नेपाललाई दोस्रो सफलता

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा टस जितेर हङकङविरुद्व फिल्डिङ गरिरहेको नेपालले दोस्रो सफलता पाएको छ । खेलको ५.४ ओभरमा रन लिने क्रममा हङकङका निजकट खान व्यक्तिगत १२ रन बनाएर आउट भएका हुन् । त्यसअघि नेपालका लागि करण केसीले २.१ ओभरमा नेपालका लागि पहिलो विकेट लिन सफल भएका छन् । आठ रन बनाएर खेलिरहेका हङकङका मार्टिन कोट्जेलाई करणले आसिफ सेखबाट क्याच आउट गराए ।

हङकङले आठ ओभर सकिदा दुई विकेटको क्षतिमा ५९ रन बनाएको छ । 
वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । 

खेल ढिलो सुरु भएका कारण खेल अव १८/१८ ओभरको हुनेछ । 

खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुने तालिका थियो । 

नेपालले टस जितेर हङकङविरुद्व फिल्डिङ गर्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले टस जितेर हङकङविरुद्व फिल्डिङ गर्ने भएको छ ।  वर्षाले प्रभावित भएपछि ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो ।  खेल ढिलो सुरु भएका कारण खेल अव १८÷१८ ओभरको हुनेछ ।  खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुने तालिका थियो । 

आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

अछाम । अछाममा आगलागीमा परेर दुई जना बालबालिकाको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । उनका अनुसार सोमबार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परी ती बालकको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार  आज ७ सय रुपैयाँ बढेर प्रतितोला सुन १ लाख ३७ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार प्रतितोला सुन १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँ पुगेको छ। यसैगरी चाँदीको मुल्य पनि बढेको छ। आज प्रतितोला चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। अघिल्लो दिन चाँदी १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङबीचको खेल वर्षाको कारण प्रभावित भएको छ । मध्याह्न ११ः४५ मा ओमनको अल अमरेत क्रिकेट ग्राउण्ड –१ मा सुरु हुने खेल वर्षाका कारण केहि ढिलो सुरु हुने भएको हो । अहिले खेल हुने मैदानमा हल्का वर्षा भइरहेको कारण पिच कभरले ढाकिएकोछ । त्यसैले खेलमा ओभर घटेर केहि ढिलो सुरु हुने भएको छ । नियमित समय अनुसार ११ः१५ मा टस हुनुपर्नेमा पानी नरोकिएको कारण टस हुन सकेको छैन ।  दुवै टोलीका खेलाडी मैदानमा आई पुगिसकेका छन् ।  नेपाल आज हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो । नेपाल र हङकङबीच ९ टी –२० आई खेल हुँदा दुवै टोली समान ४ खेलमा विजयी भएका छन् भने एक खेल वर्षाको कारण रद्द भएको थियो । १० टोली सहभागी रहेको प्रिमियर कपको विजेताले एसिया कप टी २० प्रतियोगिता खेल्न पाउनेछ ।

विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु, ३१ जना बेपत्ता

काठमाडौं । वि.सं. २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् । अरु एक हजार ६ सय १६ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले कूल ६ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० हजार सात सय १६ परिवार प्रभावित भएको जानकारी दिए । उनका अनुसार विपद्जन्य घटनाका कारण कूल रु पाँच अर्ब ४२ करोड ५६ लाखको क्षति भएको छ । गत वर्ष पनि पहिरो, बाढी, डुङ्गा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृतिक विपद्, हुरीबतास, भूकम्प, फ्लु, जनावर आक्रमण, हिमपहिरो, डढेलो, हिमपात लगायतका घटना भएका थिए । कात्तिकमा गएको जाजरकोट भूकम्पबाट सबैभन्दा बढी एक सय ५५ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्क छ । त्यसपछि धेरै क्षति आगलागीबाट भएको सहसचिव पाण्डेले बताए । मुलुकभर २०८० मा वैशाख १ देखि चैत ३० गतेसम्म आगलागीका चार हजार ६१ घटना भएका छन् । त्यसमा परेर एक सय ६ जनाको मृत्यु भएको छ भने पाँच सय ६ जना घाइते भएका छन् । कूल पाँच हजार एक सय ३० परिवार प्रभावित भएका छन् । आगलागीबाट रु दुई अर्ब ५२ करोडभन्दा बढीको क्षति भएको छ । यसैगरी गत वर्ष दुई सय ५० वटा चट्याङका घटनामा  परेर ४६ जनाको मृत्यु भएको छ भने दुई सय २८ जना घाइते भएका छन् । जनावरको आक्रमणबाट ४५ जनाको मृत्यु तथा दुई सय ७८ जना घाइते भएका छन् । गत वर्ष उच्च उचाइका कारण १५, पहिरोमा परेर ५०, बाढीबाट १८, सर्पदंशबाट २०, हिमपहिरोबाट १२ र वन डढेलोबाट ११ जनाको मृत्यु भएको छ ।

टिपर दुर्घटनामा चालकको मृत्यु

मन्थली । रामेछापको मन्थली नगरपालिका–७ मन्थलीघाट नजिक आज टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका–३ रस्नालुका २३ वर्षीय पवित्र बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताए । दुर्घटनामा दोलखाको तामाकोशी गाउँपालिका–६ का २१ वर्षीय सहचालक मनोज फुयाँल घाइते भएका छन् । मन्थली नगर अस्पतालमा उनको उपचार भइरहेको छ । बालुवा लिएर भटौलीबाट मन्थलीतर्फ जाँदै गरेको बा प्र ०१–००६–३८३९ नं को टिपर सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित

सिमकोट । नेकपा (एमाले) हुम्लाको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । पार्टीको १० औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो भने गए राति नै मतगणना गरिएको थियो । अध्यक्षमा बुमीका निकटतम प्रतिद्वन्द्वी डबल रावत थिए । उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुला उपसचिवमा पनि बुमीको प्यानल नै विजयी भएको छ । निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीका अनुसार प्रकाशबहादुर शाही उपाध्यक्षमा, तीर्थराज बोहरा सचिवमा, प्रदीप लामा खुला उपसचिवमा तथा मञ्जु रावल महिला उपसचिवमा निर्वाचित भएका छन् । अन्य खुला सदस्य, महिला सदस्य र दलित सदस्यको मत गणना भइरहेको शाहीले जानकारी दिए ।

चैत २७ को प्रदर्शनमा घाइते राप्रपा नेताको उपचारका क्रममा मृत्यु

काठमाडौँ । गएको चैत २७ गतेको प्रदर्शनका क्रममा घाइते भएका राप्रपाका एक नेताको उपचारको क्रममा मृत्यु भएको छ ।  राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष रहेका ठाकुर प्रसाद डॅागीको उपचारका क्रममा आज (सोमबार) बिहान ४ बजे निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । प्रदर्शनको क्रममा प्रहरीले हानेको अश्रुग्यास प्रहारबाट घाइते उनको टाउकोमा पनि समस्या देखिएको थियो । उच्च रक्तचाप र अश्रुग्यास प्रहारबाट उनको टाउको र श्वासप्रश्वासमा समस्या देखिएको थियो । डॅागीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मध्याह्न १२ बजेदेखि राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने र त्यसपछि अन्तिम संस्कारका लागि बर्दिया नै लगिने श्रेष्ठले जानकारी दिए । संवैधानिक राजतन्त्रका पुनर्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै राजधानीको भद्रगालीमा चैत २७ गते राप्रपाले प्रदर्शन गरेको थियो ।

पूर्व सांसद साहमाथि मध्यराति सांघातिक आक्रमण

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्व सांसद पूर्व प्रमोद साहमाथि सर्लाहीमा सांघातिक आक्रमण भएको छ।  आइतबार मध्यराति सर्लाहीको हरिपुर नगरपालिका ६ मा मादक पदार्थ खाएका युवाहरुको समूहले साहमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्र बहादुर सिंहले बताए।  साहको टाउकोमा लाठी प्रहार भएको गहिरो चोट भएपनि उनी खतरामुक्त भएको प्रहरीले जानकारी दिएको छ । पूर्व सांसद साह जनता समाजवादी पार्टीका नेता हुन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले थप उपचारका लागि साह आजै काठमाडौं आउन लागेको जानकारी दिए । ‘कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । चार जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको डीएसपी श्रेष्ठले बताए ।  कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ परेका हरिपुर ६ का आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझीलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हालमा बस्नेछ । बैठकमा संसदीय गतिविधि र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल सचेतक महेश बर्तौलाले जानकारी दिए । संसदका काम कारबाहीको समीक्षा, कोशी र सुदूरपश्चिम प्रदेश सरकार, अबको रणनीति, संसदका समितिमा रहेका विचाराधीन विधेयकहरू लगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।।

बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५, नागबेलीस्थित बहुमूल्य बोधिचित्त ९बुद्धचित्त०को रुख काटेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उक्त समूहले गएको बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो । फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो । उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष तीन करोड रुपैयाँमा बिक्री गर्न बैना गरिएको तामाङले बताइन् । उनका अनुसार, बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झन्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको थियो। मैनाली र दुर्गालाललाई काभ्रेपलाञ्चोकको बनेपाबाट आइतबार पक्राउ गरिएको हो । प्रभातलाई शनिबार काठमाडौंको वनस्थलीबाट र मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ। अरू दुईजनाको म्याद थप गरी थप अनुसन्धान थालिनेछ । प्रहरीका अनुसार, ठाकुरानीको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखिएको थियो । उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजंग गणले निष्क्रिय पारेको थियो । घटनामा संलग्न अरू व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसैबीच, पीडित ठाकुरानीले पक्राउ परेका चारसहित आठजनाविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएकी छन् । उक्त रुखमा फलेको फल चार वर्षअघि पनि लुटिएको थियो । रुख काट्ने समूहले नै उक्त समयमा फल लुटेको हुन सक्ने प्रहरीको अनुमान छ । बोधिचित्त मालाको तामाङ समुदाय र विशेष गरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक महत्त्व छ । रासस

विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किए

काठमाडौँ। नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए। सोमबार बिहान उनी माओवादी केन्द्रमा फर्किएका हुन्।

विश्वदीपले छाडे बाबुराम

काठमाडौँ । युवा नेता विश्वदीप पाण्डेले पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) परित्यागको घोषणा गरेका छन् । पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईसँग लामो समय निकट रहेर काम गरेका पाण्डेले पार्टीको प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पाण्डेले पार्टी छाडेको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘आजको मितिदेखि लागू हुने गरी मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको छु ।’

विधेयकका संशोधनकर्तासँग छलफल गर्दै शिक्षा समिति

काठमाडौं । संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ ।  दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्ने बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग  छलफल गर्ने कार्यसूची छ ।  स्वास्थ्य तथा सूचना प्रविधि समितिको हलमा बस्ने बैठकमा अन्य विविध विषयमा पनि छलफल हुने संसद् सचिवालयले जनाएको छ । 

अर्थमन्त्री पुन अमेरिका प्रस्थान

काठमाडौँ ।अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन सोमबार बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डीसीका लागि उडेका हुन्।  भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भूपालराज शाक्य छन् । तीन दिने अमेरिका बसाइका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेट्ने पुनको सचिवालयद्वारा जारी प्रेस नोटमा छ ।  यस्तै मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफपी)का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष अतुल कास्यपसहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तालिका छ ।  मन्त्री पुनले जलवायु परिवर्तको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी-२० को मन्त्रीस्तरीय बैठकलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नेछन् । भी–२० जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा विश्वव्यापी अर्थतन्त्रमा उत्पन्न संक्रमणकालीन अवस्थामा वित्तीय सहयोग अभिवृद्धिका लागि विश्व समुदायमा आवाज उठाउने निकाय हो । मन्त्री पुन हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा संक्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुनेछन् ।  ती बैठकहरुमा मन्त्री पुनले आगामी जुनमा काठमाडौँमा हुने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ बैठकको तयारी, विश्व बैंकले आगामी ५ वर्षका लागि नेपालमा गर्ने लगानी साझेदारीको प्राथमिकता निर्धारण, संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनासहित पाइपलाइनमा रहेका अन्य आयोजनाको वित्तीय व्यवस्थापनलगायत विषयमा छलफल गर्नेछन्।