गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी
दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् । उनले अहिले १३ वटा गाई र १२ वटा भैँसीपालन गरेका छन् ।
स्वदेशमा केही गरौँ भनेर सुरु गरेको व्यवसायबाट मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको शर्माले जानकारी दिए । “खर्च कटाएर अहिले मासिक रु एक लाखदेखि डेढ लाखसम्म आम्दानी हुन्छ”, उनले भने । दैनिक ७५ लिटरसम्म दूध उत्पादन हुँदै आएको उनले बताए ।
हाल बजारमा रु ९५ प्रतिलिटर दूध बिक्री हुने शर्माले बताए । उनका अनुसार दूधलाई बजारीकरण गर्न समस्या नभए पनि सरकारले ध्यान भने दिनुपर्ने अवस्था छ । “अहिले बजारमा दूध बेच्नलाई समस्या छैन”, उनले भने, “तर वास्तविक किसानले बजार मूल्य भने पाउन सकेका छैनन्, यसमा सरकारले ध्यान दिनुपर्छ ।” उनले विसं २०७७ देखि गाई र भैँसीपालन सुरु गरेका हुन् । हाल नौ वटा गाई र पाँच वटा भैँसीले नियमित दूध दिँदै आएका छन् ।
किसान शर्माले रु १३ लाख लगानी गरेर गोठ तयार गरेको जनाउँदै रु १३ लाख जति लगानी गरेर गाई तथा भैँसी खरिद गरेको बताए । उक्त लगानी सङ्कलन भइसकेको उनको भनाइ छ । उनले गाईभैँसीको मल पनि बिक्री गर्दै आएका छन् । प्रत्येक टिपरको रु ३० हजारका दरले मल बिक्री हुने उनले बताए ।
व्यवसाय गर्ने किसानलाई पशुको निःशुल्क बिमा गर्ने, भकारो सुधार कार्यक्रम वास्तविक किसानसम्म पुग्नुपर्ने तथा पशु एआई गर्दा सरकारले वास्तविक कृषकलाई दिनुपर्नेमा शर्माले जोड दिए । उनले ‘शर्मा बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म’ दर्ता गरी व्यवसाय गरेका छन् ।
उदयपुरमा ट्रक दुर्घटनामा परी दुईकाे मृत्यु
उदयपुर । उदयपुर भएकाे ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका–७, अँधेरी खण्डमा आइतबार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार ट्रकचालक र सहचालकको मृत्यु भएको हो। उनले भने, ‘दुर्घटनाग्रस्त ट्रकबाट गम्भीर घाइते भएका चालक तथा सहचालक दुवैलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याउने क्रममा बाटैमा मृत्यु भएको अस्पतालले जनाएको छ। दुवैजना पुरुष रहेका छन्। सनाखत हुन बाँकी छ। ट्रकमा दुईजना मात्र रहेको पाइएको छ।’ मृतक दुवैको शव जिल्ला अस्पतालमा राखिएको छ। स्याम्पुलगायतका सामान लोड गरिएको कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–०१ ख ०५०५ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीको भनाइ छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थायी प्रहरी पोस्ट संगमचोकबाट प्रहरी टोली खटिएर गई थप अनुसन्धान भइरहेको दोङले जानकारी दिए ।
आजदेखि लागू हुने निर्वाचन आचारसंहिता कस्तो छ ?
काठमाडाैं । आगामी फागुन २१ गते हुने आमनिर्वाचनका लागि आज सोमबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबार सरकारलाई आचारसंहिता लागू गर्ने तयारीबारे जानकारी गराएको थियो । आयोगको बैठकले सोमबार राति १२ बजेदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूसँग भएको छलफलमा आयोगले आचारसंहिताबारे प्रस्तुतीकरण गरेको थियो । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूको टोलीले आचारसंहिताका मुख्य प्रावधानबारे जानकारी गराएको थियो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आचारसंहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गरी निर्वाचन सफल बनाउनु आयोग, सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा सरोकारवाला सबैको साझा दायित्व भएको बताए । कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूको समेत सहभागिता थियो । कस्तो छ आचारसंहिता ? आचारसंहिताअनुसार कुनै पनि व्यक्ति, दल वा उम्मेदवारले निर्वाचनमा पक्ष वा विपक्षमा स्रोत–साधन र सम्पत्ति प्रयोग गर्न पाउने छैनन् । निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यमा अवरोध पुर्याउन, सरकारी तथा सार्वजनिक संस्था र विद्यालय क्षेत्रभित्र निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न निषेध गरिएको छ । त्यसैगरी दल वा उम्मेदवारको चुनाव चिह्न अंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी, गम्छा, मास्क, लकेट, लोगो, झोला, ब्याज, ट्याटुजस्ता सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण वा प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ । स्वीकृति नलिई निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचार गर्न पनि रोक लगाइएको छ । चरित्रहत्या हुने गरी प्रचार गर्न, बालबालिकालाई निर्वाचन प्रचारमा प्रयोग गर्न, निषेधित समय र स्थानमा जुलुस, आमसभा, कोणसभा वा भेला गर्न पाइने छैन । सार्वजनिक यातायात अवरुद्ध हुने गरी जुलुस वा सभा गर्नसमेत रोक लगाइएको छ । सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न, झुटा खाता वा वेबसाइट सञ्चालन गर्न, होच्याउने, दुष्प्रचार गर्ने, अपमानजनक तथा द्वेषपूर्ण (हेट स्पिच) टिप्पणी गर्न निषेध गरिएको छ । यसैगरी उम्मेदवारको मनोनयन दर्ता भएदेखि मतदान सम्पन्न नभएसम्म मत सर्वेक्षण गर्न वा मतपरिणाम सार्वजनिक गर्न नपाइने व्यवस्था गरिएको छ । मतदाताको गोप्यता भंग गर्न, मतदानमा खटिएका कर्मचारीलाई हतोत्साहित गर्न वा निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर पर्ने कुनै पनि गतिविधि गर्न नपाइने उल्लेख छ । चुनावमा प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने उद्देश्यले विचार व्यक्त गर्न, प्रचार गर्न, विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन, सेयर वा प्रतिक्रिया दिनसमेत निषेध गरिएको छ । निर्वाचन आयोगले आइतबार राजनीतिक दलहरूले पेस गरेका समानुपातिकतर्फका बन्दसूची सार्वजनिक गर्दै उम्मेदवारको संख्या सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको योग्यतामाथि दाबी–विरोध गर्न चाहने मतदाताले आगामी माघ १० गतेभित्र निवेदन दिन सक्नेछन् ।
आजकाे माैसम: देशभर मुख्यतया मौसम सफा हुने
काठमाडौं । देशका केही स्थानमा आज आंशिक बदली हुनेछ । मुख्यतया मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति तराई भूभागका केही स्थानमा हुस्सु रहने बताएको छ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।
सोनाम ल्होसारले समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्: राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भनी कामना गरेका छन् । उनले सोनाम ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै यस्तो कामना गरेका हुन् । उनले भने, “तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।” राष्ट्रपति पौडेलले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।
यी हुन् यस पटकको प्रतिनिधिसभा चुनावमा ६३ दलका समानुपातिक उम्मेदवार (सूचीसहित)
काठमाडौं — निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, ६३ राजनीतिक दलका तर्फबाट ३,२१३ जनाको नामावली प्रकाशित गरिएको हो। दलहरूले पुस १३ र १४ गते बुझाएको सूची आज सार्वजनिक भएको छ। बन्दसूचीमा नाम समावेश उम्मेदवारको योग्यतामाथि दाबी–विरोध गर्न चाहने मतदाताले माघ १० गतेसम्म समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सक्नेछन्। प्रत्यक्षतर्फको मनोनयन दर्ता आगामी मंगलबार हुँदैछ भने प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते तोकिएको छ। समानुपातिकबाट ११० र प्रत्यक्षबाट १६५ सांसद निर्वाचित हुनेछन्।
रवि लामिछानेको मुद्दामा सरकारको निर्णयविरुद्ध १६ विद्यार्थी संगठनको आपत्ति
काठमाडौँ । संयुक्त विद्यार्थी संगठनहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि चलिरहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा सरकारको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। २०८२ माघ ८ गते जारी संयुक्त प्रेस वक्तव्यमा विद्यार्थी संगठनहरूले विभिन्न अदालतमा विचाराधीन रहेको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दामा रवि लामिछाने, छविलाल जोशी तथा जीबी राईसम्बद्ध व्यक्तिहरूलाई उन्मुक्ति दिने निर्णय सर्वोच्च अदालतको नजिरविपरीत रहेको बताएका छन्। यस्तो निर्णय राज्यसत्ता र कानुनको चरम दुरुपयोग भएको उनीहरूको ठहर छ। वक्तव्यमा भनिएको छ– सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर आर्थिक अपराधका अभियुक्तहरूलाई उन्मुक्ति दिने सरकारी अभ्यासले नेपालको अन्तर्राष्ट्रिय छविमा थप धक्का पुग्नेछ। विद्यार्थी संगठनहरूले रवि लामिछानेसहितका व्यक्तिहरूको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको निष्पक्ष छानबिन तथा अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्। संयुक्त विद्यार्थी संगठनहरूले विशेषगरी २०६४ यताका सबै उच्चपदस्थ कर्मचारी तथा सार्वजनिक पदमा नेतृत्व गरेका राजनीतिक व्यक्तिहरूको सम्पत्ति छानबिन र भ्रष्टाचारविरुद्ध कारबाहीका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग अघि सारेका छन्। अपराधको प्रोत्साहन र अपराधीलाई उन्मुक्ति दिनु लोकतन्त्रका मूल्य र परिकल्पनाविपरीत हुने उनीहरूको भनाइ छ। वक्तव्यमा विगतका राजनीतिक आन्दोलनका मुद्दालाई राजनीतिक आवरणमा राखेर गम्भीर आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई उन्मुक्ति दिन खोज्नु गलत भएको उल्लेख गर्दै, यस्ता गतिविधि नगर्न सरकारलाई चेतावनीसमेत दिइएको छ। संयुक्त विद्यार्थी संगठनहरूले ३ करोड नेपाली जनताको वास्तविक लोकतन्त्र, सुशासनसहितको कानुनी राज्य र न्यायको पुनःस्थापनाका लागि संयुक्त विद्यार्थी आन्दोलन आवश्यकताअनुसार संघर्ष अघि बढाउन पुनः उद्वेलित भएको जनाएका छन्। वक्तव्यमा महान्यायाधिवक्ता संजिव भण्डारीको राजीनामा, रवि लामिछानेको मुद्दाको निष्पक्ष अनुसन्धान, भ्रष्टाचारको अन्त्य र न्याय प्रणालीमा आमूल रूपान्तरण गरी सुशासन कायम गर्न सरकारलाई जोडदार माग गरिएको छ। संयुक्त प्रेस वक्तव्यमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (समाजवादी), समाजवादी विद्यार्थी युनियन नेपाल, अखिल नेपाल विद्यार्थी फेडरेसन, जनपक्षीय विद्यार्थी युनियन नेपाल, राष्ट्रिय विद्यार्थी मञ्च, विद्यार्थी स्वयंसेवक नेपाललगायत विभिन्न विद्यार्थी संगठनका अध्यक्ष तथा संयोजकहरूको हस्ताक्षर रहेको छ।
कांग्रेस देउवा पक्षको माग : मुद्दा टुंगो नलागेसम्म निर्वाचन कार्यक्रम स्थगित गर्नुपर्ने
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा टुंगो नलागेसम्म फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका सबै कार्यक्रम स्थगित गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ । आइतबार मुख्य सचिव कृष्णप्रसाद पौडेलसहित पूर्वमहान्यायधिवक्ता खम्मबहादुर खाती र अधिवक्ता केशवराज जोशीले आयोगमा निवेदन दर्ता गराएका हुन् । निवेदनमा माघ ६ मा पेशी तोकिएको रिट मुद्दाको फैसला नआउँदासम्म मनोनयन दर्तालगायत निर्वाचन कार्यतालिका स्थगन गर्न माग गरिएको छ । निर्वाचन आयोगले माघ २ मा गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिएकोमा देउवा पक्षले आइतबार सर्वोच्चमा रिट दायर गरेको छ । सोही दिन (माघ ६) मनोनयन दर्ताको मिति तोकिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीले बागलुङ २ मा ज्ञामनाथ गैरेलाई दियो टिकट
बागलुङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर २ बाट ज्ञामनाथ गैरेलाई उम्मेदवार बनाएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले आइतबार गैरेलाई टिकट हस्तान्तरण गरेका हुन् । बौद्धिक व्यक्तित्वका धनी गैरेसँग दुई दशकभन्दा बढी संगठनात्मक अनुभव छ ।
नेपाली कम्युनिष्ट पार्टीले बागलुङ १ मा कृष्ण केसीलाई दियो टिकट
बागलुङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य कृष्ण केसीलाई उम्मेदवार बनाएको छ । पार्टी नेता दिनानाथ शर्माले आइतबार केसीलाई टिकट हस्तान्तरण गरेका हुन् । केसी २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए ।
बामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिए, बर्दिया–१ बाट चुनाव लड्ने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न लागेकाले आजै राजीनामा दिएको बताइएको छ । गौतमले राजीनामा दिएसँगै नेकपाले बर्दिया–१ बाट उनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि राष्ट्रिय सभामा रहेका गौतमले प्रतिनिधिसभातर्फ चुनावी मैदानमा उत्रने तयारी गरेका हुन् । नेकपाले विभिन्न क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाउने क्रम जारी राखेको छ ।
राष्ट्रिय सभा सदस्यबाट नारायणकाजी श्रेष्ठको राजीनामा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्न लागेकाले राजीनामा दिएका हुन् । श्रेष्ठ २०७६ माघमा राष्ट्रिय सभामा निर्वाचित भएका थिए ।
नेपाली कम्युनिष्ट पार्टीले म्याग्दीमा अर्जुन थापालाई बनायो उम्मेदवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीबाट ४२ वर्षीय अर्जुन थापालाई उम्मेदवार बनाएको छ । धारापानी, धवलागिरि गाउँपालिका–७ का निवासी थापा १० हजारभन्दा बढी बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने स्वतन्त्र रक्तदाता समूहका नेतृत्वकर्ता तथा सामाजिक अभियन्ता हुन् । अघिल्लो निर्वाचनमा माओवादीले कांग्रेससँग तालमेल गर्दै प्रदेशमा २ सिट जितेको थियो भने प्रतिनिधिसभामा कांग्रेसलाई समर्थन गरेको थियो ।
नेपाली कम्युनिष्ट पार्टीले प्यूठानमा दियो कृष्णध्वज खड्कालाई टिकट
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानबाट कृष्णध्वज खड्कालाई उम्मेदवार बनाएको छ । यसअघि तत्कालीन एकीकृत समाजवादीका भोजविक्रम बुढालाई टिकट दिने निर्णय भए पनि पछि हटाएर तत्कालीन माओवादीका लुम्बिनी प्रदेशसभा सदस्य खड्कालाई टिकट दिइएको हो । खड्काले टिकट पाएको पुष्टि गर्दै मनोनयन दर्ताका लागि प्युठान जाने तयारीमा रहेको बताएका छन् । मनोनयन दर्ता माघ ६ गते हुँदैछ ।
नेकपाले कञ्चनपुर–१ बाट विना मगरलाई प्रतिनिधिसभा उम्मेदवार बनायो
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर १ बाट विना मगरलाई उम्मेदवार बनाएको छ । पार्टीले सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाउने क्रममा मगरलाई यो क्षेत्रबाट टिकट दिएको हो । विना मगर यसअघि पनि राजनीतिमा सक्रिय रहेकी नेतृ हुन् । उनी उक्त क्षेत्रमा लोकप्रीय छन् ।
नेकपाले नवलपरासी (पश्चिम)–२ बाट देवेन्द्र पौडेल ‘सुनील’लाई उम्मेदवार बनायो
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पश्चिम नवलपरासी क्षेत्र नम्बर २ बाट देवेन्द्र पौडेल ‘सुनील’लाई उम्मेदवार बनाएको छ । उनी यसअघि बागलुङ–२ बाट निर्वाचित सांसद हुन् ।

