मधेशमा माओवादीका २ र समाजवादीका १ मन्त्री थपिदै

जनकपुरधाम । मधेश सरकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट एक जना गरी ३ जना मन्त्री नियुक्त गर्न लागेका हुन् ।

उनीहरुको आजै शपथ ग्रहणको तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मन्त्री बनाउन लागिएको छ ।

११ मन्त्रालय रहेको मधेश सरकारमा मुख्यमन्त्री सहित जनता समाजवादी पार्टीको ४, एमालेको ४, एकीकृत र माओवादी केन्द्रको १÷१ मन्त्रालय छन् । माओवादी केन्द्रले उद्योग तथा पर्यटनमन्त्री सुनिता साहलाई फिर्ता बोलाएर २ जना मन्त्री नियुक्त गर्न लागेको हो ।

मुख्यमन्त्रीसँग जनमतले छाडेको श्रम तथा यातायात र लोकतान्त्रिक समाजवादी पार्टीले छाडेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिन बाँकी छ ।

डा. शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई बिहीबार राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका हुन् ।   राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा उनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  शाक्यलाई मन्त्रिपरिषद् बैठकले मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।  राष्ट्रिय सभाका तीन सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा २०७५ पुस १६ गते शाक्य इजरायलका लागि राजदूत नियुक्त भएकी थिइन्। मनोनीत कोटामा यसअघि एमालेकै विमला राई पौडेल थिइन् । उनको ६ वर्षे कार्यकाल फागुन २० गते पूरा भएको थियो ।

सल्यान बस दुर्घटना : उपचारका क्रममा एकजनाको मृत्यु

दाङ । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विकको उपचारका क्रममा बुधबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए । दाङबाट पूर्वीरुकुममतर्फ जाँदै गरेको रा१ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यान बाघचौर नगरपालिका–२, ठिनबाङ्ग खोलाको पुलबाट खसेको थियो । विक सो दुर्घटनाग्रस्त बसका बसधनी हुन् ।  बस दुर्घटनामा परी २२ जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते चारलाई कोहलपुर अस्पताल पठाइएको थियो । अरु घाइतेको दाङमा उपचार भइरहेको छ । सो दुर्घटनामा परी गम्भीर घाइते रहेका तीनजना यात्रुको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भएका अधिकांश उपचारपछि घर फर्किसकेका छन् । रासस

जनकपुरमा नौ महिनाको शिशुसँगै जल्दै गरेकी महिलाको शव प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं । जनकपुरमा जलिरहेको अवस्थामा एक महिलाको शव फेला परेको छ । प्रहरीले धनुषाको पुलचोकमा रहेको रेल्वे लिक नजिक जलिरहेको एक महिलाको शव फेला पारेको हो । शव महोत्तरीको मनरा शिसवा नगरपालिका–२ कि २३ वर्षीया प्रियंका महतोको रहेको खुलेको धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए । बुधबार राति शव जलिरहेको देखेपछि प्रहरीले शव नियन्त्रणमा लिएको हो । महिला जलेको ठाउँमा पेट्रोलको बोतल पनि फेला परेको छ। प्रहरीले उनी आफैँले पेट्रोल छर्केर आत्मदाह गरेको हो वा अन्य कसैले जलाएर भागेको हो भन्नेबारे अनुसन्धान सुरु गरेको एसपी तिवारीले बताए । महिलासँगै नौ महिनाको बालकको पनि जलेल मृत्यु भएको छ । प्रियंका महोत्तरीबाट रामनवमीमा जनकपुरको राममन्दिर दर्शनका लागि जान्छु भनेर हिँडेको खुलेको प्रहरीले जनाएको छ । घरमा श्रीमानसँग उनको झगडा भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ ।

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ३८ हजार ६०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन तोलामा १ लाख ३९ हजार २०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर तोलाको १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको १७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

सङ्घीय संसद्को वेबसाइट ह्याक ! लेखियो -‘ह्वाट इज चाइना नोथिङ’

काठमाडौं ।सङ्घीय संसद्को वेबसाइट ह्याक गरी अनाधिकृत पोस्ट गरेको पाइएको छ।  बिहीबार सङ्घीय संसद्को वेबसाइट ह्याक गरी अनाधिकृत पोस्ट गरिएको हो। वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका छन् । फोटोमा लेखिएको छ– ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना’ । तर अहिले उक्त सामाग्री हटाइएको छ । अहिले वेबसाइट सङ्घीय संसद् सचिवालयकै नियन्त्रणमै रहेको छ । वेबसाइट ह्याकरबाट बचाउन आइटी टिमले काम गरिरहेको बताइएको छ ।

पोखरामा जिप र माइक्रोबस ठोक्कियो, ८ चिनियाँ नागरिक घाइते

पोखरा । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो जिप र ड्याम साइडबाट रत्नचोक तर्फ जाँदै गरेको हाइस माइक्रोबस आज बिहान ४ः४० बजे राष्ट्र बैंक चोकमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा माइक्रोबसमा सवार १३ जना चिनियाँ नागरिकहरुमध्ये ८ जना घाइते भएका हुन् ।घाइतेहरुको अवस्था मध्यम रहेको र उनीहरुलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ  स्कार्पियो चालक धादिङको नेत्रावती–१ बोराङ बस्ने ४३ वर्षीय राज कुमार अधिकारी र माइक्रो बस चालक पोखरा–९ पृथ्वीचोक बस्ने ४१ वर्षीय तुल बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार स्कार्पियोमा चालकमात्र थिए। दुर्घटनामा पार्किङमा रोकिराखेको बा २१ प ११५२ नम्बरको स्कुटर र श्याम सुन्दर बरालको घरमा रहेको मनि चेन्जरको सटर र वालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

पूर्वमुख्यसचिव शाक्यको निधन

काठमाडौँ ।पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्षसमेत रहनुभएका शाक्यको क्यान्सर रोगको उपचारका क्रममा बुधबार ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षका भएका थिए। उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थिए । नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत जिम्मेवारी बहन गरेका थिए । स्व.शाक्यका दुई छोरी र दुई छोरा रहेका छन् भने श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन हो। आज साँझ ५ बजेसम्म दाबी पेस गर्ने समयसीमा रहेको छ।  यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुखले थप दुई दिनको समय दिएका थिए। उक्त दुई दिनको समय आज साँझ सकिनेछ।  सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । तर दुईमध्ये कसैका पक्षमा पनि बहुमत सदस्य देखिएका थिएनन् । 

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ । आजको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

खाडीमा भारी वर्षापछि बाढी : दुबई र ओमनमा २० जनाको मृत्यु

काठमाडौं । खाडी मुलुकहरुमा भारी वर्षा पछि बाढी आउँदा मानव जीवन प्रभावित बनेको छ । अचानक आएको घातक बाढीले विश्वको दोस्रो व्यस्त विमानस्थल दुबई विमानस्थल अस्तव्यस्त भएको छ । थुप्रै उडानहरु अवरुद्ध भएका छन् । भीषण बाढी र डुवानका कारण यात्रुहरुलाई नआउन भनिएको छ । असिना पानीसहितको भीषण वर्षाले आबुधावी विमानस्थलसहित केही शहरहरु डुबानमा परेका छन् । दुबई विमानस्थलले अकल्पनीय चुनौतीपूर्ण अवस्था सामना गरिरहेको छ। दुबईमा कार बाढीमा फसेपछि एक जनाको मृत्यु भएको छ । अर्को खाडी मुलुक ओमानमा भने आइतबारदेखि हालसम्म बाढीकै कारण १९ जनाको मृत्यु भइसकेको छ। बाढी र वर्षाका कारण हिजो मात्रै दुबई अन्तर्राष्ट्रिय विमानस्थलले २ सय ९० वटा उडान रद्द गरेको फ्लाइट अवोयर डाटाले जनाएको छ । साथै विपद्का कारण थप ४ सय ४० उडानहरु ढिलाई भएको तथ्यांकले देखाएको छ। प्रत्येक महाद्धिपमा उडानहरु संचालन गर्ने प्रमुख हबका रुपमा रहेको दुबई विमानस्थल पूर्ववत अवस्थामा संचालन हुन भने समय लाग्ने बताइएको छ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं  ।आज २०८१ साल वैशाख ६ गते बुधबार सन् २०२४ अप्रिल १८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४१ रुपैयाँ ९३ पैसा र बिक्री दर १४२ रुपैयाँ ५७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १४ पैसा र बिक्री दर १६६ रुपैयाँ ८९ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

विराटनगरको धार्मिक र्‍यालीमा विवाद हुँदा रानी क्षेत्रमा तनाव

विराटनगर । रामनवमीको सन्दर्भ पारेर हिन्दु धार्मिक संघसंस्थाले विराटनगरमा निकालेको धार्मिक र्‍यालीका क्रममा विवाद भएको छ । विराटनगर महानगरपालिका–१५ का युवाले बृहत् मोटरसाइकल र्‍याली निकाल्ने तयारी गरेपछि अर्को समूहले अवरोध गर्न खोज्दा विराटनगर–१५ स्थित रानीमा तनाव सिर्जना भएको हो । सडक अवरोध हुन खोजेपनि प्रहरीले हस्तक्षेप गरेर अवस्था नियन्त्रणमा लिएको छ ।  विराटनगर–१५ र १७ सिमानामा दुई समूहबीच झडपको अवस्था आएपछि प्रहरीले हवाई फायर गरेको थियो । अवस्था बिग्रन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नेपालमा लगानी बढाउन विश्व बैंकलाई अर्थमन्त्री पुनको आग्रह

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनलाई नेपालमा लगानी बढाउन अपिल गरेका छन् । निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् ।  गएराति वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा भएको भेटमा मन्त्री पुनले दुवै उपाध्यक्षलाई नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन आग्रह गरे।  आईडालाई नेपालजस्ता विकासोन्मुख देशहरूका लागि भरपर्दो माध्यम बनाउन सकिने भन्दै मन्त्री पुनले पछिल्लो दशकमा दूरसञ्चार, यातायात, स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धी विश्व समुदायले हेर्न लायक भएको उल्लेख गरे । नेपाल सरकार र १६ विकास साझेदारले सन् २०२१ मा संयुक्त रुपमा अनुमोदन गरेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड)का लागि रणनीतिक कार्ययोजना समावेश गरिएको काठमाडौँ घोषणापत्रको मार्गनिर्देशनमा अघि बढेको जानकारी उनले दिए ।  उक्त घोषणापत्रको अवधारणाअनुसार आगामी वर्ष पहिलो हरित उत्थान र समावेशी विकास कार्र्यक्रम अन्तर्गतको (ग्रिड डिपीसी) कार्यान्वयन गर्न लागिएको उनको भनाइ थियो ।मन्त्री पुनले १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलासययुक्त आयोजना र ६ सय ३५ मेगावाटको दूधकोशी जलासययुक्त आयोजनामा विश्व बैंकले लगानी गर्न देखाएको तत्परताका लागि प्रशंसा गरे।  विश्व बैंकको पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेनसँग भएको भेटमा मन्त्री पुनले नेपालले पूर्वधार विकासलाई उच्च प्राथमिकतामा राखेको बताए । सरकारका तर्फबाट ऊर्जा, यातायात र शहरी पूर्वाधार केन्द्रित योजनामा जोड दिइएको उनको भनाइ थियो । उनले गत साता मात्र दुई ठूला जलविद्युत आयोजनाहरू माथिल्लो अरुण र दूधकोशीको वित्तिय ढाँचाबारे विश्व बैंकका काठमाडौँस्थित अधिकारीहरुसँग भएको राउण्डटेबल बैठक फलदायी भएको भन्दै उनले छिट्टै वित्तीय व्यवस्थापनको टुंगो लाग्ने आशा व्यक्त गरे।दुवै आयोजना नेपालको नेपालको ‘गेम चेन्जर’ आयोजना रहेको भन्दै उनले ती अयोजनाको विकासले नेपालको ठूला पूर्वधार निर्माण क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

महासचिवको नेतृत्वमा माओवादीको टोली चीन प्रस्थान्

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङको नेतृत्वको जम्बो टोली चीन प्रस्थान गरेको छ।  गुरुङको नेतृत्वमा अमृता थापा,परशुराम तामाङ, कमला रोका,अगष्तराज अधिकारी, विकास ढकाल,देवकी कार्की ,जगत बिएस, गीता गहतराज, ईश्वरचन्द्र ज्ञवाली, गायत्री गुरुङ, दिपेन्द्र रोकाया,गणेश शाही र देवेन्द्रकुमार यादव, कृष्णकुमार अधिकारी,ओमनाथ ढुंगाना,प्रतिक कार्की,प्रकाशचन्द्र पाण्डेय,राजन पौडेल,रोशन रिमाल,मणिकुमार साम्पाङ,रुपा महर्जन श्रेष्ठ र सावित्राकुमारी शर्मालगायतका नेताहरु चीन प्रस्थान गरेका हुन् ।  उनीहरु आज बिहान र दिउँसो दुई वटा उडानबाट २० मीनेटको अन्तरमा सिचुआन प्रान्तको छन्तु प्रस्थान गरेका छन् । सिचुआन एअरलाइन्सको उडान नम्बर ३ यु ३९०२ मा पौने १२ बजे १५ जना र १२ः०५ बजे एअर चाइनाको उडान नम्बर सिए ०४३८ मा नौ जना गएका हुन् ।    वैशाख १५ गतेसम्म माओवादी टोली चीनमा रहने छ।  उनीहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले निम्तो दिएको हो ।