अब ठूला भेला-जुलुसभन्दा पनि जनताको घर-घरमा, टोल-टोलमा पुगेर हाम्रा एजेन्डा बुझाउँछौँ: प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीका राम्रा कामहरूलाई जनतासमक्ष प्रभावकारी रूपमा बुझाउन नसकिएको स्वीकार गर्दै अब घर-घर र टोल-टोलमा पुगेर नागरिकहरूलाई पार्टीका एजेन्डा बुझाउने बताउनुभएको छ।
भृकुटिमण्डपस्थित राष्ट्रिय सभागृहमा बुधबार आयोजित अभियन्ता सुमन सायमीसहितको समूहसँगको पार्टी एकता तथा समाहित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले भन्नुभयो, “देश र जनताको पक्षमा हामीले राम्रा काम गरेका छौँ, तर ती कामहरूलाई बुझाउन सकेनौँ। अब ठूला भेला-जुलुसभन्दा पनि जनताको घर-घरमा, टोल-टोलमा पुगेर हाम्रा एजेन्डा बुझाउँछौँ।”
प्रचण्डले काठमाडौं उपत्यकामा पार्टीको स्थिति बलियो बनाउने दाबी गर्दै भन्नुभयो, “काठमाडौं उपत्यकामा हामी कमजोर हुँदैनौँ। सायमीसहित थोरै साथीहरू पार्टीमा प्रवेश गर्नुभए पनि उहाँहरूको पछाडि लाखौँ जनता छन्। अब उपत्यकामा हामी नै नम्बर एक पार्टी बन्छौँ।”
उहाँले उपत्यकाको वैश्विक सम्पदा संरक्षण र सम्बर्धनसँगै यहाँको मौलिक संस्कृति र पहिचानको पक्षमा सायमीसहितका साथीहरू अगाडि बढेको महसुस गरेको बताउनुभयो।
कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहितका नेताहरू नेकपामा समाहित हुनुभएको छ। एकता सहमतिपत्रमा नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र सायमीले हस्ताक्षर गर्नुभएको छ।
सामाजिक अभियन्ताका रूपमा परिचित सायमी काठमाडौंका रैथाने समुदायका मुद्दा र संस्कृति संरक्षणका लागि विभिन्न आन्दोलनमा सक्रिय हुनुहुन्छ। उहाँ यसअघि काठमाडौं महानगरपालिकाको मेयर चुनावमा पनि प्रतिस्पर्धा गर्नुभएको थियो।
एक करोड खर्चेर राजावादीको आन्दोलनमा सहभागी हुन एसएमएस पठाउने निर्देश पक्राउ
काठमाडौं । राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै सामूहिक एसएमएस पठाएको आरोपमा चितवनका व्यवसायी निर्देश सेढाईं पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनले नेपाल टेलिकमको गेटवे प्रयोग गरी 'एटी अलर्ट' नाममा करिब ५० लाख एसएमएस पठाएका थिए। सेढाईंले दुई दूरसञ्चार कम्पनीसँग सम्झौता गरी एक करोड रुपैयाँ खर्चेर म्यासेज पठाएको स्वीकार गरेको प्रहरीको भनाइ छ। उनी कार र पेट्रोल पम्पको व्यवसाय गर्छन्।
नेपाली कम्युनिष्ट पार्टी र नागरिक अगुवा सुमन सायमी नेतृत्वको एकता पक्षधर समूहबीच एकता
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष सुमन सायमीको नेतृत्वमा रहेको एकता पक्षधर समूहबीच पार्टी समायोजन भएको छ । राष्ट्रिय सभा गृहमा आयोजित पार्टी समायोजन कार्यक्रममा सायमीसहितको समूहबीच एकता भएको हो । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र चर्चित अभियन्ता सायमीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सायमीसँगै विभिन्न नेताहरु नेकपामा समायोजन भएका छन् ।
नयाँ कीर्तिमान: सुनको मूल्य तोलामा २ लाख ७८ हजार पुग्यो
काठमाडौँ — नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। महासंघका अनुसार बुधबार १० ग्राम सुनको मूल्य २ लाख ३८ हजार ३४० रुपैयाँ कायम भएको छ। यसैदिन चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा ५ हजार ३४० रुपैयाँ रहेको चाँदी बुधबार बढेर ५ हजार ६५५ रुपैयाँ पुगेको छ।
नेपाली कांग्रेस सभापतिमा गगन थापाको एकल उम्मेदवारी
काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन थापा ले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। आइतबारदेखि भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत थापाले सभापतिमा मनोनयन दर्ता गराएका हुन्। निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा थापाको मात्र उम्मेदवारी परेको छ। अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको निर्वाचन समितिले जनाएको छ। सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माबीच बुधबार बिहान वार्ता भए पनि सहमति जुट्न सकेन। निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवारी दर्ताको समय सकिएको छ र दिउँसो १ बजे उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ।
ज्ञानेन्द्र शाहको पैसामा दूरसञ्चार ऐन उल्लङ्घनको आरोप: राजावादी प्रदर्शनका लागि लाखौँ एसएमएस
काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष लगानी र समर्थनमा राजतन्त्रवादी समूहहरूले काठमाडौंमा समय–समयमा प्रदर्शन गर्दै आएको आरोपबीच, ३० पुसमा हुने भनिएको राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै एकै दिनमा करिब १० लाख एसएमएस पठाइएको खुलासा भएको छ। यस कार्यलाई दूरसञ्चार ऐनको ठाडो उल्लङ्घन भन्दै कानुनी तथा प्राविधिक वृत्तमा गम्भीर प्रश्न उठेका छन्। प्राप्त विवरणअनुसार, ती एसएमएसहरू ‘आकाश एसएमएस’ र ‘एसआई अलर्ट’ नामक एसएमएस गेटवे प्रयोग गरी ‘वेदव्यास इन्टरप्राइजेज प्रालि’ को नाममा पठाइएको बताइएको छ। सेवा प्रदायक पक्षले भने सम्झौताविपरीत राजनीतिक र विवादास्पद सन्देश पठाइएपछि प्लेटफर्म ब्लक गरिएको जनाएको छ। तर, यति ठूलो संख्यामा मोबाइल नम्बरहरू कहाँबाट प्राप्त भए भन्ने प्रश्न अझै अनुत्तरित छ। सूचना प्रविधि विज्ञहरूका अनुसार एकै दिनमा करिब १० लाख वैध मोबाइल नम्बरको पहुँच सामान्य व्यक्तिको पहुँचभन्दा बाहिरको विषय हो। यस्तो डेटा प्रायः ठूला बैंक, दूरसञ्चार कम्पनी, ई–कमर्स प्लेटफर्म वा सरकारी निकायहरू बाहेक अन्य स्रोतबाट प्राप्त हुन अत्यन्त कठिन हुने उनीहरूको भनाइ छ। यसैबीच, अधिवक्ताहरूले यो घटनालाई नागरिकको गोपनीयता अधिकार, विज्ञापनसम्बन्धी कानुन तथा दूरसञ्चार ऐनको उल्लङ्घन भएको ठहर गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनीहरूका अनुसार, राजनीतिक उद्देश्यका लागि व्यक्तिगत डाटा प्रयोग गर्नु गम्भीर अपराधको श्रेणीमा पर्छ। उक्त घटनासँगै नेपाल दूरसञ्चार प्राधिकरण र केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले समेत घटनाको अध्ययन र आवश्यक अनुसन्धान अघि बढाउने संकेत दिएका छन्। स्रोतहरूका अनुसार, डाटा स्रोत, एसएमएस गेटवे प्रयोग, आर्थिक लेनदेन र संलग्न व्यक्तिहरूमाथि विस्तृत छानबिन हुने सम्भावना छ। राजनीतिक विश्लेषकहरूका अनुसार, पछिल्लो समय राजावादी गतिविधि पुनः सक्रिय हुँदै जानु र त्यसका लागि विवादास्पद माध्यम प्रयोग हुनु लोकतान्त्रिक अभ्यासका लागि चिन्ताजनक विषय हो। यद्यपि, पूर्वराजा ज्ञानेन्द्र शाह वा राजावादी पक्षबाट यस विषयमा औपचारिक प्रतिक्रिया भने आएको छैन।
नेपाली कम्युनिष्ट पार्टी र सुमन सायमीसहितको समूहबीच एकता कार्यक्रम आज
काठमाडौं । चर्चित सामाजिक अभियन्ता सुमन सायमीसहितका नेताहरू आज नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुँदैछन् । नेकपा र अभियन्ता सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो १ बजे भृकुटिमण्डपस्थित राष्ट्रिय सभागृहमा एकता सभा आयोजना गरिएको सुमन सायमीले जानकारी दिएका छन् । सायमी राष्ट्रिय मुक्ति पार्टी नेपालबाट अलग भएर नेकपासँग एकता गर्न लागेका हुन् । उनी आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार बन्ने तयारीमा छन् । २०७९ को स्थानीय निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए र दोस्रो स्थान प्राप्त गरेका थिए । चुनावपछि उनी स्वतन्त्र अभियानमा सक्रिय भएका थिए । काठमाडौंको कालीमाटीका स्थानीय तथा रैथाने सुमन सायमी काठमाडौंका न्यूार समुदायमा चर्चित छन् । रैथानेका मुद्दा, संस्कृति संरक्षण तथा विभिन्न सामाजिक आन्दोलनमा उनले नेतृत्व गर्दै आएका छन् । पछिल्लो समय सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा आवद्ध भएका थिए र सो पार्टीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
पर्वतको ठाना गाउँमा ‘एक घर एक धारा’ विस्तार
पर्वत । मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’ निर्माण गरिएको छ । सो गाउँमा खानेपानीको चरम अभाव रहँदै आएको थियो । बस्तीभन्दा करिव एक घण्टा तल रहेका रतीखोला र मोदीखोलाबाट पानी ल्याउनु पर्दथ्यो । ठानागाउँमा सञ्चालित ठाना खानेपानी तथा सरसफाइ परियोजनाबाट धारा निर्माण गरिएको हो । यहाँ ८२ घरपरिवार छन् । नेपाल रेडक्रस सोसाइटी कास्कीको व्यवस्थापनमा युनिका फाउन्डेसन दी नेदरल्यान्डको आर्थिक सहयोग र स्थानीय मोदी गाउँपालिकाको साझेदारी तथा लाभग्राहीहरुको श्रमदानमा आयोजना सम्पन्न भएको हो । युनिका फाउन्डेसन दी नेदरल्यान्डको रु ८३ लाख ३४ हजार ७२०, मोदी गाउँपालिकाको रु २४ लाख ९६ हजार १२९, समुदायको रु २७ लाख ७८ हजार ७७३ बराबरको श्रमदान गरी रु एक करोड ३६ लाख १० हजार ६२२ को लागतमा आयोजना सम्पन्न भएको ठाना खानेपानी तथा सरसफाइ परियोजनाका अध्यक्ष कमलबहादुर केसीले जानकारी दिए । उक्त आयोजनाबाट ७८ व्यक्तिगत धारा र चारवटा सामुदायिक धारा जडान गरिएको छ । आयोजनाबाट प्रतिदिन ३८ हजार ७८९ लिटर पानी आपूर्ति गर्न सकिने भएको छ । बस्तीभन्दा माथि साढे दुई किलोमिटर दूरीमा रहेको कमल स्वारामा रहेको मुहानबाट जिआई र प्लास्टिक पाइप गरी एक फिल्टर र एक वितरण ट्याङ्कीमार्फत घरघरमा पानी वितरण गरिएको छ । खानेपानी अभावका कारण स्थानीयवासीहरुको बसाइँसराइ बढ्दै गएको र गाउँमा बस्नेहरुले पनि सास्ती खेप्नु परेको खबर पाएपछि खानेपानी आयोजना सञ्चालन गर्नका लागि आर्थिक सहयोग गरिएको युनिका फाउन्डेसन दी नेदरल्यान्डका कार्यकारी प्रमुख रमेशराज पौडेलले बताए ।
देशभर आठ लाख बालबालिका विद्यालयबाहिर
काठमाडौं । देशभर पाँचदेखि १७ वर्ष उमेर समूहका करिब सात लाख ७० हजार बालबालिका विद्यालयबाहिर रहेका छन् । तीमध्ये ५० प्रतिशत कहिल्यै विद्यालय नगएका र बाँकी ५० प्रतिशतले बिचैमा विद्यालय छाडेका राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको नेपालमा शिक्षा र समावेशिता प्रतिवेदनअनुसार विद्यालय नजाने र छाड्ने बालबालिका विकट जिल्ला तथा न्यून आयस्तरका सीमान्तकृत समुदायमा बढी छन् । विद्यालयबाहिर रहने जोखिम पाँच वर्षको उमेर र १०–१४ वर्ष (माध्यमिक तह प्रवेश) मा उच्च देखिएको छ । विशेष गरी कक्षा ५ पछि विद्यालय छाड्ने प्रवृत्ति बढ्दो छ । कार्यालयका निर्देशक विनोदशरण आचार्यका अनुसार मधेशी, दलित तथा भाषिक–अल्पसङ्ख्यक समुदायका करिब तीनचौथाइ बालबालिका कहिल्यै विद्यालय नगएका समूहमा पर्छन् । पाँच वर्षभन्दा माथिको साक्षरता दर ७६.२ प्रतिशत रहेको छ, जसमा पुरुष ८३.६ र महिला ६९.४ प्रतिशत छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार २९ प्रतिशत घरपरिवारमा १८ वर्षमुनिका बालबालिका छैनन् । २०५८ मा ४६ प्रतिशत रहेको बालबालिकाको अनुपात २०७८ मा घटेर ३४ प्रतिशत पुगेको छ । हाल नेपालमा ९८ लाख ६९ हजार ५८३ बालबालिका छन् । प्रदेशगत रूपमा घरपरिवारमा बालबालिका रहने अनुपात कर्णालीमा सबैभन्दा बढी (८१%) र बागमतीमा सबैभन्दा कम (६२%) रहेको तथ्याङ्क कार्यालयले जनाएको छ ।
झापामा इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउनुपर्ने
झापा । जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार जिल्लाभित्र इजाजत लिएर राखिएका सबै प्रकारका हातहतियार तथा त्यसमा प्रयोग हुने गोलीगठ्ठा आफ्नो पायक पर्ने नजिकको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाइसक्नुपर्नेछ । उनले निर्वाचन सम्पन्न भएको २१ दिनपछि सम्बन्धित धनीले कार्यालयमा उपस्थित भई आवश्यक कागजातसहित हातहतियार फिर्ता लिन सक्ने व्यवस्था गरिएको जानकारी दिए । शान्तिपूर्ण र सुरक्षित निर्वाचन राष्ट्रको गौरव भएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयले यस कार्यमा सम्पूर्ण जिल्लावासी, नागरिक समाज तथा सरोकार भएकाबाट पूर्ण सहयोगको अपेक्षा गरेको छ ।
आज अमेरिकन डलर र युरोपियन युरोको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७३ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ र बिक्रीदर १९४ रुपैयाँ ८१ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८० रुपैयाँ ३८ पैसा र बिक्रीदर १८१ रुपैयाँ १४ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०४ रुपैयाँ १७ पैसा, सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ०६ पैसा र बिक्रीदर नौ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६४ पैसा र बिक्रीदर २० रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३७ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५ रुपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४९ पैसा र बिक्रीदर २२ रुपैयाँ ५८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ ९३ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ८९ पैसा कायम गरेको छ । बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ र बिक्रीदर ३८३ रुपैयाँ ६० पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ ।
आजकाे माैसम: आंशिक बदलीदेखि हुस्सु/कुहिरोसम्म
काठमाडौं । तराईका क्षेत्रमा आज बिहानैदेखि हुस्सु/कुहिरो लागिरहेको छ । जल तथा मौसम विज्ञान विभागले घाम लागेपछि दिउँसो हुस्सु र कुहिरो हट्ने बताएको छ । विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति तराई भूभागका केही स्थानमा हुस्सु रहने जनाएको छ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
दुई फर्मलाई नगद जरिवाना
काठमाडौँ । नियमित रूपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले विएस धवलागिरि ट्रेडर्सलाई रु १० हजार र सिन्धु मेटेरियल्स प्रालिलाई रु १५ हजार जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को विभिन्न दफामा उल्लेख भएका प्रावधान विपरीतका गतिविधि देखिएपछि ती दुई वटा फर्मलाई कारबाहीको दायरामा ल्याइएको विभागले जनाएको छ । विभागले कूल १४ वटा फर्ममा अनुगमन गरेको भएपनि अन्य १२ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले पछिल्ला दिनमा निर्माणजन्य सामग्री बिक्री गर्ने फर्महरूमा अनुगमन गर्दै आएको छ । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकार भएका निकायको सहभागितामा विभागले नियमित बजार अनुगमन गरिरहेको र कैफियत देखिएकालाई कानुन बमोजिम कारबाही, नगद जरिवाना गरिरहेको उल्लेख गरेको छ ।
१७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्नका (एकलसहित) उम्मेदवारले नाम फिर्ता लिएका हुन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा यही पुस २८ गते बिहान १०ः०० बजेदेखि ४ः०० बजेसम्मको समय निर्धारण गरिएको थियो । नाम फिर्ता लिने विषयमा आयोगले सूचना प्रकाशित गरी जानकारी गराएको थियो । आयोगले उम्मेदवार आफैँ उपस्थित भएर वा वारेसमार्फत पनि नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको थियो । तोकिएको समयसीमाभित्र एकलसहित १७ चुनाव चिह्नका १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। उनका अनुसार फिर्ता लिनेमा एकल चुनाव चिह्नबाट बन्द सूचीमा नाम पेस गर्ने राजनीतिक दलका उम्मेदवारसमेत छन् । नाम फिर्ता लिनेमा सबैभन्दा बढी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ११० उम्मेदवार रहेका सहायक प्रवक्ता जिसीले बताए । उक्त पार्टी अन्य दलसँग एकता गरेकाले तयसअघि पेस भएका सबै उम्मेदवारको नाम बन्दसूचीबाट फिर्ता लिएका उनको भनाइ छ । यसैगरी जनमत पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, जनादेश पार्टी नेपालका छ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पाँच जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका चार/चार जना तथा नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई/दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट जाँतो एकल चुनाव चिह्नका एक उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । यसैगरी गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट एक/एक जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीका लागि यही पुस १३ र १४ गते दलहरूले आयोगमा नाम पेस गरेका थिए । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था गरिएको छ । त्यसका लागि आयोगले पछिल्लो जनगणनाका आधारमा जातीय प्रतिनिधित्वसमेत हुने गरी आवश्यक व्यवस्था गरेको छ ।
देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी पूरा
तनहुँ । माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले मेलाको सम्पूर्ण तयारी सकिएको जानकारी दिँदै यस वर्ष तीन लाखले मेला भर्ने अनुमान गरिएको उल्लेख गरे । ज्योतिषीय गणना अनुसार सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको दिनलाई मकर सङ्क्रान्ति (माघे सङ्क्रान्ति) भनिन्छ । माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले धार्मिक पुण्य प्राप्ति हुने मान्यता र जनविश्वास रहिआएको बरालले बताए । साथै पवित्र त्रिशूली नदी र कालीगण्डकी नदीको देवघाटमा मिलन पनि मकर सङ्क्रान्तिको दिन भएको विश्वास मेलाअवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र फर्कँदा देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको बरालले जानकारी दिए । नवलपुरतर्फका भक्तजनहरू हर्दीको कालीगण्डकीको पुल तरेर देवघाट आउन सक्छन् । साथै मुग्लिनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिँधै देवघाटधाम प्रवेश गर्ने र फर्कँदा सोही बाटोबाट फर्किने व्यवस्था मिलाइएको छ । चिवनतर्फबाट आउने सवारीसाधनको पार्किङका लागि साना सवारीसाधनलाई सीताराम संस्कृत माविको परिसरभित्र व्यवस्था मिलाइएको छ भने ठुला सवारीसाधन (बस, मिनीबस, माइक्रो) आदिका लागि दाहसंस्कार स्थल प्रवेशद्वार (चन्द्रलोक स्वर्गद्वार) बाट उत्तर–पूर्वक्षेत्रमा रहेको बसपार्कमा पार्किङको व्यवस्था मिलाइएको बरालले जानकारी दिए । तनहुँतर्फ पैदल मार्गबाट प्रवेश गर्दा पुलको मुख, हरिहर चोक, हरिहर मन्दिर, गलेश्वर चोक हुँदै वेणीसङ्गम र फर्कँदा वेणीसङ्गम, गलेश्वर आश्रम, गलेश्वर चोक, चक्रवर्ती मन्दिर, महेश सन्यास आश्रम, टाउन चोक, हरिहर चोक हुँदै पुलको मुख निस्कने मार्ग कायम गरिएको छ । देवघाट क्षेत्र विकास समितिले तीर्थयात्रीको यात्रा सरल, सहज, सुविधाजनक र सुरक्षित होस् भन्ने उद्देश्यले तनहुँ, चितवन र नवलपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भरतपुर महानगरपालिकाका प्रमुखसँग समन्वय गरेको समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले जानकारी दिनुभयो । उक्त दिन तीन सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ । तीर्थस्थलमा धुम्रपान, मांस, मदिरा एवं सुर्तीजन्यपदार्थ निषेध गरिएको छ । ती वस्तुहरू बिक्रीवितरण, ओसारपसार तथा सेवन नगरी सहयोग पुर्याउन समितिका अध्यक्ष डा लौडारीले आग्रह गरे । “वेणीमा स्नान गर्ने क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ । सो क्षेत्रभन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने सङ्केत दिइएको छ”, उनले भने । आज बिहान देवघाटधामका विभिन्न आश्रमका पीठाधीशहरूको उपस्थितिमा धार्मिक विधि अनुसार वेणीसङ्गममा लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिने समितिले जनाएको छ ।
आज काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीनवटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भंगाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने जानकारी गराएको छ । फिडरको भार (लोड) मिलाउन तथा नयाँ पासिकोट फिडर निर्माण गरी ब्रेकर तथा भूमिगत तार चार्ज गर्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको हो । सूचना अनुसार गणेशस्थान फिडरमा आज बिहान ११ः३० बजेदेखि अपराह्न १ः३० बजेसम्म भोटे चोक, गणेशस्थान आसपासका क्षेत्रका बिजुली कटौती हुनेछ । भंगाल फिडरको तल्लो भंगाल, धोविखोला करिडोरलगायत क्षेत्रमा दिउँसो ११ः३० बजेदेखि अपराह्न १ बजेसम्म बिजुली कटौती हुनेछ । शिवपुरी फिडरको बूढानीलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोललगायत क्षेत्रमा दिउँसो १ बजेदेखि २ बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा सूचनामा उल्लेखित समयभन्दा अगाडि नै बिजुली नियमित हुने प्राधिकरणले जनाएको छ ।

