बागलुङकाे भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

बागलुङ । भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको हुँदा स्थानीयले मोटरबाटोको छेउकुना केही पक्की त केही सामान्य खालका घर बनाएका थिए । खोलाको छोटो दूरीमै थिए, विद्यालय, स्वास्थ्य संस्था र विद्युत् गृहहरू । 

विकासले बिस्तारै जोडिँदै गरेको विकट क्षेत्रका नागरिकमा खुसी पलाउँदै थियो । विसं २०७७ भदौ १७ गते राति भूजीखोलामा भीषण बाढी आयो । उक्त बाढीले भूजीखोलावासीको सर्वस्व लुट्यो । दर्जनौँ नागरिकको ज्यान लियो, सयौँलाई परिवार र घरबारविहीन बनायो ।

आफन्त र भएभरको सम्पत्ति गुमाएका पीडितले अझै पनि राज्यबाट सहयोग पाउन सकेका छैनन् । सैतीस जनाको ज्यान जानेगरी आएको बाढीले पुर्‍याएको क्षति बेहिसाब छन् । त्योभन्दा बढी बेहिसाब छन्, बाढीपीडितको दुःख । बाढीमा परेका १५ जना अझै बेपत्ता छन् । 

बाढी गए पश्चात सरकारले पीडितको पुनः स्थापनलाई प्राथमिकता दिने भने पनि अहिलेसम्म ध्यान नपुग्न नसकेको उनीहरूको गुनासो छ । घर निर्माण गरेपछि राहत उपलब्ध गराउने भनिए पनि अहिलेसम्म धेरैले भुक्तानी पाएका छैनन् ।

बाढीले ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ का एक सय ३१ घर बगाएको थियो । पीडितले ऋण धन गरेर अहिले घर बनाइसके । तर राहत अझै पाएका छैनन् । ढोरपाटन–९ का बाढीपीडित लालबहादुर विकले घर बनाउन सरकारले रकम पठाउने आश्वासन दिए पनि अहिलेसम्म कत्ति पनि सहयोग नपाएको गुनासो गरे । बाढीले उनको जेठो छोरा र भएभरको घर सम्पत्ति बगाएको थियो । राहत आउँछ भन्दाभन्दै पाँच वर्ष बितिसकेको भन्दै अब पाउन आशासमेत मरिसकेको उनी बताउँछन् ।

विकले भने, “बाढीले भएभरको सम्पत्ति बगायो, छोरो बगायो, कति समय त पालमुनि बस्यौँ, सधैँभरि पालमुनि बसेर जीवन चल्दोरैनछ, सरकारले पनि राहत दिन्छ घर बनाउ भनेपछि गाउँमा ऋण काढेर घर बनायौँ, तर अहिले न सरकारले पैसा दियो, न साहुको ऋण तिर्न सकियो, हामीहरू धेरै पीडामा पर्‍यौँ, राज्यले राहत देला भनेका थियौँ आहत दियो ।”

अर्का पीडित नारायण पुनले सरकारबाट पाउने भनिएको रु चार लाखमध्ये अहिलेसम्म कत्ति पनि रकम पाउन नसकेको सुनाए । बाढीमा आमा र घर बगाएको भन्दै अहिले घर निर्माण गरिसकेको बताए । केही आफ्नो कमाइ र केही रकम ऋण गरेर घर बनाएको उहाँको भनाइ छ । 

नेताहरूले आफ्ना वरपरका र नजिकका आफन्तलाई मात्र राहत दिलाएको पुन बताउँछन्। “हामी राम्रोसँग कुरा राख्न पनि नसक्ने सिधा भयौँ, टाढाबाठाले त पाउनुपर्ने राहत पाइसके, राहत पाएपछि ऋण तिर्नेगरी घर बनायौँ तर अहिलेसम्म पाउन सकेनौँ”, उनले भने ।

सोही ठाउँका बाढीपीडित कुलबहादुर विकले घर बनाएको ऋणले अहिले समस्यामा परेको बताए । बाढीले घरजग्गासहित २२ वर्षका जेठो छोरा, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षकी नातिनी बगाएको सुनाउँदै अहिले ऋणको भारीले थिचिरहेको विकले सुनाउनुभयो । आफूले जम्मा रु दुई लाख ५० हजार पाएको भन्दै घर बनाउँदा रु पाँच लाख खर्च भएको उनको भनाइ छ ।

“बाढीले परिवार नै बगायो, सम्पत्ति बगायो, त्यसमाथि सरकारले पैसा दिन्छु घर बनाउ भनेर भन्यो, ऋण खोजेर घर बनाएँ, न सरकारले पैसा दियो, न कतैबाट सहयोग आयो, अहिले साहुले पैसा माग्छन्, आफूलाई बिहान के खाउँ, बेलुका के खाउँ भन्ने पिर छ, अहिले ऋणले डुबायो, के गरेर तिर्ने ?, गाउँका अरू धेरै बाढी पीडितहरूको अवस्था मेरोजस्तै छ”, उनले भने ।

बाढीले ११ वटा लघुजलविद्युत आयोजना, एउटा स्वास्थ्य एकाइ, ११ वटा झोलुङ्गे पुल, १० काठे पुल, पाँच ढलान पुल, दुई विद्यालय र २० किलोमिटर सडक बगाएको थियो । बाढीले क्षति पुर्याएका जलविद्युत, विद्यालयको पुनः निर्माण भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बताए । सङ्घीय सरकारले १८ जना बाढीपीडितलाई घर बनाउन सबै किस्ता उपलब्ध गराए पनि अझै धेरैले एक किस्ताबाहेक अरू रकम नपाएको उनको भनाइ छ ।

उपप्रमुख कायतले भए, “पीडितहरूले प्राविधिक स्टिमेटअनुसार घर बनाउनुपर्ने हो, विभिन्न कारण उनीहरूले सकेनन्, तर घरचाहिँ सबैको बनेको छ, सरकारले दिने रकम एक तिहाइले पनि पाउन सकेका छैनन्, यसका लागि हामीहरूले पहल गरिरहेका छौँ, बाढीले बगाएका विद्यालय, स्वास्थ्य संस्था, पुल र सडक पुनः निर्माण भएर सञ्चालनमा आइसके ।”

नारायणगढ–बुटवल सडक विस्तार आयोजना: भौतिक प्रगति ७६ प्रतिशत

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समयसीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ । उनका अनुसार पछिल्लो पटक थप भएको म्याद २०८३ असारमा सकिन्छ । हाल उपलब्ध गराएको समयसीमामा काम सम्पन्न गराउनका लागि आफूहरू लागेको सूचना अधिकारी खनालले बताए । उनका अनुसार अहिले पूर्वी खण्डमा काम गर्न बाँकी रहेका सबै जसो क्षेत्रमा धमाधम काम भइरहेको छ । गैँडाकोटको जय श्री पुल, चोरमारा बजारको पुल, अरुणखोला पुल र दुम्किबासमा कालोपत्रको काम बाँकी रहेको छ । अन्य क्षेत्रमा कालोपत्रको काम सकिएको छ । लामो पुलमा चोरमारा र अरुणखोला मात्र सञ्चालनमा आउन बाँकी रहेकाले सो क्षेत्रमा समेत काम चलिरहेको सूचना अधिकारी खनालले बताए ।  कालोपत्र सकिएको बजार क्षेत्रमा सर्भिस लेनको कालोपत्र गर्ने काम समेत चलिरहेको छ । त्यसबाहेक सडकबीचको डिभाइडर सफा गर्ने, यस अघि तोकिएकोभन्दा पातलो कालोपत्र गरिएको स्थानमा थप कालोपत्र गर्ने कार्य जारी राखिएको छ । पूर्व खण्डमा दाउन्ने क्षेत्रमा समेत प्राथमिकता दिएर काम अघि बढाइएको छ । दाउन्ने क्षेत्रमा कल्भर्ट निर्माण अन्तिम चरण रहेको उहाँले बताए । चैतसम्ममा काम सक्नेगरी कल्भर्ट निर्माणसहित सडक ढलानको काम चलिरहेको उनले बताए । “दाउन्नेमा कामलाई गति दिएका छौँ, चैतसम्ममा आयोजनाको बाँकी चौध प्रतिशत कामसमेत सकिन्छ”, सूचना अधिकारी खनालले भने । नारायणगढ–बुटवल सडक विस्तार विसं २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साल साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक म्याद थप गरेर काम अघि बढिरहेको छ । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नको चौध किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माण हुनेछ ।

चितवनकाे भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले सूर्यमुखीखेती लगाएका छन् ।  अधिकारीका अनुसार दुई वर्षअघि पनि सोही बाली लगाउँदा दाना तथा तेलको उच्च माग देखिएको र बाली चक्र प्रणालीअनुसार सूर्यमुखी उपयुक्त ठहरेकाले यस वर्ष फेरि सूर्यमुखी लगाइएको हो । उनी भन्छन्, “पाँच दिनसम्म दैनिक १० जनाको श्रम प्रयोग गरी रोपाइँ सम्पन्न गरिएको छ, यस वर्ष करिब ३० क्विन्टल उत्पादन हुने अनुमान छ ।” उनले अघिल्लो पटक सूर्यमुखीको तेल लिटरमा रु ८०० र दाना प्रतिकिलो रु ५०० मा बिक्री भएको जानकारी दिए । यसपटक अधिकारीले एकल रूपमा खेती गरेका हुन् । दुई वर्षअघि भने चार जनाको समूह बनाएर सोही स्थानमा प्राङ्गारिक सूर्यमुखीखेती गरिएको थियो । त्यो समयमा फूल फुल्दा खेत क्षेत्र आकर्षक बनेको र दैनिक रूपमा फोटो खिच्न, भिडियो बनाउन तथा घुम्न आउनेको सङ्ख्या उल्लेख्य रहेको उनले जानकारी दिए । बाली राम्रो भएकाले ढकमक फूलले स्थानीय स्तरमा पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने अधिकारीको दाबी छ । फूल फुलेपछि क्षेत्र मौरी चरनका लागि पनि उपयुक्त मानिन्छ । लामो समयदेखि प्राङ्गारिक खेतीमा संलग्न अधिकारीले यस क्षेत्रमा विविध बाली लगाउँदै आएकी छन् । सूर्यमुखीखेतीलाई बाह्य प्रभावबाट जोगाउन खेतको छेउ–छेउमा राज्मा रोपेर ‘बफर जोन’ तयार गरिएको उनले बताए । उनी भन्छन्, “श्रीपुर गाजर उत्पादनका लागि पनि परिचित क्षेत्र हो, मैले प्राङ्गारिक रूपमा गाजर पनि लगाएको छु ।” उनको अगुवाइमा यहाँका साथै जिल्लाका प्राङ्गारिक समूहहरूले अन्य विभिन्न बाली लगाउँदै आएका छन् । करिब चार दशकदेखि प्राङ्गारिक खेतीमा संलग्न अधिकारीले धेरै कृषकलाई जैविक खेतीतर्फ आकर्षित गर्दै आएका छन् ।

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे प्रहरी सहायक हवल्दार भीम खड्काको मृत्यु भएको हो । उनी कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत थिए । प्रहरीका अनुसार, गएराति करिब साढे १२ बजे विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक कोशी राजमार्गमा दुर्घटनामा परेका थिए । उनी सवार रहेको बा.प्र.०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका र विराट नर्सिङ होममा उपचारका क्रममा उनको मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधबार जारी गरेको सूचनामा बागमती गाउँपालिका– ९ भेट्टेडाँडा र छपेलीआसपासको सडक चौडाइ विस्तार तथा कटिङ कार्यका कारण दैनिक केही समय सडक बन्द गर्नुपर्ने उल्लेख गरिएको छ । प्रशासनले जारी गरेको सूचनाअनुसार मंसिर २० गतेदेखि आगामी ६० दिनसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म करिब ६ घण्टा सडक पूर्ण रूपमा बन्द रहनेछ । सडक विस्तार र कटान कार्य सुरक्षित रूपमा सम्पन्न गर्न यातायात आवागमन रोक्नुपर्ने आवश्यकताका कारण यस्तो व्यवस्था गरिएको बताइएको छ । कान्तिलोकपथ हेटौँडा–काठमाडौं आवागमनका लागि महत्त्वपूर्ण विकल्पको रूपमा प्रयोग हुँदै आएको छ। दैनिक यात्रु, व्यापारिक आपूर्ति तथा निजी सवारीसाधनका लागि सहज मानिने यो मार्ग अवरुद्ध हुँदा केही समय यात्रुहरूलाई असहज हुने अनुमान गरिएको छ। प्रशासनले सडक बन्द अवधिभर अत्यावश्यक सवारीसाधनलाई वैकल्पिक व्यवस्था अपनाउन आग्रह गर्दै कार्य छिटो सम्पन्न गरी यथाशक्य चाँडो नियमित गरिने जनाएको छ ।

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर विष्णु खड्काका अनुसार सप्तरी कञ्चनरूप नगरपालिका– ९ बस्ने वर्ष २४ का शिवशंकर राम पक्राउ परेका हुन् । गाँजा बोकेर बेलका नगरपालिकाको रामपुरबाट सप्तरीको कञ्चनरूपतर्फ जाँदै गरेको प्र.२–०१–००३ प २९३५ नम्बरको मोटरसाइकलसहित राम पक्राउ परेका हुन् ।  पक्राउ परेका रामलाई इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । 

भरतपुरमा देशकै लामो ८८ किमीको रिङरोड निर्माण जारी, महानगर प्रमुख दाहालले गरिन् अनुगमन

भरतपुर – चितवनको भरतपुर महानगरपालिकामा निर्माणाधीन देशकै सबैभन्दा लामो ८८.६ किलोमिटर लम्बाइको महानगरीय रिङरोड (चक्रपथ) को बुधबार स्थलगत अनुगमन गरिएको छ। महानगरपालिकाकी प्रमुख रेनु दाहालको नेतृत्वमा सडक डिभिजन कार्यालय चितवनको टोलीले संयुक्त रूपमा यो परियोजनाको निरीक्षण गरेको हो। अनुगमनका क्रममा निर्माण कार्य जारी छ, जसले स्थानीय स्तरमा यातायात सुगमता र आर्थिक विकासलाई थप गति दिने अपेक्षा गरिएको छ। महानगर प्रमुख रेनु दाहालले अनुगमनपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार, यो रिङरोडको गुरुयोजना तयार भइसकेको छ र यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त नेशनल हाईवे (NH) सँग समावेश गरिएको छ। "देशकै सबैभन्दा लामो ८८ किमी लम्बाइ रहेको चक्रपथ (भरतपुर महानगरीय रिङ्ग रोड) को बुधबार स्थलगत अनुगमन गरिएको छ। भरतपुर महानगरपालिका र सडक डिभिजन कार्यालयको टोलीले संयुक्त रूपमा स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ। रिङ्ग रोड निर्माणको काम लगभग सम्पन्नको चरणमा रहेको छ। महानगर रिङरोडको गुरुयोजना तयार भई नेशनल हाईवे (NH) सडकमा समावेश समेत भएको छ," प्रमुख दाहालले लेखेकी छन्। यो परियोजना नेपालकै सबैभन्दा लामो महानगरीय रिङरोडका रूपमा चिनिन्छ, जसको कुल लागत करिब ८ अर्ब २० करोड रूपैयाँ अनुमान गरिएको छ। सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा सञ्चालित यो योजनाले भरतपुरलाई एकीकृत शहरी पूर्वाधारसँग जोड्नेछ।   महानगर प्रमुख दाहालको कार्यकालमा भरतपुरले सडक पूर्वाधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ। विगत चार वर्षमा ६१० किलोमिटर सडक कालोपत्रे, ६ लेनको सडक निर्माण र हुलाकी सडकको १९ किलोमिटर विस्तारजस्ता काम सम्पन्न भएका छन्। यसअघि ६६ किलोमिटर लम्बाइको रिङरोड सञ्चालनमा रहे पनि, यो नयाँ ८८ किमी चक्रपथले मेघौली–गोलाघाट सहायक राजमार्गसँग जोडिएर चितवनको यातायात सञ्जाललाई मजबुत बनाउनेछ। प्रमुख दाहालले यसलाई "भरतपुरको समृद्धि यात्राको महत्वपूर्ण खम्बा" को रूपमा वर्णन गर्दै आएकी छन्। अनुगमन टोलीले निर्माण स्थलहरूको गुणस्तर जाँच गर्दै बाँकी कामलाई तीव्रता दिन निर्देशन दिएको छ। यस परियोजनाले स्थानीय किसानहरूको कृषि उत्पादन बजारसम्म पुर्‍याउन, पर्यटन प्रवर्द्धन गर्न र शहरी भीडभाड घटाउन सहयोग पुर्‍याउने अपेक्षा छ। सडक डिभिजन कार्यालयका अनुसार, यो रिङरोड पूर्ण रूपमा सञ्चालनमा आएपछि भरतपुर महानगरलाई नेपालकै उत्कृष्ट शहरी पूर्वाधार भएको नगरका रूपमा स्थापित गर्न योगदान दिनेछ। भरतपुर महानगरपालिका सञ्चालित यो परियोजना प्रमुख दाहालको नेतृत्वमा भएको विकासको प्रतीक मानिन्छ।  

सर्वोच्च जलाउनेको बयान : ‘राजनीतिक आस्थाका आधारमा फैसला गर्न थाल्यो भनेर जलाएका हौं’

काठमाडौं – जेनजी आन्दोलनका क्रममा गत भदौ २४ मा सर्वोच्च अदालतमा आगजनी र हतियार लुटपाट गर्ने आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्राट परियार, एलेक्स पराजुली, ब्राउन श्रेष्ठ र ज्योती थापा घताने छन्। प्रहरी अनुसन्धानमा उनीहरूले भीडमा बहकिएर घटना गरेको बयान दिएका छन्। आरोपी ज्योतीले भने सर्वोच्चले राजनीतिक आस्थाका आधारमा छानीछानी फैसला गर्न थालेपछि पुनर्संरचना आवश्यक ठानेर आगो लगाएको बताएकी छन्। सम्राटको आपराधिक पृष्ठभूमि खुलेको छ, जसमा ठगी र बैंकिङ कसुरका मुद्दा छन्। एलेक्स र ब्राउनले प्रहरीबाट लुटेको हतियार सर्वोच्चभित्र प्रदर्शन गरेका थिए। प्रहरीले हतियार बरामद गर्न सकेको छैन, उनीहरूले सेनालाई बुझाएको दाबी गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले थप दोषी पहिचान र खोजी जारी रहेको बताए। घटनामा सिंहदरबार जलाउने समूह नै डाइभर्ट भएको देखिएको छ।

इन्डिगो एयरलाइन्सका १५० उडान रद्द, पाइलट अभावले हजारौं यात्रु अलपत्र

एजेन्सी – भारतको प्रमुख एयरलाइन्स इन्डिगोका १५० भन्दा बढी उडानहरू रद्द र दर्जनौं ढिलाइ भएका छन्, जसले हजारौं यात्रुहरूलाई विमानस्थलहरूमा घण्टौं अलपत्र पारेको छ। रोयटर्सका अनुसार, नयाँ सरकारी नियमहरूले पाइलटहरूको थकान कम गर्न र आराम समय बढाउन लागेपछि चालक दलको अभाव देखिएको छ, जसले रोस्टर व्यवस्थापन जटिल बनेको हो। मुम्बई, दिल्ली, कोलकाता, बेंगलुरु र गुजरातका विमानस्थलहरू सबैभन्दा बढी प्रभावित भएका छन्। उदाहरणका लागि, मुम्बई-हैदराबाद उडान (६ई-७८६) १० घण्टा ढिलो भयो, भने बडोदरा, अहमदाबाद र बेंगलुरुबाट धेरै उडानहरू रद्द भए। कोलकातामा बुधबार १५ उडान रद्द र १३० भन्दा बढी ढिलाइ भएका थिए। सरकारी तथ्याङ्कअनुसार, डिसेम्बर २ मा इन्डिगोका ३५% मात्र उडान समयमै उडेँ, भने नोभेम्बरमा कुल १,२३२ उडान रद्द भएका थिए। यात्रुहरूलाई कुनै पूर्वसूचना नदिइएको भन्दै असुविधाको गुनासो आएको छ। इन्डिगोले विज्ञप्तिमा माफी माग्दै मौसम, प्राविधिक समस्या र नयाँ नियमहरूका कारण भएको बताएको छ। कम्पनीले अर्को ४८ घण्टाभित्र सञ्चालन सामान्य बनाउन तालिका परिवर्तन गरेको र स्थिरता कायम गर्ने प्रतिबद्धता जनाएको छ।

माेरङमा केरौन सबस्टेसन निर्माणको काम अन्तिम चरणमा

माेरङ । मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन पश्चिममा चार वर्षअघिदेखि निर्माण सुरु भएको १३२/३३ केभी क्षमताको केरौन सबस्टेसन निर्माणको अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण थालेको यो सबस्टेसन बनेपछि दक्षिणपूर्वी मोरङका ६१ हजार ग्राहकले ३० वर्षयता भोगेको विद्युत् भोल्टेजको समस्या स्थायी रूपमा समाधान हुने छ । सबस्टेसनका आयोजना प्रमुख दर्शन यादवका अनुसार एसियाली विकास बैङ्कको ८५ करोड रुपियाँ ऋण सहयोगमा सबस्टेसन निर्माण भइरहेको छ । उनले तेस्रो पटक थप भएको म्याद २०८२ को पुस १७ गतेसम्म अधिकांश निर्माण सम्पन्न हुने जानकारी दिए । हालसम्म भौतिक प्रगति ९१ प्रतिशत छ । २०७८ साउन २७ गते उक्त सबस्टेसन निर्माण गर्न  एनर्जिपिक इन्जिनियरिङ–एस आर एसोसिएट्स इन्फ्रास्ट्रक्चर जेभीलाई ठेक्का प्रदान गरिएको थियो । निर्माण कम्पनीसँगको सम्झौता अनुसार २०८० कात्तिक २५ गते आयोजना सम्पन्न हुनुपर्ने भए पनि दुई पटक म्याद थप गरी आयोजना अन्तिम चरणमा पुर्‍याइएको हो । “अन्तिम म्याद २०८२ पुस १७ गतेसम्म पूर्ण रूपमा काम सम्पन्न हुने अवस्था छैन तर प्राविधिक रूपमा ९५ प्रतिशत काम सकिने छ,” आयोजना प्रमुख यादवले भने, “बाँकी काम सम्पन्न गर्न थप एक महिना लाग्ने छ ।”  पर्याप्त क्षमताको सबस्टेसन नहुँदा दक्षिण मोरङका जनताले १७० केभी क्षमतामा मात्र विद्युत् उपभोग गर्न पाएका थिए । यो स्टेसन तयार भएपछि रङ्गेली वितरण केन्द्रबाट बिजुली बालिरहेका सबै खाले ग्राहकले ३० वर्ष पुरानो समस्याबाट मुक्ति पाउने छन् । रङ्गेली वितरण केन्द्रले हाल रङ्गेली, सुनबर्सी, रतुवामाई नगरपालिका, धनपालथान र कानेपोखरी गाउँपालिकाका ५१ हजार १७९ घरधुरीमा विद्युत् सेवा दिएको छ । यस्तै ६७१ औद्योगिक उपभोक्ता छन् भने ८६७ विभिन्न सङ्घ संस्थाले विद्युत् सेवा लिएका छन् । सबस्टेसन पूर्ण रूपमा सञ्चालनमा आएपछि कुल ६१ हजार ८५५ ग्राहकले गुणस्तरीय सेवा पाउने अपेक्षा गरेका छन् । 

उखु किसानकाे आन्दाेलनले चिनी मिल सञ्चालनमा ढिलाइ

काठमाडौँ । उखु किसानले अनुदान र समर्थन मूल्य तोक्न सरकारलाई दवाब दिँदै आन्दोलन चर्काएपछि महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिल र सर्लाहीको इन्दुशङ्कर चिनी मिल सञ्चालनमा ढिलाइ भएको छ । किसान आन्दोलनका कारण यस वर्ष चिनी मिलहरू नियत समयभन्दा ढिलो चल्ने भएका छन् । गत वर्ष मंसिर २६ देखि फागुन २९ सम्म सञ्चालनमा रहेको एभरेस्ट मिलले ३१ लाख ४ हजार १६३ क्विन्टल उखु क्रसिङ गरी २ लाख ७० हजार ५८८ क्विन्टल चिनी उत्पादन गरेको थियो । यस वर्ष भने आन्दोलनका कारण पुसपछि मात्र क्रसिङ सुरु हुने सम्भावना मिलले जनाएको छ । एभरेस्ट चिनी मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार यस वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिइएको छ । आंदोलनले वातावरण अन्योलपूर्ण भए पनि मिल सञ्चालनका तयारी तीव्र रूपमा भइरहेको उनले बताए । उखुको समर्थन मूल्य तोक्न सरकारले ढिलाइ गर्दा सर्लाहीका किसान निराश बनेका छन् । मूल्य निर्धारण नहुँदा किसानले उखु काट्न नसकेको र मिल सञ्चालन पनि प्रभावित भएको उद्योगीहरूको भनाइ छ । सर्लाहीस्थित इन्दुशङ्कर चिनी उद्योगले मिल सञ्चालनअघि डोङ्गा पूजा सके पनि मूल्य निर्धारण नहुँदा सञ्चालनबारे अन्योल कायम छ । उखु काट्न तयार किसान र उखु पेल्ने तयारीमा रहेका उद्योगी दुबै पक्ष समर्थन मूल्य घोषणाको प्रतीक्षामा छन् । बरहथवा नगरपालिका–३ का किसान नन्दु चौरसियाले मूल्य निर्धारण नभएकाले उखु काट्न नपाएको बताउँदै सरकारले मूल्य तोक्नासाथ काट्न थालिने जानकारी दिए । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष श्यामबाबु रायका अनुसार कृषिमन्त्री र कृषि सचिवलाई मंसिर २९ भित्र मूल्य तोक्न आग्रह गरिएको छ । गत वर्षको बाँकी ३५ रुपियाँ अनुदान भुक्तानी गर्ने र यस वर्ष मूल्य निर्धारणमा किसानको लागत समावेश गर्ने सरकारी आश्वासन भएको उनले बताए । इन्दुशङ्कर चिनी उद्योग हरिवनका उद्योगपति राजेश केडियाले कम र उच्च रिकभरी हुने उखुको अलग–अलग मूल्य तोक्न माग गर्दै सरकारले वैज्ञानिक मूल्य निर्धारण गर्नुपर्ने आवश्यकता औँल्याए ।

आज कुन विदेशी मुद्राकाे विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपियाँ ०१ पैसा र बिक्रीदर १४४ रुपियाँ ६१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६७ रुपियाँ ९५ पैसा र बिक्रीदर १६८ रुपियाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपियाँ ४३ पैसा र बिक्रीदर १९२ रुपियाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७९ रुपियाँ ९६ पैसा र बिक्रीदर १८० रुपियाँ ७१ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपियाँ ८७ पैसा र बिक्रीदर ९५ रुपियाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिदर १०३ रुपियाँ २९ पैसा र बिक्रीदर १०३ रुपियाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ २५ पैसा र बिक्रीदर १११ रुपियाँ ७२ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपियाँ २६ पैसा र बिक्रीदर नौ रुपियाँ ३० पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपियाँ ३९ पैसा र बिक्रीदर २० रुपियाँ ४७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ३७ पैसा र बिक्रीदर ३८ रुपियाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ५२ पैसा र बिक्रीदर ३९ रुपियाँ ६८ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५१ पैसा र बिक्रीदर चार रुपियाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ २१ पैसा र बिक्रीदर ३९ रुपियाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ९३ पैसा र बिक्रीदर ३५ रुपियाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ८३ पैसा र बिक्रीदर नौ रुपियाँ ८७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ३५ पैसा र बिक्रीदर १५ रुपियाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ४९ पैसा र बिक्रीदर २२ रुपियाँ ५८ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १८ रुपियाँ ५० पैसा र बिक्रीदर १८ रुपियाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४६९ रुपियाँ ३९ पैसा र बिक्रीदर ४७१ रुपियाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपियाँ ९८ पैसा र बिक्रीदर ३८३ रुपियाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपियाँ ०५ पैसा र बिक्रीदर ३७५ रुपियाँ ६१ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ । 

वर्षाले देशभर तरकारीमा डेढ अर्ब रुपैयाँको क्षति

काठमाडौं । बेमौसमी वर्षाका कारण देशभर दुई महिनाको अन्तरालमै डेढ अर्ब रुपैयाँ बराबरको तरकारी बाली नष्ट भएको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत असोज र कात्तिक महिनामा परेको असामयिक वर्षाले २२ हजार मेट्रिक टन तरकारी बाली नष्ट हुँदा करिब एक अर्ब ४९ करोड रुपैयाँ बराबरको क्षति पुगेको हो । मन्त्रालयका तथ्यांकअनुसार तीन प्रदेशका करिब १ हजार ९४७ हेक्टर क्षेत्रफलमा लगाइएका तरकारी बालीमा क्षति पुगेको छ। यसको ठूलो प्रभाव असोज १७ देखि १९ गतेसम्म भएको वर्षाले पारेको मन्त्रालयले जनाएको छ । सो अवधिमा मात्र १ हजार ३६१ हेक्टरमा लगाइएको १६ हजार १२० मेट्रिक टन तरकारी बाली नष्ट हुँदा करिब एक अर्ब २५ करोड ७१ लाख रुपैयाँको क्षति भएको छ । त्यसबाहेक कात्तिक १५ देखि १७ गतेसम्म परेको बेमौसमी वर्षाले ५८६ हेक्टर क्षेत्रफलमा उब्जिएको ६ हजार ८३६ मेट्रिक टन तरकारी बालीमा करिब २२ करोड २३ लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ । सबैभन्दा धेरै असर कोशी, मधेश र गण्डकी प्रदेशमा परेको मन्त्रालयले जनाएको छ । कोशी प्रदेशको सुनसरी तथा मधेश प्रदेशका सबै १० जिल्लामा उल्लेख्य नोक्सानी भएको छ । तरकारी बालीमा व्यापक क्षति पुगेपछि बजारमा आपूर्ति घटेर मूल्य अस्वाभाविक रूपमा बढेको छ । माग अनुसार आपूर्ति नहुँदा हरियो तरकारीको मूल्य तेब्बरसम्मले वृद्धि भएको व्यापारीको भनाइ छ । तिहारपछि निरन्तर बढ्दो मूल्य अहिले पनि स्थिर हुन सकेको छैन । खुद्रा बजारमा हरियो तरकारी प्रतिकेजी १०० देखि १५० रुपैयाँमा बिक्री भइरहेको छ । काउली र भिन्डी प्रतिकेजी १५० रुपैयाँ, गोलभेँडा १४०, सिमी १५०, आलु ८०, भन्टा १००, हरियो फर्सी ११० र साग प्रतिमुठा ५० रुपैयाँमा बिक्री भइरहेको व्यापारीले बताएका छन् । यसैबीच असोज दोस्रो साताको वर्षाले १९४ हेक्टर क्षेत्रफलमा लगाइएको दुई हजार ९९९ मेट्रिक टन फलफूलमा पनि करिब ५६ करोड ८८ लाख रुपैयाँ बराबरको क्षति पुगेको मन्त्रालयले जनाएको छ । तर, तरकारीको तुलनामा फलफूलमा भने क्षति तुलनात्मक रूपमा कम देखिएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

कञ्चनपुरमा फिल्मी शैलीमा रुखहरू अवैधरुपमा कटानी

कञ्चनपुर । कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वनमा ठूलो सङ्ख्यामा काँचा रुख कटान भएको पाइएपछि डिभिजन वन कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । डिभिजन वन कार्यालयका प्रमुख सुरेशचन्द्र डिसीका अनुसार सामुदायिक वनमा ११६ खयर, २२ सिसौ र एक कन्जु गरी १३९ रुख काटेको पाइएको छ । ठूलो सङ्ख्यामा काँचा रुख काटेको पाइएपछि सवडिभिजन वन कार्यालय बाणीका प्रमुख भरत शाहलाई अनुसन्धान अधिकृत तोकेर छानबिन (अनुसन्धान) प्रक्रिया अगाडि बढाइएको छ । अनुसन्धान प्रक्रियापश्चात् पेस गरिने प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने कार्यालय प्रमुख डिसीले बताए । “सामुदायिक वनका अध्यक्ष र वडाध्यक्ष बाहिर रहेका बेला फिल्मी शैलीमा रुख अवैध रुपमा कटानी भएको पाइएको छ”, डिसीले भने, “अनुगमन गर्दा ठूलो सङ्ख्यामा रुख कटानी भएको पायौँ ।” रुख कटानी गरी गायब पारे पनि रुखका ठुटाबाटै बिगो कायम गर्न सकिने उनले उल्लेख गरे । “अनुसन्धानपश्चात् जोसुकै, जुनसुकै ओहदाको व्यक्ति भए पनि दोषी ठहरिए वन ऐनअनुसार हदैसम्मको कारबाही हुन्छ”, उनले भने, “वन फडानी प्रकरणबारे परामर्श गर्नका लागि प्रदेशस्थित मन्त्रालयका सचिवसँग परामर्श गर्नका लागि आज जान लागेको छु, सचिवको निर्देशनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।” दोषीलाई नियन्त्रणमा लिएर छिट्टै कारबाही प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । उनका अनुसार सामुदायिक वनमा यही मंसिर ११ गते दिउँसो १ बजेको समयमा योजनाबद्ध रुपमा रुख कटानी गरिएका थिए । रुख कटानी गरिरहेको भिडियो र तस्बिर वन कार्यालयमा प्राप्त भएको उनको भनाइ छ ।

तनहुँमा सात जना एचआइभी सङ्क्रमित थपिए, एक जनाको मृत्यु

तनहुँ । तनहुँमा ४५० जना एड्स सङ्क्रमित छन् । त्यसमध्ये २६८ जनाले प्रदेश अस्पताल दमौलीबाट एआरटी औषधि सेवन गरिरहेका छन् । बाँकीले भने बाहिरी जिल्लाबाट औषधि सेवन गर्दै आएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले चालु आर्थिक वर्षमा सात जना नयाँ एचआइभी सङ्क्रमित थपिएको जानकारी दिए । चालु आवमै एक जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।  उनले एचआइभी सङ्क्रमितको परीक्षणका लागि दमौली अस्पतालमा उपचार केन्द्रको व्यवस्था गरिएको उल्लेख गरे । गर्भवतीका लागि जिल्लास्थित सबै स्वास्थ्य संस्थामा एचआइभी परीक्षणको व्यवस्था मिलाइएको दवाडीले बताए । एचआइभी सङ्क्रमितको हकहितका लागि काम गर्दै आएको तनहुँ सहयोगी संस्थाका केशु गुरुङका अनुसार समाजको डरका कारण अझै पनि सङ्क्रमित खुल्न डराउने गरेका छन । 

नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा २६ देशका ५० चलचित्र देखाइने

काठमाडौँ । विश्वभरका मानवअधिकार केन्द्रित चलचित्रलाई एउटै छानामुनि ल्याउने उद्देश्यका साथ ‘१३औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ काठमाडौँमा हुने भएको छ । आगामी मंसिर २५ देखि २९ गतेसम्म काठमाडौँको चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा हुने पाँच दिने महोत्सवमा यस वर्षको मूल विषयवस्तु ‘बाल अधिकार’ रहेको महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए ।  उनले भने, 'हामीले २६ देशका ५० चलचित्रहरू प्रदर्शन गर्नेछौँ । महोत्सवमा छानिएका धेरैजसो चलचित्रले कान्स, बर्लिनाले, भेनिस र बुसानजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सव सहभागिता जनाइसकेका छन् । हामीले देखाउने चलचित्रले मानवअधिकारका विषयलाई सहज र सरल रूपमा दर्शकसम्म पुर्‍याउनेछन् ।' उनले ‘कान्स फिल्म फेस्टिभल २०२५’ अन्तर्गत ‘पाल्मे डी ओर’ (लघु चलचित्र) विजेता ‘आई एम ग्ल्याड यु आर डेड नाउ’, सोही महोत्सवमा पहिलोपटक प्रदर्शनी गरिएको ‘नाभी लिली’ बज्जिका भाषामा बनेको पहिलो ‘फिचर’ चलचित्र ‘आजुर’ लगायत महोत्सवको आकर्षण रहेको जानकारी दिए ।  महोत्सवका क्रममा विश्वभरका चलचित्र निर्देशक, निर्माता, कलाकार तथा मानवअधिकारकर्मीहरूको उपस्थितिमा अन्तरक्रियात्मक समूहगत छलफल, फोटो प्रदर्शनी, ‘लाइभ पेन्टिङ’ लगायत विभिन्न कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।