पक्राउ परेका महरालाई ल्याइयो काठमाडौं

काठमाडौं । कपिलवस्तुबाट पक्राउ परेका कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ। सोमबार बिहान पक्राउ परेका महरालाई भैरहवाबाट जहाजमा काठमाडौं ल्याइएको हो।

उनलाई अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)मा ल्याइएको हो ।

०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट (भेप) मार्फत ल्याएको नौ किलो सुन तस्करी प्रकरणमा महराको कनेक्सन देखिएको थियो ।

कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीले उनलाई कपिलवस्तुबाट आज बिहान पक्राउ गरेको नेपाल प्रहरीका सुचना अधिकारी भीमप्रसाद ढकालले जानकारी दिए । महरा रुपन्देही हुँदै रोल्पा जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुन तस्करी सम्बन्धमा छानविनका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ जना चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारस गरेको थियो। आयोगले पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष महरासहित १२ जनालाई कारबाही सिफारिस गरिएको छ।सीआईबीले यसअघि महरालाई ९ किलो सुन प्रकरणमा बयान लिएको थियो। पूर्वसभामुख महराका छोरा राहुललाई सीआईबीले गत भदौ १३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको कारण उनीहरू   अनुसन्धानमा तानिएका हुन् ।

म्याग्दीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, नेपानेमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा सवारीधनी एवं चालक अन्दाजी ३७ वर्षीय गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य पूर्ण पाइजाले जानकारी दिए । सडकदेखि करिब २०० मिटर तल खोचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जीपबाट दुईजनाको शव फेला परेको उनले बताए । “हिजो (आइतबार) राति पोखरेबगरबाट छुटेको जीप पाउद्वार नपुगेको खबर आएपछि खोज्ने क्रममा आज बिहान ८ बजेतिर भीरमा अड्किएको अवस्थामा फेला परेको हो,” उनले भने । प्रहरी नायब उपरीक्षक मदन कुँवरले घारा र भुरुङ तातोपानीबाट प्रहरीको टोली घटनास्थल पुगेर शव संकलन, पहिचान र अनुसन्धान थालेको बताए । 

प्रेमिका नर्सको हत्या गरेर फरार भएका प्रेमी शिवशंकर झुण्डिएको अवस्थामा मृत फेला

विराटनगर । विराटनगरको नोबेल टिचिङ्ग अस्पतालमा कार्यरत २३ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न प्रेमी विराटनगरको एक होटलमा मृत फेला परेका छन् । चन्द्रिका कुमारीको हत्या गरी फरार रहेका २२ वर्षीय शिवशंकर दास नोबेल अस्पताल अगाडि रहेको होटल फाइनमा झुण्डिएको अवस्थामा आइतबार राती मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । चन्द्रिका कुमारीको प्रेमी रहेको भनिएका शिवशंकर चन्द्रिका कुमारीको हत्या भएको तीन दिनपछि मृत फेला परेका हुन् । शिवशंकरले आत्महत्या गरेको होटल नर्स चन्द्रिका कुमारीको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा पर्दछ । सिरहाको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर– ४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडिदेखि कोठामा बस्दै आएकी थिइन् । उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा डेराको कोठा भित्र बाथरुममा शव भेटिएको थियो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको थियो । चन्द्रिका कुमारीको उनकै प्रेमी शिवशंकरले हत्या गरेर फरार भएपछि उनको खोजी कार्यमा प्रहरी लागि परेको थियो । फरार रहेका शिवशंकरको खोजी गर्ने क्रममा आत्महत्या गरेको अवस्थामा भेटिएको एसपी कार्कीले बताए । ‘हत्यामा संलग्नको पहिचान भएपछि खोजी कार्यलाई हामीले तिव्र बनाएका थियौँ । हामीले प्राविधिक रुपमा पनि अनुसन्धान गर्दै आएका थियौँ । सोही क्रममा आइतबार दिउँसो विराटनगरको कञ्चनबारीनजिक शिवंकरले प्रयोग गर्ने फोनको लोकेसन देखाएको थियो । ट्रयाक गर्दै खोजी गर्ने क्रममा होटल फाइनमा प्रहरी टोली पुगेको थियो । एउटा होटलको ढोका खुलेन । त्यसपछि ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा शव भेटिएको छ,’ एसपी कार्कीले भने । शिवशंकर र चन्द्रिका कुमारीको चार वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । उनी वैदेशिक रोजगारमा गएपछि यता चन्द्रिका कुमारीको सीएमए सिरहाका अमिन धानुकसँग प्रेम सम्बन्ध बसेको थियो । ‘चन्द्रिका कुमारीले प्रेममा धोका दिनेभएपछि हत्या गरेको देखिन्छ,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘अब म पनि आत्महत्या गर्छु भनेर शिवशंकरले दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेको पनि रहेछन् ।’ शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए । उनी २९ फागुनमा विराटनगर आएको देखिन्छ । विराटनगर आएपछि उनी प्रेमी चन्द्रिका कुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ । प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो हत्या भएको थियो ।

एमाले कञ्चनपुरको पार्टी कार्यालयमा तालाबन्दी

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशनमा विवाद भएको छ ।  अधिबेशन लम्ब्याएर सहमतिको खाका तयार गरेपछि विवाद भएको हो । नेताहरूले सर्बसम्मत नेतृत्व चयन गर्ने भन्दै पदाधिकारीमा उम्मेदवारी दिएका सबैलाई आइतबार सामूहिक रूपमा उम्मेदवारी फिर्ता गराएका थिए । अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा गरेको अधिवेशन उद्घाटनमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । ओलीको निर्देशनअनुसार अध्यक्षमा हालका कार्यवाहक अध्यक्ष लक्ष्मी बुढा, उपाध्यक्षमा जनक अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिव अध्यक्षका आकांक्षी अशोक चन्द र राजीव खड्कालाई बनाउने सहमति भएको थियो । अध्यक्ष मण्डलले आज (सोमबार) पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । चन्दले  प्रतिनिधिको भावनाविपरीत सर्वसम्मतिको नाममा विधि, विधान मिचिएकाले तालाबन्दी गरेको दावी गरे ।  चन्द अघिल्लो अधिबेशनमा सर्वाधिक मत ल्याएर उपसचिवमा निर्वाचित भएका थिए । चन्दलाई उपाध्यक्ष बनाउनुपर्ने माग भएपनि अघिल्लो अधिवेशनमा तल्ला कमिटी सदस्यमा हारेका अवस्थीलाई बनाउन खोजिएको भन्दै विरोध भएको एक नेताले बताए ।

सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारीबाट लिएको रकम समयमै चुक्ता गर्न आग्रह गरेको छ । काठमाडौं महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको साँवा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको हो । ऋणीहरूले समयमै रकम चुक्ता नगर्दा सहकारीले बचतकर्ताको बचत रकम फिर्ता गर्न नसकेको भन्दै विभागले समयमै ऋण भूक्तानी गर्न आग्रह गरेको छ । विभागले जुन सम्झौता र सर्त बमोजिम लिइएको हो सोही बमोजिम रकम फिर्ता गर्न सूचनामा भनेको छ । सहकारीबाट लिएको ऋण तिर्नु नपर्ने भ्रम फैलाइएको र सोही अनुसार केहीले ऋण चुक्ता गर्न बहाना गरेको गुनासो आएको भन्दै विभागले तोकिएको समयमा ऋण चुक्ता नगरे कारवाही गर्ने समेत चेतावनी दिएको छ ।

सडक दुर्घटनामा रुपन्देहीको मझगांवा मालपोत कार्यालय प्रमुखको मृत्यु

काठमाडौं। गएराति भैरहवामा कारले मोटरसाइकललाई ठक्कर दिँदा भएको सडक दुर्घटनामा मालपोत कार्यालय मझगांवा रुपन्देहीका प्रमुख तिलक रावतको मृत्यु भएको छ। भैरहवाबाट लुम्बिनी आउँदै गरेको बा २१ च ७५५३ नंम्बरको कारले गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल अगाडि सडकमा ठक्कर दिँदा रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  भैरहवा लुम्बिनी सडक खण्डको बेथरीबाट भैरहवातर्फ आउँदै गरेको रावत चढेको मोटरसाइकल र भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको कार विमानस्थल गेट अगाडि सडकमा ठोक्किएका थिए । ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तो हुनेछ आजको मौसम

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  आज बिहान मधेस र कोसी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।  देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्री अर्यालको निर्देशन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न निर्देशन दिएका छन् ।  आज फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)को सुधार गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।  वैदेशिक रोजगारीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको हो, तर सो प्रणालीमा आउने समस्याका कारण श्रमिकले समयमै श्रम स्वीकृति नपाउँदा थप आर्थिक भार खेप्नुपरेको गुनासो छ।  यसै समस्यालाई समाधान गर्न मन्त्री अर्यालले फेमिस प्रणालीमा तत्काल सुधार गर्न निर्देशन दिएको जनाइएको छ। मन्त्री अर्यालले संसारको कुनै पनि कुनाबाट श्रम स्वीकृतिका लागि श्रमिकले आवेदन दिँदा एक घण्टाभित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्न निर्देशन दिए।  'तपाईंहरूले काम गर्न सक्नुहुन्छ भने गर्नुहोस् अन्यथा अन्य विकल्प खोजेर भए पनि एक महिनाभित्रमा एक घण्टामा श्रम स्वीकृति दिन सक्ने गरी फेमिस प्रणालीको सुधार गर्नेछु,' उनले भने।   मन्त्रालयको सूचना प्रविधि परामर्शदाताले विगत एक सातादेखि फेमिस प्रणालीको निगरानी गरिरहेको छ। फेमिस प्रणालीको सफ्टवेयरको आपूर्तिकर्ता ई–बिमा कम्पनी हो भने हार्डवेयर आपूर्तिकर्ता दृष्टि टेक कम्पनी हो।  सन् २०१६ मा विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकको तथ्यांक राख्न, अनलाइन टोकन र श्रम स्वीकृति प्रदान गर्नका लागि सफ्टवेयर खरिद गरेको थियो।

युक्रेनले सार्वजनिक गर्‍यो पाँच नेपाली युद्धबन्दी

काठमाडौं । युक्रेनले गत शुक्रबार पाँच नेपाली र तीन अन्य देशका गरी आठ रूसी युद्धबन्दी सार्वजनिक गरेको छ । युद्धबन्दी सार्वजनिक गर्दै युक्रेनले ग्लोबल साउथ र विश्वका अन्य गरिब मुलुकहरूलाई रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिक जोगाउन समेत आग्रह गरेको छ । युक्रेनले पाँच नेपाली, क्युबा, सोमालिया र सीएरा लियोनका एक–एकजना युद्धबन्दीलाई युक्रेनले सार्वजनिक गरेको हो । युक्रेनको युद्धबन्दी उपचार समन्वय मुख्यालयका प्रतिनिधि पेट्रो यात्सेन्कोले रूसमा आफ्ना नागरिक जानबाट रोक्न सजक हुन आवश्यक रहेको बताए । उनले गरिब देशहरूलाई आफ्ना नागरिक रूसी सेनामा भर्ती हुनबाट रोक्न आग्रह गरेका छन् । उनले भनेका छन्, “न्यून स्तरको आय भएका देशका नागरिकलाई रूसले भर्ती गरिरहेको छ । त्यसलाई रोक्न अझै कडा कदम चाल्न आवश्यक छ ।” गत हप्ता भारतले रूसमा नागरिक पठाउन सक्रिय ठूलो गिरोह पत्ता लगाएको बताएको थियो । नेपालले गत डिसेम्बरमा मस्कोलाई आफ्ना नागरिक रूसी सेनामा भर्ना नगर्न र त्यहाँ कार्यरत नेपाली सैनिकलाई फिर्ता पठाउन आग्रह गरेको थियो ।

दिपेश पुनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशलाई हिरासतमा राख्न अदालतले ६ दिनको म्याद दिएको छ । सहकारी ठगीमा पक्राउ परेका पुनलाई अनुसन्धानका लागि रुपन्देही जिल्ला अदालतले हिरासतमा राख्ने अनुमति दिएको  अदालतका सूचना अधिकारी अनन्त मरासिनीले जानकारी दिए ।  शुक्रबार काठमाडौंमा पक्राउ परेका पुनलाई प्रहरीले आइतबार रुपन्देही जिल्ला अदालतमा पेस गरेको थियो । बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका पुनलाई शुक्रबार नै प्रहरीले बुटवल पुर्‍याएको थियो । सहकारी ठगी प्रकरणका अनुसन्धान गर्दा पुनलाई नियन्त्रणमा लिनुपर्ने देखिएको भन्दै पक्राउ गर्न रुपन्देही प्रहरीले काठमाडौं प्रहरीलाई पत्राचार गरेको थियो ।

बच्चा चोरेको आरोप लागेकी महिलालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश

काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोप लागेकी महिलालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ। काठमाडौं जिल्ला अदालतले उक्त आदेश गरेको हो । ती महिलाले आफू डिप्रेसनको बिरामी भएको र कसैलाई नभेटेपछि होस गुमेर बच्चा घर लिएर जान पुगेको बयान दिएकी छिन्। दैलेखकी २७ वर्षीया मानकुमारी सिंहविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा अभियोग पत्र दायर भएको थियो । फागुन ११ गते राती मानकुमारी भक्तपुरबाट पक्राउ परेकी थिइन् । पूजन श्रेष्ठले आफ्नो नवजात शिशु अस्पतालबाटै चोरी भएको उजुरी गरेपछि तत्कालै प्रहरीले अनुसन्धान सुरु गरेको थियो। पूजनको २६ दिनको छोरीलाई उपचारका लागि प्रसूति गृह ल्याउँदा फागुन ११ गते दिउँसो अस्पतालबाट एक महिलाले लगिरहेको सिसिटिभी फुटेजमा देखिएको थियो । मानकुमारीले आफू लगातार गर्भ खेर गएपछि डिप्रेसनमा गएको र होस् गुमाएर बच्चा घर लान पुगेको बयान दिएकी थिइन् ।

सुस्मा लामाको हत्या गरी शिवपुरी जंगलमा शव गाड्ने युवक पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं.३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुस्मा लामाको हत्या गरी शव गाडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं.३ तारेभिरकी १८ वर्षीया सुस्मा लामा गत माघ २२ गते कलेज गएदेखि बेपत्ता थिइन्। उनको शव फागुन २४ गते साँझ शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा प्रहरीले फेला परेको थियो भने फागुन २५ गते उत्खनन् गरी सनाखत गरिएको थियो । प्रहरीले हत्यामा संलग्न गोकर्णेश्वर नगरपालिका वडा नं.३ तारेभिरका २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरी सार्वजनिक छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा आरोपी व्यक्तिलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। प्रहरी अधिकारीकाअनुसार निज हत्या आरोपी व्यक्तिले सुस्मा लामालाई विगत ८ महिनादेखि एकोहोरो मन पराएको र पटक–पटक प्रेम प्रस्ताव राख्दा पनि स्वीकार नगरिएपछि आफूले हत्या गरेको बताएका छन् । प्रहरीका अनुसार माघ २२ गते कलेज जान भनी निस्किएकी लामा सम्पर्कमा आइनन् । माघ २३ गते फेसबुकमा विवाह गरेको फोटो पोस्ट गरिन् र आफू ३ दिनमा आउँछु भनेर पोस्ट गरिन् । परिवारले माघ २५ गते प्रहरी वृत्त बौद्धमा मानिस हराएको भनेर रिपोर्ट गरेसँगै प्रहरीले खोजतलास तथा अनुसन्धान सुरु गरेको थियो । एक महिनापछि फागुन २४ गते साँझ हातमात्र देखिएको अवस्थामा तारेभिरमै शव गाडिएको अवस्थामा फेला परेको र २५ गते उत्खनन् भएको जनाइएको छ। हात पेटीले कसेको र घाँटीमा टाईले कसेको सडे गलेको अवस्थामा रहेको शव आमाले सनाखत गरेकी थिइन् । अभियुक्तको कोठाबाट खाल्डो खन्न प्रयोग भएको कुटो, मृतकको मोबाइल र किताब(कापीसमेत बरामद भएको छ ।

दयाशंकर पत्रकारिता पुरस्कार श्रेष्ठलाई, त्रिभुवनलाई मरणोपरान्त सम्मान

पोखरा ।दयाशंकर पालिखेको परिवारले स्थापना र नेपाल पत्रकार महासंघले संचालन गर्दै आएको दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट दीपेन्द्र श्रेष्ठ सम्मानित भएका छन् ।  २०७९ सालको पत्रकारिता सम्मान कास्की महासंघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठलाई प्रदान गरिएको हो।यस्तै, मरणोपरान्त सम्मान स्व.त्रिभुवन पौडेललाई अर्पण गरिएको छ। २०८० को सम्मान त्रिभुवनकी धर्मपत्नी प्रतिभा अधिकारीलाई अर्पण गरिएको हो।  दुवै पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ छ । दुबैजनालाई आज पोखरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान अर्पण गरेका हुन् ।

राष्ट्रिय सभा विषयगत समिति सभापतिको निर्वाचन स्थगित

काठमाडौं । राष्ट्रिय सभा विषयगत समिति सभापतिको निर्वाचन स्थगित भएको छ । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएपछि आइतबार तय भएको निर्वाचन स्थगित हुन पुगेको राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले जानकारी दिए । बहालवाला सदस्यको निधनमा संघीय संसद्का सभा तथा समितिका कामकारबाही स्थगित गर्ने संसदीय अभ्यास रहेकाले समिति सभापतिको निर्वाचन स्थगित गरिएको सचिव अर्यालले जारी गरेको सूचनामा उल्लेख छ । अहिले दिगो विकास तथा सुशासन समितिको सभापति र राष्ट्रिय सरोकार तथा समन्वय समिति नेतृत्वविहीन छन् । दिगो विकास तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी कमला पन्त र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा एमालेका सोनाम ग्याल्जेन शेर्पाको मात्र उम्मेदवारी परेको छ ।  दुवै समितिको सभापतिका लागि शनिबार मनोनयन दर्ताको समय तोकिएको थियो भने आज आइतबार निर्वाचनको समय तय भएको थियो । एकल उम्मेदवारी परेकाले दुवै सर्वसम्मत सभापति चयन हुँदैछन् । स्थगित भएको निर्वाचन सोमबार हुने बताइएको छ ।

पोखरामा व्यावसायिक उडानका लागि पहल हुन्छ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले व्यावसायिक उडानका लागि सम्बद्व पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्ध व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले भने, “प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला–त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्नेछ ।” उनले गण्डकी प्रदेशको विकासमा दुरगामी महत्त्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तिव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउँदै लगिने बताए। “पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न हामी सबैले भूमिका खेलौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “आन्तरिक पर्यटन प्रवर्द्धनमा सरकार, निजी क्षेत्र र नागरिक समाजबीच बलियो एकता र सहकार्यका साथ अगाडि बढौँ ।” लक्ष्यअनुसार पर्यटक भित्राउन खेल्नुपर्ने विशिष्ट भूमिकाहरू पूर्ण निष्ठा र इमानदारिताका साथ पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यस कार्यका लागि सम्पूर्ण पोखरेली जनसमुदायमा अपील गरे।