वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
काठमाडौँ । वाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान गराउन सम्भाव्यता अध्ययन गरिने भएको छ ।
गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालको संयोजकत्वमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीसहितको बैठकले यस्तो निर्णय गरेको हो ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको वाग्द्वारबाट शुद्ध जल ल्याएर पशुपतिनाथलाई स्नान गराउन लागिएको हो ।
जानकारहरूका अनुसार विसं २०४० सम्म पशुपतिनाथलाई वाग्मती नदीको जलले स्नान गराइन्थ्यो । वाग्मती प्रदूषित हुँदै गएपछि पशुपति क्षेत्रमा इनार खनेर स्नान गराउने गरिएको छ । डेढ दशकअघिदेखि नै वाग्द्वारको जल ल्याएर पशुपतिनाथलाई स्नान गराउन पहल गरिए पनि सफल हुन सकेको छैन । पूर्वप्रधानन्यायधीश रामप्रसाद श्रेष्ठ यो अभियानमा लागेका थिए ।
वाग्द्वारको शुद्ध जल विभिन्न धार्मिकस्थल हुँदै आराध्यदेव पशुपतिनाथलाई स्नान गराउन ल्याउने विषयमा प्रथम चरणको कार्य सुरु गरिएको कोषका कार्यकारी निर्देशक जोशीले जानकारी दिए।
आगामी तीन दिनकाे माैसम: तराईमा हुस्सु र कुहिरो, पहाड-हिमालमा मौसम प्रायः सफा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका अधिकांश तराई भू–भागमा हुस्सु तथा कुहिरो रहने पूर्वानुमान गरेको छ । पहाडी र हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । विभागका अनुसार पुस ९ गते (बुधबार) दिउँसो देशका तराई भू–भागमा हुस्सु रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका तराई भू–भागमा मध्यान्हसम्म तथा बाँकी तराई क्षेत्रमा दिनभर कुहिरोको सम्भावना रहेको छ । पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । राति पनि तराई क्षेत्रमा हुस्सु रहने र पहाड–हिमालमा मौसम प्रायः सफा रहने विभागले जनाएको छ । त्यसैगरी पुस १० गते (बिहीबार) दिउँसो देशका तराई भू–भागमा हुस्सु तथा कुहिरो कायम रहनेछ । सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ । राति पनि तराई क्षेत्रमा हुस्सु/कुहिरो जारी रहनेछ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने विभागले जनाएको छ । यस्तै पुस ११ गते (शुक्रबार) दिउँसो तराई भू–भागमा हुस्सु तथा कुहिरो रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । राति पनि तराई क्षेत्रमा हुस्सु/कुहिरो यथावत् रहने र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने विभागले जानकारी दिएको छ । जल तथा मौसम विज्ञान विभागले तराई क्षेत्रमा कुहिरोका कारण दैनिक जनजीवन, यातायात तथा हवाई उडान प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
प्रचण्ड र नेपालद्वारा खनाल पत्नी चित्रकारकाे स्वास्थय अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनुभएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । गत साता भारतबाट उपचार सकेर फर्किनुभएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक कमरेड डल्लुस्थित निवासमा पुग्नुभएको थियो । उहाँको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी नेता खनालले दिनुभयो ।
प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि पाँचथरबाट नेकपाले हर्कबहादुर नेम्वाङ मिक्सोको एकल नाम सिफारिस गरेको हो । पाँचथरमा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । मंगलबार बसेको जिल्ला कमिटी बैठकले नेम्वाङको नाम सिफारिस गरेको हो । नेम्वाङ नेकपा माओवादी केन्द्र कोशी प्रदेशको अध्यक्ष हुन् । पाँचथरबाट भूगोलको राजनीति गरिरहेका नेम्वाङले एकल उम्मेदवारको रूपमा आफ्नो नाम सिफारिस भएको स्वीकार गरेका छन् ।
फुङलिङमा भालु नियन्त्रणमा लिन फलामको खोर राखियो, सतर्कता अपनाउन आग्रह
ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै आएको छ । गत सातामा भालुको आक्रमणबाट आठ खसीबाख्रा मरेका छन्भने तीनवटा घाइते भएका छन् । हाङ्देवास्थित बुङ्कुलुङको धुपौरे क्षेत्रमा यसरी भालुले क्षति पुर्याएपछि मङ्गलबार डिभिजन वन कार्यालयको अगुवाइमा फलामे खोर राखिएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष सुरज ओझाले जानकारी दिए । स्थानीय किसान नारायणप्रसाद भण्डारीको भेडाबाख्रा राखिएको खोर नजिकै फलामे खोर राखिएको हो । उनको खोरमा भालु पटकपटक प्रवेश गरेकाले पुनः आउन सक्ने भएकाले यहाँ खोर राखिएको अध्यक्ष ओझाले बताए । निमित्त डिभिजन वन अधिकृत ललितकुमार यादव, फेकोफनका जिल्ला अध्यक्ष ओझा, वडाध्यक्ष लक्षुमन गुरुङ र नेपाल प्रहरीका प्रतिनिधिसहितको टोली हाङ्देवा गएको थियो । स्थानीयवासीका अनुसार सोमबार राति नारायण भण्डारी र पदम गुरुङका दुईवटा बाख्रा भालुले खाएको छभने तीनवटा घाइते भएका छन् । यसअघि गत पुस ४ गते भगिमान गुरुङका चारवटा बाख्रा भालुको आक्रमणमा मरेका थिए भने मङ्सिर २८ गते नारायण गुरुङको एउटा भेडा भालुले खाएको थियो । भालुको आतङ्क बढेसँगै स्थानीयले घाँस, दाउरा सङ्कलन र अलैँचीखेती गर्न जङ्गल जान सकिरहेका छैनन् । वडाध्यक्ष लक्षुमन गुरुङले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छन् ।
भाेजपुरमा आयुर्वेदिक उपचारतर्फ जनआकर्षण बढ्दो
भोजपुर । भोजपुरमा आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । कम खर्चमा रोग निको हुने र दीर्घकालीन स्वास्थ्य लाभ पाइने भएपछि स्थानीय नागरिक आयुर्वेदिक उपचारतर्फ आकर्षित हुन थालेका हुन् । पहिले आयुर्वेदिक उपचारप्रति कम चासो राख्नेहरू पनि पछिल्लो समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरमा उपचारका लागि आउने बिरामीको चाप उल्लेखनीय रूपमा बढेको प्रमुख नुतन महतो बताए । केन्द्रका अनुसार हाल दैनिक रूपमा १०० जनासम्म बिरामी सेवा लिन आउने गरेका छन् । केन्द्रमा पेट, अल्सर, नसा च्यापिएको, पायल्स, ढाड दुख्ने समस्या, जन्डिस, ग्यास्ट्रिक, दम–खोकी, हाडजोर्नी तथा महिनावारी, पिनास, रोगका बिरामी सङ्ख्या बढी आउने कार्यालय प्रमुख महतोले जानकारी दिए । विभिन्न विधिबाट स्वास्थ्यकर्मीले प्रभावकारी सेवा दिन थालेपछि आयुर्वेदिक उपचारप्रति बिरामीको विश्वास बढेको केन्द्रको भनाइ छ । बिरामीको सुविधालाई ध्यानमा राख्दै केन्द्रमा विभिन्न आधुनिक स्वास्थ्य उपकरणसमेत जडान गरिएको छ । रोगको प्रकृतिअनुसार आयुर्वेदिक औषधिसँगै उपकरणको सहायताबाट उपचार पद्धति अपनाइँदै आएको कार्यालयले जनाएको छ । लामो समयसम्म एलोपेथिक उपचार गर्दा पनि रोग निको नभएका बिरामी आयुर्वेदिक उपचारतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय केशरबहादुर श्रेष्ठले लामो समयसम्म ढाडको समस्याबाट पीडित भए पनि आयुर्वेदिक उपचारपछि स्वास्थ्यमा सुधार आएको अनुभव सुनाए। “ठुला अस्पतालमा उपचार गर्दा पनि निको नभएको रोग यहाँ उपचार गराएपछि बिस्तारै ठिक हुँदै गयो”, उनले भने । विसं २०५८ देखि जिल्लामा आयुर्वेदिक जडीबुटीबाट मिश्रित औषधि तथा चूर्ण वितरण सुरु गरिएको थियो । हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरसहित टक्सार, दिङ्ला र ओख्रे औषधालय शाखा सञ्चालनमा छन् । साथै अरुण गाउँपालिका चम्पे, हतुवागढीको घोडेटार, टेम्केमैयुङको अन्नपूर्ण र पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा स्थापना गरिएका नागरिक आरोग्य सेवा केन्द्रबाट स्थानीयले सेवा लिइरहेका छन् ।
पर्वतमा गाउँकै अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु
पर्वत । दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा रहेको पैयूँ आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । गत साउनमा पैयूँ आधारभूत अस्पताललाई स्वास्थ्य बिमाको प्रथम विन्दु कायम गर्ने स्वास्थ्य बिमा बोर्डले निर्णय गरेको थियो । सोहीअनुसार गत भदौ २ गते स्वास्थ्य बिमा बोर्डसँग अस्पतालले समझदारी गरी आवश्यक सम्पूर्ण तयारी पूरा भएपछि अस्पतालबाट गत बिहीबारदेखि विधिवत् रूपमा स्वास्थ्य बिमा सेवा सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ गर्दै पैयूँ गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले विकट गाउँमै स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि स्थानीय लाभान्वित हुने बताए । उनले लामो प्रयासपछि जिल्ला सदरमुकामभन्दा बाहिर रहेको अस्पतालमा बिमा कार्यक्रम लागू गर्न सफल भएको बताए । अध्यक्ष ठकुरीले नागरिकको स्वास्थ्यलाई गाउँपालिकाको प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गरे । उनले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएसँगै पैयूँ गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा स्थानीय तहमै प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे । अबदेखि कुनै पनि रोगका लागि अन्यत्र अस्पतालमा पठाउन वा सर्वसुलभ उपचारका लागि छिमेकी जिल्लामा धाउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ । पैयूँ आधारभूत अस्पतालबाट प्रवाह हुने स्वास्थ्य बिमा सेवाबाट पैयूँ गाउँपालिकावासीका साथै छिमेकी पालिका विहादी र महाशिला गाउँपालिका तथा अस्पताल पायकपर्ने अन्य क्षेत्रका सेवाग्राहीले पनि लाभ लिनसक्ने पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए । आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गाउँपालिकाले विशेष प्राथमिकता दिएको जनाउँदै गैरेले स्थानीय तहले सम्पूर्ण नागरिकलाई निश्चित रूपमा स्वास्थ्य बिमा सेवाको उपयोग गर्न अनुरोध गरेको छ । यसअघि सदरमुकाममा रहेको प्रदेश अस्पताल पर्वतबाट मात्र यो सेवा सञ्चालन हुँदै आएको थियो । पर्वतमा झन्डै ४० हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । कतिपय बिमकले स्वास्थ्य बिमा प्रावधानअनुसार प्रदेश अस्पतालबाट औषधि तथा अन्य सुविधा नपाएको गुनासोसमेत गरेका छन् ।
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेका छन् । शर्माले १६ रोपनी क्षेत्रफलमा जैविक विधिबाट व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गरेका हुन्। गाईभैँसीको गहुँतलाई भकारोबाट पाइपमार्फत ड्रममा सङ्कलन गरी त्यसमा तितेपाती, असुरो, वनमारा र खिर्रोको पात मिसाएर विषादी बनाई सुन्तला र तरकारीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेको शर्माले बताए। “रासायनिक मल र विषादीको विकल्पमा जैविक मल उत्पादन गर्न फार्ममै एक भैँसी, तीन गाई र १४ वटा बाख्रा पालेको छु”, उनले भने, “जैविक विषादीको प्रयोगबाट दिगो कृषि, स्वस्थ्य उपज उत्पादनका साथै पर्यावरण सन्तुलन कायम राख्न सहयोग पुगेको छ ।” जैविक विषादीलाई पानीको मात्रा मिलाएर सुन्तलाको बोट र तरकारी बालीमा छर्कँदा मल र शत्रुजीव नष्ट गरी दोहोरो फाइदा गर्ने शर्माको अनुभव छ । पर्यावरण सन्तुलनका लागि व्यावसायिक रूपमा खाद्यबाली, फलफूल र तरकारीखेती गर्ने किसानले एकीकृत कृषि गर्नुपर्ने उनको सुझाव छ । सन् २००२ मा रोजगारीका लागि युएई गएका शर्माले १० वर्ष त्यहाँ बिताएपछि सन् २०१२ मा स्वदेश फर्किएर बिसम कृषि तथा पशुपालन फार्म स्थापना गरेका थिए। “घर फर्किएलगत्तै विदेश जानुअघि लगाएका एक सय ५० सुन्तलाका बोटलाई स्याहारसुसार गरेर उत्पादन दिने बनाउनुका साथै बाँझिएको पाखोबारीमा तीन सय नयाँ बिरुवा लगाएँ”, उनले भने, “यो वर्ष प्रतिकिलो रु ७० का दरले ७० क्विन्टल सुन्तला चितवनका व्यापारीलाई बगैँचाबाट बिक्री गरेँ ।” विदेशमा गर्ने मेहनत र परिश्रम आफ्नै खेतबारीमा गर्न सकेमा घरपरिवारसँगै बसेर आयआर्जन गर्न सकिने शर्माको अनुभव छ । सुन्तलाखेतीबाट आम्दानी हुन थालेपछि रोजगारीका लागि विदेश जाने सपना त्यागेको उनले बताए । शर्मालाई श्रम तथा रोजगार मन्त्रालयले गत वर्ष वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम गरेकामा पुरस्कृत गरेको थियो । कृषि विकास कार्यालयले गत असार र मालिका गाउँपालिकाले गत फागुनमा उत्कृष्ट कृषकका रूपमा सम्मान गरेको थियो । शर्माले सुन्तलाका बिरुवा उत्पादन गर्ने नर्सरी पनि स्थापना गरेका छन् । गत वर्ष रु ८० हजार मूल्यबराबरको सुन्तलाका बिजु (बियाँबाट उत्पादन गरेको) बिरुवा बिक्री गरेका शर्माले यस वर्ष आठ हजार नयाँ बिरुवा तयार पारेका छन्। बगैँचामै सडक सुविधा पुगेका कारण कृषि उपज बजारीकरणमा समस्या छैन । नजिकै पानीको स्रोत भएकाले सिँचाइको सुविधा पनि सहज छ । शर्मासँगै उनका छिमेकी लक्ष्मण गौतम, तेजेन्द्र शर्मालगायत किसानले पनि गहुँ, मकै, धान, कोदोलगायत परम्परागत खाद्यबाली छाडेर व्यावसायिक सुन्तलाखेती गरेका छन् ।
माैसम पूर्वानुमान: कस्तो रहला आजको मौसम ?
काठमाडौँ । आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । कोशी प्रदेशका तराई भूभागमा मध्यान्न सम्म तथा बाँकी तराई भूभागमा दिनभर हुस्सु तथा कुहिरो रहनेछ । आज दिउसो पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । तराई भूभागमा दिउसो पनि हुस्सु तथा कुहिरो रहनेछ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति पनि यही सिलसिला रहनेछ । देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने भएकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी
तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । अगुवा किसान दलबहादुर थापाले यस वर्ष रु १६ लाखको सुन्तला बिक्री गरेका छ । अघिल्लो वर्ष रु १३ लाखको सुन्तला बिक्री गरेका उनले यस वर्ष रु तीन लाख बढी आम्दानी लिएको बताए । उनले भने, “भिरालो जग्गामा अन्य खेतीभन्दा सुन्तला उपयुक्त हुन्छ भनेपछि यसलाई नै निरन्तरता दिइरहेका छौँ । बाबुबाजेले पनि सुन्तलाखेती गर्नुभयो । म पनि त्यसकै निरन्तरतामा छु ।” आफू २० वर्षदेखि यसैलाई निरन्तरता दिइरहेको उनको भनाइ छ । भिरालो जग्गा रहेकाले यहाँ अन्य खेती गर्न समस्या भएपछि यहाँका कृषकहरू सुन्तलाखेतीमा लागेको उनले जानकारी दिए । उनले भने, “मकै, कोदोखेती गर्न त मिल्छ, तर सुन्तला लगाउनका लागि उपयुक्त रहेकाले सबै जना सुन्तलाखेतीमै आबद्ध हुनुहुन्छ ।” थापाले बेनीकोटमा विगत केही वर्षदेखि सुन्तलाका बोट मर्ने समस्या रहेको गुनासो गरे । थापाका अनुसार यहाँ उत्पादित सुन्तला काठमाडौँ कालीमाटीमा बिक्री गरिन्छ । बजारीकरणको कुनै समस्या नरहेको बताउँदै उनले भने, “प्रतिकेजी सुन्तला रु १०० सम्म बिक्री हुने गरेको छ । विगतका वर्षमा रु ९५ सम्म बेच्थ्यौँ, यो वर्ष मूल्य केही बढी पाएका छौँ ।” बेनीकोटका १०० भन्दाबढी कृषक सुन्तलाखेतीमा आबद्ध छन् । यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । यहाँका कृषकले रु २० हजारदेखि रु १६ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।
बढ्दो मूल्यका कारण सुन प्रतितोला तीन लाख पुग्ने अनुमान
काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा पाँच हजार पाँच सय रुपियाँले बढ्दै नयाँ रेकर्ड बनाएको छ । बढ्दो मूल्यका कारण सुन प्रतितोला तीन लाख रुपियाँसम्म पुग्ने अनुमान गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँमा कारोबार भएको सुन मङ्गलबार बढेर दुई लाख ६७ हजार दुई सय रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस ९० अमेरिकी डलरले बढेर चार हजार ४८७ डलर पुगेको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस पाँच हजार डलर पुगेमा स्थानीय बजारमा तोलाको मूल्य तीन लाख पुग्ने बताए । महासङ्घका अनुसार पछिल्लो एक वर्षमा सुनको मूल्य तोलामा एक लाख १७ हजारभन्दा बढीले बढेको छ । मूल्य वृद्धि हुँदा सुनको माग घटेर कारोबार ठप्प भएको व्यवसायीको भनाइ छ । पुस महिना अफ सिजन भएकाले बजार सुस्त रहेको बताइएको छ । कारोबार नहुँदा वाणिज्य बैङ्कले हाल सुन आयातसमेत रोकेको नेपाल बैङ्कर्स एसोसिएसनले जनाएको छ । चाँदीको मूल्य पनि बढ्दो यसैबिच चाँदीको मूल्य पनि बढिरहेको छ । सोमबार प्रतितोला चार हजार २३५ रुपियाँ रहेको चाँदी मङ्गलबार २० रुपियाँ बढेर चार हजार २५५ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔँस ७० डलर पुगेको छ । यो मूल्य ७५ डलरसम्म पुग्ने र स्थानीय बजारमा तोलाको मूल्य पाँच हजारसम्म पुग्ने अनुमान गरिएको छ । महासङ्घका अनुसार सोलार प्यानल, विद्युतीय सवारी र प्रविधि क्षेत्रमा चाँदीको प्रयोग बढेकाले माग बढ्दै गएको छ । पछिल्लो एक वर्षमा चाँदीको मूल्य तोलामा दुई हजार ४६० रुपियाँले बढेको छ ।
अब १३७ वटा राजनीतिक दल, छ दल खारेज
काठमाडौंं । निर्वाचन आयोगले छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको अभिलेखमा अब १३७ राजनीतिक दल मात्रै रहने भएका छन् । आयोगले पटक पटक तोकेको जरिबाना नबुझाउने छ राजनीतिक दलको दर्ता खारेज गरेको हो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले आयोग पदाधिकारीको पुस ८ गतेको निर्णयबमोजिम जरिबाना नबुझाउने दलको दर्ता खारेज गर्ने निर्णय भएको जनाएको छ । दर्ता खारेज भएकामा आमआदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली), माओवादी जनमुक्ति पार्टी नेपाल हुन् । दर्ता खारेज गर्नुअघि निर्वाचन आयोगले गत मङ्सिर २९ गते ती दललाई ‘खारेज किन नगर्ने’ तीन दिनभित्र स्पष्ट कारणसहित जवाफ पेस गर्न निर्देशन दिएको थियो । चित्तबुझ्दो जवाफ नआएपछि आयोगले कारबाहीस्वरूप दर्ता खारेज गरेको हो । दोर्जे लामा अध्यक्ष रहेको नेपाल राष्ट्रवादी पार्टी २०७३ मङ्सिर २० मा दर्ता भएको हो । आधुनिक नेपाल समाजवादी पार्टी २०७३ मङ्सिर, आमआदमी पार्टी २०७३ चैत, माओवादी जनमुक्ति पार्टी नेपाल २०७६ चैत, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक) २०७८ असार, नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) २०७८ फागुनमा दर्ता भएका हुन् । यी दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ (४) बमोजिम कारबाही गरिएको आयोगले जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४० ले दलले आफ्नो आयव्ययको वास्तविक हिसाबकिताब देखिने गरी लेखा राख्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र आफ्नो आयव्ययको लेखा परीक्षण कानुनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट गराई एक महिनाभित्र आयोगमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । यसरी समयभित्र लेखा परीक्षण प्रतिवेदन नबुझाएमा आयोगले जरिबाना तोक्ने कानुनी व्यवस्था छ । आयोगले तोकेको जरिबाना नबुझाउँदा दलसम्बन्धी ऐनकै अर्को दफाको प्रयोग गरी अधिकतम कारबाही गरेको हो । राजनीतिक दलसम्बन्धी ऐनको ५४ (४) ले ऐनविपरीतको कसुर एक पटकभन्दा बढी गरेमा वा आयोगले दिएको आदेश एक वर्षभित्र पालना नगरेमा वा जरिबाना नबुझाएमा आयोगले त्यस्तो दलको दर्ता दफा १२ बमोजिम खारेज गर्न सक्ने व्यवस्था गरेको छ । आयोग पदाधिकारीको २०८१ चैत ७ गतेको बैठकले लेखा परीक्षण प्रतिवेदन नबुझाउने दललाई जरिबाना तोकेको थियो । लगातार चार वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने यी दलले आयोगले तोकेको जरिबानासमेत बुझाएका थिएनन् ।
राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताहरुबीच संवाद : यी हुन् छलफलका विषय
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित शीर्ष तीन दलका नेताहरूसँग भएको छलफल सकिएको छ। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार दिउँसो भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए। छलफलमा वर्तमान राजनीतिक संकट, आसन्न निर्वाचन र निर्वाचनको वातावरणलगायतका विषयमा छलफल भएको राष्ट्रपति निकट स्रोतले एभरेष्ट दैनिकलाई जानकारी दिएको छ । आफू प्रधानमन्त्री भएपछि शीर्ष नेताको मुखै हेर्दिन भनेकी प्रधानमन्त्री कार्कीकै आग्रहमा राष्ट्रपति कार्यालयले शीर्ष नेतासँगको छलफलका लागि समन्वय गरेको स्रोतको दावी छ ।
सरकारी टोलीले गर्यो नेपाली कम्युनिष्ट पार्टीको कार्यालयको अनुगमन
काठमाडौं । सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिष्ट पार्टीको कार्यालय पेरिसडाँडाको अनुगमन गरेको छ । टोलीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटेको छ । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली पेरिसडाँडा कोटेश्वर पुगेर कार्यालयको अनुगमन गरेको हो । कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोली पेरिसडाँडा पुगेको थियो ।
महोत्तरी–४ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रचण्ड र भरत साहको उम्मेदवारी सिफारिस
महोत्तरी – आउँदै गरेको फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेस प्रदेशका पूर्व अर्थमन्त्री भरत प्रसाद साहलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। आइतबार रामगोपालपुरमा बसेको पार्टी बैठकले यो निर्णय गरेको हो। नेपाली कम्युनिस्ट पार्टीका नेता सूर्यनारायण साहले पार्टीको आन्तरिक सहमति र वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन गर्दै उम्मेदवार सिफारिस गरिएको जानकारी दिए। उनका अनुसार महोत्तरी–४ मा पार्टीको संगठनलाई सुदृढ बनाउने र जनताको अपेक्षा पूरा गर्न सक्ने नेतृत्वका रूपमा प्रचण्ड र साहलाई अघि सारिएको हो। अब यो सिफारिसलाई पार्टीको केन्द्रीय कमिटीले अन्तिम स्वीकृति दिनेछ। अरविन्द दासको अध्यक्षतामा बसेको बैठकमा भरत प्रसाद साह, मो. रजी हैदर, पूर्वसंविधानसभा सदस्य लालेन्द्र मण्डल, विजय यादवलगायतको उपस्थिति थियो। यो सिफारिसले आगामी निर्वाचनमा महोत्तरी क्षेत्रमा पार्टीको प्रभाव बढाउने अपेक्षा गरिएको छ।
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री कार्की र प्रमुख नेताहरूबीच भेटवार्ता आज
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको सक्रिय समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आज महत्वपूर्ण भेटवार्ता हुँदैछ। जेनजी आन्दोलनपछि उत्पन्न भएको राजनीतिक संकटपछि प्रधानमन्त्री कार्कीले पहिलोपटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सँग औपचारिक छलफल गर्न लागेकी हुन्। राष्ट्रपति भवन शीतलनिवासमा दिउँसो ३ बजे सुरु हुने यो भेटवार्तामा तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र त्यसका लागि आवश्यक वातावरण निर्माण गर्ने विषयमा केन्द्रित छलफल हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। सेप्टेम्बर २०२५ मा जेनजी आन्दोलनको चर्को दबाबपछि अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीले राजनीतिक स्थिरता र निर्वाचन प्रक्रियालाई प्राथमिकतामा राख्दै आएकी छन्। आन्दोलनले उठाएका मुद्दाहरू सम्बोधन गर्दै देशलाई निर्वाचनतर्फ लग्ने प्रयासस्वरूप यो भेटलाई अर्थपूर्ण मानिएको छ। भेटमा सहभागी हुने नेताहरू देउवा, ओली र प्रचण्डले पनि निर्वाचनको मिति र सुरक्षा व्यवस्थालगायतका विषयमा सकारात्मक धारणा राख्ने अपेक्षा गरिएको छ। यो छलफलले नेपालको राजनीतिक संक्रमणकाललाई निकास दिने विश्वास गरिएको छ।

