गण्डकीको प्रदेशसभा बैठक बस्दै, कांग्रेस र राप्रपाले बहिष्कार गर्ने तयारी

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा आज दिउसो ३ बजेदेखि आरम्भ हुनेगरि बैठक आह्वान गरेका हुन् ।

गत चैत २५ मा मुख्यमन्त्रीमा एमालेका नेता खगराजअधिकारी नियुक्त भएका छन् । बहुमतसहित मुख्यमन्त्रीमा दाबि गर्नेक्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ । 

उनको नियुक्तिको विषयमा कांग्रेसले हालेको मुद्दामा सर्वोच्च अदालतले बैशाख १० गते पूर्ण सुनुवाई गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।

सर्वोच्चको अन्तिम फैसलापछि मात्र उनको सरकारको भविष्य तय हुने भएको छ। तर मुख्यमन्त्री अधिकारीले भने सर्वोच्चको सुनुवाई अघि नै विश्वासको मत लिने तयारीमा लागेपछि यसको कांग्रेसले विरोध गर्दै आएको छ ।

विश्वासको मत लिने गरि बैठक बोलाइएको भएपनि अहिलेसम्म मुख्यमन्त्री अधिकारीले आजको बैठकमा विश्वासको मत लिने बारे प्रदेश सभालाई जानकारी नदिएको बुझिएको छ।

अर्को तर्फ नेपाली कांग्रेसले भने प्रदेश सभाको बैठक बोलाइएकोप्रति आपत्ति जनाउदै गैरसंवैधानिक भनेको छ। कांग्रेस र राप्रपाले आजको बैठक बहिष्कार गर्ने तयारी गरेको बताइएको छ ।

उत्तरी इजरायलमा साइरन अलर्ट

काठमाडौं । इजरायली सेनाले उत्तरी इजरायलमा अलर्ट साइरन सक्रिय बनाएको छ।इजरायली आक्रमणसँगै इरानले पनि आक्रमण गर्न सक्ने भएको कारण नागरिकलाई सुरक्षा सचेतता अपनाउनका लागि साइरन अलर्ट गरिएको हो ।

इरानको आकाशमा विस्फोटको आवाज

काठमाडौं । इरानको सरकारी टिभीले ‘मिनी(ड्रोन’ लाई निशाना बनाएर हवाई प्रतिरक्षाका कारण विस्फोट भएको बताएको छ । इरानका सञ्चारमाध्यमका अनुसार इरानका धेरै क्षेत्रहरूमा अहिले कडा आवाजहरु सुनिएको छ । ती आवाज मिनी ड्रोनहरूको सामना गर्न सक्रिय गरिएको वायु रक्षाको कारण भएको विस्फोट हो । 

इजरायलद्धारा इरानमा मिसाइल प्रहार

काठमाडौं । इजरायलले इरानमा मिसाइल गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् । इजरायलको प्रहार लगत्तै इरानको वायु रक्षा प्रणाली सक्रिय पारेको  छ ।इरानी समाचार एजेन्सीहरुका अनुसार इरानले आफ्नो वायु रक्षा प्रणाली प्रायजसो प्रान्तहरूमा सक्रिय बनाएको छ। इरानको इशफान क्षेत्रमा थुप्रै विस्फोटका घटना भएको जनाइएको छ। इरानका विदेशमन्त्री होसेन अमीर अब्दुल्लाहले सीएनएनसँगको एक अन्तर्वार्तामा इजरायलले कुनै सैनिक गतिविधि गरेमा यसको प्रतिक्रिया तत्काल र व्यापक रूपमा पाउने चेतावनी शुक्रबार दिएलगत्तै इरानमा विस्फोटका घटना सुनिएको जनाइएको छ । बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातानाहूले इजरायलले आफ्नै हिसाबले निर्णय लिने बताएका थिए । इरानको राष्ट्रिय टीभीकाअनुसार इरानबाट अरू देशमा जाने केही उडान समेत तत्काल रद्द गरिएका छन् । कम्तीमा आठ उडान इरानी आकाशबाट अन्यत्र मोडिएको जनाइएको छ ।

नेपाली सेनाले माग्यो दुई हजार ६१५ पदमा दरखास्त

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले विभिन्न रिक्त पदमा दरखास्त माग गरेको हो ।  सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जंगी अड्डाले २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो ।  नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार) पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।  जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिनेछ । 

नेपाल टेलिकमले माग्यो नवौँदेखि जुनियर टेक्निसियनसम्म आवेदन

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै टेलिकमले १२९ रिक्त पदमा आवेदन माग गरेको हो ।  नवौँदेखि तेस्रो तहसम्मका लागि आवेदन माग गरिएको छ । उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ ।  वैशाख २७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिने सूचनामा उल्लेख छ ।     

एसीसी प्रिमियर कप : आज सेमिफाइनलमा यूएई र नेपाल भिड्दै

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईबीच खेल हुँदैछ । समूह ‘ए’को विजेता नेपाल र समूह ‘बी’को उपविजेता यूएईबीच पहिलो सेमिफाइनलमा भिड्न लागेको छ। यूएई र नेपाल पुरानै प्रतिद्वन्द्वी हुन्। यो खेल शुक्रबार(आज) बिहान ११ः४५ मा सुरु हुँदैछ। नेपाल समूह ‘ए’ मा अपराजित रहँदै समूह विजेता बनेको हो। अघिल्लो शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको थियो। तेस्रो खेलमा हङकङमाथि आठ विकेटको शानदार जित दर्ता गरेको नेपालले अन्तिम खेलमा साउदीलाई ६ विकेटले हराएको थियो । सेमिफाइनलको दोस्रो भिडन्त आयोजक ओमान र हङकङ बिच हुँदैछ। ओमान समूह ‘बी’को विजेता हो भने हङकङ समूह ‘ए’को उपविजेता हो। यो खेल दिउँसो ४ः१५ बजे सुरु हुँदैछ। ओमानले समूह चरणका चारै खेल जितेर अपराजित रहदै समूह ‘बी’को विजेता बनेको भने हङकङले ४ खेलमा २ खेल जितेर ४ अंकसहित समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

मुलुकका यी स्थानमा ठूलो हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो।  उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले यसबाट बच्न सतर्क रहन विभागले अनुरोध गरेको छ ।  आज बिहान पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।  कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना छ । काठमाडौंमा भने आइतबारसम्म वर्षाको सम्भावना रहेको छैन् । शनिबार र आइतबार दिउँसो पनि बदली हुने भएपनि वर्षाको सम्भावना भने छैन् । विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त, शपथ आजै लिने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२)बमोजिम सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।  बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएसँगै सोडारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा उनले दाबी पेस गरेका हुन्। गत मंगलबार मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रमुख नजिर मियाँले  मुख्यमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए।मुख्यमन्त्री सोडारीले आजै शपथ लिनेछन् ।

लुम्बिनीका नवनियुक्त ७ जना मन्त्रीले लिए शपथ

काठमाडौँ। लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार मन्त्रीहरूलाई शपथ खुवाएका हुन् । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । २३ चैतमा नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदसहित ४८ जनाको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री महराले सोही दिन एमालेका चेतनारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । तीनै जनाको मन्त्रालय आज मात्रै तोकिएको हो । जसअनुसार आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । आजको विस्तारसँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार  राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।  राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित दुई जना पक्राउ पक्राउ परेका छन् । छुट्टाछुट्टै स्थानमा प्रहरीले खोजतलासको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । महोत्तरीको बर्दिबास नगरपालिका १ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम १ सय ९० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७ हजार ३० रूपैयाँसहित सिन्धुली कमलामाई नगरपालिका(७ बस्ने २७ वर्षीय निसाज सुनुवारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय बर्दिवास र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले बा ७७ प ५८५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक निसाजलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  बारा, पचरौता नगरपालिका ४ ईनर्वाबाट अबैध लागूऔषध गाँजा करिब २ सय ३० किलोसहित रौतहट फतुवा बिजयपुर नगरपालिका(४ टेग्राहा बस्ने २३ वर्षीय चन्दन पासवानलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले शंकास्पद रूपमा ४ वटा जुटको बोरा बोकी हिँडिरहेको अवस्थामा पासवानलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सोही ठाउँस्थित बाटोको कलभर्ट मुनि लुकाएको गाँजा लिन बोरा लिएर आएको खुल्न आएपश्चात उनलाई उक्त गाँजासहित पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।   

कोसी प्रदेशसभामा परिमार्जित संकल्प प्रस्ताव पेस, के छ प्रस्तावमा ?

विराटनगर ।कोसी प्रदेशसभाको बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पुरानो संकल्प प्रस्तावलाई परिमार्जन गरेर प्रस्ताव पेस गरेका छन्। बिहीबार बसेको बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले संकल्प प्रस्ताव पेस गरेका हुन्।  सभामुख अमरबहादुर बिष्टले आफ्नो भनाइ राख्दै सभामा संकल्प प्रस्ताव पेस गर्न भण्डारीलाई समय दिएका थिए । सो भन्दा अगाडि बिष्टले प्रदेश प्रमुखबाट मन्त्री परिषद्को जिम्मेवारी हेरफेर र प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलको नियुक्तिबारे सदनलाई जानकारी गराए। बैठकमा एमाले प्रमुख सचेतक भण्डारीले सरकालाई दिएको समर्थन फिर्ता भइसकेको भन्दै मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताए । एमाले प्रमुख सचेतक भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको परिमार्जित प्रस्ताव सदनमा पेस भएको हो ।    परिमार्जित संकल्प प्रस्तावमा ‘चैत २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ ।  मुख्यमन्त्रीलाई दिएको समर्थन बहुमत सांसदले फिर्ता लिइसकेको अवस्थामा सरकारको नियमित कार्यबाहेक दीर्घकालीन महत्वका कुनै निर्णय नगर्ननगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस् भन्ने समेत सो प्रस्तावमा उल्लेख छ ।

घट्यो नेप्से, १३ वटै उपसमूह राताम्य

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १९.५६ अंकले घटेको छ । नेप्से ०.९८ प्रतिशतले घटेर १९७२.१४ विन्दुमा झरेको छ । आज ३१५ धितोपत्रको ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर दुई अर्ब नौ करोड ३६ लाख १२ हजार ७९२ रुपैयाँमा किनबेच भइरहेको छ । यस दिन १३ वटै उपसमूहको समूहगत सूचक घटेको छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसमूहको समूहगत सूचक सर्वाधिक १.७२ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ७.९४ प्रतिशतले बढेको छ । रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ।

नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरेकी छिन्।  नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमको पाँचौं केन्द्रीय अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले पछिल्लो समय कर्मचारीहरुमा त्रासको मनोविज्ञान देखिएकाले यसलाई हटाउनुपर्ने बताइन्।  ‘विभिन्न नियमनकारी निकायहरुले निगरानी बढाएको कारण देखाउँदै पछिल्लो समय कर्मचारीले गर्नैपर्ने काममा पनि  डराउने गरेको देखिएको छ’– मन्त्री शर्माले भनिन्– ‘तपाइ कर्मचारीले नडराएर नविराएर उच्च मनोबलका साथ काम गर्नुपर्छ,  कसैले पनि गल्ती गरिएन र कानुनको परिधिभित्र रहेर काम गरियो भने कुनै समस्या आउँदैन।’ गल्ती गर्ने हो भने राजनीतिक वा प्रशासनिक जुनसुकै क्षेत्रमा रहेका व्यक्ति कुनै पनि बेला सजायको भागिदार बन्नुपर्ने उल्लेख गर्दै उनले गल्ती नगर्नेहरु डराउन नपर्ने बताइन्। ‘बेइमानी नगरौं, बदमासी नगरौं तर कानुनको परिधिभित्र रहेर काम गर्न नडराऔं’– मन्त्री शर्माले दोहोर्याइन्– ‘हामीलाई कतै सोधपुछ हुन्छ कि भन्ने बहानामा कर्मचारीले काम नगर्ने हो भने सुशासन र सेवा प्रवाह झन् कमजोर हुने भएकाले म सबै कर्मचारी साथीहरुलाई कानुनको परिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्न चाहन्छु ।’ अहिले नेपालमा कर्मचारीको सेवा सुविधा न्यून नै रहेको उल्लेख गर्दै उनले मुलुकको आर्थिक उन्नतिसँगै सेवा सुविधा पनि बढ्दै जाने भएकाले हरेक कर्मचारीले देश बनाउँछु र म पनि बन्छु भन्ने भावनाका साथ अघि बढ्नुपर्ने बताइन्। सफा नियतका साथ काम गर्ने हो भने राजनीतिक, प्रशासनिक वा अन्य कुनै पनि क्षेत्रमा समस्या नआउने मन्त्री शर्माले स्पष्ट गरिन् । सरकार डिजिटल नेपाल निर्माणको अभियानमा जुटेको उल्लेख गर्दै उनले डिजिटल नेपाल निर्माणको महत्वपूर्ण डिजिटल पूर्वाधार दूरसञ्चार भएकाले देशका सबै ठाउँमा दूरसञ्चार सेवा पुर्याउन अनिवार्य रहेको बताइन्। ‘हामीले चालु आर्थिक वर्षकै नीति तथा कार्यक्रम र बजेटमा सबै वडा केन्द्रसम्म इन्टरनेट सेवा पुर्याउने भनेका छौं तर अहिले पनि कतिपय पालिकामै सेवा नपुगेको गुनासो आइरहेको छ’– मन्त्री शर्माले भनिन् ‘यो डिजिटल डिभाइडको अवस्था अन्त्य गर्न नेपाल टेलिकमले अघि सारेका परियोजनाहरु जतिसक्यो चाँडो पूरा गर्न आग्रह गर्न चाहन्छु ।’ नेपाल टेलिकमका कर्मचारीहरुले आफ्नो पेशागत हितका साथै कम्पनीको उन्नति र सहज सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उहाँको सुझाव थियो । आज दूरसञ्चार बजारमा पुराना सेवाहरुको खपत घटेकाले नेपाल टेलिकमले उच्च प्रविधि र गुणस्तरीय सेवासहितको द्रूत गतिको इन्टरनेट सेवालाई आकर्षक बजार व्यवस्थापनका साथ अघि बढाउनुपर्ने उनले स्पष्ट पारिन्।  कर्मचारी संगठनका साथै टेलिकमका प्रादेशिक तथा जिल्ला कार्यालयबीच काममा प्रतिष्पर्धा गराउन व्यवस्थापन पक्षलाई आग्रह गर्दै मन्त्री शर्माले सेवा वृद्धि गरेर ब्यापार बढाउने र देशका सबै ठाउँमा दूरसञ्चार सेवा पुर्याएर डिजिटल नेपाल निर्माणको अभियानमा नेतृत्व लिनुपर्ने बताइन्। देशका सबै ठाउँमा सहजरुपमा गुणस्तरीय इन्टरनेट सेवा दिने हो भने लाखौं युवाहरु नेपालभित्रै बसेर सेवा निर्यात गर्न सक्षम हुने र यसबाट ठूलो मात्रामा बैदेशिक मुद्रा भित्रने भएकाले मुलुकको समृद्धिका लागि अब धेरै भन्दा धेरै डिजिटल पूर्वाधारको विकास गरेर जानुपर्ने उनले बताइन्।

कोशी प्रदेशसभामा संकल्प प्रस्ताव टेवल पास नहुँदै राजीनामा दिन मुख्यमन्त्रीलाई सुझाव

विराटनगर । नेकपा एमाले र माओवादीले कोशी प्रदेससभा सचिवालयामा पेस भएको संकल्प प्रस्ताव प्रदेशसभामा टेवल गरेका छन्। नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभा समक्ष पेश गरेका हुन।उनले प्रदेशसभामा संकल्प प्रस्ताव पेश गर्दै संसदको सर्वोच्चता देखाउन संकल्प प्रस्ताव पेश भएको बताए।  संकल्प प्रस्ताव पास हुँदा पनि मुख्यमन्त्रीले मार्ग प्रशस्त नगरे, संसदको विशेष अधिकार हनन भए अदालत जस्तो न्यायिक क्षेत्रमा पनि प्रवेश गर्ने भएकाले पहिले नै राजीनामा दिन उपयुक्त हुने बताए । उनले सरकारलाई विशेष निर्देशन गर्नका लागि संकल्प प्रस्तावमार्फत सन्देश दिन संसदको अधिवेशन आह्वान भएको उल्लेख गरे। उनले असोज २७ गते एमालेका ३९ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीलाई समर्थन गरेको र असोज १ गते विश्वासको मत दिएको तर परिस्थितिले उनलाई समर्थन र विश्वासको मत दिन नसकेको बताए। एमाले र माओवादीले दिएको विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परेको बताए। उनले भने, ‘संसदीय सर्वोच्चतामा अल्पमतमा परेपछि सरकारमा बस्न मिल्दैन उहा अल्पमतमा परेपछि सरकारको प्रमुख हुन मिल्दैन।’ उनले मुख्यमन्त्रीलाई अल्पमतमा परेको देखाउन यो अधिवेशनको आह्वान भएको बताए। उनले अल्पमतमा परेको देखेपछि यो सभा चलेको बेलै राजीनामा दिनु हुन्छ भन्ने आशा लिएको बताए।