आज तराईमा होली पर्व मनाइँदै

काठमाडौं। फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एक आपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर  मनाइँदै छ । आइतबार हिमाली एवं पहाडी जिल्लाहरूमा सो पर्व  मनाइयो ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रूपमा  मनाउने प्रचलन रही आएको छ । 

होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ९२ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौंबाट ९२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जबर्जस्ती रंग लगाइदिने, अमर्यादित गतिविधि गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीका डीएसपी दिपेश बस्यालले जानकारी दिए । उनका अनुसार २०३ मोटरसाइकल नियन्त्रणमा लिइएको छ । होलीलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।

होलीमा ट्राफिक नियम उल्लंघन गर्ने ७८४ सवारी साधन कारबाहीमा

काठमाडौं ।काठमाडौं उपत्यकामा होलीको दिन ट्राफिक नियम उल्लंघन गर्ने ७८४ सवारी साधन कारबाहीमा परेका छन्। तीमध्ये १५ वटा चारपांग्रे सवारी साधन हुन् भने बाँकी दुई पांग्रे हुन् । उपत्यका ट्राफिक एसएसपी जीवन श्रेष्ठका अनुसार आज ललितपुरको चापागाँउ र भक्तपुरको ठिमीमा दुर्घटना भएको छ ।  ललितपुर दुर्घटनामा दुईजना गम्भीर घाइते भएको श्रेष्ठले बताए । भक्तपुरका घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

एमाले पार्टी कार्यालयमा ह्याप्पी होली !

काठमाडौं । नेकपा(एमाले)का नेताहरुले होली पर्व मनाएका छन् ।  सचिवालय बैठकअघि आइतबार मध्याह्न च्यासलमा रङ लगाएर होली पर्वको शुभकामना आदानप्रदान गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई रङ लगाइदिएका थिए ।   नेकपा(एमाले)को सचिवालय बैठकअघि आइतबार मध्याह्न च्यासलमा रङ लगाएर होली पर्वको शुभकामना आदानप्रदान गर्दै नेताहरू ।  तस्बिरहरू: केपी शर्मा ओलीको सचिवालय ।

एमालेले बझाङ प्रदेशसभामा दमन भण्डारीलाई उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एमालेले बझाङको उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेबाट इलाम २ मा सुहाङ नेम्वाङ उम्मेदवार

काठमाडौं । इलामको क्षेत्र नम्बर २ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको हो । सुवास नेम्वाङको भदौ  २५ गते निधन भएपछि २०८१ बैशाख १५ गते त्यहाँ उपनिर्वाचन हुन लागेको छ । सुहाङ, ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुहाङ एमाले कानुन विभाग सदस्य छन्। एमाले इलामले कोशी प्रदेश कमिटीमा उम्मेदवारका ६ जना आकांक्षीको नाम पठाएको थियो। ती नाम केन्द्रमा आएपछि सुहाङलाई उम्मेदवार बनाइएको हो।   पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ। यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगको छ। बझाङ १ को १ मा भने एमालेबाट ३ जना आकांक्षी थिए। बझाङ क्षेत्र नम्बर १ को (१) मा २०७९ को चुनावमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। दुर्घटनामा उनको निधन भएपछि यो क्षेत्र रिक्त छ।  यस्तै सचिवालय बैठकले ऐन महरलाई पुन: केन्द्रीय सदस्यको जिम्मेवारीमा फर्काउने निर्णय पनि गरेको छ।

करेन्ट लागेर एक जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारीमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ ।  करेन्ट लागेर ५२ वर्षीय स्थानीय हर्कबहादुर थापाको मृत्यु भएको हो ।  अर्जुनचौपारी गाउँपालिका– ६ भेडाबारीस्थित झाक्रिस्थानमा लत्रिएको बिजुलीको तारमाथि घोप्टो परेको अवस्थामा थापा मृत भेटिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।  घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मस्को आक्रमणमा संलग्न चार बन्दुकधारी पक्राउ, यस्तो छ पुटिनको प्रतिक्रिया

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको एक कन्सर्ट हलमा घातक हमला गर्ने चार जना बन्दुकधारीलाई पक्राउ गरिएको बताएका छन् । कन्सर्ट हलमा आक्रमणकारीहरूले अन्धाधुन्ध गोली चलाउँदा र त्यसपछि आगजनी गर्दा कम्तीमा १३३ जनाको मृत्यु हुनुका साथै १४० भन्दा बढी घाइते भएका थिए । सो घटनामा संलग्न ११ जनालाई हिरासतमा लिएको र चार बन्दुकधारीहरूलाई युक्रेनतर्फ जाँदै गर्दा पक्राउ गरिएको रुसी अधिकारीहरूले बताए। इस्लामिक स्टेट (आईएस) समूहले आक्रमणको पछाडि आफ्नो हात रहेको बताएको छ ।शनिवार अमाक, टेलिग्राम मार्फत आईएस च्यानलले मुखौटा लगाएका चार जना व्यक्तिहरूको तस्बिर पोस्ट गरेको थियो । उक्त च्यानलले आक्रमणमा उनीहरू संलग्न रहेको दाबी गरेको छ।तर रुसले अहिलेसम्म आईएसको दाबीमा कुनै प्रतिक्रिया दिएको छैन ।  शुक्रबार स्थानीय समय अनुसार करिब ८ बजे आक्रमण भएको थियो । सो समयमा रक कन्सर्टको लागि त्यहाँ ६,२०० जना जम्मा भएका थिए। घटनालाई लिएर रुसी पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भनाभन भएको छ ।रुसी पुटिनले रूसमा लगभग २० वर्षको सबैभन्दा ठुलो घातक एंव बर्बर आतंकवादी आक्रमण गरी आक्रमणकारीहरू युक्रेनमा भाग्ने प्रयास गरेको दोह्याएका छन् ।भने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति पुटिन आक्रमणका कारण पिडामा रहेका नागरिकको सेवामा भन्दा घटनामा कसरी युक्रेनलाई जोड्न सकिन्छ भनेर लागेको आरोप लगाएका छन् । आक्रमणबाट निधन हुनेहरुको शोकमा राष्ट्रपति पुटिनले आइतबारलाई राष्ट्रिय शोकको दिन घोषणा गरेका छन् र रसियाभर यस हप्ताका कार्यक्रमहरू रद्द गरिएको छ।

बसको ठक्करबाट २ को मृत्यु भएपछि दाङमा राजमार्ग अवरुद्ध

दाङ । दाङ देउखुरीको राजपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयवासीले सडक अवरुद्ध पारेका छन् । पीडित परिवारलाई राहत र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन गर्दै राजमार्ग अबरुद्व पारेका हुन् । हातमा लाठी बोकेका स्थानीयले सडकमा टायर बाल्दै प्रदर्शन गरेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ८ जहरेचोकमा स्थानीयको अवरोधका कारण सवारी साधन बन्द छन् । राजमार्ग खुलाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।  शनिबार साँझ हुलाकी राजमार्गअन्तर्गत राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा र नौसरा बीचमा रहेको कोरिया खोला पुल नजिक रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार राजपुर गाउँपालिका–५ नौसरा बस्ने २४ वर्षका प्रमोद यादव र २४ वर्षकै प्रदिप यादवको मृत्यु भएको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ ।

कमेडी च्याम्पियनका निर्देशक भण्डारी रिहा

काठमाडौं । मदिरा सेवन गरी कार चलाएर दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका ‘कमेडी च्याम्पियन’ का निर्देशक विशाल भण्डारी रिहा भएका छन् । टेलिभिजन रियालिटी शो ‘कमेटी च्याम्पियन’ का निर्देशक भण्डारी शनिबार साँझ घाइतेका परिवारसँग कागज गराएपछि हाजिरी जमानीमा हिरासतमुक्त भएका हुन् ।  जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले घाइतेका परिवारसँग राखेर छलफल गरी सम्पूर्ण उपचार खर्च बेहोर्ने गरी कागज भएपछि भण्डारी हाजिर जमानीमा छुटेको जानकारी दिए ।  दुर्घटनामा कारमा सवार कमेडियन सुशान्त बस्याल गम्भीर घाइते भएका छन् । उनको टाउकाको अपरेसन गरिएको र अहिले पनि आईसीयुमै रहेका छन् । एसपी विष्टले दुर्घटनाका घाइतेको अवस्था सुधारोन्मुख देखिएकाले छाडिएको र भोलि तलमाथि भएको अवस्थामा सवारी ज्यानको मुद्दा समेत चल्न सक्ने बताए । बिहीबार निर्देशक भण्डारीले चलाएको बा १ २६ ३५९ नम्बरको कार नगरकोटबाट फर्किंदै गर्दा भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो ।  कारमा निर्देशक भण्डारीसँगै पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई सवार रहेकोमा बाँकी सबैको अवस्था सामान्य भएर डिस्चार्ज भए पनि सुशान्तको अवस्था अझै गम्भीर रहेको छ । 

एमालेको सचिवालय बैठक बस्दै, उपनिर्वाचनको उम्मेदवारबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ। बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद बैठकको तयारी तथा वैशाख १५ गते हुने उपनिर्वाचनलगायतका विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। इलाम-२ को प्रतिनिधि सभा र बझाङ-१ को प्रदेश सभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुन लागेको छ ।इलाम-२ का लागि एमालेबाट ६ जनाको नाम सिफारिस भएर आएको छ भने बझाङ(१ मा तीन जनाको नाम सिफारिस छ। यी नामहरूमाथि आजको बैठकमा छलफल हुनेछ । यस्तै, नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भए पछिको परिस्थितिका बारेमा पनि बैठकमा छलफल हुने जनाइएको छ।

चाडपर्वमा हुने गलत प्रवृत्तिहरूलाई निरुत्साहित गरौं : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले परम्परागत तथा मौलिक चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व आफ्नो भएकाले चाडबाडका नाममा हुने गलत प्रवृत्तिहरूलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । फागु पूर्णिमा (होलीपर्व)का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, “पछिल्लो समय होलीमा विभिन्न खालका सामाजिक विकृति र विसंगति भित्र्याएको सार्वजनिक टिप्पणी हुने गरेको सन्दर्भमा म सबैलाई एकापसमा साथीहरू र परिवारसँग मात्र अनुशासित भएर रमाइलोसँग होली खेल्न प्रेरित गर्दछु ।” उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै होलीपर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गरेका छन् । । “होलीपर्वले आपसी वैमनस्य, असमझदारी बिर्सेर सुखी र समृद्ध समाज निर्माणको मार्गमा सबैलाई प्रेरणा प्रदान गरोस्”, शुभकामना सन्देशमा भनिएको छ । सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजमा होलीपर्वले खराब प्रवृत्तिमाथि असल र सत्यको विजय हुने सन्देश प्रवाह गर्नुका साथै हिमाल, पहाड र तराईमा फरक–फरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघुलन गर्दै आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग गरेको सन्देशमा उल्लेख छ । यस पर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एकसूत्रमा बाँध्दै आपसी सद्भाव, प्रेम र भाइचारा सम्बन्ध अभिवृद्धि गर्दै आएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होलीपर्वलाई रङहरूको पर्वका रूपमा मनाइन्छ । होलीमा असत्यमाथि सत्यको विजयको खुसीयालीमा हर्ष र उल्लासका साथ एकापसमा अबिर, रङ लगाउने चलन छ ।

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतामा योगदान पुर्‍याउछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली पर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउनेमा विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरे । उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् । “नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन्, “होलीपर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने हुँदा समस्त नेपालीबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास मैले लिएको छु ।” राष्ट्रपति पौडेलले हिमाली, पहाडी तथा भित्री मधेस, काठमाडौं उपत्यका तथा तराईका जिल्लामा विभिन्न रङ र अबिर खेल्दै खुसीयालीसाथ मनाउने यस पर्वको परम्पराबारे उल्लेख गर्दै होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन् । उनले यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्नेमा जोड दिएका छन् ।

हेर्नुहोस् आजको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत ११ गते आइतबार सन् २०२४ मार्च २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६२ पैसा र बिक्री दर १६८ रुपैयाँ ३७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो आजको विदेशी मुद्राको विनिमय दर 

आज होली, यस्तो रहनेछ दिनभरको मौसम

काठमाडौं । आज फागुन शुक्ल पूर्णिमा यस दिन मनाइने फागु अर्थात् होली पर्व हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ।भने भोलि तराईका विभिन्न ठाउमा मनाइने छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व फागुन शुक्ल पूर्णिमाका दिन (आइतबार) परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। आज तपाईहरु होली खेल्न बाहिर निस्कदै हुनुहुन्छ भने मौसमबारे जानकारी राखेर निस्कनु उत्तम हुन्छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थान तथा मधेश प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राती भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सभ्य र मर्यादित भएर होली खेल्न केपी ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभ्य र मर्यादित भएर होली खेल्न आग्रह गरेका छन्। शनिबार एमाले मधेश सम्पर्क कमिटीको होली विशेष कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले रंगहरूको पर्व होलीलाई उच्छृङखल गतिविधिबिना सभ्य भएर मनाउन आग्रह गरेका हुन्। अध्यक्ष ओलीले होली मनाउँदा अरुको स्वतन्त्रतामाथि खलल नपर्नेगरी आफ्नो स्वतन्त्रता प्रयोग गर्नुपर्ने उल्लेख गरे। 'होली खेल्दा विचार गरेर खेल्नुपर्ने हुन्छ। अरुमाथि आघात पुर्‍याउनु हुँदैन। सामाजिक मित्रतामाथि ध्यान दिनुपर्छ। बलजफ्ती रंग लगाउनुहुँदैन। त्यहँ ठूलो अप्रियता हुनसक्छ। अरुको स्वतन्त्रतामाथि खलल नपर्ने गरी आफ्नो स्वतन्त्रता प्रयोग गर्नुपर्छ। रंग दल्दिँदैमा रमाइलो हुँदैन। दलिमाग्ने मान्छेले पनि रमाइलो मान्नुपर्छ। इच्छाविपरित रमाइलो हुँदैन। इच्छामा मात्रै रमाइलो हुन्छ,' उनले भने, 'लोला हाल्ने र गोला फाल्ने त गर्न नै हुँदैन।' होली सबै पर्वभन्दा पुरानो पर्व बताउँदै अध्यक्ष ओलीले यो पर्वमा रंग लगाउँदा वा गीत गाउँदा छुट्टै खालको उमंग मिल्ने बताए। हरेक चाडपर्वहरू समाज विकाससँग जोडिएको भन्दै देखापरेका विकृति विसंगतिहरूलाई हटाउँदै लैजानुपर्नेमा उनले जोड दिए।