बाग्मतीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको पक्षमा विश्वासको मत दिने भएको छ । यथास्थितिमा विश्वासको पक्षमा नउभिने बताउँदै आएको एकीकृत समाजवादीले केन्द्रमा शीर्ष नेताहरूबीचको सहमतिअनुसार विश्वासको मत दिने भएको हो । 

एकीकृत समाजवादीले एउटा प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने माग राख्दै आएको छ । उसले वाग्मतीको मुख्यमन्त्रीमा दाबी गरेको थियो । नेपाली कांग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै छन् । 

सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई प्रदेशसभाका ५६ सदस्यको मत आवश्यक पर्छ । प्रदेशसभामा नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, नेकपा (एकीकृत समाजवादी)का सात, हाम्रो नेपाली पार्टीका दुई, कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका तीन सदस्य छन् ।

मुख्यमन्त्री जम्कट्टेलले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । 

रुसी सेनामा कार्यरतको जीवन रक्षाको माग गर्दै प्रदर्शन गर्ने पक्राउ

काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सोमबार सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनले भने, “सिंहदरबार अगाडि प्रदर्शन गर्ने १० पुरुष र पाँच महिला गरी १५ जनालाई नियन्त्रणमा लिइएको छ ।” नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । रुसी सेनामा भर्ना भएर मृत्यु भएकाहरुको शव फिर्ता, सम्पर्कविहीन भएकाको खोजी एवम् अलपत्र परेका नेपालीहरुको उद्धारको माग राख्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

को हुन् बझाङ प्रदेश सभा क्षेत्र १ का माओवादी उम्मेदवार बुढा ?

धनगढी। नेकपा (माओवादी केन्द्र)ले बझाङको प्रदेश सभा क्षेत्र १ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव जनक बुढालाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।  आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा माओवादीका उपमहासचिव एवं सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलले बुढालाई उम्मेदवार बनाइने बताए।उनका अनुसार माओवादीको प्रदेश सचिवालय बैठकले उम्मेदवारका लागि बुढाको एकल नाम सर्वसम्मत पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरिएको छ ।  बझाङ क्षेत्र नम्बर १ बाट काङ्ग्रेसबाट निर्वाचित प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। प्रदेश सचिव बुढा २०७० को संविधानसभा सदस्य हुन् । २०५६ सालमा महेन्द्रनगरको सिद्ध नाथ बहुमुखी क्याम्पसमा माओवादीनिकट अखिल क्रान्तिकारीमा आबद्ध भएका बुढा २०५८ देखि भूमिगत हुनु भएको थियो । उनले २०६२ सालमा माओवादीको बाजुरा जिल्ला सचिव र २०६४ मा बैतडी जिल्ला सचिव भएर काम गर्नु भएको छ । २०६४ देखि २०७० सालसम्म बुढा बझाङ जिल्ला अध्यक्ष तथा इन्चार्जको जिम्मेवारीमा समेत हुन्।  २०५८ देखि २०६० सालसम्म अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य रहनु भएका बुढाकी श्रीमती २०५८ सालमा तत्कालीन शाही नेपाली सेनाबाट मारिइन् भने घरमा आगजनी गरिएको थियो।  माओवादीको बैठकले सङ्घीय गठबन्धन अनुसार प्रदेशमा समेत सरकार बनाउन पहल गर्ने निर्णय गरेको इन्चार्ज पोखरेलले बताए। यस्तै, गरेर माओवादी प्रदेश सचिवालय बैठकले सुदूरपश्चिममा पार्टीको सङ्गठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । 

सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन

काठमाडौं । गीतकार तथा लेखक लिला सेलिङको कविताकृती ‘‘सेप्म्माङलक’’ र भिमकुमार सेलिङको ‘‘आयोमा दर्पण’’ कृतिको संयुक्त रुपमा पुस्तक बिमोचन गरिएको छ । सेलिङका नयाँ पुस्तक ‘‘सेप्म्माङलक’’ र ‘आयोमा दर्पण’ शनिबार साहित्यिक जमघटका बिच विमोचन गरिएको हो । शिक्षाको निम्ति आफ्नो जीवनको आधा उमेर सुम्पिएका श्री गुप्तेश्वर मावि याङ्वरक ३, ओयामका पूर्व प्र.अ.श्री भिम कुमार सेलिङको ‘शिक्षामा चौवालीस बर्ष’ पुस्तक केही बर्ष अगाडि प्रकाशित गरिसकेका छन् । त्यसैगरि आफ्नो कलमलाई निरन्तरता दिंदै पुन ओयाम दर्पण कृति र साथमा उनकै छोरी लेखिका, समाजसेवि, गीतकार अन्य धेरै विधानमा आफ्नो कार्यकौशल प्रस्तुत गर्दै आएकी लीला सेलिङ माबोको कविताकृति सेप्माङ्लक को संयुक्त रुपमा बिमोचन गरिएको हो । उक्त कृतिको हिजो आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वकुलपति तिलविक्रम नेम्वाङ ‘वैरागी काइँला’ ले विमोचन गरेका हुन् ।आधा दर्जन गीत रेकर्ड गरिसकेकी लिलाले केही अन्यपुस्तकहरुपनि बजारमा ल्याईसकेकी छन् । ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, संगै सुब्बा सुभाङी र निशान बारे खोजमुलक लेखहरु लेखेकी छिन् । सामाजिक काममा समेत अग्रसर लिलाले विभिन्न पुरस्कारहरु समेत पाएकी छन् ।

२७ निर्माण व्यवसायीसँग सातदिने स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन सन्तोषजनक नभएका २७ निर्माण व्यवसायीहरुसँग सातदिने स्पष्टीकरण माग गरेको छ। सुरुमा ३० दिनभित्र स्पष्टीकरण दिन भन्दा पनि अटेर गरेपछि आज सार्वजनिक सूचना जारी गरी सात दिनभित्र लिखित स्पष्टीकरण माग गरिएको हो। स्पष्टीकरण माग गरिएका २७ निर्माण कम्पनीको सूचीमा भारतका दुई र चीनको एक कम्पनीसमेत छन् । बाँकी सबै नेपाली कम्पनीहरु छन् । यो स्पष्टीकरण चित्तबुझ्दो नभए सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्छ । कालोसूचीमा परेमा कालोसूचीमा राखेको अवधिभर सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाइँदैन । कार्यालयले सात दिने स्पष्टीकरण मागेका कम्पनीहरुमा चीना श्रेष्ठको रोशिस कन्सट्रक्सन रौतहट, दीपेन्द्र विकको उमंग ट्रेडर्स रौतहट, रुपेश पण्डितको पौराई बाबा कन्स्ट्रक्सन रौतहट राजेन्द्र चाईको साहनी विल्डर्स रुपन्देही, दिपेश कर्माचार्यको न्यू जगतदेवी निर्माण सेवा नवलपरासी, रमेश राईको विवश इन्टरनेसनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौं, मदन खड्काको एमडी ब्रो कन्स्ट्रक्सन इलाम, पुष्पनाथ यादवको शोभा विल्डर्स एण्ड सप्लायर्स भक्तपुर, विजयकुमार मोक्तानको नेपाल भूमि कन्स्ट्रक्सन काठमाडौं लगायत छन् । यसैगरी सन्तोष प्रसाद भट्टको युसब कन्स्ट्रक्सन डडेलधुरा, ललितबहादुर बोहराको न्यु कालिका निर्माण सेवा बझाङ, दिलबहादुर भण्डारीको तुल्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स डोटी, सतिश आचार्यको सुप्रभात निर्माण सेवा बाँके, कृष्णप्रसाद ओलीको वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन बाजुरा, घनश्याम बस्नेतको भुमा निर्माण सेवा दाङ, साविर मियाको मान्यता निर्माण सेवा सुर्खेत, गुनेश्वर साहको जी।एस।एण्ड एम।एस। कन्स्ट्रक्सन, अजित शाक्यको मुस्कान कन्स्ट्रक्सन पर्सासँग पनि लिखित स्पष्टीकरण माग गरिएको छ । स्पष्टीकरण माग गरिएका अन्य कम्पनीहरुमा पदमबहादुर तामाङको मस्टा जे.बी.डी. कन्स्ट्रक्सन काठमाडौं, प्रदीप पन्त र आशिष गौतमको समृद्धि यशहश्वी कन्स्ट्रक्सन काठमाडौं, सुन्दर श्रेष्ठको जलेश्वर महादेव यासवि कन्स्ट्रक्सन काठमाडौं, कृष्ण पौडेलको कृशव निर्माण सेवा रुपन्देही, रामु खनालको खनाल कान्छा सप्लायर्स रुपन्देही, दीपेन्द्रबहादुर शाहीको सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन, राजिव गर्गको भारत कन्स्ट्रक्सन, अभिषेक गुप्ताको गुप्ता पावर इन्फ्रास्ट्रक्चर भारत र सु फुगुईको शुफा एन्हे ग्रुप सिचुवान (चीन) छन् । हेर्नुहोस् सूचना

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको  विद्युत व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कदै

काठमाडौं । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कदै छन्। उनी ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण हुनेछन् । विमानस्थलमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणबारे जानकारी गराउने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरे। भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल तीव्र आर्थिक विकासको यात्रामा अघि बढिरहेको जानकारी दिँदै त्यसका लागि छिमेकी मुलुक चीनको सहयोग महत्वपूर्ण हुने बताए ।  उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गरेका थिए। सो भेटवार्तामा उनीहरुबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई प्रगाढ बनाउनेबारेमा छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठ माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष एवं विदेश विभाग प्रमुखसमेत हुन् ।  बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गरे । सो क्रममा उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान गरे। सोही दौरान उनले चीनकै दक्षिण पश्चिमी सहर छोनछिन नगरपालिकाको अवलोकन भ्रमण गरे । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी छोनछिन कमिटीका सचिव युयान जाइजुनबीच प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता भएको थियो । उक्त भेटमा उपप्रधामन्त्री श्रेष्ठले नेपाल र चीन आर्थिक समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताए।  यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले चीनको सिजाङ्ग स्वायत्त क्षेत्रका पार्टी सचिव वाङ झुङहेङसँग भेट गरी नेपाल–चीन सीमा क्षेत्रका नागरिकले व्यहोर्नुपरेको समस्या समाधान गर्न आग्रह गरे । उनले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरी आर्थिक कूटनीतिमा ध्यान दिन निर्देशन दिए । उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले तिब्बतमा रहेको कैलाश मानसरोवर क्षेत्रको अवलोकनसमेत गरे । भ्रमणका क्रममा सिचुवान प्रान्तको छेन्दु आइपुगेका उनले सिचुवान जनसरकारका गभर्नर हुवाङ सियाङसँग पनि भेट गरी नेपालमा चिनियाँ लगानीका लागि आग्रह गरे।  नेपाली प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख  एवं सहसचिव कृष्ण ढकाल, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादव, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, परराष्ट्र मन्त्रालयका उपसचिव अरुणा घिसिङलगायत सहभागी थिए । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत १२ गते चीनको भ्रमणमा निस्केका थिए । 

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

  काठमाडौं । आज २०८० साल चैत १९ गते सोमबार सन् २०२४ अप्रिल १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १० पैसा र बिक्री दर १६८ रुपैयाँ ८६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

यस्तो रहनेछ आजको मौसम

काठमाडौ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हावाहुरी र मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती भने कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम सफा रहने छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज सूर्योदय बिहान ५ बजेर ५४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २१ मिनेटमा हुनेछ ।

अन्लाईनमार्फत ठगी गर्ने चीनियाँ गिरोह पक्राउ

काठमाडौं । अन्लाईन लोटरी र अन्लाईन सपिङ जस्ता विभिन्न प्रलोभन देखाई ठगि गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली तथा विदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको सूचनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साले १२० थान कम्प्युटर, ल्यापटप, ३५ थान मोबाईल फोन र अन्य विधुतिय उपकरणहरू समेत ३ जना चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको हो । उनीहरुले सामाजिक सञ्जाल र मोबाइल फोनमार्फत नेपाल, भारत, पाकिस्तानलगायतका मुलुकका नागरिकलाई विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी गर्दै आइरहेका थिए ।गिरोहमा अन्य कोको संलग्न छन भन्नेबारे थप अनुसन्धान अगाडी बढाएको  प्रहरीले जनाएको छ ।

युवती बेचबिखनमा ९० वर्षको कैद सुनाइएका २ जना पक्राउ

काठमाडौं । एक लाख रुपैयाँका दरले तीन युवतीलाई बेचेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ घर भएका ३८ वर्षीय बच्चु विक सुनार र सोही ठाउँका ४७ वर्षीय दावा तामाङ भनिने दावा लामा रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बच्चुलाई ५ चैतमा कपनबाट र दावालाई १६ चैतमा टिकाथलीबाट पक्राउ परेको हो । उनीहरुले आकर्षक रोजगारीमा विदेश पठाइदिने भन्दै सिन्धुपाल्चोकका तीन युवतीलाई भारत लगेर १–१ लाख रुपैयाँका दरले बेचेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए । उनीहरुले ५ माघ २०६४ मा तीन जना युवतीहरुलाई काठमाडौंबाट वीरगञ्ज हुँदै भारतको शहिदनगर लगेर बेचेको आरोप छ । मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा उनीहरुविरुद्ध १ फागुन २०७८ मा फैसला भएको थियो । तीन वटा फरक–फरक मुद्दामा बच्चुलाई ३० वर्ष कैद र ३ लाख जरिवाना र दावालाई ६० वर्ष कैद र ६ लाख रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

गुजरातविरुद्ध जीतका लागि नेपाललाई ९९ रनको चुनौति

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा गुजरातविरुद्ध नेपालले जीतका लागि ९९ रनको चुनौति पाएको छ । टस हारेर व्याटिङ गरेको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।  गुजरातलाई सस्तैमा समेट्न गुल्शन झाले घातक बलिङ गर्दै चार विकेट लिए । आफ्नो चार ओभरमा २२ रन खर्चिएर चार विकेट लिदा गुजरात दबावमा परेको थियो । यस्तै करण केसीले पनि गुजरातलाई दबाबमा राख्न तीन विकेटको योगदान गरे । ३ दशमलब २ ओभर बलिङ गरेका करणले पनि २२ रन खर्चिएका थिए ।  यस्तै, सोमपाल कामीले एक विकट लिए । नेपाल, गुजरात र बरोडाबीच आजबाट सुरु भएको त्रिकोणात्मक सिरिज डबल राउण्ड रोबिनमा हुनेछ ।

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माण गर्न लागिएको १४० मेगावाटजडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोल्ने काम) भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइसचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्त रूपमा स्वीच थिचेर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक ब्रु’ भएको हो। आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार ४९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । अब मुख्य सुरुङको कंक्रिट लाइनिङ गरिनेछ। मुख्य सुरुङबाट गएको पानीलाई २१३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिने प्राधिकरणले जनाएको छ। सुरुङ ‘ब्रेक थ्रु’ गर्न आयोजित कार्यक्रममा सचिव सिग्देलले धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको भन्दै मुख्य बाँध निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गरे। “कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजनाको अनुभवले दूधकोसी, नलगाढ, बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना विकास गर्न निर्देशित र थप विश्वास दिलाउँछ।आयोजना तोकिएकै समयमा सम्पन्न हुनुपर्छ,” उनले भने । सुक्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दैप्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुमापर्ने बताए। उनले आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा विकास गर्न लागिएको १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माण कार्य छिट्टै अगाडि बढाइने बताए । मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगति ५४ प्रतिशत छ । समग्र निर्माण ०८३ असारभित्र (सन् २०२६ मे) सकाउने लक्ष्य राखिएको छ।

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्धारा स्रष्टालाई सम्मान

चितवन । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेकोछ। आइतबार भरतपुर महानगरपालिकाको सभाहलमा प्रतिष्ठानका कुलपति रेनु दाहाल, महानगरकाउपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, उपकुलपति इन्द्ररेग्मीले संयुक्त रुपमा  स्रस्टाहरूलाई सम्मानतथा पुरस्कृत गरेका हुन् । प्रज्ञा प्रतिष्ठानले वार्षिक रुपमा प्रदान गर्ने विभिन्नसम्मान, पुरस्कार तथा निबन्ध र कथा प्रतियोगितामा पुरस्कृत प्रतिभाहरूलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा भरतपुर प्रज्ञा सम्मान प्रकाश थापा “प्रथा”लाई सम्मान गरिएको हो। भरतपुर–४ चितवन निवासी थापालाई  ५० हजार७८ रुपैयाँ, दोसल्ला र प्रमाण–पत्र प्रदान गरिएको थियो ।त्यसैगरी कृष्णबम मल्ल प्रज्ञा सम्मान प्रा.डा.कर्णबहादुर बानियाँलाई प्रदान गरिएको छ। भरतपुर– १२ निवासी बानियाँलाई  ५० हजार ७८ रुपैयाँ दोसल्ला र प्रमाण–पत्रप्रदान गरिएको थियो ।त्यसैगरी पुरस्कारतर्फ चित्रवन प्रज्ञा पुरस्कार डि.आर. पोखरेललाई प्रदानगरिएको छ। संस्कृतिको सोपानमा चितवन कृतिका लागि भरतपुर–१० निवासी पोखरललाई ५०हजार ७८ रुपैयाँ, दोसल्ला र प्रमाण–पत्र प्रदान गरिएको थियो।  त्यस्तै, वागीश्वरी प्रज्ञा पुरस्कारसिम्रन क्षेत्रीको  झुमर उपन्यासलाई दिइएको छ । भरतपुर–१ नारायणगढनिवासी क्षेत्रीलाई रु.२५ हजार ७८, दोसल्ला र प्रमाण–पत्र प्रदान गरिएको थियो ।त्यस्तै भरतपुर प्रज्ञा पुरस्कार (काव्य)जगन्नाथ पण्डितको घरबारीमा तोरी फुल्यो कवितासंग्रहलाई दिइएको छ।  पुरस्कारको राशि रु. २५ हजार ७८ रुपैयाँ सम्मानपत्ररहेको छ । त्यस्तै भरतपुर प्रज्ञा पुरस्कार (आख्यान) अष्टदेवखनालको ‘अन्तश्चेतना’ उपन्यासलाई दिइएको छ । पुरस्कारको राशि रु.२५हजार ७८ रसम्मानपत्र रहेको छ । त्यसैगरी राष्ट्रिय खुल्ला कथा प्रतियोगिता २०८० मा पुरस्कृत स्रस्टालाई पनिसम्मान गरिएको छ । प्रतियोगितामा नुवाकोटका अनन्त लम्सालको अन्तिम पथ शीर्षकको कथासर्वोकृष्ट बनेको थियो । लम्साललाई रु. ४० हजार ७८ र प्रमाणपत्रले पुरस्कृतगरियो । लमजुङकी अनिता पन्थीको मृत्युको अपिल शीर्षकको कथाले उत्कृष्ट स्थान हासिलगरेको छ । पन्थीलाई रु. ३० हजार ७८ र प्रमाणपत्रले पुरस्कृत गरियो ।त्यस्तै काभ्रेका समीप खड्काको भाग्यको कुरो शीर्षकको कथाले उत्तम स्थान गरेकोछ । खड्कालाई रु. २० हजार ७८ र प्रमाणपत्रले पुरस्कृत गरियो । त्यस्तै मोरङकी मन्दिरा मधुश्री (मन्दिरा कोइराला)को पहिचान  र राधिका कल्पित (राधिका गौतम पौडेल) को अब लजाउँदैन लज्जावती शीर्षकका कथालेप्रोत्साहन स्थान हासिल गरे । दुबैलाई जनही रु। १० हजार ७८ र प्रमाणपत्रले पुरस्कृतगरियो ।प्रतिष्ठानले “मेरो सपनाको भरतपुर” शीर्षकमा चितवन जिल्ला स्तरीय निबन्धप्रतियोगिता २०८० आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा हरिप्रसाद तिवारीरविको निबन्ध सर्वोकृष्ट घोषित रहेको थियो । तिवारीले रु। १० हजार ७८ रप्रमाणपत्र प्राप्त गरिन् ।  त्यस्तै अनुस्का न्यौपानेको निबन्ध उत्कृष्ट रह्यो । उनले रु.८ हजार ७८ र प्रमाणपत्र पाइन् ।त्यस्तै चिरञ्जीवी दाहालको निबन्ध उत्तम घोषित भएको छ। उनलाई रु.६ हजार ७८र प्रमाणपत्र दिइयो ।त्यस्तै, प्रोत्साहन पुरस्कार प्राप्त गरेका सन्तोषसुवेदी र स्वस्तिक शर्मालाई जनही रु. ४ हजार ७८ र प्रमाणपत्र दिइएको छ ।प्रज्ञा प्रतिष्ठानकासदस्य सचिव बालकृष्ण थपलियाले उक्त कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।प्रज्ञापरिषद्का उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कोभिड उपकरण खरिद भ्रष्टाचार विशाल पण्डितसहित ६ विरुद्ध विशेषमा मुद्दा दायर

कोभिड १९ को महामारीमा स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।  हस्पिटेक इन्टरप्राइजेज प्रालि र त्यसका सञ्चालक विशाल पण्डितसहितलाई प्रतिवादी कायम गरेर अख्तियारले मुद्दा दायर गरेको हो। कोशी अस्पतालमा उपकरण खरिदमा भ्रष्टाचार भएको अख्तियारको दावी छ। अनियमिततामा संलग्न भएको आरोपमा अख्तियारले कुशल दाहाल, चन्द्रदेव मेहता, डम्बरसिंह विश्वकर्मा, उदेशकुमार श्रेष्ठ र मनोजकुमार आचार्य प्रतिवादी छन्।

सौन्दर्यविद् रश्मिला सम्मानित

काठमाडौं। रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा वरिष्ठ सौन्दर्यविद्  रश्मिला श्रेष्ठ सम्मानित भएकी छिन्। काठमाडौंमा आयोजित उक्त विशेष कार्यक्रममा माओवादी केन्द्रका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ सौन्दर्यविद् श्रेष्ठलाई  सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरे । ’श्रेष्ठले डेड दशकभन्दा लामो समयदेखि काठमाडौंमा ‘रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटी केयर’ सञ्चालन गर्दै आएकी छिन् ।सौन्दर्यको क्षेत्रमार्फत श्रम तथा आर्थिक रुपमा मुलुकलाई सेवा पु¥याउँदै आएकी श्रेष्ठको योगदानको कदरस्वरुप ‘सम्मान गरिएको कार्यक्रममा जानकारी गराइएको थियो। वरिष्ठ सौन्दर्यविद् श्रेष्ठले काठमाडौं मलमा दुई वटा, बिजी मल र बुद्ध मलमा एक एक वटा आउटलेट सञ्चालन गर्दै आएकी छिन् ।श्रेष्ठले करीव १ सय जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी समेत दिएकी छिन् । उनले सौन्दर्यको क्षेत्रमा सिक्न चाहनेलाई पनि प्रशिक्षण दिँदै आएकी छिन् ।‘रश्मिलाज् फेसियल हाउस एण्ड ब्यूटी केयर’ले अन्तर्राष्ट्रियस्तरकै उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । कलाकार, व्यवसायी, सर्वसाधारण, खेलाडीलगायतको पहिलो रोजाइमा रश्मिलाज् फेसियल हाउस पर्दै आएको छ ।