सुहाङ एमाले कानुन विभागको सदस्य मनोनित

काठमाडौं । नेकपा एमालेले सुहाङ नेम्वाङलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनित गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधवार नेम्वाङलाई कानुन विभागको सदस्यमा मनोनित गरेका हुन् ।

फागुन ३ गते बसेको एमाले केन्द्रीय सचिवालयको २७ औं बैठकले नेम्वाङलाई सो पदमा मनोनित गर्ने निर्णय गरेको महासचिव पोखरेल्द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सुहाङ एमाले नेता स्वर्गीय सुवास नेम्वाङका पुत्र हुन् ।   

नवनियुक्त प्रदेश प्रमुखहरूले शपथ ग्रहण गर्दै

काठमाडौं । नव नियुक्त तीन प्रदेशका प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ लिदैछन् ।  आज ६ बजे राष्ट्रपति कार्यालय शितल निवासमा शपथ लिन लागेका हुन् । सरकारले सुमित्रा भण्डारीलाई मधेश प्रदेशमा, डिल्लीराज भट्टलाई गण्डकी प्रदेशमा र नजिर मियाँलाई सुदूरपश्चिम प्रदेशको प्रमुखमा नियुक्त गरेको थियो । आज तीनै जना प्रदेश प्रमुखहरुले आज राष्ट्रपतिबाट शपथ लिन लागेका हुन् ।

राष्ट्रियसभाका विषयगत समितिका सभापतिको निर्वाचन चैत ४ गते

काठमाडौं । राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत ४ गते हुने भएको छ । बुधबार राष्ट्रियसभा बैठकमा समिति सभापतिको निर्वाचनको मिति तोकिएको हो ।  बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विषयगत समितिका सभापतिहरूको निर्वाचन आगामी आइतबारका लागि तय गरिएको जानकारी गराए । उनले समिति सभापतिहरूको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्याललाई निर्देशन पनि दिए । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।

सेयरबजारमा ४ अर्ब २४ करोडको कारोबार

काठमाडौं । सेयरबजारमा चार अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।  सूचक २.४८ अंकले घटे पनि ४ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको हो।  बुधबार १ करोड ८ लाख कित्ता सेयर बिक्रीपछि उक्त कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  यो सँगै ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ वटाको घटेको र १६ वटाको उही मूल्यमा कारोबार भएको छ।

मिटरब्याज पीडितलाई गाडीको व्यवस्था गरेर घर पठाइयो

काठमाडौं । सरकारसँग सहमति भएर पनि गाडिभाडा नभएर घर फर्किन नपाएका मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडीको व्यवस्था गरेर घर पठाएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयका प्रमोद न्यौपानेका अनुसार, सहमतिपछि पनि घर फर्किन नपाएको थाहा पाएपछि गाडीको व्यवस्था गरेर घर फर्काइएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार ट्राफिक प्रहरीसँग समन्वय गरेर पीडितलाई घर फर्काउन गाडीको व्यवस्था गरिएको जानकारी दिए। त्यसअनुसार ६ वटा गाडीमा पूर्व र पश्चिमका पीडितलाई बुधबार साँझ पठाइएको उनले बताए । मन्त्रालयले मिटरब्याज पीडितसँग सोमबार चार बुँदे सहमति गरेको थियो । योसँगै ४२ दिनपछि मिटरब्याज पीडितको आन्दोलन टुंगिएको थियो । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अनुसार, सहमति भएपछि पैसा भएका पीडितहरु फर्किएका थिए । तर, झण्डै दुई सय जनाजति पैसा नहुँदा घर जान पाएका थिएनन् । सरकारसँग भएको चार बुँदे सहमति अनुसार, पीडितको समस्याबारे जाँच गर्न नयाँ आयोग बन्दैछ । त्यसले तमसुकहरु खारेज गर्न समेत सिफारिस गर्ने सहमतिको बुँदामा उल्लेख छ ।

सीके राउतको प्रस्ताव - 'प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री व्यवस्था गरौं'

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नेपर्ने आवश्यकता औंल्याएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीलाई सांसदहरुले विश्वासको मत कहिले कता कहिले कता हाल्नुपरेको गुनासो गर्दै जनताले विश्वासको मत दिने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री व्यवस्था गर्नुपर्ने बताएका हुन् । प्रतिनिधिसभा बैठकमा उनले निर्वाचनमा गठबन्धन गर्ने प्रवृत्ति वा निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताए । “निर्वाचनमा गठबन्धन गर्नु कति घातक छ भने छातीमा छर्रा भएका मान्छेले बर्जुवालाई नै भोट हाल भन्नु र जसको घरमा नै हत्या भएको छ,” राउतले भने, “हत्या गर्नेलाई नै भोट माग्नु कति घातक छ भन्ने देखारहेको छ । कि निर्वाचनमा गठबन्धन रोक्न सक्ने ऐन कानुन ल्याउन सक्नुपर्‍यो । कि व्यवस्था नै परिवर्तन गर्न सक्नुपर्‍यो ।”  उनले आफ्नो पार्टीले विश्वासको मत नदिने भएपनि प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गरे ।  

वालिङ नगरपालिकाले कृषकलाई दुधमा १० रुपैया अनुदान दिने

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिकाले कृषकलाइ प्रति लिटर दुधमा १० रुपैया अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को विनियोजित बजेट मार्फत दुधमा आत्मनिर्भर कार्यक्रम तथा गाइ भैसी प्रवद्धन कार्यक्रम अन्तरगत वालिङ नगरपालिका र अकला नमुना कृषि सहकारी संस्था विच सम्झौता भएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए ।  स्थानीय अकला नमुना कृषि सहकारी संस्थाले उपलब्ध गराएको पास बुकमा भएको विवरणको आधारमा नगरपालिकाले प्रति लिटर दुधमा १० रुपैया उपलब्ध गराउने उनले जानकारी दिए । सम्झौता अनुसार नमुना कृषि सहकारीले नगरपालिकाको सम्झौता अनुसार दैवि प्रकोपको अवस्थामा बाहेक वार्षिक कम्तीमा ३५० दिन किसानको दुध खरिद गर्नुपर्नेछ । सहकारी संस्थाले हरेका एक महिनामा दुइ पटक संकलित दुधको विवरण वालिङ नगरपालिकालाइ उपलब्ध गराउने छ । दुधको मुल्य नेपाल सरकारले तोकेको  फ्याट र एसएनएफ को आधारमा निर्धारण हुनेछ । सम्झौतामा हस्ताक्षर गर्दे नगर प्रमुख कृष्ण खाँणले वालिङ नगरपालिकालाइ दुधमा आत्मानिर्भर बनाउन र उत्पादनका आधारमा कृषकलाइ अनुदान दिदा कृषक पनि उत्साहित हुने र युवा पुस्तामा कृषि फर्महरु सञ्चालन गर्न उत्साहित हुने विश्वास व्यक्त गरे ।  वालिङ नगरपालिकाले गाइ पाल्ने कृषकलाइ अधिकतम ५० हजार रुपैया सम्म सहयोग अनुदान दिने पनि जानकारी उनले दिए । स्वदेशमै बस्ने युवा र विदेशबाट फर्केका युवाहरुको आकर्षणका निम्ती नगरपालिकाले बजार व्यवस्थापनको ग्यारेन्टी संगै औषधि, विमा र सडक व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको नगर उपप्रमुख कविता तिवारी गैह्रेले बताइन् ।  कृषकहरुको सहजतालाइ मध्यनजर गर्दै दुध संकलन केन्द्र हालको लागि वालिङ नगरपालिका वडा न १२ धनमुढा, वडा न १४ फौदिखोला, वडा न ४ को एलादिमा राख्ने र दुधको उत्पादनको आधारमा संकलन केन्द्र स्थापना गर्ने अकला नमुना कृषि सहकारी संस्थाका अध्यक्ष पुण्य प्रसाद अर्यालले जानकारी दिए ।  वालिङ नगरपालिका भित्र ७०० घरधुरीले गाइ/भैसी पालेर औषतमा दिनको ५०० लिटर दुध उत्पादन गरि बजारमा बेच्ने नगरपालिकाको पशु सेवा शाखाले अनुमान गरेको छ ।  स्याङ्जाको गल्याङ नगरपालिकाले पनि दुधमा प्रतिलिटर १५ रुपैयाँ कृषकलाई अनुदान दिदै आएको छ ।

वीरेन्द्रनगरको हङकङ बजारमा डोजर चलेपछि व्यवसायीले गरे ढुंगामुढा

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका स्थानीय हङकङबजारमा आज डोजर चलाएको छ । नगरपालिकाले सार्वजनिक सूचना निकालेर संरचना भत्काउन अनुरोध गरे पनि व्यवसायीहरूले अटेर गरेपछि वीरेन्द्रनगर नगरपालिका–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाएको हो ।  नगरपालिकाको डोजर आइसकेपछि केही व्यापारीले सामान उठाउन थाले पनि केही व्यापारी भने प्रतिकारमा उत्रिएका छन् । व्यापारीले ढुङ्गा मुढा हानेपछि नगरपालिकाको डोजरको सिसा फुटेको छ । झडपको स्थिति सृजना भएपछि नगरपालिकाको डोजर पछि हटेको छ । सो क्रममा एक कर्मचारीले घाइते भएका छन् ।  माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरूलाई आफ्ना संरचना भत्काई त्यहाँबाट हट्न अनुरोध गरेको थियो । नगरपालिकाले निकालेको सूचना फागुन २३ गते सकिएको छ । त्यसपछि मंगलबारसम्म समयावधि तोकिएको थियो । तर, व्यवसायीहरू संरचना हटाउनुको साटो  आन्दोलनमा उत्रिएका थिए । यो क्षेत्रमा १२५ जना साना व्यवसायीहरूले व्यापार गरिरहेको छन्। 

मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन पूर्वअर्थमन्त्री महतलाई प्रधानमन्त्रीको चुनौती

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतलाई आफूले मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन चुनौती दिएका छन् । बुधवारको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै उनले यस्तो चुनौति दिएका हुन् । उनले मनपरी पैसा चलाउन नदिएपछि प्रधानमन्त्री प्रचण्ड आफूसँग रिसाएको भन्ने आशयको अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका हुन् । उनले नकारात्मक प्रचार गरेर जनतामा भ्रम नछर्न आग्रह गरे । उनले भने ‘आजमात्रै मैले देखेँ, पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले मेले मनपरी पैसा चलाउन नदिएपछि यस्तो भयो भन्ने आशयको मन्तव्य दिनुभएको छ । म डा. प्रकाशशरण महतलाई यो पुष्टि गर्न चुनौति दिन चाहन्छु । मैले कहाँ कसको लागि पैसा मागेँ । नकारात्मक प्रचार गरेर जनतामा भ्रम नगर्न आग्रह गर्दछु ।’ प्रधानमन्त्रीले आत्मनिर्भरताको व्यवस्थित प्रयास सरकारले गर्ने प्रतिवद्धता जनाए ।

राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिन आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन्। विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए। “यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु,” प्रधानमन्त्री प्रचण्डले भने, “अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ। राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट। उपराष्ट्रपति हुनुहुन्छ जनता समाजवादी पार्टीवाट। सभामुख हुनुहुन्छ, नेकपा (एमाले)को पृष्ठभूमिबाट। राष्ट्रियसभा अध्यक्ष हुनुहुन्छ माओवादी केन्द्रको पृष्ठभूमिबाट। उपसभामुख हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट। सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ।”

संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन्। विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताए।  “सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री प्रचण्डले भने, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ।” संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले कुनै बेला संसदमा उभिएर राजनेता घोषणा गरेको स्मरण गरे।

बङ्गलादेशसँग विद्युत् व्यापारको नजिक पुगेका छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन्। विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको नजिक पुगेको बताए। “चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो पनि सानो उपलब्धि होइन। तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नुछ।” जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्तराष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमण र दुबईमा सम्पन्न ‘कोप-२८’ मा नेपालको प्रस्तुतिबाट नेपालले नयाँ सन्देश प्रवाह गरेको बताए।  “हामीले सन्देश दियौँ, अब जलवायु सङ्कटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “सरकारका उपलब्धिहरूको सूची सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यत्ति उपलब्धि पर्याप्त थिएनन्।”

रेकर्ड बनाएको सुनको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ घटेको छ।  गत मंगलबारदेखि नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज घटेको हो।  गत मंगलबार, बुधबार, बिहीबार र आइतबार गरी चार दिन सुनको भाउमा ऐतिहासिक रेकर्ड बनेको हो। शुक्रबार, सोमबार र मंगलबार भने सुनको भाउ स्थिर रहेको थियो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। उक्त मूल्य हालसम्मकै उच्च विन्दु हो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ।  आज चाँदी प्रतितोला एक हजार चार सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ८५ रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

टी २० आई सिरिजः टस जितेर नेपालले पपुवा न्युगिनीविरुद्व फिल्डिङ रोज्यो

काठमाडौं । नेपालले हङकङमा जारी त्रिकोणात्मक टी २० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनी विरुद्व बलिङ गर्ने भएको छ । मोगं कोगंमा हुने खेलमा टस जितेर नेपालले फिल्डङ रोजेको हो । नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो । एकै दिन दुई खेल खेलेको पपुवा न्युगिनी नेपालसँग ८५ रनले पराजित भएपनि हङकङलाई १० विकेटले हराएर फाइनल पुगेको थियो । 

बुवाको हत्या आरोपमा छोरा र बुहारी पक्राउ

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका ५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार पक्राउ पर्नेमा एक युवक र उनकी श्रीमती जमुना नेपाली रहेका छन् । ‘बाबु छोराबीच यही फागुन २५ गते रातको समयमा घरायसी विषयमा भएको विवादमा हत्या गरेको प्रहरीको भनाई छ ।  १७ वर्षीय युवक र उनकी श्रीमतीले ‘ढोकामा लगाउने आग्लोले टाउकामा प्रहार गरी घाँटी थिचेर हत्या गरेको पाइएकाले पक्राउ गरिएको डीएसपी खड्काले बताए । उनले भने, ‘शव परीक्षण प्रतिवेदन र अभियुक्तहरूको बयानका आधारमा उनीहरूको संलग्नता पाइएकाले मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरमा कारबाहीका लागि अनुसन्धान अघि बढाएका छौं।’ प्रहरीको प्रारम्भिक अुनसन्धानका क्रममा अभियुक्तहरूले आफूहरूले भनेका विषयमा बाबुबाट असहयोग हुने गरेकाले ‘हत्या गरेको’ भनेर स्वीकार गरेको पाइएको छ । ती युवकले दुई वर्षअघि जमुनासँग विवाह गरेका थिए । विवाह पछि नै बाबुसँग आफूहरूको विवाद उत्पन्न हुँदै आएको प्रहरीसमक्ष बयान दिएका छन् ।

नेपाल रेडक्रसको महाधिवेशन वैशाखमा

काठमाडौं। नेपाल रेडक्रस सोसाइटीले विधान संशोधनका लागि आगामी वैशाखमा महाधिवेशन आयोजना गर्ने भएको छ। यही फागुन २७ देखि २९ सम्म बनेपामा सञ्चालित केन्द्रीय कार्यसमिति बैठकले मौजुदा विधानमा समसामयिक संशोधन गर्न महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो। बैठकले संस्थागत र सेवामूलक गतिविधिलाई प्रभावकारी बनाउनका साथै रेडक्रसको रूपान्तरण गर्ने निर्णय गरेको अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपालले जानकारी दिए। रेडक्रसले सरकारसँगको समन्वयमा सेवामूलक तथा विकासका गतिविधिहरूमार्फत मानवीय कार्यमा आफूलाई केन्द्रित गर्दै आएको छ। लामो समयसम्म दर्ता नवीकरण हुन नसकेको रेडक्रसलाई नयाँ कार्यसमितिले नवीकरण गरी अद्यावधिक गरेको अध्यक्ष नेपालले जानकारी दिए। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) को आर्थिक एवं प्राविविधक सहयोगमा डोटी र कर्णाली भूकम्प प्रतिकार्य लगायतमा सेवामूलक गतिविधिहरू रेडक्रसले निरन्तर सञ्चालन गरिरहेका उनको भनाइ छ।