ओलीको नेतृत्व रह्यो भने एमाले मात्र होइन, कम्युनिस्ट आन्दोलन नै समाप्त हुन्छ : कर्ण थापा

काठमाडौं  – नेकपा (एमाले) का पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले पार्टीको स्थापित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) र मार्क्सवादविपरीत केपी शर्मा ओलीले पार्टी सञ्चालन गर्न खोजेको आरोप लगाएका छन्। सोमबार नेता ईश्वर पोखरेलको समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले ओलीको नेतृत्वमा एमाले मात्र नभई नेपाली कम्युनिस्ट आन्दोलन नै समाप्त हुने चेतावनी दिए।

थापाले ओलीको शैलीमाथि कडा प्रहार गर्दै भने, "केन्द्रीय कमिटी बैठकमा उहाँ उभिने, भाषण गर्ने, भाषण जति मन लाग्छ त्यति गर्ने। जे मन लाग्छ भन्ने। उहाँले भनेको कुरा मार्क्सवाद, उहाँले भनेको कुरा जबज, उहाँले भनेको कुरा पार्टी र उहाँले भनेको कुरा निर्णय। जो जनताको बहुदलीय जनवाद र मार्क्सवादसँग मेल खाँदैन। जे स्थापित गर्‍यौँ, उहाँले त्यो तोड्दै जानुभयो।"

उनले १०औँ राष्ट्रिय महाधिवेशनपछि अहिलेसम्म एउटा मात्र स्थायी कमिटी बैठक बसेको उल्लेख गर्दै बैठकका नाममा माइन्युटमा तीन वटा बैठक उल्लेख गरिए पनि कुनै पनि बैठकमा छलफल नभएको बताए। थापाले जबाफदेहिताको प्रणाली नै समाप्त पारिएको आरोप लगाउँदै अन्य पार्टीबाट ल्याइएका व्यक्तिलाई जिम्मेवारी दिइएको पनि औंल्याए।

"जबाफदेहिताको प्रणालीलाई उहाँले समाप्त गरिदिनुभयो", थापाले भने, "अघिल्लो एउटा निर्णय गर्ने, पछिल्लो पटक अर्को निर्णय।" दृष्टान्त पेस गर्दै उनले प्रदेश अध्यक्षलाई विधानअनुसार केन्द्रीय कमिटीको पदेन सदस्य बनाउने व्यवस्था थियो भने पछि पोलिटब्युरो सरह बनाइएको उल्लेख गरे।

प्रदेश तहमा विवाद बढ्नुको कारण विधानभन्दा बाहिर गएर निर्णय गरिएको बताउँदै थापाले दुई कार्यकाल र ७० वर्षे उमेर हदजस्ता विषयमा मनपरी निर्णय गरिएको आरोप लगाए। उनले अब ओलीको नेतृत्वमा एमाले चल्न नसक्ने भन्दै उनको व्यक्तिगत चाहनामा पार्टी अघि बढे नेपाली कम्युनिस्ट आन्दोलन नै समाप्त हुने दाबी गरे।

यो अभिव्यक्तिले एमालेभित्रको आन्तरिक असन्तुष्टि थप उजागर गरेको छ।

प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले भाग लिने

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा ११४ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले दर्ताका लागि परेका १२० निवेदनमध्ये १३ खारेज गर्दै १०७ दललाई निर्वाचन चिह्न प्रदान गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ११७ दलबाट निवेदन परेकोमा एउटा दलले निवेदन फिर्ता लिएको, एकले जरिवाना नतिरेकाले खारेज भएको, एक दलका दुई पक्षका छुट्टाछुट्टै निवेदनमध्ये एक खारेज भएको र दुई दलको एकल चिह्नका निवेदनमध्ये पनि एक खारेज भएको छ । आयोगमा दर्ता कायम दल १४३ मध्ये १०२ दल एक्लाएक्लै र १२ दलका पाँच समूह संयुक्त रूपमा प्रतिस्पर्धा गर्नेछन् । निर्वाचन चिह्नको क्रममा एमाले पहिलो, कांग्रेस दोस्रो, नेपाली कम्युनिस्ट पार्टी तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी चौथो नम्बरमा रहनेछ । समानुपातिक प्रणालीतर्फ पहिलो दिन ३३ दलले दर्ता निवेदन दिएका छन् । आयोगले मङ्सिर २१ देखि २४ गतेसम्म दर्ता समय तोकेको छ ।

तीन करोड नेपाली एकताबद्ध भएमा संसारको जुनसुकै शक्तिलाई पराजित गर्न सकिन्छ : प्रचण्ड

काठमाडौं  – नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रवासी नेपालीहरूलाई एकताबद्ध भएर राष्ट्र निर्माणको यात्रामा योगदान दिन आह्वान गर्नुभएको छ।  'प्रवास एकता सन्देश सभा'लाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले नेपाललाई समृद्धिको बाटोमा अघि बढाउन समुदायमा आधारित समाजवादको अवधारणालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो।   प्रचण्डले नेपालमा समृद्धिको यात्रा गर्न सम्भव रहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपाललाई हब बनाउन सकिने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "नेपाल बनाउनु पर्छ भन्ने संकल्प लिनुपर्छ। समुदायमा आधारित समाजवाद तर्फ केन्द्रित भएर अगाडि बढ्नु पर्छ।" यसका लागि राष्ट्रको स्वाधीनता र आत्मसम्मानका लागि नेपाली जनता अझ बढी जागरुक बन्नुपर्ने उहाँको भनाइ थियो। विश्वव्यापी परिवर्तनको सन्दर्भमा प्रचण्डले तीन करोड नेपालीलाई एकताबद्ध बनाएमा संसारको कुनै पनि शक्तिलाई पराजित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, 'अहिले हामीले हतियार वा आणविक भट्टी बनाएर युद्ध गर्न सम्भव छैन । तर, तीन करोड नेपाली एकताबद्ध भएमा संसारको जुनसुकै शक्तिलाई पराजित गर्न सकिन्छ ।' उहाँले इतिहासमा ठूला–ठूला शक्तिहरूसँग जनताको एकताबाट विजयी प्राप्त भएको उदाहरणलाई आत्मसात गर्दै आगाडि बढ्नुपर्ने जोड दिनुभयो। प्रवासी नेपालीहरूको मुद्दालाई विशेष जोड दिँदै प्रचण्डले विदेशमा बसोबास गर्ने नेपालीहरूलाई नेपाल फर्किने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो। उहाँले विदेशमा रहेका नेपालीहरूको हितको रक्षा गर्न र उनीहरूलाई आवश्यक अधिकार प्रदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। नागरिकताको समस्याले नेपालमा लगानी गर्ने वातावरण अझै बनेको नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, "संविधानले प्रत्याभूत गरेको नागरिकताको अधिकारअन्तर्गत केही प्रतिनिधि पात्रहरूलाई मैले नै नागरिकता प्रदान गरेको थिएँ। तर, आवश्यक नीति नबन्दा  उक्त नागरिकता अधिकार बीहिन जस्तो भएको छ।" यसैगरी, विदेशमा बसोबास गर्ने नेपालीहरू एक तिहाइ जनसंख्यामा रहेको सन्दर्भमा उनीहरूको मताधिकार सुनिश्चित गर्नुपर्ने उहाँको मत थियो। उहाँले आफ्नो पार्टीले प्रवासी नेपालीहरूको मताधिकारका लागि निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो। यस प्रयासले प्रवासी समुदायलाई राजनीतिक रूपमा सशक्त बनाउने अपेक्षा गरिएको छ।

पार्टी विभाजन गरेको भन्दै रुकुममा जनार्दन शर्माविरुद्ध 'कालो झण्डा'

रुकुम । नेपाली कम्युनिष्ट पार्टी गठन हुने भएपछि पार्टी परित्याग गरेका जनार्दन शर्माविरुद्ध उनको गृहनगर रुकुम पश्चिममा कालो झण्डा देखाइएको छ । स्थानीय जनताले शर्माविरुद्ध कालो झण्डा प्रदर्शन गर्नुका साथै उनीविरुद्ध नाराबाजी गरेका छन् ।  पार्टी विभाजन नगर्ने पूर्व अडानबाट बाहिरिएपछि उनलाई साथ दिँदै आएका अधिकाँशले नेपाली कम्युनिष्ट पार्टी विभाजन गर्न नहुने भन्दै जनार्दनको साथ छाडेका छन् । शर्मालाई आफ्नै परिवारका सदस्यले समेत छाडेपछि रुकुममा उनी एक्लिएका छन् ।  विभिन्न जिल्लाबाट मोटरसाइकलमा मानिस लगेर शर्माले सदरमुकाममा प्रगतिशील अभियानको नाममा कार्यक्रम गरेको स्थानीय बासिन्दाले बताएका छन् । 

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ मंसिर २२ गतेदेखि, मूल्य रु. ८२०.८०

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले मंसिर २२ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको कुल साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो। कम्पनीले बुक बिल्डिङ्ग विधिमार्फत यो आईपीओ जारी गर्न लागेकाले अंकित मूल्य १०० रुपैयाँ भए पनि प्रतिशेयर निष्काशन मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ। लगानीकर्ताले प्रतिकित्ता यही मूल्यमा आवेदन दिनुपर्नेछ। कसरी तोकियो मूल्य? बोलकबोल प्रणालीमार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई शेयर बाँडफाँट गर्दा कायम भएको कटअफ मूल्य ९१२ रुपैयाँ मा १० प्रतिशत छुट दिएर ८२० रुपैयाँ ८० पैसा प्रतिशेयर मूल्य कायम गरिएको हो। आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु  प्रयोग गरी सी-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनी र रेटिङ्ग रिलायन्स स्पिनिङ्ग मिल्स नेपालको धागो उत्पादन गर्ने ठूला उद्योगमध्ये एक हो र यसले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी भारत, टर्की, भियतनाम, यूके लगायतका मुलुकमा निर्यात गर्दै आएको छ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीमा समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको देखाउँछ। कम्पनीको मुख्य उद्योग सुनसरीको ईटहरी नगरपालिका वडा नं. १२ खनारमा र शाखा उद्योग वडा नं. ४ दुहाबिमा रहेको छ। कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण र प्रबन्ध सञ्चालक अक्षय गोल्याण हुन्। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.६१ वर्ष रहेको छ

खोटाङमा शिक्षकले अब स्थानीय भत्ता पाउने

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको छ । शनिबारको कार्यपालिका बैठकले नगर क्षेत्रका विद्यालयका शिक्षक तथा कर्मचारीका लागि स्वीकृत सरकारी कार्यविधिअनुसार चालू आर्थिक वर्षदेखि स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको हो। नगरप्रमुख विमला राईका अनुसार स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी, करार र प्राविधिक समूहका प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई पनि स्थानीय भत्ता प्रदान गर्ने निर्णय भएको छ। शिक्षकहरूको मनोबल बढाएर सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न यो निर्णय गरिएको हो। जिल्लाको दोस्रो ठूलो (११ वडा रहेको) यस नगरपालिकामा १२ वटा माध्यमिक (कक्षा १२ सम्म), १५ वटा आधारभूत (कक्षा १ देखि ८ सम्म) र ५९ वटा प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) गरी जम्मा ८६ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। यो भत्ताबापत नगरपालिकालाई एक आर्थिक वर्षमा रु एक करोड ७३ लाखको थप व्ययभार पर्नेछ। बालविकास केन्द्रदेखि कक्षा १२ सम्म करिब ५ हजार २०० विद्यार्थी अध्ययनरत यस नगरपालिकामा ३०९ जना शिक्षक कार्यरत छन्।

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ ।  विशेषगरी अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)का सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ ।सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन प्रारम्भ गरिएको हो । त्यसको दुई वर्षपछि संयुक्त राष्ट्रसङ्घको महासभाले यो दिवसलाई औपचारिक मान्यता प्रदान गरेको हो । अन्तरराष्ट्रिय हवाई सेवाले विश्वका विभिन्न मुलुकको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदान, मानव जातिको यात्रालाई सहज बनाउन विश्वव्यापी द्रुत यातायात सञ्जाल निर्माणमा आइकाओको भूमिकाको यो दिवसमा स्मरण गरिन्छ । आगामी २०३० मा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने सन्दर्भमा हवाई सेवाले विश्वका विभिन्न राष्ट्रलाई जोड्ने प्रमुख माध्यम भएकाले यो दिवसको सान्दर्भिकता अझ बढेको आइकाओले जनाएको छ ।

गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु

काठमाडौं । भारतको चर्चित पर्यटकीय गन्तव्य गोवामा रहेको एक नाइट क्लबमा ग्यास सिलिण्डर पड्किँदा भीषण आगलागी भई कम्तीमा २३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गोवाको उत्तर भागस्थित अरपोरा क्षेत्रमा शनिबार मध्यराति करिब १२ बजेतिर अचानक सिलिण्डर विस्फोट भएपछि आगो द्रुतगतिमा फैलिएको प्रहरीले बताएको छ । विस्फोटको आवाज आसपासका क्षेत्रमा बलियो सुनिएको थियो । आगोले केही मिनेटमै क्लबको भित्री भाग पूरै घेरेपछि भगदड मच्चिएको र धेरैजसो मानिसहरू भाग्ने क्रममा घाइते भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीपछि क्लबभित्र धुवाँ बाक्लिँदै गएपछि बाहिर ननिस्कन पाएका केही व्यक्तिहरू धुवाँको कारण निसास्सिएर मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । जलेर मृत्यु हुने पनि उल्लेख्य संख्या रहेको बताइएको छ । घटनाको जानकारी मिल्नासाथ गोवाका मुख्यमन्त्री प्रमोद सावन्त, स्थानीय जनप्रतिनिधि तथा अधिकारीहरू रातै घटनास्थल पुगेका थिए । मुख्यमन्त्री सावन्तका अनुसार मृतकमध्ये तीन जना महिला र केही विदेशी पर्यटकसमेत रहेकाले घटनाले थप चासो पैदा गरेको छ । उनले घाइतेहरूको उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाइने बताएका छन् । गोवा सरकारले आगलागीको कारणबारे छानबिन गर्न उच्चस्तरीय टोली गठन गरेको छ । प्रारम्भिक अनुसन्धानमा सुरक्षा मापदण्ड पूरा नगरी संचालन भइरहेको आशंका गरिएको छ । दोषी भेटिए कडा कारबाही गर्ने चेतावनी सरकारका प्रवक्ताले दिएर सो घटना अत्यन्तै दुःखद भएको बताए । स्थानीय प्रशासन, दमकल तथा उद्धार टोलीले रातभरि नियन्त्रण प्रयास जारी राखेपछि आगो बिहानतिर मात्र पूर्णरूपमा नियन्त्रणमा ल्याइएको थियो । घटनास्थल आसपासको क्षेत्रलाई घेराबन्दी गरी थप प्रमाण संकलनको काम भइरहेको छ ।

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।  अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९१ पैसा र बिक्रीदर १११ रुपैयाँ ३७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३२ पैसा र बिक्रीदर २० रुपैयाँ ४१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २६ पैसा र बिक्रीदर १५ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७० रुपैयाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ७३ पैसा , ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७५  पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

हेटौँडामा सडक छेउका ५३१ घरटहरा भत्के

मकवानपुर । हेटौँडा बजार क्षेत्रमा सुरु गरिएको सडक सीमा विस्तारीकरण अभियानअन्तर्गत ५३१ घरटहरा तथा विभिन्न संरचना भत्काइएका छन्। सडक डिभिजन कार्यालय हेटौँडाले शनिबार बिहानदेखि सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ गज क्षेत्रभित्र परेका संरचनामा डोजर चलाएको हो। रातोमाटेदेखि मकवानपुर उद्योग वाणिज्य चोकसम्म र बुद्धचोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मका संरचना हटाइने क्रम जारी छ। डोजर चलाइएपछि हेटौँडा बजार क्षेत्रका विद्युत्, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएका छन्, जसका कारण बजार क्षेत्र अस्तव्यस्त बनेको छ। कारवाहीअघि नै झिसमिसेमै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। सडक डिभिजन हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार पहिलो दिन संकेतका रुपमा संरचना भत्काइएको र घरधनीलाई आफ्ना घरायसी सामान आफैँ झिक्न समय दिइने उल्लेख छ। सडक डिभिजनले मंसिर ५ गते नै १५ दिने सूचना जारी गर्दै रातोमाटेदेखि सामरी पुल र बुद्धचोकदेखि राप्ती पुलसम्म सडक सीमाभित्रका संरचना हटाउन आग्रह गरेको थियो। यसैबीच, सर्वोच्च अदालतले शुक्रबार मात्र सडक विस्तारसम्बन्धी सूचनाको कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्व सांसद विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलाशले संरचना नहटाउन र यथास्थितिमा राख्न आदेश दिएको हो। तर आदेशको अवज्ञा गर्दै केही घरमा डोजर चलाइएको र आदेश देखाउने अधिकांशको संरचना भने नछोइएको आरोप छ, जसले विभेद भएको टिप्पणी आएको छ। सडक सीमाभित्र पर्ने हेटौँडा उपमहानगरपालिका–२ स्थित मकवानपुर उद्योग वाणिज्य संघको भवन पनि भत्काइएको छ। तोकिएको समयभित्र संघले संरचना नहटाएपछि डिभिजनले आफैं डोजर चलाएको बताएको छ।

तीन महिनामा अलैँची निर्यात दोब्बरले बढ्यो

काठमाडौं । अलैँचीको निर्यात दोब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ चार महिनामा (साउन–कात्तिक) तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपियाँ बराबरको १८ लाख २३ हजार केजी अलैँची निर्यात भएको छ ।  गत वर्ष सो अवधिमा एक अर्ब ९० करोड ११ लाख २३ हजार रुपियाँ बराबरको १२ लाख छ हजार केजी अलैँची निर्यात भएको थियो । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दा निर्यात दोब्बरले वृद्धि भएको अलैँची उत्पादक सङ्घले जनाएको छ ।  सङ्घका अध्यक्ष निर्मल भट्टराईले यस पटक अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य बढेर समयमा किसानले बिक्री गर्दा निर्यातसमेत वृद्धि भएको बताए । विगतका वर्षमा अलैँचीको मूल्य नबढ्दा किसानले लामो समय थन्क्याएर पछि बिक्री गर्ने गरेका थिए । यस पटक सिजनको सुरुमै अलैँचीको मूल्य पाउँदा निर्यात बढेको सङ्घका अध्यक्ष भट्टराईले जानकारी दिए ।  सङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य बढेर प्रतिमन (४०केजी) एक लाख पाँच हजार रुपियाँसम्म पुगेको छ । यस वर्ष अलैँचीको उत्पादन १० देखि १५ प्रतिशतले बढ्ने अनुमान गरिएको भट्टराईले जानकारी दिए ।  उनका अनुसार उत्पादन बढ्दा निर्यात पनि बढेर करिब आठ अर्ब पुग्ने प्रक्षेपण छ । गत वर्ष सात अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको थियो । सङ्घका अनुसार मुलुकभर २० हजार हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । त्यसबाट वार्षिक करिब पाँच हजार मेट्रिक टन अलैँची उत्पादन हुन्छ । नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ । 

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ । शनिबार यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चा नेपालका महासचिव मनोज भट्टले लेखेको उक्त पुस्तक नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कम्युनिस्ट पार्टीका नेता दीनानाथ शर्माले संयुक्त रूपमा विमोचन गरेका हुन् । जलजला उपन्यासका लेखकसमेत रहेका महामन्त्री सिंहले उपन्यासका कमजोर विषयलाई उठान गरेर आफूलाई सजक बनाएकामा धन्यवाद् दिए । उनले लेखक भट्टले पुस्तकमा ‘कामरेड जलजला’ उपन्यासको दार्शनिक, वैचारिक पक्षबारे चर्चा गर्दै उपन्यासका राम्रा–नराम्रा कुरालाई औँल्याइदिएको बताए ।  महामन्त्री सिंहले उपन्यासमा विश्वको सरसर्ती भ्रमण गरे पनि विश्वलाई बदल्नु मानिसको क्षमताभन्दा बाहिरको कुरा भएको उठान गरिएको बताए । ‘कामरेड जलजला’ मा दार्शनिक, वैचारिक पक्षका साथै आमाको मायालाई विशेष महत्त्व दिइएको र त्यस क्रममा पूरै विश्वलाई आमामय बनाउन खोजिएको उल्लेख गरे ।   “उपन्यासमा समाजमा पाइने गुणमध्ये आमामा पाइने सन्तानको माया सर्वेश्रेष्ठ मानवगुण भएको छ । जलजलालाई सबै मानव समाज, विश्वको सुदूर अन्तरिक्षको समेत परिप्रेक्ष प्रस्तुत गरिएको छ” उनले भने,  “उपन्यासमा संसारका सबै चिजलाई आपसमा जोडेर हेर्ने प्रयत्न गरिएको छ । त्यसमाथि भट्टले विवेचना गरेर मलाई थप राम्रो गर्न सकिने पक्षबारे पनि सचेत गराउनुभएको छ ।” एमाले उपमहासचिव ज्ञवालीले ‘कामरेड जलजला’ उपन्यास पढ्न नभ्याउने पाठकका लागि प्रकाशित पुस्तकले सजिलो हुने बताए। उपन्यासको साङ्गोपाङ्गो रूपमा कृति रहेको, श्रष्टा र सिर्जनाबीचको अन्तरसम्बन्धलाई उजागरण गरिएको भन्दै उनले लेखक भट्टले उपन्यासको विवेचना गरेर त्रुटी सच्चाउने काम गरेको बताए ।  उपमहासचिव ज्ञवालीले भने, “उपन्यासमा पात्रको चर्चा आर्दशवादी भयो भनेर कृतिमा चर्चा गरिएको छ । मोहनविक्रमले उपन्यासभित्र कम्युनिस्ट आन्दोलनमा  अन्तर्विरोध हुनेवित्तिकै पार्टी विभाजन हुने प्रवृत्तिबारे उठाउनुभएको छ । जलजलामा मानव ज्ञानको सबै विधा समेटिएका छ । त्यसैमाथि विवेचना गर्नु सामान्य कुरा होइन ।”  नेपाली कम्युनिस्ट पार्टीका नेता शर्माले उपन्यास मात्र नभएर दर्शन, विचार र सिद्धान्तबारे लेखिएको बताए । उनले नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासबारे टिप्पणी गर्दै कम्युनिस्ट आन्दोलनको अनुसन्धान गर्न सहयोग पुग्ने गरी उपन्यास लेखिएको चर्चा गरे ।  कार्यक्रममा भाषा आयोगका सदस्य डा पुष्करराज भट्टले प्रस्तुत पुस्तकले ‘कामरेड जलजला’ उपन्यासप्रति पाठकको जिज्ञासा बढाएको बताए । विश्वभाषा क्याम्पसका प्रमुख बलभद्र भारतीले ‘कामरेड जलजला’ उपन्यास सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलनको परिचय भएको बताए । प्रगतिवादी समालोचक खेम थपलियाले कम्युनिस्ट आन्दोलन सिद्धियो भनेर भनिएका बेला ‘कामरेड जलजला’ जस्तो उपन्यास आउनु अत्यन्तै खुसीको कुरा भएको बताए । अखिल नेपाल प्रगतिशील लेखक सङ्घका महासचिव भीष्म जोशीले जलजला उपन्यासमा वैश्विक नभएर ब्रह्माण्डीय दर्शनसमेत रहेको बताए ।

विस्ताराधीन पूर्व–पश्चिम राजमार्गमा यात्रु र जनावरमैत्री संरचना बन्दै

काठमाडाैं । एसियाली विकास बैंकको ऋण सहयोगमा मेचीदेखि महाकालीसम्मको पूर्व–पश्चिम राजमार्ग छ खण्डमा एसियाली राजमार्गको मापदण्डअनुसार विस्तार भइरहेको छ । काँकडभिट्टा–लौकही (९३ किमि) र कञ्चनपुर–कमला (८६.८३ किमि) खण्डमा १० भेहिकल अन्डरपास, ९ एनिमल अन्डरपास र ४ आकासेपुल निर्माणाधीन छन् । काँकडभिट्टा–लौकही खण्डमा तीन वटा भेहिकल अन्डरपास र एउटा जनावर अन्डरपास निर्माण भइरहेका छन् । चारआली, चारपाने र विर्तामोडमा अन्डरपास निर्माण भइरहेको छ भने चारआली जङ्गल क्षेत्रमा एनिमल अन्डरपास बनाइँदैछ । एक भेहिकल अन्डरपासमा दुवैतर्फ दुई पेडिस्ट्रियन अन्डरपास समेटिने गरी डिजाइन गरिएको छ । २०८० कात्तिक २ मा ठेक्का सम्झौता भएकाे यस खण्डकाे लागत ३४ अर्ब ९१ करोड हो, जसमा हाल ६ अर्ब ६८ करोड खर्च भइसकेको छ । कमला–कञ्चनपुर खण्डमा सात भेहिकल अन्डरपास र आठ एनिमल अन्डरपास निर्माण भइरहेको छ । आठमध्ये सात एनिमल अन्डरपास सम्पन्न भइसकेका छन् । दमक र इटहरी क्षेत्रमा भेहिकल अन्डरपास, पथरी–बेलबारी क्षेत्रमा एनिमल अन्डरपास निर्माण भइरहेको छ । १५ अर्ब ६६ करोड लागतको यो खण्ड २०८३ पुस १६ भित्र पूरा गर्ने लक्ष्य छ । दुवै खण्डमा ‘अन्डरपास’ र ‘ओभरहेड ब्रिज’ राजमार्ग विस्तारकै ठेक्कामा समावेश छन् । सहरी क्षेत्रमा छ लेन तथा अन्य क्षेत्रमा चार लेनमा विस्तार हुने यो राजमार्ग १,०२७ किलोमिटर लामो छ, जसले तराई/मधेशसहित देशको आधाभन्दा बढी जनसङ्ख्या लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपालका पूर्व–पश्चिम र अरनिको राजमार्गलाई ‘एसियन हाइवे’ का रुट–२ तथा रुट–४२ मा वर्गीकृत गरिएको छ । हाल यी ‘सी क्लास’ मा रहेका राजमार्गहरू चार लेनमा विस्तार भएपछि ‘ए क्लास’ मा उक्लिने मन्त्रालयले जनाएको छ ।

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने नेपालीमा खासै घुम्ने बानीको विकास भइसकेको थिएन । जाडोको मौसम व्यवसायीले ‘अफ सिजन’ भन्दै अन्त घुम्न जाने सोच बनाउँथे । कोही गोवा पुग्थे त कोही थाइल्याण्ड, तर अचेल समय बदलिएको छ । उही जाडो मौसम हो, तर अचेल यहाँको अवस्था भने नितान्त फरक छ । पर्यटन व्यवसायीलाई पात्रोमा अङ्ग्रेजी नयाँ वर्ष थपिँदा उत्साह पनि थपिन्छ । त्यसमा पोखरा सडक महोत्सवले रौनक थप्छ । यस वर्ष उक्त महोसत्वको २७ औँ संस्करण हुँदैछ । आगामी २०८२ पुस १३ देखि १७ गतेसम्म (डिसेम्बर २८–जनवरी १) आयोजना हुने महोत्सवको तयारीमा रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) जुटीसकेको छ । विगतमा झै यस संस्करणको सडक महोत्सवले पनि पोखरालाई ‘गुल्जार’ बनाउँदै छ । आयोजकले महोत्सवलाई सभ्य, भव्य र व्यवस्थित बनाउन सरोकार भएकाहरूसँगको परामर्शलाई तीव्र बनाएका छन् । २७ वर्षअघि यस्तो महोत्सवको परिकल्पना गर्ने अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई भने आफ्नो पहलको निरन्तरताले मख्ख छन् । उनी भन्छन्, “तीन दशकअघिसम्म जब डिसेम्बर लाग्थ्यो, विदेशीहरू क्रिसमस मनाउन घर फर्कन्थे र पोखराको लेकसाइड सुनसान हुन्थ्यो । त्यो समयमा ‘अफ सिजन’ भन्दै सटर तानेर हामी व्यवसायी पनि भारतको गोवा वा थाइल्याण्ड जाने प्रचलन थियो ।” भट्टराई मनस्पटलमा अझै एउटा घटना ताजै छ । “सन् १९९६ मा तत्कालीन राजा वीरेन्द्रले जाडोको समय लेकसाइडको सुनसानप्रति देखाएको चासो र गोवामा देखेको त्यो ‘फुड एण्ड कल्चर’ को महोत्सवले मेरो धारणा बदल्यो । जसको फलस्वरूप हामीले सन् १९९८ मा बसुन्धरा पार्कबाट वेटर रेस र हस्तकला प्रदर्शनीसहित एउटा प्रयासको थालनी गर्यौंँ । त्यो प्रयास २७औँ संस्करणमा आइपुग्दा पोखराको ‘ब्रान्ड’ बनेको छ” उनी भन्छन् ।  उनी सडक महोत्सवले विदेश जाने पर्यटकलाई पोखरामै रोकेर नयाँ वर्ष मनाउने वातावरण बनाएको र विदेशीसँगै नेपालीमा पनि घुम्ने बानीको विकास गराएको बताउँछन् । परिवर्तित समयसँगै महोत्सवलाई केवल नाचगान र खानपानमा सीमित नराखी जाति, धर्म संस्कृति बीचको सहिष्णुता र सद्भावलाई विकास गर्दै कृषि, हस्तकला, प्रविधि र मौलिक उत्पादनलाई महोत्सवसँग जोडेर बृहत ‘एक्स्पो’ का रूपमा रूपान्तरण गर्नुपर्ने भट्टराईको धारणा छ । “महोत्सव भनेपछि मनोरञ्जन भन्ने कुरा ठान्ने गरिन्छ, तर हामीले विगतदेखि नै यसलाई बदल्ने प्रयास गरिरहेका छौँ । स्थानीय उत्पादनदेखि विदेश निर्यात गर्ने सामग्रीलाई महोत्सवबाट प्रवर्द्धन गर्न सकिने र यसले समग्र राष्ट्रिय अर्थतन्त्रलाई नै चलायमान बनाउने हाम्रो विश्वास छ”, उनले भने, “सडक महोत्सव केवल रमाइलो मेला मात्र होइन, यो पोखराका पर्यटन व्यवसायीको सामूहिक एकता, दूरदर्शीता र अथक प्रयासको जीवित इतिहास हो ।” रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल पर्यटनमा सङ्कट आउने अवस्थामा यस महोत्सवले ‘सञ्जीवनी’ को काम गरेको बताउँछन् । “सशस्त्र द्वन्द्व, भूकम्प, कोरोना महामारी र पछिल्लो समयको जेनजी आन्दोलन होस् वा आर्थिक मन्दी, हामीले हरेक विषम परिस्थितिमा पनि महोत्सव रोकेनौँ । यसले ‘पोखरा सुरक्षित छ र बाह्रै महिना खुला छ’ भन्ने सन्देश विश्वभर प्रवाह गर्न सफल भयौँ । यसपटक पनि दिगो पर्यटनको परिकल्पनासहित तीन दशमलव पाँच किलोमिटर सडकलाई उत्सवमय बनाउँदै छौँ”, उनले भने । महोत्सवका संयोजक तथा रेवानका प्रथम उपाध्यक्ष वसन्त गौतमले पोखरालाई एउटा खुला सङ्ग्रहालयको रूपमा प्रस्तुत गर्ने प्रयासलाई थप प्रभावकारी बनाउन तयारी भइरहेको बताए । उनले भने, “फिस्टेल गेटदेखि जरेवरसम्मको सडकमा सवारी निषेध गरी सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको स्वाद लिन पाइनेछ । सडकमा देखाइने लोपोन्मुख सांस्कृतिक झाँकी र मौलिक नाचले पर्यटकलाई नेपालका विभिन्न संस्कृति बुझ्ने अवसर मिल्नेछ । महोत्सवलाई अङ्ग्रेजी नयाँ वर्ष गन्तव्यको रूपमा स्थापित गर्न सक्दो प्रयास गरिरहेका छौँ ।” रेवान महासचिव वीरेन्द्र शेरचन महोत्सव केवल रमाइलोका लागि मात्र नभइ ग्रामीण अर्थतन्त्र उकास्ने माध्यम पनि बनेको बताउँछन् । “गाउँमा उत्पादन हुने कृषिउपज, सुन्तला र हस्तकलाका सामग्रीले महोत्सवमा बजार पाउँछन् । पर्यटन चलायमान भए देशकै अर्थतन्त्र चलायमान हुन्छ ।” शेरचनका अनुसार महोत्सवमा नेपालका विभिन्न जातजातिका लोपोन्मुख झाँकी, वेषभूषा र नृत्य, चर्चित राष्ट्रिय कलाकारहरूको लाइभ कन्सर्ट, लोक दोहोरी, बोट रेस, वेटर रेस, टग अफ वार र पर्यटक लक्षित खेल र पोखराको पर्यटनका अवसर र चुनौतीबारे विज्ञहरूसँग विमर्श र वृत्तचित्र प्रदर्शनी हुनेछन् ।

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँके । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै गएपछि बर्सेनि उत्पादन घट्दो क्रममा छ ।  तेलहन बालीअन्तर्गत जसोतसो तोरीखेती गरे पनि अन्य खेतीको क्षेत्रफल घट्दै जाँदा त्यसको प्रत्यक्ष असर उत्पादनमा पर्दै गएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष पाठकले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बाँकेमा छ हजार ५३० हेक्टर क्षेत्रफलमा गरिएको तोरीखेतीबाट पाँच हजार ६४८ मेट्रिक टन उत्पादन भएको थियो । यो उत्पादन अघिल्लो आवको तुलनामा १४ दशमलव ४१ प्रतिशत कमी हो । बाँकेमा तेलहन बाली कुल सात हजार २५६ हेक्टरमा हुँदै आएको छ । तोरीबाहेक सर्सो, रायो, सूर्यमुखी, तिल, बदाम र आलसखेती गरिने भए पनि क्षेत्रफल र उत्पादन अत्यन्त न्यून छ ।  किसानले खेती गर्ने क्षेत्रफल घट्दै गएर हाल सर्सो ३५ हेक्टर, रायो १५ हेक्टर, सूर्यमुखी एक हेक्टर, तिल १५ हेक्टर, बदाम ६१५ हेक्टर र आलस ४५ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको सूचना अधिकारी पाठकले जानकारी दिए । उनले हिउँदे वर्षा नहुनु र बीउ प्रतिस्थापन दर न्यून हुँदा तोरीखेतीको उत्पादन घट्दै गएको उल्लेख गर्दै किसान तोरीबाहेक अन्य तेलहन बालीतर्फ आकर्षित हुन नसकेको बताए । नेपालगन्ज–२२ का अगुवा किसान चक्र बुढाले उत्पादनको यो निरन्तर गिरावटलाई रोक्न किसानलाई बढी उत्पादन दिने र तेलको मात्रा राम्रो हुने उन्नत जातका बीउ उपलब्ध गराउनु, सिँचाइको व्यवस्थापनमा सुधार ल्याउनु र अन्य तेलहन बालीको महत्वबारे सचेत गराउनु आवश्यक रहेको बताए । तेलहन बालीको उत्पादनमा आएको यो गिरावटले गर्दा तेलको आयातमा निर्भरता बढ्ने र स्थानीय बजारमा तेलको मूल्यमा असर पर्ने भएकाले बाँकेमा तेलहन बालीको खेतीलाई प्रोत्साहन गर्न स्थानीय र प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र किसानलाई आवश्यक प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । 

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको स्पष्ट पारेको छ ।  चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य निर्धारण गरेको छ । रासायनिक मल आयातका लागि चालु आर्थिक वर्षमा रु २८ अर्ब ८२ करोड बराबरको बजेट विनियोजन गरेको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार यही मंसिर महिनाको दोस्रो सातासम्म दुई लाख ६६ हजार पाँच सय १० मेट्रिक टन रासायनिक मल आपूर्तिको क्रममा छ । त्यसमा कृषि सामग्री कम्पनीले एक लाख ८० हजार चार सय ९१ मेट्रिक टन र साल्ट टे«डिङ कर्पोरेसनले ८६ हजार १६ मेट्रिक टन रासायनिक मल आयात गरिरहेको छ ।  कृषि सामग्री कम्पनीले ८८ हजार दुई सय १३ मेट्रिक टन युरिया, ९२ हजार दुई सय ७८ मेट्रिक टन डीएपी मल आयात गरिरहेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले २४ हजार चार सय ९८ मेट्रिक टन युरिया, ५३ हजार सात सय ९५ मेट्रिक टन डीएपी र सात हजार सात सय २५ मेट्रिकटन पोटास आयातको क्रममा रहेको जनाएको छ ।  यस्तै, कूल ८६ हजार तीन सय ३३ मेट्रिक टन रासायनिक मल गोदाममा मौज्दात छ । मौज्दातमा रहेको मध्ये कृषि सामग्री कम्पनीमा ५७ हजार आठ सय १८ मेट्रिकटन र साल्ट टेडिङ कर्पोरेशनमा २८ हजार पाँच सय १४ मेट्रिक टन उपलब्ध छ ।  यस्तै, आयातको क्रममा बाह्य मुलुकका विभिन्न मार्गमा एक लाख २० हजार पाँच सय ९७ मेटिकटन रहेको मन्त्रालयले जनाएको छ । खेतीपातीका लागि सहज रुपमा रासायनिक मल उपलब्ध गराउन सबै प्रकारका उपाय अबलम्बन गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।