मनाङको दुर्गम क्षेत्रमा नयाँ हिमताल फेला

मनाङ । मनाङ जिल्लाको चामे गाउँपालिका–४ अन्तर्गत पर्ने सिङ्गारखर्क क्षेत्रमा हालै पहिचान भएको ‘काजिनसारा ताल’ वैज्ञानिक अध्ययन र औपचारिक प्रमाणीकरणको चरणमा प्रवेश गरेको छ । प्रारम्भिक विवरणअनुसार उच्च हिमाली भूभागमा अवस्थित यस तालले नेपालका हिमतालहरूको सूचीमा नयाँ अध्याय थप्ने देखिएको छ ।

स्थानीय गोठालाहरूले वर्षौंदेखि टाढाबाट देख्ने गरेको निलो जलराशिको जानकारी दिएपछि चामे गाउँपालिका, स्थानीय प्रशासन र सुरक्षाकर्मीको संयुक्त टोलीले तीन वर्षअघि तालको प्रारम्भिक अन्वेषण थालेको थियो । सो क्रममा ताल समुद्र सतहबाट करिब ५,२०० मिटर उचाइमा रहेको अनुमान गरिएको छ । यद्यपि, तालको वास्तविक उचाइ, क्षेत्रफल र गहिराइको औपचारिक वैज्ञानिक मापन भने हालसम्म सम्पन्न भएको छैन ।

दुर्गम, जोखिमपूर्ण र अछुतो हिमाली भू–भागमा अवस्थित काजिनसारा तालसम्म पुग्न कठिन भए पनि यस क्षेत्रको भौगोलिक र प्राकृतिक महत्व उच्च रहेको बताइएको छ । प्रारम्भिक प्रतिवेदनले ताललाई हिमनदीबाट बनेको उच्च हिमाली ग्लेसियर तालका रूपमा चिनाएको छ । तालको लम्बाइ झन्डै एक किलोमिटर र चौडाइ करिब ६ सय मिटर रहेको अनुमान गरिएको भए पनि गहिराइसम्बन्धी विवरण अझै प्राप्त हुन सकेको छैन ।

नर्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाका अनुसार नापी विभाग वा सम्बन्धित प्राविधिक निकायबाट औपचारिक सर्वेक्षण नभएसम्म तालको विश्वस्तरको स्थानबारे निष्कर्ष निकाल्न मिल्दैन । उनले भने, “वैज्ञानिक मापनबिनाको दाबीभन्दा पनि अहिले आवश्यक कुरा तथ्यमा आधारित अध्ययन र संरक्षण हो ।”

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले काजिनसारा ताल प्राकृतिक सम्पदाको रूपमा महत्वपूर्ण भएकाले हतारमा पर्यटकीय गतिविधि विस्तार गर्नु भन्दा दीर्घकालीन संरक्षण नीति आवश्यक रहेको बताए । उनका अनुसार ताल वरपरको क्षेत्र जैविक तथा भौगोलिक रूपमा संवेदनशील भएकाले भविष्यमा गरिने कुनै पनि पूर्वाधार विकासअघि वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गरिनेछ ।

ताल अवस्थित क्षेत्र चारैतिर हिमालहरूले घेरिएको छ । पूर्वतर्फ मनास्लु, दक्षिणतर्फ अन्नपूर्ण र लमजुङ हिमाल, पश्चिममा दामोदर हिमाल र उत्तरतर्फ तिब्बतको पेरी हिमाल देखिने भएकाले यो क्षेत्र प्राकृतिक अध्ययन र दृश्यावलोकनका दृष्टिले महत्वपूर्ण मानिन्छ । विज्ञहरूका अनुसार हिमनदीको विस्तार, जलवायु परिवर्तन र भौगोलिक उत्थानका कारण यस्ता नयाँ उच्च हिमतालहरू पहिचान हुनु अस्वाभाविक होइन ।

चामे गाउँपालिकाले आगामी अनुकूल मौसममा दोस्रो चरणको विस्तृत वैज्ञानिक सर्वेक्षण गर्ने तयारी गरेको छ । उक्त सर्वेक्षणमा उपग्रह प्रविधि, जलविज्ञान परीक्षण, सम्भावित हिमताल विस्फोट जोखिम मूल्यांकन तथा बहु–निकायको सहभागिता रहने बताइएको छ । सर्वेक्षणपछि संरक्षण, विपद् व्यवस्थापन र स्थानीय समुदायको सहभागितामा आधारित दीर्घकालीन व्यवस्थापन योजना लागू गरिने गाउँपालिकाले जनाएको छ ।

काजिनसारा तालको औपचारिक पहिचान र वैज्ञानिक प्रमाणीकरणसँगै यसले नेपालको हिमाली भूगोल, जलस्रोत अध्ययन र वातावरण संरक्षण क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ

कसुर । पाकिस्तानको पञ्जाब प्रान्तस्थित कसुर जिल्लाको सीमावर्ती गाउँबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। पाकिस्तान रेन्जर्सले उनलाई सीमा उल्लंघन गरेको आरोपमा पक्राउ गरी हिरासतमा लिएको हो।  पक्राउ पर्नेमा भारतको जालन्धर जिल्ला शाहकोट तहसीलका शरनदीप सिंह रहेका छन्। रेन्जर्सले उनलाई कसुरको गन्डा सिंह प्रहरी चौकी अन्तर्गत पर्ने सहजरा क्षेत्रबाट नियन्त्रणमा लिएको बताएको छ।  पक्राउ परेपछि उनलाई आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीको जिम्मा लगाइएको छ। पाकिस्तानी अधिकारीहरूले पक्राउ परेका सिंहलाई हतकडी लगाएको तस्बिर समेत सार्वजनिक गरेका छन्। बीबीसी उर्दूका अनुसार उनी भारतीय सीमाबाट पाकिस्तानी क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरेपछि नियन्त्रणमा परेका हुन्। हाल उनलाई गन्डा सिंह प्रहरी चौकीमा राखेर सीमा उल्लङ्घनको मुद्दामा थप अनुसन्धान भइरहेको छ।

धनकुटामा किशोरी बलात्कारको आरोपमा एक युवा पक्राउ

धनकुटा । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका-८ सान्ताङका २९ वर्षीय मान बहादुर राई पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ नियन्त्रणमा लिएको हो। राईले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि उनलाई खोजतलास गरी पक्राउ गरिएको हो। पीडित किशोरीको उजुरीका आधारमा प्रहरीले तत्काल एक्सन लिँदै आरोपीलाई सान्ताङबाटै समातेको हो। पक्राउ परेका राईमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण र कानुनी प्रक्रियाका लागि प्रहरीले आवश्यक प्रमाण संकलन गरिरहेको छ।

श्रीमती हत्याको आरोपमा रोल्पामा एक पुरुष पक्राउ

रोल्पा । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा रोल्पामा एक पुरुष पक्राउ परेका छन्। रुन्टीगढी गाउँपालिका–५ जस्पुरका ४८ वर्षीय अमराज दमाईलाई ५२ वर्षीया श्रीमती रीमा परियारको हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । शनिबार दिउँसो अमराजले श्रीमतीलाई निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट रीमा गम्भीर घाइते भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्कालै अमराजलाई पक्राउ गरेको हो। कुटपिटबाट सख्त घाइते भएकी रीमालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भयो। घरायसी विवादका कारण कुटपिट भएको हुनसक्ने अनुमान गरिए पनि घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

देशभर पश्चिमी वायुको प्रभाव: तराईमा हुस्सु र कुहिरो

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ । देशका तराई भू-भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ ।

एक महिनामा विभिन्न कसुरमा ५ सय ५६ मुद्दा दर्ता

सुदूरपश्चिम ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पछिल्लो एक महिनामा विभिन्न कसुरमा ५ सय ५६ मुद्दा दर्ता गर्नुका साथै चालु मुद्दाका २ सय १४ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । धनगढीमा आइतबार गरिएको पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले सार्वजनिक चासोका मुद्दामध्ये १ सय १४ मुद्दाको फर्छ्योट भएको जानकारी दिए । अदालतले विगतमा गरेको फैसला कार्यान्वयनको सिलसिलामा ५ सय २४ फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।  मङ्सिरमा प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालयमा घरेलु हिंसातर्फ परेका ८० उजुरीमध्ये ६५ उजुरी मिलापत्र गरी मिलाइएको र आठ उजुरी कानुनी कारबाहीका लागि अदालतमा पठाइएको उल्लेख गरिएको छ । यस्तै विभिन्न ठाउँका १५५ महिला र बालबालिका हराएकामा खोजतलास गरेर ९० जनालाई सम्बन्धित परिवारको जिम्मामा लगाइएको छ । लागुऔषधतर्फ मङ्सिरमा प्रदेश प्रहरी र मातहतका कार्यालयको टोलीबाट २७ किलो चरेस र १ सय १८ ग्राम खैरो हिरोइन बरामद गरिएको तथा यस क्रममा दुई महिला र ६८ पुरुषलाई लागुऔषधसहित पक्राउ गरेर यस सम्बन्धी ५६ मुद्दा दर्ता गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेशभरि यो अवधिमा १ सय ३० सवारीसाधन दुर्घटना भई १० जनाको मृत्यु र २१४ जना घाइते भएका छन् । ट्राफिक नियम उलङ्घन गरेर सवारीसाधन चलाउने तीन हजार २ सय ८० सवारीसाधनका चालकमाथि कारबाही गर्दा रु २६ लाख २४ हजार राजस्व सङ्कलन गरिएको छ । भन्सार छली गरेर ल्याएका रु ९६ लाख ४४ हजार मूल्य बराबरका व्यापारिक मालसामान बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनकाे लागि मतपत्र छपाइको तयारी पूरा: आयाेग

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको तयारी पूरा भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निर्वाचन आयोगको निर्देशन प्राप्त हुनेबित्तिकै छपाइ सुरु गर्ने तयारी गरेको हो । केन्द्रले चारवटा अत्याधुनिक छापाखाना र २५० जना जनशक्ति तयारी अवस्थामा राखेको छ । मतपत्र छपाइका लागि आवश्यक कागज, मसी तथा मेसिनका पार्टपुर्जा पनि जोहो गरिसकिएको जनाइएको छ ।  केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार निर्वाचन आयोगसँग आइतबार पनि छलफल भएको छ । आयोगले निर्देशन दिएलगत्तै पुस १६ गते आसपासबाट छपाइ सुरु गर्ने योजना छ । पहिलो चरणमा समानुपातिकतर्फको मतपत्र छापिने छ । समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन ९३ दलले निवेदन दिएका छन् । प्रतिनिधि सभाका लागि समानुपातिक र प्रत्यक्षतर्फ गरी करिब चार करोड थान मतपत्र छाप्नुपर्ने आकलन गरिएको छ । समानुपातिकतर्फ मात्रै डेढ करोडदेखि दुई करोड थानसम्म मतपत्र आवश्यक पर्ने जनक शिक्षाले जनाएको छ । मतपत्र छपाइका लागि करिब २५ करोड रुपियाँ खर्च लाग्ने अनुमान छ । यसअघि पनि जनक शिक्षाले विभिन्न निर्वाचनका मतपत्र छपाइ गर्दै आएको छ । हाल केन्द्रले नेपाल टेलिकमका रिचार्ज कार्डसमेत छापिरहेको छ । यसैबीच, मतपत्र छपाइका कारण विद्यालय तहका पाठ्यपुस्तक छपाइ प्रभावित नहुने जनक शिक्षाले स्पष्ट पारेको छ । हालसम्म एक करोड २० लाख थान पाठ्यपुस्तक छपाइसकिएको र बाँकी पनि निर्धारित समयमै छापिने केन्द्रले जनाएको छ । 

आजकाे लागि कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ५४ पैसा र बिक्रीदर १४३ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपियाँ ९४ पैसा र बिक्रीदर १६७ रुपियाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपियाँ ६३ पैसा र बिक्रीदर १९१ रुपियाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपियाँ १७ पैसा र बिक्रीदर १७९ रुपियाँ ९३ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपियाँ १६ पैसा र बिक्रीदर ९४ रुपियाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपियाँ ३० पैसा र बिक्रीदर १०३ रुपियाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपियाँ २८ पैसा र बिक्रीदर ११० रुपियाँ ७४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ ०६ पैसा र बिक्रीदर नौ रुपियाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ २४ पैसा र बिक्रीदर २० रुपियाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ र बिक्रीदर ३८ रुपियाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ १२ पैसा र बिक्रीदर ३९ रुपियाँ २८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५३ पैसा र बिक्रीदर चार रुपियाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ८१ पैसा र बिक्रीदर ३८ रुपियाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ९६ पैसा र बिक्रीदर ३५ रुपियाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६४ पैसा र बिक्रीदर नौ रुपियाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ३० पैसा र बिक्रीदर १५ रुपियाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ३४ पैसा र बिक्रीदर २२ रुपियाँ ४४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ३२ पैसा र बिक्रीदर १८ रुपियाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपियाँ ०४ पैसा र बिक्रीदर ४६६ रुपियाँ, बहराइन दिनार एकको खरिददर ३७८ रुपियाँ ०६ पैसा र बिक्रीदर ३७९ रुपियाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७० रुपियाँ २३ पैसा र बिक्रीदर ३७१ रुपियाँ ७९ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा  नेपालकी वैभवीले जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन् । शनिबार भएको खेलमा वैभवीले क्योरुगी, पुम्से र स्पीड किक विधामा स्वर्ण पदक जितेकी हुन् । भारतको पश्चिम बङ्गाल राज्यको कालिम्पोङस्थित मल्टी स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा वैभवीले भारतीय खेलाडीलाई पछि पार्दै क्योरुगी विधामा स्वर्ण पदक जितेकी हुन् । त्यसैगरी वैभवीले पुम्से र स्पिड किक विधामा पनि अन्य खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितिन् । प्रतियोगिता अल इन्डिया तेक्वान्दो फेडरेसन र युनाइटेड एमेच्योर तेक्वान्दो एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको छ। उक्त प्रतियोगितामा तीन स्वर्ण पदक जित्ने वैभवी एकमात्र खेलाडी हुन् ।

एक दशकमा पनि बनेनन् देशका महत्वपूर्ण औद्योगिक क्षेत्र

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद्योगिक क्षेत्रमार्फत १० लाखलाई प्रत्यक्ष र ३० लाखलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिएको थियो । तर बजेट अभाव, जग्गा अतिक्रमण, लगानीकर्ता यकिन नहुनु र परियोजना विकास सम्झौता (पिडिए) सम्पन्न नहुनुजस्ता कारणले निर्माण अघि बढ्न नसकेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । २०७२ सालमा चितवनको शक्तिखोर, बाँकेको नौवस्ता, मकवानपुरको मयुरधाप, कञ्चनपुरको दैजी, रुपन्देहीको मोतीपुर, झापाको दमक र दाङको लक्ष्मीपुरमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको थियो । केही स्थानमा शिलान्यास, डिपिआर, इआइए तथा चार किल्ला लगाउने काम भए पनि निर्माण सुरु हुन सकेको छैन । लिमिटेडका महाप्रबन्धक ई. पदम ओलीका अनुसार अव्यवस्थित बस्ती, वनसम्बन्धी समस्या र न्यून बजेट विनियोजनका कारण औद्योगिक क्षेत्र अघि बढ्न सकेका छैनन् । एउटा औद्योगिक क्षेत्र निर्माण गर्न पाँच अर्बदेखि ३० अर्ब रुपैयाँसम्म लागत लाग्ने अनुमान छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले राजनीतिक तथा नीतिगत स्थायित्व नहुँदा निजी क्षेत्र उद्योग स्थापना गर्न हिच्किचाइरहेको बताए । पूर्वउद्योग सचिव कृष्ण ज्ञवालीले औद्योगिक क्षेत्र सञ्चालनका लागि संघ, प्रदेश र स्थानीय तह मिलेर पूर्वाधारसहित जग्गा उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरे । निर्माण सुरु नभए पनि केही औद्योगिक क्षेत्रमा प्रारम्भिक काम भने भइरहेको लिमिटेडले जनाएको छ । शक्तिखोरमा वनसम्बन्धी प्रक्रिया अघि बढाइएको छ भने दाङको लक्ष्मीपुरमा चार किल्ला लगाउने काम सम्पन्न भएको छ । दैजी र मोतीपुरमा डिपिआर तथा इआइएसम्बन्धी काम विभिन्न चरणमा रहेका छन् ।

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेर नष्ट भएको हो । “मौसमको अनियमितताले धानखेती गर्ने किसान सबैभन्दा बढी प्रभावित भएका छन्”, उनले भने । तथ्याङ्कअनुसार गत वर्ष ३७ हजार ७९० मेट्रिक टन धान उत्पादन भएको भोजपुरमा यस वर्ष ३६ हजार ९९८ मेट्रिक टनमात्र उत्पादन भएको छ । यस्तै, गत वर्ष १२ हजार १५४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा यस वर्ष ११ हजार ५०० हेक्टरमा मात्र खेती विस्तार भएको छ । बेमौसमी वर्षाका कारण करिब ७८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा आंशिक तथा पूर्ण क्षति पुगेको केन्द्रले जनाएको छ । जिल्लाभर करिब ९६ प्रतिशतमात्र रोपाइँ भएको थियो । जिल्लाका सबै स्थानीय तहका तल्लो भेग तथा बेँसी क्षेत्रमा धानखेती हुने गरेको छ । कतिपय उपयुक्त बेँसी क्षेत्रमा किसानले वर्षमा दुई बाली धान उत्पादन गर्दै आएका छन् । तर यस वर्ष मौसम प्रतिकूल हुँदा उत्पादन घटेको किसानको भनाइ छ ।

बागलुङका किसान सुन्तलाकाे मूल्य उचित नपाउँदा मारमा

बागलुङ । बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् । बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् । शहरी क्षेत्रमा प्रतिकिलो रु १२० भन्दा बढी पर्ने सुन्तलालाई व्यापारीले गाउँबाट रु ४०-५० मै ल्याउने गरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोबहादुर खड्काले बताए । व्यापारीका कारण किसान र उपभोत्ता मारमा परेको उनको भनाइ छ । किसानले उत्पादन गरेको सुन्तलालाई सही रूपमा बजारीकरण गर्ने वातावरण तयार नगर्दा किसान र उपभोक्ता मारमा पर्ने गरेको खड्का बताउछन् । आफूले हरेक वर्ष लाखौँको सुन्तला उत्पादन गर्दै आएको उनले बताए । किसानले नै उत्पादन बजारीकरण गर्न सक्ने वातावरण अझै तयार हुन नसकेको खड्का बताउछन् । उनले भने, “सिगानामा सुन्तला धेरै नै उत्पादन हुन्छ, उत्पादनअनुसारको मूल्य पाउन सकिन्थ्यो भने यस क्षेत्रका किसानको जीवनस्तर माथि उठ्नेमा कुनै शङ्का छैन, तर मूल्य नै पाउन सकेका छैनौँ, साउन, भदौमा गाउँमा आएर व्यापारीले सुन्तलाको बगान नै किन्छन्, हामीले प्रतिकिलो रु ४०-५० भन्दा बढी पाउने अवस्था छैन, बजारमा किन्ने उपभोक्ताले बढी मूल्य तिर्छन् ।” अर्का किसान हरिप्रसाद कँडेलले व्यापारीका कारण किसान र उपभोक्ता बढी मारमा परेको बताए । किसानबाट खरिद गरेको सुन्तलाको मूल्य बजारमा पुर्याएर अस्वाभाविक नाफा लिने गरेको उनको भनाइ छ । किसानबाट प्रतिकिलो सुन्तला रु ८० मा खरिद गरेर बजारमा रु १०० मा बिक्री गर्दा किसान र उपभोक्ता मारमा नपर्ने उनी बताउछन् । कृषि विकास कार्यालयका अनुसार गत वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको थियो । गत वर्ष चार हजार ७१.६ मेट्रिक टन सुन्तला फलेको थियो । यस वर्ष किसानले बल्ल सुन्तला टिप्न थालेको हुँदा तथ्याङ्क आउन बाँकी छ ।

तराईमा तापक्रम घट्दै, कस्ताे रहला अन्य भूभागकाे माैसम ?

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागमा मा हुस्सु लागेको छ । आज दिउँसो देशभर आंशिक बदली रहने छ । राति पनि देशभर आंशिक बदली रहने महाशाखाको भनाइ छ  ।  देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ । 

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ जना आइसकेका र अन्य व्यक्ति आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आन्दोलन भएको तीन महिना अवधि बितिसक्दा पनि सम्पर्कमा नआएकाहरूको खोजी कार्य तीव्र बनाइएको छ । केही कैदीबन्दीहरू आफू खुसी कारागार फर्किने गरे पनि कतिपयलाई खोजी गरी पक्राउ गर्न थालिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । त्यसैगरी जेन्जी आन्दोलनमा कारागारबाट फरार रहेका जिल्ला गोरखा पालुङटार नगरपालिका–७ बस्ने २२ वर्षीय सुमन परियालाई बिहीबार पक्राउ गरिएको छ । नकवजनी चोरी मुद्दाको कैदी परियारलाई तनहुँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागि कारागार पठाइएको उनले बताए ।

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी । राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह सन्तोषजनक देखिए पनि जनशक्ति अभाव, बजेट न्यूनता र प्रविधिगत समस्याका कारण चुनौती थपिएको निष्कर्ष निकालेको छ । राष्ट्रिय सतर्कता केन्द्रले गुल्मीका २८ सरकारी कार्यालय र छ वटा विकास आयोजनाको अनुगमन तथा सेवाग्राही सर्भेक्षण गरेपछि उक्त निष्कर्ष निकालिएको राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव दीपक घिमिरेले जानकारी गराए । सतर्कता केन्द्रले एक सातको अवधिमा जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, गुल्मी अस्पताल, स्वास्थ्य कार्यालय, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, डिभिजन वन, खानेपानी र केही स्थानीय तहका कार्यालयको अनुगमन गरेको थियो । अनुगमन गरिएका कार्यालयमा कूल ६२९ दरबन्दीमध्ये ४७९ पद मात्र दरबन्दी पूर्ति भएको पाइएको छ । एक सय ७३ पद रिक्त रहँदा करिब २७ दशमलव पाँच प्रतिशत जनशक्ति अभाव रहेको देखिएको छ । त्यसका कारण सेवा प्रवाहमा प्रत्यक्ष असर परेको जनाइएको छ । केन्द्रले गरेको ५७ सेवाग्राही सहभागीको सर्भेक्षणअनुसार ८७ दशमलव सात प्रतिशतले तोकिएका समयमा सेवा प्राप्त गरेका छन् । सेवा नपाएका सेवाग्राहीले कर्मचारी अभाव, प्रक्रिया झन्झटिलो र कागजात नपुगेका कारण उल्लेख गरेका छन् । सेवाग्राही सेवा प्रवाहप्रति सन्तुष्ट हुनुमा समयमै काम हुनु, कर्मचारीको व्यवहार सकारात्मक हुनु र सेवा प्रक्रिया सहज हुनु सन्तुष्टिका प्रमुख कारण रहेका छन् । तीन दशमलव पाँच प्रतिशत सेवाग्राहीले भने सेवा लिने क्रममा अतिरिक्त रकम (घुस) दिनुपरेको बताएका छन् । अनुगमनका क्रममा अधिकांश कार्यालयले जनशक्तिको कमी, सर्भर डाउन हुनु, न्यून बजेट, भौगोलिक विकटता तथा अन्तरनिकाय समन्वयको अभावलाई मुख्य समस्याको विषय औँल्याएका छन् । यद्यपि डिजिटल प्रणाली, नागरिक बडापत्र, गुनासो सुनुवाइ संयन्त्र, सूचना प्रविधिको प्रयोग र सेवाग्राहीमैत्री अभ्यासमार्फत सेवा सुधारको प्रयास भइरहेको पाइएको छ । यसैगरी, केन्द्रले गुल्मीदरबार, छत्रकोट, धुर्कोट तथा इश्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकामा सञ्चालित प्रशासनिक भवन निर्माण, सडक स्तरोन्नति तथा कल्भर्ट निर्माणसहित ६ वटा विकास आयोजनाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा कतिपय आयोजनामा भौतिक प्रगति सन्तोषजनक रहे पनि बजेट अभाव, समन्वयमा ढिलाइ र समयमै काम सम्पन्न गर्ने चुनौती देखिएको बताइएको छ । यस्ता विषयमा जानकारी दिन राष्ट्रिय सतर्कता केन्द्रले सदरमुकाम तम्घासमा सदाचार शिक्षा तथा जनचेतनामूलक कार्यक्रमसमेत गरेको छ । कार्यक्रममा सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त बनाउन सदाचारको भूमिकाबारे छलफल गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अनुगमनबाट देखिएका कमजोरी सुधार गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन सम्बन्धित निकायलाई सुझावसमेत दिएको सहसचिव घिमिरेले बताए । कार्यक्रममा जनप्रतिनिधि, कार्यालय प्रमुख नागरिक समाज तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

पाेखरामा ‘पुतली जहाज’ को उडान सुस्त

पोखरा । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ । दुई जना मात्र बस्न मिल्ने, हेर्दा सानो र आकाशमा उड्दा रङ्गीचङ्गी पुतली जस्तै देखिने भएकाले यसलाई स्थानीयहरु पुतली जहाज पनि भन्छन् । कुनै समय पर्यटकीय नगरी पोखरामा साहसिक पर्यटकलाई अल्ट्रालाइट अर्थात ‘पुतली जहाज’ ले लोभ्याइरहेको थियो । खुला आकाशमा हावाको वेगसँगै कावा खाँदै ३६० डिग्रीमा प्रकृतिको मनोरम दृश्यवलोकन गर्न पाइने यो साहसिक गतिविधिमा रुची राख्नेहरुको रोजाइमा पर्ने यो जहाजमा अहिले पर्यटकको कमी हुन थालेको छ । शुल्क महँगो भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरु यो गतिविधिबाट टाढिन थालेको एभिया क्लबकी प्रबन्ध निर्देशक नतासा श्रेष्ठको बुझाइ छ । “पहिले धेरै राम्रो थियो तर अहिले शुल्क महँगो भयो, नागरिक उड्डयन प्राधिकरणले ‘टेक अफ’ र ‘ल्याण्डिङ’ को शुल्क बढाएपछि उडान शुल्क महँगो हुन ग¥यो, यसले व्यवसायमा ठूलो मार परेको छ” उनले भनिन् । केही वर्षअघिसम्म रु आठ हजार पाँच सयमा पर्यटकले आकाशमा उडेर आनन्द लिन पाउँथे भने अहिले यो शुल्क बढेर रु १७ हजार ५०० पुगेको छ । शुल्क दोब्बर हुँदा अल्ट्रालाइट गर्ने पर्यटक सङ्ख्या घटेको उनको भनाइ छ । ‘एड्भेञ्चरको माता’ को उपनाम पाएकी श्रेष्ठ नेपालमा साहसिक हवाई पर्यटनको परिकल्पनाकार मानिन्छिन् । ‘एभिया क्लब नेपाल’ ले विसं २०५३ मा प्रबन्ध निर्देशक नताशा श्रेष्ठ र उनका रुसी साझेदारहरुले यसलाई नेपाल भित्र्याएका थिए । । पोखराको भूगोल अल्ट्रालाइटका अनुकूल मानिन्छ । पोखरामा अल्ट्रालाइट दक्षिण एसियामै पहिलो पटक सञ्चालनमा आएको हो । श्रेष्ठले नेपालमा यसको सम्भावना राम्रो रहेको उल्लेख गर्दै यसमार्फत विश्व बजारमा नेपाल चिनाउन र पर्यटन भित्र्याउन सकिने धारणा राखिन् । दक्ष जनशक्ति र राज्यको पर्यटनमैत्री नीतिको अभावले निजी क्षेत्रका व्यवसाय धरासायी हुँदै जानु र नयाँ लगानीमा सम्भावना कम हुँदै जाँदा पर्यटन क्षेत्रलाई असर गरेको उनको भनाइ छ । “सुरुमा पोखरामा यस्तो साहसिक खेल भित्र्याउँदा धेरैलाई अनौठो लागेको थियो, तर आज यो पोखराको पहिचान बनेको छ”, श्रेष्ठ भनिन्, “हामीले पोखराको पर्यटनलाई केवल ताल र गुफामा सीमित नराखी आकाशको उचाइसम्म पु¥याउन सफल भएका छौँ यसको प्रवर्द्धन विस्तार जरुरी छ । ” उनका अनुसार सुरुवाती दिनहरूमा अल्ट्रालाइट उडाउन पूर्णरूपमा रुसी पाइलटहरूमा भर पर्नुपर्ने अवस्था थियो । एभिया क्लबले नै अनुभवी रुसी पाइलट ल्याएर यसको उडान सुरु गरेको हो । तर, अहिले नेपाली युवा पाइलटले नै उडान गर्न थालेका छन् । हाल पोखरा एभिया क्लब र पोखरा अल्ट्रालाइट प्रालिले मात्र यो सेवा प्रदान गरेको पोखरा अल्ट्रालाइटका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार कुनै समय दिनको ४० उडान गर्दै आएका कम्पनिले अहिले दिनको चार वटा उडानमा सीमित हुनुपर्ने अवस्था आएको छ । पर्यटकलाई आकर्षित गर्ने गतिविधिमा राज्यले पर्यटनमैत्री नीति बनाएर सहजको वातावरण गराउन सके नीति क्षेत्रलाई राहत मिल्ने र पर्यटन प्रवर्द्धन हुने उनको भनाइ छ । कुनै समय साहासिक गतिविधिमा रुची राख्ने पर्यटकले रुचाएको अल्ट्रालाइट अहिले पर्यटकको अभाव र चर्को शुल्कले सुस्ताउनु दुर्भाग्य भएको उनको बुझाइ छ । केही वर्षअघि विदेशी साथीसँगै अल्ट्रालाइटको उडान भरेका पोखराका रामबजारका विकास गुरुङले अहिले शुल्क बढी भएको गुनासो गरे । “अहिले शुल्क महँगो भयो, शुल्क घटाउने हो भने आन्तरिक पर्यटक आकर्षित गर्न सकिन्छ”, उनले भने । उनले साहसिक खेलमा प्याराग्लाइडिङ अल्टालाइट आआफ्नै विशेषता रहेको सुनाए । गुरुङले भने, “विदेशी पर्यटकहरू त झन् पोखराको यो उडानलाई विश्वकै उत्कृष्टमध्ये एक मान्छन्, धेरै देशमा उडान भरेका मेरा एक जर्मनी साथिले पोखराको आकाश उडेपछि यहाँको सुन्दरताको निकै तारिफ गरेका थिए ।”