नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल हो : मन्त्री शर्मा

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल भएको बताएकी छिन् ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उनले छायाँकन स्थल र कथावस्तु दुबै हिसाबले नेपाल चलचित्रका लागि महत्वपूर्ण स्थल भएको बताइन्। 

‘हिमाल, पहाड र तराईको भौगोलिक विविधिताको अनुपम संगम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसाबले विश्वमै समृद्ध मुलुक नेपाल चलचित्र छायाँकनका लागि महत्वपूर्ण स्थल हो’– मन्त्री शर्माले भनिन्– ‘यहाँका रमणीय प्राकृतिक सम्पदाको सामीप्यतामा गरिने छायांकन मात्र होइन, कहिल्यै पराधिन बन्नु नपरेको नेपाल राष्ट्रको गौरवशाली इतिहास तथा सामाजिक सांस्कृतिक सम्पदाको अखण्ड विरासत चलचित्रका लागि महत्वपूर्ण कथावस्तु पनि हुन् ।’


मानव जातिका दुःखका कारण र यसको समाधानको विधि पत्ता लगाएर विश्वलाई सुख र शान्तिको सन्देश दिने गौतम बुद्धको जन्मस्थल नेपाल बहुभाषिक, बहुसाँस्कृतिक र बहुजातीय मुलुक रहेको औल्याउँदै उनले नेपाली संस्कृतिको अभिन्न अंगको रुपमा रहेका मूर्त र अमूर्त सबै सम्पदाहरु चलचित्रका महत्वपूर्ण कथावस्तु र छायांकनका लागि मनोरम स्थल रहेको बताइन्।
 
नेपाली चलचित्रले यहाँको सामाजिक, साँस्कृतिक, आर्थिक समुन्नति तथा आपसी सद्भाव कायम गर्न ठूलो योगदान दिंदै आएको उललेख गर्दै मन्त्री शर्माले थपिन्– ‘नेपाली चलचित्र क्षेत्रलाई मर्यादित, व्यावसायिक बनाउन र मौलिक एवं स्तरीय नेपाली चलचित्र निर्माणमा अभिप्रेरित गर्न तथा यसको बजारीकरणमा समयसापेक्ष विकास गर्दै लैजान सबैको उत्तिकै योगदान र सकारात्मक भूमिका अपरिहार्य रहन्छ ।’

अब नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिंदै मन्त्री शर्माले उच्चतम प्रविधिको प्रयोग गरेर गुणस्तरीय चलचित्र बनाउने र विश्व बजारमा नेपाली चलचित्रलाई विस्तार गर्ने दुबै काम महत्वपूर्ण भएको बताइन्। 

‘नेपाली चलचित्रको विश्वब्यापी बजारीकरणले एकातिर चलचित्र क्षेत्रको आर्थिक उनन्नयनमा टेवा पुग्नेछ भने अर्कोतिर पूर्वीय संस्कृतिको प्रवर्धन र विस्तारमा सहयोग पुग्नेछ’– मन्त्री शर्माले भनिन्– ‘सूचना प्रविधिका कारण सिर्जित विश्वब्यापीकरणले नेपालजस्ता प्राचीन मुलुकहरुको मौलिक संस्कृति लोप हुने खतरा बढ्दै गएको छ । त्यसो हुन नदिन हाम्रा मौलिक संस्कृतिसँग जोडिएका कथावस्तुमा धेरैभन्दा धेरै चलचित्र निर्माण गर्ने र त्यसको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने आवश्यकता छ ।’

सरकारले नेपाली चलचित्र क्षेत्रलाई थप रचनात्मक र सिर्जनशील बनाउन सहयोग पुग्ने गरी  स्टोरी बैंक स्थापना र ऐतिहासिक चलचित्र तथा वृत्तचित्र निमाणलाई प्रोत्साहन, काभ्रेमा चलचित्र छायाङ्कन स्टुडियो र दोलखा चलचित्र नगरी आयोजना, बाल चलचित्र महोत्सव जस्ता कार्यक्रम अघि सारेको जानकारी दिंदै उनले यो वर्षदेखि चलचित्रको माध्यमबाट सामाजिक सांस्कृतिकरुपान्तरणमा योगदान पुर्याउने चलचित्रकर्मीहरुलाई सम्मानको कार्यक्रम पनि थालिएको बताइन् । 

सरोकारवालासँगको परामर्शमा चलचित्र क्षेत्रसँग सम्बन्धित कानुन परिमार्जनमा सरकारले गृहकार्य सुरु गरेको जानकारी दिंदै मन्त्री शर्माले यस क्षेत्रा आउने नीति र कानुनमा विरोध र समर्थन मात्रै भन्दा रचनात्मक सुझाव पनि विज्ञ र सरोकारवालाहरुलाई आग्रह गरिन्। महोत्सव चैत ५ गतेसम्म चल्ने छ ।

सुनचाँदीको भाउ फेरी बढ्यो

काठमाडौं ।  अघिल्लो दिन तोलामा १ हजार रुपैयाँ घटेको सुन बिहीबार फेरि बढेको छ । हिजो प्रतितोला १ लाख २५ हजारमा झरेको सुन आज भने ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । १ लाख २५ हजार ८ सय रुपैयाँमा बिहीबार सुनको कारोबार भइरहेको छ । बिहीबार एकै दिन चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १४६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १५१५ रुपैयाँ पुगेको छ ।

लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं । अबैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन् । देशका विभिन्न ठाउँबाट चेकजाँचको क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।   मोरङको बिराटनगर महानगरपालिका १५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९२ मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका १२ बस्ने राजकुमार कामत र २४ वर्षीय आशिष पोदार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को १० प ४४७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी मोरङ, सुन्दरहरैंचा नगरपालिका ३ बस्ने ३० वर्षीया सुनिता राईलाई अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम, गाँजा ३ किलो ५ सय ग्राम, डिजिटल तराजु २ थान र नगद ५ लाख ३८ हजार २ सय ५० रूपैयाँसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध र नगद फेला पारी उनलाई पक्राउ गरको हो ।  भक्तपुर, मध्यपुर ठिमी नगरपालिका ४ नयाँ ठिमीबाट अवैध लागूऔषध गाँजा २ किलो १५ ग्रामसहित सोही ठाउँ बस्ने सिन्धुली लामाचौर गाउँपालिका(७ घर भएकी ३९ वर्षीया सुष्मा तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै आवश्यक सोधपुछको लागि अन्य ३ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  काभ्रे, पनौती नगरपालिका ५ नैकिङटार बस्ने ४१ वर्षीय नकुल तिमल्सिनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३८ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं, जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   झापा, दमक नगरपालिका(३ बस्ने ३० वर्षीय दावा तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बेलडागीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका ३ रामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित जानकी गाउँपालिका(७ बस्ने २६ वर्षीय राज कुमार चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरको हो ।  यसैगरी कैलाली, गोदावरी नगरपालिका १ भरतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय माधब बिष्टलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजा घर संचालक पक्राउ

काठमाडौं । बालिकाहरुलाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौंमा एक जना खाजाघर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ शिबचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजा घरका संचालक उदयपुर बेलका नगरपालिका ५ ठेगाना भएका ३८ वर्षीय हिरन राईलाई प्रहरीले पक्राउ गरेको हो ।  उक्त खाजा घरमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रहेको आरोपमा राईलाई पक्राउ गरेको हो ।  साथै उक्त स्थानबाट नाबालिका सहित दुई जनालाई प्रहरीले उद्दार समेत गरेको छ ।  उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ र पाकिस्तानी राजदूत हाश्मीबिच भेटवार्ता

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र पाकिस्तानका राजदूत अब्रर हाश्मीबीच भेटवार्ता भएको छ । भेटमा राजदूत हाश्मीले परराष्ट्रमन्त्री  श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका छन् । नवनियुक्त उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठलाई आज सिंहदरवार भेटवार्ता गर्दै राजदूत हाश्मीले बधाई तथा शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उनीहरु बिच दुई देशको आपसी हितका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीहरुको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक ५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन्। नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरे। मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि उनको भनाई छ। हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछाने मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए। मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत उनीहरुलाई बस चढाउन आएका थिए । त्यही बेला तीनै जनालाई कारले ठक्कर दिंदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो। उनीहरुको शव पोष्ट मार्टमका लागि फरवानिया अस्पतालमा राखिएको छ। शवलाई फरेन्सिक जाँचका लागि पठाइएको र कार चालक कुवेतका नागरिकलाई नियन्त्रणमा लिएर स्थानीय प्रहरीले अनुसन्धान थालेको समाचारमा जनाइएको छ।

पारदर्शिता कायम गर्न सहकारीलाई डिजिटाइजेशनमा लैजानूपर्छ : मन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीमा सञ्चालकको मात्रै गल्तीले अहिलेको समस्या नआएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आजबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या नआएको बताए । उनले सरकारको नियमन कार्यशैलीमा पनि प्रश्न गरे ।  सहकारीबाट ऋण लिएर ठूूला ठूला हाउजिङ र गाडीमा लगानी गर्दा राज्य र नियमाक निकाय कहाँ थियो? उनले प्रश्न गरे । सहकारीको नियमन गर्न बसेका निकायहरुले राज्यबाट सुविधा लिने तर यति ठूलो समस्या आउँदा ध्यान नदिनु दुखःद् भएको उनको भनाई छ । सदस्यको बचतबाट ऋण दिएकाले समयमै ऋणको साँवा, ब्याज चुक्ता गर्न उनले आग्रह गरे । ऋण नतिर्ने छुट कसैलाई नभएको भन्दै मन्त्री गिरीले कतिपय ऋणीका कारण सहकारीहरु समस्यामा परेको बताए । सहकारीका सञ्चाललाई थुनेर मात्रै बचत फिर्ता नहुने भन्दै समयमै प्रभावकारी नियमन नहुँदा समस्या आएकाले समाधानको निम्ती पनि समय दिनुपर्ने उनको भनाई  । यस्तै, उनले सञ्चालकलाई जेल पठाएर सहकारीका बचतकर्ताको बचत फिर्ता हुन नसक्ने धारणा राखे । ‘सबैलाई जेल पठाएर समस्याको समाधान हुँदैन, यस्तो कार्यले क  हामीले ठूलो समस्या भोग्नु पर्ने हुन्छ, बेलैमा सचेत बन्नुपर्छ,’ उनले भने । ‘सहकारी क्षेत्रमा केही व्यक्तिले गलत गर्यो भन्दैमा सबैलाई लज्जित गर्नु हुँदैन, यो अवस्था हुँदा सरकार कहाँ थियो,’ उनले प्रश्न गर्दै भने, ‘ऋण खाने प्राडोमा र ऋण दिने जेलमा छन्, सहकारी र बैंकबाट ऋण लिएर छोराछोरीलाई अमेरिका र अष्ट्रेलिया पठाउने अनि अहिले समस्या आयो भनेर सञ्चालकलाई गाली गर्ने ?’ सहकारीमा पारदर्शिता र विश्वसनीयता कायम गर्न प्रविधिको प्रयोग अनिवार्य रहेको बताए । प्रविधिमार्फत सदस्यहरुलाई संस्थाको हरेक गतिविधिका बारेमा जानकारी दिन सके विश्वास बढ्ने उनको बुझाई छ । सहकारी नियमनका लागि छुट्टै नियामक निकाय आवश्यक रहेको र राष्ट्र बैंक जस्तै निकाय आवश्यक भैसकेको मन्त्री गिरीले बताए । पारदर्शीताको अभावले केही सहकारीमा समस्या आएकाले प्रविधिमा साक्षत्कार हुँदै सहकारी अगाडी बढ्न उनले सुझाए ।  

प्रतिनिधि सभा बैठक जारी (प्रत्यक्ष प्रसारण)

काठमाडौं । प्रतिनिधिसभा बैठक जारी छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११  बजे देखि बसिरहेको हो । बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक,२०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । त्यस्तै ,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक, २०८० र निर्माणमूखी सामाग्री ९व्यवस्थापन तथा नियमन० विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  

जनप्रगतिशिल मन्च युरोपको महाधिबेशन बार्सिलोनामा हुँदै

काठमाडौं । यहि मार्च १७ र १८ गते स्पेनको बार्सिलोनामा हुने नेपाली जनप्रगतिशिल मन्च युरोपको ५ औ महाधिबेशनको तयारी तिब्र पारिएको छ ।  नेपाली जनप्रगतिशील मन्च (एनपीपीएफ) युरोपको ५ औँ महाधिवेशनका लागि युरोपका विभिन्न देशमा तयारी भैरहेको छ ।  एनपीपीएफ युरोप कमिटीको १५ औँ पूर्ण बैठकले मार्च १७ र १८ गते स्पेनको बार्सिलोनामा ५ औ महाधिबेशनको गर्ने निर्णय गरेको थियो  । यो अधिवेशनले एनपीपीएफ युरोपको नयाँ नेतृत्व निर्वाचित गर्नेछ । अधिवेशनमा युरोपका डेढ दर्जनभन्दा बढी देशबाट एनपीपीएफका प्रतिनिधीहरु सहभागी हुनेछन् । भेलामा विचार र नीतिमाथि तथा परदेशमा नेपालीहरुले भोगेका समस्या बारेमा पनि छलफल गर्ने बताइएको छ । अधिवेशन तयारीका लागि विभिन्न समितिहरु गठन भएको छ ।  सन् २००५ मा एनपीपीएफ युरोपको स्थापना भएको थियो । युरोपका डेढ दर्जन बढी देशमा एनपीपीएफका राष्ट्रिय समिति सक्रिय छन् ।

अमेरिकमा टिकटक प्रतिबन्ध लगाउने विधेयक पास

काठमाडौं ।अमेरिकन हाउस अफ रिप्रेजेन्टेटिभले टिकटक प्रतिबन्ध लगाउने विधेयक पास गरेको छ। चिनियाँ नागरिकको स्वामित्वमा रहेको टिकटक एप अमेरिकालाई नबेचे देशभर प्रतिबन्ध लगाउने सो विधयेकमा उल्लेख छ । चिनियाँको स्वामित्वमा रहेको टिकटक अमेरिकाका लागि सुरक्षा चुनौती भएको भन्दै बुधबार अमेरिकी हाउसले यस्तो विधेयक पास गरेको हो।द न्यूयोर्क टाइम्सका अनुसार सो विधेयक अब सिनेटमा जानेछ।उक्त विधेयक सिनेटले पास गर्ने नगर्ने निर्णय लिनेछ । अमेरिकामा विधयेक कानुन बनेर कार्यान्वयनमा जान पहिले दुबै सदन हाउस र सिनेटले पास भएर विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने हुन्छ। राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो विधेयक कानुन बन्नेछ। राष्ट्रपति जो बाइडेनले कंग्रेस (दुबै सदन) ले यो विधेयक पास गरेमा आफूले हस्ताक्षर गर्ने बताएका छन्। चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकमा अहिले १५ करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताहरू रहेका छन्।

उदयपुरका माओवादी नेता अनिलको निधन

विराटनगर । नेकपा माओवादी केन्द्रका जनयुद्धकालिन पुराना नेता भीमबहादुर अधिकारी अनिलको निधन भएको छ ।  लामो समयदेखि उपचाररत उनको क्यानसर रोगका कारण निधन भएको माओवादी उदयपुरका नेता विवश कटुवालले जानकारी दिए ।  

प्रतिनिधिसभा बैठकमा निजामती सेवा विधेयक प्रस्तुत गरिदै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ । बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक,२०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । त्यस्तै ,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक, २०८० र निर्माणमूखी सामाग्री ९व्यवस्थापन तथा नियमन० विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

आज यी तीन प्रदेशमा हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल  कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली  रहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  पहाडी भू-भागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ। आज राति देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्न श्रम मन्त्रालयले बनायो अध्ययन समिति

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको १६ बुँदे निर्देशन कार्यान्वयन गर्न अध्ययन समिति निर्माण गरेको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो । प्रधानमन्त्री प्रचण्डले गत पुस २५ गते मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गरी १६ बुँदे निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनलाई प्रक्रियागत रूपमा कार्यान्वयन गर्न मन्त्रालयले अध्ययन समिति निर्माण गरेको हो । समितिले २१ दिनभित्र प्रतिवेदन बुझाउने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ताको नाममा जारी विज्ञप्तिमा पूर्व प्रस्थान अभिमुखीकरण तालिमको शुल्क, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अंग्रेजी भाषा आवश्यक हुने सम्बन्धी विषय, दक्षिण कोरियामा इपिएस प्रणालीबाट कामदार पटाइरहेको अवस्थाका बिच इ–सेभन (e7)  भिसामा समेत कामदार पठाउने लगायतका विषयका साथै प्रधानमन्त्रीबाट आएको निर्देशन, विभिन्न सञ्चारका माध्यममा आएका समाचार, श्रमिक/कामदार स्वयंबाट आएका गुनासा एवम् सरोकारवालाहरुको चासो र सुझाब समेतलाई मध्यनजर अध्ययन गर्न समिति गठन गरेको हो । उक्त समितिमा २१ दिनको समय दिइएको उल्लेख छ ।

एनओसीका शाखा प्रमुख पौडेलले दिए राजीनामा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको नो अब्जेक्सन लेटर (एनओसी) शाखाका प्रमुख शान्तिराम पौडेलले पदबाट राजीनामा दिएका छन् । उनले चैत १ देखि लागू हुने गरी शिक्षा मन्त्रालयमा राजीनामा बुझाएको बताए।  सेवाग्राहीहरूलाई सेवा दिन नसकेको भन्दै उनले राजीनामा दिएका हुन् । पछिल्लो समय भक्तपुरस्थित एनओसी शाखामा उच्च शिक्षाको लागि विदेश जाने भन्दै एनओसी लिन आउने सेवाग्राहीको अत्यधिक भिड बढेको छ । भिड थेग्न नसकेर उनले राजीनामा दिएको उनले बताएका छन् ।  राज्यको जिम्मेवारीमा रहेको मैले उत्तर दिनुभन्दा सेवा दिनुपर्छ भनेर राजिनामा दिए ।' मैले सार्वजनिक पदमा बसेर सेवा दिन नसक्ने भएपछि नैतिकताको आधारमा राजिनामा दिएको हुँ,' उनले भने 'म सरुवाको लागि कहि कतै गएको छैन । सेवाग्राहीलाई सेवा दिन नसक्ने भएपछि मैले भोलिदेखि लागुहुने गरी राजिनामा दिएको हुँ ।' हजारौं सेवाग्राहीलाई सेवा दिने ठाउँलाई स्रोत र साधनले युक्त बनाउनुपर्ने उनले बताए ।  पौडेलले मन्त्रालयमा राजीनामा बुझाए पनि सनाखत गर्न नआएका कारण राजीनामा स्वीकृत भई नसकेको मन्त्रालय स्रोतले जनाएको छ

राष्ट्रपतिद्वारा राजदूत पौडेललाई शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई राजदूत पदको पद तथा गोपनीयताको शपथ गराएका छन्।  राष्ट्रपति कार्यालय, महाराजगञ्जमा आज आयोजित समारोहमा नवनियुक्त राजदूत पौडेललाई शपथ गराइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।