उपनिर्वाचनका लागि मतदान स्थल तोकियो

काठमाडौं । निर्वाचन आयोगले इलाम २ को प्रतिनिधिसभा र बझाङ १ को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ ।

निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन् भने बझाङ १ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ ।

संसदका पाँचवटा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गतका पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बस्दै छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, खानेपानी मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।  बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० मा विज्ञसँग छलफल हुनेछ ।  दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।  बिहान १० बजे बस्ने महिला तथा समाजिक मामिला समितिको बैठकमा बाल सुधार गृहहरूको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा मन्त्रालयले गरिरहेको काम कारबाहीका बारेमा छलफल हुनेछ ।  बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ ।

बाइडेनको फोनपछि गाजामा राहत सामग्री पुर्याउन सीमासहित यी तीन मार्ग खोल्दै इजरायल

इजरायल । गाजामा थप राहत सामग्री पुर्याउन इजरायलले तीनवटा मानवीय मार्ग खोल्न तयार भएको छ ।युद्ध सुरु भएयता पहिलो पटक उत्तरी गाजामा इरेज गेट अस्थायी रूपमा खोलिनेछ ।  मानवीय सहायता सामग्री आगमन सहज बनाउन अस्दोद बन्दरगाह पनि खोलिनेछ । यसबाहेक, जोर्डनबाट गाजामा राहत सामग्री प्रवेश गराउन केरेम शालोम क्रसिङ पनि खोलिनेछ । हालै गाजामा राहत सामग्री वितरण गर्ने सात जना सहायता कामदारको मृत्यु भएपछि प्रधानमन्त्री नेतन्याहुलाई अमेरिकी राष्ट्रपति जो बाइडेनसँगले फोन गरी  गाजाको संकट अन्त्य गर्ने कदम नचाले इजरायल प्रतिको अमेरिकी नीति परिर्वतन गरिने र त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएका थिए ।

एक दिवसीय सिरिज:  आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै नेपाल ‘ए’

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ले शुक्रबार एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दैछन्। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानममा शुक्रबार बिहान ९ः३० बजे सुरु हुनेछ। बुधबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भएको थियो। आज नेपाल घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ।

नेतान्याहुलाई बाइडेनको फोन -'नागरिकको रक्षा गर्नुहोस्, नत्र....'

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजाको मानवीय संकट अस्वीकार्य भएको बताएका छन् ।उनले  इजरायललाई उक्त संकटलाई छिटो सम्बोधन गर्न वा परिणामहरूको सामना गर्न समेत चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गरी ३० मिनेट यीनै विषयमा कुरा गरेको सिएनएनले जनाएको छ । इजरायली हमलामा गाजाको वर्ल्ड सेन्ट्रल किचेनका सात जना अमेरिकी सहायता कार्यकर्ता मारिएपछि दुई नेताबीचको पहिलो फोन संवाद भएको थियो। सो घटनालाई ह्वाइट हाउसले हत्याको रुपमा लिएको छ भने सो घटनाले अमेरिकालाई क्रोध पैदा गरेको अमेरिकी अधिकारीहरु बताउँछन् । इजरायलले नागरिक क्षति, मानवीय पीडा र सहायताकर्मीहरूको सुरक्षालाई सम्बोधन गर्न विशिष्ट, ठोस र मापनयोग्य कदम घोषणा र कार्यान्वयन गर्न आवश्यक  रहेको बाइडेनले बताएका छन् । अमेरिकी अधिकारीहरुका अनुसार अमेरिकाले भने जस्तै इजरायलले तत्काल कदम नचाले इजरायलाई हेर्ने अमेरिकी नीति परिर्वतन गरिने बताइएको छ । परिर्वतित नीति कस्तो लिइनेछ भन्नेबारे भने स्पष्ट केही भनिएको छैन् ।

फ्रेन्डसिप कप  :  आज भारतको बरोडा क्लबसँग खेल्दै नेपाल

काठमाडौं । भारतमा जारी त्रिकोणात्मक टी(२० फ्रेन्डसिप कपमा लगातार तीन जीत निकालेको नेपालले आज चौथो खेल खेल्दैछ । एक खेल अगाडि नै फाइनल पुगेको नेपालले शुक्रबार बरोडा क्लबसँग खेल्दै छ ।  यो खेल दिउँसो २ः ४५ बजे गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा सुरु हुनेछ । पहिलो खेलमा आइतबार गुजरातमाथि ८ विकेटको शानदार जित निकालेको नेपालले मंगलबार भएको दोस्रो खेलमा बरोडामाथि २७ रनको जित दर्ता गरेको थियो ।बुधबार सम्पन्न तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गर्दै फाइनल पुगेको थियो ।  नेपालको भारत भ्रमणलाई आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपको तयारीका रुपमा लिइएको छ। विश्वकपमा नेपाल समूह ‘डी’मा छ। विश्वकपमा नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्।

पश्चिमी र स्थानीय वायुको प्रभाव, यस्तो रहनेछ आजको मौसम

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज बिहान देशभर आंशिक बदलीदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।  गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  विभागले उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। उनले बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पेस गरेका हुन् ।  सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सांसद विभाजित भएर विश्वासको मत नपाउने देखिएपछि राजीनामा बुझाएका हुन् । आज विश्वासको मत लिने तयारी समेत गरेका थिए । शाह ०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

गायक राजेश पायलले घर घडेरी दिएर गरे ‘डिभोर्स’

काठमाडौं । गएराति मादक पदार्थ सेवन गरी हल्ला गरेको भन्दै छिमेकीले प्रहरीलाई जानकारी गराएपछि पक्राउ परेका चर्चित गायक राजेशपायल राईले डिभोर्स गरेका छन् । गायक राईले यही साता काठमाडौं जिल्ला अदालतमा श्रीमती साङबुङ राईसँग औपचारिक रुपमा डिर्भोस गरेका हुन् ।स्रोतका अनुसार अदालतमा दुई पक्षबीच मिलापत्र गरी डिभोर्स भएको हो । अदालतमा गायक राई आफैले डिभोर्सको मुद्दा दायर गरेका थिए ।डिर्भोसपछि उनले हिजो मादक पदार्थ सेवन गरी हल्ला गरेको बुझिएको छ । उनीहरूबीच सहमतिमा डिर्भोस भएको हो । यस क्रममा गायक राईले श्रीमतीलाई झण्डै पाँच करोड रुपैयाँ पर्ने तीन तले घर दिने भएका छन् । नक्सालमा रहेको उक्त घरसहित राईले श्रीमती साङबुङलाई थप नगद दिने सहमति गरेका छन् । साथै, थप एक करोड रूपैयाँ र काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि लिने दिने लिखित सहमति भएको बुझिएको छ । उनीहरूको दुई वर्षीय छोरा छन् । छोराको सबै पालन पोषणसहित शिक्षाको जिम्मेवारी गायक राईले लिने भएका छन् । उनीहरुले छोरा जन्मिएपछि विं.सं.२०७८ असोजमा बिहे दर्ता गरेका थिए । गायक राईकी श्रीमतीले आफ्नो सामाजिक सञ्जालमा डिर्भोसको विषयलाई पुष्टि गर्ने गरी आफ्नो अभिव्यक्ति दिँदै आएकी छन् । उनले यस क्रममा केही दिनअघि ‘तिम्रो खुशी नै मेरो खुशी, चाहे तिमीलाई पाउ या गुमाउ’ भन्दै लेखेकी छन् । 

लुम्बिनीका मुख्यमन्त्री चौधरीद्धारा राजीनामा

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । अल्पमतमा परेपछि बिहीबार प्रदेश सभाको चौथो अधिवेशनमा उनले राजीनामा दिएका हुन् । चौधरी ११ महिनाअघि वैशाख १४ गते मुख्यमन्त्री बनेका थिए । चौधरीले संघमा भएको गठबन्धन फेरबदलसँगै राजीनामा दिएको बताए ।

सुदूरपश्चिम प्रदेश सभाको बैठक सारियो

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आह्वान गरिएको बैठक सारिएको छ । ३ बजेका लागि तोकिएको बैठक ५ बजे बस्ने गरी सारिएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत तेजप्रकाश जोशीले जानकारी दिए । मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनको लागि बिहीबार प्रदेशसभाको बैठक आह्वान गरिएको हो ।

नेप्से २.७३ अंकले घट्यो

काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक ०.१३ प्रतिशतले घटेको छ । बिहीबार नेप्से २.७३ अंकले घटेर २००४.०५को विन्दुमा पुगेको हो । नेप्से परिसूचक पछिल्लो तीन दिन लगातार झिनो अंकले घेटेको हो । आज ३०२ धितोपत्रको ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँमा किनबेच भएको छ ।

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित, कति थपिए नयाँ मतदाता?

काठमाडौँ । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरी अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । आयोगले चैत २२ गतेको बैठकबाट उपनिर्वाचनलाई लक्षित गरी आयोगबाट फागुन २९ देखि चैत ५ सम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८०’ अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगको वेबसाइटमा प्रकाशन गरेको हो । सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पछिल्लो निर्वाचनमा इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा १ लाख १५ हजार ४६७ र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ६१ हजार ११० मतदाता रहेका थिए । आसन्न उपनिर्वाचनका लागि इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा ४२२ जना मतदाता थप भई १ लाख १५ हजार ८८९ मतदाता कायम भएका छन् भने बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ६३८ जना थप भई ६१ हजार ७४८ मतदाता कायम भएका छन्। स्वीकृत मतदाता नामावली बमोजिम देशभरको विवरण अनुसार मिति २०८१–०१–१४ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरू मध्ये महिला मतदाता ८८ लाख ८६ हजार २२६, पुरुष मतदाता ९२ लाख २ हजार ५६९ र अन्य मतदाता १८८ गरी कूल १ करोड ८० लाख ८८ हजार ९८३ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको छ।  यस विवरणअनुसार सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा महिला मतदाता ३ लाख ६२ हजार ९७३, पुरुष मतदाता ३ लाख ७६ हजार ४११ र अन्य मतदाता ६ गरी जम्मा ७ लाख ३९ हजार ३९० र सबैभन्दा कम मतदाता मनाङ जिल्लामा महिला मतदाता ३ हजार ५३० र पुरुष मतदाता ३ हजार ३१९ गरी जम्मा ६ हजार ८४९ मतदाता रहेका छन्।

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं ।मन्त्रिपरिषदको नियमित बैठक जारी रहेको छ । सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

तीन जना मृत अवस्थामा फेला

काठमाडौं । मोरङ, काभ्रे र पर्सामा तीन जना मृत अवस्थामा फेला परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका-६ जागृति टोल बस्ने ४५ वर्षीय निर्मला लिम्बु सोही ठाउँस्थित भोर्जना पैनिमा बुधबार मृत अवस्थामा फेला परेकी छन् । त्यसैगरी काभ्रेको खानिखोला गाउँपालिका-७ त्रिवेणीघाटस्थित त्रिवेणीघाट सामुदायिक जंगलमा हाल नाम, थर, वतन नखुलेकी महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै पर्सा, वीरगंज महानगरपालिका-१४ बहुअरीस्थित खुल्ला चौरमा साल नालसहितको नवजात शिशुको शव बुधबार फेला परेको छ । शिशुको लिङ्ग पहिचान हुन सकेको छैन ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

लुम्बिनीका मुख्यमन्त्री चौधरीले राजीनामा दिने

काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् । पार्टीले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत नदिने भएपछि उनले राजीनामा दिन लागेका हुन् । नयाँ गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको समर्थन जुटाएका छन् । चौधरीले  बिहीबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गर्ने स्रोतले बताएको छ ।