सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता आठ हजार ९८३ लाइसेन्स छपाई भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागको ‘मास प्रिन्टर’ जेनजी आन्दोलनका क्रममा तोडफोडपछि रोकिएको लाइसेन्स छपाइ उक्त केन्द्रबाट सुरु गरिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत कात्तिक २१ गते केन्द्रमा रहेको प्रिन्टिङ प्रेसको बटन थिचेर लाइसेन्स छपाइको शुभारम्भ गरेका थिए । लाइसेन्स छपाइका लागि केन्द्र र विभागबीच गत कात्तिक १२ गते सम्झौता भएको थियो । जसअनुसार केन्द्रले छ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्ने जनाइएको छ ।
दुई महिना अवधिमा आठ हजार ९८३ लाइसेन्स छपाइ भएको विभागका आइटी निर्देशक केशव खतिवडाले जानकारी दिए । उनका अनुसार विभागले केन्द्रलाई १२ लाख प्रति लाइसेन्स छाप्न जिम्मा दिइसकेको छ । हाल नयाँ ट्रायल पास भएका र नवीकरणका लागि आवेदन दिएका गरी ३० लाखको हाराहारीमा लाइसेन्स प्रिन्ट हुन बाँकी रहेको उनको भनाइ छ । “अत्यावश्यक लाइसेन्समात्र छपाइ भएको हो, छापिएका करिब नौ हजारमध्ये सात हजार लाइसेन्स वितरण भइसकेको छ”, खतिवडाले भने ।
विभागले साधारण लाइसेन्स छाप्ने तयारी गरिरहेको जनाएको छ । एकैपटक १ लाख ‘डाटा’ पठाउन लागिएको खतिवडाले जानकारी दिए । केन्द्रले विभागसँगको सम्झौताबमोजिम बाँकी रहेका ११ लाख ९१ हजार स्मार्ट कार्ड आगामी दुई महिनाभित्र छापिसक्ने लक्ष्य राखेको जनाएको छ । हालसम्मको काम सुस्त देखिए पनि अबको माघ महिनादेखि गति बढाइने केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङगानाले बताउनुभयो । उनले भने, “सुरुआती चरण परीक्षणकाल भएकाले थोरै मात्र छपाइ भएको हो, अब एक हप्तादेखि नयाँ जनशक्तिसँगै कामको गति बढाइनेछ ।” उहाँका अनुसार माघदेखि दैनिक १० हजारका दरले स्मार्ट लाइसेन्स छाप्ने आन्तरिक तयारी भइरहेको छ ।
सुरुआती दुई हप्तामा केन्द्रमा पहिलोपटक छापिएका ५२० थान लाइसेन्स विभागलाई हस्तान्तरण गरिएको थियो । ढुङ्गानाका अनुसार नेपालकै ल्याबमा गरिएको परीक्षण सफल भएपछि विभागलाई लाइसेन्स बुझाइएको हो । विभागसँगको सम्झौताअनुसार सुरुको तीन महिना एक लाखका दरले तीन लाख र बाँकी तीन महिनामा नौ लाख गरी १२ लाख लाइसेन्स छपाइ गरिने जनाइएको छ ।
केन्द्रबाट छपाइ भएका कार्डमा चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ । केन्द्रका अनुसार यसमा उच्चस्तरको सुरक्षा प्रणाली रहेका छन् । नयाँ कार्डमा छ तहसम्म सुरक्षा प्रविधि प्रयोग हुनेछ । कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन् भने त्यसभित्र केही दृश्य र केही अदृश्य रहने बताइएको छ । केन्द्रले लाइसेन्सबाहेक हुलाक टिकट, नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्ने तयारी गरिरहेको छ ।
केन्द्रमा यसअघि इराकबाट ल्याइएका दुई उच्च सुरक्षित डिजिटल मेसिनबाट अन्तःशुल्क स्टिकरको नमूना छपाइ गरिएको थियो । हाल जडित दुई मेसिनबाट वार्षिक ६० करोड अन्तःशुल्क ‘स्टिकर’ छाप्न सकिने छ । प्रेस पूर्ण रूपमा सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रूपमा बाहिरिने रु १० अर्ब जोगिन अपेक्षा गरिएको छ । केन्द्रका लागि २०० प्राविधिकसहित करिब एक हजार जनशक्तिको आवश्यकता पर्नेछ ।
सरकारले सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्न विसं २०८० मा कार्यमूलक एवं नतिजामूलक गुरुयोजना तयार पारेको थियो । सोहीअनुरूप पहिलो चरणमा नेपाललाई पाँच वर्षभित्र आत्मनिर्भर बनाउने, दोस्रो चरणमा आगामी दश वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय सुरक्षण वस्तु सार्क र दक्षिणपूर्वी एसियाका राष्ट्रहरूलाई उपलब्ध गराउनेछ । साथै, तेस्रो चरणमा भने आगामी १५ वर्षभित्र सुरक्षण मुद्रण्नसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरयुक्त सुरक्षण वस्तु अन्य बाँकी तेस्रो मुलुकमा उपलब्ध गराउने रणनीति तय गरेको हो ।
सूचना–प्रविधि पार्क (आइटी पार्क)का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेपछि सोही पार्कलाई पाँच वर्षअघि सुरक्षण मुद्रण केन्द्रमा परिणत गरिएको थियो । कुल २५७ रोपनी जमिनमा अवस्थित पार्कभित्र दुईवटा ठूला व्यापारिक-प्रशासनिक भवन तथा चार सुविधासम्पन्न आवासीय भवन तथा गोदामघरलगायत भवन छन् ।
महाभारत गाउँपालिकामा आर्थिक उपार्जनको माध्यम बन्दै कफीखेती
धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ कोलटार लामाडाँडाका सिकान शङ्खलाल थोकर विदेशबाट फर्केपछि कफीखेती गर्दै आएका छन् । उनीसँगै गाउँका अरु किसानले पनि कफीखेतीलाई आर्थिक उपाजर्नको माध्यम बनाएका छन् । अहिले कफीको दाना टिप्ने मौसममा डाँडैभरि कफीको बगैँचाका बोटभरि लटरम्म फलेका फलले बोट लर्केको देख्न पाइन्छ । मकै, कोदोलगायत खेतीभन्दा कफीबाट आम्दानी बढी हुने भएकाले थोकरले कफीखेतीलाई निरन्तरता दिँदै आएको बताए । उनी अहिले कफी टिप्ने, पल्पिङ गर्ने र सुकाउने काममा व्यस्त छन् । यस वर्ष करिब रु २५ लाखसम्म आम्दानी हुने अनुमान गरिएको थोकरले उल्लेख गरे । “गत वर्षभन्दा यो वर्ष प्रशस्त मूल्य पाइएको छ”, उनले भने, “खाना, लाउन र छोराछोरीलाई पढाउन सबै खर्च व्यवस्थापन हुँदै आएको छ ।” गाउँमा थोकरको परिवारले पहिलोपटक व्यावसायिक कफीखेती सुरु गरेकाे हाे । सोही ठाउँका ज्ञानबहादुर बोम्जनले छ वर्षदेखि व्यावसायिक कफीखेती गर्दै आएका छन्। “कोदो, मकै लगाउँदा वर्षभरि खट्नुपर्छ, कफीखेतीमा तीन महिना खट्दा लाखौँ आम्दानी हुन्छ”, उनले भने, “छ रोपनी जग्गामा करिब दुई हजार बोट रोपेर त्यसबाट आम्दानी लिँदै आएको छु ।” गत वर्ष रु पाँच लाख आम्दानी गरेको जनाउँदै उहाँले यस वर्ष करिब रु १० लाख आम्दानी हुने बताए। महाभारतको महादेवराटका पातली माया घिसिङले धान रोप्न छोडेर कफीखेती गरेकी छिन् । दश वर्षदेखि खेती गर्दै आएकी उनले धानभन्दा दोब्बर आम्दानी हुने भएकाले कफीखेतीलाई प्राथमिकता दिएको बताएन् । “पहिलापहिला मकै, कोदो रोप्दा खानालाई मात्रै ठिक हुन्थ्यो । छोराछोरीलाई पढाउन ऋण लिनुपर्ने अवस्था थियो । त्यसलाई छोडेर कफीखेती गर्न थालेपछि खर्च कटाएर मनग्य आम्दानी हुन्छ”, उनले भनिन् । उनका अनुसार वर्षको करिब एक हजार ५०० किलोसम्म कफी उत्पादन हुन्छ । गाउँपालिकाका कृषि शाखा प्रमुख खिम डाँगीले विसं २०७८ देखि कफीको बिरुवा वितरण गर्न थालेकामा अहिलेसम्ममा तीन लाख ३१ हजार वितरण गरिसकिएको बताए । उनका अनुसार गाउँपालिकाको चार हजार ५०० रोपनी क्षेत्रफलमा कफीखेती हुँदै आएको छ । पालिकाका एक हजार ९२० परिवारले कफीखेती गर्दै आएका जनाउँदै पछिल्लोसमय यसप्रति किसानको आकर्षण बढ्न थालेको उनले बताए। किसान कफीखेतीमा आकर्षित भएपछि गाउँपालिकाको समन्वयमा बगमती प्रदेश सरकारको सहयोगमा समुदायमा आधारित ‘एक वडा एक कृषि कफी उत्पादन कार्यक्रम’समेत सञ्चालन हुँदै आएको कृषि शाखा प्रमुख डाँगीले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रमअन्तर्गत अहिलेसम्म ३८ हजार कफीका बिरुवा, पाँच हजार छहारीका बिरुवा, १२ थान मिनी टिलर, चार थान कफी पल्पर मेसिन, ५० थान ड्रम, दुई रोपनी क्षेत्रफलमा थोपा सिँचाइ, दुई रोपनी क्षेत्रफलमा प्लास्टिक मल्चिङसहित कफी बगैँचा, एउटा कफी नर्सरी र तीन वटा सिँचाइ पोखरी कार्यक्रम सम्पन्न भएका छन् । यहाँका अधिकांश किसान कफीखेतीतर्फ आकर्षित हुन थालेपछि गाउँपालिकाले अनुदानमा कफीका बोट र आवश्यक उपकरण वितरण गर्नुका साथै एक बोट बराबर रु २० का दरले अनुदानसमेत दिन थालेका कृषि शाखा प्रमुख डाँगीले बताए । गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले विगत केहीवर्षदेखि माटो परीक्षण गर्ने, किसानलाई अनुदानमा बिरुवा तथा कफी प्रशोधन गर्ने उपकरण वितरण गर्नेदेखि कफीको बोट रोप्ने किसानलाई ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ बीसको नोट’ कार्यक्रमसहित प्रतिबोट रु २० का दरले अनुदान दिने गरिएको जानकारी दिए । एकातिर पालिकाको सहयोग अर्कोतर्फ कफी खरिदका लागि घरआँगनमा आउन थालेपछि किसानमा उत्साह छाएको छ । कफीबाट किसानलाई आत्मनिर्भर बनाउने योजनाका साथ काम गरिरहेको गाउँपालिकाले जनाएको छ । महाभारत गाउँपालिकाबाहेक अन्य सरोकार भएका निकायले पनि आवश्यक सहयोग र समन्वय गरेकाले कफीखेतीतर्फ आकर्षित हुन थालिएको किसानको भनाइ छ । टिपेर काँचै बिक्री गर्न सकिने र पेलेर, सफा गरेर पनि बिक्री गर्न सकिने भएकाले सबैले कफीखेती गर्न थालेका किसानहरू बताउँछन् । पछिल्लो समय यहाँ कफी टिप्ने मौसम भएकाले आपसमा आलोपालो गरेर दैनिकजसो पाकेको कफी टिप्ने, पल्पर मेसिनमा हालेर बोक्रा फाल्ने र चेरी सुकाउने काममा किसानको व्यस्तता बढेको छ । पहिलादेखि खेती गर्दै आएको भए पनि पछिल्लो समयमा बजारीकरण र सडक सञ्जाल खुलेपछि अधिकांशको आम्दानीको स्रोत कफीखेती भएको छ । पछिल्लो समयमा डाँडापारि क्षेत्रमा उत्पादन भएको कफी खरिदका लागि विदेशी सङ्घसंस्थाका प्रतिनिधिहरू बगैँचासम्म पुग्ने गरेका छन् ।
आज पनि अमेरिकी डलरको मूल्य उच्च, अन्यकाे कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८० रुपैयाँ २९ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०५ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०४ रुपैयाँ ०८ पैसा, सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५८ पैसा र बिक्रीदर २० रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६० पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ १३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ । बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
गाेरखामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
गोरखा । गोरखामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । पालुङटार नगरपालिका–३ बोगटीगाउँका २८ वर्षीय शङ्कर सुनारको कुटपिटबाट २१ वर्षीया श्रीमती अनुस्का परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । विहीबार श्रीमान्को कुटपिटबाट घाइते भएकी अनुस्कालाई उपचारका लागि आँपपीपल अस्पताल पठाइएको तर मृत्यु भइसकेको घोषणा गरेको प्रहरी निरीक्षक राजन लम्सालले बताए । “शङ्कर सुनारको कुटाइबाट बिहान ११ः३० श्रीमती अचेत अवस्थामा रहेको भन्ने सूचना हामीलाई १२ः२० बजे प्राप्त भयो”, उनले भने, “खबर पाउनासाथ घटनास्थल पुगी घाइतेलाई अस्पताल पुर्याउँदा अस्पतालले मृत्यु भइसकेको घोषणा गर्यो ।” प्रहरीले शवको मुचुल्का गरी शव परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा पठाएको उनले बताए । कुटपिट गर्ने शङ्कर सुनार पनि घाइते रहेको र उनको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको प्रहरी निरीक्षक लम्सालले जानकारी दिए ।
राजनीतिक दललाई देशभरका मतदाताको विवरण लिन निश्चित शुल्क लाग्ने
काठमाडौं । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परे निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि १० हजार रुपैयाँ तिरेर लिन सकिनेछ । त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिकपत्रको आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको छ । आयोगले मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकको विवरण विद्युतीय रूपमा उपलब्ध गराउनेछ । आयोगले हार्डड्राइभ वा पेनड्राइभमा त्यस्तो विवरण उपलब्ध गराउनेछ । एउटा प्रदेशको मात्र विवरण चाहिएको खण्डमा पाँच हजार तिरेर लिन सकिनेछ । निर्वाचन अधिकृतले कुनै मतदाता, दलको प्रतिनिधि वा उमेदवारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा सार्न चाहेमा मतदाता नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाउनेगरी हेर्न वा सार्न दिनुपर्नेछ । फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले र फोटोबाहेकको मतदाता नामावली जोसुकैले हेर्नसक्ने कुराको जानकारी मतदाता, दल र उमेदवारलाई दिनुपर्नेछ । कुनै मतदाताले आफ्नो मतदाता नमावली लिन चाहेमा निर्वाचन कार्यालयले १० हजार शुल्क लिई त्यस्तो मतदाताको मात्र विवरण आउनेगरी मतदाता नामावलीको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ । आयोगमा दर्ता भएका राजनीतिक दललाई त्यस्तो दलको पत्रको आधारमा र स्वतन्त्र उमेदवारलाई उसको निवेदनका आधारमा निर्वाचन कार्यालयले तोकिएको दस्तुर लिई जन्ममिति, नागरिकता नम्बर तथा मोबाइल नम्बरबाहेकको मतदाता नामावलीको विद्युतीय रूपमा उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि जिल्लाभरको मतदाता नामावलीका लागि तीन हजार र निर्वाचनको कुनै एक निर्वाचन क्षेत्रका मतदाता नामावलीका लागि तीन हजार लिनुपर्नेछ । त्यस्तो विवरण उपलब्ध गराउँदा मतदाताको जन्ममिति, मोबाइल नम्बर र नागरिकताको विवरण भने दिन पाइनेछैन ।
आज सुनको मूल्य तोलामा २ हजारले घट्याे
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको हो । यस आधारमा बिहीबार छापावाल सुन तोलामा २ हजार रुपैयाँ घटेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ९३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार ४ हजार ८३५ रुपैयाँ कायम भएको हो ।
निर्माण सुरु गरिएको आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल
नवलपरासी । निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो । एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने गरी काम अघि बढेको थियो । तर पटक पटक म्याद थप पछि बल्ल अहिले पुलले पूर्णता पाएको कावासोती नगरपालिका–४ का वडाअध्यक्ष नारायणप्रसाद लोहनीले बताए। कावासोती नगरपालिका–३ र ४ जोड्ने केरुङ्गे खोलामा पुल निर्माण भएसँगै स्थानीयलाई आवतजावतमा सहजता भएको वडाअध्यक्ष लोहनीले जानकारी दिए । एक सय ४० मिटर लम्बाइको पुल करिब रु १० करोड ५० लाखको लागतमा निर्माण भएको हो । लामो समयसम्म पुल निर्माण नहुँदा स्थानीयले सास्ती खेप्दै आएका अध्यक्ष लोहनीले बताए । बर्खाको समयमा खोलामा बाढी आउँदा घुमेर बजार क्षेत्रमा जानुपर्ने अवस्था रहेको र अन्य समयमा पनि खोलाबाटै यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अब त्यो बाध्यता अन्त्य भएको अध्यक्ष लोहनीले जानकारी दिए । “पुल नहुँदा सास्ती थियो, बाढी आउँदा अन्यत्रबाट घुमेर बजार क्षेत्र निस्किनुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हटेको छ, ढिलै भए पनि पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ,” अध्यक्ष लोहनीले भने । सडक डिभिजन कार्यालय भरतपुरमार्फत निर्माण भएको पुलले जिल्लाको हुप्सेकोट गाउँपालिकाबाट बासिन्दालाई समेत सदरमुकाम कावासोती पुग्न सहज बनाएको छ । हुप्सेकोटका बासिन्दालाई छिटो रूपमा कावासोतीको सदरमुकाम पुग्न पुलका कारण सहज भएको हुप्सेकोटका स्थानीय रुक्माङ्गत भुर्तेलले बताए । “हामीलाई सदरमुकाम पुग्न डण्डा हुँदै घुमेर जानुपर्ने अवस्था थियो, अब हसौराबाट नयाँ पुल हुँदै सिधै कावासोती पुग्न सकिने भएको छ,” भुर्तेलले भने ।
प्रतिनिधिसभा निर्वाचनकाे लागि म्यादी प्रहरी भर्ना खुल्याे
काठमाडौँ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको हो । निर्वाचन सुरक्षामा खटिनेगरी निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् । सार्वजनिक बिदाको दिनपनि दरखास्त लिइने प्रहरी प्रधान कार्यालय मानव श्रोत विकाश विभागले जनाएको छ । काठमाडौँ उपत्यका स्थित तीनवटा जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयबाट निर्वाचन प्रहरीको दरखास्त फारम लिन र बुझाउने सकिने छ । साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पुरा भएका र ५४ वर्ष ननाघेका नागरिकहरू निर्वाचन प्रहरीमा भर्ना हुन पाउने छन् । माघ ५ गतेदेखि ९ गतेसम्म छनोट गरेर माघ १२ मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । छनौट भएका उम्मेदवारले माघ १५ देखि२४ गतेसम्म तालिम लिनुपर्ने छ । निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको हुने छ । चालिस दिनमा उनीहरुले ३४ हजार ७७६ रुपैयाँ तलब सुविधा पाउनेछन् । त्यसबाहेक उनीहरूलाई रासन र आउजाउ गर्न ८४६ रुपैयाँ थप तयारी खर्च प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै, निर्वाचन प्रहरीले ४ दिनको लागि दैनिक ३ सयको दरले खाजा खर्च पाउनेछन् । पोसाक बापत छुट्टै रकम प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउने छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिएको छ ।
सेनाद्वारा उदयपुरगढी-चौदण्डीगढी पदयात्रा सुरु
गाईघाट । ऐतिहासिक गढी र किल्लाहरुको संरक्षण तथा संवर्धन गर्ने उद्देश्यले नेपाली सेनाले उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको पाँचदिने पदयात्रा सुरु गरेको छ । जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सेमा रहेको नेपाली सेनाको पशुपतिप्रसाद गणकोे आयोजनामा सो पदयात्रा सुरु गरिएको हो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर गणले पुस २३ देखि २७ गतेसम्म उदयपुर जिल्लाका दुईवटा फरकफरक स्थानमा रहेका पुराना ऐतिहासिक स्थल उदयपुरगढीदेखि अर्को ऐतिहासिक स्थल चौदण्डीगढीसम्मको करिव ८५ किलोमिटर लामो महाभारत पहाड क्षेत्रमा पदयात्रा सुरु गरेको हो । उदयपुरगढीमा आयोजित उक्त पदयात्राको सुभारम्भ समारोहमा नेपाली सेना पूर्वीपृतनाका पृतनापति उपरथी गौरवकुमार केसीले गढी र किल्लाहरु भनेको ढुङ्गा माटो र इटाका थुप्रोहरु नभएर हाम्रा पुर्खाहरुले राष्ट्रिय स्वाधिनता बचाउनका लागि गर्नुभएको त्याग र बलिदानको निशानी भएको बताए । पृतनापति केसीले ऐतिहासिक महत्त्वपूर्ण गढीको संरक्षण र संवर्धनका लागि जनचेतना जगाउने, पुर्खाहरुको गौरव गाथालाई खोज अनुसन्धान गरी प्राप्त उपलब्धीहरुलाई भावि पुस्ताका लागि लिपिबद्ध गर्ने र नेपालको राष्ट्रिय एकता अखण्डता र शार्वभौमिक्ताई अक्षुण राख्ने भावना युवा पुस्तामा जगाउनु यसको थप उद्देश्य रहेको बताए । राष्ट्रिय एकता दिवस २०८२ को अवसर पारेर आयोजना गरिएको उक्त पदयत्राको नेतृत्व गर्ने पशुपति प्रसाद गणका सहायक सेनानी डिल्लिदाश श्रोष्ठलाई पृतनापति केसीले राष्ट्रिय झण्डा र नेपाली सेनाको झण्डा हस्तानतरण गरे । सोही कार्यक्रममा पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी मनोजकुमार कार्कीले कार्यक्रम सम्बन्धि बिस्तृत जानकारी गराउदै पदयात्राको माध्यमबाट जनचेतना जगाउने र उदयपुरगढी र चौदण्डीगढीको ऐतिहासिक पुरातात्विक वस्तु संरक्षण र गढीको पर्यटन प्रवर्धनमा समेत टेवा पुर्याउने लक्ष्य रहेको बताए ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ५२ पैसा र बिक्रीदर १४४ रुपियाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ ७७ पैसा र बिक्रीदर १६९ रुपियाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ७६ पैसा र बिक्रीदर १९४ रुपियाँ ५७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८० रुपियाँ २६ पैसा र बिक्रीदर १८१ रुपियाँ १ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ७३ पैसा र बिक्रीदर ९७ रुपियाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपियाँ ९७ पैसा र बिक्रीदर १०४ रुपियाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपियाँ एक पैसा र बिक्रीदर ११२ रुपियाँ ४८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १७ पैसा र बिक्रीदर नौ रुपियाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ४९ पैसा र बिक्रीदर २० रुपियाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ २७ पैसा र बिक्रीदर ३८ रुपियाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ३७ पैसा र बिक्रीदर ३९ रुपियाँ ५४ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ सात पैसा र बिक्रीदर ३९ रुपियाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ३७ पैसा र बिक्रीदर ३५ रुपियाँ ५२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९२ पैसा र बिक्रीदर नौ रुपियाँ ९६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६१ पैसा र बिक्रीदर १५ रुपियाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ४५ पैसा र बिक्रीदर २२ रुपियाँ ५५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४३ पैसा र बिक्रीदर १८ रुपियाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६९ रुपियाँ ९७ पैसा र बिक्रीदर ४७१ रुपियाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपियाँ ७३ पैसा र बिक्रीदर ३८२ रुपियाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपियाँ ७९ पैसा विक्रिदर ३७४ रुपियाँ ३५ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
सामाजिक सञ्जाल दुरुपयोग गर्ने छ सय जना प्रहरी कारबाहीमा
काठमाडौं । सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले झन्डै छ सय जना प्रहरीलाई कारबाही गरेको छ । सामाजिक सञ्जाल फेसबुक, एक्स (ट्विटर), टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमार्फत सङ्गठनविरुद्ध अमर्यादित टिप्पणी गर्ने, गैरव्यावसायिक सामग्री पोस्ट गर्ने तथा प्रहरी पोसाक र हैसियत दुरुपयोग गर्ने प्रहरी कर्मचारी कारबाहीमा परेका हुन् । यो पछिल्लो पाँच वर्षमा गरिएको कारबाही सङ्ख्या हो । प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति उल्लङ्घन गरी कारबाहीमा पर्नेमा एक जना प्रहरी नायब महानिरीक्षक (डिआइजी), एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), चार जना प्रहरी उपरीक्षक (एसपी), पाँच जना प्रहरी नायब उपरीक्षक (डिएसपी), २४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) रहेका छन् । यसै गरी ११ जना प्रहरी वरिष्ठ नायब निरीक्षक अर्थात् वरिष्ठ सई, २४ जना प्रहरी नायब निरीक्षक (सई), ५१ जना प्रहरी सहायक निरीक्षक (असई), सात जना प्रहरी वरिष्ठ हवल्दार, ३५ जना प्रहरी हवल्दार, ७६ जना सहायक हवल्दार, ३५८ जना प्रहरी जवान तथा दुई जना प्रहरी कार्यालय सहयोगी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कारबाहीमा पर्नेलाई सङ्गठनको नीति र आचारसंहिताविपरीत कार्य गरेको ठहर गर्दै सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मका कारबाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीले सामाजिक सञ्जाल प्रयोग व्यवस्थित र मर्यादित बनाउन २०७१ पुस ११ मा परिपत्र गरेको थियो । नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश, २०७७’ तथा विभिन्न मितिमा जारी परिपत्रमा सामाजिक सञ्जालमा हातहतियार, पोसाक, सवारीसाधन तथा प्रहरी गतिविधिसम्बन्धी भिडियो, फोटो अपलोड गर्ने, अमर्यादित टिप्पणी गर्ने वा सङ्गठनको गोपनीयतामा असर पर्ने सामग्री सार्वजनिक गर्न कडाइसाथ निषेध गरिएको छ ।
तनहुँमा आजदेखि छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
तनहुँ । जिल्ला सदरमुकाम दमौलीमा आजदेखि छैटौँ आदिवासी जनजाति तनहुँ सांस्कृतिक महोत्सव सुरु हुँदैछ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा सुरु हुन लागेको महोत्सव आगामी माघ ५ गतेसम्म सञ्चालन हुनेछ । भाषा, संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष सनम तामाङले जानकारी दिए । यसअघि विसं २०७९ पुस २२ गतेदेखि पाँचौँ जनजाति महोत्सव गरिएको थियो । महोत्सवले तनहुँका जातजातिका संस्कृति संरक्षणका साथै यहाँका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुग्ने उनले बताए । पैसट्ठी प्रतिशत आदिवासी बसोबास गर्ने तनहुँमा आदिवासी महोत्सवको सुरुआत आदिवासी महासङ्घले गरेको थियो । विसं २०६५ मा पहिलो आदिवासी महोत्सव आयोजना गरिएको थियो सांस्कृतिक महोत्सवमा नमूना घरसँगै सांस्कृतिक झाँकी, मौलिक नृत्य, जातीय पहिरन प्रदर्शनी, स्थानीय परिकार, हस्तकला सामग्रीका स्टल, साङ्गीतिक कार्यक्रम तथा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । आदिवासी जनजातिको पहिचान, मौलिकता र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवले तनहुँको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको तामाङको भनाइ छ । उनले भने, “आधुनिकताको प्रभावले लोप हुँदै गएका हाम्रा मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन महोत्सव महत्वपूर्ण हुने विश्वास लिएका छौँ ।” आयोजकका अनुसार महोत्सवले आदिवासी जनजाति समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । महोत्सवमा रु १५ लाख बचत गरी सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखिएको छ । महोत्सवलाई थप आकर्षक, मौलिक र सांस्कृतिक बनाउन तीन जातिका परम्परागत नमूना घर निर्माण गरिएको छ । व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा आयोजना हुने महोत्सवको मुख्य आकर्षणका रूपमा महेन्द्र सालिक रहेको पार्क क्षेत्रमा मगर, दरै र कुमाल समुदायका नमूना घर निर्माण गरिएको छ । तनहुँमा १३ भन्दा बढी आदिवासी जनजाति समुदायको बसोबास रहे पनि स्थानको अभावका कारण तीन समुदायका मात्रै नमूना घर निर्माण गरिएको उनले बताए ।
बैतडीमा एक लाख ५६ हजार मतदाता कायम
बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् । जसमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई तेस्रो लिङ्गी रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालका अनुसार हालको मतदाता सङ्ख्या अघिल्लो निर्वाचनको तुलनामा ६ हजार २१६ ले वृद्धि भएको हो । यसअघिको निर्वाचनमा एक लाख ५० हजार १५६ मतदाता थिए । निर्वाचनका लागि बैतडीमा पाँच मतदान केन्द्र थपिएका छन् । सूचना अधिकारी दयालका अनुसार सिगास गाउँपालिका–४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका–७ को केदारशिला आधारभूत विद्यालय सुर्काल, दशरथचन्द नगरपालिका–९ को केदार आधारभूत विद्यालय सीम लोडासौं, शिवनाथ गाउँपालिका–३ को श्रीपुर आधारभूत विद्यालय बछला र पाटन नगरपालिका–५ को त्रिपुरेश्वर मावि कुलडामा मतदान केन्द्र थप भएको हो । यसैगरी, एउटा मतदान केन्द्र घटाइएको छ । मेलौली नगरपालिका–२ को कोटेश्वर आधारभूत विद्यालयमा रहेका दुईवटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्र हटाइएको हो । गएको निर्वाचनमा २१० मतदान केन्द्र रहेको बैतडीमा आगामी निर्वाचनका लागि २१४ मतदान केन्द्र कायम भएका जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए । मतदानस्थल भने साबिककै १२९ नै कायम रहेका छन् । यस्तै निर्वाचन कार्यालयले अस्थायी मतदाताको विवरण सङ्कलन कार्यलाई तीव्र बनाएको छ । स्थानीय, प्रदेश तथा सङ्घीय तहका कर्मचारी, सुरक्षा निकाय, कारागार तथा वृद्धाश्रममा रहेका व्यक्तिको विवरण सङ्कलन भइरहेको छ । यसैबिच, जिल्ला निर्वाचन कार्यालयले निर्वाचन केन्द्रित आन्तरिक तयारी सुरु गरिसकेको छ । निर्वाचनका लागि आवश्यक सामग्री ढुवानी, जनशक्ति खोजी तथा व्यवस्थापनको काम प्रारम्भ गरेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी गतिविधि बढ्दै गएको छ । निर्वाचन कार्यालयले आन्तरिक तयारी गर्दा विभिन्न राजनीतिक दलका सम्भावित उम्मेदवार निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय हुन थालेका हुन् ।
माैसम पूर्वानुमान: कस्तो रहला आजको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
राधानदीमा जलस्तर मापन गर्ने ‘रडार लेभल सेन्सर’ जडान
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘रडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ । बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नदीमा जलस्तर मापन गर्ने आधुनिक आरएलएस प्रविधि जडान गरिएको हो । इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, डिसिए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए), कञ्चनपुरको साझेदारीमा सञ्चालित ‘स्मार्ट’ परियोजनाअन्तर्गत उक्त प्रविधि जडान गरिएको परियोजनाका संयोजक राजकुमार सुनारले बताए। उनका अनुसार प्रविधि जडानमा जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया र बेदकोट नगरपालिकाको सहकार्य रहेको छ । नदीमा जडान गरिएको रडार लेभल सेन्सरले नदीको जलस्तरको वास्तविक तथ्याङ्क (रियल टाइम डाटा) सङ्कलन गरी तत्काल जानकारी उपलब्ध गराउने संयोजक सुनारले जानकारी दिए । “यसबाट बर्खायाममा आउन सक्ने सम्भावित बाढीको पूर्वसूचना समयमा प्राप्त हुने र तल्लो तटीय क्षेत्रका नागरिकको जीउधनको सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ”, उनले भने । सेन्सर जडान भएपछि बेदकोटसँगै भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिका क्षेत्रका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई समयमा बाढीबारे सचेत गराउन मद्दत पुग्ने संयोजक सुनारले बताए। “अहिले प्रविधि जडान मात्रै गरिएको छ”, उनले भने, “यसलाई जल तथा मौसम विज्ञानको प्रणालीमा आबद्ध गर्ने कार्य वर्षा सुरु हुनुअगावै पूरा हुन्छ । त्यसपछि नदीको जलस्तर विभागको वेबसाइटबाट प्रत्यक्ष हेर्न सकिनेछ ।” बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको बताए । यस कार्यले स्थानीय समुदायलाई बाढीबाट हुनसक्ने क्षति कम गर्न र विपद् व्यवस्थापनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
सुर्खेतमा भरुवा बन्दुकसहित एक जना पक्राउ
काठमाडौं । भरुवा बन्दुकसहित सुर्खेतमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेकबेशी नगरपालिका-९ सिम दमार बस्ने ३८ वर्षीय धनबहादुर रावत रहेका छन्। रावतलाई एक थान भरुवा बन्दुक सहित बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय लेकबेशीले बुधबार दिउँसो पक्राउ गरेको हो। पक्राउ परेका रावतलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

