भारतमा नरभक्षी ब्वाँसोको ड्रोनमार्फत निगरानी

भारत ।  भारतको उत्तर प्रदेश राज्यका विभिन्न गाउँमा पछिल्ला हप्ताहरूमा ब्वाँसोको आक्रमणबाट ९ जनाको मृत्यु भएपछि नरभक्षी सम्भावित ‘किलर वुल्फ’ ट्र्याक गर्न ड्रोन तैनाथ गरिएको वन अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । मृतकमध्ये अधिकांश बालबालिका रहेकाले स्थानीय बासिन्दाहरू अत्यन्तै त्रसित बनेका छन् ।

शनिबार बहराइच जिल्लामा १० महिनाकी एक बालिकालाई आमा छेउमै सुतिरहेको अवस्थाबाट ब्वाँसोले खोसेर लगेपछि खेतमा मृत फेला पारिएको अधिकारीहरूले जानकारी दिए । त्यसअघि शुक्रबार पाँच वर्षीय एक बालकलाई घरको बाहिर आमासँग देखेरै ब्वाँसोले तानेर लगेको थियो । उखुको खेतमा टाउको काटिएको अवस्थामा फेला परेका ती बालकको अस्पताल पुर्‍याउने क्रममा मृत्यु भएको थियो ।

अधिकारीहरूका अनुसार सेप्टेम्बरयता यस क्षेत्रका धेरै गाउँमा यस्तै ढाँचाका आक्रमणहरू दोहोरिँदै आएका छन् । प्रहरी, वन विभाग तथा मिडिया रिपोर्टहरूका अनुसार बहराइचमा पछिल्ला तीन महिनामा ब्वाँसोको आक्रमणबाट कम्तीमा ९ जनाले ज्यान गुमाइसकेका छन्, जसमा एक वृद्ध दम्पती पनि परेका छन् ।

वन अधिकृत रामसिंह यादवका अनुसार घटनाहरू बढेपछि प्रभावित क्षेत्रमा ड्रोन, क्यामेरा ट्र्याप तथा प्रशिक्षित शुटरहरू तैनाथ गरिएको छ । उनले भने, “यसपटक ब्वाँसोको व्यवहार असामान्य देखिएको छ । हाल तिनीहरू दिउँसो नै सक्रिय हुँदै आएका छन्, जुन सामान्यतया देखिँदैन ।” अन्य अधिकारीहरूले पनि जनावरहरू असामान्य रूपमा साहसी र निडर देखिन थालेको बताए ।

गतवर्ष पनि बहराइचमा यस्तै आक्रमणको लहर देखिएको थियो । जसमा ब्वाँसोको समूहले कम्तीमा ९ जनाको ज्यान लिएको थियो । बहराइच जिल्ला नेपाल सीमा क्षेत्रमा अवस्थित घाँसे मैदान हो, जहाँबाट हिमालयको फेदीसम्म बाक्लो जङ्गल फैलिएको छ ।

विज्ञहरूका अनुसार ब्वाँसोहरूले सामान्यतया मानिस वा गाईवस्तुहरूलाई भोकमरीको अवस्थामा मात्र अन्तिम विकल्पका रूपमा आक्रमण गर्छन् । साना मृगहरू जस्ता कम जोखिमयुक्त शिकार तिनको प्राथमिकता हुने बताइन्छ । भारतभर रहेका करिब ३ हजार ब्वाँसोमध्ये धेरैजसो संरक्षित क्षेत्र बाहिर, मानिसहरूको बस्ती नजिकै बसोबास गर्छन् ।

‘प्लेन्स वुल्फ’ भनेर चिनिने यी जनावरहरू हिमालयन वुल्फभन्दा साना हुन्छन् तथा कहिलेकाहीँ स्यालसँग भ्रमित हुन सक्ने अधिकारीहरूको भनाइ छ ।

स्थानीय बासिन्दाहरू अझै त्रसित अवस्थामा दैनिक जीवन बिताइरहेका छन । “हाम्रा छोराछोरी घरभित्र पनि सुरक्षित छैनन्”, एक बासिन्दाले भने, “हामीलाई सबैभन्दा ठूलो चाहना यही हो कि यी आक्रमणहरू रोकिऊन् र हामीलाई सामान्य जीवन फर्किन दिनुहोस् ।”

चितवनमा बस्ती पसेको गैँडाकाे स्थानान्तरण

चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा पसेर स्थानीयलाई दुःख दिँदै आएको एउटा भाले गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गरिएकाे छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी क्षेत्रबाट सो गैँडालाई स्थानान्तरण गरिएकाे हाे । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अन्दाजी २५ वर्षको भाले गैँडालाई सौराहा सेक्टरको कुमरोज सामुदायिक वन क्षेत्रमा स्थानान्तरण गरिएकाे हाे । बस्तीमा पसेर बालीनाली नोक्सानी गर्ने, बाहिर मात्र बस्न खोज्ने भएकाले नागरिकको सुरक्षाका लागि उक्त गैँडालाई स्थानान्तरण गरिएकाे उनले बताए । उनले समुदायमा पसेर मानवीय क्षति गर्न सक्ने जोखिम बढेकाले स्थानान्तरण गर्नुपरेको बताए । गैँडालाई ‘डार्ट’ गरेर स्थानान्तरण गरिएकाे सूचना अधिकारी मगरले बताए । निकुञ्जले यसअघि पनि बस्ती पसेर स्थानीयलाई त्रास फैलाउँदै आएका गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गर्दै आएको उनले बताए । उनका अनुसार विगतका वर्षहरूमा निकुञ्जको पश्चिम क्षेत्रमा गैँडाको सङ्ख्या बढेपछि आन्तरिक रूपमा व्यवस्थापन गर्नका लागि स्थानान्तरण गरिँदै आएको छ ।

जङ्गल सफारी सञ्चालनपछि बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

बाँके । बाँके राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र जङ्गल सफारी सुरु गरेपछि पर्यटकको चहलपहल बढेको छ । निकुञ्जले २०८२ सालको सुरुवातबाटै सुरु गरेको जङ्गल सफारीका लागि आउने पर्यटकको सङ्ख्या र माग बढ्दै जाँदा निकुञ्ज वरिपरिका होटल र होमस्टेले जीप राखेर जङ्गल सफारी सञ्चालन गरेका छन् । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले निकुञ्जमा यो वर्षको सुरुबाट सञ्चालन गरिएको जङ्गल सफारीका कारण पर्यटकको आगमन बढ्दै गएको जनाउँदै जङ्गल सफारीका लागि निजी लगानी पनि बढ्न थालेको बताए । उनले जङ्गल सफारीका लागि निजी क्षेत्रको लगानी र चासो बढेपछि पर्यटक आगमनमा उल्लेखनीय वृद्धि भएको बताए ।  नेपालगन्ज र कोहलपुरमा खुलेका तारे होटल तथा बैजनाथ र राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सञ्चालनमा रहेका होमस्टे तथा रिर्सोटले नेपाली, भारतीय र तेस्रो देशका पर्यटकलाई लक्षित गरेर जङ्गल सफारी सञ्चालन गरिरहेका छन् । बैजनाथ–१ चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै दुईवटा जङ्गल सफारी जीप सञ्चालनमा ल्याएपछि सफारी गर्ने पर्यटकको घुइँचो लाग्न थालेको मिनी गाभर सामुदायिक होमस्टेका सञ्चालक बाबुराम चौधरीले बताए ।  शनिबार सबैभन्दा बढी आन्तरिक पर्यटकहरु सफारीका लागि आउने गरेको मिनी गाभर सामुदायिक होमस्टेका सञ्चालक चौधरीले बताए । काठमाडौँ, बुटवल, दाङ, सुर्खेत, नेपालगन्ज र भारतका लखनउ, बहराइच तथा ठूला शहरलगायतका स्थानबाट दैनिक ३० देखि ५० जनासम्म पर्यटक सफारीका लागि आउने गरेको पर्यटन व्यवसायीले जनाएका छन् । राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगीले जङ्गल सफारीले पर्यटकको सङ्ख्या बढाउन ठुलो सहयोग गरेको जनाउँदै पर्यटक बढ्दै जाँदा स्थानीयको आयस्तर पनि वृद्धि हुने बताए ।  पर्यटन मञ्च बाँकेको संयोजक कृष्णप्रसाद श्रेष्ठले नेपालगन्जदेखि करिब २२ किलोमिटरको दुरीमा रहेको बाँके राष्ट्रिय निकुञ्जमा छिमेकी देश भारतबाट पनि ठुलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने हुँदा त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।  उनले जङ्गल सफारीकै कारण निकुञ्जमा पछिल्लो समयमा बढेको पर्यटकीय गतिविधिले यस क्षेत्रका होटल र पर्यटन व्यवसायीलाई उत्साहित बनाएको बताए । बाँके राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा गणना गर्दा चार बाघ थिए भने २०२२ को गणनामा त्यो सङ्ख्या बढेर २५ पुगेको थियो ।  नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यानको ५५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर नेपालको १०औँ राष्ट्रिय निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरेको थियो । 

नाै वर्षदेखि म्याग्दीमा चिस्यान केन्द्र अलपत्र

पर्वत । पर्वतको मोदी गाउँपालिका–२ पातीचौरमा निर्माणाधीन चिस्यान केन्द्र ९ वर्षदेखि अधुरै छ । राज्यबाट २० लाखभन्दा बढी खर्चिएर बनाइएको पक्की भवन आजसम्म प्रयोगमा आउन नसकेको स्थानीयको गुनासो छ । २०७४ सालमा अर्थ मन्त्रालयबाट ५० लाख विनियोजन भएपछि भवन निर्माण थालिए पनि ५० टन भण्डारण क्षमता भएको चिस्यान केन्द्र पूरा हुन सकेको छैन । पटक–पटक बजेट आउँदै आएको भए पनि सुस्त कामका कारण भवन वर्षौसम्मै व्यक्तिको नामकै जग्गामा परेको थियो, जसलाई पछिल्लो वर्ष मात्र पालिकाको नाममा सारिएको वडा अध्यक्ष बेलबहादुर कार्की बताउँछन् । स्थानीय खेमबहादुर हमालको पाँच आना जग्गा १३ लाख ५० हजारमा खरिद गर्ने कागजी सम्झौता भए पनि उपभोक्ता समितिले रकम भुक्तानी गर्न नसक्दा नामसारी ढिलो भएको थियो । तीन वर्षअघि केन्द्र निर्माणका लागि फेरि ५५ लाख विनियोजन भएको थियो । चालू आर्थिक वर्षमा प्रदेश सरकारले विशेष अनुदानमार्फत ४० लाख छुट्याएको प्रशासकीय अधिकृत बाबुराम पुरीले बताए । सुन्तला र आलु उत्पादनका लागि प्रसिद्ध देउपुर, बनौ, लेस्पारलगायत क्षेत्रका कृषकलाई भण्डारण सुविधा उपलब्ध गराउन पातीचौरमा चिस्यान केन्द्र निर्माण थालेको हो । देउपुरबाट वर्षेनी करोडौँ बराबरको सुन्तला उत्पादन हुने भएकाले केन्द्र सञ्चालनमा आए कृषि आम्दानी बढ्ने स्थानीयको अपेक्षा छ ।

काठमाडौंद्वारा जेन-जी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

काठमाडौं । गत भदौ २३­ र २४ गते भएको जेन-जी आन्दोलनमा काठमाडौँमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ । १६९ जनाको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए । चार समूहमा घाइतेहरूको वर्गीकरण गरिएको छ । अतिगम्भीर घाइतेको सूचीमा १५, गम्भीर घाइतेमा ५१, मध्यममा ३६ र सामान्य घाइतेको सूचीमा ६७ जना रहेको रिजालले बताए । उनका अनुसार मङ्सिर ५ र १२ गते दुई चरणमा छलफल गरी घाइतेहरूको वर्गीकरण गरिएको हो । असक्तहरूको हकमा भने उपचाररत अस्पतालमा गएर टोलीले वर्गीकरण गरेको उनले बताए । प्रशासन कार्यालयमा आउन अफ्ठयारो हुनेहरूको हकमा एम्बुलेन्समार्फत ल्याएर वर्गीकरण गरिएको हो । प्रजिअको संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ का आधारमा हालसम्म १६९ जनाको वर्गीकरण गरेको हो । प्रशासन कर्यालयले उक्त वर्गीकरण सम्पन्न गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिस पठाउने र सोही आधारमा मन्त्रालयले निर्णय गरी घाइतेहरूको सूची अनुसार आवश्यक सेवा सुविधा र सामाजिक सुरक्षाको व्यवस्था मिलाउने जनाइएको छ । जेनजी आन्दोलनका लागि सुरुमा प्रशासन कार्यालयले ३१५ जनालाई अनुमतिपत्र उपलब्ध गराएको थियो ।

चुनाव त हामी जित्छौँ, जित्छौं, तर राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता अनिवार्य छ : प्रचण्ड

पोखरा, चिप्लेढुंगा — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर राष्ट्रिय संकटमा रहेकाले त्यसबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ।पोखरा चिप्लेढुंगामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले देशको राष्ट्रिय स्वाधिनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिस्ट शक्तिहरू एक जुट हुनु अत्यावश्यक भएको बताउनुभयो । प्रचण्डले एमाले र कांग्रेसका “दुई तिहाइ”बाट जनताले के हासिल गर्न सके भन्ने प्रश्न उठाउँदै कांग्रेस एमालेका कारण राष्ट्र संकटमा फसेको टिप्पणी गर्नुभयो। “हामीले राष्ट्र झण्डै धरापमा पुगेको देख्यौँ।सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौ । तर सरकारबाट हटाइयो । भ्रष्टाचारविरुद्ध लड्न पनि दिइएन।हामीलाई भ्रष्टाचार र राष्ट्रिय स्वाधिनताका लागि लड्न शक्ति पुगेन,” उहाँले भन्नुभयो। कम्युनिस्ट एकताको अभियान चुनावका लागि मात्रै होइन  उहाँले सुरु गरिएको ‘एकता अभियान’ चुनाव जित्ने उद्देश्यका लागि मात्र नभई राष्ट्रको रक्षा, स्वाधिनता संरक्षण र समृद्धिको आधार निर्माणका लागि भएको स्पष्ट पार्नुभयो। “चुनाव त हामी जीत्छौँ, जित्छौं । तर राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता अनिवार्य छ,” प्रचण्डले भन्नुभयो। चुनाव फागुन २१ मै हुनुपर्ने धारणा आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुनै पर्ने भन्दै प्रचण्डले वर्तमान सरकारलाई चुनावी वातावरण निर्माणमा सक्रिय हुन आग्रह गर्नुभयो।पछिल्लो समय सरकार सम्बन्धित पक्षहरूसँग निरन्तर छलफलमा रहेको र चुनाव निश्चित हुने विश्वास व्यक्त गर्नुभयो । “सरकारले जसको जनाधार बढी छ, उसैलाई बेवास्ता गरेर चुनावी वातावरण बनाएन भने त्यो ठीक हुँदैन। यो सरकार मैले र माधव नेपालले रातभर बसेर सहमति गरेर बनेको हो,” प्रचण्डले बताउनुभयो। देशमा जनता संगठित र सचेत नभए पुनः ठूलो संकट उत्पन्न हुने चेतावनी पनि उहाँले दिनुभयो।“यदि जनता जागरुक भएनन्, राष्ट्रियताको भावना बलियो बनाएनन् भने देशमा फेरि संकट आउन सक्छ,” प्रचण्डको भनाइ थियो। सभामा सहभागी कार्यकर्ताले प्रचण्डले उठाएको राष्ट्रिय स्वाधिनता, एकता र चुनावसम्बन्धी मुद्दालाई देश राजनीतिक रूपले संवेदनशील मोडमा पुगेको संकेतका रूपमा लिएका छन्।

नेकपाको एकता सन्देश सभा पोखरामा सुरु, प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्ने

पोखरा  – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभा पोखरामा सुरु भएको छ । चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा आयोजना भएको सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।  पूर्वप्रधानमन्त्री प्रचण्डसहितका पार्टीका शीर्ष नेताहरु बिहान पोखरा पुगेका थिए । सभाले पार्टीको एकताको सन्देशलाई प्रदेशभरि फैलाउने अपेक्षा गरिएको आयोजक समिति सदस्य दीननाथ शर्माले उल्लेख गरे। 

व्यापारीको नाममा एमाले र राजावादीद्वारा नेपाली कम्युनिष्ट पार्टीको सभा विथोल्ने प्रयास

पोखरा । नेपाली कम्युनिस्ट पार्टीले पोखराको मानवअधिकार चोकमा गर्ने भनेको एकता सभास्थलमा व्यापारीको नाममा एमाले र राजावादीहरुले अवरोधको प्रयास गरेका छन् । पर्चा, पोष्टरसहित संगठितरुपमा सभास्थलमा अवरोधको प्रयास भएको हो ।  जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर एकता सन्देश सभा आयोजना गरे पनि व्यवसायीको नाममा एमाले र राजावादीहरुले अवरोधको प्रयास गरेका नेपाली कम्युनिष्ट पार्टीका स्थानीय कार्यकर्ता विज्ञान श्रेष्ठले बताए ।  नेकपाले स्थानीय निकायबाटसमेत अनुमति लिएको छ ।  सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक माधवकुमार नेपाल लगायत शीर्ष नेतृत्वले सम्बोधन  गर्ने तयारी छ । 

स्मृतिमा कमरेड सुनिल र निर्मम: जब शाही सेनाले जहाज र दुईवटा हेलिकप्टरबाट आक्रमण गर्यो...

रमेश मल्ल अब जनयुद्ध रणनैतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरेको पार्टीको निष्कर्ष थियो। संघर्षको मुख्य साधनको रूपमा रहेको जनमुक्ति सेनालाई सात डिभिजनमा विस्तार गर्ने पार्टीको निर्णय भएको थियो। पार्टी निर्णयअनुसार तत्कालीन राप्ती क्षेत्रलाई “केन्द्रीय आधार इलाका” नामाकरण गरिएको थियो। केन्द्रीय आधार इलाकामा मुख्य कार्यक्षेत्र रहने गरी पार्टीले निर्माण गरेको पाँचौँ डिभिजनको घोषणा कार्यक्रम रोल्पा र सल्यानको सिमाक्षेत्रमा पर्ने रोल्पा जिनावाङको मनिमारे (हाल गङगादेव गाउँपालिका–३) मा राखिएको थियो। २०६२ साल मङ्सिर १४ गते निर्धारित कार्यक्रम मनिमारेमा सुरु भयो। उक्त कार्यक्रममा जनमुक्ति सेनाका डेपुटी कमान्डर नन्दबहादुर पुन ‘पासाङ’, त्यस क्षेत्रका पार्टी इन्चार्ज नेत्रविक्रम चन्द ‘विप्लव’, डिभिजन इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लगायतका अतिथिहरू उपस्थित हुनुहुन्थ्यो। अखिल (क्रान्तिकारी) का क्षेत्रीय संयोजकको रूपमा मलाई पनि अतिथि दीर्घामा बोलाइएको थियो। डिभिजनको रोलकल सुरु भयो। जनमुक्ति सेनाको ताँती सिङ्गो मनिमारेको फाँटभरि फैलिएको थियो। GPMG समूह भने कार्यक्रम सुरक्षाको लागि डाँडाको टुप्पोमा खटिएको थियो। जनमुक्ति सेनाको पाँचौँ डिभिजन घोषणा भयो। कमरेड किमबहादुर थापा ‘सुनिल’ उक्त डिभिजनका कमान्डर घोषणा गरिनुभयो। कार्यक्रम करिब अन्त्यतिर पुग्दै थियो। त्यसैबेला मनिमारेको आकाशमा शाही सैनिक जहाज, MI–17 हेलिकप्टर र अर्को सानो लडाकु हेलिकप्टर एकपछि अर्को गरी देखा परे। जनमुक्ति सेनाका कमान्डरहरूको भनाइअनुसार अगाडिको जहाज जासुसीका लागि प्रयोग भएको र पछाडि आएका दुई हेलिकप्टर आक्रमणका लागि थिए। शाही सेनाले दुईवटा हेलिकप्टरबाट एकैपटक फायरिङ सुरु गर्‍यो। MI–17 हेलिकप्टरले ८१ मिमि मोर्टारका सेलहरू खसालिरहेको थियो भने सानो हेलिकप्टरले HMG बाट गोलीको बर्सा गरिरहेको थियो। हाम्रो GPMG समूहले डाँडाबाट प्रत्याक्रमण सुरु गर्‍यो। मनिमारे एकाएक रणभूमिमा परिणत भयो। MI–17 हेलिकप्टरमा GPMG को बुलेट लाग्दा झिल्का निस्किएका देखिन्थे। त्यसपछि शाही हेलिकप्टर आकाशमा उचाइ लिँदै उड्न थाल्यो। हाम्रो डिभिजन मनिमारेको चौर छोडेर विभिन्न कभरतिर जाँदै थियो। हेडक्वाटर टिमका कमरेड पासाङ, विप्लव, सुदर्शन, सुनिललगायत केहि चौरको बीचमा रहेको खरको छानो भएको झुप्रोभित्र प्रवेश गर्नुभयो भने कोहि नजिकैको खोल्सोतिर। म पनि अतिथि दीर्घाबाट नेतृत्वको टिमसँगै झुप्रोमा पुगेको थिएँ। खरको छानोमाथि गोलाको वर्षा भइरहेको थियो। हामी भने झुपडीको सानो भित्तामा हेलिकप्टर आक्रमणको आर्क अनुसार घुम्दै–घुम्दै कभर बदल्दै थियौँ। हेलिकप्टर अर्को साइडमा पुगेको बेला कमान्डर कमरेड सुनिलले नेतृत्वलाई खोल्साको कभरतिर लाग्न सल्लाह दिनुभयो। तर उहाँ स्वयं भने त्यही झुप्रोमै रहनुभयो र हेलिकप्टरको गतिविधि अवलोकन गर्न थाल्नुभयो। फाइटर हेलिकप्टर चौरको पूर्वी आकाशमा उड्दै थियो। कमरेड सुनिल गोठ/झुप्रोको ढोकाबाट बाहिर निस्केर साइडको भित्तोबाट हेलिकप्टरको मूभमेन्ट हेर्न खोज्नुभयो। मैले पछाडिबाट “कमरेड, त्यता नजानुहोस्!” भन्दै थिएँ। त्यसैबेला HMG को बुलेट उहाँको देब्रे कन्चटमा लाग्यो र उहाँ भुइँमा पछारिनुभयो। गोली दायाँ कन्चटबाट ठूलो भ्वाङ पारेर निस्किएको थियो। उहाँको मुखबाट “ऐया” बाहेक केही शब्द निस्कन सकेन। उहाँको स्टाफलगायत साथीहरूले उहाँको शरीरलाई ढोकानजिक ताने र हेलिकप्टर पश्चिम दिशामा पुगेको बेला पार्थिव शरीर बोकेर खोल्सातिर लाग्यौँ। यसरी एउटा महान नेता, शिक्षक र कुशल कमान्डर सदाका लागि हामीबीचबाट विदा हुनुभयो। त्यही बेला हामीभन्दा केही मिटर तल, मेरो बाल्यकालदेखिको गाउँका दाजु, राजनीतिक आन्दोलनका प्रेरक र जनमुक्ति सेनाका कम्पनी कमान्डर कमरेड झक्कु प्रकाश पुन ‘निर्मम’ पनि पेटमा गोली लागेर शहीद भइसक्नुभएको रहेछ। त्यो खबरले मलाई अझै बेचैन बनायो। जब झिसमिसे साँझ पर्यो, युद्धभूमिमा परिणत मनिमारे शान्त हुँदै थियो। तर भक्कानिएको भावना र समवेदनाका छालले भने हाम्रो मौनता निरन्तर तोडिरहेको थियो। डिभिजन घोषणा कार्यक्रमकै दिन आफ्नै कमान्डरको सहादत, यो त सोच्नै नसकिने पीडा थियो। अर्कोतिर बाल्यकालदेखिका दाजु समान अग्रज कमरेड निर्ममको सहादत, यी दुबै दुःखद घटनाले मुटु चिरियो। तर पनि, उक्त शोकलाई शक्तिमा रूपान्तरण गर्दै अघि बढ्नुबाहेक हाम्रो सामु विकल्प थिएन। हामीले उहाँहरू प्रति श्रद्धाञ्जली अर्पण गर्यौँ र बाटो नछाड्ने कसम खायौँ। आज हामी त्यस यता २० वर्ष पार गरेर यहाँ आइपुगेका छौँ। एकात्मक राजतन्त्रको स्थान अहिले संघीय लोकतान्त्रिक गणतन्त्रले लिएको छ। नागरिकहरू लोकतन्त्रको सुदृढीकरणका लागि निरन्तर संघर्षरत छन्। उहाँहरू भौतिक रूपमा हुनुहुन्न, तर जनताको नजरमा अमर बन्नुभएको छ। हामी बाँचेका छौँ, गल्ती गर्न सक्छौँ, तर उहाँहरू महान बन्नुभयो। मनिमारेमा अहिले सुनिल-निर्मम सहिद स्मृति पार्क बनेको छ र सहिदहरूको स्मृतिमा कार्यक्रम भैरहन्छन। महान शहीद कमरेड किमबहादुर थापा ‘सुनिल’ र कमरेड झक्कु प्रकाश पुन ‘निर्मम’ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। सुनिल स्मृति गाउँपालिका, रोल्पाका पूर्व उपाध्यक्ष महान सहिद कमरेड सुनिलको जीवनसाथी आदरणीय दिदी बागमती थापा लगायत सम्पूर्ण परिवारजन तथा सल्यानमा रहनुभएका कमरेड झक्कु प्रकाश पुन ‘निर्मम’की ममतामयी आमा रती पुन, उहाँको जीवनसाथी हेमन्ता बुढाथोकी, छोरीहरू सारदा पुन, गायत्री पुन र छोरा भरत पुनप्रति हार्दिक सम्मान एवम् समवेदना प्रकट गर्दछु।

कपिलवस्तुमा बगरको बदामले आम्दानी

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नदीको बगर किसानका लागि बदाम उत्पादनमार्फत आम्दानी गर्ने भरपर्दो स्रोत बन्दै गएको छ । नदीले बनाएको बगर क्षेत्रमा दुई सयभन्दा बढी किसानले बदाम उत्पादन गरी उल्लेखनीय आम्दानी गर्दै आएका छन् । बुद्धभूमि नगरपालिका–१० धनकौली, महाराजगन्जको बरगदी बलरमवापुर, हरदौना, कजराहवा, कपिलवस्तु नगरपालिकाको बिठुवा, सौराहा तथा यशोधरा गाउँपालिकाको सिहाखोर–खोरिया आसपासको बलौटे जमिनमा किसानले बदाम खेती गर्दै आएका छन् । तरकारी उत्पादनमा नमुना मानिने धनकौली बदाम खेतीका लागि पनि महत्वपूर्ण पकेट क्षेत्र बनेको छ । अगुवा किसान बहराइची केवटका अनुसार कपिलवस्तु जिल्लामा करिब २६ हेक्टर क्षेत्रमा बदाम खेती हुँदै आएको छ । त्यसको आधाभन्दा बढी क्षेत्र धनकौलीमै पर्छ । “धनकौलीमा मात्रै ५० भन्दा बढी किसान बदाम खेतीमा छन् । यहाँका किसानले वार्षिक ५० हजारदेखि डेढ लाखसम्म आम्दानी गर्दै आएका छन्,” उनले भने ।  धनकौलीका धरमपुर, करमपुर, मोतीनगर र लोहरौलागाउँका किसानले उत्पादन गरेका बदाम अहिले धमाधम बिक्री भइरहेका छन् । स्थानीय शोभा केवटले चार बिघामा लगाएको बदामबाट यस वर्ष करिब ५० हजार रुपैयाँ आम्दानी भएको बताइन । “बिक्रीको समस्या छैन, मूल्य पनि राम्रो पाइन्छ, त्यसैले बदाम खेती आकर्षक लाग्छ,” उनले भनिन् । एक किलो काँचो बदाम थोकमा १०० देखि १२० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । महाराजगन्ज–बर्गदीघाटका गरिब मुसलमान समुदायका किसानले पनि प्रत्येक वर्ष बदाम खेतीबाट राम्रै आम्दानी हुने गरेको बताएका छन् । तर अन्य बालीमा कृषि ज्ञान केन्द्र तथा स्थानीय पालिकाले सहुलियत र प्रोत्साहन दिएपनि बदाम खेतीमा भने पर्याप्त ध्यान नदिएको किसानको गुनासो छ ।  जाडो बढेसँगै बजारमा बदामको माग झनै बढेपछि किसान उत्पादन बजार पुर्‍याउन व्यस्त छन् । उत्पादित बदाम जिल्लासँगै रुपन्देही र अर्घाखाँचीका बजारमा पनि खपत हुने गरेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीका अनुसार जिल्लामा बदाम खेती अझै सीमित मात्रामा छ, र यसबारे कार्यालयमा आधिकारिक तथ्याङ्क नै छैन । किसानहरूको भनाइअनुसार कपिलवस्तुमा २६ हेक्टर क्षेत्रमा हुने बदाम खेतीबाट करिब ५३ मेट्रिक टन उत्पादन हुन्छ । थप माग धान्न भारतबाट समेत बदाम भित्रिने गरेको छ।

विद्युत् अवरोधको समस्याले ग्यास खपत बढ्याे

काठमाडौं । चिसो मौसम सुरु भएपछि खाना पकाउने एलपी ग्यासको खपत क्रमशः बढ्न थालेको छ । एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार जाडोयाममा अन्य सिजनको तुलनामा ५ देखि १० प्रतिशतसम्म ग्यास खपत बढ्ने गर्छ । श्रेष्ठका अनुसार तीन–चार वर्षअघिसम्म जाडोयाममा ग्यास खपत १५–२० प्रतिशतसम्म वृद्धि हुन्थ्यो । “यस वर्ष विगतजस्तो धेरै वृद्धि नभए पनि चिसोसँगै खपत केही बढेको छ,” उनले भने ।  औद्योगिक क्षेत्र पूर्ण रूपमा सञ्चालन नहुँदा कुल खपत भने विगतका वर्षजस्तो स्तरमा पुगेको छैन । चिसोमा खाना पकाउने कामसँगै ग्यास गिजर प्रयोग बढ्ने भएकाले पनि खपत वृद्धि हुने गरेको छ । ग्यासभन्दा बिजुली सस्तो परे पनि विद्युत् अवरोधको समस्याले ग्यासको घरायसी खपत नघटेको व्यवसायीहरू बताउँछन् । नेपाल आयल निगमका अनुसार ग्यासको आयात नियमित भएकाले बजारमा आपूर्ति सहज छ । हाल बजारमा उपभोग हुने ग्यासमध्ये ७० प्रतिशत घरायसी र ३० प्रतिशत औद्योगिक प्रयोजनमा खपत हुन्छ । होटेल तथा रेस्टुरेन्ट क्षेत्र सुस्त गतिमा चलेकाले औद्योगिक खपत स्वाभाविक रूपमा बढ्न सकेको छैन । निगमले मासिक ४५ हजार मेट्रिक टन ग्यासको कोटा निर्धारण गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्म १८ अर्ब ८३ करोड ६१ लाख रुपैयाँ बराबरको एक लाख ८२ हजार ११६ मेट्रिक टन ग्यास आयात भएको छ । सङ्घका अनुसार बजारमा कुल एक करोड ५७ लाख थान सिलिन्डर प्रचलनमा छन् । निगमले खरिद आदेश जारी गरेपछि उद्योगीहरूले इन्डियन आयल कर्पोरेसन (आइओसी) का बरौनी, दुर्गापुर, पारादीप, हल्दिया र मथुरा रिफाइनरीबाट ग्यास आयात गर्छन् । हाल ५९ वटा उद्योगले विभिन्न रिफाइनरीबाट ग्यास ल्याई बजारमा वितरण गरिरहेका छन् । ढुवानी भने भारतीय ट्रान्सपोर्टरमार्फत हुने गर्छ । निजी क्षेत्रसँग आठ हजार मेट्रिक टन ग्यास भण्डारण क्षमता भए पनि निगमसँग कुनै भण्डारण सुविधा छैन । त्यसैले आपूर्ति नियमित नहुने अवस्था आए बजारमा सहजै अभाव सिर्जना हुने व्यवसायीको भनाइ छ ।

विद्यालयका लागि कम्प्युटर प्रयोगशाला निर्माणमा पाकिस्तानको सहयोग

काठमाडौँ । पाकिस्तानले बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका लागि कम्प्युटर प्रयोगशाला निर्माण गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले शनिबार नवनिर्मित प्रयोगशालाको उद्घाटन गरे । त्यस अवसरमा राजदूत हास्मीले विद्यालयको नेतृत्व, शिक्षक तथा समुदायको सक्रिय सहभागिताबाट नै विद्यालयले दिगो शैक्षिक उन्नयन गरेको उनले बताए । उनले सूचना तथा सञ्चार प्रविधिका साथै कृत्रिम बौद्धिकता र नवप्रवर्तनका क्षेत्रहरूमा अवसरको खोजी गर्नुपर्नेमा जोड दिए । पाकिस्तानी दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कार्यक्रममा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु कोइराला, काठमाडौँ महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख समन्तमणि आचार्य, विद्यालयकी प्राचार्य विष्णु घिमिरे लगायत सहभागी थिए । पाकिस्तानले सन् २०१३ देखि उक्त विद्यालयको कम्प्युटर प्रयोगशालाका निम्ति फर्निचर, कम्प्युटरलगायत उपकरण सहयोग गर्दै आएको छ ।

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा आज पोखरामा: प्रचण्डसहित शीर्ष नेताले सम्बोधन गर्ने

पोखरा  – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभा आज  चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा आयोजना हुँदैछ। सभा  दिउँसो एक बजे सुरु हुने भएको छ। पोखरामा आयोजित पत्रकार सम्मेलनमा पार्टीले यो जानकारी दिँदै तयारी तीनवटै तहमा प्रभावकारी रूपमा अगाडि बढाइएको जनाएको छ। जनपरिचालन, स्वयंसेवक, प्रचार–प्रसार, आर्थिक तथा मञ्च व्यवस्थापनका लागि छुट्टाछुट्टै समिति गठन गरिएको महाधिवेशन आयोजक समिति सदस्य गायत्री गुरुङले बताइन्।  सभामा पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेता भीम रावललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। यो सभाले पार्टीको एकताको सन्देशलाई प्रदेशभरि फैलाउने अपेक्षा गरिएको आयोजक समिति सदस्य दीननाथ शर्माले उल्लेख गरे।

अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८४ पैसा र बिक्रीदर १४३ रुपियाँ ४४ पैसा निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८४ पैसा र बिक्रीदर १४३ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपियाँ ११ पैसा र बिक्रीदर १६५ रुपियाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपियाँ ६७ पैसा र बिक्रीदर १८९ रुपियाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ०२ पैसा र बिक्रीदर १७७ रुपियाँ ७७ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ २० पैसा र बिक्रीदर ९३ रुपियाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ७१ पैसा र बिक्रीदर १०२ रुपियाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपियाँ ०१ पैसा र बिक्रीदर ११० रुपियाँ ४७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ १४ पैसा र बिक्रीदर नौ रुपियाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ १९ पैसा र बिक्रीदर २० रुपियाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ०८ पैसा र बिक्रीदर ३८ रुपियाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ २० पैसा र बिक्रीदर ३९ रुपियाँ ३६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ४४ पैसा र बिक्रीदर चार रुपियाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ८९ पैसा र बिक्रीदर ३९ रुपियाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ५७ पैसा र बिक्रीदर ३४ रुपियाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७१ पैसा र बिक्रीदर नौ रुपियाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ०३ पैसा र बिक्रीदर १५ रुपियाँ १० पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ११ पैसा र बिक्रीदर २२ रुपियाँ २० पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ३५ पैसा र बिक्रीदर १८ रुपियाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपियाँ ११ पैसा र बिक्रीदर ४६७ रुपियाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपियाँ ९० पैसा र बिक्रीदर ३८० रुपियाँ ४९ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपियाँ ०१ पैसा र बिक्रीदर ३७२ रुपियाँ ५७  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

कृषिबाटै तेह्र करोडको सम्पत्ति कमाएका अर्घाखाँचीका बजान्डे

अर्घाखाँची । अर्घाखाँचीका एक कृषक पुष्करनाथ बजान्डेले कृषि पेसाबाटै झन्डै १३ करोड रुपैयाँ बराबरको सम्पत्ति आर्जन गर्न सफल भएका छन् । सन्धिखर्क नगरपालिका–८ का ५८ वर्षीय बजान्डे करिब तीन दशकदेखि व्यावसायिक खेतीमा संलग्न छन् । २०७२ सालतिर केही समय शिक्षा क्षेत्रमा बिताए पनि वास्तविक आम्दानी कृषि क्षेत्रमा नै हुने बुझेर उनले पूर्ण रूपमा कृषिलाई पेशा बनाएका हुन् । हाल उनका काठमाडौँमा एक घर, बुटवल, काठमाडौँ र सन्धिखर्कमा आधा दर्जन घडेरी तथा कृषिबाटै संकलित अन्य सम्पत्ति रहेको छ । बजान्डे भन्छन्, “कृषिले नै छोरालाई चार्टर्ड एकाउन्टेन्ट बनाउन पाएँ, श्रीमतीलाई ४४ तोला सुन जोडिदिन सकेँ ।” उनले २५ रोपनी पाखोबारी र पाँच रोपनी खेतलाई आधुनिक तरकारी तथा कफी फर्ममा विकास गरेका छन् । सिमी हाइटेक टनेल, स्थायी टनेल र आधुनिक सिँचाइ प्रणालीमार्फत काउली, बन्दा, टमाटर, घिरौंला, काँक्रोललगायत मौसमी–बेमौसमी तरकारी उत्पादन हुन्छ । हाल फर्ममा १०–१२ जना स्थायीरूपमा रोजगारीमा छन् । तरकारीसँगै कफी उत्पादन र प्रशोधनमा पनि उनी उत्तिकै सक्रिय छन् । रोस्टर, हेलर, ग्राइन्डर, प्याकेजिङदेखि ल्याब–टेस्टका संरचना दर्ता गरी उनले व्यवस्थित रूपमा कफी व्यवसाय सञ्चालन गर्दै आएका छन् । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासहित सरकारी निकायको सहयोगमा पोखरी र पक्की ट्याङ्की निर्माण गरी वर्षैभरि सिँचाइको प्रबन्ध मिलाइएको छ । बजान्डेको उत्पादन हुने कफी अमेरिका, जापान, कोरिया र अस्ट्रेलिया निर्यात हुने गरेको छ । विदेशी व्यापारीले सिधै सम्पर्क गर्ने भएकाले कफीबाट पर्याप्त आम्दानी भइरहेको उनको भनाइ छ । तर ठूलो परिमाणमा निर्यात गर्न भने चुनौती रहेको उनले बताए । सन्धिखर्क बजारबाट करिब चार किलोमिटर पश्चिम रहेको उनको फर्ममा तरकारी फर्म, फलफूल बगैँचा, कफी खेती, भैँसी तथा गाईपालन गरी दुध उत्पादनसमेत भइरहेको छ । यिनै गतिविधिबाट वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी भइरहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । कृषि शाखा प्रमुख रामबहादुर थापाका अनुसार, “बजान्डे कफी तथा तरकारी उत्पादनमा जिल्लाका अग्रणी उद्यमी हुन् । उहाँबाट किसानले सिक्न सके कृषि क्षेत्रमा ठुलो परिवर्तन ल्याउन सकिन्छ ।” नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ भन्छन्, “उहाँ सफल मात्र होइन, उदाहरणीय कृषक हुनुहुन्छ । उहाँको सीपलाई समूहगत रूपमा किसानमा प्रसार गर्ने योजना छ ।” परिश्रम, सीप र प्राविधिक ज्ञानको संयोजनले पुष्करनाथ बजान्डे आज अर्घाखाँचीका सफलतम कृषकका रूपमा स्थापित भएका छन् । उनी प्रमाणित उदाहरण हुन्—कृषि पेसाबाट पनि करोडौँ कमाउन सकिन्छ ।

दूधकोशी जलविद्युत् सञ्चालनमा ईयूको अनुदान लगानीको प्रतिबद्धता

काठमाडौं । युरोपेली युनियन (ईयू) ले दूधकोशी जलविद्युत् आयोजनामा अनुदान लगानी गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल र ईयूबीच विकास सहायता सम्बन्धी आठौँ सब–कमिसन बैठकमा यस्तो सहमति बनेको हो । बैठक बिहीबार बेल्जियमको ब्रसेल्समा सम्पन्न भएको थियो । बैठकमा ईयूले नेपालमा कार्यान्वयन भइरहेका विकास सहायता कार्यक्रम तथा परियोजनाको समीक्षा गर्दै स्वच्छ तथा हरित ऊर्जा, मानव संसाधन विकास र सार्वजनिक वित्त व्यवस्थापनमा प्रदान गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालले ऊर्जा क्षेत्रमा ईयूको थप सहयोग अपेक्षा गरेको थियो । सोही क्रममा दूधकोशी जलविद्युत् आयोजना अनुदान बाटोबाट अघि बढाउने अपेक्षा व्यक्त गरिएको थियो । यसअघि नै ईयूले अनुदान सहायता उपलब्ध गराउने संकेत गरेको मन्त्रालयले उल्लेख गरेको छ । ईयूले आवश्यक लगानी जुटाउन ‘ब्लेन्डेड फाइनान्स’ (सम्मिश्रित वित्त), ‘ग्यारेन्टी’ जस्ता आधुनिक वित्तीय उपकरण प्रयोग गर्न सुझाव दिएको बताइएको छ । बैठकमा प्राविधिक तथा व्यावसायिक शिक्षामा पनि भावी सहकार्यका सम्भावनाबारे दुवै पक्षबीच छलफल भएको थियो। नेपालका तर्फबाट विद्यमान राजनीतिक परिस्थिति निर्वाचनमुखी रहेको र समष्टिगत आर्थिक सूचकहरू अनुकूल भएका जानकारी गराइएको थियो । साथै, निजी क्षेत्रको विकास तथा वैदेशिक लगानी प्रवर्द्धनमा पनि ईयूको थप सहयोग अपेक्षा गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।