नेकपाले सिन्धुपाल्चोक–२ बाट युवराज दुलाललाई उम्मेदवार बनायो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट युवराज दुलाल (शरद)लाई उम्मेदवार बनाएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार दुलाललाई टिकट हस्तान्तरण गरेका हुन् । मनोनयन दर्ता माघ ६ गते हुँदैछ ।

चौतारा साँगाचोकगढीका स्थायी बासिन्दा दुलाल बागमती प्रदेशसभा सदस्य हुन् । उनी २०७४ र २०७९ मा सिन्धुपाल्चोक–२ (क) बाट दुईपटक प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । दुई कार्यकालमा उनी सामाजिक विकास (२०७४–२०७७) र भौतिक पूर्वाधार विकास मन्त्रालय (२०७९–२०८१) को जिम्मेवारीमा रहेर सरकारमा सहभागी भएका थिए ।

यो क्षेत्रमा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका मोहन बस्नेत विजयी भएका थिए । एमालेले यसपटक शेरबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।

यसैगरी, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपाले माधव प्रसाद सापकोटा (सुबोध)लाई टिकट दिएको छ । सापकोटा जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभाका सदस्य हुन् ।

नेकपाले सिन्धुपाल्चोक–१ बाट माधव सापकोटा ‘सुबोध’लाई उम्मेदवार बनायो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट युवा नेता माधव सापकोटा ‘सुबोध’लाई उम्मेदवार बनाएको छ । सापकोटा सोही क्षेत्रका निवर्तमान सांसद हुन् । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान उनलाई टिकट हस्तान्तरण गरेका हुन् । निर्वाचनको मनोनयन दर्ता यही माघ ६ गते हुँदैछ ।

राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरको संसद् भवन जेनजी आन्दोलनमा ध्वस्त भएकाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा अधिवेशन सञ्चालन हुने भएको हो । आजको बैठक बिहान ११ बजे बोलाइएको छ । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र नेपाली कांग्रेसका दिवंगत सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ (१) बमोजिम माघ ४ गते अधिवेशन आह्वान गरेका थिए । गत भदौ ३१ गते १८औं अधिवेशन अन्त्य भएको थियो । यसैबीच, निर्वाचन आयोगले माघ ११ गते राष्ट्रियसभाका १९ सदस्यका लागि निर्वाचन तयारी गरेको छ । एक जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै राष्ट्रियसभामा नयाँ सदस्य आउने अवस्थामा यो अधिवेशनलाई महत्वपूर्ण मानिएको छ ।

रोल्पाबाट वर्षमान पुन 'अनन्त' नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पा जिल्लाबाट नेता वर्षमान पुनलाई टिकट दिएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार पुनलाई टिकट हस्तान्तरण गरेको पुनको सचिवालयले जनाएको छ । रोल्पामा पुन उम्मेदवार नबन्ने हल्ला भ्रामक र तथ्यहीन भएको सचिवालयको भनाइ छ । पुन आधिकारिक उम्मेदवार रहेको स्पष्ट पारिएको छ । उनी २०७४ र २०७९ को निर्वाचनमा पनि रोल्पाबाटै विजयी भएका थिए । रोल्पा तत्कालीन नेकपा माओवादीको प्रमुख आधार इलाका हो ।

कैलाली-५ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रेम आले

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट प्रेम आलेलाई उम्मेदवार बनाएको छ । तत्कालीन एकीकृत समाजवादी पार्टीमा रहेका आले हाल नेकपा प्रवेश गरेपछि उम्मेदवार बनेका हुन् । उनी यसअघि डोटीबाट निर्वाचित भएका थिए ।

नेकपाले पर्वतबाट मनहरी तिमिल्सिनालाई प्रतिनिधिसभा उम्मेदवार बनायो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पर्वत निर्वाचन क्षेत्रबाट मनहरी तिमिल्सिनालाई आगामी प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनाउने भएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शनिबार तिमिल्सिनालाई उम्मेदवारीको टिकट हस्तान्तरण गरेका छन् ।

सर्लाही ३ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार नारायणकाजी श्रेष्ठ 'प्रकाश'

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही जिल्लाका उम्मेदवारहरूको टुंगो लगाएको छ । पार्टीले सर्लाही क्षेत्र नम्बर ३ बाट नारायणकाजी श्रेष्ठ र क्षेत्र नम्बर २ बाट महिन्द्र राय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । क्षेत्र नम्बर ४ बाट शिवपुजन यादवका छोरा अभिनाष यादव तथा क्षेत्र नम्बर १ मा सुरेश काफ्लेको नाम चर्चामा रहेको छ । सर्लाही–२ का उम्मेदवार महिन्द्र राय यादवले २०७९ को निर्वाचनमा राजेन्द्र महतोलाई हराएका थिए ।

गोरखामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार अधिकारी र न्यौपाने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा टिकट वितरण सुरु गरेको छ । नेकपाले गोरखा क्षेत्र नम्बर १ बाट हरिराज अधिकारी (कुमार) र क्षेत्र नम्बर २ बाट लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गत निर्वाचनमा माओवादीले कांग्रेससँग तालमेल गर्दै क्षेत्र १ मा कांग्रेसका राजेन्द्र बजगाईंलाई समर्थन गरेको थियो भने क्षेत्र २ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बनेका थिए ।

रुकुम पश्चिमबाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार गोपाल शर्मा 'अनल'

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पश्चिमबाट गोपाल शर्मा 'अनल'लाई उम्मेदवार बनाएको छ । ०७४ सालको निर्वाचनमा प्रदेशसभा सांसद निर्वाचित भएका शर्मा कर्णाली प्रदेश सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । यो निर्वाचनमा उनी पहिलोपटक आफ्नै राजनीतिक गुरु जनार्दन शर्मा ‘प्रभाकर’सँगै प्रतिनिधिसभा चुनाव लड्दै छन् ।

नेपाली कम्युनिष्ट पार्टीले जुम्लाबाट नरेश भण्डारीलाई उम्मेद्वार बनायो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जुम्लाबाट नरेश भण्डारीलाई उम्मेदवार चयन गरेको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शनिबार भण्डारीलाई टिकट हस्तान्तरण गरेका छन् । जिल्ला पार्टीले उनलाई एकल सिफारिस गरेको थियो । भण्डारीले सामाजिक सञ्जालमा टिकटको तस्वीर सार्वजनिक गर्दै उम्मेदवारीको जानकारी दिएका छन् । उनी यसअघि २०६४ मा जुम्लाबाट संविधानसभा सदस्य, २०७४ मा कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भएका थिए र प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । आज यहाँ पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले राजनीतिक दलहरू निर्वाचनका लागि सम्पूर्ण रूपमा तयार हुनुपर्ने बताउँदै संसद् पुनःस्थापनाको पछाडि नलाग्न जोड दिनुभयो । निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सरकारलाई आग्रह गर्दै पूर्वप्रधानमन्त्री दाहालले देशमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलता समाधान गरी सुशासन कायम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले समान वैचारिक दृष्टिकोण भएका बाम शक्तिबीच ध्रुवीकरण प्रारम्भ भएको बताउँदै केही दिनभित्रै अन्य पार्टीसँग पनि एकता गरिने जानकारी दिनुभयो । पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीको राजनीतिक दर्शनमा समाजवादी कार्यक्रम प्रष्ट रहेकाले जनताको भरोसा तथा विश्वास बढ्दै गएको बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक विचार र सिद्धान्त मिल्ने दलहरूलाई एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने उल्लेख गर्नुभयो । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत् बज्राचार्यको नेतृत्वमा आएको टोलीलाई नेकपामा स्वागत गरिएको थियो ।

जसपा नेपालका केन्द्रीय उपाध्यक्षसहितका सयौँ जना नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विद्युत बज्राचार्यसहित सयौँ नेता–कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले नवनियुक्त सदस्यहरूलाई स्वागत तथा अभिनन्दन गर्नुभयो । विद्युत बज्राचार्य जसपा नेपालको प्रभावशाली नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँसहित ठूलो सङ्ख्यामा नेता–कार्यकर्ताको नेपाली कम्युनिस्ट पार्टीमा प्रवेशले पार्टीको सङ्गठनलाई थप सुदृढ बनाउने विश्वास नेतृत्वले व्यक्त गरेको छ । यस प्रवेशले नेपाली कम्युनिस्ट पार्टीको चुनावी तयारी र सङ्गठन विस्तारमा नयाँ ऊर्जा थपिएको बताइएको छ ।

भरतपुरका लागि स्मरणीय काम गरेर विदा लिँदै महानगर प्रमुख रेनु दाहाल

चितवन । नौ वर्षअघि ‘प्रचण्डकी छोरी’का रूपमा चिनिएकी रेनु दाहालले भरतपुर महानगरपालिकाको प्रमुखको रूपमा दुई कार्यकाल पूरा गर्दै बिदा हुन लागेकी छन् । उनको नेतृत्वमा भरतपुरको मुहार फेरिएको छ र उनी विकास तथा समृद्धिको पर्याय बनेकी छन् । दाहालले भरतपुरलाई जीर्ण सडक, फोहर, बाढी र सुक्खाग्रस्त अवस्थाबाट मुक्त गर्दै आधुनिक, हरियाली र उज्यालो सहर बनाएकी छन् । प्रमुख उपलब्धिहरूमा : १,०७२ किमी नयाँ कालोपत्रे सडक निर्माण, छलेन सडक, बाइपास र रिङरोड विस्तार । सडक बत्ती, हाइमास्ट र भूमिगत विद्युत् तारबाट झिलिमिली सहर । नारायणी तटबन्ध, २६ किमी मेसजाली र भूमिगत सिँचाइबाट बाढी तथा जनावरको जोखिम हटाइएको । आन्तरिक आम्दानी १ अर्ब ४० करोड पुग्नु, करिब १०० नयाँ विद्यालय भवन र सार्वजनिक शिक्षामा सुधार । स्वास्थ्य क्षेत्रमा २९ वटै वडामा स्वास्थ्य संस्था, भरतपुर अस्पतालमा विशेष सुविधा र छोरीहरूका लागि जीवन बिमा । कृषिमा दूध अनुदान, सिँचाइ सुविधा र कृषि उपकरण वितरण । पर्यटन प्रवर्द्धनका लागि भरतपुर भ्रमण वर्ष २०२४, खोला सौन्दर्यकरण र सी–बीच विकास । रेनु दाहालले आफ्नो निजी जीवनलाई पन्छाएर भरतपुरको विकासमा निरन्तर खटिएको बताउँदै बदलिएको भरतपुरलाई आफ्नो जीवनको स्वर्णिम उपलब्धि मानेकी छन् । भरतपुरवासीले उनको योगदानलाई चिरस्मरणीय रूपमा स्मरण गर्ने विश्वास व्यक्त गरिएको छ ।

नेपाली कम्युनिष्ट पार्टी चुनावी मैदानमा: टिकट प्राप्त गरेका उम्मेद्वारहरु निर्वाचन क्षेत्रमा

काठमाडौं । सबैजसो दल आन्तरिक विवादमा अल्झिएका बेला नेपाली कम्युनिस्ट पार्टी भने चुनावी मैदानमा पुगेको छ । अधिकांश उम्मेदवारले टिकट बुझेका र सम्बन्धित निर्वाचन क्षेत्रमा अभियानसमेत थालिसकेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र टिकट वितरणको विषयमा विवाद रहे पनि नेपाली कम्युनिस्ट पार्टीले भने सबैजसो उम्मेदवार टुंगो लगाएर फिल्डमा खटाइसकेको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार चितवनमा नेकपाबाट उम्मेदवार बन्नेलाई टिकट बाँडिसकेको बताउनुभएको थियो । “मैले त आफ्नो दलको तर्फबाट हिजोदेखि टिकट बाँड्न सुरु पनि गरिसकेँ । हिजो काठमाडौंमा टिकट बाँडेर आएको,” उहाँले भन्नुभयो । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ को निर्वाचनका लागि देशैभर अभियानात्मक कार्यक्रम सुरु गरिसकेको छ ।

कालीकोटमा नदीमा जिप खस्दा तीन जनाको मृत्यु

कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेको कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए । उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२ का नवराज शाही रहेका छन् । मृतक तीनै जना सेरी पान्तडी सडक खन्ने काममा संलग्न थिए । भीरबाट तीन वटै शव निकालिएको प्रहरी प्रमुख खत्रीले बताए । उनका अनुसार गाडी सडकबाट ५०० मिटर तल तिला नदीको किनारामा टुक्राटुक्रा भएको अवस्थामा छ । जिप चालक प्रहरीको सम्पर्कमा आएको तर सोधपुछ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर आएपछि सदरमुकाम मान्मबाट प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख खत्रीसहित जनपद प्रहरी, सशस्त्र प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो ।

मुस्ताङमा हिउँचितुवाको आतङ्क: एकै किसानका ३६ भेडाच्याङ्ग्रा सखाप

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा हिउँचितुवाले आक्रमण गर्दा १७ वटा भेडा मरेका छन्। स्थानीय सन्तोष परियारको खोरमा पसेर हिउँचितुवाले आक्रमण गर्दा ठुलो सङ्ख्यामा भेडा मरेका हुन्। शीतोष्ण बागवानी विकास केन्द्र पछाडि रहेको परियारको परम्परागत खोरको कच्ची ढोका र बार तोडेर हिउँचितुवा भित्र पसेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ। एक्यापका कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार बिहीबार बिहान भएको यस घटनाबाट परियारलाई करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। पीडित किसान परियारको पशुधनमाथि हिउँचितुवाले आक्रमण गरेको यो दोस्रो पटक हो। यसअघि गत मङ्सिर २६ गते पनि हिउँचितुवा खोरमा पस्दा उनका १९ वटा च्याङ्ग्रा मरेका थिए। करिब ३५ दिनको अन्तरालमा भएका दुई आक्रमणबाट परियारका कुल ३६ वटा भेडाच्याङ्ग्रा मरेका छन्, जसबाट उनलाई ११ लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको छ। २०० भन्दा बढी भेडाच्याङ्ग्रा पालेका परियारले अघिल्लो आक्रमणपछि गोठ सारे पनि कमजोर पूर्वाधारका कारण पुनः क्षति बेहोर्नुपरेको छ। एक्यापका कर्मचारीले घटनास्थलको निरीक्षण गरी क्षतिको विवरण सङ्कलन गरिरहेका छन्। कार्यालयले वन्यजन्तु क्षति राहत निर्देशिका बमोजिम पीडित किसानलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा आहारको अभाव भएपछि हिउँचितुवा बस्तीतर्फ झरेर घरपालुवा पशुमाथि आक्रमण गर्न थालेको विज्ञहरू बताउँछन्। एक्याप प्रमुख गुप्ताले हिउँचितुवा र मानवबीचको द्वन्द्व बढ्दै जाँदा पशुपालन व्यवसाय नै सङ्कटमा परेको भन्दै सुरक्षित र दिगो खोर निर्माणमा जोड दिएका छन्।