काठमाडौंका यी स्थानमा आज बिजुली काटिदैँ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा बिद्युत् कटौती गर्ने भएको छ । 

विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान आठ बजेदेखि मध्यान्न १२ बजेसम्म सो क्षेत्रमा बिजुली कटौतीका लागि आग्रह गरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ । 

मित्रपार्क पशुपति कलेज क्षेत्र, विमानस्थल फिडर अन्तर्गत गर्ने ढल विकास आयोजना, विमानस्थल आर्मी ब्यारेकसम्म र बत्तीसपुतली फिडर अन्तर्गत चाबहिल दीर्घायु हस्पिटलदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ । 

यस्तै नयाँ चाबहिल नयाँबस्ती फिडर अन्तर्गत पर्ने मित्रपार्क अगाडि विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले बिहान ७ बजेदेखि आठबजेसम्म चाबहिलचोक र गौरीघाट चोकदेखि नयाँबस्ती पूरै क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । 

बिजुली आपूर्ति नहुँदा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति नियमित हुने प्राधिकरणको सूचनामा उल्लेख छ । 

जुम्लाकाे तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने भएको छ । तिला गाउँपालिका–१ र ७ कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदनउपर सार्वजनिक सुनुवाइमा  आयोजनाका परामर्शदाता तथा वातारणविद् सुरेन्द्रदेव भट्टले उक्त जानकारी दिए। तिलामा जलविद्युत् आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन चार वर्ष पहिला भइसकेको छ । तिला गाउँपालिका र तिलागुफा नगरपालिका भएर बग्ने तिला नदीमा निर्माण हुने प्रस्ताविक आयोजनाको ‘डिजाइन डिस्चार्ज’ ५२ दशमलव ५१ घनमिटर प्रतिसेकेन्ड रहेको वातारणविद् सुरेन्द्रदेव भट्टको भनाइ छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागबाट उक्त योजनाको नापजाँच २०७८ सालमा स्वीकृत भएको हो । आयोजना सञ्चालनबाट प्राप्त हुने रोजगारी, रोयल्टी, सेयर, सामुदायिक सहयोग कार्यक्रम तथा स्थानीय जनताको व्यापार व्यवसायबाट आयआर्जन गर्न जस्ता अनुकूल प्रभाव हुने भएकाले समग्रमा यस आयोजनाबाट स्थानीय स्तरदेखि राष्ट्रियस्तरसम्म लाभ पूग्ने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए। प्रस्ताविक आयोजनाका लागि तिला नदीमा सात मिटर उचाइको बाँध निर्माण गरी तिला नदीको पानीलाई ‘साइड इेन्टेक गेट’मार्फत ग्राभेल ट्र्यापमा पुर्‍याइने छ । सर्ज साफ्टबाट पानीलाई २८९ मिटर लामो स्टिल पेनस्टक पाइपमार्फत ३६ मिटर लम्बाइ, १६ मिटर चौडाइ र ३२ मिटर गहिराइ भएको अर्धसतही विद्युत्गृहमा पुर्‍याई ३८ दशमलव ०७ मेगावाट विद्युत् उत्पादन गरिने विद्युत् विकास विभागका उपसचिव गोपिप्रसाद शाहले जानकारी दिए। उत्पादन भएको विद्युत्लाई १३२ केभी सिङ्गल सर्किटको प्रसारण लाइनमार्फत जुम्ला बजारको सबस्टेसनमा लगेर जोडिने छ । विद्युत् गृहबाट निष्कासन भएको पानीलाई २५ मिटर लामो टेलरेस टनेलद्वारा पुन: तिला नदीमा छोडिने छ । आयोजनाका सम्पूर्ण संरचनाहरु तिला नदीको बायाँ किनारमा रहने छन् । आयोजना कुल लागत नेपाल सरकारको रु सात अर्ब ५६ करोड ७४ लाख ३७ हजार ४०५ लाग्ने अनुमान गरिएको विभागका उपसचिव शाहले बताए। आयोजनाबाट उत्पादन भएको विद्युत् ३० दशमलव २० किमी लामो र १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत जुम्ला बजारमा जोडिने छ । आयोजना निर्माण गर्नका लागि कुल सात दशमलव ५८५ हेक्टर जग्गा आवश्यक पर्ने छ । जसमा वन क्षेत्रको जग्गा चार दशमलव ७७२ हेक्टर र निजी जग्गा दुई दशमलव ८१३ हेक्टर छ ।  आयोजना निर्माण अवधिमा स्थानीयले ३० देखि ३२० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने छन् । स्थानीयलाई रोजगारीमा विशेष प्रथामिकता दिइने छ । निर्माण अवधिभर स्थानीय जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा व्यपार व्यवसाय गर्न सक्ने छन् । जसले गर्दा यहाँका नागरिकको आयआर्जनमा वृद्धि हुने अपेक्षा राखिएको तिला गाउँपालिका–७ का वडाध्यक्ष खुम्बिलाल रोकायाले जानकारी दिए। विद्युत्  गृहको उचाइ समुद्री सतहबाट क्रमण: दुई हजार ३० मिटर र एक हजार ९४५ मिटरको अवस्थिति रहने छ । आयोजना निर्माण तथा सञ्चालनबाट कुल ३४ घरधुरी प्रत्यक्ष रूपमा प्रभावित हुने देखिन्छ । प्रत्यक्ष प्रभावित धरधुरीको विवरण आयोजना प्रभावित सम्बन्धित वडा कार्यालयमा टाँस गरिएको तिला जलविद्युत् आयोजनाले जनाएको छ । तिला जलविद्युत् आयोजनाको अध्ययन अवधि पूरा भएपछि निर्माण अगाडि बढ्ने आयोजनाले जनाएको छ ।

फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशी नदीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याउन लागिएको हो ।  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका जिल्लासँग सिधा यातायात सञ्चालन गर्नेगरी जडान सुरु गरिएको अस्थायी बेलिब्रिज यही मङ्सिर अन्तिमदेखि नियमित हुने भएको छ । विगत छ महिनादेखि अवरुद्ध रहेको यो सगरमाथा लोकमार्गमा फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडानको काम सुरु भएसँगै दुई जिल्ला जोड्ने सिधा यातायात सञ्चालन हुने निश्चित भएको हो ।  गाईघाट–दिक्तेल सडक योजना कार्यालयका अनुसार ठेक्का सम्झौता भइसकेको र सम्पूर्ण सामग्री तयारी अवस्थामा पुगेकाले अबको केही दिनभित्रै काम सम्पन्न हुने जनाइएको छ ।  योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सुभाषकुमार तिवारीका अनुसार आगामी पुस १५ गतेभित्र अस्थायी बेलिब्रिज जडानको काम सम्पन्न गरेर यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।  ठेक्का सम्झौता गरेको लामो समयसम्म सुनकोशी नदीमा पानीको सतह नघटेकाले काम सुरु गर्न केही ढिलाइ भए पनि अब सतह कम हुँदै गएकाले तीव्र गतिमा काम अगाडि बढाइने ठेकेदार कम्पनीले जनाएको छ । अस्थायी बेलिब्रिज जडान गर्ने ठेक्का एमए/एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि कटारी–३ ले लिएको छ ।  मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु ९६ लाख ७७ हजार ९३७ मा ठेक्का सम्झौता गरेर बेलिब्रिज जडानको काम सुरु गरिएको ठेकेदार कम्पनीले जनाएको छ । बेलिब्रिजका लागि आवश्यक सामग्री ल्याइसकिएकाले जडानको काम मात्र बाँकी रहेको जनाइएको छ ।  यस्तै सुनकोशीकै बङ्शिलाघाटमा समेत अस्थायी बेलिब्रिज जडानको काम धमाधम भइरहेको छ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशीस्थित बङ्शिलाघाटमा कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ५७ लाख लगानीमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको हो । गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालिले जडानको जिम्मा लिएको बङ्शिलाघाटको अस्थायी बेलिब्रिज पुस पहिलो हप्ताभित्र सम्पन्न गरेर सञ्चालनमा ल्याउने सम्झौतामा उल्लेख । वर्ष जेठ पहिलो सातासम्म सञ्चालन गर्नेगरी जडान सुरु गरिएको अस्थायी बेलिब्रिजको लम्बाइ ५१ दशमलव ८१ मिटर छ । बङ्शिलाघाटको अस्थायी बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले रु एक करोड ८७ लाखमा खरिद गरेर पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरेको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिए।  लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा ढिलै भए पनि बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडान हुने भएपछि हर्षित भएका छन् । मोटरेबल पक्की पुलसमेत निर्माण भइरहेको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानका लागि खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिले सङ्घीय सरकारसँग माग गरेका थिए ।  बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानका लागि सङ्घीय सरकारले बजेट उपलब्ध नगराएपछि प्रदेश सरकारले बजेट उपलब्ध गराएर जडानको काम सुरु गरिएको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले जानकारी दिए। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने स्थानीय तहका स्थानीयको समस्यालाई दृष्टिगत गर्दै बङ्शिलाघाटमा मोटरेबल पक्की पुल निर्माणको काम सुरु गरिए पनि त्यसले गति लिन सकेको छैन । तीन वर्ष आठ महिनाभित्र बनाइसक्नुपर्ने गरी कालिका–बेदान्सी जेभीले विसं २०७७ पुस २८ गते ठेक्का सम्झौता गरेको मोटरेबल पक्की पुलको पिलर ठड्याउने काम मात्र भएको छ । 

देउवा-ओली भेटवार्ता: राष्ट्रिय सभा निर्वाचन र समसामयिक विषयमा छलफल

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास महाराजगञ्ज पुगेका छन्। अध्यक्ष ओलीको सचिवालयका अनुसार दिउँसो साढे ३ बजे भेटवार्ता हुने कार्यक्रम थियो, र अहिले उनीहरूबीच छलफल भइरहेको छ। भेटमा ओली र देउवाका अलावा आरजु राणा र राधिका शाक्य पनि सहभागी छन्। भदौ २३–२४ गते भएको जेनजी आन्दोलनपछि दुई नेताबीच यो पहिलो औपचारिक भेटवार्ता हो। त्यसअघि एमाले र कांग्रेसबीच सत्ता साझेदारी थियो, तर आन्दोलनपछि भदौ २४ गते ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। भेटवार्तामा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। यसैबीच, भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको निवासमा उनमाथि भएको आक्रमणपछि उनी सिंगापुरमा उपचार गराएर फर्केका थिए। यो भेटले गठबन्धन पुनर्स्थापनाको सम्भावना बढाउने राजनीतिक विश्लेषकहरूको मत छ। थप विवरणका लागि दुवै दलका नेताहरूको प्रतिक्रिया पर्खनुपर्ने अवस्था छ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने

काठमाडौं – सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचन सशक्त बहिष्कार गर्ने निर्णय गरेको छ। मंसिर १६–१७ गते चितवनमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय बिहीबार भरतपुरमा सार्वजनिक गर्दै पार्टीले चुनाव बहिष्कार गर्ने जनाएको हो। जेन्जिर आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई 'अमेरिकी योजनामा बनेको कठपुतली सरकार' भन्दै आएको यो पार्टीले निर्वाचन प्रक्रियालाई पूर्ण रूपमा बहिष्कार गर्ने निर्णय गरेको छ। पार्टीको साङ्गठनिक क्षमताअनुसार वर्तमान सरकार र व्यवस्थाको भण्डाफोर गर्दै निर्वाचन बहिष्कारको कार्यक्रम अगाडि बढाउने महासचिव गजुरेलले जानकारी दिए। यसैबीच, पार्टीले देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी, जनवादी तथा वामपन्थी शक्तिहरूबीच संयुक्त मोर्चा निर्माण गर्ने र स्वाधीन संयुक्त सरकारको पक्षमा आन्दोलनलाई तीव्रता दिने पनि घोषणा गरेको छ।

बागमती प्रदेशमा दाेस्राे दल बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’

काठमाडौं । बागमती प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टी नेकपा (एमाले)भन्दा ठूलो दलको रूपमा उभिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका कम्युनिस्ट घटक र दलहरूको एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टीको बागमतीमा संख्या वृद्धि भएको हो । ४ मंसिर २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा एमाले बागमतीमा दोस्रो ठूलो दल बनेको थियो । कुल ११० सदस्यीय बागमती प्रदेश सभामा नेपाली कांग्रेस ३७ सिटसहित पहिलो दल रहँदै आएको छ । एमालेका २७ सिट रहेका छन् । एकीकरणअघि माओवादी केन्द्रका २१ र एकीकृत समाजवादीका ७ गरी २८ प्रदेशसभा सदस्य रहेकोमा एकीकरणपछि यी सबै सांसद नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध भएका छन् । यससँगै बागमती प्रदेशमा तेस्रो शक्ति बनेको कम्युनिस्ट पार्टी अब एमालेभन्दा ठूलो दल बनेको हो । प्रदेशमा राप्रपाका १३, नेमकिपाका ३ तथा हाम्रो नेपाली पार्टीका २ जना प्रदेशसभा सदस्य छन् । ११९ स्थानीय तह रहेको बागमती प्रदेशमा २३८ प्रमुख/उपप्रमुख पद छन् । स्थानीय तहमा नेपाली कांग्रेसका १०८ जना प्रमुख/उपप्रमुख छन् । एमालेका ६० जना छन् । माओवादी केन्द्रका ५७ र एकीकृत समाजवादीका ९ स्थानीय तहका प्रमुख/उपप्रमुख एकीकृत भएपछि नेपाली कम्युनिस्ट पार्टीका ६६ जना पुगेका छन्, जसले स्थानीय तहको संरचनामा पनि एमालेलाई पछाडि पारिदिएको छ ।

देशभरका मतदानस्थलको सुरक्षा विश्लेषण: ३,५१८ अतिसंवेदनशील, ४,५२९ संवेदनशील

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएका १० हजार ९२६ मतदानस्थलमध्ये ३५१८ (३२.१९%) अतिसंवेदनशील र ४५२९ (४१.४५%) संवेदनशील रहेको गृह मन्त्रालयले जनाएको छ । सामान्य सूचीमा २८७९ (२६.३४%) मतदानस्थल मात्र परेका छन् । अतिसंवेदनशील र संवेदनशील मतदानस्थल मिलेर करीब ७४ प्रतिशत पुगेका कारण निर्वाचन सुरक्षा चुनौतीपूर्ण रहने गृहको आकलन छ । मतदानस्थल थपघट भइरहेको हुँदा संख्या परिवर्तन हुन सक्ने पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जेन–जी आन्दोलनका क्रममा जेलबाट फरार कैदीबन्दी, प्रहरीबाट लुटिएका हतियार, आपराधिक समूह, टोले गुन्डा, राजनीतिक दलका भ्रातृ संगठन तथा सीमापार स्रोतबाट हुने गतिविधिलाई मुख्य सुरक्षा जोखिम मानिएको छ । प्रदेशगत विवरणअनुसार मधेश सबैभन्दा जोखिमपूर्ण देखिएको छ। मधेशका २१५७ मतदानस्थलमध्ये ११६८ (५४%) अतिसंवेदनशील र ८२९ (३८%) संवेदनशील छन् । सुदूरपश्चिममा ११६३ मध्ये ४४३ अतिसंवेदनशील र ४१० संवेदनशील छन् । कोशी, बागमती, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशमा पनि करिब एकतिहाइदेखि आधा मतदानस्थलसम्म संवेदनशील सूचीमा परेका छन् । निर्वाचनका लागि करिब तीन लाख सुरक्षाकर्मी खटाइनेछन् । पहिलो घेरामा म्यादी प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना रहनेछ । अतिसंवेदनशील मतदानस्थलमा कम्तीमा १२, संवेदनशीलमा १० र सामान्यमा ८ सुरक्षाकर्मी तैनाथ गरिनेछ । सेना स्थलगत तथा हवाई गस्ती, सामरिक सुरक्षा तथा मतपेटिका ढुवानीमा सहभागी हुनेछ ।  गृहले भौगोलिक विकटता, खुला सीमा, जनघनत्व र विद्यमान घटना–जोखिमलाई आधार मानेर मतदानस्थल वर्गीकरण गरिएको जनाएको छ ।

प्रधानमन्त्रीको आव्हानमा आज सर्वपक्षीय बैठक, नेकपाबाट शक्ति बस्नेत र प्रकाश ज्वाला सहभागी हुने

काठमाडौं – आगामी निर्वाचनको तयारी र सुरक्षाका विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख पाँच राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूसँग बैठक बोलाएकी छन्। बैठक दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा हुने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दिएको जानकारीअनुसार, यो सर्वपक्षीय छलफलले निर्वाचन प्रक्रिया सहज र शान्तिपूर्ण बनाउन आवश्यक रणनीतिमा केन्द्रित हुनेछ। बैठकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) सहितका पाँच प्रमुख दलका प्रतिनिधिहरू सहभागी हुनेछन्। प्रत्येक दलका तर्फबाट दुई–दुई जना प्रतिनिधि बोलाइएको मन्त्री खरेलले बताए। नेकपाको तर्फबाट बैठकमा शक्तिबहादुर बस्नेत र प्रकाश ज्वालाले प्रतिनिधित्व गर्ने पार्टीले जनाएको छ। अन्य दलहरूका प्रतिनिधिहरूको विवरण तत्काल उपलब्ध नभए पनि, बैठकले निर्वाचनको मिति घोषणा, मतदाता शिक्षा, सुरक्षा व्यवस्था र सम्भावित चुनौतीहरूको सम्बोधनमा विशेष जोड दिने अपेक्षा गरिएको छ। निर्वाचन आयोगका प्रमुख र सुरक्षा निकायका उच्च अधिकारीहरू पनि उपस्थित हुनेछन्। सरकारका एक अधिकारीका अनुसार, यो बैठकले राजनीतिक दलहरूबीचको सहकार्यलाई मजबुत बनाउने र निर्वाचनलाई निष्पक्ष तथा हिंसारहित बनाउने उद्देश्य राखेको छ। विगतका निर्वाचनहरूमा देखिएका सुरक्षा समस्याहरूलाई ध्यानमा राख्दै यो छलफलले ठोस कार्ययोजना तयार पार्न योगदान पुर्‍याउने विश्वास गरिएको छ। यो बैठकले नेपालको राजनीतिक वातावरणलाई थप सकारात्मक बनाउने अपेक्षा गरिएको छ।

आव विश्व माटो दिवस मनाइँदै

काठमाडौं । ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर १२औँ विश्व माटो दिवस मनाइँदैछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्यसअन्तर्गतका अन्य निकायले १२औँ विश्व माटो दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । मङ्सिर १४ गते माटोको उर्वरा शक्तिको दिगो व्यवस्थानका लागि विश्वस्तरमा जनचेतना अभिवृद्धिमार्फत एकता एकताबद्ध प्रयासका लागि प्रत्येक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाउने गरिएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।  खाद्य तथा कृषि सङ्गठन (एफएओ)को सिफारिसमा संयुक्त राष्ट्रसङ्घको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ गतेदेखि विश्व माटो दिवस मनाउन थालिएको पनि उनले सुनाए । यस वर्ष स्वस्थ माटोका लागि स्वस्थ सहर भन्ने नाराका साथ विश्व माटो दिवस मनाउन लागिएको हो । मङ्सिर १४ गतेदेखि दिवस मनाउन सुरु गरेको मन्त्रालयले (आज) शुक्रबार मूल कार्यक्रम गरी १२औँ विश्व माटो दिवस मनाउन लागिएको कृषि विभागका महानिर्देशक सञ्जेलले बताए । यस वर्ष कृषि विभाग, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, एफएओ, नेपाल माटो विज्ञान समाज र विभिन्न निकायको सहकार्यमा विश्व माटो दिवस मनाउने तयारी गरिएको छ । नेपालमा सन् २०१४ डिसेम्बर ५ मा काभ्रेपलाञ्चोकको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुआतसँगै विश्व माटो दिवस मनाउन थालिएको उनले बताए ।  दिगो माटो व्यवस्थापनमार्फत माटोको उर्वराशक्ति सुदृढ गरी स्वस्थ माटो भावी पुस्तालाई हस्तान्तरण गर्नु विश्व माटो दिवसको उद्देश्य भएको उनले बताए । डिजिटल माटो नक्साको तथ्याङ्कअनुसार नेपालमा जाँचिएको कुल माटोमध्ये करिब ५४ प्रतिशत माटो अम्लीय, २९ प्रतिशत तटस्थ र १७ प्रतिशत माटो क्षारीय प्रकृतिको रहेको कृषि विभागका अधिकारीको भनाइ छ । पूर्वी नेपालको माटो पश्चिम नेपालको तुलनामा बढी अम्लीय रहेको तथ्याङ्कले देखाएको छ । नेपालको अधिकांश माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएको छ । करिब ३७ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम, ४५ प्रतिशतमा मध्यम र १८ प्रतिशतमा उच्च रहेको विभागले जनाएको छ । तराईको माटोमा हिमाल र पहाडको तुलनामा प्राङ्गारिक पदार्थ कम छ । नेपालमा प्रतिवर्ष करिब १।८ मिलीमिटर माथिल्लो सतहको माटो भूक्षयका कारण ह्रास हुने गरेको तथ्याङ्क छ । देशभर करिब २८ प्रतिशत माटोमा नाइट्रोजन कम, ४८ प्रतिशतमा मध्यम र २४ प्रतिशतमा उच्च छ । फस्फोरस र पोटास पनि धेरै स्थानमा असन्तुलित अवस्थामा रहेको पाइएको छ । सुक्ष्म पोषकतत्वअन्तर्गत जिङ्क, बोरोन र मोलिब्डेनमको मात्रा सामान्यतया कम देखिएको छ । बोरोन विशेषगरी पूर्वी नेपालमा न्यून रहेको विभागले जनाएको छ । यसैगरी सिल्फर पनि मुख्य रूपमा तराई क्षेत्रका माटोमा कम पाइएको छ । यस अवसरमा आज विभागमा औपचारिक रूपमा कार्यक्रम गर्न लागिएको आयोजक समितिले जनाएको छ । 

आज पनि अमेरिकी डलरको भाउ बढ्याे, कुनकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९२ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८० रुपैयाँ ३६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०३ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९५ पैसा र बिक्रीदर १११ रुपैयाँ ४२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३२ पैसा र बिक्रीदर २० रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४९ पैसा र बिक्रीदर चार रुपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४७० रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

यस्ताे छ, प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन् । आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत शनिबारदेखि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रमअनुसार यही मङ्सिर २१ गते बिहान १ देखि अपराह्न ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ । यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ । यस्तै, आगामी माघ ३० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।  प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ । आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । 

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दललाई निर्वाचन चिह्न प्रदान

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता निवेदन दिएका सबै १३ दलको दर्ता स्वीकृत गरी उनीहरूलाई निर्वाचन चिह्न प्रदान गरेको छ । यस निर्वाचनमार्फत रिक्त भएका १८ पद पूर्ति हुनेछन् भने अर्को एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुनेछन् । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार १३ दलले दर्ता निवेदन दिएका थिए । सबै दलको दर्ता स्वीकृत गर्दै आयोगले निर्वाचनमा भाग लिने दलहरूको क्रमसमेत निर्धारण गरेको छ । २०७९ सालको प्रतिनिधि सभा समानुपातिक प्रणालीतर्फ दलहरूले प्राप्त गरेको मतका आधारमा पुराना दलहरूको क्रम निर्धारण गरिएको छ भने नयाँ दर्ता भएका दललाई दल दर्ता निवेदनको दर्ता क्रमअनुसार मतपत्रमा स्थान दिइनेछ । आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपत्रमा क्रमशः नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी–नेपाल पाँचौँ स्थानमा रहनेछन् । त्यसपछि जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी–नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र तराई/मधेश लोकतान्त्रिक पार्टीको क्रम पर्नेछ । नयाँ दर्ता भएका दुई दल—नागरिक उन्मुक्ति पार्टी, नेपाल र श्रम संस्कृति पार्टी- भने मतपत्रको पुछारतिर सूचीकृत हुनेछन् । यी दुई दलसहित नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टीको राष्ट्रिय सभामा प्रतिनिधित्व छैन । आयोगका अनुसार सबै दललाई प्रदान गरिएको निर्वाचन चिह्न सातै प्रदेशमा एउटै रहनेछ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभामा कोशीबाट ३, मधेशबाट ४, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट २–२ र लुम्बिनीबाट ३ सदस्य निर्वाचित हुनेछन् । साथै एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान रहेको छ । राष्ट्रिय सभाका १९ सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदै छ । सभा सदस्य निर्वाचन ऐनअनुसार पदावधि समाप्त हुनुभन्दा कम्तीमा ३५ दिनअघि रिक्त पदको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।

नेपालमा अब ठूलो दरका भारतीय नोट चल्ने

काठमाडौं । नेपालमा भारतीय एक सय रुपैयाँभन्दा ठूला दरका नोट पनि चलनचल्तीमा ल्याउन भारतीय रिजर्भ बैंकले अनुमति दिएको छ ।  सन् २०१६ नोभेम्बरमा भारतले उच्च मूल्यका नोटमा प्रतिबन्ध लगाएको कारण नेपालमा पनि एक सय रुपैयाँभन्दा माथिका नोट प्रयोगमा रोकिएको थियो । भारतीय रिजर्भ बैंकले हालै राजपत्रमा सूचना प्रकाशित गर्दै नेपाल र भुटानमा एक सयभन्दा ठूला दरका भारतीय नोट प्रचलनमा ल्याउन सकिने व्यवस्था गरेको हो । त्यसअनुसार अब नेपाल–भारत आवागमन गर्ने नेपाली तथा भारतीय नागरिकले २५ हजार भारतीय रुपियाँसम्मका उच्च मूल्यका नोट बोक्न वा ल्याउन–लैजान सक्नेछन् । नयाँ व्यवस्थाले भारतबाट नेपाल आउने भारतीय पर्यटक तथा त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई सहज बनाउने अपेक्षा छ । नेपालमा रहेका भारतीय नागरिक तथा अध्ययन वा उपचारका लागि भारत जाने नेपालीले पनि २५ हजार रुपैयाँसम्मका ठूला नोट गर्न सक्नेछन् । भारतको राजपत्रमा सूचना आएपछि नेपाल राष्ट्र बैंकले औपचारिक जानकारी प्रकाशित गरेपछि मात्र यो प्रावधान लागू हुने राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए । “भारतको राजपत्रमा सूचना आइसकेको छ । अब नेपालमा यसलाई लागू गर्न औपचारिक सूचना निकालिन्छ,” पौडेलले भने । तर भारतले उच्च दरका नयाँ नोट चलनमा ल्याउन अनुमति दिए पनि सन् २०१६ को नोटबन्दीमा परेका पुराना नोट भने चल्तीमा आउने छैनन् । नोटबन्दीका कारण नेपालका बैंकमा रहेको झण्डै आठ करोड रुपैयाँ बराबरको भारतीय नोट अझै अवैध नै रहने उनले स्पष्ट पारे । “भारतको नयाँ निर्णयले नोटबन्दीमा परेका नोट चलाउने व्यवस्था मिलेको अर्थ लाग्दैन,” पौडेलले भने, “कतिपयले पुराना नोट राखेका हुन सक्छन्, तर त्यो अब चलाउन मिल्दैन ।” उनले विदेशी मुद्रा घरमै सञ्चित राख्ने प्रचलन सही नभएको र यसबाट पाठ सिक्न आवश्यक रहेको बताए ।

खाेटाङमा राष्ट्रिय विभूति उद्यान सञ्चालनमा

खोटाङ। खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित पर्यटकीयस्थल कपासेभञ्ज्याङमा निर्माण गरिएको ‘राष्ट्रिय विभूति पार्क (उद्यान)’ सञ्चालनमा ल्याइएको छ ।  गाउँपालिकाको रु ७० लाख लगानीमा निर्माण गरिएको राष्ट्रिय विभूति पार्क किरात समुदायको महान चाड साकेला उँधौलीको अवसर पारेर आज (बिहीबार) औपचारिकरूपमा सञ्चालनमा ल्याइएको हो । राष्ट्रिय विभूति पार्क उद्घाटन कार्यक्रममा बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रमसमेत आयोजना गरिएको थियो । नेपालका सबै (१८ जना) राष्ट्रिय विभूतिहरूको मूर्ति राख्नेगरी गोलो घेराभित्र निर्माण गरिएको पार्क गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रूपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले झण्डोत्तोलनसहित मूर्ति अनावरण गरेर औपचारिकरूपमा सञ्चालनमा ल्याएका हुन् । प्राकृतिक रूपमै पर्यटकीयस्थल रहेको कपासेभञ्ज्याङको चौतर्फी विकास गर्नका लागि स्थानीय साने विश्वकर्माको नेतृत्वमा नौँ सदस्यीय समिति गठन गरिएको छ । ‘सेल्मे–कपासे–हलहले पर्यटन प्रवद्र्धन समिति’ नाम दिइएको उक्त समितिले भौतिक पूर्वाधार निर्माणका साथै प्रवद्र्धनको काम गरेको हो । किरात समुदायको महान चाड साकेला उँधौली/उँभौली तथा साउने सङ्क्रान्तिको भोलिपल्ट राँके मेलासमेत लाग्ने कपासेभञ्ज्याङमा स्थानीय बासिन्दाको आफ्नै लगानीमा ८७ घरपरिवार अट्ने एकीकृत बस्तीसमेत निर्माणाधीन अवस्थामा छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको सेभञ्ज्याङलाई प्रवद्र्धन गर्दै बाह्य पर्यटकसमेत भित्र्याएर आर्थिक उपार्जनको माध्यम बनाउने उद्देश्यले भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको वडाध्यक्ष पारस राईले बताए । बहुउद्देश्यीय पर्यटन पार्क (उद्यान) निर्माण गर्ने उद्देश्यले काम थालिएको कपासेभञ्ज्याङमा यसअघि नेपाल सरकार पर्यटन मन्त्रालय र हाल कोशी प्रदेश सरकारबाट रु २०/२० लाख बजेट उपलब्ध गराएको थियो ।  निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको कपासेभञ्ज्याङमा खोटेहाङ गाउँपालिका र टेम्के मैयुङ गाउँपालिकाले सडक निर्माण, खानेपानी, बजार व्यवस्थापन, खेलमैदान तथा पोखरी निर्माण लगायतमा लगानी गरेको छ । करिब तीन हजार रोपनी सार्वजनिक जग्गा रहेको उक्त ठाउँमा अल्लो प्रशोधन केन्द्र र आलु भण्डारण गृहसमेत निर्माणाधीन अवस्थामा छ । कृषि ज्ञान केन्द्र खोटाङले समन्वय गर्नेगरी बहुवर्षीय योजनाअन्तर्गत प्रदेश सरकारबाट प्राप्त बजेटमार्फत आलु भण्डारण गृहको काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

कस्ताे रहला आज सातै प्रदेशकाे माैसम ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।  राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

पर्यटकका लागि बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी । यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास (होमस्टे) सञ्चालन भएको छ । पाँचवटा घरमा एक दिनमा २१ जना बास बस्न सक्ने क्षमताको घरबास सञ्चालन भएको हो । जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना श्रेष्ठको घरमा होमस्टे सुरु भएको समूहका अध्यक्ष सीता खत्रीले जानकारी दिइन् । “गाउँमा आउने पाहुनालाई पारिवारिक वातावरणमा बसोबासको व्यवस्था मिलाउने उद्देश्यले घरबास सुरु गरेका हौँ”, उनले भनिन्, “पर्यटकको चाप बढेपछि थप घरहरूमा पनि होमस्टे सञ्चालन गर्ने योजना छ ।” पाहुना राख्नका लागि होमस्टे सञ्चालकले घरमा छुट्टै कोठा बनाएका छन् । खाट, बेड, विस्तार र शौचालयलाई व्यवस्थित गरेका छन् । एउटा घरमा एकदेखि दुईवटा कोठामा पाहुनाका लागि व्यवस्था गरिएको छ । घरका कोठाबाटै हिमाल देख्न सकिन्छ । तोरीपानी प्रकृति र संस्कृतिका साथै जैविक विविधता र ऐतिहासिक हिसाबले पनि महत्त्वपूर्ण छ । विभिन्न जातजातिको मिश्रित बसोबास छ । उनीहरूको संस्कार, रहनसहन र ग्रामीण जीवनशैलीमा रमाउन सकिन्छ । पाहुनालाई स्थानीय गौरीया गुडुरा जातको धानको भात, कोदो र फापरको पीठोको ढिडो तथा रोटी, टिमुरको चटनी, लोकल कुखुरा, खसीको मासु, दूध, दहीका परिकारको स्वाद चखाइने होमस्टे सञ्चालक युव गिरीले बताए ।  “गाउँमै उत्पादन भएको खाद्यान्न, तरकारी, फलफूल र पशुजन्य उत्पादनको परिकारको स्वाद चखाउँछौँ”, उनले भने, “पर्यटकले यानीमाया, पञ्चेबाजा र भजनमा नाच्न पाउँछन् ।” पाहुनाका लागि होमस्टे सञ्चालकहरूले आफैँ तरकारीखेती, कुखुरा र गाईभैँसीपालन गरेका छन् । तोरीपानी मसलेदार फल टिमुरको पकेट क्षेत्र हो । टिमुरको चटनी सयपत्री होमस्टेको विशेष परिकार हो । फर्कँदा पाहुनालाई टिमुर, भटमास र भागो कोसेली दिने गरिएको होमस्टे सञ्चालक जमुना श्रेष्ठले बताइन् । रु एक हजार ५०० खर्चमा एक रात बास बस्न सकिन्छ । होमस्टे सञ्चालनका लागि इको हिमालय संस्थाले तालिम र पूर्वाधार निर्माणमा सहयोग गरेको छ । संस्थाका निर्देशक नारायण ढकालले प्रतिघर रु ७० हजारबराबरको सामग्री र समूहलाई रु दुई लाख सहयोग गरेको जानकारी दिनुभयो । इको हिमालयले तोरीपानीमा टिमुरखेती विस्तार, गुणस्तर सुधार र बजारीकरणमा सहयोग गर्दै आएको छ । समुद्री सतहदेखि एक हजार ७५० मिटर उचाइमा अवस्थित तोरीपानीको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथी हिमशृङ्खला देखिन्छ । सूर्योदय र सूर्यास्तको समयमा हिमालको मनमोहक दृश्य देखिन्छ । बेनी बजारदेखि नौ किलोमिटर उत्तरतर्फ रहेको तोरीपानीमा बेनीदेखि करिब ३० मिनेट सवारीसाधनमा यात्रा गरेपछि पुगिन्छ । बेनीदेखि अर्थुङ्गे, जामुनाखर्क हुँदै किराखोरसम्म पाँच किलोमिटर सडक पक्की छ । किराखोरदेखि नेप्टेचौर जोड्ने करिब दुई किलोमिटर सडक कालोपत्र भइरहेको छ । नेप्टेचौरदेखि तोरीपानी जोड्ने थप दुई किलोमिटर सडक ग्राभेल गर्न पूर्वाधार निर्माणाधीन अवस्थामा छ । तोरीपानीको शिरमा पर्यटकीयस्थल टोड्के, ऐतिहासिकस्थल ढोलथान दरबार, धार्मिकस्थल पछै छन् । ढोलथानामा बाइसेचौबिसे राज्यका पालामा बर्खायामको राजधानी थियो । दरबारका भग्नावशेष अझै देख्न सकिन्छ । तोरीपानी हुँदै पैदलयात्रा र सडकको प्रयोग गरेर बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जान सकिन्छ । फेदीमा मुक्ति क्षेत्रको प्रवेशद्वारका रूपमा परिचित गलेश्वर शिवालय मन्दिर छ ।