मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

आउँदै गरेको निर्वाचनलाई लक्षित गर्दै विभागले नै लुकाइछिपाइ राखेका हतियार खोजतलास गर्न परिपत्र गरेपश्चात खोजतलास गर्दा एक महिनामा ३३ भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए । बुधबार जिल्ला प्रहरी कार्यालय सल्यानले पत्रकार सम्मेलन गरी बनगाड कुपिण्डे नगरपालिकाबाट १५ थान, त्रिवेणी गाउँपालिकाबाट १० थान र अन्य पालिकाबाट आठ गरी ३३ थान भरुवा बन्दुक बरामद गरिएको उनले बताए । 

गोप्य सूचनाका आधारमा ती हतियार बरामद गर्न सफल भएको उनको भनाइ छ । फेला परेका बन्दुक खोजतलास गर्ने क्रममा केहीले बस्न छाडेका पुराना घर, ओराल, जंगलमा लुकाईछिपाइ राखेको अवस्थामा फेला परेका छन् । अधिकांस हतियार जंगली जनावर शिकार गर्न प्रयोग गर्ने गरेको पाइएको भट्टराईको भनाइ छ । एकजनालाई भरुवा बन्दुकसहित पक्राउ गरी अदालतले धरौटीमा छोडी सकेको उनले बताए । 

आगामी निर्वाचनलाई लक्षित गर्दै यस्ता अवैध हातहतियारको खोजीलाई तिव्रता दिएको र बरामद हतियार प्रदेश कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ । 

हुम्लाबाट काठमाडौंसम्म पहिलो पटक सिधा बस सेवा सुरु

हुम्ला । हुम्लाबाट काठमाडौंसम्म पहिलो पटक नियमित बस सेवा सुरु भएको छ। बुधबारदेखि यो सेवा सञ्चालनमा आएको हो। हुम्ला हिल्सा यातायात प्रालिका सञ्चालक विशाल रोकायाका अनुसार हुम्ला–सुर्खेत, हुम्ला–नेपालगञ्ज र हुम्ला–काठमाडौंसम्म बस सेवा सुरु गरिएको छ। हुम्लादेखि सुर्खेतसम्मको भाडा ५ हजार, नेपालगञ्जसम्म ५ हजार र काठमाडौंसम्म ६ हजार ५ सय रुपैयाँ तोकिएको उनले बताए। सोही प्रालिले मुगुबाट पनि काठमाडौंसम्म बस सेवा सञ्चालन गरेको जनाएको छ।

भक्तपुरको बालकोटका एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

ललितपुर । भक्तपुरको बालकोट–२ वडाका नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीको एकता अभियानमा सहभागी भएका छन्। उनीहरू आज नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्। प्रवेश गर्नेहरूमा एमाले बालकोटका नेता तथा वडा नं. २ का अध्यक्षका उम्मेदवार रवि श्रेष्ठ, नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालका कार्यकारी निर्देशक डा. डि.के. रोसन तथा एमाले सूर्यविनायकका नेता–कार्यकर्ताहरू ईश्वर सिलवाल, हरि बास्कोटा, भाइ कृष्ण श्रेष्ठ, अमृत सिलवाल, कृष्ण सिलवाल, विकास खत्री, दीपक खत्री, ध्रुव के.सी., रुकुश बेकाजु, सुदिप प्रजा, कृष्णशरण लामिछानेलगायत छन्। नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो। सो अवसरमा उहाँले कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाउँदै समाज परिवर्तन र जनताको पक्षमा दृढतापूर्वक अघि बढ्न नेपाली कम्युनिस्ट पार्टीमा गोलबन्द हुन सबैलाई आह्वान गर्नुभयो। सोही अवसरमा पार्टीमा सहभागी हुनुभएका नेताहरूले नेपाली कम्युनिस्ट पार्टीको नीति, विचार र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीलाई मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।

अनेरास्ववियू (क्रान्तिकारी)द्वारा केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमाथि कारबाही माग

काठमाडौँ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले नेपाल ट्रस्टको बहुमूल्य सार्वजनिक जग्गा यती समूहसम्बद्ध कम्पनीलाई बदनियतपूर्वक लिजमा दिने प्रक्रियामा संलग्न भएको आरोप लगाउँदै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ। अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ– “दरबारमार्गस्थित नेपाल ट्रस्टको बहुमूल्य सार्वजनिक जग्गा यती समूहसम्बद्ध कम्पनीलाई बदनियतपूर्वक लिजमा दिने प्रक्रिया मिलाइदिएबापत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले ‘घुस’ स्वरूप घरजग्गा प्राप्त गरेको तथ्य सार्वजनिक हुनु गम्भीर आपराधिक तथा दण्डनीय विषय हो। यस सम्बन्धमा प्रकाशित समाचारप्रति अनेरास्ववियू (क्रान्तिकारी)को गम्भीर ध्यानाकर्षण भएको छ।” विज्ञप्तिमा अगाडि भनिएको छ– नेपाल ट्रस्ट ऐन, सार्वजनिक सम्पत्ति संरक्षणसम्बन्धी प्रचलित कानुन तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को ठाडो उल्लङ्घन गर्दै सार्वजनिक सम्पत्तिलाई निजी लाभका लागि प्रयोग गर्नु राज्यसत्ता र शक्तिको दुरुपयोगमार्फत गरिएको संगठित आर्थिक अपराध हो। भक्तपुरस्थित रोजभिलेज हाउजिङमा घर ‘घुस’ स्वरूप प्राप्त गरेको प्रमाण सार्वजनिक भइसक्दा पनि सम्बन्धित व्यक्तिलाई कानुनी कारबाहीको दायरामा नल्याइनु स्वयं राज्य संयन्त्रले अपराधलाई संरक्षण गरेको प्रमाण हो। विज्ञप्तिमा थप उल्लेख छ– गोकर्ण रिसोर्ट, तहाचल र चितवनस्थित नेपाल ट्रस्टका जग्गाहरू नियमविपरीत लिजमा दिनु तथा गोकर्ण रिसोर्टको लिज अवधि बाँकी रहँदै वि.सं. २०७६ मा सन् २०५० सम्मका लागि लिज अवधि थपिनु राज्यसत्ता र शक्तिको चरम दुरुपयोग, अधिकारको नाङ्गो अपव्यय र योजनाबद्ध नीतिगत भ्रष्टाचार हो। यस सम्पूर्ण प्रक्रियामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष संरक्षण र राजनीतिक हस्तक्षेप रहेको आशंका बलियो रूपमा उठेको छ। राजेश बज्राचार्यलाई अविलम्ब पक्राउ गरी निष्पक्ष अनुसन्धान अघि बढाउन र यस घोटालामा संलग्न सबै राजनीतिक संरक्षणकर्ता, निर्णयकर्ता र लाभग्राहीहरूलाई कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरिएको छ। यस गम्भीर आर्थिक अपराधलाई ढाकछोप गर्ने, अनुसन्धान कमजोर बनाउने वा दोषीलाई उन्मुक्ति दिने कुनै पनि प्रयास भएमा अनेरास्ववियू (क्रान्तिकारी) कानुनी संघर्षसहित देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी विज्ञप्तिमार्फत दिएको छ।

नेपाली कम्युनिष्ट पार्टीद्वारा विभिन्न जिल्लामा पार्टी एकता सन्देश सभा, काठमाडौंमा पुस ५ मा

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीले पार्टी एकताको सन्देश प्रवाह गर्न देशव्यापी रूपमा आयोजना गर्दै आएको ‘पार्टी एकता सन्देश सभा’ अब राजधानी केन्द्रित हुँदैछ । यही पुस ५ गते काठमाडौंमा विशाल पार्टी एकता सन्देश सभाको आयोजना गरिएको छ र तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ । विभिन्न प्रदेश र जिल्लामा यसअघि नै सभाहरू सम्पन्न भइसकेका छन् भने केही जिल्लामा बाँकी छन् । प्रादेशिक स्तरका सभाहरू पनि सफलता पूर्वक सम्पन्न भएका छन् । ती सभाहरूलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, भीम रावललगायत शीर्ष नेताहरूले सम्बोधन गरेका थिए । काठमाडौंको यो सभालाई पनि प्रचण्डसहित यिनै शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टीले यो सभालाई कम्युनिस्ट एकताको सशक्त सन्देश दिने ऐतिहासिक अवसरको रूपमा लिएको छ । तयारी धमाधम भइरहेको र ठूलो संख्यामा कार्यकर्ता तथा शुभचिन्तकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । नेपाली कम्युनिष्ट पार्टीले पार्टी एकताको सन्देश प्रवाह गर्न विभिन्न जिल्लामा पार्टी एकता सन्देश सभाको आयोजना गरिरहेको छ । विभिन्न जिल्लामा सम्पन्न भएका छन् भने अरु केही जिल्लामा बाँकी रहेको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ ।  यो अभियानले कम्युनिस्ट आन्दोलनमा नयाँ ऊर्जा भर्ने विश्वास पार्टी नेताहरूले व्यक्त गरेका छन् ।

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

चितवन ।  चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन् । चिनियाँ दूतावासका अनुसार ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत चीनले उक्त बहान अस्पताललाई हस्तान्तरण गरेको हो । चिनियाँ राजदूत छन सङले यो सानो सहयोगबाट अस्पतालको सेवा प्रवाह तथा समग्र स्वास्थ्य सेवाको सुधार गर्न सहयोग पुग्ने बताए । साथै उनले नेपाललाई सहयोग गर्न तत्पर रहेको बताए ।

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै गर्ने गरी पञ्चाङ्गकारसमेतको संयुक्त बैठक बसी निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विविध कारणबाट पञ्चाङ्ग रूजु र छलफल गर्न ढिलाइ भइसकेको र केतकीग्रहगणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न केही समय लाग्ने एवम् थप छलफल गर्नुपर्ने देखिएकाले पञ्चाङ्ग प्रकाशन गर्न ढिलाइ भइसकेको हुँदा सेवाग्राहीलाई समस्या पर्ने देखिएकाले २०८२ साल अनुरुप नै गर्न लागिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।  विसं २०८३ को पञ्चाङ्ग केतकी ग्रहगणितको आधारमा गणना गरी समितिमा पेश गर्नु भनी सूचना जारी गरिएको थियो । समितिको निर्णय मुताविक नेपाल राष्ट्रका लागि प्रकाशित हुने पञ्चाङ्गका सन्दर्भमा गत वर्ष नै पञ्चाङ्ग खण्ड परम्परागत सौरोक्त पद्धतिमा आधारित रही गर्ने निर्णय भएको थियो । अन्य ग्रहहरू ज्योतिर्गणितम् तथा केतकीग्रहगणितम्का आधारमा गणना गरी पञ्चाङ्ग प्रकाशित भएको थियो ।    साथै सौरोक्त पद्धतिबाटै समय सापेक्ष आकाशको ग्रहस्थितिसँगै मिल्ने गणना सुधार गर्न सिद्धान्त ज्योतिषका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ज्योतिषी विद्वान आमन्त्रण गरी छलफल कार्य तत्काल अघि बढाउने निर्णय समेत गरिएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए । 

आज बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपियाँ ३५ पैसा र बिक्रीदर १४५ रुपियाँ ९५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपियाँ ८६ पैसा र बिक्रीदर १७१ रुपियाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपियाँ ०२ पैसा र बिक्रीदर १९५ रुपियाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपियाँ ५५ पैसा र बिक्रीदर १८३ रुपियाँ ३१ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ४४ पैसा र बिक्रीदर ९६ रुपियाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपियाँ ४८ पैसा र बिक्रीदर १०५ रुपियाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपियाँ ७० पैसा र बिक्रीदर ११३ रुपियाँ १७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ ३८ पैसा र बिक्रीदर नौ रुपियाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ६४ पैसा र बिक्रीदर २० रुपियाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ७५ पैसा र बिक्रीदर ३८ रुपियाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ७७ पैसा र बिक्रीदर ३९ रुपियाँ ९३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६१ पैसा र बिक्रीदर चार रुपियाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ५८ पैसा र बिक्रीदर ३९ रुपियाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ५८ पैसा र बिक्रीदर ३५ रुपियाँ ७२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८५ पैसा र बिक्रीदर नौ रुपियाँ ९० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६१ पैसा र बिक्रीदर १५ रुपियाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ८७ पैसा र बिक्रीदर २२ रुपियाँ ९६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ६८ पैसा र बिक्रीदर १८ रुपियाँ ७६ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपियाँ ०५ पैसा र बिक्रीदर ४७६ रुपियाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपियाँ ५४ पैसा र बिक्रीदर ३८७ रुपियाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपियाँ ५३ पैसा र बिक्रीदर ३७९ रुपियाँ ०९  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या

विराटनगर । सुनसरी रामधुनी नगरपालिका–१ की सकुन्तला अधिकारी १० वर्ष खाडीमुलुक कुवेतको एक घरमा श्रम गरेर फर्किइन्, तर घर फर्केपछि उनले चरम संघर्ष गर्नुपर्‍यो । घरपरिवार र समाजले हेर्ने दृष्टिकोण सहज नहुँदा अन्तर्जातीय विवाह गरेकी सकुन्तलाले मानसिक तनावमा जीवन बिताउनुपरेको थियो ।  मोरङ केराबारी–१० की जीवनकुमारी राई पटकपटक वैदेशिक रोजगारमा गइन् । कमाइ पनि ठीकै भयो, तर घर फर्केपछि परिवारमा कुरा मिल्न सकेन र समाजमा पुनःस्थापित हुन निक्कै चुनौतीको सामना गर्नुपर्‍यो । सकुन्तला र जीवनकुमारी मात्र होइन, वैदेशिक रोजगारबाट फर्केकाहरूले समाजमा पुनःस्थापित हुनका लागि चुनौती खेप्नुपरिरहेको छ । जसले गर्दा उनीहरूको मानसिक तनाव मात्र बढेको छैन, उनीहरूले विदेशमा सिकेको सीप र अनुभव पनि खेर गइरहेको छ । वैदेशिक रोजगारीबाट फर्केकाहरूले पारिवारिक र सामाजिक समस्याका साथै आर्थिक समस्या पनि भोग्न परिरहेको देखिन्छ ।  इलामको सूर्योदय नगरपालिकामा पारिवारिक परामर्शदाताका रूपमा कार्यरत ईश्वरी तामाङले वैदेशिक रोजगारीबाट फर्केकाहरूको समस्याका बारेमा भनिन्, 'विदेशमा बस्दा नियमित पैसा आउने, खर्च गर्ने शैली पनि फरक हुने तर यहाँ फर्केपछि नियमित आम्दानी नहुने, काम गर्दा पाउने पारिश्रमिक बचत नहुने र खर्च गर्ने योजना पनि नमिल्ने गरेकाले उहाँहरूमा आर्थिक तथा पारिवारिक समस्या आउँछ ।'  यिनै समस्यालाई मनन गर्दै नेपाल सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई समाजमा पुनः एकीकरणको कामलाई नीतिगत रूपमा प्राथमिकता दिएको छ । यसका लागि सरकारले हरेक स्थानीय तहमा स्थापना गरेको रोजगार सेवा केन्द्रले संघीय सरकारको नीतिगत प्राथमिकतालाई कार्यान्वयन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । बोलचालमा ‘रिटर्नी’ भनिने वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूका लागि सहयोगको प्रारम्भिक विन्दुको रूपमा रोजगार सेवा केन्द्रले काम गर्न थालेको छ । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार, रोजगार सेवा केन्द्रले उनीहरूलाई आर्थिक तथा सामाजिक रूपमा समाजमा पुनःएकीकरणका लागि आर्थिक, मनोसामाजिक तथा पारिवारिक परामर्श, रोजगारी र उद्यमशीलता मार्गदर्शन, वैदेशिक रोजगारीबाट ल्याएको सीप, अनुभव र बचतको स्वदेशमा प्रभावकारी उपयोग गर्न मद्दत गर्ने काम गर्छ ।  कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख शम्भुप्रसाद साहले वैदेशिक रोजगारबाट फर्कनेहरूलाई समाजमा पुनःएकीकरण गर्नुपर्ने कार्यको गम्भीरतालाई मनन गर्दै मन्त्रालयले इमानदारीपूर्वक कार्यसम्पादन गर्दै आएको बताए ।  मन्त्रालयकी भगवती ढुङ्गानाका अनुसार मन्त्रालयले प्रदेशका १० वटा स्थानीय तह, मोरङको उर्लाबारी नगरपालिका, केराबारी गाउँपालिका, कानेपोखरी नगरपालिका र मिक्लाजुङ गाउँपालिका, सुनसरीको रामधुनी नगरपालिका, झापाको मेचीनगर नगरपालिका र कमल गाउँपालिका, उदयपुरको कटारी नगरपालिका, इलामको सूर्योदय नगरपालिका तथा खोटाङको दिक्तेल बरुवा मजुवागढी गाउँपालिकाका रोजगार सेवा केन्द्रमार्फत यी कामलाई अझ तीव्रताका साथ अगाडि बढाएको छ ।  उक्त स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको पुनः एकीकरण (रेमी) परियोजनाअन्तर्गत यस्ता काम भएका हुन् । रेमी परियोजना हेल्भेटास नेपालको प्राविधिक सहयोगमा नेपाल र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलबाट सञ्चालित छ ।  मन्त्रालयका अनुसार १० वटा स्थानीय तहका प्रत्येक रोजगार सेवा केन्द्रका चार जना कर्मचारीहरूले विदेशबाट फर्कनेहरूलाई समाजमा पुनःस्थापना गर्न विभिन्न किसिमका सुझाव, सल्लाह, उद्यमशीलता, स्वरोजगार र सीप विकास गर्न मद्दत गर्ने गरेका छन् ।  अर्कोतिर वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरू आफ्नो सञ्जालमा आबद्ध भएर रिटर्नीहरूको पहिचान, परामर्श र पुनः एकीकरणका काममा रोजगार सेवा केन्द्रलाई सहयोग गरिरहेका छन् । यसै क्रममा सञ्जालमार्फत केन्द्रको सम्पर्कमा पुगेर मोरङ केराबारी–१० की जीवनकुमारी राई सामाजिक रूपमा पुनःस्थापित भइन् । हाल उनी सञ्जालमा आबद्ध भएर आफूजस्तै महिलाहरूलाई सामाजिक पुनःस्थापनामा सहयोग गर्दै आफूले पनि किराना पसल सञ्चालन गर्न थालिन् ।  सुनसरी रामधुनी नपा–१ की सकुन्तला अधिकारीचाहिँ सञ्जालमा जोडिएर नै आफ्नो जीवन जोगिएको बताउँछिन् । उनी भन्छिन्, 'सञ्जालमार्फत पुनः एकीकरणमा जोडिन सफल भएँ, अझै पनि समाजसँग जुधिरहेकी छु ।' वैदेशिक रोजगारमा गएका महिलाहरूलाई समाजले हेर्ने दृष्टिकोण अझै सकारात्मक नहुँदा रिटर्नी महिलाहरूले अझै पुनःस्थापनामा चुनौती झेल्नुपरिरहेको हो । रिटर्नी महिलाहरूलाई हेर्ने दृष्टिकोणका लागि समाज सकारात्मक नभएकै कारण आजकल धेरै महिलाहरू सञ्जालमा जोडिएर सामाजिक पुनःस्थापनाका लागि सङ्घर्ष गर्न थालेका छन् ।  समाजशास्त्री डा चन्द्र उपाध्याय वैदेशिक रोजगारमा गएर फर्केका महिलाहरूको सामाजिक पुनर्स्थापनामा अझै समस्या रहेकाले सबै तहका सरकारले उनीहरूले सिकेको सीप प्रमाणीकरण गराउने र मनोवैज्ञानिक परामर्श प्रदान गर्ने काममा तीव्रता दिन सके समाजको धारणा चाँडै सकारात्मक हुँदै जाने बताउँछन् । उनी भन्छन्, 'विदेशमा कमाएको धन, सीप तथा अनुभवलाई सरकारले ग्रहण गरेर सदुपयोग गर्न सके मात्र समाज चाँडै सकारात्मक बन्दै जान्छ । रिटर्नी महिलाहरूका लागि पुनस्र्थापना समस्या समाधानमा पनि योगदान पुग्छ ।'  भुक्तभोगी रिटर्नी महिलाहरूका अनुसार वैदेशिक रोजगारमा गएर राम्रो कमाइ गर्‍यो भने घरपरिवार र समाजमा पुनःस्थापना सहज हुन्छ, तर बिचैमा फर्कनुपर्‍यो वा कुनै समस्या आएमा सामाजिक पुनःस्थापनामा निक्कै चुनौती झेल्नुपर्छ । यस्तै, रोजगारमा गएका र फर्केका महिलाहरूलाई समाजले अझै फरक दृष्टिकोणले हेर्ने गरेको उनीहरूको गुनासो छ । वैदेशिक रोजगारमा गएका सबै महिला यौन शोषणमा परेका हुन्छन् र मानसिक र शारीरिक रोग बोकेर आएका हुन्छन् भन्ने गलत धारणा समाजमा अझै व्याप्त छ ।  सामाजिक विकास मन्त्रालयका अनुसार विदेशबाट विगत तीन वर्षदेखि कोशी प्रदेशमा फर्कनेको सङ्ख्या एक हजार ९३६ रहेको छ । यो सङ्ख्या खाडीमुलुक साउदी अरेबिया, दुबई, बहराइन, कतार र ओमनबाट फर्केकाहरूको हो, जबकि नेपाली नागरिक खाडी मुलुकबाहेक अन्य मुलुकमा पनि छन् । त्यहाँबाट फर्कनेहरूको सङ्ख्या उल्लेखनीय हुने अनुमान छ । खाडी मुलुकबाट फर्कनेमा शैक्षिक रूपमा स्नातक तहका ४० जना, प्रमाणपत्र तहका १२० भन्दा बढी, एसइईका ४०० भन्दा बढी, कक्षा ६ देखि ९ सम्मका ३०० हाराहारीमा रहेको र अन्य सामान्य लेखपढ गर्नसक्ने मात्र रहेको जनाइएको छ ।  मोरङको उर्लाबारी नगरपालिकाका रोजगार परामर्शदाता सङ्गीता कार्कीले उर्लाबारीमा विगत पाँच वर्षदेखि एक हजार १७७ जना रिटर्नी रहेको जानकारी दिइन् । उनले रिटर्नीहरूमध्ये कृषि, पशुपालन र सिटी सफारी चलाउने काम गर्छन् भने कतिपयले मजदुरी गर्ने गरेको बताइन् ।  कार्कीले भनिन्, 'वैदेशिक रोजगारमा रहेको समयमा घर बनाउने, घडेरी किन्नेजस्ता कार्य गरे पनि आर्थिक बचतको क्षेत्रमा कमै काम गर्ने गरेकाले उहाँहरूमा समस्या देखिएको भनिन् । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई समाजमा पुनः एकीकरण गर्न तालिम, रोजगारीलगायतका कार्यक्रम सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ ।'  स्थानीय तहले स्वरोजगार एवं उद्यमशीलताका लागि दिने तालिमका लागि १८ देखि ४० वर्ष उमेर समूहका लागि मात्र तोक्दिनाले त्यसभन्दा माथिका मानिसलाई तालिम लिन समस्या भइरहेको सामाजिक परिचालकहरूको भनाइ छ ।

पर्यटकको बढ्दो आगमनसँगै आयआर्जनको भरपर्दो विकल्प बन्दै घोडा

गण्डकी । नेपालकै एक मात्र सिकार आरक्ष बागलुङस्थित ढोरपाटनको विशाल पाटनमा दगुरिरहेका घोडा यहाँको पर्यटकीय आकर्षण हुन् । ढोरपाटनमा पुग्ने जो कोहीले घोडा चढेर तस्बिर तथा भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने गरेका छन् । यिनै तस्बिर तथा भिडियो यतिखेर ढोरपाटनको प्रवर्द्धनको राम्रो माध्यमसमेत बनेको छ । सामाजिक सञ्जालका माध्यमबाट घोडा चढेका तस्बिर तथा घोडामा शयर गरेका भिडियोहरूकै कारण देश विदेशका विभिन्न ठाउँँबाट पर्यटक ढोरपाटन आउने गरेका छन् । पछिल्ला समयमा ढोरपाटनमा घोडचढी व्यवसाय राम्रैसँग फस्टाएको व्यवसायीहरू बताउँछन् । ढोरपाटनमा विगत लामो समयदेखि घोडा शयर गराउँदै आएका ढोरपाटन जाने मार्गस्थित फल्लेघरका बेगबहादुर कामीका अनुसार पछिल्लो समयमा यहाँका घोडा पालकहरूले राम्रै आम्दानी गरिरहेका छन् । ढोरपाटनमा सयभन्दा बढी घोडा रहेको बताउँदै उनले घोडाका माध्यमबाट पर्यटकले राम्रै मनोरञ्जन लिने गरेको बताए । सामान्यतः एउटा घोडा किन्नका लागि रु दुई लाख लगानी गर्नुपर्ने उनले बताए । यस वर्ष चिसो लागिसके पनि फाट्टफुट्ट आएका पर्यटकका कारण यहाँको पर्यटनमा केही राहत भएको व्यवसायी बताउँछन् । यस क्षेत्रमा घोडा शयर प्राचीनकालदेखि नै हुँदै आएकामा यसको आकर्षण अहिले पनि उत्तिकै रहेको कामीको भनाइ छ । ढोरपाटनमा आएका पर्यटक घोडामा नै चढेर यहाँका होमस्टे तथा होटेलबाट पाटन क्षेत्र घुम्नुका साथै धार्मिक महत्वको उत्तरगङ्गा ढोरबराहमा पुग्ने गर्दछन् । सामान्यतः घोडामा शयर नगरी तस्बिर मात्रै खिचेबापत व्यवसायीले पर्यटकबाट रु १०० सम्म लिने गर्दछन् । अन्य भिडियो बनाएको तथा घोडा शयर गरेको थप रकम लिने गरिएको छ । व्यवसायीहरूले १५ मिनेट घोडामा शयर गरेको रु २०० लिने बताउँदै कामीले माथि दखर्कसम्म पुगेर आएको रु तीन हजार ५०० सम्म लिने गरिएको जानकारी दिए । “मैले यस क्षेत्रमा सम्भावना देखेर नै विगत ३० वर्षयता घोडा तथा खच्चड पाल्दै आएको छु”, कामीले भने, “पछिल्लो समयमा सडक यातायातको सुविधा भएसँगै खच्चड पाल्न भने छोडेको छु ।” कामीका अनुसार सामान्यतः घोडा जन्मिएको चार वर्षमा घोडा शयर प्रयोजनका लागि दाउने गरिन्छ । दाएर तयार भए पछि मात्र घोडा शयरका लागि प्रयोगमा ल्याइने उनले जानकारी दिए । प्रत्येक शुक्रबार र शनिबार यहाँको पाटनमा घोडा शयरका लागि आउनेहरूको भीड लाग्ने गरेको उनले बताए । पर्यटकको बढ्दो आगमनसँगै यहाँको घोडापालन गर्दै आएका स्थानीयको आम्दानी पनि त्यतिकै बढिरहेको छ । पछिल्लो समयमा ढोरपाटनमा पर्यटकीय आकर्षण बढेको ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्ती मगरले जानकारी दिए । पर्यटकको बढ्दो आगमनले यहाँका होटेल व्यवसायी, होमस्टे सञ्चालकका साथै घोडापालक सबैलाई फाइदा पुगेको उनले जानकारी दिए । पछिल्ला समयमा ढोरपाटनमा घरवाससँगै सुविधासम्पन्न होटेल पनि बनिरहेको बताउँदै उनले यहाँ आउने पर्यटकलाई खान र बस्नको कुनै असुविधा नरहेको बताए । आफूहरूले होमस्टेका लागि प्याकेजसमेत बनाएको जानकारी दिँदै घर्ती मगरले आएका पर्यटकलाई चिया नास्ता सहित बेलुका मासुसहितको खाना, सुत्ने कोठा र फर्कँदा सादा खानासहित कूल रु एक हजार २०० को प्याकेज राखिएको बताए । विशेषतः ढोरपाटनमा फागुनदेखि असोज तिहारसम्म नै पर्यटकको बढी चहलपहल हुने गरेको छ । जेठको तेस्रो सातादेखि भदौको पहिलो सातासम्म ढोरपाटन उपत्यकामा ढकमक्क फुल्ने फूलमा घोडा दगुराउने, फोटा तथा भिडियो खिच्ने लहरै चल्दछ । जसले गर्दा यहाँका घोडापालक व्यवसायीको आम्दानी बढेको घर्ती मगरले बताए । घोडा पालेरै घर खर्च धान्नुका साथै आयआर्जन बढाएको अर्का घोडा पालक राम विकले बताए । माथि बुकी पाटनमा फूल फुल्ने समयमा त दैनिक नै राम्रो आम्दानी हुने गरेको उनले अनुभव सुनाए । घोडाका लागि राम्रो स्याहारसुसारसँगै पोषक दानाहरू खुवाउनुपर्ने उनको भनाइ छ । पर्यटकको याममा त घोडाको खर्च कटाएरै दैनिक रु दुई हजारसम्म बचत हुने गरेको विकले बताए । “घोडापालन हाम्रा लागि राम्रै आम्दानी बनेको छ”, विकले भन, “ढोरपाटनमा आएका अधिकांश पर्यटकले घोडा शयर गर्न रुचाउने भएका कारण पनि यो व्यवसाय रोजगारीका लागि महत्त्वपूर्ण विकल्प बनेको छ ।”

माैसम पूर्वानुमान: कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज बिहान कोशी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहेको छ । पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ । भोलि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । 

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका–१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि खानेपानीको सङ्कट झेल्दै आएका छन् । चुरेफेदको विकट क्षेत्र मानिने यस बस्तीमा भूमिगत पानीका स्रोत सुक्दै जाँदा स्थानीयलाई दैनिक जीवनयापनमै कठिनाइ भइरहेको छ । करिब ३५ दलित घरपरिवार रहेको यस बस्तीका बासिन्दा वार्षिक झण्डै छ महिना टाढाटाढाबाट घण्टौँ लगाएर पानी बोक्न बाध्य छन् । स्थानीयका अनुसार बस्तीको खानेपानी समस्यालाई मध्यनजर गर्दै गाडिएको डिप बोरिङबाट करिब चार वर्षसम्म पानी आएको थियो । तर अघिल्लो वर्षदेखि उक्त बोरिङ पूर्ण रूपमा सुकिसकेको छ । बस्तीका मोहन सदायले डिप बोरिङ सुक्दा आफूहरूको जीवन नै अस्तव्यस्त भएको बताए । उनले भने, “अघिल्लो वर्षदेखि डिप बोरिङबाट पानी आउन छोड्यो । अहिले घण्टौँ लगाएर बानो गाउँको खोलामा खनिएको कुवाबाट पानी बोकेर खानुपरेको छ । मानिस र वस्तुभाउ दुवैले त्यही पानी प्रयोग गर्दै आएका छौँ ।” विनिता सदायले विगत चार–पाँच वर्षदेखि चापाकलसमेत सुक्दा खानेपानीको समस्या झनै जटिल बन्दै गएको गुनासो गरिन् । “पानी नभएकै कारण सरसफाइमा पनि समस्या छ । नुहाउन, कपडा धुन र खान सबैका लागि एउटै कुवाको पानी प्रयोग गर्नुपरेको छ,” उनले भनिन् । आर्थिक रूपमा कमजोर र सुकुम्वासीले भरिएको यस दलित बस्तीमा आव २०७९/८० मा ‘विपन्न परिवारका लागि सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत घर निर्माण गरिएको थियो । लहान नगरपालिकाबाट रु ४५ लाख ५१ हजार र हिल्टी फाउण्डेसनको सहयोगमा ‘ह्याबिट्याट फर ह्युमानिटी’ नेपालमार्फत रु ४४ लाखको लागतमा २२ वटा जस्तापाताका घर निर्माण गरिएका थिए । “घर त बन्यो, तर खानेपानीको व्यवस्था भएन”, ७० वर्षीया जलेश्वरी सदायले दुःखेसो पोखिन् । वडाध्यक्ष तेजनारायण चौधरीले मेनहर्वावासीको खानेपानी समस्या समाधानका लागि नगरपालिकामा पहल भइरहेको जानकारी दिए । जलवायु परिवर्तनको असरका कारण चुरे क्षेत्रका कुँवा, इनार र खोलाहरू सुक्दै गएकाले यो समस्या स्थानीय तह मात्र नभएर राष्ट्रिय चुनौती बन्दै गएको उनको भनाइ छ । पछिल्लो समय चुरे क्षेत्रमा पानीको सतह गहिरिँदै जाँदा ठुला डिप बोरिङसमेत असफल भइरहेकाले यसको विकल्पबारे योजना बनाउनुपर्ने विज्ञहरू बताउँछन् । वातावरणविद् दिनेश यादव भन्छन्, “डिप बोरिङ खानेपानी समस्याको दीर्घकालीन समाधान होइन भन्ने कुरा विभिन्न ठाउँका अभ्यासले प्रमाणित गरिसकेको छ । त्यसैले चुरे संरक्षणसँगै वन व्यवस्थापन, जलाधार संरक्षण र नदी कटान नियन्त्रणका लागि तीनै तहका सरकारले एकीकृत योजना बनाएर कार्यान्वयन गर्नुको विकल्प छैन ।”

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ । भोटखोला गाउँपालिका– २ र ४ का राष्ट्रिय वन र सामुदायिक वनका रुख काटिएका हुन् । माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि दुई हजार १६८ बोट रुख काटिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी चन्द्रलाल राईले बताए । माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि भोटखोला–४ मा राष्ट्रिय वन र भोटखोला– २ मा पारीपाखा सामुदायिक वन र माक्पालुङ सामुदायिक वन क्षेत्रको करिब २१ दशमलव ०८ हेक्टर क्षेत्रफलको रुख कटान गरिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी राईले जानकारी दिए । उक्त आयोजनाले २५ बर्षसम्म वन क्षेत्र प्रयोगका लागि अनुमति पाएको छ । यो सँगै माथिल्लो अरुण आयोजनाका लागि पहुँच मार्गको काम द्रूत गतमिा अघि बढेको छ । प्राधिकरणले २ दशमलव ०३ किलोमिटर सुरुङमार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतको गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरेर काम सुरु गरेको छ । पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । पहुँच मार्ग भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्मको निर्माण गरिनेछ । सात अर्ब ९१ करोड ३९ लाखमा उक्त सडक निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ । त्यसैगरी जिल्लामा विभिन्न जलविद्युत आयोजना निर्माणका लागि हालसम्म लागि १४ हजारभन्दा बढी रुख काटिसकिएको छ । अरुण तेस्रो जलविद्युत् आयोजना र कोसी करिडोर प्रसारण लाइनका लागि १८ सामुदायिक वनका १४ हजार ६२७ रुख कटान गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार ११ वटा जलविद्युत् आयोजनाले जिल्लाका ६ स्थानीय तहका वन क्षेत्र प्रयोग गरेका छन् । विद्युत् विस्तार गर्न मात्र सरकारी वन क्षेत्रका पाँच हजार ४०० रूख काटिएका छन् । 

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतिस्थित सडकमा ट्याक्सी जाँच गर्ने क्रममा लागुऔषध गाँजासहित भारतको केरलाका ३८ वर्षीय सोन साइमान ग्रेसेसलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक  पवनकुमार भट्टराईका अनुसार ट्याक्सीबाट २३ किलो गाँजा बरामद गरिएको हो । पक्राउ परेका ग्रेसेसको रानीवनस्थित होमस्टेमा भाडामा लिएको घरको कोठा खानतलासीका क्रममा थप ३२ किलो गाँजा बरामद गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।  पक्राउ परेका भारतीय नागरिकमाथि प्रहरीले लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत आवश्यक अनुसन्धान गरिरहेको परिसरले जनाएको छ । 

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  कुमार, विश्वक्रान्ति, देवराज लामा भन्ने लामालाई काठमाडौँको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एआईजी मनोज केसीले  जानकारी दिए । २०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

मकवानपुरकाे बकैयामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

मकवानपुर । यहाँको बकैया गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बकैया–७ अधेरीमा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीका अनुसार मंगलबार दिउँसो अधेरी स्थित भित्री सडक खण्डमा लु ५ त १७४ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका २२ जना मध्ये ३ जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको उनले बताए । दुर्घटनामा मृत्यु हुनेहरूमा बकैया गाउँपालिका–७ अधेरी बस्ने ५५ वर्षीय केशव माझी, सोही ठाउँ बस्ने ५५ वर्षीय युवराज माझी र ४५ वर्षीय सन्तलाल माझी रहेका प्रवक्ता बोगटीले बताए । घाइतेहरूलाई उपचारका लागि हेटौँडा ल्याइएकोमा केशव माझीलाई दिउँसो २ः३० बजे र युवराज माझीलाई २ः२६ बजे हेटौँडा अस्पतालका डाक्टरले मृत घोषणा गरेको उनको भनाइ छ । दुर्घटनामा परी घाइते भएका १९ जनाको हेटौँडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेरुरूको अवस्था र घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।