पाल्पामा ६० क्विन्टल युरिया मल बरामद

पाल्पा । साठी क्विन्टल युरिया मल बरामद भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणमा मल बरामद गरेको हो । 

स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लुप्र ०१–००१ ख ०९५९ नम्बरको मिनी ट्रकलाई रोकी जाँच मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुशलसिंह ठकुरीले जानकारी दिए । ‍

उनले भने, 'बिनाबिल बिजक मल ल्याइएको छ । जहाँ कृषक युरिया वितरक कृषि सामग्री कम्पनी लिमिटेड कुलेश्वर काठमाडौँ लेखिएको छ ।'

नियन्त्रणमा लिएको अवैध मल, ट्रक र ट्रक चालकसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय रुपन्देही पठाइएको प्रहरी निरीक्षक ठकुरीले जानकारी दिए । 

माैसम पूर्वानुमान: आज कस्तो रहला देशभर ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  आज राति भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको राष्ट्रपतिले सन्देशमा बताएका छन् । “विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्ध, वातावरण अनुकूल जीवन व्यवस्थापन, एकता, सहकार्य, सांस्कृतिक संरक्षण, श्रमको सम्मान, पूर्वजप्रतिको आस्थालाई अझ मजबुत बनाउन सहयोग पुर्याएको महसुस गरेको छु”, सन्देशमा उनले भनेका छन् । उधौली पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गरेका छन् । किराँत समुदायका मूलत राई, लिम्बु, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रमका साथ मनाउने गरेका छन् । उधौलीपर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ ।

हिउँदकाे  मौसम: वर्षा कम, न्यूनतम तापक्रम बढी

काठमाडौं । यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर–पश्चिम भूभागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी वर्षा हुने समान सम्भावना रहेको छ ।  विभागका सूचना अधिकारी दिनकर कायस्थले सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भूभाग, कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका पश्चिमी भूभाग, बाग्मतीका दक्षिणी भूभाग, मधेसका उत्तरी भूभाग र कोशी प्रदेशका मध्य तथा पूर्वी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको बताए । यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका मध्य भूभाग, लुम्बिनीका मध्य तथा पूर्वी भूभाग, गण्डकीका पूर्वी भूभाग, बाग्मतीका मध्य तथा उत्तरी भूभाग, मधेसका दक्षिणी भूभाग र कोशी प्रदेशका केही भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छभने देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । अधिकतम तापक्रम आकलन यसैगरी अधिकतम तापक्रम देशका अधिकांश भूभागमा सरदरभन्दा बढी हुने आकलन छ । विभागका अनुसार गण्डकी प्रदेशका उत्तरी र दक्षिणी भूभाग, बाग्मतीका दक्षिण भूभाग र कोशीका उत्तरी र दक्षिण–पश्चिम भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । यस्तै, कर्णाली प्रदेशका उत्तरी भूभाग, लुम्बिनीका उत्तरी भूभाग र कोशी, बाग्मती र गण्डकी प्रदेशका बाँकी भूभागमा सरदरभन्दा बढी तापक्रम हुने सम्भावना ४४ देखि ५५ रहेको छ । सुदूरपश्चिम, कर्णाली प्रदेशका दक्षिण–पश्चिम भूभाग र लुम्बिनी प्रदेशका पश्चिम भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशका दक्षिणी भूभाग र मधेस प्रदेशका भूभागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने समान सम्भावना रहेको जनाइएको छ । न्यूनतम तापक्रम आकलन यस्तै, न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशका उत्तरी र दक्षिण पश्चिम भूभाग, कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, बाग्मती प्रदेशका उत्तर–पूर्व र दक्षिण पश्चिम भूभाग, मधेस प्रदेशका अधिकांश भूभाग र कोशी प्रदेशका दक्षिण र उत्तर–पश्चिम भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । यस्तै, देशका बाँकी भूभागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जनाइएको छ ।

पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ । पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन् ।  यस्तैमध्येका एक हुन् संस्कृतिविद् हरिप्रसाद सोडारी । पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे रेलिङ हटाइनु सकारात्मक भएको उनले बताए ।  मन्दिरभित्र अझै बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल, प्रसाद नचढाइने जस्ता विकृति पनि हटाउन पहल गरिने संस्कृतिविद् सोडारी बताउँछन् । विश्वसम्पदा क्षेत्रमा यस्ता सामग्री राखेपछि पुरातत्त्व विभागले विश्वसम्पदा क्षेत्रको पहिचान गुम्न सक्ने भन्दै यसलाई हटाउन पत्राचार गरेको थियो ।  विभागका प्रमुख पुरातत्त्व अधिकृत सन्दीप खनालले पत्राचार गरे लगत्तै कोषले बार हटाएको बताए ।

राजकुमार शर्मालाई सांसद पदबाट हटाउन नेकपा कर्णाली संसदीय दलको सिफारिस

काठमाडौं  – नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलले नेता राजकुमार शर्मालाई दलको नेताबाट मात्र नभई प्रदेश सभा सदस्य पदबाट पनि हटाउन केन्द्रीय समितिमा सिफारिस गरेको छ। प्रमुख सचेतक कृष्णबहादुर जिसीले बुधबार बसेको बैठकले यो निर्णय गरेको जानकारी दिए। शर्माले बिहान मात्रै व्हाट्सएपमार्फत राजीनामा पठाएका थिए, जसलाई बैठकले स्वीकृत गरेको छ। कारण खुलाएका छैनन्, तर उनी जनार्दन शर्माका भाइ हुन्, जसले प्रगतिशील लोकतान्त्रिक पार्टीतर्फ लागेपछि यो कदम चालेको एक सांसदले बताए। शर्मा रुकुम पश्चिम (ख) बाट निर्वाचित पूर्वमुख्यमन्त्री हुन्।  बैठकले छिट्टै नयाँ दल नेता चयन गर्ने निर्णय पनि गरेको छ।  

३४‍ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा सम्मान र अधिकार सुनिश्चिततामा जोड दिँदै प्रचण्डद्वारा शुभकामना व्यक्त

काठमाडौं । ३४‍औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश–विदेशमा रहेका सम्पूर्ण अपाङ्ग समुदायप्रति हार्दिक सम्मान र शुभकामना व्यक्त गर्नुभएकाे छ ।  दिवसको सन्दर्भमा जारी सन्देशमा उहाँले यो दिन संयुक्त राष्ट्रसंघले सन् १९९२ मा घोषणा गरेको औपचारिकता मात्र नभई नेपालले संविधानमार्फत प्रत्याभूत गरेका अधिकार तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ को पूर्ण कार्यान्वयनका लागि प्रतिवद्धता दोहोर्याउने अवसर रहेको पनि बनाउनु भएकाे छ । उहाँका अनुसार मुलुकको राजनीतिक यात्राका कठिन मोडहरू—विशेषगरी जनयुद्धलगायत परिवर्तनका निर्णायक आन्दोलनमा सहभागी भएर अपाङ्ग बनेका हजारौँ व्यक्तिहरूको योगदान अमूल्य छ । “उहाँहरूको साहस, दृढता र समर्पणले हामीलाई निरन्तर अघि बढ्न प्रेरणा दिएको छ,” प्रचण्डले भन्नुभएकाे छ ।  देश अहिले राजनीतिक, आर्थिक तथा सामाजिक चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै दाहालले अपाङ्ग नागरिकको अधिकार, अवसर र सम्मानलाई राष्ट्रनिर्माणको मुख्य आधार बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएकाे छ । उहाँका अनुसार समावेशी विकास, पहुँच–सहितका पूर्वाधार, उपचार, शिक्षा तथा रोजगारीमा समान अवसर र सम्मानजनक जीवनका आधारहरू सुनिश्चित नगरिकन समृद्ध नेपाल निर्माण सम्भव छैन । यस अवसरमा उहाँले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिमाथि हुने सामाजिक विभेद अन्त्य गर्न, उपचार तथा जीविकोपार्जनको ग्यारेन्टी गर्न र सम्मानजनक जीवनयापनका लागि आवश्यक वातावरण निर्माणमा सरकार, राजनीतिक दल, सामाजिक संस्था तथा समुदाय सबैले हातेमालो गर्न आग्रह गर्नुभएकाे छ । 

गुल्मीमा ३३ लाखभन्दा बढी विद्युत्‌ बक्यौता उठाउन बाँकी

गुल्मी । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले जिल्लाभरका सेवाग्राहीबाट ३३ लाख ११ हजार ८१७ रुपैयाँ विद्युत्‌ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । वितरण केन्द्रका सूचना अधिकारी भरत पोखरेलका अनुसार ६० दिनभन्दा बढी समयदेखि बक्यौता नतिर्ने सेवाग्राहीहरूले उक्त रकम तिर्न बाँकी राखेका हुन् । बक्यौता नतिर्नेहरूमा सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिदेखि लिफ्टिङ खानेपानी आयोजना र केही कार्यालयहरू समेत छन् । सबैभन्दा बढी जयखानी सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिले तीन महिनादेखि बिल तिरेको छैन । समितिको बक्यौता रकम २ लाख ७८ हजार ६६० रुपैयाँ पुगेको छ । यस्तै, हचिङकोट सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समिति : २ लाख ३ हजार ५४ रुपैयाँ, वीरवास सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिमा ७० हजार ३८६ रुपैयाँ, कालीमाटी–कोटला लिफ्टिङ खानेपानी उपभोक्ता समितिकाे ९५ हजार ७१९ रुपैयाँ,  सबिता बस्नेत (१४ महिनाको बक्यौता) : १ लाख ५२ हजार ६०६ रुपैयाँ, सिद्धार्थ कङक्रिट उद्योग (४ महिनाको) : ९४ हजार ५१९ रुपैयाँ, यमबहादुर कामी : ७६ हजार २७९ रुपैयाँ, रेडियो गुल्मी (१८ महिनाको) : ६६ हजार ३२९ रुपैयाँ,  जिल्ला प्रहरी कार्यालय गुल्मी (५ महिनाको) : ७० हजार २०० रुपैयाँ, कालीगण्डकी गिटी, ढुङ्गा तथा बालुवा प्रशोधन केन्द्र : ६४ हजार ९८४ रुपैयाँ छ । विद्युत् प्राधिकरणले ती सबै उपभोक्तालाई बक्यौता बुझाउन पटक–पटक आग्रह गरिसकेको छ । सूचना अधिकारी पोखरेलका अनुसार, अब पनि बक्यौता नतिरेमा लाइन काट्ने तयारी गरिएको छ ।

आजकाे विदेशी मुद्राकाे विनिमय दर: अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ५० पैसा र बिक्रीदर १४४ रुपियाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपियाँ ५७ पैसा र बिक्रीदर १६७ रुपियाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपियाँ ४३ पैसा र बिक्रीदर १९० रुपियाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपियाँ ३३ पैसा र बिक्रीदर १७९ रुपियाँ ०७ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ ९६ पैसा र बिक्रीदर ९४ रुपियाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपियाँ ४२ पैसा र बिक्रीदर १०२ रुपियाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपियाँ ५६ पैसा र बिक्रीदर १११ रुपियाँ ०२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ २० पैसा र बिक्रीदर नौ रुपियाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ३० पैसा र बिक्रीदर २० रुपियाँ ३८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ २३ पैसा र बिक्रीदर ३८ रुपियाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ३८ पैसा र बिक्रीदर ३९ रुपियाँ ५४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ४८ पैसा र बिक्रीदर चार रुपियाँ ५० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ०७ पैसा र बिक्रीदर ३९ रुपियाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ७२ पैसा र बिक्रीदर ३४ रुपियाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७७ पैसा र बिक्रीदर नौ रुपियाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ १७ पैसा र बिक्रीदर १५ रुपियाँ २३ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ३० पैसा र बिक्रीदर २२ रुपियाँ ४० पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४३ पैसा र बिक्रीदर १८ रुपियाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपियाँ ४६ पैसा र बिक्रीदर ४६९ रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपियाँ ६४ पैसा र बिक्रीदर ३८२ रुपियाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपियाँ ७२ पैसा र बिक्रीदर ३७४ रुपियाँ २८  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

बाँकेमा साढे सात हजार क्विन्टल धान खरिद

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग हालसम्म साढे सात हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ ।  कात्तिक २३ देखि सुरु गरिएको धान खरिद अभियान अन्तर्गत मङ्सिर १४ सम्म सात हजार ५०३ क्विन्टल धान खरिद भएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख रामशरण लामिछानेका अनुसार खरिद भएको धानमध्ये मोटा धान दुई हजार ५०४ क्विन्टल तथा मध्यम धान पाँच हजार क्विन्टल छ । सरकारद्वारा तोकिएको न्यूनतम समर्थन मूल्य अनुसार प्रतिक्विन्टल मोटा धान तीन हजार ४६४ रुपियाँ र मध्यम धान तीन हजार ६२८ रुपियाँको दरमा खरिद गरिएको हो । यसरी जम्मा दुई करोड ६८ लाख १२ हजार २०९ रुपियाँ बराबरको धान खरिद गरिएको लामिछानेले बताए ।  यस वर्ष नेपालगन्ज कार्यालयलाई २० हजार क्विन्टल धान खरिद गर्ने कोटा छुट्याइएको छ, जसमा १५ हजार क्विन्टल मोटा धान र पाँच हजार क्विन्टल मध्यम धान समावेश छ । प्रमुख लामिछानेका अनुसार मध्यम धानको कोटा पूरा भइसकेकाले अब मध्यम धान खरिद बन्द गरिएको छ ।  हाल मोटा धान खरिद भइरहेकाले १५ हजार क्विन्टल पुग्नेबित्तिकै खरिद कार्य बन्द गरिने जनाइएको छ । धान जोखाइ र तौलाइका लागि कार्यालयले तीन वटा काँटा सञ्चालनमा ल्याएको छ । स्टोरकिपर दीपक शर्माका अनुसार मजदुरको अभावका कारण तीन वटा काँटा मात्रै सञ्चालन गर्न सकिएको भए पनि मजदुर थपेर काँटा सङ्ख्या बढाउने तयारी भइरहेको छ । जोखाइ तौलाइका मजदुरलाई प्रतिक्विन्टल ४० रुपियाँ प्रदान गरिँदै आएको छ । हालसम्म ६५५ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराएका छन्, जसमा २०१ किसानसँग धान खरिद भइसकेको छ । एक किसानबाट बढीमा ४० क्विन्टल धान मात्र खरिद गरिने व्यवस्था छ । किसानलाई भुक्तानी बैङ्कमार्फत उपलब्ध गराइँदै आएको छ भने धान बिक्रीका लागि किसानको बैङ्क खाता, मोबाइल नम्बर र स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ ।  गत वर्ष कार्यालयलाई ४० हजार क्विन्टल धान खरिद कोटा दिइएको थियो । किसानको चाप बढेपछि थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्ने गरी लक्ष्य ५५ हजार क्विन्टल पुर्‍याइएको थियो । सोमध्ये ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गर्न कार्यालय सफल भएको थियो ।     

सत्ताइस अर्ब बराबरको हस्तकलाका सामग्री निर्यात

काठमाडौं । मुलुकबाट वार्षिक २७ अर्ब रुपियाँ बराबरका हस्तकलाका सामग्री निर्यात हुने गरेका छन् । स्थानीय सिप र कलाको प्रयोग गरी विभिन्न डिजाइनमा तयार गरिएका यी वस्तुको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको छ । व्यापार प्रवर्धन तथा निकासी केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २७ अर्ब रुपियाँ बराबरका हस्तकलाका सामग्री विदेश निर्यात भएका छन् । माग वृद्धि हुँदै गएसँगै निर्यातमा सकारात्मक सुधार आएको नेपाल हस्तकला महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष रविन्द्र शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारसँगै पछिल्लो समय भित्री बजारमा पनि हस्तकलाका वस्तुको खपत बढेको छ । कोभिड–१९ पछाडि विदेशमा हस्तकलाका सामग्रीको माग उल्लेख्य रूपमा बढ्दा निर्यातमा वृद्धि देखिएको उनले जानकारी दिए ।  आन्तरिक बजारमा वार्षिक करिब १० अर्ब रुपियाँ बराबरका हस्तकलाका सामान खपत हुने शाक्यले बताए । स्थानीय सिप र परम्परागत कलामा आधारित उत्पादित सामानको माग निरन्तर बढेकाले निर्यात विस्तारमार्फत व्यापार घाटा कम गर्न सकिने उनको भनाइ छ । हस्तकला उद्योगमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेको अनुमान छ । नेपालले अल्लो, बाँसजन्य सामग्री, पोतेका गरगहना, हाड तथा वन्यजन्तुका सिङ, सेरामिक, सुर्तीजन्य वस्तु, स्फटिक, ढाका, फेल्ट, सिसा, धुप, छाला, धातुजन्य सामग्री, ढाका कपडा, चित्रकला, कागज, वनस्पति रेसा, चाँदीका गरगहना, प्रस्तरकला र काष्ठकलाका सामग्रीसहितका विभिन्न हस्तकला वस्तु विदेशी बजारमा पठाउँदै आएको छ । महासङ्घका अनुसार अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन र भारतलगायत ६० भन्दा बढी देशमा नेपाली हस्तकला निर्यात हुन्छ । कुल निर्यातमा हस्तकलाको लगभग ६ प्रतिशत योगदान रहेको र यस क्षेत्रलाई अझ सुदृढ गर्नुपर्ने व्यवसायीको धारणा छ । फेल्ट, प्राकृतिक रेसा, सिसाका सामग्री, बोधिचित्तका माला तथा रुद्राक्षलगायतका वस्तुको अन्तर्राष्ट्रिय बजारमा बढी माग छ । यसैबीच, ललितपुरको पाटन सङ्ग्रहालय र पाटन दरबार क्षेत्र परिसरमा बुधबारदेखि हस्तकला प्रदर्शनी आयोजना गरिँदै छ। नेपाल हस्तकला महासङ्घ र ललितपुर महानगरपालिकाको सहकार्यमा हुन लागेको यो प्रदर्शनीले नेपाली हस्तकलाको प्रचार–प्रसार र प्रवर्धनमा योगदान पुग्ने बताइएको छ । प्रदर्शनीमा परम्परागत हस्तकलाका वस्तु, बौद्ध धर्ममा प्रयोग हुने १० कर्मका गरगहना तथा जातीय पोसाक प्रदर्शन गरिनेछ । साथै ललितपुर महानगर–१६ को सांस्कृतिक समितिबाट शास्त्रीय सङ्गीत, चर्या नृत्य, अष्टमातृका नाच, कात्तिक नाच तथा लोकनृत्यसमेत प्रस्तुत गरिनेछ । नेपाल भाषाका लोकगीतको प्रस्तुति पनि रहनेछ । मेला संयोजक प्रताब शाक्यका अनुसार प्रदर्शनीले हस्तकलामा समावेश पौराणिक कलाको संरक्षणमा सहयोग पुग्नेछ। पाँच दिनसम्म चल्ने मेलामा ३१ वटा स्टल रहनेछन् । आगन्तुक र प्रदर्शनकर्ताको सुविधाका लागि नेवारी मौलिक खाद्य परिकारका स्टल पनि रहने महासङ्घले जनाएको छ ।

आठ महिनामा २८ वटा मुद्दा दर्ता भएकोमा १३ वटा फस्र्योट

काठमाडौं । उपभोक्ता अदालत गठन भएको आठ महिनामा २८ वटा मुद्दा दर्ता भएकोमा १३ वटा फस्र्योट भएका छन् । जसमा पाँच वटा मुद्दाको फैसला, दुई वटा मुद्दामा मिलापत्र भएको छ भने छ वटा मुद्दा फिर्ता भएका छन् ।  उपभोक्ता अदालतका स्रेस्तेदार शोभाकर खरेलले अदालतमा दर्ता भएका मुद्दामध्ये १५ वटा कारबाहीको प्रक्रियामा रहेको जानकारी दिइन । खरेलका अनुसार अदालत गठन भएको आठ महिनामा परेका मुद्दामध्ये अस्पताल वा चिकित्सकबाट लापर्बाही भएका १० वटा र विद्युतीय सवारीसाधनको गुणस्तर समस्या भएका सात वटा मुद्दा दर्ता भएका छन् भने एउटा चाँदीको भाँडामा ठगीको भएको सम्बन्धी छ ।  उपभोक्ता अदालतमा हालसम्म परेका मुद्दा सबै सचेत उपभोक्ता पीडित भएर गरेका मात्रै छन् । सरकारका अनुगमन तथा नियमनकारी निकायबाट अहिलेसम्म एउटै मुद्दा अदालतमा दर्ता गरेको छैन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आव २०८२/८३ को मङ्सिर १५ गते सोमबारसम्म एक हजार ४०७ वटा व्यावसायिक फर्मको अनुगमन गरेकामा मुद्दा दायर गर्नुपर्ने गरी गम्भीर प्रकारको कैफियत नदेखिएको जनाएको छ ।  विभागका निर्देशक भरतप्रसाद आचार्यले पछिल्लो समयमा अनुगमन धेरै गरे पनि बजार अनुगमनका क्रममा मुद्दा दायर गर्ने खालका कसुर नै नभेटिएको दाबी गरे ।  अनुगमनबाट प्राप्त कैफियतका आधारमा जरिबाना तिराउने काम भइरहेको तर मुद्दा दर्ता गराउनुपर्ने अवस्था देखिएको उनको भनाइ छ ।  उपभोक्ता अदालतमा दुई किसिमका मुद्दा दायर हुने व्यवस्था छ । पहिलो, वाणिज्य विभागले अनुगमनमा फेला पारेको कैफियतका आधारमा निरीक्षण अधिकृतले मुद्दा ल्याउन सक्छन् । दोस्रो, पीडित उपभोक्ता स्वयम्ले पनि मुद्दा दायर गर्न पाउने व्यवस्था छ । अहिलेसम्म उपभोक्ताबाट मात्रै मुद्दा परेका छन् । ऐन अनुसार अनुगमनलाई प्रभावकारी बनाउन र विभागको महानिर्देशकले किनारा लगाउनेबाहेकका कैफियतका कार्य अदालतको क्षेत्राधिकारभित्र पर्ने उल्लेख छ ।  चालु आवमा महानिर्देशकसमक्ष समेत कुनै पनि फर्मलाई सजाय दाबीसहित निवेदन परेको छैन । टोलीले स्थलगत निरीक्षणमा देखिएको कैफियतका आधारमा पाँच हजारदेखि दुई लाख रुपियाँसम्म जरिबाना गराएका छन् ।  विश्व उपभोक्ता अधिकार दिवस मार्च १५ वा गत चैत २ गते उपभोक्ता अदालतको स्थापना भएको थियो ।    

आज कस्तो रहला सातै प्रदेशकाे माैसम

काठमाडौँ । आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।  अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरमा समान पहुँच स्थापित गर्न जरुरी भएको बताए ।  सन्देश मार्फत उनले भनेका छन्, “नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ, संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समान, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने अपेक्षा गरेको छ, अपाङ्गताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्दै उहाँहरूलाई समान तथा अर्थपूर्ण रूपमा मानवीय सहभागिता गराउने मनसाय संविधानले लिएको छ ।”  अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवं निजी संरचना आदिमा उनीहरूको आवश्यकताअनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनु आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।  उनले भने, “अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजमा रहेका नकारात्मक भावनामा परिवर्तन ल्याइ समावेशिता, समानता, मानवअधिकार पहुँचयोग्य वातावरण एवं भेदभावविहीन समाजको निर्माण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको न्यायपूर्ण सहभागिता सुनिश्चित गर्न सरकार, परिवार, समाज तथा सङ्घ संस्थाहरूको एकल र सामूहिक भूमिका अभिवृद्धिमा यस दिवसले थप बल पुर्‍याउने मैले विश्वास लिएको छु ।”  अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । यस वर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइँदै छ । 

रुस र अमेरिकाद्वारा आणविक परीक्षण पुन: सुरु गर्ने, विश्वभर चिन्ता

भिएना । संयुक्त राज्य अमेरिका र रुसले दशकौँपछि पुन: आणविक परीक्षण सुरु गर्न सकिने सङ्केत दिएपछि अन्तर्राष्ट्रिय समुदाय तीव्ररूपमा चिन्तित बनेको छ । यस्तो चेतावनीले दशकौँदेखि कायम रहेको विश्वव्यापी परीक्षण(प्रतिबन्धको मानक नै खस्किन सक्ने र अप्रसार प्रयासमा गम्भीर असर पर्न सक्ने विज्ञको आकलन छ । अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसलमा ‘अन्य देशको परीक्षण कार्यक्रमका कारण’ पुन: परीक्षण प्रक्रिया तुरुन्तै सुरु गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएको उल्लेख गरेपछि तनाव बढेको हो । त्यसको जवाफमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरक्षा परिषद्लाई कुनै पनि देश(विशेषत: अमेरिकाले परीक्षण गरे रूस ‘पारस्परिक प्रतिक्रिया’ दिन बाध्य हुने चेतावनी दिए। सन् १९५० को दशकमा अमेरिका र सोभियत सङ्घले वातावरणमै शक्तिशाली परीक्षण गरेपछि पैदा भएको चिन्ताले सीमित आणविक परीक्षण-प्रतिबन्ध सन्धि ल्यायो, जसले भूमिगत परीक्षणलाई भने अनुमति दियो । त्यसपछि सबै प्रकारका परीक्षण रोक्ने उद्देश्यले सन् १९९६ मा व्यापक आणविक(परीक्षण-प्रतिबन्ध सन्धि (सिटिबिटी) संयुक्त राष्ट्रसङ्घीय महासभाबाट पारित भयो । हालसम्म १८७ देशले सन्धिमा हस्ताक्षर गरेका छन् भने १७८ ले अनुमोदन गरिसकेका छन् । तर सन्धि प्रभावकारी बनाउन आवश्यक ४४ मुलुकमध्ये चीन, इजिप्ट, इरान, इजरायल र अमेरिकाले अनुमोदन गरेका छैनन् । भारत, पाकिस्तान र उत्तर कोरियाले त हस्ताक्षर नै गरेका छैनन् । रूसले सन् २०२३ मा आफ्नो अनुमोदन फिर्ता लिएको थियो । सन्धिसँगै भिएनामा व्यापक आणविक(परीक्षण(प्रतिबन्ध सन्धि सङ्गठन ९सिटिबिटिओ०को स्थापना भयो, जसले ३०७ अनुगमन स्टेशनमार्फत भूकम्पीय, हाइड्रो(आकौस्टिक, इन्फ्रासाउन्ड र रेडियोन्युक्लाइड प्रविधि प्रयोग गरी विश्वभर परीक्षण पत्ता लगाउँछ । सन् २०२५ को बजेट करिब १३ करोड ९० लाख डलर छ । परीक्षण पुन: सुरु भए चीन र भारतलाई फाइदा आम्र्स कन्ट्रोल एसोसिएसनका कार्यकारी निर्देशक डेरिल किम्बलका अनुसार अमेरिकाले पूर्ण-स्तरको परीक्षण पुन: सुरु गरे कमजोर अनुभव भएका अन्य देशहरू-विशेषत: चीन र भारतलाई साना तथा हल्का वारहेड डिजाइन परिष्कृत गर्न अवसर मिल्नेछ, जसले विश्व सुरक्षामा जोखिम बढाउँछ । सन १९९६ पछि भारत, पाकिस्तान र उत्तर कोरियाले मात्रै १० वटा परीक्षण गरेका छन्, तर अमेरिकाले अन्तिम परीक्षण सन् १९९२ मा गरेको थियो । कुल दुई हजार जति परीक्षणमध्ये अधिकांश सन् १९९६ अघि नै अमेरिका र सोभियत सङ्घले गरेका थिए । वैज्ञानिक अनुगमनको भूमिका तनाव बढ्दै जाँदा सिटिबिटिओको भूमिका अझ महत्वपूर्ण भएको छ । कार्यकारी सचिव रोबर्ट फ्लोइडका अनुसार सङ्गठनको प्रमुख काम कहीँ पनि, कुनै पनि समयमा आणविक विस्फोट भयो कि भएन भनेर निश्चित जानकारी दिएर ‘विश्वलाई आत्मविश्वास दिलाउनु’ हो । छ वटा उत्तर कोरियाली परीक्षण सबै सङ्गठनको नेटवर्कले सफलतापूर्वक पत्ता लगाएको थियो । ट्रम्पले कस्तो परीक्षणको सङ्केत गर्नु भएको थियो भन्ने अस्पष्ट छ । अमेरिकी ऊर्जामन्त्री क्रिस राइटका अनुसार सम्भावित नयाँ परीक्षणमा ‘विस्फोट हुने सुपरक्रिटिकल’ प्रयोग समावेश नहुन सक्छन् । सिटिबिटस्ले शून्य(उपज मानकअनुसार कुनै पनि विस्फोटयुक्त परीक्षणलाई प्रतिबन्धित गर्छ । आत्म(निर्भर शृङ्खला प्रतिक्रिया नहुने सबक्रिटिकल परीक्षण सिटिबिटी उल्लङ्घनमा पर्दैनन् र धेरै राष्ट्रले चलाउँदै आएका छन् । तर धातु कक्षाभित्र गरिने अत्यन्त कम-उपजका हाइड्रो-न्युक्लियर परीक्षण भने सङ्गठनको अनुगमन प्रणालीबाट पत्ता नलाग्न सक्ने किम्बलको भनाइ छ, जसले ‘प्रमाणीकरण अन्तर’ सिर्जना गर्छ । प्रणाली मूलत: एक किलोटन विस्फोट पत्ता लगाउन डिजाइन गरिएको भए पनि हाल ५०० टन टिएनटी बराबरको विस्फोटसमेत पहिचान गर्न सक्षम भएको फ्लोइडको दाबी छ । तुलनार्थ, हिरोसिमामा खसालिएको बमको शक्ति लगभग १५ किलोटन थियो । 

समानुपातिक निर्वाचन कार्यक्रम मंसिर २० गतेदेखि

काठमाडाैं । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २० गतेबाट औपचारिक रूपमा सञ्चालन हुने भएको छ ।  निर्वाचन आयोगले आइतबार आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमै समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसँगै आवश्यक तयारी प्रक्रियाहरू तीव्र बनिएको हो । आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलका लागि निवेदन दर्ता प्रक्रिया मंसिर २१ गते बिहान १० बजेबाट प्रारम्भ हुनेछ । दलहरूले आफ्नो सहभागितासम्बन्धी निवेदन मंसिर २३ गते दिउँसो ४ बजेसम्म पेस गर्न सक्ने आयोगले जानकारी दिएको छ । निवेदन दर्ता अवधि सम्पन्न भएको भोलिपल्ट, अर्थात् मंसिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली सार्वजनिक गरिनेछ । यससँगै दलहरूले समानुपातिक प्रणालीअन्तर्गत सहभागी हुने औपचारिकता पूरा भएको मानिनेछ । आयोगद्वारा स्वीकृत विस्तृत कार्यक्रमअनुसार पुस १३ र १४ गते समानुपातिक उम्मेदवारहरूको बन्दसूची पेस गर्ने समय निर्धारण गरिएको छ । राजनीतिक दलहरूले आफ्नो प्राथमिकताक्रमसहितको बन्दसूची सोही अवधिमा आयोगमा बुझाउनुपर्नेछ । यस प्रक्रियाको अन्तिम चरणअन्तर्गत, माघ २० गते समानुपातिक उम्मेदवारहरूको बन्दसूची अन्तिम रूपमा प्रकाशन गरिनेछ । सूची सार्वजनिक भएपछि राजनीतिक दलहरूले निर्वाचन तयारीलाई अझ सुदृढ बनाउने अपेक्षा आयोगले गरेको छ ।