टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकपका लागि राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ।सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । क्यानले विश्वकपमा केल्मीले निर्माण गरेको नयाँ जर्सी प्रयोग गर्ने भएको हो । 

टी–२० विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ। नेपाली टोलीले सन् २०१४ पछि दोस्रोपटक विश्वकपमा सहभागिता जनाउन लागेको हो।  विश्वकपमा नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छन्। नेपाल रहेको समूह डीमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन्। शीर्ष दुईमा रहने हरेक समूहका दुई दुई टोली सुपर आठ मा पुग्नेछन्।
 

गजामा युद्धविरामको तयारी, सेना फिर्ता

एजेन्सी । इजराइलले गजाको दक्षिणी भूभागबाट केही सेना फिर्ता गरेको छ।अमेरिका लगायत अन्य सहयोगी राष्ट्रहरूको चेतावनी र दबाबपछि इजराइलले आइतबार गजाको दक्षिणी खान युनिश सहरमा परिचालित थलसेनालाई फिर्ता गरेको हो। समाचार संस्था रोयटर्सका अनुसार अब त्यहाँ इजराइली डिफेन्स फोर्स (आइडिएफ)को एउटा ब्रिगेडमात्रै राखिने छ । गजा क्षेत्रमा युद्धविरामको तयारी गरीएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले त्यस क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पास गरेको थियो । युद्धविरामको इजिप्टले मध्यस्तता गर्ने तयारी भएको छ । इजरायलको प्रमुख सहयोगी राष्ट्र अमेरिकाले केही दिनअघि उसलाई गजामा हमासविरूद्ध आक्रमण गर्दा त्यहाँका नागरिकलाई क्षति नपुर्‍याउन र मानवीय सहायताका कार्यहरूलाई असुरक्षा पुर्याउने गतिविधि नगर्न चेतावनी दिएको थियो।  

संसदको अवरोध हटाउन सभामुख र शीर्ष नेताहरूको बैठक जारी

काठमाण्डौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरूसँग परामर्शमा छन् ।आज दिउँसो २ बजेदेखि सिंहदरबारमा बोलाइएको बैठकमा नेताहरूसँग छलफल भइरहेको छ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सदनमा निरन्तर गृहमन्त्री रवि लामिछानेको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दैआएको छ । सो माग पूरा नभए चैत २७ देखि संसद् बैठक अवरुद्ध गर्ने चेतावनी सो दलले दिएको छ । बैठक अवरुद्ध नहोस् भन्ने उद्देश्यले प्रमुख चार दलका नेताहरूसँग छलफल भइरहेको सभामुखको सचिवालयको भनाइ छ । सभामुखले अहिले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेको सचिवालयका सदस्यहरूको भनाइ छ । बैठक सभामुखको कार्यकक्ष सिंहदरबारमा बसिरहेको छ ।

डढेलो निभाउने क्रममा सेनाका चारजना गम्भीर घाइते

काठमाडौं । डोल्पाको दुनही सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा सोमबार चार सुरक्षाकर्मी घाइते भएका छन् । डढेलो निभाउन गएका सेनाका चारजना घाइते भएको डोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिकृष्ण केसीले जानकारी दिए । उनीहरू गम्भीर घाइते छन् । घाइतेहरूको उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको केसीले बताए । डढेलो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तीन वटै सुरक्षा निकाय खटिएका छन् । 

जनतामा आशा जगाउने काम गर्छौं : मन्त्री गिरी

कास्की । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम गर्ने बताएका छन्।  प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरीले भने– “केही वर्षयता सरकार र राजनीतिक पार्टीप्रति जनतामा पैदा भएको निराशालाई मेटेर सरकार र दलहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने छौँ ।” सङ्कटमा आएको सरकार भएकाले जनतामा आशा जगाउने काम गरेरै छाड्ने उनको भनाइ थियो ।  देशको अर्थतन्त्र धराशायी, विकास निर्माणको काम सुस्त, सुशासन प्राप्त गर्न नसक्नु, निर्माणाधीन काम अलपत्र र व्यवसायी सङ्कटमा परेको वर्तमान अवस्थामा यसलाई कसरी सुधार गरेर अगाडि बढ्ने भन्ने बारेमा सरकार चिन्तित रहेको मन्त्री गिरीले बताए। उनले भने, “देशको अर्थतन्त्रलाई चलायमान र जनतामा समृद्धि ल्याउन सरकार सक्रिय भएर लाग्छ ।”  सङ्घीय सरकारद्वारा अधिकांश कानुन बनाउन बाँकी रहेको अवस्थामा संसदीय समितिलाई सक्रिय बनाउँदै छिटोभन्दा छिटो सङ्घीयता र नेपाली जनतालाई अनुकूल हुने ऐन कानुन ल्याउने मन्त्री गिरी बताए । उनले ऐन कानुन निर्माण गर्दा नेपाली जनताका सुझाव पनि सङ्कलन गरिने र उपयुक्त सुझावलाई समेट्ने जानकारी पनि दिए।  वर्तमान समयमा सहकारी संस्थामा देखापरेको बचतकर्ताको पैसा अपचलनका बारेमा संसद्मा नेपाली कांग्रेसका सांसदहरुले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको उल्लेख गर्दै मन्त्री गिरीले सहकारीका दोषीलाई कारबाही गर्न राज्यका निकायलाई छाड्नुपर्ने बताए। “संसदीय छानबिन समिति सहकारीको हिसाब किताब मिलाउन हिँड्ने हैन, त्यो अधिकार राज्यका अन्य निकायलाई छाडौँ”, उनले भने, “सहकारीका दोषीलाई कारबाही गरी सम्पूर्ण बचतकर्ताको रकम जस्ताको तस्तै उनीहरुलाई फिर्ता दिनुपर्छ ।” 

सुनसरीका दुईवटा पालिकामा फेरि कर्फ्यु

काठमाडौं । तनाब नघटेपछि सुनसरीका दुई गाउँपालिकामा फेरि पनि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ। हरिनगर गाउँपालिका क्षेत्र र देवानगन्ज गाउँपालिका क्षेत्रमा अर्को सूचना जारी नभएसम्मलाई कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ। शुक्रबारदेखि जारी गरिएको कर्फ्युलाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए। सामाजिक, धार्मिक, राजनीतिक सभा, –याली तथा भेला एवम् प्रदर्शन गर्ने लगायतका कुनै पनि कार्यक्रम नगर्नेरनगराउने गरी कर्फ्यु आदेश जारी गरिएको हो। यसअघि इनरुवा नगरपालिका क्षेत्र, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा बिहान १० बजेसम्मका लागि कर्फ्यु जारी भएको थियो। हिन्दु र मुस्लिम समुदाय झडपमा उत्रिएपछि बनेको अवस्थालाई नियन्त्रणमा लिन शुक्रबारदेखि नै जिल्लाका विभिन्न स्थानमा कर्फ्यु जारी भएको थियो। इनरुवा नगरपालिका, भोक्राहा गाउँपालिका र कोशी गाउँपालिका क्षेत्रमा भने स्थानीय प्रशासनले सोमबार बिहान १० बजेदेखि कर्फ्यु खुकुलो बनाएको छ । 

भिक्षुमाथि लात्ती हान्ने प्रहरीलाई विभागीय कारबाही हुने

काठमाडौं । शनिबार काठमाडौंको भद्रकालीमा राजेन्द्र महतोको नेतृत्वमा भएको प्रदर्शनका क्रममा बौद्ध भिक्षुहरूमाथि लात्ती(मुक्का हान्ने प्रहरीलाई विभागीय कारबाही हुने भएको छ। महतो नेतृत्वको समूहले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा भए पछि भिड नियन्त्रणमा खटिएको प्रहरीले प्रदर्शनकारीलाई लखेटेका थिए। लखेट्ने क्रममा भिक्षुको भेषमा रहेका केही व्यक्तिमाथि लात्ती(मुक्का हानिएको थियो।  भिक्षुको भेषमा रहेकाहरूलाई दुर्व्यवहार र कुटपिटमा संलग्न प्रहरीमाथि विभागीय कारबाहीमा गरिने प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ।  भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीलाई विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको नक्सालले आज सोमबार जनाएको हो।  प्रहरी प्रधान कार्यालयले त्यस प्रकरणबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता घटना पुनरावृत्ति हुन नदिन गम्भीर रहेको पनि जनाएको छ । शनिबार दिउँसो राजेन्द्र महतो र सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति अभियानले निषेधित क्षेत्र भद्रकालीमा प्रदर्शन गरेको थियो। निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा प्रहरीमाथि प्रदर्शनकारी जाइ लागेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सोही क्रममा एकजना भिक्षुलाई प्रहरीले लात्ती र मुक्का बर्साएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बिहान बस्ने भएको छ । संसदीय दलको बैठक बस्नुअघि मंगलबार बिहान कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार बिहान साढे ७ बजे बस्ने काङ्ग्रेसले जनाएको छ। संसदीय दल कार्यसमितिको बैठकले एजेन्डा तय गरेपछि दलको बैठक बिहान ८ बजे  नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने बताइएको छ ।

शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेताहरूलाई छलफलको लागि बोलाएका छन् ।  आजै बिहान साढे १० बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक आह्वान गरिएको थियो । तर, विभिन्न कारणले बैठक दिउँसो २ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी गराएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्ने चेतावनी दिएका विषयमा सभामुखले प्रमुख चार दलका शीर्ष नेताहरूसित छलफल गर्न लागेका हुन् । छलफलका निम्ति सभामुखले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बोलाएका छन् । सहकारीको रकम ठगी प्रकरणमा गृहमन्त्री लामिछाने मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको छ । छानबिन समिति नबनाइए भोलिदेखि संसद् बैठक अवरुद्ध गर्ने कांग्रेसले चेतावनी दिएको छ ।सभामुखले बोलाएको बैठकबारे रास्वपाले हिजो संसदीय दलमा छलफल गरेका थिए ।

प्रदर्शन नरोकिएपछि सुनसरीमा कर्फ्यु कायमै

काठमाडौं । सुनसरी जिल्लाका विभिन्न पालिकामा लगाइएको कर्फ्यु आंशिक रूपमा कायमै छ । हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिकाको वडा नम्बर १ र ७ मा कर्फ्यु कायमै राखिएको छ । इनरुवा नगरपालिका, कोशी गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका र देवानगन्ज गाउँपालिकाको वडा नं. २, ३, ४, ५ र ६ मा सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ । आइतबार दिउँसो फेरि प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्युको समय थप गरेको हो । हरिपुरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाईफायर र २९ सेल अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गर्नुका साथै कुटपिट गर्दा प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीसहित नौ प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीले हरिनगर बजारको एउटा घरमा तोडफोड गर्नुका साथै आगो लगाउने प्रयास गरेका थिए । प्रदर्शनमा घुसपैठ तथा हिंसात्मक हुन थालेपछि शान्ति सुव्यवस्था कायम राख्न सुरक्षा कडा पारिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । गत बिहीबार हरिनगर गाउँपालिकामा दर्जनभन्दा बढीको संख्यामा रहेको समूहले स्थानीय युवालाई मरणासन्न हुने गरी कुटपिट गरेपछि अवस्था असामान्य बनेको हो । दुई समूहबीच भएको कुटपिटका कारण सामाजिक सद्भाव भड्किन नदिन बिहीबारदेखि कर्फ्यु लगाइएको हो । 

काठमाडौं उपत्यकामा आज घोडेजात्रा मनाइँदै

काठमाडौं । काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाउने परम्परा रहि आएको छ । घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गर्नेछ । नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने गर्दछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको मान्यता छ । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने राजधानीवासीमा विश्वास छ । घोडेजात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ ।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत २६ गते सोमबार सन् २०२४ अप्रिल ८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर १३३ रुपैयाँ ५८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ११ पैसा र बिक्री दर १४४ रुपैयाँ ७६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०६ पैसा र बिक्री दर १६८ रुपैयाँ ८२ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

यस्तो हुनेछ आज दिनभरको मौसम

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।  पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार राति कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।  कोसी र गण्डकी देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

दक्षिणी गाजाबाट इजरायली सैनिक फिर्ता हुने

जेरुसेलम । इजरायलले दक्षिणी गाजाबाट एउटा ब्रिगेडबाहेक सबै सैनिक फिर्ता बोलाएको आइतबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नाहल नामक ब्रिगेडले मध्य क्षेत्रबाट गाजालाई हेर्दछ र गाजाको दक्षिणबाट उत्तरमा नागरिकहरूको फिर्तीलाई रोक्नेछ । इजरायलको सरकारी स्वामित्वको कान टिभी समाचारका अनुसार नयाँ ‘सुरक्षा क्षेत्र’ स्थापना भएपछि इजरायली रक्षा बल (आईडीएफ) ले गाजाको वरिपरि रहेका इजरायली क्षेत्रमा आफूलाई पुनर्गठित गरेको छ । आइडीएफ स्रोतलाई उद्धृत गर्दै, ‘इजरायली सेनाले अब ‘गुप्तचरमा आधारित’ छापामा ध्यान केन्द्रित गर्नेछ र आवश्यकता अनुसार गाजा फर्कने छ । सेनाको बहिर्गमन ‘राजनीतिक दबाब’सँग सम्बन्धित छैन,’ सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अनलाइनबाट नागरिकताको फाराम सिफारिस

धनगढी। धनगढी उपमहानगरपालिकाले पहिलो पटक अनलाइनमार्फत नागरिकताको फाराम सिफारिस गरेको छ। सो कार्यालयले जिल्ला प्रशासन कार्यालय कैलालीलाई पहिलो पटक अनलाइनमार्फत नागरिकताको फाराम सिफारिस गरेको हो।  धनगढी उपमहानगरपालिकाको कार्यालयले धनगढी उपमहानगरपालिका-२ का प्रशंसा जोशीको नागरिकताको फाराम अनलाइनमार्फत सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ।  धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई अनलाइनमार्फत फाराम हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।  उनले अनलाइनबाट प्रदेशमै पहिलो पटक सिफारिस हस्तान्तरण गर्ने र लिने कार्य भएको जानकारी दिए । 

एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे सर्वसम्मत

स्याङ्जा । नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे सर्वसम्मत निर्वाचित भएका छन् ।नवौं जिल्ला अधिवेशनबाट गैरेको अध्यक्षतामा नयाँ कमिटी बनेको हो।यसअघि पनि उनी अध्यक्ष नै थिए ।  अधिवेशनले उपाध्यक्षमा महेश पुरी, सचिवमा हालै नेकपा(एकिकृत समाजवादी) परित्याग गरी एमाले प्रवेश गरेका रामचन्द्र भट्टराई, उपसचिवहरुमा अमृत श्रेष्ठ र चिरमया गरुङ चयन भएका छन् । नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँचजनाको जिल्ला कमिटी चयन गरेको हो । एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् । नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका थिए । २०७८ साल फागुन २३ को सर्वोच्चको फैसलासँगै माओवादी केन्द्रबाट नेकपा हुँदै एमाले बनेका  गैरे नेकपा एमाले स्याङ्जामा दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बनेका हुन् । यसअघि आठौं अधिवेसनमा गैह्रेले ४४० मत ल्याएर संघीय सांसद नारायण मरासिनीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका थिए ।त्यसबेला गैरेले ४ सय ४० मत ल्याउँदा मरासिनीले २ सय ५७ मत मात्रै पाएका थिए ।