समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएको बताएका छन् ।

नेकपा खोटाङद्वारा मंगलबार दिक्तेल बजारमा आयोजित एकता सन्देश सम्प्रेषण कार्यक्रमलाई सम्बोधन गर्दै नेता गजुरेलले अबको मुख्य कार्यभार समाजवादी क्रान्ति भएकाले त्यसलाई सफल बनाउन नेपालका वामपन्थी राजनीतिक शक्तिहरूबीच एकता गरिएको स्पष्ट पारे ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का १ नम्बर प्रदेश (कोशी) इन्चार्जसमेत रहेका नेता गजुरेलले जेन–जी आन्दोलनको उद्देश्य पनि यही रहेको उल्लेख गरे। ‘नेपाली जनताले परिवर्तन चाहेका छन् । त्यो पूरा गर्न सबै कम्युनिस्ट विचारधाराका राजनीतिक दलहरू एकजुट हुन आवश्यक छ,’ उनले भने, ‘जेन–जीको भावनाअनुरूप १९ वटा कम्युनिस्ट पार्टीहरूबीच एकता गरिएको हो । अब यो सन्देश जनस्तरसम्म पुर्‍याउनु आजको आवश्यकता हो ।’

उनले पार्टी एकतापछि नेपाली कम्युनिस्ट पार्टीप्रति जनताको भरोसा थप बलियो बन्दै गएको दाबीसमेत गरे । कार्यक्रममा नेता गजुरेलले वर्तमान राजनीतिक संकटबाट देशलाई निकास दिन निर्वाचनबाहेक अर्को विकल्प नरहेको बताए । ‘केही राजनीतिक दल प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आएका छन्। तर दुई–दुई पटक संसद् विघटन गर्ने एमाले स्वयं यही लाइनमा देखिनु विडम्बनापूर्ण छ,’ उनले भने, ‘यो समाधान होइन। यसले देशलाई झनै अनिर्णयको बन्दी बनाउँछ।’

जेन–जीको भावनाअनुसार नयाँ अनुहारहरू राज्यको मूल प्रवाहमा आउनुपर्नेमा पार्टी स्पष्ट रहेको बताउँदै उनले विगतका कमीकमजोरी सच्याउँदै अघि बढ्ने प्रतिबद्धता जनाए। साथै, आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले बहुमत हासिल गरी सरकार गठन गर्ने दाबी पनि गरे।

कार्यक्रममा नेकपाका नेता तथा कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, पूर्वमन्त्रीहरू रामकुमार राई ‘पासाङ’ र राजन राई, संविधानसभा सदस्य समिता कार्की ‘अस्मिता’, पूर्वसांसद कुलप्रसाद फुँयाल तथा केन्द्रीय सदस्य ध्रुव बुढाथोकी ‘धिरेन’लगायतले पनि मन्तव्य राखेका थिए।

आजकाे विदेशी मुद्राकाे विनिमय दर: अमेरिकी डलरकाे उच्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ८८ पैसा र बिक्रीदर १४५ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपियाँ २० पैसा र बिक्रीदर १७० रुपियाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ९५ पैसा र बिक्रीदर १९४ रुपियाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपियाँ र बिक्रीदर १८२ रुपियाँ ७५ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ २९ पैसा र बिक्रीदर ९६ रुपियाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपियाँ २० पैसा र बिक्रीदर १०५ रुपियाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपियाँ ३८ पैसा र बिक्रीदर ११२ रुपियाँ ८५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ५६ पैसा र बिक्रीदर २० रुपियाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ६१ पैसा र बिक्रीदर ३८ रुपियाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ७६ पैसा र बिक्रीदर ३९ रुपियाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६१ पैसा र बिक्रीदर चार रुपियाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ४५ पैसा र बिक्रीदर ३९ रुपियाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ४० पैसा र बिक्रीदर ३५ रुपियाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८९ पैसा र बिक्रीदर नौ रुपियाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ५९ पैसा र बिक्रीदर १५ रुपियाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ७८ पैसा र बिक्रीदर २२ रुपियाँ ८८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ६२ पैसा र बिक्रीदर १८ रुपियाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रुपियाँ १४ पैसा र बिक्रीदर ४७४ रुपियाँ नौ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपियाँ ३२ पैसा र बिक्रीदर ३८५ रुपियाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपियाँ ३१ पैसा र बिक्रीदर ३७७ रुपियाँ ८७ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

आजकाे माैसम: पश्चिम वायुको आंशिक प्रभाव, दिनभर कस्ताे हाेला ?

काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क फैलिएको छ । बहुलाएको कुकुरले स्थानीय बासिन्दासहित एक दर्जनभन्दा बढी पशु चौपायालाई टोकेपछि रेबिज फैलिने त्रास बढेको हो । शुक्लाफाँटा–१ का वडाध्यक्ष उत्तरदेव भट्टका अनुसार बहुलाहा कुकुरले दुई जना स्थानीय बासिन्दा, एक गाई र १३ वटा कुकुरलाई टोकेको छ । “सोमबार बिहानदेखि बहुलाहा कुकुर अनियन्त्रित रूपमा सामुन्नेमा पर्ने जोकसैलाई टोक्दै हिँडेको थियो”, उनले भने, “प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आज साँझ अबेर नियन्त्रणमा लिन सफल भयौँ ।” बहुलाहा कुकुर नियन्त्रणमा लिए पनि त्यसले टोकेका कुकुरमार्फत अन्य पशुचौपाया तथा मानिसलाई रेबिज सर्ने जोखिम कायमै रहेको अध्यक्ष भट्टले बताए । “कुकुरले टोकेका व्यक्तिलाई उपचारका लागि अस्पताल पठाइसकेका छौँ”, उनले भने, “टोकिने गाईलाई पनि रेविजविरुद्धको सुई लगाइएको छ ।” बहुलाहा कुकुरले टोकेका अन्य कुकुरको खोजीका लागि वडा कार्यालयबाट टोली परिचालन गरिएको छ । तर ती कुकुर फेला पार्न कठिनाइ भइरहेको वडाध्यक्ष भट्टले जानकारी दिए । “रेविजविरुद्धको भ्याक्सिन खरिद गर्ने प्रक्रिया अगाडि बढाएका छौँ”, उनले भने, “आज बिहानैदेखि वडा कार्यालयमार्फत कुकुरलाई रेबिजको सुई लगाइनेछ ।” स्थानीय बासिन्दाले बहुलाहा कुकुरले टोकेका कुकुरले अन्य कुकुर, पशुचौपाया तथा मानिसलाई टोक्ने जोखिम रहेकाले भयको अवस्था सिर्जना भएको बताएका छन् । बहुलाहा कुकुरलाई नियन्त्रणमा लिएर निगरानीमा राखिएको नगर प्रहरी प्रमुख पदमबहादुर ऐरले बताए । यसैबिच, वडा कार्यालयले बहुलाहा कुकुरले टोकेको शङ्का भएका कुकुर, गाईबस्तु तथा व्यक्तिका परिवारलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

तनहुँकाे मादी नदीमा निर्माणधीन चार लेन पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ । उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको जानकारी दिए । उनका अनुसार पुल निर्माण तीव्रगतिमा अगाडि बढाइएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको उनले बताए । सूचना अधिकारी पाण्डेका अनुसार पुल निर्माणका लागि २०७९ साल साउन २६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । उनले भने, “पुल निर्माणको म्याद सकिएपछि पुनः म्याद थपिएको छ । थप भएको म्यादभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ ।” उक्त पुलमा ७० प्रतिशत वित्तीय प्रगति भएको छ । तीन सय १५ मिटर लामो पुलमा छवटा स्पान रहनेछ । पुलको वारिपारि दुई–दुई ‘प्रिस्टेटस् बक्स गडर’ स्पान सम्पन्न भइसकेको छ । उनका अनुसार फाउन्डेसनदेखि सुपर स्ट्रक्चरको काम सकिएको छ । उनले भने, “मिडल स्पान दुईवटा कङ्क्रिट नेचर आर्क ब्रिज हो । त्यसको काम पनि भइरहेको छ ।” रु एक अर्ब २१ करोड भ्याटसहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्क्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल भएको पाण्डेको भनाइ छ । सूचना अधिकारी पाण्डेले मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पूर्वीतर्फ ८८ प्रतिशत प्रगति भएको जानकारी दिए । कालोपत्र सबै सकिएको बताउँदै उनले सडकका अन्तिम चरणका काममात्र बाँकी रहेको उल्लेख गरे । पुलको पहुँचमार्गको काम भने बल्ल सुरु भएको पाण्डेले बताए । निर्माण कम्पनी व्यवस्थापक दिनेशकुमार श्रेष्ठले निर्धारित मितिअगावै पुल निर्माणको काम सकिने जानकारी दिए । उनका अनुसार असार १९ गतेसम्म म्याद रहे पनि वैशाखमा पुल निर्माणको काम सक्नेगरी काम भइरहेको छ । पुल निर्माणका लागि हाल दैनिक एक सय ५० कामदार खटाइएको छ । छवटा स्पानमध्ये दुईदुई स्पानको काम सकिएको र बीचको दुईवटा स्पान ६३ मिटरको काम भइरहेको उनले जानकारी दिए। पुलको दायाँबायाँ पाँच सय मिटर पहुँच सडक निर्माण गर्न बाँकी रहेको उनले उल्लेख गरे । उनले भने, “बायाँतर्फ व्यक्तिका घर परेकाले मुआब्जा दिनुपर्ने र दायाँतर्फ सडक डिभिजन कार्यालयको भवन रहेकाले भवन भत्काएर पहुँच सडक निर्माण गर्नुपर्ने अवस्था छ ।” पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

काठमाडौँ । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठुलो रकम विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड बराबर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड थियो । अघिल्लो आवको तुलनाका चालु आवको चार महिनामा करिब रु १० अर्ब बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६ दशमलव चार प्रतिशतले वृद्धि भई रु ६४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ५५ अर्ब ४९ करोड रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय आठ दशमलव एक प्रतिशतले वृद्धि भई रु १९ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १७ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय रु ३२ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु २३ अर्ब एक करोडले घाटामा रहेको थियो ।

बाँझो जमिन उपयोग गरी पर्वतको जलजलामा सामूहिक आलुखेती

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा सामूहिक आलुखेती सुरु गरिएको छ । हिउँदमा बाँझै रहने ८० रोपनी क्षेत्रफलमा स्थानीय जलजला गाउँपालिकाको सहलगानीमा आलुखेती गरिएको हो । गाउँमा रहेको बाँझो जमिनलाई सदुपयोग गरी रोजगारी सिर्जना गर्ने र किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले आलुखेती सुरु गरिएको गाउँपलिकाका अध्यक्ष राजु आचार्यले बताए । पालिकालाई बीउ आलुमा आत्मनिर्भर बनाउने उद्देश्यले जलजला–बाँसबोट कृषक समूहमार्फत आलुखेती सुरु गरिएको उनले जानकारी दिए । “धाइरिङको बाँसबोटका १६ जना कृषकले यस वर्ष ११५ बोरा आलुको बीउ रोपेका छन् । किसानले व्यक्तिगत रूपमा ५० बोरा आलु रोपेका हुन् । बाँकी ६५ बोरा आलु गाउँपालिकाले सहयोग गरेको हो । गाउँपालिकाले गत वर्ष उत्पादित बीउ पोखरा लगेर चिस्यान गृहमा राखेको थियो । सोही बीउ कृषक समूहलाई दिएर सहलगानीमा खेती सुरु गरिएको हो”, अध्यक्ष आचार्यले भने । दुई वर्षअघि पुर्जाखोला सिँचाइ आयोजना निर्माण सकिएपछि बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । यसअघि हिउँदमा बाँझो हुने बारीमा खेती गरेर हराभरा बनाउन किसान अग्रसर भएका स्थानीय सौगात आचार्यले बताए । बाँझिएको जमिनलाई सदुपयोग, रोजगारी सिर्जना र किसानको आयआर्जन वृद्धिका लागि जलजला गाउँपालिकाले बीउ आलु उत्पादन कार्यक्रममार्फत किसानलाई सहयोग गरेको उनको भनाइ छ । राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको मूल बीउलाई पिविएम प्रविधिबाट (बियाँबाट आलुको बीउ उत्पादन) गरेर जलजला गाउँपालिका बीउ आलुमा आत्मनिर्भर भएको छ । पिविएम प्रविधिबाट उत्पादन भएको बीउ आलु पाँच पुस्तापछि खानयोग्य हुन्छ । यसअघि जलजलाका कृषकले करिब ५० वर्ष पुरानो बीउ प्रयोग गर्दै आएका थिए । पुरानो बीउ लगाउँदा एक बोराबाट सातदेखि १० बोरासम्म उत्पादन हुनेमा नयाँ बीउ लगाउँदा एक बोराले २० बोरासम्म उत्पादन दिने गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । किसानले उत्पादन गरेको बीउ आलुलाई प्रतिकिलो रु ६५ मा खरिद गरेर ५० प्रतिशत ढुवानीमा अनुदान दिएर पोखराको चिस्यान गृहमा भण्डारण गर्ने र प्रतिकिलो रु १५ अनुदान दिएर किसानलाई वितरण गर्ने व्यवस्था मिलाएको उपाध्यक्ष आचार्यले जानकारी दिए । मौसम अनुकूल भएमा अहिले लगाइएको आलुखेतीबाट दुई हजार मेट्रिकटनभन्दा बढी उत्पादन हुने भन्दै यसले कृषकको उपभोग तथा आयआर्जनका लागि ठुलो टेवा पुग्ने उनको भनाइ छ । बाँदरका कारण बालीनाली जोगाउन मुस्किल हुने भएकाले सामूहिक आलुखेती भएको बाँसबोटमा तीन महिनाका लागि बाँदर हेरालु राख्ने गाउँपालिकाले तयारी गरेको छ । तरकारीको पकेट क्षेत्रका रूपमा विकास हुँदै गएको जलजलाको बनौ, शालिजा, लेकफाँट, धाइरिङमा बर्खे आलुखेती हुन्छ । सल्यान, नाग्लीवाङ, मल्लाजमा हिउँदे आलुखेती गरिँदै आएको छ ।

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

बाँके । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचबिखनको जोखिम बढ्दै गएको छ । सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएपछि परिवारलाई जानकारी नदिई विवाह गर्न भारत जाने युवती मानव बेचबिखनको जोखिममा पर्ने सम्भावना बढेको हो । भारतको सिमलातर्फ जाँदै गरेका दाङ र अर्घाखाँची जिल्लाका दुई युवतीलाई नेपालगन्जस्थित जमुनाह नाकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील शान्ति पुनः स्थापना केन्द्र नेपालगन्जका प्रतिनिधिले बेचबिखनको जोखिममा रहेको आशङ्कामा चार दिनअघि रोकेर परामर्श गर्दा यस्तो वास्तविकता खुलेको हो । शान्ति पुनः स्थापना केन्द्र शाखा कार्यालय नेपालगन्जकी संयोजक सम्झना चँदाराका अनुसार सामाजिक सञ्जालमा प्रेम सम्बन्ध गाँसिएकै आधारमा यी दुई युवती भारतीय व्यक्तिसँग विवाह गर्न राजी भई भागेर सिमला जाने क्रममा उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये दाङकी एक युवतीको उमेर १५ वर्षमात्र छ भने अर्घाखाँचीकी युवतीको उमेर २२ वर्ष रहेको उनले जानकारी दिइन् । संयोजक चँदाराले पछिल्लो समय सामाजिक सञ्जालका माध्यमबाट कुराकानी भएकै भरमा अभिभावकलाई थाहै नदिई भारतीय नागरिकसँग विवाह गर्न भन्दै त्यसतर्फ जाने युवतीको सङ्ख्या बढ्दै जानुले बेचबिखनको जोखिमलाई झन् बढाएको बताइन् । “सामाजिक सञ्जालमा कुराकानी भएकै आधारमा अभिभावकलाई थाहै नदिई भारतीय नागरिकसँग विवाह गर्न राजी हुनु आफैँले जोखिम निम्त्याउने काम हो”, उनले भनिन् । केन्द्रको पहलमा दाङकी युवतीलाई अभिभावकसँगको सम्पर्कपछि पारिवारिक पुनर्मिलन गराइएको छ भने अर्घाखाँचीकी युवतीलाई पनि अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ । नेपालगन्ज उपमहानगरपालिका महिला, बालबालिका तथा नागरिक शाखा प्रमुख पवित्राकुमारी पुरीले भारतीय नागरिकसँग नेपाली युवतीलाई विवाह गराउने कार्यमा कतिपय नेपाली महिलाले नै समन्वयकारी भूमिका खेल्ने गरेको पाइएको बताइन् । “भारतीय नागरिकसँग विवाह गरेकी महिलामार्फत नेपालका चिनेजानेका युवतीसँग सामाजिक सञ्जालमा जोडिने गरेको पाइएको छ”, पुरीले भनिन्, “नेपाली युवती विवाहका लागि राजी भएर भारत पुगेमा समन्वय गर्ने नेपाली महिलाले आर्थिक लाभ पाउने भएकाले यो समस्या बढ्दै गएको हो ।” आर्थिक लाभको लोभमा आफ्नै देशका चेलीलाई जोखिममा पार्ने प्रवृत्ति चिन्ताजनक रहेको उनको भनाइ छ । इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी इन्चार्ज एवं प्रहरी निरीक्षक किरण प्रकाश मल्लले सामाजिक सञ्जालमा कुराकानी भएकै आधारमा घरबाट भागेर भारत पुग्ने महिला उच्च बेचबिखनको जोखिममा रहेकाले सबै यसतर्फ सचेत हुनुपर्ने बताए । उनले बेचबिखनविरुद्ध क्रियाशील सङ्घसंस्थाको समन्वयले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकाको उद्धार र पारिवारिक पुनर्मिलनमा सहयोग पुगेको उल्लेख गरे । प्रहरी निरीक्षक मल्लका अनुसार दलालले विशेषगरी आर्थिक रूपमा कमजोर र पारिवारिक समस्यामा रहेका महिलालाई लक्षित गर्ने गरेका छन् । शान्ति पुनः स्थापना केन्द्रका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले सामाजिक सञ्जालमा देखिने क्षणिक आकर्षण र प्रलोभनले निम्त्याएको यो जोखिमले सीमा नाकामा कडाइ र सचेतनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने खाँचो औँल्याए । आफूहरूले भारतीय सहरमा बेचिएका र अलपत्र अवस्थामा रहेका नेपाली महिलालाई त्यहाँका सरकारी र गैरसरकारी निकायसँगको सहकार्यमा उद्धार गर्दै आएको उनले बताए । नेपालगन्जस्थित जमुनाह नाकामा शान्ति पुनः स्थापना गृहसँगै माइती नेपाल, साथी संस्थालगायत करिब एक दर्जन सङ्घसंस्थाले मानव बेचबिखनविरुद्ध क्रियाशील रहँदै आएका छन् । शान्ति पुनः स्थापना केन्द्रले मात्रै गत आवमा ३९९ जनाको उद्धार गरेको थियो । केन्द्रका जिल्ला कार्यक्रम संयोजक चँदाराले गत आवमा ३०३ जनालाई सिधै अभिभावकको जिम्मा लगाइएको जनाउँदै ९५ जनालाई प्रहरीमार्फत परिवारको सम्पर्कमा पुर्‍याइएको बताए । शान्ति पुनः स्थापना गृहले बाँकेको नरैनापुर, डुडुवा, जानकी, कोहलपुर र जमुनाह गरी पाँच स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बागलुङका १० ठुला सडक स्तरोन्नति गरिँदै

बागलुङ । यसवर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट दुई निर्वाचन क्षेत्र रणनीतिकसहित १० सडको काम गर्न थालिएको हो । सडक डिभिजन कार्यालय बागलुङमार्फत बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतको अदालत चौपारी–सिगाना र क्षेत्र नम्बर २ को हरिचौर–पाण्डवखानी सडक कालोपत्र गरिनेछ । अन्य आठ वडा सहायक सडकको स्तरोन्नति गर्ने तयारी गरेको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । दुई निर्वाचन क्षेत्र रणनीतिक सडकको लागि रु ६ लाख विनियोजन भएको उनको भनाइ छ । सात किलोमिटर रहेको अदालत चौपारी–सिगाना सडक कालोपत्र भइसकेको भन्दै भुक्तानी गर्न बाँकी रहेको प्रमुख सुवेदीले बताए । हरिचौर–पाण्डखानी सडकको भने आठ किलोमिटर ढलान र कालोपत्र गर्न ठेक्का सम्झौता भइसकेको उनले बताए ।  उनका अनुसार निसीखोला र ढोरपाटन नगरपालिका जोडेको पाखुते–झिम्पा रु एक करोड ५८ लाखमा स्तारोन्नति गर्नका लागि ठेक्का प्रक्रियामा गरेको छ । काठेखोला गाउँपालिकामा पर्ने अक्षेते–मूल्यना सडक रु दुई करोड ११ लाखमा स्तरोन्नति हुँदै छ । बडिगाड गाउँपालिकाको रणसिंहकिटेनी–रमुवा सडक रु एक करोड ३२ लाख बजेटमा स्तरोन्नति गरिने प्रमुख सुवेदीले बताए ।  जैमिनी नगरपालिका स्थित दरौदी–सुन्तलाचौरका रु दुई करोड ४३ लाख, बागलुङ नगरपालिकाको डाँडाथर–स्यालेपाखा सडक रु दुई करोड करोड १७ लाख, काठेखोला गाउँपालिकाको मङ्गलीखोला–धम्जा–बेलढुङ्गा सडक रु दुई करोड ४४ लाख र रातामाटा सडक रु दुई करोड २५ लाखमा स्तरोन्नति गर्न थालिएको उनले जानकारी दिए । यी सबै सडक स्तरोन्नतिका लागि ठेक्का प्रक्रियामा गइसकेको भन्दै केही दिनमै काम सुरु हुने प्रमुख सुवेदीले बताए ।  “यस वर्ष विनियोजन भएर आएको रकम पनि केही कटौती भएका छ, योजनाहरू घटेका छैनन्, पर्याप्त बजेट नभए पनि काम अगाडि बढ्छन्, सबै सडकको ठेक्का सम्झौता भएर अगाडि बढ्ने प्रक्रियामा छन्,” उनले भने, “आगामी असार मसान्तसम्म सम्झौता भएका सडकको काम सम्पन्न हुनेछ, चिसो बढेको हुँदा कालोपत्र गर्नेबाहेक स्तरोन्नतिको काम हुने छ ।” काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले मङ्गलीखोला–धम्जा–बेलढुङ्गा सडकको ट्राक खुलेको वर्षौँ भइसक्दाप नि स्तरोन्नति नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको बताए । गाउँपालिकाको सीमित स्रोत सडक स्तरोन्नति गर्न नसकिएको भन्दै सङ्घीय सरकारको बजेटले यस वर्ष काम हुन थालेको उनले सुनाए । अध्यक्ष थापाले भने, “त्यो सडक निकै जोखिम छ, सडकको बीचमा ठूलो भिर छ, यात्रा निकै जोखिमपूर्ण हुँदै आएको छ, धेरै नागरिकले सास्ती खेप्नुपरेको थियो, यसवर्ष सङ्घीय सरकारबाट बजेट परेको हुँदा अप्ठ्यारो ठाउँमा सडकलाई सहज बनाइने छ, यही सडक हुँदै पर्यटकीय क्षेत्र बेलढुङ्गा जोडिने हुँदा स्तरोन्नति पछि पर्यटकलाई पनि समस्या हुने छैन ।”

म्याग्दीमा ढुवानीको समस्याले कम मूल्यमा सुन्तला बिक्री गर्दै किसान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानीमा समस्या भएको छ । नयाँपुलबाट राखु हुँदै भकिम्ली जोड्ने सडकमा सुन्तला ढुवानी गर्ने गाडी उक्लन नसक्ने भएकाले किसानलाई सुन्तला बजार पठाउन समस्या हुनुका साथै कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएको हो । बगैँचामा टिपेको सुन्तला ट्याक्टरमा राखेर नयाँपुलमा झार्ने र नयाँपुलबाट गाडीमा राखेर बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत बजारमा पठाउने गरिएको राखुका कृषक भविकला थापा रानामगरले बताइन् । “तल्लो राखुबाट नयाँपुलसम्म एकपटक सुन्तला ढुवानी गरेको एक वटा ट्याक्टरले रु तीन हजार लिन्छ भने उपल्लो राखुबाट रु तीन हजार पाँच सय खर्च हुन्छ,” उनले भनिन्, “बगैचा र नयाँपुलमा दुई पटक लोड अनलोड गर्दा थप खर्च हुने गरेको छ ।” अन्यत्रका किसानले प्रतिकिलो रु ८० देखि ८५ मा सुन्तला बेचे पनि राखुका किसानले सडक र ढुवानीको समस्याले गर्दा प्रतिकिलो रु ७५ मा बेच्न बाध्य भएको उनी बताउँछिन् । उनका अनुसार ग्रेड नमिलेको, साघुरो सडकमा घुम्ती धेरै छन् भने मोटरसाइकल, जिप र ट्याक्टर मात्र चल्ने सडक जोखिमयुक्त छ । सडक पुग्नुअघि यहाँका किसानले बेनीका डोके व्यापारीलाई सस्तोमा सुन्तला बेच्ने गरेका थिए । सडक आएपछि डोकोमा बोकेर सुन्तला बजार पठाउनुपर्ने समस्या हटे पनि स्तरोन्नतिमा ढिलाई भएको किसान नरबहादुर रानाले गुनासो गरे । वि.सं. २०७३ मा तत्कालीन भकिम्ली गाविस र किसानहरूको रु ५० लाख लागतमा जयन्ती माविबाट राखु हुँदै नयाँपुल जोड्ने करिब पाँच किलोमिटर सडकको मार्ग खुलेको थियो । सडक निर्माणका लागि स्थानीयवासी महिलाले १३ जना महिलाले बैंकमा सुन धितो राखेर रु १२ लाख ऋण जुटाएका थिए । बेनी नगरपालिकाले घुम्तीमा ढलान र बर्खामा खसेको पहिरो पन्छायर यातायात सञ्चालनको ब्यवस्था मिलाएको छ । सामान्य मर्मतको भरमा सडक सञ्चालन भएको छ । बेनपा–३ का वडा अध्यक्ष पदम पुनले राखुको सडकलाई स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरिएको बताए। राखुका ६५ घरपरिवार किसानले व्यावसायिक सुन्तला खेती गरेका छन् । वार्षिक रु दुई करोड मूल्य बराबरको सुन्तला बिक्री हुने गरेको कृषक खिम पुनले बताए । नयाँ बिरुवा थपिदै गएकाले वर्षेनी सुन्तलाको उत्पादन बढेको उनले बताए । सुन्तला खेतीले रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । काम र अवसरको खोजीमा बजार तथा विदेशिनुपर्ने समस्या कम भएको छ । कृषक गङ्गाबहादुर घर्तीले सुन्तलाले फल दिन थालेपछि विदेश जानु नपरेको बताउनुभयो । एक सय ८० बोटबाट उहाँले वार्षिक रु चार लाख मूल्यको सुन्तला बिक्री हुने बताए । पूर्व फर्किएको भिरालो पाखोमा रहेको राखुको भूगोल र जमिन सुन्तला खेतीका लागि अनुकल छ । सिचाइँको पर्याप्त सुविधा छ । कोदो र मकै बालीको विकल्पमा व्यावसायिक सुन्तला खेती गरेका छन् । राखुवासीले सुन्तलाखेतीलाई मुख्य आयस्रोत बनाएका छन् ।

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृषक चित्रराज तिमिल्सिनाले च्याउखेतीबाटै वार्षिक रु १२ लाख आम्दानी गर्छन्। तिमिल्सिनाले देशभित्रै च्याउखेतीबाट खर्च कटाएर मासिक रु एक लाख आम्दानी गरी ‘देशमा केही गर्न सकिँदैन, केही हुँदैन’ भन्ने युवा पुस्ताका लागि ‘जाँगर भए देशभित्रै गर्न सकिन्छ’ भन्ने उदाहरण दिएका छन् । आफ्नै लगानीमा करिब १५ रोपनी जग्गामा च्याउ खेती गर्दै आएका उनले चार वटा फार्ममा कन्ये, गोब्रे र सिताकेलगायतका च्याउ खेती गर्दै आएका छन् । उनले अध्ययन गर्दै गरेका आफ्ना छोरा/छोरीलाई पनि च्याउखेतीमै संलग्न गराएका छन् । उनले भने, “अमेरिका र युरोपका विभिन्न देशमा गएका युवाभन्दा हामी सक्षम छौँ, उनीहरु देश फर्किएर के गर्ने होला ? भनेर काम खोज्छन्, हामीसँग त्यो समस्या छैन ।” च्याउ उत्पादक किसान सङ्घ, नेपालका अनुसार हाल च्याउखेतीबाट करिब रु २० अर्ब बराबरको आम्दानी हुने गरेको छ । गोधे च्याउ, कन्ये च्याउ र राजा च्याउ नेपालका लागि आवश्यक उत्पादन नेपाली किसानबाट हुने भएकाले च्याउमा नेपाल आत्मनिर्भर भएको किसानहरुको भनाइ छ । यस क्षेत्रमा ३० हजार नेपालीले रोजगारी पाएको सङ्घका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ तथा सूचना अधिकारी आनन्द जोशीले च्याउ खेतीको विकास र प्रवर्द्धन गर्ने विषयमा रणनीति वा कार्ययोजना बनाउने विषयमा छलफल भए पनि राष्ट्रिय च्याउ नीति नै बनाउनेबारे भने छलफल नभएको बताए। नेपालमा म्याजिक मसरुम भनिने जङ्गली च्याउदेखि सजिलै घरमा उत्पादन गर्न सकिने च्याउसम्म पाइन्छन् । प्रतिकिलो भारु ५८ हजारमा बिक्री हुने गुची च्याउ पनि नेपालमै पाइन्छन् । यार्सागुम्बा पनि च्याउ वर्गमै पर्छन् । नेपालमा च्याउखेती नगदेवालीको रूपमा अत्यधिक सम्भावना बोकेको क्षेत्रका रूपमा परिचित छ । कृषि विभागअन्तर्गतको व्यावसायिक कीट विकास केन्द्रका सूचना अधिकारी पूर्णिमा क्षेत्रीले केन्द्रले च्याउसम्बन्धी प्रयोगशाला र च्याउमा हुनुपर्ने न्यूनतम मापदण्ड तयार गर्ने काम भइरहेको जानकारी दिइन् । केन्द्रले खानयोग्य जङ्गली च्याउबारे पनि अध्ययन सुरु गरेको जनाएको छ ।

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीको उखु खेतबाट सुरु भएको आगलागीले दर्जनौँ किसानको उखु बाली सखाप भएको हो । काटेर चिनी मिललाई बिक्री गर्ने बेला भएको उखु जलेपछि किसानमा रुवावासी चलेको छ ।  गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले आफूलाई प्राप्त जानकारी अनुसार ५०/६० बिघाकै उखु जलेको बताए । करिब दुई हजार जति गाउँले, समाजसेवी सरोज यादवले प्रदान गरेको एउटा दमकल, प्रहरी र सशस्त्र प्रहरी भएर करिब पाँच घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएका छन् ।  प्रमुख यादवले आगलागीबाट करिब तीन करोड रुपियाँको उखु जलेको जानकारी दिए । काट्ने बेला भएको उखुमा चिनीको मात्रा धेरै हुने भएकाले ठुलो आगो फैलिएको प्रमुख यादवको भनाइ छ । आफूले यसबारेमा चिनी मिललाई जानकारी दिएको र चिनी मिलले तत्काल आगलागी भएको उखुमा पानी पटाउन र एक/डेढ महिनापछि उखु हरियो भएर आए किनिदिने अन्यथा अहिलेकै अवस्थामा जलेको उखु किन्न नसकिने बताएको प्रमुख यादवले बताए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले आगलागीबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी रहेको बताए ।  सोमबार इलाका प्रहरी कार्यालय गडहीयासहित आसपासका अन्य प्रहरी युनिट आगलागी नियन्त्रणमै केन्द्रित हुनुपरेको डिएसपी राईको भनाइ छ । 

सरकारले भारतीय २०० र ५०० रुपैयाँका नोट लान–ल्याउन प्रतिबन्ध हटायो

काठमाडौं । नेपाल सरकारले भारतीय २०० र ५०० रुपैयाँ दरका नोट लान–ल्याउन लगाइएको प्रतिबन्ध हटाएको छ। मन्त्रिपरिषद्को हालैको बैठकले नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्मका २०० र ५०० दरका नोट नेपाल–भारत ओसारपसार गर्न पाउने व्यवस्था गरेको हो। यससँगै सन् २०१६ को भारतको नोटबन्दीपछि जारी भएका नयाँ नोटहरू मात्र चलनचल्तीमा ल्याउन सकिने प्रावधान राखिएको छ। “नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारु भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरिएको छ,” सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकारीले बताए। यसअघि भारतको रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले विदेशी विनिमय व्यवस्थापन नियमावली संशोधन गर्दै २०० र ५०० दरका नोट नेपाल–भारत लान–ल्याउन अनुमति दिएको थियो। भारतले यो सुविधा खुला गरेपछि नेपाल सरकारले पनि प्रतिबन्ध हटाउने निर्णय गरेको हो। भारतले सन् २०१६ मा नोटबन्दी गर्दा पुराना ठूला दरका नोट प्रतिबन्धित गरेपछि नेपालमा रहेका त्यस्ता नोटको सटही नदिएको थियो। त्यसैले नेपालले १०० रुपैयाँभन्दा माथिका सबै भारतीय नोटमा प्रतिबन्ध लगाएको थियो। खुला सीमाना र दुवै देशबीचको व्यापारिक निर्भरतालाई ध्यानमा राख्दै यो व्यवस्था गरिएको हो। तर सन् २०१६ को नोटबन्दीका बेला नेपालमा रहेका पुराना ठूला दरका नोट (बैंकिङ प्रणालीमा मात्र करिब ५ करोड भारु) अझै सटही हुन बाँकी छ।

कृष्ण गोपालको प्रश्न: मदन भण्डारीको पार्टीमा विद्या नअटाउने यो भन्दा अर्को कुनै अपराध हुन्छ ?

काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशनमा सचिव पदमा आफ्नो दाबी अघि सारेका नेता कृष्णगोपाल श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका छन् । उनले ओलीकै कारण एमाले कमजोर भएको निष्कर्ष निकालेर पार्टीको अर्को समूहमा आफू खुलेको बताएका छन् । उनी सचिवका उम्मेद्वार पनि भएका छन् ।  विभिन्न सञ्चारमाध्यमसँग कुराकानी गर्दै श्रेष्ठले मदन भण्डारीको विचार अघि बढेको पार्टीमा विद्या भण्डारी समेत नअटेको भन्दै उनले गुनासो गरे । उनले भने, ‘मदन भण्डारीको विचारकै कारण विकास भएको नेकपा एमालेभित्र विद्या भण्डारी अटेन । यो भन्दा अपराध र त्रुरता के हुन्छ ? उहाँजस्तै म पनि थिएँ । तर म पनि अट्न सकिनँ । ओलीजीको व्यवहारिक पक्षबाट अत्यन्तै पीडित भएँ ।’ अहिले कुनै पनि व्यक्तिलाई भगवान मान्ने कुरा नभएको उनको भनाइ थियो ।  

निर्वाचनका लागि सरकार–दलहरूबीच घनिष्ट संवाद आवश्यक : माधवकुमार नेपाल

सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचनका लागि सरकारले राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताएका छन्। सोमबार बिहान सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आफूहरू निर्वाचनको पक्षमा रहे पनि सरकार र राजनीतिक दलहरूबीच गहन वार्ता हुन नसकेको बताए। नेता नेपालले भने, “सरकारले निर्वाचनको वातावरण बनाएको छ भन्न पनि नमिल्ने र निर्वाचनको वातावरण बिथोलेको छ भन्न पनि नमिल्ने अवस्था छ।” उनले आफ्नो पार्टी चुनावको तयारीमा जुटिरहेको तर सरकार र दलहरूबीचको संवाद पर्याप्त नभएको टिप्पणी गरे। जेनजी आन्दोलनपछि राजनीतिक दलहरूको समर्थनमा जनता छैनन् भन्ने गलत भाष्य निर्माण गरिए पनि पछिल्ला दलहरूका कार्यक्रमहरूले त्यो भाष्य गलत साबित गरेको उनको भनाइ थियो।  नेपाली जनता सधैं राजनीतिक आस्थामा रहेको उल्लेख गर्दै उनले निर्वाचन सम्पन्न गर्न सरकारले दलहरूसँग संवाद गर्नु आवश्यक रहेको बताए। वर्तमान अवस्थामा ‘चुनावमा नै देश जाने हो कि होइन ?’ भन्ने प्रश्न खडा भएको उनको भनाइ छ।

ओलीसँग असन्तुष्ट लेखराज भट्ट सचिवको उम्मेदवार नबन्ने

काठमाडौं । अध्यक्षका दाबेदार केपी शर्मा ओली समूहबाट सचिव पदमा नाम फाइनल भएका लेखराज भट्टले आफू उम्मेदवार नबन्ने बताएका छन्। नेकपा (एमाले) को जारी ११औँ महाधिवेशनअन्तर्गत अध्यक्ष दाबेदार ओलीले पदाधिकारीहरूको नाम टुङ्गो लगाएका थिए। त्यस क्रममा सचिव पदमा नाम टुङ्गो लागेका भट्टले उम्मेदवार नबन्ने घोषणा गरेका हुन्। उनी पूर्वमाओवादी पृष्ठभूमिका नेता हुन्। ओली समूहबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम फाइनल भएको छ। प्रदीप ज्ञवालीले महासचिवमा पनि आकाङ्क्षा राखेका थिए। तर अन्तिममा उनलाई उपाध्यक्षमा सहमति गराई महासचिवमा शंकर पोखरेलको नाम फाइनल भएको छ। पोखरेलले अन्तिम समयसम्म दाबी नछाडेपछि ज्ञवालीलाई उपाध्यक्षमा लगेर पोखरेललाई महासचिव बनाइएको हो। ओलीको रोजाइमा पनि पोखरेल नै परेका छन्। उपमहासचिवतर्फ तीन जना निर्वाचित हुनेमा रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम टुङ्गो लागेको छ। सचिवमा नौ जना निर्वाचित हुने व्यवस्था छ। ओली समूहबाट सचिव पदका उम्मेदवारमा पद्मा अर्याल, छवि विश्वकर्मा, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराईको नाम फाइनल भइसकेको छ। लेखराज भट्टले उम्मेदवार नबन्ने घोषणा गरेपछि उनको सट्टामा अर्को उम्मेदवार चयन गर्नुपर्ने भएको छ।