भरतपुर भ्रमण वर्ष : राप्तीमा छाडियो २० वटा घडियाल गोही

चितवन । भरतपुर भ्रमण वर्षको सन्दर्भ पारेर चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० वटा घडिया गोहीलाई राप्ती नदीमा छाडिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शनिबार एक कार्यक्रमका बीच विदेशी पर्यटकको उपस्थितिमा निकुञ्जको मुख्यालय नजिक राप्ती नदीमा ७ वर्ष पुरा भएका घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छाडेकी हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले वर्षेनी बाढीका समय घडियाल गोही बघाएर भारत जाने समस्याको दीर्घकालिन समधान खोज्नुपर्ने बताइन्।

null

घडियाल गोही अन्य गोही प्रजातिको तुलनामा स्वच्छ ठाँउ तथा पानीमा बस्न मन पराउने र सफा पानीमा भएको माछा खाना मन पराउने भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने औल्याइन्।

नयाँ रौनक ल्याउने, मन्द आर्थिक गतिविधिलाई चलायमान बनाउने र सबैमा सकारात्मक भावना पैदा गराउने भ्रमण वर्षको मुख्य उद्देश्य रहेको उहाँले बताइन्।

‘भ्रमण वर्ष मनाइ रहदा भरतपुरका होटलहरु पर्यटकहरु भरिभराउ छन्’,उनले भन्,ि‘महानगरपालिकाको चाहाना पनि यही हो । उत्साहाजनक महोल वृद्धि हुँदै गइरहेको छ । यसलाई वर्षभरि नै निरन्तरता दिने गरी अघि बढेका छौ ।’

घडियाल गोही भरतपुरको पर्यटनको अर्को पहिचान भएकाले यसको संरक्षण गरी पर्यापर्यटनसँग जोड्नुपर्ने धाराणा राखिन्।

प्रमुख दाहालले प्रजनन् केन्द्रमा अहिले पनि अध्ययन अनुसन्धानका लागि धेरै विदेशी पर्यटक यहाँ आउने गरेकाले अनुसन्धानको थलो बनेको बताइन् ।

भरतपुर भ्रमण वर्षको अवसरमा चितवन राष्ट्रिय निकुञ्जलाई थप ब्राण्डिङ गर्न थप पर्यटकीय सम्भावनाको खोजी भइरहेको प्रमुख दाहालले जानकारी दिइन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जा पुनले गडियाल गोही विश्वका केही देशमा पाइने भएकाले यसको संरक्षण गर्न नदीलाई प्रदुषणमुक्त बनाउनुपर्नेमा जोड दिइन्।

घडियाल गोही नेपाल, भारत, पाकिस्तान, भुटान, बंगलादेशमा र म्यानमारमा करिब १० हजारको संख्यामा प्राकृतिक अवस्था विचरण गर्ने गरेको र यो संख्या संकटग्रस्त भएकाले यसको संरक्षणमा सबै पक्ष लाग्नुपर्ने उहाँको भनाइ थियो ।

गोही संरक्षणका लागि विस २०३० मा स्थापन भएको प्रजनन केन्द्रले गोहीको अण्डा संकलन गरि वार्षिक २०० बच्चा उत्पादन गर्ने गरेको छ । जसमध्ये १५० गोहीलाई बचाउँन सकिने निकुञ्जको तथ्याङक छ ।

निकुञ्जका अनुसार प्रजनन् केन्द्रमा हालसम्म १९ सय १७ वटा छाडिएको छ । राप्ती नदीमा  ११ सय ६२, नारायणी नदीमा ४१९, बबई नदीमा ११०, सप्तकोशीमा ११५, कर्णालीमा ४१, कालिगण्डकीमा ३५, पश्चिम राप्तीमा १० र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका चैधर खोलामा २५ वटा घडियाल छाडिएको छ ।
निकुञ्का सूचना अधिकारी गणेश तिवारीले छाडिएको घडियाल गोहीमध्ये राप्तीमा १५२ र नारायणीमा ११३ गरी २६५ वटा गणनाको क्रममा भेटिएका छन् । जसमध्ये राप्ती र नारायणीमा ३/३ वटा भाले घडियाल गोही छन् । यो बाहेक प्रजनन् केन्द्रमा ६४८ वटा घडियाल गोही रहेका छन् ।
घडियाल प्रजनन् केन्द्रमा भाले घडियाल गोही न्युन संख्यामा उत्पादन हुने गरेको छ ।

माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालले दोश्रो राष्ट्रिय सम्मेलन गर्दै

मकवानपुर । माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालले दोश्रो राष्ट्रिय सम्मेलन गर्दैछ । नेकपा माओवादी केन्द्रको जातीय मोर्चाको रूपमा रहेको यो मोर्चाले विधिवत रूपमा दोश्रो राष्ट्रिय सम्मेलन गर्न लागेको मोर्चाका अध्यक्ष  तथा संविधानसभा सदस्य तुलाबहादुर माझीले बताए । 'गणतन्त्र, सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा हाम्रो अभियान ! माझी पहिचान सहितको स्वायत्त क्षेत्र स्थापनाको लागि दोस्रो राष्ट्रिय सम्मेलन !!' भन्ने मुल नाराका साथ मोर्चाले दोश्रो राष्ट्रिय सम्मेलन गर्न लागेको हो । मकवानपुर जिल्लाको वागमती गाउँँपालिकाको  पाँचपाण्डव झुरझुरेमा चैत १७ र १८ दुइदिन राष्ट्रिय सम्मेलनको आयोजना गरिएको मोर्चाका महासचिव एवम् प्रतिनिधिसभा सदस्य उर्मिला माझीले जानकारी दिइन्। उनका अनुसार मोर्चाको दोश्रो राष्ट्रिय सम्मेलनमा देशभरबाट प्रतिनिधिहरूको उपस्थिति रहनेछ । सम्मेलनबाट नयाँ कार्यसमिति पनि चयन हुनेछ । सम्मेलनमा उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतको प्रमुख अतिथि रहनेछन् भने पूर्व सभामुख तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती विशेष अतिथिको रूपमा उपस्थित हुने कार्यक्रम छ । कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल,  राष्ट्रिय सभा सदस्य तथा माओवादी नेता शुरेश आलेमगर, बागमती प्रदेश सभा सदस्य प्रेम पुलामी, सुस्पा भुजेल, पुर्व सांसद वुद्विमान माझी,  गाउँपालिका अध्यक्ष सर्केश घलानलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहने आयोजकले जनाएका छन् । त्यसैगरी मकवानपुर जिल्लाका राजनीतिक पार्टीका नेताहरू, सञ्चारकर्मीहरू र जनसमुदायको पनि उद्घाटन समारोहमा उपस्थिति रहनेछ । सम्मेलनमा जनयुद्धको क्रममा सहिद भएका माझी समुदायका परिवारलाई सम्मान, घाइते योद्वाहरू र परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। सम्मेलनको तयारी पुर्ण रूपमा भएको केन्द्रीय सचिवालय सदस्य लक्ष्मी माझीले बताएकी छिन् । उनका अनुसार देशैभरबाट प्रतिनिधिहरू आउने क्रम शुरू भएको छ । प्रचारप्रसारको काम सकिएको छ । सम्मेलनको व्यवस्थापन जिल्ला समिति मकवानपुरले गरेको छ । सम्मेलन दुइदिन चल्नेछ ।

पोखरामा बस दुर्घटना : चालक घाइते

कास्की । पोखरा २८ आरुपाटा र अर्चले जोड्ने बाटो नजिक बस दुर्घटना हुँदा चालक घाइते भएका छन्  । लेखनाथ पोखरा रुटमा चल्ने ग १ ख ८६८० नम्बरको बसमा चालकबाहेक अरु यात्रु भने थिएनन् ।  बस आरुपाटाबाट अर्चले आउँदै गर्दा माथिल्लोबाटोबाट तल खसेको हो । बस ब्रेक फेल भएका कारण दुर्घटना भएको हो । चालकलाई  उपचारका लागि अस्पताल लगिएको स्थानीय जीवन ढकालले जानकारी दिए । गाडीमा चालक र सहचालक सवार थिए।

टोपबहादुर रायमाझी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वसचिव टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रायमाझी आज (शनिबार) अस्पतालबाट डिस्चार्ज भएका हुन् । नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले बताए।  उनले भने, ‘उहाँको स्वास्थ्यस्थितिको ४८ घण्टा अब्जर्भ गर्दा सामान्य देखियो, मुटुको चाल पनि विस्तारै सामान्य भयो, त्यसैले हिजो राति डिस्चार्ज गरिएको हो।’  मुटुको चाल कम भएपछि नेता रायमाझीलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो ।

इजरायली हवाई आक्रमणमा सिरियाका ३६ सैनिकको मृत्यु

काठमाडौं । सिरियाको उत्तरी सहर एलेप्पोमा रहेको सैनिक शिविरलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा ३६ सैनिकको मृत्यु भएको छ । आक्रमणमा परी ३६ सिरियाली सैनिकको मृत्यु भएको एक युद्ध अनुगमनले जनाएको हो । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको जिब्रिन क्षेत्रमा रहेको हिज्बुल्लाह गोदाममा आक्रमण भएको जनाएको छ । बेलायतमा रहेको वाचडग समूहले उत्तरी अलेप्पोको ग्रामीण इलाकामा करिब तीन घण्टा चलेको आक्रमणमा सबैभन्दा बढी सिरियाली सैनिकको मृत्यु भएको जनाएको छ । सिरियाली रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर स्थानीय समय अनुसार शुक्रबार सवा दुई बजे इजरायली सेनाले अलेप्पोको दक्षिणपूर्वमा रहेको एथ्रियाको दिशाबाट हवाई आक्रमण सुरु गरेको बताएको छ ।

त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचै जनाको परिचय खुल्यो, एक बेपत्ता

काठमाडौं । त्रिशुलीमा यात्रुवाहक ट्याक्सी खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका ५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी दिए।  मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्। सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन्। उनको खोजीका लागि दुर्घटनास्थलमा टोली खटिइरहेको डिएसी भण्डारीले जानकारी दिए।पाँच जनालाई मृत अवस्थामा नदीबाट निकालिएको छ।

अपडेट  : ट्याक्सीसँगै त्रिशूलीमा खसेका पाँच जनाको शव फेला

काठमाडौँ । चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट ट्याक्सीसँगै त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदीमा खसेको थियो ।  पशुपतिबाट आफ्नो बुवाको अन्तिम संस्कार सकेर फर्किएका परिवारका सदस्य दुर्घटनामा परेका हुन् ।प्रहरीका अनुसार ट्याक्सीबाट पाँच जनालाई मृत अवस्थामा निकालिएको हो ।  मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला रहेका छन् । मृतकको पहिचान खुलिसकेको छैन । ट्याक्सीमा ६ जना सवार रहेको हुन सक्ने जानकारी आए पनि यकिन हुन नसकेको प्रहरीको भनाइ छ । 

मुग्लिन नजिकै नाग्दिखोलाबाट त्रिशुलीमा ट्याक्सी खस्यो, उद्दार कार्य जारी

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन बजार नजिकै नाग्दिखोलबाट त्रिशुलीमा ट्याक्सी खसेको छ। इलाका प्रहरी कार्यालय मुग्लिन बजारले दिएको जानकारी अनुसार केहीबेर अघि करिब ७ बजेतिर ट्याक्सी खसेको हो । प्रहरीका अनुसार राजमार्गबाट ट्याक्सी करिब २ सय मिटर तल त्रिशुली नदीमा खसेको छ । काठमाण्डौबाट गोरखातर्फ आईरहेको ट्याक्सीमा ५ जना रहेको र अहिले दुर्घटनामा परेकाहरुको स्थानीय र प्रहरीद्वारा उद्दार गरिरहेको छ ।  दुर्घटनामा पर्नेहरु सबै गोरखा नगरपालिका ७ को स्थानीयहरु रहेको साथै बाँकी विवरणहरु खुलिनसेको प्रहरीले बताएको छ ।

आज आयरल्यान्ड वुल्भ्ससँग खेल्दै नेपाल ‘ए’

काठमाडौं । घरेलु मैदानमा आयोजित ट्वान्टी–२० शृंखलामा नेपाल ‘ए’ले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध खेल्दै छ । हिजो पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको हो ।  त्रिवि क्रिकेट मैदानमा आज यी दुई टोलीबीच दोस्रो खेल हुन लागेको हो ।  हिजोको खेलमा आयरल्यान्ड वुल्भ्ससँग नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो । वुल्भ्सले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९,३ ओभरमा सबै विकेट गुमाएर २०१ रनमा समेटिएको थियो ।  वुल्भ्सले नेपाल ‘ए’ सँग तीन ट्वान्टी–२० र एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । यसअघि नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण सम्भव नभएपछि नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ तालिका निकालेको हो । नयाँ तालिकामा क्यानले वुल्भ्ससँगको तीन खेलको ट्वान्टी–२० शृंखलालाई निरन्तरता दिएको छ । तालिकाअनुसार, नेपाल र वुल्भ्सले आज दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

भूमि बैङ्क प्रस्तावको विरोधमा संयुक्त किसान संगठन

काठमाडौं । कम्युनिस्ट पार्टी निकट ६ किसान संगठनले नयाँ सत्ता गठबन्धनले ल्याएको साझा संकल्प प्रस्तावमा भूमि बैङ्कको अवधारणको विरोध गरेका छन् । कम्युनिस्ट पार्टी निकट ६ किसान संगठन प्रेस विज्ञप्ति निकाल्दै एकातिर भूमि बैङ्कको प्रस्ताव आउनु र अर्कोतिर राष्ट्रिय भूमि आयोग विघटन गरिनुले नेपाली श्रमजीवी किसानहरूलाई तरङ्गित र आक्रोशित बनाएको बताएका छन् । विज्ञप्तिमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघसहित ६ कम्युनिस्ट पार्टी निकट किसान संगठनका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् । यस्तो छ प्रेस विज्ञप्ति नयाँ सत्ता गठबन्धनले ल्याएको साझा संकल्प प्रस्तावमा भूमि बैङ्कजस्तो नवउदारवादी कार्यक्रम समावेश भएकोमा नेपालका दुईतिहाइ जनसंख्या ओगट्ने किसानहरूको प्रतिनिधित्व र नेतृत्व गर्ने अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघसहित ६ कम्युनिस्ट पार्टी निकट किसान संगठनहरूको गम्भीर ध्यानाकर्षण भएको छ । एकातिर भूमि बैङ्कको प्रस्ताव आउनु र अर्कोतिर राष्ट्रिय भूमि आयोग विघटन गरिनुले नेपाली श्रमजीवी किसानहरूलाई तरङ्गित र आक्रोशित बनाएको छ ।पटक-पटक विभिन्न तरिकाबाट अघिसारिएका भूमि बैङ्कसम्बन्धी अवधारणाले वैज्ञानिक-क्रान्तिकारी भूमिसुधारको लक्ष्य तथा कार्यक्रमलाई ध्वस्त गर्ने, भूमिमाथिको निजी स्वामित्वलाई बलियो बनाई भ्रष्टाचार गरेर सम्पत्तिको रूपमा भूमि थुपार्ने भूमाफिया प्रवृत्तिलाई बढावा दिने, उत्पादक किसानहरूलाई उत्पादनको साधनको रूपमा रहेको भूमिबाट बञ्चित गर्ने, किसानहरूको ग्रामीण क्षेत्रको जमिन एकत्रित गरेर ५०-१०० वर्षका लागि विदेशी बहुराष्ट्रिय निगम र स्वदेशी दलाल पुँजीपतिहरूलाई अति सस्तो दरमा भाडामा दिई किसानहरूलाई भूमि अधिकारबाट बञ्चित गर्ने, युवाहरूको विदेश पलायनलाई प्रोत्साहन गर्ने, युवा जनशक्तिको अभावले बाँझो रहेको र भूमि बैङ्क मार्फत दलाल पुँजिपतिहरूलाई दिइएको जग्गा युवाहरू स्वदेश फिर्ता भएपश्चात उपभोग गर्न, अंशवण्डा गर्न र बेचबिखन समेत गर्न नपाउने कारणले लाखौँ युवा तथा किसानहरूले आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना गर्नेछ । तसर्थ हामी भूमि बैङ्कजस्तो किसान विरोधी कार्यक्रमलाई अविलम्ब खारेज गर्न जोडदार माग गर्दछौँ । साथै, भूमि समस्या समाधान गर्न तत्काल अधिकारसम्पन्न आयोग गठन गरी भूमिहीन दलित, सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन, अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न, 'जमिन जोत्नेको' नाराका आधारमा वैज्ञानिक-क्रान्तिकारी भूमिसुधार लागु गर्न, विकल्पबिनै किसानहरूलाई उठिबास गराउने कार्य रोक्न र ६ किसान संगठनहरूले नेपाल सरकारलाई बुझाएका ६५बुँदे मागहरू अविलम्ब पूरा गरी किसानहरूको जीवनलाई खुसहाल र समृद्ध बनाउन साम्राज्यवादी नवउदारवादको विकल्पमा किसानमुखी एवम् राष्ट्रिय पुँजीको प्रवर्द्धन गर्ने राष्ट्रिय नीति ल्याउन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । अन्यथा, हामी किसानहरूसँग संघर्ष गर्नुबाहेक कुनै विकल्प नरहने कुरा पनि यसै प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्दछौँ ।

इलाम पुगे रास्वपाका नेता, आज उम्मेदवार घोषणा गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरु इलाम पुगेका छन् । इलामबाट नेताहरुले आज(शनिबार) इलाम-२ को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गर्दैछ। रास्वपाले दलबलसहित शनिबार दिउँसो १ बजे इलाम नगरपालिका-७ लाँकुरी चौताराको चोक बजारमा उम्मेदवारी घोषणा गर्न लागेको हो। रास्वपाले बिहीबार मात्रै इलाम-२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। उम्मेदवारी घोषणा सभालाई सभापति रवि लामिछाने र उपसभापति डा।स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी, सह/प्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य तोसिमा कार्कीलगायतका नेताले सम्बोधन गर्ने बताइएको छ । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।

यस्तो रहनेछ आज २४ घण्टाको मौसम

काठमाडौं ।  हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो ।   ‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्ववि‌द्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागुगर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ’, त्रिविद्धारा शुक्रबार जारी गरेको सूचनामा भनिएको छ । यसअघि त्रिविमा अंग्रेजी र नेपाली दुबै भाषामा प्रश्नपत्र बनाउने पर्ने माग हुँदै आएको थियो । 

अन्तिममा सम्हालिन नसक्दा नेपाल ‘ए’ २१ रनले पराजित

काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालका लोकेश बमको शतकका बाबजुद नेपाल ए २१ रनले पराजित भएको छ ।  टीयु क्रिकेट मैदानमा भएको नाटकीय खेलमा अन्तिममा सम्हालिन नसक्दा नेपाल ए पराजित हुन पुग्यो ।   नेपाल ‘ए’का ओपनर लोकेशले आठ छक्का र आठ चौकाको मद्दतमा ५२ बलमा शतक बनाउँदा नेपाल बलियो अवस्थामा थियो । २२३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा लोकेश र आरिफ शेखले महत्वपूर्ण साझेदारी गर्दै विजय नजिक पु¥याएका थिए ।  नेपाल १९.३ ओभरमा अलआउट हुँदा पछिल्लो १४ बलमा ६ विकेट गुमाएको थियो ।  नेपालले ६ विकेट गुमाउने क्रममा ७ रन जोडेको थियो ।   लोकेशले आरिफ सेखसँग मिलेर व्यक्तिगत शतक हान्ने क्रममा नेपालको पाँच ओभरमा १०४ रन हानेको थियो । तर चौथो विकेटको रुपमा लोकेश बम १०६ रनमा आउट भएपछि नेपालको संकट सुरु भयो । लगत्तै आरिफ सेख २६ बलमा ४९ रन बनाउँदै पेभिलियन फर्के । कप्तान विनोद भण्डारीले १६ रन जोडेका थिए । त्यस बाहेक नेपालका अन्य व्याट्समेनले दोहोरो अंक जोड्न सकेनन् ।  त्यसअघि आयरल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २२२ रन बनाएको थियो । 

आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए शतक

काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालका लोकेश बमले शतक बनाएका छन् । नेपाल ‘ए’का ओपनर लोकेशले आठ छक्का र आठ चौकाको मद्दतमा शतक बनाएका हुन् । २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १५.१ ओभरमा तीन विकेट गुमाएर १८३ रन बनाएको छ । नेपालले पछिल्लो पाँच ओभरमा १०४ रन हानेको छ । यो २०.४ को रनरेट हो ।

१२ वर्षका बालकले एसईई दिँदै

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालय केन्द्रबाट १२ वर्षीय शक्ति अधिकारीले एसइई दिएका छन् । उनी सोही गाउँपालिका–६ सरौखोलास्थित विनु माविमा अध्ययनरत विद्यार्थी हुन् । अधिकारी पर्वतबाट एसइई दिने विद्यार्थीमध्ये सबैभन्दा कम उमेरको रहेका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धिमराज पौडेलले जानकारी दिए । उनका अनुसार २०७८ सालभन्दा अघि एसइई दिने पाउने उमेरको हद १५ वर्ष थियो । विसं २०७८ मा शिक्षा नियमावलीअनुसार एसइई दिने परीक्षार्थीको उमेर हदबन्दीमा उक्त व्यवस्था परिवर्तन गरिएपछि कम उमेरका विद्यार्थीले पनि दिन पाउने भएको पौडेलले बताए । विनु मावि सरौखोलाका प्रधानाध्यापक खगेन्द्र तिवारीले एसइईको फारम अनुसार अधिकारी १२ वर्ष मात्र पुगेका छन् । तिवारीका अनुसार अधिकारीले पहिला निजी विद्यालयमा पढ्थे । उनी विनु माविमा कक्षा ८ मा भर्ना भएका थिए । निजी विद्यालयबाट सामुदाकि विद्यालयमा आउँदा कक्षा परिवर्तन गरेकाले पनि चाँडो एसइई दिएको हुनसक्ने तिवारीको भनाइ छ । यसैगरी, सोही विद्यालयबाट जिल्लामै सबैभन्दा बढी उमेरका अर्का परीक्षार्थीले पनि एसइई परीक्षामा सहभागी भएका छन् । विद्यालयका नियमित छात्र ४० वर्षीय दुर्गाप्रसाद भुर्तेलले जनसेवा संस्कृति मावि केन्द्रबाट परीक्षा दिएका छन् । कक्षा सातसम्म पैंयुँ–५ क्यामुनेभन्ज्याङ माविमा अध्ययन गरेका भुर्तेल कक्षा ८ मा विनु माविमा भर्ना भएका थिए । उनी नियमित विद्यालयमा हाजिर भएरै कक्षा लिइरहने विद्यार्थी रहेको विद्यालयका प्रअ तिवारीले बताए । कक्षा ७ सम्म अध्ययन गरेपछि बीचमा छुटेर पुनः विद्यालय भर्ना भएकाले जिल्लामै सबैभन्दा बढी उमेरको विद्यार्थीमा भुर्तेल देखिएका प्रधानाध्यापक तिवारीले बताए । पर्वतका १७ परीक्षा तोकिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । जिल्लाभर शान्तपूर्वक परीक्षा भइरहेको भन्दै विगतका वर्षभन्दा यस वर्ष थप मर्यादित रहेको पाइएको कार्यालय प्रमुख उद्धिमराज पौडेलले बताए ।