जिल्ला न्यायधिश घिमिरे इलाम २ को मुख्य निर्वाचन अधिकृत

इलाम । इलामका जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई इलाम क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले इलाम २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भोलि चैत २२ गते इलाम सदरमुकाममा स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै मतदाताको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका छ ।

उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन दर्ता हुनेछ ।

इलामको उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको जनाएको छ । 

निर्वाचन कार्यालयका अनुसार इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् ।

यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन गर्ने तय भएको छ ।

निर्वाचन आयोगले चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने जनाएको छ ।

स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं। सरकारले स्वीटजरल्यान्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ। आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो।  नेपाल–स्वीटजरल्यान्ड परामर्श संयन्त्रको मंगलबार बेर्नमा सम्पन्न बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले उक्त आह्वान गरेका जेनेभास्थित नेपालको राजदूतावासले जनाएको छ।  बैठकमा नेपाल–स्वीटजरल्यान्ड सम्बन्धका समग्र पक्षका साथै आर्थिक, विकास साझेदारी, बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान, मानवअधिकार तथा जलवायु परिवर्तनलगायत विश्वले सामना गर्नुपरेका सामयिक विषयमा पनि विचारविमर्श भएको थियो ।  दुवै देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नतिका निम्ति नेपालले गरेका प्रयास, दिगो विकास लक्ष्य हासिलमा भएका प्रगति, नेपाल–स्वीटजरल्याण्ड व्यापार, लगानी, पर्यटन, विज्ञान तथा प्रविधि र व्यावसायिक तालिमबारे बैठकमा छलफल भएको उक्त दूतावासले जनाएको छ । रासस

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत २१ गते बुधबार सन् २०२४ अप्रिल ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ६८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।  बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भवित कार्यसूची छ ।  त्यस्तै कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ । 

यी क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।  आज दिउँसो  सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति  सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  भोलि कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू साथै कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राष्ट्र हितमा काम गर्न सक्रिय हुन प्रहरी महानिरीक्षक कुँवरको आग्रह

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूले राष्ट्र र संगठनको हितको लागि इमानदार र निष्ठावान रहँदै उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी पूर्ण सक्रियताका साथ आ(आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताए । प्रहरी महानिरीक्षक कुँवरले विगतको तुलनामा राजस्व संकलन लक्ष्यभन्दा माथि रहेको उल्लेख गर्दै अबका दिनमा समेत फरार प्रतिवादी पक्राउ गर्न, राजस्व चुहावट रोक्न, तस्करी नियन्त्रण गर्न र राजस्व संकलन वृद्धिका लागि प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन आवश्यक रहेको बताए। संगठनको कार्यसम्पादन गुणस्तर बढाउन र लक्ष्य प्राप्त गर्न विशुद्ध रूपमा निष्ठापूर्वक काम गर्न उनले निर्देशन दिए ।      प्रहरी महानिरीक्षक कुँवरले संगठनको प्राथमिकताबारे सबैलाई जानकारी भएको चर्चा गर्दै सोही अनुरूप आन्तरिक शुद्धिकरण, स्थायित्व र सुशासनका सन्दर्भमा आफू रूपान्तरण हुने र सकारात्मक उत्प्रेरणाका साथ नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बताए। प्रत्येक प्रहरी कार्यालयहरूको काम र गतिविधिको संगठनले समीक्षा गरिरहेको उल्लेख गर्दै प्रहरी कर्मचारीहरूले आफ्नो संयन्त्र राष्ट्र हितमा प्रयोग गर्दै माटोको पहिचान गरी संगठन र राष्ट्रको लक्ष्य हासिल गर्न राष्ट्र सेवकको रूपमा सहजीकरण गर्नुपर्ने उनले बताए।   कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयहरू र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

शहरी विकास मन्त्री बुढा र काठमाडौका मेयर बालेन शाहबीच छलफल

काठमाडौ । शहरी विकास मन्त्रि धनबहादुर वुढा  र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहबीच नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल भएको छ । शहरी विकास मन्त्री बुढा र काठमाण्डौका मेयर  शाहबीच मंगलवार सिहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा उपत्यकाको फोहोर व्यवस्थापनका लागि दिर्घकालिन योजनामा काम गर्ने र आपसी सहकार्यवाट अघि वढ्ने विषयमा छलफल भएको हो । तत्कालका लागि स्थानियहरुको सरोकारलाई सम्बोधन हुने गरि बन्चरेडा“डामा फोहर व्यवस्थापन गर्ने र उनीहरुको माग सम्वोधन गर्ने विषयमा शाहसँग मन्त्रीले मिलेर अघि वढ्न प्रस्ताव गरेका थिए । मेयर शाहले फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको भन्दै उनले महानगरले केही वडावाट  शुन्य फोहोर कार्यक्रम शुरु गर्न लागेको र यसमा मन्त्रालयको सहयोग मागेका थिए ।   भेटमा मेयर शाहले बन्चरे डा“डास्थित ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनका लागि बनाएको संरचनामा थप सुधार गरि फोहरको व्यवस्थापन गर्न महानगरकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताए । मन्त्री बुढाले बन्चरेडा“डामा जाने फोहरको परिमाणलाई कम गर्न आफुले मातहतका निकायलाई निर्देशन दिइसकेको भन्दै फोहर व्यवस्थापनको दिर्घकालिन समाधानमा काठमाण्डौ र ललितपुर महानगरपालिकास“ग मन्त्रालयले समन्वय र सहकार्य गर्न चाहेको उल्लेख गरे । मन्त्रालय मातहत निकायबाट काठमाण्डौं महानगरपालिकाभित्र भइरहेका कामलाई प्रभावकारी बनाउन तथा विकास निर्माणलाई गति दिने विषयमा मन्त्री बुढाले मेयर शाहस“ग सुझाव समेत मागे । ‘संघिय सरकार स्थायित्व यहा“लाई थाह नै छ, तर स्थानिय सरकारले आफ्नो पुरा कार्यकाल काम गर्न पाउने भएकाले काठमाण्डौंको विकासमा महानगरपालिकाले गर्न चाहेका विकास निर्माणको काममा हामी हातेमालो गरेर अघि बढ्न तयार छौ ’ उनले भने ‘शुन्दर, सफा र व्यवस्थित राजधानी बनाउने अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्छ ।’ जवाफमा मेयर शाहले काठमाण्डौं उपत्यकामा ट्राफिक जामको व्यवस्थापन र उपत्यकाका खोला किनारमा रहेका अवव्यवस्थित बस्तीहरुलाई हटाउनका लागि आवश्यक समन्वय गरेर अघि बढ्न आग्रह गरे । काठमाण्डौंको ट्राफिक जामलाई कम गर्न नया“ प्रविधि ‘पोड वे’ को सम्भाव्यतावारे समेत मन्त्री बुढाले चासो राखेका थिए । मेयर शाहले विकसित मुलुकहरुमा समेत पोड वे सफल भएको उदाहरण आफुले नदेखेका भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेर अघि बढ्न मन्त्री बुढालाई सुझाव दिए । छलफलमा मेयर बालेनले  काठमाण्डौ उपत्यकाको जाम कम गर्न बानेश्वर, लैनचौर जस्ता बढी जाम हुने क्षेत्रमा पलाईओभर वा अण्डरपास  बनाउन सके राजधानीवासीलाई ठुलो राहत हुने बताए । छलफलमा शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे र स्थानीय पूर्वाधार  विभागका महानिर्देशक भरत अर्याल लगायत छलफलमा सहभागी भएका थिए ।  

माओवादी पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ

काठमाडौं । नेकपा (माओवादी)का तत्कालीन कमान्डर कालीबहादुर खाम पक्राउ परेका छन्।खामलाई मंगलबार काठमाडौंको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जानाएको छ । रामेछापका रामहरि श्रेष्ठको हत्या आरोपमा उनी १५ वर्षदेखि फरार थिए।  रामेछाप घर भई काठमाडौँको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको अभियोग उनीविरुद्ध छ।२०६५ वैशाख १५ गते नियन्त्रणमा लिएर श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्‍याइएको थियो। अत्यधिक कुटपिटबाट मृत्यु भएका श्रेष्ठको शव वैशाख २८ गते नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो। माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो।  सोही कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भएको थियो। घटना छानबिनका लागि भन्दै माओवादीका गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्कीलगायतको टोलीले श्रेष्ठलाई चितवन लगेर हत्या गरेको अभियोग छ। थापा खामकै अंगरक्षक थिए। गोविन्द बटाला जिल्ला र उच्च अदालतबाट दोषी ठहर भए पनि सर्वोच्चको संयुक्त इजलासबाट उनले सफाइ पाएका छन्।

नेपालद्वारा बरोडासामु १५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी २० कपमा बरोडालाई जित्नका लागि १५७ रनको चुनौति दिएको छ ।  सुरुमा कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालले मध्य र अन्तिममा सम्हालिदा मध्यम लक्ष्य प्रस्तुत गर्न सकेको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाउन सक्यो । नेपालका कुशल मल्लले २५ बलमा अविजित ४० रनको योगदान गरे । यस्तै सन्दिप जोराले रन आउट हुनु अघि १६ बलमा २९ रन बनाए ।  यसैगरी अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । उनी परिक्षित पाटिदारको बलमा टप एज लागेर आउट भएका थिए । कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ रनमा रन आउट हुन पुगे । गुलशन झा १४ बलमा १ चौकासहित १३ रनमा आउट भए । त्यसअघि नेपालले ओपनर आसिफ शेख र कुशल भुर्तेललाई ९–९ रनमा गुमाएको थियो । दुबै ओपनर तीव्र गतिका बलर बाबा खानको बलमा क्याच आउट भएका थिए । दिपेन्द्रसिंह ऐरी पाँच रनमा अविजित रहे । 

संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक : उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको बताएका छन् । मङ्गलबार राष्ट्रिय सभा गृहमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताएका हुन्। स्वास्थ्य मन्त्री यादवले अहिलेको संविधान समाजवादउन्मुख लेखिएको भए पनि संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको जिकिर गरे । उनले अहिलेको शासकीय स्वरुपबाट समाजवाद सम्भव नरहेको बताए। उनले अहिलेको तमासाबाट समाजवाद आउनेवाला नरहेको जानकारी दिए । उनले समाजवादका लागि शासकीय प्रणाली, निर्वाचन प्रणाली बदल्न आवश्यक रहेको बताए। उजले संविधान परिवर्तन नगरीकन समाजवादउन्मुख लेखेर मात्रै उन्मुख नहुने उल्लेख गरे । उनले नेपालको सङ्घीयता सङ्घीयता जस्तो मात्रै भएको तर कुरुप रहेको बताए। ‘‘सुशासन ल्याउने प्रयासमा अहिले सरकार त लागेको छ, कहाँसम्म पुगिन्छ । अहिलेको संविधान समाजवादउन्मुख लेखिएको भएपनि अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक छ । पूरै बाधक छ । यसलाई संशोधन गरौँ । अहिलेको शासकीय स्वरुपबाट समाजवाद हुनै सक्दैन । हेरिराख्नुभएको छ, तमासा त भइरहेको छ, हामी गरिरहेका छौँ । यो तमासाबाट समाजवाद हुनेवाला छैन । यो शासकीय स्वरुप बदल्नुपर्छ । यो निर्वाचन प्रणालीले पनि जहाँ करोडौँ, करोड एउटा उम्मेदवारले खर्च गरेर संसदमा पुग्छ ।,’’ स्वास्थ्यमन्त्री यादवले भने, ‘‘यसबाट समाजवादको आशा गर्न सकिँदैन । निर्वाचन प्रणाली बदल्नैपर्छ । शासकीय स्वरुप बदल्नुपर्छ र लोकतन्त्रलाई समावेशी, समानुपातिक लोकतन्त्रलाई रुपान्तरित गर्नुपर्छ । संविधान परिवर्तन नगरीकन उन्मुख लेखेर मात्रै उन्मुख हुँदैन । संविधानमा समाजवादउन्मुख छ, हाम्रो याता पुँजीवादीतिर उन्मुख छ । अहिलेको नेपालको सङ्घीयता भनेको सङ्घीयता जस्तो भएको छ, तर कुरुप नै अपाङ्ग भएको छ । त्यस्तो अवस्थाको सङ्घीयताले सङ्घीयतालाई दुरुस्त बनाउनमा अहिलेको संविधान संशोधन र परिवर्तन नभइ हुँदैन ।’’ अध्यक्ष यादवले सामाजिक न्याय बिना समानतामा आधारित न्याय बन्न नसक्ने जिकिर गरे। उनले पुँजीवादी लोकतन्त्रको विकल्प समाजवादी लोकतन्त्र नै रहेको बताए।

नेप्से मंगलबार १.८५ अंकले गिरावट

काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबार १.८५ अंकले घटेर २०१०.२१ विन्दुमा झरेको छ ।  ३१२ धितोपत्रको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर दुई अर्ब २९ करोड १६ लाख ४६ हजार ५८५ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज १३ वटा उपसमूहमध्ये ६ वटाको समूहगत सूचक बढेको छ । सात वटाको समूहगत सूचक घटेको छ ।  यसदिन गुरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । ज्योति विकास बैंक बोन्ड २०८७ को सेयर मूल्य सर्वाधिक ७।५० प्रतिशतले घटेको छ ।

टस हारेर बरोडाविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलबाट टोलीमा कुनै परिवर्तन गरेको छैन । गुजरातलाई ९८ रनमा अल आउट गर्न गुलशन झाले ४ र करण केसीले ३ विकेट लिएका थिए । नेपालको प्लेइङ ११  रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा । बेन्च ललित राजवंशी, प्रतिश जि।सी, विवेक यादव र आकाश चन्द ।

पर्वतमा घरभित्र सुतिरहेका दम्पतीको हत्या भएको आशंका, अनुसन्धान जारी

पोखरा । पर्वतको जलजलामा एक दम्पतीको हत्या भएको छ । जलजला गाउँपालिका २ मल्लाजको दहमा गएराति अज्ञात समूहले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती श्रीमती ६५ वर्षकी गमला जिसीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।  घरभित्र सुतिरहेको अवस्थामा जिसी दम्पतीको हत्या भएको र आज बिहान घरभित्र नै मृत अवस्थामा भेटिएको वडा अध्यक्ष प्रकाश जिसीले जानकारी दिए । उनका अनुसार घरमा उनीहरू २ जना मात्रै बस्दे आएका थिए । पर्वत प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

भत्केको पुलमुनि एक पुरुषको शव भेटियो

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ भत्केको पुलमुनि एक पुरुषको शव भेटिएको छ । पुलमुनिको करिडोरमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो । मृत भेटिएका पुरुषको अहिलेसम्म सनाखत नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।  उनका अनुसार शरीरमा घाउ, चोटपटक देखिएको छैन ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न हर्कको प्रदर्शन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंमा एकल प्रदर्शन गरेका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखकोको व्यवस्था माग गर्दै साम्पाङले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका हुन्।  उनले २०८४ अघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गरेका हुन्।  ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर,’ उनले बोकेको पम्पलेटमा लेखिएको छ।  

रवि गृहमन्त्री बनेपछि सहकारी ठगीको छानबिन रोकिएको कांग्रेसको आरोप

काठमाडौँ । प्रतिनिधिसभामा नेपाली कांग्रेसले रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरण राखिएको आरोप लगाएको छ।नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणमा उठेका सवाललाई संसदीय छानबिन समिति गठन गरेर नै निराकरण गर्नुपर्ने माग राखे। मङ्गलबार प्रतिनिधिसभाको बैठक आरम्भ हुनासाथ कांग्रेसका सांसदहरू आफ्नो आसनबाट उठेपछि सभामुख देवराज घिमिरेले यादवलाई बोल्न समय दिएका थिए। सोही समयमा यादवले गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि लागेका आरोपमाथि निष्पक्ष छानबिन गरी आफूलाई निर्दोष प्रमाणित गर्न चुनौती दिए। अन्यथा यो दागले जीवनभर लामिछानेलाई नछाड्ने उनको भनाइ थियो । नेपाली कांग्रेसले विगतदेखि नै तथ्य र प्रमाणसहित यस विषयमा कुरा उठाएको स्मरण गराउँदै उनले संसदीय छानबिन समिति गठन आफूहरूको मुख्य माग रहेको बताए। ‘जब सहकारीको पैसा अपचलनमा रवि लामिछानेको नाम जोडिएर आयो, तत्कालीन गृहमन्त्रीले संसदमा आएर छानबिन गर्ने भन्नुभएको थियो,’ उनले भने, ‘गृहमन्त्री र प्रहरीले नै यसबारेमा अनुसन्धान हुने भनेपछि संसदीय छानबिन समिति त्यतिबेला आवश्यक थिएन ।’  तर अहिले आरोपित व्यक्ति नै गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणको छानबिन रोकिएको उनले आरोप लगाए ।