भरतपुरको ८८.६ किमि लामो चक्रपथ उद्घाटन, देशकै सबैभन्दा लामो महानगरस्तरीय रिङरोड

भरतपुर । भरतपुर महानगरपालिकाको गौरवको आयोजनाका रूपमा अघि बढाइएको देशकै सबैभन्दा लामो ८८ दशमलव ६ किलोमिटर चक्रपथ आज उद्घाटन गरिएको छ । महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्घाटन गर्नुभयो ।

सात वर्षअघि सुरु भएको यो सडक राष्ट्रिय राजमार्ग (एनएच–७७) मा सूचीकृत भएको छ । अधिकांश खण्डमा कालोपत्र सम्पन्न भइसकेको छ भने केही स्थानमा अलाइनमेन्ट मिलाउने काम बाँकी रहेको महानगरले जनाएको छ । संघीय, प्रदेश र स्थानीय सरकारको अर्बौं लगानीमा निर्माण भएको यो सडकलाई जनतालाई मर्का नपर्ने गरी व्यावहारिक ढंगले बनाइएको प्रमुख दाहालले बताउनुभयो ।

उहाँले आगामी दिनमा सडकलाई दुई लेनमा स्तरोन्नति गर्ने र भरतपुरमा भौतिक विकासले फड्को मारेको उल्लेख गर्दै अब सामाजिक विकास तथा रोजगारी सिर्जनालाई प्राथमिकता दिने बताउनुभयो । उपप्रमुख अधिकारीले चक्रपथले भरतपुरको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।

यसैबीच, आजै ३० दशमलव २ किमि लामो केरुङ्गा खोलाको सौन्दर्यीकरणअन्तर्गत भरतपुर–९ र १२ मा सम्पन्न कामको पनि प्रमुख दाहाल र उपप्रमुख अधिकारीले संयुक्त उद्घाटन गर्नुभयो । महानगरले खोलाहरूलाई चरणबद्ध सौन्दर्यीकरण गरी पर्यटकीय गन्तव्य बनाउने योजना अघि बढाएको छ ।

विप्लव नेतृत्वको नेकपा (माओवादी)का नेता सन्तोष सुवेदी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) परित्याग गरी सो पार्टीका केन्द्रीय सदस्य तथा स्कुल विभागका प्रशिक्षक सन्तोष सुवेदी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँलाई पार्टीका संयोजक प्रचण्ड, सह–संयोजक माधव कुमार नेपाल तथा नेता वर्षमान पुनले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीमा हार्दिक स्वागत गर्नुभयो । सुवेदी यसअघि विप्लव माओवादीमा रोल्पा जिल्ला इन्चार्जको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

चर्चित सामाजिक अभियन्ता सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

काठमाडौं । चर्चित सामाजिक अभियन्ता सुमन सायमीसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएका छन् । सायमी आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने तयारीमा छन् । निर्वाचनको केही समयअघि उनी नेकपामा समाहित हुन लागेका हुन् । सायमीले आफू नेकपासँग एकता प्रक्रियामा रहेको जानकारी दिएका छन् । ‘भोलि एकता हुँदैछ,’ सायमीले भनेका छन् । एकता सभा भृकुटिमण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजना गरिएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए । त्यसबेला उनले १३ हजार ७७० मत प्राप्त गरेका थिए । निर्वाचनपछि उनी स्वतन्त्र अभियानमा सक्रिय भएका थिए र स्वतन्त्र तथा वैकल्पिक शक्तिहरूलाई एकीकृत गर्ने प्रयासमा लागेका थिए । त्यही वर्षको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनले उम्मेदवारी दिएका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठसँग पराजित भएका थिए । गत प्रतिनिधिसभा निर्वाचनमा उनले ६ हजार १७९ मत प्राप्त गरेका थिए । पछिल्लो समय सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा जोडिएका थिए र सो पार्टीमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार बन्न लागेका सायमी नेपाली कम्युनिस्ट पार्टीबाट अघि बढ्ने तयारीमा छन् । ५२ वर्षीय सायमी काठमाडौंको कालीमाटीका बासिन्दा हुन् । उनी काठमाडौंका रैथानेहरूबीच निकै चर्चित छन् ।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुको शपथ आज, उपस्थित हुन नसक्नेले भर्चुअल लिनसक्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । गत २९ कात्तिकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १९ वटा  पार्टी तथा वामघटकहरूबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको थियो । काठमाडौंमा उपलब्धहरू केन्द्रीय कार्यालयमा  उपस्थित हुनेछन् भने जिल्लामा रहेकाहरूले भर्चुअल माध्यमबाट जिल्ला कार्यालय तथा पालिकास्तरमा शपथ लिने तयारी भएको छ । 

अन्नपूर्णको भुवाने देउरालीमा पाखो सम्माएर खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र जर्मनको ‘हिमालय फ्रेन्ड्स इभी’ संस्थाको सहयोगमा भुवानी युवा परिवारले खेलमैदान निर्माण गरेका हुन् । हिमालय संस्थाले यस वर्ष रु १० लाख ५२ हजार २५० आर्थिक सहयोग गरेको खेलमैदान निर्माणका लागि गण्डकी प्रदेश सरकारले गत वर्ष रु पाँच लाख र क्लबले रु एक लाख खर्च गरेका थिए । उपभोगविहीन बाँझो सार्वजनिक भिरालो पाखामा डोजर परिचालन गरेर सम्याएर ११० मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान तयार भएको निर्माण समितिका अध्यक्ष श्याम खड्काले बताए । फुटबल, बास्केटबल, क्रिकेट, एथलेटिक्स खेल सञ्चालन गर्न सकिने खेलमैदानमा पर्खाल, प्यारापिट र घेराबारका लागि वडा, गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसँग पहल गरिएको निर्माण समितिले जनाएको छ । यसअघि खेलमैदान अभावमा विद्यालय परिसरमा खेलअभ्यास र प्रतियोगिता सञ्चालन हुने गरेको थियो । विद्यालयमा हुने खेलकुद गतिविधिका कारण बालबालिकाको पठनपाठन प्रभावित भएपछि छुट्टै ठाउँमा खेलमैदान निर्माण गरिएको निर्माण समितिका सचिव जितबहादुर बरुवालले बताए । 

आज कुन मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ९५ पैसा र बिक्रीदर १४४ रुपियाँ ५५ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ २४ पैसा र बिक्रीदर १६८ रुपियाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ९० पैसा र बिक्रीदर १९४ रुपियाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपियाँ ६४ पैसा र बिक्रीदर १८१ रुपियाँ ३९ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ५८ पैसा र बिक्रीदर ९६ रुपियाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपियाँ ७५ पैसा र बिक्रीदर १०४ रुपियाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ९४ पैसा र बिक्रीदर ११२ रुपियाँ ४१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १२ पैसा र बिक्रीदर नौ रुपियाँ १६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ६४ पैसा र बिक्रीदर २० रुपियाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ३९ पैसा र बिक्रीदर ३८ रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ३८ पैसा र बिक्रीदर ३९ रुपियाँ ५५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपियाँ ६० पैसा र बिक्रीदर चार रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ १९ पैसा र बिक्रीदर ३९ रुपियाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ४३ पैसा र बिक्रीदर ३५ रुपियाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ८१ पैसा र बिक्रीदर ९ रुपियाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६९ पैसा र बिक्रीदर १५ रुपियाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ५१ पैसा र बिक्रीदर २२ रुपियाँ ६१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ ४६ पैसा र बिक्रीदर १८ रुपियाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपियाँ ७३ पैसा र बिक्रीदर ४७२ रुपियाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपियाँ ८६ पैसा र बिक्रीदर ३८३ रुपियाँ ४५  पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपियाँ ९१ पैसा र बिक्रीदर ३७५ रुपियाँ ४६ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

सुन तोलाको पौने तीन लाख पुग्याे

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।  आइतबार प्रतितोला दुई लाख ७० हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा चार हजार एक सय रुपियाँले बढेर दुई लाख ७४ हजार सात सय रुपियाँमा कारोबार भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि दुई लाख ७० हजार छ सय रुपियाँ पुगेको सुनको मूल्य घटेर दुई लाख ५९ हजार रुपियाँमा झरेको थियो । अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेपछि सुनको मूल्य निरन्तर बढ्दै गएको हो । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस चार हजार ५६८ अमेरिकी डलरमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । पुसमा सुनको मूल्य तोलामा १५ हजार सात सय रुपियाँले बढेको छ । यसैबिच चाँदीको मूल्य तोलामा २०५ रुपियाँले बढेर पाँच हजार रुपियाँ नाघेको छ । आइतबार प्रतितोला चार हजार ४९० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर पाँच हजार १९५ रुपियाँ पुगेको महासङ्घले जनाएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔँस ८४ अमेरिकी डलरमा कारोबार भएको छ । सुनको मूल्यसँगै चाँदीको मूल्यसमेत निरन्तर बढ्दै गएको छ । पुसमा चाँदीको मूल्य तोलामा एक हजार ३१० रुपियाँले बढेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको माग बढ्दा मूल्यसमेत निरन्तर बढ्दै गएको हो । औद्योगिक क्षेत्रमा चाँदीको प्रयोग धेरै हुने गर्छ ।  सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड कायम गरेको छ । सोमबार सुनको मूल्य चार हजार एक सय रुपियाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबार सुनको मूल्य दुई लाख ७४ हजार सात सय रुपियाँ तोकेको हो । अघिल्लो दिन यस्तो मूल्य दुई लाख ७० हजार छ सय रुपियाँ रहेको थियो । त्यस्तै चाँदीको मूल्य समेत प्रतितोला २९५ रुपियाँले बढेको छ । आइतबार चार हजार ९९० रुपियाँ रहेको चाँदी आज पाँच हजार १९५ रुपियाँ पुगेको हो ।  

आज नेकपाकाे केन्द्रीय कमिटी सदस्यकाे शपथ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का  दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथग्रहण गर्ने भएका छन् । गत २९ कात्तिकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १९ वटा  पार्टी तथा वामघटकहरूबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको थियो ।  केन्द्रीय कमिटी सदस्यले आज शपथग्रहण गर्ने नेता बेदुराम भुसालले बताए । उनले भने, “दिउँसो १२ बजे कार्यक्रम सुरु हुनेछ । कार्यक्रममा उपस्थित हुनेका लागि भौतिक रूपमा र उपस्थित नहुनेलाई हामीले भर्चुअल व्यवस्था गरेका छौँ ।”

ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ । कूल २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको तयारी गरेको छ । प्राधिकरणको स्वामित्वमा रहेको त्रिशूली थ्री बी हब मातातीर्थ प्रसारण लाइन आयोजनाको टावर नम्बर ३७ बाट ट्यापिङ गरी नयाँ प्रसारण लाइन निर्माण गर्न लागेको छ । सो प्रसारण लाइन काठमाडौँको तीनपिप्लेमा जोडिनेछ । तीनपिप्लेमा प्राधिकरणले सवस्टेशन निर्माण गरिरहेको छ । सो प्रसारण लाइन धादिङको धुनीबेँसी, नुवाकोटको ककनी र  सो प्रसारण लाइन र सवस्टेशन आयोजना कार्यान्वयनका गर्दा आयोजना प्रभावित क्षेत्रको भौतिक तथा रासायनिक वातावरणीय, सामाजिक आर्थिक तथा सांस्कृतिक वातावरणमा क–कस्तो प्रभाव पर्दछ भनी अध्ययन गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्रारम्भिक अध्ययन भइसकेको वातावरणीय परीक्षण प्रतिवेदनको मस्यौदाका आधारमा सरोकारवालाको आवश्यक सुझावका आधारमा थप समृद्ध बनाउन लागिएको हो । प्राधिकरणले आज धुनीबेँसी नगरपालिका–१ सिम्खडा गाउँमा सार्वजनिक सुनुवाइ गर्ने कार्यक्रम तय गरेको छ । सोमबार भने तारकेश्वर नगरपालिकाको कोट गाउँमा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ । सार्वजनिक सुनुवाइका क्रममा उठेका विषयवस्तुलाई प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा समावेश गरिने प्राधिकरणको प्रष्टोक्ति छ ।

देशभर पश्चिमी वायुको प्रभाव: कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।  आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ । अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक खण्डअन्तर्गत सडक तथा पुल निर्माण योजना अत्यधिक चिसोका कारण प्रभावित बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । अत्यधिक चिसोका कारण विकास निर्माणमा परिचालित उपकरण पनि थन्किन पुग्छन् । पुसअगावै कोरला सडकअन्तर्गत मुस्ताङ खण्डमा आयोजनाको काम स्थगित गरिएको उनले बताए । राष्ट्रिय गौरवको कोरला सडक खण्डअन्तर्गत मुस्ताङमा चिसोले प्रभावित बनेका पूर्वाधार निर्माणका काम चैत महिनापछि पुनः सञ्चालनमा आउने प्रमुख शर्माको भनाइ छ । उनका अनुसार कोरला सडकअन्तर्गत चालु आवमा ठेक्का सम्झौता भएको (कागबेनी–छुसाङ) ९ दशमलव ८ किमी कालोपत्रे सडक स्तरोन्नतिको काम चिसोका कारण रोकिएको छ । कागबेनी–छुसाङ सडक कालोपत्रे गर्न आयोजनाले रु २८ करोड ८७ लाखमा ठेक्का सम्झौता गरेको थियो । आयोजनाअन्तर्गत २०७५ सालमा ठेक्का सम्झौता भएको कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लामो घमी खोला पुलको काम पनि चिसोका कारण रोकिएको आयोजनाले जनाएको छ । हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्ट्रक्सनले रु ६ करोड ८० लाख लागतमा ठेक्का सम्झौता गरी काम अघि बढाए पनि यहाँको घमी खोला पुल निर्माणमा ढिलाइ भएको छ । भौतिक प्रगति ८० प्रतिशत पुगेको घमी खोलामा गत असोजमा फाउन्डेसन निर्माण गरी स्लाप ढलान सकेको छ । यहाँ एप्रोज रोड र पुल फिनिसिङको काम बाँकी रहे पनि अत्यधिक चिसो बढेकाले पुल निर्माणको काम स्थगित हुन पुगेको आयोजना प्रमुख शर्माको भनाइ छ । यसैगरी, कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोमसम्मको १७ किलोमिटर सडक पनि चिसोका कारण अवरुद्ध हुन पुगेको छ । विसं २०७३/७४ देखि ठेक्का सम्झौता भई अस्फाल्ट कालोपत्रे सडक निर्माण सुरु गरिएको भए पनि यहाँ निर्माण कम्पनीको ढिलासुस्तीले निर्माणको काम पूरा हुन सकेको छैन । यद्यपि यहाँको सडकमा करिब पाँच किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ । निर्माण कम्पनीले सक्रियता बढाएको भए पुसअगावै निर्माणको काम सकिने आयोजनाको विश्वास थियो । यसैगरी, कोरला सडकअन्तर्गत थासाङ गाउँपालिकामा निर्माणाधीन लार्जुङ खोला पुल र कैकु खोला पुल निर्माणको काम पनि चिसोले प्रभावित भएको आयोजना प्रमुख शर्माले उल्लेख गरे। अत्यधिक चिसोका कारण मुस्ताङमा दर्जनौँ सङ्घीय, प्रादेशिक कार्यालय र स्थानीय निकायका विकास योजना ठप्प भएका हुन् । मुस्ताङस्थित पूर्वाधार विकास कार्यालयद्वारा कार्यान्वयनको चरणमा रहेका पुरानो वहुवर्षीय योजना १२ र चालु वर्ष थपिएका १३ नयाँ योजनाको काम चिसोका कारण प्रभावित बनेको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर जगदीश जोशीले जानकारी दिए । सवइञ्जिनियर जोशीका अनुसार घरपझोङ–२ मार्फास्थित आलबारी जाने सडकमा कटिङको काम भइरहेको भए पनि कार्यालयद्वारा कार्यान्वयनमा रहेका अधिकांश योजना चिसोका कारण स्थगित गर्नुपरेको उनले बताए । पुराना बहुवर्षीय योजना विभिन्न कारणले अवरुद्ध भएका र कतिपय निर्माणको चरणमा रहँदा चिसोले काम हुन सकेको छैन । नयाँ योजनामध्ये तीन बहुवर्षीय योजनाको प्रक्रियामा रहेको र कतिपय ठेक्का प्रक्रियामा छन् । ठेक्का सम्झौता भई सुरु भएका नयाँ योजना पनि हिउँदयाम भएकाले पूर्वाधारको काम अघि बढाउन नसकिएको सवइञ्जिनियर जोशीको भनाइ छ । मुस्ताङमा अत्यधिक चिसो बढेसँगै खानेपानी, जलस्रोत तथा सिँचाइ सवडिभिजन कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), एकीकृत सेवा कार्यालयलगायत मुस्ताङका पाँच स्थानीय तह र विभिन्न सङ्घसंस्थाको भौतिक पूर्वाधार निर्माणलगायत काम चिसोले प्रभावित बनेको हो । विकास निर्माण कार्यअन्तर्गत यहाँका प्रत्येक स्थानीय तहमा ५० भन्दाबढी साना ठुला पूर्वाधार योजना कार्यान्वयनमा छन् । तर यी सबै योजना अत्यधिक चिसोका कारण ठप्प बनेका छन् । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्ब गुरुङले बर्सेनि हिउँदयामको मौसममा चिसो र सम्भावित हिमपातको जोखिमले विकास निर्माण काम चाहेर पनि गर्न नसक्ने अवस्था रहेको बताए । “हिउँदयाममा यहाँका नागरिक पूरै जाडो छल्न बेँसी झर्छन्, यहाँका चिसोमा काम गर्नलाई पनि चिसोले उस्तै समस्या हुन्छ,” अध्यक्ष गुरुङले भने, “चिसो घटेपछि वैशाख महिनामा विकास निर्माणको काम अघि बढाउन सकिन्छ, चिसोले यहाँका स्थानीय नागरिक स्वंय प्रभावित हुन्छन् ।” चिसोका कारण यहाँको घरपझोङ, थासाङ, लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सञ्चालित सबै विकास योजना ठप्प बनेको बताइएको छ । अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री र तल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्रीमा झरेको छ । माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङका अधिकांश सरकारी कार्यालयका कर्मचारी पनि जिल्लामा बस्न छाडिसकेका छन् । मुस्ताङमा चिसो अत्यधिक बढे पनि यहाँका तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी सम्बन्धित कार्यस्थलमा रहेर शान्तिसुरक्षा प्रदानमा खटिएका छन् । माथिल्लो मुस्ताङ मानविहीन जस्तै अवस्थामा रहे पनि त्यहाँ कार्यरत दुर्गमका कर्मचारी नागरिकको रित्तो घर गाउँ कुरेर बसेका छन् ।

भार्सेका कृषक व्यावसायिक किबीखेतीतर्फ आकर्षित

गुल्मी । व्यावसायिक किबीखेतीमा कृषकको आकर्षण बढ्दै बढेको छ । सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका कृषकले किबी बिक्री गरेर वार्षिक रु ८० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । विसं २०६५ देखि किबी लगाउन सुरु गरेका त्यहाँ कृषकको बारी यति बेला किबीले ढपक्कै ढाकेको छ । किबीको व्यावसायिक उत्पादन सुरु गरेपछि उनीहरुको आम्दानीमा वृद्धि हुँदै गएको छ । जिल्लामा सबैभन्दा बढी किबी उत्पादन गर्ने पालिकामा सत्यवती गाउँपालिका पर्दछ । सत्यवतीको भार्सेमा हाल ४० हेक्टरभन्दा बढी क्षेत्रफलमा किबीको व्यावसायिक उत्पादन हुँदै आएको छ । यस वर्ष त्यहाँका कृषकले ८० टनभन्दा बढी किबी उत्पादन गरेको स्थानीय कृषक यमबहादुर थापाले जानकारी दिए । भार्सेमा उत्पादित किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म बिक्री गरिन्छ । बजारमा उपलब्ध किबीको तुलनामा भार्षेमा उत्पादित किबीको फुटकर मूल्य प्रतिकिलो रु २०० देखि रु ३०० सम्म रहेको छ । यहाँका कृषकको मुख्य आम्दानी किबीखेती बनेको छ । सत्यवती गाउँपालिकाले भार्सेलाई किबीको पकेट क्षेत्र घोषणा गरेसँगै किबी उत्पादनमा स्थानीयको आकर्षण बर्सेनि बढ्दै गएको हो । किबी खेतीको व्यावसायिक उत्पादनका लागि कृषकलाई गाउँपालिकाबाट प्राविधिक सहयोगदेखि तालिम, बिरुवा, खम्बा निर्माण र सिँचाईलगायत क्षेत्रमा सहयोग गरिएको सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताए । गत वर्ष गाउँपालिकाबाट नर्सरी सपना, बगैँचा व्यवस्थापनसँगै किबीको जाम र वाइन बनाउने तालिम प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए । भार्सेका कृषक यमबहादुर थापा व्यावसायिक किबीखेती कृषक अन्तर्गत पर्दछन् । उनले लगाएका सबै १५० बोटले फल दिन थालेको छ । गत वर्षको तुलनामा यस पटक उत्पादन घटे पनि किबीको बजार मूल्य भने राम्रै रहेको थापाले बताए। उनको बारीमा रेडकिबी, हेवार्ड, एलिसन र ब्रुनो जातका किबी रहेका छन् । अन्य खेतीको तुलनामा किबीबाट मनग्य आम्दानी हुने उनको अनुभव छ । भार्सेका कृषक पाँच किबी समूह गठन गरेर व्यावसायिक रूपमा उत्पादन गर्दै आएका छन् । सबैभन्दा धेरै किबी उत्पादन गर्नेमा ठूलापोखरी समूह पर्दछ । भार्से गाउँका पाखा बारी किबीले ढपक्कै ढाकिएका छन् । किबीका बिरुवाले रोपेको तीन वर्षबाटै फल दिन सुरु गरेपछि यो कृषकको मुख्य रोजाइमा परेको हो । किबीले एउटै बोटबाट ६० किलोदेखि १२० किलोसम्म फल दिने गरेको वडाध्यक्ष होमबहादुर रानाले बताए । बाँदर, बनेल र चराचुरुङ्गीबाट अन्य खाद्यबाली जोगाउन समस्या परेको अवस्थामा किबीखेती भार्सेका कृषकका लागि यति बेला प्रमुख आम्दानीको स्रोत बनेको छ । किबी बढी झुसिलो हुने भएका कारण पनि वन्यजन्तुले खासै हानि नोक्सानी गर्दैनन् । जिल्लामा एक हजार २०० मिटरदेखि दुई हजार मिटर उचाइसम्म किबीखेती गरिँदै आएको छ । गुल्मीमा सत्यवती गाउँपालीकालगायत कालीगण्डकी, मदाने, मालीका, धुर्कोट, छत्रकोछट, मुसिकोटलगायत पालिकामा पछिल्लो समयमा किबीको व्यावसायिक खेती गर्न थालिएको छ । किबी फल एक स्वस्थ र स्वादिष्ट फल मानिन्छ । किबीले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । यसमा फाइबर पाइने भएकाले पाचन प्रक्रियालाई पनि राम्रो बनाउन मद्दत गर्छ । यसलाई जुस बनाउन र सलादका रूपमा प्रयोग गर्ने गरिन्छ । यो फलमा धेरै पौष्टिक तत्त्व भएका कारण सबै उमेर समूहका व्यक्तिका लागि उपयुक्त मानिन्छ ।

नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच पार्टी एकता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लिम्बुवान क्रान्तिकारी पार्टीबीच पार्टी एकताको सहमति भएको छ। मार्क्सवाद–लेनिनवाद तथा वैज्ञानिक समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्दै लिम्बुवान पहिचानको मुद्दालाई नेकपाको आन्तरिक जनवादमा छलफल र बहसमार्फत अघि बढाउने सहमतिसहित दुवै पार्टीबीच एकता भएको हो। सहमतिअनुसार लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित हुने भएको छ। एकतापछि लिम्बुवान क्रान्तिकारी पार्टीका सबै तहका समिति र संरचनाहरूलाई समान हैसियतसहित उपयुक्त ढङ्गले नेकपाभित्र समायोजन गरिनेछ।   दुवै पार्टीबीच भएको यस एकतालाई वामपन्थी आन्दोलनलाई सुदृढ बनाउने तथा पहिचानका मुद्दालाई वैचारिक र संगठनात्मक रूपमा अघि बढाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

उपेन्द्र यादव नेतृत्वको जसपाका उपाध्यक्ष शिवलाल थापामगरसहित केन्द्रीय सदस्यहरू नेकपा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (उपेन्द्र यादव पक्ष) का केन्द्रीय उपाध्यक्ष शिवलाल थापामगरको नेतृत्वमा केन्द्रीय सदस्यहरू सहितको टोली नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएको छ । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा थापामगरसहितको टोलीले नेकपामा प्रवेश गरेको हो । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरूले थापामगर नेतृत्वको टोलीलाई पार्टीमा हार्दिक स्वागत गरेका छन् ।

एमाले अछाम इञ्चार्ज भैरवबहादुर बोहराद्वारा पार्टी परित्याग, नेकपामा प्रवेश

काठमाडौं । नेकपा (एमाले) अछामका इञ्चार्ज भैरवबहादुर बोहराले पार्टी त्यागेको घोषणा गरेका छन् । सोमबार सार्वजनिक वक्तव्यमार्फत उनले एमाले नेतृत्वप्रति विभिन्न आरोप लगाउँदै पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेको जानकारी गराएका छन् । अछाम नेकपाका नेता डा. भीम रावलको गृहजिल्ला हो । पूर्वएमाले नेता रावल पछिल्लो समय नेकपामा समायोजन भएर प्रवेश गरेका थिए । एमाले त्यागेर नेकपा रोज्ने बोहरा एक अनुभवी तथा पुराना कम्युनिस्ट नेता हुन् । उनले वक्तव्यमा विगत ४५ वर्षदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेको उल्लेख गरेका छन् । ‘अहिले राष्ट्रिय स्वाधीनता खतरामा परेको र जनताका आकांक्षा धुमिल हुन थालेको स्थिति देख्दा देशभक्तिपरक तथा जनमुखी बलियो कम्युनिस्ट पार्टीको आवश्यकता महसुस भएको छ,’ उनले भनेका छन्, ‘यस्तो आवश्यकता पूरा गर्नुभन्दा नेकपा (एमाले) को नेतृत्व सत्ता केन्द्रित, अहंकारी र स्वेच्छाचारी भएर विपरीत सिद्धान्त तथा व्यवहार भएकाहरूसँग साँठगाँठतर्फ लागेको देखियो ।’ बोहराले एमालेमा रहँदा देश र जनताको हितमा योगदान गर्न नसकिने अवस्था देखिएकाले सोमबारदेखि लागू हुने गरी पार्टी त्यागेको स्पष्ट पारेका छन् ।

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् । आयोगले सम्बन्धित सबै उम्मेदवारलाई सो सम्बन्धमा जानकारी गराएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिनुभयो । आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछन् । कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत पनि नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुने व्यवस्था छ ।