कोरला सडक आयोजनामा आठ अर्ब खर्च
मुस्ताङ । यहाँको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमा रु आठ अर्ब २० करोड खर्च भएको छ । आव २०८१/८२ सम्म आयोजनाको प्रस्तावित लागत अनुमान रु १० अर्ब ५७ करोड रहेकामा आयोजनाले ८२ प्रतिशत बजेट खर्च गरेको हो ।
भारत र चीन जोड्ने राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत पर्वतको मालुढुङ्गादेखि नेपाल–चीन कोरलानाकासम्मको दुई सय दुई किलोमिटर सडकको ट्र्याक खुलाइसकिएको छ । विसं २०७३ साल मङ्सिर १२ गते मन्त्रिपरिषद्को निर्णयअनुसार कालीगण्डकी करिडोर (बेनी–जोमसाम–कोरला) सडकलाई छुट्टै आयोजनाका रूपमा स्थापना गरिएको थियो । जसअन्तर्गत आयोजनाले यहाँ २०७३/७४ सालदेखि निरन्तर पर्वत, म्याग्दी र मुस्ताङ खण्डमा दुई सय दुई किलोमिटर सडकको क्रमबद्ध रूपमा सडक स्तरोन्नति गरिरहेको छ । आयोजनाको पछिल्लो संशोधित सम्पन्न अवधि आव २०८२/८३ प्रस्ताव गरिएको छ । तर कोरलानाकासम्मको सडक कालोपत्रे गर्नुपर्ने आवश्यकता रहेकाले सम्पन्न अवधि पुनः संशोधन हुने निश्चित छ ।
यस कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत दुई सय दुई किलोमिटर सडकको ट्र्याक खोल्ने, ९७ किलोमिटर सडक ग्राभेल, एक सय पाँच किलोमिटरमा कालोपत्रे र १९ वटा पुल निर्माण गर्ने लक्ष्य छ । उक्त लक्ष्यअनुरुप आव २०८१/८२ सम्ममा आयोजनाले दुई सय दुई किलोमिटर सडकको ट्र्याक खोलिसकेको, ९४ किलोमिटर सडक ग्राभेल, ८८ किलोमिटर कालोपत्रे र १४ वटा पुल निर्माण सम्पन्न भइसकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।
कोरला सडकका लागि आयोजनामार्फत तीन किलोमिटर ग्राभेल र कागबेनी–छुसाङ १० किमी कालोपत्रसहित २७ किलोमिटर सडकमा कालोपत्रे गर्नुपर्ने र बाँकी स्थानमा नयाँ ठेक्का लगाउनुपर्ने छ । यस आयोजनाअन्तर्गत (कागबेनी–कोरला) सडकखण्डसमेत कालोपत्रे गर्ने अवस्था रहेमा आयोजनाका कुल लागत अनुमान १५ अर्ब बढी हुनसक्ने आयोजना प्रमुख शर्माको भनाइ छ । जसअन्तर्गत कोरला सडकखण्डको पूरै दुई सय दुई किमी डबल लेनमा सडक स्तरोन्नति गरी कालोपत्रे गर्ने र आवश्यक पुल निर्माण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख शर्माले बताए ।
कोरला सडकका लागि चालु आव २०८२/८३ मा सडकतर्फ रु ६८ करोड १३ लाख विनियोजन भएको छ । आयोजनाले विनियोजित उक्त बजेटमध्ये प्रथम चौमासिकमा रु २३ करोड ७७ लाख अर्थात् ३४ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको छ । यसैगरी रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षणका लागि एक करोड ४५ लाख बजेट विनियोजन गरिएको छ । यस शीर्षकमा चालु वर्षको पहिलो चौमासिकसम्म कुनै वित्तीय भुक्तानी नभएको आयोजनाले जनाएको छ ।
त्यसैगरी, गत आवमा यस आयोजनाका लागि सुरुआती पुँजीगतर्फ ९२ करोड ४५ लाख विनियोजन भएको थियो । उक्त बजेट संशोधन भई रु ९३ करोड ८० लाख बजेट कायम भएको थियो । गत वर्ष कोरला सडकको वित्तीय प्रगति ९९ करोड ९६ लाख भएको थियो भने भौतिक प्रगति शतप्रतिशत भएको आयोजना प्रमुख शर्माको भनाइ छ ।
आयोजना अनुसार गत वर्ष १० किलोमिटर ग्राभेल सडक, ३० किलोमिटर कालोपत्रे, एक सडक मर्मत तथा स्तरोन्नति र छवटा पक्की पुल सम्पन्न भएका आयोजना प्रमुख शर्माले उल्लेख गरे । राष्ट्रिय गौरवको कोरला सडकका लागि आव २०७३/७४ मा रु ४५ करोड ९३ लाख, आव २०७४/७५ मा एक अर्ब ५१ करोड २८ लाख, आव २०७५/७६ मा रु एक अर्ब ३१ करोड, आव २०७६/७७ मा रु ९० करोड २५ लाख, आव २०७७/७८ मा रु ९३ करोड ४९ लाख, आव २०७८/७९ मा रु ८४ करोड ८६ लाख, आव २०७९/८० मा रु ५७ करोड एक लाख, आव २०८०/८१ मा ७२ करोड ७८ लाख र आव २०८१/८२ मा रु ९३ करोड ७७ लाख बजेट खर्च भएको आयोजनाको तथ्याङ्कमा उल्लेख छ ।
कोरला सडकअन्तर्गत मालढुङ्गा बेनी सडकखण्डमा दुई सय मिटर सडकमा पहिरो रोकथाम गर्नुपर्ने, मालढुङ्गा बेनी खण्डको नौ सय मिटर बेनीबजार क्षेत्रमा विवादको कारण सडक निर्माणमा बाधा पुगेको र त्यहाँ विवाद समाधान गरी सडक एलाइमेन्ट परिवर्तन गरी नयाँ ठेक्का खुल्नुपर्ने आवश्यकता रहेको आयोजनाले जनाएको छ । बेनीदेखि तातोपानी खण्डको चार किलोमिटर दूरीमा पहिरो रोकथामका लागि आवश्यक सडक स्थिरीकरण गरी दायाँ फुटपाथको कार्य गर्नुपर्ने देखिन्छ । यसैगरी म्याग्दीको तातोपानीदेखि जोमसोम खण्डको २।५ किलोमिटर क्षेत्रमा पहिरो रोकथामका लागि आवश्यक सडक स्थिरीकरण गर्दै दाया फुटपाथको काम गर्नुपर्ने चुनौती रहेको छ ।
बेनीदेखि जोमसोमसम्मको टुकुचे, भुरुङखोला र बोक्सी खोलामा दुईवटा गरी चार वटा थप पुल निर्माण गर्नुपर्नेछ । यहाँको जोमसोम–कोरला सडकअन्तर्गत छुसाङदेखि घमीसम्म ४० किलोमिटरको वातावरण प्रभाव मूल्याङ्कन इआइए तथा डिपिआर भइसकेको र त्यसका लागि कालोपत्रे गर्न रु दुई अर्ब चार करोड लागतमा बहुवर्षीय ठेक्का लगाउनुपर्ने देखिएको छ । घमीदखि कोरला ५० किलोमिटर सडकको इआइए र सडक डिपिआर भइसकेकाले रु तीन अर्ब लागतको बहुवर्षीय ठेक्का व्यवस्थापन गर्नुपर्ने आयोजनाले जनाएको छ ।
म र प्रचण्डजी प्रधानमन्त्री भएका बेला राम्रा काम पनि गरेका छौं, तर केही गरेनन् भन्छन्: माधवकुमार नेपाल
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले कम्युनिस्ट नेतृत्वको सरकारले गरेका कामहरूको बचाउ गर्दै आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा धेरै राम्रा कामहरू भएको दाबी गर्नुभयो । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘म र प्रचण्डजी प्रधानमन्त्री भएका बेला राम्रा काम पनि गरेका छौं, तर केही गरेनन् भन्छन् ।’ मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, जनता आवास कार्यक्रम र युवालाई रोजगारी दिने जस्ता महत्त्वपूर्ण परियोजनाहरू कम्युनिस्ट सरकारकै पालामा भएको उहाँको दाबी छ । जनअपेक्षा अनुसार जति काम हुनुपर्ने थियो, त्यो नभएको हुन सक्ने स्वीकार गर्दै उहाँले भन्नुभयो, ‘जति गर्न सक्नुपर्थ्यो त्यो नभएका होलान्, तर केही नभएको होइन । हामीले शिर निहुराउनुपर्ने अवस्था छैन ।’ सम्बोधनका क्रममा नेता नेपालले अबको पार्टी इमानदारहरूको पार्टी हुने बताउनुभयो । भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, ‘भ्रष्टाचार र स्वार्थी प्रवृत्तिलाई अन्त्य गरिएन भने तथा साझा भावना अगाडि बढाउन सकिएन भने देशलाई अगाडि बढाउन सकिँदैन । त्यसैले हामीले विगतका कमजोरी स्वीकार गर्दै इमानदार तरिकाले काम गर्ने सोचेर नै पार्टी एकता गरेका हौं ।’
विदेशी चलखेल रोक्न जनताको एकता नै मुख्य शक्ति : संयोजक प्रचण्ड
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हुने विदेशी चलखेल रोक्न व्यालेस्टिक मिसाइल जस्ता अस्त्रहरू प्रयोग गर्ने सामर्थ्य आफूहरूसँग नभएको बताउनुभयो । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले विदेशी हस्तक्षेप रोक्ने हतियार नभई जनताको एकता नै मुख्य शक्ति भएको भन्नुभयो । सम्बोधनका क्रममा उहाँले भन्नुभयो, ‘कतिपय विदेशी शक्तिहरूको चलखेल हुन्छ नै । तर, हामीले कुनै व्यालेस्टिक मिसाइल प्रयोग गरेर विदेशी चलखेल रोक्ने तागत हामीसँग छैन । त्यसैले जनताको तागत, जनताको एकता र शक्ति नै हाम्रो लागि मुख्य शक्ति हो ।’ प्रचण्डले पछिल्लो समय चर्चामा रहेको ‘जेनजी’ आन्दोलनले राजनीतिक दल र पुराना नेताहरूलाई गम्भीर चुनौती दिएको बताउनुभयो । उहाँले जेनजीले दिएको ‘सच्चिने कि सक्किने’ चेतावनीलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै भन्नुभयो, ‘जेनजी आन्दोलनले पार्टी र हामी नेताहरूलाई चुनौती दियो । मैले त उनीहरूलाई धन्यवाद दिएँ, तपाईंहरूले हामीलाई सच्याउने मौका दिनुभयो ।’ उहाँले सरकारले जेनजी युवामाथि गरेको दमन गलत भएको टिप्पणी गर्नुभयो । युवाहरूले उठाएका मागहरू आफ्नो पार्टीसँग मिल्दोजुल्दो रहेको दाबी गर्दै प्रचण्डले भन्नुभयो, ‘अहिले हजारौं जेनजी युवाहरू हामीसँग जोडिनुभएको छ । उहाँहरूले हाम्रो अभिभावक प्रचण्ड नै रहेछ भनिरहनुभएको छ । यो देखेर कतिपय शक्तिहरू सबै नेपाली कम्युनिस्ट पार्टीतर्फ केन्द्रित भयो भनेर आत्तिएका पनि छन् ।’ उहाँले आफूहरू जनतासँग आत्मसमीक्षा गरेर तल्लो तहसम्म पुगेको बताउँदै अहिले पार्टीप्रति उत्साहित हुने वातावरण बनेको दाबी गर्नुभयो ।
एमाले नेताहरुलाई नेपाली कम्युनिष्ट पार्टीमा आउन पूर्वप्रधानमन्त्री झलनाथ खनालको आग्रह
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेका नेताहरूलाई नेकपामा सामेल हुन आग्रह गरेका छन् । वीरेन्द्रनगरमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै खनालले देशलाई समाजवादतर्फ लैजान सबै कम्युनिस्ट पार्टीहरू एकीकृत हुनुको विकल्प नरहेको बताए । "एमालेका साथीहरू, तपाईँहरूको बाटो पनि यही हो । एकताबद्ध भएर एउटा कम्युनिस्ट पार्टी निर्माण गरौँ । एउटा देशमा हजारौं सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्," उनले भने । विगतका तिता कुराहरु छोडेर अब मार्क्सवाद–लेनिनवादमा आधारित नेपाली विशेषताको समाजवादतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले एमालेको आगामी महाधिवेशनमा भाग लिने नेताहरूलाई मूल प्रवाहमा सामेल हुन अपिल गरे । "अब टुटेर, फुटेर होइन, एकजुट भएर निश्चित नीति, कार्यदिशा र मापदण्डका आधारमा एक हुनुपर्छ," खनालले थपे । सम्बोधनमा उनले मुलुकमा विदेशी हस्तक्षेप बढेर राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेको टिप्पणी गर्दै जनतालाई गाँस, बास, कपास र शिक्षाको सहज पहुँच दिन समाजवाद अपरिहार्य रहेको तर्क गरे । कम्युनिस्टहरू एकजुट भएर राष्ट्रिय रूपमा अपराजित शक्ति बन्नुपर्नेमा उनले जोड दिए ।
एनपिएलको फाइनलमा सुदूरपश्चिम ८५ रनमा अलआउट, लुम्बिनीको उत्कृष्ट प्रदर्शन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्स ८५ रनमा अलआउट हुँदै लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम १९ ओभर १ बलमा मात्र ८५ रनमा समेटियो । जुन जारी एनपीएलको सबैभन्दा कम योगफल हो । लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिँदै टिमलाई कम स्कोरमा रोके । रोहितले एघारौं ओभरमा दीपेन्द्र सिंह ऐरी (१३), दीपक बोहोरा (०) र पुनित मेहरा (०) लाई आउट गरे । उनी एनपीएलमा ह्याट्रिक लिने दोस्रो खेलाडी बनेका छन् । शेर मल्ल र रुवेन ट्रम्परले समान ३–३ विकेट झारे, तिलक भण्डारीले १ । सुदूरपश्चिमका लागि इसान पाण्डेले ५१ बलमा १ चौकासहित ३३ रनको योगदान दिए, जुन टिमको सर्वाधिक रह्यो । दीपेन्द्र सिंह ऐरीले १३, हरमित सिंह र स्कट कुग्लेजिनले समान १० रन थपे । सुदूरपश्चिमले पावरप्लेमा ३ विकेट गुमाएर २० रन मात्र बनायो । लुम्बिनीले केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ ।
सुर्खेतमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरु
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को ब्रिहत एकता सभा कर्णाली प्रदेशको वीरेन्द्रनगरमा शनिबार सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका कम्युनिस्ट घटकहरूबीचको एकता तथा ध्रुवीकरणपछि कर्णालीमा पहिलो पटक प्रदेशस्तरीय ‘एकता सन्देश सभा’ आयोजना गरिएको हो । वीरेन्द्रनगरको घण्टाघर परिसरमा सञ्चालित सभामा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता छ । कार्यक्रम सुरु हुनुअघि एरी चोक, मंगलगढी चोक लगायतका स्थानबाट निस्किएका विशाल र्यालीहरू बजार परिक्रमा गर्दै मुख्य सभास्थलमा केन्द्रित भएका थिए । सभालाई सम्बोधन गर्न पार्टीका शीर्ष नेताहरू मञ्चमा आसीन छन् । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भीम रावल लगायतका विशिष्ट नेताहरूको उपस्थिति छ ।
जेनजी आन्दोलनको सन्दर्भमा युवा–केन्द्रित नेतृत्व आवश्यक : पम्फा भुसाल
बागलुङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नेत्री तथा पूर्वमन्त्री पम्फा भुसालले चुनावमार्फत सरकारमा नयाँ राजनीतिक नेतृत्व आउने र यसले देशलाई विकास–निर्माणको बाटोतर्फ अग्रसर गराउने बताएकी छन् । प्रेस सेन्टर नेपालले आज बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भुसालले संविधानको रक्षा गर्नु प्रत्येक नागरिकको दायित्व भएको जोड दिएकी थिइन् । जनताको चाहना र आवश्यकता अनुसार राज्य सञ्चालन नगर्दा 'जेनजी' आन्दोलन जन्मिएको उल्लेख गर्दै उनले युवा पुस्ताको भावनाअनुसार राजनीतिक नेतृत्व क्रियाशील हुनुपर्ने धारणा राखिन् । नेकपा चुनावमा भाग लिन पूर्ण तयार रहेको भन्दै भुसालले जिल्ला–जिल्लामा चुनावी प्रचारप्रसारमा जुटेको बताइन् । पार्टीले युवा आन्दोलनको मागलाई सम्बोधन गर्दै सुशासन र विकासमा केन्द्रित नीति अघि सारेको उनले स्पष्ट पारिन् ।
एमाले रुपन्देहीका सचिव तथा पूर्व नगर प्रमुख कार्कीद्वारा एमाले परित्याग
बुटवल । नेकपा (एमाले) रुपन्देहीका सचिव तथा सैनामैना नगरपालिकाका पूर्व प्रमुख चित्रबहादुर कार्कीले एमाले परित्याग गरेका छन् । यसअघि घोषणा गरेका उनी रास्वपामा प्रवेश गर्ने तयारी गरेका छन् । कार्की एमाले उपाध्यक्ष तथा मुख्यमन्त्री विष्णु पौडेलका पूर्व स्वकीय सचिव रहँदा लामो समयसम्म पार्टीमा सक्रिय लोकप्रिय नेताका रूपमा चिनिन्छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन कपी ओली नेतृत्वको सरकारले युवा विद्यार्थीमाथि अनावश्यक दमन गरी हत्या गरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै उनले त्यतिबेलै नै एमाले परित्यागको घोषणा गरेका थिए । रास्वपा रुपन्देहीका सह–संयोजक सुदन ज्ञवालीका अनुसार, कार्कीलाई औपचारिक रूपमा पार्टीमा स्वागत गर्न आइतबार सैनामैनामा वृहत प्रवेश कार्यक्रम आयोजना गरिएको छ । कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बर्बरतापूर्वक दमन गरी दर्जनौंको ज्यान लिँदा पनि कुनै नैतिक जिम्मेवारी नलिने, गल्ती स्वीकार नगर्ने र बरु देशलाई थप द्वन्द्वतर्फ धकेल्ने अभिव्यक्ति दिइरहेकाले आफूले पार्टी परित्याग गरेको बताएका छन् । नगर प्रमुख रहँदा कार्कीले रुपन्देहीमा अन्तरपालिका सहकार्यमार्फत फोहोर व्यवस्थापन, सार्वजनिक यातायात सञ्चालन, नगर चक्रपथ निर्माण, बेघरबासीलाई आवास तथा सरकारी विद्यालयमा कम्प्युटर शिक्षा जस्ता नमूना परियोजना र अवधारणा अघि सारेका थिए ।
नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा आज सुर्खेतमा: प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्ने
सुर्खेत – नेपाली कम्युनिष्ट पार्टीले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज एकता सन्देश सभा आयोजना गर्दैछ। दिउँसो १ बजे वीरेन्द्रनगरस्थित घन्टाघर चोकमा हुने यो सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सँगै सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता भिमरावल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। प्रचण्डसहित पार्टीका केन्द्रीय नेताहरू सुर्खेततर्फ प्रस्थान गरेका छन्। सभामा पूर्व प्रधानमन्त्री तथा संयोजक प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा सह–संयोजक माधवकुमार नेपाल, पूर्व गृहमन्त्री वामदेव गौतम, पूर्व गृहमन्त्री डा. भीमबहादुर रावल, पूर्वमन्त्री प्रेमबहादुर सिंह र कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आ–आफ्नो धारणा राख्ने कार्यक्रम छ। यसबाहेक स्थानीय तथा राष्ट्रिय कलाकारहरूको पनि सहभागिता रहने नेकपाले जनाएको छ। यो सभा पार्टी गठनपछि देशभर सञ्चालन गरिएको एकता सन्देश सभाको श्रृङ्खलाअन्तर्गत कर्णाली प्रदेशमा आयोजित हुने हो। यसअघि पार्टीले धनगढी, दाङ, पोखरा र जनकपुरमा यस्तै सभा सम्पन्न गरिसकेको छ। केही दिनअघि मङ्सिर १८ गते निर्धारित सभा पूर्णिमा मेलाका कारण सारिएको थियो, जसलाई पछि मङ्सिर २७ मा यकिन गरिएको हो। कर्णाली प्रदेश समितिका अनुसार, यो सभाबाट नेतृत्वको एकीकृत सन्देश प्रवाह हुनेछ भने आगामी रणनीतिका बारेमा पनि घोषणा गरिने अपेक्षा गरिएको छ। प्रदेशभरका कार्यकर्ता, शुभेच्छुक तथा जनसमुदायको उत्साहपूर्ण सहभागिताका लागि आयोजकले अपिल गरेका छन्। पार्टीले मङ्सिर महिनालाई 'एकता अभियान महिना' का रूपमा चित्रण गर्दै प्रदेशदेखि स्थानीय तहसम्म एकता सन्देश सभा सञ्चालन गर्ने निर्णय गरेको थियो। यो अभियानमार्फत बिखण्डनकारी शक्तिहरूविरुद्ध जनएकताको सन्देश बोकेर अघि बढ्ने पार्टीको योजना छ। सभामा सहभागी हुने क्रममा सुरक्षा व्यवस्था कडा पारिएको छ भने ट्राफिक व्यवस्थापनका लागि स्थानीय प्रशासनसँग समन्वय गरिएको छ। यो सभाले कर्णालीका जनतालाई पार्टीको एकतापूर्ण यात्राप्रति थप उत्साहित बनाउने विश्वास गरिएको छ।
अमेरिकी डलरको मूल्य उच्च, अन्य विदेशी मुद्राकाे कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ३७ पैसा र बिक्रीदर १४४ रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ २४ पैसा र बिक्रीदर १६९ रुपियाँ ९५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपियाँ ०२ पैसा र बिक्रीदर १९३ रुपियाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपियाँ ४८ पैसा र बिक्रीदर १८२ रुपियाँ २४ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ १९ पैसा र बिक्रीदर ९६ रुपियाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ९१ पैसा र बिक्रीदर १०५ रुपियाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ७५ पैसा र बिक्रीदर ११२ रुपियाँ २१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ २६ पैसा र बिक्रीदर नौ रुपियाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ४६ पैसा र बिक्रीदर २० रुपियाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ४७ पैसा र बिक्रीदर ३८ रुपियाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ६१ पैसा र बिक्रीदर ३९ रुपियाँ ७७ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ३१ पैसा र बिक्रीदर ३९ रुपियाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ २१ पैसा र बिक्रीदर ३५ रुपियाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७८ पैसा र बिक्रीदर नौ रुपियाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ५३ पैसा र बिक्रीदर १५ रुपियाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६६ पैसा र बिक्रीदर २२ रुपियाँ ७५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५४ पैसा र बिक्रीदर १८ रुपियाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपियाँ ५८ पैसा र बिक्रीदर ४७२ रुपियाँ ५४ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपियाँ ९७ पैसा र बिक्रीदर ३८४ रुपियाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपियाँ ९८ पैसा र बिक्रीदर ३७६ रुपियाँ ५४ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
माैसम पूर्वानुमान: कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौँ । आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। आज दिउसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ । आइतबार भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
आगलागीबाट देशभर एक महिनामा ८ जनाको मृत्यु
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अनुरोध गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रसङ्घीय निकाय, गैरसरकारी सङ्घसंस्था, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज र सञ्चार जगतलगायत सम्बद्ध सबैले आफ्नो तर्फबाट आवश्यक पहल एवं सहयोग गर्न अनुरोध गरेको हो । “प्राधिकरणबाट जारी हुने पूर्वसूचना एवं ‘अलर्ट’अनुसार आवश्यक सतर्कताका लागि विशेष भूमिका निर्वाहगरी नागरिक सुरक्षामा योगदान पुर्याउनु हुनसमेत आग्रह गर्दछ”, प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा उल्लेख छ । पछिल्लो एक महिनाको अवधिमा देशका विभिन्न भू-भागमा आगलागीका घटनामा परी ८ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका प्राधिकरणले जनाएको छ । पछिल्लो समय सुक्खायाम र चिसो बढ्दै गएका कारण आगलागीका घटना बढ्दै गएका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन बहुपक्षीय सहकार्य, समन्वय र सहभागिताबाट मात्र सम्भव हुने उल्लेख गर्दै प्राधिकरणले आगलागीजन्य विपद् रोकथाम तथा न्यूनीकरणका लागि सचेतना अभिवृद्धि गर्न सचेतनामूलक श्रव्यदृश्य सामग्री लक्षित वर्ग, क्षेत्र र समुदायमा पुर्याउन आग्रह गरेको छ ।
खोटाङमा तीन हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन
खोटाङ । यो वर्ष खोटाङमा तीन हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन भएको छ । जिल्लाका अधिकांश कृषकले उत्पादन गरेका सुन्तला ठेकेदारले बगानबाटै खरिद गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा उत्पादित सुन्तला प्रतिकिलो सरदरमा रु १०० का दरले बिक्री गर्दा यो वर्ष रु ३४ करोड १० लाख आम्दानी हुने केन्द्रका अर्थविज्ञ दीपक चौहानले जानकारी दिए । “यो वर्ष सबैभन्दा बढी जन्तेढुङ्गा र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सुन्तला उत्पादन भएको छ । जन्तेढुङ्गा गाउँपालिकाबाट रु चार करोड ५० लाखभन्दा बढीको सुन्तला बिक्री भएको छ”, उनले भने, “कृषक आफैँले बजार लगेर बिक्री गर्दा प्रतिकिलो रु १३० सम्म पर्छ । कृषकबाट खरिद गरिएका सुन्तला व्यापारीले प्रतिकिलो रु १५० मा बिक्री गर्छन् ।” कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार जिल्लाका १० वटै स्थानीय तहमा गत वर्षको तुलानामा यसवर्ष १५ हेक्टर जमिनमा सुन्तला उत्पादन घटेको छ । गत वर्ष ९९५ टेक्टरमा सुन्तला उत्पादन भएकामा यस वर्ष विभिन्न रोगको सङ्क्रमणका कारण ९८० हेक्टर खेती गरिएको छ। व्यवसायिक सुन्तलाखेती गरिरहेका जन्तेढुङ्गा–६ दिप्लुङका जगत किरातीले यो वर्ष रु सात लाख आम्दानी गरेको जानकारी दिए । “यातायातको सुविधाले यस वर्ष बगानबाटै सुन्तला बेचियो”, उनले भने, “सुन्तलाखेतीलाई विस्तार गरिरहेको छु । आगामी वर्ष अझ बढी आम्दानी हुने अनुमान छ ।” फलफूल तथा तरकारीको व्यावसायिक खेती गर्नुभएका किरातीले २५० वटा बोटमा फलेका सुन्तला बेचेर मङ्सिरमा मात्रै रु सात लाख आम्दानी भएको जानकारी दिए। दिप्लुङका किराती मात्र नभई अन्य कृषकले सुन्तला बिक्रीबाट लाखौँ आम्दानी गरेका गाउँपालिकाले जनाएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो गाउँपालिकाको घोर्ले, सातमारा, केराबारी, सोभे, फगतपुर, पाथीभरा, भीरगाउँ, वाचीपाला, खुटा, कात्तिकेलगायत क्षेत्रका किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । बुढापाकाले खानका लागि रोपेका सुन्तला यातायातको सुविधा आएसँगै आम्दानीको स्राते बन्न थालेको कृषकहरूको भनाइ छ । जन्तेढुङ्गा–५ चिसापानीस्थित घोर्ले गाउँका कृषकले यसवर्ष रु एक करोड बढीको सुन्तला बिक्री गरेका गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले जानकारी दिए । “घोर्लेमा ३१ परिवारको बसोबास छ । सबैका घरमा सुन्तलाको बगान छन् । सबै घरले हरेक वर्ष रु तीन लाख बढीको सुन्तला बिक्री गर्छन्”, उनले भने, “घोर्लेमा पुर्खाकै पालादेखि सुन्तला उत्पादन हुन्थ्यो । पहिले खानका लागि पुर्खाले रोपेका सुन्तला अहिले आम्दानीको स्रोत बनेको छ । यसलाई प्रवर्द्धन गर्न गाउँपालिकाको तर्फबाट सहयोग गर्दै आएका छौँ ।” दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका कृषक रामबहादुर कुँवरले यो वर्ष सुन्तलाबाट कम्तीमा रु १२ लाख आम्दानी हुने अनुमान गर्नुभएको छ । गत वर्ष रु नौ लाख आम्दानी भएकामा यो वर्ष उत्पादन बढेकाले आम्दानी बढ्ने उनले बताए । खोटेहाङ गाउँपालिकाका किसानले सुन्तला बिक्रीबाट बर्सेनि लाखौँ आम्दानी गर्ने वडा नम्बर ६ इन्द्रेणी पोखरीका युवा कृषक इन्द्र नारथुङेले बताए । गाउँपालिकामध्ये सबैभन्दा ठूलो (नौ वडा रहेको) यो पालिकामा गत वर्षको तुलनामा यसवर्ष सुन्तलाको उत्पादन घटेको कृषकहरूले बताएका छन् । कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार यसवर्ष रावाबेँसी गाउँपालिकामा सुन्तलाको उत्पादनमा कमी आएको छ । खोटाङमा सुन्तलाको राजधानी भनेर चिनिने रावाबेँसी–३ लामीडाँडामा रोग र सङ्क्रमणले क्षति पुर्याउँदा उत्पादन घटेको केन्द्रका अर्थविज्ञ चौहानले जानकारी दिए । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित रुधालुङका कृषकले उत्पादन गरेका सुन्तलामा यसवर्ष बगानबाटै बिक्री भएका स्थानीय शुभचन्द्र राईले जानकारी दिए । खार्मीमा उत्पादित सुन्तला सालपा कृषि कम्पनी खोटाङले प्रतिकिलो रु ६० मा खरिद गरेको छ ।
समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गर्यो । आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन्हसमेत उपलब्ध गरायो । सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार यही मङ्सिर २१, २२ र २३ गते तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका थिए । सो निर्वाचन प्रणालीतर्फ १०० दलले आवेदन दिएको भए पनि दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिन्हमा भाग लिने गरी आवेदन दिएकाले कूल ९३ वटा निर्वाचन चिन्ह कायम भयो । आयोगले २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्राप्त गरेको समानुपातिक मतका आधारमा क्रमसङ्ख्या र निर्वाचन चिन्ह प्रदान गर्यो । अन्यका हकमा दर्ताका आधारमा चिन्ह प्रदान गर्यो । आयोगले पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा पाँचकुने तारा, चौथोमा घण्टी, पाँचौँमा हलो, छैटौँमा ढल्केको छाता, सातौँमा लाउड स्पिकर चुनाव चिन्ह निर्धारण गर्यो । त्यसैगरी पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार, कुखुराको भाले, जग, पन्जा छाप, इनार, डोको, हँसिया र तारा, कमलको फूल, गितार, घर, हँसियालगायतका चुनाव चिन्ह रहने छन् । यसैगरी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनजागृति पार्टीले एकल चुनाव चिन्ह बस प्राप्त गर्यो। राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले एकल चिन्हका रूपमा चकिया (जाँतो) चुनाव चिन्ह पायो । नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवाद), नेपाल कम्युनिस्ट पार्टीले कोदालो र सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले जगर भएको सिंह एकल चिन्ह पायो ।
केन्द्रीय बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु छ अर्ब ६० करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले सूचना प्रकाशित गरी आफूले लिन चाहेको रकम र ब्याजदर समेत प्रस्ताव गरी आवेदन पेस गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले एक वर्षका लागि लगानी गर्न लागिएकाले यही मङ्सिर २९ गतेभित्र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ । राष्ट्र बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कमा रु पाँच अर्ब २८ करोड, ‘ख’ वर्गका विकास बैङ्कमा रु ९९ करोड र ‘ग’ वर्गका वित्त कम्पनीमा रु ३३ करोड बराबर लगानी गर्न लागिएको सूचनामा उल्लेख छ । बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, तोकिएको न्यूनतम कुल कर्जा पुँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको लगायतका सर्त पूरा गरेको हुनुपर्नेछ । त्यसैगरी केन्द्रीय बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । एक वर्षका लागि लगानी गर्न लागिएको उक्त रकमको ब्याजदरसहित प्रस्ताव गर्न सूचनामा आग्रह गरिएको छ । सूचनाअनुसार ‘क’ वर्गका वाणिज्य बैङ्कमा रु ८० करोड, ‘ख’ वर्गका विकास बैङ्कमा रु १५ करोड र वित्त कम्पनीमा रु पाँच करोड बराबर लगानी गर्न लागिएको हो । यही मङ्सिर २८ गतेसम्म आवश्यक कागजात र विवरणसहित निवेदन दिन केन्द्रीय बैङ्कले आग्रह गरेको छ ।
दिनदिनै सुदूरपश्चिममा लागुऔषधको दुर्व्यसन तथा कारोबारी बढ्दै
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा लागुऔषधको दुर्व्यसन तथा अवैध कारोबार दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । खुला सीमाका कारण पछिल्लो समय कैलाली र कञ्चनपुर लागुऔषध समस्याबाट सबैभन्दा बढी प्रताडित छ । सुदूरका सात पहाडी जिल्ला पनि त्यसबाट अछुतो रहन सकेका छैनन् । प्रायः दैनिकजसो लागुऔषधसहित पक्राउपर्नेक्रम निरन्तर छ भने यहाँ सबैभन्दा बढी कारागारमा लागुऔषध मुद्दाकै अभियुक्त पुर्पक्ष र कैद सजाय भोग्दै थुनामा रहेको देखिन्छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा लागुऔषध डरलाग्दो रुपमा फैलिएको छ । बितेका ४४ महिनामा सुदूरपश्चिमका नौ जिल्लाबाट दुई हजार ९३० जना अभियुक्त पक्राउ परेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । यसबाट युवापुस्ता सबैभन्दा बढी प्रभावित छ । लागुऔषध सचेतना र कारबाही सँगसँगै अघि बढाएको सुदूरपश्चिम प्रहरीले हरेक वर्ष यहाँ भारतबाट अवैध रुपमा आयात हुने लागुऔषध ठूलो परिणाममा बरामदसमेत गर्दै आएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको हालसम्म प्रदेशभर २३५ जना लागुऔषध मुद्दामा पक्राउ परेका छन् । त्यसमा नौ महिला र बाँकी पुरुष अभियुक्त रहेका छन् । चालु आवको हालसम्म यहाँ लागुऔषध हिरोइन ३४१ ग्राम ५०२ मिलिग्राम खैरोहिरोइन, १५ किलो ९६५ ग्राम चरेश बरामद गरिएको छ । त्यसैगरी, प्रहरीले यो अवधिमा अन्य लागुऔषध सामग्रीसमेत ठूलो सङ्ख्यामा बरामद गरेको छ । यहाँ चालु आवको हालसम्म सबैभन्दा बढी लागुऔषध मुद्दामा कैलालीबाट १२१, कञ्चनपुरबाट ७८, बझाङबाट नौ, दार्चुलाबाट पाँच, डडेल्धुराबाट चार तथा बैतडी, डोटी र बाजुराबाट तीन÷तीन जना अभियुक्त पक्राउ परेका छन् । त्यस्तै, गत आर्थिक वर्ष २०८१/८२ मा सुदूरपश्चिमबाट प्रहरीले लागुऔषधका ६९३ मुद्दा दर्ता गरी १० हजार ४३ जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सो आवमा पनि सबैभन्दा बढी कैलालीबाट ६५८ जना र कञ्चनपुरबाट २५९ जना पक्राउ गरेको तथ्याङ्कले देखाएको छ । प्रहरीको वार्षिक तथ्याङ्बाट पनि तराईका यी दुई जिल्लामा लागुऔषधको कारोबार बढ्दै गएकाले पक्राउ दर पनि उच्च छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले लागुऔषधको दुव्र्यसन तथा अवैध कारोबारमा यहाँ युवापुस्ता बढी आबद्ध देखिएको बताए । “युवा जनशक्ति यसरी लागुऔषधमा मिसिन पुग्दै जाने हो भने यो समाजका लागि दुर्भाग्य हुन जान्छ”, श्रीवास्तवले भने, “यसको रोकथाम र नियन्त्रणका लागि प्रहरीसँगै अभिभावक र समाजको सामूहिक सहकार्य अति जरुरी छ ।” उहाँले हरेक दिन लागुऔषध नियन्त्रणका लागि प्रहरी सुदूरपश्चिमका सबै जिल्ला र सीमानाकामा सक्रिय भएर लागि परेको बताए । “यसको नियन्त्रणमा हामी गम्भीर नदेखिने हो भने यो समाजमा क्यान्सरका रुपमा फैलिँदै जान्छ”, उनले भने, “लागुऔषध नियन्त्रणका लागि सचेतनाका कक्षा पनि प्रहरीले सबैतिर सञ्चालन गरिरहेको छ ।” प्रहरीका अनुसार बितेका तीन आवमा सुदूरपश्चिममा नौ हजार ५७६ लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रहरीले विभिन्न माध्यमबाट गरेको छ । लागुऔषध ओसारपसार र प्रयोगकर्ता भारतीय सीमावर्ती बजारसम्म आफ्नो सम्बन्ध विस्तार गरिरहेकाबारे प्रहरी पनि जानकार छ । “प्रायः नेपाल–भारत सीमा बैठकमा नेपाली पक्षले लागुऔषध नियन्त्रणका लागि भारतीय पक्षसित आग्रह र सहकार्यका लागि आमन्त्रण गरिरहन्छ”, प्रदेश प्रहरीका एक अधिकारीले भने, “यसमा भारतीय पक्षले गम्भीर चासो राखेको अवस्था छैन ।” त्यसैगरी, अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा लागुऔषधका ५४५ मुद्दा दर्ता भई प्रहरीले ७९६ जनालाई पक्राउ गरेको थियो । आव २०७९/८० मा सुदूरपश्चिममा लागुऔषध मुद्दामा ८५६ जना पक्राउ परेका थिए । सो आवमा लागुऔषधका ५४० मुद्दा दर्ता यहाँ भएको प्रहरी तथ्याङ्कले देखाएको छ । कञ्चनपुरको महेन्द्रनगरका लागुऔषध नियन्त्रणका लागि दशकौँदेखि सक्रिय धूम्रमान निषेधका अभियानकर्मी मदन चन्दले सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन भयावह अवस्थामा रहेको बताए । “लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि स्कुलस्तर र टोलटोलमा अभियान सञ्चालन आवश्यक छ, लागुऔषधकै कारण सवारी दुर्घटना बढिरहेका छन्”, लागुऔषध दुव्र्यसन रोकथाम अभियान नेपालका सुदूरपश्चिम संयोजकसमेत रहेका चन्दले भने । संयोजक चन्दले सन्ततिलाई लागुऔषध दुर्व्यसनबाट जोगाउन अभिभावक नै चनाखो हुनुपर्नेमा जोड दिनुभयो । “दुर्व्यसनमा लिप्त भइसकेपछि छोराछोरीलाई स्तरीय पुनःस्थापना केन्द्र खोज्न भौतारिनुभन्दा समयमै छोराछोरीको ख्याल नगरे अवस्था विषम भइसक्यो”, चन्दले भने, “ग्रामीण बस्तीदेखि पहाडी बस्तीसम्म दुर्व्यसन फैलिरहँदा राज्यले नियन्त्रणका लागि राज्यको प्रभावकारी कदम चालेको छैन ।” उनले सरकारीस्तरबाट लागुऔषध नियन्त्रणका लागि बर्सेनि हुने अभियानले प्रभावकारी नभएको जिकिर गरे । “देखावटीभन्दा नतिजा आउनेगरी कार्यक्रम सञ्चालन हुनुपर्याे”, चन्दले भने, “सहर बजारका अभियान/महाअभियान र ठूला छलफलले मात्रै लागुऔषध नियन्त्रण र रोकथाम सम्भव छैन ।”

