हेटौँडामा सडक विस्तार गर्न ५३१ भौतिक संरचना भत्काइने

हेटाैँडा ।  बागमती प्रदेशको राजधानी रहेको हेटौँडा मुख्य बजार क्षेत्रको सडक विस्तारका लागि यही मङ्सिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काउने तयारी गरिएको छ ।

सडक सीमाभित्र पर्ने स्थायी र अस्थायी घरटहरा लगायतका संरचना हटाउन मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गरे पनि स्थानीयले चासो नदेखाएपछि सडक डिभिजन कार्यालय हेटौँडाले मङ्सिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काउने तयारी गरेको हो ।

सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौँडामा सडक विस्तार गर्दा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी दुवै तर्फका ५३१ घरटहरा तथा संरचना भत्काइने छन् ।

पहिलो चरणमा पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५ रातोमाटेदेखि हेटौँडा बुद्ध चौक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथअन्तर्गत बुद्ध चौकदेखि सामरी पुलससम्मको सडक सीमा खाली गरिने प्रमुख अधिकारीले बताए ।

पटक पटक रोकिँदै आएको सडक विस्तारको काम यसपटक अगाडि बढाइने र करिब साढे नौ किलोमिटर सडक क्षेत्रभित्र रहेका नेपाल बैङ्क लिमिटेड तथा हिमालयन बैङ्क र तीनवटा पेट्रोल पम्प लगायतका भौतिक संरचना हटाउनुपर्ने प्रमुख अधिकारीको भनाइ छ ।

विस्तार हुने सडक सीमाक्षेत्र पर्ने तीनवटै पेट्रोल पम्पलाई अन्य स्थानमा स्थानान्तर नभएसम्म पेट्रोलियम पदार्थ उपलब्ध नगराउन सडक डिभिजन कार्यालय हेटौँडाले नेपाल आयल निगमलाई पत्राचार गरिसकेको छ ।

मुख्य सडकको दायाँबायाँ दुवैतर्फको संरचना हटाउन पटकपटक सूचना जारी गर्दासमेत स्थानीयले अटेर गरेपछि स्थानीय प्रशासनले त्यस्ता संरचना हटाएर सडक विस्तारको काम अघि बढाउन पहल थालेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको पहलमा विशेष ‘टास्क फोर्स’ गठन गरी सडक विस्तारलाई अघि बढाएको छ । सडक डिभिजन कार्यालय हेटौँडाका सूचना अधिकारी इञ्जिनियर यादव सुवेदीको संयोजकत्वमा गठित टास्क फोर्सले पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत सडक सीमा अतिक्रमण गरी बनेका स्थायी तथा अस्थायी संरचनाको नाप नक्सा र रेखाङ्कन गरी रङ लगाउने काम गरिरहेको छ ।

“हामीले पाएको जिम्मेवारी अनुसारको काम सुरु गरिसकेका छौँ”, उनले भने, “पहिलो चरणमा हामीले संरचना हटाउन माइकिङ गर्ने, सडकको दुवैतिर नाप र रेखाङ्कनको काम अघि बढाइसकेका छौँ ।” काम गर्ने क्रममा समस्या नहोस् भन्ने टोलीमा अन्य सरोकारवाला निकायका प्रतिनिधिलाई पनि राखेर अघि बढेको उनको भनाइ छ ।

गठित विशेष टास्क फोर्स समितिमा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण र दूरसञ्चार प्राधिकरण लगायतका सरोकारवाला निकायका प्रतिनिधि सदस्य छन् ।

टास्क फोर्सले हेटौँडा सडक विस्तारका लागि एसियाली विकास बैङ्क (एडिबी) बाट स्रोत सुनिश्चित भइसकेकाले सडक विस्तारको कामलाई तीव्र रुपमा अघि बढाइने प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए ।

उनले सडक विस्तारका क्रममा विद्युत् खानेपानी, टेलिफोन लगायतका अत्यावश्यक सेवा अवरोध नहुने गरी सरोकारवाला निकायसँग निरन्तर समन्वय गरी काम अघि बढाउने तयारी भएको बताए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचौक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचौकदेखि सामरी पुलसम्मको सडकखण्डमा सडकको मध्य भागबाट दायाँबायाँ २५/२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचना १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले गत शुक्रबार सार्वजनिक सूचना जारी गरिसकेको छ ।

तोकिएको समय सीमाभित्र धनीले त्यस्तो संरचना नहटाए सडक डिभिजन कार्यालयले भत्काएर हटाउने र त्यसमा लाग्ने सम्पूर्ण लागत खर्च सम्बन्धित व्यक्तिबाटै धनीमा असुलउपर गर्ने जनाएको छ ।

तोरीले पहेँलपुर बेथानचोकका बारी

धुलिखेल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ गैह्रीभञ्ज्याङको बारीका पाटाभरि अचेल तोरी फुलेर यहाँका दृश्य निकै आकर्षक देखिएको छ । स्थानीय किसान हरिप्रिया सापकोटाको बारीमा तोरी फूलले गाउँकै सुन्दरता थपेको छ । उनले बारीभरि फुलेका तोरीले त्यहाँ पुग्नेहरुको मन लोभ्याउने गरेको बताइन् । “बारीमा पहेँलपुर देखिने गरी तोरीको फूल फुलिरहेको छ, केही कालो तोरीको बोट हुर्किंदै छन् । केही भागमा भने मिश्रित रुपमा आलुखेतीसमेत छ । यसले यहाँको सुन्दरता थपेको छ”, सापकोटाले भनिन्, “गाउँलाई सुन्दर बनाउने मात्रै होइन, यहाँको उत्पादन राम्रो आम्दानीको स्रोत भएको छ । त्यसैले नगदे बाली तोरीखेतीलाई निरन्तरता दिँदै आएका छौँ ।” सोही वडाका अर्का किसान एवं माउण्ट महाभारत ‘होमस्टे’का सञ्चालक कमल नेपालले घरायसी प्रयोग र बिक्रीबाट आम्दानी हुने भएकाले किसानहरू यसतर्फ आकर्षित भइरहेको बताए । “कृषकले खाद्यान्न बाली मकै भित्र्याएपछि नगदे बालीको रूपमा तोरीखेती गर्दै आएका छौँ”, उनले भने, “जसले फुल्ने बेला वातावरणलाई सुन्दर बनाउने मात्रै होइन उत्पादक कृषकलाई घरायसी प्रयोग र बिक्रीबाट आम्दानी पनि भइरहेको छ ।” पर्यटकीय हिसाबले प्रसिद्ध सो ठाउँमा भएको तोरीखेतीको आकर्षक दृश्यले स्वदेशी तथा विदेशी पर्यटकलाई थप आकर्षिक बनाउने गरेको नेपालले बताए । बेथानचोक गाउँपालिका कृषि शाखाका नायब प्राविधिक सहायक मधुसुदन दाहालका अनुसार गाउँपालिकाको ४० देखि ४५ हेक्टर क्षेत्रफलमा तोरीखेती भइरहेको छ । यसबाट प्रतिहेक्टर क्षेत्रफलमा एक दशमलव दुई मेट्रिक टन तोरी उत्पादन हुँदै आएको उनले बताए । गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिकाको सबैजसो वडामा तोरीखेतीको राम्रो उत्पादन हुँदै आएको बताइन् । पालिकाको केही क्षेत्रमा तुषारोले समस्या पार्नेबाहेक सबैजसो ठाउँमा अधिकांश किसानले यसबाट लाभ लिँदै आएको उनको भनाइ छ । “अझ गाउँपालिकाको वडा नं १ च्याम्राङबेँसी माथिल्लो गाउँका किसानमध्ये एक घरले वार्षिक रूपमा १०/१२ मुरिसम्म उत्पादन गर्दै आएका छन्”, उनले भनिन्, “त्यसरी खेती गर्ने किसानको समस्यालाई सम्बोधन गर्नका लागि पालिकाले पनि प्रोत्साहन गर्दै आएको छ । नीति कार्यक्रम बनाउनुअघि छलफल गरेर अगाडि बढ्ने गरेका छौँ ।” हाल तोरीको फूल फुल्ने मौसम भएकाले पालिकाको सबैजसो बारीका पाटाभरि पहेँलपुर हुनेगरी फूल फुलेको देख्न पाइन्छ । यहाँका किसानले तोरीका अतिरिक्त आलु र अन्य तरकारीखेती गर्दै आएका छन्, जबाट मनग्य आम्दानी हुने गरेको छ ।

यान्त्रिकरणतर्फ आकर्षित हुँदै गोरखाका किसान

गोरखा । केही वर्षदेखि यहाँका किसानहरु यान्त्रिकरणतर्फ आकर्षित भएका छन् । गाउँ–बस्तीका किसानहरुले खेती गर्न ट्रयाक्टर तथा थ्रेसर प्रयोग गर्न थालेका छन् । उत्तरी गोरखाको हिमाली भेगमा पनि गहुँ, जौ, करु, फापर काट्न मेसिनकै प्रयोग गर्ने प्रचलन बढिरहेको किसानहरु बताउँछन् । तल्लो भेगको टार तथा फाँटहरुमा थ्रेसरको प्रयोग बढ्न थालेपछि दयँरे र गोरुको प्रयोग गरेर परम्परागत दाइँ गर्ने चलन प्रायः हटिसकेको स्थानीयवासीको भनाइ छ । परम्परागत दाइँ गर्न युवा जनशक्तिको अभाव रहेकाले थ्रेसर लोकप्रियता बढिरहेको पालुङ्टार ९ का महेन्द्र श्रेष्ठ बताउँछन् । उनका अनुसार युवा जनशक्ति विदेशिएपछि मेसिनले गर्ने दाइँमा दयँरे महिला हुने गरेका छन् । “एक महिनायता हाम्रो फाँटमा मात्र सात वटा मेसिनलाई भ्याइनभ्याइ छ । एकै दिनमा एउटा मेसिनले चार, पाँच जनाको दाइँ गर्दा अझै माग धान्न गाह्रो छ”, उनले भने, “पुरुषहरु त गाउँमा कमै छन् । त्यसैले घान हाल्ने र खन्याउने ठाउँमाचाहिँ पुरुष हुन्छन् । अरु काममा प्रायः महिलै हुन्छन् ।” हिमालपारिको चुम उपत्यकामा तिब्बतबाट उपकरण ल्याएर फापर, गहुँ, जौ काट्ने गरेको चुमनुब्री गाउँपालिका–७ छेकम्पारका पूर्ववडाध्यक्ष पासाङ फुञ्जो लामा बताउँछन् । विगत पाँच वर्षदेखि मेसिनको प्रयोग गरेर बारी जोत्ने, बाली काट्ने, कुट्ने गर्न थालेको उनको भनाइ छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्कले कृषिमा यान्त्रिकरण वृद्धि भइरहेको देखाउँछ । हाल गोरखामा ७० प्रतिशत दाइँ सकिएको छ । जसमध्ये प्रायःतल्लो भेगको समथर फाँटहरुमा थ्रेसरको प्रयोग भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सुमन भट्टराईले बताए ।  कृषिमा यान्त्रिकरणबाट करिब १५ प्रतिशत लागत (खर्च) कम हुने सूचना अधिकारी भट्टराईको भनाइ छ । उनी अनुसार कम खर्च र सजिलोका लागि कृषिमा यान्त्रिकरणको परम्परा बढेको हो ।

जेनजी आन्दोलनमा लुटिएका हतियारसहित ३ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित ३ जनालाई पक्राउ गरेको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको होे।   पक्राउ पर्नेमा काठमाडौँ कलङ्कीका २८ वर्षीय रसिल जोशी, दार्चुला घर भई काठमाडौँको सुन्धारा बस्ने १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर र काठमाडौँ बाफलका ३१ वर्षीय विराटप्रसाद जोशी छन्। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले आन्दोलनका क्रममा प्रहरीका हतियार लुटपाट गरी लुकाइराखेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरीले पक्राउ परेकासँग नेपाल प्रहरी लेखिएको पेस्तोल एक थान र विभिन्न कम्पनीका मोबाइल दुई थान बरामद गर्यो। पक्राउ रसिल जोशी लागुऔषध मुद्दामा प्रहरी वृत्त स्वयम्भुमा थुनामा रहेको अवस्थामा जेनजी आन्दोलनको मौका छोपेर भागेको अनुसन्धानमा खुल्न आयो, उनले बताए। पक्राउ परेका तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको सो कार्यालयले जनायो।

माैसम पूर्वानुमान: कस्तो रहला आजकाे मौसम ?

काठमाडौँ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

केही दिन अघि म्याग्दीमा बेपत्ता पर्यटक मृत फेला

बेनी  । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी एक विदेशी पर्यटकको शव फेला परेको छ । यही मङ्सिर ९ गते बेपत्ता भएकी जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथको शव आज दिउँसो फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार अन्नपूर्ण गाउँपालिका–५ स्थित बङ्करको भिरभन्दा करिब १६० मिटर तल निगालोको झाडीभित्र उनको शव भेटिएको हो । पर्यटक बेपत्ता भएपछि खोजीमा जुटेका पथप्रदर्शक र स्थानीयले आज शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार शव परीक्षणका लागि काठमाडौँ पठाइने र आवश्यक अनुसन्धान पनि सुरु गरिएको छ । ती पर्यटक म्याग्दीको खोप्रोमा एक रात बास बसेर दोबाटोतिर एक्लै जाँदै गर्दा बेपत्ता भएकी थिइन् । प्रहरीले भिरबाट खसेको हुनसक्ने अनुमान गरेको छ ।

राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सेना वा प्रहरीले मात्र नपुग्ने रहेछ, जनताको ‘राष्ट्रिय फौज’ बनाउनुपर्छ: प्रचण्ड

विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सेना वा प्रहरीले मात्र नपुग्ने बताउँदै जनताको ‘राष्ट्रिय फौज’ बनाउनु पर्ने बताउनु भएकाे छ । विदेशी हस्तक्षेप र राष्ट्रिय संकटको सामना गर्न सेना र प्रहरी मात्र पर्याप्त नहुने उहाँले नेपाली जनताको ‘राष्ट्रिय फौज’ तयार गर्नुपर्ने बताउनु भएकाे हाे । सोमबार विराटनगरमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालसँग ठूला शक्ति राष्ट्रहरूसँग लड्नका लागि मिसाइल वा अत्याधुनिक हतियार बनाउने सामथ्र्य नभएको, तर जनताको तागत भने रहेको बताउनु भयाे ।  ‘हाम्रो सेनाले सायद चाहेर पनि हाम्रा ऐतिहासिक धरोहर बचाउन सकेन । राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सेना वा प्रहरीले मात्र पुग्दो रहेनछ,’ प्रचण्डले भन्नुभयाे, ‘अहिले तत्काल ठूला शक्तिसँग लड्न मिसाइल बनाउन सक्ने तागत हामीसँग छैन । तर, ३ करोड नेपाली जनताको राष्ट्रिय फौज बनाउन सक्ने तागत छ । यदि त्यस्तो भयो भने दुनियाँको कुनै पनि शक्तिले नेपाललाई हराउन सक्दैन ।’ प्रचण्डले भदौ २४ गते भएको घटनालाई ‘असाधारण संकट’ को संज्ञा दिनुभयाे । उहाँले उक्त दिन ऐतिहासिक धरोहरहरु जलेर ध्वस्त भएको र देश झन्डै दुई दिनसम्म राज्यविहीनताको अवस्थामा पुगेको दाबी गर्नुभयाे । ‘त्यो विध्वंस र षड्यन्त्रले नेपाल असाधारण संकटमा गयो । त्यसको साक्षी म र माधवकुमार नेपाल थियौं,’ उहाँले भन्नुभयाे, ‘नारायणहिटी सरसफाइ भएर राजा ल्याउने वा सेनाले सत्ता लिने भन्ने खालका सन्त्रासको परिस्थिति सिर्जना भएको थियो ।’ उहाँले अहिले पनि राष्ट्र संकटमै रहेको उल्लेख गर्नुभयाे ।  प्रचण्डले जेनजीको आन्दोलनले पुराना राजनीतिक दलहरुलाई झकझक्याएको स्वीकार गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘जेनजी पुस्ताका युवाहरुको आन्दोलनले हामीलाई आत्मसमीक्षा गर्न प्रेरित गर्यो । कहाँ गल्ती भयो भनेर सोच्न बाध्य बनायो ।’ अब विचार बुढो र तन्नेरी नहुने भन्दै उनले छोराछोरी र नातिनातिना पुस्तासँग सिक्न तयार हुनुपर्ने बताउनुभयाे ।  ‘हामी धेरै पछि परिसकेका छौं । अब जेनजीहरुसँग वार्ता र संवाद गरौं, सबै आफैंले जानेजस्तो नगरौं,’ प्रचण्डले भन्नुभयाे, ‘अहिले जेनजीहरुले हाम्रो अभिभावक नेपाली कम्युनिष्ट पार्टी नै हो भन्दै प्रवेश गरिरहेका छन् ।’ प्रचण्डले वर्तमान सरकारलाई चुनावी सरकारको हैसियतमा मात्र रहन चेतावनी दिनुभयाे । उहाँले चुनाव गराउने म्यान्डेट पाएको सरकारले दीर्घकालीन असर पर्ने खालका सन्धि सम्झौता गर्न नहुने बताउनु भयाे । ‘यदि यो सरकारका मन्त्रीहरुले दीर्घकालीन खालका सन्धि सम्झौता अगाडि बढाउँछन् भने त्यो म्यान्डेट विपरित हुन्छ,’ उहाँले भन्नुभयाे, ‘हामी चुनावमा होमिसक्यौं । सरकारले स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनाओस् ।’ सम्बोधनको अन्त्यमा प्रचण्डले आफ्नो उमेरमाथि प्रश्न उठाउनेहरुलाई कडा चुनौती दिनुभयाे । ‘मसँग दौडिने कोही छ ? मर्निङ वाक कति गर्ने हो, म तयार छु । हेभी एक्सरसाइज कति गर्ने हो, म युवाहरुसँग गर्न चाहेको छु,’ प्रचण्डले भन्नुभयाे, ‘भुईंफुट्टा, इतिहासविहीन र विचारविहीनले गरेको हो–हल्लाको पछि नलाग्नुहोला ।’ उहाँले १६ वटा पार्टी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले अब वैज्ञानिक समाजवाद, आर्थिक समृद्धि र रोजगारी सिर्जनाको नेतृत्व गर्ने दाबी गर्नुभयाे । 

एमाले मोरङका पूर्वसचिव खतिवडा नेकपा प्रवेश, प्रचण्डद्वारा स्वागत

विराटनगर । नेकपा (एमाले) मोरङ जिल्ला कमिटीका पूर्वसचिव रुपेश खतिवडा औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।  विद्यार्थी राजनीतिबाट उदाउँदै संगठनमा जिम्मेवारी बढाउँदै आएका खतिवडा सोमबार विराटनगरमा आयोजित ‘एकता सन्देशसभा’ मार्फत नेकपामा प्रवेश गरेका हुन् । कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले खतिवडालाई पार्टीमा स्वागत गरेका थिए ।  नेताहरूले खतिवडाको प्रवेशले संगठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । पार्टी प्रवेशपछि आफ्नो धारणा राख्दै खतिवडाले नेकपा एमालेले पछिल्लो समय कम्युनिस्ट सिद्धान्त, नीति–प्रणाली र जनपक्षीय धारणाबाट विचलित भएको आरोप लगाए । यही कारण आफू वैचारिक स्पष्टता र राजनीतिक स्थिरताका लागि नेकपामा आएका उनले बताए । उनको प्रवेशसँगै मोरङमा नेकपाको राजनीतिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ ।

विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरु (फाेटाे)

विराटनगर । प्रदेश १ काे राजधानी विराटनगरमा  नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरु भएकाे छ । पार्टी एकताको सन्देश आम जनसमुदायमा पुर्‍याउने उद्देश्यले विराटनगरमा प्रदेश स्तरीय एकता सन्देश सभा आयोजना गरिएको नेता हरिबोल गजुरेलले एभरेष्ट दैनिकलाई जानकारी दिए ।  विराटनगरको गुद्री बजारमा सुरु भएकाे हाे । सभालाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपालसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  सभामा सहभागी हुन मोरङ, सुनसरी, उदयपुर, धनकुटा, झापा लगायतका १४ वटै जिल्लाबाट नेता कार्यकर्ता, समर्थक, शुभेच्छुक भेला भएका छन् । १२ मंसिरमा कैलालीको धनगढीमा एकता सन्देश सभा सुरु भएको थियो । यसअघि लुम्बिनी र पोखरामा पनि सन्देश सभा सम्पन्न भइसकेको छ । अन्य प्रदेशहरूमा पनि यस्ता सभाहरूको आयोजना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।  यी सभाहरूले पार्टीको एकताको सन्देशलाई ग्रामीण तथा शहरी क्षेत्रसम्म पुर्‍याउने लक्ष्य राखेको छ । पार्टीका नेताहरुले यी कार्यक्रमहरूबाट एकताको भावना मजबुत बन्ने र आगामी राजनीतिक क्रियाकलापमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरेका छन् । 

नेकपाको एकता सन्देश सभा आज विराटनगरमा, प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्ने

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा आज विराटनगरमा हुने भएको छ । पार्टी एकताको सन्देश आिम जनसमुदायमा पुर्‍याउने उद्देश्यले आज विराटनगरमा प्रदेश स्तरीय एकता सन्देश सभा आयोजना गरिएको नेता हरिबोल गजुरेलले एभरेष्ट दैनिकलाई जानकारी दिए ।  विराटनगरको गुद्री बजारमा दिउँसो १२ बजे सुरु हुने सभालाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपालसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  सभामा सहभागी हुन मोरङ आसपासका जिल्लाबाट बिहानैदेखि नेता कार्यकर्ता विराटनगरमा जम्मा हुन थालेका छन् । १२ मंसिरमा कैलालीको धनगढीमा एकता सन्देश सभा सुरु भएको थियो । यसअघि लुम्बिनी र पोखरामा पनि सन्देश सभा सम्पन्न भइसकेको छ । अन्य प्रदेशहरूमा पनि यस्ता सभाहरूको आयोजना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।  पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार, एकता सन्देशलाई प्रदेशव्यापी रूपमा फैलाउन विभिन्न प्रदेशहरूमा सन्देश सभाहरूको कार्यक्रम तय भएको छ।   यी सभाहरूले पार्टीको एकताको सन्देशलाई ग्रामीण तथा शहरी क्षेत्रसम्म पुर्‍याउने लक्ष्य राखेको छ। पार्टीका नेताहरुले यी कार्यक्रमहरूबाट एकताको भावना मजबुत बन्ने र आगामी राजनीतिक क्रियाकलापमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरेका छन्। 

अवरुद्ध साँगा–धुलिखेल सडककाे स्तरोन्नति अघि बढाउन सहमति

काभ्रेपलान्चोक । अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्ड स्तरोन्नतिअन्तर्गत साँगा–धुलिखेल सडक विस्तारमा बनेपाको पुल बजार क्षेत्रमा रोकिएको काम सञ्चालन हुने भएको छ ।  करिब डेढ वर्षदेखि अवरुद्ध काम अब सञ्चालन हुने भएको हो । आइतबार नगरपालिकामा पीडित पक्ष, सडक निर्माण कम्पनी र नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतबिच काम सञ्चालन गर्ने सहमति भएको छ । अब कामले निरन्तरता पाउने बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले बताए ।  उनले सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको ‘डिजिटल’ नापी नक्सा लागू भइसकेकाले सोही नक्सालाई आधार मानी सडक सीमाक्षेत्र कायम गर्ने तथा रेखाङ्कन गरी अवरुद्ध निर्माण खुलाउने निर्णय गरिएको जानकारी दिए ।  बैठकमा सडक सीमाभित्र ‘डिजाइन स्ट्यान्डर्ड’ नघट्ने गरी  निर्माण अघि बढाउने निर्णय भएको जनाइएको छ । कार्यक्रममा सूर्यविनायक धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतो, बनेपा नगरप्रमुख शाक्य, उपप्रमुख विमला सापकोटालगायत विभिन्न वडाका वडाध्यक्ष, सरोकारवाला स्थानीय, काभ्रे उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, जिल्लास्थित नापी कार्यालयका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधिको उपस्थिति थियो । स्थानीयले नगरमा अरनिको राजमार्गले ओगटेको सबै स्थानमा एकरूपता कायम गरी काम अघि बढाउनुपर्ने र ढलको व्यवस्थापन गर्नुपर्ने विषयमा नगर र आयोजनासँग माग गरेका थिए ।  यसैबीच अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड स्तरोन्नतिअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तारको समयसीमा तीन हप्ता बाँकी छ । सम्झौताअनुसार बाँकी दुई हप्ताको म्याद रहँदा ४० प्रतिशत विस्तार अधुरो छ । तीन वर्षमा सम्पन्न गर्ने गरी भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेल सम्म पहिलो खण्ड साँगा–धुलिखेल आठ किलोमिटर सडक विस्तार विसं २०७९ मङ्सिर २७ गते सम्झौता भएको थियो ।  उक्त सडकखण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालिले रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएको थियो । करिब तीन वर्षको अवधिमा ६० प्रतिशत मात्रै काम भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । हालसम्म धुलिखेल क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्रे भएको छ भने पुलबजार–जनागाल क्षेत्रमा कालोपत्रे भइरहेको छ ।  आयोजनाले सूर्यविनायकदेखि धुलिखेलसम्मको दुई खण्डमा करिब ५० प्रतिशत काम भएको जनाएको छ । साँगा–धुलिखेल पहिलो खण्डमा ६० प्रतिशत र सूर्यविनायक–साँगा खण्डमा भने ४२ प्रतिशत काम सकिएको आयोजना प्रमुख विजयकुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार सूर्यविनायक–साँगा खण्डमा केही स्थानका छ घर भत्काउन बाँकी रहेकाले भत्काउने प्रक्रियामा रहेको छ ।  सूर्यविनायक–धुलिखेल सडक विस्तार कार्यअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक–साँगा सात दशमलव पाँच किलोमिटर विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लगाइएको थियो । उक्त खण्डको ठेक्का अवधि पनि आउँदो पुस १८ गते म्याद सकिँदै छ । “दुवै खण्डमा विस्तार गर्न म्याद थपेर आउँदो असार मसान्तसम्ममा सम्पन्न गर्नेबारे निर्माण व्यवसायीसँग छलफल भइरहेको छ”, महतोले भने ।

निर्वाचन आचारसंहिताको मसौदा: उम्मेदवारीसँगै सम्पत्ति विवरण अनिवार्य

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले तयार पारेको प्रारम्भिक मसौदामा विभिन्न नयाँ प्रावधान समेटिएका छन् र हाल सार्वजनिक रूपमा सुझाव सङ्कलन भइरहेको आयोगले जनाएको छ । सुझाव समावेश गरी चाडैँ आचारसंहितालाई अन्तिम रूप दिइने छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यस पटकको आचारसंहिता निम्न छन् । निर्वाचनलाई भयरहित र कम खर्चिलो बनाउने, मतदाताको उपस्थिति बढाउने, वातावरणमैत्री निर्वाचन सुनिश्चित गर्ने लक्ष्यसहित तयार भइरहेको छ । यसअनुसार राजनीतिक दल तथा उम्मेदवारले प्रचारप्रसारमा वातावरणमैत्री सामग्री प्रयोग गर्नुपर्नेछ । सभा–जुलुसमा प्लास्टिक तथा अजैविक सामग्री प्रयोग नगर्न अनुरोध गरिने छ । सकेसम्म डिजिटल माध्यममार्फत प्रचार गर्नुपर्ने व्यवस्था राखिएको छ । आयोग आफैंले प्रयोग गर्ने अधिकांश सामग्री पनि स्थानीय रूपमा उत्पादन गरिएका वातावरणमैत्री वस्तु हुने बताइएको छ । मसौदाले पहिलो पटक उम्मेदवारी दर्ता गर्दा नै सम्पत्ति विवरण पेस गर्नुपर्ने प्रावधान ल्याएको छ । प्रत्यक्षतर्फका उम्मेदवारले मनोनयनपत्रसँगै सम्पत्ति विवरण निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ । परिणाम सार्वजनिक नहुँदासम्म विवरण गोप्य राखिनेछ । उम्मेदवार विजयी भएमा उनको सहमतिका आधारमा विवरण सार्वजनिक गरिनेछ । पराजित उम्मेदवारले माग गरेमा विवरण फिर्ता गरिने व्यवस्था दफा १९ मा उल्लेख छ । प्रचारप्रसारका लागि टेलिभिजन तथा रेडियो प्रयोग गर्दा पनि कडाइ गरिएको छ । राजनीतिक दलले २४ घण्टामा अधिकतम चार पटक मात्र प्रसारण गर्न पाउनेछन् । प्रसारणबीच कम्तीमा एक घण्टाको अन्तराल हुनुपर्नेछ । एक पटकको विज्ञापन एक मिनेटभन्दा बढी हुन नपाइनेछ । उम्मेदवारले मनोनयन दर्ताका बेला निर्वाचनमा खर्च हुने अनुमानित रकम तथा त्यसको स्रोत खुलाउने व्यवस्था राखिएको छ । राजनीतिक दल र उम्मेदवारले निर्वाचनसम्बन्धी सबै खर्च बैङ्क वा वित्तीय संस्थामार्फत गर्नुपर्नेछ । आयोगले आचारसंहिता तयार पार्नुअघि कात्तिक २७ गते प्रमुख राजनीतिक दलहरूसँग छलफल गरेको थियो । सोही छलफलबाट प्राप्त सुझावका आधारमा मसौदा सुधार गरिएको छ र इमेलमार्फत दलहरूलाई पुनः पठाइएको छ । अन्तिम रूप दिएपछि कार्यान्वयनका लागि फेरि छलफल गरिने आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम प्रस्ताव गरिएको आचारसंहिता निर्वाचनसँग सम्बन्धित सबै पक्षले पालना गर्नुपर्नेछ । आयोगका पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले आचारसंहिता कार्यान्वयनमा कडाइ आवश्यक रहेको बताउँदै, “आचारसंहिता भनेको लागू गर्नकै लागि बनाइने हो, त्यसैले यसको पालना र कारबाहीमा कठोरता हुनुपर्छ,” भने ।  आयोगले मतदान हुनुभन्दा करिब दुई महिना अगाडिदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ, तर सटिक मिति भने अझै तय भइसकेको छैन ।

आज कुन विदेशी मुद्राकाे विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८४ पैसा र बिक्रीदर १४३ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपियाँ ६४ पैसा र बिक्रीदर १६६ रुपियाँ ३३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपियाँ ०८ पैसा र बिक्रीदर १८९ रुपियाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ७२ पैसा र बिक्रीदर १७८ रुपियाँ ४६ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ ५६ पैसा र बिक्रीदर ९३ रुपियाँ ९५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपियाँ २२ पैसा र बिक्रीदर १०२ रुपियाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपियाँ २० पैसा र बिक्रीदर ११० रुपियाँ ६७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १५ पैसा र बिक्रीदर नौ रुपियाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ १९ पैसा र बिक्रीदर २० रुपियाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ०८ पैसा र बिक्रीदर ३८ रुपियाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ २० पैसा र बिक्रीदर ३९ रुपियाँ ३६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ४५ पैसा र बिक्रीदर चार रुपियाँ ४७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ८९ पैसा र बिक्रीदर ३९ रुपियाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ५७ पैसा र बिक्रीदर ३४ रुपियाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७३ पैसा र बिक्रीदर नौ रुपियाँ ७७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ११ पैसा र बिक्रीदर १५ रुपियाँ १८ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ १८ पैसा र बिक्रीदर २२ रुपियाँ २७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ३५ पैसा र बिक्रीदर १८ रुपियाँ ४२ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपियाँ ४० पैसा र बिक्रीदर ४६७ रुपियाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपियाँ ८९ पैसा र बिक्रीदर ३८० रुपियाँ ४८ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपियाँ ५० पैसा र बिक्रीदर ३७३ रुपियाँ ०६  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

आज गीता जयन्ती पर्व मनाइँदै

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । पाँच हजार १३३ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रूपमा पृथ्वीमा जन्म लिएका कृष्णले अर्जुनमार्फत् कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रही आएको छ । भगवान्ले नै अर्जुनमार्फत् हामीलाई गीताको ज्ञान दिएको विश्वास छ। कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाएको ग्रन्थ गीता भएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए । “त्यसबेला कौरवका ११ अक्षयोनी सेना थिए, पाण्डवका सात अक्षयोनी सेना, भगवान् कृष्ण पाण्डवका पक्षमा हुनुहुन्थ्यो, अर्जुनको सारथीका रूपमा, कौरवका पक्षमा हजुरबा भीष्मपितामह नै सेनापति देखेपछि अर्जुनले युद्ध गर्ने विषयमा शङ्का गरे, विश्वस्त बनाउन उपदेशका रूपमा गीता सुनाइएको हो,” उनले भने ।  चार वेदका एक हजार १३१ शाखामध्ये हाल १२ वटामात्र अस्तित्वमा रही अरु लोप भएजस्तो गीताको ज्ञान लोप नहोस् भनी जनचेतनाका लागि कार्यक्रम आयोजना गर्ने गरिएको जियर शैक्षिक प्रतिष्ठानका अध्यक्ष कुमार अधिकारीले बताए । “ऋग्वेदका २१ शाखामध्ये हाल दुई, यजुर्वेदका १०१ शाखामध्ये चार, सामवेदका एक हजार शाखामध्ये चार, अथर्ववेदका नौ शाखामध्ये दुई शाखामात्र हाल उपलब्ध छन्, अरु लोप भइसके, गीताले पनि यस्तै नियति भोग्नु नपरोस् भनी जनजागरण गर्न गीता जयन्ती कार्यक्रम मनाउन सुरु गरिएको हो” उनले भने ।  प्रतिष्ठानले ११ वर्षअघिदेखि मोक्षदा एकादशी अर्थात् आजका दिन गीता जयन्ती मनाइँदै आएको छ । यसैगरी गीता मन्दिर स्वयम्भूमा पनि आज कार्यक्रम आयोजना गरिने जनाइएको छ । विश्व हिन्दू महासङ्घ र यसका विभिन्न शाखाले पनि गीता जयन्तीकै अवसरमा आज राजधानीमा कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ । यस अवसरमा विभिन्न मन्दिरमा गीता पाठलगायत कार्यक्रमसमेत गरिने भएको छ । गीतामा भक्ति, ज्ञान र वैराग्य योगका विषयमा चर्चा गरिएको छ ।

आजदेखि डिजेल/मट्टितेलको मूल्य घट्यो, कुनकाे कति ?

काठमाडौँ । नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य १ रुपैयाँ घटाएको छ। निगम सञ्चालक समितिको बैठकले घटाएको सो मूल्य आजदेखि लागू भएको छ ।  निगमका अनुसार मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ ।  निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।  यसैगरी निगमले हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ)को मूल्य भने बढाएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर रु छ र अन्तरराष्ट्रियतर्फ काठमाडौँमा प्रतिकिलोलिटर अमेरिकी डलर ४२ बढाइएको छ । मूल्य बढेसँगै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर रु १३४ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार १५ पुगेको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल/मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ ४४ पैसा घटेर तथा हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ ६२ पैसा बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमको भनाइ छ । 

सुनसरीमा मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको मृत्यु

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा–२ मा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ  । मृत्यु हुनेमा इनरुवा–१० जलपापुरका ३९ वर्षीय हारुन अन्सारी रहेका छन् । इनरुवादेखि बविया जाने क्रममा को७प ४९०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।  अन्सारी हेलमेट नलगाइ मोटरसाइकल चलाएर इनरुवादेखि बबियातर्फ गइरहेका बेलामा मगर टोलस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।