वालिङमा जीप दुर्घटना  : ९ जना घाइते

स्याङ्जा । वालिङ नगरपालिका-११ स्थित छत्तिवनमा जीप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। घाइते हुनेमा जीप चालक ४१ वर्षीय ज्ञानप्रसाद पंगेनी, १९ वर्षीया नम्रता खत्री, ३२ वर्षीया सुकमाया सुन्धौली उनका छोरा १३ का संगम सुन्धौली ७७ वर्षीय रनबहादुर मगर, ७५ वर्षीया लाटी मगर, ३६ वर्षीया हुमकला पंगेनी, ३० वर्षीया विन्दु खवास र १७ वर्षीया करिना खवास छन्।

घाइते नौमध्ये ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा र अन्य ५ जनालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

वालिङ नगरपालिका(११ छत्तिवनको भित्री सडक खण्डमा वालिङबाट धनपुरतर्फ जाँदै गरेको ग २ च ७४७९ नम्बरको जीप शनिबार दिउँसो दुर्घटना भएको थियो। जीप सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

नाउपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरुबिच भेटवार्ता भएको छ । शनिबार उनीहरुबिच भेटवार्ता भएको हो।  भेटवार्ताको क्रममा प्रधानमन्त्री प्रचण्डले नाउपालाई एक मन्त्रालय दिने गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् । छलफलमा सहभागी नाउपाका संस्थापक नेता एवम् टीकापुरका मेयर रामलाल डंगौराले भेटवार्ता सकारात्मक भएको बताए। फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नेबारे सकारात्मक छलफल भएको डंगौराले जानकारी दिए। संघमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नाउपाले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई नै समर्थन यथावत् राखेको छ। अल्पमतको प्रदेश सरकारमा नाउपाका ७ सांसदमध्ये ५ जना अहिले मन्त्री छन्। केही दिनअघि रञ्जिताको निर्देशनविपरीत नाउपा सुदूरपश्चिम संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेको थियो।  नयाँ समीकरणमा बनेको केन्द्र सरकारमा सहभागी हुने, सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार बनाउन टिम बनाउने लगायतका विषयमा छलफल भएको मेयर डंगौराले बताए।

विश्व बैंकका उपाध्यक्षलाई अर्थमन्त्रीको निम्तो

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुन अनन्तले विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनमा आउन निमन्त्रणा गरेका छन् । बैंकका उपाध्यक्षत्रय रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनसँग बिहीबार राति भएको भर्चुअल बैठकमा अर्थमन्त्री पुन अनन्तले रेजरलाई लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरेका थिए । औपचारिक रुपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै मन्त्री पुनले लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले व्यक्तिगत रुपमा पनि निम्तो दिएका हुन् ।जवाफमा रेजरले निमन्त्रणाका लागि धन्यवाद दिए । उनले नेपाल र विश्व बैंकबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताए ।  अर्थमन्त्रीले नेपालले वैदेशिक लगानीसहित निजी क्षेत्रको भूमिका र पुँजी परिचालनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरे । लगानी सम्मेलनका लागि आवश्यक कानूनी र प्रक्रियागत सुधारका काम अघि बढेको जानकारी उनले दिए ।  सम्मेलनलाई नेपालले अवसरका रूपमा लिएको भन्दै विश्व बैंकसहित विकास साझेदार बताउँदै उनले विश्व बैंकसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्‍वास व्यक्त गरे । तेश्रो लगानी सम्मेलन आगामी ०८१ वैशाख १६ र १७ गते काठमाडौँमा हुँदैछ ।

पोखराबाट काठमाडौं आउँदै गरेको बस तनहुँमा दुर्घटना

काठमाडौं । तनहुँमा पर्यटक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। पोखराबाट काठमाडौं आउँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस आज बिहान साढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका ६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाणका अनुसार घाइतेहरूमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीया सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीया हुछिआओ ली छन्। जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उनीहरूको उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए । बसमा २६ यात्रु सवार थिए। बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खाणले जानकारी दिए ।

चट्याङ लागेर एक जनाको मृत्यु, ७ जना घाइते

धनगढी । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अरु ७ जना घाइते भएका छन् । शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका ६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।  बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले चट्याङ लागेर मृतक सिंहकी छोरी शान्ति सिंह, धिरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, पञ्चादेवी सिंह, उनको छोरा नितेश सिंह र छोरी लक्ष्मी सिंह घाइते भएको जानकारी दिए । जिल्ला अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । घाइते सबै जना खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ । सिंहको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

गाजामा युद्धविराम गर्ने अमेरिकी प्रस्तावविरुद्ध रूस र चीनको भिटो

एजेन्सी । द्धन्द्धग्रस्त गाजा क्षेत्रमा युद्धविरामको लागि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकमा संयुक्त राज्य अमेरिकाले गरेको प्रस्ताव फेल भएको छ।अमेरिकाको उक्त प्रस्तावमाथि रसिया र चीनले भिटो प्रयोग गरेपछि अमेरिकाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा शुक्रबार गरेको प्रस्ताव पारित हुन नसकेको हो। सो प्रस्तावमा संयुक्त राष्ट्रसंघका ११ सुरक्षा परिषद्का सदस्यहरूले पक्षमा मतदान गरेको भएपनि भिटो शक्ति पाएका स्थायी सदस्यहरू रसिया र चीनले त्यसलाई रोकेका हुन्। संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत गिलाड एर्डनले बन्धकहरूको रिहाइसँग सम्बन्धित प्रस्ताव अस्वीकार गरी सुरक्षा परिषद्ले गरेको निर्णय हमासको निन्दा नगर्ने दाग भएको बताउदै आफुहरुले त्यसलाई कहिल्यै नबिर्सने बताए। यसैबीच, सो प्रस्तावलाई अस्वीकार गर्न लविङ गरेको अल्जेरियाले सुरक्षा परिषद्मा पेश गरिएको सो प्रस्तावमा शान्तिको स्पष्ट सन्देश नभएको र थप प्यालेस्टिनी नागरिकहरूलाई मार्ने अनुमति मात्रै भएकोले सो प्रस्ताव अस्वीकृत भएको बताएको छ। अमेरिकाले यसअघि अल्जेरियाले पेश गरेको युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको थियो।

उपप्रधानमन्त्री श्रेष्ठ चीनको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । उनी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् । उनले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ ।भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै,भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी चैत १९ गते स्वदेश फर्कर्नेछन् ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत १० गते शनिबार सन् २०२४ मार्च २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६२ पैसा र बिक्री दर १६८ रुपैयाँ ३७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

वाग्मतीसहित चारवटा प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण केही दिनयता नेपालमा वर्षा हुँदै आएको छ।  महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भईरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थान, मधेश, बागमती र गण्डकी  प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानका साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राती भने देशभर आंशिक बदली रहने छ। कोशी  प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। आज सूर्योदय बिहान ६ बजेर ४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १७ मिनेटमा हुनेछ ।

थाइल्यान्ड र म्यान्मार सीमानजिकबाट १३ नेपालीको उद्धार

काठमाडौं । विगत लामो समयदेखि थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरिएको छ । थाइ परराष्ट्र मन्त्रालय, थाइ इमिग्रेसन ब्युरो र नेपाली राजदूतावास यांगोन समेतको समन्वयमा थाइल्यान्ड र म्यान्मार सीमानजिक म्यान्मारको म्यावड्डीमा समस्यामा परेका नेपालीलाई उद्धार गरिएको हो । नेपाली राजदूतावास बैंककले लामो प्रयासपश्चात म्यान्मारको उक्त क्षेत्रबाट उद्धार गरी नेपाल फिर्ता पठाउने कार्य गरिएको जनाइएको छ । "उल्लेखित १३ नेपाली नागरिकहरुलाई मिति २०८०।१२।९ का दिन राजदूतावासले थाइल्यान्डको मेइसोटसम्म कर्मचारी खटाई थाइ–म्यान्मार सीमा पार गराई थाइल्यान्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाइ यात्रामार्फत बैंकक हुंदै आजै नेपाल एयरलाइन्सको उडान नं RA 402 बाट काठमाडौं पठाइएको छ,"  नेपाली राजदूतावास बैंककले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

योजना आयोगका नवनियुक्त चार सदस्यद्धारा सपथ ग्रहण

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त चार सदस्यहरुले उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन्। शुक्रबार सिंहदरबार स्थित आयोगको कार्यालयमा नवनियुक्त सदस्यहरु डा. अरनिको पाण्डे, प्रा. संगीता सिंह, डा.कुशरेन्द्रबहादुर महत र प्रा. शिवराज अधिकारीले उपाध्यक्ष समक्ष सपथ लिएका हुन् ।  सपथ ग्रहण गरेसँगै चारै जना सदस्यले शुक्रबार नै पदवहाली समेत गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

हर्क, बालेन र रबीहरूको परिवर्तनका नेता प्रचण्ड  :  मैनाली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले बालेन्द्र शाह, हर्क सामपाङ र रबी लामिछानेहरूको परिर्वतनको नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै भएको टिप्पणी गरेका छन् । ह्वइट हाउस इन्टरनेश्नल कलेजले पुतलीसडकमा शुक्रवार क्विज कन्टेन्ट सञ्चालन कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित मैनालीले यो देशको परिवर्तनको नेतृत्वकर्ता प्रचण्ड भएकाले त्यसका बाईप्रडक्ट रूपमा अरू भएको उल्लेख गरे ।  ‘जुनसुकै पार्टीको राजनीति गरे पनि प्रगतिशील र क्रान्तिकारी राजनीति गर्नुस् । यसरी नै रबी लामिछाने, बालेन शाह र हर्क सामपाङ्गले गरे’ उनले भने, ‘पछिल्ला जति पनि आन्दोलनहरू भए त्यसको नेतृत्व प्रचण्डले गरे । हर्क, बालेन र रबीहरूको परिवर्तनको नेता प्रचण्ड हुन । त्यस्तै परिवर्तनगामी नेता बन्ने सपना देख्नुस् ।’  यो देशको युगान्तकारी परिवर्तन गर्न १० वर्षे जनयुद्ध गर्न बन्दुक उठाएको उनले जिकिर गरे । ‘यो देशमा महिलाले जोत्नु हुँदैन किरिया बस्नु हुँदैन भन्नेलाई माओवादीले बन्दुक बोकाएर यो मुलुकको रूपान्तरणमा लगायो। सामन्ती राजतन्त्रको जरो नै उखालेर देशमा गणतन्त्र स्थापना ग¥यो’ उनले भने, “बालेन कुनै बेला अखिल क्रान्तिकारीको सदस्यता बोकेको मान्छे हो। अखिल क्रान्तिकारीमा सङ्गठित भएको मान्छे हो। उहाँ आफ्नैढङ्गले अघि बढेर महानगर प्रमुख भए ।’ यो देशको राजनीति खराब छ भनेर विद्रोेह गरेर काठमाडौँको मेयर हुन सफल भएको उल्लेख गरे । उनले कार्यक्रम  ह्वाइ हाउस कलेजले यो प्रदेशको नमुना बनाउने मुख्यमन्त्री जन्माओस् भन्दै शुभकामना दिए । माओवादीले यो देशको १८ घण्टे लोडसेडिङदेखि भ्रष्टाचारका सुशासनको पक्षमा कदम चालेको उनले उल्लेख गरे ।

दियालो बंगला दरबार सर्वसाधारणका लागि वैशाख १५ गतेभित्र खुला गर्ने

चितवन । एतिहासिक दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । शुक्रबार भरतपुर महानगरपालिका र नेपाल ट्रष्टबीच बंगला परिसरमा द्धिपक्षिय सम्भौता भएको छ ।यससँगै सर्वसाधरणका लागि उक्त दरबार वैशाख १५ गतेभित्र खुला हुने छ । सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वैशाख १५ एक औपचारिक कार्यक्रम गरी सञ्चालनमा ल्याइने स्पष्ट पारिन् । प्रमुख दाहालले भरतपुर महागनरपालिका र नेपाल ट्रष्टको संयुक्त लगानीमा आवश्यक कामहरुलाई अगाडि बढाइने उल्लेख गरिन्।बंगलालाई संग्रालयको रुपमा विकास गर्ने लक्ष्यका साथ महानगरपालिका अघि बढेको उनको भनाइ छ । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा दरबार खुल्ला गर्न लागिएको पनि दरबार राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटकको अध्ययन तथा अनुसन्धानको थलो बन्ने प्रमुख दाहालले बताइन्। अन्य पालिकामा पनि ट्रष्टका ऐतिहासिक धरोहर, सम्पदा, भएपनि भरतपुर महानगरपालिका ट्रष्टसँग सम्झौता गर्ने नेपालकै पहिलो पालिका बन्न सफल भएको छ । महानगरपालिकाले दियालो बंगला सञ्चालन गर्न ट्रष्ट गर्न महानगरपालिकासँग आग्रह गरेपछि ट्रष्टले ऐतिहासिक एवम् साँकृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि २०८० निर्माण गरेको थियो । शुक्रबार भएको सम्झौतामा ६ वटा बुँदा समावेश छन् । सम्झौतामा कार्यविधिको अधिनमा रही बंगलाको सञ्चालन र व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गर्नुभएको थियो । राजा महेन्द्रको यही दरबारमा निधन मृत्यु पनि भएको थियो । राजा महेन्द्रले करिब दुई वर्ष बंगलाको प्रयोग गरेको बताइन्छ । विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ । राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीं बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ ।दियालो बंगला क्षेत्र ५२ बिघाको छ। बंगला क्षेत्रसँगै जोडिएको राजमार्ग पारि थप पाँच बिघा जमिन छ । नेपाल ट्रष्टले व्यवस्थापन गर्दै आएको बंगलाको सुरक्षा नेपाली सेनाले गर्छ। कार्यक्रममा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल ट्रष्टका सदस्य सचिव झलकराम अधिकारी, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, ट्रष्टका सञ्चालक समिति सदस्य देवीचन्द्र उपाध्याय, सुनिता कुमारी गौतमले मन्तव्य व्यक्त गरेका थिए।

माओवादी केन्द्रले तोक्यो जिल्ला इन्चार्ज (सूचीसहित)

काठमाडौं। नेकपा(माओवादी केन्द्र)ले वागमती प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको छ।  जिम्मेवारी पाउने केन्द्रीय सदस्यहरूको सूची यसप्रकार छ: १) रसुवा–कल्पना शर्मा २) धादिङ–पुष्पविक्रम मल्ल  ३) चितवन–घनश्याम दाहाल  ४) मकवानपुर–बिजय गौतम  ५) सिन्धुली–बुद्धिमान माझी  ६) रामेछाप–श्यामकुमार श्रेष्ठ  ७) दोलखा–बिशाल खड्का  ८) काभ्रेपलाञ्चोक–तेजबहादुर मिजार  ९) सिन्धुपाल्चोक–केशव नेपाल  १०) नुवाकोट–हिरानाथ खतिवडा ११) काठमाडौँ–सूर्य सुवेदी पथिक १२) ललितपुर–हरि दाहाल  १३) भक्तपुर–दिलिप प्रजापति  १४) काठमाडौँ महानगर–मुक्तिनारायण प्रधान  १५) ललितपुर महानगर–राजकाजी महर्जन  १६) हेटौडा उपमहानगर–प्रल्हाद लामिछाने

सुन तस्करी प्रकरण : फोन सम्पर्कबाहेक महराको अरु प्रमाण भेटिएन

काठमाडौं । सुन तस्करीमा सम्लग्न भएको आरोप लागेको पूर्व सभामुख कृष्णबहादुर महराको प्रमाण नभेटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ। फोन सम्पर्कबाहेक अरु प्रमाण नभेटिएपछि माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्ण बहादुर महरा चार दिनमै हिरासतमुक्त भए। सोमबार कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याइएका महरा शुक्रबार हाजिरी जमानीमा रिहा भएका हुन्। उनलाई खोजेको बखत उपस्थित हुने गरी छोरा निर्मलको जिम्मामा रिहा गरिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए। जिल्ला सरकारी वकिल कार्यालयमा कागज गरेर रिहा भएका महरा पुनः अस्पतालमै फर्किएका छन्।  महरा हिरासतमुक्त भए पनि अनुसन्धान भने जारी रहने एसपी बोगटीको भनाई छ। महराको स्वास्थ्य समस्या र अनुसन्धानमा प्रमाण लोप हुने सम्भावना पनि नभएकाले रिहा गर्नु परेको सीआईबीको दाबी छ। सीआईबीका एक उच्च अधिकारीले भने महरालाई मुद्दा चलाउन बलियो प्रमाण नै नरहेको बताए। बलियो प्रमाण पनि नरहेको र उनको स्वास्थ्य अवस्थामा देखिएको समस्याकै कारण रिहा गर्नु परेको सीआईबीका अधिकारी बताउँछन्। चार दिन नियन्त्रणमा राख्दा सीआईबीले महरासँग दुई दिन बयान लिएको थियो भने दुई दिन दिनभरी नै अस्पतालमै राखिएको थियो।  अब अनुसन्धान पूरा भएपछि महराविरुद्ध पुरक अभियोग अदालतमा दायर हुनेछ। सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनस् मुद्धा चलाउन सिफारिस गरेको थियो।    भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई संगठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । महरा विभिन्न रोगका बिरामी रहेको हुँदा छाड्न आदेश दिइएको हो।  मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५ अनुसार महरालाई छाडिएको हो।   उक्त दफामा हिरासतमा रहेका व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने प्रावधान छ। ‘यस ऐन बमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी वा जमानत लिई वा निजलाई कुनै भरपर्दो व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ,’ उक्त दफामा भनिएको छ। धरौटी वा जमानीमा छाड्दा वा तारिखमा राख्दा त्यसरी छोडिएको वा तारिखमा राखिएको व्यक्ति उपर मुद्दा चलाउने भएमा त्यस्तो अवस्थामा निज उपस्थित हुने गरी निजको कागज गराउनुपर्नेछ।  महरालाई उनका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको सीआईबीका  प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए। सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको टोलीले पूर्वसभामुख महराको शुक्रबार बयान सकिएपछि उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो । यसअघि आजै ब्यूरोका प्रवक्ता बोगटीले जिल्ला सरकारी वकिल कार्यालय र ब्यूरोको टोलीले पूर्वसभामुख महराको बयान सकिएको जानकारी दिए।  महरालाई गत सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको थियो। महरालाई जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो। सुनको अवैध तस्करी एवम् नियन्त्रणसम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो ।सोही सिफारिसका आधारमा ब्यूरोले महरालाई पक्राउ गरेको थियो।    

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ। आइतबार पार्टी कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन्। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने सचिव योगेश भट्टराईले बताए। आज बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि भित्र्याउन प्रयास गर्ने निर्णय गरेको छ। त्यसबारे अहिलेसम्म कुनै छलफल नभएकाले त्यही बैठकमा हुनसक्ने उनले बताए।