नवलपराँसीमा टिप्परको ठक्करबाट एकको मृत्यु, एकजना घाइते

नवलरासी । पश्चिम नवलपरासीको सुनवलमा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल –४ को कृष्ण मन्दिर अगाडि लु ३१ प ७५३१ नम्बरको मोटरसाइकललाई लु २ ख ३५४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका १८ वर्षका दुर्योधन यादवको मृत्यु भएको छ । मोटरसाइकल चालक रमानन्द महरा चमार घाइते भएका छन् । पर्साको छपहरा गाउँपालिका घर भएका दुवै जना सुनवलमा रहेको सर्वोत्तम सिमेन्ट उद्योगमा काम गर्देआएका थिए । 

दुर्घटनामा गम्भीर घाइते भएका यादवको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिएर फरार भएको टिप्पर र चालक सुनवल –१ बस्ने धुव्र सुनारलाई प्रहरीले दिउँसो सुनवल बजारमा रहेको बिएण्डबि ग्यारेजबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डिएसपी) विरदत्त पन्तले जानकारी दिए । 

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ६५ पैसा र बिक्रीदर १४४ रुपियाँ २५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६७ रुपियाँ १४ पैसा र बिक्रीदर १६७ रुपियाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपियाँ २० पैसा र बिक्रीदर १९२ रुपियाँ, स्विस फ्र्याङ्क एकको खरिददर १७८ रुपियाँ ४४ पैसा र बिक्रीदर १७९ रुपियाँ १८ पैसा कायम गरिएको छ । यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपियाँ ४६ पैसा र बिक्रीदर ९५ रुपियाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०३ रुपियाँ ७१ पैसा र बिक्रीदर १०४ रुपियाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपियाँ ८२ पैसा र बिक्रीदर १११ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपियाँ १७ पैसा र बिक्रीदर नौ रुपियाँ २० पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपियाँ ३४ पैसा र बिक्रीदर २० रुपियाँ ४२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ २८ पैसा र बिक्रीदर ३८ रुपियाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ४२ पैसा र बिक्रीदर ३९ रुपियाँ ५८ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५१ पैसा र बिक्रीदर चार रुपियाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ११ पैसा र बिक्रीदर ३९ रुपियाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ८८ पैसा र बिक्रीदर ३५ रुपियाँ ०३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ७७ पैसा र बिक्रीदर नौ रुपियाँ ८२ पैसा कायम भएको छ । यसैगरी स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ३९ पैसा र बिक्रीदर १५ रुपियाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ३८ पैसा र बिक्रीदर २२ रुपियाँ ४७ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १८ रुपियाँ ४६ पैसा र बिक्रीदर १८ रुपियाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपियाँ ७६ पैसा र बिक्रीदर ४६९ रुपियाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपियाँ ०६ पैसा र बिक्रीदर ३८२ रुपियाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपियाँ १३ पैसा र बिक्रीदर ३७४ रुपियाँ ६९ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ । 

कार्बन व्यापारमा निजी क्षेत्र पनि

काठमाडौं । निजी क्षेत्रले गरेको कार्बन उत्सर्जन न्यूनीकरणलाई पनि कार्बन व्यापारमा समेट्ने गरी सरकारले कार्बन व्यापार नियमावली, २०८२ कार्यान्वयनमा ल्याएको छ । मङ्गलबार नेपाल राजपत्रमा प्रकाशित भएसँगै नियमावली कार्यान्वयनमा आएको हो । नियमावलीले विगतमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका परियोजना मात्र कार्बन व्यापारका लागि सूचीकृत हुने गरेकामा अब सबै  क्षेत्रलाई कार्बन व्यापारमा सूचीकृत गर्न सकिने भएको छ । मन्त्रीपरिषद्को मङ्सिर १५ गतेको बैठकले कार्बन व्यापारसम्बन्धी नियमावली अनुमोदन गरेको थियो । नियमावली स्वीकृत भएसँगै अब कार्बन सञ्चितमा योगदान पुर्‍याउने निजी क्षेत्र तथा गैरसरकारी संस्थाका परियोजनासमेत समेट्न सकिने भएको छ । नयाँ नियमावली आएसँगै नेपालले अब पेरिस सम्झौताको दफा ६ बमोजिम दुई देशबिच समझदारी गरेर वा खुला प्रतिस्पर्धा वा गैरबजारमुखी विधिबाट पनि कार्बन व्यापार गर्न पाइने भएको छ । कार्बन व्यापार सङ्घीय मात्र नभई प्रदेश तथा स्थानीय सरकारले पनि गर्न पाउने भएका छन् ।  नेपालमा कार्बन उत्सर्जन गर्ने गतिविधिलाई वातावरणमैत्री बनाउँदै कार्बन उत्सर्जन न्यूनीकरण र त्यो न्यूनीकरण गरिएको परिमाणलाई कार्बन उत्सर्जक मुलुकले गणना गर्न पाउने गरी बिक्री गर्ने कार्य कार्बन व्यापार हो । खास गरी औद्योगिक राष्ट्रहरूले कार्बन उत्सर्जन न्यूनीकरणको प्रतिबद्धता आफैँले पूरा गर्न ठुलो मूल्य चुकाउनुपर्ने भएपछि नेपाल जस्ता कार्बन उत्सर्जन न्यूनीकरण सम्भावी मुलुकमार्फत भएको न्यूनीकरणलाई खरिद गर्ने व्यवस्था सन् २००५ मा पारित क्योटो प्रोटोकलमा उल्लेख छ । पारित नियमावली अनुसार कार्बन व्यापारका लागि उपयुक्त आयोजना भएमा नेपाल सरकारमार्फत पनि गर्न सकिने भएको छ । कार्बनको मूल्य निर्धारण राष्ट्रसँग सम्झौता भएको भए सोही सम्झौतामा निर्धारित मूल्य अनुसार तथा दुईपक्षीय समझदारीका आधारमा पनि हुने तय भएको छ ।    वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालका अनुसार नियमावली पारित भएसँगै नेपालको जलविद्युत्, वनक्षेत्र, वैकल्पिक ऊर्जा, कृषिक्षेत्र जस्ता बृहत् क्षेत्रलाई अब कार्बन व्यापारमा समावेश गर्न सकिने भएको छ । “हामीले पहिलो पटक नियमावली ल्याएर कार्बन व्यापारलाई विदेशी मुद्रा आर्जनको स्रोत बनाउन सक्ने अवस्था आएको छ,” उनले भने, “अब यो विषयमा निजी क्षेत्र ऊर्जा उत्पादक गैरसरकारीलगायत सरोकारावालासँग  बसेर यसको प्रभावकारी कार्यान्वयन सिर्जना गर्ने छौँ ।” ढकालले अब अन्तर्राष्ट्रिय खरिदकर्तालाई पनि जानकारी गराउने तथा सहज वातावरण निर्माण गर्नुपर्ने आवश्यकता  रहेको औँल्याए । 

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा बिहीबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै छन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ । लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको हो । आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ । विजयी टोली उपाधिका लागि सुदूरपश्चिमसँग सामना गर्नेछ । फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ । 

एउटै गाउँबाट दुई करोडको तरुल उत्पादन

मोरङ । माटोअनुसार बाली छनोट गर्न सके सिँचाइ सुविधा कम भएका खेतबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण मोरङको सुन्दरहरैंचा नगरपालिका–७ र ८ का किसानले दिएका छन्। पछिल्ला तीन वर्षदेखि यहाँका किसान कन्दमूल (तरुल) को व्यावसायिक खेतीमा आकर्षित भएका छन्। पहिले केराखेती गर्दै आएका किसानलाई हात्तीले गरेको क्षति बढेपछि उनीहरू वैकल्पिक बाली खोज्दै तरुलतर्फ आकर्षित भए। अहिले राजमार्गको उत्तरी भेगका जमिनमा जताततै तरुल खेती देखिन्छ। स्थानीय अगुवा किसान खेमराज कट्टेलले तीन वर्षअघि एक बिघामा तरुल खेती गरेर परीक्षण थालेका थिए। पहिलो वर्षमै खर्च कटाएर करिब सवा लाख रुपैयाँ बचत भएपछि उनले दोस्रो वर्ष खेती थप्दै साढे तीन बिघामा विस्तार गरे। दोस्रो वर्ष पाँच लाख रुपैयाँ आम्दानी भएपछि कट्टेलले यस वर्ष सात बिघामा तरुल लगाएका छन्। “रुखो खेत, सिँचाइ कम। केरामा हात्तीले बाली पनि नष्ट गर्थ्यो, जोखिम पनि थियो। त्यसपछि तरुलतर्फ लागेँ,” उनले बताए। यस वर्ष उनले विगतको आम्दानी दोब्बर बनाउने लक्ष्य राखेका छन्। हाल सुन्दरहरैंचाको ७ र ८ वडाका किसानले कूल १२५ बिघा क्षेत्रमा तरुलको व्यावसायिक खेती गरिरहेका छन्। बजारमा तरुल प्रतिकिलो १०० रुपैयाँमा बिक्री हुँदै आए पनि किसानले बारीबाट ४५–५० रुपैयाँमा बिक्री गर्छन्। कट्टेलका अनुसार आफूले करिब २३ लाख रुपैयाँको तरुल बेच्ने अनुमान छ। “सबै किसानको हिसाब गर्दा यस वर्ष मात्रै गाउँबाट करिब दुई करोड रुपैयाँभन्दा बढीको तरुल बजार जाने आँकडा छ,” उनले बताए। तरुल खेतीका लागि प्रति बिघा झण्डै ६ सय किलो बिउ आवश्यक पर्छ। घन्सी जातका घाँसे बिरुवा बीच–बीचमा रोपेर लहरा झाँगिन दिने चलन छ। एक पटक सामान्य गोडमेल गरेपछि तरुल उत्पादन गर्न सकिन्छ। कट्टेलका अनुसार तरुल खेती सुरु भएपछि स्थानीय कृषि मजदुरलाई पनि निरन्तर रोजगारी मिलेको छ। मौसमी भए पनि काम सुरु भएपछि दुई महिना लगातार चल्ने र आफूले २२ जना मजदुरलाई नियमित काम दिइरहेको उनले बताए। यहाँ उत्पादित तरुल मुख्यतः काठमाडौँमा खपत हुन्छ। हात्तीछाप जातको गुलाबी रङको, सजिलै खन्न सकिने भएकाले खेती गर्दा सहज हुने किसान देवीरमण खरेल बताउँछन्। केराखेतीमा हात्तीको आतंक र रोग बढेपछि उनले १२ बिघा जमिनमा तरुललाई विकल्पका रूपमा अपनाएका छन्। कट्टेल र खरेलले व्यावसायिक उत्पादन सुरु गरेपछि अहिले गाउँ नै ‘तरुलमय’ बनेको छ। राजु सिटौलाले ४ बिघामा, हेम उप्रेतीले डेढ बिघामा र शङ्कर उराँवले ६ बिघामा तरुल लगाएका छन्।

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति भएको छ । त्यसका लागि प्राथमिकताका साथ आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधार विकास गरी कार्यान्वयन गरिने सहमति भएको छ । प्रधानमन्त्री सुशीला कार्की र जेनजी सहिद परिवारका तर्फबाट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सहमतिमा योग्य नेपाली नागरिक मतदाताका रूपमा नाम दर्ता गर्ने अभियानलाई सहज र प्रभावकारी बनाइनेसमेत उल्लेख छ । बेजिल्ला तथा अन्तरनिर्वाचन क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने मतदातालाई निजहरू रहेकै जिल्लाबाट आसन्न निर्वाचनमा नै मतदान गर्ने व्यवस्था गरिने पनि सहमतिपत्रमा उल्लेख छ । संसारका विभिन्न देशमा औपचारिक तथा अनौपचारिक रूपमा श्रम गर्ने प्रवासी नेपाली नागरिक, पेसा व्यवसायमा रहेका र प्रवासी नेपाली विद्यार्थीको मताधिकार सुनिश्चित गर्न नीतिगत, कानुनी तथा संस्थागत पूर्वाधार विकासको प्रक्रिया अगाडि बढाइने पनि सहमति भएको छ । यस्तै, निर्वाचनमा मनोनयन दर्ता गर्दाकै बखत उम्मेदवारले आफ्नो सम्पत्ति विवरणसमेत बुझाउनुपर्नेलगायत राजनीतिक दल र उम्मेदवारको खर्च पारदर्शी बनाउन कानुनमा संशोधन गरिने छ । सबै राजनीतिक दलका सम्पत्ति तथा आर्थिक स्रोतको विवरण अनिवार्य रूपमा मागी सोउपर छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरी दोषीउपर कारबाही गर्न आवश्यक कानुनी प्रबन्ध गरिने पनि सहमति भएको छ । निर्वाचन प्रणाली सुधारका लागि प्रचलित कानुनमा तत्काल संशोधन गरिने, मतपत्रमा ‘माथिका कसैलाई मतदान गर्दिनँ’ विकल्प राखिने सम्झौतामा उल्लेख छ । राजनीतिक दलभित्र अनिवार्य रूपमा प्राथमिक प्रतिस्पर्धा (प्राइमरी इलेक्सन) गरी छनोट भएको व्यक्तिमात्र निर्वाचनका लागि उम्मेदवार हुन पाउने कानुनी व्यवस्था गरिने पनि सम्झौता भएको छ । निर्वाचन आयोगद्वारा तयार गरिने मतपत्रमा दल/उम्मेदवारको क्रमाङ्क गोला प्रथाबाट निर्धारण गरिनेछ । राजनीतिक दलमा अध्यक्ष वा सभापति अधिकतम दुई कार्यकालका लागि मात्र हुनसक्ने प्रबन्ध गरिने भएको छ । निर्वाचन प्रयोजनका लागि मात्र हुने अस्वस्थ गठबन्धन नियन्त्रणका लागि कानुनी प्रबन्ध गरिने जनाइएको छ । आगामी निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीमा समेत उम्मेदवार चयन गर्दा समानुपातिक समावेशी सिद्धान्तको पालना गर्न कानुनी प्रबन्ध गरिने सम्झौतामा जनाइएको छ ।

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके। यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ सञ्चालन भइरहेको मेलामा हिन्दु र मुस्लिम समुदायका हजारौँ मानिसले एकसाथ मनोकाङ्क्षा पूरा होस् भनी वर माग्ने गरेका छन् । डुडुवा गाउँपालिकामा हिन्दु र मुस्लिम धर्मावलम्बीको मिश्रित बसोबास छ । धार्मिक आस्था फरक भए पनि दुवै समुदायका मानिसले मजारमा सँगसँगै पूजाआजा गर्नु र मनोकाङ्क्षासहित वर माग्नु यहाँको विशेष परम्परा बनेको गाउँपालिका–५ का वडाध्यक्ष झङ्कबहादुर थापाले बताए । “कम्मर शाह मजारमा हिन्दु–मुस्लिमलगायत सबै धर्म र जातजातिका मानिसले आआफ्नो मनोकाङ्क्षा राख्ने गरेका छन् । यो मेला धार्मिक सद्भावको नमुना बन्दै आएको छ”, उहाँले भने, “यहाँ धार्मिक र जातीयलगायत कुनै किसिमको भेदभाव छैन, संरक्षण समिति र व्यवस्थापन समितिमा सबै धर्म र जातजातिका स्थानीयको प्रतिनिधित्व छ ।” मेलामा सबै धर्ममा आस्था राख्नेले सहभागिता जनाउने भएकाले यसको ऐतिहासिक महत्त्व रहेको छ । मजार ब्यवस्थापन समितिका अध्यक्ष सगिर खाँले हिन्दु, मुस्लिमलगायत सबै धर्ममा आस्था राख्नेले बाबाको मजारमा पुगेर आफ्नो मनोकाङ्क्षा राख्ने गरेको बताए । “कम्मर बाबा सिद्धिप्राप्त मुस्लिम बाबा हुनुहुन्छ । उहाँको सम्झनामा बनाइएको मजारमा आशीर्वाद मागेमा प्राप्त हुन्छ भन्ने जनविश्वास छ । त्यसैले हिन्दु, मुस्लिमलगायत सबै धर्मावलम्बीहरूको मेलामा उत्तिकै भीड छ”, उनले भने ।  कम्मर शाह बाबाले जीवित हुँदासम्म सबै मानव जातिको कल्याणका लागि काम गरेको र कुनै धर्म तथा सम्प्रदाय विशेष नहेरेका कारण वर्षौँदेखि सबैको साझा आस्थाको केन्द्र बन्दै आएको स्थानीय अगुवा शकील खानले बताए । जिल्लाका सबै धर्ममा आस्था राख्नेहरूले सँगसँगै सीमावर्ती भारतीय क्षेत्र बाबागञ्ज, नानपारा, श्रावस्तीबाट समेत भारतीय नागरिक मेला भर्न आउने गरेको स्थानीय अगुवा डम्बर बुढाथोकीले बताए । सामाजिक सद्भाव र आपसी एकताका लागि पनि मेला महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

माैसम पूर्वानुमान: कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद

दाङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड तुलसीपुरले यस वर्ष दाङको देउखुरी क्षेत्रका तीन पालिकाका २१२ जना किसानले उत्पादन गरेको पाँच हजार क्विन्टल धान खरिद गरेको छ ।  कार्यालय प्रमुख तुलमाया लोवाले दिएको जानकारीअनुसार लमही, गढवा र राप्ती गाउँपालिकाका किसानले उत्पादन गरेको धान खरिद गरिएको हो । उक्त धान रु एक करोड ४४ लाख ८९ हजार ८०० मा खरिद गरिएको उनले जानकारी दिए । गढवाबाट दुई हजार क्विन्टल, लमही र राप्ती गाउँपालिकाबाट एक हजार ५०० क्विन्टल धान खरिद गर्ने कार्यालय र पालिकाबिच भएको सहमतिअनुसार धान खरिद गरिएको कार्यालयले जनाएको छ । सरकारले निर्धारण गरेको धानको मूल्यअनुसार प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँका दरले मोटो धान किसानबाट खरिद गरिएको कार्यालयका सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिए । उनका अनुसार एक जना कृषकबाट अधिकतम ४० क्विन्टल धान खरिद गर्ने भनिए तापनि धेरै किसानलाई समेट्ने गरी १५ देखि २० क्विन्टल प्रतिकिसानका दरले धान खरिद गरिएको हो । गत वर्ष खाद्यले जिल्लाबाट आठ हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएको थियो । तर गत वर्ष लक्ष्यअनुसार धान खरिद हुन नसक्दा यस वर्ष केन्द्रबाट धान खरिदको कोटा घटेको छ । यसैबिच, दाङमा यस वर्ष एक लाख ८६ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिए ।

दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

बागलुङ । एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या एक वर्षमै २० हजार पुगेको छ ।   यहाँको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारस्थित दरबारको संरक्षणसँगै दरबार क्षेत्रलाई थप सौन्दर्य बनाएपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । दरबार संरक्षण अभियानमा लागिरहनुभएका मन्जेस बम मल्लका अनुसार दरबारको सौन्दर्यीकरण र यहाँ खाने तथा बासोबासको व्यवस्थापनसमेत भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।  द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका सन्तान विस्थापित भएपछि जीर्ण भएको दरबार हाल पुरानै स्वरूपमा फर्काइएको छ । दरबारका झ्यालढोका पुरानै स्वरूपमा बनाइएका छन् भने रङरोगन र मर्मतपछि  चिटिक्क बनाइएको छ । दरबार क्षेत्रमै तीन वर्षदेखि रेष्टुराँ सञ्चालनमा ल्याइएको छ । दरबार क्षेत्रमा रहेको पुरानो घर र गोठलाई मौलिक रूपमा पुनर्निर्माण गरी रेष्टुराँ सञ्चालनमा ल्याइएको हो । गलकोट राज्य सञ्चालन भएको जीवित इतिहास रहेको दरबार संरक्षणसँगै पर्यटक आर्कषण गर्ने प्रमुख माध्यम बनेको तत्कालीन राजा भरतबम मल्लका नाति मञ्जेश बम मल्लले बताए । उनले पुर्खाको नासोलाई संरक्षण गरेर पर्यटक लोभ्याउने नीतिअनुसार काम गर्दा गत वर्ष मात्र २० हजारले दरबार अवलोकन गरेको बताए । दरबारमा तस्बिर खिच्न, भिडियो बनाउन, अध्ययन तथा अवलोकन गर्न आउनेको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको मल्लले जानकारी दिए। मल्लसहितका चार युवाले रु ५० लाख लगानीमा यहाँ रेष्टुराँ सञ्चालनमा ल्याएका छन् । दरबार परिसरमा माछापोखरी बनाएर विभिन्न प्रजातिका माछा पाल्न थालिएको छ । उक्त गलकोट दरबार र वरपरको जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरतबमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधव मल्ललाई दिइएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्ल द्वन्द्वको समयमा सोही दरबारमै मारिएका थिए । विसं २०५९ वैशाखमा भएको हत्यापछि मल्ल परिवार त्यहाँबाट विस्थापित भएर काठमाडौँमा बस्न थालेपछि दरबार जीर्ण बनेको थियो । पछिल्लो समय नाति मन्जेशले दरबारको संरक्षण गरेपछि पर्यटकहरू आउने क्रम क्रमशः बढिरहेको छ ।

कस्ताे हाेला बुधबार देशकाे माैसम ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन । बुधबार दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने बताएको छ । काठमाडौँ उपत्यका आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बिच रहने विभागको पूर्वानुमान छ । 

महाेत्तरीमा पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबिच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण मन्त्रालयहुँदै सम्पूर्ण प्रक्रिया पूरा भएपछि रुख काटिने आदेश प्राप्त भएको हो । प्रमुख दासले यस आयोजनाअन्तर्गत पूर्वी खण्डले निर्माण कार्य गर्ने महोत्तरी, धनुषा र सर्लाही जिल्लामा जम्मा ११ हजार ५७७ रुख कटान गर्ने आदेश प्राप्त भएको बताए । सोअन्तर्गत सर्लाहीमा तीन हजार ६७४ र धनुषामा एक हजार ८७६ रुख कटान गर्ने आदेश भएको प्रमुख दासले बताउनुभयो । उहाँका अनुसार सडक विस्तारका क्रममा सहरी तथा बजार क्षेत्रमा ६ लेनसहित ३१ मिटर चौडाइ र अन्य क्षेत्रमा चार लेनसहित १८ मिटर चौडाइ कायम गरिने भएको छ । सडक विस्तारका लागि सबैभन्दा बढी सालका रुख कटान गरिने भएका छन् । सडक विस्तारमा बिजुलीका खम्बा सार्ने र खानेपानीको पाइप बिछ्याउने कामसमेत चुनौतीका रूपमा रहेको आयोजना प्रमुख दासले बताए । धनुषा र सर्लाहीमा रुख कटानको काम सुरु भइसकेको र महोत्तरीमा पनि चाँडै उक्त कार्य आरम्भ हुने उनले बताए ।

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छ: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहयोगको अपेक्षा गरेका छन् । उनले भनेका छन्, “युवापुस्ताको आन्दोलनपश्चात् देशमा विकसित राजनीतिक परिस्थितिलाई सम्पूर्ण नेपाली जनताका साथै अन्तर्राष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको छ, देशको वर्तमान परिस्थितिलाई सामान्यीकरण गर्दै लैजान सरकार, राजनीतिक दल, नागरिक समाज, युवापुस्ताका अभियन्ता र सर्वसाधारण नागरिक सबैको संयोजनकारी र सकारात्मक भूमिका हुनुपर्छ ।” ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै विश्वमा न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्न राष्ट्रहरूको ध्यान केन्द्रित भइरहेका सन्दर्भमा नेपालले पनि संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अझ बढी अग्रसरता लिनुपर्ने उल्लेख गरेका छन् । सन्देशमा भनिएको छ, “मानवले मानवजस्तो भएर बाँच्न पाउने जीवनको आधार मानव अधिकार भएकाले आज विश्वमा मानव अधिकार दिवसलाई उच्च महत्वका साथ मनाइँदैछ, मानव अधिकार जन्मसिद्ध हक भएकाले मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेख भएका विषय नेपालको संविधानले अवलम्बन गर्दै स्वतन्त्रता, समानता र न्यायलाई मजबुत बनाउन योगदान पुर्‍याएको छ ।” नेपाल मानव अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पक्ष राष्ट्रसमेत भएकाले मानव अधिकारको सम्मान, संरक्षण, संवर्द्धन र परिपूर्तिसम्बन्धी दायित्वप्रति सदैव प्रतिबद्ध एवं संवेदनशील रहिआएको उल्लेख गर्दै सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सामाजिक सङ्घ, संस्था, सञ्चारमाध्यम तथा निजीक्षेत्रको सक्रियताले कमजोर तथा जोखिममा रहेका समूहको हकअधिकार, स्वतन्त्रता र न्यायको अनुभूति गराउन आवश्यक थप काम गर्नसकेमा मानव अधिकार दिवसले थप सार्थकता पाउने विश्वास पनि व्यक्त गर्नुभएको छ । व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानव अधिकारको महत्त्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार भएको राष्ट्रपति पौडेलको भनाइ छ ।

उदयपुरमा दोस्रो दनुवारी खाना–परिकार सांस्कृतिक उत्सव

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–८ स्थित बैरेनीचौरमा यस वर्ष राष्ट्रिय न्वागी (नेमान) पर्व तथा दोस्रो दनुवारी खाना–परिकार तथा सांस्कृतिक उत्सव तीन दिनसम्म भव्य रूपमा मनाइने भएको छ ।  दनुवार जागरण समिति, त्रियुगा नगर समिति र उत्सव मूल आयोजक समितिको संयुक्त आयोजनामा मंसिर २५ देखि २७ गतेसम्म हुने यस उत्सवका तयारी तीव्र रूपमा अघि बढाइएका छन् ।  मूल आयोजक समितिका संयोजक गुरुदेव दनुवारका अनुसार पहिलो दिन अर्थात् मंसिर २५ गते दनुवार समुदायको प्रमुख पर्व न्वागीलाई राष्ट्रिय स्तरमा औपचारिक रूपमा सार्वजनिक गरिनेछ । सामूहिक न्वागी पूजा, नयाँ अन्न अर्पण तथा पूर्वजप्रति सम्मान व्यक्त गर्ने परम्परागत विधिबाट उत्सवको शुभारम्भ गरिनेछ । यस अवसरमा त्रियुगा नगरपालिकाले स्थानीय विदा दिने निर्णयसमेत गरिसकेको छ । उत्सवको दोस्रो र तेस्रो दिन महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरद्वारा नगरस्तरीय खुला सांस्कृतिक नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति, बृहत् सांस्कृतिक मोटरसाइकल र्याली, ओपन–फेस्ट भिलेज वातावरण, जातीय झाँकी प्रदर्शन तथा दनुवारी परम्परागत खानेकुरा प्रदर्शनजस्ता आकर्षक कार्यक्रमहरू सञ्चालन हुँदैछन् । दनुवार समुदायको कला, संस्कृति, पहिरन, नृत्य र खानालाई राष्ट्रिय पहिचानमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको यस उत्सवलाई नेपालकै सांस्कृतिक विविधता, सामुदायिक सहअस्तित्व र एकताको सुन्दर प्रतीकका रूपमा सफल बनाउन आयोजक समिति प्रतिबद्ध रहेको छ ।  न्वागी पर्वलाई दनुवार समुदायले धर्म, संस्कृति तथा कृषि परम्परासँग जोडिएको पवित्र पर्व मान्दै आएको छ । यो पर्वले समुदायका पुराना चलन–रितिथिति संरक्षण तथा नयाँ पुस्तालाई परम्परा हस्तान्तरण गर्ने महत्वपूर्ण माध्यमको भूमिका खेल्दै आएको छ ।

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ। मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, विभिन्न राजनीतिक दलले शुभकामना सन्देश दिएका छन् । सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (युडीएचआर) को स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ । उक्त घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गरेको छ । नेपालमा यस दिवसले जनचेतना विस्तार, अधिकारको संरक्षण र न्यायपूर्ण समाज निर्माणमा थप ऊर्जा प्रदान गर्दै आएको छ । मंगलबार मात्रै मानव अधिकार रक्षकहरूको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र १९९८, नेपाल पक्षराष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धी, १९६६ मा प्रत्येक व्यक्तिको आफ्नो अधिकारका साथै अरूको अधिकारको लागि वकालत गर्न पाउने अधिकारको सुनिश्चितता गरिएको छ । नेपालको संविधानले विचार र अभिव्यक्तिको स्वतन्त्रता, स्वतन्त्रतापूर्वक भेला हुन पाउने स्वतन्त्रता र सङ्गठन खोल्न पाउने स्वतन्त्रताको अधिकारको सुनिश्चितता गरेको छ । नेपाल सरकारले मानव अधिकारकर्मीको सुरक्षा र संरक्षण गर्नेसम्बन्धी आदेश, २०७७ समेत जारी गरेको छ । यसै सन्दर्भमा सो दिवस मनाइएको हो ।

२०२५ सबैभन्दा ताताे वर्ष बन्ने

पेरिस । सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको तापमान सन् २०२३ सँग बराबरी हुने बाटोमा रहेको उक्त संस्थाले जनाएको हो ।  सन् २०२४ मा विश्वको तापक्रम पृथ्वीको तपक्रम रेकर्ड गर्न थालिएपछि पहिलो पटक उच्च विन्दुमा पुगेको थियो । ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’ को तथ्याङ्कले विश्वव्यापी तापक्रम पूर्व(औद्योगिक स्तरभन्दा १।५ डिग्री सेल्सियसले बढ्ने बाटोमा रहेको कुरा पुन: पुष्टि गर्दछ । यो सीमा सन् २०१५ को पेरिस सम्झौतामा सुरक्षित मानिएको थियो । सेवाको मासिक अपडेट अनुसार, जनवरी र नोभेम्बरको बिचमा औसत तापक्रम १.४८ डिग्री सेल्सियसले बढेका र रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बनेको छ । “सन् २०२३र२५ को तीन-वर्षे औसत तापक्रम पहिलो पटक १।५ डिग्री सेल्सियसभन्दा बढी हुने बाटोमा छ,’ कोपर्निकसकी जलवायु रणनीतिक प्रमुख सामन्था बर्गसले एक विज्ञप्ति जारी गरी जानकारी गराउनु भएको छ ।  “यी उपलब्धि अमूर्त छैनन् तर तिनीहरूले जलवायु परिवर्तनको तीव्र गतिलाई प्रतिबिम्बित गर्छन् । भविष्यमा बढ्दो तापक्रमलाई कम गर्ने एकमात्र तरिका हरितगृह ग्यास उत्सर्जनलाई द्रुतरूपमा घटाउनु हो,” बर्गसले भनिन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वले आगामी केही वर्षमा ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसभन्दा तल राख्न नसक्ने चेतावनी अक्टोबरमा दिएको थिए ।  कोपर्निकसका अनुसार, गत महिना औद्योगिक पूर्वको स्तरभन्दा १।५४ डिग्री सेल्सियसले बढी रहेर रेकर्डमा तेस्रो सबैभन्दा तातो नोभेम्बर बनेको थियो । गत महिना औसत सतहको हावाको तापक्रम १४.०२ डिग्री सेल्सियस पुगेको थियो । यस्तो क्रमिक वृद्धि सानो देखिन सक्छ तर यसले पहिले नै जलवायुलाई अस्थिर बनाइरहेको छ र आँधी, बाढी तथा अन्य विपदलाई अझ तीव्र र बारम्बार बनाइ रहेको वैज्ञानिकले चेतावनी दिएका छन् ।  अनुगमन कर्ताले भनेका छन्, “यो महिना दक्षिणपूर्वी एसियामा उष्णकटिबन्धीय चक्रवातसहितका धेरै चरम मौसमी घटनाका लागि चिनिएको थियो । यसले व्यापक, विनाशकारी बाढी र जनधनको क्षति गराएको थियो ।”  जीवाश्म इन्धन नियन्त्रणको लडाई नोभेम्बरमा फिलिपिन्स लगातार आँधीबेहरीको चपेटामा पर्यो जसमा करिब २६० जनाको मृत्यु भयो भने इन्डोनेसिया, मलेसिया र थाइल्यान्डमा पनि ठुलो बाढी आएको थियो । सेप्टेम्बरदेखि नोभेम्बरसम्म, उत्तरी गोलार्धको शरद ऋतुको लागि विश्वव्यापी औसत तापक्रम पनि सन् २०२३ र सन् २०२४ पछि रेकर्डमा तेस्रो सबैभन्दा उच्च रहेको थियो । “समग्रमा विश्वभर र खास गरी उत्तरी क्यानडा, आर्कटिक महासागरमाथि र अन्टार्कटिका भरि तापक्रम सामान्यतया औसतभन्दा माथि देखिएको मौसम अनुगमनकारी उक्त संस्थाले जनाएको छ । यद्यपि, उत्तरपूर्वी रुसमा उल्लेखनीय चिसोको विसङ्गति देखिएको थियो । सन् १९४० तथ्याङ्क रेकर्ड गर्न थालेको कोपर्निकसले जमिन र समुद्र दुवैमा अर्बौ भू-उपग्रह र मौसमका मापन प्रयोग गरेर तथ्याङ्कको रेकर्ड लिन्छ । खास गरी औद्योगिक क्रान्तिदेखि ठुलो मात्रामा जलाइएको जीवाश्म इन्धनबाट निस्कने ग्यास र मानवजातिले उत्सर्जन गरेका पृथ्वीलाई तताउने ग्यासले विश्वव्यापी तापक्रमलाई अझ बढाएको छ । सन् २०२३ मा दुबईमा भएको संयुक्त राष्ट्र सङ्घको जलवायु शिखर सम्मेलन ९ कोप-२८ ०मा राष्ट्रले जीवाश्म इन्धनबाट रूपान्तरण गर्न सहमति जनाएका थिए तर त्यसयता यी महत्वाकाङ्क्षा रोकिएका छन् । ब्राजिलको बेलेममा भएको कोप-३० सम्मेलन गत महिना समाप्त भयो, जसमा जीवाश्म इन्धन उत्पादन गर्ने देशको आपत्तिपछि तेल, ग्यास र कोइलालाई क्रमश: हटाउने नयाँ, स्पष्ट आह्वानबाट बच्ने सम्झौता भएको थियो ।