आयरल्यान्ड 'ए'द्धारा नेपाल 'ए'लाई २२३ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आयरल्यान्ड एले नेपाल एलाई २२३ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिबि क्रिकेट मैदानमा शुक्रबार टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाएर २२२ रन बनायो।


आयरल्यान्डका लागि  पिटर मुरले सर्वाधिक ४९ रन बनाए। त्यस्तै केड कारमिचेलले ३८, स्टेफेन दोहनीले ३४, निल रकले ३८ र ग्रेथ डीलेनीले अविजित ३० रन बनाए।

नेपालका लागि  कमलर ऐरीले ३ विकेट लिए। त्यस्तै सागर ढकाल र आरिफ शेखले १(१ विकेट लिए। 

कांग्रेस फेरि सरकारमा आइहाल्छ  : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पुनः सरकारमा पुग्ने दाबी गरेका छन् । संवाद यात्राका क्रममा कपिलवस्तुको लबनीमा आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टी फेरि सरकारमा पुग्ने बताए । ‘भर्खर त गएको हो । एक डेढ हप्ता भयो । फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि आउँछ । सरकारले त कांग्रेसलाई पछ्याइहाल्छ,’ थापाले भने । सो अवसरमा देशलाई सम्हालेर निराशाबाट बाहिर निकाल्न सक्ने कांग्रेस मात्रै भएको उनले जिकिर गरे ।

उत्तरपुस्तिका हराएकोबारे त्रिविले बनायो उच्चस्तरीय समिति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०८० वैशाखमा लिइएका दुई विषयका परीक्षाका उत्तरपुस्तिका हराएपछि छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। त्रिवि कार्यकारी परिषदको बिहीबारको बैठकले उत्तरपुस्तिका हराएको विषयमा विस्तृत छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो। त्रिविका पूर्वरजिस्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको त्रिवि रजिस्ट्रारको कार्यालयले जनाएको छ। गत वैशाखमा भएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय (कोड नं.४२२) र शिक्षाशास्त्र संकाय तर्फको शिक्षाको आधार विषय ( कोड नं.४१२) का उत्तरपुस्तिकाहरू हराएको थियो।

मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम २ को उम्मेदवार बन्न राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त भएका छन्। मिलनले रास्वपाबाट टिकट लिएपछि प्रेस सेन्टरले विज्ञप्ति निकालेर उनलाई बर्खास्त गरिएको जनाएको हो । मिलन रास्वपा प्रवेश गर्नुअघि माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समिति सदस्य र प्रेस सेन्टरका सचिव समेत रहेका थिए । माओवादीबाट राजीनामा नदिई उपचुनाव लड्न अर्कोतिर लागेपछि उनलाई बर्खास्त गरिएको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले बताएका छन् ।  पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट केन्द्रीय सचिवको जिम्मेवारीमा रहेका मिलन लिम्बूले संगठनको नीति, विधि, विधान र आचरणविपरीत केही समयदेखि सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक अभिव्यक्ति दिने तथा अनुशासनविपरीत गतिविधि गरिरहेको, पछिल्लो समय रास्वपाको तर्फबाट उम्मेदवार बनेको देखिएको छु, पौडेलले भनेका छन्, संगठनको नेतृत्वको सुझाव र निर्देशनसमेत बेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गर्दै त्यस्ता हर्कत र गतिविधि जारी राखेकाले संगठनको अनुशासन समितिको सिफारिसमा आजकै मितिदेखि सबै जिम्मेवारीबाट हटाइएको जानकारी गराइन्छ।’ गत भदौ २५ गते राति नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको  निधन भएपछि इलाम २ रिक्त थियो ।  उपनिर्वाचनमा नेकपा एमालेबाट सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ उठेका छन् । प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले जारी गरेको विज्ञप्तिः 

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा लैजाने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन्।  नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खरिद प्रक्रियामा रहेका प्रक्रियागत ढाँचालाई सरलीकृत गरिने स्पष्ट पारे ।   “सार्वजनिक खरिद नियमावली पटकपटक संशोधन हुँदै आए पनि त्यसले हाम्रो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “खरिद प्रक्रियाका प्रक्रियागत ढाँचालाई सरलीकृत गर्दै निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकतामा छ ।”  निर्माण व्यवसायीहरूको समेत सहभागितामा ऐन संशोधन गरी पूर्वाधार विकासलाई गति दिन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले निर्माण कम्पनीहरूको पुँजीगत सामथ्र्य, प्रविधि र जनशक्तिका आधारमा निर्माण कार्यसम्बन्धी वैज्ञानिक नीति र मापदण्ड निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।  निर्माण व्यवसायीहरूले प्राप्त गर्नुपर्ने बक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बाँकी बक्यौता रकम तुरून्त भुक्तानी दिन अर्थ मन्त्रालयलाई निर्देशित गरिसकेको जानकारी दिए। उनले भने, “छिटोभन्दा छिटो बक्यौता रकम भुक्तानी गरी पूर्वाधार विकासका कामलाई गति दिनसमेत सरकार प्रतिबद्ध छ ।”

नेपाल एले टस जितेर आयरल्यान्ड एविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ए विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपाल एका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ । विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो ।  नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ तालिका निकालेर नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी–२० खेल शुक्रबार, शनिबार र सोमबार हुने तय गरेको छ । त्यस्तै तीन एकदिवसीय खेल चैत २१, २३, र २५ गते हुनेछ । नेपाल एको प्लेइङ ११ मा कप्तान विनोद भण्डारी सँगै लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी र हेमन्त धामी रहेका छन् । ए टिमका पवन सर्राफ, नारायण जोशी, विपिन खत्री र विकाश आग्रीलाई आज बेन्चमा राखिएको छ ।

देउवाले गरे आदिवासी जनजाति विभागमा १० सदस्य मनोनीत

काठमाडौं ।पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको आदिवासी जनजाति विभागमा १० सदस्य थपेका छन् । उनले दिलमान पाख्रिन नेतृत्वको आदिवासी जनजाति विभागमा १० सदस्य मनोनीत गरेका हुन् । मनोनीत हुनेहरूमा नगेन्द्रकुमार कुमाल (इलाम), रेशमबहादुर गुरुङ (गोरखा), आनन्दसन्तोषी राई (धनकुटा), आङपासाङ शेर्पा (दोलखा), चन्द्रकुमार आङ्दम्वे (पाँचथर) छन् । यसैगरी सलाम सिंह तामाङ (काभ्रेपलाञ्चोक), थममाया छन्त्याल (बाग्लुङ), रमेश जिमी (संखुवासभा), धनबहादुर श्रेष्ठ (काठमाडौं) र कृष्ण घिसिङ (रामेछाप) आदिवासी जनजाति विभागमा मनोनीत भएका छन् । पार्टी सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९)बमोजिम विभागमा सदस्यहरू मनोनीत गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

राप्रपासँग एकता गरेर अर्को गल्ती गर्दिनँः कमल थापा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । राप्रपा सत्ता केन्द्रित राजनीतिमा रहेको भन्दै थापाले आफू एकतामा नजाने बताए । शुक्रबार हेटौंडामा गरिएको पत्रकार सम्मेलनमा थापाले राप्रपासँग विगतमा एकता गर्नु आफ्नो गल्ती भएको बताए । उनले फेरि राप्रपासँग एकता गरेर अर्को गल्ती गर्न नचाहेको बताए । राप्रपा र राप्रपा नेपालबीच ६ मंसिर २०७३ मा पार्टी एकता घोषणामा थापाले गीता छोएर पार्टी नफुटाउने कसम खाएका थिए । पछि पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले राप्रपा नेपाल गठन गरेका थिए । राप्रपा वर्तमान व्यवस्थामा सत्ता अवसरको चिन्तनबाट अगाडि बढेको थापाले आरोप लगाए । 

सुनको मूल्य फेरि उच्च बिन्दुमा

काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य २ हजार १ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३० हजार पुगेको छ । यसअघि बिहीबार तोलाको १ लाख २७ हजार ९०० मा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० मा कारोबार भइरहेको छ । बिहीबार तोलाको १ लाख २७ हजार ३०० मा कारोबार भएको थियो । बुधबार १ लाख २६ हजार ८ सयमा किनबेच भएको थियो । त्यसैगरी तेजाबी सुनमा पनि २ हजार १ सय बढेर तोलामा १ लाख २९ हजार ४ सय पुगेको छ । बिहीबार १ लाख २७ हजार ३ सय रुपैयाँ थियो । बुधबार १ लाख २६ हजार २ सय थियो । यस्तै चाँदीको भाउ तोलामा १५ बढेर १ हजार ५ सय २५ पुगेको छ । चाँदीको मुल्य बुधबार १ हजार ५ सय १० थियो ।

कांग्रेसको आदिवासी जनजाति विभागमा १० सदस्य मनोनयन

काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति विभागमा १० सदस्य मनोनयन गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले दिलमान पाख्रिन नेतृत्वको आदिवासी जनजाति विभागमा १० सदस्यलाई मनोनयन गरेका हुन् । मनोनीत हुनेहरूमा नगेन्द्रकुमार कुमाल (इलाम), रेशमबहादुर गुरुङ (गोरखा), आनन्दसन्तोषी राई (धनकुटा), आङपासाङ शेर्पा (दोलखा), चन्द्रकुमार आङ्दम्वे (पाँचथर) रहेका छन् । यसैगरी सलाम सिंह तामाङ (काभ्रेपलाञ्चोक), थममाया छन्त्याल (बाग्लुङ), रमेश जिमी (संखुवासभा), धनबहादुर श्रेष्ठ (काठमाडौं) र कृष्ण घिसिङ (रामेछाप) आदिवासी जनजाति विभागमा मनोनयनमा परेका छन् । पार्टी सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा सदस्यहरू मनोनीत गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

दोहा उडेको नेपाल एयरलाइन्समा समस्यापछि काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले नेपाल एयरलाइन्सको वाइडबडी ए– ३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाज बिहीबार राति काठमाडौं फिर्ता ल्याइएको बताए । उनका अनुसार नाइनएन–एएलवाई जहाज काठमाडौंमा नर्मल अवतरण गरेको छ । जहाज ७० नटिकल माइल उडेपछि काठमाडौं आएको रेकर्ड रहेको उनले बताए जहाज रातको करिब ३ बजे काठमाडौंमा फिर्ता भई अवतरण गरेको थियो । त्यसपछि निगमको काठमाडौं रात्री बिसान गरेको अर्को जहाज नाइनएन–एएलजेडले सो जहाजका यात्रु लिएर उडेको थियो ।  नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले हाइड्रोलिकमा समस्या आएको जहाज बनिसकेको जानकारी दिए । उनले यसलाई आजै दिल्ली उडानमा पठाउने तयारी बताए । 

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरीका  सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसी) दिपक अधिकारीलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपी अधिकारीलाई सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ रिक्त सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गरिएको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१)को (ख) बमोजिम बढुवा समितिको निर्णयानुसार अधिकारीलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवम् सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले सूचनामा मार्फत जानकारी दिए । बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुले ऐ नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने जनाएको छ ।

जलवायु परिवर्तनको असरबारे प्रभावकारी रूपमा आवाज उठायौं : सभामुख घिमिरे

काठमाडौँ ।सभामुख देवराज घिमिरेले अन्तरव्यवस्थापिका सङ्घको सभामा नेपालको तर्फबाट विश्वमा देखा परेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखा परेका समस्याका बारेमा कुरा उठाएको बताएका छन्। अन्तरव्यवस्थापिका सङ्घको १४८ औं सभामा सहभागी भइ स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सभामा नेपालको तर्फबाट प्रभावकारी ढङ्गबाट सहभागिता जनाएको बताए।  उनले सङ्घको सभामा संसदहरुको डिप्लोमेसी, अहिलेको परिस्थितिमा डिप्लोमेसीले शान्ति र प्रगतिको लागि के कामहरू गर्न सकिन्छ ? सद्भाव र शान्ति विकास गर्नका लागि कसरी काम गर्ने ? यसको के महत्त्व छ ? भन्ने विषयमा आधारित भएर छलफल भएको बताए । उनले सभामा १४२ भन्दा बढी देशका सांसदहरूको प्रतिनिधित्व रहेको बताए।  नेपालले सभामा जलवायु परिवर्तन लगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कूटनीतिक ढङ्गबाट सांसदले खेल्ने भूमिका खेल्नुपर्ने बारेमा कुरा उठाएको पनि उनले बताए। नन एलाइमेण्ट मोमेण्टमा पनि नेपालको तर्फबाट सहभागिता जनाएको र अहिले देखा परेका चुनौती, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरूमा तत्काल परेका असरहरूलाई न्यूनीकरण गर्ने लगायतका विषयमा छलफल भएको बताए। सांसदलाई आइपीओमार्फत कसरी प्रभावकारी पार्ने ? क्षेत्रीय तहका सम्भव भएका भेलाहरू नेपालले पनि आयोजना गर्न सक्ने विषयमा छलफल गरेको उल्लेख गरे ।  सभामुख घिमिरेले अब संसदीय गतिविधिहरू तीव्र रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे। उनले संसदीय गतिविधि संसदीय समितिमार्फत पनि अघि बढिरहेको बताए । 

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ। बैठक आज दिउँसो सवा एक बजे सुरु हुनेछ। बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।  त्यस्तै अध्यक्षले राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्षको पदबाट दिएको राजीनामा सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन्।  सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीय सभापति सोनाम गेल्जेन शेर्पाले “राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । 

स्वीट्जरल्याण्ड गएको सभामुख घिमिरेको टोली स्वदेश फिर्ता

काठमाडौँ ।जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किएको छ।   १ सय ४८औँ आईपीयूको महासभामा सहभागी हुन त्यहाँ गएको टोली आज बिहान ९ बजे काठमाडौँ आइपुगेको हो ।  टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी आईपीयूमा भएको कार्यक्रमबारे जानकारी गराएको छ। सभामुख सहितको टोली गत बिहीबार साँझ त्यसतर्फ गएको थियो। सभामुख घिमिरेको नेतृत्वमा सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईँ, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई,नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्वासे सहभागी भएका थिए । सभामुख घिमिरे उपसभामुखलाई संसद् चलाउने अधिकार नदिई प्रतिनिधि सभा बैठक नै १० दिन रोकेर स्वीट्जरल्याण्ड उडेका थिए । 

मन्त्री अर्याले गराए रसियाका लागि श्रम स्वीकृति दिने निर्णय

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्री डोल प्रसाद अर्यालले रुस (रसिया) मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय गराएका छन् । युक्रेनसँग लडिरहेको सुरक्षा संवेदनशील मुलुक रसियाबाट बिदामा आएका नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय भएको वैदेशिक रोजगार विभागले विज्ञप्तिमार्फत जानकारी गराएको हो । विभागका अनुसार गत पुस १९ देखि रसियामा पठाउने श्रम स्वीकृति रोकिएकामा फागुन ९ गते पुनः श्रम स्वीकृति र चैत १६ गतेदेखि संस्थागत श्रम स्वीकृति दिने निर्णय सार्वजनिक भएको छ ।  ‘श्रम स्वीकृति रोकिएका कारण रसियामा विभिन्न पेसा व्यवसाय गरी नेपालमा बिदामा आएका श्रमिकको मागलाई सम्बोधन गरी नेपाल सरकार (सचिवस्तर) मिति २०८०/११/९ को निर्णयले पुनः श्रम स्वीकृति सुचारु गरिएको’ विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  साथै, रसियाको ब्लगोभेचेन्सेक सहरमा सिनोपी इन्जिनियरिङ रसिया एलएलसी कम्पनीमा श्रमिक पठाउने छनोट भई अन्तिम श्रम स्वीकृति लिन बाँकी रहेका श्रमिकको हकमा सचिवस्तरबाट फागुन १६ गते संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।  रसियामा धेरै नेपाली युवा गैरकानुनी बाटोबाट पुगेर त्यहाँको सेनामा भर्ना भई मृत्यु भइरहेको र सम्पर्कविहीन भइरहेका बेला सरकारले रसियाका लागि श्रम स्वीकृति रोकेको थियो । तर श्रम मन्त्रालयले सचिव स्तरिय  निर्णय गर्दै फेरि औपचारिक रूपमा श्रमिक पठाउने निर्णय गरेको छ ।जुन निर्णय गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई जानकारी समेत दिइएको देखिदैन । मन्त्रालयले पूर्वश्रममन्त्री शरत्सिंह भण्डारीकै समयमा फागुन ९ र १६ गते नै सो विषयमा निर्णय गरेको थियो । सो निर्णयलाई चैत १४ गते विभागको विज्ञप्तिमार्फत सार्वजनिक गरेकाे हाे ।