स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट स्रोत नखुलेको नगद १८ लाख ५० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका ११ बस्ने २३ वर्षीय रिसब श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु २ ख ४५३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक उनी बाट उक्त नगद सहित पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धानको क्रममा उक्त रकम रूपन्देही तिलोत्तमा नगरपालिका ११ बस्ने ३७ वर्षीय देबेन्द्र न्यौपानेले काठमाडौं पुर्‍याइदिनू भनी श्रेष्ठलाई दिएको भन्ने खुल्न आएपश्चात प्रहरीले न्यौपानेलाई समेत नियन्त्रणमा लिएको  जनाएको छ । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

जीप दुर्घटना हुँदा पाँचजना घाइते

काठमाडौं । दैलेखको गैरागाउँमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।  महाबु गाउँपालिका–२, ऐराडीदेखि दैलेख सदरमुकाम जाँदै गरेको कर्णाली प्रदेश ००१ च ०३२१ नम्बरको जीप आज (आइतबार) बिहान दुर्घटनामा परेको थियो ।  दुर्घटनामा चालकसहित पाँचजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

अर्थमन्त्रीको सल्लाहकारमा प्रा.डा.सूर्यबहादुर थापा नियुक्त

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा.सूर्यबहादुर थापा नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।उनी त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका अर्थशास्त्रका प्राध्यापक हुन् । आगामी आर्थिक वर्षको बजेट निर्माणको संघारमा रहेका अर्थमन्त्री पुनले नयाँ टिम बनाएका छन्। यसअघि अर्थमन्त्रालयका महत्वपूर्ण दुई विभाग भन्सार विभागमा ढुन्डीराज निरौला र आन्तरिक राजस्व विभागमा शिवलाल तिवारीलाई जिम्मेवारी दिएका छन्। बजेट मशाशाखा, राजस्व महाशाखा लगायतका शाखाहरूको जिम्मेवारी पनि हेरफेर गरेका छन्।

बागलुङमा ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन

काठमाडौं । छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ।  नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो । बागलुङ नगरपालिका–२ की अद्विका क्षेत्रीको नाममा बैंक खाता खोलेर नगरले कार्यक्रम शुभारम्भ गरेको हो । प्रभु बैंकसँग सम्झौता गरी २०८० असारपछि जन्मिएका छोरीको नाममा खोलिएको खातामा नगरपालिकाको तर्फबाट रु पाँच हजार २० वर्षसम्म मुद्दती खातामा जम्मा गरिने नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए। नगरप्रमुख श्रेष्ठले छोरीको जन्मपश्चात् उनको नाममा नगरपालिकाले पाँच हजार मुद्दती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा अभिभावकले पनि रकम थप गर्न पाउनेगरी नगरकी छोरी कार्यक्रम अगाडि बढाएको बताए ।  नगरपालिकाले बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रीय रूपमा उच्चतम ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेको छ । नगरका छोरी २० वर्ष पुग्दा ब्याजले नै राम्रो रकम जम्मा हुने र छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावक प्रेरित हुने उनको भनाई छ ।

माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालको अध्यक्षमा उर्मिला माझी निर्वाचित

काठमाडौं । माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालको दोश्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । मकवानपुरको वागमती गाउँपालिकामा शनिवार सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा उर्मिला माझी निर्वाचित भएकी छिन् ।  प्रतिनधिसभा सदस्य समेत रहेकी उर्मिला माझी यस अघि मोर्चाकी महासचिव थिइन्। मोर्चाको दोश्रो राष्ट्रिय सम्मेलनबाट माझी सर्वसम्मतले अध्यक्ष चयन भएकी हुन् । सम्मेलनबाट उर्मिला माझीको नेतृत्वमा ५५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । मोर्चाको महासचिवमा लक्ष्मी माझी चयन भएकी छिन् । उनी यस अघि मोर्चाको केन्द्रीय सचिवालय सदस्य र वागमती गाउँपालिका कार्यपालिका सदस्य रहेकी थिइन् । त्यसैगरी मोर्चाको उपाध्यक्षमा शोभाकुमारी माझी, गोपीलाल माझी र दिपक माझी चयन भएका छन्। नेपाल सरकारका उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न राष्ट्रिय सम्मेलनमा पुर्व सभामुख तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती विशेष अतिथिको रूपमा उपस्थिति रहेको थियो भने स्थायी समिति सदस्इ सत्य पहाडि, राष्ट्रिय सभा सदस्य तथा माओवादी नेता शुरेश आलेमगर, बागमती प्रदेश सभा सदस्य प्रेम पुलामी, पुर्व सांसद वुद्विमान माझी,  गाउँपालिका अध्यक्ष सर्केश घलान लगायतको विशेष उपस्थिति रहेको थियो ।  उद्घाटन सत्र र बन्द सत्र गरी दुई भागमा सम्पन्न सम्मेलनले माझी पहिचानसहितकोे स्वायत्त क्षेत्र घोष्णा गर्न पहल गर्ने तथा माझी जातीको प्रमूख चाड लदी पर्वलाई राष्ट्रिय पर्वको रुपमा सूचिकृत गर्नको लागि पहल गर्ने निर्णय भएको अध्यक्ष माझीले बताइन् । उनले माझी समुदयको हक हित र अधिकार मात्रै होइन सबै उत्पीडित जाती क्षेत्र र समुदायको पक्षमा मोर्चालाई शशक्त ढंगले अगाडि बढाइने बताइन् । उनले अन्य दलमा रहनुभएका माझी समुदायर्र्ला पनि पहिचान र अधिकारको एजेण्डाको जननी माओवादी केन्द्र र माझी राष्ट्रिय मुक्तिमोर्चामा समाहित गर्ने अभियानमा आफू लाग्ने बताइन् ।

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्कर दिदा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी महिलाको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको हो । मृत्यु हुनेमा धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षकी लक्ष्मी तामाङ रहेको प्रहरीले जनाएको छ । पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

संवैधानिक परिषद्को बैठक बालुवाटारमा जारी

काठमाडौं । संवैधानिक परिषदको बैठक जारी छ । बैठक परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बालुवाटारमा बसिरहेको हो ।  आजको बैठकमा रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने विषयमा छलफल हुने बताइएको थियो । प्रधानमन्त्री प्रचण्डले यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पटक पटक छलफल गरेका थिए। संवैधानिक परिषद्‌को बैठकमा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सहभागी छन् ।

टी-२० सिरिज : नेपाल गुजरातसँग खेल्दै, यस्तो छ टिम नामावली

काठमाडौं  । त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आजको खेल नेपाल र भारतको स्टेट टोली गुजरातबीच हुनेछ। खेल नेपाली समय अनुसार दिउसो २ः४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो । बरोडा र गुजरात दुबैले रणजी ट्रफी खेल्ने स्टेट लेभलका खेलाडी घोषणा गरेका छन् । त्यसैले खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। गुजरातको कप्तानी उमांग कुमार र नेपालको रोहित पौडेलले कप्तानीमा खेल हुनेछ। नेपालको कुशल भुर्तेल, दीपेन्द्र सिंह ऎरि र कुशल मल्ल प्रमुख हतियार हुन्। डेथ ओभरमा अभिनाश बोहराको प्रदर्शन राम्रो छैन। त्यो सुधारको आवश्यक देखिन्छ।विवेक यादव, सन्दिप जोरा र प्रतिश जिसि जस्ता युवा खेलाडीलाई मौका दिएर हेर्न सक्छ । दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । चैत २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द । गुजरातको टोली : उमांग पटेल (कप्तान), अर्यान देशाई, जयविर पारमार, शेन पटेल, हिमांग पटेल, तेजास पटेल, प्रियस पटेल, स्मित पटेल, ऋषि पटेल, जयमित पटेल, जय मलुसार, युवराज जाला, सारल प्रजापति, धरुशान्त सोनि र हर्ष देशाई ।

आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने छन् : प्रधानमन्त्री प्रचण्ड

ब्रसेल्स। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन्। शनिवार साँझ माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारीको कार्य भई रहेको छ । “ प्रधानमन्त्रीले भने । उनले गैर आवासीय नेपाली सङ्घमा देखिएको समस्या आगामी २ गते अदालतको फैसला पछि निर्णय गरिने बताए।  हाल देखिएको तीन फरक नेतृत्वको एनआरएनएलाई एक ठाउँमा राखी सहमति प्रयत्न गर्ने कथंकदाचित सहमति नभए सरकारले गठन गरेको छानबिन समितिले दिई सकेको प्रतिवेदन अनुसार केही दिनभित्रै टुङ्गोमा पुग्ने बताए। प्रधानमन्त्रीले विभिन्न मुलुकमा रहेको राहदानी समस्या हल गर्न परराष्ट्र मन्त्रालयमा सधैँका लागि घुम्ती  स्थायी संयन्त्र बनाइएको र बढी समस्या भएका ठाउँमा कन्सुलर नियुक्ति गर्ने बताए। प्रधानमन्त्रीले अर्को एक प्रसङ्ग उल्लेख गर्दै सरकारले तिन करोड रूपियाँ तलका आयोजना ,परियोजना सङ्घीय सरकारले नभै प्रदेश सरकारले निर्णय लिन सक्ने गरी अगाडी जाने तयारी भैसकेको बताए। कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले प्रवासमा अब पार्टी र मोर्चा फरक फरक बन्ने  बताइन्। 

संवैधानिक परिषदको बैठक आज आह्वान

काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दैछ । परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् । आजको बैठकमा रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने विषयमा छलफल गर्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पटक पटक छलफल गरेका छन् । प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने प्रावधान छ।

प्रतिनिधिसभा बैठक ११ बजे बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।आजको बैठकमा सभामुखले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आइएसए०को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।अर्थमन्त्रीले भन्सार विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा मध्यप्रदेशका साथै ओडिसा आसपासमा रहेको चक्रीय परिसंरचनाको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यसैगरी आज देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज सूर्योदय बिहान ५ बजेर ५५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २१ मिनेटमा हुनेछ ।

ओत लागेको रुख ढलेर च्याप्दा एक जनाको मृत्यु

पाल्पा । अचानक हावाहुरी सहित आएको असिनापानीका कारण पाल्पामा ओतमा बसेका एक जनालाई रुख ढलेर च्यापेको छ । तानसेन नगरपालिका ८ डुम्रे नजिकै जरेपिपलमा भएको घटनामा स्कुटरमा रहेका स्कुटर चालक पाल्पा तानसेन कैलाशनगरका २० बर्षिय भुवन सिंजालीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाकी छ ।

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको प्रतिवेदन सर्वसम्मत अनुमोदन

चितवन। भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको विश्लेषण र खर्च विवरण सर्वसम्मत अनुमोदन भएको जनाएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै महानगरपालिकाले चैत्र १६ गते (हिजो)चितवन उद्योग संघको सभाहलमा भ्रमण वर्ष–२०२४ मूल समारोह समितिको बैठकमा फागुन १८ गते नारायणी नदी किनार प्रर्दशनी किनारमा भएको उद्घाटन कार्यक्रमको प्रतिवेदन पेश गरेको थियो ।  बैठकले उद्घाटन कार्यक्रम अभूतपूर्वरुपले सम्पन्न भएको निष्कर्ष निकाल्दै पेश भएको प्रतिवेदन सर्वसम्मतरूपले अनुमोदन गरेको थियो। कार्यक्रमको समुद्घाटन हुनुपूर्व महानगरका विभिन्न वडाहरूबाट विविध समूहको सहभागिता रहेको बृहत् ¥यालीसहित झाँकी प्रदर्शन भएको र विहान ११।०० बजेबाट शुरु भई दिउँसो ३ः०० बजेसम्म जारी ¥यालीमा महानगरको विविधता झल्कने गरी उत्साहजनक सहभागिता रहेको थियो ।  करिब एक लाख भन्दा बढी भरतपुर महानगरवासीको उपस्थितिमा “भरतपुर भ्रमण वर्ष, २०२४” को उद्घाटन समारोह सञ्चालन भएको महानगरले विज्ञप्तीमा उल्लेख गरेको छ । पर्यटन पूर्वाधारको विकास र पर्यटकीय गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनबाट यस क्षेत्रको आर्थिक गतिविधिलाई गति प्रदान गर्ने, कोरोना कहरबाट शिथिल पर्यटन व्यवसायलाई क्रियाशील तुल्याउने, भरतपुर महानगरपालिकाको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अभिवृद्धि गर्ने तथा प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाहरूको व्यापक प्रचार प्रसार गरी पर्यटकको सङ्ख्या र बसाइ अवधि बढाउने उद्देश्यले भरतपुर महानगरपालिकाको ७७ औं नगर कार्यपालिकाको वैठकले निजी क्षेत्र लगायत पर्यटन सम्बद्ध सरोकारवालाहरूसँगको सहकार्यमा सन् २०२४ लाई “घुमौं भरतपुर” भन्ने मूल नाराका साथ भरतपुर भ्रमण वर्षको कार्यक्रममार्फत् बृहत् प्रवर्द्धनात्मक महाभियान सञ्चालन गर्ने निर्णय भए पश्चात सम्बद्ध क्षेत्रसँगको सहकार्यमा विविध प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिंदै आएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ। यस्तै, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यूबाट पूर्व प्रधानमन्त्रीज्यूहरु, पूर्व उपप्रधानमन्त्री, प्रतिनिधि सभा राष्ट्रिय सभा तथा  प्रदेशका माननीय सदस्यहरू लगायत विशिष्ट व्यक्तिहरूको गरिमामय उपस्थितिका बीच “भरतपुर भ्रमण वर्ष, २०२४” को भव्य र सभ्य रुपमा समुद्घाटन भएको कुरा सर्वविदितै छ–विज्ञप्तीमा भनिएको छ ।   समुद्घाटन कार्यक्रममा  देखिएको अभूतपूर्व उल्लास र उत्साहलाई कायम गर्दै भरतपुर भ्रमण वर्ष  २०२४ लाई आगामी दिनमा पनि सोही रुपले निजी क्षेत्र, आम महानगरवासी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा रहेका शुभचिन्तकहरूको साथ, सहयोग र सक्रियताका लागि हार्दिक अपिल गर्दछौं–महानगरद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन्।रिपोटर्स क्लबको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेण्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधार तयार गर्न सरकार लागिपरेको बताए । “सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन, व्यावसायिक एवं संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिनेइनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउनेगरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।”  सूचना–प्रविधिभन्दा बाहिर रहेर मानव अस्तित्वको कल्पना नै गर्न नसकिने ठाउँमा विश्व आइपुगेको बताउँदै प्रधानमन्त्री प्रचण्डले विश्वका सबै क्षेत्रमा सूचना–प्रविधिको निर्णायक भूमिका रहेको उल्लेख गरे।  “हिजो सूचना सम्प्रेषणको माध्यमका रूपमा विकसित प्रविधिको क्षेत्र ज्ञान–विज्ञान, उत्पादन, निर्माण, ज्ञान उत्पादन, सम्प्रेषणसहित अर्थतन्त्रको निर्णायक क्षेत्रका रूपमा उपस्थित छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सूचना–प्रविधिका कारण हाम्रो राष्ट्रिय जीवनमा पारेको प्रभाव एवं राष्ट्रको बृहत्तर विकास तथा समृद्धिका लागि यसको सर्वव्यापी र निर्णायक महत्त्वलाई हामी सबैले आत्मसात गर्नैपर्छ ।” उनले आजको प्रमुख राजनीतिक कार्यभार प्राप्त राजनीतिक अधिकारहरू सुदृढ गर्दै संविधानको प्रगतिशील कार्यान्वयन सुनिश्चित गर्नु र त्यसको जगमा समाजवादउन्मुख समृद्धि हासिल गर्नु रहेको बताए।  प्रधानमन्त्री प्रचण्डले आर्थिक समृद्धिको राष्ट्रिय अभियान नै थाल्नुपर्ने बेलामा मुलुकलाई पछाडि फर्काउने या यथास्थितिमै राख्ने या कुनै पनि कोणको अतिवादलाई प्रश्रय दिने गतिविधिलाई अब कसैले कहिल्यै स्वीकार नगर्ने स्पष्ट पारे।उनले भने, “आजको आवश्यकता बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्थामा परिवर्तन गर्दै देशमा आशाको सञ्चार गर्नु हो ।” नयाँ संविधान निर्माणपछि मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको अभ्यासमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय प्रणालीअनुरूपका आवश्यक ऐन, कानुनहरूको तर्जुमा गर्दै लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्नु आजको राष्ट्रिय कार्यभार बन्न पुगेको स्पष्ट पारे।   

नेपाल ‘ए’विरुद्ध आयरल्याण्ड ‘ए’ ४० रनले विजयी

काठमाडौं । दोस्रो टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्याण्ड ‘ए’सँग ४० रनले पराजित भएको छ। २२५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमा अलआउट भएपछि दोस्रो खेलमा पनि पराजित भएको हो। यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा आयरल्यान्डले नेपालाई २१ रनले पराजित गरेको थियो। योसँगै आयरल्यान्डले तीन टी–२० शृंखला २–० ले आफ्नो पक्षमा बनाएको हो। आयरल्यान्डले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा सबै विकेट गुमाउँदै १८४ रन मात्रै बनाउन सक्यो।