नेपाल प्रहरीकाे कमाण्डो तालिम दिक्षान्त समारोह सम्पन्न

नवलपरासी पश्चिम । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित नवौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा शुक्रबार सम्पन्न भएको छ।
समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरे।

प्रहरी महानिरीक्षक कुँवरले सम्बोधनको क्रममा नेपाल प्रहरीकै अत्यन्त कठिन, मानसिक र शारीरिक दुवै पक्षबाट चुनौतिपूर्ण रहेको यस तालिम सफलता पूर्वक सम्पन्न गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई दिए। नेपाल प्रहरीले सामना गर्नुपर्ने विविध चुनौतिहरू र समस्याहरू मध्ये विशेष तवरको युक्ति तथा कलाको आवश्यकता पर्ने कार्यक्षेत्रको पहिचान गरी आवश्यक पर्ने दक्ष जनशक्ति दिक्षित गर्न यस महाविद्यालयले प्रशिक्षणमा पुर्‍याएको उल्लेखनीय योगदानको सराहना उनले गरे। 

प्रहरी महानिरीक्षक कुँवरले विविध युक्तिकला, हातहतियार र विष्फोटक पदार्थ ह्याण्डलिङ जस्ता पक्षहरूमा मात्र पोख्त नभई विशेष परिस्थितिहरू एवम् शारीरिक तथा मानसिक थकानले प्रस्तुत गर्ने चुनौतिहरूको समेत सामना गर्न योग्य विशेष क्षमताले सुसज्जित यस तालिम प्राप्त गर्ने प्रहरी कर्मचारीहरू विशेष हुने चर्चा गरे। तालिमको अवधिमा प्राप्त गरेका सीप र कौशल प्रहरीको व्यावसायिक जीवनमा मात्रै नभई व्यक्तिगत जीवनका अन्य कैयौँ पक्षमा समेत उपयोगी र लाभदायक हुने उनले उल्लेख गरे । 

समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए। उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले स्वागत मन्तव्य व्यक्त गरे। 

समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १८ जना र प्रहरी जवान ९० जना गरी जम्मा १ सय १४ जनाको सहभागिता रहेको जानकारी दिए।
उक्त समारोहमा प्रशिक्षार्थीहरुले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन, स्याण्ड मोडल बिफ्रिङ, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए ।

समारोहमा सुनवल नगरपालिकाका प्रमुख, रामग्राम नगरपालिकका प्रमुख, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जन प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

फोहोर बिक्रीका लागि काठमाडौँ महानगरद्वारा प्रस्ताव आह्वान

काठमाडौं।काठमाडौँ महानगरपालिकाले फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै ३० दिनभित्र प्रस्ताव पेस गर्न आग्रह गरेको हो।आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता भएका व्यक्ति, कम्पनी वा फर्महरूले सुख्खा फोहोर खरिदका लागि प्रस्ताव गर्न सक्नेछन् ।  महानगरले विभिन्न वडाबाट टेकु ट्रान्सफर स्टेसनमा दैनिक रूपमा सङ्कलन हुने सुख्खा फोहोरको बिक्रीका लागि प्रस्ताव आह्वान गरेको सूचनामा उल्लेख छ।  प्राप्त प्रस्तावहरू आगामी बैशाख १० गते दिउँसो २ बजे कार्यालयको वातावरण व्यवस्थापन विभागमा कर्मचारी एवं उपलब्ध प्रस्ताव दाताहरूको रोहवरमा खोलिने जनाएको छ।सो विषयमा थप जानकारी काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागबाट लिन सकिनेछ।

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही चैत ११ गते आइतबार महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक बोलाएको छ। बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक र विधान प्रतिवदेनलाई सचिवालयले अनुमोदन गरेपछि दस्तावेजमा समावेश गरिने पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।  पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा २७ सदस्यीय दस्तावेज लेखन समिति गठन भएको छ। बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि मूल व्यवस्थापन कमिटी तथा अन्य कमिटीबाट भएका कामको समीक्षा हुनेछ। सचिवालय बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट  सिफारिस भएका नाममा  छलफल पनि गर्ने प्रचारविभाग प्रमुख खतिवडाले बताए। आगामी जेठ देखि ७ गतेसम्म काठमाडौँमा आयोजना हुने राष्ट्रिय महाधिवेशनका लागि पार्टीले अध्यक्ष नेपालको संयोजकत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १२ कमिटी गठन गरिसकेको छ। 

महराको बयान सकियो, हाजिर जमानीमा छोड्न सक्ने !

काठमाडौं ।माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराको बयान सकिएको छ। सीआईबी र सरकारी वकिलको कार्यालयले महराको बयान लिएको हो । सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका उनलाई सरकारी वकिल कार्यालय र सीआईबी दुबईतर्फबाट बयान तथा सोधपुछ गरिएको हो । कपिलवस्तुबाट सोमबार पक्राउ परेका महराको अनुसन्धानका लागि ४ दिनको म्याद हिजो सकिएको छ । आज शुक्रबार उनलाई म्याद थप्ने या हाजिरी जमानी छाड्ने भन्नेबारे टुङ्गो लगाइने सीआईबीको भनाइ छ । उनी बिरामी भएकाले हाजिर जमानीमा छाड्ने सम्भावना रहेको छ । 

आज तीन वटा संसदीय समितिको बैठक बस्ने

काठमाडौँ ।आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्ने छ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।  त्यसैगरी दिउँसो १ बजे नै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।

लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल :  उपप्रधानमन्त्री श्रेष्ठ

लुम्बिनी । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएको बताएका छन् । अवैतनिक वाणिज्य दूतहरूको संस्था (एचसिसीएन) ले यहाँ आयोजना गरेको समृद्धिका लागि विश्व शान्ति सम्मेलनको बिहीबार उद्घाटन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले बुद्ध र लुम्बिनीलाई बुद्धका शिक्षाले विश्वमा शान्ति स्थापनाका निम्ति सन्देश प्रवाह गरेका बताए। उनले विश्वशान्ति स्थापनामा जोड दिँदै संसारका विभिन्न देशमा बढेका द्वन्द्वले आर्थिक संकटसँगै अन्य समस्या पनि बढाइरहेको बताए। शान्ति र समृद्धिका विषयमा बहस गर्ने सबैभन्दा उत्तम स्थान लुम्बिनी भएको बताउँदै एचसिसीएनले यहाँ सम्मेलन आयोजना गरेकामा त्यसको सराहना गर्नुभयो । परराष्ट्रमन्त्री श्रेष्ठले चार महिनाअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनी भ्रमण गरेको स्मरण गर्दै भगवान् बुद्धका शिक्षाको पालनाबाट विश्वशान्ति स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  सम्मेलनमा नेपालका लागि  अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मङ्गोलिया, इन्डोनेसिया, सेसेल्स्, तान्जानिया,  सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लाद्भिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन  रिपब्लिक रोमानियाका गैरआवासीय राजदूत सहभागी छन् ।  सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्द्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायत विषयमा छलफल हुनेछ । 

अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकारप्रति सचेत छौं : गृहमन्त्रालय

काठमाडौं। गृह मन्त्रालयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकारप्रति सदैव सचेत रहेको बताएको छ। बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन् ।  उनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकारप्रति मन्त्रालय सदैव सचेत रहेको र यसको पूर्ण पालनाप्रति मन्त्रालय प्रतिबद्ध रहेको व्यहोरा अनुरोध छ।’  मन्त्रालयले चैत ६ गते ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको परिपत्रको मस्यौदाको बुँदा नम्बर १ को १।३ र बुँदा नम्बर २ को २।१ मा उल्लेख भएको विषयमा आमसञ्चारकर्मी र सम्वद्ध पक्षले व्यक्त गरेको चासो र सरोकारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रवक्ता भट्टराईले यस्तो बताए।  उनले सार्वजनिक गरेको विज्ञप्तिमा उक्त परिपत्रको मस्यौदामा उल्लेख भएका केही बुँदा अटाएर अन्य विषय मात्र समावेश गरेर बिहीबार परिपत्र गरेकोसमेत जानकारी गराएका छन्। 

बहराइनसँग नेपाल ५-० ले पराजित

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको छ ।  बिहीबार राति बहराइनको बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन माहदी अल हुमाइदान, सायद बाकर, अली मादान इब्राहिम अल खतल र इस्माइल अब्दुल्लातिफले एक–एक गोल गरे । खेलको दोस्रो मिनेटमा नै अल हुमाइदानको गोलमा बहराइनले अग्रता बनाए । नवौँ मिनेटमा नै सायद बाकरले गोल थप्दै घरेलु टिमको अग्रता दोब्बर पारे। यस्तै, पहिलो हाफको इन्जुरी समयमा अली मादानले गोल गरेपछि बहराइनले अग्रतालाई ३–० को अग्रता लियो । पहिलो हाफमा तीन गोल बेहोरेको नेपालले दोस्रो हाफमा थप दुई गोल बहोर्‍यो । खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा इब्राहिम अल खतलले गोल गरेपछि बहराइनले ४–० को अग्रता बनाएको थियो। यस्तै, इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई इस्माइल अब्दुल्लातिफले सदुपयोग गरेपछि बहाइनले ५–० को फराकिलो जित सुनिश्चित गरेको हो । सुरुआतदेखि नै बहराइनको आक्रमण झेलेको नेपालले १६औँ मिनेटमा चोटका कारण फरवार्ड अञ्जन विष्टलाई परिवर्तन गरेको थियो । अञ्जनको स्थानमा दिनेश हेन्जन मैदान प्रवेश गरेका थिए । जितसँगै तीन खेलबाट ६ अंक जोडेको बहराइन समूह ‘एच’को दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेल्दा पनि अंकविहीन नेपाल भने तालिकाको पुछारमा छ । यस समूहमा नेपालसँगै बहराइन, यमन र युनाइटेड अरब इमिरेट्स ९यूएई० छन् । नेपालले यसअघि पहिलो खेलमा यूएईसँग ४–० को र दोस्रो खेलमा यमनसँग २–० को हार बेहोरेको थियो । यता, बहराइनले यसअघि यूएईसँग २–० को हार बेहोर्दा दोस्रो खेलमा यमनलाई २–० ले हराएको थियो । यी दुई टिमबीचको दोस्रो लेग बहराइनमै मार्च २७ मा हुनेछ ।

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौं । भारतको राजधानीसमेत रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । मदिरा घोटाला प्रकरणमा उनी पक्राउ परेका हुन् । मुख्यमन्त्री केजरीवाल दिल्लीको सत्तारुढ दल आम आदमी पार्टीका मुख्य नेता समेत हुन् ।यसअघि भारतको इन्फोर्समेन्ट डिरेक्टोरेट (इडी)ले भ्रष्टाचारका सम्बन्धमा बयानका लागि उपस्थित उनलाई पूर्जी जारी गरेको थियो । भ्रष्टाचारविरोधी अभियानबाट राजनीतिमा उदाएको आम आदमी पार्टीका नेता केजरीवालमाथि मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार आरोप लागेको छ। आर्थिक अनियमितता र भ्रष्टाचारमाथि छानविन गर्न बनेको ईडीले केजरीवालालई नवौं पटकको प्रयासपछि वयानका लागि विहीबार साँझ गिरफ्तार गरेको बताइएको छ। लोकसभा चुनाव घोषणा भइसकेको स्थितिमा विपक्षी नेताहरूमध्येका बलिया र चर्चित व्यक्ति केजरीवालको गिरफ्तारीले विपक्षी गठबन्धनलाई धक्का पुग्ने बताइएको छ । १९ अप्रिलबाट १ जुनसम्म सात चरणमा भारतमा लोकसभाको १८ औं चुनाव हुँदै छ । देश चुनावमा होमिएका बेला विपक्षी गठबन्धन ‘इन्डिया’ का प्रभावशाली नेता केजरीवाल पक्राउ परेका हुन् । दुई महिनाको बीचमा भ्रष्टाचारको आरोपमा पक्राउ पर्नेमा केजरीवाल विपक्षी गठबन्धनका दोस्रो बहालवाला मुख्यमन्त्री हुन् । झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई ईडीले केही समयअगाडि उनको राँचीस्थित सरकारी निवासबाटै नियन्त्रणमा लिएको थियो । सोरेनमाथि सरकारी जमिन खरिद बिक्रीमा भ्रष्टाचार गरेको आरोप छ । मुख्यमन्त्री केजरीवाल र आम आदमी पार्टी (आप) ले ईडीले भाजपाबाट निर्देशित भएर विपक्षी नेताहरुलाई अनेक आरोप लगाइ धरपकड गरेको आरोप लगाएका छन् । भाजपा नेतृत्वको केन्द्रीय सरकारले सरकारी जाँच एजेन्सीका अन्य दल र नेताविरुद्ध प्रयोग गरेको आरोप लगाएका छन् । चुनावभन्दा अगाडि विपक्षी पार्टीको आवाज कमजोर गर्न भाजपाले षड्यन्त्र गरिरहेको आपका नेताहरूले बताएका छन् ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । काठमाडौंसहित देशका विभिन्न भागमा हल्का वर्षा भएको थियो । आज पनि देशका पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महराको बयान  -'म नेता हुँ विभिन्न मान्छेसँग फोन हुन्छ, मलाई यसै सुन तस्कर बनाए'

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ । सोमबार कपिलबस्तुबाट पक्राउ परेका महराको बयान बिहीबार सकिएको हो । दुई दिन जिल्ला सरकारी वलिक कार्यालयमा गरेको बयानमा उनले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको बताए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी वकिल कार्यालयमा बयान लिएको हो । कार्यालय स्रोतका अनुसार उनले बयानमा आफूमाथि राजनीति भएको बताएका छन् । उनले बयानमा भनेका छन्, “म नेता हो विभिन्न मान्छेसँग मेरो फोन सम्पर्क हुन्छ । त्यही शिलशिलामा चिनियाँहरूसँग पनि भएको हो । उनीहरूले सुन तस्कर गर्छ भन्ने मलाई कुनै पूर्वजानकारी छैन ।मलाई यसै सुन तस्कर बनाइयो ।”  ०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट (भेप)मार्फत नौ किलो सुन ल्याएका थिए । सोही प्रकरणमा  उनी पक्राउ परेका हुन् । सोही प्रकरणमा गत भदौमा पक्राउ परेका उनका छोरा राहुल भने पुर्पक्षका निम्ति थुनामा छन् । पूर्वसभामुख समेत रहेका महरा भने सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले कारबाहीको सिफारिस गरेपछि पक्राउ परेका हुन् । बयान सकिएसँगै अदालत पठाउने सीआईबीको तयारी छ ।

रिटर्नी सेन्टरको प्रथम राष्ट्रिय सम्मेलन चितवनमा

चितवन । रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय सम्मेलन चितवनमा शुक्रबार सुरु हुँदैछ । विदेशबाट फर्किएका नेपालीहरुको संगठन रिटर्नी सेन्टरको प्रथम सम्मेलन बिहीबार र शुक्रबार दुई दिनसम्म चल्नेछ सेन्टरका अध्यक्ष देबेन्द्र सम्बाहाम्फेले चितवनको भरतपुरमा हुने सम्मेलनको तयारी पुरा भएको बताए ।  सम्मेलनका लागि सेन्टरले स्थानीय तह , जिल्ला र प्रदेश सम्मेलन गरिसकेको छ । ‘एक रिटर्नी, एक उद्यम प्रविधिको माध्यम’ भन्ने मूल नारा सहित हुन लागेको प्रथम सम्मेलनमा देशभरबाट १ हजार ४९५ जना प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा कृषि तथा डिजिटल प्रविधिबारे वर्कसप समेत हुने बताइएको छ। स्थापना भएको केही महिनामै ६० भन्दा बढी जिल्लामा संगठन निर्माण गरेको सेन्टरले विदेशमा सिकेको ज्ञान, सीप, प्रविधि एवम् पुँजीलाई उपयोग गरेर नेपालमा उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने लक्ष राखेको छ। सेन्टरले गत १० पुसमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटेर बन्द कलकारखाना हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना संचालन गर्नुपर्ने, ७७ जिल्लामा किसानको बजार स्थापना गर्नुपर्ने, कोरियाली प्रविधि प्रयोग गरी ग्रीन इनर्जी इँट्टा उद्योग सन्चालन गर्नुपर्ने लगायत ५ बुँदे माग अगाडि सारेको छ। बन्द कलकारखाना सन्चालन गर्न वैदेशिक रोजगारबाट फर्केका र वैदेशिक रोजगारीमा रहेका युवाहरुको परिवारको भूमिका हुनुपर्ने सेन्टरले बताएको छ । सेन्टरकै माग अनुसार प्रधानमन्त्रीले बन्द कलकारखाना सन्चालन गर्ने घोषणा गरिसकेका छन् । एभरेष्ट दैनिकले रिटर्नी सेन्टरको उद्देश्य र राष्ट्रिय सम्मेलनको विषयमा गरेको कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोस ।

दलित समुदायको व्यक्ति मन्त्री बनाउँछौं : ओली

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषद्‌मा दलित समुदायको प्रतिनिधित्व गराउने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेपाल उत्पीडित जातीय मुक्ति समाजले आयोजना गरेको कार्यक्रम उनले मन्त्रीका निम्ति ठाउँ खाली रहेको बताएका हुन् । “यसपल्ट पनि मन्त्री हुन्छ । एउटा ठाउँ छ त्यहाँनेरि । यसपटक पनि मन्त्री हुन्छ म तपाईंहरूलाई भनिराख्छु,” उनले भने । मन्त्रिपरिषद्‌मा सबै जातजातिलाई एकैपटक पठाउन नसकिने समेत उनले बताए। पहिले पहिलेको मन्त्रिपरिषद्मा सो समुदायबाट विभिन्न व्यक्तिले नेतृत्व गरिसकेको उनले उल्लेख गरे । पार्टीको सचिवालयमा दलित समुदायको प्रतिनिधित्व भएको उनले बताए । उनले पार्टी सचिव छविलाल विश्वकर्मा पटक–पटक मन्त्री भएको सुनाए । पार्टीमा क्षमता अभिवृद्धि गर्ने विषयमा सधैँ प्रोत्साहन गरिने उनले स्पष्ट पारे । यस अघि ५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज बालुवाटारमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि मन्त्रिपरिषद्मा दलित समुदायलाई समेटिने बताएका थिए । 

विपिनलाई नेपाल फर्काउन परराष्ट्रमन्त्रीलाई माओवादीको ज्ञापन पत्र

काठमाडौं। सुदूरपश्चिमको कञ्चनपुर घर भएका विपीन जोशीको रिहाइको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। असोज २० गतदेखि बेपत्ता जोशीको सकुशल उद्धारको लागि नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम पार्टी र संसदीय दलले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको हो। जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय कृषि तथा विज्ञान संकायमार्फत् इजरायल पुगेका थिए। प्यालेस्टाइनको हमास समूहले नेपाली विद्यार्थीहरू बसेको बङ्करभित्रै पसेर आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी मारिएका थिए। त्यस क्रममा बेपत्ता भएका जोशीको अवस्था अझै अज्ञात रहेको छ। उनलाई हमास समूहले नियन्त्रण दिएको पुष्टि भएको थियो। तर, अहिलेसम्म उनलाई रिहा नगरेको र हालको अवस्थाबारे कुनै जानकारी आएको छैन। माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल, संसदीय दलका नेता मानबहादुर धामी र पार्टी प्रदेश अध्यक्ष हरिराम चौधरीले हस्ताक्षर गरेर तत्काल जोशीको रिहाइको लागि पहल गर्न आग्रह गरेका हुन् । हमासले नियन्त्रणमा लिएका व्यक्तिहरू रिहा भइरहेको भन्दै विज्ञप्तिमा तत्काल जोशीको सकुशल रिहाइको लागि पहल गर्न आग्रह गरिएको छ।

सभामुख र राष्ट्रियसभा अध्यक्षबिच भेटवार्ता

काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबिच भेटवार्ता भएको छ ।  दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएपछि सभामुखसँग बिहीबार पहिलो पटक औपचारिक भेट हो ।  संसद् सचिवालय सिंहदरवारमा भएको भेवार्तामा अध्यक्ष दाहाललाई सभामुख घिमिरे बधाई दिएका थिए ।  दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका हुन् ।

सूर्यदर्शन सहकारीपीडितले सभापति खतिवडालाई बुझाएको ज्ञापनपत्रमा के छ ?

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी पीडितले राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र बुझाएका छन्। बिहीबार सूर्यदर्शन बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठलगायतले सभापति खतिवडालाई ज्ञापनपत्र बुझाएका हुन् ।  ज्ञापनपत्रमा उक्त सहकारीले १८ हजार ७०० बचतकर्ताको लगभग १४० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने संघर्ष समितिको माग छ । विगत दुई वर्षयता कसैले पनि बचत फिर्ता पाउन नसकेको उनीहरूले बताएका छन् । रकम फिर्ता नपाएपछि कानुनी प्रक्रियामा गएको आठ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक गितेन्द्रबाबु (जीबी)राई पक्राउ नपरेको उनीहरूले उल्लेख गरेका छन् । उनीहरूले राईलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् । सहकारीको पैसा गोर्खा मिडिया कम्पनीअन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा ३० करोड रुपैयाँ लगानी गरिएको देखिएको उनीहरूले बताएका छन् । यस विषयमा आर्थिक, नैतिक र व्यावहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्ने व्यक्तिहरू मौन बनेको भन्दै उनीहरूले आफूहरूले न्याय पाउनुपर्ने माग गरेका छन् । १९ विरुद्ध किटानी जाहेरी दिइए पनि हालसम्म १४ जना पक्राउ पर्न नसकेका उनीहरूले बताए । गएको माघ २२ गते पूरक जाहेरीमार्फत हालका उपप्रधान एवं गृहमन्त्री तथा तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक रवि लामिछानेमाथि पनि उजुरी दिइएको थियो । तर, छानबिन नगरिएको बताइएको छ। सूर्यदर्शन सहकारीमा लामिछानेको खाता नं. १०३९०००६६७५७ रहेको बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । उक्त निवेदन बुझ्दै समितिका सभापति खतिवडाले राज्यले पीडितको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले सरकारले पीडितका पक्षमा न्याय गर्ने विश्वास पनि व्यक्त गरे । उनले गृहमन्त्री लामिछानेले कुनै समय सहकारीपीडितको समस्या राज्यले समाधान गर्नुपर्ने भनेर बोलेको स्मरण गरे । आफैँ सरकारमा भएका बेलामा समस्या समाधान गरिदिए राम्रो हुने उनले उल्लेख गरे । “तपाईंहरूले प्रधानमन्त्रीलाई पनि भेट्नुभएको छ । पीडितहरूको समस्या समाधान गर्नुपर्छ । मैले सुनेको थिएँ, वर्तमान गृहमन्त्रीले पनि केही पहिला राज्यले नै भए पनि पीडितहरूको समस्या समाधान गर्छौँ भनेर काहीँ बोलेको सुनेको थिएँ,” उनले भने, “राज्यको संयन्त्रमा उहाँ हुनुहुन्छ, त्यसरी समाधान गरिदिनुभयो भने राम्रो भयो । हामीले पनि सरकारलाई आग्रह गर्नुपर्छ । हामीलाई विश्वास छ, जुनसुकै सरकार भए पनि पीडितको पक्षमा न्याय गर्छ भन्ने विश्वास लिएका छौँ । यी कुराहरू समाधान गर्न सरकारले लागोस् ।” उनीहरुको प्रश्न रहेको छ, “जीबी राई भनिने गितेन्द्र बाबु राईको समूहले नेपालको विभिन्न स्थानमा सञ्चालन गरेको सहकारीले आज लाखौँ बचतकर्तालाई पीडित बनाएको छ । यिनै समूहले लगानी गरेका विभिन्न मिडिया कम्पनीदेखि नेटवर्किङ कम्पनी आज बन्द हुन पुगेका छन् । यसरी हजारौँ लाखौँ जनताको बचत रकम जुन हिसाबमा यिनीहरुको समूहले जुन क्षेत्रमा लगानी र भोगचलन गरे त्यो क्षेत्रमा लगानी गर्न पाउने कुरा यो राज्यव्यवस्थाको कानुनमा उल्लेखित छैन । गोर्खा मिडिया कम्पनी अन्तगर्त ग्यालेक्सी टेलिभिजन जुन वर्तमान अवस्थामा बन्द छ । त्यस टेलिभिजनमा हाम्रो तिसौँ करोड लगानी भएको देखिन्छ । जस जसले यस विषयमा आर्थिक, नैतिक र व्यवहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्ने हो ति सबैजना मौन छन् । कोही कारागारको बन्द कोठामा मौन छन् भने कोही अझैसम्म हाम्रो प्रहरी प्रशासनको पहुँचदेखि धेरै टाढा छन् । आज लाखौँ जनताको घरमा चुल्हो बलेको छैन । छोराछोरीको शुल्क तिर्न नसक्दा विद्यालय जान र परीक्षाबाट बञ्चित हुनु परेको छ । धेरै परिवारका छोराछोरीले बाध्यताले विद्यालय नै परिवर्तन गर्नुपरेको छ । बिरामी हुँदा उपचार र औषधीको लागि पैसा नहुँदा कैयन बचतकर्ता मरिसके । परिवारमा कलह र झगडाले कैयन सम्बन्ध विच्छेद भइसके ।” सभापति खतिवडाले सो निवेदनउपर उपयुक्त समयमा समितिमा छलफल गराएर समस्या समाधानका निम्ति पहल गर्न सरकारलाई आग्रह गरिने पनि बताए ।