साविक विजेता नेपाल मलेसियासँग खेल्दै

काठमाडौं । साविक विजेता नेपाली क्रिकेट टिमले आज मलेसियाविरुद्ध खेल्दै एसीसी प्रिमियर कप खेल्दै छ ।

यसअघि घरेलु मैदानमा भएको प्रतियोगिताको उपाधि जित्दै नेपालले गत संस्करणको एसिया कप खेलेको थियो । आज मलेसियाविरुद्ध मैदान उत्रिँदा नेपाली टिम सोही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । 

ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार ४ः१५ बजेदेखि सुरु हुनेछ ।

यसअघि एकदिवसीय संरचनामा सञ्चालन भएको प्रतियोगिताको यस संस्करण भने ट्वान्टी–२० संरचनामा हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, साउदी अरेबिया र कतार छन् । प्रतियोगितामा कुल १० टिमको सहभागिता छ ।

गत संस्करणझै यस संस्करणमा पनि विजेताले आगामी वर्ष ट्वान्टी–२० संरचनामा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।

ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने घोषणा

काठमाडौं । नयाँ वर्ष २०८१ सालदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमार्फत परिषद् र बोर्डले जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रहेर दरबारमार्ग र ठमेल २४ सै घण्टा व्यवसाय सञ्चालन गराउने जनाएका छन् । दरबारमार्ग र ठमेल २४ सै घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिक रुपमा चलायमान र थप रोजगारी सिर्जना हुने व्यवसायीको भनाई छ । अहिले ठमेलमा मात्रै ८ हजार भन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएका छन् ।  त्यसैगरी, प्रहरीले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्नका लागि विशेष सुरक्षा योजना तयार पारेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताएका छन् ।

भियतनामा रियल इस्टेट व्यापारी ल्यानलाई सुनाइयो मृत्युदण्डको सजाय

एजेन्सी । भियतनामको एक अदालतले रियल इस्टेट व्यापारी ट्रुङ माई ल्यानलाई मृत्युदण्डको सजाय सुनाएको छ ।बिहीबार भएको फैसलामा उनलाई ३०४ ट्रिलियन डोङ (१२.४६ बिलियन डलर) को वित्तीय ठगी गरेको भन्दै मृत्युदण्डको सजाय सुनाएको हो ।जुन भियतनाको इतिहासमै सबैभन्दा ठूलो ठगी मुद्दा हो । भियतनामको व्यापारिक हब हो ची मिन्ह सिटीमा भएको सुनुवाइमा, घर जग्गा कारोबारी भान थिन्ह फाट होल्डिङ्स समूहकी अध्यक्षलाई घोटाला, घूषखोरी र बैंकिङ ठगी गरेको आरोपमा अदालते दोषी ठहर गरेको हो । पछिल्लो समय भियतनामा कम्युनिष्ट पार्टीका नेता गुएन फु ट्रोङ सत्तामा आएसँगै भ्रष्टाचारविरुद्ध अभियान चलाएका छन् । जुन भियतनामको सत्तारुढ कम्युनिष्ट पार्टीका नेता न्गुएन फु ट्रोङले वर्षौंदेखि स्ट्याम्प आउट गर्ने वाचा गरेको भ्रष्टाचार विरुद्धको अभियानको हिस्सा हो ।यस किसिमको भ्रष्टाचार विरुद्धको अभियानले लगानीको वातावरण बिगारेको व्यापारीहरुले बताएका छन् । जुन अभियानले सयौं वरिष्ठ राज्य अधिकारीहरू र उच्च प्रोफाइल व्यवसायिक अधिकारीहरूलाई मुद्दा चलाइएको छ । व्यापारी ट्रुङ माई ल्यानलाई मृत्युदण्डको सजाय गर्ने फैसलाविरुद्ध परिवार पुनरावेदन अपील गर्ने भएको छ ।

नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी

काठमाडौँ । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले पाएका छन् । पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो । हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जङ्गीअड्डास्थित सैनिक अभिलेखालयमा सरुवा भएको छ । उनले केही दिनमा सहायकरथी केसीलाई प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गर्नेछन् ।

भारतमा स्कुल बस दुर्घटना, ६ विद्यार्थीको मृत्यु

एजेन्सी । भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा ६ विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । जीएल पब्लिक स्कुलका करिब ४० विद्यार्थी सवार बस कानिना क्षेत्रमा दुर्घटना भएको थियो । प्रारम्भिक रिपोर्टमा चालकले गाडी तीव्र गतिमा लापरबाहीपूर्ण तरिकाले चलाएका कारण दुर्घटना भएको जनाइएको छ । बसबाट घाइते बालबालिकालाई उद्धृत गर्दै चालकले मदिरा सेवन गरी तीव्र गतिमा गाडी चलाएको उल्लेख छ । बालबालिकाको मृत्युले सम्पूर्ण कानिना क्षेत्रवासी गहिरो शोकमा छन् । हरियाणा राज्यका मुख्यमन्त्री नायब सिंह सैनीले मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै सन्तान गुमाउने परिवारप्रति सहानुभूतिसहित घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् ।

जनतासँग गरेको वाचा पुरा गर्दै गएका छौं : प्रमुख रेनु दाहाल

चितवन। भरतपुर महानगरपालिको आयोजनामा मंगलबार आर्थिक वर्ष ०८०/८१ को दोस्रो चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले जनतासँग प्रतिबद्धता गरे अनुरुपको काम क्रमशः पुरा हुँदै गएको बताएकी हुन् । अलपत्र बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, विमानस्थल विस्तार र नारायणीमा निर्माण हुने सिग्नेचर ब्रिजकडो कामले गति लिएको बताइन्। यसमध्ये ल्याण्डफिल साइट निर्माण गर्ने कार्य बाँकी रहेको उल्लेख गरिन्। ल्याण्डफिल साईटको अहिले डिपिआर र ईआईएको काम अन्तिम चरणमा रहेको जानकारी दिइन्। महानगरपालिकाले दिगो फोहर व्यवस्थापनका लागि भरतपुर ११ मा रहेको जलदेवि सामुदायिक वनमा १६ विघा क्षेत्रफलमा ल्याण्डफिल साईड निर्माण गर्न लागेको छ । अहिले स्थायी रुपमा भरतपुर ३ को नगर वन नजिकै फोहरलाई डम्पपिङ गरिरहेको छ । मंगलबार भरतपुर १४ को शिवनगरको नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयमा एकान्टेविलिटी इनिसियटिभ प्रालिको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र कुमार रानाले दोस्रो चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरूले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए । सहभागीहरूले कृषि क्षेत्रमा देखिएका समस्या, फोहर व्यवस्थापन, सिँचाई, रुग्ण आयोजना, ड्रेनको निर्माण, स्वास्थ्य समस्या, सुकुम्बासी समस्या, सार्वजनिक शौचालय, प्रतिक्षालयबारे प्रश्न सोधेका थिए ।   प्रमुख दाहालले भरतपुरमा देखिएको फोहर व्यवस्थापनको कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरे। महानगरपालिकालाई स्माट सिटी निर्माण गर्ने  योजना अनुरूप अन्य कार्यहरु निर्वाध रुपमा अघि बढे पनि फोहर व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साईट निर्माण गर्ने कार्यलाई प्राथामिकताका साथ अघि बढाइने उल्लेख गरे। भरतपुरको वडा नम्बर ३ मा अटो भिलेज निर्माण गर्न गुरुयोजना निर्माण भएपनि स्थानीयको अवरोधका कारण निर्माण हुन नसकेको प्रष्ट पारे। भरतपुरको लागि अति महत्वपूर्ण आयोजना बधशाला निर्माणका लागि भरतपुर १ को ठिमुरा पहिचान गरी दातृ निकायको प्राविधिक सहयोग र संघीय सरकारबाट बजेटको सुनिश्चित गरेपनि त्यो स्थानमा स्थानीयको अवरोधपछि रोकिएको जानकारी दिनुभयो । महानगरपालिकाले सार्वजनिक सुनुवाईमार्फत आएका सुझावलाई ग्रहण गर्दै आगमी कार्यदिशा तय गर्ने पनि उल्लेख गरे। यसैबिच महानगरले प्रस्तुत गरेको दोस्रो चौमासिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷०८२ हालसम्म ८२ करोड ८७ लाख ४३ हजार १ सय ९ रुपैयाँ राजस्व संकलन गरेको छ । यो प्रक्षेपण गरेको रकमको ४७ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षको यही समयमा जम्मा ३९ करोड राजस्व संकलन गरेको थियो । यो २७ प्रतिशत हुन आँउछ । गत वर्षको तुलनामा यो वर्ष राजस्व संकलनमा उल्लेखिय वृद्धि भएको तथ्याङले देखाएको छ। महानगरले हालसम्म कुल बजेटको ३६ प्रतिशत खर्च भएको जनाएको छ । आव ०८०÷८१ का लागि रु ६ अर्ब ४१ करोड ७२ लाख २० प्रतिशत बजेट विनियोजन गरेको थियो । त्यसमध्ये रु २ अर्ब २६ करोड ४६ लाख ३० हजार खर्च भएको छ । महानगरले चालु बजेटतर्फ रु २ अर्ब ६९ करोड ८ लाख ६४ हजार रुपैयाँ विनियोजन भएकोमा रु १ अर्ब ३४ करोड २२ लाख १९ हजार खर्च भएको जनाएको छ । जुन चालुतर्फको समग्र बजेटको ४९ प्रतिशत हो । यस्तै पुँजीगत बजेटतर्फ ३ अर्ब ७२ करोड ६३ लाख ६६ हजार रुपैयाँ विनियोजन भएकोमा ९२ करोड २४ लाख ११ हजार खर्च भएको महानगरले जनाएको छ । जुन समग्र पुँजीको २५ प्रतिशत हो । महानगरपालिकाका कार्यकारी अधिकृत रानाले निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेकाले पुँजीगत खर्च कम देखिएको बताउनुभयो । अबको ४ महिनामा यो अहिलेको तुलनामा बढेर जाने स्पष्ट पारे। कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले सहभागीले उठाएको प्रश्नको जवाफ दिए।

दक्षिण कोरियाली प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं । दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सुले राजीनामा दिएका छन् । राष्ट्रिय सुरक्षा कार्यालयका सचिवबाहेक राष्ट्रपति कार्यालयका प्रमुख, नीति तथा कार्यक्रमका मुख्य सचिवलगायत सबै वरिष्ठ सचिवले राजीनामा दिएका छन् ।संसदीय चुनावमा सत्तारूढ पिपुल पावर पार्टीको हारपछि उनीहरुले राजीनामा दिएका हुन् । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले संसदीय निर्वाचनमा देखाइएअनुसार जनताको इच्छालाई नम्रताका साथ स्वीकार गर्ने र राज्यको मामिला सुधार गर्न र अर्थतन्त्र र जनताको जीविकोपार्जनलाई स्थिर बनाउन सक्दो प्रयास गर्ने बताएका छन् । राष्ट्रियसभाका ३०० सदस्यका निम्ति बुधबार निर्वाचन सम्पन्न भएको थियो । मुख्य विपक्षी डेमोक्रेटिक पार्टी र माइनर रिबिल्डिङ कोरिया पार्टीलगायत देशको फराकिलो उदारवादी गुटले संसदीय चुनावमा तीन–पाँच भागभन्दा बढी सिट जितेको छ । जसलाई राष्ट्रपति युनको राज्य मामिलाको व्यवस्थापनको मूल्यांकन गर्न मध्यावधि जनमतसंग्रहका रूपमा हेरिएको छ ।

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० सय रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाल सुन १ लाख ३६ हजार ६०० र तेजाबी सुन १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार छापावाल सुन १ लाख ३६ हजार ८०० र तेजाबी सुन १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ  ‘ब्रेक थ्रु’

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७।५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ। तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको रघुगङ्गा गाउँपालिका–८ बन्दीको अडिट १ र खरिबोटस्थित अडिट २ जोड्ने सुरुङको बुधबार साँझ ब्रेक थ्रु भएको हो । आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले अडिट १ र २ जोड्ने एक हजार नौ सय मिटर लामो सुरुङ छेडिएको जानकारी दिए।  “अडिट २ र मलाङस्थित अडिट ३ जोड्ने एक हजार आठ सय मिटर लामो सुरुङ यसअघिनै जोडिएको थियो”, उनले भने, “बाँधदेखि विद्युत्गृहमा पानी लैजान पाँच हजार तीन सय २८ मिटर लामो सुरुङ निर्माण भएको छ ।” सुरुङ छेडिएपछि प्रवद्र्धक, सिभिल ठेकेदार एसियन इन्फ्रास्ट्रक्चरका प्राविधिक र कर्मचारीहरुले खुशियाली मनाएका छन् । तीन वर्षअघि चार ठाउँबाट सुरुङ निर्माण सुरु भएको थियो ।  बाँध नजिकै पानी थिग्र्याउने पोखरी निर्माण सकिएको छ। मलाङको ‘आउटलेट’देखि चिमखोलाको बगरखोला र राहुघाटको दोभानमा निर्माणाधीन बाँध जोड्ने नौ सय मिटर पाइप लाइन जडान भइरहेको छ । तीन सय मिटर ‘पेनस्टक’ पाइप जोड्न बाँकी छ । आउटलेट र विद्युत्गृहको उचाइ तीन सय ५० मिटर छ । विद्युत्गृह निर्माणलाई अन्तिमरुप दिनुका साथै ‘इलेक्ट्रोमेकानिकल’ उपकरण जडानको ४० प्रतिशत काम पूरा भएको छ ।  तुँदीले राहुघाटमा एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। मङ्गले राहुघाटको विद्युत्गृह नजिकै बगरखोलाको पानी मिसाएर ४८ दशमलव ५ मेगावाट विद्युत् उत्पादन गर्ने अर्को अपर राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छ।  करिब रु १४ अर्ब लागतमा विसं २०७७ मा सुरु भएका दुईवटै आयोजनाको ८५ प्रतिशत भौतिक निर्माण पूरा भएको इञ्जिनियर तिमिल्सिनाले बताए । बगरदेखि दग्नाम गाउँको फेदीमा निर्माणाधीन विद्युत्गृह जोड्ने अपर राहुघाटको चार हजार नौ सय मिटर लामो सुरुङ छ महिनाअघि निर्माण भएको थियो ।  अपर राहुघाटको विद्युत्गृह ७५ प्रतिशत र बाँध निर्माणको ५० प्रतिशत भौतिक प्रगति भएको छ । मङ्गले राहुघाटको सन् २०२४ को डिसेम्बर र अपर राहुघाटको जुन महिनामा विद्युत् उत्पादन गर्ने तयारी छ ।उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङमा बन्न लगेको राहुघाट ‘सबस्टेसन’देखि चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर लामो प्रसारण लाइन बनाउन थालिएको छ ।  नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने तयारी छ । राहुघाट नदीको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा प्रालिले २१ दशमलव ३ मेगावाट क्षमताको ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।  राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । राहुघाटको ७५ प्रतिशत पूर्वाधार निर्माण पूरा भएको छ । 

ईद पर्वले सांस्कृतिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्ने अध्यक्ष दाहालको विश्वास

काठमाडौं । संघीय संसद अन्तरर्गतको राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले ईद उल फित्र (ईद)को अवसरमा स्वदेश तथा विदेशमा रहएका समस्त मुस्लिम समुदायका दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।   इदको अवसरमा शुभकाना दिंदै अध्यक्ष दाहालले इदले सबैलाई त्याग, समर्पण, सहयोग र एकताको भावना पैदा गरी सामाजिक सांस्कृतिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास व्यक्त गरेका छन् । यस्तो छ शुभकामना सन्देश

राष्ट्रपति पौडेलद्धारा इद पर्वको शुभकामना

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले इद (इद–उल–फित्र) पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् । इस्लाम धर्मावलम्बीको महान् चाड इद पर्वको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति पौडेलले इद पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।  “सामाजिक एवं सांस्कृतिक विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ । यस पर्वको माध्यमबाट भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी कामना गर्दछु”, राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा उल्लेख छ । इद पर्व मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशियाली साटासाट गर्दै शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ ।     

सभामुखद्वारा इद पर्वको शुभकामना

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले मुस्लिम समुदायको धार्मिक पर्व इद–उल फित्र (इद)को अवसरमा स्वदेश तथा विदेशमा रहेएका इस्लाम धर्मावलम्बीको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इद पर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई सुदृढ गर्न मद्दत पुगेको उल्लेख छ ।  “विभिन्न जातजातिले आ–आफ्ना चाडपर्वमा सबै जाति र समुदायको उपस्थितिमा मनाएर धार्मिक–सांस्कृतिक एकतामा अभूतपूर्व नमूना पेस गरेका छन्”, सभामुख घिमिरेको शुभकामना सन्देशमा उल्लेख छ, “यसले एक अर्काको सद्भावलाई बढाएको छ, इतिहासदेखि कै नेपाली एकता र विश्वास आगामी दिनमा अझै उचाइमा पुग्ने विश्वास लिएको छु ।” देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक भएको र नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने अधिकारको व्यवस्था गरेको शुभकामना सन्देशमा भनिएको छ । “कुनै पनि नागरिकलाई उसको धर्म वा आस्थाका आधारमा विभेद नगर्ने र राज्यका सबै नीतिमा समानता कायम गर्ने संविधानको लक्ष्य छ”, सभामुख घिमिरेको शुभकामना सन्देशमा भनिएको छ ।  नेपाली मुस्लिम समुदायले राजनीतिक आन्दोलन र मुलुक निर्माणमा ठूलो योगदान गर्दै आएको र त्यसकै प्रतिफलस्वरुप मुस्लिम समुदायलाई अगाडि बढाउन संवैधानिक आयोगको व्यवस्था गरिएको सभामुख घिमिरेद्धारा जारी सुभकामना सन्देशमा भनिएको छ ।  

यस्तो रहनेछ आजको मौसम

काठमाडौं ।नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको हो।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।  विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।  कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।  विभागका अनुसार राति कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा  रहनेछ ।  कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

१६ औँ योजनामा राजनीतिक तहका सुझाव समेट्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजना तर्जुमाका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन्।छलफलमा प्राप्त सुझाबहरु १६ औँ योजना तर्जुमा गर्दा समिटिने भएको छ । सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रचण्डले १६ औँ योजना (२०८१/८२–२०८५/८६) का विषयमा शीर्ष राजनीतिक तहमा सुझाव लिएका हुन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनीतिक दलका नेताहरूबाट प्राप्त सुझावहरूलाई समेटिने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले १६ औँ योजना तयार गर्नका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको बताए। छलफलमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, जनता समाजवादी पार्टीबाट अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले लगायतका नेताहरूको सहभागिता थियो ।   छलफलमा योजना आयोगका उपाध्यक्ष्य डा मीनबहादुर श्रेष्ठले १६ औँ योजनाको तयारीका बारेमा जानकारी गराए। प्रधानमन्त्रीबाट प्राप्त निर्देशन अनुसार राजनीतिक दलहरूबाट प्राप्त सुझावहरू समेटेर योजनाको मस्यौँदालाई अन्तिमरूप दिइनेछ । 

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेद्धारा शपथ ग्रहण तथा पद बहाली

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले शपथ ग्रहण र पद बहाली गरेकी छिन् । राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनिर्वाचित राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेलाई राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ  खुवाएका हुन् । शपथ ग्रहण सँगै उपाध्यक्ष घिमिरेले आज सिंहदरबारस्थित कार्यकक्षमा पुगी पद बहाली गरेकी छिन् ।

१६औँ योजनाका लागि गठबन्धन दलसँग आयोगको छलफल

काठमाडौं। १६औँ योजनाका लागि राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री एव। आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आयोगले दलका प्रमुख एवं प्रतिनिधिहरुसँग छलफल गरेको हो ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्डसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका तर्फबाट उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, जनता समाजवादी पार्टीबाट अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले लगायतका नेताहरुको सहभागिता थियो।  आयोगका उपाध्यक्षले १६ औँ योजनाको तयारीका बारेमा जानकारी गराएका थिए भने आयोगका सहसचिव महेश भट्टराईले प्रस्तुति राखेका थिए । उपाध्यक्ष डा। श्रेष्ठका अनुसार राजनीतिक दलहरुबाट प्राप्त सुझावहरु समेटेर मस्यौदालाई अन्तिम रुप दिइनेछ ।  आयोगले यसअघि विज्ञहरुसँग सुझाव लिइसकेको छ । आयोगले पहिलो पटक आवधिक योजनाका लागि सबै प्रदेशमा पुगेर प्रदेश सरकार र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुसँग सुझाव समेत लिइसकेको छ ।