‘सोर्स–फोर्स’ लगाउन खोजे मूल्यांकनमा ०.५ अंक घटाइन्छ : शिक्षा मन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका कर्मचारीले कुनै पनि नाममा ‘सोर्स–फोर्स’ र बार्गेनिङ गरे कार्यक्षमता मूल्यांकनमा ०.५ अंक काटिने भएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले अनुचित नियुक्ति तथा सरुवा बढुवाका निम्ति यस्तो कार्य गरे अंक काटिने बताएकी छन्। 

“शिक्षा मन्त्रालय वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टी तथा कर्मचारीमार्फत वा कुनै पनि साइनो लाएर कुनै किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि सोर्स–फोर्स लाउन कसैले खोज्छ भने उसको मूल्यांकनमा ०.५ नम्बर घटाइनेछ,” मन्त्री श्रेष्ठको सचिवालयको फेसबुक पेजमा लेखिएको छ। 

यस्तै, भर्ना वा छात्रवृत्ति समेतका निम्ति समेत ‘सोर्स–फोर्स’ वा बार्गेनिङको गन्ध थाहा पाए स–प्रमाण उजुरी गर्न मन्त्री श्रेष्ठको अनुरोध छ ।  यस्ता कार्य गर्नेलाई अनुसन्धान गरी तत्काल कारबाही गर्ने उनको भनाइ छ। 

अन्सारीप्रति शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको बैठकले सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरे सँगै प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।  शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । ६० वर्षकी अन्सारीको आइतबार बिहान निधन भएको हो । उनको उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको थियो । उनी जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् ।

रास्वपाले परिवादबादलाई निषेध गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक नियुक्तिमा परिवारवाद निषेध गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको रास्वपाको बैठकले परिवारवादलाई निषेध गर्ने र मेरिटोक्रेसीलाई प्रधान मान्ने निर्णय गरेको हो ।  बैठकपछि रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले  ‘राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गरिएको छ । यस्ता नियुक्ति जान्नेलाई छान्ने पार्टीको अवधारणा अनुसार समावेशितालाई मध्यनजर गरी मेरिटोक्रेसीलाई प्रधान मानी अघि बढाइने छ ।’  उनले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन विज्ञ समूह बनाउने निर्णय पनि गरेको जानकारी दिए । सो समूहमा सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरुलाई राख्ने रास्वपाले जनाएको छ । पार्टी र मन्त्रीहरुबीच समन्वय गर्ने उद्देश्यले गठन गरिएको समन्वय समितिले मन्त्रीहरुको काम प्रभावकारी बनाउन विज्ञ समूह बनाउने निर्णय गरेको  ढकालले जानकारी दिए । मन्त्रीहरु र पार्टीबीच समन्वय गर्न डा. स्वणिर्म वाग्लेको नेतृत्वमा महामन्त्री ढकाल र शिशिर खनाल रहेको समन्वय समिति गठन गरिएको छ । समितिको सचिवको जिम्मेवारी शिशिर खनालले पाएका छन् । यो समितिको बैठक प्रत्येक आइतबार बस्ने गरेको छ । आजको दोस्रो बैठकले सरूवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी खारेजसम्म गर्न सकिने निर्णय पनि गरेको प्रबक्ता ढकालले बताए । उनका अनुसार बैठकमा मन्त्रालयहरूको एक हप्ताको काम, अनुभव र कमजोरीबारे समीक्षा गर्नुका साथै मन्त्रालयका बजेट, नीति तथा कार्यक्रम र तत्कालका लागि संशोधन गर्नुपर्ने नियम एवं साझा न्युनतम कार्यक्रमबारे समेत छलफल भएको छ ।  वर्तमान सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी, उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

टी–२० विश्वकप देखि यसरी हुँदैछ ५ रन कटौती

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नयाँ नियम लागू हुने भएको छ । आगामी जुनमा आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौ संस्करण हुँदैछ ।  यही टी–२० विश्वकप देखि नयाँ नियम सुरु हुने भएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट, टी–२० अन्तर्राष्ट्रिय क्रिकेट लगायतका सिमित ओभरका प्रतियोगितामा नयाँ नियम लागू गरिने भएको हो । हालै दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकले यस्तो निर्णय गरेको हो । आगामी जुन १ तारिखदेखि नयाँ नियम लागू हुने भए पछि टी–२० विश्वकपमा यही नियम प्रयोग हुने भएको हो ।  आइसीसी बैठकको निर्णय अनुसार सिमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरले घडीको प्रयोग गर्नेछन् । प्रत्येक ओभरको समाप्तिपछि फिल्डिङ गर्ने पक्षले अर्को ओभर सुरु गर्न ६० सेकेन्ड मात्रै समय पाउँछ । फिल्डिङ गर्ने टोलीले पहिलो ओभर सकिएको ६० सेकेन्डभित्र अर्को ओभर बलिङ नगरेमा अम्पायरले दुईपटक सम्म चेतावनी दिनेछन् । र दुईपटक चेतावनी दिँदा समेत फिल्डिङ गर्ने पक्षले त्यही गल्ति गरेमा जरिवानाका रुपमा पाँच रन कटौती हुनेछ । यो नियम लागू भएपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रत्येक खेलमा कम्तिमा २० मिनेट समय जोगिने आईसीसीले विश्वास लिएको छ । सन् २०२३ मा वेस्ट इन्डिज र इङ्ल्यान्डबिच भएको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा यो नियम परीक्षण गरिएको थियो ।

सुनको मूल्य फेरि घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा आज मूल्य घटेर कारोबार सुरु भएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ८०० रुपैयाँ कायम थियो । अघिल्लो साता सुनको मुल्य उच्च विन्दुमा एक लाख २६ हजार पुगेको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घले गत साताको शुक्रबारको तुलनामा चाँदीको मूल्य १५ रुपैयाँले बढेर कारोबार सुरु भएको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १५ सय ३० रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको १५ सय १५ रुपैयाँ कायम थियो ।

रसुवामा भूकम्पको धक्का महसुस

काठमाडौं । रसुवामा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान पौने १० बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार जिल्लाको जुरे ढुंगा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भुकम्पको धक्का महसुस रसुवा र आसपासमा सामान्य गरिएको थियो । 

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको बताएका छन्। प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकास गरिने बताए। “वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिबद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भने, “आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।”

प्रविधिको प्रयोगबाट मात्रै समृद्धि प्राप्त हुन्छ : प्रधानमन्त्री

पोखरा ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात गर्नुपर्ने बताएका छन्। प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आजको युग विज्ञ–प्रविधि र मुख्यतः सूचना प्रविधिको युग भएको बताए। “आज दुनियाँमा त्यस्तो कुनै क्षेत्र छैन, जहाँ सूचना–प्रविधिको निर्णायक भूमिका नहोस्,” प्रधानमन्त्री प्रचण्डले भने, “हिजो सूचना सम्प्रेषणको माध्यमका रूपमा विकसित प्रविधिको क्षेत्र ज्ञान–विज्ञान, उत्पादन, निर्माण, ज्ञान उत्पादन, सम्प्रेषणसहित अर्थतन्त्रको निर्णायक क्षेत्रका रूपमा उपस्थित छ ।” सूचना–प्रविधिको विकास र यसबाट सिङ्गो विश्व र राष्ट्रिय जीवनमा पारेको प्रभाव एवं राष्ट्रको बृहत्तर विकास तथा समृद्धिका लागि यसको सर्वव्यापी र निर्णायक रहेको प्रधानमन्त्रीको भनाइ छ।  प्रधानमन्त्री प्रचण्डले भने, “चौंथो औद्योगिक क्रान्तिका रूपमा विकसित सूचना प्रविधिले मानव जाति र सामाजिक जीवनका सम्पूर्ण अवयवहरूमा सकारात्मक प्रभाव मात्र पारेको छैन, अपितु सूचना–प्रविधिभन्दा बाहिरबाट मानव जातिको अस्तित्वको कल्पना नै गर्न नसकिने ठाउँमा सिङ्गो विश्व आइपुगेको छ ।”

मोरङको पथरीमा आगलागी, डेढ करोडको क्षति

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं.१ बुद्ध चोकमा रहेको कोसी चिउरा मिलमा गएराति आगलागी भएको छ । आगलागीबाट एक करोड ५० लाखको क्षति भएको छ। राति १२ बजे मिलमा आगलागी मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको स्थानीयले बताए ।  मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए। स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो। मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन । आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो ।  आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यलय पथरीले जनाएको छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ। आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।  कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ। राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जनाएको छ।

त्रिवि स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सच्चिएर पुनः प्रकाशित

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका पुनः प्रकाशित गरेको छ। यसअघि सार्वजनिक गरेको परीक्षा तालिकामा त्रुटि भेटिएपछि पनिकाले सच्याएको हो। यसअघि शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार चैत २८ गतेदेखि हुने भनिएको परीक्षामा चैत ३१ गते पनि परीक्षा राखिएको थियो । जबकि चैत महिना ३० गतेसम्म मात्रै छ। त्रुटिपूर्ण तालिकाबारे विरोध सुरु भएपछि पनिकाले आफ्नो वेबसाइटबाट हटाएको थियो।

सहिद स्मृति विद्यालयका विद्यार्थीहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया

पोखरा। प्रधानमन्त्री एवं सहिद प्रतिष्ठान नेपालका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखरा-१४ कास्कीस्थित सहिद स्मृति विद्यालयका विद्यार्थीहरूसँग भेटघाट र अन्तरक्रिया गरेका छन्। सो अवसरमा प्रधानमन्त्रीले विद्यालयको निरीक्षण गर्नुका साथै शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका हुन्। अन्तरक्रियाका क्रममा प्रधानमन्त्रीले सहिदका सन्ततिहरू पढ्ने विद्यालयमा आएर अन्तरक्रिया गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै देशका पाँच ठाउँमा स्थापित सहिद स्मृति विद्यालयहरूको प्रवर्धन र विकासमा आफुले ध्यान दिने बताए। सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्वसांसद हरिराज अधिकारीले विद्यालयको अवस्थाबारे जानकारी गराएका थिए।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–९ याङ्सिजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। दुई मोटरसाइकल ठोक्किदा पाँचखपन–९ का ६५ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। आज दिउँसो १२ बजे पाँचखपनको भित्रि सडकखण्डअन्तर्गत याङ्सिजुङबाट वानातर्फ आउँदै गरेको बा ४० प १७९ नम्बरको मोटरसाइकल र को ३७ प १८४२ नम्बरको मोटरसाइकल ठक्कर खाएको र विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए। त्यसैगरी दुर्घटनामा परेर पाँचखपनका २७ वर्षीय कमानसिं विश्वकर्मा गम्भीर घाइते भएको उनले बताए। घाइते कमानसिंको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले ठक्कर दिएको अभियोगमा बा ४० प १७९ नम्बरको मोटरसाइकलका चालक धनकुटा नगरपालिका–१० का २३ वर्षीय पदम भण्डारीलाई नियन्त्रणमा लिएको छ।  

प्रधानमन्त्री पोखरामा

गण्डकी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आइपुगेका छन्। प्रधानमन्त्रीले पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकन पनि गरेका छन्। त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले विद्यालयको अवस्थाबारे जानकारी लिए। आजै उनी पोखरामा जारी बाह्रखरी गल्फ प्रतियोगिताको समापन समारोहमा सरिक हुने कार्यक्रम छ । आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा प्रधानमन्त्री सहभागी हुने जनाइएको छ । आइतबार नै नेपाल पत्रकार महासङ्घ कास्कीले आयोजना गर्ने पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री सरिक हुनेछन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आन्तरिक प्रशिक्षण तथा भेटघाटमा पनि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ ।

सरकारले निर्माण व्यवसायीको ४० अर्ब तत्काल भुक्तानी गर्छ : अर्थमन्त्री पुन

काठमाडौं ।सरकारले निर्माण क्षेत्रका काम सकेर पनि भुक्तानी नपाएका ठेकेदारहरुको तत्काल ४० अर्ब रुपैयाँ भुक्तानी दिने तयारी गरेको छ ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा अर्थमन्त्री वर्षमान पुनले ४० अर्ब रुपैंयाँ तत्काल निर्माण व्यवसायीका लागि भुक्तानी गर्ने बताएका हुन् ।  उनले भने, ‘काम गरेर बक्यौता नपाएका निर्माण व्यवसायी सबै कानूनी प्रकृया पूरागरी सम्बन्धित मन्त्रालयमार्फत आउँछन् भने तत्काल ४० अर्ब भुक्तानी गर्नेमा छौं ।’ बाह्य सूचक राम्रो रहेपनि आन्तरिक बजार चलायमान हुन नसक्दा अर्थतन्त्र शिथिल बनेको स्वीकारेका मन्त्री पुनले निर्माण व्यवसायीका लागि ४० अर्ब तत्काल रकम निकासा गर्दा आन्तरिक बजारलाई त्यसले चलायमान बनाउने उनले बताए ।उनले अर्थतन्त्रमा आफ्नै प्रकारका तरलता लगायतका विविध समस्याहरु आइरहने उल्लेख गर्दै नेतृत्वमा बसेकाहरु डराउन नहुने र समस्या समाधानमा लाग्नुपर्ने चर्चा गरे। बजारमा तरलता बढी हुँदा राष्ट्र बैंकलाई व्यवस्थापन गर्न समस्या हुने भएपनि अर्थतन्त्रको समस्या समाधान गर्न नेतृत्वमा बसेकाहरु डराउन नहुने धारणा पुनको छ । ‘एक वर्ष अगाडि बजारमा तरलताको समस्या थियो अहिले आएर तरलता धेरै भयो कहाँ खर्च गर्ने भन्ने छ ।यी समस्याहरु आइराख्छन् । हामी नेतृत्व लिएर बसेकाहरु डराउने होइन व्यवस्थापन गर्ने हो ।’ तरलताको समस्या हल गर्नुपर्नेमा जोड दिँदै पुनले सँगै कार्यक्रममा उपस्थित राष्ट्र बैंकका गर्भनर र विज्ञलाई लक्षित गर्दै थपे, ‘तरलता कम हुँदा कसरी व्यवस्थापन गर्ने विज्ञहरु तपाईं हुनुहुन्छ जान्नुभएको छ।  त्यस्तै तरलता बढी हुँदा हिजो कडाइ गरेका कुन ठाउँमा खुकुलो गर्ने, क्याप्टिङलाई सजिलो गर्नुपर्ने कुरामा राष्ट्र बैंक र नियामक निकायले सोच्ने हो ।’ बैंकहरुमा थुप्रिएको पैसा बजारमा पुगेर रोजगारी सिर्जना होस र जनताको हातमा पैसा पुगोस साथै राजश्व वृद्धि होस भन्ने चाहेको उल्लेख गरेका उनले राष्ट्र बैंकसँग प्रतिस्पार्धा होइन सरकार समन्वय र सहकार्य र सन्तुलन गरेर अघि बढ्ने बताए ।

विदेशी पर्यटकको चाप बढेसँगै श्रीलंकाको अर्थतन्त्रमा सुधार

कोलम्बो । अकल्पनीय वित्तीय संकटको सामना गरेको श्रीलंकामा आर्थिक पुनरुत्थान भएको श्रीलंका सरकारले जनाएको छ । सन् २०२३ को चौथो त्रैमासिकमा पर्यटन आगमनमा वृद्धिसँगै आर्थिक पुनरुत्थान भएको सरकारको भनाई छ । श्रीलंकामा कृषि, उद्योग र सेवा क्षेत्रको विस्तार दर डिसेम्बरमा सकिएको त्रैमासिकमा ४.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १२.४ प्रतिशतले सङ्कुचन भएको थियो । सन् २०२२ मा ७.८ प्रतिशतले सङ्कुचन भएको अर्थतन्त्र सन् २०२३ मा समग्रमा २.४ प्रतिशतमा झरेको छ ।  विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२३ मा श्रीलंकाको अर्थतन्त्रले द्वैधताको अनुभव गरेको छ, यस वर्षको पहिलो छ महिनामा ऋणात्मक वृद्धि भएको छ भने दोस्रो त्रैमासिकमा अर्थतन्त्रमा सुधार आएको छ । पर्यटनमा लामो समयदेखि प्रतीक्षा गरिएको सुधारको सन् २०२३ को अन्त्यतिर नतिजा आएको र कामदारको रेमिटेन्समा पनि सुधार आएको सरकारले जानकारी दिएको छ । गत डिसेम्बरमा श्रीलंका घुम्न आउने पर्यटकको सङ्ख्या दुई लाख १० हजार पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । अघिल्लो वर्ष ९१ हजार ९०० पर्यटक आएका थिए । श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आर्एएमएफ) बाट चार वर्षका लागि २.९ अर्ब अमेरिकी डलरको जमानत कर्जा लिएको छ । ऋण पुनर्संरचनाको लागि विदेशी ऋणदाताहरूसँग श्रीलंकाले छलफल गरिरहेको छ । श्रीलंकामा सन् २०२२ मा आर्थिक संकटको शिखरमा पुगेको थियो । त्यतिबेला आयातका लागि भुक्तानी गर्न विदेशी मुद्रा सञ्चिति सकिएपछि महिनौँसम्म खाद्यान्न, इन्धन र औषधिको समेत अभाव भएको थियो । राष्ट्रव्यापी नागरिक आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले सन् २०२२ को जुलाईमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षको सरकारी निवासमा आक्रमण गरेपछि उनले पदबाट राजिनामा दिएका थिए ।