाता हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन हुँदैन : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने स्पष्ट पार्नुभएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक प्रचण्डले कुनै पनि दलसँग गठबन्धन गर्ने विषयमा कुरा नभएको र नहुने बताउनुभयो । उहाँले भन्नुभयो, 'कुनै पनि दलसँग गठबन्धन गर्ने कुरा भएको पनि छैन । हुँदैन पनि ।' उहाँले आफू पार्टी कामका लागि भारत भ्रमणमा गएको बताउँदै सो क्रममा भारतीय जनता पार्टीका केही नेताहरूसँग अनौपचारिक छलफल भएको जानकारी दिनुभयो । प्रचण्डले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको सम्भावित एकताबाट आफूहरू नडराएको बताउनुभयो । उहाँले आफू नेतृत्वको सरकारमा रास्वपा सभापति रवि लामिछानेलाई दुई पटक गृहमन्त्री बनाएको टिप्पणी गर्नुभयो । पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले रविलाई धेरै अफ्ठ्यारा स्थितिमा पनि साथ दिएको बताउनुभयो । ‘बालेन र रविको गठबन्धनबाट हामी विल्कुल डराएका छैनौँ । रविलाई धेरै अफ्ठ्यारा स्थितिबाट मैले साथ दिँदै आएको हो । मेरो क्याबिनेटमा दुई पटक गृहमन्त्री पनि बनाएको हो,’ उहाँले भन्नुभयो, ‘त्यसकारण उहाँहरू गठबन्धन भएर म किन डराउने ? उहाँहरूसँग कुरा गर्न मलाई केही आइतबार पर्खिनुपर्ने पनि छैन । डर पनि छैन ।’ प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) सँग तालमेलको निर्णय अझै नभइसकेको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय सभामा तालमेल हुनु अनौठो नभएको र मतभारअनुसार त्यो अधिकार पनि रहेको बताउनुभयो ।
टिट्वेन्टी विश्वकप क्रिकेट खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा
काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो । टोलीमा नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित शेर मल्ल समावेश भएका छन् । शेर पहिलोपटक नेपालको सिनियर टोलीमा स्थान बनाउन सफल भएका हुन् । यस्तै, बसिर अहमद पनि विश्वकप टोलीमा परेका छन् । विश्वकप एसिया ईएपी छनोटमा खेलेका कुशल मल्ल र मोहम्मद आदिल आलम भने टोलीमा स्थान बनाउन सकेनन् । नेपालको टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरूले पुस २९ गते शपथग्रहण गर्ने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले पुस २९ गते शपथग्रहण गर्ने भएका छन् । नेता प्रेमबहादुर सिंहका अनुसार, केन्द्रीय समितिको संख्या २४९९ हुनेछ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको एकतामा जोडिएका प्रमुख घटकहरूको परामर्श बैठकले शपथग्रहणको मिति र प्रक्रिया टुंगो लगाएको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बागमती प्रदेशको हकमा केन्द्रले तोकेको ठाउँमा उपस्थित भएर शपथग्रहण गर्ने र अन्य प्रदेशहरूको हकमा सम्बन्धित प्रदेश समितिलाई नै जिम्मेवारी दिइएको उहाँले बताउनुभयो । ‘बागमती प्रदेशको हकमा केन्द्रले तोकेको ठाउँमा शपथग्रहण समारोह गर्ने र बाहिरका प्रदेशहरूको हकमा सम्बन्धित प्रदेशले तोकेको ठाउँमा शपथग्रहण समारोह गर्ने निर्णय भएको छ’, उहाँले भन्नुभयो ।
राष्ट्रिय सभा निर्वाचन: तालमेल तथा उम्मेद्वार छनोटका लागि नेकपाले दियो प्रचण्डलाई जिम्मेवारी
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको परामर्श बैठकले राष्ट्रिय सभा निर्वाचनमा तालमेल तथा उम्मेद्वार छनोटका लागि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मेवारी प्रदान गरेको छ । पेरिसडाँडामा साँझ सम्पन्न परामर्श बैठकमा संयोजक प्रचण्डले नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रस्ताव गरेको सहमतिको प्रस्ताव तथा आफ्नो पार्टीको स्पष्ट दृष्टिकोणका सन्दर्भमा जानकारी गराउनुभएको थियो । नेपाली कम्युनिस्ट पार्टीले न्यूनतम ४ सिट प्राप्त हुने गरी सबै दलहरूबीच तालमेल गर्न सकिने गरी छलफल अघि बढाएको छ । संयोजक प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रिय सभाको निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल गर्न परामर्श बैठक बोलाउनुभएको थियो । पार्टीमा आबद्ध सबै घटकका नेताहरूको सहभागिता रहेको बैठकमा संयोजक प्रचण्डले राष्ट्रिय सभा निर्वाचन, दलहरूबीच भइरहेको छलफल तथा समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउनुभएको थियो । नेपाली कम्युनिस्ट पार्टीले आउँदो २९ गतेभित्र संगठनात्मक संरचना टुंगो लगाएर शपथग्रहण गर्ने तयारी गरेको छ । यस सन्दर्भमा पनि बैठकमा छलफल भएको नेताहरूले बताएका छन् ।
पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीको परामर्श बैठक
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रिय सभाको निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल गर्न परामर्श बैठक बोलाउनुभएको हो । बैठकमा पार्टीमा आबद्ध सबै घटकका नेताहरूको सहभागिता रहेको छ । बैठकले राष्ट्रिय सभा निर्वाचन, दलहरूबीच भइरहेको छलफल तथा समसामयिक राजनीतिक अवस्थाबारे निर्णय लिने बताइएको छ ।
आदिवासी जनजाति महोत्सव: तीन जातिका नमुना घर निर्माण
तनहुँ। नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा पुस २४ गतेदेखि सञ्चालन हुने छैटौँ तनहुँ सांस्कृतिक महोत्सवअन्तर्गत तीन जातिका नमुना घर निर्माण गरिएको छ । महोत्सवलाई थप आकर्षक, मौलिक र सांस्कृतिक बनाउन तीन जातिका परम्परागत नमुना घर निर्माण गरिएको हो । व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा आयोजना हुने महोत्सवको मुख्य आकर्षणका रूपमा महेन्द्र शालिक रहेको पार्कमा मगर, दरै र कुमाल समुदायका नमुना घर निर्माण गरिएको महोत्सव संयोजक एवं महासङ्घका अध्यक्ष सनम तामाङले जानकारी दिए । उनका अनुसार यी नमुना घरमार्फत जनजातिहरूको जीवनशैली, रहनसहन, संस्कृति, परम्परा र ऐतिहासिक पहिचानलाई उजागर गर्ने उद्देश्य राखिएको छ । जिल्लामा १३ भन्दा बढी आदिवासी जनजाति समुदायको बसोबास रहे पनि स्थानको अभावका कारण तीन समुदायका मात्रै नमुना घर निर्माण गरिएको उनले बताए । अध्यक्ष तामाङका अनुसार महोत्सव अवलोकन गर्न आउने सर्वसाधारण, विद्यार्थी तथा पर्यटकले नमुना घरभित्र प्रयोग हुने घरायसी सामग्री, भाँडाकुँडा, कृषि औजार, पहिरन, संस्कार तथा संस्कृति र रीतिरिवाजका बारेमा नजिकबाट बुझ्ने अवसर पाउनेछन् । यसले नयाँ पुस्तामा आफ्नै संस्कृतिप्रतिको चेतना अभिवृद्धि हुनुका साथै लोपोन्मुख परम्पराको संरक्षणमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । छैटौँ तनहुँ सांस्कृतिक महोत्सवमा नमुना घरसँगै सांस्कृतिक झाँकी, मौलिक नृत्य, जातीय पहिरन प्रदर्शनी, स्थानीय परिकार, हस्तकला सामग्रीका कक्ष (स्टल), साङ्गीतिक कार्यक्रम तथा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । आदिवासी जनजातिको पहिचान, मौलिकता र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवले तनहुँको सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको तामाङको भनाइ छ । उनले भने, “आधुनिकताको प्रभावले लोप हुँदै गएका हाम्रा मौलिक संस्कृति र परम्परालाई नयाँपुस्तासम्म पुर्याउन महोत्सव महत्त्वपूर्ण हुने विश्वास छ ।” महोत्सवका लागि आवश्यक तयारी सुरु भइसकेको जनाउँदै उनले स्टल निर्माण, सांस्कृतिक मञ्च व्यवस्थापन, समुदायगत प्रदर्शनीस्थल तयार गर्ने काम तीव्र रूपमा अगाडि बढाइएको जानकारी दिए । आयोजकका अनुसार महोत्सवले आदिवासी जनजाति समुदायबिच आपसी सद्भाव, एकता र सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । आगामी माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा रु १५ लाख बचत गरी सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखिएको महोत्सवका संयोजक तामाङले जानकारी दिए ।
कोशी प्रदेशमा स्टार्टअप उद्यममा दुई अर्ब ५६ करोड लगानी
काठमाडौँ । स्टार्टअप उद्यममा न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्षका उद्यमीहरूको संलग्नता रहेको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा उल्लेख गरिएको छ । केन्द्रीय बैंकले कोशी प्रदेशमा गरेको स्टार्टअप उद्यमको प्रवृत्तिसम्बन्धी विशेष अध्ययन प्रतिवेदन अनुसार यस क्षेत्रमा कुल लगानी रु दुई अर्ब ५६ करोड रहेको छ । त्यसमा ३८ दशमलव सात प्रतिशत हिस्सा ऋण रहेको छ भने ६१ दशमलव तीन प्रतिशत हिस्सा स्वपुँजी रहेको छ । अध्ययन अनुसार २१ देखि ३५ वर्ष उमेर समूहका ३९ दशमलव तीन प्रतिशत, ३६ देखि ५० वर्ष उमेर समूहका ४४ दशमलव चार प्रतिशत र ५० देखि ७० वर्ष उमेर समूहका १६ दशमलव दुई प्रतिशत उद्यमी रहेका छन् । त्यस्तै, २१ देखि ३५ वर्ष उमेर समूहका उद्यमीमध्ये सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रमा ७३ दशमलव तीन प्रतिशत र सबैभन्दा कम कृषि क्षेत्रमा २१ दशमलव दुई प्रतिशत उद्यमी संलग्न रहेका अध्ययनमा उल्लेख छ । युवापुस्ताले डिजिटल र प्रविधिमा केन्द्रित उद्यममा बढी रुचि राखेका देखिन्छ भने ३६ देखि ५० वर्ष उमेर समूहका उद्यमी सबैभन्दा बढी कृषि क्षेत्रमा संलग्न रहेका देखिन्छ । सबैभन्दा कम सूचना प्रविधि क्षेत्रमा २६ दशमलव सात प्रतिशत युवा आबद्ध रहेका छन् । साथै ५० देख ७० वर्ष उमेर समूहका सबैभन्दा बढी २७ दशमलव तीन प्रतिशत पर्यटन क्षेत्रमा रहेको देखिन्छ भने सूचना प्रविधि क्षेत्रमा यो उमेर समूहको कुनै पनि संलग्नता नरहेको अध्ययनमा उल्लेख छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा स्टार्टअप कर्जाका लागि आवेदन दर्ता गरेका र ‘सर्टलिष्ट’ भएका कोशी प्रदेशका उद्यमहरूको सङ्ख्यालाई आधार मानी १६० वटा स्टार्टअप उद्यमबाट तथ्याङ्क सङ्कलन गरिएको केन्द्रीय बैंकले जनाएको छ । अध्ययनमा सहभागी १६० उद्यममा कृषि तथा वनजन्य, उत्पादनमूलक, सेवामूलक, पर्यटन र सूचना प्रविधि गरी पाँच व्यावसायिक क्षेत्र समावेश छन् । त्यसमा कृषि तथा वनजन्य ४१ दशमलव तीन प्रतिशत, उत्पादनमूलक १८ दशमलव एक प्रतिशत, सेवामूलक १७ दशमलव पाँच प्रतिशत, पर्यटन १३ दशमलव आठ प्रतिशत र सूचना प्रविधि क्षेत्रमा नौ दशमलव चार प्रतिशत उद्यम छन् ।
प्रहरीद्वारा सर्लाहीमा गाँजाखेती फडानी अभियान सञ्चालन
सर्लाही । लालबन्दी नगरपालिकास्थित चुरे क्षेत्रमा गरिएको अवैध गाँजाखेती प्रहरीले नष्ट गरेको छ । लालबन्दी नगरपालिका–१४ र १५ स्थित विभिन्न गाउँमा क्षेत्रमा लगाएको गाँजा प्रहरीले सोमबार नष्ट गरेको हो । चुरे क्षेत्रको शिर कालिन्जोर, सिरुडाँडा, ब्लोन टोललगायत स्थानमा रूपमा लगाएको दुई लाख बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । जिल्लाको चुरे क्षेत्रमा प्रहरीले मङ्सिरदेखि नै अवैध गाँजाखेती फडानी अभियान चलाएको छ । “उक्त क्षेत्रमा गाँजाखेती भइरहेको सूचना पाएपछि प्रहरी पुगेको थियो”, उनले भने, “नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४० जनाको टोलीले १३ बिघाको गाँजाका बोट फडानी गरेर फर्किएका छन् ।” अवैध लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले लुकाइछिपाइ गरेको गाँजाखेती खोजी र नष्ट गर्ने काम गरिरहेको प्रहरी नायब उपरीक्षक राईले बताए । तथ्याङ्कअनुसार जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा ९४.५ बिघा गाँजाखेती नष्ट गरिसकेको छ ।
आज अमेरिकी डलरको मूल्य उकालो लाग्याे
काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ १५ पैसा र बिक्रीदर १४४ रुपियाँ ७५ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ४० पैसा र बिक्रीदर १६९ रुपियाँ १० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपियाँ सात पैसा र बिक्रीदर १९४ रुपियाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपियाँ ३० पैसा र बिक्रीदर १८२ रुपियाँ पाँच पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ३६ पैसा र बिक्रीदर ९६ रुपियाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ७० पैसा र बिक्रीदर १०५ रुपियाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ९९ पैसा र बिक्रीदर ११२ रुपियाँ ४६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ २० पैसा र बिक्रीदर नौ रुपियाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ६४ पैसा र बिक्रीदर २० रुपियाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ४३ पैसा र बिक्रीदर ३८ रुपियाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ५५ पैसा र बिक्रीदर ३९ रुपियाँ ७१ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६० पैसा र बिक्रीदर चार रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ २५ पैसा र बिक्रीदर ३९ रुपियाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ४० पैसा र बिक्रीदर ३५ रुपियाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९६ पैसा र बिक्रीदर १० रुपियाँ , स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६३ पैसा र बिक्रीदर १५ रुपियाँ ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ५४ पैसा र बिक्रीदर २२ रुपियाँ ६४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ ५१ पैसा र बिक्रीदर १८ रुपियाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४६९ रुपियाँ छ पैसा र बिक्रीदर ४७१ रुपियाँ एक पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपियाँ ३९ पैसा र बिक्रीदर ३८३ रुपियाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपियाँ ४३ पैसा र बिक्रीदर ३७५ रुपियाँ ९८ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
माैसम पूर्वानुमान: यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागका केहि स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहनुको साथै तराई भूभागमा हुस्सु तथा कुहिरोको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पर्यटक बढेसँगै ठोरीमा होटल तथा रिसोर्ट खुल्न थाले
पर्सा। पर्साको ठोरीमा भारतीय र स्वदेशी पर्यटकको आवागमन बढेसँगै होटल तथा रिसोर्टमा लगानी बढेको छ । ठोरी पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएपछि झन्डै एक दर्जनको हाराहारीमा होटल तथा रिसोर्ट सञ्चालनमा आइसकेका छन् । कलाकार तथा होटल व्यवसायी सुशान्तसिंह ठकुरीले पनि यहाँ आउने पर्यटकलाई लक्षित गर्दै रेष्टुरेन्टलाई सुविधासम्पन्न रिसोर्टको विस्तारमा जुटेको बताए । “हामीले यहाँ चार वर्षदेखि रेष्टुरेन्ट सञ्चालन गरिरहेका थियौँ, पछिल्लो समय पर्यटक बढेसँगै नेचर रिसोर्ट गरिरहेका छौँ”, उनले भने । ठकुरीले रिसोर्ट निर्माणका लागि करिब चार करोड लगानी गरिएको बताए । ठोरीमा भारतीय र स्वदेशी पर्यटकको आवागमनले यहाँको व्यापार बढेको उनको भनाइ छ । उनका अनुसार चार वर्ष अघिसम्म ९० प्रतिशत भारतीय पाहुना र १० प्रतिशत स्वदेशी पाहुना आउने गर्दथे। तर, अहिले यहाँ ७० प्रतिशत भारतीय पाहुना र ३० प्रतिशत स्वदेशी पाहुना आउन थालेका छन् । त्यस्तै पछिल्लो समय वीरगन्जका व्यवसायी जिम्दार राउतकुर्मी र धमेन्द्र पटेलले पनि ठोरीमा स्वीमिङपुलसहितको लर्डस अफ ठोरी होटल सञ्चालनमा ल्याउने तयारीमा छन् । “ठोरीमा घुम्न आउने पर्यटकको बसाई लम्बाउनका लागि व्यवस्थित खालको आवासीय होटलको अभावलाई परिपूर्ति गर्नका लागि होटल सञ्चालनमा ल्याएका हौँ”, उनले भने, “अहिले पनि ठोरीमा राम्रो बस्नलायक होटलको अभावलाई यसले टेवा पुग्ने विश्वास लिएका छौँ ।” अहिले ठोरीमा झन्डै साना–ठुला गरेर करिब डेढ दर्जन होटल तथा रिसोर्टमा रु ५० करोडभन्दा धेरै लगानी भइसकेको व्यवसायीहरू बताउँछन् । पछिल्लो समय ठोरी बाह्रैमास व्यापार हुने पर्यटकीय गन्तव्य बनेको छ । भारतीय मात्र होइन, पर्सा आसपासका स्वदेशी पर्यटक पनि ठोरी आउने गरेका छन् । ठोरीमा राईधारा, सेतो पहाड, गोलेडाँडा, रातो पहाड, सिनेही पहाड, ‘स्टोनपार्क’ रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सिकारीबासलगायत करिब ५० पर्यटकीयस्थल छन् । सुवर्णपुरमा मधेस प्रदेशको पहिलो घरबास ९होमस्टे० सञ्चालनमा छ । ठोरी गाउँपालिका–२ स्थित भ्युटावरबाट सूर्योदय र सूर्यास्त हेर्न धेरै पर्यटक जाने गरेका छन् । ठोरी तीनवटा राष्ट्रिय निकुञ्जको सङ्गमस्थल हो । वन्यजन्तु तथा वनस्पतिको अवलोकन गर्न प्रकृतिप्रेमी पर्यटक पनि त्यहाँ जाने गरेका छन् । भारतको सीमावर्ती सहर जमुनिया, नरकटियागञ्ज, रामनगर, रक्सौल, सुगौली, मुजफ्फरपुर र पटनालगायत सहरबाट पर्यटक ठोरी आउने गरेका पर्यटन व्यवसायी ठकुरीले बताए ।
चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले
नवलपरासी । अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम) नवलपरासीमा माछा पर्न थालेका छन् । पाल्हीनन्दन गाउँपालिका–४ स्थित कृष्णबहादुर सहानीले चिसोका कारण माछा जोगाउन नसकेको बताए । उनले १० वर्षदेखि छ बिघामा व्यावसायिक माछापालन गर्दै आएका छन् । उनका अनुसार लामो समयसम्म शीतलहरका कारण माछा पोखरीको तापक्रम घटेपछि माछा मर्न थालेका हुन् । चिसो कारण माछाले दाना पनि खान छोडेको उनको भनाइ छ । प्रतापपुर गाउँपालिका–२ का भवानी शङ्कर यादवले पनि १६ बिघामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका छन् । अत्यधिक चिसोका कारण २० क्विन्टल बैखी माछा मरेको उनले बताए ।

