आजकाे माैसम: यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, चिसाे झनै बढ्ने

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। 

आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। 

काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सीयस रह्यो भने अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सीयसका बिच रहने पूर्वानुमान छ । 

देशका तराई भूभागमा हुस्सुको प्रभाव र  कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

नेपालमा वायु प्रदूषणको मात्रा तीव्र रूपमा बढ्दै

काठमाडौं । हिउँदे वर्षाको ढिलाइका कारण नेपालमा वायु प्रदूषणको मात्रा तीव्र रूपमा बढ्दै गएको छ। पुस आधाआधी बितिसक्दा पनि उल्लेख्य वर्षा नहुँदा काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभाग प्रदूषणको गम्भीर चपेटामा परेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुले केही दिनका लागि पातला बादल भित्र्याए पनि पर्याप्त वर्षा गराउने सम्भावना छैन। मौसमविद् गोविन्द झाका अनुसार उच्च पहाडी भेगका एक–दुई स्थानमा मात्र फाट्टफुट्ट वर्षा हुन सक्छ, अन्यत्र सुक्खा नै रहनेछ। यसपटकको पश्चिमी वायु सुक्खा भएकाले त्यससँगै धुलोका कण नेपाल प्रवेश गरिरहेका छन्, जसले वायु प्रदूषण अझ बढाउने सम्भावना रहेको छ। यद्यपि यस वायुले गण्डकी र कर्णाली क्षेत्रका उच्च हिमाली भागमा भने थोरै हिमपात गराउन सक्ने अनुमान गरिएको छ। पूर्वी हिमाली भेग सुक्खा नै रहने भएकाले भारत हुँदै प्रदूषणयुक्त वायु नेपालका अन्य भूभागमा प्रवेश गरिरहेको मौसमविद् झाले जानकारी दिए ।  आन्तरिक प्रदूषण पहिल्यै उच्च रहेकाले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बिहान र साँझ तुवाँलो लाग्ने, घाम राम्रोसँग नदेखिने अवस्था बढ्दो छ। सुक्खा चिसोसँगै तराई क्षेत्रमा हुस्सु बाक्लिँदै गएको र यसले जनजीवन थप प्रभावित बनाइरहेको छ।  मौसमविद्हरूका अनुसार सामान्यतया यस समयमा हिउँदे वर्षा हुनुपर्ने भए पनि जलवायु परिवर्तनका कारण वर्षाको ढाँचा परिवर्तन हुँदै गएको छ। समयमा वर्षा नहुँदा पछिल्ला केही वर्षयता हरेक हिउँदमा वायु प्रदूषण उच्च हुने क्रम निरन्तर देखिएको वातावरण विभागका वातावरण निरीक्षक गोविन्द्र लामिछानेले बताए ।  उनका अनुसार वर्षा नहुँदा तल्लो वायुमण्डलमा तैरिएका धुलो र धुवाँ जमिनमा खस्दैनन्। ती कणहरू थुप्रिँदै जाँदा सूर्यको किरण पृथ्वीमा सहज रूपमा पुग्न नसक्ने भएकाले हुस्सु र तुवाँलो बाक्लिन्छ। “यसले दैनिकी मात्र होइन, स्वास्थ्यमा समेत गम्भीर असर पार्छ,” उनले भने ।  विगत २४ घण्टाको वायु प्रदूषण अनुगमन तथ्यांकअनुसार काठमाडौंको रत्नपार्क मापन केन्द्रमा वायु गुणस्तर सूचक १६२ मापन भई ‘अति हानिकारक’ तहमा पुगेको छ। शङ्खपार्कमा १५८, भक्तपुरमा १५६ र खुमलटारमा ११५ सूचक मापन गरिएको छ। देशका अन्य धेरै भूभागमा पनि प्रदूषणको मात्रा सयभन्दा माथि रहेको छ। घना बस्ती भएका सहरहरू प्रदूषणको चपेटामा बढी पर्ने वातावरण विभागले जनाएको छ। काठमाडौं उपत्यका हाल सबैभन्दा बढी प्रदूषित क्षेत्र बनेको छ। प्रदूषण नियन्त्रणका लागि विभागले डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनको परीक्षण तीव्र बनाएको छ। साथै कृषिजन्य फोहोर व्यवस्थापन र जनचेतना अभिवृद्धिमा पनि काम भइरहेको जनाएको छ। जाडोको समयमा तराई क्षेत्रमा घुर तथा दाउराको आगो ताप्ने र सहरमा टायर बाल्ने चलन निरुत्साहित गर्नुपर्नेमा विभागले जोड दिएको छ। वायु प्रदूषणसँगैको चिसोले विशेषगरी बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई बढी जोखिममा पार्ने गरेको चिकित्सकहरूले बताउँदै आएका छन्।

देशमा एकता बलियो बनाउन, शान्ति र समृद्धितर्फ अगाडि बढाउन नेकपाको विकल्प छैन: माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रम मुलुकको विकास, समृद्धि र एकताका लागि सबैभन्दा उपयुक्त रहेको र यसको विकल्प नरहेको बताउनुभएको छ। रुकुमबाट १५ दिन पैदल यात्रा गरी काठमाडौं आइपुगेका विद्यार्थी नेता केशव रावललाई सम्मान गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘नेकपाको विकल्प छैन। देशमा एकता बलियो बनाउन, शान्ति र समृद्धितर्फ अगाडि बढाउन तथा राजनीति र समाजका विकृति–विसंगति हटाउन नेकपाको विचार र समाजवादी क्रान्तिको कार्यक्रम नै विकल्प हो। अर्को बाटो छैन।’ उहाँले पार्टीमा दिनप्रतिदिन उत्साह थपिँदै गएको र एकीकृत हुने दल तथा नेता–कार्यकर्ताको संख्या बढिरहेको बताउनुभयो। साथै, सबै वर्ग, तह र उमेर समूहका जनताको आशा र भरोसाको केन्द्र नेकपा बनेको उल्लेख गर्नुभयो। नेपालले रावलको पैदलयात्राले राष्ट्रिय एकता र पार्टीभित्रको एकता बलियो बनाउन ऊर्जा प्रदान गरेको पनि बताउनुभयो।

नेपालको रणनीतिक महत्वका कारण छिमेकी र शक्तिशाली देशहरूको चलखेल : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको रणनीतिक महत्वका कारण छिमेकी मुलुक र विश्व शक्तिशाली देशहरूको चलखेल रहेको बताउनुभएको छ। थापागाउँमा मंगलबार मोरङ समाज काठमाडौंको साधारणसभा उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘नेपाल एकदमै स्ट्याटिजिक लोकेसनमा छ। उत्तर र दक्षिणमा दुई ठूला छिमेकी छन्, विश्व शक्तिशाली देशको पनि यहाँ चलखेल छ। यसलाई छैन भनेर भन्न मिल्दैन, यो स्वाभाविक हो।’ उहाँले विदेशी शक्तिहरूमा नेपाली राजनीतिज्ञप्रति चासो र चिन्ता रहेको उल्लेख गर्नुभयो। ‘उनीहरूको गुनासो छ— हामी जनताप्रति इमानदार भएनौं, उनीहरूसँग पनि इमानदार भएनौं,’ कोइरालाले भन्नुभयो, ‘उनीहरूले सधैं भन्छन्— जनताप्रति इमानदार होऊ, जनताको काम राम्रोसँग गर, हामीलाई झुक्याउने काम नगर्नू।’ राजनीतिज्ञहरू कुर्सीका लागि गलत कदम चालिरहेको टिप्पणी गर्दै उहाँले अब बन्ने सरकारहरूले गलत काम गर्नेहरूलाई दण्डित गर्ने र सही प्राथमिकता राख्ने विश्वास व्यक्त गर्नुभयो। ‘ढुक्क हुनुस्, हामी गर्छौं, हामी सक्छौं,’ उहाँले भन्नुभयो।

सोसल मिडियामा विचारविहीनहरूले देश कब्जा गरिसक्यौं भनेजस्तो होहल्ला चलाए : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारविहीन, इतिहासविहीन तथा त्याग, तपस्या र बलिदान नभएकाहरूले सामाजिक सञ्जालमा देशै कब्जा गरिसक्यौं भनेजस्तो हल्ला चलाएको बताउनुभयो। रुकुमबाट १५ दिन पैदल यात्रा गरी काठमाडौं आइपुगेका विद्यार्थी नेता केशव रावललाई धन्यवाद व्यक्त गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताउनुभएको हो। प्रचण्डले भन्नुभयो, ‘अहिले सोसल मिडिया हेर्‍यो भने विचारविहीन, इतिहासविहीन, त्याग तपस्या, बलिदान र निष्ठाविहीनहरूले देश पूरै कब्जा गरिसके भनेजस्तो होहल्ला छ। सहरबजारका केही मान्छे त्यस्तै हल्लामा रमाइरहेका छन्। दशकौं लडाइँ लडेर, आन्दोलन गरेर, त्याग–तपस्याका कीर्तिमान कायम गरेकाहरूलाई अहिले बदनाम गर्न खोजिँदैछ।’ प्रचण्डले सोसल मिडियामा होहल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भनेजस्तो सहरबजारमा हल्ला चलाइएको पनि बताउनुभयो। उनले लामो इतिहास भएका पार्टीहरू अब सिद्धिए भन्ने हल्ला जनताले नपत्याएको बताउँदै जनतामा नेपाली कम्युनिष्ट पार्टी र यसले अँगालेको विचारप्रति आकर्षण रहेको जिकिर गर्नुभयो। प्रचण्डले अहिलेको समय सूचना प्रविधि (आईटी) र कृत्रिम बुद्धिमत्ता (एआई) को भए पनि यसको प्रयोगमा सचेत हुनुपर्ने बताउनुभयो। प्रचण्डले भन्नुभयो, ‘हामीले विचार गर्नुपर्छ। यो समय आईटीको हो। एआईले मानव चेतनालाई नयाँ ठाउँमा पुर्‍याइरहेको छ। तर, त्यसको प्रभाव, प्रभुत्व र स्वामित्व प्रतिक्रियावादी शक्तिहरूको हातमा छ। उनीहरूले जस्तो चाह्यो, त्यस्तै प्रयोग गरिरहेका छन्। हामीलाई लाग्छ— मोबाइल आफैँ चलाइरहेको छु, समाचार आफैँ पोस्ट गरिरहेको छु। तर, त्यो एकाधिकार वैदेशिक साम्राज्यवाद र प्रतिक्रियावादकै हातमा छ। उनीहरूले आफू अनुकूल नै बनाएका छन्।’

प्रचण्डद्वारा राष्ट्रिय च्याउ दिवसको शुभकामना : च्याउ खेतीलाई प्राथमिकता दिन सरकारसँग आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय च्याउ दिवस, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण च्याउ किसान, उद्यमी र नेपाली दिदीबहिनी–दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।   उहाँले फेसबुकमार्फत शुभकामना सन्देश पोस्ट गर्दै च्याउ खेती पछिल्लो समय आत्मनिर्भर कृषि विकास, रोजगारी सृजना तथा आयात प्रतिस्थापनको महत्वपूर्ण आधार बनेको बताउनुभयो । प्रचण्डले भन्नुभयो, “कम लगानीमा छोटो समयमै उत्पादन दिन सक्ने, पोषणयुक्त र स्वास्थ्यका दृष्टिले उपयोगी खाद्य वस्तुका रूपमा च्याउको महत्व बढ्दै गएको छ ।” उहाँले च्याउ खेतीको अपार सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न राज्यबाट थप सहयोग, प्राविधिक तालिम, अनुदान, बजार सुनिश्चितता तथा निर्यात प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो । साथै, सरकारले च्याउ खेतीलाई प्राथमिकतामा राखी अघि बढाउने प्रतिबद्धता जनाउन जरुरी रहेको उहाँको भनाइ छ । यो दिवसले च्याउ खेतीप्रति सबैमा उत्साह र प्रेरणा जगाओस् तथा समृद्ध नेपाल निर्माणमा थप योगदान पुगोस् भन्ने कामना पनि प्रचण्डले व्यक्त गर्नुभएको छ ।

राष्ट्रियसभाका अध्यक्षद्वारा तमु ल्होसारको शुभकामना : विविधतासहितको एकता राष्ट्रिय मेरुदण्ड

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय मेरुदण्डका रूपमा आत्मसात् गरेको बताएका छन् । नयाँ वर्षको शुभारम्भका रूपमा तमु (गुरुङ) समुदायले विशेष महत्त्वका साथ मनाउने तमु ल्होसार पर्वका अवसरमा उनले देश तथा विदेशमा रहेका तमु समुदायका साथै समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । सोही सन्दर्भमा उनले भने, “हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ । यही विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित गरेको छ । तमु ल्होसार पर्वले गुरुङ जातिको लोक संस्कृतिको संरक्षण र विकासमा विशिष्ट भूमिका खेलेको छ ।” तमु ल्होसारजस्ता मौलिक चाडपर्वले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

दाउन्नेमा शीतलहरले सडक चिप्लो बनाउँदा १५ घण्टादेखि राजमार्ग अवरुद्ध

बर्दघाट । शीतलहरका कारण सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द भएको छ । दाउन्ने खण्डको उकालो र ओरालो भागमा शीतलहरले बाटो भिजेपछि गाडीहरू चिप्लिएर अड्किएका छन् । फलस्वरूप १५ घण्टादेखि सवारी साधन चल्न सकेका छैनन् । इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेले यो जानकारी दिए । सडकमा गाडी गुड्न नसकेपछि बर्दघाट र दुम्कीबासतर्फ लामो लाइन लागेको छ । प्रहरीका अनुसार शीतलहर कम भएपछि मात्र सडक खुला हुने सम्भावना छ । निर्माणाधीन बुटवल–नारायणगढ सडक खण्डका अन्य भागमा यातायात सहज भए पनि दाउन्ने क्षेत्रमा अझै काम बाँकी रहेकाले समस्या बढेको छ ।

तमु ल्होसार र म्हैप्रु नकुमा पर्वले राष्ट्रिय एकता सुदृढ बनाउँछ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदायले मनाउने ल्होसार पर्व तथा दुरा समुदायको सांस्कृतिक पर्व म्हैप्रु नकुमा पर्वले नेपालको बहुसांस्कृतिक पहिचानलाई जीवन्त बनाउँदै राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनु भएकाे छ । तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै संयोजक प्रचण्डले  स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्नुभएकाे छ ।  प्रचण्डले संस्कृति र संस्कारहरू समाजको पहिचानका आधारस्तम्भ भएको उल्लेख गर्दै विविधताभित्रको एकता, आपसी सद्भाव र सहअस्तित्व नेपाली समाजको सांस्कृतिक जीवनको सुन्दर विशेषता भएको बताउनु भएकाे छ । तमु समुदायले श्रद्धा र उल्लासका साथ मनाउने ल्होसार तथा दुरा समुदायको गौरवपूर्ण म्हैप्रु नकुमा पर्वले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक चरित्रलाई स्पष्ट रूपमा उजागर गर्दै आएको प्रचण्डकाे भनाइ छ । संयोजक प्रचण्डले  बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगमस्थल नेपालमा सबै जाति तथा समुदायको समानता, समावेशिता र सहअस्तित्वमा आधारित राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र साँचो अर्थमा राष्ट्रिय एकता मजबुत हुने उल्लेख गर्नुभएकाे छ ।  परिवर्तनका हरेक आन्दोलनमा उल्लेख्य योगदान पुर्‍याएका समुदाय तथा तिनका संस्कृतिहरूलाई गणतन्त्रको मर्मअनुसार संरक्षण, सम्मान र प्रवर्द्धन गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि उनले औँल्याउनु भएकाे छ ।  अन्त्यमा, प्रचण्डले ल्होसार तथा म्हैप्रु नकुमा पर्वलाई हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै, यी पर्वहरूले सम्पूर्ण नेपालीबीच पारस्परिक सद्भाव, सहिष्णुता र आपसी सम्मानको भावना अझ गहिरो बनाओस् भन्ने कामना व्यक्त गर्नुभएकाे छ ।    तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको हार्दिक शुभकामना नेपाली तमु समुदायले मनाउने ल्होसार पर्व तथा दुरा समुदायले मनाउने म्हैप्रु नकुमा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु। हाम्रा संस्कृति र संस्कारहरू हाम्रो पहिचानका स्तम्भ हुन्। तिनैले समाजलाई विविधताभित्र पनि एकताबद्ध बनाउँदै आएका छन्। आपसी सद्भाव र सहअस्तित्व हाम्रो सांस्कृतिक जीवनको सुन्दर आधार हो। तमु समुदायले श्रद्धा र हर्षका साथ मनाउने ल्होसार तथा दुरा समुदायको गौरवपूर्ण म्हैप्रु नकुमा पर्वले नेपालको बहुसांस्कृतिक पहिचानलाई जीवन्त रूपमा उजागर गर्दै आएका छन्। बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगमस्थल रहेको नेपालमा सबै जाति तथा समुदायको सहअस्तित्व, समानता र समावेशितामा आधारित राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र साँचो अर्थमा राष्ट्रिय एकता सुदृढ हुन्छ। परिवर्तनका हरेक आन्दोलनमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएका यी बहुल समुदाय तथा उनीहरूका संस्कृतिहरूलाई गणतन्त्रको छहारीमा संरक्षण, सम्मान र प्रवर्द्धन गर्दै फक्रिन दिने वातावरण बनाउनु आजको आवश्यकता हो। अन्तमा, ल्होसार पर्वलाई हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै, यस पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूबीच पारस्परिक सद्भाव र सहिष्णुताको भावना अझ गहिरो र मजबुत बनाओस् भन्ने कामना गर्दछु। १५ पुष,२०८२ ने.सं.११४६, पोहेलाथ्व नवमी                                                                                                                                  .................................. पुष्पकमल दाहाल 'प्रचण्ड'   संयोजक नेपाली कम्युनिष्ट पार्टी

शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड

काठमाडौँ । नेपाली वृत्तचित्र ‘जिरो टु आठ हजार ८४८’ शून्यदेखि सगरमाथाले फ्रान्सको प्रतिष्ठित वल्र्ड फिल्म फेस्टिभल इन कान्समा ‘बेस्ट एसियन फिल्म अवार्ड’ प्राप्त गरेको छ । फेस्टिभलको निर्णायक समितिले फिल्मको सशक्त कथावस्तु, उच्चस्तरीय सिनेम्याटिक प्रस्तुति, सङ्घर्ष, साहस र आकाङ्क्षालाई गहिराइमा प्रस्तुत गरेको पक्षलाई मूल्याङ्कन गर्दै विश्वभरबाट सहभागी भएका चलचित्रमध्ये सो वृत्तचित्रलाई छनोट गरिएको हो । ‘जिरो टु आठ हजार ८४८’ को मौलिकता, गहिरो अनुसन्धान, विश्वव्यापी सन्देश र प्रकृति तथा संस्कृतिको उच्चतम प्रस्तुतिलाई आधार मानिएको छ । वृत्तचित्रमा नेपालको सबैभन्दा होचो भू–भाग झापा जिल्लाको कचनकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा, (८८४८ मिटर) सम्मको यात्रालाई जीवन्त र गहिरो वास्तविकताका साथ प्रस्तुत गरिएको छ । सो वृत्तचित्र सङ्घर्ष, धैर्यता, उद्देश्य साहसको कथासमेत हो । जलवायु परिवर्तन, भौगोलिक विविधता तथा जीवनलाई एउटा आरोहणका रूपमा बुझाउने दार्शनिक सन्देश पनि सो वृत्तचित्रमा समेटिएको छ । फिल्मका टिम लिडर प्रेम बानियाँले भने, “बेस्ट एसियन फिल्म’ अवार्ड प्राप्त गर्नु हाम्रो लागि अत्यन्तै गर्वको विषय हो । यसले केवल यो डकुमेन्ट्री फिल्मलाई मात्रै होइन, नेपाल र एसियाका विषय वस्तु, पात्र र सोचलाई पनि अन्तरराष्ट्रिय सम्मान दिएको छ । यो सम्मानले हामीलाई अझ अर्थपूर्ण र प्रेरणादायी कथा सिर्जना गर्न उत्साहित बनाएको छ ।” यस अवार्डसँगै ‘जिरो टु आठ हजार ८४८’ स्वतः वल्र्ड फिल्म फेस्टिभल इन कान्सको वार्षिक प्रतिस्पर्धामा प्रवेश गरेको छ । जुन २०२६ मा आयोजना हुने वार्षिक समारोहमा जिरो टु आठ हजार ८४८ को सहभागिता रहनेछ । साथै, यो फिल्म फेस्टिभलको ‘बेस्ट अफ फ्युचर’ छनोट तथा दर्शक पुरस्कारका लागि पनि योग्य बनेको छ । सो उपलब्धिले ‘जिरो टु आठ हजार ८४८’ लाई एसियाबाट विश्वमञ्चमा उदाएको एक महत्वपूर्ण सिनेम्याटिक आवाजका रूपमा स्थापित गरेको छ । एक मिलियन अमेरिकी डलरमा निर्मित डकुमेन्ट्रीको परिकल्पना तथा नेतृत्व पत्रकार तथा लेखक प्रेम बानियाँले गरेका हुन् । वृत्तचित्रमा चर्चित हलिउड डकुमेन्ट्री क्यारेक्टर तथा नर्थ फेसका ब्राण्ड एम्बेस्डर कोनराड एन्कर, १८ पटकसम्म सफल सगरमाथा आरोहण गरेका टेण्डी शेर्पा, विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाह, माउन्टेनियर आङ पासाङ शेर्पा आदिको फिचरिङ रहेको छ । डकुमेन्ट्रीको निर्देशन, इडिटिङ निरञ्जन पाण्डे र बलराम बूढाथोकीले गरेका हुन् भने कार्यकारी निर्माता श्रीराम वाग्ले हुन् । डकुमेन्ट्रीका निर्माता कपिलशरण वाग्ले, एलेक्स पराजुली, राजेन्द्र पाण्डे र जयनारायण शाह रहेका छन् । विश्वका प्रमुख सहरमा डकुमेन्ट्रीको प्रदर्शन हुने निर्माण कम्पनीले जनाएको छ । यसअघि अमेरिकाको जर्जिया र नर्थ क्यारोलाइनाको एएमसी थियटरमा डकुमेन्ट्रीको विशेष शोहरु सम्पन्न भइसकेका छन् । आगामी जनवरी महिनादेखि अमेरिकाका मुख्यमुख्य सहरमा विशेष शो आयोजना गरिने र त्यसपछि विश्वयात्रामा निस्किने बानियाँले जानकारी गराएका छन् ।

दाङमा विस्तार हुँदै स्ट्रबेरी खेती

दाङ । हरेक वर्ष स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी गर्दै आएका वीरेन्द्र खड्काले यस वर्ष पनि स्ट्रबेरी खेतीलाई निरन्तरता दिएका छन् ।  चार वर्षदेखि व्यावसायिक स्ट्रबेरी खेती गर्दै आएका खड्काका अनुसार हाल बोटमा फल लाग्न सुरु भएको छ । “धेरै जसो बोटमा फल लागिसकेको छ,” उनले भने, “अबको आठ/दस दिनभित्रै खानलाई तयार हुन्छ ।”  रोल्पा माडी गाउँपालिका–१, जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिँगौरामा स्वर्गद्वारी आश्रमको एक बिघा जग्गा लिजमा लिएर ‘एग्रोमार्ट फार्म’ दर्ता गरी व्यावसायिक स्ट्रबेरी खेती गर्दै आएका छन् । गत वर्ष १६ कट्ठामा खेती गरेका खड्काले यस वर्ष सोही ठाउँमा थप चार कट्ठासहित एक बिघामा स्ट्रबेरी खेती बढाएको जानकारी दिए ।  उनले गत वर्ष झन्डै २५ लाख रुपियाँ बराबरको कारोबार भएको र यस वर्ष गत वर्षभन्दा राम्रो आम्दानी हुने अपेक्षा गरेको बताए । उनले घोराहीमा स्ट्रबेरीको खेती राम्रो भएपछि यसै वर्षदेखि तुलसीपुरमा पनि पाँच कट्ठामा र गृहजिल्ला रोल्पामा पनि आठ रोपनी जग्गामा व्यावसायिक रूपमा खेती गर्दै आएको बताए ।  “बिरुवा खरिद, थोपा सिँचाइ र मल्चिङ विधि अपनाउँदा सुरुमा आठ लाख रुपियाँभन्दा बढी खर्च भएको थियो,” उनले भने, “अहिले त्यसैले काम गरिरहेकाले त्यति खर्च भएको छैन तर तुलसीपुर र रोल्पामा चाहिँ करिब त्यस्तै लगानी पुगेको छ ।”  उनका अनुसार स्ट्रबेरी दुई महिनादेखि तीन महिनाको बिचमा उत्पादन दिन सुरु हुन्छ । खड्काले यस वर्ष आफूले दुई चरणमा स्ट्रबेरी रोपेको जानकारी दिए । “पहिलो चरणको असोजको अन्त्यतिर रोपेको थिएँ,” उनले भने, “दोस्रो चरणको कात्तिकको पहिला साता रोपिएको हो, यी दुवै चरणमा रोपिएका बिरुवाले अहिले उत्पादन दिने तयारीमा छ ।” उनले स्ट्रबेरी प्रतिकिलो आठ सय रुपियाँका दरले बिक्री गर्दै आएको जानकारी दिए । 

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ६७ पैसा र बिक्रीदर १४४ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ र बिक्रीदर १६९ रुपियाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ८८ पैसा र बिक्रीदर १९४ रुपियाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपियाँ ७० पैसा र बिक्रीदर १८२ रुपियाँ ४६ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ २४ पैसा र बिक्रीदर ९६ रुपियाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ९२ पैसा र बिक्रीदर १०५ रुपियाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ७७ पैसा र बिक्रीदर ११२ रुपियाँ २३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १९ पैसा र बिक्रीदर नौ रुपियाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ५१ पैसा र बिक्रीदर २० रुपियाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ३० पैसा र बिक्रीदर ३८ रुपियाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ४१ पैसा र बिक्रीदर ३९ रुपियाँ ५८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५७ पैसा र बिक्रीदर चार रुपियाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ १२ पैसा र बिक्रीदर ३९ रुपियाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ३९ पैसा र बिक्रीदर ३५ रुपियाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ र बिक्रीदर १० रुपियाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६५ पैसा र बिक्रीदर १५ रुपियाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६३ पैसा र बिक्रीदर २२ रुपियाँ ७३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ ४८ पैसा र बिक्रीदर १८ रुपियाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपियाँ १० पैसा र बिक्रीदर ४६९ रुपियाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपियाँ ९९ पैसा र बिक्रीदर ३८२ रुपियाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपियाँ १७ पैसा र बिक्रीदर ३७४ रुपियाँ ७३ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

आज पुस १५, तमु ल्होसार पर्व मनाइँदै

काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदै छन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना हुँदैछ । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक भेषभूषामा सजिएर सहभागी हुन्छन् । कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको प्रदर्शनी गरिनेछ । यस अवसरमा आइतबारदेखि राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव सुरु भएको छ । महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता छ ।

बन्दीपुरमा एकैसाथ एक हजार जनाद्वारा चुड्का नाच प्रदर्शन गरिने

तनहुँ । बन्दीपुर भ्रमण वर्षको अवसरमा आज (मंगलबार) यहाँ बृहत् चुड्का नाच प्रदर्शन गरिँदैछ । बन्दीपुर भ्रमण वर्ष र तमु ल्होसारको अवसर पारेर बन्दीपुर गाउँपालिका–४ टुँडिखेलमा एकैपटक एक हजार जनाले चुड्का नाच प्रदर्शन गर्दै छन् । उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको चुड्का नाचका संयोजक एवं पर्यटनविद् हरिसिंह गुरुङले जानकारी दिए । चुड्का नाचका लागि केही दिनदेखि दमौली आसपासका विद्यालय, क्याम्पसका विद्यार्थीलाई नृत्य सिकाइएको थियो । तनहुँको कला, संस्कृति प्रवर्द्धन गर्ने र बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको गुरुङले बताए । उनले भने, “तनहुँ कला र संस्कृतिमा धनी छ । एकैपटक एक हजार जनाले नाच्ने यस कार्यक्रमले यहाँको पर्यटन प्रवर्द्धन हुनुका साथै कला, संस्कृतिको संरक्षण र पुस्तान्तरणमा सहयोग पुग्ने विश्वास गरेका छौँ ।” बन्दीपुर भ्रमण वर्षको समापन तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइँदैछ । पहिलो दिन चुड्का नचाइने छ भने दोस्रो दिन पुस १६ गते बन्दीपुर भ्रमण वर्ष समापन गरिँदैछ । बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय संयोजक वैशबहादुर गुरुङले बन्दीपुर भ्रमण वर्षले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि कोसेढुङ्गाको काम गरेको बताए । सन् २०२५ मा विविध कार्यक्रम सञ्चालन गरिएको बताउँदै उनले अब सन् २०२६ का लागि पनि विशेष कार्यक्रमको घोषणा गर्ने तयारी गरिएको उल्लेख गरे । त्यस्तै पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सडक खाना महोत्सव आयोजना गरिँदै छ । सडक खाना महोत्सवसँगै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । बन्दीपुरमा पर्यटकको चहलपहल बढेसँगै पर्यटन व्यवसायीसमेत उत्साहित छन् । पर्यटन व्यवसायी किसान प्रधानले यति बेला बन्दीपुरमा पर्यटकको उल्लेख्य चाप रहेको बताए । बन्दीपुर पर्यटकीय गाउँपालिका भएकाले पर्यटनलाई उच्च प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । यहाँ रहेको सिद्धगुफाको प्रचारप्रसार तथा मिनी ग्रेटवाल, मुकुन्देश्वरी पदमार्गलाई सम्पन्न गराउनेतर्फ गाउँपालिका अगाडी बढेको उनले उल्लेख गरे । उनले भन्नुभयो, “यहाँ निर्माणाधीन रहेका पूर्वाधारलाई सम्पन्न गराउनेतर्फ अगाडी बढेका छौँ । यसले बन्दीपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित विश्वास छ ।” अध्यक्ष थापाका अनुसार खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा, मणिमुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रूपमा सूचीकृत गरेको छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकका लागि आकर्षणका केन्द्रबिन्दु बन्ने उनले विश्वास व्यक्त गरे ।

आज कस्ताे रहला देशकाे मौसम ?

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ। देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

नवलपरासीमा दुई लाख ५४ हजार मतदाता

बर्दघाट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पश्चिम नवलपरासीमा कूल मतदाताको अन्तिममा नामावली सार्वजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपरासीका सूचना अधिकारी रामकरण लोनियाले जिल्लामा दुई लाख ५४ हजार १५७ जना कूल मतदाता रहेका जानकारी दिए । उनका अनुसार पुरुष एक लाख २९ हजार ९७० र महिला एक लाख २४ हजार १८३ जना रहेका छन् भने अन्यमा चार जना छन् । नयाँतर्फ ११ हजार ५०७ जनाले नामावली दर्ता गराएका लोनियाले बताए । “नागरिकताबाट दर्ता गराउने छ हजार १४१ जना रहेका छन् र राष्ट्रिय परिचयपत्रबाट दर्ता गराउने पाँच हजार ३६६ जना छन्”, उनले भने, “मतदाता नामावलीमा नाम समावेश भए पनि १८ वर्ष पूरा नभएकाले मतदान गर्न पाउँदैनन् ।”