सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठुलो चुनौती थपिएको छ ।
धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्लो २० दिनयता कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु भएको छ । “तीन वर्षको अवधिमा तीन सय ७१ पशुमा रेबिजको सङ्क्रमण पुष्टि भइसकेको छ”, उनले भने, “यो त प्रयोगशालालाई जानकारी भएको मात्र हो, यसै बीचमा कम्तीमा पनि पाँच जना मानिसको रेबिज सङ्क्रमणकै कारण मृत्यु भएको जनाकारी भएको छ, धेरैजस्तो त जानकारीमै नआउने भएकाले मृत्युको सङ्ख्या धेरै हुनसक्ने देखिन्छ ।”
रेबिजकै कारण यसै साता बझाङको सुर्मा गाउँपालिका–२ की ७० बर्सिया महिलाको मृत्यु भएको जानकारी आएको वरिष्ठ पशु चिकित्सक जोशीले बताए। उनका अनुसार यसअघि यसै वर्ष असार महिनामा बैतडीमा एक बालकको पनि रेबिजका कारण मृत्यु भइसकेको छ । सबैभन्दा बढी रेबिजको सङ्क्रमण कैलाली र कञ्चनपुर जिल्लामा रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा सङ्कलित एक सय ७० नमुनामध्ये एक सय ३६ मा रेबिज पुष्टि भएको छ ।
सो आर्थिक वर्षमा सबैभन्दा बढी सङ्क्रमण कैलालीमा भेटिएको छ । त्यहाँ सङ्कलन गरिएका ९८ नमुनामध्ये ७८ पोजेटिभ पाइएको छ । त्यसपछि कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, बझाङका तीन, डोटीका आठमध्ये छ पोजेटिभ परिणाम आएको छ ।
कैलालीको गोदावरी नगरपालिका–६ मा अन्य पशुलाई टोक्दै हिँडेको एक पशुमा दुई दिनअघि मात्रै रेबिज पुष्टि भएको छ । प्रयोगशालाको द्रुत प्रतिकार्य टोली (आरआरटी) ले सङ्कलन गरेको नमुना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको वरिष्ठ पशु चिकित्सक जोशीले जानकारी दिए ।
यसअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा बहुला कुकुरमा रेबिज पुष्टि भएको थियो भने हाल सोही नगरपालिकाको वडा नं १२ मा समेत कुकुरको आतङ्क बढ्दै गएको नगरपालिकाको पशुपन्छी विकास शाखाका प्रमुख रामप्रसाद भट्टले बताए । उनका अनुसार पछिल्लो समय स्यालहरू एकाएक मानव बस्तीमा पस्न थालेका छन्, त्यसको मुख्य कारण उखु खेती कटानीका कारण प्राकृतिक वासस्थान नष्ट हुनु रहेको छ ।
“उखु कटानीको सिजन सुरु भएपछि स्यालको लुक्ने ठाउँ र आहार क्षेत्र मासिएको छ”, भट्ट भन्छन्, “वासस्थान अभाव भएपछि स्याल आहाराको खोजीमा बस्ती पस्ने, घरपालुवा कुकुर तथा पशुलाई टोक्ने र त्यसैबाट रेबिजको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ ।”
पशु चिकित्सक भोजराज पाण्डेयका अनुसार रेबिज शतप्रतिशत प्राणघातक रोग भए पनि समयमै उपचार र सावधानी अपनाएमा ज्यान जोगाउन सकिन्छ । उनका अनुसार कुनै पनि पशुले टोकेमा घाउलाई १०–१५ मिनेटसम्म साबुन र सफा पानीले राम्ररी धुने, घाउ सानो भए पनि ढिलाइ नगरी तुरुन्त स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप लगाउने कार्य गर्नु पर्दछ ।
असामान्य व्यवहार गर्ने, टोक्ने वा र्याल झार्ने पशु देखिएमा स्थानीय तह वा पशुपन्छी सेवा शाखामा तुरुन्त जानकारी गराउने, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन, जङ्गली जनावर तथा भुस्याहा कुकुरबाट टाढा रहन र बालबालिकालाई विशेष सतर्कता अपनाउन लगाउने कार्य गर्नुपर्ने उनको भनाइ रहेको छ ।
कास्की–३ बाट प्रचण्डलाई सर्वसम्मत सिफारिस
पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कास्की–३ बाट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ। कास्की–३ को क्षेत्रीय कमिटी बैठकले प्रचण्ड नलड्ने अवस्थामा विकल्पका रूपमा उनकी बुहारी सिर्जना त्रिपाठीसहित थप १५ जनाको नाम पनि सिफारिस गरेको केन्द्रीय सदस्य रामजी बराल ‘जीवन’ र क्षेत्रीय संयोजक भीम क्षितिजले बताएका छन्। प्रचण्ड कास्कीको लेवाडेमै जन्मिएका हुन्। बैठकले उहाँलाई आफ्नो जन्मथलोबाट चुनाव लड्न आमन्त्रण गर्ने उद्देश्यले सर्वसम्मत सिफारिस गरेको क्षितिजले जनाए। सिर्जना त्रिपाठीले बैठकमै उम्मेदवारीको चाहना व्यक्त गरेकी थिइन्। उनी तत्कालीन माओवादी केन्द्रकी गण्डकी प्रदेश कमिटी सदस्य हुन्। सिफारिसमा परेका अन्यमा रामजी बराल ‘जीवन’, दुर्गा विक, कृष्ण नेपाली, भीम क्षितिजलगायत छन् भने जेन्डर क्लस्टरबाट शहरणसिंह विश्वकर्मा, सुमन ढुंगाना र प्रसन्न अधिकारीको नाम पनि समावेश गरिएको छ।
रुकुम पश्चिमबाट गोपाल शर्मा ‘अनल’ नेकपाको प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस
रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टीको जिल्ला समितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेता गोपाल शर्मा ‘अनल’ लाई एकल उम्मेदवारको रूपमा सिफारिस गरेको छ । पार्टीको जिल्ला समिति बैठकले सर्वसम्मत रूपमा उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यसैगरी बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ झक्कुप्रसाद घर्तीमगर (अभियान), सुरज कुमार परियार, गीता नेपाली र झरणा शाही तथा राष्ट्रियसभातर्फ बुद्धिप्रसाद शर्मा (अनन्त) लाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको अनलले बताउनुभयो ।
शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग संयोजक प्रचण्डको आग्रह
काठमाडौं— नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मौसम परिवर्तनका कारण तराई–मधेशमा चलेको शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भएको हिमपातले जनजीवन कष्टकर बनेको भन्दै प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउन तीनै तहका सरकारसँग अपील गर्नुभएको छ। प्रचण्डले सामाजिक सञ्जालमार्फत भन्नुभयो, “यसबाट खासगरी समाजका गरीब तथा सीमान्तीकृत वर्गका जनता बढी पीडित भएका छन्। यस्तो परिस्थितिमा प्रभावित जनतालाई तत्काल सहयोग पुर्याउन तथा कुनै पनि मानवीय क्षति र स्वास्थ्य समस्या उत्पन्न हुन नदिन आवश्यक प्रतिकार्यका लागि तीन वटै तहका सरकारसँग अपील गर्दछु।” उहाँले थप बताउनुभयो, “प्रभावित समुदायका लागि आवश्यक सहयोग जुटाउन तथा राहत लगायतका कार्यहरूलाई समन्वयात्मक रूपमा अघि बढाउनका लागि पार्टीका सम्बन्धित सबै समितिहरूलाई आवश्यक भूमिका निर्वाह गर्न निर्देशन दिन चाहन्छु।” देशका विभिन्न भागमा पछिल्लो समय तीव्र चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ।
नेपालको सबैभन्दा लामो भरतपुर महानगरीय चक्रपथ अन्तिम चरणमा
चितवन । नेपालको सबैभन्दा लामो मानिएको भरतपुर महानगरीय चक्रपथ (रिङ्ग रोड) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिब ८८.६ किलोमिटर लामो यो चक्रपथ ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ भने केही स्रोतका अनुसार लगभग पूर्णतातर्फ अग्रसर छ । NH77 का रूपमा सूचीकृत यस आयोजनामा १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी भएको छ । संघीय तथा प्रदेश सरकारसँगको सहकार्यमा अगाडि बढाइएको यो बृहत् पूर्वाधारले भरतपुरको यातायात व्यवस्थापनमा क्रान्तिकारी सुधार ल्याउने, ग्रामीण र सहरी क्षेत्रलाई जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने तथा स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने अपेक्षा गरिएको छ । हालै (डिसेम्बर २०२५) भरतपुर महानगर प्रमुख रेनु दाहालसहित सडक डिभिजन कार्यालयको टोलीले चक्रपथको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । अनुगमनका क्रममा निर्माण कार्य लगभग सम्पन्नको चरणमा पुगेको पाइएको छ । यो चक्रपथले पूर्व–पश्चिम राजमार्ग, नारायणघाट–मुग्लिन सडक, बाइपास र प्रचण्ड मार्गलाई जोड्दै भरतपुरको समग्र विकासमा कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।
सिन्धुपाल्चोक–२ बाट युवराज दुलाल ‘शरद’ को नाम एकल सिफारिस
काठमाडौं । नेकपाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट युवराज दुलाल ‘शरद’ को नाम एकल सिफारिस गरेको छ । बिहीबार बसेको क्षेत्र नं. २ को क्षेत्रीय समिति बैठकले जिल्ला कमिटीमार्फत उनको नाम एकल सिफारिस गरेको हो । दुलाल हाल बागमती प्रदेशसभा सदस्य छन् भने यसअघि उनी पटक–पटक बागमती प्रदेशको मन्त्री भइसकेका छन् ।
सिन्धुपाल्चोक–१ बाट माधव सापकोटा 'सुबोध' सिफारिस
सिन्धुपाल्चोक । नेकपाले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ माधव सापकोटा (सुबोध) को नाम सिफारिस गरेको छ। बिहीबार बसेको क्षेत्रीय कमिटी बैठकले सिफारिस गरेको यो नाममा सापकोटा गत २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए। समानुपातिकतर्फ लालकान्छा तामाङ, अम्बिका नेपाल, अनिता तामाङ, अनिल श्रेष्ठ र कुमार घतानेको नाम सिफारिस गरिएको छ। राष्ट्रिय सभाका लागि राजेन्द्र सापकोटा र शिव प्रसाद न्यौपानेको नाम सिफारिस भएको पार्टीले जनाएको छ।
प्रतिनिधिसभा चुनाव : चितवन ३ बाट रेनु दाहाल सर्वसम्मत सिफारिस
चितवन । नेपाली कम्युनिस्ट पार्टीले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई आगामी प्रतिनिधिसभा चुनावका लागि चितवन क्षेत्र नं. ३ बाट सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको छ। जगतपुरमा बसेको क्षेत्रीय बैठकले गरेको यो सिफारिस जिल्ला र प्रदेश कमिटी हुँदै केन्द्रमा पठाइने छ। महानगरको एक वर्ष कार्यकाल बाँकी छँदै दाहालले राजीनामा दिएर चुनावमा होमिने तयारी गरेकी छिन्। बैठकमा स्वयम् उपस्थित दाहालले झन्डै ९ वर्ष महानगरमा काम गरेको अनुभव र जनताको मायालाई साथ लिएर चुनाव लड्ने बताइन्। उनले भरतपुर र माडीका जनताको साथ सधैं पाएको र जीवन जनसेवामा समर्पित गरेको उल्लेख गरिन्। चितवन ३ मा माडी नगरपालिका र भरतपुरका १९ वडा पर्छन्। २०७४ मा यो क्षेत्रबाट पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका थिए भने २०७९ मा माओवादी केन्द्रका डा. भोजराज अधिकारी राप्रपाका विक्रम पाण्डेसँग पराजित भएका थिए।
रास्वपासँग चुनावी तालमेलको समाचार पूर्णतया असत्य : नेपाली कम्युनिष्ट पार्टी
काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले नागरिक दैनिकसहित केही अनलाइन सञ्चार माध्यममा प्रकाशित एउटा समाचारको खण्डन गर्नुभएको छ । उहाँले उक्त समाचार पूर्णतः असत्य रहेको बताउनुभएको छ । आचार्यले आफ्नो फेसबुक स्टाटसमार्फत सार्वजनिक गर्नुभएको सन्देशमा भन्नुभएको छ, “नागरिक दैनिकसहित केही अनलाइन सञ्चार माध्यमले आज नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने झुठ्ठा समाचार प्रकाशित गरेकोमा ध्यानाकर्षण भएको छ । यो समाचार पूर्णतः असत्य छ ।” उहाँले थप बताउनुभयो, “चुनावी सहकार्यका विषयमा रास्वपासँग पार्टीका तर्फवाट संयोजक वा अन्य कुनै पनि नेताले कुराकानी गर्नुभएको छैन । यसप्रकारका असत्य र सम्वन्धित पक्षवाट पुष्टी विना एकपक्षीयढंगले प्रवाह गरिएका झुठ्ठा समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा आग्रह गर्दछु ।” स्वकीय सचिव आचार्यको यो खण्डनले सम्बन्धित समाचारहरूमा उठाइएको दाबीलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डद्वारा क्रिसमस–२०२५ को शुभकामना व्यक्त
काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस–२०२५ को अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण क्रिश्चियन दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको सन्देशमा भन्नुभएको छ, “इसाई धर्मावलम्बीहरूको महान् चाड क्रिसमस–२०२५ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु।” उहाँले थप बताउनुभयो, “सामाजिक, सांस्कृतिक तथा धार्मिक विविधताले भरिपूर्ण हाम्रो देशमा सबै जातजाति, भाषा, धर्म र संस्कृतिबीचको आपसी सद्भाव, सहिष्णुता र एकताले नै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ। यस पर्वले विश्वभर शान्ति, प्रेम र करुणाको सन्देश फैलाउँदै नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।”
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४३ रुपियाँ ३६ पैसा र बिक्रीदर १४३ रुपियाँ ९६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपियाँ ०९ पैसा र बिक्रीदर १६९ रुपियाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपियाँ ७४ पैसा र बिक्रीदर १९४ रुपियाँ ५५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८२ रुपियाँ २२ पैसा र बिक्रीदर १८२ रुपियाँ ९८ पैसा कायम गरिएको छ । यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ २५ पैसा र बिक्रीदर ९६ रुपियाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०४ रुपियाँ ८५ पैसा र बिक्रीदर १०५ रुपियाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ६९ पैसा र बिक्रीदर ११२ रुपियाँ १६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपियाँ २० पैसा र बिक्रीदर नौ रुपियाँ २३ पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपियाँ ४४ पैसा र बिक्रीदर २० रुपियाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ २२ पैसा र बिक्रीदर ३८ रुपियाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ३३ पैसा र बिक्रीदर ३९ रुपियाँ ४९ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६२ पैसा र बिक्रीदर चार रुपियाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ०४ पैसा र बिक्रीदर ३९ रुपियाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ४४ पैसा र बिक्रीदर ३५ रुपियाँ ५९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ८९ पैसा र बिक्रीदर नौ रुपियाँ ९३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६५ पैसा र बिक्रीदर १५ रुपियाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६४ पैसा र बिक्रीदर २२ रुपियाँ ७३ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १८ रुपियाँ ४४ पैसा र बिक्रीदर १८ रुपियाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपियाँ ६४ पैसा र बिक्रीदर ४६८ रुपियाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपियाँ ०६ पैसा र बिक्रीदर ३८१ रुपियाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपियाँ ३६ पैसा र बिक्रीदर ३७३ रुपियाँ ९२ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता–२०८२
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिता जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिता–२०८२ जारी गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरिएको हो । आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन् । यो आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज गरिएको आयोगले जनाएको छ । जारी आचारसंहिता उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने, विद्युतीय माध्यम वा सूचना प्रविधिको उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । आचारसंहितामा निर्वाचन घोषणापत्र सार्वजनिक गरिनुपर्ने व्यवस्थासमेत गरिएको छ ।
कपिलबस्तुमा ट्रकको ठक्करबाट युवकको मृत्यु
कपिलबस्तु । जिल्लाको तौलिहवा–भैरहवा सडक खण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मायादेवी गाउँपालिकाको बर्रोहियामा भएको दुर्घटनामा डुमराका २५ वर्षीय ओसामा मोहम्मद मुसलमानको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको लु १८ प ८७६९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदैगरेको लु प्र ०१–००१ ख ०६८३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मुसलमानलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आज ‘क्रिसमस डे’ मनाइँदै
काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेको उनले बताए । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको अध्यक्ष गहतराजको भनाइ छ । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको उनले बताए । । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८२ आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि, सरोकार भएका निकायका अधिकारी, मानव अधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ । पछिल्लो समय मुख्य सहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ । विशेष गरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत सहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ । महासङ्घको दाबीअनुसार हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च छन् ।
काभ्रेमा कृषि–पर्यटन प्रवर्द्धनार्थ ‘सुन्तला–हाइकिङ’
काभ्रेपलान्चोक । यहाँ कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ । विभिन्न निकाय तथा सङ्घ–संस्थाको आयोजनामा यस पटक परीक्षण र प्रवर्द्धनका रूपमा कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ । होटल एसोसिएसन अफ नेपाल (हान) काभ्रेपलान्चोक च्याप्टरको आयोजना र धुलिखेल नगरपालिका पर्यटन परिषद्को विशेष सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यसमा जिल्लास्थित नेपाल युवा उद्यमी मञ्च र रोटरी क्लब अफ धुलिखेलले सहकार्य गर्ने जनाइएको छ । यस्तै कार्यक्रम १५ वर्षअघि पनि सञ्चालन गरिएको थियो । त्यो कार्यक्रम केही वर्षपछि सुस्ताएको थियो । हानका जिल्लाध्यक्ष प्रह्लाद प्याकुरेलले उक्त कार्यक्रमलाई पुनः सञ्चालन गर्न लागिएको बताए । उनले जिल्लाको कृषि र पर्यटनलाई जोड्ने उद्देश्यका साथ डेढ दशकपछि ‘सुन्तला–हाइकिङ’ कार्यक्रम पुनः सञ्चालनमा ल्याइने बताए । डेढ दशकअघि सन् २०१० को नोभेम्बरमा नेपाल पर्यावरण तथा पर्यटन जागरण आधारशीला (नेटिफ) ले नेपाल पर्यटन बोर्डको सहयोगमा नमोबुद्ध–बल्थली ‘सुन्तला–हाइकिङ’ कार्यक्रम आयोजना गरेको थियो । यस पटक पाँच वर्षपछि भएको हान काभ्रेपलान्चोक च्याप्टरको अधिवेशनसँगै कार्यक्रम बुँत्याइएको जनाइएको छ । जिल्लामा सुन्तलाखेतीको प्रचुर सम्भावना रहेकाले यसै सिजनमा नयाँ स्वरूपमा कार्यक्रम ब्युँताइने धुलिखेलस्थित होटल सारथीका प्रबन्ध निर्देशकसमेत रहेका प्याकुरेलले बताए । क्रिसमसको दिन पारेर (आज) बिहीबार औपचारिक रूपमा कार्यक्रम सञ्चालनमा ल्याइने उनले जानकारी दिए । कार्यक्रमअन्तर्गत पदयात्रा मुख्यतया जिल्लाको पर्यटकीय क्षेत्र नमोबुद्धबाट बल्थलीसम्म ‘रुट’ तय गरिएको छ । पदयात्रीले पहेँलपुर सुन्तला बगैँचाको दृश्यावलोकन गर्दै यात्रा गर्न पाउनेछन् । साथै स्थानीय बगैँचाका बोटबाटै ताजा सुन्तलासमेत खान पाउनेछन् । यात्रामा नमोबुद्धको धार्मिक वातावरण र बल्थलीको प्राकृतिक सुन्दरताको अनुभव लिँदै बल्थलीस्थित लड्केश्वर महादेवस्थान परिसरको विश्वकै अग्लो त्रिशूललगायतका धार्मिक तथा पर्यटकीय विकासबारे अवलोकन गर्न सकिने जनाइएको छ । क्रिसमसको बिदाको दिन भएकाले पैदल यात्रामा पर्यटन व्यवसायी, उद्योगी, जनप्रतनिधि, सञ्चारकर्मी, कन्टेन्ट क्रियटर, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, ट्राभल एजेन्सीलगायत कृषि सम्बद्ध पदाधिकारी गरी १०० भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ । यसपटकको प्रवर्द्धनात्मक ‘सुन्तला हाइकिङ’ को अनुभवले आगामी वर्षदेखि सुन्तलाको सिजन (नोभेम्बर र डिसेम्बर) मा एक महिनाकै ट्राभल प्याकेज बनाउने लक्ष्य लिएको हानले जनाएको छ । यसमा होटल–रिसोर्टका ट्यारिफमा विशेष छुट्का साथै अन्य आकर्षण थप्ने योजना बनाएको छ । आगामी वर्षदेखि सुन्तला सिजनमा कम्तीमा एक हजार जना पर्यटक काभ्रेपलान्चोक आउने र ‘सुन्तला हाइकिङ’ मा रमाउने गरी व्यवस्थापन गर्ने तयारी हुने हानले जनाएको छ । यसबाट स्थानीय होटल, रिसोर्ट, होमस्टे र कृषि क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । करिब डेढ सयमध्ये हाल जिल्लामा ३२ वटा स्तरीय होटल तथा रिर्सोट हानमा आबद्ध छन् । यसैबिच जिल्ला कृषि विकास कार्यालयले यस वर्ष काभ्रेपलान्चोकमा सुन्तला उत्पादन १० देखि १५ प्रतिशतसम्म बढ्न सक्ने प्रक्षेपण गरेको छ । गत वर्ष भने बाढी पहिरोका कारण जिल्लाको सुन्तला उत्पादनमा करिब सात प्रतिशतले गिरावट भएको थियो । हाल सुन्तला पकेट क्षेत्रमा उत्पादनको लगत लिने काम भइरहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार प्रारम्भिक लगतका हिसाबले गत वर्षाभन्दा १० देखि १५ प्रतिशतसम्म सुन्तला उत्पादन बढ्न सक्ने प्रक्षेपण गरिएको हो । कार्यालयका अनुसार जिल्लामा विसं २०८१ मा सात हजार ५०० मेट्रिकटन सुन्तला उत्पादन हुने प्रक्षेपण गरिए पनि बाढी पहिरोका कारण बगैँचामा क्षति पुर्याउँदा ५०० मेट्रिकटन गिरावट भएको थियो । जिल्लाको कुल क्षेत्रफलमध्ये करिब एक हजार ३०० हेक्टर अर्थात् करिब ३० हजार रोपनी क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यस वर्ष भने करिब आठ हजार मेट्रिकटन सुन्तला उत्पादन हुने जनाइएको हो ।
तनहुँमा ७१ हजार पशुको बिमा
तनहुँ । तनहुँमा ७१ हजारभन्दा बढी पशुको बिमा गरिएको छ । जिल्लास्थित कृषकले पालेका ७१ हजार २१८ पशुको बिमा गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढ्दै गएपछि कृषकहरु पशु बिमातर्फ सचेत भएको केन्द्र प्रमुख रविनसन अधिकारीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी कुखुराको बिमा ५९ हजार ९५९ कुखुराको गरिएको छ । त्यस्तै एक हजार ७४२ गाई, ७४० भैँसी, एक हजार ५८१ बाख्रा, ६९६ बङ्गुर, छ हजार ५०० माछाको बिमा गरिएको छ । बिमा गरिएको पशुको मूल्य रु २९ करोड ७५ लाख ४० हजार रहेको छ । त्यसमध्ये गाइको रु १५ करोड ६७ लाख ८० हजार, भैँसीको रु छ करोड ६६ लाख, बाख्राको रु एक करोड ५८ लाख दश हजार, बङ्गुरको रु एक करोड ७४ लाख, कुखुराको रु चार करोड ४३ लाख छ हजार, माछाको रु ५१ लाख चार हजार मूल्य रहेको छ । बिमा गरिएकोमध्ये गाईमा रु १५ लाख ६७ हजार कृषकले बेहोरेका छन् । यस्तै भैँसीमा रु छ लाख ६६ हजार, बाख्रामा रु एक लाख ५८ हजार, बङ्गुरमा रु एक लाख ७४ हजार, कुखुरामा रु तीन लाख ४४ हजार, माछामा रु आठ हजार कृषकले बेहोरेका छन् । तनहुँमा ४९ हजार ७४२ गाई, ५३ हजार ३८३ भँैसी, तीन लाख ८८ हजार १७६ बाख्रा, ७२३ भेडा, सुँगुर बुङ्गुर ४६ हजार ८१३, कुखुरा नौ लाख ९८ हजार ९३६, हाँसको सङ्ख्या ११ हजार ९८७ रहेको कार्यालयले जननाएको छ । दुधालु गाइको सङ्ख्या १३ हजार ९४२, दुधालु भैँसीको सङ्ख्या २१ हजार ५०३ रहेको छ ।

