यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  आज २०८१ साल वैशाख १ गते शनिबार सन् २०२४ अप्रिल १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा पुगेको छ।युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तो आजको विदेशी मुद्राको विनिमय दर 

राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य नियुक्त गर्न सिफारिस

काठमाडौँ । सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ ।  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहेको थियो । शाक्य एमाले कोटामा सिफारिस भएकी हुन् । उनी पूर्व राजदूतसमेत हुन् ।

लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् । प्रदेश सभाको शुक्रबार बसेको बैठकमा माओवादी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महराले विश्वासको मत मागेका हुन् । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण यो कार्यकालको तेस्रो मुख्यमन्त्रीका रूपमा आफू आएको भन्दै उनले सरकार सञ्चालनमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे । सत्ता पक्ष मात्र होइन, विपक्षीलाई समेत साथमा लिएर अगाडि बढ्ने भन्दै उनले भने, ‘जुन आशा र भरोसामा मलाई अगाडि सार्नु भएको छ, त्यसमा कमी हुन दिने छैन ।’छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने उनले बताए ।

बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  कीर्तिपुर नगरपालिका–३ बस्ने ५२ वर्षीय सानु वाहकको मृत्यु भएको हो । बा.प्र ०१–००६ ख ५७७८ नम्बरको बसले बा.९६ प ६०१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

नाउपा सुदूरपश्चिम संसदीय दलका नेता चौधरी ३ महिनाका लागि पार्टीबाट निलम्बित

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी ३ महिनाका लागि निलम्बनमा परेका छन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले यसअघि पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई ३ महिनाका लागि निलम्बन गरेकी हुन् ।  अध्यक्ष श्रेष्ठले शुक्रबार सभामुख भीम भण्डारीलाई चौधरीलाई निलम्बन गरिएको जानकारीसहितको पत्र पठाएको नाउपाका नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले जानकारी दिए। यसअघि अध्यक्ष श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन् ।  त्यस्तै,नाउपा अध्यक्ष श्रेष्ठले आफ्नै पति रेशमलाल चौधरी पक्ष मानिने प्रदेश सरकारका काम चलाउ मन्त्रीहरुलाई पनि कारबाही गर्न लागिएको बताइएको छ । यसअघि उनले समानुपातिक सांसद समेत रहेकी राज्यमन्त्री इन्दिरा गिरीलाई पदमुक्त गरिसकेकी छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। दुई नेताहरूबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दुई नेताहरूबिच सत्ता गठबन्धनभित्र रहेका दलहरूले उठाएको विषयदेखि आज बस्ने मन्त्रिपरिषद्को बैठकसम्म छलफल भएको बताइएको छ । दिउँसो मन्त्रिपरिषद् बैठक बस्नुअघि ‘प्रचण्ड’ले ओलीसँग छलफल गरेका हुन् । आजको क्याविनेटबाट मन्त्रालयहरूका नियमित प्रस्तावहरूबारे छलफल तथा निर्णय गर्नुका साथै केही सचिवहरूको सरुवा पनि गर्ने बुझिएको छ भने हिउँदे अधिवेशन अन्त्यको तयारी छ ।

थाईल्याण्डको पतैयामा तेश्रो जम्बुलिङ ईन्टरनेशनल अवार्ड ग्राण्ड फाईनल उद्घाटन कार्यक्रम सम्पन्न

काठमाडौँ । तेश्रो जम्बुलिङ ईन्टरनेशनल अवार्डको ग्राण्ड फाईनल उद्घाटन कार्यक्रम थाईल्याण्डको पतैयामा सम्पन्न भएको छ । समाजसेवी तथा कलाकर्मी अशामान वाईबा तामाङको प्रमुख अथित्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट दुई दर्जन कलाकारहरुले उपस्थिति जनाएको थियो । प्रमुख अतिथि आशमान वाईबा तामाङलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै चार विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रमको ग्राण्ड फाईनल भने २०८१ को ज्येष्ठ महिनामा हुने कार्यक्रमका सभापति राज किङ वाईबा ९सुक ब। तामाङ ० ले बताएका छन् । करिब ३२ विधामा वितरण गर्न लागिएको यस अवार्डमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कलाकारहरुको महाभिडन्त हुने पक्कापक्की देखिएको छ । तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र क्लोथिङ इन नेपालका प्रबन्ध निर्देशक हरि बहादुर तामाङको विशेष अतिथि रहेको उक्त कार्यक्रम कलाकार तथा कार्यक्रम सञ्चालिका अनिता नेगी तामाङले उद्घोषिकाको भुमिका निभाएको थियो । कला र कलाकारहरु प्रति आफ्नो सिधा व्यांग्यय प्रहार गरिरहने भएपनि भित्रि मन देखि सदैव सम्मान रहेको प्रमुख अतिथि बाईबाले बताएका थिए । जालझेल नगरि विशुद्ध रुपमा कार्यक्रम सम्पन्न गरे सहि कलाकारको मुल्यांकन हुने र मनोबल बढ्ने भएकोले यस्ता कार्यक्रमहरुमा हातेमालो गर्दै अगाडि बढने पतिबद्धता समेत जाहिर गरेका छन् । पहिलो जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०१९ मा थाईल्याण्डमा, दोश्रो मलेसिया र तेश्रो नेपालमा सम्पन्न गर्न लागिएको जानकारी गराएको छ ।

भण्डारीको नेतृत्वमा सिंजा सभ्यता संरक्षणको लागि पहल समिति गठन

काठमाडौँ । ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारितको लागि पहल समिति’ गठन गरिएको छ । विहीबार संवाद डबलीमा सम्पन्न भेलाले नरेश भण्डारीको संयोजकत्वमा २३ सदस्यीय समिति गठन गरेको हो । समितिको सहसंयोजकमा बल बहादुर महत रहेका छन् । समितिमा भिमनिधी हमाल, हरि रावललगायत विभिन्न पेशा तथा क्षेत्रका व्यक्ति रहेका छन् । त्यस्तै, सल्लाहकार र एक्येवद्धता समिति पनि गठन गरेका गरिएको छ । समितिले प्रधानमन्त्री प्रचण्डलगायत विभिन्न राजनीतिक पार्टीका नेताहरुसँग भेटेर विधेयक पारितको लागि पहल गर्ने समितिले निर्णय गरेको छ । सल्लाहकार समिति र एक्येवद्धता समितिको बैठक बसेर थप पहलका कार्यक्रम अगाडि बढाउने संयोजक भण्डारीले बताए ।संयोजक भण्डारीकै पहलमा बनेको विधेयक अहिले संसदीय समितिमा विचाराधिन अवस्थामा रहेको छ ।

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै पारित हुन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक संघीय संसदबाट छिट्टै पारित गरिने बताएकी छन् । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको आज भएको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको बताइन्।  सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै स्वरोजगार तथा साना लगानीका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताइन् । उनले त्यस्ता सञ्चारमाध्यमलाई राष्ट्रिय समाचार समिति (रासस)को समाचार शुल्कमा सहुलियत उपलब्ध गराउन सकिने धारणा राखिन् । मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार रहेको स्पष्ट पारिन् । उनले न्यूनतम पारिश्रमिकलाई पनि समयानुकूल बनाउने उल्लेख गर्दै सत्य, तथ्य समाचार आए सरकारलाई सहयोग हुने विश्वास व्यक्त गरिन् । शाखाले पत्रकारिताको माध्यमबाट योगदान गर्नेलाई विभिन्न व्यक्तिलाई सम्मान र पुरस्कार प्रदान गरेको छ । सरकार आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक संघीय संसदमा पेश गर्ने अन्तिम तयारीमा छ।  

मन्त्रिपरिषद् बैठक एक बजे बस्ने

काठमाडौँ । हिजो बिहीबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने भएको छ ।  यसअघि बिहीबारलाई बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकले सरकारका नियमित काम कारबाहीबारे निर्णय लिने छ ।

मध्यरातमा बहुमूल्य बुद्धचित्तको रुख काटिदिए, घरमा सकेट बम राखिदिए

काभ्रे । काभ्रेको रोसीमा गएराति एक समूहले बुद्धचित्तको रुख काटेर घरमा बम राखिदिएको छ । बिस्फोटक पदार्थसहित गएका १५/२० जनाको समूहले रोसी गाउँपालिका ५ नागबेली निवासी ठाकुरानी तामाङको बगैँचामा रहेको एउटा बहुमूल्य बुद्धचित्तको रुख काटेको हो। फूल फुल्दै गरेको बुद्धचित्तको रुख काटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तामाङको घरका ढोका र आँगनमा ४ वटा सकेट बम पनि फेला परेको छ। नजिकै जनमुक्ति सेना नेपाल लेखिएको ज्याकेट फेला परेको छ । राति १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बुद्धचित्तको रुपख काटेका घरमुली तामाङले बताएकी छन्।  खबर पाएपछि राति अढाईबजे इलाका प्रहरी कार्यालय मंगलटारबाट गएको प्रहरी टोली अहिले पनि घटनास्थलमै रहेको छ। रुख काट्नेहरुको पहिचान भएको छैन र अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।

संसदका दुई समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।  त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । सो बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुनेछ ।

जनप्रगतिशिल मञ्च जोहोर बारु क्षेत्र मलेसियाको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया। नेपाली जनप्रगतिशिल मञ्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले जनप्रगतिशिल मञ्चमा डिल्लीराम पौडेलको अध्यक्षतामा नयाँ समिति निर्माण गरेको छ । एनआरएनए जोहोर बारु हल लार्किङ मलेसियामा अप्रिल ११ मा सम्पन्न क्षेत्रीय समितिको अधिवेशनले ३ सदस्य पछि थप्ने गरि २१ सदस्यीय नेपाली जनप्रगतिशील मञ्च मलेसिया जोहोर बारु क्षेत्रीय समितीको गठन गरेको हो । जसको अध्यक्ष डिल्लीराम पौडेल सबिन, वरिष्ठ उपाध्यक्ष अनिल चन्द, उपाध्यक्षहरु ईश्वर कार्की, राजु बिक र दिनेश बिष्ट, सचिलमा किरण न्यौपाने सह सचिवमा सुस्मिता तामाङ,कोषाध्यक्षमा बिष्णुमाया पाख्रिन, सह कोषाध्यक्षमा सौरव ज्योति  एवं सदस्यहरुमा खिम बहादुर वली, मोहमद अहमोद कबडिया, अग्नि बर्मा, बिनोद भुजेल, दल बहादुर शाही, खुम बहादुर खड्का, धनन्जय टमटा, नन्द लाल थिङ र रमेश खड्का रहेका छन् ।  नेपाली जनप्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे को प्रमुख आतिथ्यमा सम्पन्न  अधिवेशनमा एनआरएनए एनसीसी मलेसियाका उपाध्यक्ष अरुण गिरी लगायत विभिन्न संघसंस्थाका  अतिथीहरुको उपस्थिती रहेको थियो ।   नेपाली जनप्रगतिशिल मन्च जोहोर बारु क्षेत्रीय समिति मलेसियाको अधिवेशन आयोजक समितिका संयोजक अर्जुन सिंह अनुरागीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन मन्चका सल्लाहकार कृष्ण नेपालले गरेका थिए। जोहोर बारु क्षेत्रमा रहेका श्रमिकहरुको उल्लेख्य उपस्थिती रहेको कार्यक्रमलाई सल्लाहकार टुकेन्द्र लिम्बुले स्वागत गरेका थिए ।

नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास सम्पन्न

भक्तपुर। राष्ट्रिय युवा परिषदद्वारा सञ्चालित चारदिवसीय नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास बिहीबार सम्पन्न भएको छ। गत चैत्र २६ बाट शुरु भएको अभ्यास कार्यक्रम चैत्र २९ गते समापन भएको छ। खुला अनलाइन आवेदनका आधारमा देशभरका  ७१ जिल्लावाट  छनौट भएका १६–२४ उमेरका २०० जना युवा कार्यक्रममा सहभागि थिए ।  नमुना संयुक्त राष्ट्रसंघको महासचिवको भुमिका ललितपुरकी नुज्जु अवालेले निर्वाह गरिन। सानोठिमी भक्तपुर स्थित एसओएस वालग्राम हाताभित्र नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विधिवत् समारोहकाबीच कार्यक्रमको उद्घाटन गरेका हुन्।   सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नमुना संयुक्त राष्ट्रसंघको अभ्यासले नेपाली युवाहरुलाई अन्तर्राष्ट्रिय कुटनीति र नेतृत्व विकासमा महत्वपुर्ण टेवा पुग्ने बताए।कार्यक्रमको समापन समारोहमा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले युवालाई नेतृत्वदायी र प्रतिस्पर्धी भूमिकामा स्थापित गराउन यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने वताए। मन्त्री श्रेष्ठले युवा स्वरोजगार र सशक्तिकरण मन्त्रालयको मुख्य ध्यान रहेको बताए ।   संयुक्त  राष्ट्रसंघको नेपाल स्थित आवासीय कार्यालयको तर्फवाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आईसाने मेडागान्गोडा लबेले नेपाली युवाहरुले राष्ट्रसंघीय अभ्यास वुझ्नु अत्यन्तै आवश्यक रहेको वताइन्। लबेले युवा पुस्ताले विश्व शान्ति र सद्भाव कायम राख्न महत्वपुर्ण भुमिका खेल्न सक्ने बताइन् ।    राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुलाई राष्ट्रसंघीय अभ्यास, दिगो विकास लक्ष्य, कुटनीतिक आयाम, साझा अन्तर्राष्ट्रिय सवालहरु, जलवायू परिवर्तन, मानव अधिकार , सुरक्षा परिषद लगायतका विषयमा प्रशिक्षित गराउने उदेश्यले  कार्यक्रम आयोजना गरिएको वताए। चार दिने कार्यक्रममा सहभागी युवालाई विभिन्न छ वटा समितिमा विभाजन गरि अलग अलग विषयमा छलफल तथा अभ्यास गराइएको थियो ।   संयुक्तराष्ट्र संघ अनर्गत महिला समिति, सुरक्षा परिषद् समिति, मानवअधिकार परिषद् समिति, वातावरणीय कार्यक्रम समिति , आर्थिक तथा वित्तीय समिति समिति, अन्तर्राष्ट्रिय प्रेस समिति जस्ता फरक फरक क्षेत्रमा युवाहरुले अभ्यास गरेका थिए ।   समितिहरुमा सांसद सुनिता बराल, बैङ्कर्स तथा उद्यमी अनिल केशरी शाह, भाइराजा पाण्डे, सुनिल शर्मा, रौनिक राज अर्याल लगायतले विषयगत सहजिकरण समेत गरेको परिषदका उपसचिव कर्ण कवरले जनाए।  कार्यक्रममा विश्व वन्य जन्तु कोषका राष्ट्रिय निर्देशक डा।घनश्याम गुरुङ,  एसओएस् वालग्रामका राष्ट्रिय निर्देशक डा।गंगावहादुर गुरुङ् , युवा तथा खेलकुद मन्त्रीका सल्लाहकार निर्देश सिलवाल, परिषद् सदस्य सजिना थापा मगर, प्रशासकीय प्रमुख दिनेस घिमिरे, क्रियजन का अध्यक्ष आनन्द भिश्र,  युथ थिङ्कर्स सोसाइटिका क्षितिज भट्टराई लगायतले शुभकामना दिएका थिए।

राति बाजुरामा भूकम्पको धक्का

बाजुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३ः५३ बजे ३.७  रेक्टर स्केलको भूकम्प गएको हो । सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । 

वीरगन्जमा राजस्व चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी सम्पन्न

काठमाडौँ । गृह र अर्थ मन्त्रालयको आयोजनामा पर्साको वीरगन्जमा राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी सम्पन्न भएको छ ।  गोष्ठीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रचलित कानुनको अधीनमा रहेर आम नागरिकले व्यापार व्यवसाय गर्न सक्ने वातावरण निर्माणमा सबै लाग्नुपर्ने बताए । उनले भने,‘राजस्व चुहावट नियन्त्रण, प्रतिबन्धित सामान नियन्त्रणमा सबै सरोकारवाला निकायहरूले आ–आफ्नो जिम्मेवारीमा विशेष सक्रिय भएर कार्यसम्पादन गर्नुपर्छ ।’ गोष्ठीमा गृह सचिव एकनारायण अर्याल र अर्थ सचिव डा. कृष्ण हरि पुष्करले राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण कुनै एक मात्र निकायको एकल प्रयासबाट मात्र सम्भव नहुने हुँदा बताए ।  कार्यक्रममा भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख र मधेस प्रदेश सशस्त्र प्रहरी बल नेपालका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्नो कार्यालयको तर्फबाट प्रस्तुतीकरण गरेका थिए ।