पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बस बागलुङमा दुर्घटना : आठको मृत्यु, २४ घाइते

काठमाडौं। बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै सात जनाको मृत्यु भएको थियो ।

अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ  । 

प्रहरीका अनुसार दुर्घटनामा २४ जना घाइते छन् । दुर्घटना स्थलमा घुमाउरो बाटो भएको कारण चालकको समेत मृत्यु भएको छ । बस सडकदेखि करिब तीन सय मिटर तल खसेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले गाडीमा ३२ जना यात्रु रहेको जानकारी दिए ।थप विवरण आउँन बाँकि छ ।

बजेटमा ‘बेवारिसे’ शैली फेरौँ : सांसद पौडेल

काठमाडौं ।प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले बजेटमा ‘बेवारिसे’ किसिमको भाषाशैली फेर्नुपर्ने बताएका छन्। विनियोजन विधेयकमा समेटिएका दिगो विकास, सार्वजनिक वित्त संकलन, मौद्रिक नीतिको लचकता, सार्वजनिक ऋणको भुक्तानलगायत विषय महत्त्वपूर्ण भएको उनले उल्लेख गरे। आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)का विषयमा प्रतिनिधिसभा बैठकमा छलफलका क्रममा सोमबार उनले यस्तो बताएका हुन् । “तर, बढाइनेछ, गरिनेछ, दिइनेछ, बनाइनेछ, विश्वास गरेको छु भन्ने कुराहरू धेरै ठाउँमा छ। यो बेवारिसे छ।करेक्सनका लागि मैले आग्रह गर्दछु,” उनले भने।यो यो गरिनेछ भन्ने विषय अर्थमन्त्रीले प्रस्ट रूपमा किटान गरेर ल्याउनुपर्नेमा उनले जोड दिए। उनले भने, “यस किसिमका भाषा, ढंग र शैलीभन्दा फरक ढंगले हामी अघि बढ्नुपर्नेछ।”  

प्रहरीको विकल्प सुधारिएको प्रहरीः गृहसचिव अर्याल

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै प्रहरीलाई निर्देशन दिएका छन् । गृहसचिव एकनारायण अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए  कार्यक्रममा गृहसचिव अर्यालले समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, अपराध अनुसन्धान एवम् नियन्त्रणमा नेपाल प्रहरीले कुशलतापूर्वक कार्य गरिरहेको चर्चा गर्दै वर्तमान अवस्थामा देखिएका चुनौतिहरूको समाधानका लागि सबै प्रहरी कर्मचारीहरूको पूर्ण सहयोगको अपेक्षा रहेको बताए ।  नेपाल प्रहरीको विकल्प भनेको सुधारिएको नेपाल प्रहरी नै रहेको भन्दै गृहसचिव अर्यालले भने, “समग्र गृह प्रशासनलाई समसामाहिक हिसाबमा रूपान्तरण गर्नुपर्ने छ । अहिले भएका कार्यसम्पादनबाट हामी आफै पनि सन्तुष्टि छैनौं । जनताहरू पनि सन्तुष्टि भएका अवस्था छैनन् । हाम्रा कार्यशैलीमा परिवर्तन गर्नुपर्ने छ र अबका दिनहरूमा गृह प्रशासनमा नयाँ ढंगले काम गर्नुपर्छ भन्ने आफ्नो मन र मस्तिष्कमा राख्नुहोला ।”   गृहसचिव अर्यालले मुलुकको आन्तिरक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाएको खण्डमा नागरिकहरूले स्वतन्त्रता पूर्वक आफ्नो व्यक्तित्व निर्माण गर्नका लागि शान्तिपूर्ण वातावरण सिर्जना भई आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताउँदै विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिए ।  प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा तथा वृत्ति विकासमा सांगठनीक प्रणाली अन्तर्गत हुनुपर्ने उल्लेख गर्दै प्रहरी कर्मचारीहरूको पिरमर्का, गुनासोहरूको सम्बोधनको लागि सम्बन्धित कार्यालय प्रमुखहरू क्रियाशील हुनुपर्ने उनले बताए । नागरिकसँग सम्बन्धित ऐन, कानूनको अध्ययन गरी सेवाग्राहीलाई सोही अनुरूपमा सेवा प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।  गृहसचिव अर्यालले शून्य सहनशिलताको नीतिलाई अबलम्बन गर्नुपर्ने, चेन अफ कामण्डको उचित कार्यान्वयन गर्नुपर्ने बताउँदै तस्करी नियन्त्रण एवम् राजश्व चुहावट नियन्त्रणमा अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै थप सक्रिय भएर कार्यसम्पादन गर्नुपर्ने बताए ।  नैतिकवान र प्रविधियुक्त प्रहरी आवश्यक रहेको चर्चा गर्दै उनले भने, “राम्रो काम गर्नलाई डराउनुपर्दैन । व्यावसायिक, उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुहोस् ।”  कार्यक्रममा गृहसचिव एकनारायण अर्याल समक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको कार्ययोजना, २०८०, लागूऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८०र०८१, प्रहरी कर्मचारीको सरूवा सम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन,२०८०), नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको संग्रह भाग १ र भौतिक सबुद संकलन र संरक्षण सम्बन्धी दिग्दर्शन पुस्तक प्रदान गरे  ।  सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यका प्रचलित ऐन कानूनको कार्यान्वयन, नागरिकको जीउ, धन र संवैधानिक हक अधिकारको संरक्षण र आम नागरिकमा कानुनको सर्वोच्चता र शान्ति सुरक्षाको प्रत्याभूति गराउँदै न्यायपूर्ण व्यवस्था कायम गर्न तालुक गृह मन्त्रालयको प्रत्यक्ष सुपरिवेक्षणमा रही समृद्ध, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणमा, समग्र नेपाल प्रहरी संगठन र आबद्ध सकल दर्जा कटिबद्ध रहेको बताए ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।  

पूर्व सभामुख महरालाई सरकारी वकिल कार्यालय लगियो

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । म्याद थपका लागि अनुमति लिन अदालत लैजानुअघि महरालाई सरकारी वकिलको कार्यालय, रामशाहपथ पुर्‍याइएको हो । भेपमार्फत गरिएको करिव ९ किलो सुन तस्करीको पुनः अनुसन्धानका क्रममा प्रहरीले महरालाई सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । 

दुर्गा प्रसाईंका बडिगार्ड सर्वोच्च अदालत परिसरबाट बन्दुकसहित पक्राउ

काठमाडौं । सर्वोच्च अदालत परिसरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्ड हतियारसहित पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालत पुगेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।  पक्राउ पर्नेमा बडिगार्डहरू दीपक खड्का र रामकुमार धिमाल छन् ।  उनीहरू बिहान पौने ११ बजे दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्ने क्रममा बन्दुक भेटिएको हो ।  सर्वोच्च अदालतको मूलगेटमा रहेका प्रहरी निरीक्षक विजय भण्डारी सहितको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूबाट बन्दुक बरामद गरेको हो । उनीहरुको साथबाट ‘ठूले स्वीडेन’ लेखिएको कालो र‌ङको झोलाभित्र स्वचालित हतियार एउटा, सानो दुई वटा म्यागजिन, दुई वटा ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउण्ड गोली पनि बरामद भएको छ। प्रहरीका अनुसार बरामद भएको हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट इजाजत लिइएको छ ।

बढ्यो सेयर बजार, ५ कम्पनीमा १० प्रतिशत वृद्धि

काठमाडौं । अघिल्ला ३ कारोबार दिनसम्म लगातार झरेको सेयर बजार सोमबार भने बढेको छ । आज अन्तिम ४० मिनेटपछि बजार सम्हालिएर बढेको हो । अघिल्लो दिन २०७० अंकमा बन्द भएको सेयर बजार सोमबार २०७३ अंकमा बन्द भयो । अघिल्लो दिनको तुलनामा सामान्य अंकले बजार बढ्दा कारोबार रकम भने खुम्चिएको छ । आइतबार ३ अर्ब ३८ करोडको कारोबार भएकोमा सोमबार २ अर्ब ८८ करोडमा खुम्चियो । कुल १४८ कम्पनीको मूल्य बढ्दा ८५ को घट्यो भने १० को स्थिर रह्यो । विकास बैंक समूह सबैभन्दा धेरै १.३ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स समूह १ प्रतिशत बढ्यो । ती बाहेकका समूह सामान्य दरले घटबढ भए । बैंकिङ ०.३७, लगानी ०.३५, उत्पादन ५७ तथा निर्जीवन बीमा ११ अंकले घटे । ब्यापार १४, अन्य ६, माइक्रोफाइनान्स २४, जीवन बीमा ६, हाइड्रोपावर ४, होटल तथा पर्यटन ४७, फाइनान्स २० र विकास बैंक समूह ५२ अंकले बढे । गोर्खाज फाइनान्स, सप्तकोशी विकास बैंक, पिपुल्स पावर, धौलागिरि लघुवित्त र पिपुल्स हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मानुसी लघुवित्तको ५, एनएमबी बैंकको २.७, सिंगटी हाइड्रोको २.४, माण्डु हाइड्रोको २.३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, माथिल्लो तामाकोशी र घोराही सिमेन्ट क्रमशः अगाडि रहे ।

नेविसंघले गृहमन्त्री लामिछानेको पुत्ला जलायो

काठमाडौं । नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ । नेविसंघ पशुपति क्‍याम्पस इकाइ समितिको अगुवाईमा सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी समेत गरिएको छ । उनीहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग पनि गरेका छन् ।  प्रदर्शनकारीले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी पनि गरेका छन् ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधिसभामा पेस

काठमाडौं । प्रतिनिधिसभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता पेस गरिएको छ।प्रतिनिधिसभाको सोमबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता पेस गरेका हुन्।  सम्झौता संसद्मा पेश गर्दै मन्त्री बस्नेतले सौर्य ऊर्जा प्रविधि प्रयोग गरी सदस्य राष्ट्रहरुमा ऊर्जा पहुँच बढाउन ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासमा स्थापित आईएसएसँग सम्बन्धित करार सम्झौता भएको जानकारी दिए।उनले यो सम्झौताबाट नेपाललाई पनि फाइदा हुनसक्ने देखि उक्त सम्झौतामा नेपालले पनि हस्ताक्षर गरिसकेकोले आईएसएको सम्झौताको अनुमोदन गर्न संघीय संसद्मा पेश गर्ने प्रयोजनको लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट २०८० वैशाख १९ मा स्वीकृत भएको बताए । मन्त्री बस्नेतले प्रतिनिधिसभा नियमावली, २०७९ को निमय २२५ बमोजिम अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता संघीय संसद् प्रतिनिधिसभा समक्ष प्रस्तुत गरेका हुन् । उक्त सम्झौता अब सभाबाट पारित हुनुपर्नेछ।

रुसी सेना र युक्रेनी नियन्त्रणमा रहेका नेपालीलाई फिर्ता ल्याउन क्रियाशील छौं :  परराष्ट्रमन्त्री

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा संलग्न भई युक्रेनमा बन्दी बनाइएका नेपालीलाई स्वदेश फर्काउन सरकार क्रियाशील रहेको बताएका छन्।प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले सरकारले रुसी सेनामा रहेका र युक्रेनमा बन्दी बनाइएकालाई नेपाल फर्काउन क्रियाशीलता बढाएको बताएका छन्। आफूले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि रुसी विदेशमन्त्रीसँग कुराकानी गरेको र नेपालका लागि रुसी राजदूतसँग पटकपटक छलफल गरेको श्रेष्ठले बताए। 'युक्रेनमा बन्दी भएका युद्धबन्दीका बारेमा यस मन्त्रालयले पहिला नै नामहरू सार्वजनिक गरिसकेको छ।हिजोमात्र रुसी सेनामा कार्यरत रहेको अवस्थामा युक्रेनमा बन्दी बनाइएकामध्ये पाँच जनाको नाम र फोटो फेरि सार्वजनिक भएको छ,' उनले भने, 'नेपाल सरकारको निरन्तर कूटनीतिक प्रयासपछि यो सम्भव भएको छ ।मन्त्रालय यथाशीघ्र उहाँहरूलाई नेपाल फर्काउनका लागि उच्च प्राथमिकताका साथ क्रियाशील छ।' रुस सरकारले त्यहाँको सेनामा भर्ना भई मृत्यु भएका नेपाली परिवारलाई क्षतिपूर्ति दिन सहमत भएको र अहिले पनि त्यहाँ कार्यरत रहेका नेपालीलाई फिर्ता पठाउन तयार भएको श्रेष्ठले जानकारी दिए ।मन्त्री श्रेष्ठले भने- 'रुसी विदेश मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपालीमध्ये घर फर्कन चाहनेलाई करार रद्द गर्न आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ।त्यसको मोडालिटी तय हुन बाँकी रहेको छ। यस बारेमा रुसमा रहेको नेपाली दूतावासले निरन्तर फलोअप गरिरहेको छ।' रुस र युक्रेनको बीचमा जारी युद्धमा रुसको पक्षबाट सेनामा रहेका नेपालीका समस्या समाधान गर्न सरकार तयार रहेको र क्रियाशील भइरहेको श्रेष्ठले बताए ।

सांसद शर्माको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)क सांसद मन्जु शर्मा अन्सारीको निधन भएकामा राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित गरिएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकबाट शोक प्रस्ताव पारित गरिएको हो । अन्सारीको परिवारजनमा समवेदना समेत व्यक्त गरिएको छ । उनीप्रति श्रद्धाञ्जलीस्वरूप सभाका सदस्यले एक मिनेट मौन धारण गरे । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भने, “संघीय संसद् प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्दछु । वि।सं। २०२० साल माघ १९ गते जन्मनुभएकी प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको मिति २०८० साल चैत्र ४ गते आइतबार उपचारको क्रममा असामयिक निधन भएकोमा राष्ट्रियसभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ । स्व। अन्सारी जनता समाजवादी पार्टी, नेपालबाट विक्रम संवत् २०७९ सालको प्रतिनिधिसभामा समानुपातिक सदस्यको रूपमा निर्वाचित हुनुभएको थियो । यो बैठक स्व। अन्सारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।” राष्ट्रियसभाको अर्को बैठक यही चैत ७ गते बिहान सवा ११ बजे बस्ने गरी बोलाइएको छ ।

सहकारी ठगीसम्बन्धमा निष्पक्ष छानबिन गर्न कांग्रेसको ध्यानाकर्षण

काठमाडौं।प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीका सम्बन्धमा निष्पक्ष छानबिनको विश्वास दिलाउन सरकारसँग माग गरेको छ । आजको बैठक आरम्भ हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सो पार्टीका महामन्त्री गगनकुमार थापालाई बोल्न समय दिए। महामन्त्री थापाले सहकारी ठगीलगायत विभिन्न भ्रष्टाचारका प्रकरणमा जस्तोसुकै ठूला व्यक्ति भए पनि निष्पक्ष अनुसन्धान भई कानुनी कारबाही हुनुपर्नेमा जोड दिए। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीसम्बन्धी विवादमा मुछिएकाले रवि लामिछाने पदमा रहन उपयुक्त नहुने थापाको भनाइ थियो ।   नेता थापाले उपप्रधानमन्त्री लामिछानेसमेत सूर्यदर्शन र सुप्रिम सहकारीको विवादमा तानिएकाले विवादको छानबिन नहुँदासम्म लामिछानेलाई मन्त्री बनाउन नहुने तर्क गरे। “उहाँ दोषी हो÷होइन हामीलाई थाहा छैन । भोलि छानबिनले प्रमाणित गर्ला तर जो आफैँ मुछिएको छ।उसले कसरी निष्पक्ष अनुसन्धान गर्छ भन्ने प्रश्न उठेको छ”, उनले भने, “सहकारीबाट ठगिएकाहरुको पैसा फिर्ता गराउन हामीले सहज वातावरण गर्नुपर्छ । त्यो वातावरण बनाउनेबारे हामीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ चाहिएको छ ।” उनले सदन चलोस् भन्ने आफूहरुको चाहना भएको तर आफूहरुले उठाएको प्रश्नको जवाफ नआएकाले चिन्ता बढेको बताउँदै सुन तस्करीका घटनामा शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च रहेछ भन्न यसअघिका प्रतिपक्षका आरोप सही नहोस् भन्ने पनि ध्यानाकर्षण गराए। महामन्त्री थापाले बोलेपछि सभामुख घिमिरेले सदनमा उठेका विषयमा सरकारको ध्यानाकर्षण भएको होला भन्ने विश्वास व्यक्त गर्दै आफ्नो पनि ध्यानाकर्षण भएको बताए।

राष्ट्रियसभाका दुई विषयगत समिति सभापतिले लिए शपथ

काठमाडौं । राष्ट्रियसभाअन्तर्गत दुई विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  राष्ट्रियसभाअन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ खुवाएका हुन् । दुई समितिको सभापतिमा एकमात्रै उमेदवारी परेपछि शेर्पा र पन्त निर्विरोध निर्वाचित भएका थिए । त्यसअघि सोमबार नै बसेको दुई वटा समिति बैठकले उनीहरूलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । 

दीपक मनाङे गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्री नियुक्त

पोखरा । एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गरेका हुन् ।भौतिक पूर्वाधारमा यसअघि माओवादी केन्द्रका रेशम जुग्जाली मन्त्री थिए । केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए।सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने महेन्द्रध्वज जिसीले पाएका छन्। स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सांसद बनेको केहि दिनपछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पुनः स्वतन्त्र सांसदको रुपमा बनाउन आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए।

एनआरएनएको साधारणसभा सम्पन्न, मनोरेलसहित ३ वटा सम्झौता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बार्षिक साधारणसभा काठमाडौमा सम्पन्न भएको छ । ‘वंशज नागरिकताको निरन्तरता नै हाम्रो आवश्यकता’ भन्ने नारासहित सुरु भएको साधारणसभा काठमाडौँमा सम्पन्न भएको हो ।  ४२ देशका प्रतिनिधि सहभागी रहेको साधारणसभाको उद्घाटन संघका संरक्षक डा. शेष घलेले गरेका थिए । घलेले नेपालको लागि अझै धेरै गर्न बाँकी रहेको भन्दै सबै गैरआवासीय नेपालीहरु एकजुट हुनुपर्ने बताए । केही समस्या देखिएपनि नेपाल र नेपालीको लागि आफूहरुभित्रैबाट दित्तचित्तले लागेको बताउँदै घलेले नागरिकता लगायतका विषयमा अझै संघर्ष जारी रहेको बताए ।  “हामीले नेपालको लागि अझै गर्न धेरै बाँकी छ । लगानीलगायतका विषयमा सजिलोको लागि हामीले नागरिकताको विषय उठाउँदै आएका थियौँ, सरकारले नागरिकता प्रदान गरे पनि गैरआवसीय नागरिकताले केही अप्ठ्यारा फुकाउन सकेको छैन” घलेले भने । उनले नागरिकतालाई कागजको खोस्टोमा सिमित बनाउन नहुने समेत बताए ।  संघका आईसीसी अध्यक्ष विनोद कुँवरले संस्थाको उद्देश्य पूरा गर्न विधिमा चलाउनुपर्ने बताए । उनले १० औं महाधिवेशनमा विधिलाई धोती लगाउनेहरुकै कारण संघमा विवाद उत्पन्न भएको बताए ।  “हामीले संस्थालाई विधिमा लैजाउ भनेका थियौं, केही साथीहरुले विधिभन्दा पनि मनखुशी संघलाई चलाउन खोज्दा समस्या पैदा भएको हो । हामी अझैपनि विधिवत रुपमा संघलाई अगाडि बढाऔं भनिरहेका छौं” कुँवरले भने । उनले त्यसैको लागि आफूहरुले महाधिवेशन रोकेर बार्षिक साधारणसभा गरेको बताए ।  आफूहरुले आवाज उठाएको २० बर्षपछि नागरिकता प्राप्ति भएको तर त्यसमा समित अधिकार तोकिएकोले समस्या समाधान नभएको बताए । आफूहरुलाई लगानीको वातावरण नबनेको भन्दै कुँवरले भने, “हामीहरुलाई स्वागत चाहिँदैन, देशको समृद्धिको लागि विदेशमा कमाएका पैसा नेपालमै लगानी गर्ने वातावरण बनाइदिनुुस् भनेका छौं । दिनदिनै युवा पलायन भइरहेको भन्दै त्यसलाई रोक्न पनि हामी लगानी भित्र्याएर रोजगारी सिर्जना गर्छौं, त्यसको लागि वातावरण चाहिएको हो ।” कार्यक्रममा उपाध्यक्ष थर्क सेनले संघभित्र रहेका विधि नमान्ने र पदलोभीहरुका कारण १० औं महाधिवेशनमा विवाद उत्पन्न भएको बताए । उनले आफूहरुले संघको विधान र विधि मानेकोले मुलधार भएको बताए । अर्को उपाध्यक्ष भूमा लिम्बु, पूर्वउपाध्यक्ष सोनाम लामालगायतले संघलाई विधिमा चलाउनुपर्नेमा जोड दिएका थिए ।  साधारणसभाको बन्दशत्रमा एनसीसी, आरसी, महासचिव, कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरिएको थियो ।  साधारणसभाले महासचिव जानकी गुरुङले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन पारित गरेको छ ।  त्यसैगरी साधारणसभामा मनोरेलसहित तीनवटा महत्वपूर्ण सम्झौता समेत भएका छन् । काठमाडौँका तारकेश्वर नगरपालिकामा मनोरेल स्थापना गर्ने, भूकम्पबाट क्षति भएको जाजरकोटको भेरी नगरपालिका र पश्चिम रुकुमको आठबीस नगरिपालिकाको पुनर्निर्माण गर्ने सम्झौता पनि भएका छन् ।  पर्यटक प्रवद्र्धनको लागि तारकेश्वर नगरपालिकामा मनोरेल स्थापना गर्ने सम्बन्धी सम्झौतामा नगर प्रमुख कृष्णहरी महर्जन र नेपाल मनोरेल कम्पनीको प्रमुख कार्यकारी अधिकृत संगिता कार्कीले हस्ताक्षर गरेका छन् ।  संघका अध्यक्ष विनोद कुँवर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त र कोरियान नागरिक जिहोङ सुन रोहबरमा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो ।  त्यसैगरी भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण सम्बन्धी सम्झौतामा संघको तर्फबाट संरक्षक शेष घले, अध्यक्ष विनोद कुँवर र भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती र आठबीसकोट नगरपालिकाका प्रमुख रबि केसीले हस्ताक्षर गरेका छन् ।  त्यस्तै, कोरियन कस्मेटिक (एनके) नेपालमै उत्पादनको लागि पनि सम्झौता भएको छ ।  साधारणसभामा भूकम्पमा खट्ने र सहयोग गर्ने संघका प्रतिनिधि तथा एनसीसीलाई सम्मान समेत गरिएको थियो । 

रुसी राष्ट्रपतिमा फेरि पुटिनको जित सुनिश्चित

काठमाडौं । रुसको राष्ट्रपतिमा फेरि भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् । रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन सम्म चुनाव भएको थियो । सीएनएनले पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को एक एग्जिट पोलबाट पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको जनाएको छ । यो रुसको सोभियत इतिहासकै सबैभन्दा ठूलो परिणाम हो । रसियन पब्लिक ओपिनियन रिसर्च सेन्टर (वीसीआईओएम)ले पनि पुटिनले ८७ प्रतिशत भोट पाएर राष्ट्रपति पदमा थप ६ वर्ष कायम रहने निश्चित रहेको जनाएको छ । यसपटकको राष्ट्रपति चुनावमा ७१ वर्षीय पुटिन उनी एकल दाबेदार रहेका छन् । पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको र अरु सशक्त उम्मेदवार कोही नहुँदा पुटिनको जित पहिल्यै सुनिश्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

महरा पक्राउ परेपछि गगन थापाले दिए सरकारलाई धन्यवाद

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तासीन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेको सरकारलाई धन्यवाद दिएका छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले महरालाई पक्राउ गरेर आफ्नो अर्काको नभनी काम गरेको बताउँदै सरकारलाई धन्यवाद दिएका हुन् । साथै,महामन्त्री थापाले सहकारी ‘ठग’को आरोपित नै गृह मन्त्रालयमा रहँदा पीडितले कसरी न्याय पाउँछन् भन्दै प्रश्न गरेका छन् । उनले यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा जवाफ दिनुपर्ने बताए । जीबी राईसँग मिलेर पोखराको सूर्यदर्शनसहित अरू सहकारीबाट लामिछानेले पनि बचतकर्ताको रकम हिनामिना गरेको आरोपबारे स्पष्ट पार्नुपर्ने उनले माग गरे । “पोखरा महानगरपालिकाको प्रतिवेदनले नै भन्छ– कसैको धितो छैन, तर पनि एक अर्ब झ्वाम ! यसरी छोड्ने भए यसरी सबैलाई छोड्नुपर्छ,” उनले भने, “धेरै लगानी गोरखा मिडिया नेटवर्कमा भएको छ । सहकारीमा जसले ठगी गरेको छ, मेरो मित्र रवि लामिछाने गृहमन्त्री हुुनुहुन्छ । भोलि प्रधानमन्त्री पनि बन्नुहोला, शुभकामना । तर, अध्ययन फियर होस् । प्रमाण नस्ट नहोस् । अहिले प्रमाण प्रहरीहरूसँग छ । जो मुछिएको छ, उसले आफैँले अनुसन्धान गर्छ भन्ने कसरी विश्वास गर्ने ?” प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर जवाफ दिनुपर्नेमा उनले जोड दिए । “यो संसद्, हामीलाई जवाफ चाहिएको छ । प्रधानमन्त्रीको जवाफ चाहिएको छ, रोस्ट्रममा हामीलाई चाहिएको छ,” उनले भने । सरकारले सरकारले सुन प्रक्ररणमा जस्तै काम गर्दै गए सरकारलाई आफूहरूको पूर्ण साथ रहने थापाले बताए ।आफु सदन चलाउन र कानुन निर्माणको काममा सरकारलाई सहयोग र साथ दिन तयार रहेको तर प्रधानमन्त्रीले सहकारी ठगी काण्डमा पनि निष्पक्ष छानविन गर्नेमा आश्वस्त पार्नुपर्ने उनले बताए।