गणतन्त्र र संघीयता बारे रास्वपाको धारणा माग गरेको उज्यालोको बहुमत टिमसँग घन्टीघरमा वार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीको असन्तुष्ट पक्षबीच वार्ता सुरु भएको छ । रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा दुई पक्षबीच वार्ता सुरु भएको हो ।

उज्यालोका नेताहरूले यसलाई पार्टी एकताको अन्तिम वार्ता भनेका छन् । केही बेरअघि सुरु भएको वार्तामा उज्यालो नेपालका तर्फबाट प्रा.डा. महेन्द्र लावती, पार्टीका प्रवक्ता राजु थापा, केन्द्रीय सदस्यद्वय जितराम लामा र रामेश्वर श्रेष्ठ सहभागी छन् । त्यस्तै, रास्वपाका तर्फबाट शिशिर खनालसहितको टोली सहभागी छ ।

आजको छलफलमा उज्यालो नेपालले पठाएका १४ जना समानुपातिक उम्मेदवार निर्वाचित हुने सुनिश्चितताको विषय, पार्टीमा उज्यालो नेपालबाट आएका व्यक्तिको प्रतिनिधित्व, संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र पहिचानको सम्बन्धमा रास्वपाको धारणा लगायतका विषयमा छलफल हुने उज्यालोका एक नेताले बताएका छन् ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा उज्यालोका तर्फबाट १४ जना छन् । त्यसमध्ये रीमा विश्वकर्मा बाहेक सबैको नाम क्लस्टरको पछिल्लो भागमा छ । वार्तामा उनीहरूलाई सूचीको माथिल्लो क्रममा ल्याउनुपर्ने माग असन्तुष्ट पक्षको छ ।

रास्वपाले कुलमान घिसिङलाई पहिलो वरियताको उपसभापति बनाउने गरी सहमति गरे पनि अन्य पदहरू कसलाई दिने भन्नेमा कुनै निर्णय गरेको छैन । उज्यालो पक्षले भने पदाधिकारीमा थप २ जना आफ्ना व्यक्ति हुनुपर्ने माग राखेको छ ।

आजको छलफलमा कुरा नमिले एकता नगर्ने रणनीति असन्तुष्ट पक्षको छ । उज्यालोको ५१ जना केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य रास्वपासँग गरिएको सहमतिविपक्षमा छन् । संरक्षक कुलमान घिसिङ र अध्यक्ष अनुप उपाध्यायले सहमति गरे पनि एकताका लागि केन्द्रीय समितिको निर्णय आवश्यक भएकाले रास्वपा छलफलमा बस्न तयार भएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा करिब तीन लाख पर्यटक

मनाङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ मा कुल २ लाख ९९ हजार ८३० जना पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यसमध्ये १ लाख २२ हजार २०२ जना विदेशी तथा १ लाख ७७ हजार ६२८ जना स्वदेशी पर्यटक रहेका छन् । एक्यापका अनुसार यो सङ्ख्या गत वर्षको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको हो । सन् २०२४ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा करिब २ लाख ६० हजार पर्यटक पुगेका थिए । एक वर्षको अवधिमा झन्डै ४० हजारले पर्यटक सङ्ख्या बढ्नुले क्षेत्रीय पर्यटन व्यवसाय तथा संरक्षण प्रयासमा सकारात्मक प्रभाव पारेको आयोजनाले जनाएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार विदेशी पर्यटक आगमनमा देखिएको वृद्धिले अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन क्षेत्र क्रमशः पुनरुत्थान हुँदै गएको संकेत गर्छ । यसैबीच, संसारकै उत्कृष्ट पदमार्गमध्ये एकका रूपमा परिचित अन्नपूर्ण सर्किट पदमार्गमा पर्ने मनाङ जिल्लामा पर्यटक आगमन उत्साहजनक रूपमा बढेको छ । एक्याप मनाङको तथ्याङ्कअनुसार सन् २०२५ मा ३८ हजार ७७ जना विदेशी पर्यटकले मनाङ भ्रमण गरेका छन् । सन् २०२४ को तुलनामा सन् २०२५ मा मनाङमा पर्यटक आगमन २३.३६ प्रतिशतले वृद्धि भएको छ । पदमार्ग, प्राकृतिक सौन्दर्य र विशिष्ट सांस्कृतिक पहिचानका कारण मनाङप्रति पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । युरोप, अमेरिका, अस्ट्रेलिया, चीन, भारत, जापान र दक्षिण कोरियाबाट बढी सङ्ख्यामा पर्यटक आएको एक्यापको तथ्याङ्कमा उल्लेख छ । अन्नपूर्ण सर्किट पदमार्ग, तिलिचो ताल, थोराङ्ला पास, मनाङ उपत्यका तथा नार–फु क्षेत्र पर्यटकका मुख्य आकर्षणका रूपमा रहेका छन् । यससँगै स्वदेशी पर्यटकको सङ्ख्यामा पनि उल्लेखनीय वृद्धि देखिएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन, सडक पहुँचको सुधार, सामाजिक सञ्जालको प्रभाव तथा साहसिक पर्यटनप्रतिको बढ्दो चासोले नेपाली पर्यटकलाई आकर्षित गरेको सरोकारवालाहरूको भनाइ छ । विशेष गरी तिलिचो ताल र मनाङ क्षेत्र आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्दै आएका छन् । पर्यटक आगमन बढेसँगै मनाङ, मुस्ताङ, कास्की, लमजुङ र गोरखा जिल्लाका स्थानीय बासिन्दाको आर्थिक गतिविधिमा सुधार आएको छ । होटल, लज, रेस्टुरेन्ट, ट्रेकिङ गाइड, भरिया तथा यातायात व्यवसायमा आश्रित हजारौँ स्थानीयले प्रत्यक्ष रोजगारी र आम्दानीको अवसर पाएका छन् । यद्यपि पर्यटक सङ्ख्या बढ्दै जाँदा फोहोर व्यवस्थापन, जैविक विविधता संरक्षण, पानीका स्रोत तथा स्थानीय संस्कृतिको जगेर्ना चुनौतीका रूपमा देखिन थालेका छन् । एक्यापले स्थानीय तह, उपभोक्ता समिति तथा पर्यटन व्यवसायीसँग सहकार्य गर्दै दिगो पर्यटन व्यवस्थापनलाई प्राथमिकता दिएको जनाएको छ । आगामी दिनमा पर्यटक सेवा सुधार, वातावरणमैत्री पूर्वाधार विकास र नियमको प्रभावकारी कार्यान्वयन गर्न सके अन्नपूर्ण संरक्षण क्षेत्रले अझ ठूलो सङ्ख्यामा पर्यटक आकर्षित गर्ने विश्वास व्यक्त गरिएको छ । यसले राष्ट्रिय अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ ।

आज अमेरिकी डलरको मूल्य बढ्याे, अन्यकाे कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ०२ पैसा र बिक्रीदर १४४ रुपियाँ ६२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ७९ पैसा र बिक्रीदर १६९ रुपियाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ५१ पैसा र बिक्रीदर १९४ रुपियाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपियाँ ५३ पैसा र बिक्रीदर १८२ रुपियाँ २९ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ३८ पैसा र बिक्रीदर ९६ रुपियाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ९५ पैसा र बिक्रीदर १०५ रुपियाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ९३ पैसा र बिक्रीदर ११२ रुपियाँ ४० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १८ पैसा र बिक्रीदर नौ रुपियाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ५९ पैसा र बिक्रीदर २० रुपियाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ४० पैसा र बिक्रीदर ३८ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ४० पैसा र बिक्रीदर ३९ रुपियाँ ५७ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ २१ पैसा र बिक्रीदर ३९ रुपियाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ५३ पैसा र बिक्रीदर ३५ रुपियाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९६ पैसा र बिक्रीदर १० रुपियाँ, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६० पैसा र बिक्रीदर १५ रुपियाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६० पैसा र बिक्रीदर २२ रुपियाँ ६९ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४८ पैसा र बिक्रीदर १८ रुपियाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपियाँ ५१ पैसा र बिक्रीदर ४७० रुपियाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपियाँ ०२ पैसा र बिक्रीदर ३८३ रुपियाँ ६१  पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपियाँ ०८ पैसा र बिक्रीदर ३७५ रुपियाँ ६४ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

आजकाे माैसम: चार प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशको तराईका अधिकांश स्थानहरूमा तथा बाँकी तराईको केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारण बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो  रहनेछ।  आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ ।  देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहनुको साथै बिहानको समयमा तराई भूभागमा हुस्सु तथा कुहिरोको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

बिहानै ताप्लेजुङकाे फालाइचामा ४.६ म्याग्निच्युडको भूकम्प

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको फालाइचा आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनइएमआरसी) तथा खानी तथा भूगर्भ विभाग (डीएमजी)का अनुसार भूकम्प शनिबार बिहान ६ः१३ बजे गएको हो । भूकम्पको धक्का ताप्लेजुङसहित आसपासका क्षेत्रमा महसुस गरिएको स्थानीयवासीले बताएका छन् । हालसम्म भूकम्पबाट कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।

फागुन १० भित्र जिल्लामा मतपत्र पुर्‍याउने तयारी

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन १० गतेभित्र सबै जिल्लामा मतपत्र पुर्‍याउने भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतपत्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा पठाइनेछ । निर्वाचनका अन्य सामग्री भने क्रमशः पठाइनेछन् । आयोगले समानुपातिकतर्फको मतपत्रको प्रारम्भिक डिजाइन स्वीकृत गरिसकेको छ । सेतो कागजमा कालो मसी प्रयोग गरिनेछ । बन्दसूचीमा हेरफेर नभए समानुपातिकतर्फ ५८ वटा निर्वाचन चिह्न रहने छन् । प्रत्यक्षतर्फ भने मनोनयनपछि निर्वाचन क्षेत्रगत रूपमा मतपत्रको डिजाइन स्वीकृत गरिनेछ । आयोगले मतदाताभन्दा पाँचदेखि सात प्रतिशतसम्म बढी मतपत्र छाप्ने जनाएको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी सरदर दुई करोड मतपत्र छापिने आयोगको अनुमान छ । कागज मौज्दात रहेकाले खरिद गर्नुपर्ने अवस्था नरहेको पनि आयोगले जनाएको छ । राजनीतिक दलहरूले बुझाएको उम्मेदवारको बन्दसूची जाँचबुझको चरणमा रहेकाले कानुनको सीमाभित्र रहेर मात्रै संशोधन हुने आयोगले स्पष्ट पारेको छ । समानुपातिक समावेशी प्रतिनिधित्व नमिलेको अवस्थामा वा नाम फिर्ता लिएको अवस्थामा मात्रै सूची सच्याउन पाइने व्यवस्था रहेको आयोगले जनाएको छ । आयोगको कार्यतालिका अनुसार बन्दसूचीमा त्रुटि भए पुस २१ देखि २७ गतेसम्म संशोधनको समय दिइनेछ । निर्वाचन आचारसंहिता चाँडै लागु गरिने आयोगले जनाएको छ । आचारसंहितामा मिथ्या तथा भ्रामक सूचनाको नियन्त्रण, सूचना प्रविधि प्रयोगका चुनौती न्यूनीकरण, वातावरण प्रदूषण गर्ने सामग्रीको प्रयोग निरुत्साहित गर्ने तथा उम्मेदवारलाई मतदाताप्रति नैतिक उत्तरदायी बनाउने व्यवस्था समेटिएका छन् । समानुपातिकमा अपाङ्गता भएका अनिवार्य यसैबिच सर्वोच्च अदालतले समानुपातिकतर्फ अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व अनिवार्य गर्न आदेश दिएको छ । अपाङ्गता भएका व्यक्तिको नाम नसमेटिएको अवस्थामा बन्दसूची सच्याउन निर्वाचन आयोगलाई आदेश दिइएको हो । आयोगले पेस भएका बन्दसूचीको जाँचबुझ गरिरहेको र पुस २० गतेसम्म प्रक्रिया टुंग्याउने जनाएको छ ।

म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दुरीको सो सडकमा पहिलोपटक सवारीसाधन सञ्चालन समेत भएको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना – खोरीया– मरेनी – जलजला– गुर्जाघाट हुदै ढोरपाटन उपत्यका जोड्ने गत असार महिनामा ट्र्याक (मार्ग) खुलेको सडक प्रयोग गरेर धवलागिरि गाउँपालिकाको बा १ झ ७०७ नम्बरको गाडी पहिलो पटक शुक्रबार ढोरपाटन पुगेको हो । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्मा, योजना अधिकृत हरिहर पनेरु, पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावल र प्राविधिक जनक धानुककोको टोली मुनादेखि नयाँ सडक प्रयोग गरेर ढोरपाटन पुगेको हो । “बेनीदेखि ७५ किमीको दुरीमा ढोरपाटन पुग्न सकिने यो सडकलाई धवलागिरि गाउँपालिका मात्र नभएर पश्चिम म्याग्दीको समग्र पूर्वाधार विकास, आर्थिक सामाजिक क्षेत्रको रूपान्तरणका लागि महत्त्वपूर्ण आधारका रूपमा लिएका छौ,” उनले भने “बागलुङदेखि ढोरपाटन जोड्ने सडकको तुलनामा आधा भन्दा धेरै छोटो यो सडक पूर्वी रुकुमसँग जोडिएपछि मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बन्न सक्छ ।” मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला– ढोरपाटन सडक काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने छोटो दुरीको सडक पनि हो । हाल प्रयोगमा आइरहेको बागलुङदेखि ढोरपाटन जोड्ने सडकको दुरी एक सय २६ किमी छ । गत आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको रु। पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको योजना मार्फत म्याग्दीको धवलागिरि गाउँपालिका–२ मरेनीदेखि देखि ढोरपाटनको जलजला सम्म सडकको ट्र्याक खुलेको छ । मरेनीमाथिको जङ्गलदेखि जलजलातर्फ गत असारमा निर्माण भएको नौ किमी सडक हालै मर्मत गरेर सवारीसाधन सञ्चालन गर्ने बनाइएको हो । घुम्ती र ग्रेड सुधार गर्न बाँकी यो सडकमा पर्ने तीन हजार मिटर भन्दा बढी उँचाइको जलजला क्षेत्रमा हिउँ नपरेको अवस्था जिप, ट्याक्टर र मोटरसाइकल सञ्चालन गर्न सकिने उपाध्यक्ष पुनले बताए। मुनादेखि तल्लो जलजलाको दुरी १४ किमी छ । ढोरपाटनबाट जलजला जोड्ने १० किमी कच्ची सडक यसअघिनै जोडिएको थियो । मुना–जलजला–ढोरपाटन खण्डमा पर्ने खोलाहरूमा मोटरेबल पुल नभएकाले बर्खामा यातायात सञ्चालन गर्न समस्या छ । बेनीदेखि विसं २०५५ मा यो सडक निर्माण सुरु भएको थियो । बेनीदेखि मुना–खोरीया–मरेनी हुँदै जलजला करिब ६४ किमी सडकको मार्ग खुलेको हो । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुमको टकसेरा जोड्ने सडकको मार्ग खुलेमा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किमी दूरी छोटिने जानकारी दिए। उनका अनुसार पूर्वी रुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ । जलजला, ढोरपाटन र उत्तरगंगा जाने पर्यटक तथा स्थानीयबासीहरुलाई यो सडक छोटो पर्छ । धवलागिरि–२ खोरियामा छ वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किमीको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले चार वर्षअघि सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो । बेनी देखि तातोपानी–बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकार मार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङदेखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शीर्षकमा योजना सञ्चालन गरेको प्रदेश सभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन) ले बताए । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ । पूर्वी रुकुम, म्याग्दी र बागलुङ जिल्लाको एक हजार तीन सय २५ बर्गमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष हो । विश्वभरका शाहासी सिकारीहरूको गन्तव्य ढोरपाटन पछिल्लो समय नेपाली पर्यटकहरूको पनि रोजाइमा परेको छ । यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिक लगायत धेरै अवसरहरू छन् ।

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी । थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरुको सङ्ख्या जम्मा ३५५ पुगेको छ । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला परेका हुन् । जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवतीको वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणमा उक्त चराहरु फेला परेको नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए । सर्वेक्षणको क्रममा रेसुङ्गा वन संरक्षण क्षेत्र, मदाने वन संरक्षण क्षेत्र र थाप्ले सत्यवतीे वन संरक्षण क्षेत्रमा नयाँ २५ प्रजातिका चराहरु फेला परेको परियोजना अधिकृत भट्टराईले बताए । यसअघि रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा वर्षमा दुई पटक चरा सर्वेक्षण गरिँदै आएकामा यस पटकको सर्वेक्षणमा थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा पनि चरा सर्वेक्षण गरिएको थियो । नयाँ फेला परेका चराका प्रजातिहरुमा तिलहरी, मोटो ठूँडे पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपङ्ख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरालगायत रहेको जनाइएको छ । विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा छ प्रजातिका चराहरु पाइन्छन् । ती चराहरुमा रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्द, सेतो गिद्द, सुन गिद्द र गोमायो माहाचिल छन् । काँडे भ्याकुर रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रेकर्ड गरिएको छ । नेपालमा पाइने ९०३ प्रजातिका चरामध्ये गुल्मीमा करिब ४० प्रतिशत चरा फेला परेको नेपाल पन्छी संरक्षण सङ्घले जनाएको छ । सङ्घले विभिन्न समयमा गरेकोे पन्छी सर्वेक्षण अनुसार रेसुङ्गा वन क्षेत्रमा २७६ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा २८९ प्रजाति र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा १९६ प्रजातिका चरा फेला परेका छन् । तीन वटै वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो सर्वेक्षणअनुसार जम्मा ३५५ प्रजातिका चराहरुको तथ्याङ्क अभिलेख गरिएको छ । सङ्घले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जङ्गलको संरक्षण र सम्वद्र्धनसँगै जीविकोपार्जनमा टेवा पुर्याउने कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जिल्लामा चरा पर्यापर्यटनको प्रचुर सम्भावना रहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए ।

आजका लागि कालीमाटी कृषिउपजको थोक मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १२०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९६, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ९६, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु २७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ६५, बन्दा (लोकल) प्रतिकिलो रु ४५, बन्दा (तराई) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ५५, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो रु ७०, मकै बोडी प्रतिकिलो रु ६० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १५०, टाटे सिमी प्रतिकिलो रु ८०, तिते करेला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु १६०, घिरौँला प्रतिकिलो रु ११०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकिलो ९०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ९० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ९०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४०० र कुरिलो प्रतिकिलो रु २,४०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ८०, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु १५०, गाँठकोभी प्रतिकिलो रु ८५, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ७००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ३००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु २००, कागती प्रतिकिलो रु ९०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु ११०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु ११०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ११०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लप्सी प्रतिकिलो रु ७५, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३५०, सरिफा प्रतिकिलो रु २०० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु ७५, अदुवा प्रतिकिलो रु ८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ४००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु ११०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु ४४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु २५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ ।

बुद्ध एयर जहाज दुर्घटना हुँदा कोपाइलटसहित ७ यात्रु घाइते

झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन-वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रारम्भिक जानकारी दिए । उक्त जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए । तीमध्ये ललितपुर-४ निवासी को-पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य छ जना यात्री घाइते भएका छन् । घाइतेहरुमा भद्रपुर-१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड-७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड-१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक-१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं-१६ की ४० वर्षीया मुना घतानी र काठमाडौं-१६ की १६ वर्षीया प्रिया घतानी रहेको प्रहरीले जनाएको छ । घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्‍याएको थियो । टाउको र अनुहारमा चोट लागेका को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना घाइते सामान्य उपचारपछि ’डिस्चार्ज’ भएर घर फर्किसकेको प्रहरी उपरीक्षक लिम्बुले जानकारी दिए । उक्त जहाज काठमाडौंबाट भद्रपुरका लागि शुक्रवार राति ८ः२३ बजे उडेको थियो भने भद्रपुर विमानस्थलमा ९ः१० बजे अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटना भएको थियो । जहाज दुर्घटनामा परे लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली उद्धारका लागि खटिएको प्रहरीले जनाएको छ । प्रहरीले नै सबै यात्रीलाई दुर्घटना भएको जहाजबाट सकुशल बाहिर निकालेर घाइतेलाई अस्पतालमा पुर्‍याएको थियो ।

युट्युबबाट पैसा कमाउन चाहनुहुन्छ ? मोनेटाइजेशनका महत्वपूर्ण टिप्स र ट्रिक्स जान्नुहोस्

युट्युब च्यानल मोनेटाइजेशन टिप्स र ट्रिक्स युट्युबमा करियर बनाउने सपना धेरैको हुन्छ । तर, धेरै प्रयास गर्दा पनि कतिपयले युट्युबबाट कमाई गर्न सक्दैनन् । प्रश्न उठ्छ— केही व्यक्ति युट्युबबाट लाखौं कमाउँछन्, तर कतिपयको च्यानल मोनेटाइज नै हुँदैन ? यो लेखमा यसको जवाफ दिन्छौं । युट्युब च्यानल मोनेटाइज गर्न केही कुरामा ध्यान दिनुपर्छ ।  धेरैले युट्युबबाट मोटो कमाई गरिरहेका देखेर च्यानल खोल्छन्, तर मोनेटाइज हुन नसकेर कमाई पनि हुँदैन । कसैको च्यानल राम्ररी चल्छ, कसैको मोनेटाइज नै हुँदैन— यो किन ? यसको मुख्य कारण तपाईंको कन्टेन्ट र च्यानलको गुणस्तर हो । यदि तपाईं नयाँ च्यानल बनाउन चाहनुहुन्छ वा बनाइसक्नुभएको छ तर मोनेटाइज भएको छैन भने, यी कुरामा ध्यान दिएर सुरु गर्नुहोस् : सही विषय छान्नुहोस् सबभन्दा पहिले सही टपिक छान्नुहोस् । तपाईंले के बनाउन चाहनुहुन्छ भन्दा पनि दर्शकले के हेर्न रुचाउँछन्, त्यो महत्वपूर्ण छ । धेरैको चासो भएको र विज्ञापन मूल्य (ऐड भ्यालु) उच्च हुने विषयमा भिडियो बनाउनुहोस् । नेपाल र भारतमा टेक, फाइनान्स, शिक्षा र स्वास्थ्यसम्बन्धी भिडियोबाट राम्रो कमाई हुन्छ । मोनेटाइजेशनका शर्तहरू के हुन् ? च्यानलमा विभिन्न किसिमका कन्टेन्ट पोस्ट गर्दा दर्शक अलमलिन सक्छन् । मोनेटाइजेशनका लागि कम्तीमा ५०० सब्सक्राइबर र ३००० घण्टा वाच टाइम चाहिन्छ । यदि शर्ट्स अपलोड गर्नुहुन्छ भने, ९० दिनमा शर्ट्समा ३० लाख भ्यूज हुनुपर्छ । लामो फर्म्याटका भिडियो बनाउनुहोस् राम्रो वाच आवरका लागि ६ देखि १० मिनेटका लामो भिडियो बनाउनुहोस् । शर्ट्सलाई मुख्य रूपमा रिच (पहुँच) बढाउन प्रयोग गर्नुहोस्— यसले चाँडै सब्सक्राइबर र भ्यूज बढाउँछ । युट्युबले भ्यूजभन्दा वाच आवरमा आधारित कमाई दिन्छ । थम्बनेल बनाउँदा यी कुरामा ध्यान दिनुहोस् भिडियोले दर्शकलाई लामो समय बाँधेर राखोस् । थम्बनेलमा ३–४ शब्द मात्र लेख्नुहोस्, भावना (इमोसन) धेरै देखाउनुहोस् र टेक्स्ट कम राख्नुहोस् । टाइटल र थम्बनेलको संयोजन प्रभावकारी हुन्छ । उदाहरण: "iPhone 15 Review" को सट्टा "८०,००० को iPhone... यो गल्ती नगर्नुहोस्" जस्तो आकर्षक टाइटल प्रयोग गर्नुहोस् । निरन्तरता कायम राख्नुहोस् धेरैले एक–दुई भिडियो बनाउँछन् तर निरन्तरता राख्दैनन् । हप्तामा २–३ भिडियो अपलोड गर्नुहोस् र अपलोड समय एकै राख्नुहोस् । ६०–९० दिनसम्म यो जारी राख्नुभयो भने फाइदा हुन्छ । युट्युबले नयाँ च्यानललाई पहिले परीक्षण गर्छ, अनि मात्र प्रमोट गर्छ । सब्सक्राइबर कसरी बढाउने ? शर्ट्सलाई सब्सक्राइबर बढाउन प्रयोग गर्नुहोस् । लामो भिडियोबाटै छोटा शर्ट्स बनाउनुहोस् र कमेन्टमा लामो भिडियोको लिङ्क राख्नुहोस् । यसबाहेक SEO मा ध्यान दिनुहोस्— टाइटलमा कीवर्ड र डिस्क्रिप्सनको पहिलो दुई लाइनमा कीवर्ड राख्नुहोस् । कुनै सर्टकट छैन समग्रमा युट्युब मोनेटाइजेशनमा सर्टकट छैन । सही योजना र निरन्तर मेहनत चाहिन्छ । यदि ३–६ महिनासम्म सही दिशामा काम गर्नुहुन्छ भने, तपाईंको च्यानल सजिलै मोनेटाइज हुन्छ ।

वर्तमान राष्ट्रिय संकटको निकास समाजवादी एकतामार्फत मात्र सम्भव: संयोजक प्रचण्ड

सङ्खुवासभा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधानको रक्षा गर्न बामपन्थी तथा समाजवादी शक्तिबीच एकता अपरिहार्य रहेको स्पष्ट गर्नुभएको छ । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज आयोजित नेकपा सङ्खुवासभाको एकता सन्देशसभालाई सम्बोधन गर्दै उहाँले वर्तमान राष्ट्रिय संकटको निकास समाजवादी एकतामार्फत मात्र सम्भव हुने धारणा राख्नुभयो । संयोजक प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धीहरू, जनताको अधिकार र संविधानको संरक्षण गर्न बामपन्थी तथा समाजवादी शक्तिहरू एक ठाउँमा उभिनु समयको माग भएको बताउनुभयो । उहाँले राजनीतिक अस्थिरता, लोकतान्त्रिक मूल्यको कमजोर अवस्था र राष्ट्रिय स्वाधीनतामाथि देखिएको चुनौतीका कारण एकताको आवश्यकता अझ गहिरिएको उल्लेख गर्नुभयो । “देश आज गम्भीर संकटको मोडमा उभिएको छ । यस्तो अवस्थामा राष्ट्र, जनता र संविधानलाई जोगाउने जिम्मेवारी बामपन्थी र समाजवादी शक्तिको काँधमा आएको छ,” संयोजक दाहालले भन्नुभयो, “यो एकता कुनै सत्ता केन्द्रित उद्देश्यका लागि होइन, जनताको अधिकार र लोकतन्त्रको रक्षा गर्नका लागि हो ।” उहाँले हालै देखिएको जेन–जी पुस्ताको आन्दोलनले नेपाली समाजमा नयाँ चेतनाको उदय भएको संकेत गरेको बताउनुभयो । युवापुस्ताले शासन प्रणाली, राजनीतिक अभ्यास र समग्र राष्ट्रिय अवस्थाप्रति गम्भीर प्रश्न उठाउँदै जिम्मेवार ढङ्गले आन्दोलित हुन खोजेको स्पष्ट भएको उहाँको भनाइ थियो । “जेन–जी आन्दोलनले युवापुस्तालाई राजनीतिक रूपमा निष्क्रिय ठान्ने भ्रम चिर्दै नयाँ सम्भावनाको ढोका खोलेको छ,” उहाँले भन्नुभयो । संयोजक दाहालले जेन–जी आन्दोलनपछिको परिस्थितिमा देशलाई सही निकासतर्फ लैजाने उत्तम लोकतान्त्रिक विकल्प निर्वाचन नै भएको उल्लेख गर्नुभयो । साथै, आन्दोलनबाट प्राप्त उपलब्धीहरू कमजोर हुन नदिन नेकपा आत्मसमीक्षा गर्दै अघि बढेको जानकारी दिनुभयो । “हामीले विगतका कमजोरी स्वीकार गरेका छौँ, आत्मसमीक्षा गरेका छौँ र जनताको भरोसा पुनः आर्जन गर्न सच्चिएर अघि बढिरहेका छौँ,” उहाँको भनाइ थियो । उहाँले जनताको अधिकार र लोकतन्त्र क्रमशः कमजोर बन्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै त्यसलाई सुदृढ बनाउन समाजवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै, नेपालको भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै दुवै छिमेकी मुलुकसँग सन्तुलित र सम्मानजनक सम्बन्ध कायम गर्दै अघि बढ्नु जरुरी रहेको बताउनुभयो । कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पनि सम्बोधन गर्दै देशलाई अराजकताबाट जोगाएर स्थायित्व र लोकतान्त्रिक दिशामा अघि बढाउने ऐतिहासिक जिम्मेवारी युवापुस्ताको काँधमा आएको बताउनुभयो । “नयाँ पुस्ता राजनीतिप्रति उदासीन छ भन्ने धारणा गलत सावित भएको छ,” उहाँले भन्नुभयो, “जेन–जी आन्दोलनले युवाहरू सचेत, जिम्मेवार र परिवर्तनका संवाहक हुन् भन्ने प्रमाणित गरिदिएको छ ।” सहसंयोजक नेपालले सचेत र शान्तिपूर्ण ढङ्गले आन्दोलित भएका युवापुस्तालाई धन्यवाद दिँदै अब देशलाई लोकतान्त्रिक र संविधानसम्मत तरिकाले निकास दिन सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा सहभागी नेताहरूले वर्तमान राजनीतिक अवस्थाको गम्भीर समीक्षा गर्दै समाजवादी एकतामार्फत देशलाई स्थिरता, सुशासन र समृद्धिको बाटोमा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

संखुवासभामा नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा, संयोजक प्रचण्डसहितका नेताले सम्बोधन गर्ने

खाँदबारी । नेपाली कम्युनिस्ट पार्टीले संखुवासभामा आज पार्टी एकता सन्देश सभा आयोजना गर्दैछ। दिउँसो सुरु हुने सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। सम्बोधनका लागि प्रचण्डसहितका शीर्ष नेताहरू संखुवासभातर्फ प्रस्थान गरेको पार्टी स्रोतले जनाएको छ। सभामा अन्य दल परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेहरूलाई प्रचण्डसहितका नेताहरूले स्वागत गर्ने कार्यक्रम पनि रहेको छ।

नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।

जेनजी आन्दाेलनकाे गाेली काण्ड:  लेखकको बयान सकियो, ओलीलाई बयानबाट उम्कन नदिने आयोगको तयारी

काठमाडौँ । जेन–जी आन्दोलनसम्बन्धी घटनामा बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकेसँगै अब घटनाको मुख्य राजनीतिक जिम्मेवारी बोकेको पात्र—तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ अनुसन्धान केन्द्रित गरेको छ । आयोगले सोमबार र बुधबार गरी दुई दिन लेखकको बयान लिएको थियो । बयान सकिएसँगै बिहीबारदेखि लेखकको स्थानहद हटाइएको छ । आयोगका अधिकारीहरूका अनुसार लेखकको बयानपछि घटनासम्बन्धी अधिकांश कडीहरू खुलेका छन् र अब ओलीको बयान लिनु अपरिहार्य बनेको छ । आयोगले सम्भवतः शुक्रबार ओलीलाई बयानका लागि उपस्थित हुन पत्र लेख्ने तयारी गरेको छ । आयोगका एक अधिकारीका अनुसार, “अब ओलीबाहेक सबैको बयान भइसकेको छ । प्रतिवेदनको निष्कर्ष ओलीको बयानमै अडिएको छ ।” ओलीको बयानअघि आयोगका पदाधिकारीहरूले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेकाे थियाे । यसअघि ओलीले आयोगमा उपस्थित नहुने संकेत गर्दै बयानले ‘चुनावी वातावरण बिगार्ने’ चेतावनी दिँदै आएका थिए । आयोगको कामलाई चुनावसँग जोडेर दबाब सिर्जना गर्नु ओलीको अनुसन्धानबाट भाग्ने रणनीति भएको आयोग निकट स्रोतहरूको टिप्पणी छ । प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओलीलाई पनि अन्य सरह कानुनी दायरामा ल्याइने स्पष्ट पारे । बयानका लागि नआए के हुन्छ भन्ने प्रश्नमा उनले भने, “उहाँलाई हामी अब चिठी काट्दै छौँ । आउनुभएन भने कानुनअनुसार अगाडि बढिन्छ ।” आयोगले घटनासँग सम्बन्धित अन्य सबै व्यक्ति—प्रशासनिक, सुरक्षा निकाय र राजनीतिक तहका—बयान यसअघि नै लिइसकेको जनाएको छ । अब ओलीको बयान मात्रै बाँकी रहेको र त्यसपछि प्रतिवेदन लेखन सुरु गरिने आयोगका पदाधिकारीले बताए । अध्यक्ष कार्कीका अनुसार आयोगले ९ माघभित्र प्रतिवेदन बुझाउने लक्ष्य राखेको छ । आयोगका स्रोतहरूका अनुसार, ओलीको भूमिकाबारे स्पष्ट निष्कर्ष ननिकाली प्रतिवेदन बुझाइने सम्भावना छैन ।

प्रतिनिधिसभा निर्वाचन: सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका लागि हेलिकोप्टर, ट्रक, कन्टेनर प्रयोग गरिनेछ । ढुवानीका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन आयोगले आग्रह गरेको छ । आयोगले सूचीकृत हुन इच्छुक फर्म वा कम्पनीलाई आवश्यक शर्त पूरा गरी आवेदन दिन भनिएको छ । सम्बन्धित निकायबाट सेवा सञ्चालन गर्न प्राप्त गरेको इजाजतपत्र, मूल्यअभिवृद्धिकर दर्ता प्रमाणपत्र र आर्थिक वर्ष २०८१/८२ सम्मको करचुक्ता प्रमाणपत्र र विगत तीन आवको कारोबार विवरण खुलेको प्रमाणपत्रको प्रतिलिपि पेस गर्न आयोगले आग्रह गरेको छ । हेलिकोप्टर भाडामा लिनका लागि पछिल्लो तीन आवको न्यूनतम औसत वार्षिक कारोबार रकम रु तीन करोडबराबरको हुनुपर्नेछ । ट्रक तथा कन्टेनर भाडामा दिनेले रु एक करोड र कुरियर सेवाका लागि ३० लाख रुपियाँ बराबरको कारोबारको विवरण पेस गर्नुपर्नेछ ।  कुरियर सेवा प्रदान गर्न चाहने कम्पनीले आफ्नो कुरियरको कार्यालय र प्रतिनिधि ७७ वटै जिल्लमा रहेको टेलिफोन, मोबाइल नम्बरबसहितको विवरण निवेदनका साथ पेस गर्नुपर्नेछ । एकभन्दा बढी समूहमा सूचीकृत हुनेगरी निवेदन दिएमा त्यस्तो निवेदनउपर कारबाही नगरिने आयोगले जनाएको छ । सेवा प्रदायक फर्म वा कम्पनी सूचीकृत गर्ने, नगर्ने सम्पूर्ण अधिकार भने आयोगमा निहित रहेको छ ।