पूजा गर्ने खोपाको मौरी घार आम्दानीको स्रोत
कास्की । कास्कीको मादी गाउँपालिका–११ तोगीमा रहेको एउटा घरको अनौठो अभ्यासले यतिखेर चर्चा पाएको छ । खरको छानो भएको परम्परागत घुमाउने घरभित्र मठमन्दिर जस्तै नित्य पूजापाठ गर्ने खोपामा मौरी बस्दै आएका छन् ।
भान्छाको भित्ता रहेको खोपामा बस्ने मौरीले उत्पादन गर्ने मह घरधनी विनोद ढकालको परिवारका लागि भने विगत सात वर्षदेखि निरन्तर आम्दानीको स्रोत बन्दै आएको छ । स्थानीयका लागि यो दृष्य सामान्य लागे पनि गाउँभन्दा बाहिरका जोकोहीलाई भने खरको छानामुनि मौरीपालन सम्भव छ भन्ने अचम्मको विषय बनेको छ ।
“विसं २०७२ को विनाशकारी भूकम्पले केही क्षति गरे पनि खरले छाएको घुमाउने घरभित्र नित्य पूजा गर्ने र चोखो जल चढाउने खोपामा अहिले मौरीले भरिएको छ”, ढकालले भने, “गत वर्ष उक्त खोप्पाबाट १४ किलो मह उत्पादन भई बिक्रीबाट रु २० हजार आम्दानी भएको थियो ।”
ढुङ्गाको छप्पनीमा बाहिरबाट सानो प्वाल पारेर राखेको चोखो खोप्पामा सात वर्षअघि जङ्गलमा रहेको काठको धोद्रो मुढामा रहेका मौरी छोपेर ल्याई राखेर भित्रबाट काठको ढक्कन बनाएर व्यवस्थित गरेको मौरी पछिल्लो समय सो परिवारको राम्रो आयआर्जनको स्रोत बनेको छ ।
रोजगारीका लागि सहर झर्नु र विदेशिनुभन्दा गाउँघरमा नै बसेर व्यावसायिक मौरीपालन गर्दै आएका ढकालको सो खरको छानो भएको घुमाउने घरमा खोपासहित मुढे र आधुनिक गरी १० तथा घरको वरिपरि कूल ५० वटा मौरीका घार रहेका छन् । खोपा र मुढे घारमा उत्पादित महको बजारमा उच्च माग रहेको छ ।
ढकालले भने, “मौरीका लागि राम्रो मौसम भएमा एउटा घारबाट १० देखि १५ किलो मह उत्पादन हुन्छ, बजारमा प्रतिकिलोग्राम महको रु एक हजार ५०० मा बिक्री गर्दै आएको छु, वार्षिक मह र मौरीको पोलासहितको घार बिक्रीबाट रु सातदेखि आठ लाखसम्म आम्दानी हुने गरेको छ ।” यसवर्ष भने असोज र कात्तिकमा परेको पानीका कारण मह उत्पादनमा कमी आएको उनले बताए ।
मौरीसहितको घारको पनि माग अत्यधिक रहेको छ । प्रतिघारको रु १५ हजारमा नाम्लोले बोकेर सम्बन्धित ठाउँमा पुर्याउँदै आएको उनको भनाइ छ । जङ्गलका धोद्रा रुखमा रहेका मौरीलाई छोपेर आधुनिक घारमा राख्ने गरेको बताउँदै ढकालले भने, “वार्षिक १० देखि १५ घार मौरी जङ्गलबाट ल्याउने गरेको छु ।”
समुद्री सतहबाट लगभग १५ मिटरको उचाइमा रहेको तोगी गाउँमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) ले प्रदान गरेको मौरीपालन तालिम र घार प्राप्त गरेपछि व्यावसायिकता पाएको तोगी पछिल्लो समय मौरी गाउँको रुपले परिचित भएको छ ।
तोगीका प्रत्येक घरमा धेरै थोरै मौरीका घार रहेका छन् । मह र पोलासहितको घार बिक्रीबाट प्रत्येक वर्ष रु डेढ करोड बजारको नगद गाउँमा भित्रिने गरेको वडाध्यक्ष चलचित्र गुरुङले जानकारी दिए ।
मादी गाउँपालिकालाई महको पकेट क्षेत्रका रुपमा विकास गर्ने उदेश्यका साथ पालिकाको आर्थिक सहयोग तोगीको पोलासहितको घार अन्य वडामा अनुदानमा विभिन्न वडाका बासिन्दालाई वितरण गरी विस्तार गर्दै आएको उनको भनाइ छ ।
अध्यक्ष गुरुङले भने, “लोपोन्मुख ढकालको परम्परागत घुमाउने घरको संरक्षण गर्ने पालिकाले सोच बनाएको छ, यसको संरक्षणले भविष्यमा यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।”
जसपाको भोजपुर जिल्ला समिति नै नेपाली कम्युनिष्ट पार्टीमा समाहित
भोजपुर – जनता समाजवादी पार्टी (जसपा), नेपालको भोजपुर जिल्ला समिति पूर्ण रूपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा विलय भएको छ। केन्द्रीय सदस्य ध्रुव राईको नेतृत्वमा रहेको जिल्ला समितिका २० भन्दा बढी सदस्यहरूले आधिकारिक रूपमा नेकपामा सामेल हुने घोषणा गरेका छन्। जिल्ला समितिका अध्यक्ष तथा अन्य पदाधिकारीहरू सहितको यो विलयले स्थानीय राजनीतिमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ। जसपा भोजपुरका पूर्व अध्यक्षहरू तथा सक्रिय सदस्यहरूले नेकपाको वैचारिक आधार र संगठनात्मक संरचनालाई समर्थन गर्दै यो कदम चालेको बताएका छन्। विलयको घोषणापत्रमा हस्ताक्षरित सदस्यहरूमा ध्रुव राई, प्रेम सापकोटा, जितबहादुर कार्की, जिल्ला अध्यक्ष तथा अन्य पदाधिकारीहरू समावेश छन्। नेकपाका जिल्ला संयोजकले नयाँ सदस्यहरूलाई स्वागत गर्दै पार्टीको क्रियाकलापमा सक्रिय सहभागिता अपेक्षा गरेको प्रतिक्रिया दिएका छन्। यसअघि पनि विभिन्न जिल्लाहरूमा यस्ता विलयहरू भएका थिए, जसले नेकपाको आधार विस्तारमा योगदान पुर्याएको छ।
दुबईमा यस्तो मल : जहाँ गाडीमा बसेर किनमेल गर्न सकिन्छ, झर्ने झन्झट छैन
एजेन्सी। दुबई एकपटक फेरि आफ्नो महत्वाकांक्षी परियोजना 'दुबई स्क्वायर'सँग विश्वलाई आश्चर्यचकित पार्न तयार छ। यो विश्वको पहिलो ड्राइभ-थ्रु मल हुनेछ, जहाँ यात्रुहरू आफ्नो गाडी वा इलेक्ट्रिक सवारी (ईभी) मा बसेर नै किनमेल, खाना-पीउने र मनोरञ्जनको मजा लिन सक्नेछन्। यदि तपाईं सोच्दै हुनुहुन्छ कि दुबईमा अब नयाँ के हेर्न बाँकी छ भने, रोकिनुहोस्। मरुभूमिमा अवस्थित यो शहर एकपटक फेरि सम्पूर्ण विश्वलाई आश्चर्यमा पार्ने तयारीमा छ। दुबई चाँडै नै विश्वको पहिलो 'ड्राइभ-थ्रु मल' लन्च गर्ने क्रममा छ, जसको नाम दुबई स्क्वायर हो। यसको उद्घाटन आगामी तीन वर्षभित्र हुने अपेक्षा गरिएको छ। कल्पना गर्नुहोस् तपाईं आफ्नो गाडीमा आरामले बसेर पार्किङ खोज्नु नपरी सीधै मलभित्र प्रवेश गर्दै हुनुहुन्छ। यो मल केवल किनमेलको स्थान मात्र होइन, बरु अर्को सबैभन्दा ठूलो पर्यटकीय स्थल हुनेछ, जसले तपाईंलाई विलासी किनमेल, खाना र घुमफिरको एकदम नयाँ अनुभव प्रदान गर्नेछ। यो अनौठो मलले किनमेल गर्नेहरूलाई सुविधाजनक र झन्झटमुक्त अनुभवको वाचा गर्दछ, जसले यसलाई शहरमा यात्रा गर्दा घुम्नैपर्ने अनिवार्य स्थान बनाउँछ। यो ड्राइभ-थ्रु मल किन विशेष छ? दुबई स्क्वायरको सबैभन्दा ठूलो पहिचान यसको आकार र यसको ड्राइभ-थ्रु अवधारणा हो। यो २६ लाख वर्ग मिटरमा फैलिएको एउटा धेरै ठूलो परियोजना हो। यसलाई निर्माण गर्ने कम्पनी 'ईमार प्रॉपर्टीज'का संस्थापक मोहम्मद अली अलाब्बारले आफ्नो एक्स खातामा बताएका छन् कि यो मल डाउनटाउन दुबईभन्दा तीन गुणा ठूलो हुनेछ। यस महत्वाकांक्षी परियोजनामा कुल $१८० अरब अष्ट्रेलियाली डलर (लगभग $४९ अरब अमेरिकी डलर) को भारी लगानी गरिएको छ। यो मललाई यस्तो तरिकाले निर्माण गरिएको छ कि आगन्तुकहरू आफ्नो गाडी वा इलेक्ट्रिक सवारीमा आरामले बसेर नै मलका विभिन्न भागहरूमा सजिलै प्रवेश गर्न र घुम्न सक्नेछन्। अरेबियन बिजनेसको एक रिपोर्ट अनुसार, यहाँ इलेक्ट्रिक गाडीहरू (ईभीहरू) का लागि विशेष चार्जिङ र ड्राइभिङ पूर्वाधार तयार पारिएको छ। अर्थात्, तपाईंलाई आफ्नो गाडीबाट झर्ने आवश्यकता नै पर्नेछैन। किनमेलसँगै बसोबासको पनि व्यवस्था यो विशाल परियोजना दुबई क्रीक हार्बरको एउटा ठूलो परियोजनाको केन्द्र हो, जसमा होटलहरू, आवासीय एकाइहरू र मनोरम तटीय विकास समावेश छन्। यस परियोजनामा ७४ लाख वर्ग मिटरको विशाल आवासीय क्षेत्र र लगभग पाँच लाख वर्ग मिटरको हरियाली क्षेत्र पनि समावेश छ। सीधा कुरा यो हो कि यहाँ तपाईंलाई केवल बजार मात्र मिल्नेछैन, बरु घुमफिरका लागि समुद्र किनार जस्तै सुन्दर, खुला सडकहरू र ढेरै हरियाली पनि मिल्नेछ। यो सम्पूर्ण क्षेत्रलाई यस्तो तरिकाले निर्माण गरिएको छ कि यो बसोबास, घुमफिर, रमाइलो गर्ने र किनमेल गर्ने हरेक कुराका लागि एकदम शक्तिशाली र मजेदार स्थान बन्नेछ।
पूर्वमन्त्री एवं एमाले नेता रानाले छाडे राजनीति
काठमाडौं । नेकपा (एमाले) को आगामी राष्ट्रिय महाधिवेशनको मुखमा पोलिटब्युरो सदस्य दलबहादुर रानाले राजनीतिबाट विदा लिने घोषणा गरेका छन् । रानाले शुक्रबार सामाजिक सञ्जालमार्फत यो निर्णय सार्वजनिक गरेका हुन् । उनले आगामी महाधिवेशनमा कुनै पनि पद नउठ्ने र समग्र राजनीतिक यात्राबाट विश्राम लिने बताएका छन् । फेसबुक पोस्टमा रानाले लेखेका छन्, ‘हाल मेरो पारिवारिक समस्याको प्रमुख कारणले गर्दा पार्टीको जिम्मेवारीमा रहेर सक्रियतापूर्वक काम गर्न सक्ने अवस्था नभएकोले भोलि २०८२ साल मङ्सिर २७–२९ सम्म काठमाडौंमा हुने यो ऐतिहासिक एघारौँ राष्ट्रिय महाधिवेशनदेखि पार्टीको सक्रिय राजनीतिक यात्राबाट विश्राम लिने निर्णयमा पुगेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु ।’ सक्रिय राजनीतिक जीवनबाट विदा लिँदै गर्दा पनि रानाले पार्टी सदस्यको हैसियतबाट समयानुकूल रूपमा देश, जनता र पार्टीको हितमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् । करिब साढे चार दशकदेखि राजनीतिमा सक्रिय राना पाल्पाबाट निर्वाचित हुँदै आएका थिए । यद्यपि, पछिल्लो पटक उनी सांसद थिएनन् । सन् २०१३ (२०७० साल) मा उनले भूमि सुधार तथा व्यवस्था मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
मन्त्रिपरिषद् बिस्तारको तयारी: यी हुन् सम्भावित चार मन्त्री, शपथ आजै
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्। नियुक्त चार मन्त्रीहरूको शपथ दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने निश्चित भएको छ। राष्ट्रपति कार्यालयका स्रोतका अनुसार, नयाँ मन्त्रीहरूमा कुमार इङ्नाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ छन्। भण्डारी नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक हुन् भने श्रेष्ठ नेपाल पर्यटन बोर्डकी पूर्वकर्मचारी हुन्।
एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
काठमाडौं । यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । दीपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ । गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ । लिग चरणमा भएको यी दुवबैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो । एपिएलको विजेताले रु एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले रु ५१ लाख, तेस्रो टोलीले रु २५ लाख र चौथो रु १५ लाख प्राप्त गर्नेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।
माेरङमा वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद
विराटनगर । मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए । घटनापछि गाँजा ओसारपसारमा लाग्ने व्यक्तिको खोजी भइरहेको उनले बताए ।
पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू । चिटिक्क परेका गल्लीहरू । कर्नासेमा मकैको झोता झुण्ड्याएका घरहरू । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने मुदीगाउँ रमणीय र मनमोहक छ । मगर समुदायको बाहुल्य बसोबास रहेको मुदी प्रकृति र संस्कृतिको सङ्गम हो । हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण जीवनशैलीमा रमाउन सकिने मुदी पाहुना र पर्यटकको पर्खाइमा रहेको वडाध्यक्ष यामबहादुर घर्तीले बताए । “संसारको सातौँ (८१६७) मिटर अग्लो धवलागिरि हिमाल यही मुदीगाउँ समेटिएको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ”, उनले भने, “प्रचारप्रसारको कमीले ओझेलमा परेको मुदीमा पर्यटन पूर्वाधार निर्माण र विस्तारसँगै प्रवर्द्धनमा जुटेका छौँ ।” नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनका क्रममा मुदी र दरमा चिरकालिजको बासस्थान रहेको भेटिएको हो । अध्ययनमा सहभागी विराट रजकका अनुसार एक वर्षअघि भएको अध्ययनका क्रममा मुदीमा तीन र दरमा सात जोडी चिरकालिज भेटिएका थिए । मुदीगाउँभित्रका गल्लीमा सरसफाइ, ढल व्यवस्थापन र ढुङ्गा बिछ्याएर चिटिक्क पारिएको छ । मुदीगाउँ र हिमाल अवलोकनका लागि वडा कार्यालय परिसरको डाडाँमा भ्यु प्वाइन्ट (दृश्य अवलोकन) स्थल बनाइएको छ । भ्यु प्वाइन्ट वरपरको पदमार्गमा रेलिङ राखिएको छ । करिब ३० मिनेट पैदलयात्रा गरेपछि पुगिने थलडाडाँबाट हिमालका अलावा छिमेकी बस्ती, नागबेली परेर बगेको म्याग्दी, गुर्जा र दरखोला र पहाडी भूगोलको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरमा अवस्थित मुदीका अधिकांश घर परम्परागत शैलीका ढुङ्गे छन् । मुदीका करिब दुई सय ५० मध्ये २० घरपरिवार दलित र तीन परिवार गुरुङका छन् । मगर समुदायको सांस्कृतिक पहिचान पुर्ख्यौली, मादले, मारुनी नाच, यानीमाया, सालैजो गीतले पाहुनालाई स्वागत गर्ने चलन छ । मुदीदेखि धवलागिरि चक्रीय र गुर्जा हिमाल पदयात्रामा जान सकिन्छ । यहाँको लेकमा वैशाख जेठमा यार्सागुम्बा र असोज कात्तिकमा च्याउ टिप्ने चलन छ । फिरन्ते शैलीमा घुम्ती गोठमा गाईभैँसीपालन गर्ने गोठालाको दिनचर्या र जीवनशैली अध्ययन गर्न सकिन्छ । म्याग्दी सदरमुकाम बेनीदेखि गाडीमा तीन घण्टा र मोटरसाइकलमा दुई घण्टा यात्रा गरेपछि मुदी पुगिन्छ । बेनीदेखि ४७ किलोमिटर दूरीमा रहेको मुदीका लागि आवतजावतका लागि जिप चल्छन् । मुदीमा पाहुना र पर्यटकलाई लक्षित गरेर घरबास ९होमस्टे० सञ्चालन भएको छ । होमस्टेका सञ्चालक गौबहादुर राम्जालीले सडक यातायातको पहुँच, गाउँको फेदी भएर बग्ने गुर्जा र म्याग्दी नदीमा जलविद्युत् आयोजना निर्माण हुन थालेपछि पाहुना आउन थालेका बताए । “पाहुनालाई घरायसी वातावरणमा खानेबस्ने व्यवस्था मिलाउनका लागि आठ–दश वर्षअघि बनाएर प्रयोगमा नआएको घरमा आधारभूत पूर्वाधार बनाएर होमस्टे चलाएको हो”, उनले भने, “लोकल कुखुरा, खसीबोकाको मासु, च्याउ, टुसाको तरकारी, सिमीको दाल, कोदो, फापरको ढिँडोको स्वाद चखाउने गरेको छु ।” उक्त होमस्टेमा एक दिनमा २० देखि ३० जना सहजै बास बस्न सक्छन् । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले मुदी, मुना क्षेत्रमा रेडपाण्डा, चिरकालिजजस्ता दुर्लभ वन्यजन्तु र पन्छी पाइने भएकाले पर्यापर्यटनको हिसाबले पनि सम्भावना देखिएको बताए । मुदीको पर्यटन विकासका लागि पूर्वाधार निर्माणसँगै धवलागिरि आरोहण दिवस हिमाल भएको वडा मुदीमै मनाउन नेपाल पर्यटन बोर्ड र सम्बद्ध गैरसरकारी संस्थालाई अनुरोध गरिएको उनले बताए
कस्ताे रहला आज देशभरको मौसम ?
काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
निर्वाचन नजिकिँदा गण्डकी प्रदेशमा राजनीतिक गतिविधि बढ्याे
गण्डकी । अबको ८३ दिनपछि प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । आगामी फागुन २१ गतेलाई घोषित निर्वाचनको मिति नजिकिँदै गर्दा गण्डकी प्रदेशमा राजनीतिक गतिविधि बढेको छ । दलहरु चुनाव लक्षित अभियान र कार्यक्रममा केन्द्रित बनेका छन् । ‘जेनजी’ आन्दोलनपछि केही समय सुस्ताएको दलीय गतिविधि पुनःपुरानै लयमा फर्किएको हो । यसअघिको प्रतिनिधिसमा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि उम्मेद्वार सिफारिससँगै साङ्गठानिक गतिविधिलाई तीव्र पारेको छ । नेपाली कांग्रेस, गण्डकीका महामन्त्री विष्णु लामिछानेले उम्मेद्वार सिफारिस, कांग्रेसको क्रियाशील सदस्यता वितरण तथा नवीकरण र सङ्गठन विस्तार सँगसँगै भइरहेको बताए । “जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका सम्भावित उम्मेद्वारको नाम सिफारिस गर्ने काम भइरहेको छ”, उनले भने, “निर्वाचनलाई लक्षित गरी जिल्ला र प्रदेशस्तरमा पार्टीका भेला, बैठकहरु भइरहेका छन्, पार्टीको महाधिवेशन नजिकिएकाले राजनीतिक माहोल बढेको छ ।” नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म हुँदैछ । वडा, क्षेत्र, जिल्ला, प्रदेश अधिवेशन हुँदै केन्द्रीय महाधिवेशन हुने भएकाले यतिबेला कांग्रेसभित्रको आन्तरिक राजनीति गर्माएको महामन्त्री लामिछानेले बताउनुभयो । पार्टी महाधिवेशनसँगै प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा प्रदेशको सिङ्गो पार्टी पङ्क्ति जुटेको उहाँको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११औँ महाधिवेशनको सङ्घारमा छ । महाधिवेशन प्रतिनिधिसहित पार्टीका नेता, कार्यकर्ता राजधानी पुग्ने क्रम सुरु भएको छ । शनिबारदेखि सुरु हुने महाधिवेशनले पार्टीको आन्तरिक राजनीतिलाई चलायमान बनाएको नेकपा (एमाले), बागलुङका अध्यक्ष हिराबहादुर केसीले बताए । “एमालेको महाधिवेशनले राष्ट्रिय राजनीतिमा प्रभाव त राख्छ नै, तर मुलभूत रुपमा एमालेको आन्तरिक जीवनमा यो महाधिवेशन धेरै महत्वपूर्ण छ”, उनले भने । महाधिवेशनको घोषणाले एमालेलाई गतिशिल बनाएको र यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र एकताको भावनालाई थप सुदृढ पार्ने अध्यक्ष केसीले बताए । प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा भइसकेको सन्दर्भमा दलका चुनावी गतिविधि स्वाभाविक रुपमा बढ्ने उहाँको भनाइ छ । राजनीतिक गतिविधि सही ढङ्गले अगाडि बढ्दा मुलुक र लोकतन्त्रको रक्षा हुने अध्यक्ष केसीले बताए । विभिन्न दल र समूहहरुबिचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी यतिबेला राजनीनि गतिविधिमा सक्रिय छ । उक्त पार्टीका केन्द्रीय सदस्य ज्ञामनाथ गैरे ‘अनिल’ले गण्डकी प्रदेशस्तरीय पार्टी एकता सन्देश सभा यही मङ्सिर १४ गते पोखरामा सम्पन्न भएपछि अहिले जिल्लास्तरमा एकता सन्देश सभा भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनअघि म्याग्दीमा एकता सन्देश सभा भइसकेको छ । गोरखा र लमजुङमा बिहीबार एकता सन्देश सम्पन्न भएको छ । तनहुँ, पर्वत र स्याङ्जामा शुक्रबार, बागलुङ र नवलपुरमा शनिबार एकता सन्देश सभाको आयोजना हुने केन्द्रीय सदस्य गैरेले बताए । एकता सन्देश सभामार्फत पार्टीका नीति र विचारलाई जनस्तरमा लैजाने र चुनावी वातावरण बनाउन काम नेकपाले गरिरहेको उनको भनाइ छ । “नेपाली कम्युनिष्ट पार्टी निर्वाचनमा भाग लिने घोषणासहित तयारीमा जुटिसकेको छ, अहिले पार्टीको एकताको सन्देश देशव्यापी रुपमा प्रवाह भइरहेको छ, यसले निर्वाचनको माहोल बनाउन मद्दत पुगेको छ”, उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टी, बागलुङका जिल्ला सदस्य राजेन्द्र शर्माले निर्वाचन केन्द्रित भएर पार्टीका गतिविधि अगाडि बढाइएको बताए। “सङ्गठन विस्तारसँगै चुनावी तयारीमा जुटेका छौँ, १६ वटा वडाका अधिवेशन सम्पन्न गरिएको छ”, उनले भने, “निर्वाचनको वातावरण बन्दैछ, दलहरु आआफ्नो तयारीमा लागेका छन् ।” उनले रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ बागलुङबाट चार जना आकाङ्क्षी उम्मेद्वारको नाम पठाइएको जानकारी दिए । “प्रत्यक्षतर्फको निर्वाचनका आकाङ्क्षी उम्मेद्वारहरुको आवदेन लिने काम भइरहेको छ”, उनले भने, “जिल्लाबाट नामावली पठाउँछौँ, उम्मेद्वार छनोटको अन्तिम निर्णय पार्टी केन्द्रले गर्छ ।” गण्डकी प्रदेशमा क्रियाशील अन्य राजनीतिक दलहरु पनि चुनावको तयारीमा जुट्न थालेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन दिएका दललाई आज निर्वाचन चिह्न
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन दिएका दलको अन्तिम नामावली आज (शुक्रबार) प्रकाशन गर्दै छ । आयोगले शुक्रबार नै दललाई निर्वाचन चिह्नसमेत प्रदान गर्ने छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार दलहरूबाट नाम फिर्ता लिन चाहेमा फिर्ताका लागि निवेदन दिने कार्यक्रम रहेकामा कुनै दलबाट नाम फिर्ता लिने निवेदन आएको छैन । समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ९३ वटा राजनीतिक दलबाट दर्ताका लागि निवेदन परेको छ । परेको निवेदन उपर आयोगले छानबिन गरी चुनावमा भाग लिने दलको अन्तिम नामावली प्रकाशन गर्ने छ । नामावली प्रकाशन भएपछि आयोगले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गर्न करिब दुई साताको समय दिने छ । सोबमोजिम दलहरूले उम्मेदवारको बन्दसूची पुस १३ गते पेस गर्नुपर्ने छ । आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रमबमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम माघ ६ गतेदेखि मात्रै सुरु हुने छ ।
नारायणगढ–बुटवल सडककाे पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सकिएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने ३३ वटा पुल निर्माणको काम सकिएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले बताए । गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब एउटा पुल निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताए । यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा एउटा पुलमात्र निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले जानकारी दिए । सूचना अधिकारी खनालका अनुसार लामा पुलमा पनि दुई सय मिटरभन्दा लामा गिरुवारी खोला, अरुणखोला र विनयी खोलाको पुलमध्ये अरुणखोलाको पुलमात्र निर्माणको काम बाँकी छ । अरुणखोला पुलको काम अन्तिम चरणमा रहेको छ । निर्माण गरिएका पुलमध्ये कावासोतीको केरुङ्गे खोला र चोरमाराको गिरुबारी खोलामा ‘एप्रोच’ सडकको काम भइरहेको छ । केही दिनमा यी पुलबाट सवारी सञ्चालन हुने छ । “पुलहरू बनाउने काम लगभग अन्तिम चरणमा पुगेको छ, एउटा अरुणखोलाको पुलमा केही काम बाँकी छ, त्यो पनि चाँडै सकिन्छ”, सूचना अधिकारी खनालले भने । दाउन्ने खण्डमा केही कल्भर्टको काम बाँकी रहेकाले ती कल्भर्ट निर्माणसमेत अन्तिम चरणमा चलिरहेको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको हालसम्म भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । पूर्वी खण्डमा दाउन्नेबाहेकका क्षेत्रमा कालोपत्रको धेरैजसो काम भएकाले यात्रा सहज बनेको छ । दाउन्ने क्षेत्रमा भने अझै सडक ढलानको काम बाँकी रहेकाले यात्रा सहज हुनसकेको छैन । नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल एक सय १३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रो पटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक २०८३ असारसम्म म्याद थप गरिएको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नको १४ किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माण हुनेछ ।
हिमालका हिउँ पग्लेपछि चमक हराउँदै
सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुच्चुराबाट यो जिल्ला परिचित रहँदै आएको थियो । यसबाट पर्यटक मोहित हुन्थे । पछिल्ला दिन हिमालमा हिउँ कम पर्न थालेको छ । “अर्कै युग सुरु भएको छ जस्तो लाग्छ,” खुम्बुका वृद्ध पासाङ शेर्पाले भने, “बाल्यकालदेखि सेताम्य हिमाल मात्रै देख्थ्यौँ, तर अहिले त पहाडको आधा भाग कालो चट्टानजस्तो देखिन्छ, हेर्नुस् त हाम्रो आँखैअघि देखिएका यी हिमाल कहाँ हिमालजस्ता छन् र ? कति धेरै फरक भइसक्यो ।” दुई दशकअघिसम्म जिल्लाको माथिल्लो भाग नाम्चे, खुम्जुङ, तेङ्बोचे, लोबुचेदेखि गोरक्षेपसम्म हिउँले भरिएको देखिन्थ्यो । तर हालका वर्षमा हिउँ पर्ने समय छोटिएको मात्र होइन, पर्वतको सतहमा टाँसिएको हिउँका कण पनि तीव्रगतिमा पग्लिन थालेको स्थानीय लामाकाजी शेर्पाले बताए । विगतमा वर्ष भरी नै सेतो हिउँले ढपक्कै ढाकिने सगरमाथा, ल्होत्से, नुप्चे, आमादब्लम, थामसेर्कुजस्ता हिमाल अहिले कालो चट्टान र पर्वतका रङ्ग स्पष्ट देखिनु आजभोलिको सामान्य दृश्य जस्तै बनेको छ । सगमाथा क्षेत्र अवलोकनका लागि आउने पर्यटक उक्त अस्वभाविक दृष्य देखेर अच्चमित हुने गर्छन् भने स्थानीयलाई भने सोही दृष्य अब सामान्य जस्तै लाग्न थालेका छन् । “भ्रमणकर्ताहरुको जिज्ञासापछि हामी पनि सोच्न बाध्य हुन्छौँ नत्र अब त हामीलाई सामान्य जस्तै लाग्न थालिसक्यो किन की यो प्रकृया तीव्रगतिमा बढिरहेको छ, सोधौँ हामीले कसलाई सोध्ने ? रोकौँ कसरी रोक्ने ? केही विकल्प नहुँदा हामी चुपचाप बस्न बाध्य छौँ ।” खुम्जुङका फुडोमा शेर्पाले भने । “पृथ्वी तातो हुँदा हिमालको हिउँ हरेक वर्ष पातलो हुँदै गएको हो,” सगरमाथा राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्याय भन्छन्, “हिउँले ढाकेका भाग घट्दै गएका छन् । हालका वर्षमा मौसमचक्र नै उल्टो भएको स्थानीयको बुझाइ छ । जोरसल्लेका पेमा शेर्पा भन्छन् “पहिलेदेखि जाडो कडा हुन्थ्यो तर सहन सकिन्थ्यो । अहिले भने जाडोमा हड्डी नै कटकट दुख्ने गरी चिसो हुन्छ । गर्मीमा त झनै, हिमालकै काखमा बसेर पनि पसिना आउने गरी तातो हुन्छ । उच्च हिमाली क्षेत्रमा सन् १९७० पछि तापक्रम करिब १.५ डिग्री सेल्सियसले बढेको बताइएको छ । तापमानले रेखा नाघेपछि हिमालको सतहमा जम्ने हिउँको मात्रा घट्ने, जमिसकेको हिउँ द्रुत पग्लने र पर्वतको चट्टानी भाग खुला देखिनु स्वाभाविक प्रक्रियाजस्तै बन्दै गएको वातावारणविद् राजन थापाको भनाइ छ । उनी भन्छन्, “हिमालमा कालो रङ देखिनु केवल हिउँ पग्लिनुको कारण होइन । विशेष कारणमध्ये हिमालबाट खसेको ठूलो चट्टान सतह, सुक्खा हिउँ पग्लेर बनेको चट्टानी पट्टी, वायुमण्डलबाट जम्मा हुने ब्ल्याक कार्बन र निकुञ्ज क्षेत्रमा बढ्दो मानवीय गतिविधि–मुख्यरूपमा उल्लेखनीय छन् ।” गत वर्षको साउन ३२ गते शुक्रबार दिउँसो थामेखोलामा आएको बाढीले खुम्बु क्षेत्रमा वितण्डा मच्चियो । स्थानीयहरू अझै पनि त्यो क्षण सम्झँदा डराउँछन् । यसले २० भन्दा बढी घरमा क्षति पु¥यायो । विद्यालय, स्वास्थ्यचौकीसहित सरकारी संरचनादेखि पर्यटक पदमार्ग तथा स्थानीयको घर खेत, कामचलाउ संरचना, पशुका गोठ, जलविद्यत आयोजनासमेत बगाएर लग्यो । थामेको बाढी तल झर्दै आइपुग्दा फाक्दिङ–नाम्चे जाने मुख्य पर्यटकीय पदमार्ग नै कटान गरियो । खुम्बु क्षेत्रको पर्यटनलाई नेपालको सम्पूर्ण पर्यटन आयको मेरुदण्ड मानिन्छ । त्यही मेरुदण्ड जलवायु सङ्कटका कारण हरेक वर्ष कम्जोर हुँदै गएको छ । फेरिचे, इम्जा र खुम्बु क्षेत्रमा हिमतालको विस्तार तीव्र गतिमा बढेको छ । इम्जा ताल २० वर्षमा ६५ प्रतिशतले ठूलो भएको तथ्यले खुम्बु क्षेत्रमा जलवायु परिवर्तन कति तेज छ भन्ने स्पष्ट सङ्केत दिएको छ । इम्जा, थामसेर्कु बेसिन, खुम्बु बेसिनजस्ता क्षेत्र अहिले उच्च जोखिम सूचीमा रहेका बताइएको छ । खुम्बुका पशी लामा भन्छन्, “पहिला हामी हिमताल फुट्ने कथा सुन्थ्यौँ, अब त्यसैको डर लिएर दिन बित्छ । हिउँ पग्लिएर ताल ठूलो हुँदै गएपछि यहाँका गाउँ, पुल, बाटो, बस्ती सबै जोखिममा छन् ।” यहाँको पहिचान यहाँको जीवनशैली हिमालसँग गाँसिएको छ । पहिलादेखि सधैँ हिउँले भरिएको चिसो मौसममा गोठमा पशु राख्ने, पानी हिउँबाट पगालेर प्रयोग गर्ने, खेतीपाती तय गर्ने परम्परा पनि बदलिन थालेको छ । हिउँ कम परेपछि खोला नालामा पानी घटेको छ । दुधकोशी, इम्जा खोला, खोलाजस्ता स्रोत वर्षायामपछि मात्र बढ्छन्, तर हिउँ पग्लिने गति अनिश्चित भएकोले सुक्खा मौसममा पानी अभाव देखिन थालेको छ । जलवायु परिवर्तनसँगै ट्रेकिङ मार्गमा पहिरो, हिउँपहिरो र चट्टान खस्ने जोखिम बढेको उनको तर्क छ । स्थानीय गाइड बल दर्नाल भन्छन्, “पहिला जसरी योजना बनाइन्थ्यो, अहिले मौसम अनिश्चित भएकाले पर्यटकका लागि जोखिमको हिसाबले धेरै सावधानी आवश्यक हुन्छ ।” यहाँको पहिचान जोखिममा पर्न सक्ने आरोही स्पीडकाजी शेर्पाको चिन्ता छ ।
कैलालीमा जेनजी आन्दाेलनमा आगजनी र तोडफोड गर्ने १० पक्राउ
कैलाली । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको छ । जिल्ला अदालतमा तोडफोड र आगजनीमा संलग्न भएको अरोपमा धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय आषिश भण्डारी, बैतडी जिल्ला घर भई हाल धनगढी उपमहानगर–३ बस्ने भरत बम र सोही ठाउँ बस्ने अमन केसी, वडा–७ का २७ वर्षीय एलेक्स चन्द, २१ वर्षीय लक्ष्मणबहादुर विष्ट र वडा–१ बस्ने मनोज विष्टलाई पक्राउ गरिएको हो । कैलाली कारागारमा तोडफोड र आगजनी गरेको आरोपमा धनगढी–२ का २८ वर्षीय गोपाल भट्ट, वडा–३ का जेम्स भन्ने सुरज कटुवाल, वडा–९ बस्ने ४० वर्षका वसन्तराज जोशी र १९ वर्षका अङ्कित सक्सेनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले फरकफरक मितिमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकामाथि आपराधिक उपद्रवको मुद्दा चलाइएको छ । जिल्ला अदालतले तोडफोड र आगजनी घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्नका लागि दिइएको जाहेरीका आधारमा प्रहरी टोलीले विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । आन्दोलनको क्रममा जिल्ला अदालत आगजनी र तोडफोड हुँदा भवनमा क्षति पुग्नुका साथै विभिन्न मुद्दाका मिसिल, कम्प्युटरलगायत जिन्सी सामानमा क्षति पुगेको थियो । कैलाली कारागारमा भएको तोडफोडका क्रममा कारागारको भौतिक संरचनामा क्षति पुग्नुका साथै त्यहाँ रहेका कैदीबन्दी फरार भएका थिए । कैलालीको भजनी नगरपालिका–९ गन्जहुवा गाउँस्थित सरस्वती सामुदायिक वन क्षेत्रको लम्की ताल छेउमा रहेको रुखको टोड्कोमा लुकाइछिपाइ राखिएको अवस्थामा बुधबार एक नाले भरुवा बन्दुक बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको छ ।
अगामी पुस १ गतेदेखि बाघ गणना गरिने
चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पुस १ र २ गते गणनामा सहभागीलाई तालिम दिइदै छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंम सेवी, विद्यार्थी र संरक्षणका साझेदार तालिममा सहभागी हुँदैछन् । करिब एक सय ५० जना तालिम लिएर गणनामा खटिने उनले बताए । पुस ३ गते तालिम लिएका गणनाका लागि कार्यक्षेत्रमा परिचालन हुनेछन् । मगरका अनुसार दुई निकुञ्जमा नौ सय ग्रिड बनाइएको छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिने छ । गणनाका क्रममा दुई निकुञ्जलाई तीन भागमा बाँडेर गणना गरिने छ । हरेक भागमा २० दिन क्यामेरा राखिने छ । एक भागमा ३०० ग्रिड हुनेछन् । एउटा ग्रिडमा २० दिन एउटा क्यामेरा राखिने छ । ग्रिडहरुकोबीच भागपर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने छन् । उनीहरुले भूगोल अनुसार आठदेखि बाह्र सम्मको ग्रिडमा राखिएको क्यामेरा दैनिक अनुगमन गर्ने उनले जानकारी दिए । ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ । बाघको फोटो हेरेर तिनीहरुको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उनले जानकारी दिए । हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । पहिलो कम्प्लेक्स यो हो भने दोस्रो कम्प्लेक्स बाँके र बर्दीया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ । त्यहाँभित्र पनि तीन वटा व्लक हुने छन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुने छ । यो एउटै व्लक बनाइने छ । यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो । बाघ गणना सम्पन्न भएपछि गैँडा गणना गर्ने तयारी छ । गतवर्ष गैँडा गणना गर्ने कार्यक्रम बजेट अभावका कारण रोकिएको थियो । हरेक चार/चारवर्षमा गैँडा गणना गरिँदै आएको थियो । गतवर्ष गर्न नसकिएको गैँडा गणना यसवर्ष फरक विधिबाट गर्ने तयारी निकुञ्ज विभागको रहेको छ ।
प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस
काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ। उक्त समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन सारांशको प्रस्तुतीकरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गत असोज ५ गते यो समिति गठन भएको थियो। समितिले ७५ दिनमा आफ्नो प्रतिवेदन बुझाएको हो। समितिका अनुसार जेनजी आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति भएको थियो। यस्तो क्षति हुने जिल्ला ५४ र स्थानीय तह २६२ रहेका छन्। प्रतिवेदनअनुसार भदौ २३ गते २० जना, २४ गते ३७ जना र त्यसपछि २० जना गरी कूल ७७ जनाको ज्यान गएको छ। दुई हजार ४२९ जना घाइते भएकामा १७ जना १३ वर्षमुनिका छन्। १३ देखि २८ वर्षका एक हजार ४३३ जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ। समग्र भौतिक क्षति हेर्दा रु ८४ अर्ब ४५ करोड ७७ लाख बराबरको भएको समितिको मूल्याङ्कन छ। जसमध्ये प्रभावित निकाय/संस्था दुई हजार १६८ छन्। दुई हजार ६७१ भवनमा क्षति पुगेको छ। जसमा क्षतिको मूल्याङ्कन रु ३९ अर्ब ३१ करोड ७५ लाख बराबर रहेको छ। १२ हजार ६५९ वटा सवारीसाधनमा क्षति पुग्दा १२ अर्ब ९३ लाख ६१ हजार बराबरको नोक्सान हुन पुगेको छ। सरकारी/सार्वजनिक क्षेत्रको रु ४४ अर्ब ९३ करोड ७३ लाख बराबरको क्षति पुगेको छ। निजी क्षेत्रको क्षतिको मूल्याङ्कन ३३ अर्ब ५४ करोड ८७ लाख बराबर छ। सामुदायिक तथा अन्य क्षेत्रको ५ अर्ब ९७ करोड १७ लाख रुपियाँ बराबरको क्षति भएको छ। सरकारी क्षतिमा तीन तहमध्ये सङ्घीय सरकारको ६८ प्रतिशत छ भने प्रदेश र स्थानीय तहको क्रमशः १० र २२ प्रतिशत छ। समितिले पुनःनिर्माण कार्ययोजना पनि पेस गरेको छ। पुनःनिर्माण गर्न ३६ अर्ब ३० करोड २१ लाख बराबरको बजेट आवश्यक पर्ने अनुमान गरिएको छ।

