देशभर आजकाे माैसम कस्तो रहला ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिक बदली रहने छ । रति पनि यही क्रम जारी रहने महाशाखाले जनाएको छ । 

सोमबार भने कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ । 

देशभर आगलागीका घटनामा वृद्धि

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गते बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपद्का घटना भएका छन् । विपद्मा परेर कूल ४९ लाख १८ हजार पाँच सय बराबरको क्षति भयो ।  कूल विपद्का घटनामध्ये सबैभन्दा बढी १४ आगलागीका घटना थिए । त्यस दिन झापा जिल्लामा मात्रै चार आगलागीका घटना भएका थिए । कैलालीमा दुई तथा मोरङ, सङ्खुवासभा, रौतहट, बारा, काठमाडौँ, नवलपरासी पश्चिम, जुम्ला र कञ्चनपुरमा एक/एक आगलागीका घटना भएका थिए । चिसो बढ्दै गए पनि आगलागीका घटनामा वृद्धि भएको छ ।  प्राधिकरणका अनुसार, मंसिर १० गते बिहान १० बजेदेखि ११ गतेको बिहानसम्म कूल १७ वटा विपद्मा घटना भए । त्यस दिन पनि १३ वटा आगलागीका घटना भएका थिए भने सप्तरी, बर्दियामा सर्पदंश र मोरङमा दुई वटा जनावर आक्रमणका घटना भएका थिए । मोरङमा तीन, पर्सामा दुई, सिरहा, सर्लाही, ललितपुर,कास्की, बाग्लुङ,पर्वत, कपिलवस्तु र रुपन्देहीमा आगलागीका घटना भए । त्यस दिन कूल १९ लाख ९६ हजार बराबरको क्षति भयो ।  प्राधिकरणका अनुसार, मङ्सिर नौ गते बिहान १० बजेदेखि १० गते बिहानसम्म कूल १३ विपद्मा घटना भए । त्यसमा १० वटा आगलागीका मात्रै घटना भए । सोलुखुम्बुमा डढेलो, कञ्चनपुरमा सर्पदंश र पाँचथर र ताप्लेजुङमा जनावर आक्रमणका घटना भए । मोरङ, सुनसरी, दुई, झापा, ताप्लेजुङ, कास्की, दाङ र कञ्चनपुरमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, विपद्का कारण १८ लाख ४३ हजार बराबरको क्षति भयो ।  यस्तै, मङ्सिर ७ गते बिहानदेखि आठ गते बिहानसम्म कूल १८ वटा विपद्का घटना भए । त्यस दिन झापामा सर्पदंश, सिन्धुपाल्चोक र हुम्लामा जनावर आक्रमणको घटना भएका थिए । सर्लाहीमा तीन, गुल्मीमा दुई तथा  मोरङ, रौतहट, बारा, काठमाडौँ, कास्की, बाग्लुङ, कपिलवस्तु, बाँके र कैलालीमा एक एक आगलागीका घटना भए । त्यस दिन रु ५० लाख आठ हजार बराबरको क्षति भएको थियो ।  सुक्खा मौसम सुरु भए लगत्तै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएकाले सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ । छिट्टै आगो टिप्ने सामग्री नराख्न, ज्वलनशील पदार्थको पहुँचबाट टाढा रहन र आगजनीबाट जोगिन प्राधिकरणले सबैलाई आग्रह गरेको छ । 

अण्डाको नयाँ मूल्य लागू

चितवन । चिसो बढ्दै जाँदा अण्डाको खपत त बढेको छ नै, त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ । आजदेखि लागू हुनेगरी नेपाली अण्डाले किसानको लागत उठ्नेगरी नयाँ मूल्य पाएको सङ्घले जनाएको छ । शुक्रबार बसेको नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले नेपाली अण्डा उत्पादन तथा बजारीकरणबारे छलफल गर्दै आजदेखि लागू हुनेगरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ  । किसानको फार्म लागतलाई आधार मानेर जारी गरिएको मूल्यसूचीअनुसार यसको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । नयाँ दरअनुसार अति ठूलो (एक्स एल) अण्डा प्रतिक्रेट (३० वटा) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम अण्डा रु ५३० र सानो अण्डा प्रतिपेटी रु ३२५० रहेको छ । सङ्घका अनुसार अघिल्लो मूल्यभन्दा प्रतिक्रेट रु ४० ले वृद्धि भएको हो । भारतमा निर्वाचनका कारण सिमानामा कडाइ बढ्दा त्यहाँको अण्डा महँगो भएको र अवैध रूपमा नेपाल आउने मार्ग बन्द भएपछि नेपाली अण्डाले उचित मूल्य पाएको सङ्घले जनाएकाे छ । सङ्घका अनुसार जाडो महिनामा अण्डाको खपत स्वभाविक रूपमा बढ्ने गर्छ । सङ्घले भनेकाे छ, “चिसोमा अण्डा खानुपर्छ भन्ने जनचेतना बढेकाले माग पनि बढेको छ ।” गत साउनमा पनि रु ५६० नै मूल्य पुगेको अण्डा त्यसपछि क्रमशः घट्दै गएको थियो । हाल फेरि क्रमशः वृद्धि हुँदै किसानले लागत उठाउन सक्ने अवस्थामा पुगेको सङ्घले जनाएको छ ।

टिपिएस विधिबाट कञ्चनपुरकाे शुक्लाफाँटामा आलुखेती

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न किसान महादेव चौधरीले यस वर्ष पहिलोपटक टिपिएस (ट्रयु पोटेटो सिडस) विधिबाट आलुखेती गरे। आलुको बिँडाबाट प्राप्त वास्तविक बियाँ प्रयोग गरी नर्सरीमा बिरुवा उत्पादन गरेपछि खेतमा सारेर उनले बिरुवा रोपे। टिपिएस विधिबाट प्राप्त बिरुवा रोगप्रतिरोधी, स्वस्थ र बढी उत्पादन दिने भएकाले यसलाई प्राथमिकता दिएकाे चाैधरीले बताए। “पहिले बियाँ रोपेर वेर्ना बनायौँ, त्यसपछि खेतमा सारेर रोप्यौँ”, उनले भने, “यसबाट आगामी वर्ष रोगमुक्त उच्च गुणस्तरको बीउ उत्पादन गर्ने लक्ष्य छ।” एक दशकदेखि व्यावसायिक तरकारीखेतीमा संलग्न चौधरीका लागि टिपिएस विधि बियाँ उत्पादनतर्फको प्रवेशको पहिलो अनुभवका रूपमा रहेको छ। आधुनिक आलु उत्पादन प्रविधि उपयोग गरेर बीउ उत्पादन लागत घट्ने, रोगको जोखिम कम हुने र उत्पादन वृद्धि हुने भएकाले नयाँ विधि अपनाए। हाल उनले दुई कट्ठा क्षेत्रमा बियाँबाट तयार पारिएका आलुका बिरुवा रोपेका छन्। आउँदो वर्ष दश कट्ठा जग्गामा यसै विधिबाट उत्पादन भएको मूल बीउ रोपेर रोगमुक्त आलु बीउ उत्पादन गर्ने लक्ष्य राखेका छन्। टिपिएसबाट उत्पादन हुने बीउको मूल्य अधिक हुने भएकाले आम्दानीमा उल्लेख्य वृद्धि हुने उनको अपेक्षा छ। उनले हाल आलुसँगै काउली, गोलभेडा, खुर्सानी, बन्दागोभी, तिते करेला, काँक्रा, लौका, फर्सी र तने बोडी गरी दश कट्ठा क्षेत्रफलमा विविध सागसब्जीखेती गर्दै आएका छन्। सागसब्जी उत्पादनबाट उनले वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। “टिपिएस आलुखेतीलाई भविष्यमा बीउ उत्पादन तथा आधुनिक तरकारी व्यवसाय विस्तारको मुख्य आधारका रूपमा लिएको छु”, उनले भने, “यसरी उत्पादन भएको आलुको बीउलाई व्यावसायिक रूपमा आलुखेती गर्ने किसानलाई उपलव्ध गराउने योजना छ।” पहिलो पुस्ताको आलुको बीउ प्रयोग गरी खेती गरिए उत्पादन बढ्नुका साथै छ वर्षसम्म बीउका रूपमा प्रयोग गर्न सकिने उनी बताउँछन्। यस प्रविधिबाट आलुको बीउ उत्पादन गर्न किसानलाई सिकाउने उनले उद्देश्य लिएका छन्। बाह्य जिल्लाका किसानले बियाँबाट बिरुवा तयार गरी आलु रोपेको देखेर उनले त्यो तरिका सिकेर आलुको बीउ उत्पादनमा संलग्न भएका हुन्।

मनाङमा चार महिनामा १६ हजार पर्यटक पुगे

मनाङ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मनाङ भ्रमण गरेका हुन् । मनाङ आएका पर्यटकमध्ये सार्क राष्ट्रका ८१२ पुरुष र १७७ महिला तथा अन्य मुलुकका पर्यटकमध्ये नौ हजार ६९५ पुरुष, छ हजार ६०१ महिला छन् ।  त्यस्तै, इजरायलका १ हजार ९१०, फ्रान्सका १ हजार ३९२ र जर्मनीका १ हजार २०८ नागरिकले मनाङकाे भ्रमण गरेका छन् ।

मेची राजमार्ग अन्तर्गत  इलाममा सडक दुर्घटनामा दुईको मृत्यु

इलाम । मेची राजमार्ग अन्तर्गत इलामको भञ्ज्याङस्थित मिल गोलाइमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा इलाम न.पा.९ गोलबस्ती बस्ने अन्दाजी वर्ष २६ को  डेबिट थापामगर र माइजोगमाई गा.पा. १ नयाँबजार घर भई इलाम ७ चोकबजार बस्ने अन्दाजी वर्ष १८ को छेवाङ शेर्पा रहेका छन् । दुवैलाई उपचारका लागि इलाम अस्पताल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो । उनीहरु दुवै जना इलाम सदरमुकामस्थित ग्रीन भ्याली एकाडेमीका शिक्षक रहेको बताइएको छ । झापाबाट इलामतर्फ आउँदैगरेको प्रदेश १–०१–००१ ख ४१०१ न.को ट्रक र विपरीत दिशातर्फ जादैगरेको प्रदेश १–०१–०१२ प ४८९९ न.को स्कुटर एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।  स्कुटरमा सवार शेर्पा र थापा माइखोलामा आयोजित वनभोज कार्यक्रममा सहभागी भएर फर्कंदै गरेको बताइएको छ । ट्रक चालक इलाम न.पा. ५  बिब्ल्याककटे बस्ने वर्ष २५ का रामप्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

आमनिर्वाचनले मात्र देशलाई राजनैतिक संकटबाट मुक्ति दिन सक्छ: गजुरेल

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले आगामी फागुनमा हुने आमनिर्वाचनले मात्र देशलाई राजनैतिक संकटबाट मुक्ति दिलाउन सक्ने बताएका छन् ।  शनिबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै नेता गजुरेलले जेन–जी आन्दोलनपछि उत्पन्न गम्भीर संकटलाई आगामी २१ फागुनमा हुने चुनावले मात्र देशलाई निकास दिलाउन सक्ने बताएका हुन् । ‘यसैले देशलाई गम्भीर संकटबाट निकास दिन १५ वटा वामपन्थी शक्तिहरूको एकता भएको हो । अरुकोभन्दा ठूलो पार्टी बनाउनका लागि मात्र हैन,’ नेता गजुरेलले भने । नेकपा कोशी प्रदेशका इन्चार्ज समेत रहेका नेता गजुरेलले २३ र २४ भदौपछि उत्पन्न संकटबाट राष्ट्रलाई जोगाउने एक मात्र उपाय भनेको निर्वाचन मात्र भएको बताए । उनले निर्वाचन नभए देशमा अझै गम्भीर संकट उत्पन्न हुने बताए ।  नेता गजुरेलका अनुसार नेकपाको एकीकरण अझै पूरा भैनसकेको र पुरा भैसकेपछि अझै ठूलो र सकारात्मक सन्देश जाने बताए ।  कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपाका नेता राजेन्द्रकुमार राईले यो समय चुनावमा गएर देशको सुरक्षा गर्ने समय भएको बताउँदै उत्तेजना आएर घृणा फैलाउने, अराजक व्यवहार देखाउनु नहुने सुझाव दिए । उनले जेन–जी आन्दोलनपछि चुनावको महत्व बुझेरै नै राष्ट्रपतिले पनि स्विकार गरेको र नेकपाले पनि जोडतोडले साथ दिइरहेको प्रस्टयाए । नेकपाले सुदुरपश्चिमबाट १२ मंसिरदेखि सुरु गरेको एकता सभा १५ मंसिरमा विराटनगरमा आयोजना गर्दैछ । त्यसका लागि सबै तयारी पूरा भैसकेको नेकपा नेता सरिता खड्काले जानकारी दिइन् ।

बिगतका कमजोरी खोतल्ने र त्यसलाई सच्चाउने प्रतिबद्धता गर्न आएका हौँ : संयोजक प्रचण्ड

लमही – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरु जनतासँग आत्मालोचना गर्न आएको बताउनु भएको छ । लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले बिगतका कमीकमजोरी खोतल्ने र त्यसलाई सच्चाउने प्रतिबद्धता गर्न आफूहरु आएको बताउनु भयो ।  उहाँले भन्नुभयो, 'हामीले समीक्षा गरेर नै एकताबद्ध भएका हौँ। यो एकता सभा आफ्नो कमीकमजोरी खोतल्ने र त्यसलाई सच्याउने प्रतिबद्धता गर्न आएका हौँ । यो आत्मालोचना सभा पनि हो। हामी १५ वटा पार्टी एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी बनेका हौँ।'   लुम्बिनी प्रदेशस्तरीय एकता सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले युवा पुस्ताको माग र जनताको चाहनाअनुसार बदलिनुपर्ने आवश्यकता देखिएको उल्लेख गर्नुभयो। जेन जेड आन्दोलनले विगतमा आफूहरूले गरेको कामको समीक्षा गर्न दबाब बढाएको उहाँको भनाइ छ ।  हजारौँ जेन जेड युवाहरूले नेकपालाई अभिभावक मानेर पार्टी प्रवेश गरिरहेको उहाँले बताउनु भयो । आफूहरू बदलिएर जनताको सेवामा समर्पित भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्दै प्रचण्डले विगतका कमजोरी सच्चाएर जनताको सेवामा समर्पित हुने प्रतिबद्धता जनाउनु भएको छ ।  माधव नेपालसँगको एकता हठात् वा अकस्मात् नभएको उहाँले बताउनुभयो। नेकपाका सहसंयोजक माधव नेपालसँगको सहकार्य झण्डै ४० वर्ष पुरानो भएको उहाँले भन्नुभयो। माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दर्जन बढी वामपन्थी घटकहरूबीच भएको एकताको बचाउ गर्दै प्रचण्डले माधव नेपालसँग विगतदेखि नै सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो। एकीकृत समाजवादी लगायतका घटकहरूसँग एउटा चुनाव जित्नका लागि मात्र एकता नगरेको जिकिर गर्दै उहाँले जेन जेड आन्दोलनपछि आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता महसुस भएकाले एकताको कदम चालिएको बताउनुभयो। प्रचण्डले भन्नुभयो, "आजको कुरा होइन, २०४१/०४२ सालतिर कमरेड माधवकुमार नेपाल र म लगायत धेरै पञ्चायतविरोधी आन्दोलनको बारेमा संवाद र सहकार्य गर्ने गर्थ्यौं। ०४२ सालदेखि ०४६ सालमा, अनि जनयुद्ध सुरु भएपछि पनि हामी लगातार संवादमा भइ नै राख्यौं।" माधव नेपालसँगको एकता अकस्मात् वा हठात् नभएको भन्दै बचाउ गर्दै उहाँले थप्नुभयो, "संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको प्रक्रियामा पनि हामीले सहकार्य गर्यौं। हाम्रो संवाद, सहकार्य आजको होइन, केही महिना वा वर्ष अगाडिको मात्रै होइन, झण्डै ४०–४१ वर्ष अगाडिदेखि लगातार भएका सहकार्य, संवाद र आन्दोलनका बीचबाट एकताको एउटा नयाँ परिस्थिति सिर्जना भएको हो। हठात् भएको कसैलाई लागेको छ भने त्यो होइन।" केही घन्टाभित्र देश जल्ने अवस्था आउनेगरी देश कसरी कमजोर भयो भनेर समीक्षा गर्नुपर्ने उहाँले जोड दिनुभयो। यस एकताले वामपन्थी शक्तिहरूको नयाँ ऊर्जा सिर्जना गर्ने अपेक्षा गरिएको छ।

नेपाली कम्युनिष्ट पार्टीको अपिल: वाम-लोकतान्त्रिक शक्तिहरू एकजुट भएर राष्ट्रिय संकट टारौं (पूर्णपाठ)

काठमाडौं– विभिन्न १५ कम्युनिस्ट पार्टीहरूको एकीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वामपन्थी, समाजवादी, लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूलाई एकता र सहकार्यको प्रक्रियामा तत्काल सहभागी हुन अपिल गरेको छ। शनिबार जारी गरेको अपिलमा पार्टीले हालको जटिल राजनीतिक, आर्थिक तथा भूराजनीतिक परिस्थितिको समाधानका लागि राष्ट्रिय सहमति र संवैधानिक दिशामा अघि बढ्नुपर्नेमा जोड दिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरण जस्ता महत्त्वपूर्ण मुद्दामा सबै शक्तिहरू एकजुट हुन आग्रह गर्दै नेकपाले जनआन्दोलनपछिको राजनीतिक अस्थिरताप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। पार्टीले जनक्रान्तिका उपलब्धिहरू जोगाउँदै आगामी निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याउँदै समाजवादी मोर्चामार्फत सुरु भएको एकताको प्रक्रियालाई 'ऐतिहासिक निर्णय' को रूपमा मूल्यांकन गरेको छ। यसै सन्दर्भमा, सबै वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूलाई यो एकतामा साथ दिने अपिल गरेको छ। नेकपाले यो एकताले राष्ट्रिय एकताको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरेको छ।   नेपाली कम्युनिष्ट पार्टीको अपील आदरणीय जनसमुदाय, सात दशकभन्दा लामो कम्युनिष्ट आन्दोलनभित्रको विचारधारात्मक र राजनीतिक संघर्षको आरोह अवरोहसँगै पार्टी एकता, संघर्ष, विभाजन र पुनएकीकरणका शिक्षाहरुलाई आत्मसात गर्दै, पूँजिवादी जनवादी क्रान्तिको उपलब्धिकारुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पुरागर्ने उद्देृश्यमा आधारित रहँदै विभिन्न १५ कम्युनिष्ट र समाजवादी पार्टीहरुबीचको एकीकरणबाट नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको छ । पछिल्लो जेन जी आन्दोलनसमेतको पृष्ठभूमिमा पुनर्गठित नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पार्टी पंक्ति र समर्थक शुभचिन्तकसहित आम न्यायप्रेमी जनसमुदायलाई हार्दिक अभिवादन गर्दछौं । यस अवसरमा हाम्रो पार्टी संघीय लोकतान्त्रिक गणतन्त्रसहित आमूल परिवर्तन, सामाजिक न्याय र राष्ट्रिय स्वाधिनताका लागि नेपाली जनताद्वारा सञ्चालित ऐतिहासिक जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलनलगायत उत्पीडित वर्ग, समुदायको मुक्ति आन्दोलन र पछिल्लो जेनजी आन्दोलनका क्रममा प्राणोत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै वेपत्ता योद्दाहरुप्रति उच्च सम्मान प्रकट गर्नुका साथै घाइते अपांग योद्दाहरुप्रति सम्मानसहित सिघ्र स्वास्थ्यलाभको कामना गर्दछ । आन्तरिक अर्थराजनीतिक समस्या र नयाँ भूराजनीतिसमेतका कारण देशको राजनीतिक परिस्थिति निकै गम्भीर र संवेदनशील रहेको छ । जनक्रान्तिबाट स्थापित नयाँ राजनीतिक व्यवस्था र पुरानो उत्पादन प्रणालीबीच अन्तर्बिरोधका कारण जनताको अवस्थामा अपेक्षित परिवर्तन हुन सकिरहेको छैन । यो स्थितिमा एकातर्फ प्रतिगामी यथास्थितिवादी शक्तिहरुबाट जनक्रान्तिका उपलब्धिहरुमाथि धावा बोल्ने प्रयास हुँदै आइरहेको छ भने अर्कोतर्फ जनक्रान्तिका उपलब्धिहरुको रक्षासहित सुशासन र आर्थिक सामाजिक रुपान्तरणको जनचाहना विभिन्न रुपमा प्रकट हुँदै आइरहेको छ । आज राष्ट्रिय स्वाधिनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारको प्रश्न थप संवेदनशील बन्दै गइरहेको छ । राष्ट्रिय सहमति निर्माण गर्दै संवैधानिक बाटोबाट जनआकांक्षालाई सम्बोधन गर्न जिम्मेवार पहल आजको आवश्यकता बन्न पुगेको छ । परिस्थितिको यो गाम्भीर्यतालाई मनन गर्दै राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न र जन आकांक्षालाई मूर्तरुप दिन हामी प्रयत्नशील रहँदै आयौं । सरकारमा रहँदा हाम्रा तर्फबाट सुशासन, सामाजिक न्यायसहितको आर्थिक विकास एवं समृद्धिको अभियान सुरु गरिएको थियो । प्रतिगामी यथास्थितिवादी शक्तिहरुले उक्त अभियानलाई रोक्न सरकार परिवर्तनको अस्त्र प्रयोग गरे । प्रतिपक्षीय मोर्चामा रहँदा समेत सडक र सदनबाट सरकारलाई निरन्तर खबरदारी गरि नै रह्यौं । कांग्रेस एमालेको सरकारको गतिविधिका कारण लोकतन्त्रमाथि नै संकट आउन सक्ने र जनअसन्तुष्टि सडकमा विष्फोट हुनसक्ने अवस्थाप्रति हाम्रो तर्फबाट लगातार सचेत गराउँदै आएका थियौं । सरकारले हाम्रो खबरदारीको गाम्भीर्यता र संवेदनशीलतालाई पटक्कै बोध गरेन । दुई तिहाईको अहंकार र दुईदलीय तानाशाहीको मीठो सपनाबाट सरकार ब्यूझन सकेन । फलतः अर्थराजनीतिक समस्या र तत्कालिन सरकारका जनविरोधी क्रियाकलापबाट संगठित हुँदै गएको जनअसन्तुष्टि जेनजी आन्दोलनका रुपमा प्रकट हुन पुग्यो । जनताको असन्तोष र आक्रोशलाई आफ्नो निहित स्वार्थमा उपयोग गर्न प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरुका लागि यो उपयुक्त अवसर बन्न पुग्यो । गत भदौ २३ गते शान्तिपूर्णरुपमा सुरु भएको जेनजी प्रदर्शन नरसंहारमा रुपान्तरित हुन पुग्यो । भदौं २४ गते देशका प्रमुख ऐतिहासिक सम्पदाहरु सहित सार्वजनिक कार्यालय, लोकतान्त्रिक दलका नेताहरुको निवास, बैंक, वित्तिय संस्था, मिडिया तथा व्यवसायहरुमा भीषण आगजनी, लूटपाट, तोडफोड गरिनुका साथै भौतिक आक्रमण समेत गरियो । जुन नियोजित र योजनावद्ध थियो । त्यसका वावजूद जेनजी आन्दोलन बस्तुतः राजनीतिक दलहरुलाई खबरदारी, सुशासन, सामाजिक न्याय र अझ उन्नत लोकतन्त्रप्रति नयाँ पुस्ताको चाहना र आकांक्षाको अभिव्यक्ति थियो । जेन जी आन्दोलनको यो भावनालाई एकथरिले बुझ्नै चाहिरहेका छैनन् । अर्को एकथरिले आफ्नो निहित स्वार्थ र प्रतिगामी उद्देश्यपूर्तिको साधन बनाउने कोशिस गरिरहेका छन् । यसप्रकारका प्रवृत्तिहरुप्रति सचेत रहँदै संवैधानिक प्रक्रियाबाट सुशासन, सामाजिक न्याय र समृद्धिको मार्गमा दृढतापूर्वक अघि बढन जेनजीलगायतका नवयुवाहरुमा हाम्रो पार्टी विशेष आग्रह गर्दछ । जेन जी आन्दोलनसँगै उत्पन्न गम्भीर परिस्थितिमा गैर दलीय सरकार बनेपछि तत्कालको अनिश्चयपूर्ण तुँवालो केही हटेपनि जनक्रान्तिका उपलब्धिहरु र राष्ट्रमाथिको संकट पूर्णरुपले हटिसकेको छैन । बिभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई हतोत्साहित गर्ने, सभा सम्मेलन गर्न अवरोध सिर्जना गर्ने, निर्वाचनलाई कुनै बहानामा बिथोल्ने या निर्वाचन परिणामलाई अनुकुल बनाउन प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलका सम्भावनाहरु अझैपनि विद्यमान छन् । तथापि मुलुकलाई संवैधानिक बाटोबाट परिवर्तनको मार्गमा हिँडाउन घोषित मितिमा निर्वाचन सम्पन्न गराउनु पर्ने कुरामा नेपाली कम्युनिष्ट पार्टी दृढ रहँदै आएको छ । हाम्रो पार्टी संविधान, लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको रक्षाका पक्षमा साझा पहलकदमीका लागि सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरुसँग विशेष अपील गर्दछ । राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि चुनौतीहरु थपिँदै गएको वर्तमान सन्दर्भमा वामपन्थी, लोकतान्त्रिक र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई एकीकृत गर्दै नेतृत्व प्रदान गर्नुपर्ने वस्तुगत आवश्यकतालाई आत्मसात गर्दैै समाजवादी मोर्चामार्फत् पार्टी एकतामा रुपान्तरण गर्ने ऐतिहासिक निर्णयमा पुगेका छौं । यो एकता जनक्रान्तिका उपलब्धिहरुको रक्षा गर्दै मुलुक र वामपन्थी लोकतान्त्रिक आन्दोलन सामु देखिएका नयाँ अवसर र चुनौती सम्बोधन गर्ने ऐतिहासिक संकल्प हो । एकताको यो पहल केवल १५ समूहको गणितीय जोड मात्र नभएर विभाजित अवस्थामा रहेको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई एकतावद्ध गर्दै समाजवादको दिशामा अघि बढ्ने अर्को ऐतिहासिक प्रक्रियाको थालनी हो । सही विचार, राजनीतिक कार्यक्रम र सबैखाले अनुभव र उर्जाको संकेन्द्रण पार्टी एकताको सार हो । श्रमजीवी वर्गको मुक्तिको वैचारिक अस्त्र मार्क्सवाद–लेनिनवाद हाम्रो पार्टीको मार्गनिर्देशक सिद्धान्त हो ।  मार्क्सवादी लेनिनवादी सिद्धान्तको आलोकमा एक्काइसौं शताब्दीका नवीन विशेषता, विगतका प्रतिक्रान्तिका अनुभव, नेपाली पूँजिवादी जनवादी क्रान्तिका मौलिक विशेषता र नेपाली समाजको विशिष्टताका आधारमा तयार गरिएको नेपाली विशेषताको समाजवाद हाम्रो रणनीतिक कार्यक्रम हो । यही मार्गनिर्देशक सिद्धान्त र कार्यक्रमको आलोकमा सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यम हुँदै समाजवादको दिशामा अघि बढ्ने संकल्प हाम्रो एकताका मुख्य आधारहरु हुन । श्रमजीवी सर्वहारा वर्ग र उत्पीडित वर्ग समुदायको पहिचान र हितको प्रतिनिधित्व गर्ने लोकतान्त्रिक मूल्यसहितको संघीय समाजवादी राज्य, सहभागितामूलक समावेशी र समानुपातिक शासनप्रणाली, उत्पादनका साधनमाथि सार्वजनिक, सामुदायिक र नीजि स्वामित्व भएको उत्पादन प्रणालीसँगै सबैखाले प्रतिक्रियावादी हस्तक्षेप र शोषणका रुपहरुको अन्त्य गर्ने आर्थिक नीति, शिक्षा र स्वास्थ्यमा मूलतः राज्यको दायित्व बढाउँदै समाजमा विद्यमान सबैखाले असमानता र विभेदको अन्त्य गर्ने सामाजिक सांस्कृतिक नीति, स्वतन्त्र, सन्तुलित, असंलग्न परराष्ट्र नीति नेपाली विशेषताको समाजवादका आधारभूत पक्ष हुन । थप छलफल र अन्तक्रिया गर्दै पार्टीको एकताको राष्ट्रिय महाधिवेशनबाट यसलाई थप समृद्ध तुल्याइनेछ । यो प्रक्रियामा आ आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न पार्टीका सम्पूर्ण पंक्ति, समर्थक शुभचिन्तकहरुमा आग्रह गर्दछौं । – स्वतन्त्रता (जनवाद) र अनुशासन (केन्द्रीयता) को समुचित सन्तुलनमा आधारित जनवादी केन्द्रीयता पार्टीको संगठनात्मक सिद्धान्त र विधि हुनेछ । नेपाली विशेषताको समाजवादद्वारा निर्देशित वैचारिक मूल्यहरुबाट जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तलाई थप समृद्ध गरिनेछ । आदरणीय जनसमुदाय, विद्यमान राष्ट्रिय परिस्थिति, आवश्यकता र जनअपेक्षालाई दृष्टिगत गर्दै पुनर्गठित नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सुरु भएको एकता, ध्रवीकरण र सहकार्यको यो प्रक्रियामा सहभागी हुन सम्पूर्ण वामपन्थी, समाजवादी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिहरुलाई आव्हान गर्दछौं ।    

तस्बिरमा हेर्नुस् नेपाली कम्युनिष्ट पार्टीको देउखुरीमा आयोजित एकता सन्देश सभा

लमही । नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा दाङको देउखुरीमा सुरु भएको छ । देउखुरीको लमहीमा आयोजित सभालाई संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।  लमहीको बगैँचामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्डसहितका नेताहरु बिहान लमही पुगेका हुन् । केहीबेरअघि सुरु लुम्बिनी प्रदेश स्तरीय एकता सन्देश सभामा सहभागी हुन दाङ र आसपासको क्षेत्रबाट हजारौँको सहभागिता रहेको छ । 

एकता सन्देश सभाका लागि प्रचण्डसहितका नेताहरु देउखुरीमा (तस्बिरसहित)

लमही । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका नेताहरु दाङको देउखुरी पुगेका छन् । पार्टीले लमहीको बगैँचामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्डसहितका नेताहरु बिहान लमही पुगेका हुन् ।  लुम्बिनी प्रदेश स्तरीय एकता सन्देश सभालाई प्रचण्डसहितका नेताहरुले सम्बोधन गर्ने तयारी छ । लमहीका श्यामसुन्दर चौधरीको घरमा खाना आएर प्रचण्डसहितका नेताहरु कार्यक्रम स्थलमा पुगिसकेका छन् ।  केहीबेरमा लुम्बिनी प्रदेश स्तरीय एकता सन्देश सभा आयोजना हुँदैछ । सभामा सहभागी हुन दाङ र आसपासको क्षेत्रबाट हजारौँको सहभागिता रहेको छ । 

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देशसभा आज देउखुरीमा : प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्ने

देउखुरी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले बृहत कम्युनिष्ट एकीकरणको सन्देश प्रवाह गर्ने उद्देश्यले आज लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभा दाङको देउखुरीमा आयोजना गर्दैछ। यो सभा देशव्यापी एकता अभियान अन्तरगत आज दिउँसो १ बजे दाङको देउखुरीमा विशाल सभाको आयोजना गरिएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ ।  सन्देश सभाका लागि पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहितका शीर्ष त्यसतर्फ लागेका छन् । सभालाई प्रचण्डसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।  सभामा सहभागी हुन दाङ र आसपासका जिल्लाबाट हजारौँको सहभागिता रहनेछ । नेकपाको यो अभियानले विभिन्न कम्युनिष्ट धारका पार्टीहरूको एकीकरणलाई थप मजबुत बनाउने लक्ष्य राखेको छ।  

पूर्व–पश्चिम नेपाल जाेड्ने मध्यपहाडी राजमार्गकाे तीन चौथाइ काम सम्पन्न

काठमाडौं । मुलुकका मध्यपहाडी जिल्लालाई पूर्व–पश्चिम यातायात सञ्जालमा जोड्दै आर्थिक, पर्यटन, शिक्षा र समग्र विकासलाई सुदृढ गर्ने लक्ष्यसहित निर्माण भइरहेको पुष्पलाल (मध्यपहाडी) राजमार्गको करिब तीन चौथाइ काम सकिएको छ । सडक विभागका अनुसार पूर्वमा पाँचथरको चिवाभन्ज्याङ (नेपाल–भारत सिमाना) देखि पश्चिममा बैतडीको झुलाघाट (महाकाली) सम्म विस्तार हुने यो राष्ट्रिय गौरवको आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत र वित्तीय प्रगति ८३.२३ प्रतिशत पुगेको  छ । सहायक प्रवक्ता ई. शुभाञ्जन दाहालका अनुसार राजमार्गको एक चौथाइभन्दा कम काम मात्र बाँकी छ । महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछि मुलुकलाई पूर्व–पश्चिम जोड्ने यो तेस्रो विकल्पीय राजमार्ग हो । २६ जिल्लाका २१५ बस्तीलाई जोड्ने यो मार्गबाट करिब एक करोड जनसंख्या प्रत्यक्ष लाभान्वित हुने अपेक्षा छ । राजमार्ग सञ्चालनपछि क्षेत्रको आर्थिक–सामाजिक विकासमा प्रभावकारी प्रगति हुने, बसाइँसराइ न्यून हुने र वातावरणीय सन्तुलन कायम रहने दाबी विभागको  छ । कुल १,८७९ किलोमिटरमध्ये १,५१० किलोमिटर कालोपत्र दाहालका अनुसार कुल १ हजार ८७९ किलोमिटर लम्बाइको राजमार्गमध्ये १ हजार ५१०.८६ किलोमिटर कालोपत्र भइसकेको छ । २६१.१४ किलोमिटर खण्ड निर्माणाधीन छन् भने १०७ किलोमिटरमा ठेक्का प्रक्रियासमेत बाँकी छ । पुल संरचनामा आवश्यक १३७ पुलमध्ये १११ वटा बनिसकेका छन् । २४ पुल निर्माणाधीन छन् भने पहिरोले बगाएका पुलसहित १५ पुलमा ठेक्का प्रक्रिया हुन बाँकी छ । आयोजनाको कुल लागत ८४ अर्ब ३३ करोड रुपैयाँ रहेकामा हालसम्म ६५ अर्ब ९७ करोड खर्च भइसकेको विभागले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५९ करोड रुपैयाँ विनियोजन छ । सूचना महामार्ग र आधुनिक सहर विकास दाहालका अनुसार राजमार्गलाई द्रुत सञ्चारका लागि ‘सूचना महामार्ग’को रूपमा पनि विकास गर्ने तयारी छ । साथै पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी, तनहुँको डुम्रे, बागलुङको बुर्तीबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन गरी १० स्थानमा आधुनिक सहर निर्माणको योजना अघि बढाइएको छ । रेखाङ्कन र कार्यान्वयन राष्ट्रिय यातायात नीति २०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा मध्यपहाड हुँदै सडक निर्माण गर्ने सोच अनुसार २०६४/६५ मा परियोजना सुरु भएको हो । मन्त्रिपरिषद्को २०६५ फागुन २६ को निर्णयबाट रेखाङ्कन स्वीकृत भएको थियो । आर्थिक वर्ष २०६७/६८ देखि पूर्व (७२१ किमी) र पश्चिम (१,१५८ किमी) गरी दुई खण्डमा निर्माण थालिएको यो परियोजना २०७५/७६ देखि पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय अन्तर्गत पाँच योजना कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । रुख कटानीको जटिलता, निर्माण सामग्री अभाव, विद्युत्, खानेपानी तथा अन्य युटिलिटी संरचनाको स्थानान्तरण, मुआब्जा/क्षतिपूर्ति विवाद, सडक सीमा विवाद र निर्माण व्यवसायीको लापरबाही मुख्य चुनौती रहेको विभागले जनाएको छ ।

यूइईमा भएको कैदीको मृत्युबारे छानबिन गर्न अधिकार समूहको आग्रह

दुबई । लन्डनस्थित एक अधिकार समूहले शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) मा एक व्यक्तिलाई हिरासतमा मृत्यु भएको घटनाको छानबिन गर्न माग गरेको छ । समूहले यसलाई ‘राजनीतिक बन्दी’ भनेर वर्णन गरेको छ। एमिरेट्स डिटेनी एडभोकेसी सेन्टर (इडिएसी)का कार्यकारी निर्देशक हमद अल–शम्सीले भने, “यसै महिनाको सुरुमा १३ वर्ष जेलमा बिताएका ५९ बर्षीय अल–खाजा आफ्नो कोठामा मृत फेला परेका थिए । उनी ‘अनुचित सुनुवाइ र कठिन कारागारको अवस्था’ को शिकार भएका कारण मृत्यु भएको आलोचकहरूले दाबी गरेका छन् ।  अधिकांश खाडी देशहरूमा गैरकानुनी घोषित मुस्लिम ब्रदरहुडसँगको सम्बन्धका कारण खजालाई २०१३ मा एक सामूहिक मुद्दामा सजाय सुनाइएको थियो, जसको अधिकारकर्मीहरूले कडा आलोचना गरेका थिए। ‘ह्युमन राइट्स वाच’ का अनुसार उनलाई सन् २०२२ मा आफ्नो सजाय पूरा गरेपछि पनि जेलमै राखिएको थियो । अर्को वर्ष नयाँ आरोपहरूसहित थप सजाय सुनाइएको थियो । “उनले भोगेका ‘मानवअधिकार उल्लङ्घनका गम्भीर’ मुद्दालाई ध्यानमा राख्दै इमिरेती अधिकारीहरूले उनको मृत्युको परिस्थितिमाथि ‘स्वतन्त्र र पारदर्शी अनुसन्धान’ सुरु गर्नुपर्छ,” शम्सीले एएफपीसँग भने ।  युएईका अधिकारीहरूले एएफपीको टिप्पणीको लागि गरिएको अनुरोधमा तत्काल कुनै प्रतिक्रिया दिएनन्। इडिएसी र ह्युमन राइट्स वाचद्वारा बुधबार प्रकाशित एक संयुक्त विज्ञप्तिमा भनिएको छ,  “खाजालाई ‘उनको कैदको अवधिमा शारीरिक कुटपिट, लामो समयसम्मको एक्लो कारावास, र निद्रा रोक्नका लागि बनाइएको निरन्तर चम्किलो बत्ती बालेर यातना र दुर्व्यवहार’ गरेको आरोप लगाइएको छ ।” “उनको मुद्दा ‘एक अलग घटना होइन। यो युएईमा प्रमुख मानव अधिकार रक्षकहरूलाई लक्षित गर्ने एक सामान्य प्रवृत्तिको हिस्सा हो,” शम्सीले भने।  धनी खाडी राष्ट्रले आफ्ना नेताहरूको कुनै पनि आलोचनालाई निषेध गर्दछ। मानिसहरूले सार्वजनिक वा निजी रूपमा गरिएका टिप्पणीहरूका लागि मानहानिको आरोपमा जरिवाना वा जेल सजाय भोग्नुपर्ने हुनसक्छ। सन् २०१२ मा अरब वसन्त विद्रोहको सन्दर्भमा यस क्षेत्रका धेरै नेताहरू पदच्युत भएका थिए । इमिराती अधिकारीहरूले राजनीतिक सुधारको माग गर्ने सरकार विरोधीहरूलाई लक्षित गर्दै पक्राउको लहर सुरु गरेका थिए।

महोत्तरी कारागारबाट भागेका २७३ कैदीबन्दी फरार

महोत्तरी । जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार रहेका छन् । जलेश्वर कारागार तोडेर भागेका ४० भारतीयसहित ५ सय ७६ कैदीबन्दी मध्ये ३ सय ३ जना फर्किसकेका जेलर अशोककुमार क्षेत्रीले बताए । उनका अनुसार अझै पनि भागेका कैदीबन्दी आउने क्रम जारी रहेको छ । कारागार तोडेर भागेका कैदीबन्दीलाई भदौ २५ गते कारागार प्रशासनले फर्किन आह्वान गरेको थियो । जेलर क्षेत्रीले फर्की नआउने फरार कैदीबन्दी उपर कारागार ऐन २०७९ र अन्य नेपालको प्रचलित कानुन बमोजिम कारबाही हुने तथा कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति उपर पनि कानुन बमोजिम कारबाही हुने बताए । जलेश्वर कारागारबाट भागेकामध्ये १३ कैदीबन्दीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राऊ गरी पुनः कारागार फर्काउन मद्दत गरेका थिए भने बाँकी कैदीबन्दी आफैँ स्वेच्छाले कारागारमा फर्किएका हुन् । फरार कैदीबन्दीको खोजतलाश गरिरहेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।

पहाडबाट झरेर तराईमा जडीबुटी व्यवसाय

सुनसरी । सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्केकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आएकी छिन् । इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोला नजिकै हटिया लाइनमा खुला आकाश मुनि विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै उनले राम्रो आम्दानी गर्दै आएकी छिन् । भोटेका अनुसार जडीबुटी व्यवसाय उनीहरूको पुर्खौली पेसा नै हो । जिजु बाजेदेखि बुबाआमासम्मकै पुस्ताले जडीबुटी सङ्कलन तथा बिक्री गर्दै आएको परम्परालाई उनले निरन्तरता दिइरहेको बताइन् । भोटेले भनिन्, पहाडमा पहिला अस्पताल र सडक सुविधा नहुँदा बिरामी पर्दा हामीले यही जडीबुटी प्रयोग गर्ने गरेका थियौँ । यही ज्ञानलाई निरन्तरता दिँदै तराई झरेर यही व्यवसाय सुरु गरेकी हुँ ।” पहिला हिउँद सुरु भएपछि लेकाली क्षेत्रमा पाइने जडीबुटी बोकेर बुबाआमाले कुम्लोमै बोकेर महिनौ दिन हाटबजारमा बिक्री गर्दै तराई झर्नुहुन्थ्यो । अहिले भने सडक यातायातको पहुँच पुगेसँगै गाउँमै पनि व्यापार गर्न सहज भएको छ । सुरुमा सहरको बसाइ र गर्मीको मौसम निकै गाह्रो भए पनि बिस्तारै बानी पर्दै गएपछि व्यवसाय वृद्धि हुँदै गएको उनको भनाइ छ । अहिले दैनिक रूपमा रु ६ हजारदेखि रु १० हजारसम्म आम्दानी हुने गरेको छ । आइतबार हटियाको दिन भने रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी हुने गरेको भोटेले जानकारी दिइन् । भोटेको पसलमा हाल १०० भन्दा बढी जडीबुटी बिक्रीका लागि राखिएका छन् । रु ५ देखि रु २० हजारसम्मका जडीबुटी बिक्रीका लागि उपलब्ध छन् । रक्सी बनाउन प्रयोग हुने मर्चादेखि धार्मिक तथा सांस्कृतिक प्रयोजनका सामग्रीसम्म बिक्रीमा छन् । किरात समुदायले साकेला पर्वमा प्रयोग गर्ने चौरीको पुच्छरसमेत उनले बिक्रीका लागि राखेकी छिन् । भोटेले शिलाजित, पदमचाल, सुगन्धवाल, टिमुर, हिँग, केसर, बतिसा, जेठिमधु, यार्सागुम्बासहित विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै आएकी छिन् । उनले भनिन्, “अहिलेसम्म कुनै पनि ग्राहकबाट नकारात्मक प्रतिक्रिया आएको छैन, एकपटक सामन किनेर गएपछि अर्को पटक फर्केरै आउनुहुन्छ, यही मेरो सफलताको आधार हो । अहिले धेरैजसो काठमाडौँ, विराटनगर, वीरगञ्ज, मोरङ, झापालगायत स्थानबाट फोनमार्फत धेरै अर्डर आउने गरेको छ । ” सोही ठाउँमा जडीबुटी व्यवसाय सञ्चालन गर्दै आएकी पासाङ् ल्यामु भोटियाले पनि १५ वर्षदेखि यही पेसालाई आत्मनिर्भरताको आधार बनाउँदै आएको बताइन् । उनले भनिन्, “घरखर्चदेखि बालबच्चाको पढाइलेखाइसम्म सबै खर्च यही व्यवसायबाट धानिँदै आएको छ जडीबुटी व्यवसायबाट राम्रो भएको छ आम्दानी मेरो आम्दानीको श्रोत नै यही हो ।”  “लेकमा जन्मेर तराई झरेको पहाडी भेगको चिसो हावापानीसँग खेलेर हुर्केको सुरुमा गर्मी ठाउँमा झरेर व्यापार गर्दा निक्कै गाह्रो भएको थियो । अहिले भने घाम सहन बानी परिसक्यो व्यापारमा पनि सहज भएको छ,” भोटियाले भनिन्, “यो जडीबुटी भनेको हाम्रो पुर्खौली पेसा नै हो ।” अन्य पेसामा ज्ञान नभएका कारणे पुर्खौली पेसा जडीबुटी व्यवसाय नै रोजेको उनले बताइन् । बिक्रीका लागि जडीबुटी, सङ्खुवासभा, भोटखोला, साथै नेपालका विभिन्न ठाउँ र भारतबाट जडीबुटी आउने गरेको भोटियाले बताइन् ।  सङ्खुवासभाको चेपुवा, हटिया, भोटखोला, होङ्गोङ, गोलालगायत हिमाली क्षेत्रका शेर्पा तथा भोटे समुदायमा आज पनि जडीबुटी सङ्कलन तथा बिक्री परम्परागत पेसाका रूपमा चलिआएको छ । विगतमा महिनौँ यात्रा गर्दै बर्कीका कुम्लो बनाएर बोकेर गाउँ सहर डुल्ने परम्परा रहे पनि अहिले यातायात तथा आपूर्तिको सहजताले गाउँमा पनि व्यवसाय गर्न सहज भएको व्यापारीको भनाइ छ ।