अहिलेसम्मकै उच्च मूल्यमा सुनकाे काराेबार

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला दुई लाख ५६ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपियाँ बढेर दुई लाख ५८ हजार आठ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । 

यसअघि ३१ असोजमा सुन प्रतितोला दुई लाख ५८ हजार पुगेको थियो । आइतबार त्यो पुरानो रेकर्ड पनि तोडेर नयाँ रेकर्ड कायम गरेको हो । आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य चार हजार तीन सय अमेरिकी डलर पुगेको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले संयुक्त राज्य अमेरिकाको फेडरल रिजर्भ बैङ्कले ०.२५ प्रतिशत ब्याजदर घटाएकाले सुनचाँदीमा लगानी बढ्दा मूल्य बढ्न गएको जानकारी दिए । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उतारचढाव भएकाले थप घटबढ हुन सक्ने देखिएको उहाँले जानकारी दिनुभयो । यसअघि तोलामा दुई लाख ५८ हजार रुपियाँ पुगेको सुनको मूल्य घटेर गत कात्तिक पहिलो साता दुई लाख ३६ हजारसम्म झरेको थियो । त्यसपछि निरन्तर मूल्य बढ्दै गएको हो ।  एक महिनाको अवधिमा सुनको मूल्य तोलामा २२ हजार पाँच सय रुपियाँले बढेको महासङ्घले जनाएको छ । 

पछिल्लो एक महिनादेखि सुनको मूल्य निरन्तर बढ्दा स्थानीय बजारमा कारोबार न्यून भएको व्यवसायीको भनाइ छ । सुनको मूल्य बढ्दै गएको र बिहेको सिजन सकिन लागेकाले बजारमा माग कम हुँदा कारोबार न्यून भएको हो । पुस महिना अफ सिजन भएकाले पनि कारोबार ठप्प हुने गरेको व्यवसायीको भनाइ छ । अर्कोतर्फ अमेरिकी डलरको मूल्यवृद्धिले पनि अन्तर्राष्ट्रिय बजारमा भन्दा छिटो मूल्य रेकर्ड तोडिएको महासङ्घले जनाएको छ ।  

पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित

रसुवा । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ । सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लने दर कम भएको र पानी जम्न थालेकाले नदी तथा खोलामा पानीको सतह घट्न गई विद्युत् उत्पादन प्रभावित भएको हो । पछिल्ला दिनमा २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाबाट १६ मेगावाट, १४ दशमलव आठ मेगावाट क्षमताको ‘अप्पर साङ्जेन’बाट छ मेगावाट, ४२ दशमलव पाँच मेगावाटको ‘लोवर स्याङ्जेन’बाट ३० मेगावाट र ७८ मेगावाट क्षमताको सालासुङ्गीबाट पाँच मेगावाट क्षमता मात्र विद्युत् उत्पादन हुने गरेको सम्बन्धित आयोजनाबाट जानकारी प्राप्त भएको छ । चिसोका कारण विद्युत् उत्पादनमा भारी कटौती हुने गरेको जानकारी दिँदै सालासुङ्गी हाइड्रो पावरमा कार्यरत इञ्जिनियर राजु श्रेष्ठले भने, “अत्यधिक चिसोका कारण अहिले खोलामा पानीको सतह घटेको छ । पानीको बहाव घटेसँगै क्षमताभन्दा न्यून विद्युत् उत्पादन गर्न बाध्य छौँ । चैतपछि हिउँ पग्लिने दर वृद्धि भई खोलामा पानीको बहाव बढ्न थाल्छ । त्यसपछि आयोजनाको क्षमताअनुसार विद्युत् उत्पादन हुन थाल्छ ।” यसैबिच गत असारमा आएको बाढीका कारण क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको संरचना पुनःनिर्माणपछि हाल ३७ मेगावाट विद्युत् उत्पादन भइरहेको रसुवागढी जलविद्युत् कम्पनीका कार्यकारी अधिकृत सत्यराम ज्याख्वाले जानकारी दिए । स्थानीय खोलामा आएको बाढीबाट प्रभावित सो आयोजना पुनःनिर्माणको काम पूरा भए हिउँदमा करिब ६५ देखि ७० मेगावाटसम्म विद्युत् उत्पादन हुने बताइएको छ ।

सरकारलाई चुनाव केन्द्रित काम गर्न राष्ट्रपतिकाे सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान निर्वाचन सफलतामा केन्द्रित गर्न सरकारलाई स्पष्ट सुझाव दिएका छन् ।  उनले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन अनिवार्य रहेको उल्लेख गर्दै त्यसतर्फ राज्यका सबै संयन्त्र जिम्मेवार भएर लाग्नुपर्ने धारणा व्यक्त गरे । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निर्वाचनलाई असर पार्न सक्ने कुनै पनि गतिविधि, निर्णय वा कार्यशैलीबाट सरकार सचेत रहनुपर्ने बताए ।  उक्त जानकारी राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले दिए । राष्ट्रपति पौडेलले तोकिएको मितिमा निर्वाचन सम्पन्न हुनु संविधानको कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियाको निरन्तरताका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । उनले निर्वाचन प्रक्रियालाई प्रभावित नगर्ने गरी सरकारका दैनिक गतिविधि, नीति तथा कार्यक्रम सञ्चालन गर्न समेत सुझाव दिए । साथै, चुनावको वातावरण सहज बनाउन सबै राजनीतिक दल, सुरक्षा निकाय र प्रशासनले आपसी समन्वयमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।  राष्ट्रपतिले निर्वाचनलाई लक्षित गरी अघिल्ला निर्वाचनको अनुभवबाट सिक्दै यसपटक अझ बढी तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायलाई निर्देशन दिएका थिए । शान्ति, सुरक्षा र सुव्यवस्थाको सुनिश्चितताले मात्र नागरिकलाई निर्भीक भएर मतदान गर्ने वातावरण निर्माण हुने उनको भनाइ थियो । सो अवसरमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीले राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् । प्रतिवेदनमा देशको समग्र सुरक्षा अवस्था, चुनौती र भावी रणनीतिबारे उल्लेख गरिएको जनाइएको छ । राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा उत्पन्न हुन सक्ने आन्तरिक र बाह्य सुरक्षा चुनौतीहरूको यथोचित मूल्याङ्कन गर्दै राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो भूमिका अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने मूल आधार नै समयमै हुने निर्वाचन भएकाले त्यसको सफलतामा कुनै कसर बाँकी नराख्न सबै पक्षलाई आह्वान गरिन । 

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पादनमा कमी आएको हो । पहिले खेती गर्ने बारीमा हिजोआज किसानले किबी, सुन्तला, कागतीलगायत फलफूलखेती गरेका छन् भने कतिपय जमिन बाँझै छन् । अघिल्लो वर्ष जिल्लामा १० हजार ८०० मेट्रिकटन कोदो उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएकाे छ । यसवर्ष उत्पादन घटेर १० हजार ७३१ मेट्रिकटन भएको केन्द्रका निमित्त प्रमुख कुमार पुनमगरले जानकारी दिएयो । उनका अनुसार गत वर्ष आठ हजार ४६० हेक्टरमा कोदोखेती भएको थियो भने यस वर्ष आठ हजार ४५० हेक्टरमा खेती लगाइएको थियो । बर्सेनि जिल्लामा कोदो उत्पादनमा कमी आइरहेको केन्द्रका निमित्त प्रमुख पुनमगरले बताउनुभयो । कोदोखेती गर्ने क्षेत्र घट्दा उत्पादन पनि घटेको उनको भनाइ छ । पछिल्लो समय किसान कोदोखेती छोडेर नगदेबालीतर्फ आकर्षित भएका उनले बताए ।  कृषि ज्ञान केन्द्रले किसानलाई रैथाने बाली तथा स्थानीयखेतीतर्फ आकर्षित गर्नका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको पुनमगरले जानकारी दिए । अहिले कोदोको माग अत्यधिक बढेपछि बाहिरबाट आयात गर्नुपरेको उनको भनाइ छ । “पछिल्लो केही वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष कोदोको उत्पादन घटेको देखिन्छ, किसानले परम्परागत खेती गर्न विस्तारै छोड्दै छन् । खेती गर्ने क्षेत्र घट्दा उत्पादनमा गिरावट आएको देखिन्छ”, पुनमगरले भने, “अहिले धेरै किसानले कोदो फल्ने बारीमा कागती, सुन्तलालगायत नगदेबाली लगाउन थालेका छन् ।” ग्रामीण क्षेत्रका पाखोबारीमा काम गर्ने जनशक्ति पाइन छोडेपछि कोदोखेती कम हुन थालेको स्थानीय बताउँछन् । कुनैबेला कम खपत हुने बालीका रूपमा रहेको कोदो अहिले सहरबजारका ठूलाठूला होटल तथा रेष्टुरेन्टमा माग हुने गर्दछ । ग्राहकको माग बढ्न थालेपछि होटल सञ्चालकले ग्रामीण क्षेत्रबाट कोदो मगाउन थालेका छन् । मागअनुसार कोदो पाउन मुस्किल पर्ने गरेको होटल व्यवसायी तुलबहादुर थापामगरले बताए । जाडोका बेला ढिँडोका र अन्यबेला कोदोकै सेलरोटीको माग बढी आउने गरेको उनको भनाइ छ । थापाले भने, “सहरबजारबाट आउने पाहुनाले कोदोको ढिँडो भनेर हैरानै पार्छन्, गाउँमा कोदो पाउन छोड्यो, पहिले कोदोको ढिँडो पनि के खानु र भन्थे । अहिले त्यही ढिँडो महत्वपूर्ण बनेको छ । गाउँका बारी जति सबै बाँझो हुँदै गएका छन्, सहरबजारमा बस्नेले ढिँडो खोज्छन् ।” गाउँमा काम गर्ने जनशक्ति नपाउँदा कोदो फलाउने बारी बाँझोमा परिणत हुँदै गएको जैमिनी नगरपालिका–८ श्यामबहादुर थापाले बताए । एकदशक अगाडिसम्म गाउँमा बजारबाट चामल ल्याउन समस्या हुने गरेको भन्दै उनले कोदोको ढिँडो र रोटी खाएर जीविकोपार्जन गर्ने गरिएको स्मरण गरे । उनका अनुसार पहिले कोदोखेती हुने पाखोबारी अहिले सबै बनमाराले ढाकिएको छ ।

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्णसिंह आङदेम्वेले ३६ वर्षीय नाति प्रेमराज आङदेम्बेलाई छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिए ।  कर्णका अनुसार घरायसी विवादमा वर्णसिंहले प्रेमरालाई आइतबार दिँउसो छुरा प्रहार गरेका थिए । प्रेमराजको घट्नास्थलमै ज्यान गएको र जानकारी प्राप्त हुनासाथ डिएसपी कर्णको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा पुगेको उनले बताए ।  साँझ ५ बजेपछि घटनास्थलको प्रकृति मुचुल्का सुरु गर्नुका साथै मृतकको शव पोष्टमार्टमाका लागि पाँचथर जिल्ला अस्पताल ल्याउन तयारी भइरहेको प्रहरीले जनाएको छ । बर्णसिंलाई नियन्त्रणमा लिइएको कर्णले बताए ।

चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता-२०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ । खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर्नेलगायतका नयाँ व्यवस्था थप गरेको हो । निर्वाचनमा हुने खर्चको स्रोतको पारदर्शिता कायम गर्न यस्तो व्यवस्था गर्न लागिएको आयोगले जनाएको छ । आयोगले निर्वाचन खर्चसम्बन्धी आचरण शीर्षकमा राजनीतिक दल तथा उम्मेदवारले मनोनयनपत्र दर्ता निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सो को स्रोत समेत खुलाउनुपर्ने उल्लेख गरेको छ । उम्मेदवारले खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्नेछ । यस्तै निर्वाचन खर्चसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्नेछ । तोकिएका पदाधिकारीको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । प्रस्तावित आचारसंहितामा राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीबाट सो खाताबाट मात्रै खर्च गर्नुपर्नेछ । यसैगरी रु २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्था मार्फत नै गर्नुपर्ने जनाइएको छ । व्यक्ति वा संस्थाबाट स्वैच्छिक सहयोगका रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई बैंक वा वित्तीय संस्थामा जम्मा गराउनुपर्नेछ । खर्चको विवरणसमेत तथा बिल भरपाई राख्नुपर्नेछ। आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेका ढाँचामा जिल्ला निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्नेछ । आयोगले खर्चको बिल भरपाई तथा बैंक तथा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने सो थप गरिएको व्यवस्थामा उल्लेख गरेको छ । निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी प्रचलित निर्वाचनसम्बन्धी कानुनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने जनाइएको छ ।

एकै दिन देशभर २२ स्थानमा आगलागी

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म देशभर कूल २५ वटा विपद्जन्य घटना घटेका छन् । ती घटनामध्ये सबैभन्दा बढी अर्थात् २२ वटा घटना आगलागीसँग जोडिएका छन् । कतै डढेलो त कतै भान्सामा खाना पकाउने ग्याँस लिक हुँदा आगो लागेको छ । बिजुली सर्ट भएर, असावधानी एवम् जनचेतनाका अभावमा पनि आगो लागेको प्राधिकरणको विवरणमा उल्लेख छ । रौतहटमा तीन, पाँचथर, झापा, कास्की र स्याङजाका दुई /दुई स्थानमा आगलागीका घटना घटेका छन् । मोरङ, भोजपुर, उदयपुर, सर्लाही, काठमाडौँ, स्याङ्जा, रुपन्देही, दाङ, अछाम र दार्चुलाका एक/एक स्थानमा आगलागीका घटना घटेका छन् । हिउँदको समयमा आगो ताप्दा, सलाइको काटी खेलाउँदा र धानको कुन्युमा केटाकेटी खेल्दासमेत आगलागी भएको पाइएको छ । प्राधिकरणका अनुसार, काठमाडौँको दक्षिणकाली नगरपालिका–५ पुरानो दक्षिणकाली जंगलमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय फर्पिङ टोली र स्थानीयको सहयोगमा डढेलो नियन्त्रण गरिएको थियो । पाल्पामा पहिरो, मोरङका दुई स्थानमा जङ्गली हात्तीले आक्रमण गरेको छ । त्यसमध्ये मोरङको सुन्दरहरैचा नगरपालिका १२ मा हात्तीको आक्रमणमा परेर एकको मृत्यु भएको छ । विपद्मा परेर एक जनाको निधन र चार जना घाइते भएका छन् । विपद्जन्य घटनाका कारण कूल ७२ लाख ९०० बराबरको क्षति भएको अनुमान गरिएको छ ।

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको हो । विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भर पर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका किसान देवराज राईले बताए । हाल २२ रोपनी क्षेत्रमा करिब २०० वटा सुन्तलाका बोट लगाएर व्यावसायिक खेती गर्दै आएका राईले वार्षिक रूपमा करिब पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । “अहिले सुन्तलाको मुख्य सिजन हो,” उनले भने, “गाउँभरि सुन्तला बिक्री भइरहेको छ । मैले प्रत्येक वर्ष करिब पाँच लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्दै आएको छु ।” यस क्षेत्रका करिब १२० घरपरिवारले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । बगान नै एकमुष्टमा ठेकेदारलाई बिक्री गर्न पाइने भएकाले खुद्रा बिक्रीको झन्झट कम भएको राईको भनाइ छ । सडकका कारण गाउँघरमा फलेको सुन्तला धरान, इटहरी, बिर्तामोड, विराटनगर, काठमाडौँलगायतका मुख्य सहर, बजारमा जाने गरेको छ । एक पटक रोपिसकेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले सुन्तला खेती किसानको रोजाइमा परेको हो । सुन्तला खेती वडाबासीको प्रमुख आम्दानीको स्रोत बनेपछि खेती प्रवर्द्धनका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेको टेम्केमैयुङ–५ का वडाध्यक्ष सुनिल राईले जानकारी दिए । उनका अनुसार सुन्तला खेतीलाई प्राथमिकतामा राख्दै पकेट क्षेत्र निर्धारण गरेर वडाले सहयोग गर्दै आएको छ । वडाध्यक्ष राईले भने, “यहाँका किसानले सुन्तलाको बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । खेती प्रवर्द्धनका लागि वडाले आवश्यक सहयोग गरिरहेको छ ।” कृषि पकेट कार्यक्रम अन्तरगत गत वर्ष वडाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरी किसानलाई उन्नत जातका सुन्तलाका बिरुवा वितरण गरेको थियो । भोजपुर जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरी टेम्केमैयुङ गाउँपालिकाको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला उत्पादन बढी हुने गर्छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार गत वर्ष जिल्लामा छ हजार २९३ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । हाल उत्पादन बजारमा बिक्री भइरहेकाले विवरण सङ्कलन भइरहेको छ ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डद्वारा कर्णाली नेकपा संसदीय दल नेता चयनमा चासो

सुर्खेत । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन् । शनिबार सुर्खेतमा आयोजित ‘एकता सभा’ का क्रममा प्रचण्डसहित सहसंयोजक माधवकुमार नेपाल र नेता कालिबहादुर मल्लको उपस्थितिमा बसेको संसदीय दलको बैठकमा प्रचण्डले दल नेता चयन र आगामी रणनीतिबारे छलफल गरेका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता भई बनेको नेकपामा कर्णाली प्रदेशसभामा हालसम्म संसदीय दलका पदाधिकारी चयन हुन सकेका छैनन् । प्रचण्डले पदाधिकारी चयन दलभित्रै सहमतिका आधारमा गर्न र प्रतिपक्षी भूमिकालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । सहमति नजुटे प्रदेश पार्टी कमिटीले निर्णय लिने उनको भनाइ छ । बैठकमा माधवकुमार नेपालले भने यस विषयमा औपचारिक धारणा राखेनन् । केवल सांसदहरूसँग परिचयात्मक छलफल गरेका थिए । कर्णाली प्रदेशसभामा नेकपासँग १४ सांसद (माओवादी १३ र समाजवादी १) छन् र यो दोस्रो ठूलो दल हो । दल नेताका लागि विन्दमान विष्ट, कृष्णबहादुर जिसी, मंगल शाही, महेन्द्र केसी र दुर्ग रावतलगायतले दाबी गरेका छन् ।

चम्पादेवी हाइकिङमा ढलेका भारतीय राजदूतको मुटुको अपरेसन सफल

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा अचानक बेहोस भएपछि मुटुको सफल अपरेसन गरिएको छ। धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा भर्ती राजदूत श्रीवास्तवको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार, उनलाई हर्ट अट्याक भएको थियो र मुटुको देब्रे नशामा ब्लकेज देखिएकोले स्टेन राखेर नशा खोलिएको छ। सर्जरी सफल भएको र उनको स्वास्थ्य अवस्था अहिले स्थिर छ। भारतीय दूतावासका अनुसार, हाइकिङकै क्रममा राजदूत एक्कासी ढलेपछि अवस्था गम्भीर बनेको थियो। तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। हाइकिङमा दूतावासका दुई जना अधिकारी पनि उनका साथमा थिए। ढलेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी निरीक्षकको नेतृत्वमा दुई दर्जन सुरक्षाकर्मी भस्मेसुर डाँडातर्फ खटिएका थिए। टोलीमा रहेका एक सुरक्षाकर्मीले भने, "भिराली पहरा र जंगलले लोकेसन पुग्न गाह्रो भयो। हामी पुग्दा उहाँ बेहोस नै हुनुहुन्थ्यो।" अस्पतालले राजदूतको अवस्था सुधारोन्मुख रहेको जनाएको छ।

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ३७ पैसा र बिक्रीदर १४४ रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ २४ पैसा र बिक्रीदर १६९ रुपियाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ०२ पैसा र बिक्रीदर १९३ रुपियाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपियाँ ४८ पैसा र बिक्रीदर १८२ रुपियाँ २४ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ १९ पैसा र बिक्रीदर ९६ रुपियाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ९१ पैसा र बिक्रीदर १०५ रुपियाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ७५ पैसा र बिक्रीदर ११२ रुपियाँ २१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ २६ पैसा र बिक्रीदर नौ रुपियाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ४६ पैसा र बिक्रीदर २० रुपियाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ४७ पैसा र बिक्रीदर ३८ रुपियाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ६१ पैसा र बिक्रीदर ३९ रुपियाँ ७७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ३१ पैसा र बिक्रीदर ३९ रुपियाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ २१ पैसा र बिक्रीदर ३५ रुपियाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७८ पैसा र बिक्रीदर नौ रुपियाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ५३ पैसा र बिक्रीदर १५ रुपियाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६६ पैसा र बिक्रीदर २२ रुपियाँ ७५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५४ पैसा र बिक्रीदर १८ रुपियाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपियाँ ५८ पैसा र बिक्रीदर ४७२ रुपियाँ ५४ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपियाँ ९७ पैसा र बिक्रीदर ३८४ रुपियाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपियाँ ९८ पैसा र बिक्रीदर ३७६ रुपियाँ ५४  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

आज संसद् सेवा दिवस मनाइँदै

काठमाडौँ । निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ । विसं २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । सङ्घीय संसद् सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ । निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो । संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै ऐनद्वारा संसद् सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ ।  राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको सङ्घीय संसद्लाई प्रशासनिक र प्राविधिक सहयोग पुर्‍याउँदै आएको संसदीय सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानुन निर्माण प्रक्रियामा अत्यन्तै महत्त्वपूर्ण रहेको छ । संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायत उपलब्ध गराउनु सङ्घीय संसद् सचिवालयको कार्य रहँदै आएको छ । संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय कामकारबाहीमा अविच्छिन्न सहयोग पुगेको छ ।

मौसममा आउने परिवर्तनसँगै सिँचाइको अभवमा उदयपुरमा बर्सेनि धान उत्पादन घट्दै

उदयपुर । मौसममा आउने परिवर्तनसँगै सिँचाइको अभवमा उदयपुरमा बर्खे धान उत्पादन घट्दै गएको छ । गएको कृषि ज्ञानकेन्द्र उदयपुरको तथ्यांकमा उल्लेख छ । ज्ञानकेन्द्रका अनुसार कुल खेतीयोग्य जमिनमा २२ हजार दुई सय १० हेक्टरमध्ये १३ हजार एक सय १२ हेक्टरमा बर्खे धानखेती हुन्छ । मौसममा आउने परिवर्तन र सिँचाइ सुविधाको अभावमा क्षेत्रफल यथावत् रहेपछि धान उत्पादन घट्दै गएको कृषि ज्ञानकेन्द्र उदयपुरका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ योगेन्द्रप्रसाद यादवले जानकारी दिए । उनले भने, ‘धान रोपाइँ हुने समयमा पानी पर्दैन । सिँचाइको अभाव छ । त्यसकारण पछिल्लो समय धान उत्पादन घटेको देखिन्छ ।’ उनका अनुसार चालू आर्थिक वर्ष ०८२/८३ मा जिल्लामा १२ हजार नौ सय १२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा हाल ३१ हजार तीन सय १८ मेट्रिकटन उत्पादन भएको छ । उनले भने, ‘गत आव ०८१/८२ को तुलनामा चालू आर्थिक वर्ष चार सय आठ हेक्टर क्षेत्रफलमा धानखेती हुन सकेन । जसको कारण १८ हजार दुई सय ७५ मेट्रिकटन धान उत्पादनमा कमी भएको हो ।’ यता धान थन्क्याउने समयमा बेमौसमी झरीले पनि धान उत्पादनमा क्षति पुर्‍याएको छ । उनका अनुसार आव ०८१/८२ मा १३ हजार तीन सय २६ हेक्टरमा ४९ हजार पाँच सय ७५ मेट्रिकटन धान उत्पादन भएको थियो । यसैगरी, आव ०८०/८१ मा १२ हजार सात सय ९३ दशमलव ९५ हेक्टरबाट ५१ हजार एक सय ७५ दशमलव ८ मेट्रिकटन धान उत्पादन भएको थियो । जसमा आव ०८०/८१ को तुलनामा आव ०८१/८२ मा धानखेती भएको क्षेत्रफल बढे पनि उत्पादनमा एक हजार ६ सय मेट्रिकटन घटेको छ ।  उदयपुरमा २२ असारभित्र रोपाइँ सक्नुपर्ने खेतमा समयमै रोपाइँ हुन नसक्नु र धान थन्क्याउने समय कात्तिकमा परेको बेमौसमी झरीले उत्पादनमा कमी आएको प्रमुख यादवको भनाइ छ । 

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर । सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ । भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए । वडाको रु छ लाख र प्रदेश सरकारको रु १० लाख गरी कूल रु १६ लाखमा यहाँ दुईतिरबाट बारा (रेलिङ) सहितको पदमार्ग, धारा, शौचालय र वनभोज स्थल निर्माण गरिएको छ । “हामी काफ्ले डाँडालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दैछौँ”, वडाध्यक्ष तामाङले भने “यो स्थान सुन्दर मात्र होइन, सदरमुकाम नजिक भएकाले पर्यटकलाई आकर्षित गर्ने धेरै सम्भावना छ, त्यसैले उपलब्ध स्रोतसाधनले भ्याएसम्मका संरचना तयार गरेका छौँ ।” यसवर्ष थप संरचना निर्माणका लागि वडाले रु एक लाख ५० हजार विनियोजन गरेको छ । काफ्ले डाँडालाई अझ आकर्षक बनाउन बुद्धको मूर्ति स्थापना र दुईतिरबाट बारा राखेर सुरक्षित पैदलमार्ग बनाउने योजना रहेको वडाध्यक्ष तामाङले बताए । बजेट अभावका कारण केही काम अधुरो रहेको उनको भनाइ छ । काफ्ले डाँडाबाट भोजपुर बजार, आसपासका बस्ती, हरियाली वनक्षेत्र तथा टाढासम्मका हिमश्रृङ्खलासमेत अवलोकन गर्न सकिने भएकाले यहाँ दैनिक रूपमासमेत घुमफिर तथा फोटो खिच्न आउनेको सङ्ख्या बढ्दो छ । विशेषगरी बिदाका दिन, नयाँ वर्ष तथा फूल फुल्ने मौसममा यहाँ आगन्तुकको चहलपहल उल्लेख्य रूपमा देखिने गरेको स्थानीयले बताएका छन् । पर्यटन व्यवसायीले यस क्षेत्रको प्रभावकारी व्यवस्थापन र प्रचारप्रसार हुन सकेमा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुने अपेक्षा राखेका छन् ।

निर्वाचनको देशव्यापी माहौल बन्दै

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ । सरकारले पनि निर्वाचनका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनका गतिविधि अगाडि बढाएका छन् । मुलुक क्रमशः निर्वाचनको माहौलमा अगाडि बढिरहेको आभास भएको छ । देशव्यापी रूपमा राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रमुख राजनीतिक दलदेखि नयाँ राजनीतिक दलले पनि देशव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेका छन् । नेपाली काँग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट गरी केन्द्रमा पठाउन थालिसकेको छ । सो दलले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको उम्मेदवार छनोट गरिरहेको छ । प्रतिनिधिसभा सदस्यको उम्मेदवारसँगै राष्ट्रियसभाको उम्मेदवारसमेत काँग्रेसले छनोट गरिरहेको छ । उम्मेदवार छनोटमा अन्य राजनीतिक दलभन्दा कांग्रेस अगाडि देखिएको छ । नेकपा (एमाले)को शनिबारदेखि ११औँ महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटनसत्रमा सो दलका अध्यक्ष केपी शर्मा ओलीले दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट भाग्छ ? भन्ने प्रश्न गरेका छन् । उनले सरकारले निष्पक्ष र स्वतन्त्र चुनाव हुने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए । अध्यक्ष ओलीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन र राजनीतिक दलका गतिविधिलाई प्रोत्साहित गर्न आग्रह गरेका थिए । एमालेले निर्वाचनका लागि आयोगले तय गरेको समयसीमाभित्रै दल दर्तालगायतका गतिविधि सम्पन्न गरिसकेको छ । यस्तै, विभिन्न कम्युनिस्ट पार्टी एकीकृत भएर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सन्देश सभाका नाममा देशव्यापी रूपमा निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र पारेको छ । सो दलले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जनसभाको आयोजना गरेको थियो । धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरमा सन्देशसभा गरिसकेको नेपाली कम्युनिस्ट पार्टीले आगामी पुस ५ गते काठमाडौँमा सन्देशसभा आयोजना गर्दैछ । देशभर नै सन्देशसभा आयोजना गरेर निर्वाचनको पक्षमा उभ्याएको सो दलले तोकिएको मितिमा नै निर्वाचन हुनुपर्ने प्रष्ट मत जाहेर गरेको छ । सो दलका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सुर्खेतमा आयोजित सभामा निर्वाचन तोकिएको मितिमा नै सम्पन्न हुनुपर्ने र त्यसका लागि आफ्नो पार्टी क्रियाशील भइसकेको बताएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनका लागि वाचापत्र तयार पार्नेदेखि उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाइसकेको छ । समानुपातिकतर्फको उम्मेदवारको आवेदन गरेको सो पार्टीले पनि भेला सभामार्फत निर्वाचन केन्द्रित गतिविधि गरिरहेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाइसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो । यस्तै, समानुपातिक प्रणालीतर्फ कुल एक सय राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र निर्वाचन चिह्नसमेत उपलब्ध गराइसकेको छ । यही मङ्सिर २१, २२ र २३ गते तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका राजनीतिक दलमध्ये अन्तिम रूपमा एक सय दल कायम भएका छन् । सो निर्वाचन प्रणालीतर्फ एक सय दलले आवेदन दिएको भए पनि दुई वा दुईभन्दा बढी दलले एकल निर्वाचन चिह्नमा भाग लिनेगरी आवेदन दिएकाले कुल ९३ वटा निर्वाचन चिह्न कायम गरिएको छ । यस्तै, प्रत्यक्षतर्फ एक सय १४ राजनीतिक दल सहभागी हुँदैछन् । आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेर आवश्यक सुझाव सङ्कलन गरिरहेको छ । निर्वाचनका लागि नै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिइसक्नुभएको छ । शान्ति सुरक्षा कायम गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन गृह मन्त्रालयले आवश्यक तयारी गरिसकेको गृहमन्त्री ओमप्रकाश अर्यालले स्पष्ट पारिसकेका छन् ।

मुआब्जा नपाएपछि खाेटाङकाे माथिल्लो रावाखोला जलविद्युत  आयोजना बन्द

खोटाङ । प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका छन् । विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन् । यही मङ्सिर ६ गते प्रवर्द्धक कम्पनीका प्रतिनिधि र जग्गाधनीबीच मङ्सिर २५ गतेभित्र क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो । दुई पक्षबिच गरिएको लिखित सहमति प्रवर्द्धक कम्पनीले कार्यान्वयन नगरेपछि जग्गाधनीले सोही दिनदेखि पानी टरबाइनबाट हटाएर खोलातिर फर्काइदिएका थिए । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले गत चैतमा पनि उक्त जलविद्युत् आयोजना बन्द गराएका थिए । जग्गाधनीले मुआब्जा नदिएसम्म जलविद्युत् आयोजनाको उत्पादन बन्द गर्ने चेतावनी दिएका छन् । सुङ्देल र केपिलासगढी गाउँपालिका–६, दिप्सुङको सिमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको आयोजना २०७७ भदौ १६ गते नेसनल ग्रिडमा जोडिएको थियो । कम्पनीले पोल गाडिएका जग्गाको क्षतिपूर्ति दिए पनि तार र पाइपलाइनले ओगटेको जग्गाको क्षतिपूर्ति नदिएको स्थानीयले बताएका छन् । जलविद्युत् आयोजना सञ्चालन भएको वर्षौँ बित्दा पनि रावा इनर्जी डेभलपमेन्ट प्रालिले उपयोग गरेको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नदिएका कारण आयोजना बन्द गरेको स्थानीय माइतीराज राईले जानकारी दिए । “गत चैतमा पनि स्थानीयले उक्त जलविद्युत् आयोजना बन्द गराएका थिए । मुआब्जा तथा क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपश्चात सञ्चालनमा आएको थियो”, उनले भने, “सहमति कार्यान्वयनमा नआएपछि उपभोक्ताले पुनः आयोजना बन्द गराएका हुन् । यस विषयमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।” स्थानीय जग्गाधनीले आयोजना सञ्चालन गर्न ओगटिएको सम्पूर्ण जग्गाको निष्पक्ष मूल्याङ्कनसहित तुरुन्त क्षतिपूर्तिदिनुपर्ने, जालपादेखि विद्युत् गृहसम्मको सडक मर्मत, सोलिङ तथा ढल व्यवस्थापन गर्नुपर्ने, हिउँदमा खोलामा १०–१५ प्रतिशत पानी अनिवार्य छाड्नुपर्ने, सरकारी जग्गा प्रयोग गर्दा कानुनी अनुमति लिनुपर्ने, प्रभावित स्थानीयलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्नुपर्नेलगायत माग राखेका छन् । आयोजनाका सञ्चालक समितिका सदस्य राजन दाहालले अहिले उठाइएका कतिपय माग सम्बोधन गर्न नसकिने बताए । केपिलासगढी गाउँपालिकाको समन्वयमा रावा इनर्जी डेभलपमेन्ट कम्पनी र निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिबीच २०८१ चैत ५ गते बसेको बैठकमा मुआब्जा समन्वय समिति गठन गरिएको थियो । स्थानीय पटनबहादुर राईको संयोजकत्वमा गठित समितिले रावा इनर्जी डेभलपमेन्ट कम्पनीसँग समन्वय गरेर ३५ दिनभित्र जग्गादातालाई मुआब्जा उपलब्ध गराउने सहमति गरेको थियो । गाउँपालिकाको कार्यालयमा बसेर गरिएको सहमति कार्यान्वयन नभएपछि जिल्ला प्रशासन कार्यालयलाई समेत ज्ञापनपत्र बुझाएका थिए । गत वैशाख ३० गते ज्ञापनपत्र बुझ्नुहुँदै तत्कालीन निमित्त प्रमुख जिल्ला अधिकारी सागर साहले समस्या समाधान गर्न पहल गर्ने बताएका थिए । तर हालसम्म प्रशासनले कुनै पहल नगरेको स्थानीयवासीको आरोप छ ।