त्रिविको त्रुटि : महिना ३० गतेसम्म मात्रै, परिक्षा ३१ गते पनि

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ। चैत २८ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरिएको थियो। सार्वजनिक गरिएको तालिकामा भने चैतको ३१ गते पनि परीक्षा गर्ने भनिएको थियो ।

जबकि चैत महिना ३० गतेसम्मको मात्रै छ । तर, परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीले चैत ३१ गते एमजीटी–२०९ माइक्रोइकोनोमिक्स फर बिजनेसको परीक्षा राखिएको हो ।

यतिबेला पनिकाले उक्त परीक्षा तालिका आफ्नो वेबसाइटबाट हटाइसकेको छ । उक्त परीक्षा तालिका मिस्टेक भएको भन्दै पनिकाले अब अर्को तालिका सार्वजनिक गर्नेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार अब उक्त मिति सच्याएर पुनः परीक्षा तालिका सार्वजनिक गरिनेछ । 

न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्रीलाई बुझाइदै

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाइने भएको छ । कार्यदलले न्यूनतम साझा कार्यक्रम टुंगो लगाएर प्रधानमन्त्रीलाई बुझाउन लागेको हो । बिहान साढे ९ कार्यदलको बैठक बस्ने र प्रधानमन्त्री प्रचण्ड लाई कार्यक्रम बुझाइने कार्यदलले जनाएको छ । कार्यदलले हिजो नै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको छ । गठबन्धनका शीर्ष नेताहरूसमक्ष छलफलका लागि प्रस्तुत गर्नु अघि कार्यदलका सदस्यहरू छलफलमा जुट्न लागेका हुन् ।  कार्यदलले मस्यौदा बुझाएसँगै शीर्ष तहमा नेताहरूले आन्तरिक छलफल गरी सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा जाने छ । कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवहरु वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् ।

सुप्रिम सहकारी ठगी छानविन गर्न दिपेश पुनलाई लगियो भैरहवा

काठमाडौं ।सुन तस्करी प्रकरणमा जोडिएका भपक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई भैरहवा लगिएको छ। शुक्रबार काठमाडौंस्थित टोखाबाट पक्राउ परेका दिपेशलाई शुक्रबार नै विमानमार्फत भैरहवा लगिएको प्रहरीले जनाएको छ। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दिपेशमाथि छानबिन गर्न सिफारिस गरेपछि उनलाई पक्राउ गरिएको थियो। तर, उनीविरुद्ध भैरहवा सहकारी ठगीविरुद्ध उजुरी परेका उलनाई भैरहवा पठाइएको हो। उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको थियो । जीबी राईले सञ्चालन गरेको रूपन्देहीको सुप्रिम सहकारीविरुद्ध बचतकर्ताले जाहेरी दिएका थिए। सहकारीका पूर्वकोषाध्यक्ष रहेका दिपेशविरुद्ध जिल्ला अदालत रूपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो। यता, साठी किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका दावा छिरिङसँग उनको सम्बन्ध रहेको पाइएको छ।

यस्तो रहनेछ आज देशको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय र स्थानीय वायुको मिश्रित आंशिक प्रभाव रहेको जनाएको छ । अलिहे देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफ रहने छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर १२ मिनेट तथा सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा हुनेछ ।

अखिल (क्रान्तिकारी)लाई बिग्रिने छुट छैन : उपाध्यक्ष मैनाली

ललितपुर । अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले संगठनात्मक अराजकता र बेथिति बढ्दै गएको भन्दै गम्भिर चिन्ता व्यक्त गरेका छन् ।कान्तिपुर इन्टर नेशनल कलेज अफ इञ्जिनियरिङ ललितपुरले गरेको कार्यक्रममा उपाध्यक्ष मैनालीले संगठनलाई मजबुत, जनमुखी र विद्यार्थीको हकहितमा केन्द्रीत गर्नका लागि अनुशासन आवश्यक भएको बताए ।  मैनालीले माओवादी र अखिल (क्रान्तिकारी)लाई बिग्रिने छुट नभएको भन्दै कमजोरीहरु सच्याउनुपर्नेमा जोड दिए।शहीद पूर्ण पौडेल र बेनोज अधिकारीले बोकेको र उनीहरुको रगतले रंगिएको झण्डाको अपमान गर्ने छुट कसैलाई पनि नभएको उनले बताए। व्यक्ति केन्द्रीत स्वार्थकालागि अराजकता मच्याउने र समानान्तर संगठन चलाउने अधिकार पनि कसैलाई पनि नभएको भन्दै उनले आक्रोश व्यक्त गरे।  काठमाडौं उपत्यकाका केही क्याम्पसमा समानान्तर कमिटी देखिएपछि मैनालीले त्यसको खुलेर विरोध गरेका हुन् । ‘ शहीदको अपमान गर्दै समानान्तर गतिविधि गर्ने र स्वार्थपुरा गर्ने अधिकार कसैलाई छैन उनले भने, शहीद पूर्ण पौडेल र बेनोज अधिकारीहरुको अपमान गर्ने क्रियाकलाप रोकिनुपर्छ ।’ माओवादी सकिँदा देश बन्ने कि नबन्ने भन्ने अवस्था सिर्जना हुने भन्दै मैनालीले माओवादीलाई कस्तो बनाउने भन्ने अखिल क्रान्तिकारीकै हातमा रहेको बताए।  ‘माओवादी बन्नु र सकिनुसँग देशको भविष्य जोडिएको छ। माओवादी सकिँदा पछिल्ला सबै उपलब्धिसहित मुलुकका एक तिहाई जनजाति, त्यतिनै संख्याका मधेशी र करिब २४ लाख दलितको अधिकार जोखिममा पर्छ । सीमान्त ठाउँबाट राजनीतिमा आएकाहरु समस्यामा पर्छन ।’ मैनालीले भने, त्यसैले माओवादी बन्नुपर्छ। माओवादी भनेको देशको भविष्य हो र यसलाई हामीले त्यसै अनुसार अघि बढाउनुपर्छ।'

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

एआईजी किरण बज्राचार्यलाई तानियो प्रहरी प्रधान कार्यालय

काठमाडौं।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको निर्णय पछि सरकारले सीआईबी प्रमुख बज्राचार्यलाई प्रहरी प्रधान कार्यालय तानेको हो । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यले सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर गरेको थियो ।

सीआईबी प्रमुखको जिम्मेवारीमा श्यामलाल ज्ञवाली

सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई पठाएको छ ।

‘सुरक्षित कारोबार विधेयक २०८०’ राष्ट्रिय सभामा पेस

काठमाडौं। सरकारले राष्ट्रिय सभामा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक-२०८०’ पेस गरेको छ । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पेस गरेका हुन् ।  बैठकमा सांसद्हरुले सो विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल शुरु भएको छ । छलफलमा भाग लिँदै एमालेकी सांसद भगवती न्यौपानेले सूचना र प्रविधिमा आएको परिवर्तनलाई ध्यानमा राखेर सो ऐन संशोधन गर्नुपर्ने बताए । 

रबि गृहमन्त्री बनेकोमा कांग्रेसको संसद अवरोध, माओवादीको नियमापत्ति

काठमाडौं । शुक्रबार नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै अवरोध गर्दा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नियमापत्ति गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गर्दै शुक्रबार संसद् अवरोध गरेको हो । तर, कांग्रेस सांसदहरू सिटबाट उठेर अवरोध गरेका बेला माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरे । संसदीय क्यालेन्डरसमेत बनेको र त्यसअनुसार अगाडि बढ्नुपर्नेमा त्यसो हुन नदिनु प्रतिनिधिसभा नियमावली विपरीत हुने पाण्डेले बताए । ‘प्रतिनिधि सभा नियमावलीको नियम २६ अन्तर्गत म नियमापत्ति गरिरहेको छु । हाम्रो नियमावलीको नियम २० को झ पालना भएन’ पाण्डेले भने, ‘चैत ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ । व्यवस्थित रूपमा सदन अगाडि बढाइरहेको अवस्थामा सदनको कामकारबाही अगाडि बढाउन नदिइकन जसरी रोक्न खोजिएको छ यसमा नियमापत्ति छ ।’ शुक्रबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजनीतिक दल सम्बन्धी ऐनको संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो। यो कार्यसूचीमा सभामुख देवराज घिमिरे प्रवेश गर्ने बित्तिकै कांग्रेसका सांसदहरूले उठेर बैठक अवरोध गरेका हुन्। प्रतिपक्ष उभिएको बेला सत्तापक्षले नियमापत्ति गर्ने विषय सदनमा देखा परेको भन्दै उनले संसदीय मर्यादा ख्याल गर्न सभामुख र सत्तारुढ दलहरूलाई आग्रह गरे ।सत्तारुढ दलको मुख्य सचेतकले नै नियमापत्ति गरेपछि कांग्रेसका सांसदहरूले फेरि सभामुख घिमिरेसँग समय मागे । सभामुखले समय दिएपछि बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूलाई वेलमा आउन बाध्य नपार्न चेतावनी दिए । साथै उनले प्रधानमन्त्रीको जवाफ नआउँदासम्म लामिछानेलाई गृहमन्त्रीको रूपमा रोष्ट्रममा बोल्न नदिने बताए ।कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

संसदमा काँग्रेसको निसाना गृहमन्त्री रवि लामिछाने

  काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदमा गृहमन्त्री रवि लामिछानेको निरन्तर राजीनामा माग गरिरहेको छ । नयाँ सत्ता समिकरण बनेको दिनदेखि नै कांग्रेसमा सांसदहरुले गृहमन्त्री रबि लामिछानेको राजिनामा माग्दै आएका हुन् । शुक्रवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्रीमाथि विभिन्न प्रश्नहरु उठेको भन्दै नैतिकताको आधारमा राजीनामा दिन माग गरेका हुन् । सांसद पौडेलले लामिछानेले आफूमाथि प्रश्न बोकेर गृहमन्त्री हुनु नहुने बताए । उनले प्रधानमन्त्रीले पनि प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउनु नहुने बताए । सांसद पौडेलले हाल ३१ हजार सहकारीमा ७३ लाख वचतकर्ता रहेको उल्लेख गर्दै सहकारी पीडितहरुले आफ्नो बचत फिर्ताको माग गरिरहेको बताए। अनुसन्धानको घेराभित्रै रहेका गृहमन्त्रीले सहकारी पीडितहरुको माग कसरी सम्बोधन गर्नसक्छ भनेर उहाँले प्रश्न गर्नुभयो । पीडितहरुको विश्वास जित्न नसकेको सरकारले वित्तिय संकटलाई समाधान गर्न नसक्ने उनको भनाइ थियो । सांसद पौडेलले भने – ‘प्रधानमन्त्रीले प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउनु हुँदैन थियो । आज ३१ हजार सहकारीमा ७३ लाख वचतकर्ता छन् । त्यो वचतकर्ताको माग छ, सहकारी सञ्चालकको सम्पतीबाट हाम्रो वचत फिर्ता दिनुपर्छ भन्ने उनीहरुको माग छ । त्यस्तै अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारी पीडितहरुको माग कसरी पूरा हुन्छ ? म प्रश्न गर्न चाहन्छु । पीडितहरुको विश्वास जित्न नसकेको सरकारले वित्तिय संकटलाई कसरी समाधान गर्नसक्छ रु पीडितहरुले आन्दोलनबाट सिर्जना गर्ने अस्तव्यस्ततालाई उसले कसरी थेग्न सक्छ ? म आग्रह गर्न चाहन्छु मेरो मित्र माननीय गृहमन्त्रीज्युलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस् ।’ सांसद पौडेलले गृहमन्त्रीकै मातहतमा रहेको प्रहरीले सुन प्रकरणमा राजनीतिक मान्छेलाई छानवीनको दायरामा ल्याउन नसकेको भन्दै गृहमन्त्रीमाथि पनि प्रश्न उठाए । उनले प्रश्नै प्रश्नले घेरिएका मान्छेको बिचमा बसेर प्रधानमन्त्रीले सुशासन कायम गर्न नसक्ने बताए। रास्वपाले भने नयाँ समिकरण बन्नै लाग्दा प्रधानमन्त्रीको अफर गरेका आफ्ना सभापतिविरुद्ध नाजायज प्रश्न गरिएको बताउँदै आएको छ ।संसदमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरुले रबि लामिछानेको विषयमा डबल स्टान्र्डर देखाएको बताएका थिए । आफसँग हुँदा प्रधानमन्त्री पनि बनाउन तयार रहेका व्यक्तिलाई गृहमन्त्री बनाउन हुँदैन भनेर प्रश्न गर्नु नैतिक नहुने उनको भनाइ थियो ।

नोबेल शिक्षण अस्पतालका स्टाफ नर्सको शव शौचालयमा फेला

विराटनगर । विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा किशोरीको शव फेला परेको छ ।विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । डीएसपी दाहालका अनुसार उनी नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको अवस्थामा शव भेटिएको उनले बताए।सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्थिइन् । उनी डेरा बस्न थालेको ३–४ महिना मात्रै भएको थियो । डेरा बसेको घरको कोठाभित्रको शौचालयमा आज दिउँसो शव फेला परेको हो। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट छ । उनीमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले बताएको छ ।‘शव एट्याच कोठाको शौचालय भित्र भेटिएको छ, हत्या शौचालयमा भएको हो कि कोठामा भन्ने विस्तृत रुपमा खुलेको छैन,’ उनले भने,’ परिवारका सदस्यलाई खबर गरेका छौं, आफन्त आइपुगेपछि थप विषय खुल्छ ।’ हत्यामा संलग्नको खोजी भइरहेको उनले बताए ।उनको हत्यामा प्रमीको शंलग्नता भएको हुनसक्ने प्रहरी स्रोतको दाबी छ ।२१ फागुनमा मोरङको पथरीमा १४ वर्षीय ज्ञानमति राईको हत्या भएको थियो ।उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले प्रेमी बाराको सिमरामा बस्दै आएका मोरङको ग्रामथान गाउँपालिका– ४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरेको थियो।

मनि ट्रान्सफरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार

काठमाडौं । मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीका अनुसार गोली चलाउने समूहका तीन जनालाई समेत पक्राउ गरेर अनुसन्धान गरिराखिएको छ ।  पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको छ । लुटेराको समूहले लुटपाट गर्ने उदेश्य गोली चलाएको पाइएको उनले बताइन् । घटनाबारे विस्तृत अनुसन्धान बाँकी नै रहेका अहिले नै सबै विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ  यसअघि संसदमा  रौतहटका सांसद किरण कुमार साहले गोली चलेकोबारे सभामुखको ध्यानाकर्षण गराएका थिए ।

तीन वर्षमा चन्दामुक्त पार्टी बनाउने लक्ष्य छः विप्लव

सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले तीन वर्षमा आफ्नो पार्टीलाई चन्दामुक्त पार्टी बनाउने लक्ष्य रहेको रहेको बताएका छन् । उनले आन्तरिक जीवनमा आत्मनिर्भर मात्र नभई चन्दा मुक्त गर्ने पार्टीको लक्ष्य रहेको बताए शुक्रबार वीरेन्द्रनगरमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा उनले सोही अनुसार पार्टीले अहिले कृषि अभियानहरु चलाईरहेको बताए । विप्लबले कम्युनिष्ट भनेको श्रमसँग जोडिने उत्पादक शक्ति भएको भन्दै कम्युनिष्टले‌ श्रमलाई बुझ्न सक्नुपर्ने धारणा राखे ।  जुम्ला र कालिकोटमा स्याउ खेती सुरु गरेर सुर्खेत फर्किएका उनले श्रमलाई मध्यनजर गरेर आफ्नो पार्टीले आर्थिक क्रान्तिको‌ सुरुवात गरेको दावी गरे । उनका अनुसार अहिले ८ वटा फर्महरु ठुलो स्केलमा चलेका छन् भने २८ बिघामा कृषिका कामहरु भइरहेका छन् । साथै स–साना बिघाहरुमा त जिल्ला जिल्लामा कृषि खेतीका कामहरु भइरहेको उनले बताए । जुम्ला र कालिकोट पुग्दा जनयुद्धको जस्तै जनताको साथ रहेको पनि उनले बताए।‌ साथै उनले नेपालको अर्थतन्त्र समाजवादी हुनुपर्ने धारणा राखे ‌। ‘एक जनाले माग्ने, अरुले हात थापेर खाने अर्थतन्त्रले कहीँ पुगिदैन,’ उनले भने, ‘त्यस कारण पैसालाई जनतातर्फ फर्काउनुपर्छ।’ राजनैतिक विषयमा कुरा राख्दै यो व्यवस्था एउटा गोलचक्करमा फसेको उनको भनाई छ ‌। ‘बर्षैपिच्छे सरकार फेरबदल भइरहने हो भने देशले निकास पाउँदैन,’ उनले भने, ‘नेपाललाई अहिलेको सत्ता प्रणालीबाट अगाडी नबढाएसम्म स्थिरता आउँदैन ।’ यो विषयमा समाजवादी मोर्चाहरुको धारणा पनि एक‌ रहेको विप्लवको भनाइ छ।

घट्यो सुनको भाउ

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला आठ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार प्रतितोला १५ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं। सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।  बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० टेबुल गरिने, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।   बैठकमा आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूची रहेको छ ।