जेनजी आन्दोलनमा लुटिएका ७३३ हतियार फिर्ता
काठमाडौं । जेनजी आन्दोलनको क्रममा सुरक्षा निकायबाट लुटिएका ७३३ हतियार फिर्ता भएका छन्।
गृह मन्त्रालयका अनुसार, गत भदौ २३ र २४ गते भएको आन्दोलनमा लुटिएका हतियारमध्ये ७३३ वटा फिर्ता आएका हुन्। आन्दोलनका क्रममा नेपाल प्रहरीका मात्रै १,२७१ हतियार लुटिएका थिए भने सशस्त्र प्रहरीका केही हतियारसमेत गरी कुल करिब १,३०० हतियार लुटपाट भएका थिए। तीमध्ये करिब साढे ५ सय हतियार अझै फिर्ता हुन बाँकी छन्।
फेला नपरेका हतियारमध्ये केही प्रदर्शनकारीले खोलानाला र झाडीमा फालेका तथा न्यून मात्रामा लुकाएर राखेका हुन सक्ने सुरक्षा निकायको अनुमान छ।
एक सुरक्षा प्रमुखले गृह मन्त्रालयमा ब्रिफिङका क्रममा भने, “धेरै हतियार फिर्ता आइसकेका छन्। केही हराएका छन्। तीमध्ये केही आपराधिक पृष्ठभूमिका व्यक्तिले लुकाएका होलान्। बाँकी हतियार भने फालिसकेका छन् भन्ने हाम्रो विश्लेषण छ।”
लुटिएका हतियार खोजी गर्न विशेष योजना बनाएर काम गर्दा प्रहरीले आन्दोलनमा लुटिएकाबाहेक थप ३२ हतियार पनि बरामद गरेको जनाएको छ।
जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये ९,९६० जना पक्राउ परेका छन्।
आन्दोलनका क्रममा तोडफोड र आगजनी गरेर फरार भएका कुल १४,५४० कैदीबन्दीमध्ये ९,९६० जनालाई पक्राउ गरी पुनः कारागारमा राखिएको छ। अझै ४,५८० जना फरार छन्। फरार कैदीबन्दी खोज्न नेपाल प्रहरीले विशेष अपरेशन सुरु गरेको जनाएको छ।
फरारमध्ये केही विदेशी कैदीबन्दी छन्। धेरैजसो भारतीय भएकाले उनीहरू भारत भागिसकेको आशंका गरिएको छ। केही लुकिछिपी बसेकाले उनीहरूलाई पक्राउ गर्न विशेष अभियान चलाइएको छ।
फरार कैदीबन्दीहरू विदेश नभागून् भनी अध्यागमन विभागले उनीहरूलाई कालोसूचीमा राखेको छ।
मितेरी पुल पुनर्निर्माणपछि रसुवागढी नाका खुल्दै
रसुवा । गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त बनाएको गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएसँगै नेपाल–चीन सीमावर्ती रसुवागढी नाका भोलिदेखि सञ्चालनमा आउने भएको छ । चिनियाँ पक्षले आज सार्वजनिक गरेको सूचनाअनुसार आइतबारदेखि नाका औपचारिक रूपमा खुला हुने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार प्रारम्भिक चरणमा सीमापार ढुवानीमा संलग्न नेपाली सवारी चालकहरूलाई मात्र चीनतर्फ प्रवेशको अनुमति दिइनेछ । चीन प्रवेशका लागि निवेदन दिएका सवारी चालकहरूलाई भोलिदेखि प्रवेश अनुमति प्रदान गरिने सूचना चिनियाँ पक्षबाट प्राप्त भएको पन्थीले जानकारी दिए । आगामी जनवरी १, २०२६ देखि भने एकतर्फी पालैपालो प्रणालीमार्फत सवारी आवागमन सञ्चालन गरिनेछ । उनका अनुसार जनवरी १ देखि मालवाहक सवारी साधन तथा व्यापारीहरूलाई पनि नाकाबाट आवागमनको अनुमति दिइनेछ । यद्यपि, नाका खुले पनि तत्काल सबै प्रकारका सवारी साधन सञ्चालन हुने छैनन् । चिनियाँ पक्षले जारी गरेको सूचनामा भोलिदेखि सीमापार ढुवानीमा संलग्न यात्रुहरूलाई प्रवेश दिन सुरु गरिने उल्लेख छ । साथै, सबै विदेशी व्यापारिक प्रतिष्ठानहरूले समयमै सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने र नेपाली चालक तथा कर्मचारीहरूले प्रवेशअघि आवश्यक तयारी, सवारी साधन लोड तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने जनाइएको छ । आगामी जनवरी १ देखि भन्सार कार्यालयले भित्रिने तथा बाहिरिने सवारी साधनको निरीक्षणपछि मात्र आवागमनको अनुमति दिनेछ । यस अवधिमा एकतर्फी पालैपालो आवागमन प्रणाली कडाइका साथ लागू गरिने चिनियाँ पक्षले जनाएको छ । यसैबीच, जी–२१६ सीमा क्षेत्रमा सडक कालोपत्रेको काम जारी रहेकाले जनवरी १ देखि ८ सम्म आधा मार्ग मात्र सीमापार आवागमनका लागि प्रयोग गरिनेछ । सो अवधिमा चिनियाँ समयअनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आवागमन खुला रहनेछ भने बाँकी समयमा दुवैतर्फबाट सवारी आवागमन नियन्त्रण गरिनेछ । जनवरी ८ पछि भने चिनियाँ समयअनुसार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म (सामान्य भन्सार समयभन्दा एक घण्टा बढी) सवारी साधन प्रवेशका लागि खुला रहनेछ । साथै, दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म अस्थायी रूपमा आवागमन सञ्चालन गरिने जनाइएको छ ।
दुई होटेलको आइपिओ आउँदै
काठमाडौं । दुई होटेलले प्राथमिक सेयर निष्कासन गर्ने भएका छन् । चितवनको सौराहास्थित होटेल पार्क ल्यान्ड र भक्तपुरस्थित नगरकोट रिसोर्ट लिमिटेड प्राथमिक सेयर निष्कासनका लागि प्रक्रियामा गएका हुन् । सिटिजन्स क्यापिटल लिमिटेड र होटेल पार्क ल्यान्ड लिमिटेडबिच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा होटेल पार्क ल्यान्ड लिमिटेडका अध्यक्ष शरदकुमार पाण्डे तथा सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले होटेल पार्क ल्यान्ड लिमिटेडको सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात् बिक्री प्रबन्धकको कार्य गर्ने छ । यस्तै नगरकोट रिसोर्ट लिमिटेडले १५ करोड रुपियाँ बराबरको साधारण सेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । उक्त रिसोर्टको कर्पोरेट एडभाइजरीसम्बन्धी कार्य ज्योति क्यापिटल लिमिटेडले गर्दै आइरहेको छ ।
चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयात बढ्यो
काठमाडौँ । खपत बढेसँगै चालु आर्थिक वर्ष २०८२/८३ मा पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । चालु आवको पहिलो पाँच महिनामा एक खर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि मङ्सिरसम्म डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यास गरी कुल एक खर्ब तीन अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब एक अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । समीक्षा अवधिमा आयात रकम करिब दुई अर्ब रुपियाँले बढेको हो । पाँच महिनाको अवधिमा सबै प्रकारका पेट्रोलियम पदार्थको आयात परिमाण बढेको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार चालु आवमा सबैभन्दा धेरै डिजेल आयात भएको छ । यस अवधिमा ४५ अर्ब ६० करोड ६२ लाख ११ हजार रुपियाँ बराबरको चार लाख ८७ हजार ८५६ किलोलिटर डिजेल आयात भएको छ । गत वर्ष सोही अवधिमा ४२ अर्ब १७ करोड २८ लाख ६२ हजार रुपियाँ बराबरको चार लाख ७२ हजार ८०७ किलोलिटर डिजेल आयात भएको थियो । यस्तै चालु आवमा २७ अर्ब ३३ करोड २१ लाख चार हजार रुपियाँ बराबरको तीन लाख १४ हजार ६६३ किलोलिटर पेट्रोल आयात गरिएको छ । गत वर्षको सोही अवधिमा २६ अर्ब ४५ करोड ४३ लाख ५७ हजार रुपियाँ बराबरको तीन लाख छ हजार २२९ किलोलिटर पेट्रोल आयात भएको थियो । खाना पकाउने ग्यासतर्फ चालु आवको पाँच महिनामा २२ अर्ब ३९ करोड ४६ लाख ६३ हजार रुपियाँ बराबरको दुई लाख २७ हजार ३४४ मेट्रिक टन ग्यास आयात भएको छ । गत वर्ष सोही अवधिमा २४ अर्ब २२ करोड ९१ लाख ६८ हजार रुपियाँ बराबरको दुई लाख १७ हजार ७७४ मेट्रिक टन ग्यास आयात भएको थियो । परिमाणमा करिब १० हजार मेट्रिक टनले आयात बढे पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले ग्यास आयातमा बाहिरिने रकम भने कम भएको विभागले जनाएको छ । चिसो मौसममा ग्यासको खपत बढ्ने भएकाले आयात बढेको हो । यसैगरी, पाँच महिनाको अवधिमा आठ अर्ब ३४ करोड ८९ लाख ८६ हजार रुपियाँ बराबरको ९० हजार ९११ किलोलिटर हवाई इन्धन आयात भएको छ । गत वर्ष सोही अवधिमा आठ अर्ब १४ करोड ५९ लाख ७३ हजार रुपियाँ बराबरको ८९ हजार ५४५ किलोलिटर हवाई इन्धन आयात भएको थियो ।
समन्वयबिना ठेक्का दिँदा घोडाघोडी तालका विषयमा विवाद
कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा प्रवेश शुल्क उठाउने विषयलाई लिएर विवाद चर्किँदै गएको छ । घोडाघोडी नगरपालिकाले गत भदौमा ताल क्षेत्रमा प्रवेश शुल्क सङ्कलनका लागि बोलपत्र आह्वान गरेपछि विवाद सुरु भएको हो । उक्त बोलपत्र खप्तड निर्माण सेवा, बाजुराले पाएको छ । विगतदेखि ताल संरक्षणमा सक्रिय सामुदायिक वन र सरोकार भएका सङ्घसंस्थासँग आवश्यक समन्वय नगरी नगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाएको भन्दै विवाद सिर्जना भएको हो । विवादका कारण ठेक्का पाएको तीन महिना बितिसक्दा पनि काम गर्न नपाएको निर्माण कम्पनीका प्रतिनिधि विक्रम रावलले गुनासो गरे । उनका अनुसार बोलपत्रबापत रु १६ लाख ४० हजार नगरपालिकामा जम्मा गरिसकिएको अवस्थामा हालसम्म कार्यस्थलमा काम गर्ने अवस्था बनेको छैन । “आफ्नै ठाउँमा केही गर्ने उद्देश्यले लागेका हौँ, तर अहिले काम गर्न पाइएको छैन”, रावलले भने । घोडाघोडी ताल क्षेत्रमा प्रवेश शुल्क विगतका वर्षमा घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चले सङ्कलन गर्दै आएको थियो । त्यसपछि भने घोडाघोडी सामुदायिक वनले उक्त शुल्क सङ्कलन गर्दै आएको छ । ताल क्षेत्रको संरक्षण आफूहरूले गर्दै आएकाले प्रवेश शुल्क लिने अधिकार पनि सामुदायिक वनको हुनुपर्ने आफूहरूको माग रहेको घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपक शाहले बताए । उनले सरोकार भएका निकायसँग कुनै किसिमको समन्वय नगरी नगरपालिकाले बोलपत्र आह्वान गर्न नहुने धारणा राखे । स्थानीय उपभोक्ताले संरक्षण गर्दै आम्दानी लिन थालेको केही समयमै स्थानीय सरकारले हस्तक्षेप गरेको भन्दै आक्रोशित बनेका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले डिभिजन वन कार्यालय पहलमानपुरमा निवेदनसमेत दिएका छन् । यसैबीच, नगरप्रमुख खडकबहादुर रावतले प्रवेश शुल्कसम्बन्धी विवाद समाधानका लागि सरोकार भएका निकायका प्रतिनिधिबीच छलफल भइरहेको बताए । “तीन महिना भइसक्दा पनि ठेक्का पाउनेहरूले काम गर्न पाउनुभएको छैन । सबै सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल र समन्वय गरेर विवाद समाधान गरी काम गर्ने वातावरण बनाउने छौँ”, उनले भने ।
एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी सो विवरणको जानकारी दिएको हो । प्रकाशित अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य दुई सय मतदाता समावेश छन् । सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ । मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले शनिबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । विसं २०७९ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदय निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य एक सय ८५ गरी कुल मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको थियो । विसं २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको सङ्ख्या नौ लाख १५ हजार ११९ ले वृद्धि भएको छ । पुरुष मतदाताको सङ्ख्या पाँच लाख २२ हजार ५५२, महिला मतदाताको सङ्ख्या तीन लाख ९२ हजार ५५२ र अन्य मतदाताको सङ्ख्या १५ ले वृद्धि भएको आयोगले जनाएको छ । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्नका लागि देशभर १० हजार ९६७ मतदातास्थलमा २३ हजार ११२ मतदाता केन्द्र निर्धारण गरिएको छ । यो निर्वाचनमा २०७९ सालको कुल मतदान स्थलको सङ्ख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ । कुल मतदान केन्द्रको सङ्ख्या आठ सय ८५ वृद्धि भएको छ ।
आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली तथा बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–ई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महोत्तरीका उखु किसानलाई अहिले धपेडी
महोत्तरी । महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने बेला घर्कँदै गर्दा खुट्टी (दोस्रो वर्षको बाली) उखु काटेर चिनी उद्योगमा पुर्याउन र पेलेर सख्खर बनाउन किसानलाई धपेडी परेको हो । भङ्गाहा–४ प्रेमनगरका किसान रामविलास महतोले पुस तेस्रो साताभित्र चैतेबाली लगाइसक्नुपर्ने भएकाले आफूहरू त्यसैमा लागेको बताए । उनले भने, “समयको चाप छ, त्यसैले हाल मुटु कँपाउने जाडो पनि नभनी उखुको काममा जोतिनुपरेको छ ।” यता एक पटक लगाइएको उखु खेतीबाट दुई वर्ष बाली लिइन्छ । पहिलो वर्षको बालीलाई ‘मुडन’ र दोस्रो वर्षकोलाई ‘खुट्टी’ भनिन्छ । हाल खुट्टी उखु भएको जग्गामा तत्काल चैते (चैती) बाली लगाउनुपर्ने बाध्यता छ । “गहुँ त पुस २२ सम्म लगाइसक्नुपर्छ, वैशाखी –चैत र वैशाखमा उत्पादन लिइने तरकारी पनि ढिलोमा पुसभरिमा लगाइसक्नुपर्छ”, बर्दिबास–७ चौखिका किसान जगन्नाथ महतो भन्छन्, “उखु व्यवस्थापन नगरी चैतेबाली नलाग्ने हुँदा हाल हामीलाई सास फेर्ने फुर्सतसमेत नभएको अवस्था छ ।” जिल्लाको उत्तरी क्षेत्रको जग्गा चाँडै रुखो हुने हुँदा पुस महिनाभित्रै बाली लगाउन नपाए छ महिना बाँझो पर्ने चिन्ताले किसान दिनरात नभनी उखु व्यवस्थापन लागेका उनले बताए । जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले गत सोमबारदेखि उखु ‘क्रसिङ’ सुरु गरिसकेको छ । हाल किसानले धमाधम उद्योगमा उखु पुर्याइरहेका छन् । कतिपयले घरआँगनमै उखु पेलेर सख्खर बनाउन थालेका छन् । गौशाला–१२ कालीपुरका किसान भोगेन्द्र महतोले भने, “मुडन उखु त झण्डै चैतसम्मै काट्दा पनि हुन्छ, खुट्टी काट्ने समय भने बितिसक्यो । खुट्टी उखु काटेरमात्र नभइ त्यसलाई पेल्ने र सख्खर बनाउनेसम्मको चाँजो सँगसँगै गर्नुपर्ने हुँदा भ्याइनभ्याइ परेको छ ।” जिल्लामा यसपालि नौ हजार ६०० बिघामा रहेको उखुखेतीमध्ये पाँच हजार बिघामा खुट्टी छ । उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले मङ्सिर १५ भित्रै खुट्टी उखु कटान गर्न चिनी उद्योग सञ्चालन हुन पर्नेमा त्यसमा ढिलाइ हुँदा किसानलाई केही धपेडी परेको बताए । “हामीले सरकारलाई प्रत्येक वर्ष कात्तिक १५ भित्र चिनी उद्योग, उखु उत्पादक किसानका प्रतिनिधि र सरकारबिचको सहमतिमा उखुको मूल्य निर्धारण र मङ्सिर १५ बाट क्रसिङ सञ्चालन हुनुपर्ने माग राख्दै आएका छौँ”, उनले भने, “सोअनुसार तालिका कार्यान्वयन नहुँदा किसानलाई कठिनाइ भइरहेको छ ।” सरकारले यसपालि निकै ढिलो गरी मङ्सिर २२ मा मात्र उखुको मूल्य निर्धारण गरेको थियो । आगामी वर्ष समयमै तालिका कार्यान्वयन गर्न सरोकार भएकाहरू सबै हालैदेखि लाग्नुपर्ने अध्यक्ष कुशवाहाको भनाइ छ ।
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
काठमाडौँ । देशका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा आगलागीका घटनामा परेर दुई जनाको मृत्यु भएको छ । ती घटनामा अन्य नौ जना घाइते भएका छन् । अधिकांश घटना आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले दैनिक नै आगलागीका घटना हुने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार हुम्लाको खर्पुनाथ गाउँपालिकामा–२ स्थित एक घरमा अचानक आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । यस्तै, मधेस प्रदेशको धनुषास्थित महादेव गाउँपालिका–२ की २२ वर्षीया महिलाको ग्यासमा पानी तताउने क्रममा आगलागीमा परेर मृत्यु भएको छ । उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो । सुनसरीको भोक्राहामा घूर बालेर आगो ताप्ने क्रममा साडीमा आगो सल्किँदा एक महिला घाइते भएकी छिन् । यस्तै सप्तरीमा पनि घुर ताप्ने क्रममा नै साडीमा आगो सल्किएर एक महिला घाइते भएकी छिन् । महोत्तरीमा पनि साडीमै आगो सल्किएर एक महिला घाइते भएकी छिन् । त्यसैगरी, रौतहट, पर्सा र दोलखामा पनि आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर एक–एक जना घाइते भएका छन् । भक्तपुरमा आगो ताप्ने क्रममा ११ वर्षीया बालिका घाइते भएकी छिन् ।
निर्वाचन आचारसंहिता माघ पहिलो सातादेखि लागू गर्ने तयारी
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारसंहितालाई अन्तिम रूप दिएको हो । आयोगका अनुसार आचारसंहिता माघ पहिलो सातादेखि लागू गर्ने तयारी छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक आचारसंहिता उल्लंघनमा कडाइ गरिने र सचेतनामुखीभन्दा सजायमुखी अनुगमन गरिने बताए । उल्लंघन गम्भीर भए उम्मेदवारी खारेजीसम्मको कारबाही हुने उनले स्पष्ट पारे । सपटक आचारसंहितामा दल वा उम्मेदवारले घोषणापत्रअनुसारको कार्यप्रगति वार्षिक रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था थप गरिएको छ । साथै, हरित निर्वाचन को अवधारणा अघि सार्दै वातावरणमैत्री डिजिटल प्रचारमा जोड दिइएको छ । एआईको दुरुपयोग समेत आचारसंहिताको दायरामा ल्याइएको छ । आचारसंहिता संघ, प्रदेश र स्थानीय सरकारका पदाधिकारी, कर्मचारी, संवैधानिक निकाय, सुरक्षाकर्मी, दल, उम्मेदवार, सञ्चारकर्मी, शिक्षक, मतदाता तथा सार्वजनिक पद धारण गरेका सबैलाई लागू हुनेछ । केन्द्रदेखि जिल्लासम्म अनुगमन समिति रहने व्यवस्था गरिएको छ । सरकारी तथा सार्वजनिक स्रोत साधन प्रयोग गरी चुनाव प्रचार गर्न नपाइने, विद्यालय वा सरकारी कार्यालय परिसरमा भेला र प्रचार निषेध गरिएको छ । दल वा उम्मेदवारको चिन्ह अंकित कपडा, टोपी, झोला, ब्याज, स्टिकरलगायत सामग्री उत्पादन, प्रयोग र वितरण गर्न नपाइने उल्लेख छ । सामाजिक सञ्जालमा भ्रामक, द्वेषपूर्ण र गलत सूचना, हेट स्पिच, चरित्र हत्या तथा दुष्प्रचार निषेध गरिएको छ । उम्मेदवारको मनोनयन दर्तापछि मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण र परिणाम प्रकाशन गर्न नपाइने व्यवस्था गरिएको छ । सरकार, मन्त्री र पदाधिकारीले आचारसंहिता अवधिमा नयाँ नीति, योजना घोषणा, उद्घाटन, शिलान्यास, अनुदान वितरण, नियुक्ति तथा सरुवा गर्न नपाउने उल्लेख छ । ४८ घण्टाको मौन अवधिमा कुनै चुनावी गतिविधि गर्न निषेध गरिएको छ । दल तथा उम्मेदवारले जुलुस, आमसभा वा घरदैलो गर्दा २५ जनाभन्दा बढी सहभागी गर्न नपाउने, बाजागाजा र झाँकी प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ । सार्वजनिक स्थानमा झण्डा, फ्लेक्स, डिजिटल बोर्ड राख्न नपाइनेछ । निर्वाचन खर्चको विवरण मतदानपछि १५ दिनभित्र बुझाउनुपर्ने र विजयी उम्मेदवारले भोजभतेर वा नगद–जिन्सी वितरण गर्न नपाइने उल्लेख छ । उम्मेदवारले खर्चको अनुमान र स्रोत मनोनयन दर्ताकै क्रममा खुलाउनुपर्ने तथा सबै खर्च बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ ।
बालुवाटार बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले के भन्नुभयो?
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट दायाँबायाँ गर्न नहुने बताउनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बालुवाटार बैठकमा प्रचण्डले चुनाव केन्द्रित भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । मन्त्री खरेलका अनुसार, प्रचण्डले भन्नुभयो, “फागुन २१ को चुनावबाट यताउता नगरौं । जसरी पनि चुनाव गरौं ।” उहाँले विशेष परिस्थितिमा गठित वर्तमान सरकारको कामकारबाहीको प्रशंसा गर्दै भन्नुभयो, “अगाडि बढ्नुस् । चुनावमा हामी पनि भाग लिन्छौं । सबै दलहरूले भाग लिनुपर्छ ।” प्रचण्डले नेकपा (एमाले) र नेपाली कांग्रेस दुवैलाई चुनावका लागि तयार हुन आग्रह गर्नुभएको खरेलले बताउनुभयो । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न धारणा राखे पनि चुनावमा जानबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री खरेलको भनाइ छ ।
प्रधानमन्त्री सुशीला कार्कीको देउवा, ओली र प्रचण्डसँग छलफल : ‘यो घर तपाईंहरूकै हो, निर्वाचन सफल पारौं’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन आग्रह गर्दै बालुवाटारमा छलफल गरेकी छिन्। शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताइन्। बालुवाटारलाई देखाउँदै उनले भनिन्, ‘यो घर तपाईंहरूकै हो। म त न्याय क्षेत्रबाट आएकी व्यक्ति हुँ। राष्ट्रपतिज्यूबाट निर्वाचन गराउने कार्यादेश पाएअनुसार हामी तयारीमा जुटेका छौं।’ उनले बालुवाटार आएर सहयोग गरेकोमा तीनै नेताप्रति धन्यवाद व्यक्त गर्दै प्रशासनिक कामबाट अलग भएर पूर्ण रूपमा निर्वाचनमा केन्द्रित हुन रक्षा मन्त्रालयबाहेक अन्य मन्त्रालयहरू अन्य मन्त्रीहरूलाई जिम्मेवारी दिएको जानकारी पनि गराइन्। ‘मैले यहाँहरूलाई बोलाएर अनुरोध गर्न खोजेको के हो भने यो निर्वाचन जसरी पनि सफल पारौं,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सबै यसमा सहभागी हुनुपर्छ। तपाईंहरू निर्वाचनका लागि तयार हुनुहुन्छ भन्ने मैले महसुस गरेकी छु। यस्तो वातावरण बन्दै गएको देख्छु, यो स्वागतयोग्य छ।’ निर्वाचन आयोग र सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएको तथा सुरक्षाकर्मीको मनोबल बढेको उनले बताइन्। ‘अब कुनै अलमल नगरी राष्ट्रको भविष्य सम्झेर स्थिर र दिगो लोकतन्त्रका लागि निर्वाचन सफल पारौं,’ प्रधानमन्त्री कार्कीको आग्रह थियो, ‘यो हामी सबैको साझा जिम्मेवारी हो। यही अनुरोध गर्न मैले यहाँहरूलाई आज बोलाएकी हुँ।’
रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट : एकको मृत्यु, पाँच घाइते
रौतहट । कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना कामदार घाइते भएका छन् । इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्द्र पौडेलका अनुसार विस्फोटमा परी कटहरिया–९ बलुवा गाउँका अन्दाजी ३५–४० वर्षीय लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको हो । विस्फोट अत्यन्त शक्तिशाली भएकाले डिस्टिलरी परिसरमा पनि क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूलाई प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत वीरगञ्जतर्फ रिफर गरिएको छ । घाइतेहरूको पहिचान र विस्फोटको ठोस कारण अझै खुल्न बाँकी छ । दुर्घटनामा घाइते तथा मृतकको संख्या थप बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ । घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ । सम्भावित थप क्षति रोक्न सुरक्षाकर्मीले घटनास्थल नियन्त्रणमा लिई सुरक्षा व्यवस्था कडा पारेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले घटनाको पुष्टि गर्दै अनुसन्धानका लागि थप टोली परिचालन गरिएको जानकारी दिएका छन् । यसैबीच, स्थानीयवासीहरूले डिस्टिलरी सञ्चालकको लापरबाहीका कारण यस्तो ठूलो दुर्घटना भएको आरोप लगाएका छन् ।
सुदूरपश्चिममा एकै दिनका सवारी दुर्घटनामा चारको मृत्यु, केही घाइते
धनगढी । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लामा शुक्रबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कैलालीमा मात्र दुई जनाको मृत्यु भएको छ । कैलालीका दुई दुर्घटना : लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित कैलाशधाम तीर्थस्थल नजिक पूर्व–पश्चिम राजमार्गमा से ४ प ६७६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारको पिलरमा ठोक्किएको थियो । दुर्घटनामा चालक २६ वर्षीय अनिष भण्डारीको उपचारका क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको छ । पछाडि सवार १५ वर्षीय तुफान भण्डारी सामान्य घाइते भएका छन् । यस्तै, बर्दगोरिया गाउँपालिका–१ र ४ को सिमानामा रहेको काँडा पुलमा से ७ प ८१६५ नम्बरको मोटरसाइकल पुलको किनारमा ठोक्किँदा चालक २४ वर्षीय विशाल कठरियाको मृत्यु भएको छ । पछाडि सवार २४ वर्षीया रिता कठरिया घाइते भएकी छिन् । उनको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको छ । कञ्चनपुरको दुर्घटना : शुक्लाफाँटा नगरपालिका–५ बनसमितिमा महेन्द्रनगरबाट झलारीतर्फ जाँदै गरेको म १ त ९३१ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र.०२–००४ प २६८८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक ४५ वर्षीय गुड्डु बि.क.को मृत्यु भएको छ भने पछाडि सवार बिरराम पोखरेल घाइते भएका छन् । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डडेल्धुराको दुर्घटना : आलिताल गाउँपालिका–४ जालिटुडास्थित बुडर–जोगबुढा सडक खण्डमा राति करिब ९ बजेतिर जोगबुढाबाट बुडरतर्फ जाँदै गरेको म १ च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको भि.न.पा. ००१ ह ४०८ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा अटोमा सवार २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको छ भने २१ वर्षीया सबिता थापा मगर घाइते भएकी छिन् । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अटो चालक फरार छन् ।
प्रतिनिधिसभा निर्वाचन : सिन्धुली २ बाट नेकपा संयोजक प्रचण्ड उम्मेद्वार सिफारिस
सिन्धुली । प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । पार्टीको कार्यदलका एक सदस्यका अनुसार क्षेत्र नम्बर २ बाट प्रचण्डसहित पार्टीका नेताहरू हरिबोल गजुरेल, महेश्वर दाहाल र पानीराजको नाम पनि प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । त्यस्तै, समावेशी प्रतिनिधित्वअन्तर्गत महिलाको कोटाबाट अनिता कुमारी राईको नाम सिफारिस गरिएको छ भने जनजाति प्रतिनिधित्वका लागि सुमन राना मगरको नाम प्रत्यक्षतर्फ अघि सारिएको छ । यसैगरी, सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष उम्मेदवारका लागि निवर्तमान सांसद राजन दाहालसँगै जानुका तिमल्सिना, चित्रबहादुर लुङ्गेली, डिकेन्द्र सुवेदी र विजय खड्काको नाम सिफारिस गरिएको छ ।
इराकमा वैध रूपमा कार्यरत नेपालीलाई श्रम स्वीकृति दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि इराक पुगेका र बिदामा नेपाल फर्किएका नेपाली कामदारहरूको समस्या सम्बोधन गर्दै उनीहरूलाई श्रम स्वीकृति दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले इराकको आधिकारिक भिसा र ‘रेसिडेन्सी कार्ड’ भएका नेपालीलाई आवश्यक प्रक्रिया पूरा गरेर श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । यसअघि इराकलाई वैदेशिक रोजगारीका लागि ‘प्रतिबन्धित’ वा ‘जोखिमयुक्त’ मुलुकको सूचीमा राखिएका कारण त्यहाँबाट फर्किएका कामदारहरूले श्रम स्वीकृति पाउन सकेका थिएनन् । सरकारको यो निर्णयले विशेषगरी इराकमा वैध रूपमा कार्यरत रहेर हाल बिदामा नेपाल आएका वा फर्कन चाहने कामदारहरूलाई प्रत्यक्ष लाभ पुग्नेछ । श्रम स्वीकृति लिन कामदारले आफ्नो सक्कल रेसिडेन्सी कार्ड र त्यसको फोटोकपीसहित तोकिएका अन्य कागजात वैदेशिक रोजगार विभागमा पेस गर्नुपर्नेछ । यो निर्णयको मुख्य उद्देश्य इराकमा कार्यरत नेपालीहरूको रोजगारी सुरक्षित गर्नु र उनीहरूलाई कानुनी मान्यता दिनु हो । हाल इराकमा हजारौँ नेपाली विभिन्न प्रतिष्ठित कम्पनीहरूमा कार्यरत छन् । श्रम स्वीकृति नहुँदा उनीहरूले रोजगारी गुमाउने जोखिम थियो । यसले अवैध बाटोबाट इराक जाने बाध्यतालाई कम गर्न र त्यहाँ रहेकाहरूको विवरण सरकारी अभिलेखमा दर्ता गर्न पनि सहयोग पुग्नेछ । सन् २००४ मा चरमपन्थी समूहद्वारा १२ जना नेपाली कामदारको विभत्स हत्यापछि नेपाल सरकारले इराकमा वैदेशिक रोजगारीका लागि पूर्ण प्रतिबन्ध लगाएको थियो । उक्त घटनाले देशभर ठूलो आक्रोश र शोक उत्पन्न गरेको थियो । द्वन्द्वग्रस्त मुलुक भए पनि उच्च तलबको प्रलोभनमा नेपालीहरू लुकिछिपी वा कुवेत, युएई हुँदै इराक पुग्ने क्रम भने रोकिएन । हाल इराकको कुर्दिस्तान क्षेत्र र अन्य relatif सुरक्षित मानिएका भागमा हजारौँ नेपाली निर्माण, सेवा क्षेत्र र अमेरिकी सैन्य क्याम्पहरूमा कार्यरत छन् । सरकारको यो निर्णयले कामदारहरूलाई दुई मुख्य लाभ हुने देखिन्छ । पहिलो, श्रम स्वीकृति लिएर गएमा मृत्यु वा अंगभंग भएमा वैदेशिक रोजगार कल्याणकारी कोषबाट आर्थिक सहायता प्राप्त हुन्छ । दोस्रो, हुण्डीमार्फत पैसा पठाउनुपर्ने बाध्यता हटेर बैंकिङ च्यानलबाट रेमिट्यान्स भित्रिने सम्भावना बढ्नेछ । यद्यपि, यो निर्णयले नयाँ कामदारका लागि इराकको ढोका पूर्ण रूपमा खोलेको हो वा पुरानै कार्यरतहरूलाई मात्र सहज बनाएको हो भन्ने विषयमा सरकारले स्पष्ट पारेको छैन ।

